Thursday, June 1, 2017

आजको राशिफल (२०७४ ज्येष्ठ १९ गते शुक्रबार/२०१७ जुन ०२)

आज वि.सं. २०७४ ज्येष्ठ १९ गते शुक्रबार तदनुसार ई. सं. २०१७ जुन ०२ तारिख

आजको चाडपर्व र उत्सव : अष्टमी व्रत, गोरखकाली पूजा, वायु अष्टमी, श्री ५ वीरेन्द्र स्मृति दिवस,
आजको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि), कलशचक्र, 

ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि, दिउँसो १०:५९ बजेसम्म, त्यसपछि नवमी तिथि,
पूर्वाफाल्गुनी नक्षत्र, दिउँसो ०४:३६ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र,
आजको चन्द्रमा सिंह राशिमा, बेलुका १०:४१ बजेसम्म, त्यसपछि कन्या राशिमा,
वज्र योग, मध्यरात्रीपछि ०२:०० बजेसम्म, त्यसपछि सिद्धि योग,
सुरुमा बब करण दिउँसो १०:५९ बजेसम्म, त्यसपछि बालब करण बेलुका १०:४८ बजेसम्म, अन्तिममा कौलव करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५४ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :– 
राहु काल : बिहान १०:१९ देखि १२:०२ सम्म
यमघण्ट : दिउँसो ०३:२८ देखि ०५:११ सम्म
गुलिक काल : बिहान ०६:५४ देखि ०८:३६ सम्म

आजको वारवेला :–
चर वारवेला : बिहान ०५:११ देखि ०६:५४ सम्म, साँझ ०५:१० देखि ०८:११ सम्म र मध्यरात्रीपछि ०३:५४ देखि ०५:११ सम्म
रोग वारवेला : दिउँसो ०१:४५ देखि ०३:२८ सम्म र साँझ ०८:११ देखि ०९:२८ सम्म
काल वारवेला : बिहान १०:१९ देखि १२:०२ सम्म र बेलुका ०९:२८ देखि १०:४५ सम्म
लाभ वारवेला : बिहान ०६:५४ देखि ०८:३६ सम्म र बेलुका १०:४५ देखि १२:०२ सम्म
उद्वेग वारवेला : दिउँसो ०३:२८ देखि ०५:११ सम्म र मध्यरात्रीपछि १२:०२ देखि ०१:१९ सम्म
शुभ वारवेला : दिउँसो १२:०२ देखि ०१:४५ सम्म र मध्यरात्रीपछि ०१:१९ देखि ०२:३६ सम्म
अमृत वारवेला : बिहान ०८:३६ देखि १०:१९ सम्म र मध्यरात्रीपछि ०२:३६ देखि ०३:५४ सम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
राम्रो/नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पतिपत्नीबीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । रातीअबेर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
हाँसखेल र मनोरञ्जनका लागि समय निकाल्न सकिंदैन । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले गर्नै पर्ने र विशेष काममा बाधा पुग्नसक्छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले असर पार्नसक्छ । साँझपख अझ प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीको राय लिनु राम्रो हुन्छ । दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ ।

सानो र सजिलो प्रयत्नले ग्रहपीडाबाट मुक्ति : नवग्रहको शान्तिविधान

मानव जीवनमा प्रत्येक ग्रहको प्राकृतिक प्रभाव हुन्छ । उक्त प्रभावका आधारमा व्यक्तिको जीवनको प्रकृति तैयार हुने गर्दछ । आम प्राणिजगतमा ग्रहको प्रभाव तीन किसिमको हुन्छ :- १) नैसर्गिक २) जन्मगत र ३) गोचर

नैसर्गिक
नैसर्गिक प्रभाव भनेको ग्रहको स्वतःप्राप्त हुने फल हो । प्रकृतिका आधारमा व्यक्तिले प्राप्त गर्ने ऊर्जा नै नैसर्गिक फल हो । प्रत्येक ग्रहको आआफ्नो छुट्टाछुट्टै प्रभाव र अधिकार हुन्छ । जस्तै :-
सूर्य :- जन्म, मस्तिष्क, टाउको, पिता, काका, बडाबा वा पुरुष मान्यजन, सरकारी काम, नेतृत्व, प्रशासनिक सम्बन्ध, निर्णय क्षमता र प्रतिष्ठा, घोडा
चन्द्रमा :- किशोर अवस्था, अनुहार, मुख, मन, आमा, सानिमा, ठूलिआमा, महिला मान्यजन, प्रेम, कल्पना, भावना, शान्ति, रसादि, औषधी, पेयपदार्थ, पौष्टिक पदार्थ, शीतलता, चिसो पदार्थ
मङ्गल :- वैंस, रगत, फोक्सो, फियो, दाँत, पिठ्युँ, क्रोध, आँट, आत्मबल, साहस, हिम्मत, दाजुभाइ, बन्धुवान्धव, इष्टमित्र, समान उमेरका पुरुष नातेदार, हातहतियार, माटो, जग्गाजमिन, स्वदेश, देशभक्ति, कर्तव्य र सेवाभावना जोडिएका काम
बुध :- कुमार अवस्था, छाती, मुटु, दूध, चलाखी, धूर्त्याइँ, दिदीबहिनी, मावली, भान्जाभान्जी, कुटुम्बपक्ष र समान उमेरका स्त्री नातेदार, ज्ञानविज्ञान, पठनपाठन, प्रविधि, बुद्धि, प्राज्ञिक क्षेत्र, साजसज्जाको क्षेत्र, व्यापार, वाणिज्य, वित्तीय क्षेत्र, ठगी, चलाखी, धुर्त्याइँ, छट्टुपन, मोटरवाहन (निजी)
बृहस्पति :- विद्यार्थी अवस्था, पित्त, कलेजो, आन्द्रा, मलद्वार, छोराछोरी, कुल, वंश, शिष्य, भद्रभलादमी आप्तजन, ससुरा, सम्धीसम्धिनी वा आफूले सम्बन्ध गाँसेका नातागोताका मानिसहरू, पितृदेवता, तन्त्रमन्त्र, राजनीति, कुटनीति, दर्शन, अध्यात्म, सत्य, सैद्धान्तिक ज्ञान, तपस्या, साधना, शास्त्र, परम्परा, पुस्त्यौनी काम
शुक्र :- गार्हस्थ्य जीवन, स्त्रीजाति, श्रृङ्गार, काव्य, सौन्दर्य, गीतसङ्गीत र ललितकला, मूत्र प्रणाली, प्रजनन क्षमता,  यौनभावना, मैथुन, कामुकता, लज्जा, भोगविलास, पति वा पत्नी, विपरीतलिङ्गी साथीहरू, विज्ञानप्रविधि, इलेक्ट्रोनिक काम, रसायन, रसादि, यौनसामाग्रीको व्यापार, भान्सामा प्रयोग हुने वा गृहिणीले उपयोग गर्ने सरसामाग्री, खेलकुद, गाईबाख्रा 
शनि :- बुढेसकाल र मरण, कम्मर, हड्डी, हातखुट्टा, सेवाभावना, श्रम, छोराछोरी, नोकरचाकर, दास, श्रमिक, आफूमुनिका कर्मचारीहरू, दिनहीन अवस्थाका व्यक्तिहरू, फलाम, मिलमेसिनरी, कलपूर्जा, प्रविधि, सीप, न्याय, प्रशासन, दण्ड, भैंसी, मोटरवाहन (भाडाको)   
राहु :- परदेशी जीवन, विदेश यात्रा, स्नायु प्रणाली, छाला, नसा, पाचन प्रणाली, जालसाजी, फट्याइँ, चोरीडकैती, जेलनेल, साथीसङ्गति, व्यापारिक साझेदार, सामाजिकता, चराचुरुङ्गी, माछामासु, मादक पदार्थ, सेवामूलक काम, दुर्गन्ध, फोहोर आदिको काम
केतु :- हवाइ यात्रा, जोर्नी, गोलीगाँठो, जोश, उत्तेजना, चिन्तन, सोचविचार, चिन्ता, छट्पटी, उच्चाकाङ्क्षा, मनोरोग, मानसिक विचलन, गूढ रहस्य, अनुसन्धान, अतिन्द्रिय वस्तु (दिवास्वप्न) गुरुपुरोहित, धर्मगुरु, सन्तति (छोराछोरी र नातिनातिनासमेत), भ्रष्टाचार, दुर्व्यसन, व्यभिचार, पुरातत्त्व, परम्परा, अनुसन्धान, खोजी, गुप्तचर, कुटनैतिक काम

जन्मगत प्रभाव
मनुष्यको जन्मकालमा टिपेको समयका आधारमा कुण्डलीको निर्माण गरिन्छ । सामान्यतया कुण्डलीको बाह्रवटा भावको रचना गरिन्छ र ती भावमा पनि ग्रहको नैसर्गिक, स्वामीत्व र उपस्थिति आदि आधारमा क्षेत्राधिकार तोक्ने र फलादेश विवेचना गर्ने परिपाटी छ ।
कुण्डलीको नैसर्गिक अधिकार
सूर्य :- सिंह राशि र पाँचौं भावमा
चन्द्र :- कर्कट राशि र चौथाे भावमा
मङ्गल :- मेष र बृश्चिक राशि तथा लग्न र अष्टम भावमा
बुध :- मिथुन र कन्या राशि तथा तृतीय र षष्ठम भावमा
गुरु :- धनु र मीन राशि तथा नवौं  र बाह्रौं  भावमा
शुक्र :- बृष र तुला राशि तथा द्वितीय र सप्तम भावमा
शनि :- मकर र कुम्भ राशि तथा दशौं र एघारौं भावमा
राहु :- कन्या राशि तथा षष्ठम भावमा
केतु :- मीन राशि तथा बाह्रौं भावमा
जन्मकुण्डलीका विभिन्न भावबाट ज्योतिषीले माथिको तालिकामा भएका विषयवस्तुको आँकलन गर्ने प्रचलन छ ।

गोचर
व्यक्तिको चान्द्रराशिको अङ्कलाई लग्नमा राखी हिजोआज कुन राशिमा ग्रहहरू विचरण गर्दैछन्, पात्रो हेरी ती ग्रहहरू रहेको राशिको अङ्कमा तत्तद् ग्रहस्थापना गरी तैयार गरिने कुण्डलीलाई गोचर कुण्डली भनिन्छ । यो प्रभाव परिवर्तनशील हुन्छ । यसैका आधारमा ज्योतिषीहरूले राशिफल र समसामयिक भविष्यवाणि तथा मूहूर्त साइतको निर्धारण गर्दछन् ।

माथिका विधिले तीनै किसिमको विधि प्रयोग गरी कुण्डलीको अध्ययन गरी मनुष्यको समयको लेखाजोखा गरिन्छ र कुनै ग्रह कमजोर रहेछ भने त्यस ग्रहको स्वस्तिशान्ति र उपाय अवलम्बन गर्ने प्रचलन छ । यी उपायमध्ये नेपालमा सबै ग्रहको स्वस्तिशान्ति गर्दा बुढी षडङ्ग रुद्रीपूजा र ग्रह पूजा गरी हवनादि गर्ने प्रचलन छ । कुन ग्रहको शान्तिका लागि केकस्ता मन्त्र, स्तुति, पाठ आदि गर्ने भन्ने विषयमा गुरुपुरोहितसित परामर्श लिने गरिन्छ । कहिलेकाहिं ज्ञानको अभाव वा प्रचलनको भिन्नताका कारण पनि वास्तविक विधिले स्वस्तिशान्ति हुँदैन र जुन यज्ञ वा पूजाबाट कर्ताले लाभ पाउनु पर्ने हो, त्यो प्राप्त हुनसक्दैन । यस्तो हुँदा ज्योतिष विद्या र विज्ञानको उपहास हुने गरेको पनि देखिन्छ । त्यसैले यहाँ ग्रहहरूको स्वस्तिशान्तिका लागि प्रचलित र अन्य व्यवहारिक उपायको चर्चा गरिएको छ ।




स्वस्तिशान्ति गर्नुअघि कर्ताले बुझ्नुपर्ने विषयहरू :-
सामान्य ज्योतिषीले ग्रहको उपस्थितिको मात्र गणना गरी फलादेश गर्ने परिपाटी बढी प्रचलनमा रहेको पाइन्छ । यो फलादेशको फितलो प्रयोग हो । जस्तै : कसैको कुण्डलीको केन्द्रमा कुनै घरमा बृहस्पति ग्रह बसेको छ भने 'ल राम्रो' भनी चर्चा गरिन्छ र श्लोक पनि भन्ने गरिन्छ - 'किं कुर्वन्ति ग्रहाः सर्वे यस्य केन्द्रे बृहस्पतिः' आदि । त्यस्तै आमज्योतिषीले मङ्गल, शनि, राहु, केतु ग्रहलाई अशुभ, सूर्य र मङ्गललाई क्रूर र शुक्लपक्षको चन्द्रमा, बुध, बृहस्पति र शुक्रलाई शुभ ग्रहको रूपमा वर्णन गर्दछन् र तदनुसार फलादेश गर्दछन् । यी र यस्तै आधार वास्तविक फलादेशको आधार होइन । विचार गर्नुहोस् त, साढेसातीको प्रभाव एकै पटक बाह्रमध्ये तीन राशिलाई हुन्छ, यसको अर्थ संसारका २५ प्रतिशत मानिसहरू साढेसातीको प्रकोपमा हुन्छन्, तर सबै २५ प्रतिशतलाई नै शनिले बिगार गरेको देखिंदैन । तीमध्ये कत्ति उन्नतिको सोपानलाई चुमी रहेका हुन्छन् भने कत्ति वास्तविक विपत्तिमा हुन्छन् । त्यसैले सम्बद्ध ग्रहले अशुभ नै गर्छ कि गर्दैन भनेर राम्ररी कुण्डलीको विवेचना गर्नु वा गराउनु पर्दछ र सचेत भई उचित उपासना र पूजा गर्नु राम्रो हुन्छ ।

अर्को प्रसङ्ग धेरै मानिसहरू घटना भएपछिमात्र ज्योतिषीलाई भेट्न जाने गर्दछन्, घटना घट्नुअघि उनीहरू ज्योतिषीकहाँ जानु उपयुक्त ठान्दैनन् । अनि त्यस्तै मौकामा ग्रहको विवेचनामा भन्दा पनि कर्मकाण्ड गराई चामल पैसा बटुल्न पल्केका तथा ज्योतिषको सामान्य ज्ञान तर धर्त्याइँ र चोरबुद्धिको बढी उपयोग गर्ने ज्योतिषीकहाँ पुग्ने सम्भावना हुन्छ, त्यस्तै मानिस बढी ठगिने खतरा पनि हुन्छ । हिजोआज तपाईंको वास्तविक ग्रह विवेचना नगरी कुण्डलीमा सामान्य तवरमा देखिने बहुचर्चित र मिडियाबाजी भएका कालसर्प वा माङ्गलिकको दुष्प्रभावको वर्णन गर्ने अथवा अन्तर्दशा वा प्रत्यन्तरदशामा भएका शनि, राहु वा केतु ग्रह र उल्का, भ्रामरी वा सङ्कटा योगिनी आदिको नाम लिई बुटी भिराउने वा आफ्नै कोठामा बोलाई स्वस्तिशान्तिको नाटक गरी पैसा कुम्ल्याउने ज्योतिषीहरूको बिगिबिगी छ । त्यस्तै माताजी, तान्त्रिक, टुनामुना र जादू गर्नेले पनि क्षण भरमैं ठगी गरी कुलेलम ठोकेका समाचार पत्रपत्रिकामा प्रकाशन भई नै रहेको छ । यी र यस्ता घटनाका माध्यमले ज्योतिषी, माताजी वा तान्त्रिकले सेवाग्राहीलाई अनावश्यक प्रोपोगन्डा र टन्टा भिराएर अबफेरि कुनै ज्योतिषीतर्फ फर्किएर हेर्नै मन नलाग्ने परिस्थितिको सिर्जना गरेको घटना घटिरहेको कुरा पनि यदाकदा सुन्न पाइन्छ । यसरी सामान्य जनमानसमा कुनै दुर्घटना वा प्रकोपका कारण धनजनको क्षति भएको वा मानसिक सन्तापमा गुज्रिएको बेला पुनः अनावश्यक बखेडामा फँसेर धन र समयको नाश हुने खतरा हुन्छ ।

आमबुझाइमा अशुभ मानिएका ग्रहले पनि लग्नको कारकत्व, षड्वर्गको विवेचना र षोडशवर्गको प्रभावलाई आकलन गर्दा शुभ फल नै दिई रहेको हुन्छ । उदाहरणका लागि शनि सबैभन्दा क्रूर र अनिष्ट ग्रह हो भन्ने गरिन्छ । तर मकर र कुम्भ राशि वा लग्न भएका मानिसको आफ्नो ग्रह हो, शनिश्चर । यो तुला राशिमा उच्च हुन्छ, अनि बृष र कन्या लग्नका जातकका लागि क्रमशः भाग्येश र बुद्धीशको भूमिकामा रहन्छ । यिनीहरूले आमरूपमा शनिको शुभफल प्राप्त गर्दछन् । तर बक्री, नीच, अस्त वा शत्रुगृही भएर जन्मकुण्डलीमा बसेको छ भने यिनीहरूले पनि शनिको प्रकोपमा पर्नुपर्दछ । अतः ग्रहको कारकत्वको मुख्य जिम्मेबारी हुन्छ, व्यक्तिको उन्नति, प्रगति र व्यक्तित्व विकासमा । शुभ नै मानिए पनि बृहस्पति तपाईंको कुण्डलीमा कारक छैन भने बृहस्पतिको बल प्राप्त गरी वा उक्त ग्रहको समयावधिमा उन्नतिप्रगति गर्न पाउँछु भनी कल्पना गर्नु बेकार हुन्छ । त्यसैले जन्मकुण्डलीको गणितीय पक्ष र ग्रहबलको राम्रो विवेचना गरेरमात्र कुनै पनि ग्रहको स्वस्तिशान्ति गर्नुपर्दछ । पुनः दुःख दिने वा अशुभ फल प्रदान गर्ने ग्रहको मात्र पूजाआजा गर्ने परिपाटी गलत हो । शुभफल दिने र सघाउ पुर्याउने ग्रहको उपासना झन् जरुरी हुन्छ । त्यसो गरेमा मात्र तपाईंको व्यक्तित्व, सुखसम्मृद्धि, वैभव, प्रतिष्ठा र उत्तरोत्तर प्रगतिका निमित्त ती ग्रहले अझ धेरै फल प्रदान गरी भैरहेको अवस्थाभन्दा उन्नतिको अवस्थामा पुर्याउन मद्दत गर्दछन् ।

अब ग्रहशान्तिका उपायहरूको चर्चा गरौं 

सूर्य ग्रहको शान्ति
सूर्यलाई ग्रहसभाको राजा मानिन्छ । समस्त चराचर जगत् सूर्यद्वारा नै सञ्चालित छ । आइतवार, सिंह राशि, कृतिका, उत्तराफाल्गुनी र उत्तराषाढा नक्षत्रको स्वामी सूर्य हो । यस ग्रहलाई क्रूर ग्रहका रूपमा लिइन्छ, त्यसैले नैसर्गिक रूपमा सूर्यको महादशामा डरचिन्ता, व्याकुलता र ताप बढ्ने गर्दछ । मुद्दामामिला र प्रशासनिक समस्या, घरपरिवारमा झैझगडा र धननाशको सम्भावना समेत हुने गर्दछ । तर कुण्डलीको प्रभावअनुसार प्रत्येक व्यक्तिले सूर्यको शुभ वा अशुभ छुट्टै फल प्राप्त गर्दछ । भगवान् सूर्य समस्त संसारको शक्तिको स्रोत र हाम्रो प्राणशक्तिका आधार हुन् । सूर्यको महादशाको समय चल्दैछ वा पिङ्गला योगिनीको समय छ भने जसले पनि सूर्यको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा सूर्यको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-
१ – सूर्यलाई बलियो बनाउन जातकले प्रातःकालमा सूर्योदयको समयमा उठेर रातो फूल फुल्ने बोटबिरुवाको फेदमा पानीले सिञ्चन गर्दा लाभ हुन्छ ।
२ – बेलुका सुत्ने वेलामा तामाको पात्रमा शुद्ध जल ओछ्यानको सिराने भागमा राखी बिहान उठ्ने बितिक्कै बासी मुखमा उक्त पानी पिउने गर्दा पनि सूर्यको शुभप्रभाव प्राप्त हुन्छ ।
३ – तामाको बाला वा चुरा बनाएर दाहिने हातको नारीमा आइतबारका दिनदेखि धारण गरेमा पनि सूर्यको शुभ प्रभाव पाउन सकिन्छ ।
४ – आइतबारका दिन मध्याह्नकालमा कुनै पात्रमा गहुँ राखी रातो गाईलाई खान दिएमा पनि सूर्यको अशुभ प्रभावको नाश हुन्छ । गाईलाई खान दिएको कुनै पनि चिज खाली भुइँमा दिनु हुँदैन ।
५ – घरबाट कुनै महत्त्वपूर्ण कामका लागि बाहिरिंदा गुड वा कुनै गुलियो वस्तु आफूभन्दा ठूलाबडा वा मान्यजनको हातबाट लिई खाँदै निस्कनु राम्रो हुन्छ ।
६ – कुनै यज्ञ वा चाडपर्वमा रक्षासूत्र (रक्षाविधान, मोली आदि) बाँध्दा दाहिने हातमा छ फन्का बाँधेमा सूर्य सधैं प्रसन्न हुने गर्दछन् ।
७ – नित्य प्रातःस्नान गर्दा रातो चन्दन मिसाएको पानीले नुहाएमा सूर्यको प्रभाव राम्रो हुन्छ ।
८ - तपाईंको जीवनमा सूर्यको महादशा चलिरहेको छ भने सूर्य ग्रहको थप उर्जा प्राप्त गर्न दैनिक रुपमा पिताजीको आशीर्वाद प्राप्त गर्ने र प्रातःकालमा उदाउँदो सूर्यको दर्शन गर्ने बानी विकसित गर्नु पर्दछ ।
९ - दिनहुँ सूर्योदयको १ घटिका (२४ मिनेट) भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्धजल वा गङ्गाजल राखी सूर्यलाई अर्घ्य दिंदा लाभ हुन्छ ।
१० - सूर्य ग्रहको शान्तिका निमित्त केसरी वा रातो टीका लगाउँदा, सूर्य गायत्री, आदित्य हृदय स्तोत्रको पाठ गर्दा, सूर्य कवचको पाठ गर्दा र भगवान् विष्णुको नियमित पूजा आराधना गर्दा दुष्प्रभावहरू नष्ट हुन्छन् ।
११ - आइतबारका दिन अन्धाश्रम, बृद्धाश्रम वा अस्पतालमा गई पाकेको अन्न दान गर्नाले सूर्य भगवान् प्रसन्न हुनुहुन्छ ।
१२ - आइतबारका दिन रातो रङको गाईलाई सक्खर र पिठो खुवाउँदा पनि शुभ फल नै प्राप्त हुन्छ ।
यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र सूर्यलाई बलशाली बनाउन यी उपाय आइतबारको दिन, कृतिका, उत्तराफाल्गुनी वा उत्तराषाढा नक्षत्रमा सूर्यको होरामा अवलम्बन गर्न थालेमा अत्यधिक शुभ हुन्छ ।
सूर्य ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
सूर्यको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
यज्ञका मुख्य देवता : भगवान् विष्णु
वेदोक्त मन्त्र  – ॐ आकृष्णेन रजसा वर्तमानो निवेशयन्नमृतं मर्त्त्यञ्च । हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन् ।
पुराणोक्त मन्त्र – जपाकुसुमसङ्काशं काश्यपेयं महाद्युतिम् । तमोऽरिं सर्व पापघ्नं प्रणतोऽस्मि दिवाकरम् ।।
सूर्य गायत्री मन्त्र  – ॐ आदित्याय विद्महे भास्कराय धीमहि तन्नो भानुः प्रचोदयात् ।
तन्त्रोक्त बीज मन्त्र – ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः
लघु बीज मन्त्र – ॐ घृणि सूर्याय नमः
सूर्यार्घ्य मन्त्र – एहि सूर्य सहस्रांशो तेजो राशि जगत्पते । अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकरः ।।
सूर्यको जाप संख्या  - ७०००
दान सामाग्रीहरू :– गहुँ, सक्खर (गुड), रातो कपडा, घिउ, सुन, माणिक्य रत्न, तामाको भाँडो, नरिवल, रक्तचन्दन, रातो फूल, मुसुरोको दाल र दक्षिणा ।
सूर्यरत्न - सूर्य ग्रहलाई बलशाली बनाउन माणिक्य रत्न ५ क्यारेटभन्दा माथि, तामा वा सुनको औंठी बनाई आइतबार सूर्योदयको समयमा भगवान् सूर्यको पूजा गरी दाहिने हातको काहिंली औंलामा धारण गर्नुपर्छ ।
सूर्य यन्त्र – सूर्यको यन्त्रलाई तामाको पत्र खोप्न लगाएर वा भोजपत्रमा अष्टगन्धले लेख्न लगाएर विधिपूर्वक प्राणप्रतिष्ठा गरी दाहिने हातको पाखुरामा शुभ समयमा धारण गरेमा शुभ फल प्राप्त हुन्छ ।


चन्द्र ग्रहको शान्ति
सोमबार, कर्कट राशि, रोहिणी, हस्ता र श्रवण नक्षत्रको स्वामी चन्द्रमा हो । यस ग्रहलाई सौम्य ग्रहका रूपमा लिइन्छ, त्यसैले चन्द्रमाको प्राकृतिक फलअनुसार व्यक्तिले राज्य र पदाधिकार प्राप्त गर्दछ । चन्द्रमाको समयमा सज्जनहरुको सङ्गत हुन्छ, मन मनोरञ्जनमुखी हुन्छ, भावुकता र प्रेमको उदय हुन्छ, घरायसी खुसी र सुखसयलका लागि प्रयास गरिन्छन्, शत्रुमाथि विजय हुन्छ र मोटर, गाडी वाहनादिको प्रबन्ध हुन्छ । तपाईंको कुण्डलीमा चन्द्रमाको महादशाको समय वा मङ्गला योगिनीको दशावधि छ भने जसले पनि चन्द्रमाको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा चन्द्रमाको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा चन्द्रमाको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-
१ – चन्द्रमाको शुभप्रभाव प्राप्त गर्न जुनेली रातमा (शुक्लपक्षको अष्टमीदेखि कृष्णपक्षको सप्तमीसम्म) राती चन्द्रप्रकाशमा हिंडडुल गर्ने र अबेरसम्म जागा रहने गर्ने बानीको विकास गर्नुपर्दछ । तर रातीको समयमा घरको छेउछाउमा मात्र घुमफिर गर्नुपर्छ, तर लामो दूरीको यात्रा वा भ्रमणमा रात्रीकालमा यात्रा नगरेको जाति हुन्छ ।
२ – तपाईं सुत्ने ओछ्यान घरको यस्तो ठाउँमा हुनुपर्छ, जहाँ चन्द्रमाको किरण पर्ने गर्दछ ।
३ – प्रदूषित र फोहोर तरल पदार्थको सङ्ग्रह घर र वरपरको क्षेत्रमा हुनुहुँदैन ।
४ – रोहिणी, हस्ता वा श्रवण नक्षत्र अथवा सोमबार वा पूर्णिमाका दिन परेको वर्षाको पानी सेतो काँचको बोतलमा भरी ओछ्यानको सिराने भागमा सधैं राख्ने व्यवस्था गरेमा पनि चन्द्रमाको दुष्प्रभाव शान्त हुन्छ ।
५ – वर्षमा एक पटक कुनै तीर्थस्थल वा तलाउ, सरोवर आदिमा गई स्नान गर्ने बानीको विकास गर्नुपर्दछ ।
६ – सोमवार र औंसी वा पूर्णिमाका दिन दूध, दही वा दुग्धजन्य पक्वान्नको सेवन गर्नुहुँदैन ।
७ – प्रत्येक दिन प्रातःकालमा सेतो फूल फुल्ने बोटबिरुवाको फेदमा शुद्ध जलले सिञ्चन गर्नु पर्दछ ।
८ - चन्द्र ग्रहको ऊर्जा प्राप्त गर्न दैनिक रुपमा माताजीको आशीर्वाद प्राप्त गर्ने र प्रातःकालमा भगवती लक्ष्मीको आराधना गर्ने बानी विकसित गर्नु पर्दछ ।
९ - प्रत्येक सोमबार भगवान् शिवको आराधना गरी प्रत्येक महिनाको पूर्णिमाका दिन कुनै सधवा स्त्रीलाई दही वा खीर खान दिएमा पनि लाभ हुन्छ ।
१० - सोमवारको व्रत लिएर मङ्गलबारका दिन बिहानै सेतो कपडा, चामल, सेतो पक्वान्न, दही, सेतो कपडा आदि सेतो पदार्थको दान गर्नुपर्छ ।
११ - प्रत्येक सोमबारका दिन शिवालयमा गई शिवलिङ्गमा पञ्चामृतले स्नान गर्नुपर्दछ ।
१२ - चन्द्रमाको शान्तिका निमित्त पञ्चगव्य, बेलगिरी, गजमद, शंख, सिपी, सेतो चन्दन, स्फटिक आदि जलमा राखेर त्यस जलले स्नान गर्दा शुभ फल प्राप्त हुन्छ ।
१३ - भगवान् शिवजीको पूजा, आराधना, व्रत, तीर्थका माध्यमबाट पनि चन्द्रमाको अनीष्ट निवारण हुन्छ ।
१४ - पूर्णिमाको नियमित व्रत वा प्रदोषको व्रतबाट पनि चन्द्रमाको दुष्प्रभावलाई कम गरी शुभ प्रभावलाई बढाउन सकिन्छ ।

यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र चन्द्रमाको दुष्प्रभाव निवारणका निमित्त गरिने उपाय सर्वप्रथम सोमवार का दिन, चन्द्रमाका नक्षत्र (रोहिणी, हस्ता र श्रवण) वा चन्द्रमाको होरामा अवलम्बन गरेमा बढी शुभफल प्राप्त हुन्छ ।
चन्द्रमा ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
चन्द्रमाको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्यदेवता - त्रिपुरारि भगवान् शङ्कर
वैदिक मंत्र – ॐइमं देवा असपत्न℧ सुवध्वं महते क्षत्राय महते ज्यैष्ठाय महते जानराज्यायेन्द्रस्येन्द्रियाय । इमम्ममुष्य पुत्रम्ममुष्यै पुत्रमस्यै विश वोऽमी राजा सोमोऽस्माकं ब्राह्मणाना ℧ राजा ।
पुराणोक्त मन्त्र – ॐ दधिशङ्खतुषाराभं क्षीरोदार्णव सम्भवम् । नमामि शशिनं सोमं शम्भोर्मुकुटभूषणम् ।।
चन्द्र गायत्री मन्त्र – ॐ अमृताङ्गाय विद्महे कला रूपाय धीमहि तन्नो सोमः प्रचोदयात् ।
तन्त्रोक्त बीज मन्त्र – ॐ श्रां श्रीं श्रौं सः चन्द्रमसे नमः ।
लघु बीज मन्त्र – ॐ सों सोमाय नमः ।
चन्द्रमालाई अर्घ्य दिने मन्त्र – क्षीरोदार्णवसम्भूत अत्रिगोत्रसमुद्भव । गृहाणार्घ्यं शशांकेदं रोहिण्या सहितो मम ।।
चन्द्रमाको जापको संख्या ११०००
चन्द्र रत्न – चन्द्र ग्रहको अशुभता हटाउन ४ क्यारेट मोती रत्न चाँदीको औंठी बनाई दाहिने हातको कान्छी औंलामा धारण गर्ने प्रचलन छ ।।
चन्द्रमाको दानसामाग्री – घिउ, सेतो कपडा, सुन, मोती, शङ्ख, दही, चाँदी, श्रीखण्ड, कपूर, चामल, जनै, सेतो चामर, सेतो साँढे
चन्द्र यन्त्र – चन्द्रमाको शुभफल प्राप्त गर्न चन्द्रमाको होरामा चाँदीको पत्रमा चन्द्र यन्त्र खोप्न लगाई अथवा अष्टगन्धले भोजपत्रमा लेखेर विधिवत् प्राणप्रतिष्ठा र पूजा गरी घाँटीमा वा दाहिने हातको पाखुरामा धारण गर्नुपर्छ ।

मङ्गल ग्रहको शान्ति उपाय
मङ्गल बार, मेष र बृश्चिक राशि, मृगशिरा, चित्रा र धनिष्ठा नक्षत्रको स्वामी मङ्गल हो । यस ग्रहलाई क्रूर ग्रहका रूपमा लिइन्छ, त्यसैले मङ्गल ग्रहको महादशामा व्यक्तिले नैसर्गिक रूपमा सामान्यतया अशुभ फलहरु प्राप्त गर्ने गर्दछ, आगो र विषालु चिजबिजसित एवं हातहतियार, प्रतिद्वन्द्वी, राज्यपक्ष र अड्डाअदालतबाट मनुष्यले डर मान्ने समय हो, यो । घरपरिवारमा रोगले प्रवेश गर्दछ, आफ्नो स्वास्थ्यमा समेत चोटपटक र रोगव्याधिको सम्भावना हुन्छ । मानसिक उद्वेलन र चिडचिडेपना बढ्न सक्छ । कुण्डलीमा मङ्गल ग्रहको महादशाको समय वा भ्रामरी योगिनीको दशावधि छ भने जसले पनि मङ्गल ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा मङ्गल ग्रहको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-
१ – रातो कपडामा मौलीसुप बाँधेर आफ्नो शयनकक्ष (Bedroom) मा राख्नाले मङ्गल ग्रहको शुभफल प्राप्ति हुन्छ ।
२ – मङ्गल ग्रहको मुख्य प्रभाव भएको व्यक्तिले घर बनाउँदा घरमा रातो मार्बल वा ढुङ्गाको प्रयोग गर्दा मङ्गल ग्रह प्रसन्न हुन्छ ।
३ – कम्तीमा वर्षमा एक पटक आफ्ना दाजुभाइ र बन्धुबान्धव जम्मा पारी गुलियो भोजन गराउँदा शुभफल प्राप्त हुन्छ, त्यस्तै नौ वर्षमुनिका बालकहरूलाई दैनिक रूपमा चकलेट बाँडेमा पनि मङ्गल ग्रह प्रसन्न हुन्छ ।
४ – रातो कपडामा दुई मुठी मुसुरोको दाल बाँधेर सिधा र दक्षिणाका साथमा हरेक मङ्गलबारका दिन भिखारीलाई दान गर्दा पनि मङ्गल ग्रह प्रसन्न हुन्छन् ।
५ – हरेक मङ्गलवारका दिन गणेश वा हनुमानको मन्दिरमा गई मूर्तिको पाउमा रहेको सिन्दूरको टीका लगाउने बानीको विकास गर्नुपर्छ ।
६ – कुनै देवालय वा तीर्थस्थलमा पुगेको वेला बाँदरलाई चना र गुड खुवाउनु पर्दछ ।
७ – आफ्नो घरवरपर वा बगैंचामा रातो फूल फुल्ने बोटबिरुवा रोपी त्यसको संरक्षण गर्नुपर्छ र प्रत्येक दिन प्रातःकालमा तिनलाई शुद्ध जलले सिञ्चन गर्नु पर्दछ ।
८ - मङ्गल ग्रहको महादशा चलिरहेको छ भने दैनिक गणेश कवच वा हनुमान् चालिसाको पाठ गर्ने एवं भगवान् गणेश वा हनुमानजीको आराधना गर्ने बानी विकसित गर्नु पर्दछ ।
९ - प्रत्येक मङ्गलबारका दिन भगवान् गणेश वा भगवान् हनुमानको आराधना गरी देवालयमा आफैंले वा घरका कुनै सदस्यले चोखोनीतो गरी निर्माण गरेको २१ वटा लड्डु चढाउँदा लाभ हुन्छ ।
१० - मङ्गलवारको व्रत लिनुपर्छ, माङ्गलिक योगका कारण कुनै वर वा कन्याको विवाहमा विलम्ब भएको देखिन्छ भने त्यस्ता जातकले माथिका सबै उपाय अवलम्बन गरी कम्ती सात हप्ता मङ्गला गौरीको व्रत लिंदा उचित हुन्छ ।
११ - जटावाल नरिवललाई सिन्दूरले रङ्गाएर, त्यसमा मौली सुप, तामाको पुरानो सिक्का, रक्त चन्दन राखी रातो कपडाले बाँधेर प्रत्येक मङ्गलबारका दिन बग्दो पानी लगातार सात हप्तासम्म बगाएमा मङ्गल ग्रहको शुभफल प्राप्त हुन्छ ।
१२ - बाँदर, रातो गाई, रातो कुकुर आदिलाई खान दिनु पनि मङ्गल ग्रहको शुभताका लागि राम्रो हुन्छ ।
यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र मङ्गल ग्रहको दुष्प्रभाव निवारणका निमित्त प्रारम्भमा मङ्गलवारका दिन, मङ्गल ग्रहको स्वामीत्व हुने नक्षत्र (मृगशिरा, चित्रा र धनिष्ठा) वा मङ्गलको होरामा अवलम्बन गर्नु राम्रो हुन्छ ।
मङ्गल ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
मङ्गल ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्यदेवता : भगवान् महादेव
वैदिक मन्त्र – ॐ अग्निमूर्धा दिवः ककुत्पतिः पृथिव्या अयम् अपा℧ रे ता℧ सिजिन्वति ।।
पुराणोक्त मन्त्र – ॐ धरणी गर्भ सम्भूतं विद्युत्कान्ति समप्रभम् । कुमारं शक्ति हस्तं ते मङ्गलं प्रणमाम्यहम् ।।
मङ्गल गायत्री मन्त्र – ॐ अङ्गारकाय विद्महे शक्ति हस्ताय धीमहि, तन्नो भौमः प्रचोदयात्।
तन्त्रोक्त मन्त्र – ॐ क्रां क्री क्रौं सः भौमाय नमः ।
लघु बीज मन्त्र – ॐ अं अङ्गारकाय नमः ।
मङ्गल ग्रहलाई अर्घ्य दिने मन्त्र –  रक्तप्रवालसंकाश जपाकुसुमसन्निभ । महीसुत महाबाहो गृहाणार्घ्यं नमोऽस्तु ते ॥
मङ्गल ग्रहको जाप संख्या – १००००
मङ्गल ग्रहको रत्न – मङ्गल ग्रहलाई बलियो बनाउन पाँचदेखि आठ रत्तीको मुँगा रत्न सुन वा तामाको औंठी बनाई मङ्गलबारका दिन प्रातःकालमा भगवान् गणेशको पूजाआराधना गरी शुभ मुहूर्तमा धारण गर्नुपर्छ ।
दान सामग्री – मुसुरीको दाल, घिउ, सुन, मुँगा रत्न, तामाको भाँडो, करबीरको फूल, रक्त चन्दन, रातो कपडा, केशरी, नरिवल, गुलियो नैवेद्य, गहुँ । मङ्गल ग्रहको दानादि युवक र खाइलाग्दो ब्राह्मणलाई दिनु उपयुक्त हुन्छ ।
मङ्गलरत्न - मङ्गल ग्रहको शुभफल प्राप्त गर्न मुगा रत्न (८ क्यारेट) सुनमा औंठी दाहिने हातको माझको औंलामा धारण गर्ने विधान छ ।
मङ्गल ग्रहको यन्त्र – मङ्गल यन्त्रलाई ताम्रपत्रमा खोप्न लगाएर मङ्गलको होरा पारेर अथवा भोजपत्रमा  अष्टगंधले लेख्न लगाई  विधिवत् प्राणप्रतिष्ठा र पूजा गरी घाँटीमा वा दाहिने पाखुरामा धारण गर्दा शुभ हुन्छ ।

बुध ग्रहको शान्ति उपाय
बुध बार, मिथुन र कन्या राशि, अश्लेषा, ज्येष्ठा र रेवती नक्षत्रको स्वामी बुध हो । यस ग्रहलाई द्विस्वभाव (नपुंसक) ग्रहका रूपमा लिइन्छ र यस ग्रहले नैसर्गिक रूपमा शुभफल नै प्रदान गर्दछ भन्ने भनाइ छ । यस ग्रहको महादशामा समुचित आहारविहारको प्राप्ति हुन्छ । यस अवधिमा भ्रमण, पर्यटन, सवारीसाधन, सन्तान, धन, प्रतिष्ठा, वस्त्राभूषण, घरघडेरी, सहज दाम्पत्यसुख, सत्संगति, यशबृद्धि, इच्छितवस्तुको प्राप्ति आदि प्राप्त हुन्छ । कुण्डलीमा बुध ग्रहको महादशाको समय वा भद्रिका योगिनीको दशावधि छ भने जसले पनि बुध ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा बुध ग्रहको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-
१ – घरको आँगनमा तुलसीको मठ बनाई रोप्नु पर्दछ, निरन्तर त्यसको देखभाल गर्नुपर्छ र बुधबारका दिन तुलसीपत्र सेवन गर्नुपर्छ ।
२ – बुधवारका दिन हरियो रङको चुरा भगवती दुर्गाको मन्दिरमा वा तेस्रो लिङ्गी (नपुंसक वा हिजडा) लाई दान गर्नुपर्दछ ।
३ – प्रत्येक हप्ताको बुधबारका दिन हरियो सागसब्जी वा चारो (घाँस आदि) गाईलाई खान दिनुपर्छ ।
४ – बुधवारका दिन भगवान् गणेशको मन्दिरमा गई मुँगको लड्डु चढाउनु पर्दछ र प्रसादका रूपमा केटाकेटीलाई बाँड्नुपर्छ ।
५ – घरमा धुजाधुजा भएको वा च्यातिएको कुनै पनि पुस्तक राख्नु हुँदैन ।
६ – घरको फूलबारीमा वा गमलामा काँडा भएका बृक्षवनस्पति वा झाँग राख्नु हुँदैन । कुनै फल फल्ने रुख रोपी तिनको फेदमा सधैं सिञ्चन गर्नुपर्दछ ।
७ – घरमा सुँगा पालेमा पनि बुध ग्रह प्रसन्न हुने गर्दछन् ।
८ - बुध ग्रहको महादशा चलिरहेको छ भने बुध ग्रहको थप उर्जा प्राप्त गर्न दैनिक दुर्गा कवच वा नारायण कवचको पाठ गर्ने एवं भगवती दुर्गा वा बालगोपाल भगवान् श्रीकृष्णको आराधना गर्ने बानी विकसित गर्नु पर्दछ ।
९ - प्रत्येक बुधबारका दिन हरियो फलफूूल वा तरकारी अनाथालय, बृद्धाश्रम वा मठमन्दिरमा दान गर्नुपर्छ ।
१० - प्रत्येक वर्षको नौरथामा दुर्गासप्तशती चण्डीको नौ आवृत्ति पाठ गर्नु वा ब्राह्मणमार्फत गराउनु पर्दछ ।
११ - वर्षभरिका एकादशी, मङ्गलबार वा चतुर्थी तिथिको विधिवत् व्रत लिने गर्दा लाभ हुन्छ ।
१२ – दिनैपिच्छे गणेशअथर्वशीर्ष, दुर्गा सप्तशती, वा विष्णुसहस्त्रनाम स्तोत्रको पाठ वा श्रद्धाभक्तिपूर्वक गणेश, दुर्गा वा विष्णुको उपासना गर्दा पनि बुध ग्रह प्रसन्न हुने गर्दछन् ।

यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र बुध ग्रहको दुष्प्रभावलाई हटाउन सुरुमा बुधवारका दिन, बुधको नक्षत्र (आश्लेषा, ज्येष्ठा र रेवती) वा बुधको होरामा अवलम्बन गरेमा यस ग्रहको बढी राम्रो फल प्राप्त हुन्छ ।
बुध ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
बुध ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्य देवता : भगवान् गणेश, मातृशक्ति वा भगवान् विष्णु
वैदिक मन्त्र – ॐ उद्बुध्यस्वाग्ने प्रति जागृहि त्वमिष्टापूर्ते स℧ सृजेथामयं च । अस्मिन्त्सधस्थे अध्युत्तरस्मिन्  विश्वेदेवा यजमानश्च सीदत ।
पुराणोक्त बुध मन्त्र – ॐ प्रियङ्गु कलिका श्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।
बुध गायत्री मन्त्र – (क) ॐ गजध्वजाय विद्महे सुखहस्ताय धीमहि तन्नो बुध: प्रचोदयात् ! (ख) ॐ सौम्यरूपाय विद्महे बाणेशाय धीमहि तन्नो बुध: प्रचोदयात् !
तन्त्रोक्त बुध मन्त्र – ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः ।
लघु बीज मन्त्र – ॐ बुं बुधाय नमः ।
बुध ग्रहलाई अर्घ्य दिने मन्त्र – सौम्य ! सौम्यगुणोपेत ! रुपेणाप्रतिम बुध । चन्द्रपुत्रः गृहाणार्घ्यं प्रसीद शशिज शुभ ।।
बुध ग्रहको जाप संख्या –  ८०००
बुध ग्रहको रत्न –  हरियो रंगको पन्ना रत्न (३, ६ वा ७ क्यारेट) सुनको वा चाँदीको औंठीमा जडान गरी विधिपूर्वक दाहिने हातको कान्छी औंला वा काहिंली औंलामा धारण गरेमा शुभ फल प्राप्त हुन्छ, अनिष्ट फलको नाश वा न्यूनीकरण हुनेछ ।
बुध ग्रहको दानसामाग्री :–  चिनी, हरियो फूल, हरियो अलैंची वा सुकुमेल, मुँगको दाल, काँसे भाँडो, पन्ना रत्न, सुन, हात्तीको दाँत, हरियो सागपात, हरियो लुगा ।
यन्त्र –  बुध ग्रहको यन्त्रलाई चाँदीको पत्रमा लेख्न लगाएर वा भोजपत्रमा अष्टगन्धले लेखेर ताबिज बनाई विधिवत प्राणप्रतिष्ठा र पूजा गरी दाहिने हातको पाखुरामा धारण गर्दा शुभफल प्राप्त हुन्छ ।

बृहस्पति ग्रहको शान्ति उपाय
बिहीबार, धनु र मीन राशि, पुनर्वसु, विशाखा र शतभिषा नक्षत्रको स्वामी बृहस्पति ग्रह हो । यस ग्रहलाई शुभ ग्रहका रूपमा लिइन्छ, त्यसैले देवगुरु बृहस्पतिको दशाकालमा प्राकृतिक रूपमा मनुष्यले शुभफल प्राप्त गर्दछ । यस समयमा सामाजिक प्रतिष्ठाको अभिबृद्धि हुन्छ । दाम्पत्यसुख, वाहनादिको प्राप्ति, लक्ष्मीप्राप्ति, घरजग्गाको जोहो, सज्जन र विद्वज्जनको सङ्गत, विद्याप्राप्ति र बौद्धिक क्षमताको अभिबृद्धि आदि फल यसै समयावधिमा प्राप्त हुने गर्दछ । कुण्डलीमा बृहस्पति ग्रहको महादशाको समय वा धान्या योगिनीको दशावधि छ भने जसले पनि बृहस्पति ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा बृहस्पति ग्रहको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-
१ – आफ्ना मातापिता, गुरुजन तथा अन्य मान्यजन र पूजनीय व्यक्तिहरूप्रति सम्मान र आदर गर्ने बानी विकसित तुल्याउनु पर्दछ । विशेष अवसरमा यिनीहरूको गोडामा नै ढोगेर वा परम्पराअनुसार प्रणाम गरी आशीर्वाद ग्रहण गर्नुपर्दछ ।
२ – श्वेत चन्दन (श्रीखण्ड) चनौटोमा घसेर त्यसमा केसरी मिसाई निधारमा टीका लगाउनु पर्दछ ।
३ – कुनै धार्मिक वा कुलपरम्परासँग सम्बद्ध मठ, मन्दिर वा धार्मिक/सामाजिक स्थानमा निःशुल्क सेवा गर्नुपर्दछ वा त्यस्तो ठाउँको जीर्णोद्धार गर्नुपर्दछ ।
४ – यात्राका क्रममा कुनै देवस्थल, मठमन्दिर वा पुराना घर वा स्मारक भेटिएमा तिनलाई टाउको निहुर्याई प्रणाम र सम्मान गर्नु पर्दछ ।
५ – परस्त्री वा परपुरुषसँग अबैध शारीरिक सम्पर्क भएमा गुरु बृहस्पति रुष्ट हुन्छन् । त्यसैले त्यस्तो नाजायज सम्बन्ध गाँस्नु हुँदैन ।
६– प्रत्येक दिन घर छेउछाउमा रहेको केराको बोटलाई पूजा गरी त्यसको फेदमा शुद्ध जलले सिञ्चन गर्नुपर्दछ र प्रत्येक बिहीबारका दिन सन्ध्याकालमा केराको बोटमा दियो बाली दिनुपर्छ ।
७– बिहीबारका दिन गहुँको पीठोको घोलमा चनाको दाल, गुड र बेसार मिसाएर गाईलाई खान दिनुपर्दछ ।
८ - बृहस्पति ग्रहको महादशा चलिरहेको छ भने बृहस्पति ग्रहको थप उर्जा प्राप्त गर्न कुलदेवताको दैनिक आराधना गर्ने एवं घरका बृद्धसदस्य, अभिभावक वा आफ्ना गुरुको आशीर्वाद प्राप्त गर्ने बानी विकसित गर्नु पर्दछ ।
९ - प्रत्येक बिहीबारका दिन पहेंलो फलफूूल, रहरको दाल वा बेसार अनाथालय, बृद्धाश्रम वा मठमन्दिरमा दान गर्नुपर्छ ।
१० - प्रत्येक वर्षको जन्ममहिनामा कम्तीमा नौजना बृद्धबृद्धा भेला पारी पेटभरि खिर भोजन गराउनु पर्छ ।
११ - घरायसी परम्पराबमोजिम प्रत्येक कुलपूूजामा सहभागी बन्नुपर्छ र पैतृक कार्यलाई नियमानुसार सम्पादन गर्नुपर्छ ।
१२ - बिहीबारका दिन व्रत लिनुपर्छ । पहेंलो फूलको प्रयोग गरी इष्टदेवको पूजाआजा गर्नुपर्छ । पितृसूक्त, श्रीमद्भागवत, श्रीमद्भगवद्गीता वा विष्णुसहस्रनाम स्तोत्रको पाठ गर्नुपर्छ । गाई, गरीबगुरुबा, ब्राह्मण र बृद्धबृद्धाको सेवा गर्नुपर्छ ।
१३ - सम्भव भएसम्म पहेंलो रङका लताकपडा र मालतालको प्रयोग गर्नु राम्रो हुन्छ ।

यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र देवगुरु बृहस्पतिको नराम्रो प्रभावलाई न्यूनीकरण गरी शुभ प्रभाव प्राप्त गर्न सुरुमा बिहीबार वा बृहस्पतिको नक्षत्र (पुनर्वसु, विशाखा र पूर्व-भाद्रपद) वा गुरुको होरामा अवलम्बन गर्दा राम्रो हुन्छ ।

बृहस्पति ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
बृहस्पति ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्य देवता - भगवान् विष्णु, कुलदेवता वा पितृदेवता
वैदिक मन्त्र – ॐ बृहस्पते अति यदर्यो अर्हाद् द्युमद्विभाति क्रतुमज्जनेषु । यद्दीदयच्छवस ऋतप्रजात तदस्मासु द्रविणं धेहि चित्रम् ।
पुराणोक्त मन्त्र – ॐ देवानां च ऋषीणां च गुरुः काञ्चनसन्निभम् । बुद्धिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ।।
गुरु गायत्री मन्त्र – ॐ वृषभध्वजाय विद्महे घ्रिणीहस्ताय धीमहि तन्नो गुरुः प्रचोदयात् ।
तन्त्रोक्त मन्त्र – ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः ।
लघु बीज मन्त्र – ॐ बृं बृहस्पतये नमः ।
बृहस्पति ग्रहलाई अर्घ्य दिने मन्त्र – अभिष्ट फलद देव सर्वज्ञ सुरपूजित । अक्षमालाधर शान्तः गृहाणार्घ्यं बृहस्पते ।।
बृहस्पति ग्रहको जप संख्या – १९०००
रत्न – देवगुरु बृहस्पतिको शुभफलमा वृद्धिका लागि सुनको औंठी बनाएर दाहिने हातको चोर औंलामा ५ क्यारेटभन्दा माथिको पुष्पराज रत्न कुल देवताको पूजागरी बिहीबार, पुष्य नक्षत्र वा पूर्णिमाका दिन प्रातःकालमा धारण गर्नुपर्छ ।
दान सामग्री – पहेंलो कपडा, पुष्पराज रत्न, पहेंलो धान, चनाको दाल, बेसार, हलेदो, मह, पहेंलो पाकेको मौसमअनुसारको फल, घिउ, कुनै पुराण वा गीताको पुस्तक, सुन, पहेंलो मिठाइ, दक्षिणा आदि ।
यन्त्र – सुन वा चाँदीको पत्रमा गुरु यन्त्र लेखेर सुन्दर फ्रेम हाली पूजा र प्रतिष्ठा गरी घाँटी वा दाहिने पाखुरामा धारण गर्नुपर्छ ।
शुक्र ग्रहको शान्ति उपाय
शुक्रबार, बृष र तुला राशि, भरिणी, पूर्वाफाल्गुनी र पूर्वाषाढा नक्षत्रको स्वामी शुक्र ग्रह हो । यस ग्रहलाई पनि शुभ ग्रहका रूपमा नै लिने गरिन्छ, त्यसैले शुक्र ग्रहको महादशा कालमा आमरूपमा मनुष्यले सुखसुविधा र धनवैभवको विस्तार गर्ने सम्भावना हुन्छ । यस समयमा राजातुल्य सुखको प्राप्ति हुन्छ । साथीभाइबाट हरहमेशा सहयोग प्राप्त हुन्छ । मनोरञ्जन, उत्सव, यज्ञयागादिमा सहभागी भइन्छ । घरमा सुखसम्मृद्धि र लक्ष्मीले निवास गर्दछन् । यस समयमा सद्बुद्धि प्राप्त हुन्छ । भोगविलास र श्रृंगारिकतातर्फ मानसिक आकर्षण बढ्ने गर्दछ । कुण्डलीमा शुक्र ग्रहको महादशाको समय वा सिद्धा योगिनीको दशावधि छ भने जसले पनि शुक्र ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा शुक्र ग्रहको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-
१ – काला कमिलालाई चिनी खुवाउनु पर्दछ ।
२ – शुक्रवारका दिन सेतो गाईलाई चामलको पिठो खुवाउनु पर्दछ, उक्त गाईको पूजा गरी सेतो चन्दनको तिलक लगाउँदा शुभ हुन्छ ।
३ – एउँटा आँखा नभएको कुनै कानो मानिसलाई सेता लुगा र सेतो फल वा मिठाइ दान गर्नुपर्दछ ।
४ – कुनै महत्त्वपूर्ण काममा घरबाहिर जाँदा छोरी, बहिनी वा कुनै १० वर्षभन्दा कम उमेरकी बालिकालाई खुट्टामा ढोगेर आशीर्वाद ग्रहण गरी निस्कनु पर्दछ ।
५ – घर बनाउँदा सेतो मार्बलको प्रयोग गर्नुपर्दछ ।
६ – कुनै असहाय कन्याको पालनपोषण गरी कन्यादान गरिदिएमा शुक्र ग्रह अत्यन्त प्रसन्न हुने गर्दछन् ।
७– शुक्रवारका दिन कम्तीमा आफ्नो तौलको दशांश (८० किलो वजन भए ८ किलो) गाईको दूध जम्मा पारी त्यसले आफूले स्नान गर्नुपर्दछ वा शिवालयमा गई भगवान् शङ्करको उक्त दूधले अभिषेक गर्नुपर्दछ ।
८ - शुक्रको महादशा चलिरहेको छ भने शुक्र ग्रहको थप उर्जा प्राप्त गर्न दिनैपिच्छे लोकल गाईको पूजाआराधना गर्ने एवं आमा, पत्नी वा छोरीको हातबाट लिई गुलियो पदार्थ खाने वा मगन्तेलाई दिने बानी विकसित गर्नु पर्दछ ।
९ - शुक्रबारका दिन पारेर गच्छेअनुसार नारीश्रृङ्गारका सामाग्रीहरु कुनै न कुनै सौभाग्यवती स्त्रीलाई दान गर्नुपर्छ र प्रत्येक वर्षको जन्मतिथिमा कुनै गाईको पालनपोषण गर्ने किसान वा ब्राह्मणलाई अथवा गौशालामा गई आफ्नो तौलबराबरको चारा, चोकर वा घाँस दान गर्नु पर्छ तथा कम्तीमा सात जना सधवा स्त्री भेला पारी पेटभरि भोजन गराउनु पर्छ ।
१० - शुक्रवारको व्रत सम्पादन गर्नु पर्छ । 
११ - दीनदुःखी, रोगी विशेष गरी कुष्ठ रोगीलाई शुक्रवारका दिन खिचड़ी खुवाउनु शुभ हुन्छ ।
यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र शुक्र ग्रहको दुष्प्रभावलाई निवारण गर्न सुरुमा शुक्रबारका दिन, शुक्र ग्रहको नक्षत्र (भरणी, पूर्वाफाल्गुनी र पूर्वाषाढा) वा शुक्रको होरामा गर्नु राम्रो हुन्छ ।
शुक्र ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
शुक्र ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्य देवता - महालक्ष्मी/विष्णु भगवान्
वैदिक मन्त्र  – ॐ अन्नात्परिस्रुतो रसं ब्रह्मणा क्षत्रं पयः सोमं प्रजापति । ऋतेन सत्यमिन्द्रियं वियान ℧ शुक्रमन्धस इन्द्रस्येन्द्रियमिदं पयोऽमृतं मधु ।।
पौराणिक मन्त्र  – ॐ हिमकुन्दमृणालाभं दैत्यानां परमं गुरूम् ।। सर्व शास्त्रप्रवक्तारं भार्गवं प्रणमाम्यहम् ।।
शुक्र गायत्री मन्त्र  – ॐ भृगुराजाय विद्महे दिव्यदेहाय धीमहि तन्नो शुक्रः प्रचोदयात् ।।
तन्त्रोक्त मन्त्र  – ॐ द्रां द्रीं दौं सः शुक्राय नमः ।
लघु बीज मन्त्र – ॐ शुं शुक्राय नमः ।
शुक्र ग्रहलाई अर्घ्य दिने मन्त्र – भार्गव करुणासिन्धु ज्ञानगम्य सुतप्रद । गृहाणार्घ्यं मया दत्तं शुभ्रांशो ! शुक्लभूषणः ॥
जप संख्या – ११०००
रत्न  – शुक्र ग्रहका लागि हीरा वा अोपल (हीरा कम्तीमा २ क्यारेट र अोपल कम्तीमा ७ क्यारेट) चाँदी वा श्वेतस्वर्ण (White-Gold) मा जडान गरी दाहिने हातको कान्छी औंलामा धारण गर्ने प्रचलन छ ।
दानसामाग्रीहरू :– चाँदी, चामल, सुन, दूध, दही, सेतो कपडा, सेतो घोड़ा, सेतो फूल, सेतो फल, सुगन्धित पदार्थ, दक्षिणा ।
शनि ग्रहको शान्ति उपाय
शनिबार, मकर र कुम्भ राशि, पुष्य (तिष्य), अनुराधा, उत्तराभाद्रा नक्षत्रको स्वामी शनिश्चर ग्रह हो । यस ग्रहलाई अशुभ र दुष्ट ग्रहका रूपमा लिने गरिन्छ । शनिश्चरको दृष्टि खराब हुन्छ भन्ने मान्यता छ, त्यसैले प्राकृतिक रूपमा शनिश्चर ग्रहको महादशा मनुष्यको जीवनको संघर्ष र कडा परिश्रमले भरिएको समयावधि हो । यस अवधिमा झुट्टा आरोप, शत्रु र मुद्दामामिलाको भय, बुद्धिपक्षमा मलीनता, दुष्टव्यक्तिसँगको संसर्ग, घरका आफूमुनिका सदस्यहरुको कमजोर स्वास्थ्यस्थिति, अभिभावक, पशुचौपाया र वाहनादिबाट नोक्सानी, मित्रद्रोह र जालसाजी आदि समस्याबाट पीडित हुनुपर्छ । कुण्डलीमा शनिश्चर ग्रहको महादशाको समय वा उल्का योगिनीको दशावधि छ भने जसले पनि शनि ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा शनिको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-
१ – शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु पर्दछ ।
२ – शनिवारका दिन फलाम, छाला, काठबाट निर्मित वस्तु वा कुनै किसिमको तेल (खाने तेल वा पेट्रोलियम) किन्नु हुँदैन ।
३ – शनिवारका दिन कपाल छाँट्नु वा खौरनु हुँदैन, दाह्री वा नङ काट्नु हुँदैन ।
४ – कुनै नीच जाति वा जोगीलाई तोरी वा सर्स्युंको तेल दान गर्नुपर्दछ ।
५ – कुनै मगन्ते, भिखारी वा खुट्टा खोच्याउने अथवा खुट्टाले अपाङ्ग ब्राह्मणलाई कालोमासको दाल पकाएर फलाम वा स्टिलको कचौरामा राखी दान गर्नुपर्दछ वा खान दिनुपर्छ ।
६ – कोही कुनै गुनासो पोख्न वा सहयोग माग्न आयो भने त्यसका कुरा सुनेर सकेको आश्वासन र सहयोग प्रदान गर्नुपर्दछ । कोही गुनासो गर्दै रोएमा त्यसका आँसु आफ्ना हातले पुछिदिंदा शनिश्चर अतीव प्रसन्न हुने गर्दछन् । कसैलाई दिएको वचन वा कुनै देवस्थलमा गरेको भाकल तुरुन्त पूर्ण गर्नुपर्दछ ।
७ – घर बनाउँदा कालो मार्बलको प्रयोग गर्नुपर्दछ ।
८ - शनिको महादशा वा साढेसातीको समय चलिरहेको छ भने शनि ग्रहको थप उर्जा प्राप्त गर्न दिनैपिच्छे काग, गिद्ध वा भुस्याहा कुकुरलाई खानेकुरा प्रदान गर्ने एवं छोराछोरी, नोकरचाकर वा भाइबहिनीलाई मिश्री, चकलेट आदि गुलियो पदार्थ बाँड्ने बानी विकसित गर्नु पर्दछ ।
९ - प्रत्येक शनिबारका दिन गच्छेअनुसार काला चिजबिज जम्मा पारेर जोगीलाई वा कुनै मठमन्दिर अथवा शनिमन्दिरमा गई दान गर्नुपर्छ ।
१० - प्रत्येक वर्षको जन्मतिथिमा शनिमृत्युञ्जय स्तोत्रको १०८ आवृत्ति पाठ गर्न लगाई शिवार्चन (रुद्रीपूूजा) गर्नुपर्छ वा कुनै देवालयमा गई कम्तीमा दस जना भिखारी वा मगन्तेलाई पेटभरि भोजन गराउनु पर्छ ।
११ - शनिबार बिहान झिसमिसेमा उठी स्नानादिबाट निवृत्त भई पीपलको रुखमा जल चढाउनु पर्छ ।
१२ - शिव स्तोत्र व शनि स्तोत्रको पाठ गर्नु पर्छ । 
१३ - शनि यन्त्र धारण गर्नु पर्छ ।
१४ - हनुमान् जीको उपासनाबाट पनि लाभ लिन सकिन्छ ।
१५ - दिनैपिच्छे चराचुरुङ्गी वा माछालाई खानेकुरा प्रदान गर्नुपर्दछ र शनिबार मांसाहार गर्नुहुँदैन ।
यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र शनि ग्रहको अशुभ प्रभावको निवारण र शुभफलको प्राप्तिका निमित्त शनिवारका दिन, शनि ग्रहको नक्षत्र (पुष्य, अनुराधा र उत्तरभाद्रपद) वा शनिको होराबाट प्रारम्भ गर्नु उचित हुनेछ ।
शनि ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
शनि ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्य देवता - भगवान् शिव/मृत्युञ्जय
वैदिक मन्त्र – ॐ शन्नो देवी रभिष्टय आपो भवन्तु पीतये । शंय्योरभिस्रवन्तु नः ।
पौराणिक मन्त्र – ॐ नीलाञ्जन समाभासं रविपुत्रं यमाग्रजम् । छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।
शनि गायत्री – ॐ भगभवाय विद्महे मृत्युरुपाय धीमहि, तन्नो सौरिः प्रचोदयात् ।
तन्त्रोक्त मन्त्र – ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।
लघु बीज मन्त्र - ॐ शं शनैश्चराय नमः ।
शनि ग्रहलाई अर्घ्य दिने मन्त्र – नीलाम्बर नीलवपो किरीटिन् रविनन्दन । छायासुत ! गृहाणार्घ्यं प्रसीद सूर्यजः मम ।
जाप संख्या – २३०००
रत्न – शनिको अशुभ फल निवारण र शुभ फलको बृद्धिका लागि २, ३, ६, ७, १० वा ११ क्यारेटको नीलम रत्न चाँदीको औंठीमा बनाई दाहिने हातको माझको औंलामा धारण गर्ने प्रचलन छ ।
दानसामाग्रीहरू :– फलाम, तिल, मास (कालो दाल), तोरी वा सस्र्यूंको तेल, कालो कपडा, काली गाई, गहत, फलामको भाँडो, छाता, जुत्ता, भैंसी, कस्तूरी, सुन, नरिवल, कालो वा नीलो फूल ।

राहु ग्रहको शान्ति उपाय
कन्या राशि, आर्द्रा, स्वाती र शतभिषा नक्षत्रको स्वामी राहु ग्रह हो । यस ग्रहलाई पनि शनि ग्रह झैं अशुभ र दुष्ट ग्रहका रूपमा लिने गरिन्छ, त्यसैले राहु ग्रहको महादशाको अवधिमा पनि जातकले नैसर्गिक रूपमा अशुभ फलहरु प्राप्त गर्दछन् । यस समयमा धन र प्रतिष्ठाको नाश हुने खतरा हुन्छ । रोगव्याधिले सताउँछ, विशेषतः घरमा पिता वा अभिभावकको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्दछ । जीवनसाथी र सन्तानपक्षमा समेत पीडा हुन्छ । साथीभाइले धोका दिन्छन् । गरेका काममा खासै सफलता प्राप्त हुँदैन । चारैतिर आफूप्रतिकूलको वातावरण सिर्जना हुनाले मन त्यसैत्यसै अत्तालिने स्थितिको सिर्जना हुन्छ । कुण्डलीमा राहु ग्रहको महादशाको समय वा सङ्कटा योगिनीको सुरुको चारवर्षको अवधि छ भने जसले पनि राहु ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा राहुको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-
१ – राहुको दुष्प्रभावलाई न्यूनीकरण गर्न अष्टधातुको बाला बनाउन लगाई दाहिने हातको नारीमा धारण गर्नुपर्दछ ।
२ – हाथीको दाँतको आकृतिको लकेट (पेन्डेन्ट) बनाई चाँदीको सिक्रीमा झुन्ड्याई गलामा धारण गर्नुपर्दछ ।
३ – श्रीखण्ड चन्दनको एउटा सानो टुक्रा आफ्नो पर्स वा सधैं बोक्ने झोलामा हरहमेशा राख्नुपर्दछ ।
४ – डुम, चमार, मेत्तर, सार्की, पोडे वा घरको फोहोर उठाउने व्यक्तिलाई चुरोट, खैनी, गुट्खा आदि अम्मलका वस्तुहरू दान दिनुपर्दछ । तर राहुको अवधिभरि आफूले चुरोट, खैनी वा गुट्खा आदि सूर्तिजन्य पदार्थको सेवन नगरेको जाति हुन्छ ।
५ – दिनको सन्धिकाल अर्थात् सूर्योदय र सूर्यास्तको आसपासमा कुनै महत्त्वपूर्ण काम गर्नुहुँदैन, कुनै यात्रामा निस्कनु हुँदैन र शयन गर्नु हुँदैन ।
६ – कतै ऋणसापटीमा गएको धन फिर्ता आएको छैन भने उक्त धन फिर्ता ल्याउन प्रशासन वा प्रहरिको सहायता लिनु हुँदैन । बरु प्रातःकालमा पन्छीलाई दाना खुवाई मेलमिलापको नीति लिई शान्त वातावरणमा उठाउने प्रयास गर्नु पर्दछ ।
७ – कसैलाई आश्वासन दिनु हुँदैन, वाचा गर्नु हुँदैन । राहुको दशाकालमा कुनै पुराना वाचा वा कसम पूरा गर्न सकियो भने राहु ग्रह अत्यन्त प्रसन्न हुने गर्दछ ।
८ - राहुको महादशा वा सङ्कटाको सुरुको चार वर्षभित्रको अवधि चलिरहेको छ भने राहु ग्रहको थप उर्जा प्राप्त गर्न दिनैपिच्छे नाग गायत्री मन्त्र (ॐ नवकुलाय विद्महे विषदन्ताय धिमहि तन्नो सर्प प्रचोदयात्) को नौ आवृत्ति जाप गर्नुपर्दछ ।
९ - थाङ्ने माग्ने वा गरिबगुरुवालाई शनिबारका दिन ध्वाँसे कपडामा गहत पोको पारी दान गर्नुपर्दछ ।
१० - अस्पतालमा भर्ना भएका रोगीको उपचार र स्याहारसुसारमा संलग्न हुनुपर्दछ ।
११ - प्रत्येक शनिबार वा बुधबारका दिन गच्छेअनुसार राहु ग्रहको दानसामाग्री जम्मा पारेर जोगीलाई वा कुनै मठमन्दिर अथवा शिवमन्दिरमा गई दान गर्नुपर्छ ।
१२ - प्रत्येक वर्षको जन्मतिथिमा बुढीषडङ्ग रुद्रीअन्तर्गतको राहुसूक्तको १८ आवृत्ति पाठ गर्न लगाई शिवार्चन (रुद्रीपूूजा) गर्नुपर्छ ।
१३ - पूजा गर्ने अनुकूलता नभएमा कुनै देवालयमा गई कम्तीमा १८ जना भिखारी वा मगन्तेलाई पेटभरि भोजन गराउनु पर्छ ।
यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र राहु ग्रहको दुष्प्रभावलाई शान्त तुल्याउन शनिवार वा बुधबारको दिन, राहुको नक्षत्र (आर्द्रा, स्वाती र शतभिषा) वा शनि वा बुधको होरामा प्रारम्भ गर्नु शुभ हुन्छ ।
राहु ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
राहु ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्य देवता - अष्टनाग, शिवजी (कालभैरव)
वैदिक मन्त्र – ॐ कयानश्चित्रऽआभुवदूती सदावृधः सखा कया शचिष्ठया वृता ।
पौराणिक मन्त्र – ॐ अर्धकायं महावीर्यं चन्द्रादित्य विमर्दनम् । सिंहिका गर्भ सम्भूतं तं राहुं प्रणमाम्यहम् ।।
राहु गायत्री मन्त्र – ॐ शिरो रूपाय विद्महे अमृतेशाय धीमहि तन्नो राहुः प्रचोदयात् ।।
तन्त्रोक्त राहु मन्त्र – ॐ भ्रां भ्रीं भ्रौं सः राहवे नमः ।
लघु बीज मन्त्र - ॐ रां राहवे नमः ।
राहु ग्रहलाई अर्घ्य दिने मन्त्र – राहु दानवमन्त्री च सिंहिकाचित्तनन्दन । अर्द्धकाय ! गृहाणार्घ्यं, चन्द्रादित्यविमर्दनः ॥
जप संख्या – १८०००
रत्न – राहु ग्रहको शान्तिका लागि २, ३, ६, ७, १० वा ११ क्यारेटको गोमेद रत्न चाँदीको औंठीमा बनाई दाहिने हातको माझको औंलामा धारण गर्ने प्रचलन छ ।
राहु ग्रहको दानसामाग्री – सप्तधान्य, गोमेद, सीसा, कालो घोडा, तिल, चाँदीको सर्प, मास (कालो दाल), कम्बल, नरिवल, कालो वा नीलो कपडा, खड्ग (तरबार) ।

केतु ग्रहको महादशा
मीन राशि, अश्विनी, मघा र मूल नक्षत्रको स्वामी केतु ग्रह हो । यस ग्रहलाई पनि शनि ग्रह झैं अशुभ र दुष्ट ग्रहका रूपमा लिने गरिन्छ, त्यसैले केतु ग्रहको महादशा प्राप्त हुँदा नैसर्गिक रूपमा मनुष्यले प्रायशः मानसिक सन्ताप र दिमागी पीडालाई व्यहोर्नु पर्ने हुन्छ । यस समयमा आफन्तहरुसँग झैझगडा, विवाद र कलहको सम्भावना बढ्ने गर्दछ । पाचनप्रणालीमा समस्या देखिने, कुनै महत्वाकांक्षा र जोखिमका कारण धन र वैभवको नाश हुने, राज्यपक्ष र प्रशासनिक झैझमेलाबाट सन्तप्त रहनु पर्ने परिस्थिति केतुको महादशा कालमा भोग्नु पर्ने हुन्छ । कुण्डलीमा केतु ग्रहको महादशाको समय वा सङ्कटा योगिनीको अन्तिम चार वर्षको समयावधि छ भने जसले पनि केतु ग्रहको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंको जन्मकुण्डलीमा केतुको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-
१ – घरका छोराछोरी वा नातिनातिनालाई हरहमेशा नम्र व्यवहार गर्नुपर्दछ ।
२ - मगन्ते, भिखारी वा जोगीलाई दुई वटा रङ मिसिएको कम्बल वा दोलाई दान गर्नुपर्दछ ।
३ – शक्ति उपासना गर्नेहरूले देवीको मन्दिर भोग खाने शक्तिपीठमा कालो बोकाको बलि दिनुपर्दछ । वैष्णव वा शाकाहारी परिवारका व्यक्तिले प्रत्येक मङ्गलबार वा बिहीबारका दिन कालो बोकोलाई हरियो र पोसिलो घाँस खुवाउनु पर्दछ ।
४ – छाँगो वा झरनामा गई स्नान गर्नु पर्दछ ।
५ – घर बनाउँदा दुईवटा रङको सम्मिश्रण भएको मार्बल वा ढुङ्गाको प्रयोग गर्नुपर्दछ ।
६ – आफू सुत्ने खाट वा पलङ्गमुनि कुनै भारी चिज वा आफ्नो तौलको कम्तीमा १० प्रतिशत तौलको ढुङ्गो राख्नु पर्दछ ।
७ – कुनै पवित्र नदी, तलाउ वा सरोवरको शुद्ध जल ल्याई आफ्नो शयनकक्षको सिराने भागमा राख्नु पर्दछ ।
८ - नरिवलमा कुराउनी वा कुनै दूधबाट बनेको मिठाइ भरेर भुइँमा गाडी दिनुपर्दछ ।
९ - केतुको महादशा वा सङ्कटाको पछिल्लो चार वर्षभित्रको अवधि चलिरहेको छ भने केतु ग्रहको थप उर्जा प्राप्त गर्न दिनैपिच्छे हनुमान् चालिसाको नौ आवृत्ति पाठ गर्नुपर्दछ ।
१० - कुनै विद्यालय वा अनाथाश्रममा अक्षयकोषको स्थापना गर्नुपर्दछ ।
११ - प्रत्येक मङ्गलबार वा बिहीबारका दिन गच्छेअनुसार केतु ग्रहको दानसामाग्रीका साथमा काँसोको भाँडोमा राखी कुनै पक्वान्न कुनै बृद्ध जोगीलाई वा माता दुर्गाको शक्तिपीठमा दान दिनुपर्छ ।
१२ - प्रत्येक वर्षको जन्मतिथिमा बुढीषडङ्ग रुद्रीअन्तर्गतको केतुसूक्तको ७ आवृत्ति पाठ गर्न लगाई सम्पुटसहित श्री दुर्गासप्तशती (चण्डी) पाठ ३ वा ९ आवृत्ति गर्नुपर्छ ।
१३ - देवीदेउराली वा कुनै शक्तिपीठमा गई वर्षको एकपल्ट नौ जना नौ वर्षमुनिका बालिका लाई कालो रङको तैयारी लुगा दान गर्नुपर्दछ ।
१४ - माथि मङ्गल ग्रहको उपायमा उल्लेख भएका विधिले केतुको स्वस्तिशान्ति गरेमा पनि शुभ नै हुन्छ ।
यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र केतु ग्रहको दुष्प्रभावलाई हटाउनका लागि मङ्गलबार वा बिहीबारका दिन, केतु ग्रहको नक्षत्र (अश्विनी, मघा र मूल) वा मङ्गल वा गुरुको होरामा यी कर्मको सुरुवात गर्नु उचित हुन्छ ।
केतु ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
केतु ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्य देवता - माता दुर्गा/सङ्कटा भगवती र हनुमान्
वैदिक मन्त्र – ॐ  केतुं कृण्वन्नकेतवे पेशो मय्र्याऽपेशसे । समुषभ्दिरजायथाः ।।
पौराणिक मन्त्र – ॐ पलाश पुष्प सकाशं तारका ग्रह मस्तकम् ।
रौद्रं रौद्रात्मकं घोरं तं केतुं प्रणमाम्यहम् ।।
केतु गायत्री – ॐ पद्म पुत्राय विद्महे अमृतेशाय धीमहि तन्नो केतु प्रचोदयात् ।।
तन्त्रोक्त मन्त्र – ॐ स्रां स्रीं स्रौं सः केतवे नमः ।
लघु बीज मन्त्र - ॐ कें कतवे नमः ।
केतु ग्रहलाई अर्घ्य दिने मन्त्र – सदारुद्रप्रिय रुद्र क्रूरकर्मन् सुगन्धधृक् । लोककेतो महाकेतो गृहाणार्घ्यं ग्रहाधिपः !
जाप संख्या – ७०००
रत्न – केतुका लागि २, ३, ६, ७, १० वा ११ क्यारेटको लहसुनिया रत्न सुन, चाँदी वा पञ्चधातुको औंठीमा बनाई दाहिने हातको माझको औंलामा धारण गर्ने प्रचलन छ ।
दानका लागि वस्तुहरू –  फलाम, कालो बोको, नरिवल, तिल, सप्तधान्य, ध्वाँसे कपडा, फलामको हतियार, कैली गाई  र दक्षिणा दान गर्नु पर्दछ ।

योगिनीको स्वस्तिशान्तिको विधान
योगिनीको दशाशान्ति गर्न आफ्ना पुरोहितसँग सम्पर्क गरी हवन र रुद्री जुर्ने दिनको टुङ्गो गर्नुपर्छ । त्यस दिन बुढी षडङ्ग रुद्राभिषेक विधिले रुद्री पूजा गर्न लगाई सम्बद्ध ग्रहको सूक्तपाठ गरी यथायोग्य मन्त्रजाप गर्ने वा सूक्तपाठ नगरी तोकिएको सङ्ख्यामा मन्त्रजाप गरी सम्पन्न गर्न सकिन्छ । तर व्यक्ति स्वयंले गुरुपुरोहित वा ब्राह्मणको सहयोग नलिई आफैं मन्त्रजाप गर्ने हो भने कुनै शुक्लपक्षको सप्तमी तिथिदेखि पूर्णिमाभित्र पर्ने आफूले साधना गर्न लागेको योगिनीका लागि सम्बद्ध ग्रहको बारसँग समन्वय हुने बारको चयन गरी सुरुमा सम्बद्ध ग्रहको पाँच हजार सङ्ख्यामा र त्यसपछि सम्बद्ध योगिनीको तोकिएको मन्त्रको तोकिएको सङ्ख्यामा जाप गर्नुपर्छ । त्यसरी जुनेली पक्षको सप्तमी तिथिदेखि पूर्णिमा तिथिभित्रको दिन चयन गर्दा मङ्गलाका निमित्त सोमबार, पिङ्गलाका लागि आइतबार, धान्याका निमित्त बिहीबार, भ्रामरीका निमित्त मङ्गलबार, भद्रिकाका लागि बुधबार, उल्काका लागि शनिबार, सिद्धाका निमित्त शुक्रबार, राहुको सङ्कटाका लागि बुध वा शनिबार र केतुको सङ्कटा (विकटा)का लागि मङ्गल वा बिहीबारको दिन उचित हुन्छ ।

मङ्गला योगिनीको शान्ति उपाय
मङ्गला योगिनी चन्द्रमाकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा चन्द्रमाले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि चन्द्रमा ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा चन्द्रमा र मङ्गलाको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै चन्द्रमा ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ । मङ्गला योगिनीको पालामा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) सोमबार वा पूर्णिमाको व्रत लिने ।
२) चाँदीको चारपाटे (वर्गाकार) वस्तु हरहमेशा आफूसँग राखेमा मङ्गला योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी चन्द्र ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ ह्रीं मङ्गले मङ्गलायै स्वाहा यस मन्त्रको १००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) चन्द्रमाको दान सामाग्री नै मङ्गला योगिनीको समेत दान सामाग्री भएकाले उक्त दानसामाग्री कुनै सधवा ब्राह्मणी वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ४ क्यारेटभन्दा माथिको मोती पत्थर चाँदीको औंठी बनाई दाहिने हातको कान्छी औंलामा धारण गरेमा पनि मङ्गला योगिनीबाट प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।

पिङ्गला योगिनीको शान्ति उपाय
पिङ्गला योगिनी सूर्यकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा सूर्यले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि सूर्य ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा सूर्य र पिङ्गलाको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै सूर्य ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ । पिङ्गला योगिनीको पालामा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) आइतबार वा प्रत्येक महिनाको कृष्णपक्ष र शुक्लपक्षमा पर्ने सप्तमी तिथिको व्रत लिने ।
२) तामाको बाला दाहिने हातको नारीमा धारण गरेमा पनि पिङ्गला योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी सूर्य ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ ग्लौं पिङ्गले वैरिकारिणी प्रसीद फट् स्वाहा यस मन्त्रको २००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) सूर्यको दान सामाग्री नै पिङ्गला योगिनीको समेत दानसामाग्री भएकाले उक्त दानसामाग्री कुनै प्रौढ अवस्थाको रातो वा श्याम वर्णको ब्राह्मण वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ५ क्यारेटभन्दा माथिको माणिक्य पत्थर सुनमा वा पहेंलो धातुमा औंठी बनाई दाहिने हातको काहिंली औंलामा धारण गरेमा पनि पिङ्गला योगिनीबाट प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।

धान्या योगिनीको शान्ति उपाय
धान्या योगिनी बृहस्पतिकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा बृहस्पतिले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि बृहस्पति ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा बृहस्पति र धान्याको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै बृहस्पति ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ ।धान्या योगिनीको पालामा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) बिहीबार वा प्रत्येक महिनाको कृष्णपक्ष र शुक्लपक्षमा पर्ने पञ्चमी तिथिको व्रत लिने ।
२) सुनको वा तामाको त्रिकोण आकारको लकेट वा कुनै वस्तु हरहमेशा आफ्नो साथमा राखेमा पनि धान्या योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी बृहस्पति ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ श्रीं धनदे धान्यै स्वाहा यस मन्त्रको ३००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) बृहस्पति ग्रहको दान सामाग्री नै धान्या योगिनीको समेत दान सामाग्री भएकाले उक्त दानसामाग्री कुनै बृद्ध ब्राह्मण वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ५ क्यारेटभन्दा माथिको पुष्पराज पत्थर सुनमा वा पहेंलो धातुमा औंठी बनाई दाहिने हातको चोर औंलामा धारण गरेमा पनि धान्या योगिनीबाट प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।

भ्रामरी योगिनीको शान्ति उपाय
भ्रामरी योगिनी मङ्गलकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा मङ्गलले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि मङ्गल ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा मङ्गल र भ्रामरीको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै मङ्गल ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ ।भ्रामरी योगिनीको पालामा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) मङ्गलबार वा प्रत्येक महिनाको कृष्णपक्ष र शुक्लपक्षमा पर्ने चतुर्थी तिथिको व्रत लिने ।
२) सुनको त्रिकोण आकारको लकेट वा कुनै वस्तु हरहमेशा आफ्नो साथमा राखेमा पनि भ्रामरी योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी मङ्गल ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ भ्रामरि जगतामधीश्वरि भ्रामरि क्लीं स्वाहा यस मन्त्रको ४००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) मङ्गल ग्रहको दान सामाग्री नै भ्रामरी योगिनीको समेत दान सामाग्री भएकाले उक्त दानसामाग्री कुनै युवा अवस्थाको रातो वर्णको ब्राह्मण वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ५ क्यारेटभन्दा माथिको मुगा पत्थर सुनमा वा पहेंलो धातुमा औंठी बनाई दाहिने हातको माझको औंलामा धारण गरेमा पनि भ्रामरी योगिनीबाट प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।

भद्रिका योगिनीको शान्ति उपाय
भद्रिका योगिनी बुधकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा बुधले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि बुध ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा बुध र भद्रिकाको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै बुध ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ ।भद्रिका योगिनीको पालामा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) बुधबार वा प्रत्येक महिनाको कृष्णपक्ष र शुक्लपक्षमा पर्ने एकादशी तिथिको व्रत लिने ।
२) चाँदीको पाँचकुने आकारको लकेट वा कुनै वस्तु हरहमेशा आफ्नो साथमा राखेमा पनि भद्रिका योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी दुर्गासप्तशती चण्डीको पाठ र बुध ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ भद्रिके भद्रं देही अभद्रं नाशय स्वाहा यस मन्त्रको ५००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) बुध ग्रहको दान सामाग्री नै भद्रिका योगिनीको समेत दान सामाग्री भएकाले उक्त दानसामाग्री कुनै कुटुम्ब वा चेलीबेटीलाई वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ३ क्यारेटभन्दा माथिको पन्ना पत्थर सुनमा वा चाँदीमा औंठी बनाई दाहिने हातको कान्छी औंला वा काहिंली औंलामा धारण गरेमा पनि भद्रिका योगिनीबाट प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।

उल्का योगिनीको शान्ति उपाय
उल्का योगिनी शनिकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा शनिले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि शनि ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा शनि र उल्काको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै शनि ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ ।उल्का योगिनीको पालामा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) शनिबार वा प्रत्येक महिनाको कृष्णपक्ष र शुक्लपक्षमा पर्ने दशमी तिथिको व्रत लिने ।
२) फलामको प्रयोग गरी निर्माण गरिएको औंठी धारण गरेमा वा कुनै वस्तु हरहमेशा आफ्नो साथमा राखेमा पनि धान्या योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी शनिमृत्युञ्जय स्तोत्रको १०१ आवृत्ति पाठसमेत शनिश्चर ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ उल्के मम रोगं नाशय जृम्भय स्वाहा यस मन्त्रको ६००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) शनिश्चर ग्रहको दान सामाग्री नै उल्का योगिनीको समेत दान सामाग्री भएकाले उक्त दानसामाग्री कुनै नोकरचाकर, नीच जातिको मानिस वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ३ क्यारेटभन्दा माथिको नीलम पत्थर चाँदी वा फलाममा औंठी बनाई दाहिने हातको माझी औंलामा धारण गरेमा पनि उल्का योगिनीबाट प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।

सिद्धा योगिनीको शान्ति उपाय
सिद्धा योगिनी शुक्रकी पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालमा शुक्रले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि शुक्र ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा शुक्र र सिद्धाको दशा एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै शुक्र ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ । सिद्धा योगिनीको पालामा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) शुक्रबार वा प्रत्येक महिनाको कृष्णपक्ष र शुक्लपक्षमा पर्ने नवमी तिथिको व्रत लिने ।
२) चाँदीको छ कुने वा षड्कोण आकारको कुनै वस्तु हरहमेशा आफ्नो साथमा राखेमा पनि सिद्धा योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी शुक्र ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ ह्रीं सिद्धे मे सर्वमानसं साधय स्वाहा यस मन्त्रको ७००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) शुक्र ग्रहको दान सामाग्री नै सिद्धा योगिनीको समेत दान सामाग्री भएकाले उक्त दानसामाग्री कुनै सौभाग्यवती ब्राह्मणी वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ७ क्यारेटभन्दा माथिको ओपल वा कम्तीमा २ क्यारेटभन्दा माथिको हीरा पत्थर चाँदीमा औंठी बनाई दाहिने हातको कान्छी औंलामा धारण गरेमा पनि सिद्धा योगिनीबाट प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।

सङ्कटा योगिनीको राहु खण्ड (सुरुको चार वर्षको अवधि) को शान्ति उपाय
सङ्कटा योगिनी राहु/केतुकी साझा पत्नीको नाम हो । त्यसैले यस योगिनीको दशाकालको सुरुको चारवर्षको अवधिमा राहुले प्रदान गर्ने शुभ र अशुभ फल नै प्राप्त हुन्छ । त्यसैले यसको उक्त चार वर्षको अवधिमा प्राप्त हुने अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि राहु ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा राहु र सङ्कटाको दशाको सुरुको चार वर्षको समय एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै राहु ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ । सङ्कटा योगिनीको सुरुको चार वर्षमा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) शनिबार, बुधबार वा प्रत्येक महिनाको कृष्णपक्ष र शुक्लपक्षमा पर्ने पञ्चमी तिथिको व्रत लिने ।
२) जुनसुकै धातुमा निर्माण गरी नागाकृति वस्तु धारण गर्ने वा हरहमेशा आफ्नो साथमा राखेमा पनि सङ्कटा योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी राहु ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ ह्रीं सङ्कटे मम रोगं नाशय स्वाहा यस मन्त्रको ८००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) राहु ग्रहको दान सामाग्री नै सङ्कटा योगिनीको सुरुको चार वर्षको दान सामाग्री भएकाले उक्त दानसामाग्री कुनै नीच जातिको व्यक्तिलाई वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ३ क्यारेटभन्दा माथिको गोमेदमणि पत्थर चाँदीमा औंठी बनाई दाहिने हातको माझी औंलामा धारण गरेमा पनि सङ्कटा योगिनीको सुरुको चार वर्षमा प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।

सङ्कटा योगिनीको केतु खण्ड (विकटा – अन्तिम चार वर्ष) को शान्ति उपाय
सङ्कटा योगिनीको दशाकालको अन्तिम चारवर्षको अवधिमा यसको नाम विकटा हो भन्ने मान्यता छ । यस समयमा यस योगिनीले केतु ग्रहले प्रदान गर्ने शुभ र अशुभ फल नै प्रदान गर्दछ । त्यसैले यसको उक्त चार वर्षको अवधिमा प्राप्त हुने अशुभ फलको निवारण र शुभ फलको अभिवृद्धिका लागि केतु ग्रहकै उपासनामाथि जोड दिनुपर्दछ । तपाईंको जीवनमा केतु र सङ्कटाको दशाको अन्तिम चार वर्षको समय अर्थात् विकटाको समय एकै पटक आएमा अधिकतम अनिष्ट फलहरू प्राप्त हुने गर्दछन् । त्यसैले त्यस्तो अवस्था हुनुअघिदेखि नै केतु ग्रहकै स्वस्तिशान्तिका उपाय अवलम्बन गरी दशा निवारण गर्नु राम्रो हुन्छ । सङ्कटा योगिनीको अन्तिम चार वर्षमा प्राप्त हुने अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ :-
१) मङ्गलबार, बिहीबार वा प्रत्येक महिनाको कृष्णपक्ष र शुक्लपक्षमा पर्ने औंसी र पूर्णिमा तिथिको व्रत लिने ।
२) सुनको गणेश वा हनुमानको प्रतिमा वा आकृति बनाई हरहमेशा आफ्नो साथमा राख्ने र गणेश अथर्वशीर्ष वा हनुमान् चालिसाको नियमित पाठ गरेमा पनि सङ्कटा योगिनीको शुभफल प्राप्त हुन्छ ।
३) घरमा बुढी षडङ्ग रुद्री पूजा गरी केतु ग्रहको बीज मन्त्रको ५००० आवृत्ति जाप र ॐ नमो भगवति विकटे वीरपालिके प्रसीद, प्रसीद यस मन्त्रको ८००० सङ्ख्यामा जाप गर्नु उचित हुन्छ ।
४) केतु ग्रहको दान सामाग्री नै सङ्कटा योगिनीको अन्तिम चार वर्षको दान सामाग्री भएकाले उक्त दानसामाग्री कुनै नीच जातिको व्यक्तिलाई वा जोगीलाई दान गर्नुपर्दछ ।
५) कम्तीमा ३ क्यारेटभन्दा माथिको वैदूर्यमणि (लसुनिया) पत्थर चाँदीमा औंठी बनाई दाहिने हातको माझी औंलामा धारण गरेमा पनि सङ्कटा योगिनीको अन्तिम चार वर्षमा प्राप्त हुने अनिष्टको निवारण हुन्छ ।