Showing posts with label बडादशैं. Show all posts
Showing posts with label बडादशैं. Show all posts

Friday, March 31, 2017

स्कन्दमाता भगवतीको महिमा

नवरात्री पर्वको पाँचौं दिन अर्थात् पञ्चमी तिथिमा नवदुर्गा भगवतीको पाँचौं शक्तिका रूपमा प्रादुर्भाव भएकी श्री स्कन्दमाता भगवतीको पूजाअर्चना गर्दै श्रद्धाभक्तिपूर्वक महिमा गायन गरिन्छ । भगवान् शिवका सुपुत्र स्कन्दकुमार (कार्तिकेय) को बालस्वरूपलाई यिनले सदैव काखमा लिएकी हुन्छिन् र ममत्वपूर्ण स्नेह प्रदान गर्ने गर्दछिन्, अतः नाैरथा पर्वको पाँचौं दिन सनातन हिन्दु धर्माबलम्बीहरूले श्रद्धाभक्तिपूर्वक यिनलाई स्कन्दमाता भनी सम्बोधन गर्दछन्। स्कन्दमातृस्वरूपिणी भगवती दुर्गाको चारवटा हातमा क्रमशः माथिका दुबै हातमा कमलको फूल लिएकी हुन्छिन् भने दाहिने भागको तल्लो हातले स्कन्दकुमारलाई च्यापेर आफ्ना काखमा  राखेकी हुन्छिन् र देब्रे पट्टिको तल्लो हातमा वरमुद्रा धारण गरेकी हुन्छिन्। उनी पद्मासनमा सिंहमा विराजमान हुने गर्दछिन् । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तो देदीप्यमान छ ।

नवरात्री पर्व सुरु भएपछि प्रायः सबैजसो दिनमा विभिन्न स्थानमा आदिकालदेखि उत्पत्ति भएको मानिने वा पछि प्रतिष्ठापित गरिएका आद्याशक्ति जगन्माता दुर्गा भगवतीका शक्तिपीठहरूमा आस्थावान् सनातन हिन्दु धर्माबलम्बीहरूले श्रद्धाभक्तिपूर्वक नवदुर्गा भवानीको दर्शन गरी हर्ष उल्लासका साथ पूजाअर्चना गर्ने चलन छ, यस क्रममा पाँचौ दिन पनि आआफ्नो परम्पराअनुसार घरमैं रहेको घटस्थापनाको वेदीमा वा सामूहिक रूपमा खडा गरिएको दसैं घरमा भक्तिपूर्वक नवदुर्गा भवानीको आह्वान गरी भगवती स्कन्दमाताको श्रद्धापूर्वक पूजाअर्चना गरिन्छ। यसरी भक्तिभाव प्रस्तुत गर्दा र श्रद्धाभाव व्यक्त गर्न विभिन्न स्तुतिहरू र दुर्गा सप्तशती चण्डीको यथाशक्य पाठ गर्नुका साथै विशेषतः श्री स्कन्दमाता भगवतीको श्री विग्रहको स्मरण र ध्यान गर्दै भगवतीको महिमा झल्किने स्तुति गरी पूजाअर्चना गरेमा भक्तले मनोवाञ्छित फल प्राप्त गर्दछन् भन्ने धार्मिक मान्यता रहेको पाइन्छ।

स्कन्दमाता स्तुति

चण्डवीरां चण्डमायां चण्डमुण्डप्रभञ्जनीम् ।
तां नमामि च देवेशीं चण्डिकां चण्डविक्रमाम् ॥
याः श्री स्वयं  सुकृतीनां भवनेष्वलक्ष्मीः पापात्मनां कृतधियां ह्रुदयेषु बुद्धिः ॥
श्रद्धां सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नतास्मः परिपालय देवि विश्वम् ॥
सिंहासनगतानित्यं पद्माश्रितकरद्वया।
शुभदास्तु सदा देवी स्कन्दमातायशस्विनीम्॥

ध्यान:-

वन्दे वाञ्छित कामर्थेचन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढाचतुर्भुजा स्कन्दमाता यशस्वनीम्॥
धवलवर्णां विशुद्धचक्रस्थितां पञ्चमदुर्गां त्रिनेत्राम्।
अभयपद्मयुग्मकरां दक्षिणोरूपुत्रधरां भजेम॥
पटाम्बरपरिधानां मृदुहास्यं नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणिरत्नकुण्डलधारिणीम्॥
प्रफुल्लवदनां पल्लवाधरां कान्तकपोलां पीनपयोधराम्।
कमनीयां लावण्यां जारूत्रिवलीं नितम्बनीम्॥

स्तोत्र:-
नमामि स्कन्दमाता नमामि स्कन्दधारिणीम्।
समग्रतत्त्वसागरामपारपारगह्वराम्॥
शिवप्रभां समुज्ज्वलां स्फुरच्छशाङ्कशेखराम्।
ललाटरत्‍‌नभास्करां जगत्प्रदीप्तभास्कराम्॥
महेन्द्रकश्यपार्चितां सनत्कुमारसंस्तुताम्।
सुरासेरेन्द्रवन्दितां यथार्थनिर्मलाद्भुताम्॥
मुमुक्षुभिर्विचिन्तितां विशेषतत्त्वबोधिताम्।
नानालङ्कारभूषितां मृगेन्द्रवाहनाग्रताम्।।
सशुद्धतत्त्वतोषणां त्रिवेदभारभूषणाम्।
सुधार्मिकोपकारिणीं सुरेन्द्रवैरिघातिनीम्॥
शुभां सुपुष्पमालिनीं सुवर्णकल्पशाखिनीम्।
तमोन्धकारयामिनीं शिवस्वभावकामिनीम्॥
सहस्रसूर्यराजिकां धनञ्जयोपकारिकाम् ।
सुशुद्धकालकन्दलां सुभृङ्गवृन्दमञ्जुलाम् ॥
प्रजायिनीं प्रजावतीं नमामि मातरं सतीम् ।
सत्कर्मकारणे गतिं हरप्रियां च पार्वतीम् ॥
अनन्तशक्तिकान्तिदां यशोऽर्थभुक्तिमुक्तिदाम् ।
पुनः पुनर्जगद्धितां नमाम्यहं सुरार्चिताम् ॥
जयेश्वरि त्रिलोचने प्रसीद देवि पाहि माम् ।
जयन्ति ते स्तुवन्ति ये शुभं लभन्त्यसंशयम् ॥

नवरात्र पर्वको पाँचौं दिन तन्त्र र योगका साधकहरूले पवित्रपूर्वक तन्त्रोक्त विधि विधान एवं भक्तिभावद्वारा आफ्नो मनलाई विशुद्ध (पुष्कल) चक्रमा केन्द्रित गरी स्कन्दमाताको स्वरूपको स्मरण र ध्यान गरी श्रद्धापूर्वक षोडषोपचार विधिले भगवतीको पूजा अर्चना गर्छन्। यिनको श्रद्धाभक्तिपूर्वक पूजाअर्चना एवं आराधाना गर्दा भक्तहरूका सम्पूर्ण मनोवाञ्छित इच्छाहरू पूर्ण हुन्छन्, भक्त साधकहरूले पनि यिनको कृपाबाट अलौकिक तेज र कान्ति प्राप्त गर्दछन्। अत्यन्त कोमल हृदय भएकी ममतामयी माता हुनाले यिनी असाध्यै छिटो खुसी हुन्छिन् र यिनलाई प्रसन्न तुल्याउन हामीमा केवल श्रद्धा भक्तिको आवश्यकता पर्छ। भनिन्छ पनि 'कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति' अर्थात्- कुनै छोरो कुपुत्र हुन सक्छ तर कुनै पनि माता कुमाता हुन सक्दिनन् । तसर्थ, सांसारिक माया जालको दुःखबाट छुटकारा पाई इहलोक र परलोकमा कल्याण चाहने सबैले नवरात्रीको पाँचौं दिन  स्कन्दमाता भगवतीलाई श्रद्धापूर्वक पूजाअर्चना गर्दा भक्तलाई मनोवाञ्छित फल प्राप्त हुने कुरामा विश्वस्त हुन सकिन्छ।

नाम अनेक स्वरूप एक : नवदुर्गा भगवती

नवरात्र उत्सवलाई भगवती नवदुर्गाको विशेष उत्सव मान्ने गरिन्छ । यसलाई नेपाली परिवेशमा बडादशैँका नामले सम्बोधन गर्ने गरिन्छ । यस नौरथामा दुर्गा, अम्बा, जगदम्बा, सर्वेश्वरी आदि भगवतीका विभिन्न स्वरूप र चरित्रको उपासना गर्ने गरिन्छ । कतिपय प्रसङ्गमा आद्याशक्ति जगन्माता भगवतीलाई देवाधिदेव महादेवकी अर्द्धाङ्गिनी र पत्नीका रूपमा व्याख्या गरिएको पनि पाइन्छ, तर उनी देवाधिदेव महादेवकी समेत पराशक्ति भएकी हुँदा सबै परिस्थितिमा उनी नै शिवपत्नी पार्वती हुन् भन्न मिल्दैन । आजको यस आलेखमा देवीरहस्यका यिनै विषयवस्तुलाई खोतल्ने प्रयास गरिने छ ।

माता अम्बिका : माता अम्बिकाको प्रादुर्भावका विषयमा शिवपुराणमा एउटा प्रसङ्ग उल्लेख गरिएको छ । उक्त कथनअनुसार 'त्यस अविनाशी परब्रह्म (काल) ले केही समयपछि द्वितीय स्वरूपको इच्छा प्रकट गरे अर्थात त्यस परब्रह्मभित्र एकबाट अनेक हुने सङ्कल्प उदित भयो । त्यसपछि उक्त निराकार परमात्माले आफूभित्र रहेको अद्भूत लीला शक्तिको उपयोग गरी आकृतिको कल्पना गरे, जुन मूर्तिरहित परब्रह्म हो । परब्रह्म अर्थात एकाक्षर ब्रह्म, परम अक्षरब्रह्म । ती परब्रह्म भगवान् नै आशुतोष भगवान् सदाशिव हुनुहुन्छ । एकाकी भएर पनि स्वेच्छापूर्वक अन्तर्यात्रा गर्नसक्ने ती सदाशिवले आफ्नो विग्रह (शरीर) बाट शक्तिको सृष्टि गरे, जुन उहाँको श्रीअङ्गको अभिन्न प्रकृति थियो र कहिल्यै वहाँबाट अलग्ग हुँदैनथ्यो । सदाशिवको त्यस पराशक्तिलाई नै प्रधान प्रकृति, गुणवती माया, बुद्धि तत्त्वकी जननी तथा विकाररहित बताइएको छ । ती शक्तिलाई अम्बिका (पार्वती वा सती होइनन्) भनिएको छ । तिनको प्रकृति, सर्वेश्वरी, त्रिदेवजननी (ब्रह्मा, विष्णु र महेश्वरकी माता), नित्या र मूलकारण आदि भिन्नभिन्न नाम छन् । सदाशिवद्वारा प्रकट भएकी ती शक्तिका आठवटा हात (भुजा) छन् ।' पराशक्ति जगज्जननी ती देवी अनेकौं गति र शक्तिले सम्पन्न छन् र उनले नाना किसिमका अस्त्रशस्त्र धारण गरेकी छन् । उनी एक भए पनि माया र शक्तिका भेदले उनका विभिन्न रूपहरू छन् । ती महेश्वरी कालरूप भगवान् शिवशङ्करकी अर्द्धाङ्गिनी हुन् । तिनै शक्ति अम्बिका, अम्बिकादेवी, जगदम्बा, जगदम्बिका आदि नामले जगतमा प्रसिद्ध छन् ।

दुर्गा : दैत्यराज हिरण्याक्षको वंशमा रुरुका पुत्रका रूपमा उत्पन्न महाशक्तिशाली बलशाली दैत्य थियो, जसको नाम 'दुर्गमासुर' थियो । दुर्गमासुरसँग सबै देवता त्रस्त हुने गर्थे । त्यसले इन्द्रको नगरी अमरावती नगरीलाई समेत कब्जा गरि देवताहरूलाई त्यहाँबाट लखेटेको थियो । शक्तिले हीन भएका देवताहरूले स्वर्गबाट भागेर आफ्नो जिउज्यानको सुरक्षा गर्न पहाडपर्वतका कुनाकन्दरा, गुफा र खोंचहरूमा आश्रय लिनुपर्यो । तिनले आफ्नो उद्धार र कल्याणका निमित्त आद्याशक्ति जगन्माता अम्बिकादेवीको उपासना गरेका थिए । दुःख र पीडाले छट्पटिएका देवताहरूको आराधनाबाट प्रसन्न भएकी जगदम्बिकाले प्रकट भएर आशीर्वाद दिनुभयो र एउटा अभेद्य किल्ला (दुर्ग) को संरचना तैयार गरी त्यसैभित्र निश्चिन्त भई बस्न देवताहरूलाई आग्रहसमेत गर्नुभयो । देवीद्वारा किल्लाबाहिर पहरा प्राप्त गरी देवताहरू सुरक्षित भई उक्त किल्लामा बसोबास गर्न थाले । यो कुरो दुर्गमासुरको एउटा दूतले चाल पायो । अनि उसले समस्त वृतान्त बताउनुका साथै देवताहरूको सुरक्षा र कल्याण गर्ने उद्देश्यले भगवती जगदम्बिकाले एउटा अर्को अवतार लिएको प्रसङ्गसमेत दुर्गमासुरलाई सुनायो । यस्तो समाचार थाहा पाउनासाथ दुर्गमासुर क्रोधित भई देवताहरूसित युद्ध गर्न तम्तयार भयो । उसले आफ्ना समस्त सेनालाई अस्त्र-शस्त्रले सुसज्जित भई युद्धमा जाने उर्दी जारी गर्यो । त्यसपछि देवता र दानवहरूका बीचमा घनघोर युद्ध भयो । उक्त युद्धमा देवता पक्षको नेतृत्व भगवती दुर्गाले र दानवपक्षको नेतृत्व दुर्गमासुर आफू स्वयंले गरेका थिए । युद्धमा दुबै पक्षका असङ्ख्य योद्धाहरूको हताहतीसमेत भयो । अन्त्यमा भगवती जगदम्बेले दुर्गमासुर र उसका पक्षमा उभिएको सैन्यबलको नाश गर्नुभयो । त्यसरी देवताहरूको सुरक्षाका निमित्त दुर्ग (किल्ला) रचना गरेकी हुनाले र दुष्ट दुर्गमासुरको अत्याचारको अन्त्य गरी उसको बधसमेत गरेकी हुँदा भगवती जगदम्बेको नाम 'दुर्गा' रहन गएको हो ।

दस महाविद्या : तन्त्रविद्यामा दश महाविद्याका रूपमा आद्याशक्ति भगवतीको उपासना गर्ने विधान छ । ती दश महाविद्याहरू हुन् - १. काली, २. तारा, ३. त्रिपुरसुन्दरी, ४. भुवनेश्वरी, ५. छिन्नमस्ता, ६. त्रिपुरभैरवी, ७. धूमावती, ८. बगलामुखी, ९. मातङ्गी र १०. कमला ।

चामुण्डा  : देवी अम्बिकाको माथि नै चर्चा भइसकेको छ । तिनै अम्बिका देवीका शरीरबाट चण्डिकादेवीको प्रादुर्भाव भएको हो । त्यसैले यिनलाई भगवती जगदम्बिकाकी सुपुत्री मान्ने गरिन्छ । चण्ड र मुण्ड नामका महाबलशाली दैत्यको विनाश गरेकी हुँदा यिनलाई चामुण्डा पनि भन्ने गरिन्छ । चामुण्डा जस्तै महादुर्गे भगवतीको शरीरबाट अर्की देवीको पनि उत्पत्ति भएको थियो, तिनको नाम महाकाली हो । सृष्टि, स्थिति र प्रलयका निमित्त महादुर्गे भगवतीले आफ्नो एकीकृत प्रकृतिलाई तीनभागमा विभाजन गर्नुभयो र उहाँका तीनवटा स्वरूपहरू प्रख्यात भए । तीमध्ये एउटा स्वरूप महाकालीको हो । यसले तमोगुण र विनाशतत्त्वको प्रतिनिधित्व गरेको छ । यसरी नै सत्त्व गुणप्रधान र सृष्टि तत्त्वको प्रतिनिधि स्वरूप महासरस्वतीको तथा रजो गुणप्रधान र स्थिति तत्त्वको प्रतिनिधि स्वरूप महालक्ष्मीको हो ।

मधुकैटभहन्त्री : सृष्टिको प्रारम्भमा हिरण्याक्षका तर्फबाट युद्ध गर्न खटिएका दुई दैत्यहरू मधु र कैटभको बध भगवान् विष्णुले गर्नु भएको प्रसङ्ग अधिकांश पुराणहरू र धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । क्षारसमुद्रमा शेषको शयनमा योगनिद्रामा लीन भएका विष्णुको नाभिस्थित कमलको फूलमा विराजमान सृष्टिकर्ता ब्रह्माको कार्यसन्चालनमा विघ्न उपस्थित गराउने र ब्रह्मासँग भएको वेदलाई हरण गरी समुद्रतर्फ भाग्ने मधु र कैटभ विध्वंश र अत्याचारको अन्त्य गर्न भगवती जगदम्बेले विष्णुको निद्रा हटाई उनलाई जागा बनाएको एवं मधु र कैटभसँग युद्धका लागि बल, सामर्थ्य र बुद्धि प्रदान गरी प्रेरणा र हौसला प्रदान गरेको प्रसङ्ग मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । तर कुनैकुनै प्रसङ्गमा मधुको बध भगवान् विष्णुले गरेको हुँदा उनको नाम मधुसूदन रहन गएको र कैटभको बध चाहिं भगवती जगदम्बेले नै गरेको हुँदा उनको नाम कैटभा रहन गएको भन्ने प्रसङ्ग पनि उल्लेख गरिएको पाइन्छ । जे भए पनि मधु र कैटभको बध गर्न उनकै महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ, अतः उनलाई मधुकैटभहन्त्री पनि भन्ने गरिन्छ ।

सतीदेवी : आशुतोष भगवान् भोलेशङ्करलाई महेश र महादेव पनि भन्ने गरिन्छ । तिनै शङ्करको पहिलो विवाह दक्ष प्रजापतिकी सुपुत्री सतीदेवी (दाक्षायणी) सँग सम्पन्न भएको थियो । पिता दक्ष प्रजापति भएकाले अहङ्कारस्वरूप आफ्ना पति शङ्करको सामर्थ्य र पराक्रम चाल नपाई उनको निन्दा गर्ने र अपमान गर्ने काम गरेको हुँदा उनले पिता दक्षको यज्ञकुण्डमा फाल हानी आत्मदाह गरेकी थिईन् । त्यसपछि प्राणप्रिया पत्नीको मृत शरीरलाई बोकेर भगवान् भोलेनाथ त्रिलोकका विभिन्न स्थानमा भौंतारिएर हिंड्नु भएको थियो । यसरी शिवजी हिंड्दै घुम्दै जाँदा सतीदेवीको मृतशरीरबाट मासुका टुक्रा, अङ्गप्रत्यङ्ग र आभूषणादि गलित/पतित भई ठाउँठाउँमा झरेका थिए । जहाँ-जहाँ देवी सतीका अङ्ग र आभूषण खसे, त्यहाँ-त्यहाँ शक्तिपीठ निर्मित हुँदै गए । कालान्तरमा माता सतीले पर्वतराज हिमालयका घरमा जन्म लिईन् । पर्वतकी सुपुत्री भएकाले उनको नाम पार्वती रहन गयो, अनि हिउँजस्तै गोरी भएकाले उनलाई गौरी नामले पनि सम्बोधन गरियो । पूर्वजन्मको पुण्यप्रभावले उनले बाल्यावस्थामा नै भगवान् शिवको कठोर तपस्या गरिन् र पुनः शिवलाई पतिका रूपमा प्राप्त गरी उनी जगतमा विख्यात भईन् ।

पार्वती  : पूर्वजन्ममा सतीदेवीका रूपमा रहेकी जगदम्बिकाले पर्वतराज हिमालय (हिमवान्) र मैनावतीको पुत्रीका रूपमा पुनर्जन्म लिएकी थिईन् । उनी भगवान् भोलेनाथकी दोस्रो पत्नी हुन् । बाल्यकालमा नै शिवआराधना र तपस्या गरी उनले पतिका रूपमा शिवलाई प्राप्त गरेकी थिईन् । माता पार्वतीलाई नै गौरी, महागौरी, पर्वतपुत्री र सिंहवाहिनी नामले पुकारिन्छ । माता पार्वती र सतीदेवीलाई पनि दुर्गास्वरूप मानिएको पाइन्छ, तिनीहरू दुर्गा होइनन्, जगत्प्रकृति जगदम्बा भगवतीको अंशस्वरूपमात्र हुन् । यिनै माता पार्वतीका दुई पुत्र छन्, तीमध्ये एक विघ्नहर्ता भगवान् गणेश र अर्का कार्तिकेय हुन् ।

नवदुर्गा रहस्य : नवरथामा पूजा गरिने नवदुर्गा हरू निम्नानुसार छन् - १. शैलपुत्री, २. ब्रह्मचारिणी, ३.चन्द्रघण्टा, ४. कुष्माण्डा, ५. स्कन्दमाता, ६. कात्यायनी, ७. कालरात्रि, ८. महागौरी र ९. सिद्धिदात्री । आश्विन शुल्क प्रतिपदाका दिन घटस्थापना गरी आरम्भ हुने नवरात्र पर्वको नौ दिनको अवधिमा शक्तिस्वरूपा देवी दुर्गा भवानीका विभिन्न नौ स्वरूपको पूजा-अर्चना  गरिन्छ । तिनै नौ स्वरूपका भगवतीलाई हामी समग्रमा नवदुर्गा भन्छौं । नवदुर्गामा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री,  महागौरी एवं सिद्धिदात्री हुन् । बडादसैंका अवसरमा पूजा गरिन नवदुर्गाहरूको छुट्टाछुट्टै विशेषता एवं महिमा छ ।

१. शैलपुत्री 
घटस्थापनाको दिन पूजा गरिने देवीको नाम शैलपुत्री हो । यिनी हिमालय पर्वतकी छोरी भएकीले शैलपुत्री भनिएको हो । कौशिकीसमेत भनिने यी देवी कोशी नदीकी स्रोत  मानिन्छिन् । यी देवीले आँखाबाट धूँवा निकाल्ने धुम्रलोचन नामक दैत्यको संहार गरेकी थिइन् ।

यस पटक शैलपुत्री भगवतीको आराधना २०७३ साल असोज १५ गते आश्विन शुक्ल प्रतिपदा (घटस्थापना), शनिबारका दिन गरिने छ ।




२. ब्रह्मचारिणी
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी नामकी देवीको पूजाअर्चना गरिन्छ । सतीदेवीले पुर्नजन्म लिँदै पार्वती रूप धारणा गरेपछि उनले महादेवलाई पतिका रूपमा पाउन घोर  तपस्या गरेकीले उनको नाम ब्रह्मचारिणी रहेको हो । यिनको दाहिने हातमा जपमाला र देब्रे हातमा कमण्डलु हुन्छ ।

यस पटक ब्रह्मचारिणी भगवतीको आराधना २०७३ साल असोज १६ गते आश्विन शुक्ल द्वितीया, आइतबारका दिन गरिने छ ।


३. चन्द्रघण्टा
तेस्रो दिन पुजिने सिंहमाथि विराजमान देवीको नाम चन्द्रघण्टा हो । यी देवीका ५ मुख तथा १० हात छन् । चन्द्रघण्टाको सुवर्णमय स्वरूप देखेर दानवहरू डराउने  भएकाले यिनलाई चन्द्रघण्टा भनिएको हो । यी देवीले चण्ड-मुण्ड नामक जुम्ल्याहा दैत्यको संहार गरेकी थिइन् ।

यस पटक चन्द्रघण्टा भगवतीको आराधना २०७३ साल असोज १७ गते आश्विन शुक्ल तृतीया, सोमबारका दिन गरिने छ ।






४. कुष्माण्डा 
आठ हात भएकी, सूर्य मण्डलमा निवास गर्ने, सूर्यझै तेज भएकी चौथो दिन पुजिने देवीलाई कुष्माण्डा भनिन्छ । यी देवीको अट्टहासमा ब्रह्माण्डको उत्पत्ति र विनाश गर्ने  शक्ति छ भन्ने कुरामा हिन्दु धर्मावलम्बीहरू विश्वास गर्छन् । यी देवीले महिषासूरका सेनापतिहरू चामर, चिक्षुरलगायतका दैत्यहरूको संहार गरेकी थिइन् ।

यस पटक कुष्माण्डा भगवतीको आराधना २०७३ साल असोज १९ गते आश्विन शुक्ल चतुर्थी, बुधबारका दिन गरिने छ ।

५. स्कन्दमाता
स्वेत वर्ण, तीन आँखा, चार हात, कमलको फूलमाथि आसन भएकी स्कन्द कुमारकी जननी देवी स्कन्दमाताको पूजा पाँचौं दिन गरिन्छ । स्कन्दमाता नै पवित्र नदी गंगाकी  सर्जक मानिन्छिन् ।

यस पटक स्कन्दमाता भगवतीको आराधना २०७३ साल असोज २० गते आश्विन शुक्ल पञ्चमी, बिहीबारका दिन गरिने छ ।





६. कात्यायनी
नवरात्रको छैटौं दिन कात्यायनी देवीको पूजाअर्चना गरिन्छ । तीन नेत्र, आठ हात भएकी यी देवीको स्वरूप सुवर्णमय छ । कात्यायन ऋषिले  यज्ञमा उपद्रो मच्चाउने दै त्यहरू शुम्भ र निशुम्भको संहार गर्न दुर्गा भवानीको आराधना गरेपछि कात्यायन ऋषिकी छोरीका रूपमा प्रकट भएकीले यिनको नाम कात्यायनी रहेको हो ।

यस पटक कात्यायनी भगवतीको आराधना २०७३ साल असोज २१ गते आश्विन शुक्ल षष्ठी, शुक्रबारका दिन गरिने छ ।


७. कालरात्री 
सातौं दिन महाकालीसमेत भनिने कालरात्री नामकी देवीको पूजाअर्चना गरिन्छ । कृष्ण वर्ण, गधा बाहन भएकी, तीन नेत्र, चार हात भएकी, चारै हातमा क्रमशः तरबार,  मसाल, वरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, सास फेर्दा आगो ओकल्ने यी देवीले भुइँमा झरेको प्रत्येक थोपा रगतबाट पुनः जीवन प्राप्त गर्ने भनिएको रक्तवीज नामक  दैत्यको संहार गरेकी थिइन् ।

यस पटक कालरात्री भगवतीको आराधना २०७३ साल असोज २२ गते आश्विन शुक्ल सप्तमी (फूलपाती), शनिबारका दिन गरिने छ ।



८. महागौरी
गोरुमाथि चढ्ने श्वेत वर्ण, श्वेतवस्त्र धारणा गरेकी, तीन आँखा, चारहात भएकी यी देवीको पूजा अष्टमीका दिन अर्थात् आठौं दिन गरिन्छ । यी देवीलाई पार्वतीको आठौं  अवतार मानिन्छ । यी देवी शान्ति तथा समुन्नतिको प्रतीक पनि हुन् । यी देवीले दानवराज महिषासुरको वध गरेकी थिइन् ।

यस पटक महागौरी भगवतीको आराधना २०७३ साल असोज २३ गते आश्विन शुक्ल अष्टमी (महाष्टमी), आइतबारका दिन गरिने छ ।


९. सिद्धिदात्री
नवरात्रको नवौं वा अन्तिम दिन पुजिने देवीको नाम सिद्धिदात्री हो । भगवान् शिवले पनि यिनै देवीको आराधनापश्चात् सिद्धि प्राप्त गरेकाले यिनलाई सिद्धिदात्री भनिएको  हो । सिद्धिदात्रीको पूजा- आराधना गर्नाले मनोवान्छित फल प्राप्त हुन्छ भन्ने विश्वास छ ।

यस पटक सिद्धिदात्री भगवतीको आराधना २०७३ साल असोज २४ गते आश्विन शुक्ल नवमी (महानवमी), सोमबारका दिन गरिने छ ।




अन्त्यमा सारांशमा भन्नुपर्दा शक्ति अामाको नाम हो, यो शरीरको भित्री प्रकृति हो अनि समस्त स्त्री जाति, मातृ शक्ति तथा जीवनजगतको मूल प्रकृतिलार्इ नै शक्ति भन्ने गरिन्छ । प्रकृतितत्त्वका रूपमा जुन ऊर्जाले यो सारा ब्रह्माण्डलाई एउटा निश्चित अनुशासनमा सुसञ्चालित गरेको हुन्छ अर्थात जसका कारणले यो सारा विश्वब्रह्माण्ड एउटा नियममा सञ्चालित हुनपुग्छ, त्यही ऊर्जाले हाम्रो शरीरभित्र उपस्थिति जनाएर हामीलाई पनि सञ्चालन गरिरहेको हुन्छ । यो अखण्ड, उन्नत र व्यापक ऊर्जालाई नै शक्ति वा देवी भन्ने गरिन्छ । आफूभित्र रहेको त्यो दिव्यतालाई प्रकट गर्ने पद्धति विशेषको नाम नै शक्ति उपासना हो । जसले आफैंमा सन्निहित शक्तिको अाभाष प्राप्त गर्न सकिरहेको हुँदैन, त्यो अज्ञान हो । अज्ञान अन्धकारको अर्को नाम हो । दसैं तिनै शक्तिको उपासना गर्ने विशिष्ट पर्व हो । यस पर्वमा आफूभित्रको अन्धकार (अज्ञान) को जालो फ्यालेर प्रकाश (ज्ञान) भित्र्याउने काम गरिन्छ । ज्ञानको अालोकमा शक्तिको पहिचान हुन्छ । शक्तिलाई एक प्रकारले सर्वोच्च नियामकको रूपमा र अर्को प्रकारले पुरुष देवताका, खासगरी शिवको, सहचरीको रूपमा गरी दुई प्रकारले उपासना गर्ने गरिएको पाइन्छ । पुरुष देवता शक्तिको साहचर्यबिना स्वयं एक्लै निष्क्रिय तथा विश्रामको स्थितिमा रहने गर्दछन्, परन्तु जब शक्तिको साहचर्य प्राप्त हुन्छ, तब उनी सक्रिय हुने गर्दछन् । यसरी शिव र शक्ति अथवा पुरुष र प्रकृतिको संयोगले नै सृष्टिचक्र सञ्चालित हुने गर्दछ । मुख्यरूपले देवीको रूपमा शक्तिको उपासना गर्ने गरिन्छ । यस अन्तर्गत दुर्गा, पार्वती, काली, उमा, अम्बिका, शीतला, चण्डी, चामुण्डा, मातृका, माया, महामाया, भद्रकाली आदि अनेकौं नामहरू पर्दछन् । अस्तु ।

Thursday, March 30, 2017

कुष्माण्डा भगवतीको महिमा

नवरात्री पर्वको चौथो दिन ‘चतुर्थी तिथि’ मा श्री नवदुर्गा भवानीको चौथो शक्तिको रूपमा प्रादुर्भाव भएकी श्री कुष्माण्डा भगवतीको पूजाआराधना गर्नुका साथै महिमा गायन गर्ने प्रचलन छ। ब्रह्माण्डको सृष्टिहुनु अघि सबैतिर अन्धकारमय अवस्था थियो । यस समयमा सृष्टिको कुनै अस्तित्व थिएन। यस्तो परिस्थितिको प्रारम्भमा आद्याशक्ति जगन्माता भगवतीको मन्दमुस्कानद्वारा अण्ड अर्थात् ब्रह्माण्डको उत्पत्ति भयो। अतः संसारमा यिनलाई कुष्माण्डा भगवतीका नामले प्रसिद्धि प्राप्त भएको हो। यसै कारणले गर्दा यिनलाई सृष्टिको आदिस्वरूपा र आदिशक्ति भनी पुकार्ने गरिन्छ । कुभिण्डोलाई संस्कृत भाषामा ‘कुष्माण्डम्’ पनि भनिन्छ । बलिहरूमध्ये सर्वाधिक प्रिय बलिका रूपमा भगवती दुर्गालाई कुभिण्डो मन पर्ने हुनाले पनि यिनलाई कुष्माण्डा भगवती भनिएको हो। कुष्माण्डा भगवती सूर्यमण्डलको भित्री तहमा निवास गर्छिन्। यिनको शरीरको ज्वाज्ज्वल्यमान् कान्ति पनि सूर्य झैं देदीप्यमान भएर सम्पूर्ण ब्रह्माण्डमा फैलिएको हुन्छ। यिनको तेजको तुलना यिनैसँग मात्र गर्न सकिन्छ, अरू कुनै पनि देवीदेवताको तेजलाई यिनको तेजोमय देदीप्यमान प्रकाशसँग समता गर्न सकिँदैन ।

शास्त्रीय मतानुसार श्री कुष्माण्डा भगवतीले आफ्ना आठवटा हातहरूमा दाहिनेपट्टि क्रमशः कमण्डलु, धनुष, वाण र कमलको फूल एवं देब्रेपट्टिका हातहरूमा क्रमशः अमृतपूर्ण कलश, चक्र, गदा र अणिमादि समस्त सिद्धि प्रदान गर्ने जपमाला धारण गरेकी हुन्छिन्। त्यसैले यिनी अष्टभूजा देवीको नामबाट पनि प्रसिद्ध भएकी छन्। यिनी सधैँ सिंहमा सवार रहन्छिन्।

नवरात्रिको चौथो दिनको पुण्य अवसरमा हिन्दू धर्मावलम्बीहरूले विभिन्न स्थानका आदिकालमा उत्पन्न र प्रतिस्थापित भएका आद्याशक्ति जगन्माता भगवतीका विभिन्न शक्तिपीठहरूमा गई श्रद्धाभक्तिपूर्वक श्री दुर्गाभवानीको आराधना एवं दर्शन गरी हर्ष उल्लासका साथ पूजाअर्चना गर्न् गर्दछन्। यसबाहेक नवरात्री पर्वको चौथो दिन शक्ति उपासक हिन्दुहरूले आआफ्नो कुलपरम्परा र कुलाचारबमोजिम घटस्थापनाका दिन जमरा राखेको वेदीमा वा सामूहिक दसैं घरमा श्रद्धापूर्वक श्रीदुर्गा भवानीलाई आह्वान गरी इष्टदेवीको भक्तिपूर्वक पूजाअर्चना गर्ने गर्दछन्।

नवदुर्गा भवानीका विभिन्न शक्तिपीठहरूको दर्शन गरी पूजाअर्चना गर्दा र दसैं घरमा इष्टदेवीको आह्वान गरी भक्तिपूर्वक पूजाअर्चना गर्दासमेत भगवतीबाट विभिन्न पुण्यफल प्राप्ति हुने स्तुतिहरू र श्रीदुर्गा सप्तशती चण्डीको यथाशक्य पाठ गर्नुका साथै विशेषतः श्री कुष्माण्डा भगवतीको श्री विग्रह ‘रूप’ को चरणकमल सम्झेर श्रद्धाभक्तिपूर्वक यिनैको महिमा झल्किने स्तुति पूजा-अर्चना हुने गर्दा भक्तहरूका सम्पूर्ण पाप मोचन भई सबै प्रकारका दुःख, कष्ट, रोग र व्याधि नाश भएर आयु, आरोग्य, यश र ऐश्वर्यको वृद्धि हुने शास्त्रीय मान्यता रहेको छ। श्री कुष्माण्डा भगवतीलाई प्रसन्न तुल्याउन तल लेखिएका स्तुतिको पाठ गर्ने चलन छ।

कूष्माण्डा स्तुति :-
अणिमादि गुणाकारां मकाराकारचक्षुषाम् ।
अनन्तशक्तिभेदां तां कामाक्षीं प्रणमाम्यहम् ॥
सुरासम्पूर्णकलशं रुधिरप्लूतमेव च।
दधानाहस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे॥

ध्यान :-
वन्दे वाञ्छित कामार्थे चन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढां अष्टभुजां कुष्माण्डां त्वां यशस्विनीम्॥
भास्वरभानुनिभां अनाहतस्थितां चतुर्थदुर्गां त्रिनेत्राम्।
कमण्डलुचापबाणपद्मसुधाकलशचक्रगदाजपवटीधराम्॥
पटाम्बरपरिधानां कमनीयां मृदुहास्यां नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणीरत्‍‌नकुण्डलमण्डिताम्।
प्रफुल्लवदनां नानारूचिकां कान्तकपोलां तुङ्गकूचाम्।
कोलाङ्गीं स्मेरमुखीं क्षीणकटिं निम्ननाभिं नितम्बनीम्॥

स्तोत्र :-
दुर्गतिनाशिनी त्वं हि दारिद्य्रादिविनाशिनीम्।
जयदां धनदां देवीं कूष्माण्डे प्रणमाम्यहम्॥
जगन्माता जगत्कर्त्री जगदाधाररूपिणीम्।
चराचरेश्वरीं देवीं कूष्माण्डे प्रणमाम्यहम्॥
त्रैलोक्यसुन्दरीं त्वं हि दु:खशोकनिवारिणीम्।
परानन्दमयीं देवीं कूष्माण्डे प्रणमाम्यहम्॥

यसरी नवरात्री पर्वको चौथो दिन तन्त्रोक्त विधिविधान एवं भक्तिभावद्वारा कुष्माण्डा भगवतीको पूजा.अर्चना गरिन्छ। भक्तहरूले नवरात्रीअन्तर्गत चौथो दिन पवित्र भएर आफ्नो मनलाई अनाहत चक्रमा केन्द्रित राखी अत्यन्त पवित्र रही यिनैको स्वरूप र श्रीविग्रहको स्मरण गर्दै ध्यान गरी श्रद्धाभक्तिपूर्वक यथाशक्य षोडशोपचारले श्री कुष्माण्डा भगवतीको पूजा अर्चना गर्दा भक्तहरूका सबै रोग, कष्ट, दुःख, दारिद्य्र जस्ता सबै सङ्कट नाश भई आयु, आरोग्य, यश, ऐश्वर्य र सुखसमृद्धि प्राप्ति हुन्छ । केवल श्रद्धा र भक्तिका माध्यमबाट खुसी हुने भएकाले यिनलाई प्रसन्न पार्न अत्यन्तै सजिलो छ।  त्यसैले आफ्नो उन्नति र प्रगति चाहने सबै श्रद्धालु भक्तजनले नवरात्रिको चौथो दिन श्री कुष्माण्डा भगवतीलाई तन र मन पवित्र तुल्याई आराधना गर्दै श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गर्दा निश्चित रूपमा मनोवाञ्छित शुभफल प्राप्त भई सबैको कल्याण हुने विश्वास गरिन्छ।

राजधानी बाहिरका शक्तिपीठहरू

हिन्दूहरूको महान् चाड बडादसैंको सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व छ। धार्मिक आस्थासँग जोडिएकाले नै घटस्थापनादेखि धार्मिक विधिहरू अपनाएर यो चाड मनाइन्छ। दसैंमा विभिन्न शक्तिपीठमा निश्चित विधि तथा परम्पराअनुसार शक्तिको पूजा गरिन्छ। नौ स्वरूपकी भगवतीमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी एवं सिद्धिदात्रीलाई मानिन्छ। तिनै नौ स्वरूपकी भगवतीलाई समग्रमा नवदुर्गा भनिन्छ। घटस्थापनादेखि मुलुकभरका शक्तिपीठहरूमा भक्तजनको ओइरो लाग्छ। यी पीठहरूमा पूजा गर्नुको पछाडि अनेकां धार्मिक विश्वास र किंवदन्ती जोडिएका छन्। पूजा गर्न शक्तिपीठहरूमा जाने चलन भए पनि सवै शक्तिपीठको परम्परा भने एउटै छैन।

एकथरी मान्यताअनुसार सतीदेवीको अंग पतन भएको स्थान नै शक्तिपीठ हो। रुखको ओत भएको, मसानघाट नजिकै भएको, अष्टमातृकाको बसोबास भएको स्थानलाई शक्तिपीठ मानिनुपर्ने तर्क पनि अर्कातिर छ। त्यसैले शक्तिपीठहरूका बारेमा एउटै धारणा पाइँदैन।

काठमाडौंमा यस्ता शक्तिपीठहरू धेरै भए पनि राजाको सवारी हुने नौ वटा मन्दिरलाई शक्तिपीठ मानिँदै आएको छ। उपत्यकाबाहिर पनि थुप्रै शक्तिपीठ छन्। यी शक्तिपीठहरूमा दसैंमा विशेष पूजा गरी बलि दिने चलन छ।

दन्तकाली : सुनसरी जिल्लाको धरानमा दन्तकालीको मन्दिर छ। यहाँ सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ। दन्तकालीमा घटस्थापनादेखि नै विशेष पूजा-आराधना हुन्छ। यो अवसरमा स्थानीय भक्तजनहरूको ठूलो भीड लाग्छ।

जालपादेवी : जालपादेवीको मन्दिर नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि ८ किलोमिटर दक्षिणमा छ। त्रिशूली नदीको किनारमा रहेको जालपादेवीको मन्दिर रहेको स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ। यहाँ सर्वप्रथम कामधेनु गाईले पूजा गरेको मानिन्छ। पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएकोले नेपालको इतिहासमा यसको विशेष महत्व छ। यहाँ घटस्थापनादेखि नै भक्तजनको ओइरो लाग्छ।

छत्रेश्वरी : सल्यान जिल्लाको छायाक्षेत्रस्थित छत्रेश्वरी मन्दिरमा सतीदेवीका शेष रहेका सबै अंग पतन भएको विश्वास गरिन्छ। त्यसो त छत्रेश्वरी नेपालका सबै शक्तिपीठमध्ये बलि नचढाइने एकमात्र शक्तिपीठ हो। सबैभन्दा पहिले अष्टभैरवले पूजा गरेकाले यहाँ कुनै अवसरमा पनि बलि चढाइँदैन। पूजाकै लागि यहाँ छिमेकी जिल्लाहरूबाट पनि  भक्तजनको भीड लाग्छ।

मनोकामना : गोरखाको मनोकामना पनि महत्वपूर्ण देवीस्थान मानिन्छ। दसैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। मनोकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। केबुलकारबाट ११ मिनेटमै मनोकामना पुग्न सकिन्छ। पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनोकामना पुग्छन्।

कमलाक्षी : सल्यान जिल्लाको लक्ष्मीपुरमा कमलाक्षीको मन्दिर छ। यहाँ सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ। यहाँ सर्वप्रथम योगमार्गीहरूले पूजा-आराधना गरेका थिए। एउटा पहाडका रूपमा रहेको यो मन्दिरमा करङको आकृति देखिन्छ।

गलेश्वरी : म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनारमा छ-गलेश्वरी मन्दिर। यहाँ सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ। यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ।

ज्वालपादेवी : यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि ५ किलोमिटर पश्चिम र छामगाम खोलाको किनारमा छ। यहाँ सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ। यहाँ सर्वप्रथम हनुमानले पूजा गरेको विश्वास गरिन्छ।

बागेश्वरी : बाँके जिल्लाको नेपालगञ्जस्थित यो मन्दिर रहेको ठाउँमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ। यहाँ सर्वप्रथम किन्नरहरूले पूजा-आराधना गरेका थिए। एउटा ठूलो तलाउको किनारमा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपालमा गाभिएपछि मात्र पत्ता लागेको हो

देवलहाट मन्दिर : बैतडीको सदरमुकामबाट ५ सय मिटर दूरीमा रहेको देवलहाटको मन्दिर पाण्डवहरूले वनवासको अन्त्यतिर बनाउन लगाएको जनश्रुति छ। युद्धका बेला पाण्डवहरूले असत्यमाथि विजय गर्न पाऊँ भन्ने कामना गर्दै यो मन्दिर बनाएका थिए। विभिन्न समयमा चढाइएका तामाका भाँडा एवं पूराना मूर्ति यो मन्दिरका विशेषता हुन्।

गजरा मन्दिर : दसैंमा ठूलो भीड लाग्ने गजरा मन्दिर अछाम जिल्लाको गजरामा छ। जुम्लाका तत्कालीन राजाले अछाम जित्न यही मन्दिरमा पूजाआजा गरेको कुरा इतिहासमा उल्लेख छ। कुनै महत्वपूर्ण काम गर्नुपर्‍यो भने अछामवासीहरू यो मन्दिरमा पूजा गर्छन्।

मालिकादेवी : बाजुरा जिल्लाको १४ हजार ४ सय फिट उचाइमा मालिकादेवीको मन्दिर छ। यहाँनिकै पहिलेदेखि नै शक्तिकेन्द्रका रूपमा  पूजा गरिँदै आएको छ।

कालिकादेवी : लमजुङको बेसीसहरबाट २ घन्टा उकालो चढेपछि पुगिने कालिकोदेवीको मन्दिरमा महानवमीका दिन विशेष पूजाआजा हुन्छ। यसलाई लमजुङ कालिका पनि भनिन्छ।

सुर्मा सरोवर : बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट तीन दिनको दूरीमा रहेको सुर्मा एउटा सानो ताल हो। यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ। बझाङवासीहरू साउनको एकादशीदेखि त्रयोदशीसम्म त्यही ओडारमा बसेर स्नान गर्छन्। त्यहाँ जलदेवीको वासस्थान छ भन्ने भनाइ  छ।

बडी मालिकास्थान : कालिकोट जिल्लास्थित बडी मालिका मन्दिर मार्तडीबाट तीन दिनको पैदलयात्रापछि पुगिन्छ। १२ हजार २ सय १९ फिट उचाइमा अवस्थित यो मन्दिरमा दसैं र चैतेदसैंमा ठूलो मेला लाग्छ। यहाँ अष्टमीमा बलि दिएर टीका भेट्न घर पुग्ने चलन छ।

चन्दननाथ : जुम्लाको खलङ्गास्थित चन्दननाथको मन्दिर जुम्लाकै प्रसिद्ध मन्दिर हो। दत्तात्रय भनिने यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ। घटस्थापनाको दिन मन्दिरको लिङ्गो फेर्ने चलन छ। दसैंमा सामान्य घुइँचो लाग्ने यो मन्दिरमा तीज, शिवरात्रि तथा एकादशीमा मेला लाग्छ।

त्रिपुरा सुन्दरी : डोल्पा जिल्लाको जुफाल एयरपोर्टबाट करिब दुई घन्टा पैदल हिँडेपछि भेरी नदी आउँछ। त्यही भेरी नदीको किनारमा प्रसिद्ध त्रिपुरासुन्दरीको मन्दिर छ। चैतेदसैं र बडादसैंमा ठूलो मेला लाग्ने यो मन्दिर डोल्पावासीको शक्तिकेन्द्र हो। यो मन्दिरमा पञ्चबलि दिने चलन छ।

शिरस्थान : दैलेख बजारदेखि ५ किलोमिटर पश्चिममा पर्ने नाभी र छामखोलाको दोभानमा ज्वालादेवीको मन्दिर छ। स्थानीय बासिन्दाहरूले यसलाई शिरस्थानदेवी भन्छन्। नाभी र छामखोलाको दोभानमा सतीदेवीको शिर पतन भएको विश्वास गरिन्छ। यो मन्दिर २ सय वर्षअघि निर्माण भएको विश्वास गरिन्छ। सतीदेवीको अंग पतन भएकाले यहाँ दसैंमा मेला लाग्छ।

खैरावाङ : सल्यानको सदरमुकामबाट २० किलोमिटर टाढा रहेको खैरावाङ मन्दिर त्यस क्षेत्रको ठूलो शक्तिपीठ हो। ३ घन्टाको ठाडो उकालो हिँडेर पुगिने यो मन्दिरमा भुवनेश्वरी देवीको मूर्ति छ। त्यहाँ घटस्थापनादेखि पूणिर्मासम्म ठूलो मेला लाग्छ।

देवीस्थान : बाग्लुङ बजारबाट २ किलोमिटर दक्षिणस्थित देवीस्थान मन्दिर राजा प्रतापनारायण मल्लकी रानीले पाल्पाबाट मूर्ति ल्याएर स्थापना गरेकी हुन्। यो मन्दिर शक्तिको प्रतीक भए पनि दसैंमा भन्दा चैते अष्टमीका दिन यहाँ बढी भक्तजन आउँछन्।

माईपोखरी : इलामको उत्तरी क्षेत्रमा छ-माईपोखरी। यसको नवरात्रसँग नजिकको सम्बन्ध छ। नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरूपका रूपमा पूजा गरिन्छ। जसअन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ। हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीका नौवटै कुनामा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ।

अर्घाकोट : अर्घाखाँचीको नरपानीबाट १६ किलोमिटर उत्तरमा भगवतीको एउटा मन्दिर छ। यो मन्दिर त्यस क्षेत्रको प्रसिद्ध मन्दिर हो। यो मन्दिरमा रामनवमी, कृष्णाष्टमी, तिहार, भाद्रकृष्णाष्टमी तथा शिवरात्रिमा मेला लाग्छ। दसैंमा यहाँ पशु बलि दिने चलन छ।

त्रिवेणी : त्रिवेणी मन्दिर नवलपरासीको पञ्च, तमासा तथा नारायणी नदीको संगममा छ। माघे संक्रान्तिमा यहाँ विशेष मेला लाग्छ। बडादसैंको अष्टमीमा यहाँ नुहाइएन भने अर्को जन्ममा बोको भएर जन्म लिनुपर्छ भन्ने परम्परागत मान्यता रहेका कारण दसैंमा यहाँ नुहाउन आउनेहरूको भीड लाग्छ।

कन्काई माई : झापाको प्रसिद्ध मन्दिर हो-कन्काई माई। यो मन्दिर सदरमुकाम चन्द्रगढीदेखि २८ किलोमिटर उत्तर-पश्चिम दिशामा छ। पूर्वाञ्चलका भक्तजनहरूले यो मन्दिरमा माघे संक्रान्ति तथा बडादसैंका दिन माई नदीमा नुहाएर दर्शन गर्छन्।

स्वर्गद्वारी : प्यूठानको खलङ्गाबाट २६ किलोमिटर पश्चिममा छ-स्वर्गद्वारी मन्दिर। नेपालका प्राचीन मन्दिरहरूमध्ये एक मानिन्छ-यो मन्दिरलाई। यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्थे।

पैक मन्दिर : जाजरकोटको खलङ्गाबाट ४८ किलोमिटर उत्तरमा रहेको बिजुलीडाँडामा एउटा मन्दिर छ। मस्टो मन्दिर भनेर चिनिने उक्त मन्दिर वरपर प्रशस्त त्रिशूल एवं घण्टहरू छन्। मन्दिरमा धामी बस्ने चलन पनि छ।

छाब्दी बाराही : तनहुँको दमौलीबाट ५ किलोमिटर टाढा छाब्दी बाराहीको मन्दिर छ। यो मन्दिरमा हाँस, परेवा एवं राँगाको बलि दिइन्छ।

तौथली माई : सिन्धुपाल्चोकस्थित तौथलीमाईमा भाद्रपूणिर्मा र दसैंको टीकाका दिन भव्य मेला लाग्छ। यो मन्दिर चौताराबाट २२ किलोमिटर पूर्वमा पर्छ।

विन्दवासिनी भगवती : यो मन्दिर पर्साको वीरगन्जबाट १० किलोमिटरको उत्तर-पश्चिममा छ। यो मन्दिरलाई रणबहादुर शाहले स्थापना गरेका हुन्। यहाँ काटमार बढी हुन्छ।

पलाञ्चोक भगवती : पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लामा छ। काभ्रेको पाँचखालबाट ७ किलोमिटर पूर्वस्थित यो मन्दिर राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्।

मैदी : यो मन्दिर धादिङ जिल्लामा छ। धादिङको बुङचुङबाट २ घन्टाको पैदल यात्राबाट पुगिने यो मन्दिर प्राचीनकालदेखि नै प्रसिद्ध छ। पृथ्वीनारायण शाहको व्रतबन्ध यही मन्दिरमा भएको थियो।

त्रिवेणी : यो मन्दिर उदयपुरको कटारी बजारबाट ६ किलोमिटर पश्चिममा ककरु, तावा तथा कमला नदीको संगममा छ। यहाँ माघे संक्रान्तिका दिन मेला लाग्छ। त्रिवेणीमा दसैंको अष्टमीमा नुहाउने चलन छ।

कोडकडेनी : ओखलढुंगा जिल्लाको सदरमुकाम ओखलढुंगादेखि ८ किलोमिटर पूर्वमा छ-कोडकडेनी मन्दिर। यो मन्दिर पृथ्वीनारायण शाहका फौजी रामकृष्ण कुँवरले निर्माण गर्न लगाइएको मानिन्छ। आफ्नो पूर्व विजय अभियानअन्तर्गत यही मन्दिरमा देवीको उपासना गरी उनी विजययात्रामा निस्किएका थिए।

छिन्ताङ : धनकुटा जिल्लाकै प्रसिद्ध देवस्थल हो-छिन्ताङ। यो मन्दिर धनकुटा बजारबाट १६ किलोमिटर पश्चिममा छ। यो मन्दिरलाई जालपादेवीको मन्दिर पनि भनिन्छ। यहाँ दसैंमा भव्य मेला लाग्छ।

कालिकास्थान : विराटनगरस्थित कालिकास्थानमा दसैंमा विशेष चहलपहल देखिन्छ। यो दसैंमा पूजा हुने महत्वपूर्ण मन्दिर हो। यहाँ नवरात्रभरि भीड लाग्छ।

पाथीभरा : ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो। यहाँ सुकेटार एयरपोर्टबाट २ दिन पैदल हिँडेर पुगिन्छ। यो मन्दिरमा वर्षभरि मेला लाग्छ।

छिन्नमस्ता भगवती : सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने छिन्नमस्ता भगवतीको मन्दिरमा वर्षैभरि बलि दिइन्छ। यहाँ दसैंमा विशेष भीड लाग्छ। छिन्नमस्ता भगवतीप्रति नेपाल-भारतका जनताको ठूलो आस्था छ।

नेपालमा शक्ति पीठको आराधना

  - डा. मिलनरत्न शाक्य

पूर्वीय संस्कृतिमा वैदिक र वैदिक ईतर दुई भिन्दै संस्कारको सङ्गमबाट मातृ शक्ति र पैतृक शक्तिका रूपमा मान्यता प्रागैतिहासिक कालदेखि मान्दै आएको छ । प्रजनन र भौतिक आरक्षणको मानवीय आवश्यकतालाई ईश्वर र ऐश्वर्य लाभका रूपमा मान्ने भक्ति र ज्ञानको मार्गले कर्मप्रधान उपयोगी तìवको प्रसाधन तन्त्रमय, मन्त्रमय र यन्त्रमय आकृतिमा दुवै वैदिक तथा तान्त्रिक मतले अङ्गीकार गरेर मूर्ति, मन्त्र र शक्तिपीठका रूपमा मान्यता प्रदान गर्दै आएको लौकिक स्पृष्यवादी धर्मप्रधान कला, वास्तुकला र संस्कृतिको परिचायक हो ।

वैदिक तथा तान्त्रिक मतमा षड्आम्नायको प्रतिकात्मक स्वरूपमा गायन, वादन नर्तन, चित्रण, मूर्ति र मन्त्रद्वारा भक्तिको प्रदर्शन गर्ने पद्धति पराशक्ति र अपराशक्तिलाई अर्मूतìवबाट सजीवता प्रकाशित गर्ने 'ज्योतिस्वरूप' माहेश्वरी शक्ति नै आदि शङ्कराचार्यको 'सौन्दर्यलहरी' सम्बोधन हो । वैदिक 'गायत्री' मन्त्रलाई तन्त्रले 'गायन्त त्रायते इति गायत्री' भनेर गायकीद्वारा त्राण दिने प्रसाधनका रूपमा 'आठ अक्षर' को पदलाई प्रत्येकलाई दुई तìवको घनात्मक स्वरूप मानिन्छ । ती हुन् 'ज्योति' -रूप) र 'नाम' । तसर्थ 'नाम' र 'रूप' को लक्षणद्वारा आद्यशक्तिको भक्ति 'ज्योतिषां ज्योति स्वरूपमा 'परमविध्ाा' र 'जीव' अथवा 'चित्त' शक्तिका मूलका रूपमा, भित्री र बाहृय स्वरूपमा चिन्त्रित गर्ने प्रथा, ईसाको नवौँ शताब्दी शङ्कराचार्यको समय -सन् ७८८-८२०) तिर बहृमको सूक्ष्म तथा स्थूल स्वरूपमा निक्र्योल गरेको पाइन्छ । गायत्रीको २४ अक्षर योगदर्शनको २४ तìवमय स्वरूपमा चौबीस अक्षरलाई चारवेदले छ आम्नायको भावमा गुणन गर्दा छ शक्तिहरूको परिलक्षण सिद्ध हुन्छ । तसर्थ, यी छ शक्तिहरूको स्वरूपमा षणमातृकाको आदिम चिन्तनबाट षडानन-स्कन्धकुमारको प्रकरण अग्निवत् शिवको शुक्रबाट निष्णात् मानिन्छ । यी छ शक्तिहरू निम्नानुसार छन् -क) पराशक्ति, -ख) ज्ञानशक्ति -ग) इच्छाशक्ति -घ) क्रियाशक्ति -ङ) कुण्डलिनीशक्ति तथा -च) मातृका शक्ति ।
मन्त्रशास्त्रले 'मातृकाशक्ति' वा रहस्यलाई- इच्छा, ज्ञान र क्रियाशक्तिका जननी मानेको छ । यिनै शक्तिको आराधनाद्वारा पराशक्ति र कुण्डलिनी शक्तिको साधना सिद्ध हुने आध्यात्मिक भाव बोधन हुन्छ । वास्तवमा, तन्त्रले उपयुक्त षड्शक्तिहरू साधकको 'तन' अथवा देहमै सूक्ष्माति सूक्ष्मरूपमा लीन रहेको मान्यता राख्दछ तसर्थ साधनाको प्रक्रियापूर्ण गरेर त्यसलाई सिद्ध गर्नु नै यिन प्रमुख 'ध्येय' हो । जसरी सुकेको काठमा अग्निको बास हुन्छ त्यसैगरी सुप्त शरीरभित्र शक्ति निर्लिप्त रहन्छ । केवल जागरणबाट यसको आभाष सिद्ध हुने तथ्यमा हिन्दू तथा बौद्ध दुवै तन्त्रको समान मान्यता छ । तसर्थ शक्ति साधनाको अर्को विकल्प 'कार्य-साधना' हो । उपर्युक्त साधनामा मन्त्रशक्ति-सृष्टि कारक मानिन्छ तसर्थ मन्त्रविना शक्ति साधना निष्फल र निस्त्रिmय रहन्छ । बीज मन्त्र नै शक्तिको 'भू' धरातल मानिने हुनाले बुद्धको भूमिस्पर्शको परिलक्षण पनि बुद्धत्वको मन्त्रसिद्धिको परिचायक हो । मन्त्रसिद्धिविना अर्को विकल्पतन्त्र वा वैदिकी पद्धतिमा अर्को छैन केवल अन्धभक्तिले शक्तिको आभिर्भाव हुँदैन ।
उपासना
शक्तिको दुई प्रकारका उपासना प्रचलित छ जस्तै-सकल वा सगुण र निस्कल वा निर्गुण । सकल उपासनामा शक्तिलाई मानसिक, शारीरिक एवं वाचिक प्रक्रियाद्वारा मातृका स्वरूपमा- 'जगत्जननी' वा जगत्माताका भावमा पूजन, कीर्तन, नमन गर्ने प्रथा छ । यो प्रथा पनि तन्त्र र वैदिक दुई मतमा भिन्दै प्रक्रियाद्वारा सम्पादन हुन्छ तर निस्कल वा निर्गुण भावमा मातृशक्ति प्रतिकात्मक प्रतिबिम्ब वा प्रकृतिका मूलत्रयको भावमा सात्विक, राजषिक र तामसिक प्रभृत्तिका सङ्केतहरूद्वारा महसुस गरिन्छ । यस्ता निस्कल वा निर्गुण भावलाई 'व्यक्त' 'अव्यक्त' अथवा 'व्यक्ताव्यक्त' तीन भिन्दै स्वरूपमा सङ्केत गर्ने प्रक्रिया छ । यसै क्रममा- शक्तिपीठहरू व्यक्त-अव्यक्त प्रकृतिका पुञ्जस्वरूपमा हिन्दूमान्यताले पौराणिक एवं तान्त्रिक स्वरूपमा ग्रहण गरिएको 'भूस्थलहरू' अथवा 'स्थान' का रूपमा मानिन्छ । पुराणहरूको मान्यताले ती स्थानहरूका 'अग्रज' का रूपमा 'श्रीगणेशको' आहृवान गर्ने परम्पराको यथास्थितिको अवधारणाले ती स्थानहरू मातृशक्तिका पीठका रूपमा पूज्य हुने र त्यहाँका अधिपतिलाई 'स्थानविनायक' वा 'स्थान गणेश' का रूपमा मान्ने प्रथा नेपालमा समेत विद्यमान छ । मध्यकालमा यस्ता स्थानविनायकका लागि छुट्याइएका स्थलहरूको नामकरण 'त्वाःइनाय' वा 'त्वारगणेश'का रूपमा मान्ने मातृशक्ति सम्प्रदायको प्रभाव क्षेत्रका उपज मान्न सकिन्छ ।
शक्तिपीठ तथा त्यसका अधिक्षकका रूपमा श्रीगणेशको मूर्ति स्थापना गर्ने परम्पराले- इच्छा, क्रिया र ज्ञान शक्तिका त्रिकोणात्मक स्वरूपलाई सौख्यदर्शनको मूल प्रकृतिको- 'त्रि' मय भावलाई व्यक्त गर्ने हुँदा श्रीगणेशलाई 'मूला' -कन्दमूलरूपमा पृथ्वीतìवको परिचायक) हातमा लिएको भावमा मूर्ति तथा चित्रहरूमा व्यक्त गर्नुपर्ने प्रतिमा लक्षण शास्त्रको प्रमाण छ । तसर्थ, कामरू कामाक्षालगायत सबैजसो शक्तिपीठहरूमा प्रत्यक्ष-अप्रत्यक्षरूपमा श्रीगणेशलाई 'कामराज' वा 'राजपुत्र' का रूपमा प्रस्तुत गर्ने परम्परा छ । मन, बुद्धि र अहंकार यी तीनै तìव मूल प्रकृतिबाट निष्पात मानिन्छ । सौख्यको पुरुष अव्यक्त-अस्पृश्य रहेझैँ यी गणेश शक्ति केन्द्रमा हुन्छ । तथापि-शक्तिका मूल स्वरूप र स्रोतलाई मातृ वा सृष्टि शक्तिका रूपमा ईश्वरीय भावले देवी भागवत्लगायत अन्य पुराणहरूले मनन गरेको पाइन्छ तर तन्त्रको मतमा देवी उपासना नै केवल एक मात्र शक्ति उपासना होइन । अपितु, गाणपत्य, सौर वैष्णव, शैव, शाक्त तथा बौद्ध र जैन पनि नैरात्म्य -आत्माविहीन वा स्वरूप विहीन) शक्तिका उपासक हुन् किनभने तन्त्रमा पुरुषलाई निर्गुण मानिने र निर्गुण-उपासना वर्जित मानिने हुनाले ती पुरुष शक्ति नै वास्तवमा स्त्रीरूपमा मातृका स्वभाव व्यक्त भएको देखिन्छ । तसर्थ-हिन्दू पुराणमतका देवपरिवारहरूमा ब्रहृमाको स्वरूपमा ब्रहृमायणी, रूद्रको स्त्रीभाव रुद्रायणी, इन्द्रको इन्द्रायणी, महेशको माहेश्वरी, नारायणको नारायणी, विष्णुको वैष्णवी, कुमारबाट कौमारी, नरसिंहका नारसिंही, वराहबाट बाराहीको स्वरूप आभिर्भाव भएको मानिन्छ । पौराणिक कथाले व्यवहारमा ल्याइएका गणमा ब्रहृमा, इन्द्र, महेश, विष्णु, बराह, कुमार र यमका स्त्री स्वरूपबाट आरक्षित महालक्ष्मीको बोध हुने परम्पराले अष्टमातृकाको पीठको न्यास भएको देखिन्छ । वास्तु प्रकरणमा आठवटा कुनामा आसीन रहने अष्टकोणको अधिष्ठात्रीका रूपमा अष्टमातृका मध्यकालीन नेपालको नगरवस्तुको रक्षिकाका रूपमा प्राचीन वास्तुकलाका रक्षिका-हारतीलाई उछिनेर स्थापित भएको देखिन्छ ।
मध्यकालीन नेपालले प्राचीन लिच्छविकालको षस्ठि देवकुल, मातृका गण यथा छ मातृका, सप्तमातृकाको भावलाई उछिने र कान्तिपुरमा अष्टमातृका, भक्तपुरमा नवदुर्गा तथा पाटनमा दशमहाविद्याका शक्तिपीठ, तत्कालीन शक्तिकेन्द्रका रूपमा तुलजाभवानीको केन्द्रस्थललाई मध्यमा मानेर आरक्षित गरिएको वास्तु परम्परा छ ।
शाक्त तीर्थ तथा पीठ
तन्त्रविद्यमा शिवशक्ति वा भैरव भैरवीको क्रीडास्थलका रूपमा नेपालमा ५१ भैरव र भैरवीको बास रहेको विश्वास गरिन्छ । थोमस एटे्रकिन्सनको मतमा त नेपाल ५१ हजार भैरभैरवीको पीठ हो । यस अर्थमा नेपालमा एक लाख दुई हजार शक्ति पीठहरू विद्यमान छन् तर डी.सी. सरकारले कुब्जिका तन्त्र, तन्त्र चूडामणि, वृहन्नीलतन्त्र, पीठ निर्णय -महापीठ निरुपण) आदि प्राचीन तन्त्रशास्त्रका आधारमा नेपाललाई शाक्त-उपासनाका केन्द्र मानेको छ । त्यस्तै, देवी भागवतले नेपाललाई 'गुहृयकाल्या महास्थानं नेपाले यत प्रतिष्ठितम्' भनेर 'शक्तितीर्थ' का महान् स्थल मानेको छ । माथि उल्लेख भएअनुसार हरेक शक्तिको सगुण र निर्गुण उपासना हुन्छ । गुहृयकाली यसको अपवाद होइन । पाशुपत क्षेत्रमा अवस्थित यसपीठलाई 'उत्तराम्नाय' की नायिका मानिन्छ । अथर्ववेदका छ शाखाहरू यथाः तारतन्तवी, मौज्जायनी, तार्णवैन्दवी शौनकी, पैपालादिका, सौमन्तकको उल्लेख गुहृयोपनिषद्ले गर्दै गृहृयेश्वरीको वासस्थललाई 'शाक्ततीर्थ' मानेको छ । महांकालसंहिताको कालीखण्डमा गुहृयकालीको १८ मन्त्र र १८ विग्रहको उल्लेख पाइन्छ । यसको विभेद मूर्ति तथा चित्रकलामा एघार प्रकारबाट क्रमशः एक, दुई, तीन, पाँच, दस, बीस, एक्काइस, छत्तीस, साठी, अस्सी र सय टाउका भएको गुहृयकालीको चित्रमा महांकाल संहितामा छ ।
गुहृयश्वरी पीठ
तन्त्र र पुराणमा गुहृयश्वरी पीठको निर्वचन बौद्ध एवं हिन्दू परम्पराअनुसार वर्णन गरिएको पाइन्छ । दुवै मत भगवती गुहृयश्वरीलाई नीलवर्णमा, नीलाम्बर स्वरूपमा तथा कलशको प्रतीकात्मक प्रतिबिम्बमा आस्था पोखेको पाइन्छ । बौद्ध तन्त्रको स्वरूपविहीन स्वरूप वा स्कन्दपुराणको हिमवत्खण्ड -नेपाल महात्म्यमा) मा तथा भाषा वंशावलीमा, सतीदेवीको गुहृयपतन भएको श्लेष्मान्तक वनमा भगवती गुहृयश्वरीको उत्पत्ति भएको वर्णन पाइन्छ । परम्पराअनुसार पुराणमा उल्लेखित यस पीठको स्वरूप पहिले जलमग्न रूपमा गुप्त नै थियो पछि प्रताप मल्ल -ने.सं. ७६२-७९४) का समकालीन तान्त्रिक नरसिंह ठाकुरले गुहृयदेवीको यस स्थानमा दर्शन पाएर पूजा-उपासना गरेको वर्णन पाइन्छ भने विश्वनाथ उपाध्याय भट्टले गुहृयश्वरीको स्वरूपलाई कुण्डमय एवं सत्तलयुक्त बनाउने अभिभारा लम्वकर्ण भट्ट -लक्ष्मीनारायण भट्ट) लाई दिएको छ । भाषा वंशावलीले भने यसको प्रादुर्भाव कुनै बोडेका -खोकना ?) तेली -साल्मी) ले यस स्थानमा दर्शन पाएको कुरा उल्लिखित छ । प्रायः सबै जसो कथन श्रवणले पाशुपत क्षेत्रको एक गुहृयश्वरी तथा स्वयम्भू क्षेत्रको समेत गरी प्राचीन दुई गुहृयश्वरी पीठ नेपाल मण्डलमा रहेको पुष्टि गर्छ । स्वयम्भू पुराणले पुरानो गुहृयश्वरी -हाल बालाजु, फूलबारीमा अवस्थित) लाई प्राचीनतम् मानेर स्वयम्भू उत्पत्तिको पुष्पकमलको नाल नै यिनै कुण्डबाट प्रादुर्भाव भएको मान्दछ । नागार्जुनको पर्वत फेदीमा अवस्थित यस कुण्डको महिमा पीठका रूपमा कालान्तरमा महायान बज्रयानी-कर्मकाण्डले महिमा बढाए पनि वास्तविक मूलस्वरूप भू-गर्भमुनिको पानी वा सृष्टिदेखि कै पानी आद्यजलको तर्पण नै विशेष देखिन्छ । वर्तमानमा यस स्थलमा पित्तलको अष्टकमलदलको पुष्पकेशरमाथि कलश आकार स्वरूपले छोपिएको कुण्डलाई नै गुहृयश्वरीका प्रतीक मानेर पुज्ने परम्परा छ ।
नेपालमा शिवशक्तिका एकात्म्यलाई तन्त्र तथा पुराणहरूमा प्रतीक तथा मूर्त स्वरूपले विवेचना गरेको पाइन्छ । यसअनुसार गुहृयश्वरी मध्यकालदेखि दिव्यश्वरीका रूपमा भक्तपुर लोकन्थली, काठमाडौँ जनसेवा, -विशालबजारको महालक्ष्मी मन्दिर परिसरको उत्तरपश्चिम कुनामा) न्युरोडमा पनि स्थापना गरिएको छ । गुहृयश्वरी स्कन्दपुराणको केदारखण्डमा वर्णन गरिएझै सतीदेवीको गुहृयस्थलको पतनबाट सिद्ध भएको पीठ मान्ने प्रथा रहे पनि तन्त्र परम्परामा आदिम 'गुहृयक' नामक जातिले पूजा गर्ने देवी हुनाले यिनीलाई 'गुहृयश्वरी' भन्ने गरेको अर्को मत पनि छ । त्यस्तै यो तन्त्रले मूलाधार चक्र संरक्षिका भैदिनाले यिनीलाई गुहृयश्वरी भनेको र 'गुहृया' शक्तिका नामले चिनिने स्त्री, पुरुष र नपुंसकसमेतबाट वन्दनीय 'काली' स्वरूपमा यिनलाई 'गुहृय काली' समेत भनिन्छ । तसर्थ, दसमहाविद्या परम्परामा यिनीको नाम सर्वप्रथम आउँछ, यथाः काली, तारा, षोडषी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बंगलामुखी, मातङ्गी र कमला ।


Wednesday, March 29, 2017

चन्द्रघण्टा भगवतीको महिमा

नवरात्री पर्वको तेस्रो दिन (तृतीया तिथि) श्री नवदुर्गा भवानीको तेस्रो शक्तिका रूपमा प्रादुर्भाव भएकी श्री चन्द्रघण्टा भगवतीको महिमा बखान गर्दै आराधना गर्ने महत्त्वपूर्ण दिन हो। शिरमा अर्द्धचन्द्रयुक्त घण्टा आकारको मुकुट धारण गरेकी हुनाले यिनलाई चन्द्रघण्टा भगवती भनिएको हो। दसैंको नौरथाअन्तर्गत तेस्रो दिनको पुण्य पर्वमा सनातन हिन्दू धर्मावलम्बीहरूले नजिकका विभिन्न शक्तिपीठहरूमा गएर श्रद्धाभक्तिपूर्वक श्री दुर्गा भवानीको दर्शन गरी हर्षोल्लासका साथमा चन्द्रघण्टा भगवतीको पूजा-अर्चना गर्ने गर्दछन्।


विशेषतः आश्विन शुक्लपक्षको तृतीया तिथिका दिन हिन्दू धर्मावलम्बीहरूले आ-आफ्नो कुलपरम्परा र कुलाचारअनुसार घरभित्रै जमरा राखिएको वेदीमा वा दशैंघरमा श्रद्धापूर्वक चन्द्रघण्टा भगवतीको आह्वान गरी इष्टदेवीलाई भक्तिपूर्वक पूजाअर्चना गर्छन्। यसरी पूजाआराधना गर्ने क्रममा वा शक्तिपीठको दर्शन गर्दा "ॐ जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी । दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।" आदि दुर्गा भवानीका विभिन्न स्तुति र श्री दुर्गासप्तशतीको पाठ गर्ने गर्दछन्। नवरात्री पर्वको तेस्रो दिन जुनसुकै शक्तिपीठहरूको दर्शन गर्दा वा दशैंघरमा इष्टदेवीको पूजाअर्चना गर्दासमेत श्री चन्द्रघण्टा भगवतीको स्वरूप (श्री विग्रह) को ध्यानपूर्वक स्मरण गर्दै श्रद्धाभक्तिपूर्वक आराधना गरी स्तुति गर्दा भगवती चन्द्रघण्टाको अनुपम कृपा प्राप्त भई साधकका समस्त पाप नाश हुनुका साथै शुभफल प्राप्त हुन्छ र इहलोकमा समस्त मनोकाङ्क्षा पूर्ण भई परलोकमा सद्गति प्राप्त हुनेछ भन्ने धार्मिक मान्यता छ। चन्द्रघण्टा भगवतीको प्रार्थना गर्दा तल लेखिएको स्तुतिवाक्यको उच्चारण गर्नु पर्दछ :-

अर्द्धचन्द्रयुक्त घण्टाकारको मुकुट धारण गरेकी, विशुद्ध स्वर्णमय दिव्य शरीर भएकी, दसवटा भुजा भएकी र उक्त भुजाहरूमा भिन्नभिन्न शस्त्रास्त्र धारण गरेकी, सिंहमाथि विराजमान भएकी, समस्त भूत, प्रेत, पिशाचादिबाट उत्पन्न हुने बाधाहरू नाश गरी भक्तको दुःखकष्ट हरण गर्ने, शत्रुनाश गरी भक्तको सर्वतोमुखी र सर्वत्र रक्षा गरी माङ्गल्य प्रदान गर्ने श्री चन्द्रघण्टा भगवतीलाई बारम्बार प्रणाम गर्दछु ।

चन्द्रघण्टा स्तुति
कालिकां तु कलातीतां कल्याणहृदयां शिवाम् ।
कल्याणजननीं नित्यं कल्याणीं प्रणमाम्यहम् ॥
पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादं तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ॥

ध्यान:-
वन्दे वाञ्छितलाभाय चन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढां दशभुजां चन्द्रघण्टां यशस्विनीम्॥
कञ्चनाभां मणिपुरस्थितां दुर्गां त्रिनेत्राम्।
खड्गगदात्रिशूलचापधरां पद्मकमण्डलुमालावराभीतिकराम्।
पटाम्बरपरिधानाम्मृदुहास्यां नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणिरत्‍‌नकुण्डलमण्डिताम्॥
प्रफुल्लवदनां बिम्बाधरां कान्तकपोलां तुङ्गकुचाम्।
कमनीयां लावण्यां क्षीणकटीं नितम्बिनीम्॥

स्तोत्र:-
आपदुद्धारिणी त्वं हि आद्याशक्ति: शुभां पराम्।
अणिमादि सिद्धिदात्री चन्द्रघण्टे नमाम्यहम्॥
चन्द्रमुखी इष्टदात्री इष्टमन्त्रस्वरूपिणी।
धनदात्री नन्ददात्री चन्द्रघण्टे नमाम्यहम्॥
नानारूपधारिणीच्छामय्यैश्वर्यप्रदायिनी।
सौभाग्यारोग्यदायिनी चन्द्रघण्टे नमाम्यहम्॥


चन्द्रघण्टा भगवतीको स्वरूप अत्यन्त कल्याणकारी र शान्त छ र यिनको शरीरबाट विशुद्ध स्वर्णमय कान्ति फैलिरहेको हुन्छ। यिनका दसवटा हात छन् र  ती हातहरूमध्ये दाहिने पट्टिका पाँचवटा हातमा क्रमशः खड्ग, गदा, त्रिशूल, धनुष र भाला तथा देब्रेपट्टिका पाँचवटा हातमा क्रमशः कमलको फूल, कमण्डलु, जपमाला, वरमुद्रा र अभयमुद्रा धारण गरी भक्तहरूलाई रक्षा गर्नको निम्ति उनी सदैव तम्तयार रहने धारण गर्दछिन् । यिनी सधैं रातो वस्त्रमा सजिएर सिंहमाथि सवार गर्दछिन्, त्यसैले यिनलाई सिंहवाहिनी पनि भन्ने गरिन्छ । धार्मिक मान्यताबमोजिम भक्त (साधक) ले मन, वचन र कर्मले शुद्ध भई मनलाई 'मणिपुर' चक्रमा केन्द्रित गरी श्रद्धाभक्तिपूर्वक श्री चन्द्रघण्टा भगवतीको आराधना गरी पूजा-अर्चना गर्दा भगवती प्रसन्न भई भक्तको रक्षाका निम्ति यिनको घण्टाको भयानक चण्डध्वनिको तरङ्ग फैलिन्छ। आफ्ना भक्तजनलाई दुःख दिने भूत, प्रेत, पिशाचहरूलाई घण्टाको चण्डध्वनिको आवाजबाट भगाई यिनले सबै दिशाहरूबाट रक्षा गरी तिनका दुःख र पीडालाई तुरुन्त नाश गरिदिन्छिन्।

नवरात्रको गन्तव्य शक्तिपीठ


 -  रामप्रसाद धिताल

गुह्येश्वरी
पशुपतिनाथको मन्दिरदेखि एक किलोमिटर पूर्वमा रहेको गुह्येश्वरीको मन्दिर बागमती नदीको किनारमा अवस्थित छ । भगवान् शिवकी पत्नी सतीदेवीको गुह्याङ्ग पतन भएको विश्वासमा शक्तिपीठको रूपमा गुह्येश्वरीको ठूलो महत्त्व छ । चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन् । गुह्येश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ ।

भद्रकाली
सिंहदरबारदेखि केही मिनेट पश्चिममा रहेको भद्रकालीको मन्दिर सामान्य स्वरूपको छ । चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ । तान्त्रिक पद्धतिअनुसार नवरात्रमा विशेष पूजा गरिने यहाँका पुजारी बताउँछन् । दुर्गाकवचमा उल्लेख भएअनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो ।

शोभा भगवती
विष्णुमतीको किनारमा रहेको शोभा भगवतीको मन्दिर लिच्छवीकालीन मानिन्छ । भगवती दुर्गाको रूपमा पुजिने शोभा भगवतीको स्वरूप अष्ट भूजायुक्त आकर्षक देख्न सकिन्छ । नवरात्रमा विशेष पूजासहित दुर्गा सप्तशती चण्डी पाठ गरिने यस मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।

नक्साल भगवती
काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्ये नक्साल भगवती पनि एक हो । नारायणहिटी दरबारस्थित यो मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ । भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ ।

तलेजुभवानी
काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षको एकदिन अर्थात् बडादसैँको नवमीमा मात्र खुल्छ । तुलजा भवानीलाई पुज्ने परम्परा काठमाडौँ उपत्यकालगायत अन्य ठाउँमा पनि पाइन्छ । चौधौँ शताब्दीमा सिम्रौनगढका राजा हरिहरसिंहदेवले मुसलमानको आक्रलमणबाट बचाएर ल्याई तुलजा भवानीलाई भक्तपुरमा स्थापना गरेको इतिहास पाइन्छ । भक्तपुरपछि क्रमशः कान्तिपुर र ललितपुरमा समेत स्थापना गरिएको थियो । नेपालमा राज्य गर्ने राजाहरूले तुलजा भवानीलाई इष्टदेवी मान्ने गरेका छन् ।

बगलामुखी
नवरात्रमा विशेष आकर्षणको केन्द्र बन्ने अर्को शक्तिपीठ हो बगलामुखी । पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बगलामुखी कुम्भेश्वर मन्दिर परिसरमा छ । तन्त्रशास्त्रअनुसारका दस महाविद्यामध्ये बगलामुखी पनि एक हुन् । बिहीबार विशेष भीड हुने बगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ ।

दक्षिणकाली
काठमाडौँ उपत्यकाको दक्षिणी भाग फर्पिङमा रहेको दक्षिणकालीको मन्दिर मातृशक्तिको उपासना गर्ने जोसुकैको आकर्षणको केन्द्रबिन्दु हो । मन्दिरमा शिलामा रहेको कालीको मूर्तिसँगै अष्टमातृकाका आदिका मूर्तिहरू समेत छन् ।

बज्रवाराही
चापागाउँदेखि पूर्वी भागमा पर्ने बज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ । तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ । दुर्गाकवचमा वाराही देवीको चर्चा विभिन्न ठाँउमा गरिएको हुनाले पनि बज्रवाराही उपासनाको ठूलो महत्त्व रहेको यहाँका पुजारी बताउँछन् ।

बज्रयोगिनी
काठमाडौँको साँखुदेखि उत्तरतिरको डाँडामा रहेको बज्रयोगिनीको मन्दिर अठारौँ शताब्दीको पहिलो दशकतिर बनेको मानिन्छ । उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन् । मन्दिरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ । बौद्ध धर्मावलम्बीहरू समेतको आस्था रहेको यहाँको वातावरणबाट प्रस्ट हुन्छ ।

पलाञ्चोक भगवती
काभ्रेपलाञ्चोक जिल्लाको भगवती गाविसमा पर्ने यो मन्दिर लिच्छविकालीन राजा मानदेवको पालामा बनाइएको मानिन्छ । यिनै पलाञ्चोक भगवतीको नामबाट काभ्रेसँग पलाञ्चोक थपिन गएको बुझ्न सकिन्छ । विभिन्न शस्त्रअस्त्र बोकेकी महिषासुर मर्दिनीको रूपमा रहेकी पलाञ्चोक भगवतीको मन्दिर पुग्न काठमाडौँबाट गाडीमा तीन घण्टाको यात्रा गर्नुपर्छ ।

यीबाहेक काठमाडौँमा नरदेवी (श्वेतकाली), रक्तकाली मैतीदेवी कालिकास्थान सङ्कटा, भक्तपुरमा इन्द्रायणी, नवदुर्गा आदि शक्तिपीठ नवरात्रका लागि प्रमुख गन्तव्यस्थल मानिन्छन् । यसैगरी उपत्यकाबाहिर गोरखामा मनकामना, पाल्पामा तानसेन भगवती, बाँकेमा बागेश्वरी, बागलुङमा माइस्थान, डोल्पामा त्रिपुरासुन्दरी, कालीकोट र बाजुराको सिमानामा पर्ने बडीमालिका भगवती, पोखरामा बिन्ध्यवासिनी, बारामा गढीमाई आदि शक्तिपीठहरूमा विशेष पूजाअर्चनाको साथै बलि दिइने परम्परा छ ।


Tuesday, March 28, 2017

ब्रह्मचारिणी रूपको आराधना

नवरात्री पर्वको दोस्रो दिन (द्वितीया तिथि) मा श्री नवदुर्गा भवानीको दोस्रो स्वरूपका रूपमा प्रादुर्भाव भएकी श्री ब्रह्मचारिणी भगवतीको श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गर्ने प्रचलन छ । यस दिन सनातन हिन्दु धर्मावलम्बीहरूले आआफ्ना कुलपरम्परा र कुलाचारअन्तर्गत रही घरको पूजाकोठामा वा सामूहिक/पारम्परिक दसैंघरमा श्रद्धा-भक्तिपूर्वक पूजा अर्चना गर्ने गर्दछन् । यसरी पूजा अर्चना गर्दा वा विभिन्न शक्तिपीठहरूको दर्शन गरी पूजा आराधना गर्दा दुर्गा भवानीको 'ॐ नमः जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोऽस्तु ते ।।' आदि स्तुतिहरूको उच्चारण गर्ने चलन छ, यसका साथै विशेषतः श्री ब्रह्मचारिणी देवीको स्वरूप (श्री विग्रह)लाई ध्यानपूर्वक स्मरण गर्दै स्तुति गरेमा साधक (भक्त)ले मनोवाञ्छित फल प्राप्त गर्नसक्ने शास्त्रीय मान्यता छ । ब्रह्म शब्दको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने स्त्री विशेष भन्ने अर्थ हुन्छ । भगवती ब्रह्मचारिणीको मुख्य आचरण तपस्या गर्नु नै रहेको हुनाले यिनलाई ब्रह्मचारिणी देवी भनिएको हो । आद्याशक्ति जगन्माता भगवती दुर्गाको द्वितीय महत्त्वपूर्ण रूप ब्रह्मचारिणीको स्तुति र आराधना गर्न तलका संस्कृत श्लोकहरूको उपयोग गर्न सकिन्छ :-


ब्रह्मचारिणी स्तुति
त्रिपुरां त्रिगुणाधारां मार्गज्ञानस्वरूपिणीम् ।
त्रैलोक्यवन्दितां देवीं त्रिमूर्तिं प्रणमाम्यहम् ॥
दधानापरपद्माभ्यामक्षमालाकमण्डलुम्।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ॥

ध्यान :-
वन्दे वाञ्छितलाभाय चन्द्रार्द्धकृतशेखराम् ।
धृतकमण्डलुमालाब्रह्मचारिणी वै शुभा 
गौरवर्णां स्वाधिष्ठानस्थितां द्वितीयदुर्गां त्रिनेत्राम् ।
धवलपरिधानां ब्रह्मरूपां पुष्पालङ्कारभूषिताम् 
पद्मवदनां पल्लवाधरां कान्तकपोलां पीनपयोधराम् ।
कमनीयां लावण्यां स्मेरमुखीं निम्ननाभिं नितम्बनीम् 

स्तोत्र :-
तपश्चारिणी त्वं हि तापत्रयनिवारिणी ।
ब्रह्मरूपधरा ब्रह्मचारिणीं प्रणमाम्यहम् 
नवचक्रभेदिनी त्वं हि नवैश्वर्यप्रदायिनी ।
धनदा सुखदा ब्रह्मचारिणीं प्रणमाम्यहम् ॥
शङ्करस्य प्रिया त्वं हि भुक्तिमुक्तिप्रदायिनी ।
शान्तिदा मानदा ब्रह्मचारिणीं प्रणमाम्यहम् ॥

भगवती दुर्गाको द्वितीय स्वरूप ब्रह्मचारिणी देवीको कवच :-
त्रिपुरा हृदये पातु ललाटे पातु शाङ्करी ।
अपर्णा नेत्रयोः पातु अधरे च कपोलयोः ॥
कण्ठे पञ्चदशी पातु मध्यदेशे महेश्वरी ।
षोडशी च सदा पातु नाभौ गुह्ये च पादयोः ।
सर्वदिगङ्गप्रत्यङ्गे पातु मे ब्रह्मचारिणी ॥


प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार ब्रह्मचारिणी भगवतीले पूर्वजन्ममा हिमालय पर्वतकी पत्नी मेनकाको गर्भबाट जन्म लिई नारदमुनिको उपदेशबाट प्रभावित भई भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्ने उद्देश्यले अत्यन्त अकल्पनीय कठोर तपस्या गरेकी थिइन् । कैयौं वर्ष लगाएर गरिएको उक्त तपस्यामा उनले वर्षायाम र गर्मी मौसममा खुल्ला आकाशमा कष्टपूर्वक तपस्या गरेकी थिइन्। त्यसरी तपस्या गर्ने क्रममा उनले एक हजार वर्षसम्म फलाहार गरी र त्यसपछि तीन हजार वर्षसम्म अन्नजलादि समेत ग्रहण नगरी केवल जमिनमा झरेको बेलपत्रका सुकेका पातहरू मात्र सेवन गरी तपस्या गरेकी थिइन्। त्यसपछि सुकेका बेलपत्रसमेत सेवन गर्न छाडेर हजारौं वर्षसम्म अन्नजल त्यागी निर्जल निराहार रही शिवजीको आराधना गरी अत्यन्त कठोर तपस्या गरेकी हुनाले यिनलाई 'अपर्णा  ' पनि भन्ने गरिन्छ । यसरी हजारौं वर्षसम्म कठिन तपस्या गरेकी हुनाले आमा मेनकाले  'उ-मा' भनी सम्बोधन गरेकीले यिनलाई उमा भनेर पनि पुकारिन्छ । यसरी अलौकिक, अभूतपूर्व एवं अत्यन्त कठिन तपस्यामा मन, वचन, कर्मले निष्ठापूर्वक निरन्तर लागिरहेको हुनाले नै तपश्चारिणी अर्थात् ब्रह्मचारिणीको नामद्वारा यिनी संसारमा प्रख्यात भएकी हुन् । नवरात्री पर्वको दोस्रो दिन साधकले दैहिक र आत्मिक शुद्धिपूर्वक श्रद्धाभक्तिका साथमा आफ्नो मनलाई 'स्वाधिष्ठान' चक्रमा केन्द्रित गरी श्री दुर्गा भवानीको दोस्रो स्वरूप श्री ब्रह्मचारिणी भगवतीको आराधना गरी भक्तिपूर्वक पूजाअर्चना गर्दा देवीको असीम कृपाद्वारा जीवनमा जस्तोसुकै कठिन सङ्घर्षको जटिल अवस्थामा समेत उसले कर्तव्यपथबाट कदापि विचलित हुनु पर्दैन, सर्वत्र सिद्धि र विजय प्राप्ति हुनुका साथै मनोवाञ्छित अनन्त शुभफलहरू प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ। अस्तु।