Wednesday, March 29, 2017

चन्द्रघण्टा भगवतीको महिमा

नवरात्री पर्वको तेस्रो दिन (तृतीया तिथि) श्री नवदुर्गा भवानीको तेस्रो शक्तिका रूपमा प्रादुर्भाव भएकी श्री चन्द्रघण्टा भगवतीको महिमा बखान गर्दै आराधना गर्ने महत्त्वपूर्ण दिन हो। शिरमा अर्द्धचन्द्रयुक्त घण्टा आकारको मुकुट धारण गरेकी हुनाले यिनलाई चन्द्रघण्टा भगवती भनिएको हो। दसैंको नौरथाअन्तर्गत तेस्रो दिनको पुण्य पर्वमा सनातन हिन्दू धर्मावलम्बीहरूले नजिकका विभिन्न शक्तिपीठहरूमा गएर श्रद्धाभक्तिपूर्वक श्री दुर्गा भवानीको दर्शन गरी हर्षोल्लासका साथमा चन्द्रघण्टा भगवतीको पूजा-अर्चना गर्ने गर्दछन्।


विशेषतः आश्विन शुक्लपक्षको तृतीया तिथिका दिन हिन्दू धर्मावलम्बीहरूले आ-आफ्नो कुलपरम्परा र कुलाचारअनुसार घरभित्रै जमरा राखिएको वेदीमा वा दशैंघरमा श्रद्धापूर्वक चन्द्रघण्टा भगवतीको आह्वान गरी इष्टदेवीलाई भक्तिपूर्वक पूजाअर्चना गर्छन्। यसरी पूजाआराधना गर्ने क्रममा वा शक्तिपीठको दर्शन गर्दा "ॐ जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी । दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।" आदि दुर्गा भवानीका विभिन्न स्तुति र श्री दुर्गासप्तशतीको पाठ गर्ने गर्दछन्। नवरात्री पर्वको तेस्रो दिन जुनसुकै शक्तिपीठहरूको दर्शन गर्दा वा दशैंघरमा इष्टदेवीको पूजाअर्चना गर्दासमेत श्री चन्द्रघण्टा भगवतीको स्वरूप (श्री विग्रह) को ध्यानपूर्वक स्मरण गर्दै श्रद्धाभक्तिपूर्वक आराधना गरी स्तुति गर्दा भगवती चन्द्रघण्टाको अनुपम कृपा प्राप्त भई साधकका समस्त पाप नाश हुनुका साथै शुभफल प्राप्त हुन्छ र इहलोकमा समस्त मनोकाङ्क्षा पूर्ण भई परलोकमा सद्गति प्राप्त हुनेछ भन्ने धार्मिक मान्यता छ। चन्द्रघण्टा भगवतीको प्रार्थना गर्दा तल लेखिएको स्तुतिवाक्यको उच्चारण गर्नु पर्दछ :-

अर्द्धचन्द्रयुक्त घण्टाकारको मुकुट धारण गरेकी, विशुद्ध स्वर्णमय दिव्य शरीर भएकी, दसवटा भुजा भएकी र उक्त भुजाहरूमा भिन्नभिन्न शस्त्रास्त्र धारण गरेकी, सिंहमाथि विराजमान भएकी, समस्त भूत, प्रेत, पिशाचादिबाट उत्पन्न हुने बाधाहरू नाश गरी भक्तको दुःखकष्ट हरण गर्ने, शत्रुनाश गरी भक्तको सर्वतोमुखी र सर्वत्र रक्षा गरी माङ्गल्य प्रदान गर्ने श्री चन्द्रघण्टा भगवतीलाई बारम्बार प्रणाम गर्दछु ।

चन्द्रघण्टा स्तुति
कालिकां तु कलातीतां कल्याणहृदयां शिवाम् ।
कल्याणजननीं नित्यं कल्याणीं प्रणमाम्यहम् ॥
पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादं तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ॥

ध्यान:-
वन्दे वाञ्छितलाभाय चन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढां दशभुजां चन्द्रघण्टां यशस्विनीम्॥
कञ्चनाभां मणिपुरस्थितां दुर्गां त्रिनेत्राम्।
खड्गगदात्रिशूलचापधरां पद्मकमण्डलुमालावराभीतिकराम्।
पटाम्बरपरिधानाम्मृदुहास्यां नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणिरत्‍‌नकुण्डलमण्डिताम्॥
प्रफुल्लवदनां बिम्बाधरां कान्तकपोलां तुङ्गकुचाम्।
कमनीयां लावण्यां क्षीणकटीं नितम्बिनीम्॥

स्तोत्र:-
आपदुद्धारिणी त्वं हि आद्याशक्ति: शुभां पराम्।
अणिमादि सिद्धिदात्री चन्द्रघण्टे नमाम्यहम्॥
चन्द्रमुखी इष्टदात्री इष्टमन्त्रस्वरूपिणी।
धनदात्री नन्ददात्री चन्द्रघण्टे नमाम्यहम्॥
नानारूपधारिणीच्छामय्यैश्वर्यप्रदायिनी।
सौभाग्यारोग्यदायिनी चन्द्रघण्टे नमाम्यहम्॥


चन्द्रघण्टा भगवतीको स्वरूप अत्यन्त कल्याणकारी र शान्त छ र यिनको शरीरबाट विशुद्ध स्वर्णमय कान्ति फैलिरहेको हुन्छ। यिनका दसवटा हात छन् र  ती हातहरूमध्ये दाहिने पट्टिका पाँचवटा हातमा क्रमशः खड्ग, गदा, त्रिशूल, धनुष र भाला तथा देब्रेपट्टिका पाँचवटा हातमा क्रमशः कमलको फूल, कमण्डलु, जपमाला, वरमुद्रा र अभयमुद्रा धारण गरी भक्तहरूलाई रक्षा गर्नको निम्ति उनी सदैव तम्तयार रहने धारण गर्दछिन् । यिनी सधैं रातो वस्त्रमा सजिएर सिंहमाथि सवार गर्दछिन्, त्यसैले यिनलाई सिंहवाहिनी पनि भन्ने गरिन्छ । धार्मिक मान्यताबमोजिम भक्त (साधक) ले मन, वचन र कर्मले शुद्ध भई मनलाई 'मणिपुर' चक्रमा केन्द्रित गरी श्रद्धाभक्तिपूर्वक श्री चन्द्रघण्टा भगवतीको आराधना गरी पूजा-अर्चना गर्दा भगवती प्रसन्न भई भक्तको रक्षाका निम्ति यिनको घण्टाको भयानक चण्डध्वनिको तरङ्ग फैलिन्छ। आफ्ना भक्तजनलाई दुःख दिने भूत, प्रेत, पिशाचहरूलाई घण्टाको चण्डध्वनिको आवाजबाट भगाई यिनले सबै दिशाहरूबाट रक्षा गरी तिनका दुःख र पीडालाई तुरुन्त नाश गरिदिन्छिन्।

No comments:

Post a Comment