Friday, March 31, 2017

स्कन्दमाता भगवतीको महिमा

नवरात्री पर्वको पाँचौं दिन अर्थात् पञ्चमी तिथिमा नवदुर्गा भगवतीको पाँचौं शक्तिका रूपमा प्रादुर्भाव भएकी श्री स्कन्दमाता भगवतीको पूजाअर्चना गर्दै श्रद्धाभक्तिपूर्वक महिमा गायन गरिन्छ । भगवान् शिवका सुपुत्र स्कन्दकुमार (कार्तिकेय) को बालस्वरूपलाई यिनले सदैव काखमा लिएकी हुन्छिन् र ममत्वपूर्ण स्नेह प्रदान गर्ने गर्दछिन्, अतः नाैरथा पर्वको पाँचौं दिन सनातन हिन्दु धर्माबलम्बीहरूले श्रद्धाभक्तिपूर्वक यिनलाई स्कन्दमाता भनी सम्बोधन गर्दछन्। स्कन्दमातृस्वरूपिणी भगवती दुर्गाको चारवटा हातमा क्रमशः माथिका दुबै हातमा कमलको फूल लिएकी हुन्छिन् भने दाहिने भागको तल्लो हातले स्कन्दकुमारलाई च्यापेर आफ्ना काखमा  राखेकी हुन्छिन् र देब्रे पट्टिको तल्लो हातमा वरमुद्रा धारण गरेकी हुन्छिन्। उनी पद्मासनमा सिंहमा विराजमान हुने गर्दछिन् । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तो देदीप्यमान छ ।

नवरात्री पर्व सुरु भएपछि प्रायः सबैजसो दिनमा विभिन्न स्थानमा आदिकालदेखि उत्पत्ति भएको मानिने वा पछि प्रतिष्ठापित गरिएका आद्याशक्ति जगन्माता दुर्गा भगवतीका शक्तिपीठहरूमा आस्थावान् सनातन हिन्दु धर्माबलम्बीहरूले श्रद्धाभक्तिपूर्वक नवदुर्गा भवानीको दर्शन गरी हर्ष उल्लासका साथ पूजाअर्चना गर्ने चलन छ, यस क्रममा पाँचौ दिन पनि आआफ्नो परम्पराअनुसार घरमैं रहेको घटस्थापनाको वेदीमा वा सामूहिक रूपमा खडा गरिएको दसैं घरमा भक्तिपूर्वक नवदुर्गा भवानीको आह्वान गरी भगवती स्कन्दमाताको श्रद्धापूर्वक पूजाअर्चना गरिन्छ। यसरी भक्तिभाव प्रस्तुत गर्दा र श्रद्धाभाव व्यक्त गर्न विभिन्न स्तुतिहरू र दुर्गा सप्तशती चण्डीको यथाशक्य पाठ गर्नुका साथै विशेषतः श्री स्कन्दमाता भगवतीको श्री विग्रहको स्मरण र ध्यान गर्दै भगवतीको महिमा झल्किने स्तुति गरी पूजाअर्चना गरेमा भक्तले मनोवाञ्छित फल प्राप्त गर्दछन् भन्ने धार्मिक मान्यता रहेको पाइन्छ।

स्कन्दमाता स्तुति

चण्डवीरां चण्डमायां चण्डमुण्डप्रभञ्जनीम् ।
तां नमामि च देवेशीं चण्डिकां चण्डविक्रमाम् ॥
याः श्री स्वयं  सुकृतीनां भवनेष्वलक्ष्मीः पापात्मनां कृतधियां ह्रुदयेषु बुद्धिः ॥
श्रद्धां सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नतास्मः परिपालय देवि विश्वम् ॥
सिंहासनगतानित्यं पद्माश्रितकरद्वया।
शुभदास्तु सदा देवी स्कन्दमातायशस्विनीम्॥

ध्यान:-

वन्दे वाञ्छित कामर्थेचन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढाचतुर्भुजा स्कन्दमाता यशस्वनीम्॥
धवलवर्णां विशुद्धचक्रस्थितां पञ्चमदुर्गां त्रिनेत्राम्।
अभयपद्मयुग्मकरां दक्षिणोरूपुत्रधरां भजेम॥
पटाम्बरपरिधानां मृदुहास्यं नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणिरत्नकुण्डलधारिणीम्॥
प्रफुल्लवदनां पल्लवाधरां कान्तकपोलां पीनपयोधराम्।
कमनीयां लावण्यां जारूत्रिवलीं नितम्बनीम्॥

स्तोत्र:-
नमामि स्कन्दमाता नमामि स्कन्दधारिणीम्।
समग्रतत्त्वसागरामपारपारगह्वराम्॥
शिवप्रभां समुज्ज्वलां स्फुरच्छशाङ्कशेखराम्।
ललाटरत्‍‌नभास्करां जगत्प्रदीप्तभास्कराम्॥
महेन्द्रकश्यपार्चितां सनत्कुमारसंस्तुताम्।
सुरासेरेन्द्रवन्दितां यथार्थनिर्मलाद्भुताम्॥
मुमुक्षुभिर्विचिन्तितां विशेषतत्त्वबोधिताम्।
नानालङ्कारभूषितां मृगेन्द्रवाहनाग्रताम्।।
सशुद्धतत्त्वतोषणां त्रिवेदभारभूषणाम्।
सुधार्मिकोपकारिणीं सुरेन्द्रवैरिघातिनीम्॥
शुभां सुपुष्पमालिनीं सुवर्णकल्पशाखिनीम्।
तमोन्धकारयामिनीं शिवस्वभावकामिनीम्॥
सहस्रसूर्यराजिकां धनञ्जयोपकारिकाम् ।
सुशुद्धकालकन्दलां सुभृङ्गवृन्दमञ्जुलाम् ॥
प्रजायिनीं प्रजावतीं नमामि मातरं सतीम् ।
सत्कर्मकारणे गतिं हरप्रियां च पार्वतीम् ॥
अनन्तशक्तिकान्तिदां यशोऽर्थभुक्तिमुक्तिदाम् ।
पुनः पुनर्जगद्धितां नमाम्यहं सुरार्चिताम् ॥
जयेश्वरि त्रिलोचने प्रसीद देवि पाहि माम् ।
जयन्ति ते स्तुवन्ति ये शुभं लभन्त्यसंशयम् ॥

नवरात्र पर्वको पाँचौं दिन तन्त्र र योगका साधकहरूले पवित्रपूर्वक तन्त्रोक्त विधि विधान एवं भक्तिभावद्वारा आफ्नो मनलाई विशुद्ध (पुष्कल) चक्रमा केन्द्रित गरी स्कन्दमाताको स्वरूपको स्मरण र ध्यान गरी श्रद्धापूर्वक षोडषोपचार विधिले भगवतीको पूजा अर्चना गर्छन्। यिनको श्रद्धाभक्तिपूर्वक पूजाअर्चना एवं आराधाना गर्दा भक्तहरूका सम्पूर्ण मनोवाञ्छित इच्छाहरू पूर्ण हुन्छन्, भक्त साधकहरूले पनि यिनको कृपाबाट अलौकिक तेज र कान्ति प्राप्त गर्दछन्। अत्यन्त कोमल हृदय भएकी ममतामयी माता हुनाले यिनी असाध्यै छिटो खुसी हुन्छिन् र यिनलाई प्रसन्न तुल्याउन हामीमा केवल श्रद्धा भक्तिको आवश्यकता पर्छ। भनिन्छ पनि 'कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति' अर्थात्- कुनै छोरो कुपुत्र हुन सक्छ तर कुनै पनि माता कुमाता हुन सक्दिनन् । तसर्थ, सांसारिक माया जालको दुःखबाट छुटकारा पाई इहलोक र परलोकमा कल्याण चाहने सबैले नवरात्रीको पाँचौं दिन  स्कन्दमाता भगवतीलाई श्रद्धापूर्वक पूजाअर्चना गर्दा भक्तलाई मनोवाञ्छित फल प्राप्त हुने कुरामा विश्वस्त हुन सकिन्छ।

No comments:

Post a Comment