Monday, March 20, 2017

शीतला अष्टमी

सनातन धर्ममा प्रकृतिका शाश्वत पक्षमा आधारित चाडपर्व र व्रत सम्पादन गर्ने पद्धति रहीआएको छ। हुरीबतास र वर्षातको मौसममा देखिने विभिन्न प्राकृतिक प्रकोप र रोगव्याधिबाट टाढा रहने उद्देश्यले भगवती शीतलाको भक्ति र आराधना गर्ने शास्त्रीय विधान छ। यो आराधना खासगरी वसन्त र गृष्म ऋतुका चैत्र, वैशाख, ज्येष्ठ र आषाढ महिनामा गर्ने प्रचलन छ। ती महिनामा पर्ने प्रत्येक कृष्ण पक्षको अष्टमी तिथिका दिन शीतला भगवतीलाई प्रसन्न तुल्याई प्राकृतिक प्रकोप र रोगव्याधिबाट छुटकारा दिलाउन बिन्ती बिसाउने परम्परा रही आएको छ। त्यसैले यस व्रतलाई शीतलाष्टमी भन्ने गरिन्छ। बासी खानेकुरा चढाउने र बासी खानेकुरा प्रसादका रूपमा ग्रहण गरी मनाइने हुँदा यस व्रतलाई तराई क्षेत्रमा बसौडा र काठमाण्डौ उपत्यकामा बासेरा पनि भन्ने गरिन्छ। यस व्रतलाई सम्पादन गर्नाले व्रतालुका घरपरिवारमा अग्निप्रकोप र ज्वरो एवं घाउखटिराजन्य रोगको प्रकोपबाट मुक्तिप्राप्त हुन्छ भन्ने विश्वास लिइन्छ। यस दिनको व्रत सम्पादन गर्न प्रात:कालमा स्नानादिबाट निवृत्त भई श्रद्धा-भक्तिपूर्वक विधिविधान सहित भगवती शीतला देवीको पूजा गर्नुपर्दछ। पूजा सम्पादन गर्न एकदिन अघि नै तैयार गरिएको प्रसाद र नैवेद्य माता शीतलालाई भोग लगाउने चलन छ। शीतलताकी प्रतिमूर्ति माता शीतलाको आराधना र व्रत सम्पादन गर्ने व्यक्तिका घरमा उक्त दिन चूलो बाल्न प्रतिबन्ध रहेको मानिन्छ र त्यसदिन कुनै पनि खानेकुरा पकाउन र तुल्याउन निषेधित मानिन्छ। त्यसैले पूजा सम्पन्न गर्न समेत बासी खानेकुरालाई नैवेद्यका रूपमा भगवतीलाई अर्पण गर्ने गरिएको हो। भगवतीलाई नैवेद्य अर्पण गरेपछि घरका सबै सदस्य उपस्थित भएर भगवती शीतलासँग परिवारका सबै सदस्यको आरोग्य र सुस्वास्थ्यको कामना गर्ने गरिन्छ।

शीतला व्रतसँग जोडिएको लोकआहान
कुनै एउटा गाउँमा एक जना महिला बस्ने गर्दथिइन्। ती असाध्यै दुःखी र गरिब थिइन्। घरमा खानेकुराको अभाव थियो। गाउँका अन्य मानिसले पनि उनलाई हेला गर्ने गर्दथे। कसैले उनलाई बोक्सी र डायनको संज्ञा दिएका थिए भने कोही उनलाई पागल र बहुलाही भन्दथे। उनले गाउँका मानिसले फ्यालेका र मिल्काएका खानेकुरा खानुपर्दथ्यो। त्यति धेरै दुःखपीडा र कष्ट भएपनि उनमा आध्यात्मिक चेतना भने विद्यमान थियो। गाउँका हुनेखानेले मिल्काएका फोहोर,  जूठो र बासी खानेकुराबाट मात्र उनको जीविका चलेपनि उनी भोजन गर्नुअघि भगवती शीतलाको स्मरण गरी उनलाई आफूले पाएको जुठो, फोहोर र बासी खानेकुरा समर्पण गरेर मात्र खाने गर्दथिइन्। यसरी नै उनको दैनिकी सञ्चालित थियो।

चैतवैशाखको हावाहुण्डरीको मौसम चल्दै थियो। त्यस्तै बेलामा एक पटक गाउँमा अचानक आगलागी भयो। गाउँका सबै घरहरू अग्निदहनको चपेटामा पर्यो तर ती बृद्ध महिलाको आश्रयस्थलमा केही पनि भएन। गाउँमा आगलागी पछि सबै हुनेखानेको हरिबिजोग भयो। जसैतसै त्यस सङ्कटबाट मुक्त भए र पूर्ववत् गाउँको जनजीवन यथावत् चल्न थाल्यो। अर्को वर्ष फेरि चैत्र महिना आयो। त्यस वर्ष गाउँका सबै केटाकेटी र बुढाबुढी ठेउला, दादुरा, ज्वरो र लू जस्ता रोगले थलिए। धेरै मानिसहरूको मृत्यु भयो, झण्डै गाउँ नै सखाप हुने स्थिति आयो। बाँचेकाहरूले पनि तङ्ग्रिन लामो समयसम्म प्रतीक्षा गर्नु पर्यो। तर ती बृद्ध महिलालाई केही पनि भएन। तेस्रो वर्ष उक्त मौसम सुरु हुनुअघि नै त्यस गाउँका ठूलाबडा र भद्रभलादमी जम्मा भएर अब हुने प्राकृतिक प्रकोपबाट कसरी जोगिने भन्ने विषयमा छलफल गर्न थाले। त्यस छलफलमा तिनले यस स्थितिबाट पूर्ण रूपमा जोगिन गाउँ नजिकै वनमा तपस्या गरेर बस्ने गर्दभ ऋषिलाई सोधेर स्थायी उपाय अवलम्बन गर्ने सहमति भयो। सल्लाह गरेर एकदिन सबै गाउँले जम्मा भएर ऋषि गर्दभको आश्रममा गए।

ऋषिलाई साष्टाङ्ग दण्डवत् गरेर तिनले आफूहरू आश्रममा आउनु परेको वास्तविकता बिन्ती गरे। गाउँलेका जिज्ञासा सुनेपछि ऋषि गर्दभले मौसमी प्रकोपबाट जोगिन माता शीतलाको पूजा गर्ने सल्लाह दिनुभयो। पुनः गाउँलेले पूजाको प्रक्रिया र विधिविधानका बारेमा जिज्ञासा राख्दा ऋषिले भने माता शीतलाकी परम भक्त तिमीहरूकै गाउँको एकान्तमा बस्ने बृद्धा स्त्री छन्। तिनलाई सोधेर व्रतसम्पादन गर्दा हुन्छ। ऋषिका कुरा सुनेर गाउँलेहरू दङ्ग परे। आफूहरूले सँधै घृणा र हेला गरेकी ती बुढी आमैबाट नै आफ्ना समस्या हल हुने कुरामा तिनलाई विश्वासै भएन। गाउँलेहरू छक्क परेको देखेर ऋषिले तिनलाई सम्बोधन गर्दै पुनः भने प्राचीनकालदेखि नै शीतला माताको महात्म्यको ठूलो महिमा रही आएको छ। स्कन्द पुराणमा माता शीतलाको वाहन गधा रहेको बताइएको छ। तिनले आफ्ना चारवटा हातमा क्रमशः कलश, नाङ्ग्लो, कुचो, र नीमवृक्षको पात लिएको नग्नावस्थाको स्वरूप धारण गरेकी हुन्छिन्। घाउ खटिरा, बिफर, ठेउला र अतिसार जस्ता रोगको निवारण गर्न शीतला देवीले ठूलो सघाउ पुर्याउँछिन्। त्यसैले यिनले धारण गरेका चिजबिजले शीतलताको प्रतीकात्मक अर्थ बहन गरेको देखिन्छ। यिनको आराधना गर्ने क्रममा स्कन्द पुराणमा लेखिएको शीतलाष्टक स्तोत्रको पाठ गर्ने विधान छ। यसको रचना भगवान् शिवजीले लोककल्याणका लागि गर्नु भएको हो। यस स्तोत्रले भगवती शीतलाको महिमागान गरेको छ, साथै यसका माध्यमबाट उनको उपासनाका निम्ति प्रेरणा समेत प्राप्त हुन्छ। 'वन्देहं शीतलां देवीं रासभस्थां दिगम्बराम्॥ मार्जनीकलशोपेतां सूर्पालङ्कृतमस्तकाम्॥'  भन्ने मन्त्रको पाठ गर्ने गरेमा समेत यिनले अग्निजन्य प्राकृतिक प्रकोप र तापजन्य रोगबाट मुक्ति प्रदान गर्ने गर्दछिन्। यस मन्त्रको अर्थ हुन्छ - गधाको पिठ्युँमा आसीन, दिगम्बरा, हातमा कुचो, र कलश धारण गर्ने भएकी, टाउकामा नाङ्गलो बोकेकी भगवती शीतलाको म वन्दना गर्दछु। यस मन्त्रको मात्र मनन गर्दा समेत के स्पष्ट हुन्छ भने माता शीतला स्वच्छताकी प्रतिमूर्ति हुन् र हामीले मूलतः सावधानी र स्वच्छताको व्यवस्थापन गर्नसक्यौं भने सुस्वास्थ्य र सुशान्ति प्राप्त गर्न सघाउ पुग्छ। त्यसैले तपाईंहरू आफ्नै गाउँमा बसोबास गर्ने ती बृद्धाका शरणमा गई माता शीतलाको पूजाआराधना र व्रत सम्पादन गर्ने योजना बनाउनुहोस् र निष्ठापूर्वक कार्यसम्पन्न गर्नुहोस्। समस्त प्राकृतिक प्रकोपबाट छुटकारा पाउनु हुनेछ।

ऋषिको आज्ञा पाएपछि सबै गाउँले घर फर्किए। भोलिपल्ट आआफ्ना घरमा भएका खाद्यसामाग्री र फलफूल तथा वस्त्रालङ्कार बोकेर ती सबै ती बृद्धाका घरमा गई सर्वप्रथम आफूहरूले जीवनभरि तिनलाई घृणा र हेला गरेकोमा एकै स्वरले क्षमा याचना गरे र शीतलादेवीको व्रत सम्पादन गर्न विधि र नियम उल्लेख गर्न अनुरोध गरे। ती बृद्धाले गाउँले आग्रहलाई स्वीकार गर्दै आफूले जानेका विधिविधान बताईन्। उनले भनिन्  माता शीतलाको उपासना गर्नाले देवी प्रसन्न रहने गर्दछिन् र व्रतालुका कुलमा दाहज्वर, पीतज्वर, विस्फोटक, दुर्गन्धयुक्त घाउखटिरा, आँखाका समस्त रोग, बिफर, ठेउला, डण्डीफोर र छालाका अन्य रोग नाश हुने गर्दछन्। शीतला माताको व्रतका दिन घरमा चुलो बाल्नु हुँदैन। सामान्यतया चैत्र, वैशाख, ज्येष्ठ र आषाढ महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन यिनको पूजा-अर्चनाका निम्ति उपयुक्त हुन्छ। त्यसैले यी दिनहरू शीतलाष्टमीका नामले प्रख्यात छन्। यस व्रतका दिन भान्सा कोठाको भित्तामा घिउको लेपन गरी पाँचै औंला देखिने हत्केलाको छाप हान्ने गरिन्छ। यस हत्केलाको छापमा अबिर र अक्षता दलेर शीतला माताको स्तुतिको पाठ गर्नु पर्छ। रातभरि घिउको बर्तनमा दियो बाली जागरण समेत गर्नु पर्दछ। एउटा काँसको थालीमा बासी नैवेद्य राखेर घरका सबै सदस्य सम्मिलित भई शीतला माताको मन्दिरमा भोग लगाउनु पर्दछ। पूजाको अन्त्यमा घरबाहिर दोबाटो वा चौबाटोमा बासी पानी खन्याएर पृथ्वीको पूजासमेत गर्नुपर्दछ। त्यसपछि व्रतालुले मातापिता वा घरका वयोबृद्ध सदस्यको सम्मान गरी आशीर्वाद ग्रहण गर्नु पर्दछ। तदुपरान्त गाउँका असहाय, निर्धन र दुःखी वयोबृद्ध व्यक्तिहरूलाई निमन्त्रणा गरी भोजनादि गराएर व्रतको समापन गर्नु पर्दछ। ती बृद्धाका यस्ता कुरा सुनेपछि सबै गाउँले मिलेर सामूहिक रूपमा शीतला देवीको व्रत सम्पादन गरे। उक्त आयोजनाको अगुवाई तिनै बृद्धाले गरिन्। समारोहमा गर्दभ ऋषिसमेत उपस्थित भए। त्यसपछि गाउँमा फेरि कहिल्यै पनि त्यस्ता प्राकृतिक प्रकोपहरू भएको सुन्नमा आएन। सबै सुखी, सम्मृद्ध भए। रोगव्याधिले गाउँमा प्रवेश पाएन।

शीतलाष्टकको मूलपाठ
ॐ श्री शीतलायै नमः॥
विनियोगः- ॐ अस्य श्रीशीतलास्तोत्रस्य महादेव ऋषिः अनुष्टुप् छन्दः श्रीशीतला देवता लक्ष्मी (श्री) बीजं भवानी शक्तिः सर्व-विस्फोटक-निवृत्यर्थे जपे विनियोगः ॥

ऋष्यादिन्यास :-
श्रीमहादेव ऋषये नमः शिरसि॥
अनुष्टुप् छन्दसे नमः मुखे॥
श्रीशीतला देवतायै नमः हृदि॥
लक्ष्मी (श्री) बीजाय नमः गुह्ये॥
भवानी शक्तये नमः पादयो॥
सर्व-विस्फोटक-निवृत्यर्थे जपे विनियोगाय नमः सर्वाङ्गे॥

ध्यान :-
ध्यायामि शीतलां देवीं, रासभस्थां दिगम्बराम्।
मार्जनी-कलशोपेतां शूर्पालङ्कृत-मस्तकाम्॥

मानस-पूजन :-
ॐ लं पृथ्वी-तत्त्वात्मकं गन्धम्॥
श्री शीतला-देवी-प्रीतये समर्पयामि नमः॥
ॐ हं आकाश-तत्त्वात्मकं पुष्पं श्री शीतला-देवी-प्रीतये समर्पयामि नमः॥
ॐ यं वायु-तत्त्वात्मकं धूपं श्री शीतला-देवी-प्रीतये समर्पयामि नमः॥
ॐ रं अग्नि-तत्त्वात्मकं दीपं श्री शीतला-देवी-प्रीतये समर्पयामि नमः॥
ॐ वं जल-तत्त्वात्मकं नैवेद्यं श्री शीतला-देवी-प्रीतये समर्पयामि नमः॥
ॐ सं सर्व-तत्त्वात्मकं ताम्बूलं श्री शीतला-देवी-प्रीतये समर्पयामि नमः॥

मन्त्रः-
ॐ ह्रीं श्रीं शीतलायै नमः॥ (यस मन्त्रलाई एघार पटक जप गर्नुपर्छ)

॥मूल-स्तोत्र॥
॥ईश्वर उवाच॥
वन्देहं शीतलां देवीं रासभस्थां दिगम्बराम् । मार्जनीकलशोपेतां शूर्पालङ्कृतमस्तकाम् ॥१॥
वन्देहं शीतलां देवीं, सर्वरोगभयापहाम् । यामासाद्य निवर्तन्ते विस्फोटकभयं महत् ॥२॥
शीतले शीतले चेति यो ब्रूयाद् दाहपीडितः । विस्फोटकभयं घोरं क्षिप्रं तस्य प्रणश्यति ॥३॥
यस्त्वामुदकमध्ये तु ध्यात्वा पूजयते नरः । विस्फोटकभयं घोरं गृहे तस्य न जायते ॥४॥
शीतले ! ज्वरदग्धस्य पूतिगन्धयुतस्य च । प्रणष्टचक्षुषां पुंसां त्वामाहुः जीवनौषधम् ॥५॥
शीतले ! तनुजान् रोगान् नृणां हरसि दुस्त्यजान् । विस्फोटकविदीर्णानां त्वमेका मृतवर्षिणी ॥६॥
गलगण्डग्रहारोगाः ये चान्ये दारुणा नृणाम् । त्वदनुध्यानमात्रेण शीतले ! यान्ति सङ्क्षयम् ॥७॥
न मन्त्रो नौषधं तस्य पापरोगस्य विद्यते । त्वामेकां शीतले ! धात्री नान्यां पश्यामि देवताम् ॥८॥

॥फल-श्रुति॥
मृणालतन्तुसदृशीं नाभिहृन्मध्यसंस्थिताम् । यस्त्वां चिन्तयते देवि ! तस्य मृत्युर्न जायते ॥९॥
अष्टकं शीतलादेव्या यो नरः प्रपठेत्सदा । विस्फोटकभयं घोरं गृहे तस्य न जायते ॥१०॥
श्रोतव्यं पठितव्यं च श्रद्धाभाक्तिसमन्वितैः । उपसर्गविनाशाय परं स्वस्त्ययनं महत् ॥११॥
शीतले त्वं जगन्माता शीतले त्वं जगत्पिता । शीतले त्वं जगद्धात्री शीतलायै नमो नमः ॥१२॥
रासभो गर्दभश्चैव खरो वैशाखनन्दनः । शीतलावाहनश्चैव दूर्वाकन्दनिकृन्तनः ॥१३॥
एतानि खरनामानि शीतलाग्रे तु यः पठेत् । तस्य गेहे शिशूनां च शीतलारुङ् न जायते ॥१४॥
शीतलाष्टकमेवेदं न देयं यस्यकस्यचित् । दातव्यं च सदा तस्मै श्रद्धाभक्तियुताय वै ॥१५॥

॥इति श्रीस्कन्दपुराणे शीतलाष्टकं सम्पूर्णम् ॥

No comments:

Post a Comment