Tuesday, March 28, 2017

ब्रह्मचारिणी रूपको आराधना

नवरात्री पर्वको दोस्रो दिन (द्वितीया तिथि) मा श्री नवदुर्गा भवानीको दोस्रो स्वरूपका रूपमा प्रादुर्भाव भएकी श्री ब्रह्मचारिणी भगवतीको श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गर्ने प्रचलन छ । यस दिन सनातन हिन्दु धर्मावलम्बीहरूले आआफ्ना कुलपरम्परा र कुलाचारअन्तर्गत रही घरको पूजाकोठामा वा सामूहिक/पारम्परिक दसैंघरमा श्रद्धा-भक्तिपूर्वक पूजा अर्चना गर्ने गर्दछन् । यसरी पूजा अर्चना गर्दा वा विभिन्न शक्तिपीठहरूको दर्शन गरी पूजा आराधना गर्दा दुर्गा भवानीको 'ॐ नमः जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोऽस्तु ते ।।' आदि स्तुतिहरूको उच्चारण गर्ने चलन छ, यसका साथै विशेषतः श्री ब्रह्मचारिणी देवीको स्वरूप (श्री विग्रह)लाई ध्यानपूर्वक स्मरण गर्दै स्तुति गरेमा साधक (भक्त)ले मनोवाञ्छित फल प्राप्त गर्नसक्ने शास्त्रीय मान्यता छ । ब्रह्म शब्दको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने स्त्री विशेष भन्ने अर्थ हुन्छ । भगवती ब्रह्मचारिणीको मुख्य आचरण तपस्या गर्नु नै रहेको हुनाले यिनलाई ब्रह्मचारिणी देवी भनिएको हो । आद्याशक्ति जगन्माता भगवती दुर्गाको द्वितीय महत्त्वपूर्ण रूप ब्रह्मचारिणीको स्तुति र आराधना गर्न तलका संस्कृत श्लोकहरूको उपयोग गर्न सकिन्छ :-


ब्रह्मचारिणी स्तुति
त्रिपुरां त्रिगुणाधारां मार्गज्ञानस्वरूपिणीम् ।
त्रैलोक्यवन्दितां देवीं त्रिमूर्तिं प्रणमाम्यहम् ॥
दधानापरपद्माभ्यामक्षमालाकमण्डलुम्।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ॥

ध्यान :-
वन्दे वाञ्छितलाभाय चन्द्रार्द्धकृतशेखराम् ।
धृतकमण्डलुमालाब्रह्मचारिणी वै शुभा 
गौरवर्णां स्वाधिष्ठानस्थितां द्वितीयदुर्गां त्रिनेत्राम् ।
धवलपरिधानां ब्रह्मरूपां पुष्पालङ्कारभूषिताम् 
पद्मवदनां पल्लवाधरां कान्तकपोलां पीनपयोधराम् ।
कमनीयां लावण्यां स्मेरमुखीं निम्ननाभिं नितम्बनीम् 

स्तोत्र :-
तपश्चारिणी त्वं हि तापत्रयनिवारिणी ।
ब्रह्मरूपधरा ब्रह्मचारिणीं प्रणमाम्यहम् 
नवचक्रभेदिनी त्वं हि नवैश्वर्यप्रदायिनी ।
धनदा सुखदा ब्रह्मचारिणीं प्रणमाम्यहम् ॥
शङ्करस्य प्रिया त्वं हि भुक्तिमुक्तिप्रदायिनी ।
शान्तिदा मानदा ब्रह्मचारिणीं प्रणमाम्यहम् ॥

भगवती दुर्गाको द्वितीय स्वरूप ब्रह्मचारिणी देवीको कवच :-
त्रिपुरा हृदये पातु ललाटे पातु शाङ्करी ।
अपर्णा नेत्रयोः पातु अधरे च कपोलयोः ॥
कण्ठे पञ्चदशी पातु मध्यदेशे महेश्वरी ।
षोडशी च सदा पातु नाभौ गुह्ये च पादयोः ।
सर्वदिगङ्गप्रत्यङ्गे पातु मे ब्रह्मचारिणी ॥


प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार ब्रह्मचारिणी भगवतीले पूर्वजन्ममा हिमालय पर्वतकी पत्नी मेनकाको गर्भबाट जन्म लिई नारदमुनिको उपदेशबाट प्रभावित भई भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्ने उद्देश्यले अत्यन्त अकल्पनीय कठोर तपस्या गरेकी थिइन् । कैयौं वर्ष लगाएर गरिएको उक्त तपस्यामा उनले वर्षायाम र गर्मी मौसममा खुल्ला आकाशमा कष्टपूर्वक तपस्या गरेकी थिइन्। त्यसरी तपस्या गर्ने क्रममा उनले एक हजार वर्षसम्म फलाहार गरी र त्यसपछि तीन हजार वर्षसम्म अन्नजलादि समेत ग्रहण नगरी केवल जमिनमा झरेको बेलपत्रका सुकेका पातहरू मात्र सेवन गरी तपस्या गरेकी थिइन्। त्यसपछि सुकेका बेलपत्रसमेत सेवन गर्न छाडेर हजारौं वर्षसम्म अन्नजल त्यागी निर्जल निराहार रही शिवजीको आराधना गरी अत्यन्त कठोर तपस्या गरेकी हुनाले यिनलाई 'अपर्णा  ' पनि भन्ने गरिन्छ । यसरी हजारौं वर्षसम्म कठिन तपस्या गरेकी हुनाले आमा मेनकाले  'उ-मा' भनी सम्बोधन गरेकीले यिनलाई उमा भनेर पनि पुकारिन्छ । यसरी अलौकिक, अभूतपूर्व एवं अत्यन्त कठिन तपस्यामा मन, वचन, कर्मले निष्ठापूर्वक निरन्तर लागिरहेको हुनाले नै तपश्चारिणी अर्थात् ब्रह्मचारिणीको नामद्वारा यिनी संसारमा प्रख्यात भएकी हुन् । नवरात्री पर्वको दोस्रो दिन साधकले दैहिक र आत्मिक शुद्धिपूर्वक श्रद्धाभक्तिका साथमा आफ्नो मनलाई 'स्वाधिष्ठान' चक्रमा केन्द्रित गरी श्री दुर्गा भवानीको दोस्रो स्वरूप श्री ब्रह्मचारिणी भगवतीको आराधना गरी भक्तिपूर्वक पूजाअर्चना गर्दा देवीको असीम कृपाद्वारा जीवनमा जस्तोसुकै कठिन सङ्घर्षको जटिल अवस्थामा समेत उसले कर्तव्यपथबाट कदापि विचलित हुनु पर्दैन, सर्वत्र सिद्धि र विजय प्राप्ति हुनुका साथै मनोवाञ्छित अनन्त शुभफलहरू प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ। अस्तु।

No comments:

Post a Comment