Showing posts with label विवाह. Show all posts
Showing posts with label विवाह. Show all posts

Thursday, November 9, 2017

माङ्गलिक योग : अवसर कि चुनौती ?

जब कुनै पुरुष वा स्त्रीको विवाहको प्रसङ्ग उल्लेख हुन्छ वा विवाह भइसकेका दम्पतीको जीवनमा कलह, झैझगडा वा व्यक्तित्वको टकराव उत्पन्न हुन्छ, त्यसवेला ज्योतिषीकहाँ पुग्दा कुण्डलीमा माङ्गलिक योग छ भन्ने सुन्न पाइन्छ । कतिपय ज्योतिषीले भएको माङ्गलिक योगको उचित व्याख्या र परामर्श दिने गर्दछन् भने कतिपय ज्योतिषीले अवसरको फाइदा उठाउँदै थोरै भए पनि कमाउन पाइहालिन्छ कि भनी नभएको माङ्गलिक योगको त्रास सिर्जना गरेर ठगी गरेको पनि सुन्न र देख्न पाइन्छ । हिजो 'पिता रक्षति कौमारे भर्ता रक्षति यौवने । रक्षन्ति स्थविरे पुत्राः' अर्थात् बाल्यावस्थामा पिताले, युवावस्थामा पतिले र बृद्धावस्थामा पुत्रले रक्षा गर्नुपर्ने भनी नारीलाई एउटा प्रतिबन्ध र दायरामा सीमित गरेर राखेको स्थिति अहिले देख्न पाइँदैन । बदलिंदो परिस्थितिमा नारीको जीवन केही हदमा स्वतन्त्र, खुल्ला र विशिष्ट बन्नुका साथै अझ जटिल, जुझारु र सङ्घर्षमयसमेत बन्न पुगेको छ । अझ पुरुषका तुलनामा स्त्रीमा प्रतिष्ठाका निमित्त बढी बोझ र दबाब रहेको देखिन्छ । पुरुषप्रधान समाजमा जीविकोपार्जन गर्नुपर्ने भएकाले एउटी असल बुहारी र असल सन्ततिकी आमा बन्नुपर्ने परम्परित दायित्वबाहेक उनले अहिले उच्च प्रतिष्ठाका साथमा एउटी आधुनिक नारीको प्रतिष्ठा र प्राप्तिको विषय बन्नु परेको छ । त्यसैले पनि छोरीका बाउआमामा माङ्गलिक योगको नाम सुन्नासाथ त्रास सिर्जना हुनु स्वाभाविक पनि हो, यद्यपि छोराकै अभिभावकलाई पनि यस योगले चिन्तित तुल्याएकै पाइन्छ । हुन त यस योगले प्रदान गर्ने राम्रो वा नराम्रो फल पुरुषका लागि पनि उत्तिकै शुभ वा अशुभ नै हुन्छ, तर सामाजिक बनोटमा पुरुषको दाम्पत्य सुख वा बाधाले उसको व्यक्तित्व र प्रतिष्ठालाई नबाँधेको हुँदा यस योगको दुष्प्रभावका बारेमा एउटी कन्याको जीवनमा आधारित भई बढी व्याख्या/विश्लेषण गरिएको पाइन्छ । अहिलेसम्म माङ्गलिक योगका बारेमा जेजति चर्चा भएका छन्, यसका नकारात्मक पक्षका बारेमा मात्र भएका छन्, फलादेश गर्ने होस् वा सुन्ने यसको वैशिष्ट्यका बारेमा बुझ्दै नबुझी यस योगको गलत व्याख्यान भइआएको देखिन्छ र विवाह योग्य उमेरका वरबधू वा तिनका अभिभावक सन्तप्त र चिन्तित रहने गरेको पाइन्छ । आजको यस आलेखमा माङ्गलिक योगको परिचय र यसको शुभ र अशुभ प्रभावको चर्चा गरिने छ ।

के हो माङ्गलिक योग

मङ्गल शब्दको अर्थ शुभ वा कुशल भन्ने हुन्छ । यस शब्दले ग्रहहरूमध्ये मङ्गल ग्रहको नाम र सातवटा बारमध्ये तेस्रो क्रममा आउने मङ्गलबारलाई पनि सङ्केत गर्दछ । उक्त शब्दमा इक प्रत्यय गाँसेर माङ्गलिक शब्दको निर्माण हुन्छ । विशेषण पदवर्गको माङ्गलिक शब्दको अर्थ पनि श्रेष्ठ र शुभ भन्ने नै हुन्छ । त्यसैले पनि माङ्गलिक योगको अर्थ श्रेष्ठ वा शुभ योग भन्ने हो । तर यहाँ श्रेष्ठ वा शुभ योगको अर्थमा माङ्गलिक शब्दको प्रयोग नभई मङ्गल ग्रहसम्बद्ध योग भन्ने अर्थमा यो शब्द प्रचलित छ । कसैको कुण्डलीमा माङ्गलिक योग छ वा छैन भन्ने जानकारी दिने ज्योतिषीय सूत्र यसप्रकार छ :-

लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।पत्नी हन्ति स्वभर्तारं भर्ता पत्नीं विनाशयेत्॥ 

यस श्लोकको भावार्थ हो - जुनसुकै व्यक्तिको जन्मकुण्डलीमा जम्मा बाह्रवटा कोठा हुन्छन् । त्यसमध्ये पहिलो कोठालाई लग्न भन्ने गरिन्छ । लग्नबाट गन्दै क्रमशः दोस्रो, तेस्रो गर्दै बाह्रौं भावसम्मको गणना गरिन्छ । तिनै बाह्रवटा भावमध्ये पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भाव गरी ५ वटा घरमा मङ्गल ग्रहको उपस्थिति भएको अवस्था नै माङ्गलिक योग हो । माङ्गलिक योगका कारण पति र पत्नीको सम्बन्ध नाश हुन्छ । कोशीय आधारमा माङ्गलिक योग शब्दको अर्थ नराम्रो छैन, तर हामीकहाँ यो शब्द सुन्नासाथ विशेषतः विवाहयोग्य सन्ततिका अभिभावक र गृहिणीहरू झस्कने गर्दछन् । तर वास्तवमा माङ्गलिक योग भन्नासाथ आत्तिनु र झस्किनु आवश्यक छैन, अनि यो अशुभ कारक योग पनि होइन । बुझ्नुपर्ने कुरा के हो भने माङ्गलिक योग भएको मान्छे निडर, प्रष्टवक्ता, साहसी, स्वाभिमानी, सेवाभावयुक्त र स्वावलम्बी हुन्छ, यसको अर्थ ऊ हाईएटिच्युडको हाईभोल्टेज पर्सनलिटि हो । यस्तो स्वभाव भएको व्यक्तिलाई गैरमाङ्गलिक अर्थात् कातर, चिप्ला कुरा गर्ने, डरछेरुवा, चाकरीबाज व्यक्तिले थेग्न र व्यवहार गर्न सक्दैनन् ।

सैन्य पेसामा संलग्न हुन चाहने व्यक्तिको कुण्डलीमा कुनै न कुनै तरिकाले मङ्गल ग्रह प्रभावशाली रहनु अनिवार्य मानिन्छ र त्यस क्षेत्रका व्यक्तिमा माङ्गलिक योगका लक्षण भेटिने सम्भावना पनि हुन्छ । तपाईंले विचार गर्नुभएको हुनसक्छ, सेना र प्रहरिको छाउनी वा क्याम्प गाउँ र समाजभन्दा पर एकान्त स्थानमा सुरक्षित तवरले राखिएको हुन्छ । यसको मुख्य कारण उक्त क्याम्पभित्रको सुरक्षा व्यवस्था र सामरिक महत्त्व नै हो, तर मङ्गल ग्रह हाबी हुने भएकाले सैन्य सेवा संलग्न व्यक्तिको कडापन र मिजास पनि अर्को महत्त्वपूर्ण कारण हो भन्दा अत्युक्ति हुँदैन । त्यसैले सरकारको एउटै कोशबाट सेवा र सुविधा खर्च हुने भए पनि प्रशासनिक र लेखा सेवाका कर्मचारी तथा सेना र प्रहरि सेवाका कर्मचारीको व्यवस्थापन र सेवासुविधामा पनि फरक बनाउनु परेको हो । वास्तवमा जुन अनुशासन र कसीको दायरामा सेना र प्रहरि बसेका हुन्छन्, खुसमिजासका अन्य कर्मचारीले त्यसलाई बुझ्न र पालना गर्न सक्दैनन् । यसरी सैन्यसेवा र अन्य प्रशासनिक सेवाका कर्मचारीको तुलना गरेर पनि माङ्गलिक र अमाङ्गलिकको स्वभावको पहिचान गर्न सकिन्छ । माङ्गलिक योगका व्यक्ति तर्क, योजना, अनुशासन र कर्तव्यलाई अहमताका साथमा पालना गर्दछन् । सांसारिक र भावनात्मक विषयमा दुई र दुई जोड्दा पाँच वा सात जति पनि हुन सक्छ तर यिनीहरू जुनसुकै परिस्थितिमा पनि दुई र दुई जोड्दा चार भएकै देख्न चाहन्छन् । अर्थात् माङ्गलिक योग भएका व्यक्ति भावना वहने र व्यवहारपरक बन्न प्रयास गर्दैनन् । त्यसैले यिनका जीवनमा आउने जीवनसाथीमा पनि त्यस्तै गुण हुनु जरुरी हुन्छ । यस्तो नभएमा जतिवेला पनि सम्बन्ध टुट्ने खतरा मँडारिरहेको अवस्था सिर्जना हुन्छ । त्यसैले माङ्गलिकको सम्बन्ध माङ्गलिकसँगै हुनु पर्दछ, अनिमात्र विवाहलगायत साझेदारीका हरेक क्षेत्रमा उत्तम जोडीको भूमिका निर्वाह हुनसक्छ र तिनको जीवनमा पनि परममङ्गलको उदय हुन्छ भन्न खोजिएको हो ।

मङ्गल ग्रह दाजुभाइ, मित्रता, साझेदारी, उत्साह, ऊर्जा आदिको कारक ग्रह भएकाले विवाहमात्र होइन, कुनै पनि दुई व्यक्तिका बीचमा साझेदारी र व्यापारका सिलसिलामा पनि माङ्गलिक योगको प्रभाव हुन्छ । स्वभावले माङ्गलिक योग भएका जातक निडर, प्रष्टवक्ता, साहसी, स्वाभिमानी र स्वावलम्बी हुन्छन् । त्यसैले उनीहरूको सम्बन्ध पनि त्यस्तै स्वभाव भएका व्यक्तिहरूसित हुने गर्दछ । अतः माङ्गलिक योगको विवेचना आपसी सम्बन्ध निर्धारणका लागि हुने गर्दछ । विवाहले जीवनको दीर्घकालसम्म प्रभाव पार्ने भएकाले केवल विवाहका प्रसङ्गमा मात्र यस योगको विवेचना गर्ने गरिन्छ, तर आपसी सम्बन्ध कायम गरी गरिने हरेक क्रियाकलापमा यस योगको महत्त्वपूर्ण उपयोग हुनसक्छ । वास्तवमा माङ्गलिक र गैरमाङ्गलिक जातकहरूका माझमा विवाह, व्यापार वा कुनै पनि प्रकारका साझेदारी कार्य सफल हुँदैनन्, अर्थात् माङ्गलिक व्यक्तिका लागि माङ्गलिक व्यक्ति नै उपयुक्त हुन्छ चाहे त्यो विवाह होस्, व्यापार होस् वा कुनै साझेदारीको क्षेत्र होस् ।

दाम्पत्य जीवन भनेको एउटा पुरुष र एउटी स्त्रीका बीचमा कायम हुने दीर्घकालिक साझेदारी र समझदारी हो । यौनसुख यस सम्बन्धको मुख्य कडी हो, यद्यपि केवल यौनसुखमात्र दाम्पत्यको समग्र विषय होइन, यससँग कुल, परिवार, समाज, प्रतिष्ठा, वंश र आपसी सम्बन्धजस्ता जटिल विषय जोडिएका हुन्छन् । सनातन संस्कृतिमा एउटी नारीको नाम, थर र गोत्रसमेत पुरुषसँग जोडिएको हुन्छ, त्यसैले विवाहपछि जुठोसूतक समेत पतिगृहमा आश्रित भइदिन्छ, उता पुरुषको जीवनमा पनि कुलबधु र घरकी नियन्ताका रूपमा उसकी पत्नीको अहम् भूमिका रहने गर्दछ । अतः दाम्पत्यसम्बन्धमा माङ्गलिक योगको शुभ वा अशुभ प्रभावले महत्त्व राख्नु स्वाभाविक नै हो ।

मङ्गल ग्रह प्रत्यक्ष हाबी भएका व्यक्तिको विशेषता

मङ्गल ग्रहलाई मुख्यतया शक्ति र पुरुषत्वको कारकका रूपमा वर्णन गरिएको पाइन्छ । मङ्गल ग्रहले प्रत्येक व्यक्तिमा शारीरिक सामर्थ्य, आन्तरिक ऊर्जा, मानसिक शक्ति र आत्मबलको प्रतिनिधित्व गरेको हुन्छ । मानसिक शक्ति भन्नाले निर्णय गर्ने क्षमता र उक्त निर्णयमा लिइने अडान भन्ने बुझिन्छ । मङ्गलको प्रभाव भएका जातकहरू सामान्यतया तथ्यको पहिचान गरी समुचित निर्णय गर्न र उक्त निर्णयलाई व्यावहारिक रूप प्रदान गर्न सक्षम हुने गर्दछन् । यस्ता जातक सामान्यतया कुनै दबाबका भरमा कसैका अगाडि निहुरन चाँहदैनन् र यिनीहरूमाथि दबाब दिएकै भरमा आफ्ना कुरा लाद्न निक्कै कठिन हुन्छ । त्यसैले यस ग्रहका प्रभाव भएका व्यक्तिलाई तर्क र युक्तिका आधारमा आफूअनुकूल बनाउन सकिन्छ । वास्तवमा मङ्गल ग्रहले यस्ता क्षेत्रको प्रतिनिधित्व गर्दछ जसमा साहस, शारीरिक बल, मानसिक क्षमता आदिको आवश्यकता हुन्छ । स्त्री होस् वा पुरुष जुनसुकै व्यक्तिमा अहिलेको युगीन परिवेशमा यी विषय हुनु अनिवार्यजस्तै हुने गर्दछ, अनि माङ्गलिक भएका व्यक्तिमा यी लक्षण स्वाभाविक ढंगले विकसित भएको पाइन्छ ।

कुनै जातक चाहे ऊ स्‍त्री होस् वा पुरुष, ऊ माङ्गलिक हुनुको अर्थ उसको कुण्डलीमा मङ्गल ग्रहले प्रभावकारी उपस्थिति जनाएको छ । विवाहका निमित्त जुनजुन घरमा मङ्गल ग्रहको उपस्थितिका बारेमा विचार गरिन्छ, तिनमा लग्‍न, चौथो, सातौं, आठौं र बाह्रौं भाव पर्दछन् । सामान्यतया लग्नमा बसेको मङ्गलले व्यक्तिको व्यक्तित्वलाई अत्यधिक तीक्ष्ण बनाउने गर्दछ, चौथो भावको मङ्गलले जातकको पारिवारिक पृष्ठभूमिको कठोरता र अडानको सङ्केत गर्दछ । त्यस्तै सातौं भावको मङ्गलका कारण जातक आफ्नो पति वा पत्नीप्रति कठोर बन्ने गर्दछ । अनि आठौं र बाह्रौं भावमा बसेको मङ्गलले आयु र शारीरिक क्षमतालाई प्रभावित तुल्याउँदछ । यीमध्ये आठौं र बाह्रौं भावको मङ्गलको भूमिका सामान्य खराब मानिन्छ, यसको अर्थ हो, विशेष परिस्थितिमा अर्थात् मेष, कर्कट, सिंह, बृश्चिक, धनु र मीन लग्न भएका जातकमा यी भावमा बसेको मङ्गलले केही शुभ परिणाम पनि प्रदान गर्दछ ।

लग्न, चतुर्थ, सप्तम, अष्टम र द्वादश भावमा बसेको मङ्गल बलशाली भएमा जातकका व्यवहारमा पनि यस ग्रहको शुभफल प्राप्त हुन्छ, दुर्बल र कमजोर मङ्गल छ भने यसको प्रभाव पनि खराब हुने गर्दछ । उदाहरणका लागि एउटा प्रतिष्ठित सर्जन डाक्टर र एउटा कुख्यात डाका दुबैको कुण्डलीमा माङ्गलिक योगको सम्भावना हुन्छ । यस्तै स्थिति एउटा उच्‍च स्‍तरीय बैंक म्यानेजर र सेनाको प्रमुखमा पाउन सकिन्छ । जसले कडा निर्णय लिनु पर्ने पद र प्रतिष्ठा ग्रहण गरेका हुन्छन्, तिनको कुण्डलीमा माङ्गलिक योग हुने सम्भावना उत्तिकै हुन्छ । माङ्गलिक व्यक्तिको व्यक्तित्व हेर्दा रातो र तमतमाइलो अनुहार, जत्तिवेला पनि कठोर निर्णय लिनसक्ने स्वभाव, कडा बोलीवचन, निरन्तर काममा खट्नसक्ने, विपरीतलिङ्गीको आकर्षणमा झट्टै लट्ठ भइ नहाल्ने, योजनाबद्ध काम गर्ने, कठोर अनुशासनको परिवेश सिर्जना गर्ने र त्यसलाई पालना गर्ने तथा धैर्यता, संयमता र सहनशीलता जस्ता विशेषता प्राप्त हुन्छन् । यिनीहरू वचनका पक्का हुन्छन्, अघि सरेको कामलाई नसिद्ध्याई विश्राम लिन चाहँदैनन् अनि लडाइँ, झगडा, दङ्गाफसाद, युद्ध, प्राकृतिक प्रकोप आदि विपरीत परिस्थितिमा पनि विचलित हुने गर्दैनन् । यिनीहरू जुझारु स्वभावका हुन्छन् । हरेक विषयको गहिराइमा पुगेर त्यसको प्राप्तिका लागि निरन्तर र लगनशील भई सङ्घर्ष गर्नु यिनको विशेषता हो । सफलता वा असफलता जे मिले पनि यिनीहरू आफ्नो लक्षबाट विचलित हुँदैनन् । अहिले हरेक व्यक्तिको जीवन सङ्घर्षमय हुने गर्दछ, अतः युगको आवश्यकतानुरूप सङ्घर्षमा रत्तिभर विचलित नभई अघि बढिरहने र विपरीत परिस्थितिमा पनि जुझारु रहन सक्ने व्यक्तिको कुण्डलीमा मात्र देखिने यो योग किमार्थ अशुभ होइन ।

ज्योतिषमा माङ्गलिक योग र यसको प्राविधिक पक्ष

एउटा वृत्तमा ३६० डिग्री हुन्छ । पूर्वीय ज्योतिषशास्त्रले उक्त वृत्तलाई ३०/३० डिग्रीका बाह्र भागमा विभाजन गरी विवेचना गर्दछ । ती विभाजित अंशलाई राशि भन्ने गरिन्छ । लग्नकुण्डली व्यक्ति जन्मिएको स्थानको पूर्वीय क्षितिजमा देखिने ब्रह्माण्डको राशिचक्रमा आधारित हुन्छ । त्यसैले हरेक व्यक्तिको लग्नकुण्डलीमा समानता हुँदैन, हरेक दुई घण्टाको फरकमा जन्मने व्यक्तिको लग्न पनि फरक हुनसक्छ । लग्न कुण्डलीका बाह्रवटा कोठामध्ये मङ्गल ग्रहको बसाइका आधारमा क्रमशः १, ४, ७, ८, १२ औं घरमा मङ्गल ग्रह उपस्थित भएमा माङ्गलिक योग र अन्यत्र उपस्थित भएमा गैरमाङ्गलिक योग भन्ने गरिन्छ । दक्षिण भारतीय पद्धतिमा दोस्रो भावमा मङ्गल ग्रह उपस्थित भएमा पनि माङ्गलिक योग नै मान्ने चलन छ ।

मङ्गल ग्रहले आफू बसेको घर र त्यसबाट क्रमशः चौथो, सातौं र आठौं घरमा पूर्ण दृष्टिले देख्दछ । त्यसैले लग्न (१) मा बसेको मङ्गलको सप्तमभावमा सातौं र अष्टम भावमा आठौं पूर्णदृष्टि, सुखस्थान (४) मा बसेको मङ्गलले सप्तमभावमा चौथो पूर्णदृष्टि, प्रणयस्थान (७) मा बसेको मङ्गलले लग्नमा सातौं र सप्तमभावमा पहिलो पूर्णदृष्टि, अष्टम भावमा बसेको मङ्गलले धनस्थानमा सातौं र अष्टमभावमा पहिलो पूर्णदृष्टि तथा व्ययस्थान (१२) मा बसेको मङ्गलले सप्तमभावमा आठौं पूर्ण दृष्टि राख्ने गर्दछ । सामान्यतया व्यक्तिको कुण्डलीको पहिलो भावबाट व्यक्तित्वको, चौथो भावबाट पारिवारिक सुखको, सातौं भावबाट दाम्पत्य सुख र साझेदारीको, आठौं भावबाट यौनसामर्थ्य र दुर्घटनाजन्य जोखिमको तथा बाह्रौं भावबाट क्रयशक्तिको विवेचना गरिन्छ । विवाह त्यस्तो विषय हो, जससँग व्यक्तिको व्यक्तित्व, पारिवारिक सुख, दाम्पत्य सम्बन्ध, अरिष्टता र सुस्वास्थ्य एवं आर्थिक सन्तुलन सबै विषय जोडिएका हुन्छन् र ज्योतिषशास्त्रमा यी तत्त्वको विवेचना क्रमशः लग्न, चतुर्थ, सप्तम, अष्टम र द्वादश भावबाट हुने भएकाले ती ती भावमा मङ्गल ग्रहको योगदान र भूमिकाका बारेमा चिन्तन गरिएको हो ।

बाह्रमध्ये सातवटा भावमा मङ्गल ग्रह बसेमा माङ्गलिक योग नहुने र पाँचवटा भावमा मङ्गल ग्रह बसेमा माङ्गलिक योगको सिर्जना हुने ज्योतिषीय अवधारणा छ । सम्भाव्यताको सूत्रमा राख्ने हो भने संसारभरिका ४१.६७ प्रतिशत मानिसको कुण्डलीमा माङ्गलिक योग हुने गर्दछ । यसरी नै व्यक्तिको राशिकुण्डलीमा चन्द्रमा बसेको राशिबाट पहिलो, दोस्रो, तेस्रो गरी घरको गणना गर्ने चलन छ । राशिकुण्डलीमा पनि पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भाव गरी ५ वटा घरमा बसेको मङ्गलले पनि आंशिक रूपमा माङ्गलिक योग सिर्जना गर्दछ भन्ने मान्यता छ । यस आधारलाई समेत जोडेर सम्भाव्यता विचार गर्ने हो भने बहुसङ्ख्यक व्यक्तिको कुण्डलीमा माङ्गलिक प्रभाव देख्न सकिन्छ ।

मङ्गल ग्रहलाई रगतको कारक मानिन्छ, त्यसैले यिनीहरू गरम स्वभावका हुन्छन् । पति र पत्नीको सम्बन्धको पहिलो आधार यौन हो । यौन र यौनिकताका हरेक विषयमा रगतको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसैले विवाहमा मङ्गल ग्रहको कारकत्वले पहिलो प्राथमिकता पाएको हो । आधुनिक चिकित्सा पद्धतिले पनि वैवाहिक सम्बन्धका लागि रक्तसमूह (ब्लडग्रुप) को उच्च भूमिका हुने कुरालाई स्वीकारेकै पाइन्छ । यिनै कारणले ज्योतिषशास्त्रमा माङ्गलिक र गैरमाङ्गलिकका माझमा विवाह भएमा सुमधुर सम्बन्ध कायम हुन नसक्ने भनी कडा शब्दमा निषेध गरिएको पाइन्छ । व्यवहारमा पनि अधिकतम सम्बन्ध यस्तै देखिएका छन् । त्यसैले माङ्गलिक योग यो शब्द नकारात्मक रूपमा प्रचलनमा आएको हुनुपर्छ ।

हिजोको समयमा सानै उमेरमा वैवाहिक सम्बन्ध कायम हुने, विवाहपश्चात् पुरुषको आश्रय, भाग्य र धनधान्यका भरमा नारीले पनि जीवनयापन गर्नुपर्ने, कुनै कारणले दाम्पत्य जीवनमा विघ्न आएमा एकल भएर बसेका नारीले प्रशस्त पीडा र दबाबका बीचमा जीविकोपार्जन गर्नुपर्ने विडम्बना थियो र थोरबहुत यसको प्रभाव अद्यावधि जीवितै छ । ज्योतिषीहरूले पनि यसको व्याख्या गर्दा सौतेनी योग, दुई विवाहको योग, वैधव्य योग भनेर सामान्य किसिमले तर एउटी नारीलाई दबाब र पीडा थप्ने गरी माङ्गलिक योगको चर्चा गर्ने गर्दथे । अझ धेरै पण्डित र ज्योतिषीले यस योगलाई भङ्ग बनाउने कतिपय परिस्थिति कुण्डलीमा रहँदा रहँदै त्यसको व्याख्या नगरेर मानसिक रूपमा त्रस्त बनाई योग शान्तिका नाममा चामल र पैसा कुम्ल्याउने योजना गरेको पनि पाइन्थ्यो । तर यतिमात्र यस योगको व्याख्या गर्नु भनेको माङ्गलिक योग सही व्याख्या होइन ।

विवाहको प्राथमिक विषय यौनिकता भए पनि विवाहपश्चात् यो विषय सुसुप्त र गौण बन्न पुग्छ । सामाजिक परिवेशमा विवाहको भूमिका एउटा संस्था झैं रूढ भएको देखिन्छ । विवाह व्यक्तिगत, पारिवारिक, सामाजिक, धार्मिक, पदीय, आर्थिक, वंशानुक्रम, परम्परा र मानसिक हरेक पक्षमा अन्तर्निहित विषय हो । ज्योतिषशास्त्रमा उल्लेख भएअनुसार माङ्गलिक योग भएका स्त्री वा पुरुष आफ्नो जीवन साथीबाट अत्यधिक अपेक्षा गर्ने तथा आपसी सम्बन्धमा अधिक संवेदनशील हुने गर्दछन् । यिनीहरू सहवासका क्रममा पनि प्रबल देखिन्छन् र स्वाभाविक रूपले उनीहरूले जीवनसाथीबाट पनि त्यस्तै अपेक्षा राखेका हुन्छन् । जब जीवनसाथीबाट तिनका अपेक्षा प्राप्त हुँदैनन्, अनि विवाद उत्पन्न हुने भयको सिर्जना हुने गर्दछ । एउटी माङ्गलिक योग भएकी केटीको वैवाहिक सम्बन्ध कुनै गैरमाङ्गलिक केटासँग भयो भने उसमा भएको मानसिकता, सामर्थ्य र ऊर्जाका कारण केटी केटामाथि हाबी हुन्छे । त्यस्तै कुनै माङ्गलिक केटाको गैरमाङ्गलिक केटीसँग विवाह भएमा केटो उसमाथि अत्यधिक हाबी भएको देखिन्छ, परिणामतः केटीले हरहमेशा दबाबमा जीवन बिताउनु पर्दछ । पुरानो समाजमा यो परिस्थितिवश ठिकै हुनसक्थ्यो होला, तर आजको परिप्रेक्ष्‍यमा पति र पत्नी दुबै एकआपसमा समान मानिन्छन् र प्रत्येक विषयमा बराबरीको हक र अधिकार सुनिश्चित भएको देख्न चाहन्छन् । त्यसैले प्राचीन विषय नै भए पनि ज्योतिषशास्त्रले पति र पत्नीको एटिच्युडमा समानता हुनुपर्छ भनी बताएको हो, माङ्गलिक योगको विषयलाई महत्त्व दिएर । अतः माङ्गलिक योगको तात्पर्यार्थमा पति र पत्नी दुबैको आपसी हार्मोनी कायम होस् भन्ने उद्देश्य निहित छ । अतः वैवाहिक जीवन सुरु गर्नुअघि सम्बन्ध गाँसिन लागेको व्यक्तिसँग माथिका हरेक विषयमा मेल वा बेमेल के हुन्छ भनी तर्क र छलफल हुनु स्वाभाविक हो ।

माङ्लिक दोष भङ्ग हुने परिस्थिति

व्यक्तिको जन्म र राशि कुण्डलीको प्रथम, चतुर्थ, सप्तम, अष्टम र द्वादश भावमा मङ्गल ग्रह बसेको खण्डमा माङ्गलिक योग सिर्जना हुने गर्दछ । तर कुण्डलीमा भएका केही विशेष परिस्थितिले उक्त योग आफैं भङ्ग हुने गर्दछ । तिनको विवरण यसप्रकार छ :-

जामित्रे(७) च यदा सौरिः लग्ने(१) वा हिबुके(४)ऽथवा ।
नवमे(९) द्वादशे(१२) चैव भौम दोषो न विद्यते ॥ 
(कुनै कुण्डलीमा माङ्गलिक योग छ, तर कुण्डलीको १, ४, ७, ९ वा १२ औं भावमा शनिश्चर ग्रह बसेको अवस्था छ भने माङ्गलिक योगको दोष लाग्दैन ।)

मेषे वा वृश्चिके वापि मकरो वा धरासुतः ।
निशानाथसदनेऽपि भौमदोषो न जायते ॥  
(मङ्गल ग्रहको मेष र बृश्चिक राशिलाई आफ्नो घर मान्ने चलन छ । त्यस्तै मकर राशिमा मङ्गल उच्च मानिन्छ भने कर्कट राशिमा नीच हुन्छ । त्यसैले कसैको कुण्डलीमा मेष, कर्कट, बृश्चिक र मकर राशिमा मङ्गल ग्रह बसेको अवस्था छ भने माङ्गलिक योग भए पनि यो कमजोर बन्न पुग्छ र यसको दोष व्यहोर्नु पर्दैन ।)

धनस्थिते दैत्यपचन्द्रयोगे वा पूर्णदृष्टिर्गुरुणापि भौमे ।
केन्द्री शशिः सैंहिकभौमयोगे माङ्गल्यदोषो न भवेत्कदाचित् ॥ 
(ग्रहसभामा चन्द्रमा र शुक्र ग्रहको सम्बन्ध भावुकता, सहृदयता र मनसँग गाँसिएको हुन्छ । यदि कसैको कुण्डलीमा चन्द्रमा र शुक्र एउटै भावमा बसेको अवस्था छ भने मङ्गल ग्रहले प्रदान गर्ने कठोरताजस्ता विषयमा स्वतः कमी आउने गर्दछ । अझ कुण्डलीको दोस्रो भावमा यी दुई ग्रह चन्द्रमा र शुक्रको युति भएको छ भने माङ्गलिक योगको दोष भङ्ग हुन्छ । देवगुरु बृहस्पतिले आफू बसेको घर र त्यसबाट पाँचौं, सातौं वा नवौं भावमा पूर्ण दृष्टिले देख्ने गर्दछ । कुण्डलीमा बृहस्पतिको पूर्ण दृष्टि जुन ग्रहमा पर्दछ, उक्त ग्रहले सम्पूर्ण अशुभ प्रभावको त्याग गरी शुभफल मात्र प्रदान गर्ने गर्दछ । अतः बृहस्पतिद्वारा दृष्ट मङ्गल ग्रहले प्रदान गर्ने अशुभ प्रभाव पनि नष्ट हुने गर्दछ । त्यसैले कसैको कुण्डलीमा मङ्गल ग्रहलाई बृहस्पतिले पूर्णदृष्टि प्रदान गरेको स्थितिमा पनि माङ्गलिक दोष लाग्दैन । राहु ग्रहको भौतिक पिण्ड छैन, यो छाया ग्रह हो । यसको र मङ्गल ग्रहको बसाइ एउटै राशिमा छ भने र कुण्डलीका केन्द्रमा रहेका चारवटा (१, ४, ७, १०) कोठामध्ये कुनै कोठामा चन्द्रमाको उपस्थिति छ भने पनि माङ्गलिक दोष लाग्दैन ।)

कुजो जीव समायुक्तो युक्तो वा कुजचन्द्रमा ।
चन्द्रे केन्द्रगते वाऽपि न दोषो मङ्गली भवेत् ॥ 
(मङ्गल र बृहस्पति वा मङ्गल र चन्द्रमाको युतिसम्बन्ध छ भने माङ्गलिक दोष भङ्ग हुन्छ । त्यस्तै चन्द्रकुण्डलीको केन्द्रमा मङ्गल ग्रह रहेछ भने पनि माङ्गलिक योगको दोष लाग्दैन ।)

अजे लग्ने व्यये चापि पाताले वृश्चिके स्थिते ।
वृषे जाये घटेरन्ध्रे भौमदोषो न विद्यते ॥ 
(मेष राशिमा बसेको मङ्गल यदि कुण्डलीको लग्न वा व्ययस्थानमा छ भने, बृश्चिक राशिमा बसेको मङ्गल चतुर्थ भावमा बसेको छ भने, बृष राशिमा बसेको मङ्गल सातौं भावमा बसेको छ र कुम्भ राशिमा बसेको मङ्गल अष्टम भावमा छ भने माङ्गलिक दोष भङ्ग हुन्छ ।)

अर्केन्दुक्षेत्रजातानां कुजदोषो न विद्यते ।
स्वोच्चमित्राभिजातानां तद्दोषो न भवेत् किल ॥  
(सूर्य र चन्द्रमा मङ्गल ग्रहका नैसर्गिक मित्र ग्रह मानिन्छन् । बाह्र वटा राशिमध्ये सिंह राशि सूर्यको र कर्कट राशि चन्द्रमाको घर मानिन्छ । त्यसैले कर्कट र सिंह लग्न भएका जातकका लागि माङ्गलिक दोषको प्रभाव पर्दैन । त्यस्तै मङ्गल ग्रहको स्वगृह (मेष र बृश्चिक), उच्चगृह (मकर) र मित्रगृह (कर्कट, सिंह, धनु र मीन) मा जन्मिएका जातकका लागि पनि पनि माङ्गलिकको प्रभाव कमजोर बन्दछ ।)

अष्टमो भौमदोषस्तु धनुमीनद्वयोर्विना ।
व्यये तु कुजदोषः स्यात् कन्या मिथुनयोर्विना ॥
(आठौं भावमा सिर्जना भएको माङ्गलिक छ तर मङ्गल ग्रह धनु वा मीन राशिमा बसेको अवस्था छ भने एवं बाह्रौं भावमा माङ्गलिक योग बनेको छ तर मङ्गल ग्रह कन्या वा मिथुन राशिमा बसेको छ भने पनि माङ्गलिक योगको दोष लाग्दैन ।)

केटा र केटी दुबै जनाको कुण्डलीमा अधिकतम ग्रहहरू समान भावमा बसेका छन् र समान किसिमका योग पनि देखिन्छन्, तर एउटाको कुण्डलीमा माङ्गलिक योग छ अर्कोमा छैन भने विवाह गरिदिए हुन्छ । माङ्गलिक योगको बाधा व्यहोर्नु पर्दैन ।

हुन त कालसर्प योग शास्त्रीय योग होइन, यस योगको सिर्जना आधुनिक मिडियाले गरेको भन्दा फरक पर्दैन । तर दुबै वरबधु कालसर्प योग भएका रहेछन् भने दुबैको दाम्पत्यसम्बन्ध अनुकूल नै रहेको देखिन्छ । कालसर्प योगमा राहु ग्रहको मुख्य भूमिका रहने भएकाले र मङ्गल र राहुको युतिसम्बन्ध हुँदा माङ्गलिक दोष भङ्ग हुने प्रमाण यसअघि नै उल्लेख भएकाले दुबै कुण्डलीमा समान (मुखोदय/मुखोदय वा पृष्ठोदय/पृष्ठोदय) कालसर्प भएमा पनि विवाह गरिदिए हुन्छ, दोष लाग्दैन ।

माङ्गलिक योगको निवारण

माङ्गलिक योगको दोष व्यहोर्नु नपरोस् भन्ने उद्देश्य लिएका वरबधू वा अभिभावकले यस्तो योग भएका व्यक्तिको विवाह त्यस्तै योग भएका व्यक्तिसित गरिदिनु नै यसको वास्तविक निदान हो । त्यस्तै माङ्गलिक योग भएका व्यक्तिहरू हठी, जिद्दी, अव्यवहारिक र एकोहोरा हुने सम्भावना हुन्छ । त्यसैले माङ्गलिक र गैरमाङ्गलिकका बीचमा विवाह हुने भएमा दुबैमा परिपक्वता आउनु अनिवार्य हुन्छ, त्यसैले मङ्गल ग्रहको कारक वर्ष २८ वा त्यसभन्दा बढी उमेरको नहुन्जेल विवाह नगर्नु पनि यस योगको दुष्प्रभावको निवारण गर्ने अर्को उपाय हो । तर कथंकदाचित्, माथिको प्रतिबन्ध हुँदाहुँदै कारणवश माङ्गलिक र अमाङ्गलिकका बीचमा विवाह भइहालेको परिस्थिति छ भनेमात्र यसको निवारणका लागि सुझाइएका अरु उपायहरूको अवलम्बन गर्नु पर्दछ ।

अहिले टाठाबाठाको समय छ, साँच्चिकै टाठो होस् वा नहोस् हिजोआज हरेक व्यक्ति मैले सबै बुझेको छु र जानेको छु भन्न छाड्दैन । त्यसैले कतिपय अभिभावक र गुरुपुरोहितले कुनै बालक वा बालिकाको कुण्डलीमा माङ्गलिक योग रहेछ भने विवाह हुनु कता हो कता ? विवाहयोग्य उमेर नै नपुगी माङ्गलिक शान्ति पनि गरेको देखिन्छ र सुन्न पाइन्छ । यसरी विवाह सम्पन्न भएर वा टुङ्गो लागेर दुबै वरबधूको कुण्डलीमा माङ्गलिक र अमाङ्गलिक अवस्था सिर्जना नहुन्जेल माङ्गलिक योगको शान्ति गर्नाले कुनै किसिमको लाभ हुन सक्दैन । त्यसो गर्नु भनेको टाउको भोलि दुख्छ, तर सिटामोलको ट्याब्लेट आजै खाएजस्तै हो । त्यसैले माङ्गलिक शान्ति कमसे कम विवाहको टुङ्गो लागेपछि वा विवाह भएपछि गरेको फलदायी हुन्छ । पुनश्च, माङ्गलिक निदानका लागि ज्योतिषीय प्रविधिको लेखाजोखा गरी हुन्छ हुँदैन टुङ्गो गरी विवाह गर्नु निदान हो, शान्तिद्वारा निदान गर्न खोज्नु केवल न्यूनीकरण हो भन्ने बुझ्नु पर्दछ । निदान भनेको रोगलाई जरैबाट उखेलेर फ्याल्नु हो भने न्यूनीकरण भनेको रोगलाई रोकथाम गर्नुमात्र हो । विपरीत ग्रहयोग वा महादशामा न्यूनीकृत दुष्प्रभाव बल्झने खतरा हरहमेशा विद्यमान नै रहन्छ भन्ने कुरा पनि बुझ्नु आवश्यक छ । यहाँ माङ्गलिक दोषको शान्ति हुने केही उपायहरू लेखिएका छन्, जसलाई अनुकूलता र इच्छानुसार प्रयोग गर्न सकिन्छ -

विवाहको निधो भइसकेपछि विवाह हुनपूर्व माङ्गलिक योग भएको वर वा बधूले मङ्गल ग्रहको १० हजारको सङ्ख्यामा जाप र हवन गराउने अनि विवाहपछि सकेसम्म दुबै दम्पतीले एकसाथ, नत्र जसको कुण्डलीमा माङ्गलिक योग देखिएको छ, उसको जीवनसाथीले आजीवन मङ्गलबारको व्रत लिई गणेशजीको उपासना गर्ने, व्रत लिन असमर्थ व्यक्तिले लग्नअनुकूल भएमा मात्र कम्तीमा ८ क्यारेटको मुगा रत्न धारण गर्ने ।

माङ्गलिक योग भएका व्यक्तिको शमी विवाह, घट विवाह, अर्क विवाह आदि विवाह विवाहोपरान्त वा निधो भएपछि गोप्य रूपमा गरिदिने

प्रत्येक वर्ष दुबै दम्पतीले मङ्गलागौरीको उपासना र व्रत सम्पादन गर्ने

पुरुष जातकको माङ्गलिक योग भएमा उसले विवाहोपरान्त निरन्तर बिहिबार व्रत बसेर कात्यायनी भगवती वा बगलामुखी देवीको पूजा गर्ने तथा उसको लग्नअनुकूल रहेछ भने कम्तीमा पाँच क्यारेटको पुष्पराजको औंठी प्राणप्रतिष्ठा गराएर निरन्तर दाहिने हातको चोर औंलामा धारण गर्ने

स्त्री जातकले निरन्तर ज्येष्ठ महिनामा पर्ने बटसावित्री व्रत सम्पादन गरेमा पनि पतिको सुस्वास्थ्य र आयु पक्ष बलियो बनाउन सक्दछन् ।

दुबै दम्पतीले निरन्तर सोमबारको व्रत बस्ने र शिवजीलाई पञ्चामृतले स्नान गराउने

प्रत्येक वर्षको दुर्गापक्ष (चैते दशैं वा बडा दशैं) मा पतिको कुण्डलीमा माङ्गलिक योग भएको अवस्थामा पत्नीं मनोरमांदेहि मनोवृत्तानुसारिणीम् । तारिणीं दुर्गसंसारसागरस्य कुलोद्भवाम्॥  भन्ने मन्त्रले र पत्नीको कुण्डलीमा माङ्गलिक योग भएको अवस्थामा कात्यायनी महामाये महायोगिन्यधीश्वरी । नन्दगोपसुतं देवी पतिं मे कुरुते नमः॥ भन्ने मन्त्रले दुर्गासप्तशती (चण्डी) को सम्पुट पाठ गर्नाले पनि माङ्गलिक योगको दुष्प्रभावको नाश हुन्छ ।

Thursday, January 26, 2017

विवाह र ज्योतिषीय अवधारणा

पारिवारिक सुख, यौनसुख, व्यापारसुख, प्रेमसुख, विवाह आदिलाई लग्न कुण्डलीको सप्तम स्थानबाट हेर्ने गरिन्छ । पारिवारिक सुख प्राप्त गर्नका निमित्त पारिवारिक यौन र प्रेम सुख प्राप्त गर्नु आवश्यक ठानिन्छ । विवाह एउटा सम्झौता हो, कुण्डली मिलाए पनि वा नमिलाई विवाह गरको छ भने पनि पतिपत्नीका बीचमा समझदारी र सहकार्यका अभावमा दाम्पत्य जीवनको सुखमा रमाउन सकिदैंन । पुनः ज्योतिषीसँग परामर्श गरी विवाह गर्नु भनेको सुखसम्मृद्धि र चिरकालसम्म जीवन आनन्दपूर्वक व्यतीत होस् भन्ने उद्देश्य त रहन्छ नै तर मुख्य विषय दुई मनको मिलन हो, दुई शरीरको आध्यात्मिक संयोजन र एकाकार हो  । सनातन हिन्दु धर्ममा व्यवस्था भएअनुसार विवाहलाई आठ भागमा विभाजन गरिएको पाइन्छ -

१. ब्रह्म विवाह - वर र बधू दुबै पक्षको सहमतिमा समान वर्गका सुयोग्य केटा र केटीको विवाहलाई ब्रह्म विवाह भनिन्छ । सामान्यतः यस विवाहमा परम्परित विधिविधानको पालना गरी वरपक्षबाट जन्ती गई कन्यालाई घरमा ल्याउने गरिन्छ । अहिलेको परम्परित Arranged Marriage नै ब्रह्म विवाह हो ।

२. दैव विवाह - कुनै सेवा कार्य (विशेषतः धार्मिक अनुष्ठान) पछि कन्या पक्षले कन्यादान गर्नुलाई दैव विवाह भनिन्छ । अहिले कतैकतै कुनै विशिष्ट पण्डित वा कथावाचकलाई पुराण वा त्यस्तै  धार्मिक कृत्यको आयोजना गरी कन्यादान गरेको सुन्नमा आए पनि यस किसिमको विवाह प्रचलनमा छैन ।

३. आर्ष विवाह - कन्या पक्षद्वारा कन्याको शुल्क तोकी रकम लिएर कन्यादान गर्ने विधान आर्ष विवाह  हो । छोरीको अभाव भएका बेला वा सम्भ्रान्त कन्याको विपन्न पुरुषसँग विवाह हुने परिस्थितिमा यो विवाह प्रचलनमा रहेको थियो । यस विवाहमा वर पक्षले शुल्क बुझाउनु पर्दथ्यो ।

४. प्राजापत्य विवाह - कन्याको सहमति नखोजी अभिभावकको इच्छाले कुनै पाको उमेर वा सम्भ्रान्त वर्गको वरसित विवाह गर्ने परिपाटीलाई प्राजापत्य विवाह भन्ने गरिन्छ ।

५. गान्धर्व विवाह - अभिभावकको स्वीकृति नलिई एकआपसमा प्रेम गरी गरिने विवाहलाई गान्धर्व विवाह भन्ने गरिन्छ । यस पद्धतिमा केटा र केटीले घरपरिवारलाई वास्ता नगरी  भागेर विवाह गर्ने गर्दछन् ।

६. आसुर विवाह - विपन्न वर्गका मातापितलाई डर, त्रास र धम्की दिई वा आर्थक प्रलोभनमा पारी केटी किनेर गरिने विवाहलाई आसुर विवाह भनिन्छ ।

७. राक्षसी विवाह - कन्या र उसको परिवार वा अभिभावकको स्वीकृति नलिई अपहरण गरी गरिने विवाहलाई राक्षसी विवाह भनिन्छ ।

८. पैशाची विवाह - कन्यालाई टुना, मुना गरी बेहोस बनाई वा मदिरा वा औषधीले लट्ठ्याई शारीरिक वा मानसिक दुर्बलताको लाभ उठाई यौन सम्बन्ध कायम गरेर पछि विवाह गर्नु पैशाची विवाह हो ।

शास्त्रमा यी आठ किसिमका विवाहका विधि प्रचलित भए पनि आधुनिक समाजमा विवाहलाई दुई किसिमले हेर्ने गरिन्छ - (१) परम्परित विवाह (Arranged Marriage) र (२) प्रेम विवाह (Love Marriage) । सामान्य भाषामा कर्मकाण्डको प्रक्रिया अपनाई गरिने विवाह परम्परित विवाह हो भने विधिविधान नअपनाई, सामाजिक मूल्य र मान्यताको विचार नगरी केवल आकर्षणलाई मुख्य आधार मानेर गरिने विवाह प्रेम विवाह हो । परम्परित विवाहमा हैसियत, परम्परा, संस्कार र जातधर्मको हेक्का राखिन्छ भने प्रेमविवाहमा धर्म, जाति, रङ्ग, हैसियत र संस्कार नमिल्न पनि सक्छ।

हाम्रो समाजले प्रेम विवाहलाई अझै पनि सहज ढङ्गले स्वीकार गरिसकेको अवस्था छैन । अधिकांश जोडीको छनोट परम्परित प्रकार अर्थात् मागी विवाहकै आधारमा छनोट हुने गर्दछ । सामान्यतया मागीविवाह गर्दा र विवाहको शुभ समयको लागि आफुले जानेबुझेको ज्योतिषीकहाँ पुगेर वैवाहिक परामर्श लिने चलन रहेको छ । यसरी परामर्श दिंदा ज्योतिषीले केटा र केटी दुबै थरिको जन्म कुण्डलीको अध्ययन गरी सुझाव दिने गर्दछन् । हिजोआज ज्योतिषको सैद्धान्तिक पहुँचको प्रसार भएकाले र इन्टरनेटमार्फत फेसबुक, ट्वीटर, भाइबर, ह्वाट्सप र विभिन्न वेभसाइटमा उपलब्ध ज्योतिषहरूको छ्यापछ्याप्ती भएकाले प्रेमीप्रेमिकाले पनि वैवाहिक जीवनमा बाँधिनुअघि ज्योतिषीय परामर्श लिएको पाइन्छ । यसरी परामर्श दिंदा ज्योतिषीले तपार्इं र भावी दम्पतीको कुण्डली अध्ययन गरी मुख्यतः सप्तम स्थान, सप्तमेश, शुक्र र बृहस्पति ग्रहको वस्तुस्थिति, माङ्गलिक योग, कालसर्प योग आदिको विचार गरी निर्णय सुनाउने गर्दछन् । ज्योतिषमा विशेषतः प्रेम या विवाहको सम्बन्धबारे बताउन मङ्गल, शुक्र र चन्द्रमाको अवस्थाको आकलन गर्नुपर्दछ, किनभने मङ्गल ग्रहले आत्मबल, उत्साह र  ऊर्जा प्रदान गर्दछ, शुक्रले यौन सामर्थ्य, भोगविलास र प्रेमिल वातावण सिर्जना गर्न सघाउ पुर्याउँछ भने चन्द्रमाको सम्बन्ध मन र भावनासँग हुन्छ ।

विवाह र दाम्पत्यसम्बन्धमा सातौं भावको मालिक र त्यस भावमा बसेको ग्रहको विशेष भूमिका हुन्छ । उदारहणका लागि सातौं भावको केतुले विशेष यौनाकर्षणको सङ्केत गर्दछ, त्यस भावमा केतु बसेको पुरुषबाट यौन व्यभिचार (Play Boy) हुनसक्ने र स्त्रीमा मनोरोग, चिन्ता, शङ्का आदिको सम्भावना हुन्छ । यस्ता जातकले जतिवेला पनि वैवाहिक मान्यता र सिद्धान्त भङ्ग गरी अघि बढ्ने खतरा हुन्छ । त्यस्तै सातौं भावमा शुक्र बसेको छ भने व्यक्ति कामुक स्वभावको हुन्छ । जन्म कुण्डलीको जुनसुकै भावमा बलियो शुक्र हुँदा दाम्पत्य जीवन सहज भएको देखिन्छ भने कमजोर, नीच, अस्त वा राहु र केतुद्वारा दूषित शुक्र हुँदा व्यक्ति यौन शोषणमा पर्ने वा यौन ग्रन्थीमा रोगव्याधिजन्य विकार आउने सम्भावना प्रबल हुन्छ ।

त्यस्तै विवाहमा मङ्गल ग्रहको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । लग्ने, व्यये च पाताले जामित्रे चाष्टमे कुजे, पत्नी हन्ति स्वभर्तारं भर्ता पत्नीं विनाशयेत् भनी पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भावमा बसेको मङ्गलले दाम्पत्यसुखमा विघ्न गर्ने मत सबैले मानेको पाइन्छ । त्यसमध्ये पनि सातौं भावमा बसेको मङ्गल ग्रह भए अझ अनिष्ट हुन्छ भन्ने गरिन्छ, नेपालका आमज्योतिषहरूले यस परिस्थितिलाई सतमङ्गली भन्ने गर्दछन् । तर माङ्गलिक योग हुने बितिक्कै खराब नै हुन्छ भन्ने होइन । कुण्डलीको बनोट हेर्दा संसारका लगभग ४३ प्रतिशत व्यक्तिमा माङ्गलिक योगको सम्भावना हुन्छ । यसको अर्थ माङ्गलिक योग हुनेले माङ्गलिक योग हुनेसँग नै विवाह गर्नुपर्छ । अन्यथा यसको दोष व्यहोर्नु पर्दछ । उता जसको कुण्डलीमा माङ्गलिक योग छ, उसको आफ्नै कुण्डलीमा माङ्गलिक दोष भङ्ग गर्ने योग पनि हुनसक्छ । जसले मङ्गल ग्रहले दाम्पत्य जीवनमा प्रदान गर्ने अशुभता हटाउन मद्दत गर्दछ । उदाहरणका लागि दशमे च यदा सौरि लग्ने वा हिबुकेथवा, नवमे द्वादशे चैव भौम दोषो नविद्यते अर्थात् माङ्गलिक योग भएको कुण्डलीमा यदि पहिलो, सातौं, नवौं, दसौं र बाह्रौं भावमा शनि बसेको छ भने उसको माङ्गलिक योग निष्क्रिय हुन्छ । त्यसैले उसले माङ्गलिक योगको प्रकोप सहनु पर्दैन । त्यस्तै मङ्गल ग्रहका साथमा शनि, बृहस्पति र चन्द्रमाको केन्द्रीय सम्बन्ध छ भने पनि यो दोष लाग्दैन ।

दाम्पत्य सुखमा ठूलो प्रभाव नपारे पनि सातौं भावमा कर्कट, सिंह, बृश्चिक, मकर र कुम्भ राशि परेको तथा उक्त भावमा सूर्य, मङ्गल, बृहस्पति (एक्लो), शुक्र (एक्लो) वा शनि ग्रह बसेको छ भने पतिपत्नीका बीचमा मतभेद हुने र सम्बन्ध विच्छेद भई अर्को विवाह हुने सम्भावना हुन्छ । त्यस्तै सातौं भावमा राहु वा केतु छ भने पति वा पत्नीको कुण्डलीमा पनि राहु र केतु केन्द्रवर्ती हुनुपर्छ अनि मात्र दाम्पत्य जीवन सहज हुनसक्छ । दाम्पत्य जीवनलाई सुखपूर्ण बनाउन कालसर्पयोगको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ । यदि कसैको कुण्डलीमा कालसर्प योग छ भने उसको जीवनसाथीको कुण्डलीमा पनि कालसर्प योग वा राहु ग्रह बलशाली हुनु अनिवार्य हुन्छ । त्यस्तै भरिणी, रोहिणी, मृगशिरा, आर्द्रा, अश्लेषा, स्वाती, ज्येष्ठा, मूल, शतभिषा आदि नक्षत्रका जातकका लागि कालसर्प योग भएको जीवनसाथी उपयुक्त मानिन्छ । अनि सातौं भावको मालिक वा पत्नीकारक मानिएको ग्रह कुण्डलीमा एक्लै छ वा दुष्ट ग्रहका साथमा बसेको छ भने पनि दाम्पत्य जीवनमा विघ्न सिर्जना हुन्छ ।

बुध ग्रहलाई नपुंसक ग्रह मान्ने गरिनछ । कुनै स्त्रीको कुण्डलीमा पाँचौं वा सातौं भावमा बुध र राहु वा केतुको युति सम्बन्ध छ भने उसको पति नपुंसक हुन्छ । सन्तानप्राप्तिका लागि उसले परपुरुषको सहयोग लिनुपर्दछ वा निषेचन पद्धति अपनाउनु पर्दछ । नत्र बाँझोपनको खतरा हुन्छ । शनि र राहु वा केतुको यस्तो अवस्था पनि सन्तानका लागि अनिष्ट हुने गर्दछ ।

कुण्डलीको पाँचौं भावबाट प्रेमसम्बन्ध कायम हुन्छ । पाँचौं भावमा बसेको चन्द्रमा र शुक्रले प्रेमजीवन सफल बनाउँछ । पाँचौं भावको मालिक पाँचौं, आठौं, एघारौं र दोस्रो भावमा बसेमा व्यक्तिले आफूले मन पराएको व्यक्तिसित विवाह गर्दछ र उसको पारिवारिक जीवन सुखसम्मृद्धि र भोगविलासले युक्त हुन्छ । पाँचौं भावमा सूर्य, मङ्गल, बृहस्पति, शनि, राहु वा केतु छ भने प्रेम त गराउन सक्छ तर प्रेमसम्बन्ध भङ्ग हुन्छ ।

यहाँ पूर्वीय ज्योतिषशास्त्रका केही सिद्धान्त र मान्यताहरू उल्लेख गरिएको छ, जसको सम्बन्ध प्रत्यक्षतः प्रेमप्रसङ्ग, वैवाहिक जीवन र दाम्पत्यसुखसँग जोडिएको हुन्छ :-

१) जन्मकुण्डलीको सातौं भावमा निर्बल, शत्रुगृही, नीच वा थोरै अंशको शनिश्चर ग्रह बसेको छ भने व्यक्तिमा नपुंसकता हुने वा प्रजनन प्रणाली र यौन ग्रन्थीमा किसिमकिसिमका रोगव्याधि लाग्ने सम्भावना हुन्छ । बृहस्पति र शुक्र चतुर्थेशका साथमा सप्तममा भए नपुंसक योग बन्दछ। शनि सातौं भएर त्यसमाथि पापग्रह युक्त सूर्यको दृष्टि परेमा पनि व्यक्ति नपुंसक बन्दछ । सूर्य, शनि र षष्ठेश छैटौंमा रहेमा, सप्तम चन्द्रमाथि बुधको पूर्ण दृष्टि भएमा पनि सन्तानप्राप्तिमा कठिनाइ उत्पन्न हुन्छ ।

२) कुनै महिलाको कुण्डलीमा सातौं भावमा शनि वा सूर्यको उपस्थिति छ भने प्रथम पति वा प्रेमीसित उसको दाम्पत्य जीवन सफल हुन सक्दैन । त्यस्तै पुरुष वा स्त्रीको कुण्डलीको सातौं भावमा चन्द्रमा बसेको छ भने दोस्रो विवाहबाट दाम्पत्यसुख प्राप्त हुनेगर्दछ, अझ चन्द्रमा नीच वा कमजोर छ भने पहिलो पति वा पत्नीलाई दीर्घरोग लाग्ने सम्भावना पनि हुन्छ ।

३) सप्तमेश अष्टम र अष्टमेश सप्तम भावमा घर साटेर बसेको अवस्था छ भने निश्चित रूपमा वैवाहिक जीवन भङ्ग हुने गर्दछ ।

४) कुनै जन्मकुण्डली वा नवमांशक कुण्डलीको सातौं भावमा मङ्गल ग्रहको राशि परेको छ भने वैवाहिक जीवनमा कलह र विवादको स्थिति उत्पन्न हुन्छ । यस्तो परिस्थितिमा पति वा पत्नीको यौनाचरणमा अविश्वास उत्पन्न हुनसक्छ ।

५) कुनै स्त्रीको कुण्डलीमा सप्तम भावमा चन्द्र, शुक्र र मङ्गल तीनवटै ग्रह एक साथ बसेको छ भने तिनको यौनजीवन राम्रो हुँदैन । तर पतिले परपुरुषसँग सम्बन्ध छ भन्ने थाहा पाएर पनि चरित्र थाहा हुँदाहुँदै पनि पुरुषले स्वीकार गरिरहन्छ ।

६) सप्तम भावमा शनिश्चर ग्रह र लग्न या चतुर्थ भावमा मङ्गल ग्रह बसेको अवस्था छ भने स्त्रीको विवाहमा बिलम्ब हुन्छ । यी ग्रहमध्ये शनि र मङ्गल बाल्यावस्था वा मृतावस्थामा छन् भने त विवाह नहुने सम्भावना पनि हुन्छ ।

७) कुनै पुरुषको जन्मकुण्डलीको सातौं भावको मालिक दोस्रो वा बाह्रौं भावमा छ अथवा द्वितीयेश वा द्वादशेश तृतीय भावमा छ भने त्यस्तो पुरुषले जुन स्थानमा पुगे पनि स्त्रीसुख भोग गर्न पाउँछ । अशुभ ग्रहको महादशाकालमा उसले स्त्रीका कारण बन्दी जीवन बिताउने बाध्यता सिर्जना हुन्छ ।

८) राहु ग्रह आफूस्वयंले अशुभ फल प्रदान गर्दैन, तर जुन ग्रहसँग यस ग्रहको युतिसम्बन्ध वा दृष्टिसम्बन्ध कायम हुन्छ, त्यस ग्रहको नैसर्गिक फलमा यसले ग्रहण लगाउने गर्दछ । त्यसैले पुरुषको कुण्डलीमा शुक्र र राहुको मिलनले नपुंसकता ल्याउँछ भने स्त्रीको कुण्डलीमा यस्तो अवस्था छ भने उसले यौनशोषण खेप्नुपर्दछ । त्यस्तै सातौं भावमा चन्द्रमाका साथमा राहु ग्रहको यूति या दृष्टि सम्बन्ध भएमा अन्तर्जातीय विवाह हुने सम्भावना प्रबल हुन्छ । त्यस्तै सूर्य र राहुको युति वा दृष्टिसम्बन्ध छ भने जीवनसाथीको हैसियत, धनवैभव र आचरण आफ्नोभन्दा कमजोर हुन्छ । त्यस्तै सातौं भावमा मङ्गल र राहुको मिलन छ भने व्यक्तिको पहिलो विवाह सफल हुँदैन ।

९) सूर्य र शनिको युति वा दृष्टिसम्बन्धलाई पनि ज्योतिषशास्त्रले राम्रो मान्दैन । सातौं भावमा यस्तो परिस्थिति सिर्जना भयो भने वैवाहिक सम्बन्धमा असर पारी दोस्रो विवाहको सङ्केत गर्दछ र दोस्रो विवाह पनि असफल हुने खतरा हुन्छ ।

१०) सप्तमेश चतुर्थ या दशौं भावमा भएमा सजातीय पति वा पत्नीसित विवाद हुने गर्दछ, तर अन्तर्जातीय विवाह सफल हुन्छ ।

११) मङ्गल र शुक्र दुबै ग्रह सातौं भावमा छ र धनु राशिमा बृहस्पती र राहु तथा आठौं भावमा सूर्य र चन्द्रमा भए पनि जातकको वैवाहिक जीवनमा किसिमकिसिमका समस्या सिर्जना हुन्छन् ।

१२) मेष लग्न भएका जातकको छैंटौं, आठौं र बाह्रौं भावमा कुनै ग्रह बस्नु अशुभ मानिन्छ । यदि शुक्र कमजोर र दुर्बल छ भने त्यस्तो जातकको जतिवटा विवाह भए पनि वैवाहिक जस्वन सफल हुँदैन ।

१३) जन्मकुण्डलीको सातौं भावमा बसेको सूर्यमाथि पापग्रहको दृष्टि छ या बक्री छ भने पतिले त्याग्ने छ या सम्बन्ध विच्छेद हुनेछ । त्यसमा बृहस्पती या शुक्रको दृष्टि पुगेमा पुनः विवाहको अवस्था आउँछ।

१४) लग्नबाट गोचर बृहस्पती जब १, ५, ९, ११ स्थानमा आइपुग्छन् तब विवाहको अवस्था आइपुग्छ । सप्तमेश या द्वितीयेशको अन्तर्दशामा विवाहको योग बन्दछ । चन्द्र या शुक्रबाट सप्तम घरको मालिकको दशामा जब शुक्रको अन्तर्दशा आउँछ तब विवाहको अवसर प्राप्त हुन्छ ।

१५) ज्योतिष शास्त्र अनुसार सप्तम स्थानबाट मृत्यु पनि हेर्ने गरिन्छ । सामान्यतया व्यक्तिको मारक ग्रहको दशा, अन्तर्दशा वा गोचर कुण्डलीको लग्न वा आठौं भावमा मारक ग्रह आएको समयमा मृत्यु हुने गर्दछ । त्यस्तै लग्नेशको महादशामा द्वितीयेश या सप्तमेशको अन्तर र सप्तमेशको महादशामा अष्टमेशको अन्तर आउँदा पनि मृत्युको भय हुन्छ । सातौं सूर्य, दशौं शनि र चौथोमा मङ्गल भए शस्त्र, अग्नि अथवा राजाद्वारा मरण हुन्छ । सातौं मङ्गल, लग्नमा शनि र चन्द्रमा भए मेशिनद्वारा मरण हुन्छ । सूर्य, शनि र राहु सातौंमा भए सर्पको भय हुन्छ । सातौं राहु, आठौं शनि र छैटौंमा मंगल भए पत्नीनाश गर्ने योग बन्दछ । सप्तम मङ्गल, त्यसमाथि शनि, सूर्य या राहुको पूर्ण दृष्टि छ भने विवाहको छोटो समयमा नै उसको प्रेमी या लोग्नेको मृत्यु हुन्छ ।

१६) कुनै स्त्रीको लग्नकुण्डली वा नवमांशक कुण्डलीमा सातौं भावमा मेष, वृश्चिक, मकर या कुम्भ राशि भएमा मासिक धर्ममा समस्या वा श्वेत प्रदर(धातु) र योनी गन्हाउने समस्या हुन्छ ।

१७) सप्तम भावमा पापग्रह या नीचग्रहको पूर्ण दृष्टि रहेमा उसको विवाहमा अनेकौं समस्याहरु उत्पन्न हुने गर्दछ, प्रायशः अन्तर्जातीय विवाह हुन्छ र आफू भन्दा निकै कम उमेरको वर वा बधूसँग विवाह हुन्छ ।

१८) सप्तम मङ्गल भएर पापग्रहले युक्त या दृष्ट चन्द्रमा लग्नमा भएमा आमालाई कष्ट पुर्‍याउँछ । सप्तम मङ्गलमाथि नीच शनि या बृहस्पतिको पूर्ण दृष्टि भएमा जातकमा मानसिक रोगको सम्भावना हुन्छ ।

१९) लग्न या सातौंमा सूर्यादि सबैग्रह भएमा शकट योग बन्दछ । यस योगले व्यक्तिलाई राजासरह धनधान्य र सुखसुविधाले युक्त वैभव प्राप्त हुन्छ ।

Wednesday, January 25, 2017

सुखद दाम्पत्यसम्बन्ध र ज्योतिष

विवाह मानव जीवनको सबैभन्दा महत्वपूर्ण संस्कार हो । यस संस्कारमा बाँधिनुभन्दा पहिले नै केटा र केटीको जन्मनक्षत्रको नामका आधारमा गुणमिलान गर्ने परिपाटी छ । गुण मिलान नमिल्दा सर्वगुण सम्पन्न वर वा कन्या भए पनि असल जीवनसाथी सिद्ध हुन सक्दैनन् । गुणमिलान गर्दा अष्टकूटको मिलान गरिन्छ । ती अष्टकुट हुन् - वर्ण, वश्य, तारा, योनी, ग्रहमैत्री, गण, राशि र नाडी । ज्योतिषशास्त्रअनुसार कुनै पनि जातकको प्रकृति (अभिरुचि, व्यक्तित्व र व्यवहार) उसको जन्मनक्षत्र र राशीका आधारमा निर्धारित हुने गर्दछ । यस आधारमा पतिपत्नीको जन्मनक्षत्र र जन्मराशिको मिलान गर्नुलाई गुणमिलान भनिन्छ । गुणमिलानका आधारमा दुई दम्पतिको दाम्पत्य सम्बन्ध एक आपसमा कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ । गुणमिलानको जम्मा अङ्क ३६ हुन्छ र दुबै वरबधूको सम्बन्धबाट आउने गुण ५० प्रतिशतभन्दा बढी भएमामात्र तिनीहरूको दाम्पत्य जीवन सुखमय हुनसक्दछ भन्ने विश्वास गरिन्छ । उत्ताउलो उमेरमा विपरीतलिङ्गीप्रति आकर्षण बढ्नु स्वाभाविक हो, तर दीर्घकालसम्म त्यो आकर्षण कायम हुन्छ वा हुँदैन, तत्कालको आकर्षणलाई मात्र हेरेर टुङ्गो लगाउने विषय पनि होइन । सामान्यतया ज्योतिषशास्त्रीय दृष्टिकोणबाट दुबै केटा र केटीको कुण्डलीमा शुभ वा अशुभ एकै किसिमका ग्रहहरूको दशावधिमा गुणमेलापक चक्रमा थोरै अङ्क हुँदा पनि एकअर्कामा आकर्षण र भवनात्मक निकटता हुनसक्छ, तर भविष्यमा जब तिनको जीवनमा ती आकर्षण गराउने ग्रहको समय भुक्तान भएपछि वा अशुभ ग्रहको समयचक्र प्रारम्भ हुनासाथ ती दुईमा अचानक वैचारिक मतभेद हुन थाल्छ, जसबाट वादविवाद बढ्छ, अनि सम्बन्धविच्छेद हुने अवस्था समेत सिर्जना हुन्छ । त्यसैले विवाह गर्नुअघि कम्तीमा गुणमिलान गरी निर्धारण गर्नु अनिवार्य हुन्छ । हुन त, गुणमिलानमात्र सुखद दाम्पत्य सम्बन्धको मुख्य कडी होइन, अनि गुणमिलान गर्नु तपाईंको भाग्य र भविष्य सुनिश्चित र उज्ज्वल बनाउने माध्यम पनि होइन, तर पर्याप्त गुणाङ्क प्राप्त भएका दम्पतीको आपसी सम्बन्ध सुमधुर बनाउनु हो । सम्भव छ भने विवाहपूर्व दुबै वरबधूको कुण्डलीमा रहेका ग्रहहरूको अवलोकन गरी माङ्गलिक योग, कालसर्प योग, शुक्र र चन्द्रमाको बलाबल पनि विचार गर्नु बुद्धिमानी हुनेछ ।

ज्योतिषशास्त्रमा गुणमिलान गर्दा अष्ट कूटको बेग्लाबेग्लै गणना गरिन्छ । यी आठवटा कूटहरूको भिन्नभिन्न ढङ्गले एक आपसमा सामञ्जस्य स्थापना गर्ने महत्त्वपूर्ण भूमिका हुन्छ ।  के के हुन् त यी अष्टकूट, तल तिनै अष्ट कूटका बारेमा जानकारी प्रस्तुत गरिएको छ -

१) वर्ण - अष्टकूटहरूमध्ये पहिलो कूट 'वर्ण'लाई मानिन्छ । वर्णका आधारमा व्यक्तिको कार्यक्षमताको मूल्याङ्कन हुने गर्दछ । ज्योतिषशास्त्र र आर्य संस्कृतिमा वर्णलाई चार किसिमले विभाजन गरिएको छ - ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र । यी वर्णहरूलाई क्रमशः उत्तम, मध्यम, सामान्य र अधम श्रेणीमा राखिएको हुन्छ । केटा र केटीको गुणमिलान गर्दा केटीका तुलनामा केटाको वर्ण उच्च श्रेणीको हुँदा गुणमिलान अन्तर्गत १ अङ्क प्राप्त हुन्छ । यस मिलानमा उत्तीर्ण हुँदा दुबै वरबधुको एक आपसमा सुसम्बन्ध रहने र समान कार्य क्षमता हुने बताइन्छ ।

२) वश्य - अष्टकूटहरूमध्ये दोस्रो कूट 'वश्य'लाई मानिन्छ । वश्य पाँच प्रकारका हुन्छन् - चतुष्पद ,द्विपद ,जलचर ,वनचर र कीट । मेष र वृष राशीको पूर्ण भाग र धनु राशीको उत्तरार्द्ध एवं मकर राशीको पूर्वार्द्ध हुने जातकको चतुष्पद वश्य हुन्छ । सिंह राशीको वनचर वश्य हो । मिथुन ,कन्या, तुला र कुम्भ राशीको समस्त भाग र धनु राशीको पूर्वार्द्ध हुने जातकको द्विपद वश्य हुन्छ । मकर राशीको उत्तरार्द्ध खण्डको जलचर वश्य हुन्छ र कर्कट राशीको कीट वश्य मानिन्छ । वश्यको मिलानबाट स्वभाव र पारस्परिक सम्बन्ध कस्तो हुन्छ भन्ने अनुमान लगाइन्छ, एकै किसिमको वश्य हुँदा वा परस्पर मित्र वश्य हुँदा दुबै दम्पत्तिको सम्बन्ध राम्रो हुन्छ तर वश्य एक आपसमा शत्रु हुँदा दुबैमा शत्रुताको भावना प्रवल हुन्छ, सामान्य कुरामा पनि दुबै झगडा गर्न थाल्छन् । दुबै वश्य एक आपसमा भक्ष्य छन् भने जीवनसाथीले आफु दबिएको भावनाबाट ग्रसित हुनुपर्छ । वश्यका आधारमा गुणमिलान तालिकामा २ अङ्क प्राप्त हुन्छ ।

३) तारा - अष्टकूटहरूमध्ये तेस्रो कूट 'तारा'लाई मानिन्छ । जन्म नक्षत्रका आधारमा ताराको गणना हुन्छ । तारा नौ किसिमका हुन्छन् - जन्म ,सम्पत्, विपत्, क्षेम ,प्रत्यरि, साधक, वध, मित्र र अतिमित्र । ताराको सम्बन्ध शुभ हुँदा दुबै दम्पतीमा परस्परमा एक अर्काका भावनालाई बुझ्ने क्षमता प्राप्त हुन्छ । तारा गणना गर्दा केटाको जन्मनक्षत्रदेखि केटीको जन्मनक्षत्रसम्म गनेर आउने सङ्ख्यालाई नौले भाग गर्दा जति शेष हुन्छ, त्यस बमोजिम क्रमशः जन्म ,सम्पत्,विपत्, क्षेम ,प्रत्यरि, साधक, वध, मित्र र अतिमित्र नामका तारा हुन्छन् । यीमध्ये विपत्, प्रत्यरि र वध नाम गरेको तारा प्राप्त हुँदा अशुभ हुन्छ, अन्य तारा शुभ नै मानिन्छन् । ताराको मिलान अनुकूल भएमा गुणमेलापक चक्रमा तीन अङ्क प्राप्त हुन्छ ।

४) योनी - अष्टकूटहरूमध्ये चौथो कूट 'योनी' हो । योनी चौधवटा छन्, ती हुन् - अश्व(घोडा), गज (हात्ती),मेष (भेडो),सर्प, मार्जार (बिरालो), मूषक (मुसो), गौ (गाई), महिष (भैंसी), व्याघ्र (बाघ), मृग, वानर (बाँदर), नकुल (न्याउरीमुसो) र सिंह । जस्तै - घोडा योनीको भेडा, बिरालो, मुसो, गाई र मृग मित्र, सर्प, कुकुर, बाँदर र न्याउरीमुसो सम र भैंसी शत्रु योनी हुन् । योनीचक्रको मिलानबाट दुबै दम्पत्तिमाझ निर्णय लिने क्षमता ,एक आपसमा सन्तुलन र विवेक पक्षको विचार गर्ने गरिन्छ । दाम्पत्य जीवनको लामो जीवनकालमा श्रीमान् र श्रीमतीमा वैचारिक तालमेल हुनु अति आवश्यक हुन्छ, तर वैचारिक तालमेल नमिल्दा जीवनमा उतारचढाव ब्यहोर्नु पर्छ । योनीको मिलानबाट गुण मेलापक चक्रमा चार अङ्क प्राप्त हुन्छ, वर र बधूको समान योनी हुँदा चार गुण ,मित्र योनी हुँदा तीन गुण, सम योनी हुँदा दुई गुण र शत्रु योनी हुँदा शून्य गुण हुन्छ ।

५) ग्रह मैत्री - ग्रहहरूको एक आपसमा हुने मैत्रीसम्बन्धबाट वर र बधूको आपसी सम्बन्ध, पारस्परिक स्वभाव र तिनको प्रकृतिका बारेमा थाहा पाउन सकिन्छ । ग्रहहरूका माझमा एक आपसमा तीन किसिमका नैसर्गिक सम्बन्ध रहने कुरा ज्योतिषशास्त्रमा उल्लेख गरिएको पाइन्छ । यदि केटा र केटी दुबै जनाको राशीको स्वामी ग्रह परस्परमा मित्र छन् वा एउटै हुन्छ भने दुबै दम्पतीमा पनि परस्परमा प्रेमसम्बन्ध कायम हुन्छ तर ती राशीस्वामी परस्पर शत्रुतापूर्ण सम्बन्ध राख्दछन् भने ती दुईका वीचमा पनि शत्रुत्व कायम हुन्छ । दुईजनाकै राशीस्वामीको सम भाव छ भने ती जोईपोइ कहिले प्रसन्न पनि हुन्छन् भने कहिले मनमुटाव पनि देखिन्छ । गुणमेलापक चक्रमा यसरी ग्रह मैत्रीका आधारमा अधिकतम पाँच अङ्क प्राप्त हुन्छ ।

६) गण - गण तीन वटा हुन्छन् - देव गण, मनुष्य गण र राक्षस गण । गणद्वारा शालीनता ,उदारता ,सहृदयता र सुशीलताको विचार गरिन्छ । देव गणमा जन्मिएका जातकमा नैसर्गिक रूपमा उदार ,दयालु ,दानी र आत्मविश्वासी चरित्र पाइन्छ, त्यस्तै मनुष्य गणमा जन्म लिनेहरू चलाख, स्वार्थी र स्वाभिमानी हुन्छन् अनि राक्षस गणमा समुत्पन्न भएका व्यक्तिहरू क्रोधी, जिद्दी, गैरजिम्मेवार र निर्दयी हुन्छन् । सामान्यतया एउटै खालको गणलाई सर्वोत्कृष्ट मानिन्छ भने देव गण र मनुष्य गणको एक आपसमा असल सामञ्जस्य हुन्छ, देवगण र राक्षस गणको धेरै जसो झगडा परिरहने गर्दछ अनि मनुष्य र राक्षस गणका जोडीको दाम्पत्य सम्बन्ध भएमा मनुष्य गण हुने केटा वा केटीको आयुमा सङ्कट आउने वा मृत्यु हुने भन्ने चलन छ । एक आपसमा गण मिलान हुँदा अधिकतम छ अङ्क प्राप्त हुन्छ ।

७) भकूट - भकूट छ किसिमका हुन्छन् । वरको राशीबाट कन्याको राशीसम्म र कन्याको राशीबाट वरको राशीसम्म गन्ती गर्दा कुन भकूट परेछ भन्ने पत्तो लाग्छ । यसरी गन्दा एक अर्काको राशीबाट गन्दै जाँदा ६/८, २/१२ र ९/५ पर्नु हुँदैन । तर राशी स्वामी एउटै परेको खण्डमा यो सम्बन्धलाई पनि ग्राह्य मानिन्छ । भकूट ग्राह्य भएमा गुणमेलापक चक्रमा अधिकतम ७ गुण प्राप्त भएको मानिन्छ ।

८) नाड़ी - विवाहका निम्ति भावी वरवधूको जन्मकुण्डली भिडाउँदा गुणको गणना गर्ने क्रममा नाडीको सबै भन्दा महत्वपूर्ण स्थान हुन्छ । नाडी व्यक्तिको मन र मानसिक ऊर्जाको सूचक हो । व्यक्तिको निजी सम्बन्ध उसको मन र भावनाद्वारा नियन्त्रित हुन्छ । भावी दम्पतिका रूपमा एउटा लामो कालखण्ड साथसाथै रहने दुईजनामा भावनात्मक समानता हुनु अत्याश्यक छ, तर ती दुईजनामा प्रतिद्वन्दिता भयो भने तिनले एक्साथमा जीवन गुजार्न असहज हुन्छ, विवाह धेरैपटक जोडिने सम्बन्ध पनि होइन । जसरी शरीरमा रहेको वात, पित्त र कफ जस्ता दोषको पहिचान चिकित्सकले हातको नारी छामेर पत्ता लाउँछन्, त्यस्तै दुईजना अपरिचित नारी र पुरुषको भावनात्मक सम्बन्धको जानकारी आदि, मध्य र अन्त्य नामका तीन किसिमका नाडीका माध्यमबाट प्राप्त हुन्छ । वैदिक ज्योतिषका अनुसार आदि, मध्य र अन्त्य - यी तीनवटा नाडीले क्रमशः आवेग, उद्वेग र संवेग द्योतन गर्दछन्, जसबाट सङ्कल्प, विकल्प र प्रतिक्रियाको जन्म हुन्छ । मान्छेको पनि सङ्कल्प, विकल्प वा प्रतिक्रियाद्वारा नै सञ्चालित हुन्छ र उसको मनोदशाको मूल्याङ्कन उसमा रहेको आवेग, उद्वेग वा संवेगको जानकारीबाट थाहा पाइन्छ । यस प्रकार मेलापक चक्रमा नाडीगणनाका माध्यमबाट भावी दम्पतिको मानसिकता र मनोदशाको मूल्याङ्कन गर्न सकिन्छ । नाडीको सङ्ख्या तीनवटा हुन्छ - आदि ,मध्य र अन्त्य । दुबै वर र बधूको एउटै नाडी हुनुहुन्न । यस्तो भएमा दाम्पत्य सम्बन्ध वा विवाह अशुभ मानिन्छ । नाडी एकै किसिमको हुँदा तिनको यौनसम्बन्धमा निरसता हुने सम्भावना एकातिर हुन्छ भने सन्तानोत्पादनमा पनि समस्या आउने देखिन्छ । त्यसैले गुणमिलान चक्रमा यसको सर्वाधिक अङ्क छ । नाडीको मिलान हुँदा एकमुष्ट आठ गुण प्राप्त हुन्छ ।

गुणमिलानमा के कुरालाई बढी महत्त्व दिने त ?
वैदिक ज्योतिषको मेलापक प्रकरणमा गणदोष, भकूटदोष र नाडीदोष - यी तीनवटा तत्त्वलाई सर्वाधिक महत्व दिइएको हुन्छ । यसलाई जम्मा मेलापक चक्रको ३६ गुणमध्ये (गणका निमित्त ६ अङ्क, भकूटका निमित्त ७ अङ्क र नाडीका नैमित्त ८ अङ्क तोकिएकाले पनि सहजै अनुमान गर्न सकिन्छ । गण, भकूट र नाडीको ६, ७ र ८ अङ्कको योग २१ हुन्छ जबकी गुणमिलानका अष्टकूट मध्ये बाँकी पाँचवटा कूट वर्ण, वश्य, तारा, योनी र ग्रहमैत्री सबैको अङ्क १५ मात्र हुन्छ । नाडी एउटैको मात्र ८ अङ्क तोकिएको छ, त्यसैले दुईजनाको आपसी सम्बन्धमा नाडीको अहम् भूमिका रहेको सिद्ध हुन्छ । दुई जना दम्पतिको गुणमिलान गर्दा आवश्यक १८ भन्दा बढी अङ्क प्राप्त भैकन पनि यदि नाडी दोष कायम नै हुन्छ भने पनि कुलीनहरू वैवाहिक सम्बन्ध कायम गर्न मान्दैनन्, किनभने नाडीबाट नै दुईजनाको यौन सन्तुष्टि छछैन निर्क्यौल गर्ने गरिन्छ । विवाह जैविक आवश्यकता परिपूर्तिको स्थायी बन्धन पनि हो । यौनसम्बन्धको असहजताबाट जत्तिबेला पनि दाम्पत्यसम्बन्ध टुट्ने सम्भावना पनि हुन्छ । त्यसैले नाडीलाई मानसिक र मनोवैज्ञानिक विवेचना गर्ने सूत्र हो भन्दा हुन्छ । उता नाडी दोषका कारणले सन्ततिलाभमा समस्या आउने, भएका सन्ततिमा सुस्तमनस्थिति वा अपाङ्गता देखिने सम्भावना पनि हुन्छ । त्यसैले नाडी दोष रहेका दम्पतिका बीचमा यौनसम्बन्धको सामञ्जस्य नरहँदा व्यभिचारको सम्भावना पनि देखिन सक्छ ।

नाडी दोषको दुष्परिणाम
ज्योतिषशास्त्रमा दुबै दम्पतिको आद्य नाडी हुँदा केटाको मृत्यु हुने, दुबैको मध्यनाडी हुँदा केटीको मृत्यु हुने र दुबैमा अन्त्य नाडी हुँदा दुबैको मृत्यु हुने बताइएको भेटिन्छ । त्यसैले नाडी दोषलाई त्याग्न ज्योतिषग्रन्थले निर्देशन दिएको पाइन्छ । (आद्यनाडी वरं हन्ति, मध्यनाडी तु कन्यका । अन्त्यनाडी द्वयोर्मृत्यु नाडीदोषं त्यजेद्बुधः ॥) यस भनाइको तात्पर्यलाई केलाउँदा वर्तमान परिवेशमा नाडीदोषका निम्न दुष्परिणाम प्राप्त भएको देखिन्छ -

क) आद्य नाडीलाई वात प्रकृतिको प्रतीकका रूपमा लिइन्छ । यदि दुबै वरबधूको आद्य नाडि रहेको अवस्था छ भने केटाको स्वास्थ्यमा यस नाडीको कुप्रभाव पर्ने गर्दछ र उसकी स्त्रीमा व्यभिचारको सम्भावना हुन्छ । पुत्र सन्तानको अभाव हुन्छ ।

ख) मध्य नाडीलाई पित्त प्रकृति मानिन्छ । वर र बधू दुबैमा मध्य नाडी हुँदा ती दुईमा परस्परमा अहम् भावना विकसित हुन्छ र राम्रो सम्बन्ध हुन सक्दैन । तिनमा यौन उमेरमा आकर्षण हुनु सामान्य हुन्छ, तर व्यवहारिक जीवन सुरु हुनासाथ विकर्षण बढ्न थाल्दछ र खास गरी केटाले बाह्य सम्बन्ध बनाउने प्रयास गर्दछ । दुई दम्पतीको एक आपसमा लडाइ र झगडा भएर छोडपत्र समेत हुन्छ । जसैतसै असन्तुष्टिका बीचमा सामञ्जस्य गरी सँगै बस्दा पनि सन्ततिसुखको अभाव हुन्छ । गर्भपतनको समस्या देखिइरहन्छ ।

ग) अन्त्य नाडीलाई कफ स्वभावको प्रतीक मानिन्छ । यो सर्वाधिक घातक नाडी दोष हो । यदि दुबै केटा र केटीको अन्त्य नाडी छ भने यस्ता दम्पत्तिमा कफ प्रधान पदार्थहरुको सेवन र चिसो वातावरण हानिकारक हुने गर्दछ । दुई दम्पत्तिको स्वास्थ्यस्थितिमा किसिमकिसिमका समस्या आउँछन् । ती निस्सन्तान हुने सम्भावना प्रबल हुन्छ । दुबैमा यौन व्यभिचारको सम्भावना हुन्छ ।

सङ्क्षेपमा पति र पत्नीको एउटै नाडी हुने स्थितिमा वैवाहिक सम्बन्ध गाँस्नु हुँदैन । जन्मनक्षत्र थाहा हुँदा ककसको कुनकुन नाडी हुने रहेछ थाहा पाउन सकिन्छ-

१- आदि नाडी - अश्विनी, आर्द्रा पुनर्वसु, उत्तराफाल्गुनी, हस्ता, ज्येष्ठा, मूल, शतभिषा र पुर्वाभाद्रपद नक्षत्रमा जन्म लिने जातकको आद्य नाडी हुन्छ ।

२- मध्य नाडी - भरणी, मृगशिरा, पुष्य, पुर्वाफाल्गुनी, चित्रा, अनुराधा, पुर्वाषाढा, धनिष्ठा र उत्तराभाद्रपद  नक्षत्रमा जन्म लिने जातकको मध्य नाडी हुन्छ ।

३- अन्त्य नाडी - कृतिका, रोहिणी, अश्लेशा, मघा, स्वाति, विशाखा, उत्तराषाढा, श्रवण र रेवती  नक्षत्रमा जन्म लिने जातकको अन्त्य नाडी हुन्छ ।

नाडी दोष नहुने अवस्था -
१) 'रोहिण्यार्द्रामृगेन्द्राग्निपुष्यश्रवणपौष्णभम् । अहिर्बुध्नर्क्षमेतेषां नाडीदोषो न विद्यते ॥' (केटा वा केटीको रोहिणी, आर्द्रा, मृगशिरा, कृतिका, पुष्य (तिष्य), श्रवण,हस्ता र उत्तराभाद्रा नक्षत्रमा जन्म भएको छ भने नाडी दोष लाग्दैन ।)
२) केटा र केटी दुबै माङ्गलिक योगका छन् भने तिनलाई नाडी दोष लाग्दैन ।
३) केटा र केटी दुबैको कुण्डलीमा राहु वा केतु मध्ये कुनै ग्रह लग्नमा छ भने पनि नाडी दोष लाग्दैन ।
४) केटा र केटी दुबै आंशिक वा पूर्ण कालसर्प योग रहेको अवस्थामा जन्मिएका छन् भने पनि तिनले नाडी दोष बार्नु पर्दैन । त्यस्तै केटा र केटी मध्ये एकजनाको पूर्ण वा आंशिक कालसर्प योग छ र अर्को एकजनाको जन्मनक्षत्र भरिणी(कालको नक्षत्र), रोहिणी/मृगशिरा (सर्प योनी हुने नक्षत्र), अश्लेषा(सर्पवाचक नक्षत्र), मूल र ज्येष्ठा नक्षत्र वा सर्प वर्ग ('त', 'थ', 'द','ध','न'बाट नाम हुने) छ भने त्यसबाट हुने सम्बन्धमा नाडी दोष निष्क्रिय हुन्छ ।
५) एउटै राशि वा नक्षत्र भएका केटा र केटीको विवाह गर्दा नाडी दोष लाग्दैन तर दुबैको नक्षत्रबाट आउने नाम एउटै नक्षत्रको एउटै चरणमा पर्नु हुँदैन ।
६) माथि नाडी लाग्दा लाग्दै विवाह गर्न सकिने केही आधारहरूको विश्लेषण गरिए तापनि आद्य नाडी हुने अश्विनी र ज्येष्ठा नक्षत्र, हस्ता र शतभिषा नक्षत्र, उत्तरफाल्गुनी र पूर्वभाद्रपद नक्षत्रका बीचमा जेजस्तो परिहार देखिए पनि विवाह नगर्नु नै उचित हुने मानिन्छ । त्यस्तै मध्य नाडी हुने भरणी र अनुराधा, पूर्वाफाल्गुनी र उतराफाल्गुनी, पुष्य र पूर्वाषाढा, मृगशिरा र चित्रा, चित्रा र धनिष्ठा, मृगशिरा र धनिष्ठा नक्षत्रका माझमा पनि दम्पत्य सम्बन्ध कायम गर्नु हुँदैन । अन्त्य नाडी हुने कृतिका र विशाखा, रोहिणी र स्वाति, मघा र रेवती नक्षत्रका जोडीको समेत दाम्पत्य सम्बन्ध कायम गराउनु बेस हुँदैन । यस्तो सम्बन्ध गाँसिन पुगेमा दुई जना मध्ये एक जनाले दीर्घरोगी भई जीवन गुजार्ने सम्भावना हुन्छ ।

नाडी दोषबाट मुक्त हुने केही उपायहरू -
विवाह पहिले नै विधिवत् ज्योतिषीको सल्लाह प्राप्त गरेर प्राप्तसुझावका आधारमा दाम्पत्यजीवन सुरु गर्दा हुनसक्ने दोषबाट जोगिन सकिन्छ, तर जसले कुण्डली मिलान नगरी विवाह गरेका छन् र नाडीदोष परेको छ, तिनीहरूको जीवनमा देखिएका विकृतिलाई शमन गरी बाँकी जीवनलाई सहज तुल्याउन पनि सकिन्छ । पछि उपाय गर्नुभन्दा विवाह गर्नु पहिले नै भरिसक्य गणितीय विश्लेषण गरी गरिएको दाम्पत्य सम्बन्धमात्र पूर्णरूपेण आनन्ददायक र सफल हुन्छ, पछि गरिने उपाय वा उपासनाले दुई जनाको समझदारी, वैचारिक सामञ्जस्य र विवेकसम्मत तालमेल भएमा मात्र माथि वर्णन गरिएका विकृति आउनबाट जोगिन सकिन्छ ।

१- वर र कन्या दुबैको एउटै नाडी छ भने नारीपुरुषको स्वास्थ्यमा प्रतिकूल असर पर्छ र प्राणान्तको सम्भावना पनि हुन्छ, त्यसैले यस्ता दम्पतिले भक्तिपूर्वक प्रत्येक वर्ष रुद्राभिषेकसहित १०८ आवृत्ति महाकाल शनिमृत्युञ्जय स्तोत्र आफैंले वा नैष्ठिक ब्राह्मणद्वारा पाठ गर्नु/गराउनु पर्दछ । दुबैको आद्यनाडी हुँदा पुरुषले, मध्यनाडी हुँदा स्त्रीले र अन्त्य नाडी हुँदा दुबैले महामृत्युञ्जय मन्त्र नैष्ठिक ब्राह्मणका मुखबाट श्रवण गरी प्रत्येक दिन १०८ पटक जाप गर्नुपर्दछ ।

२- वर र कन्या दुबैको एउटै नाडी छ भने सङ्कल्प गरी प्रत्येक तीनतीन वर्षमा विद्वान् र नैष्ठिक ब्राह्मणलाई गोदान, स्वर्णदान वा भूमिदान गर्नु पर्छ ।

३- प्रत्येक वर्ष आफ्नो वैवाहिक मिति (anniversory)मा आफ्नो तौलबराबरको अन्न दान गरी ब्राह्मण भोजन गराउनु पर्छ ।

४- नाडी दोषको प्रभावलाई कम गर्न आहार, विहार र आचरणमा विशेष ध्यान दिनुपर्छ । सात्विक आहार र परोपकारी भावना एवं सदाचारी हुनु अनिवार्य छ ।

५- वर वा कन्याको कुण्डली जाँचेर मारकेश ग्रहको महादशा र अन्तर्दशाको अवधिमा उक्त ग्रहको विशेष स्वस्तिशान्ति गर्नु आवश्यक छ ।

'नाडी दोषस्तु विप्राणां वर्णदोषस्तु भुभृताम् । गणदोषस्तु वैश्यानां शुद्राणां योनीदूषणम् ॥' भन्ने प्रमाणका आधारमा ब्राह्मण वर्णका मानिसले नाडीदोषलाई, क्षत्रीय वर्णका व्यक्तिले वर्णदोषलाई, वैश्य समुदायका मानिसले गणदोषलाई र शुद्र जातिका व्यक्तिले योनीदोषलाई निवारण गर्नु पर्ने एउटा धारणा ज्योतिषीय परम्परामा पाइन्छ तर खास गरी कर्कट, बृश्चिक र मीन राशीमा जन्म लिने जातकको ब्राह्मण वर्ण हुने भएकाले ती राशीका जातकले पनि नाडीदोषलाई, मेष, सिंह र धनु राशीका जातकको क्षत्रीय वर्ण हुने भएकाले तिनले वर्णदोषलाई, बृष, कन्या र मकर राशीका व्यक्तिको नैसर्गिक वैश्य वर्न हुने भएकाले तिनले गणदोषलाई र मिथुन, तुला र कुम्भ राशीका व्यक्तिको नैसर्गिक रूपमा शुद्र वर्ण हुने भएकाले तिनले योनीदोषलाई अति नै महत्त्व दिई प्राथमिकतापूर्वक निवारण गरी गरिएको विवाहबाट सफल दाम्पत्य जीवनको आकाङ्क्षा गर्न सकिन्छ ।

Sunday, January 15, 2017

पूर्वीय संस्कारमा विवाह पद्धति

- अच्युतप्रसाद पौडेल 'चिन्तन’

योग्य सन्तान तयार गरी सिर्जनालाई सञ्चालन गर्ने क्रममा पूर्वीय दर्शनमा विवाह संस्कारलाई निकै महत्त्व ढंगले हेरिने गर्छ  । जीवात्माहरूको उदय 'पुं' र 'प्रकृति'को संयोग हो । असल दाम्पत्यसुख, पतिपत्नीको आदर्श चरित्र, सामाजिक बन्धन, सामाजिक सन्तुलन, सच्चरित्रता आदिबाट नै आदर्शसमाजको निर्माण हुने गर्छ । संसारमा उदय भएका र हुने सबै वस्तु, जीवहरू स्त्री र पुं तत्त्वको संयोगले नै भएका हुन्, हुनेछन् । कतिपय परिवेशमा विवाह भनेको जोडी मिलन हो भनिए पनि पूर्वीय संस्कृति र संस्कारमा जोड मिलनको संयोग मात्र नभएर देवत्व प्राप्ति, मोक्ष प्राप्तिसमेतलाई विवाह संस्कार एउटा असल आधार मानिएको छ । विवाहमण्डपमा अग्निदेव साक्षी रहनु, मन्दिरपरिसरमा देवदेवीलाई साक्षी राख्नु, वैदिक विधिपूर्वक कन्यादान गर्दा सारा ब्रह्माण्डलाई साक्षी राखिनु, ग्रह, गुण, तारा लग्न, बेला, मुहूर्त, घडी, पला, शुभ समय पारी ज्योतिष शास्त्रअनुसारसमेत, वास्तुपद्धतिअनुरुप यज्ञमण्डप निर्माण गरी समाजका सारा व्यक्तिहरूलाई देखाई, सुनाई बाजागाजासहित गरिएको बिहे केवल जोडी मिलन मात्र नभएर एउटा नैतिक र कानूनी बन्धनसमेत भन्ने स्पष्ट हुन्छ । भग, अर्यमा, सूर्य, इन्द्रआदिले दम्पतीजीवन, गृहस्थजीवन सुखमय, शालीन, सभ्य, नैतिक, चारित्रिक, कुशल र योग्य गराई सफल दाम्पत्य जीवन र यसले प्राप्त गर्ने सुख ऐश्वर्यका साथै भविष्यको उज्ज्वल र दैवीगुण सम्पन्न पारेर आफ्नो परिवेश स्थापित गर्नेसमेत वैवाहिक संस्कारबाट आशा गरिन्छ । परमेश्वर शिवको अर्द्धनारीश्वर रुपझैँ दम्पती जोडीलाई अलग अंगको रुपमा नहेरी एउटै पूर्णाङ्गका रुपमा हेर्ने गरिन्छ  । जीवनमा सुख भोगदेखि अन्त्यमा परमात्मा प्राप्तिसम्मलाई मार्गप्रशस्त हुने बिहेसंस्कार, जीवनको थप भारवहन क्षमताको प्रारम्भिक संकेत पनि हो । संस्कृतिमा रहेको षोड्श संस्कारमध्ये विवाहलाई ज्योतिषीय पद्धतिमा समेत हेर्ने गरिए जीवन बढी सुखमय हुने गर्छ । असल दाम्पत्य जीवनबाट मात्र धर्म, अर्थ, काम र मोक्ष अर्थात् जीवनका चार प्रमुख पुरुषार्थ प्राप्ति हुने कुरा मनुस्मृति, वास्तुशास्त्र एवं ज्योतिषशास्त्रले ठोकुवा गरेको छ । हाम्रो समाजमा अहिले पारिवारिक तनाव, कलहदेखि सम्बन्धविच्छेदजस्ता परम्पराले पनि जरो गाड्न थालेको छ । विवाहपूर्व जन्मकुण्डलीको अध्ययन नहुनु अष्टकुट (वर्ण, तारा, योनी, ग्रहमैत्री, गण, भकुट, नाडी आदि) विचार नगरी मांगलिकसमेत दोषका कारण दाम्पत्य जीवन तनावपूर्ण हुन सक्छ । अष्टकुट मिल्दैमा पनि विवाह सफल नभएका र कुण्डलीको सप्तम भावलाई बढी ध्यान दिइनु पर्ने देखिन्छ । विवाहको कारक ग्रह शुक्र एवं वृहस्पतिसमेतलाई ध्यान दिइनुपर्ने तथा अतिरिक्त ग्रहको दृष्टि, ग्रहको स्थिति र अन्तर सम्बन्ध हेरिनुपर्ने हुन्छ । सामान्यतया सप्तम भावमा ग्रहहरू अशुभ रहनाले, सप्तमेश अशुभ ग्रहसँग बस्नु या अशुभग्रहबाट प्रभावित हुनुलाई नराम्रो भन्ने गरिन्छ । ग्रहको बल, अवस्था, स्वभावअनुसार शुभ, अशुभ हुनेहुँदा सम्पूर्णमा तुलनात्मक अध्ययन गरेर त्यसका उपचार पद्धतिलाई अपनाएर बिहे गर्न सकिएमा दाम्पत्य जीवन चिर स्थायी र लक्ष्यउन्मुख हुन्छ । बिहेपछि पनि ज्योतिषीय राय परामर्श रहेमा उपचारात्मक प्रक्रियामा जान सजिलो पर्छ र केही हदसम्म जोखिमहरूलाई न्यून गराउन सकिन्छ । बिहे लक्ष्मीनारायण, उमामहेश्वर, सीताराम, राधेश्याम आदि जोडीजस्तै मांगलिक बनाउन हरतरहले प्रयास गरिएमा विवाह संस्कार थप वैज्ञानिक पनि हुन सक्छ ।  विवाह व्रतबन्ध आदिमा आजभोलि बाहिरी खानपानमा अधिक महत्त्व दिने गरेको र वैदिक विधिले गरिने यज्ञ कार्यमा कम चासो राख्ने गरेको पाइएको छ । हतारमा कार्य सक्ने फुर्सदमा पछुताउने परम्पराले कर्मबाट प्राप्त फल शुभ हुँदैन । शुभमुहूत, लग्न, बेला, सबै समय मिलाएर विवाह कार्य गर्न सके दाम्पत्य जीवन सफल बन्छ । प्रेम, सद्भाव पनि यथेष्ट रुपमा हुन्छ । विवाहमा लोकोक्तिलाई पनि हेरिनु पर्छ  । सगोत्री विवाह, नाताभित्रको विवाह, अनावश्यक भडकिलो खर्चिलो विवाह, शास्त्रनिषेध विवाहले जीवन सफल हुँदैन । कुलपरम्परा, स्थानीय परिवेश, स्थानीय वातावरण, रीतिस्थितिलाई चाहिँ स्वीकार गर्नैपर्छ  

साभार :   न्युज् अफ् नेपाल

Saturday, November 26, 2016

सुखद दाम्पत्यसम्बन्ध र ज्योतिष

पारिवारिक सुख, यौनसुख, व्यापारसुख, प्रेमसुख, विवाह आदिलाई लग्न कुण्डलीको सप्तम स्थानबाट हेर्ने गरिन्छ । पारिवारिक सुख प्राप्त गर्नका निमित्त पारिवारिक यौन र प्रेम सुख प्राप्त गर्नु आवश्यक ठानिन्छ । विवाह एउटा सम्झौता हो, कुण्डली मिलाए पनि वा नमिलाई विवाह गरको छ भने पनि पतिपत्नीका बीचमा समझदारी र सहकार्यका अभावमा दाम्पत्य जीवनको सुखमा रमाउन सकिदैंन । पुनः ज्योतिषीसँग परामर्श गरी विवाह गर्नु भनेको सुखसम्मृद्धि र चिरकालसम्म जीवन आनन्दपूर्वक व्यतीत होस् भन्ने उद्देश्य त रहन्छ नै तर मुख्य विषय दुई मनको मिलन हो, दुई शरीरको आध्यात्मिक संयोजन र एकाकार हो  । सनातन हिन्दु धर्ममा व्यवस्था भएअनुसार विवाहलाई आठ भागमा विभाजन गरिएको पाइन्छ -

१. ब्रह्म विवाह - वर र बधू दुबै पक्षको सहमतिमा समान वर्गका सुयोग्य केटा र केटीको विवाहलाई ब्रह्म विवाह भनिन्छ । सामान्यतः यस विवाहमा परम्परित विधिविधानको पालना गरी वरपक्षबाट जन्ती गई कन्यालाई घरमा ल्याउने गरिन्छ । अहिलेको परम्परित Arranged Marriage नै ब्रह्म विवाह हो ।

२. दैव विवाह - कुनै सेवा कार्य (विशेषतः धार्मिक अनुष्ठान) पछि कन्या पक्षले कन्यादान गर्नुलाई दैव विवाह भनिन्छ । अहिले कतैकतै कुनै विशिष्ट पण्डित वा कथावाचकलाई पुराण वा त्यस्तै  धार्मिक कृत्यको आयोजना गरी कन्यादान गरेको सुन्नमा आए पनि यस किसिमको विवाह प्रचलनमा छैन ।

३. आर्ष विवाह - कन्या पक्षद्वारा कन्याको शुल्क तोकी रकम लिएर कन्यादान गर्ने विधान आर्ष विवाह  हो । छोरीको अभाव भएका बेला वा सम्भ्रान्त कन्याको विपन्न पुरुषसँग विवाह हुने परिस्थितिमा यो विवाह प्रचलनमा रहेको थियो । यस विवाहमा वर पक्षले शुल्क बुझाउनु पर्दथ्यो ।

४. प्राजापत्य विवाह - कन्याको सहमति नखोजी अभिभावकको इच्छाले कुनै पाको उमेर वा सम्भ्रान्त वर्गको वरसित विवाह गर्ने परिपाटीलाई प्राजापत्य विवाह भन्ने गरिन्छ ।

५. गान्धर्व विवाह - अभिभावकको स्वीकृति नलिई एकआपसमा प्रेम गरी गरिने विवाहलाई गान्धर्व विवाह भन्ने गरिन्छ । यस पद्धतिमा केटा र केटीले घरपरिवारलाई वास्ता नगरी  भागेर विवाह गर्ने गर्दछन् ।

६. आसुर विवाह - विपन्न वर्गका मातापितलाई डर, त्रास र धम्की दिई वा आर्थक प्रलोभनमा पारी केटी किनेर गरिने विवाहलाई आसुर विवाह भनिन्छ ।

७. राक्षसी विवाह - कन्या र उसको परिवार वा अभिभावकको स्वीकृति नलिई अपहरण गरी गरिने विवाहलाई राक्षसी विवाह भनिन्छ ।

८. पैशाची विवाह - कन्यालाई टुना, मुना गरी बेहोस बनाई वा मदिरा वा औषधीले लट्ठ्याई शारीरिक वा मानसिक दुर्बलताको लाभ उठाई यौन सम्बन्ध कायम गरेर पछि विवाह गर्नु पैशाची विवाह हो ।

शास्त्रमा यी आठ किसिमका विवाहका विधि प्रचलित भए पनि आधुनिक समाजमा विवाहलाई दुई किसिमले हेर्ने गरिन्छ - (१) परम्परित विवाह (Arranged Marriage) र (२) प्रेम विवाह (Love Marriage) । सामान्य भाषामा कर्मकाण्डको प्रक्रिया अपनाई गरिने विवाह परम्परित विवाह हो भने विधिविधान नअपनाई, सामाजिक मूल्य र मान्यताको विचार नगरी केवल आकर्षणलाई मुख्य आधार मानेर गरिने विवाह प्रेम विवाह हो । परम्परित विवाहमा हैसियत, परम्परा, संस्कार र जातधर्मको हेक्का राखिन्छ भने प्रेमविवाहमा धर्म, जाति, रङ्ग, हैसियत र संस्कार नमिल्न पनि सक्छ।

हाम्रो समाजले प्रेम विवाहलाई अझै पनि सहज ढङ्गले स्वीकार गरिसकेको अवस्था छैन । अधिकांश जोडीको छनोट परम्परित प्रकार अर्थात् मागी विवाहकै आधारमा छनोट हुने गर्दछ । सामान्यतया मागीविवाह गर्दा र विवाहको शुभ समयको लागि आफुले जानेबुझेको ज्योतिषीकहाँ पुगेर वैवाहिक परामर्श लिने चलन रहेको छ । यसरी परामर्श दिंदा ज्योतिषीले केटा र केटी दुबै थरिको जन्म कुण्डलीको अध्ययन गरी सुझाव दिने गर्दछन् । हिजोआज ज्योतिषको सैद्धान्तिक पहुँचको प्रसार भएकाले र इन्टरनेटमार्फत फेसबुक, ट्वीटर, भाइबर, ह्वाट्सप र विभिन्न वेभसाइटमा उपलब्ध ज्योतिषहरूको छ्यापछ्याप्ती भएकाले प्रेमीप्रेमिकाले पनि वैवाहिक जीवनमा बाँधिनुअघि ज्योतिषीय परामर्श लिएको पाइन्छ । यसरी परामर्श दिंदा ज्योतिषीले तपार्इं र भावी दम्पतीको कुण्डली अध्ययन गरी मुख्यतः सप्तम स्थान, सप्तमेश, शुक्र र बृहस्पति ग्रहको वस्तुस्थिति, माङ्गलिक योग, कालसर्प योग आदिको विचार गरी निर्णय सुनाउने गर्दछन् । ज्योतिषमा विशेषतः प्रेम या विवाहको सम्बन्धबारे बताउन मङ्गल, शुक्र र चन्द्रमाको अवस्थाको आकलन गर्नुपर्दछ, किनभने मङ्गल ग्रहले आत्मबल, उत्साह र  ऊर्जा प्रदान गर्दछ, शुक्रले यौन सामर्थ्य, भोगविलास र प्रेमिल वातावण सिर्जना गर्न सघाउ पुर्याउँछ भने चन्द्रमाको सम्बन्ध मन र भावनासँग हुन्छ ।

विवाह र दाम्पत्यसम्बन्धमा सातौं भावको मालिक र त्यस भावमा बसेको ग्रहको विशेष भूमिका हुन्छ । उदारहणका लागि सातौं भावको केतुले विशेष यौनाकर्षणको सङ्केत गर्दछ, त्यस भावमा केतु बसेको पुरुषबाट यौन व्यभिचार (Play Boy) हुनसक्ने र स्त्रीमा मनोरोग, चिन्ता, शङ्का आदिको सम्भावना हुन्छ । यस्ता जातकले जतिवेला पनि वैवाहिक मान्यता र सिद्धान्त भङ्ग गरी अघि बढ्ने खतरा हुन्छ । त्यस्तै सातौं भावमा शुक्र बसेको छ भने व्यक्ति कामुक स्वभावको हुन्छ । जन्म कुण्डलीको जुनसुकै भावमा बलियो शुक्र हुँदा दाम्पत्य जीवन सहज भएको देखिन्छ भने कमजोर, नीच, अस्त वा राहु र केतुद्वारा दूषित शुक्र हुँदा व्यक्ति यौन शोषणमा पर्ने वा यौन ग्रन्थीमा रोगव्याधिजन्य विकार आउने सम्भावना प्रबल हुन्छ ।

त्यस्तै विवाहमा मङ्गल ग्रहको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । लग्ने, व्यये च पाताले जामित्रे चाष्टमे कुजे, पत्नी हन्ति स्वभर्तारं भर्ता पत्नीं विनाशयेत् भनी पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भावमा बसेको मङ्गलले दाम्पत्यसुखमा विघ्न गर्ने मत सबैले मानेको पाइन्छ । त्यसमध्ये पनि सातौं भावमा बसेको मङ्गल ग्रह भए अझ अनिष्ट हुन्छ भन्ने गरिन्छ, नेपालका आमज्योतिषहरूले यस परिस्थितिलाई सतमङ्गली भन्ने गर्दछन् । तर माङ्गलिक योग हुने बितिक्कै खराब नै हुन्छ भन्ने होइन । कुण्डलीको बनोट हेर्दा संसारका लगभग ४३ प्रतिशत व्यक्तिमा माङ्गलिक योगको सम्भावना हुन्छ । यसको अर्थ माङ्गलिक योग हुनेले माङ्गलिक योग हुनेसँग नै विवाह गर्नुपर्छ । अन्यथा यसको दोष व्यहोर्नु पर्दछ । उता जसको कुण्डलीमा माङ्गलिक योग छ, उसको आफ्नै कुण्डलीमा माङ्गलिक दोष भङ्ग गर्ने योग पनि हुनसक्छ । जसले मङ्गल ग्रहले दाम्पत्य जीवनमा प्रदान गर्ने अशुभता हटाउन मद्दत गर्दछ । उदाहरणका लागि दशमे च यदा सौरि लग्ने वा हिबुकेथवा, नवमे द्वादशे चैव भौम दोषो नविद्यते अर्थात् माङ्गलिक योग भएको कुण्डलीमा यदि पहिलो, सातौं, नवौं, दसौं र बाह्रौं भावमा शनि बसेको छ भने उसको माङ्गलिक योग निष्क्रिय हुन्छ । त्यसैले उसले माङ्गलिक योगको प्रकोप सहनु पर्दैन । त्यस्तै मङ्गल ग्रहका साथमा शनि, बृहस्पति र चन्द्रमाको केन्द्रीय सम्बन्ध छ भने पनि यो दोष लाग्दैन ।

दाम्पत्य सुखमा ठूलो प्रभाव नपारे पनि सातौं भावमा कर्कट, सिंह, बृश्चिक, मकर र कुम्भ राशि परेको तथा उक्त भावमा सूर्य, मङ्गल, बृहस्पति (एक्लो), शुक्र (एक्लो) वा शनि ग्रह बसेको छ भने पतिपत्नीका बीचमा मतभेद हुने र सम्बन्ध विच्छेद भई अर्को विवाह हुने सम्भावना हुन्छ । त्यस्तै सातौं भावमा राहु वा केतु छ भने पति वा पत्नीको कुण्डलीमा पनि राहु र केतु केन्द्रवर्ती हुनुपर्छ अनि मात्र दाम्पत्य जीवन सहज हुनसक्छ । दाम्पत्य जीवनलाई सुखपूर्ण बनाउन कालसर्पयोगको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ । यदि कसैको कुण्डलीमा कालसर्प योग छ भने उसको जीवनसाथीको कुण्डलीमा पनि कालसर्प योग वा राहु ग्रह बलशाली हुनु अनिवार्य हुन्छ । त्यस्तै भरिणी, रोहिणी, मृगशिरा, आर्द्रा, अश्लेषा, स्वाती, ज्येष्ठा, मूल, शतभिषा आदि नक्षत्रका जातकका लागि कालसर्प योग भएको जीवनसाथी उपयुक्त मानिन्छ । अनि सातौं भावको मालिक वा पत्नीकारक मानिएको ग्रह कुण्डलीमा एक्लै छ वा दुष्ट ग्रहका साथमा बसेको छ भने पनि दाम्पत्य जीवनमा विघ्न सिर्जना हुन्छ ।

बुध ग्रहलाई नपुंसक ग्रह मान्ने गरिनछ । कुनै स्त्रीको कुण्डलीमा पाँचौं वा सातौं भावमा बुध र राहु वा केतुको युति सम्बन्ध छ भने उसको पति नपुंसक हुन्छ । सन्तानप्राप्तिका लागि उसले परपुरुषको सहयोग लिनुपर्दछ वा निषेचन पद्धति अपनाउनु पर्दछ । नत्र बाँझोपनको खतरा हुन्छ । शनि र राहु वा केतुको यस्तो अवस्था पनि सन्तानका लागि अनिष्ट हुने गर्दछ ।

कुण्डलीको पाँचौं भावबाट प्रेमसम्बन्ध कायम हुन्छ । पाँचौं भावमा बसेको चन्द्रमा र शुक्रले प्रेमजीवन सफल बनाउँछ । पाँचौं भावको मालिक पाँचौं, आठौं, एघारौं र दोस्रो भावमा बसेमा व्यक्तिले आफूले मन पराएको व्यक्तिसित विवाह गर्दछ र उसको पारिवारिक जीवन सुखसम्मृद्धि र भोगविलासले युक्त हुन्छ । पाँचौं भावमा सूर्य, मङ्गल, बृहस्पति, शनि, राहु वा केतु छ भने प्रेम त गराउन सक्छ तर प्रेमसम्बन्ध भङ्ग हुन्छ ।

यहाँ पूर्वीय ज्योतिषशास्त्रका केही सिद्धान्त र मान्यताहरू उल्लेख गरिएको छ, जसको सम्बन्ध प्रत्यक्षतः प्रेमप्रसङ्ग, वैवाहिक जीवन र दाम्पत्यसुखसँग जोडिएको हुन्छ :-

१) जन्मकुण्डलीको सातौं भावमा निर्बल, शत्रुगृही, नीच वा थोरै अंशको शनिश्चर ग्रह बसेको छ भने व्यक्तिमा नपुंसकता हुने वा प्रजनन प्रणाली र यौन ग्रन्थीमा किसिमकिसिमका रोगव्याधि लाग्ने सम्भावना हुन्छ । बृहस्पति र शुक्र चतुर्थेशका साथमा सप्तममा भए नपुंसक योग बन्दछ। शनि सातौं भएर त्यसमाथि पापग्रह युक्त सूर्यको दृष्टि परेमा पनि व्यक्ति नपुंसक बन्दछ । सूर्य, शनि र षष्ठेश छैटौंमा रहेमा, सप्तम चन्द्रमाथि बुधको पूर्ण दृष्टि भएमा पनि सन्तानप्राप्तिमा कठिनाइ उत्पन्न हुन्छ ।

२) कुनै महिलाको कुण्डलीमा सातौं भावमा शनि वा सूर्यको उपस्थिति छ भने प्रथम पति वा प्रेमीसित उसको दाम्पत्य जीवन सफल हुन सक्दैन । त्यस्तै पुरुष वा स्त्रीको कुण्डलीको सातौं भावमा चन्द्रमा बसेको छ भने दोस्रो विवाहबाट दाम्पत्यसुख प्राप्त हुनेगर्दछ, अझ चन्द्रमा नीच वा कमजोर छ भने पहिलो पति वा पत्नीलाई दीर्घरोग लाग्ने सम्भावना पनि हुन्छ ।

३) सप्तमेश अष्टम र अष्टमेश सप्तम भावमा घर साटेर बसेको अवस्था छ भने निश्चित रूपमा वैवाहिक जीवन भङ्ग हुने गर्दछ ।

४) कुनै जन्मकुण्डली वा नवमांशक कुण्डलीको सातौं भावमा मङ्गल ग्रहको राशि परेको छ भने वैवाहिक जीवनमा कलह र विवादको स्थिति उत्पन्न हुन्छ । यस्तो परिस्थितिमा पति वा पत्नीको यौनाचरणमा अविश्वास उत्पन्न हुनसक्छ ।

५) कुनै स्त्रीको कुण्डलीमा सप्तम भावमा चन्द्र, शुक्र र मङ्गल तीनवटै ग्रह एक साथ बसेको छ भने तिनको यौनजीवन राम्रो हुँदैन । तर पतिले परपुरुषसँग सम्बन्ध छ भन्ने थाहा पाएर पनि चरित्र थाहा हुँदाहुँदै पनि पुरुषले स्वीकार गरिरहन्छ ।

६) सप्तम भावमा शनिश्चर ग्रह र लग्न या चतुर्थ भावमा मङ्गल ग्रह बसेको अवस्था छ भने स्त्रीको विवाहमा बिलम्ब हुन्छ । यी ग्रहमध्ये शनि र मङ्गल बाल्यावस्था वा मृतावस्थामा छन् भने त विवाह नहुने सम्भावना पनि हुन्छ ।

७) कुनै पुरुषको जन्मकुण्डलीको सातौं भावको मालिक दोस्रो वा बाह्रौं भावमा छ अथवा द्वितीयेश वा द्वादशेश तृतीय भावमा छ भने त्यस्तो पुरुषले जुन स्थानमा पुगे पनि स्त्रीसुख भोग गर्न पाउँछ । अशुभ ग्रहको महादशाकालमा उसले स्त्रीका कारण बन्दी जीवन बिताउने बाध्यता सिर्जना हुन्छ ।

८) राहु ग्रह आफूस्वयंले अशुभ फल प्रदान गर्दैन, तर जुन ग्रहसँग यस ग्रहको युतिसम्बन्ध वा दृष्टिसम्बन्ध कायम हुन्छ, त्यस ग्रहको नैसर्गिक फलमा यसले ग्रहण लगाउने गर्दछ । त्यसैले पुरुषको कुण्डलीमा शुक्र र राहुको मिलनले नपुंसकता ल्याउँछ भने स्त्रीको कुण्डलीमा यस्तो अवस्था छ भने उसले यौनशोषण खेप्नुपर्दछ । त्यस्तै सातौं भावमा चन्द्रमाका साथमा राहु ग्रहको यूति या दृष्टि सम्बन्ध भएमा अन्तर्जातीय विवाह हुने सम्भावना प्रबल हुन्छ । त्यस्तै सूर्य र राहुको युति वा दृष्टिसम्बन्ध छ भने जीवनसाथीको हैसियत, धनवैभव र आचरण आफ्नोभन्दा कमजोर हुन्छ । त्यस्तै सातौं भावमा मङ्गल र राहुको मिलन छ भने व्यक्तिको पहिलो विवाह सफल हुँदैन ।

९) सूर्य र शनिको युति वा दृष्टिसम्बन्धलाई पनि ज्योतिषशास्त्रले राम्रो मान्दैन । सातौं भावमा यस्तो परिस्थिति सिर्जना भयो भने वैवाहिक सम्बन्धमा असर पारी दोस्रो विवाहको सङ्केत गर्दछ र दोस्रो विवाह पनि असफल हुने खतरा हुन्छ ।

१०) सप्तमेश चतुर्थ या दशौं भावमा भएमा सजातीय पति वा पत्नीसित विवाद हुने गर्दछ, तर अन्तर्जातीय विवाह सफल हुन्छ ।

११) मङ्गल र शुक्र दुबै ग्रह सातौं भावमा छ र धनु राशिमा बृहस्पती र राहु तथा आठौं भावमा सूर्य र चन्द्रमा भए पनि जातकको वैवाहिक जीवनमा किसिमकिसिमका समस्या सिर्जना हुन्छन् ।

१२) मेष लग्न भएका जातकको छैंटौं, आठौं र बाह्रौं भावमा कुनै ग्रह बस्नु अशुभ मानिन्छ । यदि शुक्र कमजोर र दुर्बल छ भने त्यस्तो जातकको जतिवटा विवाह भए पनि वैवाहिक जस्वन सफल हुँदैन ।

१३) जन्मकुण्डलीको सातौं भावमा बसेको सूर्यमाथि पापग्रहको दृष्टि छ या बक्री छ भने पतिले त्याग्ने छ या सम्बन्ध विच्छेद हुनेछ । त्यसमा बृहस्पती या शुक्रको दृष्टि पुगेमा पुनः विवाहको अवस्था आउँछ।

१४) लग्नबाट गोचर बृहस्पती जब १, ५, ९, ११ स्थानमा आइपुग्छन् तब विवाहको अवस्था आइपुग्छ । सप्तमेश या द्वितीयेशको अन्तर्दशामा विवाहको योग बन्दछ । चन्द्र या शुक्रबाट सप्तम घरको मालिकको दशामा जब शुक्रको अन्तर्दशा आउँछ तब विवाहको अवसर प्राप्त हुन्छ ।

१५) ज्योतिष शास्त्र अनुसार सप्तम स्थानबाट मृत्यु पनि हेर्ने गरिन्छ । सामान्यतया व्यक्तिको मारक ग्रहको दशा, अन्तर्दशा वा गोचर कुण्डलीको लग्न वा आठौं भावमा मारक ग्रह आएको समयमा मृत्यु हुने गर्दछ । त्यस्तै लग्नेशको महादशामा द्वितीयेश या सप्तमेशको अन्तर र सप्तमेशको महादशामा अष्टमेशको अन्तर आउँदा पनि मृत्युको भय हुन्छ । सातौं सूर्य, दशौं शनि र चौथोमा मङ्गल भए शस्त्र, अग्नि अथवा राजाद्वारा मरण हुन्छ । सातौं मङ्गल, लग्नमा शनि र चन्द्रमा भए मेशिनद्वारा मरण हुन्छ । सूर्य, शनि र राहु सातौंमा भए सर्पको भय हुन्छ । सातौं राहु, आठौं शनि र छैटौंमा मंगल भए पत्नीनाश गर्ने योग बन्दछ । सप्तम मङ्गल, त्यसमाथि शनि, सूर्य या राहुको पूर्ण दृष्टि छ भने विवाहको छोटो समयमा नै उसको प्रेमी या लोग्नेको मृत्यु हुन्छ ।

१६) कुनै स्त्रीको लग्नकुण्डली वा नवमांशक कुण्डलीमा सातौं भावमा मेष, वृश्चिक, मकर या कुम्भ राशि भएमा मासिक धर्ममा समस्या वा श्वेत प्रदर(धातु) र योनी गन्हाउने समस्या हुन्छ ।

१७) सप्तम भावमा पापग्रह या नीचग्रहको पूर्ण दृष्टि रहेमा उसको विवाहमा अनेकौं समस्याहरु उत्पन्न हुने गर्दछ, प्रायशः अन्तर्जातीय विवाह हुन्छ र आफू भन्दा निकै कम उमेरको वर वा बधूसँग विवाह हुन्छ ।

१८) सप्तम मङ्गल भएर पापग्रहले युक्त या दृष्ट चन्द्रमा लग्नमा भएमा आमालाई कष्ट पुर्‍याउँछ । सप्तम मङ्गलमाथि नीच शनि या बृहस्पतिको पूर्ण दृष्टि भएमा जातकमा मानसिक रोगको सम्भावना हुन्छ ।

१९) लग्न या सातौंमा सूर्यादि सबैग्रह भएमा शकट योग बन्दछ । यस योगले व्यक्तिलाई राजासरह धनधान्य र सुखसुविधाले युक्त वैभव प्राप्त हुन्छ ।

Sunday, November 20, 2016