Saturday, November 26, 2016

सुखद दाम्पत्यसम्बन्ध र ज्योतिष

पारिवारिक सुख, यौनसुख, व्यापारसुख, प्रेमसुख, विवाह आदिलाई लग्न कुण्डलीको सप्तम स्थानबाट हेर्ने गरिन्छ । पारिवारिक सुख प्राप्त गर्नका निमित्त पारिवारिक यौन र प्रेम सुख प्राप्त गर्नु आवश्यक ठानिन्छ । विवाह एउटा सम्झौता हो, कुण्डली मिलाए पनि वा नमिलाई विवाह गरको छ भने पनि पतिपत्नीका बीचमा समझदारी र सहकार्यका अभावमा दाम्पत्य जीवनको सुखमा रमाउन सकिदैंन । पुनः ज्योतिषीसँग परामर्श गरी विवाह गर्नु भनेको सुखसम्मृद्धि र चिरकालसम्म जीवन आनन्दपूर्वक व्यतीत होस् भन्ने उद्देश्य त रहन्छ नै तर मुख्य विषय दुई मनको मिलन हो, दुई शरीरको आध्यात्मिक संयोजन र एकाकार हो  । सनातन हिन्दु धर्ममा व्यवस्था भएअनुसार विवाहलाई आठ भागमा विभाजन गरिएको पाइन्छ -

१. ब्रह्म विवाह - वर र बधू दुबै पक्षको सहमतिमा समान वर्गका सुयोग्य केटा र केटीको विवाहलाई ब्रह्म विवाह भनिन्छ । सामान्यतः यस विवाहमा परम्परित विधिविधानको पालना गरी वरपक्षबाट जन्ती गई कन्यालाई घरमा ल्याउने गरिन्छ । अहिलेको परम्परित Arranged Marriage नै ब्रह्म विवाह हो ।

२. दैव विवाह - कुनै सेवा कार्य (विशेषतः धार्मिक अनुष्ठान) पछि कन्या पक्षले कन्यादान गर्नुलाई दैव विवाह भनिन्छ । अहिले कतैकतै कुनै विशिष्ट पण्डित वा कथावाचकलाई पुराण वा त्यस्तै  धार्मिक कृत्यको आयोजना गरी कन्यादान गरेको सुन्नमा आए पनि यस किसिमको विवाह प्रचलनमा छैन ।

३. आर्ष विवाह - कन्या पक्षद्वारा कन्याको शुल्क तोकी रकम लिएर कन्यादान गर्ने विधान आर्ष विवाह  हो । छोरीको अभाव भएका बेला वा सम्भ्रान्त कन्याको विपन्न पुरुषसँग विवाह हुने परिस्थितिमा यो विवाह प्रचलनमा रहेको थियो । यस विवाहमा वर पक्षले शुल्क बुझाउनु पर्दथ्यो ।

४. प्राजापत्य विवाह - कन्याको सहमति नखोजी अभिभावकको इच्छाले कुनै पाको उमेर वा सम्भ्रान्त वर्गको वरसित विवाह गर्ने परिपाटीलाई प्राजापत्य विवाह भन्ने गरिन्छ ।

५. गान्धर्व विवाह - अभिभावकको स्वीकृति नलिई एकआपसमा प्रेम गरी गरिने विवाहलाई गान्धर्व विवाह भन्ने गरिन्छ । यस पद्धतिमा केटा र केटीले घरपरिवारलाई वास्ता नगरी  भागेर विवाह गर्ने गर्दछन् ।

६. आसुर विवाह - विपन्न वर्गका मातापितलाई डर, त्रास र धम्की दिई वा आर्थक प्रलोभनमा पारी केटी किनेर गरिने विवाहलाई आसुर विवाह भनिन्छ ।

७. राक्षसी विवाह - कन्या र उसको परिवार वा अभिभावकको स्वीकृति नलिई अपहरण गरी गरिने विवाहलाई राक्षसी विवाह भनिन्छ ।

८. पैशाची विवाह - कन्यालाई टुना, मुना गरी बेहोस बनाई वा मदिरा वा औषधीले लट्ठ्याई शारीरिक वा मानसिक दुर्बलताको लाभ उठाई यौन सम्बन्ध कायम गरेर पछि विवाह गर्नु पैशाची विवाह हो ।

शास्त्रमा यी आठ किसिमका विवाहका विधि प्रचलित भए पनि आधुनिक समाजमा विवाहलाई दुई किसिमले हेर्ने गरिन्छ - (१) परम्परित विवाह (Arranged Marriage) र (२) प्रेम विवाह (Love Marriage) । सामान्य भाषामा कर्मकाण्डको प्रक्रिया अपनाई गरिने विवाह परम्परित विवाह हो भने विधिविधान नअपनाई, सामाजिक मूल्य र मान्यताको विचार नगरी केवल आकर्षणलाई मुख्य आधार मानेर गरिने विवाह प्रेम विवाह हो । परम्परित विवाहमा हैसियत, परम्परा, संस्कार र जातधर्मको हेक्का राखिन्छ भने प्रेमविवाहमा धर्म, जाति, रङ्ग, हैसियत र संस्कार नमिल्न पनि सक्छ।


हाम्रो समाजले प्रेम विवाहलाई अझै पनि सहज ढङ्गले स्वीकार गरिसकेको अवस्था छैन । अधिकांश जोडीको छनोट परम्परित प्रकार अर्थात् मागी विवाहकै आधारमा छनोट हुने गर्दछ । सामान्यतया मागीविवाह गर्दा र विवाहको शुभ समयको लागि आफुले जानेबुझेको ज्योतिषीकहाँ पुगेर वैवाहिक परामर्श लिने चलन रहेको छ । यसरी परामर्श दिंदा ज्योतिषीले केटा र केटी दुबै थरिको जन्म कुण्डलीको अध्ययन गरी सुझाव दिने गर्दछन् । हिजोआज ज्योतिषको सैद्धान्तिक पहुँचको प्रसार भएकाले र इन्टरनेटमार्फत फेसबुक, ट्वीटर, भाइबर, ह्वाट्सप र विभिन्न वेभसाइटमा उपलब्ध ज्योतिषहरूको छ्यापछ्याप्ती भएकाले प्रेमीप्रेमिकाले पनि वैवाहिक जीवनमा बाँधिनुअघि ज्योतिषीय परामर्श लिएको पाइन्छ । यसरी परामर्श दिंदा ज्योतिषीले तपार्इं र भावी दम्पतीको कुण्डली अध्ययन गरी मुख्यतः सप्तम स्थान, सप्तमेश, शुक्र र बृहस्पति ग्रहको वस्तुस्थिति, माङ्गलिक योग, कालसर्प योग आदिको विचार गरी निर्णय सुनाउने गर्दछन् । ज्योतिषमा विशेषतः प्रेम या विवाहको सम्बन्धबारे बताउन मङ्गल, शुक्र र चन्द्रमाको अवस्थाको आकलन गर्नुपर्दछ, किनभने मङ्गल ग्रहले आत्मबल, उत्साह र  ऊर्जा प्रदान गर्दछ, शुक्रले यौन सामर्थ्य, भोगविलास र प्रेमिल वातावण सिर्जना गर्न सघाउ पुर्याउँछ भने चन्द्रमाको सम्बन्ध मन र भावनासँग हुन्छ ।

विवाह र दाम्पत्यसम्बन्धमा सातौं भावको मालिक र त्यस भावमा बसेको ग्रहको विशेष भूमिका हुन्छ । उदारहणका लागि सातौं भावको केतुले विशेष यौनाकर्षणको सङ्केत गर्दछ, त्यस भावमा केतु बसेको पुरुषबाट यौन व्यभिचार (Play Boy) हुनसक्ने र स्त्रीमा मनोरोग, चिन्ता, शङ्का आदिको सम्भावना हुन्छ । यस्ता जातकले जतिवेला पनि वैवाहिक मान्यता र सिद्धान्त भङ्ग गरी अघि बढ्ने खतरा हुन्छ । त्यस्तै सातौं भावमा शुक्र बसेको छ भने व्यक्ति कामुक स्वभावको हुन्छ । जन्म कुण्डलीको जुनसुकै भावमा बलियो शुक्र हुँदा दाम्पत्य जीवन सहज भएको देखिन्छ भने कमजोर, नीच, अस्त वा राहु र केतुद्वारा दूषित शुक्र हुँदा व्यक्ति यौन शोषणमा पर्ने वा यौन ग्रन्थीमा रोगव्याधिजन्य विकार आउने सम्भावना प्रबल हुन्छ ।

त्यस्तै विवाहमा मङ्गल ग्रहको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । लग्ने, व्यये च पाताले जामित्रे चाष्टमे कुजे, पत्नी हन्ति स्वभर्तारं भर्ता पत्नीं विनाशयेत् भनी पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भावमा बसेको मङ्गलले दाम्पत्यसुखमा विघ्न गर्ने मत सबैले मानेको पाइन्छ । त्यसमध्ये पनि सातौं भावमा बसेको मङ्गल ग्रह भए अझ अनिष्ट हुन्छ भन्ने गरिन्छ, नेपालका आमज्योतिषहरूले यस परिस्थितिलाई सतमङ्गली भन्ने गर्दछन् । तर माङ्गलिक योग हुने बितिक्कै खराब नै हुन्छ भन्ने होइन । कुण्डलीको बनोट हेर्दा संसारका लगभग ४३ प्रतिशत व्यक्तिमा माङ्गलिक योगको सम्भावना हुन्छ । यसको अर्थ माङ्गलिक योग हुनेले माङ्गलिक योग हुनेसँग नै विवाह गर्नुपर्छ । अन्यथा यसको दोष व्यहोर्नु पर्दछ । उता जसको कुण्डलीमा माङ्गलिक योग छ, उसको आफ्नै कुण्डलीमा माङ्गलिक दोष भङ्ग गर्ने योग पनि हुनसक्छ । जसले मङ्गल ग्रहले दाम्पत्य जीवनमा प्रदान गर्ने अशुभता हटाउन मद्दत गर्दछ । उदाहरणका लागि दशमे च यदा सौरि लग्ने वा हिबुकेथवा, नवमे द्वादशे चैव भौम दोषो नविद्यते अर्थात् माङ्गलिक योग भएको कुण्डलीमा यदि पहिलो, सातौं, नवौं, दसौं र बाह्रौं भावमा शनि बसेको छ भने उसको माङ्गलिक योग निष्क्रिय हुन्छ । त्यसैले उसले माङ्गलिक योगको प्रकोप सहनु पर्दैन । त्यस्तै मङ्गल ग्रहका साथमा शनि, बृहस्पति र चन्द्रमाको केन्द्रीय सम्बन्ध छ भने पनि यो दोष लाग्दैन ।

दाम्पत्य सुखमा ठूलो प्रभाव नपारे पनि सातौं भावमा कर्कट, सिंह, बृश्चिक, मकर र कुम्भ राशि परेको तथा उक्त भावमा सूर्य, मङ्गल, बृहस्पति (एक्लो), शुक्र (एक्लो) वा शनि ग्रह बसेको छ भने पतिपत्नीका बीचमा मतभेद हुने र सम्बन्ध विच्छेद भई अर्को विवाह हुने सम्भावना हुन्छ । त्यस्तै सातौं भावमा राहु वा केतु छ भने पति वा पत्नीको कुण्डलीमा पनि राहु र केतु केन्द्रवर्ती हुनुपर्छ अनि मात्र दाम्पत्य जीवन सहज हुनसक्छ । दाम्पत्य जीवनलाई सुखपूर्ण बनाउन कालसर्पयोगको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ । यदि कसैको कुण्डलीमा कालसर्प योग छ भने उसको जीवनसाथीको कुण्डलीमा पनि कालसर्प योग वा राहु ग्रह बलशाली हुनु अनिवार्य हुन्छ । त्यस्तै भरिणी, रोहिणी, मृगशिरा, आर्द्रा, अश्लेषा, स्वाती, ज्येष्ठा, मूल, शतभिषा आदि नक्षत्रका जातकका लागि कालसर्प योग भएको जीवनसाथी उपयुक्त मानिन्छ । अनि सातौं भावको मालिक वा पत्नीकारक मानिएको ग्रह कुण्डलीमा एक्लै छ वा दुष्ट ग्रहका साथमा बसेको छ भने पनि दाम्पत्य जीवनमा विघ्न सिर्जना हुन्छ ।

बुध ग्रहलाई नपुंसक ग्रह मान्ने गरिनछ । कुनै स्त्रीको कुण्डलीमा पाँचौं वा सातौं भावमा बुध र राहु वा केतुको युति सम्बन्ध छ भने उसको पति नपुंसक हुन्छ । सन्तानप्राप्तिका लागि उसले परपुरुषको सहयोग लिनुपर्दछ वा निषेचन पद्धति अपनाउनु पर्दछ । नत्र बाँझोपनको खतरा हुन्छ । शनि र राहु वा केतुको यस्तो अवस्था पनि सन्तानका लागि अनिष्ट हुने गर्दछ ।

कुण्डलीको पाँचौं भावबाट प्रेमसम्बन्ध कायम हुन्छ । पाँचौं भावमा बसेको चन्द्रमा र शुक्रले प्रेमजीवन सफल बनाउँछ । पाँचौं भावको मालिक पाँचौं, आठौं, एघारौं र दोस्रो भावमा बसेमा व्यक्तिले आफूले मन पराएको व्यक्तिसित विवाह गर्दछ र उसको पारिवारिक जीवन सुखसम्मृद्धि र भोगविलासले युक्त हुन्छ । पाँचौं भावमा सूर्य, मङ्गल, बृहस्पति, शनि, राहु वा केतु छ भने प्रेम त गराउन सक्छ तर प्रेमसम्बन्ध भङ्ग हुन्छ ।

यहाँ पूर्वीय ज्योतिषशास्त्रका केही सिद्धान्त र मान्यताहरू उल्लेख गरिएको छ, जसको सम्बन्ध प्रत्यक्षतः प्रेमप्रसङ्ग, वैवाहिक जीवन र दाम्पत्यसुखसँग जोडिएको हुन्छ :-

१) जन्मकुण्डलीको सातौं भावमा निर्बल, शत्रुगृही, नीच वा थोरै अंशको शनिश्चर ग्रह बसेको छ भने व्यक्तिमा नपुंसकता हुने वा प्रजनन प्रणाली र यौन ग्रन्थीमा किसिमकिसिमका रोगव्याधि लाग्ने सम्भावना हुन्छ । बृहस्पति र शुक्र चतुर्थेशका साथमा सप्तममा भए नपुंसक योग बन्दछ। शनि सातौं भएर त्यसमाथि पापग्रह युक्त सूर्यको दृष्टि परेमा पनि व्यक्ति नपुंसक बन्दछ । सूर्य, शनि र षष्ठेश छैटौंमा रहेमा, सप्तम चन्द्रमाथि बुधको पूर्ण दृष्टि भएमा पनि सन्तानप्राप्तिमा कठिनाइ उत्पन्न हुन्छ ।

२) कुनै महिलाको कुण्डलीमा सातौं भावमा शनि वा सूर्यको उपस्थिति छ भने प्रथम पति वा प्रेमीसित उसको दाम्पत्य जीवन सफल हुन सक्दैन । त्यस्तै पुरुष वा स्त्रीको कुण्डलीको सातौं भावमा चन्द्रमा बसेको छ भने दोस्रो विवाहबाट दाम्पत्यसुख प्राप्त हुनेगर्दछ, अझ चन्द्रमा नीच वा कमजोर छ भने पहिलो पति वा पत्नीलाई दीर्घरोग लाग्ने सम्भावना पनि हुन्छ ।

३) सप्तमेश अष्टम र अष्टमेश सप्तम भावमा घर साटेर बसेको अवस्था छ भने निश्चित रूपमा वैवाहिक जीवन भङ्ग हुने गर्दछ ।

४) कुनै जन्मकुण्डली वा नवमांशक कुण्डलीको सातौं भावमा मङ्गल ग्रहको राशि परेको छ भने वैवाहिक जीवनमा कलह र विवादको स्थिति उत्पन्न हुन्छ । यस्तो परिस्थितिमा पति वा पत्नीको यौनाचरणमा अविश्वास उत्पन्न हुनसक्छ ।

५) कुनै स्त्रीको कुण्डलीमा सप्तम भावमा चन्द्र, शुक्र र मङ्गल तीनवटै ग्रह एक साथ बसेको छ भने तिनको यौनजीवन राम्रो हुँदैन । तर पतिले परपुरुषसँग सम्बन्ध छ भन्ने थाहा पाएर पनि चरित्र थाहा हुँदाहुँदै पनि पुरुषले स्वीकार गरिरहन्छ ।

६) सप्तम भावमा शनिश्चर ग्रह र लग्न या चतुर्थ भावमा मङ्गल ग्रह बसेको अवस्था छ भने स्त्रीको विवाहमा बिलम्ब हुन्छ । यी ग्रहमध्ये शनि र मङ्गल बाल्यावस्था वा मृतावस्थामा छन् भने त विवाह नहुने सम्भावना पनि हुन्छ ।

७) कुनै पुरुषको जन्मकुण्डलीको सातौं भावको मालिक दोस्रो वा बाह्रौं भावमा छ अथवा द्वितीयेश वा द्वादशेश तृतीय भावमा छ भने त्यस्तो पुरुषले जुन स्थानमा पुगे पनि स्त्रीसुख भोग गर्न पाउँछ । अशुभ ग्रहको महादशाकालमा उसले स्त्रीका कारण बन्दी जीवन बिताउने बाध्यता सिर्जना हुन्छ ।

८) राहु ग्रह आफूस्वयंले अशुभ फल प्रदान गर्दैन, तर जुन ग्रहसँग यस ग्रहको युतिसम्बन्ध वा दृष्टिसम्बन्ध कायम हुन्छ, त्यस ग्रहको नैसर्गिक फलमा यसले ग्रहण लगाउने गर्दछ । त्यसैले पुरुषको कुण्डलीमा शुक्र र राहुको मिलनले नपुंसकता ल्याउँछ भने स्त्रीको कुण्डलीमा यस्तो अवस्था छ भने उसले यौनशोषण खेप्नुपर्दछ । त्यस्तै सातौं भावमा चन्द्रमाका साथमा राहु ग्रहको यूति या दृष्टि सम्बन्ध भएमा अन्तर्जातीय विवाह हुने सम्भावना प्रबल हुन्छ । त्यस्तै सूर्य र राहुको युति वा दृष्टिसम्बन्ध छ भने जीवनसाथीको हैसियत, धनवैभव र आचरण आफ्नोभन्दा कमजोर हुन्छ । त्यस्तै सातौं भावमा मङ्गल र राहुको मिलन छ भने व्यक्तिको पहिलो विवाह सफल हुँदैन ।

९) सूर्य र शनिको युति वा दृष्टिसम्बन्धलाई पनि ज्योतिषशास्त्रले राम्रो मान्दैन । सातौं भावमा यस्तो परिस्थिति सिर्जना भयो भने वैवाहिक सम्बन्धमा असर पारी दोस्रो विवाहको सङ्केत गर्दछ र दोस्रो विवाह पनि असफल हुने खतरा हुन्छ ।

१०) सप्तमेश चतुर्थ या दशौं भावमा भएमा सजातीय पति वा पत्नीसित विवाद हुने गर्दछ, तर अन्तर्जातीय विवाह सफल हुन्छ ।

११) मङ्गल र शुक्र दुबै ग्रह सातौं भावमा छ र धनु राशिमा बृहस्पती र राहु तथा आठौं भावमा सूर्य र चन्द्रमा भए पनि जातकको वैवाहिक जीवनमा किसिमकिसिमका समस्या सिर्जना हुन्छन् ।

१२) मेष लग्न भएका जातकको छैंटौं, आठौं र बाह्रौं भावमा कुनै ग्रह बस्नु अशुभ मानिन्छ । यदि शुक्र कमजोर र दुर्बल छ भने त्यस्तो जातकको जतिवटा विवाह भए पनि वैवाहिक जस्वन सफल हुँदैन ।

१३) जन्मकुण्डलीको सातौं भावमा बसेको सूर्यमाथि पापग्रहको दृष्टि छ या बक्री छ भने पतिले त्याग्ने छ या सम्बन्ध विच्छेद हुनेछ । त्यसमा बृहस्पती या शुक्रको दृष्टि पुगेमा पुनः विवाहको अवस्था आउँछ।

१४) लग्नबाट गोचर बृहस्पती जब १, ५, ९, ११ स्थानमा आइपुग्छन् तब विवाहको अवस्था आइपुग्छ । सप्तमेश या द्वितीयेशको अन्तर्दशामा विवाहको योग बन्दछ । चन्द्र या शुक्रबाट सप्तम घरको मालिकको दशामा जब शुक्रको अन्तर्दशा आउँछ तब विवाहको अवसर प्राप्त हुन्छ ।

१५) ज्योतिष शास्त्र अनुसार सप्तम स्थानबाट मृत्यु पनि हेर्ने गरिन्छ । सामान्यतया व्यक्तिको मारक ग्रहको दशा, अन्तर्दशा वा गोचर कुण्डलीको लग्न वा आठौं भावमा मारक ग्रह आएको समयमा मृत्यु हुने गर्दछ । त्यस्तै लग्नेशको महादशामा द्वितीयेश या सप्तमेशको अन्तर र सप्तमेशको महादशामा अष्टमेशको अन्तर आउँदा पनि मृत्युको भय हुन्छ । सातौं सूर्य, दशौं शनि र चौथोमा मङ्गल भए शस्त्र, अग्नि अथवा राजाद्वारा मरण हुन्छ । सातौं मङ्गल, लग्नमा शनि र चन्द्रमा भए मेशिनद्वारा मरण हुन्छ । सूर्य, शनि र राहु सातौंमा भए सर्पको भय हुन्छ । सातौं राहु, आठौं शनि र छैटौंमा मंगल भए पत्नीनाश गर्ने योग बन्दछ । सप्तम मङ्गल, त्यसमाथि शनि, सूर्य या राहुको पूर्ण दृष्टि छ भने विवाहको छोटो समयमा नै उसको प्रेमी या लोग्नेको मृत्यु हुन्छ ।

१६) कुनै स्त्रीको लग्नकुण्डली वा नवमांशक कुण्डलीमा सातौं भावमा मेष, वृश्चिक, मकर या कुम्भ राशि भएमा मासिक धर्ममा समस्या वा श्वेत प्रदर(धातु) र योनी गन्हाउने समस्या हुन्छ ।

१७) सप्तम भावमा पापग्रह या नीचग्रहको पूर्ण दृष्टि रहेमा उसको विवाहमा अनेकौं समस्याहरु उत्पन्न हुने गर्दछ, प्रायशः अन्तर्जातीय विवाह हुन्छ र आफू भन्दा निकै कम उमेरको वर वा बधूसँग विवाह हुन्छ ।

१८) सप्तम मङ्गल भएर पापग्रहले युक्त या दृष्ट चन्द्रमा लग्नमा भएमा आमालाई कष्ट पुर्‍याउँछ । सप्तम मङ्गलमाथि नीच शनि या बृहस्पतिको पूर्ण दृष्टि भएमा जातकमा मानसिक रोगको सम्भावना हुन्छ ।

१९) लग्न या सातौंमा सूर्यादि सबैग्रह भएमा शकट योग बन्दछ । यस योगले व्यक्तिलाई राजासरह धनधान्य र सुखसुविधाले युक्त वैभव प्राप्त हुन्छ ।

No comments:

Post a Comment