Wednesday, November 23, 2016

पतनको मार्ग अहङ्कार

आत्म परिमार्जन गरेर मोक्षको मार्गमा बढेका पथिकहरू सधैं अहंकारको खतराबाट सावधान रहनुपर्छ। अहंकारले सामान्यलाई भन्दा असाधारण मानिसलाई बढी हानि पुर्याउँछ। महान् मानिसको अहंकार अशोभनीय मात्र नभएर पतनको कारक पनि हुन्छ। यहाँसम्म कि सत्यवादिता एवं अहिंसा व्रत पालन गर्ने मानिसमा पनि अहंकार जन्मन सक्छ। यसबाट जन्मने अहं व्यक्ति एवं समाजका लागि सांसारिक सफलताबाट जन्मने अहंभन्दा खतरनाक हुन्छ।

अहंकार जन्मनुको कारक दुर्बलता मानिन्छ। मानिस आफूमा भएको कमजोरी लुकाउने प्रयासमा साधना गर्न थाल्छ। जब साधनाबाट सिद्धि प्राप्त हुन्छ तब मानिसमा अहंकारको जन्म हुन्छ। यस विषयमा महाभारतमा एउटा कथा छ, कुनै एक तपस्वीलाई तपस्याका दौरान सिद्धि प्राप्त भयो। भयो के भने, एकदिन तपस्वी रूखमुनि बसेर तपस्या गरिरहेको थियो। रूखको हाँगाबाट एउटा चराले तपस्वीको टाउकामा विष्टा गरिदियो। टाउकामा विष्टा खसेको थाहा पाएर रिसाएको तपस्वीले चरोलाई हेर्दा चरो भस्म भयो। त्यो देखेर तपस्वीको मनमा अहं पैदा भयो। आफूमा सिद्धि प्राप्त भएको कुरा बुझेर ऊ तपस्या छाडेर भिक्षा माग्न हिँड्यो। भिक्षा माग्ने क्रममा एकजना गृहस्थकहाँ पुगेको तपस्वी भिक्षामा विलम्ब भएपछि रिसायो। उसले डरलाग्दो आँखा पारेर भिक्षा दिन आएकी गृहिणीलाई हेर्यो। उसको हेराइले गृहिणीमा कुनै असर पुर्याएन। गृहिणीले उल्टै उसलाई छक्क परेर भनी, के हेरेको त्यसरी ? म रूखको चरो त होइन। गृहिणीले आफ्नो सबै कुरा थाहा पाएको देखेर उसले गृहिणीमा आफूमा भन्दा बढी सिद्धि भएको थाहा पायो। ऊ नतमस्तक भयो। यसपछि गृहिणीबाट उपदेश लिएर तपस्वी गृहिणीले बताएको स्थानमा ज्ञान प्राप्त गर्न हिँड्यो। सफलताबाट प्राप्त हुने अहंकार कति कमजोर हुँदो रहेछ भन्ने कुरा यही प्रसङ्गबाट बुझ्न सकिन्छ।

मानिसले आफ्नो दुर्बलताका सम्बन्धमा जानकारी राख्नुपर्छ तर यसबाट भयभीत हुनु हुँदैन। दुर्बलताबाट डराएर यसलाई लुकाउन अहंको सहारा लिनाले साधकलाई हानि पुर्याउँछ। दुर्बलता हटाउन आफ्नो दुर्बल पक्ष स्वीकार गर्नुपर्छ। विवेकद्वारा अहंलाई नियन्त्रण गरेर दुर्बलताबाट माथि उठ्ने प्रयास गर्नुपर्छ। अहंले कहिल्यै दुर्बलतालाई प्रकट हुन दिँदैन। प्रकट नभएको कुरालाई नाश गर्न सकिँदैन। दुर्बलता जति लुकाइन्छ त्यति नै वृद्धि हुन्छ। यस्तो बेलामा आत्मशुद्धिको मार्गमा निस्किएका साधकले होसियारीपूर्वक काम गर्नुपर्छ। आन्तरिक युद्धलाई राम्रोसँग नियालेर आत्मालाई विवेकले सहारा दिँदै दुर्बलता एवं अहंकारलाई निस्तेज पार्नुपर्छ।

कुनै पनि व्यक्ति त्यतिबेला अहंको दास बन्छ जतिबेला ऊ व्यक्तिगत फाइदाका बारेमा सोच्छ। स्वार्थी व्यक्ति संदेहको स्थितिमा हुन्छ। एकातिर उसको चेतनाले सही-गलत के हो भनेर जानकारी दिइरहेको हुन्छ भने अर्कातिर स्वार्थी इच्छाले गलत बाटोतर्फ हिँडाइरहेको हुन्छ। यस्तोमा मानिस दुईथरी भावनामा पिसिन पुग्छ। यस्तो अवस्थाबाट पार पाउन आफ्नो निन्दा एवं प्रशंसाबाट बच्नुपर्छ। अन्यथा अहंकार जन्मन्छ। अहंकार साधकको मार्गमा तेर्सिने घोर दुस्मन हो। यसबाट बच्न प्रयास गर्नुपर्छ। प्रयासद्वारा अहंकार हटाइएपछि मानिस शुद्ध एवं बुद्ध हुन्छ।

मानिस कमजोर देखिन्छ तर छैन। हरेक मानिसमा असाधारण क्षमता छ। क्षमताको सही पहिचान गरेर अघि बढ्ने हो भने मानिसले गर्न नसक्ने कुरा केही छैन। उन्नतिको उच्च बिन्दुमा पुगेर संसार नियाल्ने हक एवं सामथ्र्य प्रकृतिले हरेक मानिसलाई प्रदान गरेको हुन्छ। यसकारण मानिस कर्मद्वारा सहजै उच्च पदमा पुग्न सक्छ। यद्यपि मानिसले जस्तोसुकै उच्च पदमा पुगे पनि नम्रता त्याग्नु हुँदैन र आत्मप्रशंसा गर्नु हुँदैन। महाभारतकै एक प्रसङ्गमा दानवीर राजा ययातिले अहंकारवश आफूले गरेका शुभकार्यको वर्णन गर्दा उनी स्वर्गबाट पतन भए भनिएको छ। अहंकारले उनको सारा पुण्य नाश भयो। अहंकार नै अनर्थको बीज हो। अहंकारबाट बचे देवत्त्व प्राप्त हुन्छ भने त्यसलाई अँगाले शुभकर्म समूल विनाश हुन्छ। त्यसैले पनि ज्ञानको मार्गमा लागेका मानिसहरू कहिल्यै अहंकार गर्दैनन्।


No comments:

Post a Comment