Wednesday, November 16, 2016

ॐ नम: शिवाय

ॐ नम: शिवायलाई हिन्दु र शैव धर्मको सबैभन्दा पवित्र र महत्वपूर्ण मन्त्र मानिन्छ । यो मन्त्र यजुर्वेदको हिन्दु प्रार्थना 'श्री रुद्रचमकम्' बाट साभार गरिएको हो । विशेष गरी विनाश र परिणतिका देव शिव (महादेव) को भजनको रूपमा प्रयोग गरिने यो मन्त्र उच्चारण गर्दा व्यक्तिको आन्तरिक असिद्धता, सीमितता र पापको नाश हुने विश्वास गरिन्छ । साथै यो मन्त्रले आत्मालाई शुद्ध बनाई चेनताको उच्चस्तरमा पुर्याउने वेद तथा पुराणहरूमा उल्लेख गरिएको छ।

अर्थ
ॐ नम: शिवायको सुरुवात पनि हरेक मन्त्रको जस्तै  शब्दबाट भएको छ। त्यसपछिको मन्त्र नम: शिवायले "म विनाशका देव शिवलाई नमस्कार (प्रणाम) गर्छु" भन्ने अर्थ दिन्छ ।

महत्त्व
प्राचीन समयमा, यसलाई सबै किसिमका शारीरिक, मानसिक तथा आध्यात्मिक समस्याहरूलाई निको पार्ने सबैभन्दा शक्तिशाली मन्त्रको रूपमा मानिने गरिन्थ्यो । यस मन्त्रको आत्मैदेखि मन्त्रोच्चारण गर्नाले जोकोहीको पनि मनमा शान्ति ल्याउने र आत्मालाई शुद्ध बनाउने पहिलेका ऋषिमुनीहरूले वेद तथा पुराणमा उल्लेख गरेका छन् । ध्यानको बेला मृत्यु र पुनर्जन्मका लागि परमात्मा अनि अधर्म र पापको विनाशका देव शिवलाई पुकार्ने नै यस मन्त्रको प्रकृति मानिन्छ।

यसरी ॐ नम: शिवायलाई एकदमै शक्तिशाली मन्त्र मानिन्छ। वेद तथा शास्त्रहरूमा के उल्लेख गरिएको छ भन्दा, यदि कोही व्यक्तिको मनमा निरन्तर यो मन्त्र गुञ्जिरहन्छ भने उसको मनमा कुनै पनि किसिमको पाप लुकेर बस्न सक्दैन, उसलाई कुनै ध्यान वा योग को जरुरत पर्दैन । यो मन्त्र उच्चारण गर्नका लागि कुनै पनि समारोह तथा पूजाआजाको आवश्यकता पर्दैन, न त कुनै पवित्र समय र ठाउँकै जरुरत पर्दछ । सांसारिक बन्धनबाट स्वतन्त्र छ यो मन्त्र, जसलाई जोकोहीले पनि उच्चारण गर्न सक्दछ । चाहे त्यो बालक होस् या वृद्ध, धनी होस् या गरीब, सबैको आत्मालाई शुद्ध बनाइदिन्छ, यस मन्त्रले ।

ॐ नम: शिवायलाई 'पञ्चाक्षरी मन्त्र' पनि भनिएको पाइन्छ, जसको अर्थ हुन्छ - पाँच अक्षरको मन्त्र - न, म, शि, वा र य । यी पाँच अक्षरले पञ्चभूत (जल, वायु, अग्नी, आकाश र धर्ती) लाई सङ्केत गर्ने प्रसङ्ग कतिपय ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ ।  शब्द मन्त्रभित्र पर्दैन, यसले त केवल पवित्र सुरुवातको सङ्केत गर्दछ । मन्त्रलाई मन, मुटु र मस्तिष्कमा गुञ्जाउन मद्दत गर्दछ, '' ले । चित्तको अशुद्धतालाई निचोरेर यस पवित्र मन्त्रसँग घुलाउने उत्प्रेरक तत्त्व हो '' ।

हिन्दु धर्मका ग्रन्थहरूका अनुसार, त्रीमूर्तीदेव शिव आफ्ना भक्तहरूसँग छिट्टै नै प्रसन्न हुन्छन् । यदि शुद्ध मन र आचरणका साथमा शिवको प्रार्थना गर्ने हो भने आफूले चाहेको पूरा गरिदिन्छन् । फेरि शिवलाई प्रसन्न गराउन यज्ञ, होम र पूजा गरिराख्नु पनि पर्दैन, मठमन्दिर पनि धाइराख्नुपर्दैन । आफ्नै मनमा निरन्तर ॐ नम: शिवाय जपिराख्दा पनि हाम्रो आत्माबाट अशुद्धता पखालेर चेतनाको मार्गतर्फ लम्कन मद्दत हुने यजुर्वेदमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment