Tuesday, November 15, 2016

२०७३ साल मंसिर महिनाको मासिक राशिफल

मंसिर महिनामा सूर्य र शनिश्चर दुबै ग्रहले बृश्चिक राशिमा भ्रमण गर्नेछन् । सुरुदेखि मंसिर २७ गतेसम्म मङ्गल ग्रह मकर राशिमा र त्यसपछि कुम्भ राशिमा रहने छ । त्यस्तै बृश्चिक राशिबाट धनु राशिमा बुधले ११ गते प्रवेश गर्नेछ भने शुक्र ग्रह सुरुमा धनु राशिमा र १७ गतेपछि मकर राशिमा रहने देखिन्छ । यस अघि कन्या राशिको बृहस्पति, सिंह राशिमा रहेको राहु र कुम्भ राशिको केतुको राशि परिवर्तनको योग छैन ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
आठौं भावमा सूर्यको उपस्थिति भएकाले यो महिना त्यति लाभदायक महिना हुने छैन । अचानक विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । लामो समयसम्म अस्वस्थ हुने आशङ्का छ त्यसैले खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । तर राशिस्वामी उच्च राशि मकरमा रहेर दशम भाव कर्म क्षेत्रमा भ्रमणशील भएकाले डराइहाल्ने परिस्थिति छैन । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ । व्यवसायिक क्षेत्र र व्यापारको विस्तार हुनेछ । विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
सप्तमस्थ सूर्यले मिश्रित प्रभाव प्रदान गर्नेछ । खासगरी घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । तर राशिस्वामी शुक्रले आठौं घरमा उपस्थिति जनाएकाले महिनाको र्पूवार्द्ध त्यति राम्रो छैन । कुनै प्रतिष्ठा गुम्ने दुर्घटनामा फँस्न सक्नुहुन्छ । स्वास्थ्यका दृष्टिकोणले पनि यो समय राम्रो छैन । अचानक धनलाभ हुने सम्भावना छ । तर खर्चको मात्रामा पनि बृद्धि हुनेछ । गुप्त र रहस्यमय सुख प्राप्त गर्ने महत्त्वाकाङ्क्षामा अङ्कुश लाउनु भएन भने अति लज्जास्पद स्थितिको सामना गर्नुपर्ने स्थिति आउने छ । भाग्यमा मङ्गल ग्रह रहेकाले महिनाको उत्तरार्द्धमा दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । आम्दानीका मार्ग बढ्ने छन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । यद्यपि खर्च पनि बढ्ने छ, तर आम्दानीका मार्गहरूभन्दा बढी खर्च हुनेछैन । चिट्ठा, लटरी वा सट्टापट्टाबाट पनि आय हुने सम्भावना छ । समय राम्रो छ, समयको भरपूर सदुपयोग गर्नु बेस हुनेछ । पञ्चमेश बुध ११ गतेपछि आठौंमा जाने भएकाले बुद्धिपक्ष कमजोर बन्नसक्ने र सन्ततिका समस्या उत्पन्न हुने सम्भावना देखिन्छ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १६, १७, १८, २५ र २६  गते तपाईंका लागि अशुभ रहने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
शत्रुभावको सूर्यको प्रभावले शुभफल पाइने छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । राशिस्वामी बुध ११ गतेपछि सप्तमभावमा जाने भएकाले विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ । यो समय प्रणय र रोमान्सका लागि पनि राम्रै छ । सृजनशीलताको प्रशंसा र सराहना हुनेछ । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ । मित्र र शुभचिन्तकले पूर्ण सहयोग गर्नेछन् । महत्त्वपूर्ण व्यक्तिहरूसित सम्पर्क बढाउनु हुनेछ । एउटा स्मरणीय यात्रा हुने सम्भावना भने देखा पर्नसक्छ । तर महिनाभरि अष्टम भावस्थ मङ्गलका कारण रोगव्याधि, झैझगडा र चोटपटकको जोखिम पनि छ, त्यसैले सचेत र सतर्क रहनु आवश्यक छ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । यद्यपि प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । पाँचौं भावको सूर्य र तृतीय भावको बृहस्पतिले शुभफल नै दिएपनि छैटौं भावको शुक्र, सप्तम भावको मङ्गल र पाँचौं भावको शनिश्चरले शुभफल दिने छैनन् । मङ्गलका कारण शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । सहयोगी र साझेदारहरूसँग विवाद हुने सम्भावना छ । पारिवारिक जीवन सुखद हुनेछैन । स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ । यात्राबाट लाभको सम्भावना छैन । जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ । त्यस्तै पाँचौं शनिका कारण बुद्धिपक्ष कमजोर बन्नेछ । खर्चको मात्रामा अचानक बृद्धि हुने सम्भावना भने देखा पर्नसक्छ । मानसिक तनावबाट जोगिनु पर्छ । सामान्यतया यस महिनाको ०२, ०३, ११, १२, १३, २०, २१, २२, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
चतुर्थ भावमा सूर्य र बुध रहेर महिनाको सुरुवात भएकाले यस अवधिमा कडा मिहिनेत र परिश्रम गर्ने योग छ । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । दुर्घटनाको सामान्य सम्भावना छ, त्यसैले सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ । तर मङ्गल ग्रह छैठौं घरमा रहेकाले यस समयमा सुखभोग गर्न पाइने छ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । धनसम्पत्तिको लाभ हुने सम्भावना छ । पारिवारिक वातावरण पनि सुखद हुनेछ । पेसा र व्यवसायमा देखिएका अड्चन र बाधा हटाउन तथा शत्रुदमन गर्न प्रयास गरिने छन् । समग्रमा समय राम्रै भए पनि वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ । बृहस्पति, शुक्र र शनिको शुभप्रभावले धनागमको राम्रै सङ्केत छ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
महिनाको प्रारम्भमा तृतीय भावको बुधादित्य योगका कारण पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । यस अवधिको अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । स्वास्थ्यका दृष्टिकोणले यस अवधिभरि राम्रै छ । राशिस्वामी बुधले चतुर्थ भावमा प्रवेश गरेपछि शुभफलमा अझ बृद्धि हुने सङ्केत छ । प्रकाशन वा एजेन्सीसम्बद्ध काम गर्नेले शुभ परिणाम प्राप्त गर्नेछन् । अभिव्यक्तिगत कलात्मकता एवं भावनात्मक अभिनयको सहज प्रतिभा देखा पर्नेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । तर पञ्चम भावको मङ्गल ग्रहका कारण यतिबेला बुद्धि र विवेकले काम नगर्न सक्छ, त्यसैले यस समयमा सावधान हुनु आवश्यक छ । व्यक्तिगत स्वास्थ्यमा पनि समस्या आउन सक्छ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १६, १७, १८, २५ र २६  गते तपाईंका लागि अशुभ रहने छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
दोस्रो भाव रहेको सूर्य र शनिको युति सम्बन्ध तथा चतुर्थ भावमा रहेको मङ्गल ग्रहका कारण आर्थिक अवस्था र पारिवारिक जीवनमा नकारात्मक प्रभाव पार्ने सङ्केत छ । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, तर घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । आर्थिक दृष्टिले पनि यस अवधिमा लाभदायी हुनेछैन, कुनै ठूलो सम्पत्तिको नोक्सानी हुनसक्छ, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ, । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । तर भाग्येश बुध र राशिस्वामी शुक्र अनुकूल नै रहने छन् । मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । दाजुभाइ र दिदीबहिनीका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । शीघ्र निर्णय गर्ने सामथ्र्यको विकास हुनेछ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
तपाईंको राशिमा सूर्य, बुध र शनिको उपस्थिति छ, त्यसैले यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । उता राशिस्वामी मङ्गल आफ्नो उच्चस्थानमा बसेर तपाईंलाई शुभफल प्रदान गर्दैछ, यसको प्रभावले मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । नातागोता, खासगरी दाजुभाइका कारण खुसीको वातावरण सिर्जना हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । शत्रु र प्रतिस्पर्धीले सामना गर्न सक्दैनन् । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । बृहस्पति र शुक्रले पनि शुभफल नै प्रदान गर्नेछन् । सामान्यतया यस महिनाको ०२, ०३, ११, १२, १३, २०, २१, २२, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
राशिस्वामी बृहस्पति कर्मक्षेत्रमा बसेको हुँदा त्यत्ति आपत्तिजनक स्थिति नै होइन, यद्यपि बाह्रौं भावमा सूर्य, बुध र शनिको प्रभाव रहेकाले यो महिना आर्थिक कारोबारमा निकै सचेतता अपनाउनु राम्रो हो । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नुपर्छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । बृहस्पतिको शुभ प्रभावका कारण े व्यापार, नोकरी वा कारोबारमा धेरै गरेको प्रयास सार्थक हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । भाग्यको राहुका कारण व्यक्तित्वमा अहङ्कारले प्रवेश गर्नेछ जसका कारण लोकप्रियता घट्न सक्छ र जनप्रियतामा कमी आउने छ । अन्र्तदृष्टिलाई प्रयोग गरी आँफूभित्रका अवाञ्छित तत्वलाई पन्साउनु राम्रो हुनेछ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, १५, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
राशिस्वामी शनिश्चरका साथमा राज्यस्थानमा सूर्य र बुध रहेकाले यो महिना तपाईंको महत्त्वपूर्ण समय हो । यस अवधिमा इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । नातागोताका सदस्यहरू र मित्रवर्गबाट सहायता मिल्नेछ । किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफल हुनेछ । तर राशिमा बसेको मङ्गलको शुभप्रभाव रहने छैन । शरीरमा अहङ्कारले प्रवेश गर्नेछ । त्यसैले फलप्राप्ति प्रति धेरै उत्साह नदेखाउनु उचित हुनेछ । सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना छ । जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी नदिनु नै बेस हुनेछ । पारिवारिक झमेला बढ्नाले मानसिक तनाव हुन सक्छ । महिनाको अन्त्यमा बुध बाह्रौ. भावमा रहने भएकाले खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १६, १७, १८, २५ र २६  गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
कर्मक्षेत्रमा सूर्यको प्रवेश भएकाले अत्यन्त क्रियाशील र व्यस्त रहने र कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । शनि, बुध र शुक्रको प्रभावले पनि शुभ सङ्केत नै गरेको देखिन्छ । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्णता हुनेछ । दाजुभाइ र दिदीबहिनीले समेत आआफ्नो कार्यक्षेत्रमा राम्ररी काम गर्नेछन् । यात्राबाट लाभ हुनेछ । उच्चकोटिको पारिवारिक सुख मिल्नेछ । तर बाह्रौं मङ्गल र आठौं बृहस्पतिका कारण केही समस्या सिर्जना हुने सम्भावना पनि छ । स्वास्थ्यका कारण तनावग्रस्त रहनु पर्नेछ । खर्चको मात्रामा बृद्धि भइरहन्छ । जीवनसाथी वा प्रेमीप्रेमिकाका बीचमा सम्बन्ध किचलो सिर्जना हुनेछ । सारांशमा यस अवधिमा मानसिक उल्झन र समस्यामा केन्द्रित भइने छ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १०, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
भाग्यभावमा सूर्यले भ्रमण गर्ने भएकाले यस अवधिलाई सन्तोषजनक समय मान्दा हुन्छ, उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले समेत राम्रो छ । उता राशिस्वामी बृहस्पति सातौं भावमा रहेकाले दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । व्यापार वा नोकरी आदिमा उत्तरोत्तर प्रगति हुने राम्रो सम्भावना छ । बहुप्रतीक्षित भ्रमणको सम्भावना छ । पारिवारिक वातावरण पनि सुमधुर सम्बन्ध रहनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मन निडर रहने छ र शत्रुगणले सामु पर्ने हिम्मत गर्दैनन् । दर्शन एवं साहित्यमा रूचि बढ्ने छ । विद्वानसित सम्पर्क बढ्ने छ । सामाजिक सम्मान प्राप्त हुनेछ । बाह्रौं भावको केतुले शीघ्र निर्णयबाट फाइदा नहुने सङ्केत गर्दैछ । सामान्यतया यस महिनाको ०२, ०३, ११, १२, १३, २०, २१, २२, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

No comments:

Post a Comment