Tuesday, October 31, 2017

बुध प्रदोष व्रत

बुधबारका दिन बेलुका सूर्यास्तको समयमा त्रयोदशी तिथि परेको दिन लिइने व्रतलाई बुध प्रदोष व्रत भन्ने गरिन्छ । नैमिसारण्यमा उपस्थित ऋषिहरूलाई विभिन्न पौराणिक आख्यान र कथाप्रसङ्ग उल्लेख गर्दै सूतजीले बुधप्रदोषको चर्चा गर्दै भनेका छन् - बुध प्रदोष व्रतको सम्पादन गर्नाले समस्त मनोकाङ्क्षा पूर्ण हुने गर्दछन् । पुराणमा चर्चा गरिएअनुसार बुधबार प्रदोष परेका बेला भगवान् शिव प्रसन्न भएर कैलाश पर्वतमा नृत्य गर्ने गर्नुहुन्छ । त्यसैले बुध प्रदोषका दिन व्रत गर्दा धनसम्पत्ति प्राप्त हुनुका साथै दुःख र दारिद्र्यको नाश हुन्छ र सबै मनोकामना पूर्ण हुन्छन् । बुधप्रदोषको व्रत लिनाले दुईवटा लैना गाई एकै पटक दान गर्दा पाइने पुण्य प्राप्त हुन्छ । त्यस्तै यस पुण्य दिनमा व्रत लिनाले र भगवान् भोलेनाथको आराधना गर्नाले हरहमेशा व्यक्तिले भगवान् शिवको कृपा प्राप्त गर्दछ, इहलोकमा सुखसम्मृद्धि प्राप्त गरी अन्त्यकालमा मोक्षप्राप्ति हुन्छ । घरपरिवारमा खुसियाली, सुस्वास्थ्य र सुखसम्पत्तिले निवास गर्दछ । प्रेमजीवनको सफलताका लागि पनि बुधबार परेको प्रदोष व्रतबाट व्रत प्रारम्भ गरी लगातार २१ हप्ता व्रत बसी उद्यापन गर्ने नियम छ । त्यस्तै कालसर्प दोष लगायत समस्त सर्पबाधा, नागनगिनी, डाकिनीशाकिनी, भूतप्रेत आदिको बाधा पनि नष्ट हुन्छ । सारांशमा बुधवारका दिन परेको प्रदोष व्रत सौभाग्य र दाम्पत्य जीवनको सुखशान्तिका लागि हो ।  यस्तो महत्ता र गरिमा रहेको बुध प्रदोषको व्रतकथा निम्नानुसार छ -

अङ्ग देशमा 'चम्पा नगरी' नामको एउटा सानो नगर थियो । त्यस नगरमा चन्द्रधर नामको एउटा धनी वैश्यले नीति र धर्मको पालना गर्दै आफ्नो गृहस्थी सम्हालेर निवास गरेको थियो । ऊ भगवान् आशुतोष शिवशङ्करको परम भक्त थियो, तर नागमाता मनसादेवी उसँग उसको पूर्वजन्मको दोषका कारण रिसाएकी थिईन् । चन्द्रधरकी पत्नीको नाम चन्द्रकला थियो । धनधान्य र सुखसम्मृद्धिको कमी त थिएन, तर उसका घरमा सर्पको बाधा हुनाले सन्तानको सुस्वास्थ्य र उन्नतिप्रगतिमा बाधा परेको देखिन्थ्यो । उसका सन्तान हुँदै नभएका त होइनन्, तर उसका सन्तानको जन्म भएपछि पाँचवर्षको उमेर नपुग्दै नागले डँस्नाले मृत्यु हुने गर्दथ्यो । एउटा दुईवटा मात्र होइन उसका छ/छ जना पुत्रले सर्पबाधाका कारण कालकवलित हुनु परेको थियो । वैश्यले सन्ततिपक्षको आयुको कामना गरेकाले त होइन, उसको अटल शिवभक्तिको प्रभावले हुनसक्छ वा अन्य कुनै कारणले उसको सातौं पुत्र अहिलेसम्म जीवित नै थियो अनि किशोरावस्थाको उमेर पनि पार गरिसकेको थियो । चन्द्रधरको कान्छो छोराको नाम 'लक्ष्मीचन्द्र' थियो । अन्य छ/छ जना पुत्रको बाल्यावस्थामा नै मृत्यु भएकाले चन्द्रधरलाई यस पुत्रप्रति त्यत्ति मोह जाग्न सकेको थिएन । जे हुन्छ, शिवकृपाले हुन्छ भनी ऊ सधैं शिवभक्तिमा एकनाशले तल्लीन हुने गर्दथ्यो । छोरोले युवावस्थामा प्रवेश गर्न लागेकोमा चन्द्रधरकी पत्नी चन्द्रकला भने उत्साहित देखिन्थिन् । उनी समय मिल्नासाथ अब छोराको विवाह गरी दिनुपर्छ भन्ने आशय व्यक्त गरिहाल्थिन् ।

त्यसवेला भारतवर्षको पश्चिममा अवन्तिका नाम गरेको अर्को एउटा देश पनि थियो । त्यस देशको राजधानी उज्जयिनी नाम गरेको सहरमा अर्को एक जना साधुचन्द्र नामको एउटा धनाढ्य व्यापारी बसोबास गर्दथ्यो । जस्तो नाम त्यस्तै चरित्र र आचरण थियो, साधुचन्द्रको । ऊ दिनैपिच्छै महाकाल शिवको मन्दिरमा गई दिनदुःखी र गरिबगुरुबाको सेवासत्कार नगरी आफ्नो दिनचर्या सुरु गर्दैनथ्यो । साधुचन्द्रकी एउटीमात्र पुत्री थिई । रूपलावण्य र शिलस्वभावका दृष्टिले ऊ अद्वितीय नै थिई । बाल्यावस्थादेखि नै उसमा पिताका धार्मिक र परोपकारी स्वभावहरूले विकसित हुने अवसर पाएका थिए । उसले पनि किशोरावस्थाको वयसन्धि भर्खरै पार गरेकी थिई । साधुचन्द्रमा शुक्लपक्षको चन्द्रमा झैं शारीरिक र भौतिक अङ्गहरू विकसित हुँदै गरेकी छोरीको असल घरघरान र कुलकुटुम्बमा विवाह गरिदिने चिन्ता बढ्न थालेको थियो । उसले चम्पा नगरीका चन्द्रधरका पुत्र लक्ष्मीचन्द्रको विवाहयोग्य उमेर भएको कुरा आफन्तहरूबाट सुनेको थियो । चन्द्रधरको शीलस्वभाव र आचरणका बारेमा ऊ राम्ररी जान्दथ्यो । पिता र परिवारको अनुशासन एवं चरित्रको प्रभाव छोराछोरीको जीवनमा जस्ताको त्यस्तै आउने गर्दछ भन्ने कुरामा ऊ विश्वास गर्दथ्यो । त्यसैले ऊ चन्द्रधरको छोरा लक्ष्मीचन्द्रलाई आफ्नी कन्या सुम्पने मनसायमा पुगी सकेको थियो । साधुचन्द्रकी छोरीको नाम 'विगुला' थियो । उसले पनि लक्ष्मीचन्द्रको रूपलावण्य र चालचलनका बारेमा आफ्ना सखीसङ्गतिमार्फत थाहा पाएकी थिई । भौतिक रूपमा देख्न नपाए पनि विगुलाको मनमा लक्ष्मीचन्द्रप्रति अनुराग जागिसकेको थियो ।

एक पटक उज्जयिनी नगरीमा महाकुम्भ पर्व चल्दै थियो । उक्त अवसरमा चम्पानगरीबाट पनि धेरै तीर्थयात्री भगवान् महाकालको दर्शन र नर्मदा नदीको स्नान गर्न त्यहाँ आएका थिए । तिनै तीर्थयात्रीमध्ये एक जना साधुचन्द्रका आफन्त पनि थिए । ती आफन्त उसलाई भेट्न घरमा आएका बखत साधुचन्द्रले आफ्नो मनमा गुम्सिएको कुरा बताउँदै भन्यो - 'तपाईंका नगरमा बसोबास गर्ने चन्द्रधरका छोरा लक्ष्मीचन्द्रको चालचलन र रूपलावण्यको चर्चा खुब सुन्दैछु । पारिवारिक हैसियत र कुलधर्म हामीसँग मिल्दोजुल्दो नै छ, त्यसैले उनलाई मेरी छोरी कन्यादान गरिदिने कुरा मेरो मनमा मँडारिंदै छ । कसमार्फत म यो सन्देश पठाउँ भनी चिन्तित थिएँ । संयोगले तपाईंसँग भेट भयो । चन्द्रधरलाई मेरो यो सन्देश पुर्याई उनीहरूको के प्रतिक्रिया हुन्छ ? त्यसको जानकारी कसै गरी मलाई पठाउने व्यवस्था गरिदिनुहुन म तपाईंसमक्ष आग्रह गर्दछु ।' ती आफन्तले साधुचन्द्रको आग्रहलाई स्वीकार गरे ।

चन्द्रधरलाई साधुचन्द्रको प्रस्ताव मनपर्यो, सन्देश पाउना साथ उसले पनि तिनै आफन्तमार्फल पुत्र लक्ष्मीचन्द्रको जन्मकुण्डली उज्जयिनी पठाइदियो । कुण्डली पाएपछि आफ्ना कुलपुरोहितलाई डाकी दुबै वर र कन्याको जीवन, भाग्य र भविष्यको विवेचना गरियो । पुरोहितले निष्कर्ष सुनाउँदै भने - वर र कन्याको कुण्डली निकै मिल्दोजुल्दो छ, जोडी राम्रै हुनेछ, तर चन्द्रधरको पुत्रको कुण्डलीमा कुलको दोष देखिन्छ, उसका घरमा नागको बाधा छ । यस बालकको विवाहपछिको पहिलो रातमा नै सर्पको डँसाइबाट मृत्यु हुने सम्भावना छ । पिता र पुरोहितका बीचमा भएको कुराकानी विगुलाले पनि सुनिरहेकी थिई । उसको मनमा जसप्रति अनुराग जागेको छ, उसैलाई विवाह गरिदिने कुराकानी भइरहँदा ऊ निकै उत्साहित भएकी थिई । तर ब्राह्मणका पछिल्ला वाक्य सुन्दा निराशा भयो । उसले ब्राह्मणलाई नम्र स्वरले प्रश्न पनि गरी - गुरुजी ! मेरो कुण्डलीमा विधवा हुने योग छ कि छैन ? । ब्राह्मणले कन्यातर्फ हेर्दै उत्तर दिए - बालिके ! तिम्रो कुण्डलीमा त अखण्ड सौभाग्यवती योग छ, तर यस केटाको अल्पायुष्य योग भएकाले तिम्रो यस केटासित विवाह सम्भव छैन ।

चिना हेरेको धेरै दिनसम्म साधुचन्द्रले कुनै जवाफ नपठाएपछि चन्द्रधरले पुनः जिज्ञासा राख्दै उज्जयिनीमा अर्को सन्देश पठायो । चन्द्रधरको जिज्ञासाको उत्तर कसरी दिने भन्ने दुविधामा पर्यो, साधुचन्द्र । केही दिनदेखि बाबु चिन्ताग्रस्त रहेको देखेपछि विगुलाले बावुसित चिन्तित हुनुपर्ने कारणका बारेमा सोधी । बावुले आफ्नो चिन्ताको विषय के हो ? स्पष्टसँग छोरीसमक्ष राख्यो । बावुका कुरा सुनेपछि विगुलाले भनी - 'पिताजी, कसैको भाग्य र जीवन ब्राह्मणले निर्धारण गर्दैनन्, यसको नियन्त्रण र सञ्चालनको सामर्थ्य त महाकाल शिवको इच्छामा हुन्छ । हामीले सधैं सत्कर्म र सदाचार गरेका छौं, कुटुम्ब र वर पनि हाम्रो अनुकूल छन् । अनि गुरुबाले मेरो अखण्ड सौभाग्य छ भनेर पनि भन्नु भएको छ । त्यसैले कुनै चिन्ता नगरी हजुरले मेरो विवाहको निर्णय गरे हुन्छ । मेरो नियति नै दुःख पाउने गरी तोकिएको रहेछ भने अन्तै विवाह गरे पनि त मैले त्यो भोग्नै पर्दछ ।' छोरीका यस्ता प्रौढ कुरा सुनेपछि उसले विवाहको टुङ्गो गरेको सन्देशका साथमा चन्द्रधरलाई खबर पठायो ।

केही समयपछि उचित मुहूर्तमा विगुला र चन्द्रधरको विवाह सम्पन्न भयो । बेउलीका रूपमा चम्पा नगरीमा विगुलाको भव्य स्वागत गरियो । उज्जयिनीका पुरोहितले विवाहको पहिलो रातमा सर्पबाधा हुन्छ भन्ने कुरा गरेको विगुलाका घर र माइती दुबै पक्षलाई थाहा थियो । त्यसैले नववरबधूको मधुरात्रीका लागि शयनकक्ष र कोठाको व्यवस्था हुँदै थियो । शयनकक्ष निर्माण गर्दा सर्प त के बाहिरको हावा पनि नपस्ने गरी सचेतताका साथमा मजबुतीका साथमा गरिन लागिएको थियो । सहरका नामी वैद्य र झारफुक गर्ने तान्त्रिकहरूलाई पनि त्यस रात त्यहीं बस्ने व्यवस्था मिलाइएको थियो । दुबै पतिपत्नी शयनकक्षमा प्रवेश गरे । उनीहरूलाई व्यवस्थापन पक्षको सम्पूर्ण जानकारी थियो, त्यसैले कुनै किसिमको डर, भय वा त्रास थिएन । लामो समयसम्म प्रणयालाप गर्दै ती निदाए । भोलिपल्ट नवविवाहिता बधू विगुला ब्युँझदा उसको पति लक्ष्मीचन्द्र मरिसकेको थियो । सर्पले टोकेको स्पष्ट झल्को आउने गरी उसको लास नीलोकालो भइसकेको थियो । वास्तवमा नागमाता मनसादेवीले बेउलाकी आमाको रूप धारण गरी कालीगढलाई हावा नछिर्ने कोठा बनाउनु हुँदैन, एउटा सानो प्वाल राखिदिनु भनी अह्राएकी थिईन्, यो कुरो कसैलाई थाहा थिएन, त्यसै प्वालबाट मनसादेवीको आदेशमा नागराज वासुकीले प्रवेश गरी लक्ष्मीचन्द्रलाई डसेकाले उसको मृत्यु भएको थियो ।

लक्ष्मीचन्द्रको मृत्यु भएपछि सारा घर र नगरमा हल्लखल्ल भयो । विवाहको उत्सवमा रमाई रहेका सारा जन एकाएक शोक र मूर्च्छामा परिणत भए, वातावरणमा रोदन र विलापको कोलाहल व्याप्त भयो । सर्पदंशबाट मृत्यु भएका व्यक्तिको दाह संस्कार गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता छ, त्यसरी मरेका व्यक्तिलाई जलप्रवाहमा विसर्जन गरी सद्गत गर्नु पर्दछ । लक्ष्मीचन्द्रको शवलाई पनि चम्पा नगरीको नजिकै रहेको धनश्री नदीको तटमा लगियो । परिवारका सबै सदस्यका साथमा सारा नगरवासी मलामीका रूपमा नदीका तटमा आए । केराको थामको प्रयोग गरी एउटा चिता बनाइयो । लक्ष्मीचन्द्रको मृतदेहलाई रामनामी गुताई उक्त चितामा राखियो । विवाहको पहिलो रातमा नै विधवा बन्न पुगेकी विगुला विलाप गर्दै त्यसै चिताका छेउमा बसी । सारा नगरवासीले उसलाई त्यसो नगर्न आग्रह गरे । तर ऊ मान्दै मानिन । पतिसितै आफू पनि सती हुने भनी उसले पतिको लासलाई आलिङ्गन गरिरही । कसैको केही नलागेपछि विगुला र उसको मृत पतिलाई त्यही केराको थाम प्रयोग गरी बनाइएको डुँगाजस्तो नाउमा राखी नदीको पानीमा हुत्याइदिए ।

विगुलाले त्यस समयमा विवाहमा लगाएका पहिरन नै लगाएकी थिई । उसको निधारमा रातो सिन्दूर जताततै लत्पतिएको देखिन्थ्यो । नदीको प्रवाहमा बग्दाबग्दै विगुला र उसको मृत पति चढेको त्यो डुँगा समुद्रमा पुग्यो । धेरै दिन बितिसकेको थियो । यस अवधिमा उसले केही पनि खान पिउन पाएकी थिईन । लासबाट दुर्गन्ध आउन थालेको थियो । औंसा परेकाले शरीरको मासु गलेर झर्न थालिसकेको थियो । केवल कङ्कालमात्र शेष थियो । कङ्कालमात्र बाँकी भए पनि विगुलाले आफ्ना पतिलाई निरन्तर अँगालोमा लिएर एक भक्तिले भगवान् महाकाल शिवको नामोच्चारण गरिरहेकी थिई ।

यसरी विगुलाको एकभक्ति र पातिव्रत्यबाट भगवान् शिव प्रसन्न हुनुभयो । उहाँले नागमाता मनसादेवीलाई बोलाएर आदेश दिनुभयो - 'मनसे ! जाऊ लक्ष्मीचन्द्रको शरीरमा रहेको सर्पविषको शोषण गरेर आऊ । विगुलाले जुन दिनदेखि केही नखाई उपवास गरेकी थिई, त्यो दिन बुध प्रदोषको दिन थियो । उसको एक पक्ष (पन्ध्र दिन) सम्मको निरन्तरको उपवासले कैलाशमा रहेको समस्त पुण्य उसको शरीरमा समाहित भएको छ । अब वैधव्य दोषमात्र होइन, उसले कुनै किसिमका सांसारिक बाधालाई व्यहोर्नु पर्दैन ।' मनसादेवीले भगवान् शिवलाई नम्र भई बिन्ती गरिन् - 'हे देवाधिदेव महादेव ! पूर्वजन्ममा यसका पिता चन्द्रधरले मेरा सन्तति नागहरूलाई एक्काईस पटक मारेको थियो । त्यसैको बदला लिन मैले यस जन्ममा उसका कुलका एक्काईस जना व्यक्तिलाई डँसेर मार्ने योजना बनाएकी छु । मैले उसको विष शोषण गरें भने मेरो सङ्कल्प भङ्ग हुन्छ । त्यसैले मैले प्रभुको आज्ञालाई पालना गर्न सक्दिन ।' फेरि शिवले मनसादेवीलाई सम्झाउँदै भन्नुभयो - 'हे नागमाते ! मैले यी सबै कुरा थाहा पाएको छु । मेरो प्रियतम प्रदोष व्रतको ठूलो महिमा छ । अझ बुधबारका दिन परेको यस व्रतको प्रभावले सर्पबाधा र सर्पदोषजन्य समस्त दोषहरू नाश हुन्छन् । यदि कसैले बुधबारका दिन परेको प्रदोषको समयमा जानेर वा अन्जानमैं व्रत बस्यो भने उसको मात्र होइन, उसका कुलका सातपुस्ता, मावली कुलका सात पुस्ता र ससुराली कुलका सात पुस्ताभित्रका समस्त पापराशि र दोषको शमन हुन्छ । विगुलाले अहिले जुन उपवास गरेकी छ, त्यसको प्रभावले चन्द्रधरका पूर्वजन्मका समस्त सर्पबाधा नष्ट भएका छन् । त्यसैले तिमीले उसको विषदोहन गरेमा तिम्रो सङ्कल्पमा विघ्न भएको ठहरिने छैन ।'

शिवाज्ञालाई शिरोधार्य गरी मनसादेवी विगुला पुगेको समुद्रको तटमा धोबिनीको रूप धारण गरी उपस्थित भईन् । उनको अनुहारमा देदीप्यमान तेज थियो । उनले विगुलालाई भनिन् - 'बालिके ! तिम्रो निष्ठा र भक्तिका कारण भगवान् भोलेशङ्कर प्रसन्न हुनु भएको छ । नाउ किनारामा ल्याऊ र त्यो लाश मलाई देऊ, म तिम्रो पति जीवित तुल्याइदिन्छु, तिमी शिव नामोच्चारण गर्दै नृत्य गर ।' विगुलाले पन्ध्र दिनदेखि केही पनि खाएकी थिइन, उसको मनमा केवल पतिको स्मृतिमात्र बाँकी थियो । पतिका लागि उसले जेजस्तो पनि गर्न सक्थी, त्यसैले पतिलाई सम्झँदै शिवशिव भन्दै नृत्य गर्न थाली । पतिको स्मृतिमा उन्मत्त भई नाचिरहेकी विगुलालाई आकाशबाट सारा देवता, नाग, यक्ष र गन्धर्वहरूले हेरिरहेका थिए । समस्त देव समुदाय द्रवित भयो । मनसादेवीको हृदय पनि रसायो । विगुला नाच्न थालेपछि मनसादेवीले लक्ष्मीचन्द्रको शरीरको विषलाई शोषण गरिन् । लक्ष्मीचन्द्र निदाएर उठे झैं ब्युँझियो, यसरी विगुलाको अखण्ड पतिभक्ति, शिवोपासना र बुधप्रदोषको प्रभावले उसको जीवनले मुस्कुराउने मौका पायो । प्राप्तिको यो पराकाष्ठा बाल्यावस्थादेखि नै महाकाल शिवको भक्तिको प्रेरणा र बुधप्रदोष व्रतको प्रतिफलबाट प्राप्त भएको थियो । स्कन्दपुराणमा स्पष्टसँग उल्लेख गरिएको छ, जो भक्तजनले बुधबार परेको प्रदोषव्रतबाट थालनी गरी प्रत्येक प्रदोष व्रतको उपवास गर्दछ र प्रदोष परेको दिन शिवपूजा गरी मध्याह्न कालमा एकाग्र चित्तले प्रदोष व्रतको कथा श्रवण गर्दछ, त्यसले सय जन्मसम्म कहिल्यै पनि दरिद्रताको दर्शन गर्नु पर्दैन, नागनागिनी, डाकिनीशाकिनी, भूतप्रेत आदिको बाधा हुँदैन । जीवनभरि सुखसुविधा र धनधान्यले भरिपूर्ण रही अन्त्यमा शिवसान्निध्य प्राप्त गर्दछ ।

Monday, October 30, 2017

एकादशीमा हुनसक्छ, भाग्य-परिवर्तन

धर्मग्रन्थहरूमा एकादशी तिथिलाई समस्त तिथिहरूमध्ये सर्वश्रेष्ठ तिथि मानिएको छ । यस दिन भगवान् विष्णुको पूजाआराधनाका साथमा गरिएको जप, तप, दानादिको ठूलो महत्त्व छ । त्रिमूर्ति अर्थात् ब्रह्मा, विष्णु र महेशमध्ये भगवान् विष्णुलाई यस सृष्टिसंरचनाको पालनकर्ता अर्थात् सञ्चालनकर्ता मान्ने गरिन्छ र एकादशी तिथि उहाँको सर्वाधिक प्रिय तिथि मान्ने गरिन्छ । त्यसैले यस दिन केही नियम र अनुशासनका विषयमा सचेत हुनु आवश्यक छ, जसबाट श्रीहरिको अहैतुकी सहज कृपा प्राप्त होस् । शास्त्रमा एकादशीका दिन के गर्ने र के नगर्ने विषयमा विविध जानकारीहरू प्रदान गरिएको छ । केही कर्महरू एकादशीका दिन निषेध गरिएका छन्, जुन भुलचुकमा भएमा मनुष्यले सीधै नरकमा प्रवेश गर्नुपर्ने हुन्छ, त्यस्तै केही सरलतम उपायहरू पनि बताइएको छ, जसको पालनाबाट नीच मनुष्यले पनि सहजै वैकुण्ठमा प्रवेश गर्ने स्वीकृति प्राप्त गर्दछ । यस आलेखमा एकादशीका दिन गर्नैपर्ने र गर्न नहुने विषयका बारेमा चर्चा गरिने छ ।

यसबाहेक कतिपय मनुष्यले पारिवारिक सुखसम्मृद्धिका निमित्त वा आफ्नो व्यक्तित्व विकासका निमित्त अनेकौं प्रयास र परिश्रम गर्दागर्दै पनि असफल भइरहेको अवस्था देखिन्छ, तर एकादशी यस्तो महत्त्वपूर्ण दिन हो जुन दिन गरिएका सरल उपायले मानिसले आफ्नो भाग्यको ढोका सजिलै उघार्न सफल हुने गर्दछ । धार्मिक मान्यतानुरूप भगवान् विष्णुको प्रसन्नता भएपछि स्वतः माता लक्ष्मीको कृपा प्राप्त भइहाल्ने गर्दछ, त्यसैले पनि एकादशीका दिन गरिएको श्रद्धाभक्ति र भक्तिउपासनाका माध्यमबाट व्यक्तित्वका साथमा घरपरिवारमा सुख र खुसी भित्र्याउन सकिन्छ ।

एकादशीमा पालना गरिएका तलका उपाय र अनुशासनका माध्यमबाट भाग्य बदलिन सक्छ ।

  • एकादशीका दिन कुनै पनि बोटबिरुवाबाट फूल र पात टिप्नुहुँदैन ।
  • एकादशीका दिन दात माँझ्नु हुँदैन । खासगरी दतिउनको प्रयोग गर्न निषेध गरिएको छ । त्यसैले ब्रुशमन्जन नगरेर औंलाको प्रयोग गरी मुखकुल्ला गर्नु राम्रो हुन्छ वा दशमीको राती नै राम्ररी दाँत सफा गरेर सुते सजिलो हुन्छ ।
  • एकादशीका दिन चामल र चामलबाट बनेका कुनै पनि खाद्यपरिकारको उपभोग गर्नु हुँदैन । त्यस्तै भगवान् विष्णुको प्रतिमा वा फोटोमा पूजा गर्दा अक्षताको प्रयोग गर्नु हुँदैन । अक्षताको सट्टामा तिलको प्रयोग गर्न सकिन्छ ।
  • एकादशीका दिन जौ र यसबाट बनेका खाद्यपरिकारको सेवन गर्न पनि निषेध गरिएको छ । शास्त्रमा महर्षि मेधाको शरीरबाट जौको उत्पत्ति भएको भन्ने कथा छ, त्यसैले विष्णुको पूजामा जौको निषेध गरिएको हो ।
  • एकादशीको दिन दान गर्ने वा अरुलाई केही वस्तु प्रदान गर्ने दिन हो । यस दिन गरेको दानबाट अक्षय पुण्य प्राप्त हुन्छ । तपाईंले दान नगरेमा कुनै दोष लाग्दैन, तर यस दिन अरुबाट कुनै उपहार वा दानादि ग्रहण गर्नु हुँदैन । अझ यस दिन अरुले दिएको खाद्यपरिकार सेवन गरेमा भगवान् विष्णु निराश हुनुहुन्छ र सित्तैमा अरुको धनधान्य वा सरसामान लिएमा आर्थिक सङ्कटमा परिन्छ वा दरिद्रता बढ्छ भन्ने मान्यता छ । तर पूजादिमा ब्राह्मणले दान लिएमा दोष लाग्दैन ।
  • एकादशीका जाँडरक्सी, माछामासु, लसुन, प्याज, मुसुरोको दाल आदि तामसी पदार्थको सेवन गर्नुहुँदैन ।
  • एकादशीका दिन व्रतालुले गाजर, शलगम, काउली, पालक, पानी वा दहमा फल्ने सागसब्जीको सेवन गर्नु हुँदैन ।
  • एकादशीका दिन भगवान् विष्णुलाई पानको पात चढाउने प्रचलन छ, तर यस दिन पानतमाखुको सेवन गर्नसमेत निषेध गरिएको छ ।
  • एकादशी परेको एक दिनअघि नै घर बढारकुँडार गरेर सफा बनाउनु राम्रो हुन्छ, किनकि एकादशीका दिन घर बढारकुँडार गर्न पनि निषेध गरिएको छ । नबढार्नु भन्नुको मुख्य उद्देश्य घरमा कुचो लगाउँदा सूक्ष्म जीवजन्तुको मृत्यु नहोस् वा तिनले समेत दुःख नापाऊन् भन्ने हो, यस अतिरिक्त यस दिन घरको कसिङ्गर बाहिर फ्यालेमा घरको सह पनि बढारिएर जाने गर्दछ, त्यसैले बाध्यतावश यस दिन कसिङ्गर लगाउनु पर्यो भने कसिङ्गर घरभित्रै कुनै ठाउँमा व्यवस्थित गरी राखेर भोलिपल्टमात्र मिल्काउनु पर्दछ पनि भन्ने चलन छ ।
  • एकादशीका दिन दाह्री, कपाल, नङ काट्नु हुँदैन ।
  • एकादशी तिथिका दिन सायंकालमा तुलसीको मठमा गाईको घिउको वर्तन प्रयोग गरी दियो बालीदिनु पर्दछ । त्यसपछि ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको जाप गर्दै तुलसाको मठको एघार पटक परिक्रमा गरेमा घरमा पारिवारिक कलहको अन्त्य हुनुका साथै सुखसम्मृद्धि र शान्तिको वातावरण कायम हुन्छ भन्ने मान्यता छ ।
  • एकादशीका दिन भगवान् विष्णुको पूजा गर्दा पहेंलो रङको प्रयोग हुने वस्तु, पदार्थ र नैवेद्यको प्रयोग गर्नु पर्दछ । त्यसैले पीताम्बर, पहेंलो फूल, केसरीको चन्दन आदिको प्रयोग गरिएको हो । यसरी पहेंलो वस्तुको प्रयोग गरेमा भक्तका प्रत्येक मनोकामनाहरू पूर्ण हुने गर्दछन् ।
  • एकादशीका दिन भगवान् विष्णुलाई प्रदान गरिने नैवेद्य (खाद्यसामाग्री) मा तुलसीपत्र राखेर मात्र चढाउनु पर्दछ ।
  • एकादशीका दिन पिपल र वरको बोटको पूजा गरी धूपबाती गरिदिएमा ऋणबाट मुक्त भइन्छ । 
  • एकादशीका दिन कुनै सौभाग्यवती ब्राह्मणीलाई घरमा ल्याएर फलाहार गराउने र तिनलाई सौभाग्यका सामाग्री दान गरेमा कुमारी कन्याले मनले चाहेको वर प्राप्त गर्दछिन्, साथै गृहिणीले सुमधुर दाम्पत्य जीवन भोग गर्न पाउँछिन्, त्यस्तै विधवाका मृत पतिले उत्तम गति प्राप्त गर्दछन् ।
  • एकादशीका दिन भगवान् विष्णुका साथमा माता लक्ष्मीको समेत पूजा गरेमा धनधान्य र सुखसम्मृद्धिको कमी हुँदैन ।
  • एकादशीका दिन प्रातःस्नानपछि केसरीमिश्रित दूधले भगवान् विष्णुको प्रतिमामा पूजा गरिदिएमा बुद्धि बढ्दछ, परीक्षा र प्रतियोगितामा सफल भइन्छ ।
  • एकादशीका दिन गीता, भागवत आदि ग्रन्थहरूको पाठ गरे गराएमा मृतपितृहरूले उत्तम गति प्राप्त गर्दछन् । 
  • एकादशीका दिन दक्षिणावर्ती शङ्खको पूजा गर्नाले भगवान् विष्णुका साथमा माता लक्ष्मी पनि अतीव प्रसन्न हुनुहुन्छ, त्यसैले यसो गर्दा भक्तको घरमा कहिल्यै पनि दरिद्रताले प्रवेश गर्ने अवसर पाउँदैन ।
  • शास्त्रमा परनिन्दा अर्थात् अरुका कुरा काट्ने काम गर्नुलाई घोर पाप मानिएको पाइन्छ । यसो गर्दा मनमा अनेकानेक कटु भाव उत्पन्न हुने र मनोरोग सिर्जना हुने खतरा हुन्छ । त्यसैले कहिल्यै पनि परनिन्दामा सक्रिय हुनुहुँदैन । अझ एकादशीका दिन बिर्सेर पनि परनिन्दा गर्नु हुँदैन ।
  • एकादशीका दिन क्रोध र हिंसा गर्नुहुँदैन । क्रोधका कारण शरीरमा रक्तविकार हुन्छ र मन पनि स्थिर हुन सक्दैन । 
  • शास्त्रमा चोरी गर्नु, धोका दिनु, छक्याउनु जस्ता कामलाई घोर पाप मानिएको छ । यसबाट व्यक्तिको सामाजिक प्रतिष्ठा नाश हुन्छ, साथै उसले मरणोपरान्त नरकमा जानु पर्दछ । त्यसैले कुनै पनि व्रतका दिन यी काम गर्न निषेध गरिएको हो, जुन एकादशीका दिन पनि पालना गर्नु अनिवार्य मानिन्छ ।
  • एकादशीका दिन खासगरी शरीरभित्रै रहेका छ किसिमका शत्रुहरू (काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य) माथि पूर्ण रूपेण नियन्त्रण राख्नु अनिवार्य छ । यस दिन भोगविलास, आनन्द, मौजमज्जा, मनोरञ्जन, यौन र मैथुन आदि विलासिताका भावनाहरू मनमा आउन दिनुहुँदैन । मनमा यस्ता धारणा उत्पन्न भएमा भक्ति, निष्ठा र श्रद्धाभावमा विघ्न पर्दछ र व्रत पूर्ण हुन पाउँदैन ।

यसरी एकादशीका दिन, साथै जीवनका विभिन्न मोडहरूमा यी उपायको पालना गरेमा व्यक्तिले व्यक्तित्वको उचित विकास गर्नुका साथै पारिवारिक सुखसम्मृद्धि र ऐश्वर्य प्राप्त गरी समस्त अभिलाषा र इच्छाहरू प्राप्त गर्न सक्दछ ।

ठूली एकादशी

नेपाली समाजमा आषाढ शुक्लपक्षको हरिशयनी एकादशी र कार्तिक शुक्लपक्षमा पर्ने हरिबोधिनी एकादशीलाई ठूली एकादशी भन्ने चलन छ। हुन त वर्षमा २४ वटा एकादशी हुन्छन्, अझ मलमास परेको वर्षमा २६ वटा एकादशी पनि हुन्छन्। तर तीसबै एकादशीका तुलनामा यी दुईवटा एकादशीलाई विशेष महत्त्वका साथ शास्त्रीय विधिविधान पालना गरी व्रतसम्पादन गर्ने परम्परा रही आएको छ। यसरी यी दुई एकादशीको विशेष महत्त्व देखिनुमा भगवान् विष्णुको दैनन्दिनीको भूमिका रहेको पाइन्छ। सनातन हिन्दु धर्मभित्र यस चराचर जगतको संरक्षण र पालना गर्ने जगन्नियन्ता परब्रह्म परमेश्वरका रूपमा भगवान् विष्णुको भक्तिआराधना हुने परम्परा पाइन्छ। अनि हामी पृथ्वीमा बसोबास गर्ने मनुष्यहरूको एकवर्षको अवधि देवताहरूको केवल एकदिनको अवधि मान्ने चलन समेत छ। सामान्यतया सूर्य दक्षिणायनतर्फ ढल्कनासाथ देवताहरूको रात्रीकाल हुने चर्चा विभिन्न धार्मिक ग्रन्थमा प्राप्त हुन्छ। यिनै पौराणिक मान्यता र आख्यानका आधारमा आषाढ महिनामा पर्ने ठूली एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा पुगेर शयन गर्ने र कार्तिक शुक्ल पक्षमा पर्ने ठूली एकादशीका दिन निद्रा त्यागी ब्युँझने कथाप्रसङ्ग बेग्लाबेग्लै धार्मिक ग्रन्थहरूमा उल्लेख भएकाले पनि यी एकादशीको महत्त्व चुलिन पुगेको मान्न सकिन्छ।

हिन्दू धर्म मान्ने प्रत्येक व्यक्तिको घरमा मठ बनाएर सम्मानका साथमा संरक्षण र सम्बर्द्धन गरिने वनस्पति हो तुलसी। यी दुईवटा एकादशीमा तुलसी पनि गाँसिएको पाइन्छ। तुलसीको विरुवामा एक प्रकारको तेल हुन्छ, जुन तेल वातावरणमा रहेको वायुमण्डलमा सजिलै सम्मिश्रण हुन्छ। जसबाट घरको वातावरणलाई प्रदुषण हुनबाट जोगाउँछ। जहाँ र जुन घरमा तुलसीको वास हुन्छ, पूजा हुन्छ, त्यहाँ ऋद्धिसिद्धिको बास हुन्छ भन्ने मान्यता पनि छ। यसरी धार्मिक र वैज्ञानिक आधारमा तुलसीको छुट्टै वैशिष्ट्य छ। आषाढको ठूली एकादशीमा प्रत्येक हिन्दु धर्मावलम्बीले आआफ्ना घरमा रहेको मठमा तुलसीको बिरुवा रोप्ने र कार्तिकको ठूली एकादशीका दिन उक्त तुलसीको विधिवत् विवाह सम्पन्न गरिदिने चलन पनि छ। स्कन्दपुराणमा वर्णित कथाका अनुसार जालन्धर नामका महान् पराक्रमी दैत्यकी पतिव्रता पत्नी वृन्दाको सतीत्व नै उसको अमरत्वको आधार थियो। सृष्टिको कल्याण गर्ने उद्देश्यले भगवान् विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नु परेको थियो। त्यसपछि मात्र जालन्धरको बध गर्न सम्भव भएको थियो। भगवान् विष्णुले रूप बदलेर आफ्ना पतिको भेषमा आफ्नो सतीत्व नष्ट पारेको थाहा पाएपछि वृन्दामा क्रोधको सीमा रहेन र क्रोधको आवेगमा उनले भगवान् विष्णुलाई श्राप दिईन्। त्यसपछि भगवान् विष्णु पत्थरमा परिणत भई शालीग्रामका रूपमा अवतीर्ण भए। यसरी वृन्दाले दिएको श्रापबाट मुक्त हुन भगवान् विष्णुले शालीग्राम स्वरुपमा रहेर तुलसीसँग विवाह गर्नु परेको थियो। जुन दम्पतीको छोरी छैन, उनीहरूले जीवनमा एकपल्ट आषाढको एकादशीमा आफ्नो घरआँगनको तुलसीको मठमा तुलसी रोपी, चार महिनासम्म नित्य पूजाअर्चना गरी कार्तिक महिनाको ठूली एकादशीमा विधिवत् विवाह गरिदिएमा कन्यादानको पुण्यप्राप्त हुन्छ र पुत्रीलाभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ।

यी दुबै एकादशीमा नेपालका विभिन्न तीर्थस्थल देवालय र मठमन्दिरमा मेला लाग्ने गर्दछ। त्यस्तै सानाठूला नदीनाला तालपोखरी र सरोबरमा स्नान गर्ने मानिसहरूको घुइँचो लाग्ने गर्दछ। आषाढमा पर्ने एकादशीका दिनबाट सुरु गरी चार महिनासम्म चोखोनीतो भई, एक छाकमात्र खाई चतुर्मासा व्रत बस्ने चलन पनि छ। चतुर्मासाको अवधिभरि ठाउँठाउँमा व्रतकथा महात्म्य र पुराणहरूको कथा श्रवण गर्ने व्यवस्थापन समेत हुने गर्दछ। कतिपय धार्मिक व्यक्तित्वहरूले आआफ्ना घरैमा कथा सुन्ने सुनाउने व्यवस्था गरेका हुन्छन्। ठूलाठूला विद्वान् सन्त महन्त योगी र सन्न्यासीहरू यस अवधिमा सम्भव भएसम्म एकै ठाउँमा बस्ने गर्दछन् र आफ्ना धार्मिक आध्यात्मिक उपदेश र प्रवचनहरू प्रदान गर्ने गर्दछन्। केही तीर्थस्थलहरूमा बाहेक अन्य तीर्थस्थलको तीर्थयात्रा पनि यस अवधिमा बन्द हुन्छ। यस अवधिमा वृन्दावन, बाबाधाम, बद्रीनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, दूधकुण्ड आदि तीर्थको तीर्थाटन गर्ने परम्परा पनि छ। समग्रमा आध्यात्मिक र धार्मिक दृष्टिले चतुर्मासा अवधिको ठूलो महत्त्व छ।


हरिबोधिनी एकादशी (कार्तिकको ठूली एकादशी)

प्रत्येक वर्षको कार्तिक शुक्लपक्षमा पर्ने एकादशीलाई हरिबोधिनी एकादशी भन्ने गरिन्छ । यस एकादशीका दिन क्षीरसागरमा शयनावस्थामा रहनुभएका भगवान् विष्णु निद्राबाट जागा हुनुहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस एकादशीको व्रत लिनाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा एक हजार अश्वमेध तथा एक सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ । नेपाली परिवेशमा यस एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिन्छ । यस दिन गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह सम्पन्न गर्दछन् । आज तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी रङ्गीचङ्गी वस्त्र र फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ । यस एकादशीको व्रत लिने व्रतालुले तुलसीको विधिसम्मत विवाह गरिदिएर व्रत बसी फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड खाने गर्दछन् ।

लक्ष्मीले एक पटक क्षीरसागरमा शयनावस्थामा रहनु भएका भगवान् नारायणको सेवा गर्दै आफ्नो जिज्ञासा राख्नु भएको थियो - 'हे नाथ! हजुर जागा रहँदा पनि वर्षौंवर्षसम्म जागै बस्नुहुन्छ र सुत्नुभयो भने पनि लाखौँ-करोडौँ वर्षसम्म सुत्नुहुन्छ । हजुर जागा रहँदा समस्त चराचर जगत् चलायमान हुन्छ, अनि शयनावस्थामा रहँदा समस्त जगतको प्रलय भई सृष्टिको विनाश हुने गर्दछ । त्यसैले हजुरले नियमित रूपमा विश्राम गर्ने व्यवस्था हुनु आवश्यक छ । त्यसरी हजुरले विश्राम गर्नुभयो भने मैले पनि केही समय फुर्सद पाउने छु ।' लक्ष्मीका कुरा सुनेर मुसुक्क हाँसेर भगवान् विष्णुले जवाफ दिनुभयो - 'हे देवी ! तिमीले ठीक भन्यौ । म जागा रहेको अवस्थामा मेरो सेवामा तल्लीन हुनुपर्ने भएकाले समस्त देवगणका साथमा तिमीले निकै खट्नु पर्छ, थकाइ मार्ने र विश्राम लिने समय नहुनाले शारीरिक र मानसिक रूपमा सबैलाई कष्ट हुन्छ।  त्यसैले, तिम्रो इच्छा पूर्ण गर्न म आजदेखि प्रतिवर्ष वर्षा ऋतुबाट प्रारम्भ गरी चार महिनासम्म शयन गर्नेछु । उक्त समयमा तिमी र समस्त देवगणले फुर्सद पाउने छन् । उक्त निद्रा मेरो अल्पनिद्राका रूपमा विख्यात हुनेछ । मेरो अल्पनिद्राको समयमा प्रलयकाल जस्तो चराचर जगतको अन्त्य हुनेछैन, यथावत् सुसञ्चालित भइरहने छ । तर जब प्रलयको समय आउने छ, त्यस समयमा मैले महानिद्रा ग्रहण गर्नेछु र महानिद्राकालमा समस्त चराचर जगत भङ्ग हुनेछ, सृष्टिको विनाश हुनेछ । मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मङ्गलकारी, उत्सवप्रद तथा पुण्यबर्द्धक बन्नेछ । मैले अल्पनिद्रा ग्रहण गरेको समयमा मेरा श्रद्धालु भक्तजनले शयनावस्थाको अनुभूति ग्रहण गर्दै मेरो आराधना र व्रत/अनुष्ठान सम्पन्न गर्नेछन् । त्यसरी मेरो भक्ति/आराधना गर्ने भक्तजनको घरमा उक्त अवधिमा म तिम्रासाथमा निवास गर्नेछु ।'
भगवान् विष्णुले यसरी लक्ष्मीलाई आश्वस्त तुल्याएपछि प्रत्येक वर्ष आषाढ शुक्ल पक्षमा पर्ने एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा गई शयन गर्नुहुने र कार्तिक शुक्ल पक्षमा पर्ने एकादशीका दिन शयनावस्थाबाट जागा हुनुहुने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी र कार्तिक शुक्ल पक्षको एकादशीलाई हरिबोधिनी एकादशी भन्ने गरिन्छ । हरिबोधिनी एकादशीलाई देवोत्थान एकादशी पनि भन्ने गरिन्छ ।

हरिबोधिनी एकादशीका दिन व्रतालुले प्रातःकालमा ब्रह्ममुहूर्तमा निद्रा त्याग गरी स्नानशौचादि नित्यकर्मबाट निवृत्त भई भगवान् नारायणको प्रतिमासामु उपस्थित भई घण्टा ,शङ्ख, मृदङ्ग आदि बजाएर भगवान् विष्णुलाई अल्पनिद्राबाट ब्युँझाउन यी श्लोकहरू पढेर जगाउने गरिन्छ -
उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ॥
उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत-वसुन्धरे ।
हिरण्याक्षप्राणघातिन् त्रैलोक्ये मङ्गलं कुरु ॥

यसरी श्रीहरिलाई जागा गराएपछि स्नानादि गराई सुन्दर वस्त्राभूषणले सुसज्जित तुल्याई षोडशोपचार विधिले पूजा गरिदिनु पर्छ । त्यसपछि सम्भव भए पूर्णरूपमा निराहार रही वा फलाहार गरी व्रत लिनुपर्छ । व्रत लिन सम्भव नभए त्यस दिन चामलले बनेको पक्वान्न भए पनि त्याग गर्नु राम्रो हुन्छ । यस एकादशीका दिन जागरण गरेको राम्रो मानिन्छ । व्रतालुले रातभरि जागा रहेर हरि नामसङ्कीर्तन, अखण्ड भागवत पाठ, स्मृतिपुराणादिको कथाश्रवण गर्नाले भगवान विष्णु प्रसन्न हुनुहुन्छ भन्ने मान्यता छ ।

सनातन हिन्दू धर्मावलम्बीका समस्त वैदिक कर्म र संस्कारहरूमा भगवान् विष्णुको नामोच्चारणका साथमा सङ्कल्प गर्ने प्रावधान छ । श्रावणदेखि कार्तिकसम्मको चार महिनाको अवधि भगवान् विष्णुको शयनावस्था हुने भएकाले आषाढमा पर्ने ठूली एकादशीपछि विवाहादि समस्त माङ्गलिक कार्यको अन्त्य हुने र कार्तिकमा पर्ने ठूली एकादशीबाट ती कर्मको शुभारम्भ हुन्छ भन्ने मान्यता पनि छ ।

पद्मपुराणको उत्तरखण्डमा एकादशीको महात्म्य उल्लेख गरिएको छ । उक्त माहात्म्यअनुसार हरि प्रबोधिनी (देवोत्थान) एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा एक सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस एकादशीको व्रतले शरीरमा जन्मजन्मान्तरदेखि सञ्चित रहेका सबै पापको अन्त्य हुन्छ र व्रत लिने व्यक्तिले मरणोपरान्त वैकुण्ठलोक प्राप्त गर्दछ । यस एकादशीका दिन भक्तजनले श्रद्धाका साथ जेजस्तो जप, तप, स्नानदान र होमादि गर्दछन्, ती सबै अक्षय पुण्यदायक हुन पुग्छन् । यस एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातन धर्मावलम्बी गृहस्थीको आध्यात्मिक कर्तव्य हो भन्ने मान्यता पनि छ ।

यस एकादशीका दिन प्रत्येक गृहस्थीले आआफ्ना घरआँगनमा रोपेको तुलसीको बिरुवाको साजसज्जा गरी विवाहोत्सव गर्ने चलन पनि छ । यस सन्दर्भमा विभिन्न पुराणमा एउटा कथा भेटिन्छ - उहिले एउटा जालन्धर नामको बलशाली दैल्य थियो । ऊ अधार्मिक, दुष्ट र खराब आचरणको भए पनि उसकी पत्नी वृन्दा शीलस्वभाव र सौन्दर्यमा तीनै लोकमा विख्यात थिई । उसले आफ्नो सतीत्व नष्ट नहुन्जेल अखण्ड सौभाग्यको वरदान प्राप्त गरेकी थिई । एक पटक भगवान् महादेव र जालन्धरका बीचमा ठूलो युद्ध भयो । युद्धमा कुनै तरिकाले जालन्धर पराजित भएन । उसकी पत्नीको पातिव्रत्य धर्म समाप्त नहुन्जेल जालन्धरलाई हराउन नसक्ने रहस्य थाहा पाएर महादेवले विष्णुको सहयोग लिनुपर्यो । अनि भगवान् विष्णुले  जालन्धरको रूप धारण गरी वृन्दाको सतीत्व नष्ट बनाउनु भयो । अन्ततः महादेवले जालन्धरको बध गर्नुभयो । विष्णुले आफूसित छल गरेको चाल पाएपछि वृन्दाले उनलाई श्राप दिईन् । वृन्दाको श्रापबाट विष्णुले पत्थर भएर शालिग्रामका रूपमा परिवर्तित हुनुपर्यो ।

विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरी वृन्दालाई वरदान दिनुभयो र भन्नुभयो - 'तिम्रो शरीर गण्डकी नदीका रूपमा रहने छ, म त्यस नदीमा शालिग्राम शीलाका रूपमा सदैव तिम्रा साथमा रहने छु । अनि तिम्रो केश तुलसीका रूपमा औषधीय गुणले युक्त वनस्पति भई उत्पन्न हुनेछ । प्रत्येक गृहस्थीले तुलसीको पूजा गर्नेछन् । मेरो पूजा र भक्ति गर्दा सदैव तुलसीपत्रको प्रयोग हुनेछ र तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ । आजबाट तिमी मेरा निम्ति लक्ष्मीसरह प्रिय रहने छौ, त्यसैले तिमी हरिप्रिया नामले प्रसिद्ध हुनेछौ ।'

भगवान् विष्णुको आशीर्वाद प्राप्त गरेकै दिनदेखि तुलसीको महत्त्व बढ्न गएको हो । आजको हरिबोधिनी एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको विवाह गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई स्वर्गका देवतासरह प्रसन्नता प्राप्त हुन्छ भन्ने मान्यता पनि छ । अस्तु ।।

Saturday, October 28, 2017

गुप्तदान गर्ने दिन : कुष्माण्डा नवमी

कार्तिक महिनाको शुक्ल पक्षको नवमी तिथिलाई कुष्माण्डा नवमी भन्ने गरिन्छ । यसै तिथिलाई आमलकी नवमी र अक्षय नवमी भन्ने चलन पनि छ । यस नवमीको दिनबाट सत्ययुग प्रारम्भ भएको धार्मिक मान्यता छ । यस दिन गरिएको कुभिण्डोको दानादि र ब्राह्मणभोजनबाट दान कर्ताले अक्षय पुण्य प्राप्त गर्नुका साथै उसले दान गरेको फलादिमा जतिवटा बियाँ हुन्छन्, त्यति नै दिव्यवर्षपर्यन्त स्वर्गमा निवास गर्ने अनुकूलता प्राप्त गर्दछ । त्यस्तै अक्षय नवमी भएकाले यस दिन कसैले एउटा अमलाको बोट रोप्यो र आजीवन त्यसको सेवासुश्रुषा गर्यो भने उसले राजसूय यज्ञ सम्पादन गरेको फल प्राप्त गर्दछ भन्ने धार्मिक विश्वास लिने गरिन्छ । यसरी दान गर्दा कुभिण्डोभित्र लुकाएर स्वर्णादि धातु राखी गुप्तदान गर्ने प्रचलनसमेत छ, अनि यस दिन नेपालको मकवानपुर जिल्लामा रहेको कुष्माण्ड सरोवरमा विशेष मेला लाग्ने गर्दछ ।

ब्रह्माण्डको सृष्टिहुनु अघि सबैतिर अन्धकारमय अवस्था थियो । यस समयमा सृष्टिको कुनै अस्तित्व थिएन। यस्तो परिस्थितिको प्रारम्भमा आद्याशक्ति जगन्माता भगवतीको मन्दमुस्कानद्वारा अण्ड अर्थात् ब्रह्माण्डको उत्पत्ति भयो। अतः संसारमा यिनलाई कुष्माण्डा भगवतीका नामले प्रसिद्धि प्राप्त भएको हो। कुभिण्डोलाई संस्कृत भाषामा ‘कुष्माण्डम्’ पनि भनिन्छ । बलिहरूमध्ये सर्वाधिक प्रिय बलिका रूपमा भगवती दुर्गालाई कुभिण्डो मन पर्ने हुनाले पनि यिनलाई कुष्माण्डा भगवती भनिएको हो। कुष्माण्डा भगवती सूर्यमण्डलको भित्री तहमा निवास गर्छिन्। यिनको शरीरको ज्वाज्ज्वल्यमान कान्ति पनि सूर्य झैं देदीप्यमान भएर सम्पूर्ण ब्रह्माण्डमा फैलिएको हुन्छ। यिनको तेजको तुलना यिनैसँग मात्र गर्न सकिन्छ, अरू कुनै पनि देवीदेवताको तेजलाई यिनको तेजोमय देदीप्यमान प्रकाशसँग समता गर्न सकिँदैन । शास्त्रीय मतानुसार श्री कुष्माण्डा भगवतीले आफ्ना आठवटा हातहरूमा दाहिनेपट्टि क्रमशः कमण्डलु, धनुष, वाण र कमलको फूल एवं देब्रेपट्टिका हातहरूमा क्रमशः अमृतपूर्ण कलश, चक्र, गदा र अणिमादि समस्त सिद्धि प्रदान गर्ने जपमाला धारण गरेकी हुन्छिन् । यसरी भगवतीले कुष्माण्डाको स्वरूप धारण गरेको पवित्र दिन, सृष्टिको पहिलो दिन र सत्ययुगको पहिलो दिन भएकाले यो दिन कुष्माण्डा नवमीका रूपमा प्रख्यात भएको हो ।

कुष्माण्डा नवमीका दिन भगवान् विष्णुले कुष्माण्डक नाम गरेको दैत्यको बध गर्नु भएको प्रसङ्गसमेत विभिन्न पुराणमा उल्लेख गरिएको छ । मरणोपरान्त त्यही कुष्माण्डक दैत्य एउटा लहराका रूपमा प्रकट भएको र उक्त लतामा फर्सी आकारको एउटा फल उत्पन्न हुन थालेको हुँदा उक्त फलको नाम नै कुष्माण्ड (कुभिण्डो) रहन गएको हो भन्ने मान्यता छ । त्यसैले यस दिन कुभिण्डो दान गर्ने प्रचलन सुरु भएको हो । यसरी यस पावन दिनमा कुभिण्डो वा कुभिण्डोबाट बनेका परिकार दान गरेमा उत्तम फल प्राप्त हुने विश्वास गरिन्छ । यस दिन कुभिण्डो दान गर्दा सुरुमा विधिपूर्वक त्यसलाई चन्दन, अक्षता र पुष्पादिले पूजन गरी त्यसभित्र कुनै बहुमूल्य वस्तु लुकाएर दान गर्नुपर्दछ । त्यस्तै यस दिन विधिपूर्वक तुलसीको विवाह गरिदिएमा कन्यादानको फल प्राप्ति हुन्छ भन्ने कुरा व्रतराज नामक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ, तर नेपाली परिवेशमा यस दिनको दुई दिनपछि पर्ने हरिबोधिनी (ठूली एकादशी) का दिन धूमधामका साथ तुलसी विवाह गर्ने गराउने प्रचलन रहेको देखिन्छ ।

कुष्माण्डा नवमीको अर्को नाम अक्षय नवमी पनि हो । सामान्यतया प्रत्येक युगको प्रारम्भ भएका तिथिलाई युगादि भन्ने चलन छ, त्यसैले यो दिन पनि युगादि तिथि हो ।  स्कन्दपुराण र नारदपुराणमा उल्लेख भएबमोजिम युगादि तिथिहरू कार्तिक शुक्ल नवमी (सत्ययुगादि), वैशाख शुक्ल तृतीया (अक्षय तृतीया, त्रेतायुगादि), माघको पूर्णिमा (द्वापरयुगादि) र भाद्र कृष्ण त्रयोदशी (कलियुगादि) मानिन्छन् र यी चारवटा तिथिमा जेजति दानादि गरिन्छ, तिनको अक्षय फल प्राप्त हुन्छ ।

नवमी कार्तिके शुक्ला कृतादिः परिकीर्तिता ।
वैशाखस्य तृतीया या शुक्ला त्रेतादिरुच्यते ॥
माघे पञ्चदशीनाम द्वापरादिः स्मृता बुधैः ।
त्रयोदशी नभस्ये च कृष्णा सा हि कलेः स्मृता ॥ स्कन्दपुराण ५।१२१-१२३ ॥
तृतीया माधवे शुक्ला भाद्रे कृष्णा त्रयोदशी । 
कार्तिके नवमी शुद्धा माघे पञ्चदशौ तिथिः ॥ 
एता युगाद्याः कथिता दत्तस्याक्षयकारिकाः ॥ (नारदपुराण पूर्वभाग २५।५०–५१)

त्यस्तै नारदपुराणमा कार्तिक शुक्ल नवमीका दिन पिपलको फेदमा देवता, पितृ र ऋषिहरूको तर्पण गर्नाले अक्षयपुण्य प्राप्त हुने तथा सूर्यलाई अर्घ्य दिने एवं गरीवगुरुवा र ब्राह्मणलाई भोजनदक्षिणादि प्रदान गर्ने तथा हवन र जापादि गर्ने विधान बताइएको छ ।

कार्तिके शुक्लनवमी याऽक्षया सा प्रकीर्तिता ।
तस्यामश्वत्थमूले वै तर्प्पणं सम्यगाचरेत् ॥
देवानां च ऋषीणां च पितॄणां चापि नारद ।
स्वशाखोक्तैस्तथा मन्त्रैः सूर्यायार्घ्यं ततोऽर्पयेत् ॥
ततो द्विजान्भोजयित्वा मिष्टान्नेन मुनीश्वर ।
स्वयं भुक्त्वा च विहरेद्द्विजेभ्यो दत्तदक्षिणः ॥ 
एवं यः कुरुते भक्त्या जपदानं द्विजार्चनम् ।
होमं च सर्वमक्षय्यं भवेदिति विधेर्वयः ॥ नारदपुराण, पूर्वभाग ११८।२३-२६ ॥

यसरी नै वराह पुराणमा नवमी तिथिका दिन आद्याशक्ति जगन्माता भगवतीको पूजाअर्चना गर्ने प्रसङ्ग उल्लेख गरिएको छ –

इयं देवी वरारोहा यातु शैलं हिमाचलम् ।
तत्र यूयं सुराः सर्व्वे गत्वा नन्दतमाचिरम् ॥
नवम्याञ्च सदा पूज्या इयं देवी समाधिना ।
वरदा सर्व्वलोकानां भविष्यति न संशयः ॥
नवम्यां यश्च पिष्टाशी भविष्यति हि मानवः ।
नारी वा तस्य सम्पन्नं भविष्यति मनोगतम् ॥

अझ कार्तिक महिनाको शुक्लपक्षको कुष्माण्डा नवमीका दिन जगद्धात्री भगवती दुर्गाको विशेष आराधना गर्ने प्रसङ्ग विभिन्न तन्त्रग्रन्थमा उल्लेख भएको पाइन्छ –

प्रपूजयेज्जगद्धात्रीं कार्त्तिके शुक्लपक्षके ।
दिनोदये च मध्याह्ने सायाह्ने नवमेऽहनि ॥ इति मायातन्त्रे १७ पटलः ॥
कुम्भराशिगते चन्द्रे नवम्यां कार्त्तिकस्य च ।
उषस्यर्द्धोदितो भानुर्द्दुर्गामाराध्य यत्नवान् ॥
पुत्त्रारोग्यधनं लेभे लोकसाक्षित्वमेव च ।
तां तिथिं प्राप्य मनुजः शनिभौमदिने यदि ।
प्रपूजयेन्महादुर्गां धर्म्मकामार्थमोक्षदाम् ॥ इति कात्यायनीतन्त्रे ७८ पटलः ॥

मथुरा-वृन्दावन परिक्रमा

अक्षय नवमीका दिन भगवान् श्री कृष्णले आफ्ना मामा कंसको बध गर्नुपूर्व मथुरावृन्दावन क्षेत्रमा रहेका तीनवटा वनको परिक्रमा गर्दै शङ्खनाद गर्नु भएको थियो भन्ने मान्यता छ । यसै परम्पराको अनुसरण गर्दै अहिले पनि कुष्माण्डा नवमी (अक्षय नवमी) का दिन असत्यका विरुद्ध सत्यको जीतका निमित्त मथुरावृन्दावनको संयुक्त परिक्रमा गर्ने प्रचलन छ । मथुरा, वृन्दावन र कार्तिक महिनालाई साक्षात् राधादामोदर स्वरूप मान्ने गरिन्छ । यसै महिनामा भगवान् श्रीकृष्णले गाई चराउन (गोचारण) का निमित्त पिता नन्द गोपसित आज्ञा लिनु भएको थियो ।

अमलाको पूजा

कुष्माण्डा नवमीको अर्को नाम आमलकी नवमी पनि हो । त्यसैले यस दिन अमलाको वृक्षको पूजा गर्नाले गृहिणीहरूले अखण्ड सौभाग्य, गृहस्थ जीवनमा सुखशान्ति, आयु एवं सन्तानवृद्धिको फल प्राप्त गर्दछन् । आमलकी नवमीका दिन अमलाको बोटबाट अमृतका थोपा झर्दछन् भन्ने मान्यता छ । त्यसैले यस दिन यस रुखको फेदमा बसी भोजनादि गर्नाले कतिपय असाध्य रोगबाट निवृत्ति हुन्छ भन्ने विश्वाससमेत लिने गरिन्छ । यस दिनदेखि कार्तिक पूर्णिमासम्म सात दिन भगवान् विष्णुले अमलाको वृक्षमा निवास गर्नुहुन्छ । धर्मग्रन्थ र आयुर्वेदमा अमलामा प्रशस्त औषधीय गुण विद्यमान हुने प्रसङ्ग उल्लेख गरिएको पाइन्छ । चाडपर्व र व्रतादिमा खाएको अमलाले शरीरमा भएको गरिष्ठ भोजनलाई पचाउनुका साथै यसले पतिपत्नीका बीचको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुर्याउने हार्मोनको परिपूर्ति गर्ने बताइन्छ । अझ कुष्माण्डा नवमीका दिन युगल दम्पतीले गरेको अमलाको पूजा, सेवन र व्रतदानादिबाट सन्ततिलाभ, वंशोन्नति, शान्ति, सद्भाव र सुखसम्मृद्धि हुनुका साथै श्रद्धालुले जन्ममरणको चक्रबाट छुटकारा पाई पुनर्जन्मको बन्धनबाट मुक्त हुने अवसर प्राप्त गर्दछ ।

अक्षय नवमीको पूजा गर्ने विधान

सबैभन्दा पहिले आद्याशक्ति जगन्माता भगवती कुष्माण्डाको पूजाआराधना गर्नुपर्दछ । उनको स्मरण गर्दै निम्न मन्त्रको उच्चारण गर्नुपर्दछ - 

दुर्गतिनाशिनि त्वं हि दारिद्र्यादिविनाशिनीम्।
जयदां धनदां देवि कूष्माण्डे प्रणमाम्यहम् ॥

यसपछि कर्पूरबाती बालेर तल लेखिएका मन्त्रको उच्चारणका साथ अमला वा पिपलको अथवा दुबै वृक्षको पूजा गरी परिक्रमा गर्दै अक्षय सुखसमृद्धि र आरोग्यको कामना गर्नुपर्छ ।

अमलाको बोट वा पिपलको प्रार्थना गर्ने मन्त्र :-

मूले विष्णु: स्थितो नित्यं स्कन्धे केशव एव च ।
नारायणस्तु शाखासु पत्रेषु भगवान् हरि: ।।
फलेऽच्युतो न सन्देह: सर्वदेवै: समन्वित: ।।
स एव विष्णुर्द्रुम एव मूर्तो महात्मभि: सेवितपुष्यमुल: ।
यस्याश्रय: पापसहस्त्रहन्ता भवेन्नृणां कामदुघो गुणाढ्य: ।।
अश्वत्थ सुमहाभागसुभग प्रियदर्शन।
इष्टकामांश्च मे देहि शत्रुभ्यस्तु पराभवम् ॥
आयु: प्रजां धनं धान्यं सौभाग्यं सर्वसम्पदम्।
देहि देवि महावृक्ष त्वामहं शरणं गत:॥

यस क्रममा अमला वा पिपलको वृक्षलाई परिक्रमा गर्दै काँचो धागोले १०८ पटक बेर्ने चलन छ । परिक्रमा पूर्ण भएपछि अमला वा पिपलको वृक्षको फेदमा पूर्व दिशामा निहुरिएर ॐ धात्र्यै नमः मन्त्रको उच्चारण गरी दूधको धाराले पितृहरूलाई तर्पण गरी कपूरबातीले आरती गरिदिनु पर्दछ । त्यसपछि घरमा आएर दानादि गर्ने नियम छ । यस नवमी तिथिमा अमला, कुभिण्डो, फर्सी (सीताफल) आदि बाटुलो आकारको फलफूलका साथमा भोजन, द्रव्य, वस्त्र, स्वर्णादि योग्य ब्राह्मण र गरीवगुरुवालाई दान गर्नुपर्दछ । दान गर्दा सङ्कल्प उच्चारणका साथमा ममाऽखिलपापक्षयपूर्वकं सुखसम्मृद्धिसौभाग्यादीनामुत्तरोत्तराभिवृद्धये कूष्माण्डदानं तदभावे अन्य फलदानमहं करिष्ये भनी दान गर्नु पर्दछ । त्यसपछि अक्षय नवमीको कथा श्रवण गर्नुपर्दछ ।

कुष्माण्डा नवमीको कथा

भारतको वाराणसी (काशी) सहरमा एउटा व्यापारी निवास गर्दथ्यो । ऊ असाध्यै धर्मात्मा र दानी थियो ।  उसकी पत्नी पनि शील र स्वभावले युक्त तथा धर्माचरण र कर्तव्यपथमा निरन्तर अघि बढिरहने सुन्दर नारी थिई । दाम्पत्यसूत्रमा बाँधिएको लामो समय बित्दा पनि तिनका कुनै सन्तान थिएनन् । सन्तानहीनताका कारण व्यापारीकी पत्नी खिन्न र निराश हुने गर्थी । उसमा वैराग्यका भावना वहन थालेका थिए, एकान्तमा बस्ने, काममा मन नलाउने र झर्कोफर्को गर्ने बानी विकसित हुँदै थियो । व्यापारी पनि पत्नीको चिडचिडेपना देखेर दिक्क मान्न थालेको थियो ।

यस्तैमा साहुनीसित कुनै एउटा तान्त्रिक योगीको भेट भयो । उसले योगीलाई उसले आफूले सन्तान प्राप्त गर्न नसकेको र निराशाभाव बढ्न थालेको कुरा बताई । तान्त्रिकले सन्तानप्राप्तिको उपाय बताउँदै भने - आफ्नो कोखमा सन्तान भएको देख्न चाहन्छ्यौ भने तिमीले कालभैरवको मन्दिरमा कुनै जीवित बालकको बलि दिनुपर्दछ । तान्त्रिकका कुरामा पत्यार लागेर उसले सन्तान प्राप्त गर्न कुनै बालकको खोजी गरी बलि चढाउनका लागि पतिसमक्ष अनुरोध गरी । तर धार्मिक स्वभावको व्यापारीले कसैको हत्या गरी आफू पिता बन्नु समुचित नहुने ठानेर पत्नीका कुरामा ध्यान दिएन । तर व्यापारीकी पत्नीमा सन्तानको इच्छाले जरो गाडिसकेको थियो । उसको इच्छा र मोहका कारण कुन कुरो ठिक र कुन कुरो खराब भन्ने विवेक गर्ने क्षमता नाश भयो ।

एक दिन पतिलाई जानकारी नै नदिई उसले एउटा बालकको खोजी गरी कालभैरवलाई बलि चढाएरै छाडी । मानवको वा पशुको बलि दिएर देवता प्रसन्न हुने होइनन्, तान्त्रिकले कुनै साधना पूरा गर्न उसद्वारा बलि दिलाउन हौस्याएको मात्र थियो । त्यसैले साहुनीले गर्भधारण गर्नु त परै जाओस्, प्रारम्भदेखि नै उसमा देखा परेको मनोरोगका साथमाा उसका शरीरमा नानाथरिका चर्मरोग र कुष्ठरोगले आक्रमण गरे । केही समयपछि व्यापारीले  पत्नीले गोपनीय ढंगले मानवबलि दिएको र विभिन्न रोगव्याधिको प्रकोप सहनु परेको कुरो चाल पायो । साहु यो कुरो थाहा पाएर असाध्यै खिन्न र आफ्नी पत्नीका गलत क्रियाकलापप्रति क्रोधित पनि भयो ।

जीवनसाथी र अर्द्धाङ्गिनी भएका कारण रोगव्याधिबाट ग्रस्त पत्नीको उपचार गर्नुबाहेक उसँग कुनै विकल्प थिएन । त्यसपछि शरीरमा उत्पन्न समस्त रोग र विकारको नाशका लागि दिनहुँ गङ्गास्नान गरी प्रायश्चित्तका लागि ईश्वरसँग प्रार्थना गर्न पत्नीलाई अह्रायो । साहुनीलाई पनि पछुतो भइसकेको थियो, उसले पतिको आज्ञा पालना गर्न थाली । ऊ दिनहुँ दशाश्वमेध घाटमा गएर गङ्गास्नान गर्दथी, माता गङ्गाको आराधना गरेर विश्वनाथ महादेवको मन्दिरमा गई प्रार्थना गर्ने गर्दथी । यसरी लामोसमय सम्म गङ्गास्नान र ईश्वर आराधना गरेपछि एक दिन प्रसन्न भएकी गङ्गामाताले एउटी बृद्ध स्त्रीको रूप लिई साहुनीलाई दर्शन दिंदै बताइन् - हे स्त्री ! कार्तिक महिनाको शुक्लपक्षको नवमी तिथिका दिन ब्रज क्षेत्रको वृन्दावनमा गएर अमलाको फेदमा भगवान् नारायणको पूजा गर्नु, ब्राह्मण भोजन गराउनु साथै कुभिण्डो वा त्यसबाट बनेका खाद्य परिकारको दान गर्नु तेरो शरीरमा भएका समस्त रोगव्याधि र विकार दूर हुनेछन् । गङ्गामाताको आदेशानुसार साहुनीले विधिपूर्वक अमलाको बोटमा भगवान् नारायणको प्रतिष्ठा गरी पूजादि सम्पन्न गरी । उसका शारीरिक रोगव्याधिको नाश भयो । उसले पूर्ववत् सुन्दर शरीर प्राप्त गरी । केही समयपछि उसले गर्भधारण गरी र एउटा सुन्दर पुत्रसमेत प्राप्त गरी । त्यसैले सन्तानहीन महिलाले यस नवमीको व्रत सम्पादन गर्न थाले ।

सन्तान नहुनेले मात्र होइन, सन्तान भएका महिलाले समेत यस कुष्माण्डा नवमीको व्रत सम्पादन गरेमा सन्तान स्वस्थ र निरोगी हुनुका साथै तिनको उन्नतिप्रगतिको मार्गमा देखिएका विघ्नबाधा दूर भई तिनले धनधान्य, मानसम्मान र सुखसुविधा प्राप्त गर्ने गर्दछन् ।

Friday, October 27, 2017

गोपाष्टमी

परिचय

प्रत्येक वर्षको कार्तिक महिनाको शुक्ल पक्षको अष्टमी तिथिलाई गोपाष्टमी भनिन्छ । यसै दिनबाट भगवान् श्रीकृष्णले गोठमा बस्ने र गाई चराउने लीला प्रारम्भ गर्नुभएको विश्वास गरिन्छ। यो पर्व ब्रजसंस्कृतिको एउटा प्रमुख पर्व हो । गाई र ग्वालाहरूको रक्षा गर्नाले भगवान् श्री कृष्णको नाम नै 'गोविन्द' रहन गएको हो । द्वापर युगमा कुनै कार्तिक महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन ब्रजक्षेत्रका गाई लगायतका पशुधन, गोप, गोपी आदिलाई वर्षाका देवता इन्द्रको कोपबाट मुक्त पारी तिनको संरक्षण गर्न भगवानले गोवर्द्धन पर्वतलाई धारण गर्नु परेको थियो । दाहिने हातको कान्छी औंलामा लगातार सात दिनसम्म श्रीकृष्णले उक्त पर्वतलाई उचालेर मुसलधारे वर्षाको सङ्कटबाट जनतालाई बचाउनु भएको र आठौं दिन इन्द्र अहङ्कार रहित भएर भगवानको शरणमा आएको थियो । त्यस दिन कामधेनुले श्रीकृष्णको अभिषेक गरेकी थिईन् र त्यसै अवसरबाट भगवान् श्रीकृष्णलाई गोविन्द भन्न थालिएको थियो । त्यसैले कार्तिक शुक्ल पक्षको अष्टमी तिथिलाई गोपाष्टमी पर्वका रूपमा मनाउन थालिएको हो ।

विधिविधान

गोपाष्टमीका दिन प्रातःकालमा उठेर स्नानशौचादि नित्यकर्मबाट निवृत्त हुनुपर्दछ । गोठको सरसफाइ गरी गाईलाई समेत नुहाइदिनु पर्छ र चन्दन, अक्षता, फूल, धूप, दीप आदि पञ्चोपचार पद्धतिले गाईको पूजा गर्नुपर्छ । त्यसपछि वस्त्रालङ्कारले गाई र बाछालाई सुशोभित तुल्याई गोठ वरिपरि प्रदक्षिणा गर्नुपर्छ । गाईलाई गोग्रास (खानेकुरा) प्रदान गरी गोठालाहरूको पूजा गर्नुपर्दछ । तिनलाई समेत यथायोग्य भोजन, दक्षिणादि प्रदान गरेपछि गाईको दाम्लो खोली चराउन लैजानु पर्छ । गोपाष्टमीका दिन गोधुली समय अर्थात् सायंकालमा चरेर फर्किएका गाईलाई पनि प्रणाम गरी पञ्चोपचार पद्धतिले पूजा गरी गाईको खुरले कुल्चिएको माटोको तिलक गर्ने विधान छ । यति कर्म सम्पादन गरेमा अभीष्ट र मनोकाङ्क्षा सिद्धि र सौभाग्यको अभिबृद्धि हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

गोठ र गाई नहुनेले के गर्ने ?

गोपाष्टमीका दिन गाईको पालनपोषण नगर्ने घरपरिवारका व्यक्तिहरूले बिहानै आफ्नो नित्यकर्मबाट निवृत्त भएर नजिकै रहेको मन्दिर, आश्रम वा गौशालामा गएर पूजाआजा गर्नु पर्दछ । यस दिन आफ्नो तौलबराबरको घाँसपानी, चोकर वा दाना गौशालामा वा आफ्नो घरछेउमा गाईको पालनपोषण गरेर जीविकोपार्जन गर्ने जोसुकैलाई दान गरेमा वर्षभरि गाईलाई गोग्रास प्रदान गरेको फलप्राप्ति हुन्छ । ज्योतिषीय दृष्टिकोणले समेत यसै दिन वा जन्मतिथिका दिन गाईको पूजाआराधना गरी आफ्नो तौलबराबर घाँसपानी, चारा, दाना आदि दान गरेमा पतिपत्नीबीचको खटपट, नाडीदोष, शुक्र ग्रहको प्रतिकूलता र शुक्रसिद्धाको स्वामीपत्नी योगको दुष्परिणामबाट बँच्न सकिने मान्यता छ ।

महत्त्व र वैशिष्ट्य

आर्यावर्तको गङ्गा नदीको प्रस्रवण क्षेत्र अर्थात् गङ्गा नदीको उत्तरी र दक्षिणी दिशामा रहेका समथर तथा पहाडी भूभाग कृषिकर्म र पशुपालनका लागि उत्तम क्षेत्र हो । यहाँको प्रायः जनसङ्ख्या कृषि पेसामा नै निर्भर रहेका छन् । त्यसैले आर्य-संस्कृतिभित्रका शैव, शाक्त, वैष्णव, गाणपत्य, जैन, बौद्ध, सिख आदि धर्म र सम्प्रदायमा उपासना र कर्मकाण्डका पद्धतिमा विविधता देखिए पनि गाईका बारेमा भने समान दृष्टिकोण रहनु र आदर र सम्मान गरिनुबाट समेत हाम्रो संस्कृतिमा प्राणतत्त्वका रूपमा गाईको वैशिष्ट्य रहेको देखिन्छ । गाईलाई हामी गङ्गा, गायत्री, गीता, गोवर्द्धन र गोविन्दसरह पूजा, अर्चना र आराधना गर्ने गर्दछौं । सनातन धर्ममा गाईलाई 'मातर: सर्वभूतानां गाव:' भनिएको छ । यसको अर्थ हुन्छ - गाई समस्त प्राणीहरूकी आमा हुन् । हामी गाईलाई 'गोमाता' भनेर सम्बोधन गर्ने गर्दछौं । दिव्य गुणहरूबाट युक्त भएकी गाईलाई पृथ्वीतल सशरीर उपस्थित भएकी साक्षात् भगवतीका रूपमा उपासना गर्ने गरिन्छ । भन्ने पनि गरिन्छ - 'सर्वे देवा: स्थिताः देहे सर्वदेवमयी हि गौ:' । त्यसैले जुन मनुष्यले प्रात:कालमा स्नानोपरान्त गाईलाई स्पर्श गर्दछ, ऊ समस्त पापबाट मुक्त हुन्छ भन्ने सामाजिक मान्यता छ ।

गोसेवाको फल

•        गाई र बाछाको समूहले जुन ठाउँमा बसेर आरामले सास फेर्नसक्छ, त्यस स्थानको शोभा बढ्ने मात्र होइन, त्यस ठाउँका समस्त पापराशिको नाश हुन्छ ।

•        तीर्थतीर्थ डुलेर स्नान-दानादि गर्नाले, ब्राह्मण जम्मा पारी भोजन गराउनाले, व्रत-उपवास र जप-तप अनि हवन-यज्ञ गर्नाले जुन पुण्यको प्राप्ति हुन्छ, त्यो पुण्य गाईको सेवासुश्रुषा गर्नाले प्राप्त हुन्छ ।

•        गोसेवाका कारण दुःख र दुर्भाग्य टाढा जान्छन् र घरमा सुख र समृद्धिले वास गर्दछन् ।

•        जसले गाईको श्रद्धापूर्वक पूजा र सेवा गर्दछ, त्यससित देवता, कुल र पितृ कहिल्यै पनि रिसाउँदैनन् ।

•        जुन घरमा प्रातःकालको भोजन ग्रहण गर्नुअघि गोग्रास छुट्याइन्छ, त्यस परिवारमा कहिल्यै पनि धनधान्यको अभाव हुँदैन ।

•        गाई मात्र त्यस्तो प्राणि हो, जसको मल र मूत्र दुबै पवित्र मानिएको छ र यी धार्मिक र वैज्ञानिक दुबै दृष्टिकोणबाट गुणकारक मानिएका छन् ।

•        गोबरमा लक्ष्मीको बास हुने भएकाले यसलाई गो (लक्ष्मी) को वर (वर, प्रसाद, आशीर्वाद ) भनिएको हो ।

•        गाईको गोबरले लिप्नाले घरआँगनमा कीटाणुको नाश हुन्छ र आयुर्वेदमा उल्लेखभए बमोजिम गाईको गोबरबाट हैजा र मलेरियाका कीटाणु नष्ट हुन्छन् । गोबरले लिप्नाले पूजाआराधना र यज्ञयागादिका निमित्त भूमि पनि पवित्र हुन्छ भन्ने मान्यता छ ।

•        गोबरलाई इन्धनका रूपमा समेत प्रयोग गरिन्छ, यसका गुइँठा घरको भान्सादेखि यज्ञ सम्पादन गर्न समेत मान्य हुन्छ ।

•        गाईको मलमूत्र कुहाएर प्राङ्गारिक  मल बनाउन सकिन्छ र गोबरबाट बनेको गुइँठा बालेर बन्ने खरानीले खेतीपातीका लागि राम्रो मलखादको काम गर्छ ।

•        आयुर्वेदमा गहुँतको प्रयोग गरी कतिपय असाध्य रोग नाश हुने कुरा बताइएको छ । विशेषतः कलेजोका रोगीका लागि यो अमोघ औषधी हो । पेटको समस्या, चर्मरोग, बवासीर, रुँघामर्की, जोर्नीको दुखाइ, हृदय रोग आदि रोगको निदानमा गहुँतको प्रयोगद्वारा आश्चर्यजनक लाभ प्राप्ति हुन्छ । यसलाई विधिवत् सेवन गर्नाले मोटोपना र कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्न सकिन्छ ।

•       गाईको दूध, दही, घिउ, गोबर र गहुँतको प्रयोग गरी निर्माण गरिएको पञ्चगव्यले तन, मन र आत्मालाई पवित्र बनाउँछ भन्ने मान्यता छ ।

अतः भौतिक र वातावरणीय अशुद्धि रहेको वर्तमान प्रदूषणयुक्त समयमा गाईको भूमिका र योगदान महत्त्वपूर्ण रहेको प्रष्ट हुन्छ । त्यसैले हामीले गोधन र गोवंशको रक्षाका निमित्त पूर्ण तत्परताका साथ जुट्नु आवश्यक छ । अनिमात्र गोविन्दगोपालको पूजा, श्रद्धा र भक्ति सार्थक हुन्छ । गोपाष्टमी पर्व सम्पादनको मुख्य उद्देश्य नै गोसम्बर्द्धन हो ।

Thursday, October 26, 2017

सूर्योपासनाको पर्व : छठ

-    सहप्रा.  कृष्णप्रसाद कोइराला
पिण्डेश्वर क्याम्पस, धरान – १४, सुनसरी


प्रत्येक वर्ष कार्तिक महिनाको शुक्लपक्षको षष्ठी तिथिका दिन नदी वा जलाशयमा शरीरको अर्द्धभाग पानीमा राखी उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई सूर्यको उपासना गर्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई त्यसै गरी अर्घ्य दिई व्रतको समापन गरिने पर्व हो, छठ । यो पर्वको पौराणिक नाम हो सूर्यषष्ठी र लोकजीवनमा यसलाई छइठ, छठी, डाला छठ आदि समेत भन्ने चलन छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । आस्था र श्रद्धाको यस महापर्वमा गरिने प्रकृति पूजा परम्परा र संस्कृतिको इतिहासमा अनुपम र उल्लेखनीय मानिन्छ । हुन त भगवान् सूर्यको उपासना र आराधना विश्वका सबै जातजाति, वर्ग, समुदाय र धर्मसंस्कृतिमा हुने गरेको उदाहरण र संस्कृति पाउन सकिन्छ । तर छठ पर्वमा बाहेक अस्ताउँदो सूर्यको उपासना र अर्चना गर्ने परिपाटी संसारका कुनै परम्परामा पाउन सकिन्न । यस महापर्वमा सुरुमा अस्ताचलमा डुब्दो सूर्यको पूजा गरिन्छ, अनि रातभरि जाग्राम बसी पुनः भोलिपल्ट बिहान उदयाचलमा देखिने सूर्यको पूजा गर्ने गरिन्छ ।

पूर्वको जापानदेखि प्राचीन ग्रीसेली–युनानी सभ्यतामा समेत सूर्यको पूजा र उपासना गर्ने पद्धति रहेको देखिन्छ । उदाउँदो सूर्यको देश जापानका नागरिक आफूलाई सूर्यपुत्र मान्ने गर्दछन् । त्यस्तै युनानी संस्कृतिमा हिलियसका नामबाट सूर्यको उपासना गर्ने प्रचलन छ । सनातन हिन्दू परम्परामा त वैदिक कालदेखि नै सूर्यको उपासनाको महनीय परम्परा विद्यमान रहेको छ । भारतवर्षमा सूर्य देवताका मन्दिर निर्माणको समयावधि ईश्वीको पहिलो शताब्दी मानिन्छ । भारतको अहिलेको विहार र झारखण्डको भूभागलाई पुरानो समयमा मगध देश भनिन्थ्यो । यसको राजधानी पाटलीपुत्र (अहिलेको पटना) थियो । त्यहाँ बसोबास गर्ने पहिलो समुदाय पारस देश (अहिलेको इरान) बाट आएका मग जातिका मानिसहरू थिए । यिनै मग जातिले मागधी सभ्यताको विकास गरे र सूर्योपासनाको परम्परालाई विकास गरे भन्ने संस्कृतिविद्को धारणा छ । विद्वान् चाणक्यको कर्मभूमि पनि यही मगध देश हो । वस्तुतः पतीत पावनी गंगाको सिञ्चन क्षेत्रबाट यस व्रतलाई सम्पादन गर्ने परम्पराको सुरुवात भएको हो र  नेपालको मिथिलाञ्चल क्षेत्र अर्थात् जनकपुर अञ्चल र त्यसभन्दा पूर्वको तराइका केही गाउँहरू तथा भारतको उत्तरी विहार र पूर्वी उत्तरप्रदेशका गाउँहरूमा मनाइने यो पर्वले अहिले आफ्नो आयाम विश्वका कुनाकुनासम्म पुर्याइसकेको देखिन्छ । 

यस व्रतका बारेमा विभिन्न पौराणिक आख्यानहरू भेटिएका छन् । तीमध्ये देवीभागवत महापुराणको एउटा कथा यस्तो छ । स्वायम्भुव मनुका पुत्र राजा प्रियव्रत सुरुमा सन्तति सुखबाट वञ्चित थिए । उनका कुनै सन्तान थिएनन् । विवाह भएको लामो समयपछि उनले गर्भमा नै मरेको एउटा छोरो जन्माए । बल्लबल्ल जन्मिएको छोरो जन्मँदै मृत रहेको थाहा पाएपछि राजा शोकमग्न भई नवजात शिशुको शव बोकेर श्मशान घाटमा पुगे र विलाप गर्न थाले । एउटी सुन्दरी स्त्रीले राजाले डाँको छोडेर रोएको र विलाप गर्दै गरेको देखिन् । उनी ब्रह्माकी मानसपुत्री देवसेना थिइन् । उनको विवाह शिवपार्वतीका पुत्र भगवान् स्कन्दकुमार कार्तिकेयसँग भएको थियो । उनी मूल प्रकृतिको छैठौं अंशबाट उत्पन्न भएकी थिइन् । त्यसैले तिनलाई षष्टिका देवी पनि भनिन्थ्यो । उनले राजा प्रियव्रतको वृत्तान्त थाहा पाइन् र राजालाई आफ्नो परिचयका साथमा सम्झाइबुझाई गरी त्यस मृतशिशुलाई जीवित तुल्याएर ब्युँझाई दिईन् र अन्तर्धान भईन् । संयोगले यो घटना शुक्ल पक्षको षष्ठी तिथिका दिन घटेको थियो, त्यसैले यसै दिनबाट षष्टिका देवीको आराधना गर्न थालिएको जनविश्वास छ । कालान्तरमा यही पर्व छठी पर्वका रूपमा प्रख्यात भएको हो ।

छठ पर्वसँग जोडिएको अर्को कथा सूर्य पुराणमा उल्लेख गरिएको छ, जसमा सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्, फलस्वरूप उनले अटल सौभाग्य र प्रतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको मान्ने चलन पनि छ । त्यस्तै सातौँ शताब्दीमा सरापबाट पीडित संस्कृत भाषाका प्रसिद्ध कवि मयूर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गरेको प्रसंगलाई पनि छठ पूजासँगै जोडिएको पाइन्छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्बले सूर्यको आराधना गरे र रोगमुक्त भए भन्ने चर्चा छ । त्यस्तै महाभारतमा पनि सूर्यपूजाको प्रसङ्ग छ, जसबमोजिम द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी उनीहरूले सूर्यदेवको आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरूले मिथिला क्षेत्रकै किराँत प्रान्तमा बसोबास गरेको उल्लेख छ ।

छठ पर्व मनाउनुको पृष्ठभूमिभित्र धार्मिक मान्यताका साथै वैज्ञानिक र ज्योतिषीय धारणासमेत रहेको देखिन्छ । वैज्ञानिक, ज्योतिषी र चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेको प्रमाण भेटिन्छ । संसारका सम्पूर्ण भौतिक विकासमा सूर्यको ऊर्जा र शक्तिको ठूलो योगदान छ । सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्य कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणद्वारा गरिने चिकित्सा पद्धतिका बारेमा कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । कैंयौ असाध्य तथा दुरुह रोगको आश्चर्यजनक उपचारसमेत सूर्यको विकिरण र प्रकाशबाट भएको छ । त्यसैले पनि छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति माइन्छ भन्ने जनविश्वास रहेको हो ।

चार दिनसम्म मनाइने यस पर्वमा अत्यन्त आस्था, निष्ठा र पवित्रतालाई आचरण गरिन्छ । यद्यपि यस पर्वमा चाहिने भाँडाकुँडा र चिजबिज आदिको बन्दोवस्त मिथिलामा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । यस पर्वमा चढाइने प्रसादलाई सम्भव भएसम्म समूह, झुत्तो र झुप्पाका रूपमा तैयार गरिन्छ । यस पर्वमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न हुने र व्रतालुका घरपरिवार लगायत कुटुम्बमा समेत भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा चढाइने पदार्थको सङख्या ७० पुर्याउनुपर्छ । यद्यपि चढाउने सामर्थ्य नभएकाहरूले ‘गम्हरी’ धानको चामलमात्र चढाए पनि सूर्य देवता प्रसन्न हुन्छन् भन्ने मान्यता छ । यसमा जसले सामर्थ्य र असक्षमताका कारण व्रत बस्न सक्दैनन् तिनले पनि प्रतिनिधिका माध्यमबाट व्रतसम्पादन गराउन सक्ने प्रावधान छ । आर्थिकरूपले अभावग्रस्त मानिसहरूले भिक्षा मागेर भए पनि यो पर्व मनाउने गर्दछन् । प्रत्येक वर्षको कार्तिक शुक्ल चतुर्थीका दिन नङ, केस आदि काटी नुवाइधुवाइ गरी व्रतालुले यस व्रतको सुरुवात गर्ने चलन छ  । पहिलो दिन चतुर्थीको दिनलाई ‘अरवा–अरबाइन’ वा 'नहानखान' भन्ने गरिएको छ । व्रतालुले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर आदि वस्तुको परित्याग गर्नुपर्दछ । पञ्चमी तिथि (दोस्रो दिन)लाई खरना (पापको क्षय) भनिन्छ । गाईको गोबरले लिपपोत गरी आफ्नो घरआँगन सफा बनाई अरबा चामलको पिठोबाट तयार पारिएको झोलले रेखी र चित्रका माध्यमले वरिपरि सिंगारेर चिटिक्क बनाइन्छ र व्रतालुले यो दिन दिनभरि अन्नपानी केही पनि नखाई निर्जला व्रत बस्छन् अनि बेलुका घाम डुबेपछि तर चन्द्रमा अस्ताउनु अघि नै पुनः स्नान गरी सक्खर र दूधमा पकाइएको गम्हरी धानको खिर र रोटी पकाएर चन्द्रमालाई अर्पण गरी प्रसाद ग्रहण गरी त्यस दिनको कर्मसमापन गर्ने गर्दछन् । तेस्रो दिन अर्थात् षष्ठीका दिन विशेष दिन हुन्छ । यस दिन नदी, तलाउ, पोखरी वा कुनै जलाशयको घाटमा मण्डप बनाई आफूले तैयार बनाएका विभिन्न खाद्य परिकार, फलफूल र प्रसाद फिंजाएर सजाइन्छ र पानीमा आधा शरीर डुबाई अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ तथा व्रतालु र घरपरिवारका सबैले जाग्राम गर्दछन् । यस दिन बिहान गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामाग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुरुवा, खजुरी, पेरुकिया तथा मुला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती आदि ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरूका साथमा व्रतालुहरू विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्दछन् । परिकारहरू जलाशयका किनारमा राख्नुअघि त्यसठाउँ र पूजा सामाग्रीलाई व्रतालुले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् । त्यसपछि व्रतालुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतालुले दुवै हत्केलामा ‘पिठार’ र सिन्दुर लगाएर अक्षता र फूल हालेर अन्य अर्घ्यसामाग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् । कार्तिक शुक्ल पक्षको सप्तमी छठपर्वको अन्तिम दिन हो । यस दिन पुनः उदाउँदो सूर्यको पूजापछि यस पर्वको समापन हुन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन सूर्यलाई अर्घ्य दिन्छन् । प्रातःकालीन अर्घ्यमा दीप मालाले सजिएको जलाशयमा अपूर्व दृश्य र अनुभूति जागृत हुन्छ । अर्घ्य सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतालुले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । त्यस कथामा एउटी सासू र बुहारीको सम्बन्धबारे चर्चा गरिएको छ । सासू दुष्ट र कन्जुस प्रवृत्तिकी थिइन् । कन्जुस्याईंले गर्दा सासूले उखुको एक टुक्रा पनि बुहारीलाई खान दिन्नन्, फलस्वरूप उनलाई कुष्ठरोग हुन्छ, तर बुहारीले सबैलाई उखु खान दिन्छिन्, त्यसैले उसको घरभरि सुनैसुन हुन्छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र नेपालमा विविध जातजाति, वेषभूषा, रीतिरिवाज, धर्म, संस्कृति, रहनसहन र परम्पराहरू रहेका छन् । त्यसैले यहाँ असंख्य चाडपर्वहरू मनाइने गरिन्छन् । यी चाडपर्वहरूमा विशेष गरी तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्वको महत्वपूर्ण स्थान छ । छठ पर्व धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव एवं एकता बढाउने विशिष्ट पर्व हो ।

Wednesday, October 25, 2017

विछट्टको छठ पर्व

- धीरेन्द्र प्रेमर्षि

नेपालमा दसैं र तिहारपछि सामान्यतया मानिसहरू चाडपर्वबाट फुर्सद लिने मनस्थितिमा हुन्छन्। तर नेपालकै सांस्कृतिक प्रदेश मिथिलामा भने तिहारको लगत्तै छठी पर्वको चटारो सुरु हुन्छ। यद्यपि केही दसक अघिसम्म मिथिला क्षेत्रमा मात्र सीमित छठी पर्व आजको दिनमा समस्त हिन्दु धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण पर्वको रूपमा स्थापित भइसकेको छ। यतिमात्र नभई मिथिलालाई आ-आफ्नो भूभागमा बाँडेका दुई स्वतन्त्र देश भारत र नेपालको यो राष्ट्रिय पर्वसमेत बनिसकेको छ। खासगरी नेपालको कुरा गर्ने हो भने आजको दिनमा छठी पर्वको नामबाट कुनै पनि नेपाली अनभिज्ञ छैनन्। सरकारले यस दिनमा सार्वजनिक विदा दिनथालेबाट मात्र नभई राजधानी काठमाडौंमा मिथिलावासीहरूले यो पर्व मनाउन सुरु गर्नुले विशेष भूमिका निर्वाह गरेको छ। विगतमा तराई विकास समाज, तराई सांस्कृतिक प्रतिष्ठान लगायतका संस्थाहरूले गएको दुई दसकदेखि काठमाडौं उपत्यकामा छठी पर्वका लागि सहज वातावरण बनाई आयोजना गर्ने विभिन्न कार्यक्रमले पनि मद्दत पुर्या।यो। जनयुद्धताका आवागमन कष्टकर हुँदै गएपछि काठमाडौं उपत्यकामा बस्ने मिथिलावासीहरूले राजधानीमै छठी मनाउन थाल्नुले पनि यसको विस्तृतिलाई मलजल गर्यो।

छठी पर्वको प्रारम्भ कहिलेदेखि भएको हो भन्ने कुराको कुनै प्रामाणिक आधार उपलब्ध छैन। साथै छठी परमेश्वरीको भाकल गरिने यस पर्वमा सूर्यलाई किन अर्घ दिइन्छ भन्ने कुरा पनि त्यति स्पष्ट छैन। ब्रह्मवैवर्त पुराणमा सूर्यसँग षष्ठी तिथिको सम्बन्धको उल्लेख छ। षष्ठीबाटै अपभ्रमसित भएर यो छठी हुनगएको कुरा स्पष्ट नै छ। यस पुराणअनुसार प्रकृति देवीले आफूलाई पाँच भागमा बाँडेकी छिन्। ती भागहरू हुन्- दुर्गा, लक्ष्मी, सरस्वती, राधा र सावित्री। प्रकृतिको छैठौं अंश षष्ठीलाई मानिएको छ। षष्ठी देवीको पूजा-आराधनाका विषयमा भविष्य पुराण र ब्रह्मवैवर्त पुराणमा चर्चा गरिएको पाइन्छ। मैथिल महाकवि विद्यापतिकृत वर्षकृत्यमा भने सूर्य षष्ठीको चर्चा प्रतिहार षष्ठीको रूपमा गरिएको छ। यिनै आधारहरूलाई लिएर छठी पर्वलाई सूर्य षष्ठी तथा प्रतिहार षष्ठीको नामबाट पनि जानिन्छ। यी प्रत्येक नाममा षष्ठी तिथिको प्रधानता छ। तर षष्ठीयुक्त सप्तमी तिथिको यसमा प्रधानता हुन्छ। खासगरी प्रतिहारको अर्थ भोलिपल्टका लागि पूजा भन्ने पनि हुन्छ। प्रतिहार शब्दले षष्ठीलाई गौण गरी सप्तमीलाई मुख्य बनाएको छ। खासगरी सप्तमी तिथिलाई सूर्यको तिथि मानिन्छ। त्यसैले पनि मुख्यतः भोलिपल्ट गरिने पूजाका लागि षष्ठीलाई विशेष महत्त्व दिइएकोले यसमा सूर्य, षष्ठी र सप्तमीको समागम हुन गएको हो।

यो पर्व मूलतः चारदिने पवित्र अनुष्ठान हो। यसमा चतुर्थी तिथिका दिन स्नान-ध्यानपश्चात पूर्ण सात्विक भोजन गर्ने गरिन्छ, जसलाई अर्वा-अर्वाइन भनिन्छ। पञ्चमीका दिन व्रत बस्नेले एकछाकी व्रत बस्छन्। यसदिन साँझपख सक्खरमा बनाइएको खिर भगवानलाई भोग लगाई स्वयम् व्रतीले पनि त्यही ग्रहण गर्ने गर्छन्। त्यसबेलादेखि सप्तमीको बिहानसम्मका लागि छठीको निराहार व्रत प्रारम्भ हुन्छ। षष्ठीका दिन दिनभरि प्रसादहरू बनाउने काम गरिन्छ। प्रसाद बनाउनमा व्रती स्वयम्को पनि संलग्नता हुन्छ भने उनलाई सघाउनेहरूले पनि पवित्रता र शुद्धताको यथेष्ट ध्यान राख्ने गर्छन्। कतिसम्म भने छठीका लागि भनेपछि बजारमा बेच्न राखिएको वस्तुमा स्वयम् व्यापारीहरूले पनि शुद्धतामा पर्याप्त ध्यान दिने गर्छन्। कतिपय परिवारमा छठीका लागि भनेर दसैंपछि नै माछामासुको प्रवेश वर्जित गर्ने गरिन्छ।

हालका दिनमा छठी पर्वमा तडकभडक र तामझाम देखिनथाले तापनि वस्तुतः यो ग्रामीण र कृषि पर्व हो। यो पर्व सामान्य आय भएका कृषि क्षेत्रसँग सम्बद्ध जोसुकैले पनि मनाउन सक्छन्। त्यसैले यसलाई वास्तविक अर्थमा भन्ने हो साम्यवादी पर्व भन्न सकिन्छ। यसमा धनी र गरिब बीचको फरक नछुट्टनिुका साथै छुवाछूत, जातीय वा लिङ्गीय विभेद पनि पाइँदैन। यसमा प्रसादका रूपमा चढाइने सामग्रीहरूको संख्या ७० सम्म पुर्यायउनुपर्ने मान्यता रहेको छ। यस्ता सामग्रीमा मूला, गाँजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन्। कुनै कारणले ७० प्रकारका सामग्रीहरू पुर्याछउन सकिएन भने गम्हरी भन्ने धानको चामल चढाउँदा पुग्छ। गम्हरीलाई औषधीय गुणयुक्त धान मानिन्छ। गम्हरी लगायत सबै सामग्री एउटा कर्मशील व्यक्तिले आफैं उत्पादन गर्न सक्छन्। त्यसैले यो धनधान्य तथा आर्थिक हैसियत देखाउने नभई कृषिप्रधान क्षेत्रका मानिसको कर्मशीलता प्रदर्शनको पर्व हो। अर्को महत्त्वपूर्ण कुरा के छ भने यसमा एउटै पोखरीको चारैतिर विभिन्न जातिका व्यक्तिले घाट बनाई आ-आफ्नो पूजा गर्ने गर्छन्। यसप्रकार छुवाछूतबाट यो पर्व मुक्त रहेको छ। यसैगरी मिथिला क्षेत्रका कतिपय इस्लाम, बौद्ध, इसाई धर्मावलम्बीहरूले समेत छठी परमेश्वरीको भाकल गर्ने गर्छन्।

छठी पर्वको सबैभन्दा आह्लादकारी पक्ष हो- यसको समय, शैली र रमझम। झिसमिसे साँझ अनि मिरमिरे बिहानीमा व्रतालुका साथै घरका सदस्यहरूको लस्कर जलाशयसम्म जाँदा र र्फकंदाको दृश्य अत्यन्तै लोमहर्षक हुने गर्छ। सबैको हातमा पूजाका कुनै न कुनै सामग्री, यी सामग्रीहरूमाथि बलिरहेको दियोले वातावरणलाई उल्लासपूर्ण बनाएको हुन्छ। जलाशय छेउमा लहरै बनाइएका पूजाका घाटहरू, मैथिल ललनाहरूद्वारा घाटैपिच्छे समूह-समूहमा आबद्ध भई छठी परमेश्वरी र सूर्यदेवको आराधनामा गाइने गीतहरू, पोखरीको डिलमा ढोल, पिपहीजस्ता परम्परागत बाजाको सुरम्य वादन, पोखरीभरि पानीमा रुझेर सूर्यलाई अर्घ दिइरहेका व्रतालुहरू, परालको सानो बुजोमाथि बलिरहेको दियो, पोखरीभरि तैरिरहेको दीप समूहले बिछट्ट रोमाञ्च र भक्तिभाव सिर्जना गर्छ।

छठीलाई आरोग्य र उन्नतिदायक पर्व मानिन्छ। यसमा पुजिने सूर्य र जल दुवै आदिशक्ति हुन्। पुराणमा सूर्यलाई आरोग्यदायक मान्दै आरोग्यं भाष्करादिच्छेत् भनिएको छ। छठी पर्व मनाउनाले आरोग्य र विशेषगरी चर्मरोगहरूबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। चर्मरोगहरूको कारणमा प्रदूषित पानी पनि एक रहेको परिप्रेक्ष्यमा छठीले जलाशयहरू सफा राख्ने सन्देश दिएको भान हुन्छ। सबै चाडपर्वमा झैं यसबाट पनि सुख-समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने मान्यताअनुसार यो पनि सही नै हो। छठीले अस्ताउँदो सूर्यको समेत पूजा गरेर मानवीयताको सन्देश पनि दिइरहेको हामी पाउँछौं। 

छठीमा केरा, अदुआ, बेसार, पिँडालु आदि झुप्पावाल कुरा प्रसादका रूपमा चढाइन्छ, जसले सङ्गठनको सन्देश दिन्छ। छठीको मुख्य प्रसाद ठकुआ र भुसवा हो, जसमध्ये ठकुवाको मुटुजस्तो आकृतिलाई प्रेमको प्रतीक मान्न सकिन्छ भने भुसवा (कसार) पिठोका कण-कण एक-आपसमा जोडिएर बनेको ठोस पदार्थ कार्यगत एकताको प्रतीक हुनसक्छ। आज देशको संक्रमणकालमा सम्पूर्ण जनताले केराको काइँयोझैं सामूहिकता देखाउँदै भुसवाको संरचनागत सुदृढतालाई आत्मसात गरी अघि बढ्नुपर्छ। जनतारूपी जलाशयमा उभिएर देशरूपी सूर्यलाई सबैले पूर्ण आस्थाका साथ अर्घ दिने हो भने छठी परमेश्वरीले सम्पूर्ण नेपालीका लागि दाहिने हुनैपर्छ।

Sunday, October 22, 2017

कालो कार्तिक

कार्तिक महिनालार्इ नेपाली अामभाषामा कालो कार्तिक भन्ने गरिन्छ । यसो भन्नुको अर्थ यसलार्इ निकृष्ट वा निम्नस्तरको महिना भनिएको होइन । यस महिनामा अाफ्ना मन वा शरीरमा भएका काला वस्तु (तामसी प्रवृत्ति) लार्इ पन्छाउने समय हो भनिएको हो । त्यसैले यस महिनामा गरिएका जुनसुकै धार्मिक कृत्यको फल दुगुना हुन्छ । त्यसैले यस महिनामा तुलसीको सेवा, रुद्री वा अन्य धार्मिक कृत्यहरू अत्यधिक रूपमा अायोजना हुने गर्दछन् । ज्योतिषीय मतमा यस महिनाको सूर्य नीच राशिमा रहेको हुन्छ । त्यसैले यसै अवसरमा अाअाफ्ना कुण्डलीको लेखाजोखा गरी ग्रहशान्ति गर्ने विधान पनि छ । सूर्यनारायणले शनिको उच्च राशि मानिने तुला राशिमा भ्रमण गर्ने भएकाले विशेषतः शनि, राहु र केतु ग्रहको पीडा निवारणका लागि यो महिना उत्तम महिना मान्ने गरिन्छ । यस महिनामा भगवान् भोलेशङ्कर शिव, माता दुर्गा, सूर्यनारायण र अन्य देवीदेउताको मन्दिरमा गर्इ दियो बाल्ने, मन्दिरहरूको सरसफाइ गर्ने भगवान् विष्णुलार्इ किसिमकिसिमका पुष्प समर्पण गर्ने गरेमा अश्वमेध यज्ञको फल प्राप्त हुन्छ भनी स्कन्दपुराणको कार्तिक महात्म्यमा उल्लेख गरिएको छ :-

एकतः सर्वतीर्थानि सर्वे यज्ञाः सदक्षिणाः ।
कार्तिकस्य तु मासस्य कलां नार्हन्ति षोडशीम् ॥
एकतः पुष्करे वासः कुरुक्षेत्रे हिमालये ।
एकतः कार्तिकः पुत्र सर्वपुण्याधिको मतः ॥
स्वर्णानि मेरुतुल्यानि सर्वदानानि चैकतः ।
एकतः कार्तिको वत्स सर्वदा केशवप्रियः ॥

स्कन्द पुराणको एउटा प्रसङ्गमा उल्लेख गरिएको छ -
मासानां कार्तिकः श्रेष्ठो देवानां मधुसूदनः ।
तीर्थं नारायाणाख्यं हि त्रितयं दुर्लभं कलौ ॥
महिनाहरूमध्ये कार्तिक महिना सर्वश्रेष्ठ हो, देवताहरूमध्ये मधुसूदन (भगवान् विष्णु) श्रेष्ठ हुन्, त्यसैले यस महिनामा तीर्थाटन र भगवन्नाम सङ्कीर्तन गर्नु कलियुगमा दुर्लभ कर्म मानिन्छ ।

न कार्तिकसमो मासो न कृतेन समं युगम् । न वेदसदृशं शास्त्रं न तीर्थं गङ्गया समम् ॥
यस श्लोकमा कार्तिक महिनाको वैशिष्ट्यको चर्चा गर्दै बताइएको छ - कार्तिक महिनाबराबरको अर्को महिना छैन । सत्ययुगसमान अर्को युग छैन, वेदसरहको कुनै शास्त्र छैन, अनि गङ्गासमान पवित्र नदी छैन । कार्तिक महिनामा गरिएको स्नानको पुण्य हज्जार पटक गङ्गा नदीमा गर्इ गरिएको फलबराबर र सय पटक माघ महिनामा प्रयागादि तीर्थमा गर्इ गरिएको फलसरह हुन्छ । कुम्भमा प्रयागमा कुम्भस्नान गर्दा जुन फल प्राप्त हुन्छ, त्यो फल कार्तिक महिनामा कुनै पवित्र नदीको तटमा गर्इ गरेको स्नानबाट प्राप्त हुन्छ । कार्तिक महिनामा जतिसक्दो धेरै मन्त्रजाप गर्नुपर्दछ । कार्तिक महिनाभरि विधि र नियमको अनुसरण गरी कर्म गरेमा मनुष्यले वर्षभरि गरेका पापकर्मबाट उन्मुक्ति प्राप्त गर्दछ । धार्मिक कृत्य सम्पादन गर्न यो महिना पवित्र मानिन्छ । अाश्विन शुक्ल पक्षमा पर्ने पूर्णिमा तिथिदेखि कार्तिक महिनाको पूर्णिमासम्म पवित्र नदीमा गर्इ स्नानादि गर्नु श्रेष्ठ मानिएको छ ।

कार्तिक महिनाभरि तीर्थस्नान सम्भव छैन भने के गर्ने त ?
कार्तिक महिनामा नदीस्नान, सरोवर स्नान आदि गर्ने धार्मिक विधान छ, तर तपार्इंले यसरी स्नान गर्न सम्भव छैन भने तपार्इंले घरैमा नित्य स्नान गर्न सक्नुहुन्छ, तर त्यसरी स्नान गर्दा ठिक्क पारिएको पवित्र जलमा गङ्गाजल वा कुनै पवित्र नदीको जल मिसाएर स्नान गरेमा तीर्थस्नानको पुण्य प्राप्ति हुन्छ । त्यसबाहेक जसले तीर्थमा गर्इ स्नानादि सत्कर्म गरेको छ, उसको सेवा गरेमा पनि कार्तिक स्नानको पुण्यप्राप्ति हुन्छ । पाटीपाैवा, मन्दिर, देवीद्याैराली वा सार्वजनिक भवन वा प्रतिष्ठानको जीर्णोद्धार वा सरसफाइ गर्दा पनि कार्तिक स्नानको पुण्यप्राप्ति हुन्छ । घरमा नारायण नामसङ्कीर्तनको अायोजना गरेमा पनि नित्य कार्तिक स्नानको पुण्य प्राप्त हुन्छ ।

कालो कार्तिकमा चम्किलो र ठूलो जून
कार्तिक महिनाको अन्त्यमा पर्ने पूर्णिमालार्इ महान् पुण्यप्रद पर्वका रूपमा चर्चा गरिएको पाइन्छ । यस पूर्णिमालार्इ त्रिपुरोत्सवी पूर्णिमा पनि भन्ने गरिन्छ । चन्द्रमाको पूर्ण अाकृति देखिने दिनलार्इ पूर्णिमा (Full Moon) भनिन्छ । प्रत्येक महिनामा एउटा र एक वर्षमा बाह्रवटा पूर्णिमा हुने गर्दछन् । ती पूर्णिमामा देखिने चन्द्रमाको अाकार फरकफरक हुन्छ । वैशाख महिनामा पर्ने पूर्णिमामा चन्द्रमाको अाकार सबैभन्दा सानो र कार्तिक महिनामा देखिने पूर्णिमाको अाकार सबैभन्दा ठूलो हुने गर्दछ । सामान्यतया कार्तिक महिनामा पर्ने हरेक पूर्णिमामा चन्द्रमा पृथ्वी नजिकको तल्लो बिन्दुमा अाइपुग्ने गर्दछ । यस महिनामा सूर्यले अाफ्नो नीच राशिमा भ्रमण गर्ने भएकाले यस्तो स्थिति सिर्जना हुने गरेको हो ।

कार्तिक महिनाको ठूली एकादशीदेखि पूर्णिमा सम्म सुनसरी जिल्लाको वराहक्षेत्र तीर्थमा भव्य मेला लाग्ने गर्दछ । उक्त अवसरमा नेपालका विभिन्न जिल्लाहरूका अतिरिक्त भारतको असम, बङ्गाल र विहारबाट असङ्ख्य भक्तजन अार्इ कार्तिक स्नान गरी पुण्यार्जन गरी फर्कने गर्दछन् । कार्तिक महिनामा तीर्थमा नै जान नसकिए पनि नित्य स्नान नगरी अन्नजलसमेत ग्रहण गर्न निषेध गरिएको छ । कार्तिक महिनामा राधाकृष्ण, विष्णु भगवान् र तुलसीको पूजाको ठूलो महत्त्व छ । जुन व्यक्तिले यिनको पूजा र अाराधना गर्दछ, त्यसले अखण्ड पुण्य प्राप्त गर्दछ । कतिपय श्रद्धालु भक्तहरूले कार्तिक महिनाभरि नक्तभोजन (रात्रीको समयमा केवल एक छाक अन्न ग्रहण गर्ने काम) गर्ने गर्दछन् । यसलार्इ ताराभोजन पनि भन्ने गरिन्छ । दिनभरि निराहार बसी राती जब अाकाशमा तारा उदाउँछन्, त्यसपछि तारालार्इ अर्घ्य प्रदान गरी भोजन गर्नु नै ताराभोजन हो । घरपरिवारमा सबै किसिमका शुभता र सदैव सुखशान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथमा तुलसीको अाराधना गर्नु वाञ्छनीय मानिन्छ । जुन घरमा शुभकर्मको प्रधानता हुन्छ, त्यस घरमा तुलसीको बोट झर्झराउँदो हुन्छ, तर जुन घरमा अशुभ कर्मको प्रधानता हुन्छ, त्यहाँ तुलसीको बोटले हुर्किने र झाङ्गिने अनुकूलता प्राप्त गर्दैन भनी स्कन्दपुराणमा लेखिएको छ । समग्रमा पारिवारिक सुखसम्मृद्धि, सुस्वास्थ्य र शान्तिका लागि कार्तिक महिनामा गृहस्थीले तलका कृत्यहरू अनिवार्य रूपमा सम्पादन गर्नु पर्दछ :-

१) कार्तिक दीपदान : कार्तिक महिनाको मुख्य कर्ममध्ये एउटा दीपदान हो । कतिपय गृहस्थीले एउटा लामो बाँस घरको अाँगनमा गाडेर त्यसको टुप्पोमा कागज वा प्लास्टिकले एउटा दियोघर बनार्इ त्यस दियो घरलार्इ तल झार्न र पुनः माथि पुर्याउन सजिलो हुने गरी डोरीले बाँधी त्यसमा हरेक बेलुका दियो बाल्ने गर्दछन् । यस प्रक्रियालार्इ अाकाशदीपदर्शन (अाकाश बत्ती) भन्ने गरिन्छ । त्यसबाहेक घरछेउमा रहेको देवीद्याैराली, मन्दिर वा पोखरीमा गर्इ प्रत्येक साँझ दियो बाल्ने गरिन्छ । यसरी महिनाभरि दियो बाली उक्त दियो दान गर्ने विधान छ । दियो बाल्दा र अन्त्यमा दान गर्दा अाफ्नो सामर्थ्यबमोजिम सुन, चाँदी, तामा वा माटोको दियोको प्रयोग गरिन्छ ।

२) तुलसी पूजन : कार्तिक महिनाभरि तुलसीको सेवासुश्रुषा र पूजा गरेको अनुपम फल प्राप्त हुन्छ भनी स्कन्दपुराणमा उल्लेख गरिएको छ । सामान्यतया ठूली एकादशी (कार्तिक शुक्ल हरिबोधिनी एकादशी) का दिन विधिपूर्वक व्रत लिर्इ उक्त दिन तुलसीको विवाह गरी भोलिपल्ट अाहुति गरिदिने चलन छ ।

३) भूमिशयन : भुइँमा एकसरो अोछ्यान लगार्इ शयन गर्नु कार्तिक महिनाको तेस्रो मुख्य कर्म हो । योगविज्ञानअनुसार भुइँमा शयन गर्दा मनुष्यमा सात्विक भावको बृद्धि हुन्छ र शरीरमा रहेका तामसी विकारहरूको नाश हुन्छ ।

४) ब्रह्मचर्य व्रतको पालना : कार्तिक महिनाभरि ब्रह्मचर्यको पालना गर्नु अर्को महत्त्वपूर्ण कार्य मानिएको छ ।

५) पथ्याहार : पथ्याहार भनेको शरीरका लागि सुपाच्य र अाैषधीय गुणले युक्त खान्की खानु हो । कार्तिक महिनामा कालो दाल, मुँग, मुसुरी, चना, मटर, रायो, हिङ, मूला र हरियो सब्जी सेवन गर्न निषेध गरिएको छ, त्यस्तै घिराैंला, लाैका, बैगुन, बासी खानेकुरा, परान्न (अर्काकहाँ पाकेको खान्की), दूषित अन्न अादि पनि ग्रहण गर्नु हुँदैन । सामान्यतया त्यस्तो सब्जी जुन सब्जीमा अमिलोपन हुन्छ, त्यसलार्इ पनि कार्तिक महिनाभरि खानु हुँदैन । सामान्यतया कार्तिकभरि व्रत लिने नरनारीले तामसी भोजन खानु हुँदैन । बेलुका टपरी वा पातमा खाना खानुपर्दछ ।

६) तेल मर्दन : कार्तिक महिनाभरि शरीरमा तेल घस्नु हुँदैन । तर कार्तिक कृष्ण चतुर्दशी (नरके चतुर्दशी) का दिन शरीरमा तेल घसेमा दोष लाग्दैन ।

७) संयमता र अनुशासन : कार्तिकभरि नित्यस्नान र नक्तभोजन गर्न व्रत लिएका व्रतालुले संयमता र अनुशासनमा जोड दिनु वाञ्छनीय छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य अादि दुर्गुणहरूको त्याग गरी ऋषिमुनि झैं सरल व्यवहार गरेर महिनाभरि व्रत लिनु पर्दछ ।

८) अल्पभाषी : व्रतालुले महिनाभरि थोरै बोल्नुपर्दछ । कसैको निन्दा वा विवादमा फँस्नु हुँदैन । कसैसित झैझगडा गर्नु हुँदैन । परदेशको यात्रा गर्नु हुँदैन, तर तीर्थयात्रा जान रोकछेक हुँदैन । इन्द्रियलार्इ संयमित बनाउनु पर्दछ ।

९) पवित्रता : कार्तिक महिनाभरि व्रत लिने व्यक्तिको अन्तिम र महत्त्वपूर्ण अनुशासन हो, पवित्र अाचरण । यस अवधिमा रजस्वला स्त्री, दूषित खानेकुरा, जुठोसुतक परेका व्यक्तिसँगको संसर्ग गर्नु निषेध गरिएको छ । कामविशेषले धेरै मानिसहरूसँग उठबस गर्ने परिस्थिति अाएमा त्यसरी उठबस गरी घर अाइपुग्नासाथ स्नान गरी शरीरमा गङ्गाजल वा गहुँत छर्की पवित्र हुनुपर्दछ ।
अस्तु ।

Saturday, October 21, 2017

लक्ष्मी कसरी प्रसन्न हुन्छिन् ?

तिहारको झिलीमिली । चारैतिर दियो, बत्ती र बिजुलीको उज्यालोले औंसीको अन्धकार अलप भएको थियो । सबैले बत्ती बाल्ने काम सिद्ध्याएर अब घरभित्र धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गर्ने तैयारी गर्दै थिए । म पनि लक्ष्मी पूजाका लागि पूजाको थाली सजाउन व्यस्त थिए । घरको मूलदैलोमा कसैले ढक्ढक्याएजस्तो लाग्यो । भित्रैबाट मैले कराएँ, "को हो ?"

उताबाट परिचित महिलाको आवाज आयो, "म माधवी ।"

मैले दैलो उघारें । मेरो दैलैअगाडि महँगा महँगा सारीचोलो र गहनाले झकिझकाउ भएर माधवी उभिएकी थिईन् । उनी मेरी छिमेकी हुन् । दाङदेउखुरीकी जमिनदारकी छोरी । हामी दुबैका पति त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत छन् । आफूलाई संस्कृत विषयकी ज्ञाता नै ठान्दथिन्, कता रानीपोखरीतिर उनी पढाउँछिन् पनि । सिङारपेटार र साजसज्जामा राम्रो सौख राख्छिन्, आडम्बर देखााउनु र परिवारको प्रशंसा अनि हैसियतको व्याख्यान गरेर कहिल्यै थाक्दिनन् । उनको व्यक्तित्वको वैशिष्ट्य यही हो भन्दा फरक पर्दैन । यिनै चरित्र ओकल्दै उनी बोल्न थालिन् - "म्याडम, तपाई ठिक्क साढे आठ बजे मेरा घरमा पाल्नु होला । हामी भव्यताका साथमा लक्ष्मी पूजाको तैयारी गर्दैछौं ।"

मैले प्रतिक्रिया जनाइहालें - "होइन, मेम, त्यतिवेला त तपाईंकहाँ मात्र कहाँ हो र ?, हाम्रामा पनि लक्ष्मी पूजा नै हुने गर्छ, अनि तपाईंको निम्तोमा कसरी पुग्न सकिएला र ?"

"होइन, सुन्नुस् न !, तपाईंलाई लक्ष्मी पूजा गर्न कत्ति समय लाग्ला र ! पूजाविधिको कुरै पर जाआेस्, तपाईंहरूलाई लक्ष्मीका स्तोत्र पनि आउँदैनन् । सर पर्नुभयो विज्ञानको शिक्षक, अनि तपाईंले पढेलेखेकै छैन ।  पूजामा लाग्ने त्यही पाँच दस मिनेटको समय त हो नि, त्यही फोटामा भएका लक्ष्मी र गणेशको चित्रमा फूलपाती र सेलरोटी चढायो सिद्धी हाल्छ । हामी कहाँ भव्य पूजा हुन्छ, त्यस्तो पूजा तपाईंले अहिलेसम्म कतै देख्नु भाकै छैन होला ।"

"त्यस्तो कसरी होला र ?, सबै पूजा एउटै होइन र ?"

"खोइ, तपाईंलाई कसरी सम्झाउनु, बरु यहाँ छिटोछिटो पूजा गरी ठिक्क साढे आठ बजे मकहाँ पाल्नुस् न । मैले टियु क्वार्टरका सबै परिवारलाई निम्तो गरेकी छु । थाहा पाइहाल्नु हुन्छ, मेरो पूजा देखेर सप्पै दङ्ग पर्नेछन् । वास्तविक लक्ष्मी पूजा कस्तो हुँदो रहेछ भन्ने थाहा पाएर सप्पैले वाह वाह भन्नेछन् । माता लक्ष्मी त्यस्तै भव्य पूजाबाट प्रसन्न हुन्छिन् । हिजोआजका मान्छे लक्ष्मीलाई रिझाउन पनि आनाकानी गर्छन् । पूजा गरे झैं झारा टार्छन् ।" यति भनिसकेर जसरी उनको मुखबाट फटाफट बोली निस्किरहेको थियो, त्यसरी नै फनक्क फर्केर गई पनि हालिन् ।

बेलुका साढे आठ बजे हामीले सपरिवार लक्ष्मीको पूजा सम्पन्न गर्यौं । केटाकेटी र पतिदेव छरछिमेकका घरको सजावट र बत्तीको झिलीमिली हेर्न बाहिरिए । टाढा कतै भैलिनी गाएको स्वर र मादलको आवाज सुनिंदै थियो, म घरैमा सोफामा बसी माधवीले लगाउने भनेको भव्य पूजाका बारेमा सोच्दै थिएँ । "साँच्चै हामीले धनधान्य र सुखसम्मृद्धिकी देवी मानिने लक्ष्मीको पूजाका लागि के नै गरेका छौं र ?" म घोत्लिंन थालें, "यसो दुईचार वटा सेल पकायो, पञ्चपालामा पाद्य, अर्घ्य बनाए झैं गर्यो, फूलपाती चढायो, धूपबाती गरिदियो, बस पाँच मिनेटमा पूजा खतम । वास्तवमा माधवीकै घरमा माता लक्ष्मीको वास्तविक र भव्य पूजा हुँदै होला ।" उत्सुकता बढ्दै गयो, मन मानेन, खुट्टामा चप्पल भिरेर माधवीकै घरतिर लागें । मेरा पति र केटाकेटी फूर्तिफार्ती र सेखी देखाउने माधवीका कुरामा चासो राख्दैनथे ।

उनका दैलामा आठ दस जना पुरुष र महिला उभिएका थिए, लक्ष्मी पूजा हेर्न निम्ता पाएर आएका हुनन्, प्रशंसा गर्दै भनिरहेका थिए - "साँच्चै बडो भव्यताका साथमा पूजाको तैयारी हुँदैछ ।" मैले पनि उनको घरमा प्रवेश गरें । पूजा सुरु हुनै लागेको रहेछ । उनले खुसी हुँदै मेरो स्वागत गरिन् । त्यसपछि पूजाकोठा देखाउन भित्र लिएर गईन् । महँगा महँगा विदेशी सारी वरपर राखेर कोठालाई सजाइएको थियो । मध्य भागमा लक्ष्मी र गणेशका निकै ठूलठूला चाँदीका प्रतिमा चाँदीकै पिर्का बनाएर प्रतिष्ठा गरिएको थियो । घरमा भएभरका गहनागुरिया लक्ष्मीको मूर्तिमा र जेजति नगद थिए, ती सबै एउटा रातो रेशमको कपडामाथि राखेर गणेशको मूर्तिमा चढाइएको थियो । त्यसबाहेक चाँदीकै थालीमा ११ किसिमका फलफूल, बजारमा महँगा मानिने किसिमकिसिमका ११ थरी मिठाइ, १६ वटा चाँदीकै दियोमा जगमग बत्ती बलिरहेको देखिन्थ्यो । म पनि असाध्यै प्रभावित भएँ । कताकता हाम्रा घरमा झुक्किएर लक्ष्मी आइहालिन् भने के भन्दी हुन् भन्ने ठानें । अनि भनें, "साँच्चिकै भव्य पूजा, वास्तवमा सक्नेले यसरी नै लक्ष्मी पूजा गर्नु पर्ने रहेछ ।"

"हो मेडम, हाम्रो परिवारमा त यो परम्परा नै बनेको छ । हामीले जत्तिको पूजा कसले पो गर्न सक्ला र ? यी मूर्ति र पूजाका भाँडाकुँडा छन् नि, तिनको मूल्यमात्र अहिले पाँच लाखभन्दा कम हुँदैन । यो हाम्रो पुर्ख्यौली सम्पत्ति हो । प्रोफेसर साहेबको कमाइले त खान पुर्याउन पनि गाह्रो हुन्छ । हुन पनि हाम्रो लवाइखवाइ पनि कहाँ कम छ र ?"

पूजा हेर्न त मन थियो, तर उनका कुराले मलाई त्यहाँ धेरै बेर अड्याएन । एकछिनमा शुभ दीपावली भनेर विदा मागें, उनले पनि शुभ दीपावली भनिन्, त्यसपछि आफ्नै घरमा आएँ । घर आइपुग्दा केटाकेटी पनि आइपुगेका रहेछन् । एकछिन पटाखा र फूलजरीको आनन्दमा रमायौं । दिनभरिको कामधन्दा जिउ गलेको रहेछ, एकै छिनमा भुसुक्क निंदाएछु । रात बाँकी नै थियो । लगभग बाह्र बजेको होला । छिमेकमा मानिसहरूको हल्लखल्ल र गाइगुइँ बढेछ, म ब्युँझिएँ । तिहारको उमङ्ग र उत्साह जागै थियो, कतै टाढा नाचगान र देउसी/भैलोका स्वरहरू गुन्जिरहेका थिए । छिमेकमा पनि त्यसैको रन्को होला भन्ठानें, तर ध्यानपूर्वक सुन्दा त तिनै माधवी चिच्याई चिच्याई रोइरहेकी पो रहिछन्, "हाइ, के अनर्थ भयो । हामी लुटियौं, उनको डेडवर्षे ऋण लिएर जोडेको सम्पत्ति, सबै एकै छिनमा गुम्यो । अब हाम्रो के हबिगत होला ? शत्रुका अगाडि कसरी मुख देखाउनु "

मैले ढोका खोलेर हेरें, बाहिर २०/२५ जना पुरुष र महिला उभिएका थिए । तिनैमध्ये कसैले सल्लाह दिएको आवाज आयो, "सबैभन्दा पहिले महानगरीय प्रहरी वृत्तमा खबर गर्नुपर्छ । उसैले पत्ता लगाउँछ, सबैको घरमा खानतलासी गर्न लगाउनु पर्छ ।"

"ए ! माधवीको घरमा चोरी भएछ", मैले कुरो बुझें । वास्तवमा पूजा सकेर लक्ष्मी आउँछिन् भनेर दैलो खुल्लै राखेर सबै सुतेछन्, ब्युँझदा पूजाकोठामा राखेका गरगहना, नगद, मूर्ति र पूजासामाग्री गायब । उनी विलौना गरिरहेकी थिईन्, उनकै घरबाहिर उभिएका छिमेकका आइमाई उनकै कुरा काट्दै थिए, "सानो ठाँटबाँट थिएन । आफैंले गर्दा त हो नि । अब आफैंले यसको परिणाम ब्यहोर्ने हो ।"

तिनै महिलामध्ये निकै धनीमानी र सम्भ्रान्त देखिने एउटी महिलाले भनिन्, "जसले घरमा आएका अतिथिको सत्कारमा, समाजको भलाइका लागि, गरीबगुरुबालाई दान गर्न र अन्य सार्वजनिक हीतमा धनको उपयोग गर्छ, लक्ष्मीलाई स्वकेन्द्रित नगरी व्यष्टिसमष्टितर्फ उनलाई लिएर जान्छ, उसैकहाँ लक्ष्मीको स्थायी निवास हुन्छ । यो पुराणको भनाइ हो, अन्यथा लक्ष्मी त चञ्चला हुन्छिन् ।"

तिनका कुरामा मेरो पनि चित्त बुझ्यो, उनलाई समर्थन गर्दै मैले पनि थपें, "साँचो भन्नुभो, मनको पवित्र भावना र सत्कर्म तथा श्रद्धाद्वारा देवीदेउता प्रसन्न हुन्छन् । आडम्बर र स्वाङ पारेर देउता खुसी हुँदैनन् ।"

केही बेरमैं प्रहरी आइपुगे । सोधीखोजी र अनुसन्धान प्रारम्भ भइसकेको थियो, माधवी विलाप गरिरहेकी थिईन् ।

लक्ष्मी कसरी प्रसन्न हुन्छिन् ?