Showing posts with label लोक संस्कृति. Show all posts
Showing posts with label लोक संस्कृति. Show all posts

Wednesday, June 27, 2018

असारको पन्ध्र : दहीचिउरा खाने दिन

असारको पन्ध्र । किसानहरुको महत्त्वपूर्ण पर्व । नेपाली समाजमा प्रत्येक वर्षको असार महिनाको पन्ध्र गतेका दिन दही–चिउरा खाई मनाउने प्रचलन छ । वर्ष दिनभरि खान पुग्ने अन्नको जोहो गर्नका निमित्त असार महिनाभरि कडा मिहिनेत र परिश्रमका साथ खेतीपातीको काममा खट्ने, जुट्ने र सोही महिनाको बीचमा पर्ने १५ गतेका दिन रोपाइँ गरी दहीचिउरा खाने चलन नेपाली परिवेशमा धेरै पहिलेदेखि चलिआएको हो । नेपाली समाजमा ‘असारको पन्ध्र दहीचिउरा खानू, साउनको पन्ध्र खीर’ भन्ने लोकोक्ति नै प्रचलित छ । पारम्परिक समाजमा खेतीपातीमा सक्रिय भई परिश्रम गर्नु पर्ने असार/साउनको दिनलाई ‘मानु खाई मुरी उब्जाउने समय’ हो भन्ने गरिन्छ ।

धानलाई भिजाएर वा उसिनेर सुकाई, त्यसपछि ओखल वा मिलमा कुटेर तयार गरिएको खाद्यपदार्थ विशेषलाई चिउरा भन्ने गरिन्छ । आम नेपालीको खानारखाजा आदिमा चिउराको ठूलो महत्त्व छ । सजिलै सँग जताततै उपलब्ध हुने, भण्डारण गर्न सकिने तथा ‘जुठो’मा समेत नगनिने भएकाले नेपालको खानपिनमा यो एकदमै प्रचलित परिकार हो । यो विना सितन पनि खान सकिन्छ, त्यसबाहेक आम जिब्रोमा ‘दहीचिउरा’, ‘मासुचिउरा’ आदि यससँग जोडिएको खाद्यपरिकार बन्न पुगेको देखिन्छ । चामललाई पकाउनु पर्ने तर चिउरा पकाउनु नपर्ने अनि नेपालीको प्रमुख खान्की भातको सट्टामा जतिबेला पनि प्रयोग गर्न सकिने खाद्यविशेष हो, यो । दही र चिउरा जहिले जतिबेला जुन रूपमा खाए पनि हुन्छ, तर दहीचिउरा खाने नेपाली समाजमा प्रचलित विशेष दिन असारको पन्ध्र गते हो । असारमा खेतीपातीको चटारोमा घरैमा बसी मिठोमसिनो र विभिन्न परिकार जुटाई खान पाउने समय हुँदैन । त्यसैले हतारहतार काममा जानका लागि असार/साउनमा दहीचिउरा खाने गरेकाले उतिबेला यो चलन सुरु भएको हुनसक्छ । तर हिजोआज यस दिन रोपाइँ गरी वा रोपाइँको हिलोमा लडीबडी गरी दही–चिउरा खानाले गति परिने भन्ने आहान र जनविश्वाससमेत चलिआएको देखिन्छ । त्यसैले असारको पन्ध्र गतेका दिन आफ्नो खेतीपाती नभएकाहरू पनि अर्काको खेतमा गएर वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छ्यापाछ्याप गरी रमाइलो गर्ने गर्दछन्  ।

खेतीपातीमा आश्रित जनजीवन भएकाले यस समयमा किसान अत्यन्त व्यस्त हुने गर्दछन् । यस समयमा खेतमा पानीको स्रोत फेला नपरेमा, खेत सुकेमा वा कुनै तरिकाले पानीको अभाव भएमा तिनीहरूले वर्षभरि भोकै बस्नु पर्ने परिस्थिति सिर्जना हुने गर्दछ । त्यसैले होला, यदि असारको कामको धमाधममा कसैको घरमा कोही मरि हाल्यो भने पनि ‘लासलाई घुमले छोपेर काममा जानुपर्छ’ भन्ने किम्वदन्ती नेपाली समाजमा चलेको देखिन्छ । त्यस्तै बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ, यी उक्ति र आहानबाट पनि असार महिनामा एउटा किसानको दिनचर्या कतिसम्म व्यस्त हुँदो रहेछ र असारको महत्त्व रहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ । रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका अतीत घटनालाई गीतका रूपमा सँगेलेर यस दिन ‘असारे गीत’ पनि गाउने गरिन्छ । यसै अवसरमा केही समुदायमा असारे गीतका साथै जुहारी खेल्ने चलन पनि छ ।

हरियो डाँडा माथि हलो जोत्ने साथी
हो हो माले हो हो ।।। हो हो तारे हो ।

जनकवि–केशरी धर्मराज थापाको यो असारे लोकभाका होस् वा ‘आषाढस्य प्रथम दिवसे’ भन्दै आफ्नो काव्यरचना गर्न थाल्ने संस्कृतका महाकवि कालिदासको प्रसिद्ध खण्डकाव्य ‘मेघदूत’ होस् वा लेखनाथ पौड्यालको ‘वर्षाविचार’भित्र कुँदिएका मिठा श्लोक किन नहुन्, सबैमा आषाढ महिना र वर्षा ऋतुको राम्रो वर्णन भएको छ । असारसाउनका प्रणयप्रसङ्ग ओकल्ने कविताकाव्य, लोकभाका वा गीतसङ्गीत जे हुन्, तिनमा कसको मन रमाउँदैन होला । समयचक्र र प्रकृतिको प्रवृत्तिलाई अनुसरण गरी पूर्वीय सभ्यतामा पूर्ण वर्षलाई जम्मा छवटा ऋतुचक्र बनाई समय विभाजन गरिएको पाइन्छ । नयाँ पालुवा पलाउने र जताजतै फूल र मुजुरा टुसाउने वसन्त ऋतु, रुखबोटमा फल प्रदान गर्ने गृष्म ऋतु र त्यसपछि आगमन हुने वर्षाऋतु अर्थात् असार र साउन महिनाको प्राकृतिक छटालाई पूर्वीय काव्यशास्त्रका ऋग्वैदिक मनीषिदेखि कालिदास, माघ, वाणभट्ट हुँदै नेपाली साहित्यका लेखनाथ, देवकोटाप्रभृतिका धेरै कवि, कलाकार र साहित्यकारले चर्चा गरेको पाइन्छ ।

पूर्वीय सभ्यतामा आधारित जनजीवनको मुख्य आधार कृषि हो र यस पेसाका धारक किसानका लागि वर्षा ऋतुभित्र पर्ने असार र साउन महिना पवित्र पर्व समान हुन्छन्  । बीजको एक मानाले लाखौं मुरी अनाज उब्जाउने परिश्रमी किसानको महिमालाई शब्दमा व्यक्त गर्न सकिंदैन । मानव सभ्यताको आदिमकालमा मानव प्राणलाई धान्न सहज र सरल खाद्यपदार्थ अन्न हो भन्ने कुराको अन्वेषण गर्न आदिमानवले लामो समयसम्म माथापिच्ची गर्नु परेको थियो होला । यसरी लामो अन्वेषणपछि अन्न उत्पादन, खपत र वचतको भूमिका निर्वाह गर्ने किसानले नै समस्त मानव समुदायको प्राणत्राण गरी संसारलाई अहिलेको आधुनिक युगमा प्रवेश गराएका हुन् भन्दा अत्युक्ति नहोला । त्यसैले अहिलेका महान् उपलब्धिका स्रष्टा र सर्जक ती आदिम युगका कृषक हुन्, ती कृषि–वैज्ञांनिकहरू नै अहिलेको सभ्यताका मूल स्रष्टा हुन् । मानव सभ्यताको उद्विकासको क्रममा गुफा संस्कृति (जङ्गली जीवन) पछि कृषि युगमा प्रवेश गरेसँगै सभ्यताको विकास द्रुत गतिमा अघि बढेको पाइन्छ । नाइल नदीको किनारामा फस्टाएको मिश्र सभ्यता, गङ्गा र सिन्धु नदीको किनारामा पल्लवित सिन्धु र हडप्पा सभ्यता, चीनको ह्वाङ्गहो नदी किनारामा फैलिएको चिनियाँ सभ्यता, युफ्रेटस र टिग्रिस नदीमा विकसित मेसोपोटामिया सभ्यता आदि अति प्राचीन र विशाल सभ्यताको जगमा नियाल्ने हो भने एउटा किसानको भूमिका नै महत्त्वपूर्ण देखिन आउँछ ।


नेपाल कृषिप्रधान देश हो । नेपालमा खानपान, रहनसहन, आजीविकाको माध्यम र चाडपर्वको आधार पनि कृषिजीवनमा आश्रित पाइन्छ । त्यसैले मूलतः असारको पन्ध्रमा किसानलाई जति अरुलाई नबित्दो हो, तर पनि आम नेपालीले यस दिन असारको पन्ध्र भव्य रूपमा मनाउने गर्दछन् । उहिले राज्यकोष र दरबारको मुख्य आम्दानीको स्रोत कृषिक्षेत्रमा पूर्ण रूपमा निर्भर भएको हुनसक्छ, त्यसैले असारको पन्ध्र गतेका दिन ‘राजाले पनि हिलो खेल्नुपर्छ’ भन्ने मान्यता थियो । अहिले पनि बुढाबुढी असारको पन्ध्र गते राजाले पनि रोपाइँ गर्ने दिन भन्ने गर्दछन् । देशका राजामात्र नभएर अलि पहिलेसम्म गाउँघरमा राजाको पगरी गुत्न खोज्ने मुखिया, काजी, मास्टर, पर्धान आदि नामका गाउँटोलका सामन्त र ठालुहरू गाउँभरिका सोझा, सज्जन र गरीबगुरुबा जम्मा पारी आफ्नै खेतखलोमा असार पन्ध्र गतेकै दिन बेठी लगाउने गर्दथे । जे होस्, नेपाल मात्र होइन समग्र भारतीय उपमहाद्वीपको जनजीवन मुख्यतः कृषिजीवनमा नै आधारित छ अनि यहाँका किसानको पहिलो रोजाइ धानबाली हो, अनि धानको रोपाइँका लागि उपयोगी महिना असार नै हो । धानबालीका निमित्त पर्याप्त पानीको आवश्यकता हुन्छ । वर्तमान आधुनिक युग र नवीनतम कृषिऔजारको सहज उपलब्धता हुँदा समेत कतिपय खेतमा सिंचाइको पर्याप्त व्यवस्था हुन् सकेको छैन । आकाशमा आश्रित हुनु परेको छ, झन् प्रारम्भिक कालको समाजमा खेतीका लागि मात्र होइन, खानेपानीलगायत खेतीपातीका लागि पनि आकाश नै मुख्य स्रोत थियो । त्यसैले उहिलेदेखि अहिलेसम्म किसानले मुख्य बाली धान रोप्नका लागि मनसुनी वर्षासम्म पर्खनु पर्ने हुन्छ अनि असारको पहिलो वा दोस्रो हप्तामा हुने मनसुनको पानी छोप्न किसानहरूलाई ठूलो चटारो पर्छ । कडा मिहिनेत र दौडधूपका माझमा बल्लबल्ल धान रोपेर सिध्याइन्छ । साँच्चै बेलैमा धान रोपीमात्र सिध्याउनु भनेको त्यति बेलामात्र होइन, अहिले पनि ठूलै युद्धमा विजय हासिल गरेको भन्ठानेका हुन्छन् , किसानहरूले ।

असार पन्ध्र गते : राष्ट्रिय धान दिवस
दहीचिउरा खाएर मात्र होइन, नेपालमा प्रत्येक वर्ष असार १५ गतेका दिन ‘राष्ट्रिय धान दिवस’ पनि मनाउने गरिएको छ । नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउन थालिएको हो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । देशको अर्थतन्त्रमा धानले उल्लेखनीय भूमिका निर्वाह गरेको छ । कुल गार्हस्थ्य उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत हिस्सा धानबालीले ओगटेको देखिन्छ । नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । 

त्यसैले हाम्रो प्राथमिकतामा पर्ने खाद्य बालीका रूपमा धानलार्इ लिन सकिन्छ, अनि धान रोप्ने मुख्य महिना असार नै हो । असारको पन्ध्र गते ऋतुचक्रको वर्षा ऋतुअन्तर्गत सुरुको असार महिनाको मध्यविन्दुका दिन पर्दछ । अतः यो दिन धानखेती (रोपाइँ) गर्ने धमाधमको समय पनि हो । हाम्रो देशको प्रकृतिमा किसिमकिसिमका अन्नपात र तुलफूल उब्जने भए पनि यहाँको रीति र संस्कारबमोजिम देवीदेवतालार्इ पूजाआजा गर्दा होस् वा आफ्ना पितृका श्राद्धादि कर्ममा पिण्ड पकाउन नै किन नहोस्, भूतप्रेत, डाकिनी, शाकिनी, सिमे, भूमे, नागनगिनी वा कुलका नाममा प्रयोग गरिने तान्त्रिक विधिमा छरिने अक्षताका रूपमा चामलको प्रयोग हुने गर्दछ । त्यसबाहेक प्रयोग गर्ने विधिविधानमा विविधता वा रङाउने रङ्गमा फरक देखिए पनि यस राष्ट्रमा बसोबास गर्ने प्रत्येक जनजातीका व्यक्तिले आफ्ना पारम्परिक शुभ/अशुभ संस्कारको निर्वाह गर्न कुनै न कुनै किसिमले धान वा चामलको प्रयोग गरी छाड्छ । अतः खानका लागि खाद्यान्नका रूपमा मात्र होइन, पूजाआजा र संस्कार निर्वाहका लागि पनि धानको महत्त्व सर्वोपरि रहेको देखिन्छ । यी कारणहरूले गर्दा धान र असारको पन्ध्र दुबै हाम्रो निम्ति महत्त्वपूर्ण भएको हो । समग्रमा भन्ने हो भने यो दिन हाम्रो धर्मकर्म, देवीदेवता, कुलपितृ र आम जनताको मुख्य खाद्यान्न धान उत्पादन गर्ने तथा श्रमको दिव्य पसिनाले सिञ्चन गरी आफूमात्र पालिने नभएर आफ्नो उपजले जोजहाँ जस्तो हैसियतमा भए पनि तिनको प्राणको त्राण गर्ने किसानहरूलाई सम्मान गर्ने राष्ट्रिय दिवस हो ।

Monday, May 14, 2018

बटसावित्री व्रत

मिथिलाञ्चलका नारीले बट साबित्री व्रतका दिन बिहानैदेखि आ-आफ्ना पतिको दीर्घायुका लागि धार्मिक विधिपूर्वक वटसावित्री व्रत अर्थात बरसाइत पर्व मनाउने गर्दछन । प्राचीनकालमा  सावित्रीले आफ्ना पति सत्यवान्लाई यमराजको  हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएपछि यो पर्व सोही समयदेखि सुरु भएको धार्मिक विश्वास रही आएको छ । जेठ अमावस्याको तिथिमा प्रत्येक वर्ष मनाउने यस पर्वमा देवी पार्वती, सावित्री र नागनागिनीका साथै बरको बोटको पूजा गरी मनाउने गरिन्छ ।

बिहानैदेखि उपवासमा बसेर महिलाहरु स्नान गरी नयाँ बस्त्रधारण गरी पूजाको थालीमा आँप, केरा, हाते पङ्खा, मिठाई, चना,काँक्रो लगायतका सामग्री लिएर बरको रुखमुनि पुगेर बरको पूजा गरी ती प्रसाद सावित्री, नागनागिनी र पार्वतीलाई चढाएर यो पर्व मनाउने गर्दछन । खासगरी यो पर्व नवविवाहिता महिलाले बडो उत्साह र धूमधामका साथ मनाउने गर्छन् । नवविवाहिता महिलाले घरबाट माइतमा ल्याइएको नयाँ बस्त्र धारण गरी आ-आफ्ना सखी र महिलाहरुका साथमा विवाह र बरसाइत पर्वको पारम्परिक गीत गाउँदै बरको रुखमुनि पुग्छन् ।

नवविवाहिता महिलाको यो पर्व मनाउनका लागि घरबाट माइतमा नयाँ बस्त्र, १४ वटा हातेपङ्खा,चामल, चना, फलफुलका माटोको कलात्मक नागनागिनी, हात्ती बनाएर पठाइदिने चलन छ । नवविवाहिताको घरमा बरसाइत पूजा सम्पन्न भएपछि  चामल, बदाम र अन्य पकवान्नहरु गाउँभरि वितरण गर्ने नियमसमेत रही आएको छ ।

बटसावित्री व्रतको व्रतकथा
धर्मराज यधिष्ठिरले मार्कण्डेय ऋषिसँग सोधे, “हे ऋषिश्रेष्ठ! मलाई आफूले पाउने कष्टको चिन्ता छैन,तर यी द्रौपदीको दुःखलाई देखेर अत्यन्त क्लेश हुन्छ। जति कष्ट यिनले व्यहोर्दै छन्, त्यसभन्दा धेर कष्ट अरु कुनै पतिव्रता नारीले कहिल्यै भोगेका छैनन् होला ?” युधिष्ठिरका कुरा सुनेपछि मार्कण्डेय ऋषिले भन्नुभयो, “हे धर्मराज! तिम्रो यस जिज्ञासालाई मेटाउन म तिमीलाई पतिव्रता सावित्रीको कथा सुनाउँछु। मद्र देशका राजा अश्वपतिका कुनै पनि सन्तान थिएनन्, त्यसैले उनले सन्तान प्राप्तिका निमित्त सावित्री देवीको राम्ररी उपासना गरे। फलस्वरूप उनले एउटी अत्यन्त सुन्दर कन्या जन्माए। सावित्री देवीकै कृपाबाट उत्पन्न भएकी हुनाले ती कन्याको नाम पनि सावित्री नै राखियो। “सावित्रीको उमेर, रूप, गुण र लावण्य शुक्ल पक्षको चन्द्रमा झैं बढ्यो र तिनले युवावस्था प्राप्त गरिन्। अनि उनका पिता राजा अश्वपतिलाई उनको विवाह गर्ने इच्छा भयो। एक दिन उनले सावित्रीलाई नजीकै बोलाएर भने- छोरी! तिमी अत्यन्त विदुषी छ्यौ, त्यसैले आफूअनुरूप पतिलाई खोजेर तिमी आफैंले स्वयम्वर गर। पिताको आज्ञा पाएपछि सावित्री एकजना वृद्ध तथा अत्यन्त बुद्धिमान मन्त्रीलाई साथमा लिएर पतिवरण गर्ने कामनाका साथ देशविदेशको भ्रमणमा निस्किन्। जतिबेला उनी भ्रमण सिद्ध्याएर आफ्नो घरमा फर्किन्, त्यतिबेला सावित्रीका पिता अश्वपति देवर्षि नारदसँग भगवत्चर्चा गरिहेको देखिन्। सावित्रीले दुवैजनालाई प्रणाम गर्दै भनिन्- पिता! तपाईंको आज्ञानुसार म पतिको छनौट गर्न अनेकौं देशको भ्रमण गरी फर्किएँ। शाल्व देशमा द्युमत्सेन नामले प्रख्यात एकजना ठूला धर्मात्मा राजा थिए। तर दैववश उनी अन्धा भए। उनी अन्धा हुँदा उनका पुत्र बालकै थिए। द्युमत्सेनको अन्धत्व र उनका पुत्रको बाल्यावस्थाको लाभ उठाएर उनका छिमेकी राज्यका राजाले उनको राज्यमाथि आक्रमण गरी खोसे। परिणामतः उनले आफ्ना पत्नी एवं पुत्रका साथमा वनमा जानुपर्यो। आफूमाथि आइलागेको विपत्तिबाट छुटकारा पाउन उनी कठोर व्रतको पालना गर्नथाले। उनको ती पुत्रको नाम सत्यवान् हो, ती अहिले युवावस्थामा छन्। मलाई त तिनै युवक मन परे, ती नै मेरा निमित्त योग्य छन्, त्यसैले तिनलाई नै मैले पतिका रूपमा छनौट गरेकी छु।

सावित्रीका कुरा सुनेर त्यहीं पितासँगै बसेका देवर्षि नारदले भने- हे राजन्! तपाईंकी छोरीले पतिका रूपमा सत्यवानको छनौट गरेर ठूलो भूल गरिन्। नारदजीलाई तुरुन्त अश्वपतिले चिन्तित हुँदै सोधे - हे देवर्षि! सत्यवानमा त्यस्तो कुनचाहिँ अवगुण छ र तपाईं यसो भन्दै हुनुहुन्छ? अश्वपतिको जिज्ञासा शान्त पार्दै नारदजीले पुनः भने, राजन्! सत्यवान त वास्तवमा सत्यकै रूप हुन् र उनी समस्त गुणका स्वामी पनि हुन् तर उनको आयु छोटो छ। उनी अब एकवर्ष मात्र बाँच्छन्, त्यसपछि उनको मृत्यु हुनेछ। देवर्षिका कुरा सुनेर राजा अश्वपतिले आफ्नी छोरी सावित्रीलाई भने, पुत्री! तिमी नारदजीका वचनलाई सत्य मानेर अन्य कुनै उत्तम गुणसम्पन्न पुरुषलाई आफ्ना पतिका रूपमा चयन गर। पिताको आग्रह सुनेपछि सावित्रीले भनिन्, बुवा! आर्यावर्तका सच्चरित्र नारीले आफ्नो जीवनकालमा एकपल्ट मात्र पतिलाई वरण गर्छन्, चाहे त्यो मानसिक सङ्कल्प नै किन नहोस्। अब अर्को जति नै सुन्दर र दीर्घायु व्यक्ति नै किन नहोस्, म अर्को पुरुषलाई आफ्नो लोग्नेका रूपमा चुन्दिन र स्वीकार पनि गर्न सक्दिन। सावित्रीको दृढतालाई देखेर देवर्षि नारद अत्यन्त प्रसन्न भए र उनलाई प्रणयभक्ति समुचित छ भन्दै उनले राजा अश्वपतिलाई कन्यादान गर्ने सल्लाह दिए। तदनुरूप सावित्रीको विवाह सत्यवानसँग नै भयो।

विवाहपश्चात् सावित्रीले आफ्नो राजसी वस्त्राभूषण त्यागेर र वनवासीले धारण गर्ने वल्कल आदि धारण गरेर आफ्ना पति र सासुससुरासँग वनैमा दिन गुजार्न थालिन्। पति र सासुससुराको सेवालाई नै उनले आफ्नो कर्तव्य र धर्म ठहर्याइन्। तर जतिजति समय व्यतीत हुँदै जान्थ्यो, सावित्रीको मनमा डर पलाउँदै जान्थ्यो। अन्ततः त्यो दिन पनि आयो, जुन दिन सत्यवानको आयु समाप्त हुन्थ्यो, अर्थात् उनको पतिको मृत्युको मिति तोकिएको थियो। त्यस दिन सावित्रीले दृढ निश्चय गरिन्- त्यस दिन उनी आफ्ना पतिलाई एक पल पनि एक्लै छाड्ने छैनन्। सत्यवान दाउरा काट्न काँधमा बन्चरो बोकेर वनभित्र जान आँटेको देखेर सावित्रीले पनि आफू पनि सँगसँगै जाने आशय व्यक्त गरिन्। सत्यवानले उनलाई धेरै सम्झाए, बुझाउन खोजे, वनको मार्ग अत्यन्त दुर्गम भएकाले त्यहाँ जाँदा उनलाई अति कष्ट हुने कुरा पनि बताए, तर सावित्रीले आफ्नो मन अडिग बनाइन् र आफ्नो सासुससुरासित आज्ञा लिएर सत्यवानसँगै घना जङ्गलतर्फ लागिन्। दाउरा काट्न सत्यवान् एउटा रुखमा चढे, तर केही बेरमैं उनी अस्वस्थ भएर वृक्षबाट झरे। सावित्रीले उनको टाउकोलाई आफ्नो काखमा राखेर सुताइन्, ढल्कनासाथ सत्यवान् अचेत भए। सावित्रीले अब सत्यवानको अन्तिम समय आएको कुरा बुझिन् र मौन रहँदै अश्रु बगाउँदै ईश्वरसित प्रार्थना गर्न थालिन्।

अकस्मात् एउटा दृश्य देखापर्यो, सावित्रीले एकजना कान्तिमय, कृष्णवर्ण, हृष्टपुष्ट, मुकुटधारी व्यक्ति आफूसामु उभिएको देखिन्। सावित्रीले त्यससित प्रश्न गरिन्- हे देव! तपाईंको हो? उनले उत्तर दिए, सावित्री! म यमराज, पतिलाई लिन आएको हूँ। सावत्रीले जिज्ञासा राखिन्, हे प्रभो! सांसारिक प्राणिहरूलाई लिनका निम्ति त तपाईंका दूतहरू आउँछन्, तर के कारणले आज हजुरले आफैं उपस्थित हुनुपर्यो त? यमराजले उत्तर दिए- देवि! सत्यवान् धर्मात्मा तथा सद्गुणका समुद्र हुन्,मेरा दूतहरू उनलाई लिएर जान योग्य छैनन्, त्यसैले मैले आफैं आउनु पर्यो। यति भनेर यमराजले बलपूर्वक सत्यवानको शरीरलाई यमपाशमा बाँधेर हातको बुढीऔंला जत्रो जीवलाई बाहिर निकालेर दक्षिण दिशातर्फ लागे। सावित्री आफ्नो पतिलाई यमराजले लगेको देखेर आफूस्वयं पनि यमराजका पछिपछि हिंडिन्। केही पर पुगेपछि यमराजले सावित्री आफ्ना पछिपछि आँउदै गरेको चाल पाए, अनि उनलाई सोधे- हे सवित्री! तिमी मेरा पछि नआऊ किनकी तिम्रो पतिको आयु पूर्ण भइ सकेको छ र तिनलाई अब तिमीले फिर्ता पाउन सक्दिनौ। तिमी फर्कनुमा नै भलाइ छ। अब तिमीले आफ्ना पतिको मृतशरीरको अन्त्येष्टिको व्यवस्था गर। अहिलेको यो ठाउँभन्दा अगाडि तिमीले जाने अधिकार छैन। सावित्रीले तुरुन्त जवाफ दिईन्- हे प्रभो! आर्यावर्तकी आचरणशील नारी भएकाले मैले मेरा पतिको अनुगमन गर्नै पर्छ, यही नै मेरो धर्म हो र म यो स्थान त के, तपाईंका पछिपछि तपाईंको लोकसम्म नै पनि जान सक्छु किनभने मेरो पातिव्रत्य धर्मका बलका कारण मेरो गति कतै कहीँ पनि रोकिने छैन।

त्यसपछि सावित्रीलाई फर्काउने उपाय सोच्दै यमराजले भने, सावित्री! म तिम्रो पातिव्रत्य धर्मदेखि अत्यन्त प्रसन्न भएको छु, त्यसैले तिमी सत्यवानको पुनर्जीवनबाहेक कुनै एउटा वरदान माँग। यमराजको बठ्याइँलाई बुझेर सावित्रीले भनिन्- प्रभु! मेरा ससुरा ससुरा नेत्रहीन हुनुहुन्छ, कृपया उहाँको ज्योति फर्कने वरदान दिनुहवस्। यमराजले तथास्तु भन्दै पुनः फिर्ता जान आग्रह गरे। सवित्रीले पुनः अनुरोध गरिन्- भगवन्! जहाँ मेरा प्राणनाथ रहहुनेछ, त्यहीँ मेरो निश्चल र निश्चिन्त बसाइ हुनेछ। यसबाहेक मेरो एउटा अर्को पनि अनुरोध छ, त्यो हो मलाई आज तपाईंजस्ता देवताको दर्शन प्राप्त भयो, त्यसैले आजउप्रान्त देवदर्शन र संतसमागम हुँदा कहिल्यै निष्फल हुँदैन भन्ने शास्त्रीय प्रमाण छ, म आज कसरी खाली हात फर्कनु त? यमराजले उत्तर दिए, देवि! तिमीले भनेको कुरो राम्रो हो, तिमी ज्ञानी र विदुषी पनि रहिछ्यौ, त्यसैले सत्यवानको जीवनबाहेक फेरि पनि अर्को एउटा वर माँग। सावित्रीले भनिन् बोली, हे देव! मेरा ससुरा राज्यच्युत भएर वनवासी जीवन व्यतीत गर्दै हुनुहुन्छ। मलाई के वरदान दिनुहोस् भने मेरा ससुराले आफ्नो राज्यवैभव फिर्ता प्राप्त गर्नुहुस्। यमराजले पुनः ‘तथास्तु’ भन्दै सावित्रीलाई फर्कने आदेश दिए। सावित्रीले फेरि भनिन्, हे प्रभो! सनातन धर्मअनुसार मनुष्यहरूको धर्म हो सबैमा दया गर्नु। सत्पुरुषले त आफूनजीकै आएको शत्रुलाई पनि दया गर्छन्, त्यसैले म हजुरकी दयाकी पात्र हूँ। यमराजले भने- कल्याणी! तिमी असाध्यै बाठी र नीतिनिपुण रहिछ्यौ, तिर्खाएको मनुष्यलाई पानी खाँदा जुन आनन्द प्राप्त हुन्छ, तिम्रा कुरा सुन्दा त्यस्तै आनन्द प्राप्त हुन्छ। तिम्रा यस्ता मिठा कुराको कदर गर्दै म एउटा अर्को वरदान दिन चाहन्छु, आफ्ना पतिको जीवनबाहेक जे माग्छ्यौ, माग। अनि सावित्रीले मेरा पिता राजा अश्वपतिका कुनै पुत्र छैनन्, अतः हजुरले कृपा गरेर उहाँलाई पुत्र प्रदान गर्नुहवस्। यमराजले भने- ल मैले तिमीलाई यो वरदान पनि प्रदान गरें, अब त तिमी यहाँबाट फर्किएर जाऊ। सावित्रीले फेरि भनिन्- हे यमदेव! म आफ्नो पतिको अभावमा एक क्षण पनि जीवित रहन सक्दिन। हजुर त सन्तहृदय हुनुहुन्छ र सत्संगले सहृदयता बढ्छ नै। त्यसैले सन्तलाई सबैले श्रद्धा, विश्वास र प्रेमभाव प्रदर्शन गर्छन्। यमराजले भने, तिम्रा यी शास्त्रसम्मत वचन असल छन्, यस्ता वचन सुनेर मलाई अझ एउटा वरदान दिन मन लाग्यो, त्यसैले सत्यवानको जीवनलाई छाडेर अब एउटा अन्तिम वरदान माग, तर यसपछि चाहिँ तिमीले फिर्ता जानै पर्छ नि। सावित्रीले एकछिन घोरिएर भनिन्, प्रभु यदि मसँग हजुर साँच्चै नै प्रसन्न हुनुहुन्छ भने मेरा ससुरा द्युमत्सेनको कुलको वृद्धि गर्न मेरा कोखमा सयभाइ पुत्र जन्म हुने वरदान प्रदान गर्ने कृपा गर्नुहोस्। यमराजलाई सावित्री पछ्याउँदै आएकी र नफर्केकी हुँदा झिंझो लाग्न थालेको थियो, त्यसैले सावित्रीका कुरा भुइँमा खस्न नपाउँदै उनको मुखबाट तथास्तु शब्द फुस्कियो, अनि उनले झर्कंदै सावित्रीलाई भने- लौ त मैले तिमीलाई यो वर पनि दिएँ, अब त जाऊ।

त्यसपछि पनि सावित्रीले यमराजलाई पछ्याउन छडिनन्, पछिपछि हिंडिरहिन्। अझ आफ्ना पछि लागेको देखेर यमराजले भने- सावित्री! तिमी त असाध्यै ढीट र जिद्दी रहिछ्यौ, हेर मेरा कुरा मान र फिर्ता जाऊ, सत्यवानको मृतशरीरको अन्तिम संस्कारको व्यवस्था गर, अन्तिम संस्कारको अभावमा तिम्रा पतिले यमालोकमा ठूलो विपत्ति सहनु पर्छ। अब सावित्रीको बोल्ने पालो थियो, उनले भनिन्, हे प्रभु! तपाईंले अहिले भर्खरै मेरा कोखबाट ससुरा द्युमत्सेनको वंश विस्तार गर्न सयभाइ छोरा जन्मने वरदान दिनुभएको छ, मेरा पतिको अन्तिम संस्कार भयो भने मबाट मात्र हजुरको त्यस वरदानको पूर्ति हुनेछैन र मेरा ससुराको वंशवृद्धि पनि हुनेछैन। सावित्रीका यस्ता तार्किक वचन सुनेर यमराज छक्क परे र अन्त्यमा उनले भने, सावित्री! तिमी त अत्यन्त विदुषी र चतुरी रहिछ्यौ, तिमीले आफ्न वाग्जालमा पारेर मलाई रनभुल्ल बनाई मबाट वचन चुकायौ। तिमी पतिव्रता छ्यौ त्यसैले जाऊ, म सत्यवानलाई जीवनदान दिन्छु। यति भनेर यमराज अन्तर्धान भए अनि सावित्री पनि फर्किएर सत्यवानको भौतिक शरीर भएको स्थानमा आइन्। सावित्री त्यहाँ पुग्दा सत्यवानको चेतना भर्खर फर्कंदै थियो।

यति कथा सुनाएर मार्कण्डेय मुनिले युधिष्ठिरलाई भने, हे राजन्! यसप्रकार पतिव्रता सावित्रीले आफ्ना ससुरापक्ष र माइतिपक्ष दुबै कुलको उद्धार गरिन्। त्यसरी नै यी पतिव्रता द्रौपदीले पनि हजुरहरू सबैको उद्धार गर्नेछिन्। त्यसैले समस्त चिन्तालाई त्यागेर सुदिन आउने प्रतीक्षा गर्नुहोस्।”


यो कथा सुन्न तलको भिडियो प्रयोग गर्न सक्नुहुन्छ ।

Friday, November 3, 2017

‘सामा–चकेवा’ पर्व

आजको यस आधुनिक युगमा तीब्रतर विकासका बावजूद पौराणिक एवं लोकोक्तिमा आधारित परम्परा आज पनि विभिन्न समुदाय र क्षेत्रमा कायम देखिन्छ । त्यसैले होला द्वापर युगदेखि चली आएको ‘सामा–चकेवा’को लोकपर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि सोल्लास र लोकाचारका साथमा मनाउने गरिन्छ । नेपालमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व 'सामा-चकेवा' पर्व कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइन्छ । यो पर्व पूर्वी नेपालमा खासगरी थारु जनजातिले विशेष उत्साहका साथ मनाउने गर्दछन्।

परिचय
साम चको साम चको अहिय है ….
जोतला खेतमे बैसिय है ….
सबरंग पटिया ओछाबिय है..
ओई पटियापर क्या क्या जना
यस्तैयस्तै कर्णप्रिय तथा श्रुतिमधुर लोकगायनको आलाप गुञ्जाउँदै, टोलटोल र घरघर चाहार्दै गाउँभरिका अविवाहित किशोरीहरूले एकसाथ एउटै मञ्चमा जम्मा भई नाचगान र हर्षोल्लासका साथमा मनाइने दाजुभाइ र दिदीबहिनीको आत्मीयता र मायाको प्रतीकका रूपमा उपस्थापन गरिने पौराणिक लोकपर्व हो, सामाचकेवा । ‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइति पक्षका बीच रहेको अटूट श्रद्धा एवं प्रेमको प्रतीक हो । आज पनि नेपालको खासगरी पूर्वी तराइको गाउँगाउँमा महिलाहरू यस लोकपर्वमा सहभागी हुने गदर्छन् । कलामर्मज्ञहरूद्वारा यसको कथासूत्रको रोचकता, आकर्षक दृश्यात्मकता, गीत–सङ्गीत–नृत्य र यसको पारम्परिक स्वरूपलाई अवलोकन गरी यसको अभिनेय पक्षलाई पारम्परिक ‘लोकनृत्य’का रूपमा व्याख्या गरेको पाइन्छ । यसको बहुआयामी स्वरूप, गायन–विविधता, प्रकृतिप्रतिको अगाधप्रेम, माइति र चेली बीचको स्नेहपूर्णसम्बन्ध, चुगला (समाजविरोधी)प्रतिको सामूहिक–सङ्गठित विरोध, लोककल्याणको भावना, संस्कारगत–प्रशिक्षण जस्ता अनेक खण्डमा बाँडेर यस पर्वलाई विश्लेषण गर्न सकिन्छ । त्यसैले यस बहुआयामी लोकनृत्यमा मूलभूत स्वरूप एउटै भए पनि व्रतालु र प्रदर्शनकारी समूहको विचार, चिन्तन, श्रुतिपरम्परा र सामजिकताका आधारमा यस पर्वको विवेचन र व्याख्या फरक फरक हुन्छ । यही यस लोकनृत्यको निजीपन र विशेषता पनि हो ।

ऐतिहासिक पृष्ठभूमि
खास गरी नेपालको पूर्वी तथा मध्य तराईमा छठ पर्वको एकदिन अगाडि र कतैकतै छठको भोलिपल्टदेखि मनाइने यो पर्व कहिलेदेखि मनाउन थालिएको हो ? यसको ऐतिहासिक पृष्ठभूमि स्पष्ट देखिएको छैन । यो पर्वका सम्बन्धमा संस्कृतिविद्हरूबीच पनि मतभिन्नता पाइन्छ । पद्मपुराण, स्कन्दपुराण र साम्बपुराण जस्ता विभिन्न पुराणमा यो पर्वको सम्बन्धमा चर्चा गरिएको पाइन्छ । ‘सामा–चकेवा’ लोक पर्वको शुभारम्भ द्वापर युगमा भगवान् कृष्णको समयदेखि नै भएको हो । यो पर्व भगवान् श्रीकृष्णकी छोरी साम्बा र छोरा साम्बको कथामा आधारित छ । यस कथाप्रसङ्ग–अनुसार भगवान् श्रीकृष्णकी पत्नी जाम्बवतीतर्फ १० भाइ छोरा र एउटी छोरी गरी एघारजना सन्तति थिए । ती मध्ये जेठा छोराको नाम साम्ब र छोरीको नाम साम्बा थियो । साम्बा जति सुशीला र चरित्रवती थिइन् त्यत्तिकै उनको सुन्दरताको बखान हुने गर्थ्यो । साम्बाको सौन्दर्यमा मोहित भई भगवान् श्रीकृष्णकै पुरी द्वारिकामा बसोबास गर्न ‘चूडक’ लट्ठ भएको थियो । तर उसको एकतर्फी प्रेम साम्बालाई थाहा नै थिएन । उता साम्बाको ‘चारुवाक’नामक युवकसित गान्धर्व विधिले विवाह सम्पन्न हुन्छ । त्यसपछि आफ्ना पतिको घरमा सानन्द बसोबास गर्न थाल्छिन् । साम्बालाई आफूले प्राप्त गर्न नसकेकाले प्रेमान्ध चूडक श्रीकृष्णको दरबारमा जाने र उनकी छोरी साम्बाको चरित्रबारे चियोचर्चा गर्न थाल्छ । वृन्दावनको दिव्य जङ्गलको बीचमा गोपेश्वर महादेवको मन्दिर थियो । आफ्नो दाम्पत्य जीवनमा उतारचढाव नआओस् र दीर्घ सौभाग्य प्राप्ति होस् भन्ने उद्देश्यले उनी पति चारुवाकको आज्ञा लिई नित्य प्रति उक्त मन्दिरमा गई पूजा आराधना गर्दछिन् । उक्त पूजाअर्चनाको प्रभाव तथा भगवान् भोलेनाथको असीम अनुकम्पाले साम्बाका पति चारुवाकको स्वरूप देवतातुल्य मनोहर र दिव्य हुन पुग्छ र त्यसपछि उनी पति चारुवाकसँगै विभिन्न सुरम्य स्थलमा वनविहार पनि गर्न थाल्छिन् । तर यसै प्रसङ्गलाई जोड्दै ‘साम्बाले पतिको हत्या गरी परपुरूषसँग वृन्दावनमा विहार गर्दै गरेको’ कुरो गाँसेर चूडकले भगवान् श्रीकृष्णलाई भएनभएको उपाख्यान सुनाई पोल लगाउँछ । कुरो सुन्नासाथ सत्यताको निरूपण नै नगरी श्रीकृष्णले छोरी साम्बालाई पक्षी हुने शराप दिनुहुन्छ्र । चारुवाकले देख्दादेख्दै पत्नी पक्षी भएको दृश्य देखेर उनी रुँदै कराउँदै भगवान् श्रीकृष्णको शरणमा पुग्दछन् र बास्तबिकता बताउँदछन् । कृष्णलाई आफ्नो निणर्यप्रति पछुतो हुन्छ र चूडकलाई चुगलखोरी गरेवापत् देशनिकालाको सजाय हुन्छ । उता ससुरा कृष्णसँग आँफू पत्नीविना बाँच्न नसक्ने भन्दै चारुवाकले विलाप गर्दछन् । अनि भगवान् श्रीकृष्णले आफ्नो श्राप आँफै फिर्ता लिन नमिल्ने बताउनु हुन्छ । त्यसो भए पत्नी पक्षी नै रहने भएपछि आँफूलाई पनि पक्षी बनाइदिन ज्वाइँले अनुरोध गरेपछि भगवान् श्रीकृष्णले उनलाई पनि पक्षी नै बनाइदिनुभयो । यसरी पक्षीका रूपमा साम्बाका दम्पती रहनलागे । बहिनीले श्राप प्राप्त गरेको र पक्षी भएको समाचार दाजु साम्बले प्राप्त गर्दछन् । उनी पनि निर्दोष बहिनीज्वाइँलाई पक्षीयोनीबाट मुक्त तुल्याउन पिता श्रीकृष्णसित अनुनय–विनय गर्दछन् । तर भगवान् श्रीकृष्णले राजधर्मको बाध्यता र विवशताका कारण उक्त शराप फिर्ता लिन नसक्ने बताउनुहुन्छ । अनि पितासित साम्बले बहिनीज्वाइँ मुक्त हुने उपाय बताउने आग्रह गर्दछन् । भगवान् श्रीकृष्णले समस्त ब्रज क्षेत्रका साध्वीहरूलाई साम्बाको पातिव्रत्य धर्म डगेको छैन भनी विश्वस्त तुल्याई ती सम्पूर्णले कार्तिक शुक्ल पञ्चमीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म ११ दिन प्रत्येक दिन सायंकालमा गोपेश्वर महादेवको मन्दिर परिसरमा गीत र नृत्य गरी भगवान् भोलेनाथलाई प्रसन्न तुल्याएमा ती दम्पतीको पक्षीयोनीबाट छुट्कारा हुने उपाय बताउनुहुन्छ । यसै उपायलाई अनुसरण गरी साम्ब महिलाहरूलाई सङ्गठित बनाउँदछन् र आँफूले पनि शिवको आराधनामा घनघोर तपस्या गर्दछन् ती सङ्गठित साध्वी स्त्रीहरूले शिवालयको परिसरमा साथै भगवान् श्रीकृष्णको दरबार जाने चौबाटोमा प्रत्येक साँझ गीत र नृत्य प्रस्तुत गर्दछन् । साम्ब र द्वारिका पुरीका समस्त साध्वी स्त्रीको आराधनाले शिव प्रसन्न हुनुहुन्छ र साम्बाका जोडीलाई पंक्षीयोनीबाट मुक्त बनाउनु हुन्छ । स्त्रीहरूको सङ्गठित प्रतिरोध, चेलीबेटी र माइतिबीचको अटूट प्रेम र घुसघुसे एवं पोल्याहा(चुगला)हरूलाई सजाय दिने सन्देश बोक्ने यही उत्सव हो–‘सामा–चकेवा’पर्व ।

परम्परा र विधान

आज पनि मिथिलाञ्चलका गाउँगाउँमा स्त्रीहरू ‘सामा–चकेबा’को अभिनय गर्दछन् । यस पर्वमा यो र यसै कथानकसँग जोडिएका पात्रहरू शाम्बा(सामा), चकेवा(चारुवाक)का अतिरिक्त शाम्ब, सतभैया, खडरीच, चुगला(चूडक), वृन्दावन, चौकीदार, झांझी, कुकुर(कुत्ता) आदिको माटोको मूर्ति निर्माण गरी असाध्यै रोचक अभिनय गरिन्छ । दाजु र बहिनीबीचको आत्मीय प्रेमको प्रतीकको रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछन् । तराई-मधेसको लोकनाटकको झझल्को दिने यस पर्वका दुईवटा प्रमुख पात्र हुन्छन् सामा र चकेवा । सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र । त्यसैगरी समाजको खलपात्रको प्रतीकको रूपमा चुक्ली लगाउने अर्को पात्र 'चुगला' पनि हुन्छ । विभिन्न पात्रको प्रतीकको रूपमा बनाइएको माटोका मूर्तिलाई बाँसको टोकरीमा राखी कात्तिक शुक्ल पञ्चमीको साँझदेखि टोलछिमेकका दिदी बहिनीहरू गाउँको बाहिर खुला ठाउँमा एकभित्र भई सामा-चकेवासम्बन्धी गीतहरू गाउँछन् र अभिनय गर्दछन्। यस क्रममा समूहमा महिलाहरू डाला(ढाकी)मा मूर्तिहरू सजाउँदै कार्तिकको शुक्लपक्ष पञ्चमीको बेलुकाबाट शुरु गरी गाउँगाउँको दोबाटो, चौबाटो, चौक आदि स्थलमा भेला भई लोकगीत गाउँदै नृत्य गर्दछन् । सामा खेले चलली सखी संग सहेली हो.., साम चके साम चके अइहो हे जोतला खेत में बैसिहो है.., चुगला करे चुगलपन बिलैया करे म्याउँऊं, चुगला के फांसी देंऊ जस्ता लोकगीत गाउँदै चुगलाको मूर्तिमा टाँसिएको दाह्री र जुँघालाई प्रत्येक दिन डढाउँदै त्यस चुगलाको प्रतिमालाई महिलाहरू कुटेपिटे झैं पनि गर्दछन् । गीतमा आफ्ना दाजुभाइको प्रशंसा तथा चुक्ली लगाउने भन्ने पात्रलाई गाली गरिएको हुन्छ । त्यसैगरी सामा-चकेवालाई शीत र दूबो खुवाइन्छ ।
सामा-चकेवालाई शीत र दूबो खुवाइसकेपछि मूर्ति राखिएका टोकरीलाई बीचमा राखी त्यहाँ उपस्थित दिदीबहिनीहरू वृत्ताकारमा बस्दछन् र टोकरीलाई दाहिने हातले एकले अर्कालाई दिंदै बाँया हातले फेरि लिने गर्दछन् । दिने र फर्काउने यो क्रम नथाकेसम्म गीत गाउने र अभिनय गर्ने क्रम चलिरहन्छ । त्यसपछि असत्य, पाप र असामाजिक तत्वको प्रतीकको रूपमा रहेको चुक्ली लगाउने पात्रको जीउमा आगो लगाइन्छ । त्यसपछि दिदी-बहिनीहरू सामा-चकेवाको गीत गाउँदै आ-आफ्नो घर फर्कन्छन् । घर पुगेपछि सामा-चकेवाको टोकरीलाई आँगनमा राखी धानको बाला खुवाई रातभरि बाहिरै राखिन्छ । यो क्रम पञ्चमीदेखि चतुर्दशीको दिनसम्म चलिरहन्छ र पूर्णिमाका दिन यो लोकपर्वको विसर्जन गरिन्छ । पूर्णिमाका दिन बिहान मूर्तिलाई सफासुग्घर बनाई रङरोगन गरी विशेष किसिमले सजाइन्छ । त्यसपछि किशोरीहरूले आँफूले गाउँगाउँ डुली अभिभावकवर्गबाट सङ्कलन गरेको रकम र अन्नादिको उपयोग गरी तैयार गरिएको प्रसाद दही, चिउरा, चिनी र मिठाईसहित विभिन्न परिकारको भोजन तैयार गर्दछन् । साँझ सर्वप्रथम मूर्तिहरूलाई भोजन गराइन्छ अनि त्यसपछि दिदी-बहिनीहरूले आआफ्ना दाजुभाइलाई मूर्तिकै जुठोस्वरूप त्यही भोजन प्रसादका रूपमा दिन्छन् । प्रसाद ग्रहण गरेपछि दाजुभाइले ती मूर्तिलाई आफ्नो घुँडामा राखी भाँच्छन् । त्यसबेला दाजुभाइले दिदीबहिनीलाई नगद, गहना, लुगा कपडा आदि उपहार दिन्छन्। अनि सामा, चकेवा र अन्य भाँचिएका मूर्तिहरूलाई गाउँनजिकैको खोला, पोखरी वा तलाउमा विसर्जित गरिन्छ, तर चुगलाको मुर्तिलाई भने फोहोर ठाउँमा (शौचालय क्षेत्र)मा फ्याल्ने गरिन्छ र यस पर्वको समापन गरिन्छ ।

Wednesday, November 1, 2017

मगरहरूको सांस्कृतिक नाच 'हुर्रा'


त्याग र बलिदानको लागि आफ्नो संसार नै पनि दिन सक्ने दयालु जाति भनेर चिनिने मगर जाति हुन् चाहे त्यो पश्चिम डडेंल्धुराको छेउँसम्मको होस् या पूर्व सिक्किम, भुटान, अछाम र बर्मासम्मको होस् आखिर मगर जाति भनेको एक हो । तरपनि भौगोलिक संरचनामा छुट्टाछुट्टै स्थानमा बसोबास भएको हुँदा मगर जातिहरूले मान्दै आएका सांस्कृतिक नाचहरू पनि क्षेत्र अनुसार अनेक थरीका छन् । यी मध्ये पूर्वतिर नाचिने हुर्रा देउसी पनि एक अति लोकप्रिय नाच हो ।

हुन त हुर्रा नाचलाई प्रायँजसो देउसी नै भन्ने चलन छ । किनकी मगर राजा बलिराज दैवी ज्ञानीभन्दा पनि आफै देवता थिए जसलाई हामी आफ्नो भाषामा देउ बराही भन्छौं र हामी मगरहरूको नाचहरू पनि धार्मिक भएको हुँदा देउस्याहा अर्थात् देवी नाच भनेर हुर्रालाई भनिने चलन छ । किनकी मगर भाषाबाट देउ भनेको देव र स्याहा भनेको नाच हुन्छ । यहीँ नै देउस्याहा भन्दाभन्दै पछि आएर देउसी हुन गएको भनेर बुढापाकाहरूको भनाईं छ ।

बि.सं. २०४६ सालको प्रजातन्त्रको पुर्नआगमनपछि पूर्वका धनकुटा, मोरङ, पाँचथर, सुनसरी, झापातिर मात्र सिमित रहेको यस नाचलाई देशभरका मगर जातिहरूले नाचिनु-मनाउनुपर्छ भनि धेरै अग्रजहरूले आवाज उठाए र यहीँ उद्देश्यलाई आत्मसात गर्दै यसको राष्ट्रियकरण गर्नतिर लागिपरे । फलस्वरूप अग्रजहरूको यहीँ उद्देश्यले राम्रो अवसरको मोड लियो र जहाँ मगर त्यहाँ हुर्रा भन्ने नाराका साथ नेपाल हुर्रा नृत्य प्रतिष्ठान दर्ता भयो । स्मरणिय रहोस् 'हुर्रा' यहीँ प्रतिष्ठापनले जन्माएको नाम हो । तर यो हुर्रा शब्द छोटकरीमा छ किनभने मगर भाषामा हुर्र भनेको मज्जा अनि राहा भनेको आयो हुन्छ । देउस्याहामा हामीहरू रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा यो शब्दले रनघन पार्दै मच्चिन्छौँ हुर्र हा… गर्दै । र यो मगरहरूको आफ्नै ठेँट शब्द हो । त्यसैले अग्रजहरूले धेरै छलफल गरेर यो नाम दर्ता गराएका हुन् ।
उत्पत्ति
यो हुर्रा नाच कुनै किम्बदन्ती नाच होईन । तरपनि पश्चिममा तत्कालिन शाषकहरूबाट राज्य खोसिएपछि भाग्दै भाग्दै पूर्वतिर छिरेका मगरहरूले यो नाच आफैले जन्माएको नाच हो भनेर प्रमाणित गरिसकेको छ । यसको उदगम स्थल धनकुटा मुढेबास हो भनेर प्रमाणित भईसकेको छ । यसलाई बिभिन्न तथ्यहरूबाट स्पष्टी दिन सकिन्छ ।

हुर्रा नाच मगर जातिहरूका लागि अत्यन्तै महत्वपूर्ण र बिशिष्ट भएको मानिन्छ । बिशेषत: तिहारको अवसर पारेर मनाईने यो नाचको बिशेषता भने भूमी शोक तथा भूमी सर्वदा नै हो । धनकुटाको मुढेबास गा.बि.स. वरपरतिरका गा.बि.स. प्रायँ लेकपर्ने हुँदा यहाँका अन्नबाली पाक्न झण्डै बर्षदिन नै लाग्छ । लामो समयको प्रतिक्षा पश्चात् अन्नपात भित्र्याईसक्दा झण्डै कार्तिक लागिसकेको हुन्छ र यसैको उपलक्ष्यमा खुशियालीका रूपमा यो नाच नाचिन्छ ।

समय र प्रकार
खास गरेर हुर्रा वल्लो गाउँबाट पल्लो गाउँ गएर धुमचुमका साथ नाचिने गरिएता पनि यस बाहेक बिभिन्न सामाजिक पूजा (भूमिपूजा), विवाह, आदि जस्ता बिशेष कार्यक्रमहरूको अवसरमा पनि नाचिन्छ । यो नाचको महत्त्व अन्य जातिको भन्दा छुट्टै भएकोले यसको प्रकार पनि बेग्लै र बृहत छ । धनकुटाको मुढेबास र बुधबारे गा.बि.स. को बिचमा सौरे भन्ने बजार छ । गाईतिहारे दिनमा सौरे बजार मादलको धुनले गुञ्जायमान हुन्छ । यसको एउटा वास्तविकता छ । त्यो बजारमा जनै पूर्णिमा अथवा भदौरे पूर्णिमा देखि मादल बजाउनेहरूको धुईरो लाग्न थाल्छ । मोरङ, पाँचथर, सुनसरी, धनकुटाका टाढाटाढादेखि मादल बनाउन ल्याईन्छ । भोटेहरूले गाईतिहारे औंसीको दिनमा सबै मादल बनाएर मगरहरूलाई जिम्मा लगाउँछन् । मादल पाएपछि मगरहरू सौरे बजारको बिचमा रहेको बलिराज (कथित ठुलो ढुङ्गा) लाई झ्याली, मादल र मुरलीको गुञ्जामानका साथ फेरो लाएर आज्ञा माग्दै आफूलाई निम्तो दिएको गाउँतिर नाच्न जान्छन् । यसरी अन्य गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलको तानाबाना नचुँडियोस् भनेर सरस्वती देवीको लागि एउटा भाले चल्ला उठाईन्छ र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गरिन्छ । अर्को गाउँमा गएर नाचगान गरेर सकिएपछि बिदावारीको क्रममा त्यहाँको गाउँलेले नाच्न-गाउन आउनेहरूको बाटो कुनै भूतप्रेत वा केहीले नछेकोस्, खोलानाला राम्ररी पार भएर जानु भनी जोर बन्दुक पड्काएर बिदाई गर्ने चलन छ ।
हुर्रा नाचको लागि ठूलो आँगनमात्र उपयुक्त हुन्छ किनकी यो नाच पचास जनाभन्दा माथि दुई तीन सयजना सम्म नाचिने नाच हो । बिचमा चार-पाँचवटा सम्म ठूलो मादल रन्केको हुन्छ, त्यहीँ तालमा नाच्नेहरूले ताल मिलाउँदै नाच्नुपर्ने हुन्छ । हुर्राको तीनवटा कदम हुन्छ – छोटी कदमे, दुई कदमे र तीन कदमे । बिचमा मादलेहरू भट्याउनेहरू दुई कदमे नाच्छन् भने त्यहीँ तालमा बुढाबुढीको लस्कर तीन कदमे जान्छ र युवायुवती तथा बालबच्चाहरू हात समाएर गोलो छोटी कदमे नाच्ने गरिन्छ । त्यहाँ नाच्ने जतिपनि हुन्छन् तिनीहरू मादलको एउटै तालमा खुट्टाको चलाई मिलाउनुपर्ने हुन्छ । यस नाचमा हात चाल्नु पर्दैन । हात एक-अर्कासँग समातिन्छ । बुढाबुढी होस् या त बालबच्चा वा युवायुवती नै, तर नाचको गीत भने देशै रमाईलो नै रहन्छ । देशै रमाईलो एउटा थेंगो हो, गीत आफै रचेर दोहोरी वा गाउँले मायाप्रितीको कुरा गर्ने हो र अन्त्यमा देशै रमाईलो टुक्का जोड्ने हो । जस्तै…

केटा :- बार्है न हाते लै लै, पटुकी मेरो छेउँ छेउँमा किनारी… देशै रमाईलो
तपाईं र न हामी लै लै, भेट भयो आज, गरौं कि र चिनारी… देशै रमाईलो
केटी :- सानो अण्डा लै लै कुखुराको, ठुलो हाँसको… देशै रमाईलो
हजुरै न ज्यान त लै लै कहाँको कुन्नी। हामी मुढेबासको… देशै रमाईलो

यसरी देशै रमाईलो रमाईलो थेंगोमा मायाप्रीतिका कुरा गर्दै औंसी देखि एकादशी सम्म क्रमश: रातदिन बजेको मादल निरन्तर ताल नमारी अन्तिम क्षणसम्म यो नाच नाचिन्छ । अझ भनौं झ्याली मादल उठाईसकेपछि नसकिउन्जेल बिसाउनु हुँदैन, अन्यथा अशुभ हुन्छ भन्ने कथन छ ।

Thursday, October 26, 2017

सूर्योपासनाको पर्व : छठ

-    सहप्रा.  कृष्णप्रसाद कोइराला
पिण्डेश्वर क्याम्पस, धरान – १४, सुनसरी


प्रत्येक वर्ष कार्तिक महिनाको शुक्लपक्षको षष्ठी तिथिका दिन नदी वा जलाशयमा शरीरको अर्द्धभाग पानीमा राखी उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई सूर्यको उपासना गर्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई त्यसै गरी अर्घ्य दिई व्रतको समापन गरिने पर्व हो, छठ । यो पर्वको पौराणिक नाम हो सूर्यषष्ठी र लोकजीवनमा यसलाई छइठ, छठी, डाला छठ आदि समेत भन्ने चलन छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । आस्था र श्रद्धाको यस महापर्वमा गरिने प्रकृति पूजा परम्परा र संस्कृतिको इतिहासमा अनुपम र उल्लेखनीय मानिन्छ । हुन त भगवान् सूर्यको उपासना र आराधना विश्वका सबै जातजाति, वर्ग, समुदाय र धर्मसंस्कृतिमा हुने गरेको उदाहरण र संस्कृति पाउन सकिन्छ । तर छठ पर्वमा बाहेक अस्ताउँदो सूर्यको उपासना र अर्चना गर्ने परिपाटी संसारका कुनै परम्परामा पाउन सकिन्न । यस महापर्वमा सुरुमा अस्ताचलमा डुब्दो सूर्यको पूजा गरिन्छ, अनि रातभरि जाग्राम बसी पुनः भोलिपल्ट बिहान उदयाचलमा देखिने सूर्यको पूजा गर्ने गरिन्छ ।

पूर्वको जापानदेखि प्राचीन ग्रीसेली–युनानी सभ्यतामा समेत सूर्यको पूजा र उपासना गर्ने पद्धति रहेको देखिन्छ । उदाउँदो सूर्यको देश जापानका नागरिक आफूलाई सूर्यपुत्र मान्ने गर्दछन् । त्यस्तै युनानी संस्कृतिमा हिलियसका नामबाट सूर्यको उपासना गर्ने प्रचलन छ । सनातन हिन्दू परम्परामा त वैदिक कालदेखि नै सूर्यको उपासनाको महनीय परम्परा विद्यमान रहेको छ । भारतवर्षमा सूर्य देवताका मन्दिर निर्माणको समयावधि ईश्वीको पहिलो शताब्दी मानिन्छ । भारतको अहिलेको विहार र झारखण्डको भूभागलाई पुरानो समयमा मगध देश भनिन्थ्यो । यसको राजधानी पाटलीपुत्र (अहिलेको पटना) थियो । त्यहाँ बसोबास गर्ने पहिलो समुदाय पारस देश (अहिलेको इरान) बाट आएका मग जातिका मानिसहरू थिए । यिनै मग जातिले मागधी सभ्यताको विकास गरे र सूर्योपासनाको परम्परालाई विकास गरे भन्ने संस्कृतिविद्को धारणा छ । विद्वान् चाणक्यको कर्मभूमि पनि यही मगध देश हो । वस्तुतः पतीत पावनी गंगाको सिञ्चन क्षेत्रबाट यस व्रतलाई सम्पादन गर्ने परम्पराको सुरुवात भएको हो र  नेपालको मिथिलाञ्चल क्षेत्र अर्थात् जनकपुर अञ्चल र त्यसभन्दा पूर्वको तराइका केही गाउँहरू तथा भारतको उत्तरी विहार र पूर्वी उत्तरप्रदेशका गाउँहरूमा मनाइने यो पर्वले अहिले आफ्नो आयाम विश्वका कुनाकुनासम्म पुर्याइसकेको देखिन्छ । 

यस व्रतका बारेमा विभिन्न पौराणिक आख्यानहरू भेटिएका छन् । तीमध्ये देवीभागवत महापुराणको एउटा कथा यस्तो छ । स्वायम्भुव मनुका पुत्र राजा प्रियव्रत सुरुमा सन्तति सुखबाट वञ्चित थिए । उनका कुनै सन्तान थिएनन् । विवाह भएको लामो समयपछि उनले गर्भमा नै मरेको एउटा छोरो जन्माए । बल्लबल्ल जन्मिएको छोरो जन्मँदै मृत रहेको थाहा पाएपछि राजा शोकमग्न भई नवजात शिशुको शव बोकेर श्मशान घाटमा पुगे र विलाप गर्न थाले । एउटी सुन्दरी स्त्रीले राजाले डाँको छोडेर रोएको र विलाप गर्दै गरेको देखिन् । उनी ब्रह्माकी मानसपुत्री देवसेना थिइन् । उनको विवाह शिवपार्वतीका पुत्र भगवान् स्कन्दकुमार कार्तिकेयसँग भएको थियो । उनी मूल प्रकृतिको छैठौं अंशबाट उत्पन्न भएकी थिइन् । त्यसैले तिनलाई षष्टिका देवी पनि भनिन्थ्यो । उनले राजा प्रियव्रतको वृत्तान्त थाहा पाइन् र राजालाई आफ्नो परिचयका साथमा सम्झाइबुझाई गरी त्यस मृतशिशुलाई जीवित तुल्याएर ब्युँझाई दिईन् र अन्तर्धान भईन् । संयोगले यो घटना शुक्ल पक्षको षष्ठी तिथिका दिन घटेको थियो, त्यसैले यसै दिनबाट षष्टिका देवीको आराधना गर्न थालिएको जनविश्वास छ । कालान्तरमा यही पर्व छठी पर्वका रूपमा प्रख्यात भएको हो ।

छठ पर्वसँग जोडिएको अर्को कथा सूर्य पुराणमा उल्लेख गरिएको छ, जसमा सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्, फलस्वरूप उनले अटल सौभाग्य र प्रतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको मान्ने चलन पनि छ । त्यस्तै सातौँ शताब्दीमा सरापबाट पीडित संस्कृत भाषाका प्रसिद्ध कवि मयूर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गरेको प्रसंगलाई पनि छठ पूजासँगै जोडिएको पाइन्छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्बले सूर्यको आराधना गरे र रोगमुक्त भए भन्ने चर्चा छ । त्यस्तै महाभारतमा पनि सूर्यपूजाको प्रसङ्ग छ, जसबमोजिम द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी उनीहरूले सूर्यदेवको आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरूले मिथिला क्षेत्रकै किराँत प्रान्तमा बसोबास गरेको उल्लेख छ ।

छठ पर्व मनाउनुको पृष्ठभूमिभित्र धार्मिक मान्यताका साथै वैज्ञानिक र ज्योतिषीय धारणासमेत रहेको देखिन्छ । वैज्ञानिक, ज्योतिषी र चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेको प्रमाण भेटिन्छ । संसारका सम्पूर्ण भौतिक विकासमा सूर्यको ऊर्जा र शक्तिको ठूलो योगदान छ । सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्य कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणद्वारा गरिने चिकित्सा पद्धतिका बारेमा कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । कैंयौ असाध्य तथा दुरुह रोगको आश्चर्यजनक उपचारसमेत सूर्यको विकिरण र प्रकाशबाट भएको छ । त्यसैले पनि छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति माइन्छ भन्ने जनविश्वास रहेको हो ।

चार दिनसम्म मनाइने यस पर्वमा अत्यन्त आस्था, निष्ठा र पवित्रतालाई आचरण गरिन्छ । यद्यपि यस पर्वमा चाहिने भाँडाकुँडा र चिजबिज आदिको बन्दोवस्त मिथिलामा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । यस पर्वमा चढाइने प्रसादलाई सम्भव भएसम्म समूह, झुत्तो र झुप्पाका रूपमा तैयार गरिन्छ । यस पर्वमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न हुने र व्रतालुका घरपरिवार लगायत कुटुम्बमा समेत भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा चढाइने पदार्थको सङख्या ७० पुर्याउनुपर्छ । यद्यपि चढाउने सामर्थ्य नभएकाहरूले ‘गम्हरी’ धानको चामलमात्र चढाए पनि सूर्य देवता प्रसन्न हुन्छन् भन्ने मान्यता छ । यसमा जसले सामर्थ्य र असक्षमताका कारण व्रत बस्न सक्दैनन् तिनले पनि प्रतिनिधिका माध्यमबाट व्रतसम्पादन गराउन सक्ने प्रावधान छ । आर्थिकरूपले अभावग्रस्त मानिसहरूले भिक्षा मागेर भए पनि यो पर्व मनाउने गर्दछन् । प्रत्येक वर्षको कार्तिक शुक्ल चतुर्थीका दिन नङ, केस आदि काटी नुवाइधुवाइ गरी व्रतालुले यस व्रतको सुरुवात गर्ने चलन छ  । पहिलो दिन चतुर्थीको दिनलाई ‘अरवा–अरबाइन’ वा 'नहानखान' भन्ने गरिएको छ । व्रतालुले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर आदि वस्तुको परित्याग गर्नुपर्दछ । पञ्चमी तिथि (दोस्रो दिन)लाई खरना (पापको क्षय) भनिन्छ । गाईको गोबरले लिपपोत गरी आफ्नो घरआँगन सफा बनाई अरबा चामलको पिठोबाट तयार पारिएको झोलले रेखी र चित्रका माध्यमले वरिपरि सिंगारेर चिटिक्क बनाइन्छ र व्रतालुले यो दिन दिनभरि अन्नपानी केही पनि नखाई निर्जला व्रत बस्छन् अनि बेलुका घाम डुबेपछि तर चन्द्रमा अस्ताउनु अघि नै पुनः स्नान गरी सक्खर र दूधमा पकाइएको गम्हरी धानको खिर र रोटी पकाएर चन्द्रमालाई अर्पण गरी प्रसाद ग्रहण गरी त्यस दिनको कर्मसमापन गर्ने गर्दछन् । तेस्रो दिन अर्थात् षष्ठीका दिन विशेष दिन हुन्छ । यस दिन नदी, तलाउ, पोखरी वा कुनै जलाशयको घाटमा मण्डप बनाई आफूले तैयार बनाएका विभिन्न खाद्य परिकार, फलफूल र प्रसाद फिंजाएर सजाइन्छ र पानीमा आधा शरीर डुबाई अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ तथा व्रतालु र घरपरिवारका सबैले जाग्राम गर्दछन् । यस दिन बिहान गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामाग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुरुवा, खजुरी, पेरुकिया तथा मुला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती आदि ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरूका साथमा व्रतालुहरू विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्दछन् । परिकारहरू जलाशयका किनारमा राख्नुअघि त्यसठाउँ र पूजा सामाग्रीलाई व्रतालुले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् । त्यसपछि व्रतालुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतालुले दुवै हत्केलामा ‘पिठार’ र सिन्दुर लगाएर अक्षता र फूल हालेर अन्य अर्घ्यसामाग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् । कार्तिक शुक्ल पक्षको सप्तमी छठपर्वको अन्तिम दिन हो । यस दिन पुनः उदाउँदो सूर्यको पूजापछि यस पर्वको समापन हुन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन सूर्यलाई अर्घ्य दिन्छन् । प्रातःकालीन अर्घ्यमा दीप मालाले सजिएको जलाशयमा अपूर्व दृश्य र अनुभूति जागृत हुन्छ । अर्घ्य सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतालुले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । त्यस कथामा एउटी सासू र बुहारीको सम्बन्धबारे चर्चा गरिएको छ । सासू दुष्ट र कन्जुस प्रवृत्तिकी थिइन् । कन्जुस्याईंले गर्दा सासूले उखुको एक टुक्रा पनि बुहारीलाई खान दिन्नन्, फलस्वरूप उनलाई कुष्ठरोग हुन्छ, तर बुहारीले सबैलाई उखु खान दिन्छिन्, त्यसैले उसको घरभरि सुनैसुन हुन्छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र नेपालमा विविध जातजाति, वेषभूषा, रीतिरिवाज, धर्म, संस्कृति, रहनसहन र परम्पराहरू रहेका छन् । त्यसैले यहाँ असंख्य चाडपर्वहरू मनाइने गरिन्छन् । यी चाडपर्वहरूमा विशेष गरी तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्वको महत्वपूर्ण स्थान छ । छठ पर्व धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव एवं एकता बढाउने विशिष्ट पर्व हो ।

Wednesday, October 25, 2017

विछट्टको छठ पर्व

- धीरेन्द्र प्रेमर्षि

नेपालमा दसैं र तिहारपछि सामान्यतया मानिसहरू चाडपर्वबाट फुर्सद लिने मनस्थितिमा हुन्छन्। तर नेपालकै सांस्कृतिक प्रदेश मिथिलामा भने तिहारको लगत्तै छठी पर्वको चटारो सुरु हुन्छ। यद्यपि केही दसक अघिसम्म मिथिला क्षेत्रमा मात्र सीमित छठी पर्व आजको दिनमा समस्त हिन्दु धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण पर्वको रूपमा स्थापित भइसकेको छ। यतिमात्र नभई मिथिलालाई आ-आफ्नो भूभागमा बाँडेका दुई स्वतन्त्र देश भारत र नेपालको यो राष्ट्रिय पर्वसमेत बनिसकेको छ। खासगरी नेपालको कुरा गर्ने हो भने आजको दिनमा छठी पर्वको नामबाट कुनै पनि नेपाली अनभिज्ञ छैनन्। सरकारले यस दिनमा सार्वजनिक विदा दिनथालेबाट मात्र नभई राजधानी काठमाडौंमा मिथिलावासीहरूले यो पर्व मनाउन सुरु गर्नुले विशेष भूमिका निर्वाह गरेको छ। विगतमा तराई विकास समाज, तराई सांस्कृतिक प्रतिष्ठान लगायतका संस्थाहरूले गएको दुई दसकदेखि काठमाडौं उपत्यकामा छठी पर्वका लागि सहज वातावरण बनाई आयोजना गर्ने विभिन्न कार्यक्रमले पनि मद्दत पुर्या।यो। जनयुद्धताका आवागमन कष्टकर हुँदै गएपछि काठमाडौं उपत्यकामा बस्ने मिथिलावासीहरूले राजधानीमै छठी मनाउन थाल्नुले पनि यसको विस्तृतिलाई मलजल गर्यो।

छठी पर्वको प्रारम्भ कहिलेदेखि भएको हो भन्ने कुराको कुनै प्रामाणिक आधार उपलब्ध छैन। साथै छठी परमेश्वरीको भाकल गरिने यस पर्वमा सूर्यलाई किन अर्घ दिइन्छ भन्ने कुरा पनि त्यति स्पष्ट छैन। ब्रह्मवैवर्त पुराणमा सूर्यसँग षष्ठी तिथिको सम्बन्धको उल्लेख छ। षष्ठीबाटै अपभ्रमसित भएर यो छठी हुनगएको कुरा स्पष्ट नै छ। यस पुराणअनुसार प्रकृति देवीले आफूलाई पाँच भागमा बाँडेकी छिन्। ती भागहरू हुन्- दुर्गा, लक्ष्मी, सरस्वती, राधा र सावित्री। प्रकृतिको छैठौं अंश षष्ठीलाई मानिएको छ। षष्ठी देवीको पूजा-आराधनाका विषयमा भविष्य पुराण र ब्रह्मवैवर्त पुराणमा चर्चा गरिएको पाइन्छ। मैथिल महाकवि विद्यापतिकृत वर्षकृत्यमा भने सूर्य षष्ठीको चर्चा प्रतिहार षष्ठीको रूपमा गरिएको छ। यिनै आधारहरूलाई लिएर छठी पर्वलाई सूर्य षष्ठी तथा प्रतिहार षष्ठीको नामबाट पनि जानिन्छ। यी प्रत्येक नाममा षष्ठी तिथिको प्रधानता छ। तर षष्ठीयुक्त सप्तमी तिथिको यसमा प्रधानता हुन्छ। खासगरी प्रतिहारको अर्थ भोलिपल्टका लागि पूजा भन्ने पनि हुन्छ। प्रतिहार शब्दले षष्ठीलाई गौण गरी सप्तमीलाई मुख्य बनाएको छ। खासगरी सप्तमी तिथिलाई सूर्यको तिथि मानिन्छ। त्यसैले पनि मुख्यतः भोलिपल्ट गरिने पूजाका लागि षष्ठीलाई विशेष महत्त्व दिइएकोले यसमा सूर्य, षष्ठी र सप्तमीको समागम हुन गएको हो।

यो पर्व मूलतः चारदिने पवित्र अनुष्ठान हो। यसमा चतुर्थी तिथिका दिन स्नान-ध्यानपश्चात पूर्ण सात्विक भोजन गर्ने गरिन्छ, जसलाई अर्वा-अर्वाइन भनिन्छ। पञ्चमीका दिन व्रत बस्नेले एकछाकी व्रत बस्छन्। यसदिन साँझपख सक्खरमा बनाइएको खिर भगवानलाई भोग लगाई स्वयम् व्रतीले पनि त्यही ग्रहण गर्ने गर्छन्। त्यसबेलादेखि सप्तमीको बिहानसम्मका लागि छठीको निराहार व्रत प्रारम्भ हुन्छ। षष्ठीका दिन दिनभरि प्रसादहरू बनाउने काम गरिन्छ। प्रसाद बनाउनमा व्रती स्वयम्को पनि संलग्नता हुन्छ भने उनलाई सघाउनेहरूले पनि पवित्रता र शुद्धताको यथेष्ट ध्यान राख्ने गर्छन्। कतिसम्म भने छठीका लागि भनेपछि बजारमा बेच्न राखिएको वस्तुमा स्वयम् व्यापारीहरूले पनि शुद्धतामा पर्याप्त ध्यान दिने गर्छन्। कतिपय परिवारमा छठीका लागि भनेर दसैंपछि नै माछामासुको प्रवेश वर्जित गर्ने गरिन्छ।

हालका दिनमा छठी पर्वमा तडकभडक र तामझाम देखिनथाले तापनि वस्तुतः यो ग्रामीण र कृषि पर्व हो। यो पर्व सामान्य आय भएका कृषि क्षेत्रसँग सम्बद्ध जोसुकैले पनि मनाउन सक्छन्। त्यसैले यसलाई वास्तविक अर्थमा भन्ने हो साम्यवादी पर्व भन्न सकिन्छ। यसमा धनी र गरिब बीचको फरक नछुट्टनिुका साथै छुवाछूत, जातीय वा लिङ्गीय विभेद पनि पाइँदैन। यसमा प्रसादका रूपमा चढाइने सामग्रीहरूको संख्या ७० सम्म पुर्यायउनुपर्ने मान्यता रहेको छ। यस्ता सामग्रीमा मूला, गाँजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन्। कुनै कारणले ७० प्रकारका सामग्रीहरू पुर्याछउन सकिएन भने गम्हरी भन्ने धानको चामल चढाउँदा पुग्छ। गम्हरीलाई औषधीय गुणयुक्त धान मानिन्छ। गम्हरी लगायत सबै सामग्री एउटा कर्मशील व्यक्तिले आफैं उत्पादन गर्न सक्छन्। त्यसैले यो धनधान्य तथा आर्थिक हैसियत देखाउने नभई कृषिप्रधान क्षेत्रका मानिसको कर्मशीलता प्रदर्शनको पर्व हो। अर्को महत्त्वपूर्ण कुरा के छ भने यसमा एउटै पोखरीको चारैतिर विभिन्न जातिका व्यक्तिले घाट बनाई आ-आफ्नो पूजा गर्ने गर्छन्। यसप्रकार छुवाछूतबाट यो पर्व मुक्त रहेको छ। यसैगरी मिथिला क्षेत्रका कतिपय इस्लाम, बौद्ध, इसाई धर्मावलम्बीहरूले समेत छठी परमेश्वरीको भाकल गर्ने गर्छन्।

छठी पर्वको सबैभन्दा आह्लादकारी पक्ष हो- यसको समय, शैली र रमझम। झिसमिसे साँझ अनि मिरमिरे बिहानीमा व्रतालुका साथै घरका सदस्यहरूको लस्कर जलाशयसम्म जाँदा र र्फकंदाको दृश्य अत्यन्तै लोमहर्षक हुने गर्छ। सबैको हातमा पूजाका कुनै न कुनै सामग्री, यी सामग्रीहरूमाथि बलिरहेको दियोले वातावरणलाई उल्लासपूर्ण बनाएको हुन्छ। जलाशय छेउमा लहरै बनाइएका पूजाका घाटहरू, मैथिल ललनाहरूद्वारा घाटैपिच्छे समूह-समूहमा आबद्ध भई छठी परमेश्वरी र सूर्यदेवको आराधनामा गाइने गीतहरू, पोखरीको डिलमा ढोल, पिपहीजस्ता परम्परागत बाजाको सुरम्य वादन, पोखरीभरि पानीमा रुझेर सूर्यलाई अर्घ दिइरहेका व्रतालुहरू, परालको सानो बुजोमाथि बलिरहेको दियो, पोखरीभरि तैरिरहेको दीप समूहले बिछट्ट रोमाञ्च र भक्तिभाव सिर्जना गर्छ।

छठीलाई आरोग्य र उन्नतिदायक पर्व मानिन्छ। यसमा पुजिने सूर्य र जल दुवै आदिशक्ति हुन्। पुराणमा सूर्यलाई आरोग्यदायक मान्दै आरोग्यं भाष्करादिच्छेत् भनिएको छ। छठी पर्व मनाउनाले आरोग्य र विशेषगरी चर्मरोगहरूबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। चर्मरोगहरूको कारणमा प्रदूषित पानी पनि एक रहेको परिप्रेक्ष्यमा छठीले जलाशयहरू सफा राख्ने सन्देश दिएको भान हुन्छ। सबै चाडपर्वमा झैं यसबाट पनि सुख-समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने मान्यताअनुसार यो पनि सही नै हो। छठीले अस्ताउँदो सूर्यको समेत पूजा गरेर मानवीयताको सन्देश पनि दिइरहेको हामी पाउँछौं। 

छठीमा केरा, अदुआ, बेसार, पिँडालु आदि झुप्पावाल कुरा प्रसादका रूपमा चढाइन्छ, जसले सङ्गठनको सन्देश दिन्छ। छठीको मुख्य प्रसाद ठकुआ र भुसवा हो, जसमध्ये ठकुवाको मुटुजस्तो आकृतिलाई प्रेमको प्रतीक मान्न सकिन्छ भने भुसवा (कसार) पिठोका कण-कण एक-आपसमा जोडिएर बनेको ठोस पदार्थ कार्यगत एकताको प्रतीक हुनसक्छ। आज देशको संक्रमणकालमा सम्पूर्ण जनताले केराको काइँयोझैं सामूहिकता देखाउँदै भुसवाको संरचनागत सुदृढतालाई आत्मसात गरी अघि बढ्नुपर्छ। जनतारूपी जलाशयमा उभिएर देशरूपी सूर्यलाई सबैले पूर्ण आस्थाका साथ अर्घ दिने हो भने छठी परमेश्वरीले सम्पूर्ण नेपालीका लागि दाहिने हुनैपर्छ।

Saturday, July 29, 2017

साउनको पन्ध्र : खीर


नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदैछन् । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् ।

वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको मान्यता छ । परापूर्वकालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, माघको १५ गते मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूर्णिमाका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ । त्यस्तै मंसिर पुणिर्णामा यमरी खाने चलन नेवार समुदायमा छ ।

Thursday, July 20, 2017

घण्टाकर्ण चतुर्दशी

साउन कृष्णपक्षको चतुदर्शी तिथिका दिन खासगरी काठमाण्डौ उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा मनाइने चाडको नाम हो- घण्टाकर्ण चतुर्दशी। यस दिन शिवपुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ। काठमाडौँ उपत्यकामा यस पर्वलाई 'गठेमङ्गल' भन्ने गर्दछन्। 'गठेमङ्गल' पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीकका रुपमा नियुक्त गरी उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ। त्यस दिन राति राँको बालेर भूत भगाउने चलन छ। वैशाख महिनामा पर्ने अक्षय तृतियाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँको कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तन्त्रोक्त विधिले आह्वान गरिन्छ र 'गठेमङ्गल' पर्वका दिन तिनै भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिले विदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा गरी दोबाटोमा समुदायका सबैले पूजा गर्न सक्ने गरी पूजास्थल बनाएर राख्‍ने गरिन्छ।

घण्टाकर्ण चतुर्दशीका बारेमा एउटा किंवदन्ती प्रचलित छ -

नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो। धार्मिक र आध्यात्मिक कुरा गर्ने मानिसलाई त्यस राक्षसले मारिदिने गर्दथ्यो। धार्मिक र आध्यात्मिक कुरा सुन्नुपर्ला भनेर ऊ सँधै चिन्तित रहने गर्दथ्यो। त्यस राक्षसलाई त्यतिबेला गठामुङ्गल भन्ने गरिन्थ्यो। त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि उसका दुबै कानमा सोह्र सत्र धार्नीका घण्टा झुण्ड्यायो। त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो। कानमा घण्टा झुण्ड्याएको हुनाले त्यस राक्षसको नाम पनि घण्टाकर्ण रहन गयो। उसले सुनलाई होइन फलामलाई मन पराउँथ्यो र धनीमानी र सम्मृद्धका तुलनामा मगन्तेहरू उसका मन पर्ने मानिसहरू हुन्थे। ऊ देवता र सज्जनलाई मन पराउँदैनथ्यो र दुःख दिन्थ्यो। दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खान्थ्यो। बाटामा हिँड्नेसँग जगात (कर) माग्थ्यो र कर नतिर्ने मानिसलाई त्यही निउँमा उसले मारिदिने गर्दथ्यो। त्यस नरभक्षी राक्षसले बाटामा हिंड्ने महिला र बालिकालाई बलात्कार गर्ने गर्थ्यो। आतङ्क उसको दिनचर्या जस्तै बनेको थियो। एकदिन उसलाई साह्रै भोक लागेको बेला ऊ आहाराको खोजीमा चौबाटोमा निस्कियो र उसको एउटा भ्यागुतोसँग भेट भयो। भ्यागुतोसँग उसले मानव बस्ती कहाँ छ भनेर सोध्यो। भ्यागुतो पनि राक्षसदेखि रिसाएको थियो। उसले मौका यही हो भन्दै धाप (भासभएको जमिन)तर्फ बाटो देखाउँदै त्यहीँ मानिसको बस्ती छ भनेर देखायो। राक्षस भ्यागुतोले देखाएको ठाउँतिरै लाग्यो। त्यस ठाउँमा पुग्नासाथ ऊ धापमा ग्वाम्मै खस्यो। उसले आफ्नो विशाल शरीरलाई त्यस भासबाट प्रशस्त उपाय गर्दा पनि निकाल्न सकेन। साँझको समय भएकाले ऊ रातभर त्यही भासमा फँस्यो। भोलिपल्ट बिहान गाउँलेहरूले ढुंगाले हानेर उसलाई मारे। कतैकतै भ्यागुतोले घण्टाकर्णलाई कुवामा खसाएर मारेको कथा पनि सुन्न पाइन्छ। रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई राक्षसलाई मारेको कथा उल्लेख छ। त्यसैले त्यही घण्टाकर्णको कुकृत्य फेरि नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन एकाबिहानै काठमाण्डौ उपत्यका र नेवार समुदायमा हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाएर दोबाटो, चौबाटोमा उभ्याइन्छ। बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफासुग्घर बनाइन्छ। केटाकेटीहरु त्यस दिन बिहानैदेखि बाटोमा डोरी टाँगेर वा तघारो तेर्स्याएर घण्टासुरको जगात माग्दै बस्छन्।

Monday, July 17, 2017

मधु श्रावणी पर्व

नेपाल र भारतको मिथिलाञ्चल क्षेत्र (जनकपुर अञ्चल र अासपासको भूभाग) मा विवाहित महिलाहरूले प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्थीका दिनदेखि करिव पन्ध्रदिनसम्म परम्परागत मधुश्रावणी व्रत लिने गर्दछन् । मैथिली भाषा, संस्कृति, परम्परा र संस्कारसँग जोडिएको उक्त पर्व नवविवाहिता महिलाका लागि मूलतः विशिष्ट र महत्त्वपूर्ण रहिआएको छ। अवधिका हिसाबले पूरै एउटा पक्षसम्म अर्थात् १५ दिनको लामो अवधिसम्म अनुष्ठान गरिने यो पर्व मिथिला परम्पराको सबैभन्दा लामो पर्व हो भन्दा फरक पर्दैन । यो विवाहित महिलाहरूको पर्व हो र खास गरी यो पर्व भर्खरै विवाह भएकी नवविवाहिता बधूले मनाउनु अनिवार्य मान्ने गरिन्छ अनि यस पर्वको अनुष्ठान सामान्यतया माइत घरमा नै हुने गर्दछ । यस पर्वमा गौरी, महादेव र विषहरा (नाग) को पूजा गर्ने गरिन्छ । सनातन धर्मावलम्बीहरूले भगवती गौरीलाई अटल सौभाग्य प्रदान गर्ने देवीका रूपमा उपासना र पूजा गर्ने गर्दछन् । मिथिलाञ्चल बाहिर नेपालका अन्य क्षेत्र पनि माता गौरी (पार्वती) लाई नै केन्द्रीय वृत्तमा राखी स्वस्थानी, तीज र गौरा पर्व पनि मनाउने प्रचलन देखिन्छ ।

मधुश्रावणी पर्वको वैशिष्ट्य
मधुश्रावणी पर्व मिथिला क्षेत्रको विशिष्ट पर्व हो, जसमा शिव, पार्वती, नागदेवता र शिवपरिवारको विशेष प्रकारले पूजा गर्ने चलन छ । भगवान् महादेव शिवलाई त्रिभुवननाथ भन्ने गरिन्छ । महादेव आशुतोष र मनोवाञ्छित फल प्रदान गर्ने देवताका रूपमा पूजित छन् । मधुश्रावणी पूजामा तन्त्रको प्रभावसमेत रहेको देखिन्छ । तान्त्रिक दृष्टिले शिवा सहित शिवको उपासना महत्त्वपूर्ण मानिन्छ । तन्त्रशास्त्रलाई शिवद्वारा प्रणीत विद्या नै मान्ने गरिन्छ । गौरीलाई शिवकी शक्ति तथा जगन्माताका रूपमा स्वीकार गरिएको छ । प्रत्येक सधवा महिलाले गौरपूजन गर्दा शिवसहित गौर्यै नम: जस्ता मन्त्र उच्चारण गर्ने गर्दछन् । भगवती गौरीलाई सौभाग्य प्रदायिनी देवीसमेत मानिएको छ । मिथिला क्षेत्रको अरिपनचित्र तान्त्रिक प्रविधिको प्रतीक हो । त्यस्तै यस पर्वमा पूजाका क्रममा अनेक प्रकारका मन्त्रहरू प्रयोग गर्ने विधान पनि छ । यस पर्वमा विशेषरूपमा नागदेवताको पनि पूजा हुन्छ । मिथिलामा नागलाई विषहराको स्वरूपमा विशेष विधिपूर्वक पूजा गरिएको पाइन्छ । विषहरालाई महादेवका सन्ततिसरह मानिएकोले यसको पूजनबाट एकातिर सर्पको भय नरहने तथा अर्कोतिर भगवान् महादेव पनि प्रसन्न हुनुहुने विश्वास रहेको छ । मिथिलामा कतिपय परिवारमा विषहरालाई कुलदेवताको स्थानमा राखेर पूजा गर्ने चलन पनि छ ।

यस पर्व अन्तर्गत वाचन गरिने कथाहरूमा सृष्टितत्त्व, पृथ्वीको जन्म आदिका वर्णन हुनुका साथै जीवन, प्रारब्ध, कर्मफलको भोग, पुनर्जन्म इत्यादि गम्भीर विषयहरूलाई लोककथाका माध्यमले व्यक्त गर्ने चलन छ । अतः यस पर्वमा दार्शनिक वैशिष्ट्य पनि देख्न पाइन्छ । सामाजिक दृष्टिले पनि यस पर्वको उत्तिकै महत्त्व छ । यसका कथाहरूमा महादेवको पारिवारिक जीवनसम्बद्ध विषयवस्तु, विवाह, गौरी–महादेवको दाम्पत्य जीवन विषयक प्रसङ्गका साथै अन्य अनेक विषयहरू जस्तै समाज र परिवारमा ईर्ष्या, द्वेष, सेवा, सहिष्णुता, सहयोग, समर्पण, काम–वासना, मनोरञ्जन, दाम्पत्य–प्रेम, पारिवारिक कर्तव्यबोध इत्यादिको वर्णन गरिएको पाइन्छ । मिथिलाको परम्परागत समाजमा कन्यादान गर्दा कन्याको उमेर प्राय: किशोरावस्था हुने एवं त्यस उमेरकी बालिका पारिवारिक र सामाजिक विधि–व्यवस्था इत्यादि विषयमा निपुण नरहने हुनाले समाज वा परिवारकी प्रौढ महिलाद्वारा कथाका माध्यमले यस्ता गम्भीर र अत्यावश्यक कुराहरूबारे ज्ञान र प्रेरणा प्रदान गरिनु अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यो पर्वमा महिलावर्गको मात्र सहभागिता रहने हुनाले नवयौवना बालिकालाई जीवनोपयोगी शिक्षा उपयोगी तरिकाले दिइने गरेको पाइन्छ, जसबाट ऊ मानसिक र शारीरिकरूपले समेत गृहस्थ जीवन यापनका लागि तयार हुन सकोस् । सामान्यतया चौध दिनसम्म मनाइने यो मधुश्रावणी पर्वमा लोकभाकामा विभिन्न गीतहरू गाउने चलन छ । शुभ अवसरमा गीत गाउनु मिथिलाको विशिष्ट परम्परा हो । यस्ता गीतहरूमा भक्तिभाव, विनती, ईश्वरप्रति समर्पण आदिका साथै सामाजिक, पारिवारिक र दाम्पत्य प्रेम विषयक भावहरू पनि समेटिएका हुन्छन् । अतः यो पर्वले मनोरञ्जनात्मक पक्षलाई समेत समेटेको छ ।

मधुश्रावणी पर्वको व्रत प्रक्रिया
यस पर्वको प्रारम्भ श्रावण कृष्ण चतुर्थीका दिनदेखि नै हुने गर्दछ, भोलिपल्टदेखि लगातार पन्ध्रदिनसम्म गरिने पूजाआजाको पूर्वाङ्ग कर्मका रूपमा अधिकतम तैयारी र जोरजम्मा गर्ने दिन नै यही दिन हो । उक्त दिन नववधूले नुहाइधुवाइ गरी नङकेश काटी चोखोनीतो गर्न थाल्नुपर्छ । यसलाई नहाएखाए भनिन्छ । यसैदिन अपराह्न थरिथरिका फूलहरूको सङ्कलन गर्ने काम हुन्छ, जसलाई फूललोढब भनिन्छ । यसरी चयन गरिएका फूल र बेलपत्रादि भोलिपल्ट पूजाका क्रममा चढाइने गरिन्छ । मिथिलामा माता गौरी र जगत्पिता महादेवलाई बासी फूल र बेलपत्र चढाउने परम्परा छ । यसै दिन बेलुका पक्वान्नद्वारा गौरीनैवेद्य तैयार गरिन्छ । उक्त समयमा बेसारको प्रयोग गरी लिङ्गाकारको आकृति बनाई पानको पातमाथि स्थापना गरिन्छ, जसलाई माता गौरीको प्रतीक मानिन्छ, यसलाई गौर भन्ने गरिन्छ । गौर निर्माण गर्ने क्रममा छरछिमेकमा रहेका सधवा महिलाहरूलाई निम्तो गरिन्छ । यसरी निम्तो पठाउने क्रमलाई हूकार (मिथिलामा प्रचलित आमन्त्रणको एक प्रकार, जसमा भोजन गराउनुपर्दैन) भन्ने गरिन्छ । गौरीनैवेद्य र गौर बनाउने काम नववधूको माइत र घर (पतिगृह) दुवै ठाउँमा हुने गर्दछ र पर्वको मुख्य अनुष्ठान माइतमा हुने भएकाले पतिगृहमा बनाइएको गौर र गौरीनैवेद्य पूजाका दिन पूजास्थल पुर्याउने चलन छ । त्यसबाहेक व्रतालुका लागि आवश्यक नयाँ वस्त्र, श्रृङ्गारका सामाग्री लगायत अन्नादि पनि पतिगृहबाट नै लिइजाने वा पठाउने नियम छ ।

मुख्यपर्वको पूर्वसन्ध्यामा चतुर्थीका दिन गोसाउनिक गीत, गौरी गीत, नचारी,  महेशवाणी,  कोबरगीत आदि गीत गाउने चलन पनि देखिन्छ । त्यसबाहेक गौरी र महादेव (शिव–पार्वती) विषयक पूजा, अर्चना र कथावाचन हुने भएकोले शिव–पार्वतीका पारिवारिक परिवेश सम्बन्धी आख्यानहरूको चर्चा पनि हुन्छ । यसै अवसरमा कतिपय स्थानमा मनोरञ्जनात्मक शैलीमा अश्लील भाव र मुद्रा प्रदर्शन गरी हस्यौली र ख्यालठट्टा गर्ने गरेको दृश्य पनि देख्न पाइन्छ । 

मुख्य पर्व श्रावण कृष्ण पञ्चमीका दिनबाट सुरु हुन्छ । उक्त दिन व्रतालु महिलाले स्नानादि गरी नववस्त्र धारण गरी कुलदेवतालाई प्रणाम गरी पूजास्थलमा मिथिला संस्कृतिअनुरूप रेखाचित्र (अरिपन) कोरी तैयार गरिएको आसनमा बस्नुपर्दछ । त्यसपछि नित्य पूजा गर्न काठको एउटा नयाँ पिर्काको स्थापना गरिन्छ, पिर्कामाथि पन्ध्र स्थानमा नागको आकृति लेखिन्छ । उक्त आकृति कोर्न कुसुमको फूलका साथै दश प्रकारका फूल पिसेर बनाइएको लेप एवं चन्दन, मेहन्दी, सिन्दूर र गाजललाई बेग्लाबेग्लै पिसेर लेप बनाइएको हुन्छ । पिर्का माथिको प्रत्येक नाग आकृतिलाई आसन, पाद्य, अर्घ्य, सुपारी र भेटी राखी पालैसँग पूजा गरिन्छ । यस्तै विशेष प्रकारका अरिपनहरूमाथि पूजाका विशेष वस्तुहरू राखिएका हुन्छन् । यसमा कलशका साथै एक सय आठ स्थानमा नागको आकृति लेखिएका मएनका पात आदि राख्ने चलन छ । यसपछि गौरीपूजनबाट पूजाको प्रारम्भ हुन्छ, सर्वप्रथम हात्तीमाथि बसेका भगवान् महादेव (गौर) को पूजा हुन्छ । त्यसपछि पञ्चोपचार वा षोडशोपचार पद्धतिले आसन, पाद्य, अर्घ्य, चन्दन, अक्षता, पुष्प धूपदीप ताम्बूल, पुगी फल, दूर्वादल, बेलपत्र, नैवेद्य इत्यादिद्वारा विशेष विधिविधानसहित स्वामीपुत्रसहित गौरीको पूजा गरिन्छ । गौरीपूजनका क्रममा पुष्प चढाउँदा दुवै हातका औंलाले विशेष प्रकारको मुद्रा बनाएर तर्जनी औंलाले मात्र समाती समर्पण गर्ने परम्परा छ । अन्त्यमा यसरी नै विधिविधानको पालना गरी शान्तिकलश, सूर्य, चन्द्र, नवग्रह,  नागदम्पती,  शतानुजसहित बैरसी, चनाइ, कुसुमावती, पिङ्गला, लीली, शतभगिनीसहित गोसाउनी, षष्ठीदेवी आदिको पूजासमेत गरिन्छ । यो क्रम टुङ्गिएपछि व्रतालु महिलाले साडीको आँचल (खोइँछ) मा विशेष किसिमले बनाइएको बिनी पोको पारिन्छ र बिनी नामक ५ वटा मन्त्रको तीन आवृत्ति पाठ गर्ने नियम छ । यसपछि कथावाचन गरिन्छ । कथापछि बाचोबीनी नामक मन्त्र एकपटक सुनाएर, उक्त बीनीको पोको खोली पूजास्थलमा यथावत् राखेपछि पूजाको समाप्ति हुन्छ ।
पूजापछि व्रतालु महिलाले कुलदेवतालाई प्रणाम गरी मान्यजनहरूलाई ढोगी आशीर्वचन प्राप्त गर्दछन् । पूजा गर्दा पन्ध्र ठाउँमा राखिएका नैवेद्य र पक्वान्न पन्ध्रजना सधवा महिलालाई वितरण गरिन्छ, जसलाई करोतरी भन्ने गरिन्छ । यसपछि पूजाका अवधिमा लगाएका लुगाफाटा फुकालेर अर्को लुगा लगाउने चलन छ । व्रतालुले सूर्यास्त हुनुअघि नै एक छाक अलिनो सात्विक भोजन खाने नियम छ । मधुश्रावणी पर्वको पूर्ण अवधिभरि व्रतालु महिलाले शुद्ध अन्नको भोजन गर्नुपर्दछ, जसमा भोजन पूर्णत: निरामिष हुनुका साथै उसिना चामल, मसुरो, कोदो, घिरौंला, चिचिन्डो, लसुन, प्याज, तेल, बेसार, साग आदिको प्रयोग वर्जित छ ।

मधुश्रावणी पर्वको अवधिभरि दिनको मुख्य पूजा समाप्त भएपछि भोजनादिबाट निवृत्त भएर अपराह्नमा सखी–सहेलीका साथमा व्रतालु पुष्पचयनका लागि जाने गर्दछिन् । पुनः साँझपख व्रतालुले सङ्क्षिप्त रूपमा स्नानादि गरी पवित्र भई पूजा गर्दा लगाउने लुगा लगाएर पूजास्थानमा दियो बाल्ने नियम छ । हाँडिभित्र विशेष किसिमले राखिएको उक्त दियोलाई पातिल भन्ने गरिन्छ । दीप प्रज्वलनपछि पुनः खोइँछमा बिनी बाँधेर विनीका ५ वटा मन्त्रको तीन आवृत्ति र बाचोविनी नामक मन्त्र एक पटक सुन्ने नियम छ । सामान्यतया मधुश्रावणी पर्व अनुष्ठान गर्ने क्रममा यसरी मन्त्र तथा कथाहरू सुनाउन एकजना विज्ञ महिलाको व्यवस्था गरिएको हुन्छ । साँझपख साँझ गीत, कोबर गीत आदि गाइने गरिन्छ । एवं रीतले मधुश्रावणी पर्व समाप्तिपर्यन्त पूजाआजा गरी मनाइने चलन छ । पूजन कार्यमा प्रयोग भएका फूलपाती (निर्माल्य) को विसर्जन अन्त्यमा गरिन्छ ।

श्रावण शुक्लपक्षको तृतीया तिथिका दिन मधुश्रावणी पर्वको समाप्ति हुन्छ । यस दिनलाई तीज पनि भनिन्छ । यसभन्दा एक दिनपूर्व अर्थात् श्रावण शुक्ल द्वितीयाका दिन व्रतालु महिलाले पुन: नहाएखाए गर्दछन् तथा यस दिन बेलुका पुन: पतिगृह र माइति दुबै ठाउँमा गौरीनैवेद्य पकाइन्छ । व्रतालुले पतिगृहबाट पठाइएको अन्न ग्रहण र वस्त्र धारण गर्नुपर्ने नियम छ । यसका लागि गौर, गौरीनैवेद्यका साथै अन्न, वस्त्र, श्रृङ्गारका सामाग्री, तामा, थाल, धान, धनिया, दूबो, पू (पक्वान्नविशेष) पतिगृहबाट पूजास्थलमा पठाउने चलन छ । यसबाहेक पतिगृहबाट कन्याको माइती घरका महिलाहरूका निमित्त वस्त्र, कन्याकी आमा तथा टेमीविधि गर्दा टेमीदिने र आँखा छोप्नेका लागिसमेत वस्त्र पठाइनुका साथै पूजा अवधिभरि कथा सुनाउनेका लागि समेत वस्त्र, भेटी आदि पठाउनु पर्दछ । यसका साथै फलफूल, मिष्ठान्न, पक्वान्न, दही आदिको भार पठाइन्छ ।

भोलिपल्ट तीजका दिन पूजास्थानलाई सफा गरी पुन: अरिपन (मिथिला संस्कृति अनुसारको रेखाचित्र) लेखिन्छ । यसदिन गौरीपूजन गर्ने क्रममा एक जनाले सोहागमथब भन्ने विधि सम्पादन गर्दछन्, जसमा एउटा तामा (काठको गोलाकार भाँडाविशेष) मा धान, धनियाँ, दूबो, जल हालेर बेलवृक्षको हाँगाले बनेको मदानीद्वारा मन्थन गरिन्छ । यस दिनको विशेष विधि भनेको टेमी हो । यसमा आरतकपात (कागजको गोलाकार विशेषका टुक्रा), पानको पात, टेमी (दीपमा बालिने बत्ती) आदिको आवश्यकता हुन्छ । यस विधिमा व्रतालु महिलाका दुवै घुँडा, दुवै खुट्टा र देब्रे हातको माथिल्लो भागमा बलिरहेको टेमीद्वारा स्पर्श गराइने गरिन्छ । यसरी टेमीले स्पर्श गराउँदा आरतकपात र पानको पातको बीच भागमा प्वाल पारिएको हुन्छ । यस बेला कन्याका आँखाहरू आरतकपात, पानको पात र पू (पक्वान्न विशेष) ले छोप्ने चलन छ । टेमीस्पर्श गराइएका स्थानमा चन्दन लगाउने गरिन्छ । यो क्रम सिद्धिएपछि व्रतालुले कुलदेवता र मान्यजनलाई प्रणाम गरी आशीर्वचन ग्रहण गर्दछन् । यसपछि पूजाको आरम्भको दिनमा जसरी नै करोतरि पूजन गरी पन्ध्रजना सधवाहरूलाई खुवाउने गरिन्छ । यसदिन पनि व्रतालु महिलाले अलिनो भोजन गर्नु पर्दछ तथा सूर्यास्त भएपछि खानु हुँदैन ।

नव विवाहिता कन्याले विवाह भएको पहिलो श्रावण महिनामा यस व्रतको विधिविधानसहित अनुष्ठान गर्नु अनिवार्य मानिन्छ । यस पछिका वर्षहरूमा सधवा रहुन्जेल प्रत्येक वर्ष मधुश्रावणी पर्वको अवधिभरि फकरा नामक मन्त्रविशेषका साथ गौरपूजन गरी शुक्ल तृतीयाको तीजका दिनमात्र व्रत गरे हुन्छ । मधुश्रावणी पर्व मिथिला क्षेत्रको विशिष्ट पर्व भए तापनि यो पर्व मैथिल ब्राह्मण, मैथिल कर्ण, कायस्थ, मैथिल वैश्य र मैथिल सोनार जातिहरूमा मात्र मनाइने गरिएको पाइन्छ । तिनमा पनि जाति, स्थान अनुसार विधिगत र पूजनगत विविधता पाइन्छ । जस्तै ब्राह्मण परिवारमा पूजाको पूर्ण अवधिभरि पतिगृहबाट पठाइएको अन्नादि ग्रहण गर्ने, पूजास्थानमा मएनका चारओटा पातहरूमाथि क्रमश: श्रीखण्ड चन्दनले एक सय र पिठारले एउटा नागको आकृति लेख्ने, त्यस्तै दोस्रो पातमाथि एक सय पिठारले तथा एउटा चन्दनले, यसरी नै तेस्रो मएनको पातमाथि सिन्दूरले एक सय र गाजलले एउटा तथा चौथो पातमाथि गाजलले एक सय र सिन्दूरले एउटा गरी नागनागिनका आकृतिहरू बनाइने, टेमीविधिका दिन दुलहाले कन्याको आँखा छोप्ने आदि हुने गर्दछ भने कायस्थमा अन्तिम दिन नै पतिगृहको अन्न खाए हुने, मएनको एउटा मात्र पातमाथि एक सय आठओटा नागको आकृति लेखिने, टेमीविधिका दिन पतिको कुनै पनि विधि नहुने आदि फरक देखिन्छ ।

Saturday, July 15, 2017

श्रावण महिनाका सात वैशिष्ट्य

नेपाली पात्रो वा पञ्चाङ्ग अनुसार वैशाखबाट सुरु हुने प्रत्येक नववर्षको चाैथो महिनालार्इ साउन वा श्रावण भन्ने गरिन्छ । यो ग्रेगरियन क्यालेण्डरको जुलार्इ महिनाको मध्यभागदेखि अगस्ट महिनाको मध्यभागसम्म पर्ने गर्दछ । यो महिना दक्षिण एसियामा मध्य वर्षा याम वा ऋतुमा पर्दछ । त्यसैले यस महिनामा पर्ने अविरल पानीको रिमझिम र हरित वातावरणको राैनकको छुट्टै महत्त्व छ । पूर्वीय दर्शनमा अाधारित समयचक्रको विभाजनअनुसार वर्षा ऋतुको प्रथम महिना हो - श्रावण । अाशुतोष भगवान् शिव यस महिनाका विशिष्ट अाराध्य देवता हुन् । नेपाली जनजीवनमा पूर्ण उत्साहका साथमा यस महिनाभरि विभिन्न धार्मिक, सामाजिक र सांस्कृतिक उत्सवादि सम्पन्न हुने गर्दछन् । महिलाहरूले मात्र होइन, पुरुष र महिला दुबै थरी यस महिनाभरि मदिरा, मांसादिको सेवन गर्दैनन् । पूर्ण ब्रह्मचर्यमा रही शाकाहारी र सादगीपूर्ण जीवनशैली निर्वाह गर्नु यस महिनाको अर्को विशेषता हो । यस अालेखमा नेपाली संस्कृतिमा श्रावण महिनामा सम्पन्न हुने माैलिक व्रत, पर्व र रीतिरिवाजका बारेमा चर्चा गरिएकाे छ ।

१) साउने सङ्क्रान्ति
यस महिनाको सुरुमा नेपालका प्रायः सबै धर्मावलम्बी र जनजातिले साझा पर्व साउने सङ्क्रान्ति मनाउने गर्दछन् । पहाडमा माछामासुको व्यवस्था गरी मिठोमसिनो तुल्यार्इ घरपरिवारका सबै सदस्य र नरनाता जम्मा भर्इ रमाइलो गरी यो पर्व मनाउने पुरानो चलन छ । कृषिप्रधान देशमा 'मानो खाई मुरी उब्जाउने' भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन चलेको हो । तर हिजोअाज शिवभक्तिको महिना श्रावण हो भन्ने प्रचारप्रसार बढेकाले तरार्इका पहाडी मूलका बासिन्दासमेतले साउने सङ्क्रान्तिका दिन मांसाहार गर्न छाडेका छन्, बरु खीर पकाएर खानामा मिठास खोज्ने प्रचलन बढ्दै गएको देखिन्छ ।

साउने सँग्रातीका दिन मिठोमसिनो खानुका अतिरिक्त चर्मरोगका देवता (राक्षस?) मानिने कण्डारकको पूजा र लुतो फाल्ने काम पनि सम्पन्न गर्ने प्रचलन छ ।  फलफूल र नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास गरिन्छ।  कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पतिहरु बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ ।

साउने संक्रान्ति किराँती समुदायकाबीच 'सिसेक्पा तङ्नाम'को नामले मनाउने गरिन्छ। किराँतीहरूले आफ्नो इष्ट देवको सम्मानमा साउने सङ्क्रान्तिका दिन नयाँ पाकेका फलफूलहरू चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रही आएको छ।  पश्चिम कर्णालीको हुम्ला जुम्लातिरका आइडी जातिहरूले साउने सङ्क्रान्ति पर्वलाई बलिरहेको अगुल्टोलाई दक्षिणतिर फ्याँकेर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधहरू सबै हट जाऊ, दुर्भाग्यको प्रतिक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरू भित्र आऊ, अनिकाल जा सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुरालार्इ धपाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् । पूर्वका किरात लिम्बू, खम्बू, तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही 'लुतो' फाल्ने चाडको रूपमा मात्र मान्दैनन् । किराँत समुदायमा 'कण्डारक' नामक राक्षसको चर्चा गरिंदैन, बरू यसभन्दा भिन्न प्रसङ्गमा 'माङहाङ' नामक एक पुर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवी प्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक कहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ । यसर्थ यो चाडलाई किरात समुदायमा प्रकृतिको पूजा, पूर्खाको सम्झना-सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ। उक्त समुदायमा साउने सङ्क्रान्तिका दिन बिहानै खेतबारी वा नजिकको वन-जङ्गलतिर गई पर्व मनाउनका लागि आवश्यक अन्न, फल, फूल, र पात (च्योङ) हरू सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलनसमेत रहेको छ । बेलुका सबै परिवार मिलेर उज्यालैमा अाफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खाना खाएर रमाइलो गर्छन् । मिठोमसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्काइन्छ । थाल, झ्याम्टा, नाङ्लो र ढोलहरू बजाइन्छ ।  प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा-युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै खराब तत्त्वलाई घरभित्रबाट बाहिरतिर धपाएर निकाल्ने गर्छन् । यसरी खराब वस्तु र तत्त्वलार्इ खेदाउने बहानामा उनीहरूले कुनै भूतप्रेत वा भौतिक शत्रु, चोर, डाका आदिलाई खेदाएका हुँदैनन्, उनीहरू अाफ्नै मातृभाषामा भट्याइरहेका हुन्छन् - 'सङ्क्रान्ति जाऊ, मङ्ग्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ' । यसरी 'अनिकाल वा दुःख र पीडा'लाई पर्वको रूपमा मनाउँदै त्यसलार्इ धपाएर सहकालको अाकाङ्क्षा राखी रमाउने गर्छन् । यसैगरी उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक-सांस्कृतिक विकृति/विसंगति र सिङ्गो राष्ट्रमा व्याप्त राजनैतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द र भावहरू पनि उक्त अवसरमा प्रकट गर्ने गर्दछन् । मगरहरूले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान् पर्वको रूपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई 'हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ' भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई 'वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ' भनी मनाउने गर्दछन् । अथात् माघे सङ्क्रान्ति मरिन्छ कि? भनेर मनाउने हो भने साउने सङ्क्रान्ति लौ बाँचियो? भनेर मनाउने हो । थकाली आदिवासी जनजातिको परम्परागत धर्म-सङ्गठन मुखियाप्रणाली हो। यो सामाजिक संस्थाले पनि साउने सङ्क्रान्तिको दिनमा एक दिन त्यो समुदायलाई चाड मान्ने र जुवातास खेल्नसमेत छुट दिने गरेको छ । तर अरु दिनमा पनि जुवातास खेलिएमा त्यही संस्थाले नै दण्ड वा जरिवाना गर्ने चलनसमेत रहेको छ।  त्यसैगरी, तमु-गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने सङ्क्रान्ति मनाउने गर्दछन्। पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको सिर्जात वा असारे पूजा र धङधङे मेलाको समापन गर्न विशेष चाडको रूपमा यो दिन मनाउने गर्दछन्।

२) दान र परोपकारको महिना गुँला (श्रावण) र गुँला धर्म
गुँला धर्म प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र प्रतिपदासम्मको एक महिनाभरि परम्परागत रूपमा विभिन्न बाजागाजाहरूसहित स्वयम्भूको परिक्रमा गर्दै बौद्ध धर्मावलम्बीहरूले मनाउने एक विशेष पर्व हो । काठमाडौंस्थित स्वयम्भूमा एक महिनासम्म हरेक दिन बिहानदेखि श्रद्धालु भक्तजनहरूको चहलपहल रहने गर्दछ । गुँला महिनाभरी नै विभिन्न टोल वा समुदायबाट बिहानैदेखि आएका युवायुवतीहरू, बुढापाकाहरू आफ्नो परम्पराअनुसार धिमे बाजा बजाउँदै, लयमा लय मिलाएर ज्ञानमाला गाउँदै स्वयम्भू महाचैत्यको परिक्रमासहित विभिन्न विहारको दर्शन गरी घर फर्कने गर्छन् । यो अवधिमा रिसराग र वैमनस्य नराखी एक अर्कामा प्रेमभावपूर्ण सद्भाव राख्नुपर्छ भन्ने मान्यता रहिआएको छ । यसै अवधिमा यँल पञ्चदान भन्ने दान गर्ने विशिष्ट समय पनि पर्दछ । गुँला महिनाभरी वर्षा र गर्मीको महिना भएकोले हिलोमैलो आदिले रोग लाग्ने तथा बाढी पहिरोले धनजनको क्षति हुनसक्ने भएकोले यस्तो प्राकृतिक प्रकोपबाट बच्न र बचाउन धार्मिक अभ्यास गर्ने महिनाको रूपमा गुँला धर्म सुरु भएको मान्यता छ ।


३) झुला वा झुलनोत्सव
नेपालको तरार्इ क्षेत्रमा विशेषतः भगवान् विष्णुको कृष्णावतारको चरित्र र लीलाको चर्चा श्रावण महिनामा नै हुने गर्दछ । राधा र कृष्णको प्रेम र प्रणयलीलालार्इ स्मरण गरी यो महिनाभरि राधा र कृष्णको प्रतिमा वा मूर्ति झोलुङ्गो (कोक्रो) मा राखी विशेष पूजा र अाराधना गर्ने प्रचलन छ । तरार्इ भेगमा भारतीय मूलका तरार्इवासी महिलाले यस महिनाको शुक्लपक्षको तृतीया तिथिदेखि एक महिनासम्म भगवान् शिवको विशेष पूजाअाजा गर्दछन् । यो प्रसङ्ग नेपाली मूलका महिलाले मनाउने तीजसँग मिल्दोजुल्दो छ । वर्षायाममा पर्ने श्रावण महिनामा निरन्तर झरी परिरहनु यसको प्राकृतिक नियम हो । यसरी लगातार वर्षा भइरहँदा वनजङ्गल र पाखापखेरामा भएका बोटबिरुवाहरूमा चैत्रवैशाखमा टुसाएका पहेंलो रङका नयाँ पालुवाहरू विकसित भर्इ हरियो रङमा परिवर्तित हुन पुग्दछन् । हरियो रङ्ग नवनिर्माणको रङ्ग हो । प्रकृतिमा घुलेको त्यो हरियो रङ्ग र अाममानिसको परिवर्तनको अाकाङ्क्षाले सामञ्जस्य प्राप्त गरेको अनुभूति यस समयमा हुने गर्दछ । यसरी प्रकृतिसँग प्रत्यक्ष तादात्म्यता राख्न यस महिनामा विशेषतः महिलाहरूले हरियो लुगा, सारी, चुरा, पोते र मेहेन्दीमा सजिएर अाफ्नो जीवनमा पनि प्रकृतिको सुषमा भित्र्याउने प्रयास गर्ने गर्दछन् । वर्षभरिका मनका विकारहरूलार्इ प्रकृतिले फ्यालेर नवजीवन प्राप्त गरे झैं प्रेम र प्रणयको भावनालार्इ पुनः नवीकरण गर्ने महिना हो - श्रावण । त्यसैले पनि साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाएको हुनुपर्दछ । यस अवधिमा महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको भक्तिअाराधना गरी व्रत लिएमा र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाएमा दीर्घकालसम्म दाम्पत्यसुखको अानन्द लिन पाइने र अायुबृद्धि भर्इ पतिको जीवनरक्षा हुने विश्वास पनि गरिन्छ । तर यो चलन तरार्इ क्षेत्रमा मात्र सीमित छ, पहाडी मूलका आदिवासी समुदायमा यसको प्रचारप्रसार अझ हुन सकेको छैन । अाम जनमानसमा यस समयमा जब प्रकृतिले चारै दिशामा हरियो तन्ना अाेछ्याए झैं अनुभूति हुन्छ, प्रकृतिको यो अद्भूत र विचित्र छटा देखेर मन पुलकित भर्इ नाच्न थाल्दछ । वनवाटिकामा चराचुरुङ्गीले प्रणयका गीत गाउन थाल्दछन् र अाफूभित्र रहेको उमङ्ग र याैवनलार्इ उजागर गर्ने गर्दछन् । त्यसैको अनुकरण गरी भारतभरि र नेपालको तरार्इ क्षेत्रमा गाउँगाउँमा पिङ हालिन्छ, स्त्रीहरू समूहसमूहमा उपस्थित भर्इ अाफ्ना मनका सुसेलीहरू लोक गीत र अाख्यानका माध्यमबाट अाेकल्न थाल्दछन् । पिङमा मच्चिंदै गाउँदै गरेका महिलाको झुण्डलार्इ नियाल्दा यस अवसरमा साँच्चै प्रकृति र जीवनको तादात्म्यतालार्इ नजिकैबाट अनुभूति गर्न सकिन्छ । यो सांस्कृतिक महोत्सव पहाडी बाहुन/क्षेत्री मूलका नेपाली महिलाले लिने हरितालिका तीजको व्रतका दिन अर्थात् भाद्र शुक्ल तृतीया र हस्ता नक्षत्रका अवसरमा सम्पन्न हुन्छ । समापनमा गाैरीशङ्करको पूजाअाराधना गर्ने विधान छ । वनवाटिकामा लगातार एक महिनासम्म पिङमा मँच्चिंदै सम्पन्न गरिने यो सामाजिक/सांस्कृतिक पर्व शिवलार्इ पतिका रूपमा प्राप्त गर्न पिता हिमालय पर्वतको महलबाट भागी झाडीमा लुकी तपस्या गर्ने पार्वतीको जीवनगाथाबाट प्रभावित भएको मान्न सकिन्छ ।

४) मधुश्रावणी पर्व
नेपाल र भारतको मिथिलाञ्चल क्षेत्र (जनकपुर अञ्चल र अासपासको भूभाग) मा विवाहित महिलाहरूले प्रत्येक वर्ष श्रावण कृष्ण पञ्चमीको दिनदेखि पन्ध्रदिनसम्म परम्परागत मधुश्रावणी व्रत लिने गर्दछन् । मैथिली भाषा, संस्कृति, परम्परा र संस्कारसँग जोडिएको उक्त पर्व नवविवाहिता महिलाका लागि मूलतः विशिष्ट र महत्त्वपूर्ण रहिआएको छ। उक्त व्रतमा संलग्न महिलाले गौरीपूजा, कलशपूजा, विषहराको पूजा, बैरसीकरजा, चनाइ नाग पूजा, कुसमावती पूजा, पिङ्गला पूजा, लिली नागपूजा, शतमगिनिसहित गोसाउनी, नाग पूजा र साठिक पूजा गर्ने गर्छन् । व्रत बस्ने महिलाले यो व्रत लिँदा निष्ठापूर्वक नित्यकर्म गरी पूजा सामग्रीसहित पूजामा बसेका बेला तीनदिनसम्म अनिवार्य रूपमा मौनापञ्चमी, बिहुला र मनसा, मङ्गला-गौरीको पृथ्वीजन्म सती, दन्त्यकथामा आधारित महादेवको पारिवारिक कथा, गंगाको कथा, गौरी तपस्याको कथा, गौरी विवाह र जन्तीको कथा, मैनाको मोहको कथा, भगवान कार्त्तिक जन्मको कथा, सन्ध्याको विवाह र लिलीको जन्मको कथा, पतिव्रता सुकन्याको कथा, बाल-वसन्तको कथा, गोसाउनीको कथा, राजा श्रीपुरको कथा श्रवण गरी पूजा अर्चना गर्ने परम्परा छ ।

५) नागपञ्चमी
प्रत्येक वर्षको श्रावण शुक्ल पञ्चमी तिथिलार्इ नागपञ्चमीका रूपमा मनाउने प्रचलन हिन्दू र बाैद्ध परम्परामा सनातनदेखि नै चलिअाएको हो । हाम्रो संस्कृतिमा अादिमकाल देखि नै पशुपन्छी र जलचर/थलचर सबै प्राणिलार्इ देवताका रूपमा पुज्ने प्रचलन रही अाएको छ । यस दिन नेपाली समाजका प्रत्येक घरको मूल ढोकामा गोबरले नागको चित्र टाँस्ने गरिन्छ । त्यसरी टाँसिएको चित्रलार्इ शुद्ध जल, काँचो दुध र घिउले स्नान गरी गहुँ, दुबो, धानको लावा, दही र चाैलानी (चामल पखालेको पानी) ले पूजा गरिन्छ । यस दिन कपासको सर्प बनाएर पुजा गर्ने चलन पनि छ । त्यस्तै घरवरिपरि कतै सर्पको प्वाल देखिएमा त्यहाँ दुध, दुबो, गहुँ र चौलानी राखिदिने र पूजासमेत गर्ने गरिन्छ । यस दिन अरु सबै नाग र सर्पलगायात कालो रंगको नागको विशेष पूजा गरिने परम्परा पनि विद्यमान छ ।

नागको पूजा गर्नाले सर्पको भय बाट मुक्ति पाइने विश्वास गरिन्छ । नाग मन्त्रको उच्चारण मात्र गर्दा पनि मानिसले सर्पको टोकाइ सहनु पर्दैन भन्ने अामविश्वास रहेको र सर्पहरू घरवरपर आउँदैनन भन्ने मान्यता रही अाएको छ । श्रावण महिना गर्मी र वर्षातको महिना हो । यस अवधिमा गर्मी र पानीबाट जोगिन सर्पहरू अाफ्नो वासस्थान त्यागी बाहिर निस्कने गर्दछन् । हिंडडुल गर्दा र घरवरपर बाहिरभित्र गर्दा सर्पको डर हुन्छ । सर्पको भय हुने भएकाले नागपञ्चमीमा यसको पूजा गरी शान्त तुल्याउने प्रयास गरिएको प्रसङ्गबाट यस पर्वलार्इ मनाउन थालिएको हुनुपर्दछ । पाैराणिक कथनअनुसार भगवान् श्री कृष्णले श्रावण शुक्ल पञ्चमीका दिन अाततायी कालीय नागमाथि विजय प्राप्त गरेर त्यस नागलाई शान्त गरेको हुँदा प्रत्येक वर्ष यो पर्व मनाइएको हो । उपत्यकामा अर्को एउटा किंवदन्ती पनि प्रचलित छ - उपत्यकामा पहिले एउटा दह थियो । त्यस दहको पानी बाहिर निकालेर मानिसले बसोबास गर्न योग्य तुल्याएपछि यो स्थान नगरका रूपमा विकसित भयो । मानिसले तलाउको पानी बगाएपछि त्यहाँका नागहरू रिसाए र उनीहरूलार्इ शान्त बनाउन उपत्यकामा ठाउँ ठाउँमा नागथान बनाइयो अनि पूजा गर्न थालियो । नागलाइ वर्षाको स्रोत मानिन्छ । नाग रिसाएमा पानी नपर्ने र पानी नपरे खेतीपाती हुन नसक्ने भन्ने जनधारणा रहीअाएकाले पनि नागको पूजा आवश्यक मानिन्छ । नागको पूजा गर्ने प्रचलन जसरी सुरु भएको भए पनि सर्प वातावरणको एउटा अभिन्न अङ्ग हो, प्रकृतिमा सर्पको छुट्टै स्थान छ, त्यसैले परम्परा र संस्कृतिको संरक्षण गर्दै वर्षमा एक पटक सर्पको पूजा हुनु सान्दर्भिक ठहरिन्छ ।

६) जनै पूर्णिमा र रक्षाबन्धन
प्रत्येक वर्षको श्रावण शुक्ल पक्षको पूर्णिमाका दिन नेपालका तागाधारी अथवा जनै लगाउने समुदायले ज्ञानको धागोका रूपमा नयाँ जनै फेर्ने चलन रहेको छ । अघिल्लो दिनदेखि नै चोखोनितो भई एकछाक भोजन गरी यस दिन बिहानै नदी, तीर्थस्थल वा तलाउमा गई महासङ्कल्पको उच्चारण गर्दै गार्इको गोबर, गहुँत, खरानी, माटो अादि शरीरमा दलेर स्नान गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) धारण गर्ने भएकाले यस दिनलाई जनै पूर्णिमा भनिएको हो । जनैमा रहने दुईवटा शिखाका छवटा धागो (डोरा) मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । कतिपय समुदायमा जनै पूर्णिमाका दिन ज्वाँइले ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि विद्यमान छ । त्यस्तै यस दिन ब्राम्हण तथा गुरुपुरोहितबाट अाफ्नो हातको नारीमा मन्त्रोच्चारणपूर्वक धागोलाई रक्षाबन्धनका रुपमा बाँध्न लगाउने चलनसमेत छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका र वामन अवतार विष्णुले राजाबलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोकमा कब्जा गरी देवताहरूलार्इ यथास्थानमा बहाली गरेको धार्मिक किंवदन्तीसँग यस पर्वको सम्बन्ध रहेको देखिन्छ । जनैपूर्णिमाका दिन बाँधिएको रक्षाबन्धनको धागो फुकालेर तिहारको गाईतिहारका दिन गाईलाई माला उनेर लगाईदिएमा पुण्यप्राप्ति हुन्छ भन्ने मान्यतासमेत रहेको पाइन्छ । यस दिन रक्षाबन्धन बाँधिदिने व्यक्तिको अभाव खट्किएमा कतिपय आफैं गुरुपुरोहितको घर वा मन्दिरमा गई नारीमा रक्षासूत्र बाँध्न लगाउँछन् ।

कश्यप, अत्रि, वशिष्ठ, भारद्वाज, गौतम, जमदग्नि र विश्वामित्रलार्इ सनातन संस्कृतिले सप्तर्षिको मान्यता प्रदान गरेको छ । यी सप्तर्षि र अरुन्धतीसमेतलार्इ तर्पण दिने दिनका रुपमा पनि यस पूर्णिमालार्इ मनाउने गरिन्छ । ऋषिहरूको अाराधना र तर्पण गरिने हुनाले यस पूर्णिमाको अर्को नाम ऋषितर्पणी पूर्णिमा हो । त्यस्तै नेपालकै तरार्इ क्षेत्रलगायत भारतमा यस दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायुष्य, सफलता, समुज्ज्वल भविष्य र उन्नतिप्रगतिको कामना गर्दै 'राखी' बाँध्ने चलन पनि  छ । जनै पूर्णिमाका दिन समग्र भारत र नेपालको तरार्इ क्षेत्रका घरघरका दिदी वा बहिनीले अाफ्नो सर्वतोभावेन हितैषी र स्नेहको प्रतीक मानेर दाजुभाइका नारीमा राखी बाँधिदिने गर्दछन् । उता काठमाडौ उपत्यकाका बाैद्धधर्मावलम्बी नेवार समुदायमा यस पर्वलाई 'गुँपुन्ही' भन्ने गरिन्छ । यस दिन ललितपुरको बुंगमतिको मच्छिन्द्रबहाल लगायत उपत्यकाका मठ मन्दिरहरूमा पुग्ने र दीप प्रज्ज्वलन (मतया) गर्ने संस्कृति छ । खासगरी नेवार समुदाय र अन्य समुदायमा पनि जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर टुसा उम्रने गरी चार दिन भिजाएर राखिन्छ र यस पूर्णिमाका दिन पकाएर झोल बनार्इ खाने गरिन्छ । गेडागुडीको एक किसिमको पोषिलो झोलिलो तरकारीको एउटा परिकारको नाम नै नेवारी भाषामा क्वाँटी हो । सिद्धार्थगौतमले यसै दिन काम शक्तिमाथि विजय प्राप्त गरेको भनी बौद्ध धर्मावलम्बीहरू गुम्बाहरुमा पुगी बुद्धको पुजासमेत गर्ने गर्दछन् । जनै पूर्णिमाका दिन काठमाडौको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गासागर तथा धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका तीर्थस्थलमा मेला लाग्ने गर्दछ ।

७) श्रावण महिना र सोमबार
श्रावण महिना भगवान शिवको प्रिय महिना हो । सक्नेले श्रावण महिनैभरि र नसक्नेले प्रत्येक सोमबार भगवान् शिवको व्रत लिनु, शिव मन्दिरमा गएर भगवानलाई यथोचित पूजा आराधनासहित जल चढाउनु पर्छ भन्ने मान्यता छ । पौराणिक युगमा देवता र दानव मिली समुद्र मन्थन गर्दा वासुकी नागलार्इ नेती (मोही पार्दा प्रयोग गरिने डोरी) का रूपमा प्रयोग गरिएको थियो । मन्थन कार्यमा नागको शरीरमा आघात परेकोले नागको मुखबाट हलाहल नामक विष उत्पन्न भई संसार दग्ध गर्न थाल्यो । देवताहरुको अनुरोधमा भगवान् महादेवले विषपान गरी घाँटीमा अड्याउनु भयो । विषको प्रभावले घाँटी जल्यो र नीलो भयो । त्यसपछि शिवजीको नाम नै नीलकण्ठ रहन गयो । विषको औडाहा शान्त पार्न महादेव शीतल ठाउँको खोजी गर्दै हिमालय पर्वततर्फ जानुभयो । त्यसपछि हिमालयमा पुगी त्रिशुलको प्रहार गरी जल उत्पन्न गराई, विशाल जलकुण्डको निर्माण गरी त्यसै जलकुण्डमा डुबुल्की मारी आफ्नो शरीर डुबाएर बस्नु भयो भन्ने पाैराणिक मान्यता छ । त्यसरी पानीभित्र शिवजी बस्नुभएको ठाउँलाई अहिले गोसाइकुण्ड भन्ने गरिन्छ र यो हिजोअाज नेपालको वागमती अञ्चलको रसुवा जिल्लामा पर्दछ । जनकल्याण र लोकरक्षाका लागि हलाहल विष धारण गरेका शिवजीको विषको डाहालाई शान्त पार्ने उद्देश्यले भक्तजनले श्रावण महिनाभर शिवजीलाई जलार्पण गर्ने, रुद्राभिषेक गर्ने कार्य गरेका हुन् भन्ने मान्यता छ ।

'सोमबारे व्रतम् कार्यम् श्रावणे वै यथा विधि' भन्ने शास्त्रीय भनाइमा उल्लेखभएअनुसार श्रावणको सोमबार सबेरै विधिपूर्वक स्नान गरी शुद्ध वस्त्र धारण गरी अनुकूल मिल्ने शिवमन्दिरमा पुगी पुण्य नदीहरुबाट ल्याइएको शुद्ध जल चढाई उपलब्ध भएसम्मका उपचार विधिअनुसार शिवको पूजा गर्ने गरिन्छ । यसरी श्रावण महिनाको सोमबारका दिन व्रत लिर्इ मनोकाङ्क्षा पूर्ण होस् भन्ने चाहना हुनेहरूले श्रावण महिनाभरि भगवान् शिवको श्रद्धापूर्वक भक्तिभाव प्रकट गर्नु, विभिन्न पुराण र धर्मग्रन्थमा उल्लेख भएका शिवप्रसङ्गको महिमा गाउनु, कथा प्रवचन सुन्नु, सात्विक व्यवहार गर्नु, ब्रह्मचर्यको पालना गर्नु र बेलुका केवल एक छाकमात्र शुद्ध भोजन गर्नु अनिवार्य मानिएको पाइन्छ । बैदिक सनातन धर्मावलम्वीहरुले नित्य कर्मकै रुपमा विधिविधानपूर्वक साउन महिनामा पर्ने सोमवारको व्रत गर्नुपर्दछ ।