Showing posts with label एकादशी व्रतकथा. Show all posts
Showing posts with label एकादशी व्रतकथा. Show all posts

Thursday, July 20, 2017

एकादशी : पौराणिक दृष्टि र मान्यता

- मधुसूदन भट्टराई
उप– प्रा.
विश्वविद्यालय विद्यापिठ
बेलझुण्डी दाङ्ग
विषयप्रवेश :
हिन्दूधर्मालम्वीहरुका लागि पूर्वीय वाङ्मय मेरुदण्ड हो । वैदिककालदेखि निरन्तर सृजित भएका शास्त्रहरु हाम्रो समाजका नीतिनियम हुन् । जसलाई आज सनातन परम्परा भनिन्छ । पूर्वीय शास्त्रमा धर्मका मात्र कुरा छैनन् । प्राचीन कालमा हाम्रो समाजमा नीतिनियम थिएन । यदि थिए त तिनै शास्त्र र तिनले व्यक्त गरेका आचरणहरु । जसलाई आजको एक्कासौं शताव्दीका जनसमुदायले केवल धर्मका रुपमा मात्र बुझ्ने गर्दछन् । पूर्वीय वाङ्मयमा ज्ञान, विज्ञान, कला, ज्योतिष, व्याकरण, दर्शन, जस्ता विविध पक्षको विवेचना भएको छ । आजका सम्पूर्ण शास्त्रकोउपजीव्य ग्रन्थ भनेका वेद, उपनिषद्, सूक्त पुराण, रामायण महाभारत आदि हुन् । वेदवाट पुराणसम्म आइपुग्दा सृष्टि रहस्यदेखि जीवन र जगतलाई आवश्यक हुने सबैपक्षको विवेचना भएको पाइन्छ । वेदलाई अपौरुषेय मानिन्छ । पुराण निर्माणको श्रेय वेदव्यासमा अन्तनिर्हित छ । पुराणले मानव जीवनका सबै पक्षको सृष्टि गरेको छ । पुराणमा प्रतिपादित भएका विषयहरु निश्चित नियममा आवद्ध छन् । पुराणमा लेखिएका सबै आवश्यक पक्षहरु सूर्यमान र चन्द्रमानमा आधारित छन् । सूर्य र चन्द्रलाई आधार मानेर तिथि, नक्षत्र, योग आदिको निर्माण गरिएको छ । ज्योतिष शास्त्र अनुसार तिथिलाई पाँच किसिमले वर्गीकरण गरिएको पाइन्छ । नन्दा, जया, भद्रा, रिक्ता र पूर्णा । समष्टि तिथिका संख्या १५ पाइन्छन्। यिनका आ– आफ्ना महिमा छन् । पुराणमा वर्णन भएका देवीदेवताका उद्देश्यलाई हेर्दा सबै तिथिको आफ्नो ठाउंमा महत्वपूर्ण भूमिका र वैशिष्ट्य रहेको छ । तिथिमा जेष्ठ एकादशीलाई मानिन्छ । एकादशी वर्षमा चौविस पर्दछन् । प्रारम्भमा आषाढ शुक्लपक्षको एकादशी पर्दछ । जसलाई हरिशयनी एकादशी पनि भनिन्छ । यो एकादशी वाञ्छित फल प्राप्त गर्न र पापादि कर्मको नाश गर्नको लागि महत्वपूर्ण मानिन्छ । यसैलाई आधार बनाएर एकादशीको महत्व र वास्तविकतालाई निम्न रुपमा स्पष्ट पार्ने प्रयास गरिएको छ ।

पौराणिक आधार :
वेद अपौरुषेय ग्रन्थ हो । वेदको कठिनतालाई व्याख्या गर्न पुराण जन्मियो । पुराण मानवजीवनका आवश्यक पक्षको विवेचना गर्न सृजना भयो । पुराणमा वेदका सम्पूर्ण ऋचाहरुको अर्थ र मानव जीवनका सभ्यता, संस्कृति, रीति , स्थिति र नीतिनियमको निर्माण भएको छ । आजको मानवसमुदायको जीवनशैलीको खोज र अनुसन्धान गर्न पुराणकै सहयोग लिनुपर्छ । मानव जीवन तिथि मिति र कालमा परिवेष्टित छ । हुँनत पुराण अतिरिक्त अन्य व्याकरण, दर्शन, साहित्य, कला, दर्शन जस्ता शास्त्र पनिदेखिन्छन् । ती सबैको आधार पुराण नै हो । तिथिको वैशिष्ठ्यताको पहिचान गर्दा धर्मशास्त्र , ज्योतिष आदि ग्रन्थमा आफ्नै ढाँचा पाइन्छ परन्तु सवै शास्त्रको वास्तविक आधार भनेको पुराण नै हो किनकि एकादशी तिथिको महिमा र यथार्थलाई पहिल्याउन खोज्दा वेद नभएर पुराणकै सहयोग लिनपर्ने हुन्छ । अतः एकादशी महिमाको आधार पुराणमै अन्तनिर्हित रहेको पाइन्छ ।

एकादशी कथा :
सत्ययुगको प्रसङ्ग हो । मत्स्यपुराणमा अर्जुनले एकादशीका विषयमा प्रश्न गर्छन् र प्रत्युत्तरमा कृष्णले प्राचीन इतिहासको कथा उल्लेख गर्दछन् । एउटा ‘मुर’ नाम गरेको दैत्य थियो । उसले निरन्तर देवताहरुलाई भय र त्राश दिएर आतङ्कित बनाइरहन्थ्यो । उसले स्वर्गाधिपति इन्द्रलाई पदच्यूत गरेर स्वर्गंवाट निकालिदियो र स्वर्गमा अर्को इन्द्र वनायो । साथै सूर्य, वसु, ब्रह्मा, वायु र अग्नि पनि नयाँ वनायो । यस्तोपरिस्थितिमा प्रतापी मुर नामक दैत्यवाट सवै देवता पराजित भए । सबै देवता र इन्द्र शंकर समीप गए र निवेदन गरे । शंकरले इन्द्रसंग पृथ्वीका सम्पूर्ण प्राणीको पालनकर्ता गरुडध्वज जगन्नाथ हुनुहुन्छ उही गएर सम्पूर्ण समस्या वताऊ भनी निर्देश गरे । इन्द्रसहित सबै देवताहरु विष्णुसमीप गए । विष्णु त्यस वखत सुतिरहेका थिए । विष्णु जलमा सुतेका थिए । जलमा सुतेका जगन्नाथ इन्द्रसहितका देवताहरुले लामो समय सम्म स्तुती गरे । स्तुती पछि विष्णुले इन्द्रसंग त्यस्तो डरलाग्दो दैत्य को हो ? जसले देवताहरुलाई पराजित गर्यो । विष्णुको प्रश्नको जवाफमा इन्द्रले भने – ब्रह्माको वंशवाट उत्पन्न ‘तालजङ्घ’ नाम गरेको दैत्य थियो यसको मुर नाम गरेको पुत्र छ त्यो चन्द्रवती नाम गरेको नगरमा वस्दछ । त्यही नगरबाट सबैलाई पराजय गरी आफ्नो आधिपत्य वनाएको छ । अथवा पृथ्वी, अग्नि, वायु, ईश, चन्द्रमा आदि सबैलाई आफ्नो अनुकूल बनाएको छ । यस्तो कुरा सुनेपछि विष्णु क्रोधित भए र इन्द्रसंग भने – त्यो मुर नाम गरेको दैत्यलाई मैले मार्दछु । सबै इन्द्रादि देवता सहित विष्णु चन्द्रवती नाम गरेको नगरमा गए । इन्द्रादि देवता र दैत्यहरुको भीषण युद्ध भयो । देवताहरु पराजित भएर भाग्न थाले । देवताह्र भागेपछि मुर नाम गरेको सेनासंग विष्णुले लामो समयसम्म युद्ध गर्नु भयो परन्तु सबै दैत्य सेनालाई पराजित गर्न सकेनन् अन्तमा त्यहाबाट विष्णु भागे । मुरनामक दैत्य पछिपछि विष्णु अगिअगि हुंदै भाग्न थाले । भनिन्छ अस्त्र शस्त्र र वाहुयुद्ध गर्दा हजार वर्ष व्यतित भयो । विष्णुले मुरलाई पराजित गर्न सकेनन् । थाकेका विष्णु वाहिमती नाम गरेको वदरिकाश्रमको सुन्दर गुफामा प्रवेश गरी सुते । मुर नामक दैत्य पनि विष्णुको खोजी गर्दै त्यही स्थानमा पुग्यो । त्यहा पुगेर सुतेका विष्णुलाई देखेर नुर नामको दैत्यले विष्णुलाई मार्ने विचार गर्यो । दैत्यको योजनालाई विचार गरेर विष्णुले शास्त्रास्त्रले सुसञ्जित एक कन्याको उत्पत्ति गरे । ती कन्या र मुर नामक दैत्यको युद्ध भयो । अन्तमा थकित दैत्य कन्याद्धारा मारियो । दैत्य मरिसकेपछि विष्णु जागे । अगाडि कन्या उपस्थित भएको देखे र प्रश्न गरे । यो देवतालाई दुःख दिने दैत्यलाई कसले मार्यो र स्वयं मलाई पनि कसले रक्षा गर्यो भने । प्रत्युत्तरमा कन्याले मैले मारेकी हुँ भनिन् । तपाई सुतेको देखेपछि दानव मार्न उधत थियो परन्तु तपाईकै अंशको रुपमा मैलेजन्म लिएर यसलाई मारेकी हुँ भनिन । सबै देवगण र कन्याले विष्णुको स्तुती गरे । विष्णु स्तुती र उक्त कार्यवाट प्रसन्न भएर कन्यालाई वर माग भने । कन्याले एकचित वा जितेन्द्रियको रुपमा रहेर एकादशीका दिन मेरो व्रतोपवास गरोस भन्ने वर मागिन । विष्णुले उक्त वर कन्यालाई दिए र कन्याको नाम पनि एकादशी नै भयो । विष्णु भन्दछन्– जसले दशमी दिन शुद्ध रुप रही एकादशी तिथिमा श्रद्धा र भक्तिपूर्वक उपवास गर्दछ त्यसले धर्म, अर्थ र मोक्ष फल प्राप्त गर्दछ यसमा कुनै सन्देह छैन भने । जसले तिम्रो र मेरो श्रद्धापूर्वक भक्ति गर्ला त्यो संधै हाम्रो समीपमा रहला भनी विष्णुले भने । यसैदिन पराशक्ति उत्पन्न भएको कारणले तिम्रो नाम एकादशी भयो भनी विष्णुले भने । एकादशीकोव्रत गरेर जसले हाम्रो पूजा गर्ला उसले अविनाशी पद प्राप्त गर्र्ला भनेर स्वयं विष्णुले एकादशी महिमा वताए । विष्णुले तृतीया, अष्टमी , नवमी र चतुर्दशी तिथि आफूलाई प्रिय भएको कुरा पनि बताए । एकादशी तिथिलाई अतीव प्रिय भएको र वाञ्छित फल प्राप्त गर्न सकिने कुरा विष्णुले व्यक्त गरेका छन् ।

एकादशीका प्रकार :
एकादशी मूलत: दुइ प्रकारका छन् । एउटा शुद्धा अर्को विद्धा । वेधका आधारमा पनि एकादशीलाई दुई किसिमले वर्गीकरण गरेको पाइन्छ । अरुणोदयवेध र दशमीको योगवाट अरुणोदयवेध । यी नै प्रमुख भेद हुन्, ग्रन्थभेदले गर्दा अन्य भेद पनि पाइन्छन् । परन्तु ती सबै शुद्धा र विद्धामा नै आधारित छन् ।

पौराणिक मत र भिन्नता :
 एकादशी व्रतको निर्णय विभिन्न पुराणले गरेका छन् सबै पुराणको एउटै मत पाइदैन । प्रत्येकमा भिन्न– भिन्न मत पाइन्छ उपलव्ध सामग्री अनुसारको भिन्नता निम्न रहेको छ ।
(क) भविष्यपुराण :– अरुणोदयकालमा यदि दशमी छ भने त्यो विद्धा एकादशी हुन्छ । यसमा व्रत गरेमा पाप हु्रन्छ । अरुणोदयकाल दशमीयुक्त छ भने वैष्णवले व्रत गर्नु हुंदैन । एकादशीको अर्को दिन अथवा द्वादशी तिथिमा कला मात्र पनि एकादशी छैन भने गृहस्थीले व्रत गर्न मिल्दछ ।
(ख) व्रह्मवैवर्तपुराण :– अरुणोदयकाललाई चार भागमा विभाजन गरिएको छ । वेध, अतिवेध, महावेधर, तुरीयवेध यिनी वेधमा व्रत गरेमा दोष हुन्छ ।
(ग) स्कन्दपुराण :– शुक्ल र कृष्णपक्षका एकादशी समान छन् । यिनलाई समानरुपमा मान्नेलाई वैष्णव भनिन्छ । हर्ष र विपत्ति दुवैमा व्रत गर्नुपर्दछ । द्वादशी तिथिको प्रातः कालमा एकादशी छ भने पनि वैष्णवहरुले व्रत वस्नुपर्दछ ।
(घ) मदनरत्न :– लक्षणले रहित स्मार्तहरुको एकादशी हुन्छ । वैष्णव एकादशीको विद्धाका चार भेद छन् – मात्राधिका, द्वादशीमात्राधिका, उभयाधिका र अनुभयाधिका ।
(ङ) वायुपुराण :– उपवासको समयमा दूध, दही, फल खान मिल्दछ ।

व्रतको अधिकारी
आठवर्षदेखि असी वर्षको उमेरसम्म उपवास बस्न मिल्दछ । कर्म नचलेको वा जनैधारण नगरेकोलाई भने वञ्चित गरिएको छ । तर जनैको संस्कार नभएका समुदायका लागि भने आठ वर्षदेखि गर्न मिल्दछ । जो कोहीले पनि व्रत गर्ने समयमा यो मन्त्र उच्चारण गर्न आवश्यक छ – “एकादश्यां निराहारो भूत्वाहमपरेडनि । भोक्ष्यामि पुण्डरीकाक्ष गतिभंव ममाच्युतु ।।” व्रतालुले दशमीका दिन एक छाक मात्र खानु पर्छ, मासु खान हुंदैन । मैथुनमा संलग्न हुनु हुंदैन । एकादशीका दिन यदि पितृ श्राद्ध छ भने पिण्ड सुंधेर व्रत वस्त सकिन्छ । जुन कुरा वराहपुराणमा उल्लेख गरिएको छ ।

व्रत समाप्ति :
एकादशीको उपवास समाप्त भएपछि वा द्वादशीका दिन स्नानादि कार्य सकेर विष्णुको विधि विधानुसार पूजा गर्नुपर्दछ । सकेमा पारायण (पाठ) गर्नुपर्दछ । संभव नभएमा कात्यायन ऋषिले वताए अनुसारको यो मन्त्र पढ्नु पर्दछ – “अज्ञानतिमिरान्धस्य व्रतेनानेन केशव । प्रसीद सुमुखोनाथ ज्ञानदृष्टि भव ।।” विष्णुकोपूजा गरेपछि व्राहाण भोजन गराई अन्नार्जन गर्न सकिन्छ ।

फल :
जुन मानिसले एकादशीका दिन भक्तिपूर्वक भगवान् विष्णुको स्मरणमा जितेन्द्रिय भएर उपवास (व्रत) गर्छ उसको कोटीगतकल्प सम्म विष्णुलोकमा स्थान पाउँछ भनी एकादशीलाई आर्शीवाद दिएका छन् । एकादशीका दिन व्रत वसेर यदि रात्रिमा भोजन गर्छ भने त्यसले धर्म, धन र मोक्ष प्राप्त गर्दछ । एकादशीको र विष्णुको जो भक्त छ ऊ तीनै लोकमा प्रसिद्ध हुनेछ र हाम्रो निकटमा सदावास गर्ने छ भनी विष्णु स्वयंले भनेका छन् किन भने एकादशी अथवा ‘मुर’ नामक दैत्यको मृत्यु भएको दिन पराशक्ति उत्पन्न भएको दिन हो त्यसैले यो एकादशी अरु एकादशीका तुलनामा विशेष रहेको छ । जसलाई हरिशयनी एकादशी भनिन्छ । जुन असार महिनाको शुक्लपक्षमा पर्दछ । ‘मुर’ नामक दैत्यलाई मारेको दिन एकादशी तिथि नाम राखेका थिए । त्यसैले विष्णुले नै उत्तम तिथि एकादशीलाई वताएका छन् । विष्णुले भनेका छन् “जसले एकादशीका दिन व्रत वसेर मलाई पूजा गर्ला ऊ सम्पूर्ण पापबाट मुक्त भएर अविनाशी पद प्राप्त गर्ने छ । ” विष्णुका लागि तृतीया, अष्टमी, नवमी, चतुर्दशी प्रिय छन् । विशेष एकादशी तिथी अतिव प्रिय रहेको छ त्यसैले सम्पूर्ण तीर्थ, दान र व्रत भन्दा एकादशी अधिक पुण्यदायक छ यसलाई स्वयं विष्णुले सत्य हो भनेका छन् । यस दिन व्रत गरेमा शत्रु नाश हुने , सम्पूर्ण विघ्न हट्ने र सिद्धि प्राप्त हुने कुरा पुराणमा उल्लेख छ । विष्णुको धर्म, गीताको अर्थ र एकादशीको व्रत अतीव पुण्यदायक हुन भनी मत्स्यपुराणमा उल्लेख गरिएको छ ।

निष्कर्ष :
वेद र पुराणादि ग्रन्थले सम्पूर्ण जगत र प्राणीको सृष्टिक्रमादि रहस्यलाई उल्लेख गरेका छन् । सृष्टिप्रक्रियावाट सम्पूर्ण जगत क्रियाशील वन्दै आएको हो । यसैवाट विभिन्न शास्त्रहरु जन्मे । आफ्ना– आफ्ना अनुकूलका व्याख्या विश्लेषण हुँदै आए । कतै कल्पनाको आधिक्यता भयो र सत्य पक्ष लुक्यो । कतै सत्यको आधिक्यता भयो र कल्पनाको अंशसम्म भेटिएन । सत्यका प्रशंसक र अनुयायीहरु भक्तिभाव देखाउंदै गए र सत्यलाई आफूमै केन्द्रीत गरे । कल्पनाका प्रशंसकहरुले कल्पनाको व्याख्या विश्लेषण र दार्शनिकता प्रकट गर्दै आए । यसरी पूर्वीय शास्त्र परम्परा जटिल वन्दै गयो र निर्विवाद वन्न सकेन । विभिन्न आलोचकहरु जन्मे । आलोचकहरुले कठिन वाटोलाई छोडेर सरल बाटो अवलम्वन गर्दै आए । जसरी व्याख्या विश्लेषण गरेतापनि पूर्वीय शास्त्रका नीति नियमहरु सामाजिकस्तरमा जरो गाडेर बस्यो । यी सबै सृष्टिक्रमदेखि आजसम्म सत्यताकै परिधिभित्र रहंदै आएको छ । पूर्वीय शास्त्रले काल, तिथि, मिति , ग्रहको निर्धारण गर्यो । तिनी सबैका उत्पत्ति र महिमागान गर्यो । मानवलाई सोही अनुकूल आचरण गर्न निर्देश गर्यो त्यसकै उदाहरण स्वरुप एकादशी तिथिको महिमा रहेको छ । युग परिवर्तनशील छ समय एकनाशले व्यतित भइरहेको छ । युगलाई पौराणिक आधारमा विभाजन गरिएको छ त्यो नै सत्य हो । त्यसैले प्रकृति भनिन्छ, प्रकृति अविजेय छ प्रकृतिको रुपमा एकादशी तिथि सिर्जित छ यसमा वर्णित कुरा पुराणसंग सम्वन्धित छन् जसरी सूर्य र सूर्यवाट उत्पन्न हुने ताप मानवका लागि सत्य हो भने एकादशी र विष्णु पनि सत्य नै हो भन्ने तथ्य वेद र पुराणले उल्लेख गरेका छन् ।

सन्दर्भ ग्रन्थ :
१.श्रीमद्भागवत महापुराण – वेदव्यासप्रणीत– द्वितीय खण्ड– प्र.गीताप्रेस गोरखपुर सं.२०५७
२. श्रीवराहपुराण– वेदव्यासप्रणीत प्र.गीताप्रेस गोरखपुर सं. २०६५
३. महाभारत(शान्ति पर्व) – वेदव्यासप्रणीत प्र.गीताप्रेस गोरखपुर स. २०५५
श्रीमद्वाल्मीकीय रामायण – वाल्मीकिप्रणीत प्र.गीताप्रेस गोरखपुर सं.२०५८
५. काशीखण्ड(स्कन्दपुराण) – व्यासप्रणीत प्र. सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसी, २०४९ वैक्रमाब्द, १९१४ तमे शकाब्द
६. पुराण विमर्श – आचार्य वलदेव उपाध्याय – प्र.चौखम्वा विद्याभवन वाराणसी र सं. १९८७
७.अनुसन्धानप्रकाश – प्रा.हरिप्रसादशर्मा आचार्य:, प्रा. स्थानेश्वरगौतम:, प्र.म.सं.वि. वि.सं.२०४२

८. व्रतार्क – महेशदत्त त्रिपाठी

Wednesday, July 19, 2017

कामिका एकादशी

कुन्तीपुत्र धर्मराज युधिष्ठिरले भन्नुभयो-  हे भगवन, अब कृपा गरेर श्रावण कृष्ण एकादशीको के नाम हो र यसको पालनाको के विधान छ त्यो बताउनुहोस् ।

श्रीकृष्ण भगवानले आज्ञा गर्नु भयो हे युधिष्ठिर! यस एकादशीको कथा एक पटक स्वयं ब्रह्माजीले देवर्षि नारदसित भन्नु भएको थियो, त्यसैलाई म तिमिसित भन्दछु। नारदले ब्रह्मासित सोधे कि हे पितामह! श्रावण मासको कृष्ण पक्षको एकादशीको कथा सुन्ने मेरो इच्छा छ, त्यसको नाम के हो? के विधि छ र त्यसको माहात्म्य कस्तो छ, यी संपूर्ण विवरण कृपा गरी बताउनुहोस् ।

नारदजीका यस्ता वचन सुनेर ब्रह्माजीले भन्नुभयो - हे नारद! लोकको हितका निम्ति तिमीले असाध्यै सुंदर प्रश्न गर्यौ । श्रावण महिनाको कृष्ण एकादशीको नाम कामिका हो। त्यसको नाम मात्र सुन्नाले वाजपेय यज्ञको फल प्राप्त हुन्छ । यस दिन शंख, चक्र, गदाधारी विष्णु भगवानको पूजा हुन्छ, जसको नाम श्रीधर, हरि, विष्णु, माधव, मधुसूदन आदि छ। तिनको पूजा गर्नाले जुन फल प्राप्त हुन्छ त्यो पनि सुन !

जुन फल गंगा, काशी, नैमिषारण्य र पुष्कर स्नानबाट प्राप्त हुन्छ, त्यो फल विष्णु भगवानको पूजनबाट प्राप्त हुन्छ। जुन फल सूर्य र चंद्र ग्रहणमा कुरुक्षेत्र र काशीमा स्नान गर्नाले, समुद्र, वन सहित पृथ्वीदान गर्नाले, सिंह राशिको बृहस्पतिमा गोदावरी र गंडकी नदीमा स्नान गर्नाले पनि प्राप्त हुन सक्दैन त्यो फल भगवान विष्णुको पूजनद्वारा प्राप्त हुन्छ।

जो मनुष्यले श्रावणमा भगवानको पूजन गर्दछन, त्यससित देवता, गंधर्व र सूर्य आदि सबै पूजित हुन पुग्छन। अत: पापदेखि डराउने मनुष्यले कामिका एकादशीको व्रत र विष्णु भगवानको पूजन अवश्यमेव गर्नुपर्दछ। पापरूपी हिलोमा फँसेका र संसाररूपी समुद्रमा डूबेका मनुष्यका निम्ति यस एकादशीको व्रत र भगवान विष्णुको पूजन अत्यंत आवश्यक छ। यस अवसर भन्दा ठूलो पाप नाश गर्ने मौका पाउन गाह्रो छ।

हे नारद! स्वयं भगवानले के भन्नु भएको छ भने कामिका व्रतबाट जीव कुयोनिमा पुग्दैन। जुन मनुष्यले यस एकादशीका दिन भक्तिपूर्वक तुलसी दल भगवान विष्णुलाई अर्पण गर्दछ, त्यो यस संसारका समस्त पापबाट मुक्त हुन्छ। विष्णु भगवान रत्न, मोती, मणि तथा आभूषण आदिबाट त्यति प्रसन्न हुनुहुन्न जति तुलसी दलबाट। तुलसी दल पूजनको फल चार भार चाँदी र एक भार स्वर्णदान बराबर हुन्छ। हे नारद! म स्वयं भगवानलाई अतिप्रिय लाग्ने तुलसीलाई सदैव नमस्कार गर्दछु। तुलसीको बिरुवालाई सिञ्चन गर्नाले मनुष्यका सबै यातनाहरू नष्ट हुन पुग्छन । दर्शन मात्रले पनि सबै पाप नष्ट हुन्छन र स्पर्शबाट त मनुष्य पवित्र हुन पुग्छ।

कामिका एकादशीका दिन रात्रिको समय पारेर दीपदान तथा जागरणको फलको माहात्म्य चित्रगुप्त पनि वर्णन गर्न सक्दैनन। जसले यस एकादशीका दिन रात्रिको समयमा भगवानको मंदिरमा दियो बाल्दछ, उसका पितृहरूले स्वर्गलोकमा अमृतपान गर्ने अवसर प्राप्त गर्छन तथा जसले घिउ वा तेलको दीपक जलाउदछन, ती सय करोड़ दीपकबाट प्रकाशित भएर सूर्य लोक पुग्दछन् ।

ब्रह्माजी भन्नुहुन्छ हे नारद! ब्रह्महत्या तथा भ्रूण हत्या आदि पापलाई नष्ट गर्ने यस कामिका एकादशीको व्रत मनुष्यले यत्नपूर्वक गर्नुपर्दछ। कामिका एकादशीको व्रतको माहात्म्य श्रद्धापूर्वक सुन्नाले र पढ़नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोक पुग्दछ।

Sunday, May 21, 2017

अचला वा अपरा एकादशी

युधिष्ठिरले भन्नुभयो - हे भगवन् ! ज्येष्ठ कृष्णपक्षको एकादशीको के नाम हो तथा त्यसको माहात्म्य के छ, कृपा गरी आज्ञा गर्नुहवस् ! भगवान् श्रीकृष्णले आज्ञा गर्नुभयो - हे राजन् ! यो एकादशी अचला तथा अपरा दुई नामबाट प्रसिद्ध छ । पुराणअनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा/अचला एकादशी हो । यस एकादशीको व्रत सम्पादान गर्नाले व्यक्तिले अपार धनसम्पदा, सुखसम्मृद्धि र भोगविलास प्राप्त गर्न सक्दछ। त्यसबाहेक जुन मनुष्यले यस व्रतलाई नियमपूर्वक पालना गर्दछ, त्यसले संसारमा ख्याति र सम्मानसमेत प्राप्त गर्दछ । यस एकादशीका दिन भगवान् विष्णुको त्रिविक्रम अवतारको पूजा गर्ने प्रचलन छ ।

अपरा एकादशीको व्रतको प्रभावले ब्रह्महत्या, भूतयोनि, परनिन्दा आदिबाट उत्पन्न भएका सबै किसिमका पापहरू नष्ट हुन्छन् । यस व्रतको पालनाबाट परस्त्रीगमन, झूठो बकपत्र, असत्यवादन, नक्कली विद्याध्ययन वा प्रमाणपत्र निर्माण, नक्कली भविष्यवाणी तथा नक्कली वैद्य वा डाक्टर भई जीविकोपार्जन गर्ने प्रत्येक मानिसले सिर्जना गरेका यावत् पापहरू नष्ट हुन्छन् । जुन मनुष्य क्षत्रिय भईकन पनि कायर भई युद्धभूमिबाट भाग्छन्, तिनले सामान्यतया नरक जानुपर्दछ, तर तिनले पनि जीवनमा एकपल्ट अपरा एकादशीको व्रत लिन पाए भने स्वर्ग पुग्ने अवसर पाउँदछन् । जुन शिष्यले आफूलाई शिक्षा प्रदान गर्ने गुरूसित द्रोह गर्दछन् र गुरुनिन्दाजस्तो निकृष्ट कर्म गर्दछन्, तिनले पनि यस एकादशीको व्रत लिएमा उक्त दोषबाट निवृत्त हुने अवसर प्राप्त गर्दछन् । तीनवटा कार्तिक पूर्णिमाको शुभ अवसर पारेर लगातार पुष्कर तीर्थमा स्नान गर्नाले वा गङ्गा नदीको किनारमा पितृहरूलाई पिण्डदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यो फल अपरा एकादशीको व्रत गर्नाले सजिलै प्राप्त गर्न सकिन्छ । मकर सङ्क्रान्तिका दिन गङ्गा र यमुनाको सङ्गमस्थल प्रयागराजको स्नान गर्नाले, शिवरात्रिको व्रत गर्नाले, सिंह राशिको बृहस्पतिमा गोमती नदीको स्नान गर्नाले, कुम्भ राशिमा बृहस्पति भएको बेला केदारनाथ/बद्रीनाथको यात्रा र दर्शन गर्नाले, सूर्यग्रहणमा कुरुक्षेत्रको स्नान गर्नाले, स्वर्णदान गर्नाले अथवा अर्द्धप्रसूता गोदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यही फल अपरा एकादशीको व्रतबाट प्राप्त हुन्छ । यो व्रत पापरूपी वृक्षलाई काट्ने बन्चरो हो भने पनि हुन्छ । पापरूपी इन्धनलाई बाल्ने अग्नि, अज्ञानरूपी अन्धकारलाई मेटाउने सूर्य र कुकृत्यरूपी मृगलाई मार्ने सिंह भनेकै अपरा एकादशी हो । मनुष्यले जीवनभरि पापकर्म र परपीडा हुने कृत्य गर्नु हुँदैन, तर कथं-कदाचित जानीजानी वा नजानी भूलचुकमा झुक्किएर गरेका अनेकानेक पापकर्मको निवृत्ति गर्न ज्येष्ठ महिनाको कृष्णपक्षमा पर्ने एकादशी (अपरा/अचला) को व्रतको पालना गर्नुपर्दछ । अपरा एकादशीको व्रत सम्पादन गर्ने तथा त्यस दिन भगवान् त्रिविक्रम (वामन) को पूजन गर्नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोकमा पुग्दछ ।

अपरा एकादशीको व्रतकथा
अपरा वा अचला एकादशीको प्रचलित कथा यस्तो छ :– प्राचीन कालमा महीध्वज नाम गरेका एक जना धर्मात्मा राजा थिए। तिनको कान्छो भाइ वज्रध्वज असाध्यै क्रूर, अधर्मी तथा अन्यायी थियो । ऊ आफ्ना दाजुसित द्वेषबुद्धि राख्दथ्यो । त्यस पापीले एक दिन रातको समयमा दाजु महीध्वजको हत्या गरी मृत शरीरलाई जङ्गलमा पुर्याई एउटा पीपलको फेदमा गाडिदियो । अकाल मृत्यु भएका कारण राजाले प्रेतयोनिमा प्रवेश गर्नुपर्यो । त्यसपछि प्रेतात्माका रूपमा राजा महीध्वज त्यसै पीपलको रुखमा बस्नथाले र किसिम किसिमका उत्पात गर्न थाले । एक दिन त्यसै वनको बाटो भई यात्रामा निस्किएका धौम्य ऋषि त्यही पीपलको बोट भएको ठाउँमा आइपुगे । साँझको समय थियो, त्यस प्रेतले ओकानेक उत्पात मच्चाउँदै ऋषि धौम्यलाई ध्यानाकृष्ट गर्यो । आफूमा भएको योगबलका कारण ऋषिले  त्यस प्रेतलाई देखे र प्रेतको अतीतलाई पहिचान गरे र साथै आफ्नो तपोबलले प्रेतले उत्पात मच्चाएको पृष्ठभूमि एवं कारणसमेत थाहा पाए। ॠषिले प्रसन्नचित्त भई त्यस प्रेतलाई पीपलको रुखबाट बाहिर निकाले र परलोकगमन गर्न अलौकिक विद्याको उपदेश गरे। दयालु ॠषिले राजाको प्रेतयोनिबाट मुक्ति दिलाउन स्वयं आफुले अपरा/अचला एकादशीको व्रत सम्पादन गरे र राजाको अधोगति हटाउन त्यस एकादशीको पुण्य प्रेतलाई सुम्पिदिए । यसरी ऋषिले लिएको अपरा एकादशीको पुण्य प्राप्त गरेपछि राजाले प्रेतयोनिबाट छुटकारा पाए । त्यसपछि राजा महीध्वजले ॠषिलाई साधुवाद व्यक्त गर्दै दिव्य देह धारण गरी पुष्पक विमानमा बसेर वैकुण्ठलोक प्रस्थान गरे । यसरी समस्त पापराशिलाई नष्ट बनाउन समर्थ यस एकादशीको व्रतकथालाई पढने तथा सुन्ने दुबै थरीले सबै पापबाट मुक्त भई अन्त्यकालमा वैकुण्ठलोक पुग्दछन् भन्ने मान्यता पनि छ ।

कसरी लिने एकादशीको व्रत ?

एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ,आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ-

स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी ॥
न गङ्गा न गया राजन् न च काशी च पुष्करम्।
न चापि कौरवं क्षेत्रं पुण्यं भूप हरेर्दिनात् ॥

अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो। हे राजन् ! गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन। यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ। अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ। यस्ता पवित्रतम स्थानहरूमध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ। अतः एकादशीको दिन कतिसम्म पवित्र रहेछ हामी अनुमान गर्न सक्दछौं। सङ्क्षेपमा यी उद्धृत श्लोकबाट के स्पष्ट हुन्छ भने एकादशीको व्रत लिनाले मात्र लौकिक तथा पारमार्थिक दुबै किसिमका शुभ फलहरू सजिलै प्राप्त हुन्छन्। एकादशीको व्रत सनातन धर्मको आफ्नै विशिष्टता हो। हामीले पनि यसका पौराणिक पक्षमा विचार गर्नुपर्छ र त्यसका वैज्ञानिक, व्यावहारिक र स्वास्थ्यसम्बद्ध पक्षउपर पनि।

कूर्मपुराणको मत-
व्रतोपवासैर्नियमैः होमैः ब्राह्मणतर्पणैः। तेषां वै रूद्रसायुज्यं जायते तत्प्रसादतः।
अर्थात व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ।

श्रीमद्भगद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरू भगवान श्रीकृष्णको देशना छ-
यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत्।
अर्थात यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुन्न।

शास्त्रमा तपअंतर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ।  एकादशी व्रतको प्रारम्भ कसरी भयो? भगवती एकादशीको हुन, यस सम्बन्धमा पद्म पुराणमा के कथा छ भने एकपटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्ति दिलाउन, हजारौ यज्ञको अनुष्ठानको तुलना गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका निम्ति निर्देशन दिनुभएको थियो।

एकादशीका प्रकार
प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्। जब एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन्।
एकादशीको व्रत प्रत्येक महिनामा पर्ने दुबै पक्षको एकादशी तिथिका दिन सम्पादन गरिन्छ। यस व्रतलाई महाव्रत पनि भनिन्छ।

‘एकादशी’ तिथिको शास्त्रीय महत्त्व
सनातन हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चाङ्गबमोजिम प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौं तिथिलाई एकादशी भन्दछन्। यो तिथि भगवान् श्रीविष्णुको प्रिय तिथि हो। एकादशीको 'हरिदिवस' र 'हरिवासर' पनि भन्दछन्। अन्य व्रत र उत्सवका तुलनामा एकादशीको महत्त्व बढी हुनुमा विभिन्न कारण छन्, ती यस प्रकार छन्-
अ. वातावरणमा विष्णुतत्त्वको स्पन्दन बढी मात्रामा हुनु।
आ. समस्त प्राणिहरूमा अधिकतम सात्त्विकताको मात्रा विद्यमान रहनु।
इ. शरीरमा विद्यमान चैतन्यको गति 'ऊर्ध्व' अर्थात् माथिल्तिर प्रवाहित हुनु।
ई. व्रत सम्पादन गर्न सजिलो हुनु।
उ. व्रत सम्पादन गर्नाले अन्य व्रतको तुलनामा अत्यधिक प्रतिफल प्राप्त हुनु।

'एकादशी' व्रतको महत्त्व
एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौ, दसै इंद्रिय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छौ। एकादशी तिथिको जति महत्त्व छ, त्यत्तिकै महत्त्वपूर्ण एकादशीको व्रतको पनि छ। एउटा वर्षचक्रभरि पर्ने एकादशीको व्रत लिनाले अनेकानेक व्रतसम्पादन र तीर्थावलोकनको फलप्राप्ति हुन्छ। पद्मपुराणमा एकादशीको व्रतको महत्त्वलाई यसरी दर्शाइएको छ-

अश्वमेधसहस्राणि राजसूयशतानि च । एकादश्युपवासस्य कलां नार्हन्ति षोडशीम् ।।
यसको अर्थ हो- हजारौं अश्वमेध यज्ञ र सयकडौं राजसूय यज्ञको महत्त्व एकादशी व्रतको सोह्रभागको एक भाग जति पनि हुँदैन। प्राचीन मापन पद्धतिअनुसार सोह्र कला अर्थात् कुनै पूर्ण वस्तुको सोह्र भागको एक भाग। हिजोआज प्रचलनमा रहेको प्रतिशत मापन पद्धतिअनुसार लगभग ६ प्रतिशत । एकादशी व्रतको एउटा अर्को पनि महत्त्व छ, त्यो के हो भने अन्य समस्त व्रत सङ्कल्प गरेपछि प्रारम्भ हुन्छन् र सङ्कल्प गरेरमात्र समाप्त हुन्छन्। यहाँ सङ्कल्प भन्नाले एक किसिमको प्रतिज्ञा भन्ने अर्थमा लिइन्छ। मनैले उच्चारण गरी कुश र पानी समातेर वाचा गर्नुलाई धार्मिक सन्दर्भमा सङ्कल्प भनिन्छ। प्रत्येक व्रतको सुरुमा र अन्त्यमा सङ्कल्प गर्ने विधान छ, यसो नगरे सम्बद्ध व्रत निष्फल हुन्छ, तर एकादशी व्रत लिनका निमित्त सङ्कल्प गरिरहनु पर्दैन। यसबाट एकादशी एउटा यस्तो व्रतका रूपमा स्थपित भएको प्रमाणित हुन्छ जसले बिनासङ्कल्प मनुष्यलाई भुक्ति, मुक्ति आदि समस्त फल प्रदान गर्ने सामर्थ्य राख्दछ।

वर्षभरिका एकादशीका नाम
* चैत्रमास - पापमोचनी एवं कामदा एकादशी।
* वैशाख मास - वरुथिनी एवं मोहिनी एकादशी।
* ज्येष्ठ मास - अपरा एवं निर्जला (भीमसेनी) एकादशी।
* आषाढ़ मास - योगिनी एवं शयनी एकादशी।
* श्रावण मास - कामिका एवं पुत्रदा एकादशी।
* भाद्रपद मास - अजा एवं पद्मा एकादशी।
* अश्विन मास - इंदिरा एवं पापांकुशा एकादशी।
* कार्तिक मास - रमा एवं प्रबोधिनी एकादशी।
* मार्गशीर्ष - मोक्षदा एकादशी, उत्पत्ति नामक एकादशी।
* पौष मास - सफला एवं पुत्रदा एकादशी।
* माघ मास - षट्तिला एवं जया एकादशी।
* फाल्गुन मास - विजया तथा आमलकी एकादशी।
* पुरुषोत्तम वा अधिकमास - पद्मिनी(कमला) एवं परमा(कामदा)एकादशी।

एकादशी व्रत सम्पादन गर्ने विधान
सनातन हिन्दूधर्मका पुराणादि शास्त्रमा वर्षभरिमा पर्ने सबै एकादशीको व्रत र उपवास गर्नु राम्रो हो भनिएको छ । सबै एकादशीको व्रतोपवास गर्न कठिनाइ उत्पन्न भएमा प्रत्येक महिनामा कम्तीमा एउटा अर्थात् शुक्ल पक्षमा पर्ने एकादशीको व्रत भए पनि लिनु जाति हुन्छ बताइएको छ । त्यत्ति पनि गर्न सकिंदैन भने चौमासा अर्थात् चतुर्मास भरिमा आउने आषाढ शुक्ल एकादशीदेखि कार्त्तिक शुक्ल एकादशीसम्मका सबै एकादशीको व्रत गर्नु वाञ्छनीय छ भनी उल्लेख गरिएको पाइन्छ । यत्ति पनि व्रत लिन अप्ठ्यारो वा असहज छ भने वर्षमा कम्तीमा दुईवटा आषाढ शुक्ल पक्ष (हरिशयनी) र कार्त्तिक शुक्ल पक्ष (हरिबोधिनी) मा पर्ने एकादशीको  व्रत चाँहि अवश्य लिनु पर्दछ भन्ने मान्यता छ ।

एकादशीका दिन सकेसम्म अहोरात्र (२४ घण्टाको अवधि, दिनरात) पानीसमेत नखाई व्रतसम्पादन गर्नु पर्ने खास नियम हो । तर सबै वस्तु त्याग्दा शरीरमा कमजोरी उत्पन्न भई व्रतपालनामा विघ्न आउने भएकाले उक्त दिन पानी, दुध, सक्खर, सर्वत आदि ग्रहण गर्न सकिन्छ, तर अन्नादि ग्रहण गर्नु हुँदैन भन्ने हाम्रो सामाजिक परम्परा छ । व्रत भनेको त्याग हो, यसको अर्थ खानेकुरा मात्र त्याग्नु व्रत होइन, यस त्यागको अर्थ तपार्इंको शरीरमा भएका सबै किसिमका भोगवृत्तिलाई त्याग्नु भन्ने हो । मानिसका शरीरमा काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य नामका भावहरू विद्यमान हुन्छन् । यिनै भावका अधीनमा रही मानिसमा अनेकानेक भोगवृत्ति सिर्जना हुन्छन् । यी छ वटा भावहरूलाई शास्त्रले षड्रिपु अर्थात् छ जना शत्रुहरूको समूह भनेको पाइन्छ । त्यसैले केवल अन्नादिमात्र त्यागेर व्रत पूर्ण हुँदैन । अतः उमेर, रोग आदिका कारण भोकै बस्न नसक्ने परिस्थिति छ भने एकादशीका दिन केवल चामल मात्र नखाने गरेमा पनि व्रत लिनु पर्दछ, तर काम, क्रोधादि वृत्तिहरूलाई अनिवार्य रूपमा दमन गर्न सक्नुपर्दछ । व्रतको अवधिमा बिर्सिएर पनि रिसाउनु हुदैन। रिस चाण्डालको रूप हो जबकि तपाई देवतास्वरूप भएकाले सन्तोष गर्नुपर्छ, दयाभाव लिनु पर्छ, सुमधुर वचन बोल्नुपर्छ। एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नु हुँदैन। पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्छ तथा भोगविलासबाट टाढा रहनुपर्छ। प्रातःकालमा ब्रुसमन्जन गर्नुहुदैन, बरु नीम, जामुनो वा आपको पात चबाएर कुल्ला गर्नुपर्छ। उता रुखको पात थुत्न, तान्न, टिप्न पनि निषेध गरिएको छ, त्यसैले झरेको पातको सेवन गर्नु उचित हुन्छ। झरेको पात नभेटिदा पानीले बाह्र पटक कुल्ला गर्नुपर्छ । गोभी, गाजर, शलगम, पालक आदि सागको सेवन गर्नुहुदैन र आप, अङ्गुर, केरा, बदाम, काजु आदि अमृतफल ग्रहण गर्नु पर्छ। प्रत्येक वस्तु तुलसीपत्रका साथ प्रभुलाई भोग लगाएर मात्र आफूले सेवन गर्नु पर्छ।

देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ । एकादशी तिथिका इष्ट देवता भगवान् नारायण हुन् । त्यसैले यस दिन व्रत लिने व्रतालुले भगवान् विष्णुको पूजा गर्नुपर्छ। यथासम्भव आफ्ना इष्टदेवताको ११००, ११००० नाम जप पनि श्रेष्ठ प्रयोग मानिन्छ । पूजा स्थलमा अहोरात्र अर्थात दिनरात गरी चौबीस घण्टा घिउको वर्तन गरी अखण्ड बत्ती (दियो) बाल्नुपर्दछ। भजन, कीर्तन, स्तोत्रपाठ, भागवत आदि ग्रन्थको पाठ र भगवान् विष्णुका दिव्य नामको सङ्कीर्तन गर्नुपर्दछ। भगवानका मन्दिरहरूको भ्रमण र दर्शन गर्नुपर्दछ। व्रतका दिन नित्यकर्मको समापन गरी घर नजिकै भगवान् विष्णुको मन्दिर छ भने मन्दिरमा गई अथवा घरकै पूजाकोठामा बसी गीता, भागवत वा विष्णुसम्बद्ध पौराणिक ग्रन्थको पाठ गर्नुपर्छ । आफूलाई पाठ गर्न आउँदैन भने पाठ गर्नसक्ने परिवारको कुनै सदस्य वा गुरुपुरोहितलाई पाठ गर्न लगाई आफूले श्रद्धाभक्तिपूर्वक उक्त पाठ श्रवण गर्नुपर्छ । यति गरेपछि भगवान् नारायणको प्रतिमा, मूर्ति वा फोटोका सामु उभिएर हातमा तिल, कुश र शुद्ध जल लिई प्रतिज्ञा (सङ्कल्प) गर्दै 'आज म दुष्ट स्वभाव भएका चोर, पाखण्डी र दुराचारी मनुष्यसित कुरा गर्ने छैन, कसैको चित्त दुखाउने छैन, गाई, ब्राह्मण, दरिद्र आदिलाई फलाहार र अन्नादि दिएर प्रसन्न तुल्याउने छु, रातमा जागरण बसी भगवानको नाम सङ्कीर्तन गर्नेछु, 'ॐ नमो भगवते वासुदेवाय' यस द्वादशाक्षर मन्त्रको जप गर्नेछु, राम, कृष्ण, नारायण इत्यादि विष्णुका असङ्ख्य दिव्य नामलाई मुखाग्र बनाउने छु' भनी आफूले त्याग्न सक्ने क्रियाकलाप त्याग गर्ने भनी बाचा गर्नुपर्छ । यस्तो सङ्कल्प गरेर भगवान् विष्णुको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ - 'हे त्रिलोकपति ! मेरो प्रतिष्ठा र इज्जत हजुरको हातमा छ, त्यसैले मैले अहिले गरेका सङ्कल्प पूरा गर्ने शक्ति र सामर्थ्य प्रदान गर्नुहवस् । ' यसरी प्रतिज्ञावाक्य (सङ्कल्प) गरेपछि ती कुरालाई जसरी भए पनि पालना गर्नु पर्दछ । यदि बिर्सिएर कुनै प्रतिज्ञा भङ्ग भयो भने पनि त्यस दोषलाई कटाउनका निम्ति भगवान् सूर्यनारायणको दर्शन अथवा भगवान् हरिको पूजा आराधना गरेर क्षमा माग्नु पर्छ । एकादशीका दिन सूक्ष्म जीवजन्तुको हत्या हुने भय हुने भएकाले प्रातःकालबाहेक अन्य समयमा घर बढार्नुहुदैन । यस दिन नङ्ग, केश आदि काट्नु हुन्न । धेरै बोल्नाले दुर्वाच्य बोलिने भय हुन्छ, त्यसैले कमभन्दा कम बोल्नु पर्छ । यस दिन यथाशक्ति दान गर्नु पर्छ तर आफूले दान दिएको वस्तु आफैंकहाँ कुनै हालतमा पनि फिर्ता आउने गरी दान दिनु हुँदैन । असत्यवादन, कुकर्म आदिबाट टाढा हुनु रहनुपर्छ । मैथुन, रिसराग, लोभलालच, तिर्सना, घमण्ड, अनावश्यक फूर्तिफार्ति, पूरा गर्न नकिने कुराकानी, असत्य वादन आदि कर्म गर्नु हुँदैन र यी वृत्तिहरू मनमा आउनसमेत दिनु हुँदैन । व्रतको भोलिपल्ट विष्णु भगवानलाई नैवेद्य समर्पण गरेर व्रतको समापन गर्नुपर्दछ। त्रयोदशी लाग्नु पहिले नै व्रतको पारणा गर्नुपर्छ । एकादशी व्रतको पारणा कुनै ब्राह्मण, दरिद्र वा आवश्यकता हुने व्यक्तिलाई भोजन गराए पछि वा त्यस मात्राको अन्नदान गरेर मात्र गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ, त्यसैले व्रतको समाप्तिमा दीनदुःखी, ब्राह्मण र साधुसन्तलाई भोजन, दक्षिणादि प्रदान गर्नु आवश्यक मानिन्छ । एकादशीको व्रत लिदा यी विधि र नियमलाई पालना गर्ने व्यक्तिले दिव्य फल प्राप्त गर्दछ।

Friday, May 5, 2017

मोहिनी एकादशी

वैशाख महिनाको शुक्ल पक्षमा पर्ने एकादशीलाई मोहिनी एकादशी भन्ने गरिन्छ । पौराणिक ग्रन्थहरूमध्ये ब्रह्मवैवर्त, भविष्योत्तर र पद्मपुराणमा वर्षभरिका विभिन्न व्रत, पर्व र उत्सवको महात्म्य, वैशिष्ट्य र व्रतकथा उल्लेख गरिएको छ । यी पुराणमा पनि मोहिनी एकादशीको व्रतकथा उल्लेख गरिएको छ । यहाँ पद्मपुराणमा उल्लेख भएको कथा उपस्थापन गरिएको छ -

भगवान् श्रीकृष्ण र युधिष्ठिरका बीचमा विभिन्न धर्मकर्म, व्रततीर्थ र महात्म्यको चर्चा चल्दैथियो । यसै प्रसङ्गमा धर्मराज युधिष्ठिरले कृष्णसित सोध्नुभयो - 'हे गोपाल ! वैशाख महिनाको शुक्ल पक्षमा पर्ने एकादशीको नाम के हो ? त्यसको महात्म्य र कथा कस्तो छ ? अनि उक्त व्रतलार्इ कुन विधिको प्रयोग गरी सम्पादन गर्नुपर्छ ?, सो सबै विस्तारपूर्वक बताउनु हवस्' । श्रीकृष्णले उनका जिज्ञासा शान्त तुल्याउँदै भन्न थाल्नुभयो - 'हे धर्मराज ! म यस प्रसङ्गमा एउटा कथा भन्दछु, जसलाई त्रेता युगमा महर्षि वशिष्ठले श्री रामचन्द्रको जिज्ञासा शान्त तुल्याउँदै सुनाउनु भएको थियो ।' एक पटक गुरु वशिष्ठसमक्ष श्रीरामले प्रश्न गर्नु भएको थियो - 'हे गुरुदेव ! कुनै यस्तो व्रतका बारेमा बताउनु हवस्, जसबाट समस्त पाप र दु:ख नष्ट होऊन् । मैले सीताको वियोगमा असाध्यै दु:ख भोगेको छु, त्यस्तो दुःख र पीडा अरु कसैले पनि भोग्नु नपरोस्, त्यस्तै त्यस्तो कुनै व्रतको विधि आज्ञा गर्नुहवस् ।

महर्षि वशिष्ठले आज्ञा गर्नु भयो - 'हे राम ! तपाईले अत्यन्त सुन्दर प्रश्न गर्नु भएको छ । हुन त तपाईंको नामोच्चारण गर्नासाथ मनुष्यले त्रिविध ताप नष्ट गर्नुका साथै यस जन्ममरणको चक्रबाट पार पाउने गर्दछ । तर पनि तपाईंले आफ्नो अत्यन्त शुद्ध, पवित्र र निर्मल बुद्धिको प्रयोग गरी लोकहितका लागि यो प्रश्न गर्नुभएको छ, त्यसैले म यस प्रश्नको उत्तर दिन्छु । वैशाख महिनाको शुक्लपक्षमा जुन एकादशी पर्दछ, त्यसको नाम मोहिनी एकादशी हो । यस एकादशीको व्रत गर्नाले मनुष्यले सबै पाप तथा दु:खबाट मुक्त भई समस्त सांसारिक मोह जालबाट उन्मुक्त हुने अवसर प्राप्त गर्दछ । त्यसैले मोहिनी एकादशीको व्रतलाई नियम, निष्ठा र विधिको पालना गरी लिनु प्रत्येक सांसारिक मनुष्यको कर्तव्य हो । यसको पालना गर्नाले मनुष्यका सबै दुःख, कष्ट र पाप नाश हुन्छन् । अब यस व्रतको महात्म्य र वैशिष्ट्य उजागर हुने व्रतकथा प्रस्तुत गर्दछु, ध्यानपूर्वक सुन्नुहवस् ।

धेरै वर्षपहिले सरस्वती नदीको किनारमा भद्रावती नामको एउटा सुखसुविधा र सौन्दर्यले युक्त नगरी थियो । त्यहाँ द्युतिमान नामक चन्द्रवंशी राजाले राज्य गर्दथे । त्यसै नगरीमा धनधान्य र सुखसम्पत्तिले पूर्ण पुण्यवान् र धार्मिक स्वभावको धनपाल नामक एउटा वैश्य पनि बसोबास गर्दथ्यो । ऊ अत्यन्त धर्मात्मा र विष्णुभक्त थियो। उसले नगरका विभिन्न स्थानमा पाटीपौवा, भोजनालय, धारा, कुवा, सरोवर, धर्मशाला आदिको निर्माण गराएको थियो । त्यस्तै उसले सहरका सडकको किनारामा आँप, जामुनो, नीम आदिका अनेक बृक्ष रोपेको थियो । त्यस वैश्यका पाँच पुत्र थिए - सुमना, सद्बुद्धि, मेधावी, सुकृति र धृष्टबुद्धि । यी मध्ये धृष्टबुद्धि नामको कान्छो छोरो दुष्ट, नीच र पापी थियो । उसले धर्मकर्म, कुल, परम्परा, संस्कृति र पैतृक कर्म भनेको के हो ? चाल पाएको थिएन, त्यसैले ऊ महान् पापी थियो । ऊ वेश्या र दुराचारी मनुष्यको सङ्गतिमा रहेर जुवा खेल्थ्यो । परस्त्रीका साथ भोगविलास गर्थ्यो, मासु-मदिराको सेवन गर्थ्यो । अरुअरु अनेक कुकर्ममा संलग्न रहेर उसले आफ्ना पिताको मानसम्मान, प्रतिष्ठा र धनधान्यको नाश गरिरहेको थियो । ऊ वेश्याहरूसित अङ्गालो हाली खुलेआम घुमफिर गर्दथ्यो । उसका यी लाजमर्दा क्रियाकलापले उसका पिता, दाजुभाइ तथा कुटुम्बहरूले सल्लाह गरी उसलाई  घरबाट निकाली दिए, भातपानीबाट वञ्चित गरियो । यसरी धृष्टबुद्धि निन्दाको पात्र बन्यो । घरबाट बाहिरिएपछि उसले केही समय आफ्ना गहना र कपडा बेचेर निर्वाह गर्यो । उसँग भएका गरगहना र धन सकिएपछि वेश्या र दुष्ट स्वभावका सँगीसाथीहरूले पनि उसको साथ छोडे । अब ऊ धनको अभावमा भोक र प्यासबाट अत्यन्त दु:खित भई भौंतारिन थाल्यो । ऊसँग जीविकाको कुनै अर्को सहारा नभेटिएकाले अब ऊ चोरी गर्न थाल्यो । एक पटक सिपाहीहरूले उसलाई समाते पनि, तर राजाका कर्मचारीहरूले उसलाई इमानदार वैश्यको छोरो ठानेर खासै कारबाही नगरी थुना मुक्त गरे। यसरी सजिलै थुनाभक्त भएपछि उसले चोरी कर्मलाई निरन्तरता दियो । तर जब अर्को पटक पनि ऊ पुनः पकडाउ पर्यो, सामान्य छानबीनपछि उसलाई दण्डित गर्न राजासमक्ष उपस्थित गराईयो । राजाले उसलाई कारागारमा बन्द गरी सजाय दिने आदेश दिए । कारागारमा सिपाहीहरूले उसलाई किसिमकिसिमले यातना दिई यातना दिए । उसले असाध्यै  दु:ख पायो । सजाय समाप्त भएपछि उसलाई देश निकाला गरियो । अन्त्यमा ऊ सहरबाट बाहिरियो र वनमा लुकेर बस्न थाल्यो, प्राण धान्न अब उसले पशुपन्छी मारेर खान थाल्यो ।

केही समय पछि ऊ बाटो ढुकेर यात्रुहरूलाई लुट्ने र जङ्गली जनाबरहरूको हत्या गर्ने नृशंस सिकारी बन्नपुग्यो । ऊ धनुष बाण लिएर पशुपन्छी र वनमा पुगेका स्त्रीपुरुषलाई मार्ने र लुट्ने गरी जीविका चलाउन थाल्यो । एक दिन उसले कुनै सिकार भेटेन । भोक र प्यासबाट आक्रान्त भई आहाराको खोजीमा घुम्दै गर्दा उसले कौडिण्य ऋषिको आश्रममा पुग्यो । आश्रममा भएको धनमाल हडप गरेर भोक टार्ने उसको मनसाय थियो । त्यस समय वैशाख महिना चल्दै थियो र कौडिन्य ऋषि गंगा स्नान गरी फर्कंदै थिए । पवित्र महिना वैशाखमा ऋषिका भिजेका लुगाको छिँटा पर्नाले उसलाई केही सद्बुद्धि प्राप्त भयो । उसका मनमा भएका यावत् कलुषित भावनाहरू नष्ट भए । अब ऊ मुनिसमक्ष हात जोडेर भन्न थाल्यो - हे मुने ! मैले आफ्नो जीवनमा धेरै ठूलाठूला पापकर्म गरेको छु, तपाईंले ती पापहरूबाट मुक्त तुल्याउने सरल र साधारण अनि धनको अभावमा पनि सम्पन्न गर्न सकिने उपाय बताउनु हवस् । त्यसका दीनवचन सुनेर ऋषिले भन्नुभयो - अहिले वैशाख महिना चलिरहेको छ । यस महिनाको शुक्ल पक्षको एकादशीको विशिष्ट महत्त्व छ । त्यसैले तिमीले पनि वैशाख शुक्ल एकादशीको व्रत सम्पादन गर । उक्त एकादशीको नाम मोहिनी हो र यसको शुद्ध भावले पालना गर्दा तिम्रा सम्पूर्ण पाप नष्ट हुनेछन् । मुनिका वचन सुनेर ऊ अत्यन्त प्रसन्न भयो र ऋषिद्वारा बताइएको विधिअनुसार उसले मोहिनी एकादशीको व्रत गर्यो । हे राम ! यस व्रतको प्रभावबाट उसका सबै पाप नष्ट भए र अन्त्यमा ऊ गरुडमा चढेर विष्णुलोक गयो ।

अतः यस व्रतबाट मोह आदि सम्पूर्ण बन्धनहरू नष्ट हुन पुग्छन् । संसारमा यस व्रतभन्दा श्रेष्ठ अन्य कुनै व्रत छैन । यसको माहात्म्य  पढ़दा अथवा सुन्दा पनि एक हजार गोदानको फल प्राप्त हुन्छ ।

Thursday, March 23, 2017

पापमोचिनी एकादशी

प्रत्येक वर्षको चैत्र कृष्ण पक्षको एकादशीलाई पापमोचिनी एकादशी भनिन्छ । पापमोचिनीको अर्थ हुन्छ पापलाई नष्ट गर्ने सामर्थ्य प्राप्त भएको । यस एकादशीको महात्म्य र कथाप्रसंग भिन्नभिन्न पुराणमा बेग्लाबेग्लै किसिमले उल्लेख गरिएको छ । पद्मपुराणमा भगवान् श्री कृष्णले युधिष्ठिरको जिज्ञासा शान्त पार्दै यस एकादशीको व्रत कथा बताउनु भएको छ । युधिष्ठिरले चैत्र वैशाख महिना वसन्त ऋतुको समय हो, यस समयमा कामदेवको प्रबलता बढ्दछ, प्राकृतिक वातावरण पनि कामुकतालाई बढाउने र उत्तेजक बन्न पुग्छ, प्रकृति र इन्द्रियको दास भई वासना र मोहका कारण मनुष्यका कर्तव्य र आचरणमा बाधा उत्पन्न हुने परिस्थिति पनि सिर्जना हुनसक्छ, यसरी नैसर्गिक रुपमा मनुष्य पथभ्रष्ट भई अनेकौं पापको भागी बन्नु पर्छ, यसरी जानी वा नजानी गरेका प्राकृतिक पापको निवारण गर्ने उपाय के छ ? भनी प्रश्न गर्दा भगवान् श्री कृष्णले यस एकादशीको कथा बताउनु भएको हो ।  राजा युधिष्ठिरका यस्ता लोककल्याणकारी जिज्ञासालाई शान्त बनाउँदै भगवान् श्रीकृष्णले आज्ञा गर्नुभयो, हे युधिष्ठिर, तिमीले सोधे झैं नै एक पटक राजा मान्धाताले पनि लोमश ऋषिसित जीवले जानी नजानी गरेको पापकर्मबाट मुक्त हुने उपायका बारेमा प्रश्न गरेका थिए । राजा मान्धाताको प्रश्नको उत्तरमा लोमश ऋषिले राजालाई एउटा कथा सुनाए, त्यही कथा म बताउँदछु ।

हिमालयको एउटा सुरम्य स्थानमा चैत्ररथ नामको सुन्दर वन थियो । त्यहाँ मेधावी नाम गरेका ऋषिपुत्र आफ्नो साधना र लक्ष्य पूर्ण होस् भन्ने उद्देश्यले भगवान् शिवको तपस्यामा लामो समयदेखि लीन थिए । मेधावी च्यवन ऋषिका छोरा थिए, च्यवनले पनि लामो समयसम्म तपस्या गरेका थिए र तपस्यारत रहँदारहँदै धमिराले माटो उठाएर उनको शरीरलाई नै पुरेको थियो, तर ऋषि च्यवनको तपस्याको तेज सूर्यको तेज झैं उनको शरीर पुरिएको माटोको ढिस्को बाहिर निस्केको थियो । उनका पुत्र मेधावीको साधना पनि पिता च्यवनभन्दा कम थिएन । कुनै ऋषिले घोर तपस्या गरी साधना गर्यो भने स्वर्गका राजा इन्द्रलाई आफ्नो पद र सुविधा हरण गर्छन् भन्ने चिन्ता बढ्थ्यो र कुनै पनि वाहना बनाई ऋषिको साधनामा विघ्न पुर्याउने दाउमा इन्द्र लाग्दथे । यस पटक मेधावीको साधनामा भाँजो हाल्न इन्द्रले आफ्नो सभामा रहेका अप्सरामध्ये मञ्जुघोषालाई खटाए । अप्सराको हाउभाउ र कटाक्षलाई साथ दिन कामदेव खटे । भर्खर तरुणावस्थामा प्रवेश गर्न लागेका ऋषिपुत्र, वनको सुरम्य स्थल, वसन्त ऋतुको मनमोहक वातावरण, कामदेवको उपस्थिति र मञ्जुघोषा अप्सरा गायन, नृत्य, भावभङ्गिमा आदिका सामु मेधावीको केही लागेन । उनी अप्सराको ईशारामा नाच्नथाले । आफ्ना कामकर्तव्य र लक्ष्यउद्देश्य सबै बिर्सिए । एक वर्षसम्म अप्सरालाई भोग गरेपछि ऋषिपुत्र झल्याँस्स ब्युँझिए । आफ्नो लक्ष्यमा विचलन आएकोमा उनलाई हीनताबोध भयो । दिक्क माने, घोरिए, निराश भए अनि पथभ्रष्ट भएको कारण खोज्दै जाँदा अप्सरालाई दोषी ठहर्याए र क्रोधित हुँदै तुरुन्त श्राप दिइहाले, हे मञ्जुघोषे, तैंले मेरो सिद्धि र साधनाको मार्गमा अवरोध सिर्जना गरिस्, त्यसैले तैंले तुरुन्त पिशाचिनी बन्नु परोस् । ऋषिको तपस्याको सबै पुण्य समाप्त भैसकेको थिएन । उनको श्राप लाग्न सक्थ्यो, त्यसैले श्राप पाएकोमा अत्तालिंदै र दुःखित हुँदै मञ्जुघोषा ऋषिका गोडामा परिन् र आफ्नो कुनै गल्ती नभएको एवं राजा इन्द्रकी दासी भएकाले स्वामी इन्द्रको आदेश पालना गर्ने क्रममा आफूले गल्ती गर्नु परेको तथ्य बताउँदै मुक्ति पाउन अनुनय विनय गरिन् । त्यसपछि अप्सरामात्र होइन, आफ्नो क्रियाकलाप पनि त अप्सरालाई सहयोग गर्ने खालको रहेको अनुभूति गर्दै मेधावीले अप्सरालाई क्षमा गरे र दिएको श्रापबाट उम्कनका लागि विधिपूर्वक चैत्र कृष्ण एकादशीको व्रतको पालना गर्नुपर्ने बताए । एक संवत्सरसम्म वासना र भोगमा निमग्न भएका कारण ऋषिको तेज पनि लोपोन्मुख थियो, त्यसैले ऋषिले पनि यस एकादशीको उपवास गरे । यसरी चैत्र महिनाको कृष्णपक्षमा पर्ने एकादशीको व्रत र उपवास निष्ठापूर्वक गर्नाले ऋषिपुत्र मेधावी र मञ्जुघोषा अप्सरा दुबै जनाको पाप नष्ट भयो । व्रतको प्रभावले अप्सरा अझ सुन्दरी र लोभलाग्दी बनेर इन्द्रको सभामा फिर्ता गईन्, ऋषिपुत्र मेधावी पुनः साधना र तपस्यामा लीन भए । यसरी जानीनजानी गरेका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यका कारण उत्पन्न हुने यावत् पापराशिलाई निवारण गर्न सक्ने भएकाले यस एकादशीको नाम नै पापमोचिनी एकादशी रहन गयो । 

यस व्रतलाई के कसरी पालना गर्न सकिन्छ भन्ने विषयमा भविष्योत्तर पुराणमा वर्णन गरिएको छ । यस व्रतमा भगवान विष्णुको चतुर्भुज रूपको पूजा गर्नुपर्छ, व्रत लिने व्रतालुले अघिल्लो दिनदेखि नै एक पटक मात्र सात्विक भोजन गर्नुपर्छ र मनबाट भोगविलासको भावनालाई त्यागेर हरिमा मन लगाउनु पर्छ । एकादशीका दिन सूर्योदय कालमा स्नान गरेर व्रतको सङ्कल्प गर्नुपर्छ । त्यसपछि षोडशोपचार विधिले लक्ष्मीसहित भगवान् विष्णुको पूजा गर्नुपर्छ । पूजापछि लक्ष्मीनारायणको चित्र ला प्रतिमासामु बसेर भगवानका दिव्यनामको सङ्कीर्तन, कथाप्रसङ्ग र श्रीमद्भागवतका कथाको पाठ अथवा श्रवण गर्नुपर्छ । एकादशी तिथिका दिन जागरण गर्नाले व्रतको फल अझ धेरै पाइन्छ, त्यसैले सम्भवभएसम्म रात्रिकालमा पनि निराहार रही भजनकीर्तन गर्दै जागरण गर्नुपर्छ । द्वादशीका दिन प्रातःकालमा स्नानादि नित्यकर्म गरी लक्ष्मीनारायणको विधिपूर्वक पूजा गरी ब्राह्मणलाई भोजन गराई दक्षिणा सहित विदा गर्नुपर्छ र आफूले पनि भोजनादि गर्नुपर्छ।

कसरी लिने एकादशीको व्रत ?

एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ,आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ-

स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी ॥
न गङ्गा न गया राजन् न च काशी च पुष्करम्।
न चापि कौरवं क्षेत्रं पुण्यं भूप हरेर्दिनात् ॥

अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो। हे राजन् ! गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन। यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ। अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ। यस्ता पवित्रतम स्थानहरूमध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ। अतः एकादशीको दिन कतिसम्म पवित्र रहेछ हामी अनुमान गर्न सक्दछौं। सङ्क्षेपमा यी उद्धृत श्लोकबाट के स्पष्ट हुन्छ भने एकादशीको व्रत लिनाले मात्र लौकिक तथा पारमार्थिक दुबै किसिमका शुभ फलहरू सजिलै प्राप्त हुन्छन्। एकादशीको व्रत सनातन धर्मको आफ्नै विशिष्टता हो। हामीले पनि यसका पौराणिक पक्षमा विचार गर्नुपर्छ र त्यसका वैज्ञानिक, व्यावहारिक र स्वास्थ्यसम्बद्ध पक्षउपर पनि।

कूर्मपुराणको मत-
व्रतोपवासैर्नियमैः होमैः ब्राह्मणतर्पणैः। तेषां वै रूद्रसायुज्यं जायते तत्प्रसादतः।
अर्थात व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ।

श्रीमद्भगद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरू भगवान श्रीकृष्णको देशना छ-
यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत्।
अर्थात यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुन्न।

शास्त्रमा तपअंतर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ।  एकादशी व्रतको प्रारम्भ कसरी भयो? भगवती एकादशीको हुन, यस सम्बन्धमा पद्म पुराणमा के कथा छ भने एकपटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्ति दिलाउन, हजारौ यज्ञको अनुष्ठानको तुलना गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका निम्ति निर्देशन दिनुभएको थियो।

एकादशीका प्रकार
प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्। जब एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन्।
एकादशीको व्रत प्रत्येक महिनामा पर्ने दुबै पक्षको एकादशी तिथिका दिन सम्पादन गरिन्छ। यस व्रतलाई महाव्रत पनि भनिन्छ।

‘एकादशी’ तिथिको शास्त्रीय महत्त्व
सनातन हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चाङ्गबमोजिम प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौं तिथिलाई एकादशी भन्दछन्। यो तिथि भगवान् श्रीविष्णुको प्रिय तिथि हो। एकादशीको 'हरिदिवस' र 'हरिवासर' पनि भन्दछन्। अन्य व्रत र उत्सवका तुलनामा एकादशीको महत्त्व बढी हुनुमा विभिन्न कारण छन्, ती यस प्रकार छन्-
अ. वातावरणमा विष्णुतत्त्वको स्पन्दन बढी मात्रामा हुनु।
आ. समस्त प्राणिहरूमा अधिकतम सात्त्विकताको मात्रा विद्यमान रहनु।
इ. शरीरमा विद्यमान चैतन्यको गति 'ऊर्ध्व' अर्थात् माथिल्तिर प्रवाहित हुनु।
ई. व्रत सम्पादन गर्न सजिलो हुनु।
उ. व्रत सम्पादन गर्नाले अन्य व्रतको तुलनामा अत्यधिक प्रतिफल प्राप्त हुनु।

'एकादशी' व्रतको महत्त्व
एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौ, दसै इंद्रिय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छौ। एकादशी तिथिको जति महत्त्व छ, त्यत्तिकै महत्त्वपूर्ण एकादशीको व्रतको पनि छ। एउटा वर्षचक्रभरि पर्ने एकादशीको व्रत लिनाले अनेकानेक व्रतसम्पादन र तीर्थावलोकनको फलप्राप्ति हुन्छ। पद्मपुराणमा एकादशीको व्रतको महत्त्वलाई यसरी दर्शाइएको छ-

अश्वमेधसहस्राणि राजसूयशतानि च । एकादश्युपवासस्य कलां नार्हन्ति षोडशीम् ।।
यसको अर्थ हो- हजारौं अश्वमेध यज्ञ र सयकडौं राजसूय यज्ञको महत्त्व एकादशी व्रतको सोह्रभागको एक भाग जति पनि हुँदैन। प्राचीन मापन पद्धतिअनुसार सोह्र कला अर्थात् कुनै पूर्ण वस्तुको सोह्र भागको एक भाग। हिजोआज प्रचलनमा रहेको प्रतिशत मापन पद्धतिअनुसार लगभग ६ प्रतिशत । एकादशी व्रतको एउटा अर्को पनि महत्त्व छ, त्यो के हो भने अन्य समस्त व्रत सङ्कल्प गरेपछि प्रारम्भ हुन्छन् र सङ्कल्प गरेरमात्र समाप्त हुन्छन्। यहाँ सङ्कल्प भन्नाले एक किसिमको प्रतिज्ञा भन्ने अर्थमा लिइन्छ। मनैले उच्चारण गरी कुश र पानी समातेर वाचा गर्नुलाई धार्मिक सन्दर्भमा सङ्कल्प भनिन्छ। प्रत्येक व्रतको सुरुमा र अन्त्यमा सङ्कल्प गर्ने विधान छ, यसो नगरे सम्बद्ध व्रत निष्फल हुन्छ, तर एकादशी व्रत लिनका निमित्त सङ्कल्प गरिरहनु पर्दैन। यसबाट एकादशी एउटा यस्तो व्रतका रूपमा स्थपित भएको प्रमाणित हुन्छ जसले बिनासङ्कल्प मनुष्यलाई भुक्ति, मुक्ति आदि समस्त फल प्रदान गर्ने सामर्थ्य राख्दछ।

एकादशीका प्रकार
प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्। जब एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन्।

वर्षभरिका एकादशीका नाम
* चैत्रमास - पापमोचनी एवं कामदा एकादशी।
* वैशाख मास - वरुथिनी एवं मोहिनी एकादशी।
* ज्येष्ठ मास - अपरा एवं निर्जला (भीमसेनी) एकादशी।
* आषाढ़ मास - योगिनी एवं शयनी एकादशी।
* श्रावण मास - कामिका एवं पुत्रदा एकादशी।
* भाद्रपद मास - अजा एवं पद्मा एकादशी।
* अश्विन मास - इंदिरा एवं पापांकुशा एकादशी।
* कार्तिक मास - रमा एवं प्रबोधिनी एकादशी।
* मार्गशीर्ष - मोक्षदा एकादशी, उत्पत्ति नामक एकादशी।
* पौष मास - सफला एवं पुत्रदा एकादशी।
* माघ मास - षट्तिला एवं जया एकादशी।
* फाल्गुन मास - विजया तथा आमलकी एकादशी।
* पुरुषोत्तम वा अधिकमास - पद्मिनी(कमला) एवं परमा(कामदा)एकादशी।

एकादशी व्रत सम्पादन गर्ने विधान
सनातन हिन्दूधर्मका पुराणादि शास्त्रमा वर्षभरिमा पर्ने सबै एकादशीको व्रत र उपवास गर्नु राम्रो हो भनिएको छ । सबै एकादशीको व्रतोपवास गर्न कठिनाइ उत्पन्न भएमा प्रत्येक महिनामा कम्तीमा एउटा अर्थात् शुक्ल पक्षमा पर्ने एकादशीको व्रत भए पनि लिनु जाति हुन्छ बताइएको छ । त्यत्ति पनि गर्न सकिंदैन भने चौमासा अर्थात् चतुर्मास भरिमा आउने आषाढ शुक्ल एकादशीदेखि कार्त्तिक शुक्ल एकादशीसम्मका सबै एकादशीको व्रत गर्नु वाञ्छनीय छ भनी उल्लेख गरिएको पाइन्छ । यत्ति पनि व्रत लिन अप्ठ्यारो वा असहज छ भने वर्षमा कम्तीमा दुईवटा आषाढ शुक्ल पक्ष (हरिशयनी) र कार्त्तिक शुक्ल पक्ष (हरिबोधिनी) मा पर्ने एकादशीको  व्रत चाँहि अवश्य लिनु पर्दछ भन्ने मान्यता छ ।

एकादशीका दिन सकेसम्म अहोरात्र (२४ घण्टाको अवधि, दिनरात) पानीसमेत नखाई व्रतसम्पादन गर्नु पर्ने खास नियम हो । तर सबै वस्तु त्याग्दा शरीरमा कमजोरी उत्पन्न भई व्रतपालनामा विघ्न आउने भएकाले उक्त दिन पानी, दुध, सक्खर, सर्वत आदि ग्रहण गर्न सकिन्छ, तर अन्नादि ग्रहण गर्नु हुँदैन भन्ने हाम्रो सामाजिक परम्परा छ । व्रत भनेको त्याग हो, यसको अर्थ खानेकुरा मात्र त्याग्नु व्रत होइन, यस त्यागको अर्थ तपार्इंको शरीरमा भएका सबै किसिमका भोगवृत्तिलाई त्याग्नु भन्ने हो । मानिसका शरीरमा काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य नामका भावहरू विद्यमान हुन्छन् । यिनै भावका अधीनमा रही मानिसमा अनेकानेक भोगवृत्ति सिर्जना हुन्छन् । यी छ वटा भावहरूलाई शास्त्रले षड्रिपु अर्थात् छ जना शत्रुहरूको समूह भनेको पाइन्छ । त्यसैले केवल अन्नादिमात्र त्यागेर व्रत पूर्ण हुँदैन । अतः उमेर, रोग आदिका कारण भोकै बस्न नसक्ने परिस्थिति छ भने एकादशीका दिन केवल चामल मात्र नखाने गरेमा पनि व्रत लिनु पर्दछ, तर काम, क्रोधादि वृत्तिहरूलाई अनिवार्य रूपमा दमन गर्न सक्नुपर्दछ । व्रतको अवधिमा बिर्सिएर पनि रिसाउनु हुदैन। रिस चाण्डालको रूप हो जबकि तपाई देवतास्वरूप भएकाले सन्तोष गर्नुपर्छ, दयाभाव लिनु पर्छ, सुमधुर वचन बोल्नुपर्छ। एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नु हुँदैन। पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्छ तथा भोगविलासबाट टाढा रहनुपर्छ। प्रातःकालमा ब्रुसमन्जन गर्नुहुदैन, बरु नीम, जामुनो वा आपको पात चबाएर कुल्ला गर्नुपर्छ। उता रुखको पात थुत्न, तान्न, टिप्न पनि निषेध गरिएको छ, त्यसैले झरेको पातको सेवन गर्नु उचित हुन्छ। झरेको पात नभेटिदा पानीले बाह्र पटक कुल्ला गर्नुपर्छ । गोभी, गाजर, शलगम, पालक आदि सागको सेवन गर्नुहुदैन र आप, अङ्गुर, केरा, बदाम, काजु आदि अमृतफल ग्रहण गर्नु पर्छ। प्रत्येक वस्तु तुलसीपत्रका साथ प्रभुलाई भोग लगाएर मात्र आफूले सेवन गर्नु पर्छ।

देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ । एकादशी तिथिका इष्ट देवता भगवान् नारायण हुन् । त्यसैले यस दिन व्रत लिने व्रतालुले भगवान् विष्णुको पूजा गर्नुपर्छ। यथासम्भव आफ्ना इष्टदेवताको ११००, ११००० नाम जप पनि श्रेष्ठ प्रयोग मानिन्छ । पूजा स्थलमा अहोरात्र अर्थात दिनरात गरी चौबीस घण्टा घिउको वर्तन गरी अखण्ड बत्ती (दियो) बाल्नुपर्दछ। भजन, कीर्तन, स्तोत्रपाठ, भागवत आदि ग्रन्थको पाठ र भगवान् विष्णुका दिव्य नामको सङ्कीर्तन गर्नुपर्दछ। भगवानका मन्दिरहरूको भ्रमण र दर्शन गर्नुपर्दछ। व्रतका दिन नित्यकर्मको समापन गरी घर नजिकै भगवान् विष्णुको मन्दिर छ भने मन्दिरमा गई अथवा घरकै पूजाकोठामा बसी गीता, भागवत वा विष्णुसम्बद्ध पौराणिक ग्रन्थको पाठ गर्नुपर्छ । आफूलाई पाठ गर्न आउँदैन भने पाठ गर्नसक्ने परिवारको कुनै सदस्य वा गुरुपुरोहितलाई पाठ गर्न लगाई आफूले श्रद्धाभक्तिपूर्वक उक्त पाठ श्रवण गर्नुपर्छ । यति गरेपछि भगवान् नारायणको प्रतिमा, मूर्ति वा फोटोका सामु उभिएर हातमा तिल, कुश र शुद्ध जल लिई प्रतिज्ञा (सङ्कल्प) गर्दै 'आज म दुष्ट स्वभाव भएका चोर, पाखण्डी र दुराचारी मनुष्यसित कुरा गर्ने छैन, कसैको चित्त दुखाउने छैन, गाई, ब्राह्मण, दरिद्र आदिलाई फलाहार र अन्नादि दिएर प्रसन्न तुल्याउने छु, रातमा जागरण बसी भगवानको नाम सङ्कीर्तन गर्नेछु, 'ॐ नमो भगवते वासुदेवाय' यस द्वादशाक्षर मन्त्रको जप गर्नेछु, राम, कृष्ण, नारायण इत्यादि विष्णुका असङ्ख्य दिव्य नामलाई मुखाग्र बनाउने छु' भनी आफूले त्याग्न सक्ने क्रियाकलाप त्याग गर्ने भनी बाचा गर्नुपर्छ । यस्तो सङ्कल्प गरेर भगवान् विष्णुको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ - 'हे त्रिलोकपति ! मेरो प्रतिष्ठा र इज्जत हजुरको हातमा छ, त्यसैले मैले अहिले गरेका सङ्कल्प पूरा गर्ने शक्ति र सामर्थ्य प्रदान गर्नुहवस् । ' यसरी प्रतिज्ञावाक्य (सङ्कल्प) गरेपछि ती कुरालाई जसरी भए पनि पालना गर्नु पर्दछ । यदि बिर्सिएर कुनै प्रतिज्ञा भङ्ग भयो भने पनि त्यस दोषलाई कटाउनका निम्ति भगवान् सूर्यनारायणको दर्शन अथवा भगवान् हरिको पूजा आराधना गरेर क्षमा माग्नु पर्छ । एकादशीका दिन सूक्ष्म जीवजन्तुको हत्या हुने भय हुने भएकाले प्रातःकालबाहेक अन्य समयमा घर बढार्नुहुदैन । यस दिन नङ्ग, केश आदि काट्नु हुन्न । धेरै बोल्नाले दुर्वाच्य बोलिने भय हुन्छ, त्यसैले कमभन्दा कम बोल्नु पर्छ । यस दिन यथाशक्ति दान गर्नु पर्छ तर आफूले दान दिएको वस्तु आफैंकहाँ कुनै हालतमा पनि फिर्ता आउने गरी दान दिनु हुँदैन । असत्यवादन, कुकर्म आदिबाट टाढा हुनु रहनुपर्छ । मैथुन, रिसराग, लोभलालच, तिर्सना, घमण्ड, अनावश्यक फूर्तिफार्ति, पूरा गर्न नकिने कुराकानी, असत्य वादन आदि कर्म गर्नु हुँदैन र यी वृत्तिहरू मनमा आउनसमेत दिनु हुँदैन । व्रतको भोलिपल्ट विष्णु भगवानलाई नैवेद्य समर्पण गरेर व्रतको समापन गर्नुपर्दछ। त्रयोदशी लाग्नु पहिले नै व्रतको पारणा गर्नुपर्छ । एकादशी व्रतको पारणा कुनै ब्राह्मण, दरिद्र वा आवश्यकता हुने व्यक्तिलाई भोजन गराए पछि वा त्यस मात्राको अन्नदान गरेर मात्र गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ, त्यसैले व्रतको समाप्तिमा दीनदुःखी, ब्राह्मण र साधुसन्तलाई भोजन, दक्षिणादि प्रदान गर्नु आवश्यक मानिन्छ । एकादशीको व्रत लिदा यी विधि र नियमलाई पालना गर्ने व्यक्तिले दिव्य फल प्राप्त गर्दछ।

Sunday, January 22, 2017

षट्तिला एकादशीको व्रतकथा र महात्म्य

नारद मुनि त्रिलोकको भ्रमण गर्दै भगवान विष्णुको धाम वैकुण्ठ पुगे। त्यहां पुगेर उनले वैकुण्ठपतिलाई प्रणाम गर्दै उनीसित आफ्नो जिज्ञासा व्यक्त गर्दै प्रश्न गरे- प्रभु ! षट्तिला एकादशीको कथा कस्तो छ र यस एकादशीको व्रत लिदा केकस्तो पुण्य प्राप्त हुन्छ?

देवर्षिद्वारा विनित भावले यसरी प्रश्न सोधिए पछि लक्ष्मीपति भगवान विष्णुले आज्ञा गर्नुभयो- प्राचीन कालमा पृथ्वीमा एउटी ब्राह्मणी बस्दथिइन। ब्राह्मणीको मप्रति असाध्यै श्रद्धा एवं भक्ति थियो । तिनले मेरा निमित्त सम्पूर्ण व्रत लिने गर्थिन। एक पटक तिनले एक महिनासम्म व्रत बसेर मेरो आराधना गरिन्। व्रतको प्रभावले स्त्रीको शरीर त शुद्ध भयो तर तिनले कहिल्यै पनि ब्राह्मण एवं देवताका निम्ति अन्न दान गर्दिनथिन अत: मैंने विचार गरे यी महिला बैकुण्ठमा बसेर पनि अतृप्त नै रहनेछिन, त्यसैले म स्वयं एक दिन भिक्षा ग्रहण गर्न जानु पर्यो। मैले ती वृद्धा ब्राह्मणीका घरमा पुगेर भिक्षाको याचना गरे, अनि उनले एउटा माटोको डल्लो उठाएर मेरा हातमा राखिन। म त्यो डल्लो लिएर आफ्ना धाममा फर्किए। केही समय पछि ती स्त्री पनि देह त्याग गरी मेरा लोकमा आइन। यहां उनाले एउटा एक कुटी र आपको रुख प्राप्त गरिन्। खाली कुटीलाई देखेर ती महिला अत्तालिदै म सामु आइन र भनिन- म त धर्मपरायण छु, अनि मेरा भागमा चाहि किन खाली कुटी प्राप्त भएको हो प्रभु ! अनि मैले उसलाई बताए कि यो अन्नदान नगरेकाले तथा मलाई माटोको डल्लो दिएको परिणाम हो। त्यसपछि मैंले त्यस ब्राह्मणीलाई भने- जब देव कन्याहरू तिमीलाई भेट्न आउनेछन त्यस बेला आफ्नो कुटिको दैलो खुल्ला राख्नू, उनीहरूले तिमीलाई षट्तिला एकादशीको व्रतको विधान बताउनेछन। स्त्रीले त्यसै गरिन् र जुन विधि देवकन्याले बताए त्यस विधिले ती ब्राह्मणीले षट्तिला एकादशीको व्रत लिइन। व्रतको प्रभावले उसको कुटी अन्नधनले भरिपूर्ण भयो। त्यसैले हे नारद ! जो व्यक्तिले यस एकादशीको व्रत लिन्छ र तिल एवं अन्न दान गर्दछ त्यसलाई मुक्ति र वैभव प्राप्ति हुने गर्दछ।

व्रतविधानका सम्बन्धमा जुन विषयवस्तु पुलस्य ऋषिले दलभ्य ऋषिलाई बताएकाथिए त्यो यहां प्रस्तुत गरिन्छ। ऋषि भन्दछन- माघको महिना पवित्र र पावन मानिन्छ, यस महिनामा व्रत र तपको ठूलो महत्व छ। यस महिनामा कृष्णपक्षमा आउने एकादशीलाई षट्तिला भन्दछन। षट्तिला एकादशीका दिन मनुष्यले भगवान विष्णुका निमित्त व्रत लिनुपर्छ। व्रत लिने व्यक्तिले गंध, पुष्प, धूप, दीप, ताम्बूल सहित विष्णु भगवानको षोड्षोपचार विधिले पूजा गर्नुपर्छ। मास र तिल मिश्रित खिचड़ी पकाएर भगवानलाई लगाउनु पर्छ। रात्रिको समयमा तिलले १०८ पटक "ॐ नमो भगवते वासुदेवाय स्वाहा" यस मंत्रले हवन गर्नु पर्छ। यस एकादशीको व्रतमा तिललाई ६ किसिमले उपयोग गर्नु उत्तम फलदायी मानिएको छ। जुन व्यक्तिले जति किसिमले तिलको उपयोग गर्दछ त्यसलाई त्यति हज़ार वर्ष स्वर्गप्राप्ति हुन्छ। ऋषिवरले जुन ६ किसिमको उपयोग बतौनु भएको छ त्यो यस प्रकार छ-

१. तिलमिश्रित जलले स्नान गर्नु,
२. तिलले शरीरको मालिश गर्नु,
3. तिलको तिलक लगाउनु,
४. तिलमिश्रित जल-पान गर्नु,
५. तिलको भोजन र
६. तिलद्वारा हवन।

यी वस्तुलाई आफूले स्वयं ग्रहण र उपयोग त गर्नै पर्छ तथा कुनै श्रेष्ठ ब्राह्मणलाई बोलाएर उनलाई पनि यी वस्तु उपभोग हुने गरी दानादि गर्नुपर्छ। यस प्रकार जसले षट्तिला एकादशीको व्रत लिन्छ, भगवानले उसलाई अज्ञानतापूर्वक गरेभएका सम्पूर्ण अपराधबाट मुक्त बनाई दिनुहुन्छ र पुण्य प्रदान गरेर स्वर्गमा स्थान प्रदान गर्नुहुन्छ। यस कथनलाई सत्य मानेर जो भगवद्भक्तले यो व्रत विधिवत लिन्छ त्यसको प्रभुले निश्चय नै उद्धार गर्नुहुन्छ ।

Thursday, November 24, 2016

उत्पत्तिका एकादशी व्रतको व्रतकथा

मंसिर महिनाको कृष्णपक्षमा एकादशीको उत्पत्ति भएको हुनाले यस व्रतको अनुष्ठानको प्रारम्भ यसै दिनबाट गर्नुपर्दछ।

पद्मपुराणमा उत्पत्तिका एकादशीको महात्म्यको चर्चा गरिएको छ । एउटा प्रसङ्गमा पाण्डुपुत्र धर्मराज युधिष्ठिरले एकादशी तिथिको उत्पत्ति र महत्त्वका बारेमा केही बताउन अनुरोध गरेपछि भगवान् श्रीकृष्णले यस व्रतको व्रतकथा र महत्त्वका बारेमा बताउनु भएको हो । सत्ययुगमा एउटा मुर नामक भयङ्कर पराक्रमी दानव थियो । उसले स्वर्गका राजा इन्द्रलाई पराजित गरी स्वर्गमाथि कब्जा गरेको थियो । स्वर्गको सुखवैभव र भोगविलासमाथि राक्षसहरूको आधिपत्य स्थापना भएपछि देवताहरूले वनजङ्गलमा भौंतारिएर अनेकानेक दुःख र कष्ट भोग्नुपर्यो । आफूले पाएको दुःख र कष्टको निवारणका लागि देवताहरू देवाधिदेव महादेवको शरणमा गए । महादेवले उक्त समस्याको समाधान गर्न भगवान् विष्णुको शरणमा जानुपर्ने सल्लाह दिनुभयो । त्यसपछि देवगणलाई साथमा लिई महादेव स्वयं अघि लागि क्षीरसागर जानुभयो । त्यहाँ शेषनागको शय्यामा योगनिद्रामा लीन हुनु भएका भगवान् विष्णुको वन्दना गर्दै विष्णुलाई प्रसन्न तुल्याउन महादेव लगायत इन्द्रादि सबै देवताहरूले स्तुति गरे । देवताहरूको स्तुतिबाट प्रसन्न हुँदै भगवान श्रीहरिले त्यस अत्याचारी दैत्यउपर आक्रमण गरी देवताहरूको सङ्कट हरण गर्ने वाचा गर्नुभयो ।

उचित समय आएपछि दानव मुर र भगवान् नारायणका बीचमा भीषण युद्ध भयो । युद्धका क्रममा मुर दैत्यको पक्षबाट युद्ध लड्न आएका असङ्ख्य राक्षसहरू मारिए । बल र सामर्थ्यमा कमी आएपनि मुर दैत्य सकुशल युद्ध लडिरहेको थियो । लामो समयसम्म युद्ध गर्नु परेकाले थकाइ लागेकाले र मुर दैत्यको शक्तिमा कमी आएको छ भन्ने ठानेर भगवान् नारायण युद्ध त्यागेर बदरिकाश्रम जानुभयो र त्यहाँ अवस्थित बाह्र योजन लामो सिंहावती गुफामा गएर फेरि सुत्नुभयो, अनि केही समयमैं निद्रालीन हुनुभयो । दानव मुरले भगवान् विष्णुको खोजी गर्यो र सिंहावती गुफामा गएर सुत्नुभएको कुरो चाल पायो । त्यसपछि निदाएकै वेलामा मार्न सजिलो हुन्छ भन्ने उद्देश्यले ऊ त्यहाँ पुग्यो । गुफामा उसले प्रवेश गर्नासाथ श्रीहरिको शरीरबाट रूप र लावण्यले युक्त एउटी झल्झलाकार स्वरूपकी अत्यन्त सुन्दर कन्या उत्पन्न भईन् । उनी दिव्य अस्त्र-शस्त्रले युक्त थिईन् । ती कन्या नै एकादशी थिईन् । ती कन्याले गुफामा पस्दै गरेको दैत्यलाई देखेर को हो ? भनी ठूलो हुङ्कार गरिन् । उनको हुङ्कार सुन्नासाथ मुर राक्षसको सातोपुत्लो उड्यो र उसका प्राणपखेरु उडे । यसरी केवल एकादशीको हुङ्कारले मात्र दानव मुरको अन्त्य भयो र ऊ डढेर खरानी भयो ।

केही समयपछि भगवान् नारायण निद्राबाट जागा हुनुभयो । ब्युँझदा केही समयअघिसम्म आफूसित युद्ध गरिरहेको मुर दैत्यको मृत शरीर नारायणले देख्नुभयो र छक्क पर्नुभयो । आफू नजिकै यसभन्दा पहिले कहिल्यै नदेखिएकी एउटी कन्यालाई देखेर भगवान् विष्णुलाई झन् अचम्म लाग्यो । भगवानले उनलाई यो परिस्थिति कसरी सिर्जना भयो भनी प्रश्न गर्नुभयो । ती कन्याले भगवानलाई आतातायी मुर दैत्यको बध आफूले गरेको कुरा बताईन्, साथै आफू उत्पत्ति भएको प्रसङ्ग पनि सुनाईन् । आफ्नै शरीरबाट उत्पत्ति भएकी एकादशीको यस्तो अद्भूत पराक्रम थाहा पाएर भगवान् प्रसन्न हुनुभयो । उहाँले तिनलाई पन्ध्रवटा तिथिमध्ये एउटा तिथिका रूपमा प्रतिष्ठित हुने वरदान प्रदान गर्नुभयो र मनोवाञ्छित वरदान दिई आफ्नो प्रिय तिथिका रूपमा रहने बताउनु भयो ।

भगवान् श्रीहरिद्वारा अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भईन् । यसरी एकादशीले भगवान् विष्णुसित वरदान प्राप्त गरेको हुँदा भगवान् विष्णुको उपासनाका लागि यो तिथिलाई व्रत र उपासनाको दिन तोकिएको हो । जुन मनुष्यले जीवनपर्यन्त एकादशीका दिन श्रद्धा र भक्तिका साथमा व्रत र उपासना गर्दछ, उसले सांसारिक जीवनका यावत् सुखसौभाग्यको भोग गरी मरणोपरान्त वैकुण्ठधाम प्राप्त गर्दछ । वास्तवमा एकादशीसमान अरु कुनै पापनाशक व्रत छैन । व्रत लिन नसके पनि एकादशीको माहात्म्य र कथा सुन्नाले मात्र पनि एकहजार गोदानको पुण्यफल प्राप्त हुन्छ । एकादशीमा उपवास गरेर रात्रिको समयमा जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागिदार हुन पाउँछ । उपवास गर्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नादिको परित्याग गर्नु आवश्यक मानिन्छ, किनभने एकादशीमा अन्नसेवन गर्नाले पुण्य नाश हुन्छ भन्ने गरिन्छ । सबै किसिमका अन्नको त्याग गर्न असम्भव छ भने पनि यस दिन चामल र चामलबाट बनेको परिकारहरू खानु हुँदैन । नत्र ठूलो दोष लाग्छ । यस व्रतले सबै चराचर जगतको कल्याण गर्ने भएकाले यो व्रत समस्त प्राणिहरूका लागि अनिवार्यसमेत मानिएको छ । श्रीहरिः ।।

कसरी लिने एकादशीको व्रत ?

एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ,आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ-

स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी ॥
न गङ्गा न गया राजन् न च काशी च पुष्करम्।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात् ॥

अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो। हे राजन् ! गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन। यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ। अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ। यस्ता पवित्रतम स्थानहरू मध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ। अतः एकादशीको दिन कतिसम्म पवित्र रहेछ हामी अनुमान गर्न सक्दछौं। सङ्क्षेपमा यी उद्धृत श्लोकबाट के स्पष्ट हुन्छ भने एकादशीको व्रत लिनाले मात्र लौकिक तथा पारमार्थिक दुबै किसिमका शुभ फलहरू सजिलै प्राप्त हुन्छन्। एकादशीको व्रत सनातन धर्मको आफ्नै विशिष्टता हो। हामीले पनि यसका पौराणिक पक्षमा विचार गर्नुपर्छ र त्यसका वैज्ञानिक, व्यावहारिक र स्वास्थ्यसम्बद्ध पक्षउपर पनि।

कूर्मपुराणको मत-
व्रतोपवासैर्नियमैः होमैः, ब्राह्मणतर्पणैः। तेषां वै रूद्रसायुज्यं, जायते तत्प्रसादतः।
अर्थात व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ।

श्रीमद्भगद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरू भगवान श्रीकृष्णको देशना छ-
यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत्।
अर्थात यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुन्न।

शास्त्रमा तपअंतर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ।  एकादशी व्रतको प्रारम्भ कसरी भयो? भगवती एकादशीको हुन, यस सम्बन्धमा पद्म पुराणमा के कथा छ भने एकपटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्ति दिलाउन, हजारौ यज्ञको अनुष्ठानको तुलना गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका निम्ति निर्देशन दिनुभएको थियो।

एकादशीका प्रकार
प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्। जब एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन्।
एकादशीको व्रत प्रत्येक महिनामा पर्ने दुबै पक्षको एकादशी तिथिका दिन सम्पादन गरिन्छ। यस व्रतलाई महाव्रत पनि भनिन्छ।

‘एकादशी’ तिथिको शास्त्रीय महत्त्व
सनातन हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चाङ्गबमोजिम प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौं तिथिलाई एकादशी भन्दछन्। यो तिथि भगवान् श्रीविष्णुको प्रिय तिथि हो। एकादशीको 'हरिदिवस' र 'हरिवासर' पनि भन्दछन्। अन्य व्रत र उत्सवका तुलनामा एकादशीको महत्त्व बढी हुनुमा विभिन्न कारण छन्, ती यस प्रकार छन्-
अ. वातावरणमा विष्णुतत्त्वको स्पन्दन बढी मात्रामा हुनु।
आ. समस्त प्राणिहरूमा अधिकतम सात्त्विकताको मात्रा विद्यमान रहनु।
इ. शरीरमा विद्यमान चैतन्यको गति 'ऊर्ध्व' अर्थात् माथिल्तिर प्रवाहित हुनु।
ई. व्रत सम्पादन गर्न सजिलो हुनु।
उ. व्रत सम्पादन गर्नाले अन्य व्रतको तुलनामा अत्यधिक प्रतिफल प्राप्त हुनु।

'एकादशी' व्रतको महत्त्व
एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौ, दसै इंद्रिय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छौ। एकादशी तिथिको जति महत्त्व छ, त्यत्तिकै महत्त्वपूर्ण एकादशीको व्रतको पनि छ। एउटा वर्षचक्रभरि पर्ने एकादशीको व्रत लिनाले अनेकानेक व्रतसम्पादन र तीर्थावलोकनको फलप्राप्ति हुन्छ। पद्मपुराणमा एकादशीको व्रतको महत्त्वलाई यसरी दर्शाइएको छ-

अश्वमेधसहस्राणि राजसूयशतानि च । एकादश्युपवासस्य कलां नार्हन्ति षोडशीम् ।।
यसको अर्थ हो- हजारौं अश्वमेध यज्ञ र सयकडौं राजसूय यज्ञको महत्त्व एकादशी व्रतको सोह्रभागको एक भाग जति पनि हुँदैन। प्राचीन मापन पद्धतिअनुसार सोह्र कला अर्थात् कुनै पूर्ण वस्तुको सोह्र भागको एक भाग। हिजोआज प्रचलनमा रहेको प्रतिशत मापन पद्धतिअनुसार लगभग ६ प्रतिशत । एकादशी व्रतको एउटा अर्को पनि महत्त्व छ, त्यो के हो भने अन्य समस्त व्रत सङ्कल्प गरेपछि प्रारम्भ हुन्छन् र सङ्कल्प गरेरमात्र समाप्त हुन्छन्। यहाँ सङ्कल्प भन्नाले एक किसिमको प्रतिज्ञा भन्ने अर्थमा लिइन्छ। मनैले उच्चारण गरी कुश र पानी समातेर वाचा गर्नुलाई धार्मिक सन्दर्भमा सङ्कल्प भनिन्छ। प्रत्येक व्रतको सुरुमा र अन्त्यमा सङ्कल्प गर्ने विधान छ, यसो नगरे सम्बद्ध व्रत निष्फल हुन्छ, तर एकादशी व्रत लिनका निमित्त सङ्कल्प गरिरहनु पर्दैन। यसबाट एकादशी एउटा यस्तो व्रतका रूपमा स्थपित भएको प्रमाणित हुन्छ जसले बिनासङ्कल्प मनुष्यलाई भुक्ति, मुक्ति आदि समस्त फल प्रदान गर्ने सामर्थ्य राख्दछ।

एकादशीका प्रकार
प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्। जब एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन्।

वर्षभरिका एकादशीका नाम
* चैत्रमास- पापमोचनी एवं कामदा एकादशी।
* वैशाख मास- वरुथिनी एवं मोहिनी एकादशी।
* ज्येष्ठ मास- अपरा एवं निर्जला (भीमसेनी) एकादशी।
* आषाढ़ मास- योगिनी एवं शयनी एकादशी।
* श्रावण मास- कामिका एवं पुत्रदा एकादशी।
* भाद्रपद मास- अजा एवं पद्मा एकादशी।
* अश्विन मास- इंदिरा एवं पापांकुशा एकादशी।
* कार्तिक मास- रमा एवं प्रबोधिनी एकादशी।
* मार्गशीर्ष- मोक्षदा एकादशी, उत्पत्ति नामक एकादशी।
* पौष मास- सफला एवं पुत्रदा एकादशी।
* माघ मास- षट्तिला एवं जया एकादशी।
* फाल्गुन मास- विजया तथा आमलकी एकादशी।
* पुरुषोत्तम वा अधिकमास- पद्मिनी(कमला) एवं परमा(कामदा)एकादशी।

एकादशी व्रत सम्पादन गर्ने विधान
शास्त्रानुसार वर्षभरिमा पर्ने सबै एकादशीको व्रत र उपवास गर्नु पर्दछ। सबै एकादशीको व्रतोपवास गर्न कठिनाइ उत्पन्न भएमा प्रत्येक महिनामा एउटा अर्थात् शुक्ल पक्षमा पर्ने एकादशीको व्रत र उपवासलाई महत्त्व दिइएको छ। त्यत्ति पनि गर्न असमर्थ रहँदा चतुर्मास भरि(आषाढ शुक्ल एकादशीदेखि कार्त्तिक शुक्ल एकादशीसम्म)का सबै एकादशीको व्रत गर्न सकिन्छ, यत्ति पनि व्रत लिन नभ्याउँदा आषाढ शुक्ल पक्षको हरिशयनी एकादशी र कार्त्तिक शुक्ल पक्षको हरिबोधिनी एकादशीको व्रत चाँहि अवश्य लिनु पर्दछ। एकादशीका दिन अन्न खानु हुँदैन, पानी, दुध, सक्खर, सर्वत आदि ग्रहण गर्न सकिन्छ। भोकै बस्न नसकिने स्थिति छ भने चामल मात्र त्याग्दा हुन्छ। भगवान् विष्णुको पूजा गर्नुपर्छ। पूजा स्थलमा अहोरात्र अर्थात दिनरात गरी चौबीस घण्टा घिउको वर्तन गरी अखण्ड बत्ती(दियो) बाल्नुपर्दछ। भजन, कीर्तन, स्तोत्रपाठ, भागवत आदि ग्रन्थको पाठ र भगवान् विष्णुका दिव्य नामको सङ्कीर्तन गर्नुपर्दछ। भगवानका मन्दिरहरूको भ्रमण र दर्शन गर्नुपर्दछ। व्रतको भोलिपल्ट विष्णु भगवानलाई नैवेद्य समर्पण गरेर व्रतको समापन गर्नुपर्दछ। दीनदुःखी, ब्राह्मण र साधुसन्तलाई व्रतको समाप्तिमा भोजन, दक्षिणादि प्रदान गर्नुपर्दछ। एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नु हुदैन। पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्छ तथा भोगविलासबाट टाढा रहनुपर्छ। प्रातःकालमा ब्रुसमन्जन गर्नुहुदैन, बरु नीम, जामुनो वा आपको पात चबाएर कुल्ला गर्नुपर्छ। उता रुखको पात थुत्न, तान्न, टिप्न पनि निषेध गरिएको छ, त्यसैले झरेको पातको सेवन गर्नु उचित हुन्छ। झरेको पात नभेटिदा पानीले बाह्र पटक कुल्ला गर्नुपर्छ , त्यसपछि स्नानादि गरेर मन्दिरमा गई गीता पाठ गर्नुपर्छ वा पुरोहित बाट श्रवण गर्नुपर्छ। प्रभुका सामु उभिएर "आज म चोर, पाखण्डी र दुराचारी मनुष्यसित कुरा गर्ने छैन, कसैको चित्त दुखाउने छैन, गाई, ब्राह्मण, दरिद्र आदिलाई फलाहार र अन्नादि दिएर प्रसन्न तुल्याउने छु, रातमा जागरण बसी भगवानको नाम संकीर्तन गर्नेछु, 'ॐ नमो भगवते वासुदेवाय' यस द्वादशाक्षर मन्त्रको जप गर्नेछु, राम, कृष्ण, नारायण इत्यादि विष्णुका असंख्य दिव्य नामलाई मुखाग्र बनाउने छु" भनी प्रतिज्ञा गर्नु पर्छ। यस्तो संकल्प गरेर भगवान विष्णुको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ- 'हे त्रिलोकपति ! मेरो लाज हजुरको हातमा छ, अतः मलाई मैले गरेका सङ्कल्प पूरा गर्ने शक्ति प्रदान गर्नुहवस्।' यदि बिर्सिएर कुनै निन्दकसित कुराकानी भइगयो भने पनि त्यस दोषलाई कटाउनका निम्ति सूर्यनारायणको दर्शन अथवा भगवान हरिको पूजा आराधना गरेर क्षमा माग्नु पर्छ। एकादशीका दिन सूक्ष्म जीवजन्तुको हत्या हुने भय हुने भएकाले प्रातःकाल बाहेक अन्य समयमा घर बढार्नुहुदैन। यस दिन नङ्ग, केश आदि काट्नुहुन्न। धेरै बोल्नाले दुर्वाच्य बोलिने भय हुन्छ, त्यसैले कमभन्दा कम बोल्नु पर्छ। यस दिन यथाशक्ति दान गर्नु पर्छ तर आफूले दान दिएको वस्तु आफैकहा कुनै हालतमा पनि फिर्ता आउनुहुन्न। असत्यवादन, कुकर्म आदिबाट टाढा हुनु पर्छ।दशमीयुक्त एकादशी लाई वृद्ध मानिन्छ, शैव उपासक त यसलाई मान्यता दिन्छन् तर वैष्णवहरू द्वादशीयुक्त एकादशीको व्रत लिने गर्छन। त्रयोदशी लाग्नु पहिले नै व्रतको पारणा गर्नुपर्छ। गोभी, गाजर, शलगम, पालक आदि सागको सेवन गर्नुहुदैन र आप, अङ्गुर, केरा, बदाम, काजु आदि अमृतफल ग्रहण गर्नु पर्छ। प्रत्येक वस्तु तुलसीपत्रका साथ प्रभुलाई भोग लगाएर मात्र आफूले सेवन गर्नु पर्छ। द्वादशीका दिन दक्षिणा, मिष्ठान्न, भोजन आदिले सन्तुष्ट तुल्याई ब्राह्मणको प्रदक्षिणा गर्नुपर्छ। व्रतको अवधिमा बिर्सिएर पनि रिसाउनु हुदैन। रिस चाण्डालको रूप हो जबकि तपाई देवतास्वरूप भएकाले सन्तोष गर्नुपर्छ, दयाभाव लिनु पर्छ, सुमधुर वचन बोल्नुपर्छ। एकादशीको व्रत लिदा यी विधि र नियमलाई पालना गर्ने व्यक्तिले दिव्य फल प्राप्त गर्दछ। देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ। यथासंभव आफ्ना इष्टदेवताको ११००, ११००० नाम जप पनि श्रेष्ठ प्रयोग मानिन्छ। एउटा प्रयोग के पनि छ भने एकादशी व्रतको पारणा कुनै ब्राह्मण, दरिद्र वा आवश्यकता हुने व्यक्तिलाई भोजन गराए पछि वा त्यस मात्राको अन्नदान गरेर मात्र गर्नु पर्छ। देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ। यथासंभव आफ्ना इष्टदेवताको ११००, ११००० नाम जप पनि श्रेष्ठ प्रयोग मानिन्छ। एउटा प्रयोग के पनि छ भने एकादशी व्रतको पारणा कुनै ब्राह्मण, दरिद्र वा आवश्यकता हुने व्यक्तिलाई भोजन गराए पछि वा त्यस मात्राको अन्नदान गरेर मात्र गर्नु पर्छ।