Showing posts with label अध्यात्म र चिन्तन. Show all posts
Showing posts with label अध्यात्म र चिन्तन. Show all posts

Monday, May 7, 2018

गणेशको दर्शन गर्दा पनि अशुभ हुन्छ र ?

गणेशको नाम 'गणेश' किन ?
सनातन हिन्दू धर्मअन्तर्गतका पौराणिक कथामा उल्लेख भए अनुसार भगवान् गणेशलार्इ सबै देवीदेवतामध्ये आदिपूज्य र मङ्गलकारक देवता मानिन्छ । जुनसुकै शुभकर्ममा यिनको पूजा सर्वप्रथम हुने गर्दछ । यिनले यो सम्मान आफ्नै  मातापिताबाट प्राप्त गरेका हुन् । एकपटक भगवान् गणेश र स्वामी कार्त्तिकेय बालक्रिडा गरिरहेका थिए । खेल्दाखेल्दै दुबै जनामा भीषण विवाद हुन थाल्यो । भूतभावन भगवान् शङ्कर दाजुभाइको विवाद सुल्झाउन तिनीहरू खेलिरहेको स्थानमा पुग्नुभयो । त्यहाँ पुगेपछि शिवजीले थाहा पाउनु भयो, ती दुबैजना एकआपसमा को ठूलो भनेर पो झगडा गरिरहेका रहेछन् । बालकहरूको किचलोबाट ध्यान भङ्ग होस् भनेर भोलेनाथले भन्नुभयो – तिमीहरू दुबै जना सुन्दर छौ, सक्षम छौ अनि अनुशासित छौ, त्यसैले तिमीहरू दुबै जना ठूूला हौ, त्यसैले मिलेर खेल, लडाइँ नगर । बाबुका यस्ता कुरा सुनेर उनीहरू पितातर्फ नै फर्किए र भन्न थाले – होइन, पिताश्री ! तपार्इंले छिनोफानो गर्नै पर्छ, हामी दुर्इमध्ये को ठूलो हो । बालकका यस्ता हठी कुरा सुनेपछि शिवजीले भन्नु भयो – ल तिमीहरू दुर्इजनामध्ये जसले समस्त ब्रह्माण्डको सात चोटि परिक्रमा गरेर आउँछ, त्यही ठूलो हो । पिताजीको आज्ञा प्राप्त गर्नासाथ कार्त्तिकेय आफ्नो वाहन मुजुरमा बसेर ब्रह्माण्डको परिक्रमा गर्न हुइँकी हाले । विचरा ठूलो ज्यान भएका गणेश परे विलखबन्दमा । कार्त्तिकेयको जस्तो छरितो र उड्न सक्ने वाहन पनि थिएन, गणेशसित । उनको वाहन मुसो गणेशको भारीभरकम शरीर बोकेर उड्न र कुद्न त के राम्ररी हिंड्न पनि सक्दैनथ्यो । धेरै बेर गमेर अब कुमार कार्त्तिकेयले बाजी मार्ने भए भन्ने सोच्दै गणेश घोरिए । अन्त्यमा उपाय सुझ्यो र मातापिताको खोपीमा गएर फटाफट नबोली मनमनै 'त्वमेव माता च पिता त्वमेव ...........' जप्दै लगातार सात पटक परिक्रमा गरे र महादेवका सामुमा उभ्भिए । गणेश ब्रह्माण्डको परिक्रमा गर्न नगएको देखेर महादेवले तिमी किन परिक्रमा गर्न नगएको भनी प्रश्न गर्नुभयो । गणेशले कुमार कार्त्तिकेयको छरितो ज्यान छ, हावाको वेगमा उड्न सक्ने वाहन छ, आफ्नो शरीर र वाहन दुबैले बाजी जित्न नसकिने भएको आफ्नो विवशता सुनाउँदै भने - हे पिता ! हे माता ! संसारमा जन्म दिने आमाबाबुको ठूलो महत्त्व छ, जसले यो जगत्मा आँखा खोल्ने, हुर्कने र जीविकोपार्जन गर्ने क्षमता प्रदान गर्यो, त्यो समस्त ब्रह्माण्डभन्दा पनि ठूलो हो भन्ने ठानेर मैले हजुरहरूको सात फन्को परिक्रमा गरेको हुँ । मैले भूल गरेको रहेंछु भने मलार्इ माफ गर्नु होला ।' यसरी बुद्धिको उपयोग गरी आफ्नो परिक्रमा गरेछन् भन्ने कुरा सर्वज्ञाता भगवान् आशुतोषलार्इ पहिले नै थाहा थियो । अहिले उनका विनम्रतापूर्ण कुरा सुनेर उहाँको हृदय झन गदगद भयो । तुरुन्त शिवजीले गणेशलार्इ वरदान दिइहाल्नु भयो बाबु गणेश तिमी बुद्धिमान् र विद्वान् छौ । मेरो आशीर्वादले तिमीले आफ्नो बुद्धि र विद्वत्ताका बलमा सर्वश्रेष्ठता हासिल गर्नेछौ र तिम्रो विघ्नहर्ताका रूपमा जुनसुकै कर्ममा प्रथम पूजा हुनेछ । त्यसपछि गणेशको शीघ्र निर्णयक्षमता र बुद्धिबलको सम्मान गर्दै आफ्ना सेवकदल (गण) को प्रमुखमा उनलार्इ नियुक्त गर्नुभयो । शिवजीको गणको नायक भएकाले नै भगवान् गणेशको नाम 'गणेश' रहन गएको हो ।

को हुन् त 'ऋद्धि' र 'सिद्धि' अनि 'शुभ' र 'लाभ' ?
विभिन्न पुराणमा उल्लेख भएअनुसार भगवान् गणेशका दुर्इ जना पत्नी थिए । ती दुर्इको नाम क्रमशः ऋद्धि र सिद्धि हो । ऋद्धि र सिद्धिका पति भएकाले गणेशलार्इ अष्टसिद्धिका प्रदाता भन्ने गरिएको हो । ऋद्धि र सिद्धि दुबै जना प्रजापिता भगवान् ब्रह्माका छोरी हुन् । ब्रह्माले मैथुनी सृष्टि प्रारम्भ गर्नुअघि आफैं मानसिक सृष्टि गर्नुहुन्थ्यो । त्यसै क्रममा ऋद्धि र सिद्धिको जन्म भएको हो । यस आधारमा गणेश जीलार्इ ब्रह्माका ज्वाइँ मान्दा पनि अत्युक्ति हुँदैन । गणेशजीले जेठी पत्नी ऋद्धिको कोखबाट 'शुभ' नाम गरेको पुत्र र सिद्धिको कोखबाट 'लाभ' नामको पुत्र उत्पन्न गर्नुभयो । त्यसैले गणेशपरिवारका ऋद्धि, सिद्धि, शुभ र लाभ सदस्य हुन् । सनातन धर्मका अनुयायीहरूले कुनै पनि शुभ कार्य गर्नुभन्दा पहिले वा तिहारको लक्ष्मीपूजामा शुभ र लाभ लेख्ने अनि पूजा गर्ने कारण पनि यही हो । शुभ शब्दको अर्थ पवित्रता र लाभको अर्थ फाइदा वा आय भन्ने हुन्छ ।

गणेश र लक्ष्मी/सरस्वती
माता लक्ष्मी धनधान्य र वैभवकी र्इश्वरी हुन् भने माता सरस्वती ज्ञान र गीत/सङ्गीतकी देवी हुन् । माता लक्ष्मीलार्इ 'श्री' नामद्वारा पनि सम्बोधन गरिन्छ । श्री शब्दको अर्थ हुन्छ – सम्पत्त्ति, सम्मृद्धि, सुख, सत्ता, भोग, ऐश्वर्य आदि । लक्ष्मी देवी भगवान् विष्णुकी अर्धाङ्गिनी हुन् । कतिपय पुराणमा उनको उत्पत्ति समुद्र मन्थनका क्रममा समुद्रबाट भएको बताइएको छ । तर अर्को पौराणिक कथामा यिनलार्इ महर्षि भृगु र उनकी पत्नी ख्यातिको कोखबाट भएको प्रसङ्ग समेत उल्लेख गरिएको पाइन्छ । जब भगवान् विष्णुले विभिन्न अवतार ग्रहण गर्नुभयो, लक्ष्मीले पनि उहाँको अनुसरण गर्दै रूप धारण गर्नुभएको प्रसङ्ग पनि पुराणहरूमा लेखिएको पाइन्छ । जस्तै – भगवान् विष्णुको वामन, परशुराम, राम, कृष्ण आदि अवतारका क्रममा लक्ष्मी माताले क्रमशः पदमा, धरणी, सीता र रुक्मिणीका रूपमा अवतार लिनुभएको थियो ।

सरस्वती शब्दको अर्थ हो – ऊर्जाको अविरल प्रवाह । माता सरस्वतीलार्इ शारदादेवी पनि भन्ने गरिन्छ । देवी गायत्री सरस्वतीकै अर्को रूप हो भन्ने मान्यता पनि छ । माता सरस्वतीलार्इ कतै ब्रह्माकी पत्नी मानिएको प्रसङ्ग पनि पुराणहरूमा उल्लेख गरिएको पाइन्छ । नेपाललगायत समस्त भारतवर्षमा लक्ष्मी, सरस्वती र गणेशको एक साथमा पूजाआजा गरिएको पाइन्छ । लक्ष्मीमा धनवैभव र विलासमात्र छ, अनि सरस्वतीमा ज्ञानविज्ञान, मनोरञ्जन, कला र सङ्गीतमात्र छ तर गणेशमा बुद्धि र वैभव दुबै कुरा छ । त्यसैले ज्ञान र विवेकका साथमा धववैभव र भोगविलासको आम चाहनाको पूर्णताका निमित्त यसरी गणेश लक्ष्मी र सरस्वतीको एकसाथ पूजाआजा गरिएको हो ।

विघ्नहर्त्ता र सिद्धिदायक मानिए पनि गणेशको दर्शनले हामी दरिद्र हुन सक्छौं, किन त ?
आदिपूज्य भगवान् गणेशको नामोच्चारण र दर्शन गर्नासाथ हामीभित्र रहेका समस्त पापराशिको नाश हुन्छ, अक्षय पुण्य पाइन्छ अनि समस्त सङ्कट र विघ्नको निवारण हुन्छ । गणेश जी सबै सुखका प्रदाता मानिन्छन् । आफ्ना भक्तजनका दुःख र कष्टलार्इ हरण गर्ने र शत्रुहरूको चलखेललार्इ ध्वस्त बनार्इ शत्रुको नाश गर्ने सामर्थ्य भगवान् गणेशमा मात्र छ । त्यसैले पनि उनको दर्शन गर्नासाथ मन शान्त रहन्छ, समस्त कार्यमा सफलता प्राप्ति हुन्छ । तर गणेशजीको पिठ्युँको दर्शन गर्नु हुँदैन ।

यद्यपि गणेशजीलार्इ ऋद्धि र सिद्धि तथा शुभ र लाभका प्रदाता मानिन्छ, तर उनको पिठ्युँमा दुःख र दारिद्र्यले निवास गर्ने भएकाले यिनको पिठ्युँको दर्शन गर्न निषेध गरिएको हो । गणेशजीको शरीरका प्रत्येक अङ्गमा तेतीस कोटि देवताको वास छ । जस्तै – सुँडमा धर्म, कानमा ऋचा, दाहिने हातमा वरमुद्रा, देब्रे हातमा अन्नपूर्णा, भुँडीमा सम्मृद्धि, नाइटोमा ब्रह्माण्ड, आँखामा लक्ष्य, पाउमा सातैवटा लोक र टाउकोमा ब्रह्मलोक आदि । त्यसैले गणेशको मूर्तिसामुबाट दर्शन गर्दा मानिसले समस्त इच्छा र आकाङ्क्षा पूर्ण गर्दछ, गणेशजी प्रसन्न भएर सुखसम्मृद्धि प्रदान गर्दछन् तर पिठ्युँको दर्शन गरेमा मनुष्यले दुःखकष्ट र दरिद्रता प्राप्त गर्दछ । त्यसैले जानी वा नजानी गणेशजीको पिठ्युँको दर्शन गरिहालियो भने तुरुन्त २१ वटा दुबो चढाएर गणेशजीसित क्षमायाचना गर्नु आवश्यक छ ।

अतः गणेशजीको पिठ्युँको कहिल्यै दर्शन गर्नु हुँदैन । सामान्यतया घरको मूल दैलोमा गणेशको प्रतिमा बनाएर टाँस्ने चलन छ । याद गर्नुहोला उक्त प्रतिमाको भित्रपट्टि गणेशको पिठ्युँमा माता लक्ष्मीको वा भगवान् गणेशकै अर्को प्रतिमा टाँस्नु अनिवार्य छ । त्यसरी नटाँसेमा घरमा सुखसम्मृद्धिको अभाव हुनसक्छ र दुःख तथा दरिद्रताको निवास तपार्इंको घरमा नै रहन जान्छ । जय श्री गणेश ।

Saturday, April 21, 2018

गङ्गा उत्पत्तिको पौराणिक कथा


गङ्गाको उत्पत्तिसम्बद्ध मुख्य कथा वाल्मीकिले रामायणमा उल्लेख गरेका छन् । श्रीरामको जिज्ञासा शान्त पार्दै ऋषि विश्वामित्रले यो आख्यान सुनाएका हुन् । विश्वामित्रले गङ्गाको जन्मवृत्तान्त सुनाउँदै श्रीरामलाई बताए - 'पर्वतराज हिमालयका दुईवटी अत्यन्त रूपवती, लावण्यमयी एवं सर्वगुण सम्पन्न छोरीहरू थिए । सुमेरु पर्वतकी छोरी मैना यी दुबै छोरीकी आमा थिइन् । हिमालयकी जेठी छोरीको नाम गङ्गा र कान्छी छोरीको नाम उमा थियो । गङ्गा अत्यन्त प्रभावशाली र असाधारण दैवी गुणहरूबाट सम्पन्न थिइन् । उनी कुनै बन्धनलाई स्वीकार गर्दिन थिइन् । उनको स्वच्छन्द प्रवृत्ति थियो । उनको यो असामान्य बानीब्यहोरा र असाधारण प्रतिभाबाट प्रभावित भएर देवताहरूले उनलाई स्वर्गमा लिई जाने विचार गरे र हिमालयसँग स्वीकृति लिई गङ्गालाई पृथ्वीबाट स्वर्गमा लगियो । पर्वतराज हिमालयकी कान्छी छोरी उमाको तपस्वी स्वभाव थियो । उनले कठोर र असाधारण तपस्या गरी भगवान् महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।'

विश्वामित्रका यी कुरा सुनेपछि श्रीरामले विनम्र भई आफ्ना जिज्ञासा राखे - 'हे भगवन् ! गङ्गालाई पृथ्वीलोकबाट सुरलोकमा लगेपछि पुनः उनी कसरी यहाँ फिर्ता आइन् त ? अनि उनलाई किन त्रिपथगा भनिएको हो ? मेरा उत्कण्ठालाई शान्त बनाउनु होस् ।' ऋषि विश्वामित्रले बताउँदा भए - 'महादेवको विवाह त उमाका साथमा सम्पन्न भयो, तर सयवर्षसम्म उनीहरूबाट कुनै सन्तानको जन्म भएको थिएन । एक पटक शिवले सन्तान उत्पन्न गर्ने विचार गरे । ब्रह्मा र देवताहरूमा पनि शिवेच्छाको जानकारी भयो । आशुतोष भगवान् शिवको वीर्यतेजलाई कसले सहन गर्न सक्ला भन्ने विषयमा देवलोकमा चियोचर्चो हुनथाल्यो । यसै प्रसङ्गमा अग्निले शिवको वीर्यको तेजलाई धारण गर्ने इच्छा व्यक्त गरे । परिणामतः अग्निसमान तेजस्वी शिवपुत्र कार्तिकेयको जन्म भयो । देवताहरूको यस षड्यन्त्रका कारण उमाबाट सन्तानको उत्पत्ति हुनमा विलम्ब र बाधा पुग्यो । उनी देवताहरूसँग क्रुद्ध भईन् र देवताहरूलाई अबउप्रान्त तिनले पनि सन्तान उत्पादन गर्न नसकून् भनी श्राप दिइन् । यसबीच सुरलोकमा विचरण गर्दै गरेकी गङ्गाका साथमा उमाको भेट भयो । गङ्गाले लामो समयदेखि स्वर्गमा बस्नु परेकाले नियास्रो लागेको व्यथा पोख्दै उमालाई भनिन् - 'मलाई मातृभूमि पृथ्वीमा फिर्ता जाने इच्छा छ' । उमाले दिदी गङ्गालाई कुनै उपाय गरी उनलाई जन्मभूमिमा लिएर जाने प्रबन्ध गर्ने आश्वासन दिइन् ।

विश्वामित्रले कथाप्रसङ्गलाई अघि बढाउँदै पुनः भन्नथाले - 'हे राम ! तिम्रो जन्मभूमि अयोध्यापुरीमा धेरै पहिले सगर नामका एकजना राजा थिए । सुरुमा उनका सन्तान थिएनन् । सगरकी पटरानी केशिनी विदर्भ प्रान्तका राजाकी छोरी थिइन्, उनी सुन्दर, धर्मात्मा र सत्यपरायण थिइन् । सगरकी अर्की रानी पनि थिइन् । तिनको नाम सुमति थियो । उनी अरिष्टनेमिकी छोरी तथा गरुडकी बहिनी थिइन् । दुबै रानीलाई साथमा लिई राजा सगर हिमालयमा रहेको भृगुप्रस्रवण नामक प्रान्तमा गएर तपस्या गर्न थाले । उनको तपस्याबाट प्रसन्न भएर महर्षि भृगुले उनलाई धेरै भाइ पुत्रहरू उत्पन्न हुने वरदान दिए, उनको सर्त थियो - दुबैमध्ये एउटी रानीबाट वंशवृद्धि हुने एउटामात्र पुत्र जन्मने छ, अनि अर्की रानीले बल र वीर्यबाट सुसम्पन्न साठी हजार पुत्र जन्मने छन् । ऋषि भृगुले भने - अब कुन पत्नीले एउटामात्र पुत्र पाउने र कुनले साठी हजार पुत्र उत्पादन गर्ने भन्ने निर्णय तपार्इंहरूबाट नै हुनुपर्छ । अन्ततः वंश बढाउने छोराका निमित्त जेठी रानी केशिनी तैयार भइन् भने कान्छी सुमतिले साठी हजार छोरा पाउने इच्छा व्यक्त गरिन् ।

समुचित समय आएपछि रानी केशिनीले असमञ्जस नाम गरेको छोरो जन्माइन् भने रानी सुमतिको गर्भबाट एउटा ढुङ्ग्रोजस्तो डिम्ब उत्पन्न भयो । त्यसलाई फुटाउँदा त्यसबाट ससाना आकारका साठी हजार मानवाकृति उत्पन्न भए । राजाले ती सबै लघु आकारका मानवाकृतिलाई एउटा घिउको घडामा राखी यत्नपूर्वक पालनपोषण गरे । कालचक्र बित्दै जाँदा ती सबै पूर्णाकृतिका मानव बने । दुबै रानीले पाएका पुत्रहरू युवावयमा प्रवेश गरे । सगरको जेठो छोरो असमञ्जस दुराचारी स्वभावको थियो । ऊ नगरका बालकहरूलाई सरयू नदीमा मिल्काउँथ्यो र डुब्दै गरेको दृश्य हेरेर आनन्द मान्ने गर्दथ्यो । पुत्रको यस्तो दुराचारी प्रवृत्ति देखेर दुःखित भएका सगरले उसलाई देशनिकाला गरिदिए । असमञ्जसका अंशुमान् नाम गरेका एकजना छोरा थिए । अंशुमान् अत्यन्त सदाचारी र पराक्रमी थिए । यसै बीच सगरले अश्वमेध यज्ञ सम्पादन गर्ने विचार गरे ।

राजा सगरले हिमालय एवं विन्ध्याचलका बीचको हरित भूमिमा एउटा विशाल यज्ञ मण्डप निर्माण गराए । त्यसपछि अश्वमेघ यज्ञका निमित्त श्यामकर्ण घोडालाई मन्त्रिएर छाडियो । त्यसको रक्षाका निमित्त राजाले आफ्ना पराक्रमी नाति अंशुमानको नेतृत्वमा सेनालाई घोडाका पछिपछि जाने आदेश दिए । अश्वमेध यज्ञ सफल भएमा आफ्नो पद र प्रतिष्ठामा आँच आउँछ कि भन्ने आशङ्काले स्वर्गका राजा इन्द्रले एउटा राक्षसको रूप धारण गरी त्यस घोडाको चोरी गरे । घोडा हराएको सूचना पाएपछि राजा सगरले आफ्ना साठी हजार पुत्रहरूलाई घोडा पत्ता लगाई फिर्ता ल्याउन र चोरी गर्नेलाई दण्डित गर्न आदेश दिए । सगरपुत्रहरूले सारा भूमण्डलमा खोजी गरे, तर घोडा भेटिएन । कतै यसलाई भूमिगत पो बनाइयो कि भन्ने शङ्काले तिनले समस्त पृथ्वीलाई खन्न र खोस्रन थाले । परिणामतः पृथ्वीमा ठूलठूला खाडल र खोपिल्टा बन्न गए । पछि ती खाल्डामा पानीको दह बन्दा तिनको नाम समुद्र रहन गयो । सगरका पुत्रले खनेर खाडल बनेकाले समुद्रको नाम सागर पनि रहन गयो । यसरी पृथ्वीमा जथाभावी खन्दा र खोस्रँदा त्यहाँ रहेका धेरै मनुष्य र अन्य प्राणिको मृत्यु भएको थियो । पृथ्वीलाई खन्दै जाँदा सगरका छोराहरू पाताललोकमा पुगे । तिनका यस्ता नृशंस कृत्य देखेर देवताहरूले ब्रह्माजीसमक्ष गुनासो गरे । ब्रह्माले 'वास्तव यी राजकुमारहरूले क्रोध र मातमा अन्धो भएर यस्ता कृत्य गरिरहेका छन् । पृथ्वीको रक्षाको अभिभारा महर्षि कपिलमुनिमा रहेकाले अब उनले नै केही उपाय गरी यिनलाई रोक्नेछन्' भनी देवताहरूलाई आश्वस्त तुल्याए । समस्त पृथ्वीलाई खन्दा पनि उक्त घोडा र त्यसलाई हरण गर्ने व्यक्तिको पत्तो लागेन । निराश भई ती अयोध्यापुरीमा फर्किए र खोजी अभियानका सारा विवरण सुनाए । यज्ञ सम्पन्न गर्न विघ्न आएकाले सगरले रिसले चुर्मुरिंदै छोराहरूलाई पुनः आदेश दिए - अब अश्वमेधको घोडा खोज्न पाताललोकमा प्रवेश गर । अब राजकुमारहरूले पातालतर्फ प्रस्थान गरे । घोडाको खोजीमा तिनीहरू कपिल मुनिको आश्रममा पुगे । ऋषि समाधिमा आँखा चिम्लिएर बसेका देखिन्थे, तिनकै आश्रमछेउमा यज्ञको घोडालाई किलोमा बाधिएको पनि देखियो ।  राजकुमारहरूले कपिल मुनिलाई नै घोडाको चोर ठाने । सुरुमा तिनले ऋषिलाई अनेक किसिमले गाली गरे, हप्काए । तर आँखा चिम्लिएर ध्यानमा बसेका ऋषिले तिनका दुर्वचनहरू सुन्नु परेन । आफूहरूले नानाभाँतीले गालीगलौज गर्दा समेत मुनिले वास्ता नगरेको ठानी सगरपुत्रहरू उनलाई मार्न भनी तम्सिए । सगरपुत्रका यी कुकृत्यले कपिलदेवको समाधि भङ्ग भयो । उनले क्रुद्ध भई आफ्ना योगबलले ती राजकुमारहरूलाई डढाएर खरानी बनाई दिए ।

निकै दिनसम्म महाराज सगरले घोडा खोज्न गएका छोराहरूका बारेमा कुनै सूचना र अत्तोपत्तो पाएनन् । एक दिन उनले नाति अंशुमानलाई बोलाएर काकाहरू र यज्ञको घोडाको खोजी गर्नु भनी अह्राए । महावीर अंशुमान् शस्त्रास्त्रबाट सुसज्जित भई काकाहरूले खनी खोस्री तैयार गरेको बाटैबाटो पाताललोकमा पुगे । उनले बाटामा भेटिएका धार्मिक स्थल, आश्रम, तपस्वीजन सबैलाई यथायोग्य पूजादि सम्मान गर्दै सोधखोज गरी त्यस ठाउँमा पुगे, जहाँ उनका काकाहरूको मृतशरीरको खरानी र यज्ञको घोडा चरिरहेको थियो । उनलाई आफ्ना बलशाली काकाहरूको खरानी देख्दा असाध्यै दुःख लाग्यो र तर्पण गर्नुपर्यो भनी विचार गर्दा त्यहाँ कतै पनि पानीको स्रोत फेला पार्न सकेनन् । अंशुमानले त्यसैवेला कतैको यात्रामा गगनतलमा उडीरहेका गरुडलाई देखे । गरुड तिनै मृत काकाहरूका मामा थिए । उनले गरुडलाई सारा वृत्तान्त सुनाउँदै मेरा काकाहरूको मृत्युको कारण के हो र अब काकाहरूलाई तिलाञ्जलि प्रदान गर्नका निमित्त नजिकै कुनै पानीको स्रोत भए बताउन अनुराध गरे । गरुडले उनका काकाहरूले कपिल मुनिप्रति गरेको दुर्व्यवहारका कारण प्राण गुमाउनु परेको कुरा बताए र यिनीहरू अलौकिक शक्ति भएका दिव्यपुरुषद्वारा भस्म भएका हुन्, त्यसैले लौकिक जलले तर्पण गरेर यिनीहरूको मुक्ति हुँदैन भन्ने कुरा पनि सुनाए । अंशुमानले काकाहरूको मुक्तिको उपाय बताइदिन पुनः अनुरोध गरेपछि गरुडले केवल हिमालयकी ज्येष्ठ पुत्री गङ्गाको जलको स्पर्शबाटमात्र तिम्रा काकाहरूको उद्धार हुनसक्ने कुरो बताउँदै अहिले तिमी घोडा लिएर जाऊ र आफ्ना पितामहको यज्ञ पूर्ण गर भनी आग्रह पनि गर्दा भए । गरुडको आज्ञानुसार अंशुमान् घोडाका साथमा अयोध्या फर्किए र पितामहलाई समस्त वृत्तान्त सुनाए । महाराज सगरले दुःखित हुँदै यज्ञ पूर्ण गरे । सगर आफ्ना मृत पुत्रहरूको उद्धारका लागि चिन्तित थिए, तर जीवनकालभरि उनले गङ्गालाई स्वर्गबाट पृथ्वीतलमा झार्ने कुनै उपाय पत्ता लगाउन सकेनन् ।

केही बेर विश्राम गरी पुनः ऋषि विश्वामित्र भन्न थाले - महाराज सगरको  देहान्तपछि अंशुमानले न्यायपूर्वक शासनभार सम्हाले । उनको दिलीप नाम गरेको छोरो भयो । छोरो वयस्क भएपछि उसलाई राज्यभार सुम्पिएर उनी स्वर्गमा रहेकी गङ्गालाई प्रसन्न तुल्याउन हिमालयका कन्दरामा गई तपस्या गर्नथाले । उनले आजीवन तपस्या गर्दा पनि उनी सफल हुन सकेनन् । राजा दिलीपको भगीरथ नामको एउटा धर्मनिष्ठ पुत्र जन्मियो । दिलीपले पनि भगीरथ ठूलो भएपछि उसलाई राज्यभार सुम्पिएर  पिताको प्रयत्नलाई सार्थक बनाउन तपस्या गर्न थाले । तर उनले पनि चिताएको फल पाउन सकेनन् । गङ्गालाई पृथ्वीतलमा ल्याई पितृहरूको उद्धार गर्ने इच्छा भगीरथमा पनि थियो । उनी प्रजावत्सल राजा थिए, तर उनका कुनै सन्तान थिएनन् । उनले आफ्नो राज्यभार मन्त्रीहरूमा सुम्पिएर गङ्गावतरणका लागि गोकर्ण नामक तीर्थस्थलमा गई तपस्या गरे । बल्ल चारपुस्तासम्मको निरन्तर प्रयास र भगीरथको अभूतपूर्व तपस्याबाट प्रसन्न भएर ब्रह्मा उपस्थित भई वरदान प्राप्त गर्न आग्रह गर्दा भए । भगीरथले ब्रह्मासमक्ष अनुरोध गरे - हे प्रभो! यदि हजुर साँच्चिकै मसँग प्रसन्न हुनुहुन्छ भने मेरा मृत पितृहरू जो राजा सगरका पुत्र हुन्, तिनलाई गङ्गाको पावन जलको स्पर्श प्राप्त होस् र तिनको उद्धार होस् । त्यसबाहेक मलाई सन्तानप्राप्त हुने आशीर्वादसमेत प्रदान गर्नुहवस् । ब्रह्माले सन्तानप्राप्त हुने तिम्रो मनोरथ त शीघ्र पूर्ण हुनेछ, तर तिमीले मागेको पहिलो वरदान पूर्ण गर्न गाह्रो छ । कारण के हो भने स्वर्गबाट पृथ्वीमा झर्ने गङ्गाको वेग कसैले थेग्न सक्दैन । पृथ्वी भासिएर पाताललोकमा दबिने खतरा छ । गङ्गाको उक्त वेगलाई सम्हाल्न सक्ने सामर्थ्य केवल महादेवमा मात्र छ, त्यसैले पहिले महादेवको स्वीकृति लिएर आऊ, अनिमात्र गङ्गालाई तिमीले पृथ्वीमा झार्न सक्नेछौ । यति भनेर ब्रह्मा आफ्ना लोकमा जाँदा भए ।

भगीरथले नीच मारेनन्, उनी प्रयत्नरत रही रहे । अब उनले खुट्टाको बुढीऔंलामा शरीर अड्याएर उभीउभी लगातार एक वर्षसम्म शिवजीको स्तुति गरे । यस अवधिभर उनले श्वासक्रियाका लागि आवश्यक वायुमात्र ग्रहण गरे, अन्नजलादि ग्रहण गरेनन् । अन्त्यमा भगीरथको यस्तो महान् भक्तिबाट प्रसन्न भई महादेवले भगीरथलाई दर्शन दिई भन्दा भए - हे भक्तश्रेष्ठ! म तिम्रो मनोकामना पूर्ण गर्न गङ्गालाई आफ्नो शिरमा धारण गर्नेछु । यसरी भगीरथको अकाट्य प्रयासले स्वर्गमा रहेकी गङ्गाले पृथ्वीतलमा झर्नुपर्यो । उनले स्वर्गबाट सँधैंका लागि पृथ्वीमा आउन चाहेकी थिइनन् । त्यसैले उनले आफ्नो प्रचण्ड वेगले शिवलाई समेत बगाएर पाताललोक लिएर जाने विचार गरिन् । अन्ततः भयानक वेगका साथमा गङ्गा शिवको शिरमा अवतरित भइन् । गङ्गाको वेगबाटै शिवले उनको अहङ्कारलाई थाहा पाए । उनले आफ्ना जटामा नै गङ्गालाई अल्झाएर निकै वर्षसम्म अलप गराइदिए । जति कोसिस गरे पनि गङ्गा शिवजटाबाट बाहिर निस्कन असमर्थ भईन् । भगीरथ फेरि शिवजीको स्तुति गर्न थाले । भगीरथको पुनर्प्रयासबाट प्रसन्न भएका शङ्करले गङ्गाको धारालाई हिमालय पर्वतमा रहेको बिन्दुसर नाम गरेको तीर्थमा छाडिदिए । शिवजटाबाट उन्मुक्त हुनासाथ गङ्गाका धारा सात भागमा विभाजित भए । ह्लादिनी, पावनी र नलिनी नाम गरेक गङ्गाका तीन वटा धारा पूर्व दिशामा प्रवाहित भए । सुचक्षु, सीता र सिन्धु नामका तीनवटा धारा पश्चिमतर्फ लागे । सातौं धारा भगीरथको अनुसरण गर्दै पछिपछि लाग्दो भयो । भगीरथ जताजता जान्थे, गङ्गा पनि उतैउतै जान्थिन् । ठाउँठाउँमा देवता, यक्ष, किन्नर, ऋषिमुनि र सज्जनहरू गङ्गाको स्वागतार्थ उपस्थित हुने गर्दथे, जजसले गङ्गाको स्पर्श गर्ने अनुकूलता पाउँथे ती भवबन्धनबाट मुक्त हुने गर्दथे । जाँदाजाँदै गङ्गा त्यस ठाउँमा पुगिन्, जहाँ ऋषि जह्नु एउटा यज्ञको आयोजना गरिरहेका थिए ।  गङ्गाले आफ्नो वेगले उनको यज्ञशालाका सम्पूर्ण सामग्री बगाउन आँटिन्, ऋषि क्रोधित भए र उनले गङ्गाको समस्त जललाई खाइदिए । यस्तो दृश्य देखेर राजा भगीरथका साथमा उपस्थित समस्त ऋषिगण विस्मित भए र ऋषि जह्नुलाई खुसी पार्न अनेक तरिकाले स्तुति गर्नथाले । तिनको स्तुतिबाट प्रसन्न भएर जह्नु ऋषिले गङ्गालाई आफ्ना कानबाट बाहिर निकाले र गङ्गालाई आफ्नी छोरीका रूपमा स्वीकार गरे । त्यसपछि उनको नाम जाह्नवी रहन गयो । यसपछि पनि उनी भगीरथका पछि लाग्दै समुद्रसम्म पुगीन् र त्यहाँबाट सगरका पुत्रहरूको उद्धार गर्न रसातलको यात्रा गर्दी भइन् । उनको जलको स्पर्श प्राप्त गर्नासाथ कपिलमुनिको क्रोधाग्निले भस्मीभूत भएका सगरका छोराहरू निष्पाप भई मुक्त हुनपुगे । यसरी गङ्गाका तीन वटा नाम प्रसिद्ध भए - तीन वटा मार्ग अवलम्बन गरेकाले उनी त्रिपथगा नामले प्रसिद्ध भइन्, भगीरथको निरन्तरको प्रयासले अवतीर्ण भएकी हुँदा भागीरथी नाम प्रख्यात भयो र जह्नु ऋषिकी पुत्री भएकी हुँदा जाह्ववी नाम रहन गयो ।

Tuesday, November 7, 2017

शरीर र जीवात्मा

र्इश्वरको सृष्टि गर्ने इच्छाशक्तिलाई अहङ्कार भनिन्छ. अहङ्कार पनि सत्त्व, रज र तमो गुुणमा आधारित हुने भएकाले यो इच्छाशक्ति तामस गुणमा आधारित अहङ्कारबाट परिचालित हुन्छ र प्रकृतिको गतिशिलता बढ्न थाल्दछ । तमः शब्दको अर्थ अन्धकार हो, त्यसैले अँध्यारो अहङ्कारका माध्यमबाट प्रभुको इच्छाशक्ति जागेको हो र भगवानको सृष्टिमा सृजित शरीरधारी प्राणीहरुमा रहेको जीवात्मा र भगवानको सम्बन्ध टाढिन पुगेको हो । यसै कारणले पृथ्वीमा जन्म लिन प्रत्येक जीवात्मा कर्मबन्धनमा फँस्न पुगेको हो भन्न सकिन्छ । सांसारिक प्राणिले मोहवश ईश्वरीय प्रभुसत्तालाई बिर्सिने गर्दछ र इन्द्रियहरूको दास बन्न पुगी वासनामा मग्न भई अधोगतिलाई समात्दै अघि बढ्न जान्छ । त्यसैले ईश्वरीय भावबाट महत्तत्त्व रुपी त्रिगुणमा मुछिनु र इन्द्रिय सुखलिप्सामा निरन्तर भुल्नुलाई नै तामस अहङ्कार भनिएको हो अनि तामस अहङ्रकारको ज्वलन्त उदाहरण र उत्कृष्ट दृष्टान्त शरीरधारी जीव नै हो ।

यो संसारमा जेजति शरीरधारी जीवात्माहरू छन्, ती सबै सधैं विषयसुखको बन्धनमा बाँधिएका हुन्छन् । इन्द्रियबाट भोग गरिने विषयवासनाहरूमा मोहभङ्ग नहुन्जेल वा ज्ञान आर्जन गरी  वैराग्य उत्पन्न नहुन्जेल त्रिगुणात्मक बन्धनबाट उनीहरू उम्कन सक्दैनन् । पञ्च महाभूतबाट बनेको पाञ्चभौतिक शरीरले भौतिक तत्त्वबाहेक आध्यात्मिक तत्त्वको खोजी गर्न चाहँदैन । शरीर नाशवान् भएकोले नाशवान् प्रकृतिको भौतिक तत्त्वलाई सारभूत वस्तु र महत्त्वपूर्ण उपलब्धी मान्दै जीवात्मा मख्ख पर्दछ र भाैतिक सुखलार्इ नै क्षणिक अानन्दका रूपमा ग्रहण गर्दछ । ईश्वरबाट नै सृष्टि परिचालनका लागि उत्पन्न गरेका आधारभूत तत्त्वहरू विद्यमान शरीरमा नै रहेको हुनाले शरीरधारी जीवात्माले तिनै ईश्वरको मायामा भुलिनु पर्दछ र प्रत्येक शरीरमा अाँफूसँगै  उपस्थित आफ्नो हितकारी परमात्मालाई उसले सदैव बिर्सिएको हुन्छ ।

यस संसारमा रहेका शरीरधारी जीवहरूको शरीरको बाह्य संरचनालाई नियाल्ने हो भने यसको परिकल्पना र निर्माण ईश्वरबाट नै भएको हुनुपर्छ भनी ठोकुवा गर्न सकिन्छ, किनभने मानिस, पशुपन्छी, जलचर, स्थलचर आदि सबै प्राणीको बनोट एकै किसिमको छ । श्रीमद्भागवद्गीतामा भनिएको छ - नवद्वारे पुरे देही नैव कुर्वन्नकारयन् । यसको अर्थ हो, नौ वटा ढोका भएको शरीरमा रहेको जीवात्माले केही पनि काम गर्दैन । यसरी सारा राम्रा र नराम्रा कामहरु मन, बुद्धि र इन्द्रियबाट सम्पादन भएका हुन्छन् । देह तथा शरीर सञ्चालन गर्ने जीवात्मा अव्यय (अमर) भएकाले जीव सँगसँगै शरीरमा विद्यमान रहन पुगेका तत्त्वहरू मन, बुद्धि, अहङ्कार, चित्त, काल र जीव यी अविनाशी षड्वर्ग तत्त्वहरू प्राणिको शरीरभित्रै सदासर्वदा रहेका हुन्छन् । शाश्वत तत्त्वहरु आकाश, वायु, तेज, पानी र पृथ्वीबाट बनेको पाञ्चभौतिक शरीरमा पञ्चतन्मात्रा शब्द, स्पर्श, रुप, रस र गन्ध प्राप्त गर्ने ज्ञानेन्द्रियहरू कान, छाला, आँखा, जिभ्रो र नाक सजाइएका हुन्छन् । शरीरको अन्तरात्मामा रहेको मनले चिताएका कार्यहरू सिद्ध गर्न सृष्टिकर्ताले पञ्च कर्मेन्द्रियहरूको पनि शरीरको यथोचित भागमा सजावट गरिदिनु भएको छ । मुख, हात, गोडा, उपस्थ (जननेन्द्रिय), पायु (गुदा) यी पाँचवटा अङ्गलार्इ कर्मेन्द्रिय भनिन्छ । हरेक शरीरमा नौ वटा छिद्र (प्वाल) हुन्छन् । दुईवटा आँखाका टोड्का, दुईवटा कानका दुला, दुई नाकका प्वाल, मुखको हाब्रो, लिङ्ग वा योनिमा रहेको प्वाल र दिसा गर्ने ठाउँमा रहेको दुलो गरी प्रत्येक प्राणिमा प्रायशः यी नाै वटा प्वाल विद्यमान हुन्छन् । यिनका बेग्लाबेग्लै काम हुन्छन्, जस्तै अाँखाले हेर्ने र शरीरको विकारलार्इ कचेराका रूपमा फ्याल्ने, नाकको सुँघ्ने र शरीरको विकारलार्इ सिंगानका रूपमा मिल्काउने, कानको सुन्ने र कानेगुजीका रूपमा शरीरको विकारलार्इ त्याग गर्ने, मुखको खाने, पिउने, बोल्ने तथा शरीरको विकार राल, खकार, कफ, वान्ता अादि मिल्काउने, लिङ्ग वा योनिका माध्यमबाट मैथुनिक अानन्द ग्रहण गरी सृष्टि सुसञ्चालन गर्ने र मूत्र, वीर्य, रज अादि शारीरिक विकारको उत्सर्जन गर्ने अनि पायु अर्थात् गुदाका माध्यमबाट पाचन प्रक्रिया लागि आवश्यक तत्त्वहरू शोषण गरी अपान वायु (पाद) का साथै दिसा (विष्टा) गर्ने आदि काम यी प्वालहरूबाट हुने गर्छ । भौतिक शरीरधारी प्राणीहरूका पञ्च ज्ञानेन्द्रिय र पञ्च कर्मेन्द्रियलगायत एघाराैं इन्द्रिय मनका माध्यमबाट उसको भाैतिक जीवन सुसञ्चालनका लागि अावश्यक कामहरू निरन्तर भइरहन्छन् । नाशवान् भौतिक शरीरभित्र रमाएर र इन्द्रियको अावश्यकता पूर्ति गर्दागर्दै जीवात्माले अाफूसँगै रहेको आफ्नो परममित्र परमात्मालाई बिर्सिएको हुन्छ र इन्द्रियको वशमा परी विषयभोगमा आशक्त भर्इ चुर्लुम्म डुब्न पुग्दछ । यसरी मायाको जालमा परेर ऊ सांसारिक बन्धनमा बाँधिन्छ । अतः तामस अहङ्कारबाट पञ्चमहाभूतका तत्त्वहरूले बनेको शरीर भएकाले प्रत्येक शरीरधारी जीव नाशवान् बन्न जान्छ ।

र्इश्वरले विश्वको सृष्टि गर्ने उद्देश्यले उत्पन्न गरेका तत्त्वहरू २५ वटा छन् । ती हुन् - बुद्धि, अहङ्कार, चित्त, काल, जीव, आकाश, वायु, तेज, पानी, पृथ्वी, शब्द, स्पर्श, रूप, रस, गन्ध, कान, छाला, आँखा, जिभ्रो, नाक, मुख, हात, गोडा, उपस्थ (जननेन्द्रिय) र पायु (गुदा) । मनसमेत जम्मा छब्बीस वटा तत्त्वहरू छन् । छोटकरीमा यी तत्त्वहरूलार्इ यसरी पनि बुझ्न सकिन्छ -

- पञ्च महाभूत : पृथ्वी, जल, तेज, वायु र अाकाश
- पञ्च तन्मात्रा : शब्द, स्पर्श, रूप, रस र गन्ध
- पञ्च ज्ञानेन्द्रिय : कान, छाला, आँखा, जिभ्रो र नाक
- पञ्च कर्मेन्द्रिय : मुख, हात, गोडा, उपस्थ र पायु
- षड्वर्ग तत्व : मन, बुद्धि, अहङ्कार, चित्त, काल र जीव


अविनाशी परब्रह्म परमात्मा समेत जम्मा सत्तार्इस तत्वहरुको समूह हुन्छ । विश्वको सृष्टि, स्थिति र सञ्चालन गर्ने क्रममा यिनै तत्त्वहरू सक्रिय हुन्छन् । वनस्पतिहरू बाहेक सम्पूर्ण हिंडडुल गर्ने जलचर पानीमा पौडी खेल्ने स्थलचर जमीनमा हिंड्ने तथा नभचर अाकाशमा उड्ने प्राणीहरुको शरीरमा यी सबै तत्त्वहरू विद्यमान हुन्छन् । शरीरको आकार र क्षमता अनुसार कुनै तत्त्व सूक्ष्म रूपमा र कुनै तत्त्व स्थूल रूपमा शरीरमा अवस्थित हुन्छन् । प्रत्येक मानव शरीरमा चाहिं यी सबै सत्तार्इस वटै तत्त्व सक्रिय हुन्छन् ।

Sunday, October 22, 2017

कालो कार्तिक

कार्तिक महिनालार्इ नेपाली अामभाषामा कालो कार्तिक भन्ने गरिन्छ । यसो भन्नुको अर्थ यसलार्इ निकृष्ट वा निम्नस्तरको महिना भनिएको होइन । यस महिनामा अाफ्ना मन वा शरीरमा भएका काला वस्तु (तामसी प्रवृत्ति) लार्इ पन्छाउने समय हो भनिएको हो । त्यसैले यस महिनामा गरिएका जुनसुकै धार्मिक कृत्यको फल दुगुना हुन्छ । त्यसैले यस महिनामा तुलसीको सेवा, रुद्री वा अन्य धार्मिक कृत्यहरू अत्यधिक रूपमा अायोजना हुने गर्दछन् । ज्योतिषीय मतमा यस महिनाको सूर्य नीच राशिमा रहेको हुन्छ । त्यसैले यसै अवसरमा अाअाफ्ना कुण्डलीको लेखाजोखा गरी ग्रहशान्ति गर्ने विधान पनि छ । सूर्यनारायणले शनिको उच्च राशि मानिने तुला राशिमा भ्रमण गर्ने भएकाले विशेषतः शनि, राहु र केतु ग्रहको पीडा निवारणका लागि यो महिना उत्तम महिना मान्ने गरिन्छ । यस महिनामा भगवान् भोलेशङ्कर शिव, माता दुर्गा, सूर्यनारायण र अन्य देवीदेउताको मन्दिरमा गर्इ दियो बाल्ने, मन्दिरहरूको सरसफाइ गर्ने भगवान् विष्णुलार्इ किसिमकिसिमका पुष्प समर्पण गर्ने गरेमा अश्वमेध यज्ञको फल प्राप्त हुन्छ भनी स्कन्दपुराणको कार्तिक महात्म्यमा उल्लेख गरिएको छ :-

एकतः सर्वतीर्थानि सर्वे यज्ञाः सदक्षिणाः ।
कार्तिकस्य तु मासस्य कलां नार्हन्ति षोडशीम् ॥
एकतः पुष्करे वासः कुरुक्षेत्रे हिमालये ।
एकतः कार्तिकः पुत्र सर्वपुण्याधिको मतः ॥
स्वर्णानि मेरुतुल्यानि सर्वदानानि चैकतः ।
एकतः कार्तिको वत्स सर्वदा केशवप्रियः ॥

स्कन्द पुराणको एउटा प्रसङ्गमा उल्लेख गरिएको छ -
मासानां कार्तिकः श्रेष्ठो देवानां मधुसूदनः ।
तीर्थं नारायाणाख्यं हि त्रितयं दुर्लभं कलौ ॥
महिनाहरूमध्ये कार्तिक महिना सर्वश्रेष्ठ हो, देवताहरूमध्ये मधुसूदन (भगवान् विष्णु) श्रेष्ठ हुन्, त्यसैले यस महिनामा तीर्थाटन र भगवन्नाम सङ्कीर्तन गर्नु कलियुगमा दुर्लभ कर्म मानिन्छ ।

न कार्तिकसमो मासो न कृतेन समं युगम् । न वेदसदृशं शास्त्रं न तीर्थं गङ्गया समम् ॥
यस श्लोकमा कार्तिक महिनाको वैशिष्ट्यको चर्चा गर्दै बताइएको छ - कार्तिक महिनाबराबरको अर्को महिना छैन । सत्ययुगसमान अर्को युग छैन, वेदसरहको कुनै शास्त्र छैन, अनि गङ्गासमान पवित्र नदी छैन । कार्तिक महिनामा गरिएको स्नानको पुण्य हज्जार पटक गङ्गा नदीमा गर्इ गरिएको फलबराबर र सय पटक माघ महिनामा प्रयागादि तीर्थमा गर्इ गरिएको फलसरह हुन्छ । कुम्भमा प्रयागमा कुम्भस्नान गर्दा जुन फल प्राप्त हुन्छ, त्यो फल कार्तिक महिनामा कुनै पवित्र नदीको तटमा गर्इ गरेको स्नानबाट प्राप्त हुन्छ । कार्तिक महिनामा जतिसक्दो धेरै मन्त्रजाप गर्नुपर्दछ । कार्तिक महिनाभरि विधि र नियमको अनुसरण गरी कर्म गरेमा मनुष्यले वर्षभरि गरेका पापकर्मबाट उन्मुक्ति प्राप्त गर्दछ । धार्मिक कृत्य सम्पादन गर्न यो महिना पवित्र मानिन्छ । अाश्विन शुक्ल पक्षमा पर्ने पूर्णिमा तिथिदेखि कार्तिक महिनाको पूर्णिमासम्म पवित्र नदीमा गर्इ स्नानादि गर्नु श्रेष्ठ मानिएको छ ।

कार्तिक महिनाभरि तीर्थस्नान सम्भव छैन भने के गर्ने त ?
कार्तिक महिनामा नदीस्नान, सरोवर स्नान आदि गर्ने धार्मिक विधान छ, तर तपार्इंले यसरी स्नान गर्न सम्भव छैन भने तपार्इंले घरैमा नित्य स्नान गर्न सक्नुहुन्छ, तर त्यसरी स्नान गर्दा ठिक्क पारिएको पवित्र जलमा गङ्गाजल वा कुनै पवित्र नदीको जल मिसाएर स्नान गरेमा तीर्थस्नानको पुण्य प्राप्ति हुन्छ । त्यसबाहेक जसले तीर्थमा गर्इ स्नानादि सत्कर्म गरेको छ, उसको सेवा गरेमा पनि कार्तिक स्नानको पुण्यप्राप्ति हुन्छ । पाटीपाैवा, मन्दिर, देवीद्याैराली वा सार्वजनिक भवन वा प्रतिष्ठानको जीर्णोद्धार वा सरसफाइ गर्दा पनि कार्तिक स्नानको पुण्यप्राप्ति हुन्छ । घरमा नारायण नामसङ्कीर्तनको अायोजना गरेमा पनि नित्य कार्तिक स्नानको पुण्य प्राप्त हुन्छ ।

कालो कार्तिकमा चम्किलो र ठूलो जून
कार्तिक महिनाको अन्त्यमा पर्ने पूर्णिमालार्इ महान् पुण्यप्रद पर्वका रूपमा चर्चा गरिएको पाइन्छ । यस पूर्णिमालार्इ त्रिपुरोत्सवी पूर्णिमा पनि भन्ने गरिन्छ । चन्द्रमाको पूर्ण अाकृति देखिने दिनलार्इ पूर्णिमा (Full Moon) भनिन्छ । प्रत्येक महिनामा एउटा र एक वर्षमा बाह्रवटा पूर्णिमा हुने गर्दछन् । ती पूर्णिमामा देखिने चन्द्रमाको अाकार फरकफरक हुन्छ । वैशाख महिनामा पर्ने पूर्णिमामा चन्द्रमाको अाकार सबैभन्दा सानो र कार्तिक महिनामा देखिने पूर्णिमाको अाकार सबैभन्दा ठूलो हुने गर्दछ । सामान्यतया कार्तिक महिनामा पर्ने हरेक पूर्णिमामा चन्द्रमा पृथ्वी नजिकको तल्लो बिन्दुमा अाइपुग्ने गर्दछ । यस महिनामा सूर्यले अाफ्नो नीच राशिमा भ्रमण गर्ने भएकाले यस्तो स्थिति सिर्जना हुने गरेको हो ।

कार्तिक महिनाको ठूली एकादशीदेखि पूर्णिमा सम्म सुनसरी जिल्लाको वराहक्षेत्र तीर्थमा भव्य मेला लाग्ने गर्दछ । उक्त अवसरमा नेपालका विभिन्न जिल्लाहरूका अतिरिक्त भारतको असम, बङ्गाल र विहारबाट असङ्ख्य भक्तजन अार्इ कार्तिक स्नान गरी पुण्यार्जन गरी फर्कने गर्दछन् । कार्तिक महिनामा तीर्थमा नै जान नसकिए पनि नित्य स्नान नगरी अन्नजलसमेत ग्रहण गर्न निषेध गरिएको छ । कार्तिक महिनामा राधाकृष्ण, विष्णु भगवान् र तुलसीको पूजाको ठूलो महत्त्व छ । जुन व्यक्तिले यिनको पूजा र अाराधना गर्दछ, त्यसले अखण्ड पुण्य प्राप्त गर्दछ । कतिपय श्रद्धालु भक्तहरूले कार्तिक महिनाभरि नक्तभोजन (रात्रीको समयमा केवल एक छाक अन्न ग्रहण गर्ने काम) गर्ने गर्दछन् । यसलार्इ ताराभोजन पनि भन्ने गरिन्छ । दिनभरि निराहार बसी राती जब अाकाशमा तारा उदाउँछन्, त्यसपछि तारालार्इ अर्घ्य प्रदान गरी भोजन गर्नु नै ताराभोजन हो । घरपरिवारमा सबै किसिमका शुभता र सदैव सुखशान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथमा तुलसीको अाराधना गर्नु वाञ्छनीय मानिन्छ । जुन घरमा शुभकर्मको प्रधानता हुन्छ, त्यस घरमा तुलसीको बोट झर्झराउँदो हुन्छ, तर जुन घरमा अशुभ कर्मको प्रधानता हुन्छ, त्यहाँ तुलसीको बोटले हुर्किने र झाङ्गिने अनुकूलता प्राप्त गर्दैन भनी स्कन्दपुराणमा लेखिएको छ । समग्रमा पारिवारिक सुखसम्मृद्धि, सुस्वास्थ्य र शान्तिका लागि कार्तिक महिनामा गृहस्थीले तलका कृत्यहरू अनिवार्य रूपमा सम्पादन गर्नु पर्दछ :-

१) कार्तिक दीपदान : कार्तिक महिनाको मुख्य कर्ममध्ये एउटा दीपदान हो । कतिपय गृहस्थीले एउटा लामो बाँस घरको अाँगनमा गाडेर त्यसको टुप्पोमा कागज वा प्लास्टिकले एउटा दियोघर बनार्इ त्यस दियो घरलार्इ तल झार्न र पुनः माथि पुर्याउन सजिलो हुने गरी डोरीले बाँधी त्यसमा हरेक बेलुका दियो बाल्ने गर्दछन् । यस प्रक्रियालार्इ अाकाशदीपदर्शन (अाकाश बत्ती) भन्ने गरिन्छ । त्यसबाहेक घरछेउमा रहेको देवीद्याैराली, मन्दिर वा पोखरीमा गर्इ प्रत्येक साँझ दियो बाल्ने गरिन्छ । यसरी महिनाभरि दियो बाली उक्त दियो दान गर्ने विधान छ । दियो बाल्दा र अन्त्यमा दान गर्दा अाफ्नो सामर्थ्यबमोजिम सुन, चाँदी, तामा वा माटोको दियोको प्रयोग गरिन्छ ।

२) तुलसी पूजन : कार्तिक महिनाभरि तुलसीको सेवासुश्रुषा र पूजा गरेको अनुपम फल प्राप्त हुन्छ भनी स्कन्दपुराणमा उल्लेख गरिएको छ । सामान्यतया ठूली एकादशी (कार्तिक शुक्ल हरिबोधिनी एकादशी) का दिन विधिपूर्वक व्रत लिर्इ उक्त दिन तुलसीको विवाह गरी भोलिपल्ट अाहुति गरिदिने चलन छ ।

३) भूमिशयन : भुइँमा एकसरो अोछ्यान लगार्इ शयन गर्नु कार्तिक महिनाको तेस्रो मुख्य कर्म हो । योगविज्ञानअनुसार भुइँमा शयन गर्दा मनुष्यमा सात्विक भावको बृद्धि हुन्छ र शरीरमा रहेका तामसी विकारहरूको नाश हुन्छ ।

४) ब्रह्मचर्य व्रतको पालना : कार्तिक महिनाभरि ब्रह्मचर्यको पालना गर्नु अर्को महत्त्वपूर्ण कार्य मानिएको छ ।

५) पथ्याहार : पथ्याहार भनेको शरीरका लागि सुपाच्य र अाैषधीय गुणले युक्त खान्की खानु हो । कार्तिक महिनामा कालो दाल, मुँग, मुसुरी, चना, मटर, रायो, हिङ, मूला र हरियो सब्जी सेवन गर्न निषेध गरिएको छ, त्यस्तै घिराैंला, लाैका, बैगुन, बासी खानेकुरा, परान्न (अर्काकहाँ पाकेको खान्की), दूषित अन्न अादि पनि ग्रहण गर्नु हुँदैन । सामान्यतया त्यस्तो सब्जी जुन सब्जीमा अमिलोपन हुन्छ, त्यसलार्इ पनि कार्तिक महिनाभरि खानु हुँदैन । सामान्यतया कार्तिकभरि व्रत लिने नरनारीले तामसी भोजन खानु हुँदैन । बेलुका टपरी वा पातमा खाना खानुपर्दछ ।

६) तेल मर्दन : कार्तिक महिनाभरि शरीरमा तेल घस्नु हुँदैन । तर कार्तिक कृष्ण चतुर्दशी (नरके चतुर्दशी) का दिन शरीरमा तेल घसेमा दोष लाग्दैन ।

७) संयमता र अनुशासन : कार्तिकभरि नित्यस्नान र नक्तभोजन गर्न व्रत लिएका व्रतालुले संयमता र अनुशासनमा जोड दिनु वाञ्छनीय छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य अादि दुर्गुणहरूको त्याग गरी ऋषिमुनि झैं सरल व्यवहार गरेर महिनाभरि व्रत लिनु पर्दछ ।

८) अल्पभाषी : व्रतालुले महिनाभरि थोरै बोल्नुपर्दछ । कसैको निन्दा वा विवादमा फँस्नु हुँदैन । कसैसित झैझगडा गर्नु हुँदैन । परदेशको यात्रा गर्नु हुँदैन, तर तीर्थयात्रा जान रोकछेक हुँदैन । इन्द्रियलार्इ संयमित बनाउनु पर्दछ ।

९) पवित्रता : कार्तिक महिनाभरि व्रत लिने व्यक्तिको अन्तिम र महत्त्वपूर्ण अनुशासन हो, पवित्र अाचरण । यस अवधिमा रजस्वला स्त्री, दूषित खानेकुरा, जुठोसुतक परेका व्यक्तिसँगको संसर्ग गर्नु निषेध गरिएको छ । कामविशेषले धेरै मानिसहरूसँग उठबस गर्ने परिस्थिति अाएमा त्यसरी उठबस गरी घर अाइपुग्नासाथ स्नान गरी शरीरमा गङ्गाजल वा गहुँत छर्की पवित्र हुनुपर्दछ ।
अस्तु ।

Tuesday, July 18, 2017

तपाईं स्मार्त कि वैष्णव ?

प्राचीनकालमा देवता, नाग, किन्नर, असुर, गन्धर्व, भिल्ल, वराह, दानव, राक्षस, यक्ष, किरात, वानर, कूर्म, कमठ, कोल, यातुधान, पिशाच, बेताल, चारण आदि विभिन्न मानव जातिले पृथ्वीमा बसोबास गर्दथे । देवता र असुर (राक्षस वा दैत्य) को एकआपसमा मेलमिलाप थिएन । विभिन्न निउँमा यी दुई समूहको लडाइँ र झैझगडा भइरहन्थ्यो । विभिन्न पुराण र इतिहासमा यी दुईका बीचको कलह र युद्धका बारेमा विभिन्न आख्यानमा वर्णन गरिएको पाइन्छ । यसरी देवता र असुरका बीचमा भइरहने झैझगडा र कलहका कारण मानवसमूहको दुई बेग्लाबेग्लै धारमा विभाजन भयो । सुरुमा देवगुरु बृहस्पति र दैत्यगुरु शुक्राचार्यका बीचमा युद्ध भयो, त्यसपछि गुरु वशिष्ठ र विश्वामित्रका बीचमा पनि युद्ध भयो । यसरी कलह र द्वेषभावका कारण समाजको विभाजन हुँदै गयो । वर्षाैंवर्षसम्म चलेको यस्तो झगडाका कारण सुरुमा सुर र असुर नामका दुईवटा वर्गको विभाजन भयो र तिनै दुई वर्गका धर्म र संस्कृतिमा पनि विभाजन र फरक देखिन थाल्यो । यही सुर र असुरको धर्म नै कालान्तरमा वैष्णव र शैव मतका रूपमा प्रचलनमा आएको विश्वास गरिन्छ । त्यतिबेलै पनि वेदमा वर्णित एकेश्वरवादको मान्यतालाई अनुसरण गर्ने मध्यमार्गी सम्प्रदाय पनि प्रचलनमा थियो । यस सम्प्रदायको नेतृत्व ब्रह्मा र उनका मानसपुत्रहरूले गरेका थिए । त्यसबाहेक त्यति वेला पनि अनीश्वरवादी (चार्वाकप्रभृति) सम्प्रदाय विद्यमान रहेको पाइन्छ ।

शैव र वैष्णवका माझमा को ठूलो र कुन चाहिं सत्य हो भन्ने विषयमा लामो समयसम्म शास्त्रार्थ र विवाद कायमै रह्यो । त्यसैबीच शाक्त धर्मको उत्पत्ति भयो, जसले यी दुवै सम्प्रदायका बीचमा समन्वयको सेतु स्थापना गर्ने प्रयत्न गर्यो । यसबाहेक शैव र वैष्णवलाई समन्वय गर्ने प्रयास अत्रि ऋषिका पुत्र दत्तात्रेयले पनि गरेका थिए । दत्तात्रेयलाई ब्रह्मा, विष्णु र शिवको संयुक्त अवतार मान्नुको तात्पर्य पनि यही नै हो । पछि पुराण र स्मृतिग्रन्थका आधारमा जीवनयापन गर्ने गृहस्थीहरूको छुट्टै सम्प्रदाय निर्माण भयो जसलाई स्मार्त सम्प्रदाय भन्न थालियो । यसरी वेद र पुराणमा उल्लिखित परम्पराको अनुसरणका साथमा सनातन धर्ममा पाँचवटा मुख्यमुख्य सम्प्रदायहरू स्थापित हुनपुगे - १) वैष्णव, २) शैव, ३) शाक्त, ४) स्मार्त र ५) वैदिक । यहाँ वैष्णव भन्नाले विष्णुलाई मुख्य देवता र परमेश्वर मान्ने, शैव भन्नाले शिवलाई मुख्य देवता र परमेश्वर मान्ने, आद्याशक्ति भगवतीलाई मुख्य देवी र परमेश्वरी मान्ने शाक्त सम्प्रदाय, परमेश्वरका विभिन्न रूपलाई समान रूपले मान्दै स्मृतिग्रन्थ र पुराण निर्देशित कर्म गर्ने स्मार्त र ब्रह्मलाई निराकार मान्दै वेदलाई मुख्य धर्मग्रन्थ मान्ने वैदिक सम्प्रदाय भन्ने बुझिन्छ । हुन त सबै सम्प्रदायको मुख्य धर्म ग्रन्थ वेद नै हो, यद्यपि सनातन धर्मअन्तर्गत स्मृतिग्रन्थका मान्यताहरूको विरोध गर्ने केही सम्प्रदाय पनि अहिले प्रचलनमा रहेको देखिन्छ, जस्तै ब्रह्मसमाज, आर्य समाज आदि । ब्रह्म (परमेश्वर) को मार्गभन्दा पृथक् धर्म र सम्प्रदायलाई अवैदिक भन्ने गरिन्छ । 


वैष्णव धर्म र यसका सम्प्रदाय :
विष्णुलाई मुख्य देवता र उनको पूजा, उपासना, नामसङ्कीर्तनमा जोड दिने सम्प्रदायलाई वैष्णव धर्म भन्ने गरिन्छ । यसअन्तर्गत पनि विभिन्न मतमतान्तर र विभेद छ । प्रचलनमा रहेका केही वैष्णव सम्प्रदायहरूमा श्री (रामानुजी), बैरागी, दास, रामानन्द, वल्लभ, निम्बार्क, माध्व, राधावल्लभ, सखी, गौड़ीय आदि पर्दछन् । वैष्णवका मूलदेवता विष्णु वा विष्णुको कुनै एउटा अवतारविशेष हुन्छ । यसको मूलरूप आदित्य वा सूर्यदेवको आराधनामा प्राप्त हुन्छ । हुन त भगवान् विष्णुको वर्णन पनि वेद र वैदिक साहित्यमा भएको पाइन्छ, त्यस्तै अधिकांश पुराणहरूमा पनि विष्णुलाई पुराणपुरुषोत्तम भनी उल्लेख गरी उत्तिकै महत्व दिइएको पाइन्छ । तर यी वैष्णव सम्प्रदायहरूमा विशिष्टाद्वैत, द्वैताद्वैत आदि विभिन्न दार्शनिक मतद्वारा विष्णुलाई हरतरहले विशिष्ट देवताका रूपमा स्थापना गरी पुज्ने गरिन्छ ।


शैव धर्म र यसका सम्प्रदाय :
यस चराचर जगतका सृष्टि, स्थिति र लयका प्रमुख देवताका रूपमा शिवलाई मान्ने धर्मविशेषलाई शैव मत भन्ने गरिन्छ । यस मतअन्तर्गत शाक्त, नाथ, दसनामी, नाग आदि सम्प्रदाय रहेको देखिन्छ । महाभारतमा माहेश्वर मत (शैव धर्म) का मुख्य चारवटा सम्प्रदायको उल्लेख गरिएको पाइन्छ । ती हुन् :- शैव, पाशुपत, कालदमन र कापालिक । ऋग्वेद र अन्य वैदिक संहितामा वर्णन गरिएका रुद्र देवता नै शैव मतका मूल देवता हुन् । वेदमा वर्णन गरिएको रुद्रदेवको आराधना र उपासना गर्नु नै यस मतको मुख्य ध्येय हो । एकादश रुद्रहरूमध्ये शिव, शङ्कर, भोलेनाथ, महादेव आदि यस मतमा आराध्य मानिएका रूपहरू हुन् । तिनै रुद्रदेवताकी पत्नीको नाम पार्वती हो । उनी हिमालय पर्वतकी सुपुत्री हुन् । यिनलाई नै जगन्माता दुर्गाका रूपमा उपासना गरिएको हो भनी शैव मतानुयायीले भन्ने गरेको पाइन्छ । रुद्रदेवताको निवासस्थल हिमालय पर्वतको कैलाश पर्वत हो भन्ने विश्वास गरिन्छ ।

शाक्त धर्म :
यस ब्रह्माण्डको सृष्टि, स्थिति र पालन पुरुषतत्त्वको नियन्त्रणमा होइन, प्रकृति तत्त्वको निर्देशनमा हुन्छ भन्ने विश्वास शाक्त धर्ममा हुन्छ । आद्याशक्ति जगन्माता भगवती यस धर्मकी प्रमुख उपास्या देवी हुन् । जगतको सुसञ्चालनका लागि माता भगवतीले नै आफ्नो मायाद्वारा सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता रुद्रको उत्पत्ति गरेकी हुन् । माता दुर्गाको मायाका वशीभूत भई यिनले तोकिएको जिम्मेबारी वहन गर्दछन् भन्ने मान्यता शाक्त धर्ममा पाइन्छ । माता दुर्गालाई शक्ति पनि भनिन्छ । वेद, उपनिषद् र गीतामा शक्तिलाई नै प्रकृतिका रूपमा व्याख्या गरिएको छ । तिनै दुर्गाले सात्विक भावमा सरस्वती, राजसी भावमा लक्ष्मी र तामसी भावमा पार्वतीको रूप धारण गरी क्रमशः ब्रह्मा, विष्णु र शिवकी सहचरी, सहधर्मिणी भई उपस्थिति जनाउने गर्दछिन् । जीवनजगतका प्रत्येक आमाहरूमा प्रकृतिको अंश हुन्छ, हरेक सृजनशीलतामा रहेको शक्ति नै प्रकृति हो । प्रकृतिमा जन्म दिने, पालन गर्ने र संहार गर्ने शक्ति विद्यमान छ ।

कतिपयले शाक्त सम्प्रदायलाई शैव सम्प्रदायको एउटा शाखाका रूपमा पनि व्याख्या गरेको पाइन्छ । शाक्तहरूको मुख्य मान्यता हो - ब्रह्माण्डको सर्वोच्च शक्ति स्त्रैण हो, त्यसैले देवी दुर्गालाई नै सर्वेश्वरी मानिन्छ । सिन्धु नदीको सभ्यतामा मातृशक्तिको उपासना र पूजाका प्रशस्त प्रमाणहरू भेटिएको छ । समाज विज्ञानले मातृसत्ता र मातृउपासनाको परम्परालाई पृथ्वीको सर्वप्राचीन परम्परा मानेको छ । लगभग २००० वर्षअघि भारतवर्ष, कम्बोडिया, इन्डोनेसियाको जावा, बोर्निया र मलेसियामा समेत यस धर्मको प्रचलन रहेको देखिन्छ ।

स्मार्त धर्म :
वेदलाई श्रुति र पुराणादि अन्य धर्मग्रन्थलाई स्मृति भन्ने गरिन्छ । सुरुमा वैदिक समाज थियो । समाजलाई व्यवस्थापन गर्न उपनिषद्, पुराण, स्मृतिग्रन्थहरू, नीतिशास्त्र आदिको रचना भयो । यी ग्रन्थमा जीवनका विविध आयामलाई व्यवस्थापन गर्न तथा दैनन्दिनीमा प्रयुक्त हुने आचारविचारको नियमहरूको व्यवस्था गरियो । अहिलेको सभ्य र समुन्नत समाजको निर्माणमा यी ग्रन्थको उल्लेख्य भूमिका रहेको देखिन्छ । ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास गरी चार वटा आश्रम, ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र गरी चार वटा वर्णव्यवस्था, कर्मकाण्ड आदि स्मृतिग्रन्थको देन हो । जुन ज्ञानलाई परम्पराका माध्यमबाट ग्रहण गरियो अर्थात् स्मृतिपरम्परालाई अवलम्बन गरियो, त्यो स्मार्त धर्म हो । यस धर्म र सम्प्रदायको सम्बन्ध आदि शङ्कराचार्यसँग रहेको विश्वास गरिन्छ । शङ्कराचार्यले प्रतिपादन गरेको पञ्चदेवोपासनाको पद्धति स्मार्त धर्मको आराधना र उपासनाको क्षेत्र हो । वेद र समस्त पुराण र स्मृतिग्रन्थहरू यस सम्प्रदायका आधार हुन् । सारांशमा भन्ने हो भने जसले शिव, शक्ति, विष्णु, सूर्य र गणेशसहित पञ्चदेवको समान ढंगले उपासना गर्दछन्, तिनीहरू नै स्मार्त हुन् । एउटै मात्र देवताको उपासनामा जोड दिने एकनिष्ठ उपासकबाहेक सबै गृहस्थीहरू स्मार्त हुन् भन्दा फरक पर्दैन ।

वैदिक सम्प्रदाय :
हुन त सनातन धर्ममा प्रचलित प्रत्येक सम्प्रदाय र मतको मूल ग्रन्थ वेद नै हो । तर वेदद्वारा निर्देशित पद्धतिभन्दा बाहेक पुराण र स्मृतिग्रन्थको मान्यतालाई अस्वीकार गर्ने केही मत र सम्प्रदाय पनि सनातन हिन्दु धर्मअन्तर्गत प्रचलनमा रहेको देखिन्छ । यस मतमा निराकार ईश्वरको उपासना हुन्छ र पुराणादिले प्रस्तुत गरेको बहुईश्वरवाद र अवतारवादको खण्डन गरेको पाइन्छ । ब्रह्म र ईश्वर एउटै मात्र छ भन्ने मतलाई मूल मान्यता राख्नु वैदिक सम्प्रदायको वैशिष्ट्य हो । कबीरपन्थी र दादु जस्ता अन्य कतिपय मतमा एकेश्वरवादलाई महत्त्व दिइन्छ ।

Tuesday, May 23, 2017

आस्तिक दर्शनअनुसार संसारको उत्पत्ति

- रामचन्द्र पौडेल

आस्तिक दशर्नले मूलपुरुष स्थायी मान्छ । किनभने यसको उत्पत्ति छैन र विनाश पनि छैन । यो सनातन प्रकृतिभन्दा पृथक् र सर्वव्यापी पनि छ । विस्तृत यो संसारमा बीजरूप पुरूष जीवात्मा बन्छ । अनन्त अन्तःस्करणका सम्बन्धले अनन्त बन्छ । जडत्व यद्वा सक्रिय त्रिगुणात्मक प्रकृति र पुरुषका रूपमा परमात्मा तत्त्व बन्दा शुद्ध चेतन निष्क्रिय भएर ज्ञान स्वरुपमा परिणत हुन्छ । सत्व, रज, तम गरी मूल प्रकृतिका तीन गुण हुन्छन्, जो कुनै समय विशेषमा साम्यावस्थामा रहेका हुन्छन् र कुनै बेला विषम अवस्थामा । जब तीनै गुणका गुण साम्यवस्थामा हुन्छन्, त्यो प्रलयावस्थामा कहलिन्छ र मूल प्रकृति र पुरुषबाहेक यस बेला अरु केही पनि हुँदैन । फेरि प्रकृतिमा संयोग हुनथाल्दा ती तीनवटै गुणमा न्यूनाधिकता हुन थाल्छ र प्रथमत: सत्वगुणको प्रधानताबाट महत्तत्त्व अथवा बुद्धि तत्त्वको उत्पत्ति हुन्छ । बुद्धि तत्त्वमा रजोगुणको प्रबलताले अहङ्कारको उत्पत्ति गराउँछ र अहङ्कारमा जब तमो गुणको प्राबल्य सुरु हुन्छ अनि शब्द, स्पर्श, रूप, रस र गन्ध गरी पाँचवटा सूक्ष्म तन्मात्रा उत्पत्ति हुन्छन् । तमो गुणको अत्यधिक बृद्धि हुन्छ अनि यिनै सूक्ष्म तन्मात्राबाट पञ्च स्थूलभूत अर्थात् आकाश, वायु, अग्नि, जल र पृथ्वीको उत्पत्ति हुन्छ । यी पञ्‍चमहाभूत र तीनका न्यूनाधिक सहकार्यबाट थरिथरिका स्थावर, जङ्गम सृष्टि हुन थाल्छन् किनकि प्रकृतिका सत्व, रज र तमोगुण भिन्नभिन्न स्वभावका भए पनि यिनीहरू सधैँ एकसाथ रहन्छन् र यिनीहरूकै न्यूनाधिक संयोगबाट नै संसारको सृष्टि हुन्छ ।

जसरी तेल, बत्ती र दीयोको तीन कुरा पृथक् पृथक् छन्, यिनैको संयोजनबाट बलेको दीयोको ज्योतिले अन्धकारलाई हटाएर सृष्टिलाई उज्यालो गराउँछ, त्यसै गरी यी तीन गुणले पनि सृष्टि गर्छन् । विश्‍वका सबै मानिस र जीवहरू पृथक् पृथक् देखिनु उनै परमात्माको देन हो भनेर विद्वानहरूले स्वीकार गर्दै आएका छन् । श्रीमद्भागवतमा भगवानले आफ्नो योगमाया अर्थात् प्रकृतिरूपी उपादान कारणका सहायताले यस संसारको निर्माण गरेको विशद वर्णन छ । संसारको निर्माणको पहिलो अवस्थामा ब्रह्म एक्लै थियो, त्यसलाई देख्ने कुनै जीव विशेष थिएन, त्यति बेला उसले हेर्न खोज्यो तर उसले केही पनि देखेन, अनि ईश्वरले 'एकोऽहं बहुस्याम' अर्थात् एक छु अनेक हुन्छु भन्ने भावनाबाट प्रेरित भएर त्रिगुणमयी मायाको सृष्टि गर्यो । अनि ईश्वरले आफ्नो अंशलाई पुरुषमा परिणत गराएर मायामा आफ्नो रेतस् (वीर्य) लाई प्रवेश गराई चैतन्यलाई उत्पन्न गरायो । त्यस चैतन्यबाट सत्व, रज र तम उत्पन्‍न भए । सात्विक अहङ्कारबाट मन र इन्द्रियका अधिष्ठाता देवताहरू उत्पन्न भए । राजस अहङ्कारबाट दशेन्द्रिय वाक् (मुख), पाणि (हात), पाद (खुट्टा), पायु (गुदा) र उपस्थ (जननेन्द्रिय) गरी पाँच कर्मेन्द्रिय र चक्षु (आँखा), रसना (जिब्रो), घ्राण (नाक), त्वक् (छाला) र श्रोत्र (कान) गरी पाँच ज्ञानेन्द्रिय उत्पन्न भए । तामसबाट पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश) उत्पन्न भए ।

शतपथ ब्राह्मण तथा पुराणहरूमा उल्लेखभए अनुसार जलामय संसारबाट एउटा ब्रह्माण्डको उत्पत्ति भयो, त्यस ब्रह्माण्डबाट चतुर्मुखी ब्रह्मा उत्पन्‍न भए । उनले धेरै वर्षसम्म भगवान्को तपस्या गरे । ब्रह्माका तपस्याबाट खुशी भएका परमपिता ईश्वरले प्रजासृष्टिका लागि ब्रह्मालाई आज्ञा दिए । फलस्वरुप ब्रह्माको दाहिने अंगबाट स्वयम्भू नाम गरेका पुरुष र बाया अंगबाट शतरुपा नाम गरेकी स्त्री पैदा भइन् । यी दुईका मिथुनी धर्मबाट सारा जीवको उत्पत्ति भएको भनाइ पाइन्छ । यो पूर्वीय मान्यता हो । यस्ता कुराहरू अधिकांश पुराणहरूमा पाइन्छन् ।

नासदीय सूक्तका अनुसार सृष्टिपूर्व संसार भनेको केही थिएन । सत्य/असत्य, चौध भुवन, केही पनि थिएनन् । जन्म/मृत्यृ र रात/दिन भन्ने पनि थिएन, तर एउटा निराकार परब्रह्म वायुविना पनि आफ्नो इच्छा अनुसार शेष थियो र त्यसबाहेक यस संसारमा अरू केही पनि थिएन । चारैतिर अज्ञानको अन्धकार थियो र शून्य थियो । यसै बखत त्यही परब्रह्म (आत्मतत्व) आफ्नो संकल्पशक्तिले प्रकटित भयो । त्यसपछि सृष्टि गर्ने कामना (ईच्छा) जाग्यो र मनको उत्पत्ति भयो जसलाई सिर्जना र संसारको आदिबीज मानिन्छ । त्रिकालदर्शी मुनिहरूले ब्रह्मको यो सबै सृष्टिविकारलाई असत्का रूपमा लिएका छन् । अब यहाँ प्रश्न उठ्छ - सृष्टिको त्यो रश्मि (किरण) कसरी विस्तारित भयो ? एकै पटक चरअचरको सृष्टि भयो वा क्रमागत रूपमा भयो भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । वास्तवमा सृष्टि बीजरूप भोक्ता (जीव) र भोग्य (सांसारिक पदार्थ) को दुई रूपमा सृष्टि भयो । यसरी कर्ता र कर्मको आविर्भाव भएको देखियो । यथार्थमा सृष्टिविज्ञान दुर्बोध्य र दुरूह छ । यसको रहस्य कसैले पत्ता लगाउन सकेको छैन । यसबारे देवताहरूलाई थाहा छैन, किन भने उनीहहरू भौतिक पदार्थको सृष्टिभन्दा धेरैपछि आविर्भाव भएका हुन् । यहाँनेर के भन्नु युक्तिसङ्गत् हुन्छ भने यो सृष्टिचक्र जहाँबाट सञ्चालन भए पनि यसमा निरन्तरता रहेको हुन्छ । वास्तवमा यो सृष्टि उसैलाई ज्ञात हुन्छ जो संसारको नियामक र सर्वत्र व्याप्त छ ।

यसरी सृष्टिको रहस्य, सृष्टिपूर्वको शून्य स्थिति तथा परब्रह्मको सर्वव्यापकता जस्ता पक्षहरूलाई चर्चामा ल्याउने नासदीय सूक्तलाई वैचारिक उचाइको चिन्तन भन्न सकिन्छ । यसमा जन्मपूर्व र मृत्युपश्चातको रहस्यलाई समेत जान्न चाहने उत्कण्ठा छ । अन्ततो गत्वा सबै रहस्यलाई परब्रह्ममा पुर्याएर चिन्तनलाई निराकार तथा निर्गुण तत्वमा केन्द्रित बनाइएको छ । संसारभन्दा भिन्न परम तत्व (परब्रह्म) को परिकल्पना गरेर संसार नाशवान् तथा परब्रह्म नित्य छ भन्ने जुन दृष्टिकोण यहाँ पाइन्छ । त्यो आर्यहरूको आस्थागत भावनाको परिणाम हो । नाश हुने जीवनका लागि ‘तेरो/मेरो’ भन्ने विचार राख्न हुँदैन भन्ने वेदान्तमुखी शिक्षा/उपदेशलाई समेत् नासदीय सूक्तले स्पष्ट पारेको छ । त्यसकारण नासदीय सूक्त वैदिक साहित्यमा वैचारिक उचाई भएको सूक्त हो । यस सन्दर्भमा ‘नासदीय सूक्त’का केही उदाहरण तल दिइएका छन् ।

नासदासिन्नो सदासीत् तदानीं नासीत् रजो नो व्योमा परो यत् ।
किमवरीव: कुह कस्य शर्मन् अम्भ: किमासीतद् गहनं गभीरम् । ।

अर्थात् सृष्टिपूर्व महाप्रलयको समयमा न सत् थियो न त असत् नै । लोक र आकाशहरू पनि थिएनन् । परम पद भन्ने समेत थिएन । यो जगत्को आवरण पनि देखिएन । गहन जलप्रवाह पनि थियो कि थिएन सृष्टिपूर्व केही थिएन, अदृश्य रूपमा केवल परब्रह्म थियो । उसको इच्छा मात्रले विन्दू विस्फोट भयो र यस विस्फोटले सृजना आरम्भ गर्यो । यो भनाइ र ४३५ करोड वर्षका महानिशा पछि ग्याँसको पिण्डीकरण र पिण्ड विस्फोटपछि बनेका अनन्त पिण्डमा हुने रसायनिक प्रतिक्रियाबाट यो सृष्टि भएको हो भन्ने सङ्केतहरू पनि मिल्दाजुल्दा नै देखिन्छन् । यसरी ऋग्वेदको नासदीय सूक्तले पनि सृष्टिबारे चर्चा गरेको पाइन्छ । 

Friday, May 19, 2017

आध्यात्मिक विश्लेषण मनका तर्कना

- रामबाबु घिमिरे

मनको अध्ययन नै मान्छेको अध्ययन हो, किनकि मान्छे भनेको नै मन हो । मनको अध्ययन मनले नै गर्नु पर्नाले अर्थात् साधन र साध्य एउटै हुनाले मनको अध्ययन सहज हुन्न । त्यो भनेको ऐनाले आफैँ ऐना हेर्नुजस्तै हो । मन भनेको समान्यतः चित्त वा चेतना हो, जुन सतत प्रवाहशील हुन्छ । सोच्ने क्रमबाट मन कहिल्यै विरत हुँदैन अर्थात् मनले कहिल्यै विश्राम लिँदैन । अविश्रान्त यात्री हो मन । मनमा निरन्तर कुरा खेलिरहन्छन् । विचारको त्यो सतत प्रक्रियाबाट मन कहिल्यै मुक्त हुँदैन । मनमा प्रवाहित विचारहरूको शृङ्खला र क्रम हुँदैन । त्यसैले एक लेखकले मनलाई व्यस्त विमानस्थलसँग तुलना गरेका छन् जहाँ निरन्तर विमान अवतरण गर्छन् र उडान भर्छन् ।

हो, सतत विचार प्रक्रियाबाट मान्छे हरक्षण आक्रान्त रहन्छ । यसबाट उम्कने कुनै उपाय छैन । मनको अतिवादिताका सामु मान्छे निरूपाय छ । मन सोचेर कहिल्यै नथाक्ने हुनाले दार्शनिकहरूले मनलाई खाएर कहिल्यै नअघाउने राक्षसको मिथकसँग तुलना गरेका छन् । निदाएको बेला, मुर्छा परेको बेला त्यस्तै मृत्युपूर्व वचन बसेको बेला पनि हाम्रो अन्तर्मन सक्रिय नै रहन्छ । बिउँझेपछि वा चेतनामा आएपछि ती कुरा अति कम पुनःसम्झना हुन्छ तर म यतिखेर चेतन अर्थात् चैतन्य तत्वका बारेमा मात्र चिन्तन गर्दैछु । यतिबेला म जुन चिन्तन गर्दैछु त्यो मेरो मनको क्रियात्मकता हो । मनमा शृङ्खलाबद्ध विचार प्रकट नहुनाले विषय केन्द्रित हुन मलाई एक प्रकारको सकस भएको छ । त्यसैले यसो भने हुन्छ-म विषय केन्द्रित हुने प्रयत्न गर्दैछु ।

पूर्वीय दर्शनको निष्कर्ष छ - मनको निरन्तर सक्रियता नै दुःखको कारण हो । मनको चञ्चलता र अतिवादिताबाट आजित भएकोले नै मान्छेले मनको एकाग्रता र विश्रान्तका लागि अनेकन उपाय खोजेको छ । योगशास्त्रको मूल विषय नै मनको अघोरको चञ्चलता नियन्त्रण र अविश्रान्त प्रकृतिलाई विश्राम दिने प्रयत्न हो । चित्तवृत्ति निरोध नै योग भनी परिभाषित गरिएको छ र चित्तवृत्ति भनेको मनको सतत् विचरणशील प्रकृति हो । योग मनको यही अतिवादी प्रवृत्ति नियन्त्रणमा लक्षित छ ।

नियन्त्रण भनेको मनको सतत् विचार प्रक्रियालाई आफ्नो अनुकूल बनाउनु हो । अनुकूल भनेको विचारशून्यता वा कुनै विचारमा मनलाई केन्द्रित गराउन सक्ने कला हो । म पनि मनको अनुकूलताका लागि दीर्घ अवधि योगप्रति अवलम्बित भएँ तर श्रीमतीका बारेमा सोच्दा युवती र देशको बारेमा सोच्दा गुण्डा प्रकट हुन थालेपछि मनलाई छाडा छाडेको छु । त्यसैले मेरो मन तपाईंको गोप्य कारोबारमा साक्षी बस्न आयो भने रिसानी माफ होला ।

मनको कारणले नै मान्छेले आफ्नो अस्तित्वबोध गर्छ । मन नहुँदो हो त मान्छे र ढुङ्गोमा केही फरक हुने थिएन । विस्मृतिका रोग लागेकाहरूले आफू र अर्को छुट्याउन सक्दैनन् । कविहरूको मन अति कोमल हुन्छ, उनीहरू चोटहरू खप्न सक्दैनन् । त्यसैले हुनसक्छ कवि हरिभक्त कटुवालले मन त फलामकै भए हुन्थ्यो भनेका छन् । यन्त्र मानवको मन फलामकै हुन्छ तर विचरा फूल, आइमाई, नदी र जुन-तारा देख्दा रमाउन सक्दैन ।

अँ, म भन्दै थिएँ मनको कारण नै मान्छेले आफ्नो अस्तित्व बोध गर्छ । कुनै कारणले चेतना विलुप्त भएमा जीवनमरणमा पृथकता रहन्न । अनुभव र अनुभूतिको उपकरण नै मन हो । मनले नै स्मृतिका रूपमा विगतको भण्डारण गर्छ र अनि भविष्यको कल्पना र सपना देख्ने पनि मन नै हो । मन भोक्ता हो । शल्यक्रियाका क्रममा आंशिक रूप वा पूर्णरूपमा मनलाई निस्त्रिmय बनाउँदा शरीरलाई काँक्रोझैँ चिर्दा पनि दुख्दैन । त्यसैले दुख्ने त मन रहेछ । त्यति मात्र होइन । दुखेको मनलाई चित्त बुझाउने पनि मन नै हो । पूर्वीय दर्शन र धर्मले आत्माको बारेमा विशद् चिन्तन गरेको छ । आत्मालाई सत्य र जगत्लाई मिथ्या ठानेको छ । यदि यस्तै चिन्तनका कारणले पूर्व भौतिक उन्नतिमा पछि परेको छ । आत्मा विषयक कुनै ज्ञान मसँग छैन । यदि आत्मा छ भने मनको उद्गमस्थल आत्मा नै हुनुपर्छ अथवा मनको मुहान आत्मा नै हुनुपर्छ । भौतिक विज्ञानले मनलाई शरीरजन्य रसायन संयोजनबाट उद्भव भएको ठान्छ । यदि त्यसो हो भने भौतिक संयोजनबाट अभौतिक मन प्रकट हुँदोरहेछ । भौतिक दृष्टिले भन्दा अस्तित्वबाट अस्तित्वहीन अस्तित्व प्रकट हुँदोरहेछ । म अलि दार्शनिक पाराको कुरा गर्न थालेँ । सम्भवतः उमेर वृद्धिका साथै भौतिक वस्तुप्रति अनाकषिर्त हुनथालेपछि मान्छे धेरथोर दार्शनिक बन्छ क्यारे । मेरो मन आजकल अभौतिक कुरामा रुचि राख्न थालेको छ । संविधानका बारेमा सोच्न संविधानसभा र देशको बारेमा सोच्न सरकार छ । तलबी मान्छे खटिएका छन् । मन छ तर मनको स्वरूप पहिचान गर्न नसक्नाले नै दार्शनिक र धार्मिकहरूले मनको बारेमा धेरै तर्कना गरेका छन् । अनि ती तर्कनाप्रति हाम्रो रुचि किन हुन्छ भने आफ्नो अस्तित्त्वको रहस्य जान्ने ।

उत्कृष्ट चाह हाम्रो मनमा नै अन्तर्भूत रहेको हुन्छ । माफ गर्नुहोला, म दार्शनिकजस्तो कुरा गर्न थालेँ तर अज्ञातको चिन्तनमा स्वतः दर्शन प्रकट हुँदोरहेछ । अज्ञाततर्फको चिन्तन दार्शनिकता हो भने अज्ञातलाई ज्ञात ठानेर विवेचना गर्नु धार्मिकता हो । धर्म हरेक रहस्यको उत्तर दिन चाहन्छ । धर्मसँग सृष्टि, जीवन, मृत्यु, आत्मा आदिको बारेमा स्पष्ट जवाफ छ र ती जवाफ स्वैर कल्पनामा आधारित छन् । ती जवाफले हिजोका मान्छेको जिज्ञासा शान्त गर्नसके पनि आज ती मनोरञ्जनपूर्ण आख्यानमा रूपान्तरित भएका छन् । यो कुरा पनि ख्याल राख्नु पर्छ कि विज्ञान वस्तुगततालाई मात्र आधार मान्छ । प्रमाणबाहेकका कुराको अस्तित्व स्वीकार नगर्नु विज्ञानको सीमा हो । त्यसो गर्दा अन्वेषण गर्न बाँकी रहेका अनन्त सत्यहरू र उपल्ला तहका सत्यहरू अविवेच्य नै रहने छन् । महाकवि देवकोटाले काल्पनिक सत्यलाई उपल्लो दर्जाको सत्य भनेका छन् अनि प्लेटोले चाहिँ वस्तु नभई मनोविम्बलाई महत्त्व दिएका छन् ।

मनको प्रकृति एकल हुन्छ । सम्प्रेषणार्थ संवाद र विवादका सहभागी भए पनि म एक्लै विचरण गर्छु । यही भाव जनाउन जनश्रुत् प्रचलित छ-मान्छे एक्लै जन्मन्छ र एक्लै मर्छ । त्यति मात्र होइन मान्छे बाचुञ्जेल पनि एक्लै बाँच्नु पर्छ । त्यसैले कविहरू भीडमा पनि आफूलाई एक्लो अनुभव गर्छन् । त्यो एक्लोपनबाट बच्न समाज, परिवार र प्रेमभाव सहायक हुनसक्छ । मान्छेले त्यहाँ पनि आश्रय अनुभूत गरेन भने देवालय, मदिरालय वा बेश्यालय धाउन सक्छ । अर्थात् कुनै पनि प्रकारको आशक्ति होइन विरक्तिको पक्षमा छ । सांसारिक रागबाट बच्न पारिवारिक सम्बन्ध र सेतुहरूले धेरथोर काम गर्छन् तर पश्चिममा जस्तै हाम्रोमा पनि पारिवारिक सम्बन्ध शिथिल बन्दैछ । पछिल्लो पुस्ता अघिल्लो पुस्ताप्रति आस्था र श्रद्धाहीन बन्दैछ । अघिल्लो पुस्ताप्रतिको महिमामयी मान्यताहरू कमजोर बन्दैछन् । अहिलेको पुस्तालाई श्रवणकुमारको कथाप्रति कुनै रुचि छैन ।

धर्म, दर्शन र मानवीय अनुभवको आजसम्मको निचोड छ कि प्रेमभाव नै त्यस्तो कुरा हो जसले मान्छेलाई एक्लोपनबाट बचाउँछ । एक्लोपनबाट बच्नु भनेको आफूलाई बिर्सनु हो, अरूप्रति समर्पित हुनु हो ।

स्वअस्तित्वप्रति मान्छे जतिजति सचेत हुन्छ त्यतित्यति नै दुःखी हुन्छ । हो प्रेम नै यस्तो कुरा हो जसले विरक्तिबाट, उदासीबाट र एक्लोपनबाट बचाउँछ । प्रेम भौतिक वा अभौतिक दुवै हुनसक्छ । धर्मले अभौतिक प्रेमलाई किन महत्त्व दिएको होला भने भौतिक वस्तु नासवान हुन्छ र त्यो विनष्ट हुँदा दुःखी होइन्छ । परमात्माप्रतिको प्रेम, देशप्रेम, कुनै ध्येयप्रतिको प्रेम, आत्मीय जनप्रतिको प्रेम वा नरनारीको आपसी प्रेम सबै प्रेमकै रूप हुन् । नरनारीको आपसी प्रेम सबैभन्दा बढी प्रचलित प्रेम रूप हो र त्यो मानवीय सहज प्रवृत्ति पनि हो ।

नरनारीको एकअर्काप्रतिको आकर्षणका जैविक रसायनले उद्दीपन र आलम्बनको काम गर्छ । नरनारीको आपसी प्रेम शरीर, धर्म र मनोधर्म दुवै हो । मनलाई कुनै विषयकेन्द्री बनाउनु नै प्रेम हो तर मन चञ्चल प्रवृत्तिको हुन्छ । त्यसैले आत्मिक प्रेमलाई देहधर्मले बारम्बार बाधित गर्छ । अर्कोतर्फ मान्छेको मन यति अस्थिर हुन्छ कि एउटी पत्नी वा प्रेमिका हुँदाहुँदै अर्की पत्नी वा प्रेमिका खोजिरहन्छ । त्यसैले दुःखको कारण हाम्रो मन नै हो भन्ने दार्शनिक भनाइ मननयोग्य छ र यसैको समाधानार्थ धर्मले सन्तोषम् परमं सुखम् भन्ने सूत्र प्रतिपादित गरेको छ । सुख भनेको आनन्दी मनोवस्था हो । मान्छे सुखी हुन सक्दैन किनभने भएको समाप्त हुँदा वा चाहेको अप्राप्त हुँदा दुवै अवस्थामा दुःखी हुन्छ । मान्छे सकारण होइन अकारण पनि दुःखी हुन्छ । जीवनमा दुःख, नैराश्य र वैराग्य व्याप्त छ । जति चिन्तन गर्‍यो त्यति दुःखी भइन्छ । यस्तो अवस्थालाई देवकोटाले जान्नुको अभिशाप भनेका छन् । त्यसैले म आजकल आफूलाई बिर्सन मनलाई प्रेमभावमा समर्पण गर्न चाहन्छु । म प्रेममा निमग्न हुन चाहन्छु । तर थाहा छैन त्यो कुन खालको प्रेम हुनेछ ।

Tuesday, May 2, 2017

अध्यात्म र धर्म

अध्यात्म धर्म होइन, मनको संवेग, विशेषता वा क्षमता पनि होइन । अध्यात्म केवल मानसिक स्वःस्फुर्त शक्ति हो, जसले मानसिकतामा आचारसंहिता, शालीनता तथा सौम्यभाव सिर्जना गर्छ । अध्यात्म भनेको नैतिक ऊर्जा हो, जसले मानवलाई भौतिक तथा पारमार्थिक शान्तिको मार्ग प्रशस्त गराउँछ । तसर्थ अध्यात्म समाजलाई पुरातनवादी मान्यतामा अगाडि बढाउने कुनै धर्म वा कर्मकाण्डीय रूढीग्रस्त विषय पनि होइन । अध्यात्म त स्वचिन्तन र स्वदर्शनको मार्गप्रशस्त गर्ने मानवीय शालीनता एवं शान्तिकामी सोच हो । त्यसैले अध्यात्म र धर्ममा धेरै फरक छ भन्ने विषय बुझ्नु जरुरी छ । अध्यात्म मानसपटलबाट चल्छ भने धर्म सत् वस्तु धारण गर्ने विषय हो, जो मनद्वारा निर्देशित हुन्छ । धर्म मनको विशेषता हो । मन चल्नका लागि त्यहाँको संस्कृति, भौगोलिकता, विभिन्न दर्शनले प्रभावित पार्छ, तर अध्यात्म त्यो अन्तरनिहित शक्ति हो, जो कसैबाट निर्देशित हुँदैन । यो शक्ति कसैमा सुषुप्त हुन्छ, कसैमा जागृत । जागृत मानवमा आत्मचिन्तनको विचार हावी हुन्छ । फलतः त्यो शान्तिकामी हुन्छ, तर सुषुप्त अध्यात्म हुनेमा हिंस्रक एवं पाशविक सोच हावी हुन्छ । तसर्थ अध्यात्मको पुनर्ताजगी वा पुनर्जागरण नै शान्ति, स्थिरता एवं विकासको सही माध्यम हो । धर्म शब्दको व्याख्या विविध अर्थमा भएको पाइन्छ । सबैको सार हेर्दा धर्म भनेको कर्तव्यकर्म हो । प्राणीले आफ्नो स्वभावअनुसार प्रकट गर्ने व्यवहारलाई नै धर्म मान्न सकिन्छ । हुन त कतिपय मानिसले निर्जीव वस्तुले पनि आफ्नो कर्तव्य पालन गरेर धर्म देखाएका छन् । सूर्य सदैव प्रकाशित हुन्छ । नदीले आफैं जल पिउँदैन। वृक्षले आफैं फल खाँदैन । वर्षा अरूकै हितका निम्ति वर्षन्छ तसर्थ महान् बन्न परोपकारी बन्नुपर्छ, यो नै सच्चा धर्म हो। मानिसले यस्ता विविध उदाहरणमार्फत आफूमा धार्मिक प्रवृत्ति बढाउन पहल गर्नुपर्छ ।

धर्मको मार्ग ज्यादै कठिन छ । धर्म यदि कर्तव्य पालन हो भने यो सबै अवस्थामा पालनयोग्य हुन्छ । महाभारत वनपर्वमा एउटा कथा छ । एक दिन द्रौपदीले युधिष्ठिरसँग भनिन् - 'तपाईं धर्मको मार्गबाट कहिल्यै विचलित हुनुभएको छैन तर पनि जंगलमा दुःखपूर्वक विचरण गरिरहनुभएको छ । जब कि दुर्योधनले धर्मको अलिकति पनि ख्याल राखेको पाइँदैन । ऊ भने महलमा आरामपूर्वक सुखभोग गर्दैछ। यस्तै हुने हो भने धर्मपालन गर्नुको के अर्थ ?' द्रौपदीबाट यस्तो शंका प्रकट भएपछि युधिष्ठिरले भनेका थिए - 'द्रौपदी' जो सुख पाइने इच्छाले धर्मको पालना गर्छन् त्यस्ताले कहिल्यै धर्मको रहस्य बुझ्दैनन् । धर्मको तत्त्व अगाध छ । सुखको कामनाले धर्म गर्नेहरू पशु हुन्, जो सधैं भोगका लोभी तथा दुःखदेखि डराउने हुन्छन् । त्यस्ताले धर्मको गूढ रहस्य के जानून् ? यसकारण मनुष्यता भएको मानिसले अनुकूल एवं प्रतिकूल परिस्थितिको कुनै परवाह नगरी केवल कर्तव्य धर्म वा मानव धर्मको पालना गर्नुपर्छ ।'

यो कथाबाट मानव धर्म पालना गर्नुपर्ने सन्देश पाइन्छ । मानव धर्म कस्तो हुन्छ ? यो विचारणीय कुरा हो । सुख-दुःख आदिमा समभाव राखेर निष्काम कर्ममा लाग्नु मानवीय धर्म हो । धर्म पालना गर्ने विषयमा कुरा गर्न जति सजिलो छ त्यति नै गार्‍हो छ काम गरेर देखाउन । त्यसैले सबै साधारण मानिसले धर्मको पालना गर्न सक्दैनन् । प्रयोजनबिना काम गर्ने कुरा अहिलेको शिक्षाप्रणालीविरुद्ध छ । अहिले विद्यालय, महाविद्यालय एवं विश्वविद्यालयहरूमा असल बन्न होइन सफल बन्न सिकाइन्छ । बाल्यावस्थादेखि नै मानिसलाई तिम्रो लक्ष्य के हो ? डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी आदि के बन्ने भनेर सोधिन्छ । तिमी ठूलो भएपछि यस्तो बन्नुपर्छ, पैसा धेरै कमाउनुपर्छ भनेर सिकाइन्छ तर असल बन्नुपर्छ भन्ने कुरा निकै कम शिक्षालयमा मात्र सिकाइन्छ । धर्मले मानिसलाई सफल नबनाउन सक्छ तर असल भने पक्कै बनाउँछ ।

धर्मले मानिसलाई प्रकृतिको नजिक लान्छ । प्राकृतिक कुरा विकाररहित हुन्छन् । मानिसको प्रकृति पनि विकाररहित नै हुन्छ । हुर्कदै जाने क्रममा मानिसलाई कृत्रिम बनाउँदै लगिन्छ । परिणामस्वरूप उसमा विभिन्न विकार उत्पन्न हुन थाल्छन् । कृत्रिम वस्तुमा कैयौं विकार हुन्छन् । यसको छायाले जीवनलाई छोएपछि मानिस पनि कृत्रिम बन्छ । उसमा धर्म पालना गर्नसक्ने शक्ति रहँदैन ।

सामान्य रूपमा हेर्दा धर्म पनि दुई प्रकारका देखिन्छन् । मानवीय धर्म वा प्राकृतिक धर्म तथा साम्प्रदायिक धर्म वा कृत्रिम धर्म । मानवीय वा कृत्रिम धर्म सार्वजनीन हुन्छ, सर्वग्राह्य हुन्छ, सर्वथा विकाररहित हुन्छ । यसले विश्वका सबै मानिस एवं प्राणीलाई समान रूपले बाँच्न सिकाउँछ । एकअर्कासँग मिलेर बाँच्न सिकाउँछ । परस्परमा सम्मान एवं भाइचाराको भावना बृद्धि गराई सहज ढंगले जीवनयापन गर्ने बाटो देखाउँछ । त्यसको ठीक विपरीत साम्प्रदायिक धर्म हुन्छ । त्यसले मानिसलाई फुटाएर समूहमा विभाजन गर्छ । आफूले मानेको मत नै सर्वश्रेष्ठ छ भन्ने अहङ्कार बढाउँछ । साम्प्रदायिक मत सधैं अरूको विरोध वा खण्डन गरेर आफ्नो श्रेष्ठता कायम गर्न प्रयासरत रहन्छ । यसका कारण विश्वमा धेरैपटक युद्ध भएका छन् । धेरै मानिसले जीवन गुमाएका छन् ।


धर्मको मार्ग सरल हुन्छ । कुनै कर्मकाण्ड, प्रार्थना एवं अन्धविश्वासविना सहज ढंगले बाँच्ने कला नै यथार्थमा धर्म हो । धर्म आडम्बररहित हुन्छ । धर्ममा परोपकारको भावना छ । अरूलाई एवं आफ्नै शरीरलाई दुःख दिनु अधर्म मानिन्छ । सच्चा धर्मले कहिल्यै कसैलाई दुःख दिँदैन । धर्म सत्यमा अडेको हुन्छ । सत्य कहिल्यै दोस्रो नभएझैं धर्म पनि दोस्रो हुँदैन । धर्म एउटै हुन्छ, सनातन हुन्छ । कसैलाई हानि पुर्‍याउने विचार बोकेको मत कदापि धर्म हुन सक्दैन । धर्मको खोल ओढ्दैमा असत्य सत्य हुन सक्दैन ।

Monday, May 1, 2017

गङ्गा उत्पत्तिको पौराणिक कथा

गङ्गाको उत्पत्तिसम्बद्ध मुख्य कथा वाल्मीकिले रामायणमा उल्लेख गरेका छन् । श्रीरामको जिज्ञासा शान्त पार्दै ऋषि विश्वामित्रले यो आख्यान सुनाएका हुन् । विश्वामित्रले गङ्गाको जन्मवृत्तान्त सुनाउँदै श्रीरामलाई बताए - 'पर्वतराज हिमालयका दुईवटी अत्यन्त रूपवती, लावण्यमयी एवं सर्वगुण सम्पन्न छोरीहरू थिए । सुमेरु पर्वतकी छोरी मैना यी दुबै छोरीकी आमा थिइन् । हिमालयकी जेठी छोरीको नाम गङ्गा र कान्छी छोरीको नाम उमा थियो । गङ्गा अत्यन्त प्रभावशाली र असाधारण दैवी गुणहरूबाट सम्पन्न थिइन् । उनी कुनै बन्धनलाई स्वीकार गर्दिन थिइन् । उनको स्वच्छन्द प्रवृत्ति थियो । उनको यो असामान्य बानीब्यहोरा र असाधारण प्रतिभाबाट प्रभावित भएर देवताहरूले उनलाई स्वर्गमा लिई जाने विचार गरे र हिमालयसँग स्वीकृति लिई गङ्गालाई पृथ्वीबाट स्वर्गमा लगियो । पर्वतराज हिमालयकी कान्छी छोरी उमाको तपस्वी स्वभाव थियो । उनले कठोर र असाधारण तपस्या गरी भगवान् महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।'

विश्वामित्रका यी कुरा सुनेपछि श्रीरामले विनम्र भई आफ्ना जिज्ञासा राखे - 'हे भगवन् ! गङ्गालाई पृथ्वीलोकबाट सुरलोकमा लगेपछि पुनः उनी कसरी यहाँ फिर्ता आइन् त ? अनि उनलाई किन त्रिपथगा भनिएको हो ? मेरा उत्कण्ठालाई शान्त बनाउनु होस् ।' ऋषि विश्वामित्रले बताउँदा भए - 'महादेवको विवाह त उमाका साथमा सम्पन्न भयो, तर सयवर्षसम्म उनीहरूबाट कुनै सन्तानको जन्म भएको थिएन । एक पटक शिवले सन्तान उत्पन्न गर्ने विचार गरे । ब्रह्मा र देवताहरूमा पनि शिवेच्छाको जानकारी भयो । आशुतोष भगवान् शिवको वीर्यतेजलाई कसले सहन गर्न सक्ला भन्ने विषयमा देवलोकमा चियोचर्चो हुनथाल्यो । यसै प्रसङ्गमा अग्निले शिवको वीर्यको तेजलाई धारण गर्ने इच्छा व्यक्त गरे । परिणामतः अग्निसमान तेजस्वी शिवपुत्र कार्तिकेयको जन्म भयो । देवताहरूको यस षड्यन्त्रका कारण उमाबाट सन्तानको उत्पत्ति हुनमा विलम्ब र बाधा पुग्यो । उनी देवताहरूसँग क्रुद्ध भईन् र देवताहरूलाई अबउप्रान्त तिनले पनि सन्तान उत्पादन गर्न नसकून् भनी श्राप दिइन् । यसबीच सुरलोकमा विचरण गर्दै गरेकी गङ्गाका साथमा उमाको भेट भयो । गङ्गाले लामो समयदेखि स्वर्गमा बस्नु परेकाले नियास्रो लागेको व्यथा पोख्दै उमालाई भनिन् - 'मलाई मातृभूमि पृथ्वीमा फिर्ता जाने इच्छा छ' । उमाले दिदी गङ्गालाई कुनै उपाय गरी उनलाई जन्मभूमिमा लिएर जाने प्रबन्ध गर्ने आश्वासन दिइन् ।

विश्वामित्रले कथाप्रसङ्गलाई अघि बढाउँदै पुनः भन्नथाले - 'हे राम ! तिम्रो जन्मभूमि अयोध्यापुरीमा धेरै पहिले सगर नामका एकजना राजा थिए । सुरुमा उनका सन्तान थिएनन् । सगरकी पटरानी केशिनी विदर्भ प्रान्तका राजाकी छोरी थिइन्, उनी सुन्दर, धर्मात्मा र सत्यपरायण थिइन् । सगरकी अर्की रानी पनि थिइन् । तिनको नाम सुमति थियो । उनी अरिष्टनेमिकी छोरी तथा गरुडकी बहिनी थिइन् । दुबै रानीलाई साथमा लिई राजा सगर हिमालयमा रहेको भृगुप्रस्रवण नामक प्रान्तमा गएर तपस्या गर्न थाले । उनको तपस्याबाट प्रसन्न भएर महर्षि भृगुले उनलाई धेरै भाइ पुत्रहरू उत्पन्न हुने वरदान दिए, उनको सर्त थियो - दुबैमध्ये एउटी रानीबाट वंशवृद्धि हुने एउटामात्र पुत्र जन्मने छ, अनि अर्की रानीले बल र वीर्यबाट सुसम्पन्न साठी हजार पुत्र जन्मने छन् । ऋषि भृगुले भने - अब कुन पत्नीले एउटामात्र पुत्र पाउने र कुनले साठी हजार पुत्र उत्पादन गर्ने भन्ने निर्णय तपार्इंहरूबाट नै हुनुपर्छ । अन्ततः वंश बढाउने छोराका निमित्त जेठी रानी केशिनी तैयार भइन् भने कान्छी सुमतिले साठी हजार छोरा पाउने इच्छा व्यक्त गरिन् ।

समुचित समय आएपछि रानी केशिनीले असमञ्जस नाम गरेको छोरो जन्माइन् भने रानी सुमतिको गर्भबाट एउटा ढुङ्ग्रोजस्तो डिम्ब उत्पन्न भयो । त्यसलाई फुटाउँदा त्यसबाट ससाना आकारका साठी हजार मानवाकृति उत्पन्न भए । राजाले ती सबै लघु आकारका मानवाकृतिलाई एउटा घिउको घडामा राखी यत्नपूर्वक पालनपोषण गरे । कालचक्र बित्दै जाँदा ती सबै पूर्णाकृतिका मानव बने । दुबै रानीले पाएका पुत्रहरू युवावयमा प्रवेश गरे । सगरको जेठो छोरो असमञ्जस दुराचारी स्वभावको थियो । ऊ नगरका बालकहरूलाई सरयू नदीमा मिल्काउँथ्यो र डुब्दै गरेको दृश्य हेरेर आनन्द मान्ने गर्दथ्यो । पुत्रको यस्तो दुराचारी प्रवृत्ति देखेर दुःखित भएका सगरले उसलाई देशनिकाला गरिदिए । असमञ्जसका अंशुमान् नाम गरेका एकजना छोरा थिए । अंशुमान् अत्यन्त सदाचारी र पराक्रमी थिए । यसै बीच सगरले अश्वमेध यज्ञ सम्पादन गर्ने विचार गरे ।

राजा सगरले हिमालय एवं विन्ध्याचलका बीचको हरित भूमिमा एउटा विशाल यज्ञ मण्डप निर्माण गराए । त्यसपछि अश्वमेघ यज्ञका निमित्त श्यामकर्ण घोडालाई मन्त्रिएर छाडियो । त्यसको रक्षाका निमित्त राजाले आफ्ना पराक्रमी नाति अंशुमानको नेतृत्वमा सेनालाई घोडाका पछिपछि जाने आदेश दिए । अश्वमेध यज्ञ सफल भएमा आफ्नो पद र प्रतिष्ठामा आँच आउँछ कि भन्ने आशङ्काले स्वर्गका राजा इन्द्रले एउटा राक्षसको रूप धारण गरी त्यस घोडाको चोरी गरे । घोडा हराएको सूचना पाएपछि राजा सगरले आफ्ना साठी हजार पुत्रहरूलाई घोडा पत्ता लगाई फिर्ता ल्याउन र चोरी गर्नेलाई दण्डित गर्न आदेश दिए । सगरपुत्रहरूले सारा भूमण्डलमा खोजी गरे, तर घोडा भेटिएन । कतै यसलाई भूमिगत पो बनाइयो कि भन्ने शङ्काले तिनले समस्त पृथ्वीलाई खन्न र खोस्रन थाले । परिणामतः पृथ्वीमा ठूलठूला खाडल र खोपिल्टा बन्न गए । पछि ती खाल्डामा पानीको दह बन्दा तिनको नाम समुद्र रहन गयो । सगरका पुत्रले खनेर खाडल बनेकाले समुद्रको नाम सागर पनि रहन गयो । यसरी पृथ्वीमा जथाभावी खन्दा र खोस्रँदा त्यहाँ रहेका धेरै मनुष्य र अन्य प्राणिको मृत्यु भएको थियो । पृथ्वीलाई खन्दै जाँदा सगरका छोराहरू पाताललोकमा पुगे । तिनका यस्ता नृशंस कृत्य देखेर देवताहरूले ब्रह्माजीसमक्ष गुनासो गरे । ब्रह्माले 'वास्तव यी राजकुमारहरूले क्रोध र मातमा अन्धो भएर यस्ता कृत्य गरिरहेका छन् । पृथ्वीको रक्षाको अभिभारा महर्षि कपिलमुनिमा रहेकाले अब उनले नै केही उपाय गरी यिनलाई रोक्नेछन्' भनी देवताहरूलाई आश्वस्त तुल्याए । समस्त पृथ्वीलाई खन्दा पनि उक्त घोडा र त्यसलाई हरण गर्ने व्यक्तिको पत्तो लागेन । निराश भई ती अयोध्यापुरीमा फर्किए र खोजी अभियानका सारा विवरण सुनाए । यज्ञ सम्पन्न गर्न विघ्न आएकाले सगरले रिसले चुर्मुरिंदै छोराहरूलाई पुनः आदेश दिए - अब अश्वमेधको घोडा खोज्न पाताललोकमा प्रवेश गर । अब राजकुमारहरूले पातालतर्फ प्रस्थान गरे । घोडाको खोजीमा तिनीहरू कपिल मुनिको आश्रममा पुगे । ऋषि समाधिमा आँखा चिम्लिएर बसेका देखिन्थे, तिनकै आश्रमछेउमा यज्ञको घोडालाई किलोमा बाधिएको पनि देखियो ।  राजकुमारहरूले कपिल मुनिलाई नै घोडाको चोर ठाने । सुरुमा तिनले ऋषिलाई अनेक किसिमले गाली गरे, हप्काए । तर आँखा चिम्लिएर ध्यानमा बसेका ऋषिले तिनका दुर्वचनहरू सुन्नु परेन । आफूहरूले नानाभाँतीले गालीगलौज गर्दा समेत मुनिले वास्ता नगरेको ठानी सगरपुत्रहरू उनलाई मार्न भनी तम्सिए । सगरपुत्रका यी कुकृत्यले कपिलदेवको समाधि भङ्ग भयो । उनले क्रुद्ध भई आफ्ना योगबलले ती राजकुमारहरूलाई डढाएर खरानी बनाई दिए ।

निकै दिनसम्म महाराज सगरले घोडा खोज्न गएका छोराहरूका बारेमा कुनै सूचना र अत्तोपत्तो पाएनन् । एक दिन उनले नाति अंशुमानलाई बोलाएर काकाहरू र यज्ञको घोडाको खोजी गर्नु भनी अह्राए । महावीर अंशुमान् शस्त्रास्त्रबाट सुसज्जित भई काकाहरूले खनी खोस्री तैयार गरेको बाटैबाटो पाताललोकमा पुगे । उनले बाटामा भेटिएका धार्मिक स्थल, आश्रम, तपस्वीजन सबैलाई यथायोग्य पूजादि सम्मान गर्दै सोधखोज गरी त्यस ठाउँमा पुगे, जहाँ उनका काकाहरूको मृतशरीरको खरानी र यज्ञको घोडा चरिरहेको थियो । उनलाई आफ्ना बलशाली काकाहरूको खरानी देख्दा असाध्यै दुःख लाग्यो र तर्पण गर्नुपर्यो भनी विचार गर्दा त्यहाँ कतै पनि पानीको स्रोत फेला पार्न सकेनन् । अंशुमानले त्यसैवेला कतैको यात्रामा गगनतलमा उडीरहेका गरुडलाई देखे । गरुड तिनै मृत काकाहरूका मामा थिए । उनले गरुडलाई सारा वृत्तान्त सुनाउँदै मेरा काकाहरूको मृत्युको कारण के हो र अब काकाहरूलाई तिलाञ्जलि प्रदान गर्नका निमित्त नजिकै कुनै पानीको स्रोत भए बताउन अनुराध गरे । गरुडले उनका काकाहरूले कपिल मुनिप्रति गरेको दुर्व्यवहारका कारण प्राण गुमाउनु परेको कुरा बताए र यिनीहरू अलौकिक शक्ति भएका दिव्यपुरुषद्वारा भस्म भएका हुन्, त्यसैले लौकिक जलले तर्पण गरेर यिनीहरूको मुक्ति हुँदैन भन्ने कुरा पनि सुनाए । अंशुमानले काकाहरूको मुक्तिको उपाय बताइदिन पुनः अनुरोध गरेपछि गरुडले केवल हिमालयकी ज्येष्ठ पुत्री गङ्गाको जलको स्पर्शबाटमात्र तिम्रा काकाहरूको उद्धार हुनसक्ने कुरो बताउँदै अहिले तिमी घोडा लिएर जाऊ र आफ्ना पितामहको यज्ञ पूर्ण गर भनी आग्रह पनि गर्दा भए । गरुडको आज्ञानुसार अंशुमान् घोडाका साथमा अयोध्या फर्किए र पितामहलाई समस्त वृत्तान्त सुनाए । महाराज सगरले दुःखित हुँदै यज्ञ पूर्ण गरे । सगर आफ्ना मृत पुत्रहरूको उद्धारका लागि चिन्तित थिए, तर जीवनकालभरि उनले गङ्गालाई स्वर्गबाट पृथ्वीतलमा झार्ने कुनै उपाय पत्ता लगाउन सकेनन् ।

केही बेर विश्राम गरी पुनः ऋषि विश्वामित्र भन्न थाले - महाराज सगरको  देहान्तपछि अंशुमानले न्यायपूर्वक शासनभार सम्हाले । उनको दिलीप नाम गरेको छोरो भयो । छोरो वयस्क भएपछि उसलाई राज्यभार सुम्पिएर उनी स्वर्गमा रहेकी गङ्गालाई प्रसन्न तुल्याउन हिमालयका कन्दरामा गई तपस्या गर्नथाले । उनले आजीवन तपस्या गर्दा पनि उनी सफल हुन सकेनन् । राजा दिलीपको भगीरथ नामको एउटा धर्मनिष्ठ पुत्र जन्मियो । दिलीपले पनि भगीरथ ठूलो भएपछि उसलाई राज्यभार सुम्पिएर  पिताको प्रयत्नलाई सार्थक बनाउन तपस्या गर्न थाले । तर उनले पनि चिताएको फल पाउन सकेनन् । गङ्गालाई पृथ्वीतलमा ल्याई पितृहरूको उद्धार गर्ने इच्छा भगीरथमा पनि थियो । उनी प्रजावत्सल राजा थिए, तर उनका कुनै सन्तान थिएनन् । उनले आफ्नो राज्यभार मन्त्रीहरूमा सुम्पिएर गङ्गावतरणका लागि गोकर्ण नामक तीर्थस्थलमा गई तपस्या गरे । बल्ल चारपुस्तासम्मको निरन्तर प्रयास र भगीरथको अभूतपूर्व तपस्याबाट प्रसन्न भएर ब्रह्मा उपस्थित भई वरदान प्राप्त गर्न आग्रह गर्दा भए । भगीरथले ब्रह्मासमक्ष अनुरोध गरे - हे प्रभो! यदि हजुर साँच्चिकै मसँग प्रसन्न हुनुहुन्छ भने मेरा मृत पितृहरू जो राजा सगरका पुत्र हुन्, तिनलाई गङ्गाको पावन जलको स्पर्श प्राप्त होस् र तिनको उद्धार होस् । त्यसबाहेक मलाई सन्तानप्राप्त हुने आशीर्वादसमेत प्रदान गर्नुहवस् । ब्रह्माले सन्तानप्राप्त हुने तिम्रो मनोरथ त शीघ्र पूर्ण हुनेछ, तर तिमीले मागेको पहिलो वरदान पूर्ण गर्न गाह्रो छ । कारण के हो भने स्वर्गबाट पृथ्वीमा झर्ने गङ्गाको वेग कसैले थेग्न सक्दैन । पृथ्वी भासिएर पाताललोकमा दबिने खतरा छ । गङ्गाको उक्त वेगलाई सम्हाल्न सक्ने सामर्थ्य केवल महादेवमा मात्र छ, त्यसैले पहिले महादेवको स्वीकृति लिएर आऊ, अनिमात्र गङ्गालाई तिमीले पृथ्वीमा झार्न सक्नेछौ । यति भनेर ब्रह्मा आफ्ना लोकमा जाँदा भए ।

भगीरथले नीच मारेनन्, उनी प्रयत्नरत रही रहे । अब उनले खुट्टाको बुढीऔंलामा शरीर अड्याएर उभीउभी लगातार एक वर्षसम्म शिवजीको स्तुति गरे । यस अवधिभर उनले श्वासक्रियाका लागि आवश्यक वायुमात्र ग्रहण गरे, अन्नजलादि ग्रहण गरेनन् । अन्त्यमा भगीरथको यस्तो महान् भक्तिबाट प्रसन्न भई महादेवले भगीरथलाई दर्शन दिई भन्दा भए - हे भक्तश्रेष्ठ! म तिम्रो मनोकामना पूर्ण गर्न गङ्गालाई आफ्नो शिरमा धारण गर्नेछु । यसरी भगीरथको अकाट्य प्रयासले स्वर्गमा रहेकी गङ्गाले पृथ्वीतलमा झर्नुपर्यो । उनले स्वर्गबाट सँधैंका लागि पृथ्वीमा आउन चाहेकी थिइनन् । त्यसैले उनले आफ्नो प्रचण्ड वेगले शिवलाई समेत बगाएर पाताललोक लिएर जाने विचार गरिन् । अन्ततः भयानक वेगका साथमा गङ्गा शिवको शिरमा अवतरित भइन् । गङ्गाको वेगबाटै शिवले उनको अहङ्कारलाई थाहा पाए । उनले आफ्ना जटामा नै गङ्गालाई अल्झाएर निकै वर्षसम्म अलप गराइदिए । जति कोसिस गरे पनि गङ्गा शिवजटाबाट बाहिर निस्कन असमर्थ भईन् । भगीरथ फेरि शिवजीको स्तुति गर्न थाले । भगीरथको पुनर्प्रयासबाट प्रसन्न भएका शङ्करले गङ्गाको धारालाई हिमालय पर्वतमा रहेको बिन्दुसर नाम गरेको तीर्थमा छाडिदिए । शिवजटाबाट उन्मुक्त हुनासाथ गङ्गाका धारा सात भागमा विभाजित भए । ह्लादिनी, पावनी र नलिनी नाम गरेक गङ्गाका तीन वटा धारा पूर्व दिशामा प्रवाहित भए । सुचक्षु, सीता र सिन्धु नामका तीनवटा धारा पश्चिमतर्फ लागे । सातौं धारा भगीरथको अनुसरण गर्दै पछिपछि लाग्दो भयो । भगीरथ जताजता जान्थे, गङ्गा पनि उतैउतै जान्थिन् । ठाउँठाउँमा देवता, यक्ष, किन्नर, ऋषिमुनि र सज्जनहरू गङ्गाको स्वागतार्थ उपस्थित हुने गर्दथे, जजसले गङ्गाको स्पर्श गर्ने अनुकूलता पाउँथे ती भवबन्धनबाट मुक्त हुने गर्दथे । जाँदाजाँदै गङ्गा त्यस ठाउँमा पुगिन्, जहाँ ऋषि जह्नु एउटा यज्ञको आयोजना गरिरहेका थिए ।  गङ्गाले आफ्नो वेगले उनको यज्ञशालाका सम्पूर्ण सामग्री बगाउन आँटिन्, ऋषि क्रोधित भए र उनले गङ्गाको समस्त जललाई खाइदिए । यस्तो दृश्य देखेर राजा भगीरथका साथमा उपस्थित समस्त ऋषिगण विस्मित भए र ऋषि जह्नुलाई खुसी पार्न अनेक तरिकाले स्तुति गर्नथाले । तिनको स्तुतिबाट प्रसन्न भएर जह्नु ऋषिले गङ्गालाई आफ्ना कानबाट बाहिर निकाले र गङ्गालाई आफ्नी छोरीका रूपमा स्वीकार गरे । त्यसपछि उनको नाम जाह्नवी रहन गयो । यसपछि पनि उनी भगीरथका पछि लाग्दै समुद्रसम्म पुगीन् र त्यहाँबाट सगरका पुत्रहरूको उद्धार गर्न रसातलको यात्रा गर्दी भइन् । उनको जलको स्पर्श प्राप्त गर्नासाथ कपिलमुनिको क्रोधाग्निले भस्मीभूत भएका सगरका छोराहरू निष्पाप भई मुक्त हुनपुगे । यसरी गङ्गाका तीन वटा नाम प्रसिद्ध भए - तीन वटा मार्ग अवलम्बन गरेकाले उनी त्रिपथगा नामले प्रसिद्ध भइन्, भगीरथको निरन्तरको प्रयासले अवतीर्ण भएकी हुँदा भागीरथी नाम प्रख्यात भयो र जह्नु ऋषिकी पुत्री भएकी हुँदा जाह्ववी नाम रहन गयो ।

Monday, March 27, 2017

औंसीको रात : गर्नुपर्ने काम .........

पञ्चाङ्ग भन्नाले तिथि, नक्षत्र, बार, योग र करणको समुच्चय हो । यो ज्योतिषीय कालगणनाको अाधारभूत अङ्ग हो र ज्योतिषमा सूर्य एवं चन्द्रमालार्इ मुख्य देवताका रूपमा स्थापना गरिएको छ । वास्तवमा यी दुबै खगोलीय पिण्ड प्रत्यक्ष देवता पनि हुन् । दिवाकालमा सूर्य र रात्रीकालमा चन्द्रमाको उपस्थितिमा यावत् सांसारिक कर्महरू सम्पादन हुन्छन् । त्यसैले हाम्रा मनमस्तिष्क र कर्मका साक्षी यी दुबै ग्रहपिण्डहरू नै हुन् भन्दा अत्युक्ति हुँदैन । पञ्चाङ्गबमोजिम प्रत्येक महिनाका ३० वटा दिनलार्इ चन्द्रकलाका अाधारमा १५/१५ दिनका दुर्इवटा पक्षमा विभाजन गरिएको हुन्छ - शुक्ल पक्ष र कृष्ण पक्ष । शुक्ल पक्षको अन्तिम दिनलार्इ पूर्णिमा र कृष्ण पक्षको अन्तिम दिनलार्इ अमावस्या तिथि भन्ने गरिन्छ । तिथि भनेको सूर्य र चन्द्रमाको दूरीको लेखाजोखा हो । सूर्य र चन्द्रमाको प्रत्येक १२ डिग्रीको दूरीलार्इ एउटा तिथिको समय मानिन्छ, जस्तै ० देखि १२ डिग्रीसम्म प्रतिपदा, २४ डिग्रीसम्म द्वितीया, त्यसरी नै तृतीया, चतुर्थी अादि तिथिको समय निर्धारण हुन्छ । पृथ्वीमा बसेर सूर्य र चन्द्रमाको परिभ्रमण पथको अवलोकन गर्दा सूर्य र चन्द्रमाको १८० डिग्रीको दूरीमा पूर्णचन्द्र अर्थात् पूर्णिमा तिथिको समाप्तिकाल हुन्छ र सूर्य र चन्द्रमाको रेखा एकै ठाउँमा अाइपुगेको बेला अमावस्या तिथिको समाप्तिकाल हुन्छ ।  त्यसैले अन्य तिथिका तुलनामा सनातन हिन्दू धर्ममा अाैंसी र पूर्णिमाको विशिष्ट स्थान छ ।

अन्य तिथिहरूमा देवताहरूको उपासना गर्ने गरिन्छ, तर अाैंसीमा पितृहरूको उपासना हुने गर्दछ । शास्त्रले यस तिथिका देवता पितृदेवलार्इ मानेको छ, अतः सनातन संस्कारमा यस दिन अाअाफ्ना पितृहरूको प्रसन्नताका निमित्त श्राद्ध, दान, ब्राह्मणभोजन अादि गर्ने प्रचलन छ । त्यस बाहेक अाफूले गर्ने एकोद्दिष्ट (मृतपितृको छिन्ने तिथिमा गरिने) श्राद्धमा कुनै कारणले विघ्न भएमा वा मृतपितृको तिथिमा निश्चितता नभएमा त्यसै महिनाको अाैंसी वा त्यसपछि अाउने कुनै अाैंसीका  दिन विधिवत श्राद्धादि सम्पन्न गर्ने विधान पनि छ । त्यसैले अमावस्यामा प्रत्येक व्यक्तिले अाअाफ्ना पितृहरूको सम्झना गर्ने गर्दछन् र श्रद्धाभाव व्यक्त गर्दै श्राद्ध, तर्पण र दानादि गर्ने गर्दछन् । पितृहरूको सम्झना गरिने भएकाले यस दिनलार्इ निशि बार्ने दिन भनिएको हो । निशि निशा शब्दको अपभ्रंश रूप हो । निशा शब्दको अर्थ रातको समय हुन्छ । त्यसैले पितृअधिकार पाएका व्यक्तिले अाैंसीका दिन बेलुकाको छाक बार्ने भएकाले यस दिनलार्इ निशि बार्ने भनिएको हो । अपराह्न काल पितृपूजा वा श्राद्धको समय हो । त्यसैले जुन दिन अपराह्नकालमा अाैंसी तिथि पर्दछ, त्यस दिन बेलुका नियमित खानपान नगरी हविष्यान्न (चोखो खान्की) खार्इ निशि बार्ने काम हुन्छ । समग्रमा पितृहरूको तृप्तिका निमित्त अाैंसी तिथिको अत्यधिक महत्त्व छ ।

ज्योतिषशास्त्रको सिद्धान्तअनुसार एउटा साैर वर्षमा उत्तरायण र शुक्ल पक्षमा देवात्माहरू तथा दक्षिणायन र कृष्ण पक्षमा दुष्टात्माहरू सक्रिय हुन्छन् । देवात्मा निष्क्रिय भएको समयमा दुष्टात्मा र दानवी प्रवृत्ति हाबी हुने गर्दछ । दुष्टात्मा र दानवी प्रवृत्ति भएको वेलामा मानव जीवन र मनमा पनि अशुभ भावना, कुबुद्धि र अलच्छिन सल्बलाउन थाल्दछ । त्यसैले प्रेरणा, अात्मबल, उत्साह र ऊर्जा प्राप्त होस् भन्ने उद्देश्यले कृष्णपक्ष र दक्षिणायनका समयमा व्यक्तिविशेषको मनमस्तिष्क धर्ममार्गमा मोड्नका निमित्त शुभकर्ममा जोड दिइएको हो । अाैंसी कृष्णपक्षको सबैभन्दा धेरै प्रभाव रहने दिन हो, अतः अाैंसीका दिन सकेसम्म सात्विक भाव ग्रहण गरी चोखोनीतो र शुद्धाचरण गर्न अनिवार्य मानिएको हो ।

दुष्टात्मा सक्रिय हुने विशेष दिन भएकाले अमा‍वस्याका दिन भूतप्रेत, पितृ, पिशाच, निशाचर, जीवजन्तु र दैत्यहरू अत्यधिक सक्रिय र उन्मुक्त रहने गर्दछन् भन्ने मान्यता पनि छ । यस दिनको प्रकृतिपक्ष मानव हीतविपरीत हुने भएकाले व्यक्तिले अाफैं सावधान हुनु पर्दछ भन्ने ठानिन्छ । टुनामुना, जादु, धामी, झाँक्री अादिको साधनाकाे समय पनि अाैंसी वा पूर्णिमा नै हुने गर्दछ । प्रेतको शारीरिक संरचनामा २५ प्रतिशत फिजिकल एटम र ७५ प्रतिशत ईथरिक एटम हुन्छ, त्यस्तै पितृहरूको शारीरिक संरचनामा २५ प्रतिशत ईथरिक एटम र ७५ प्रतिशत एस्ट्रल एटम हुन्छ । ईथरिक एटमको सघनता भएको वेला प्रेतको र एस्ट्रल एटम सघन  भएको अवसरमा पितृको फोटो (छायाचित्र) खिच्न सकिन्छ भन्ने मान्यतासमेत छ ।

अाैंसीका दिन चन्द्रमा देखिंदैन । मनको कारक मान्ने गरिएकाले व्यक्तिको मनमस्तिष्कमा चन्द्रमाको प्रत्यक्ष प्रभाव हुन्छ । त्यसैले जुन व्यक्ति भावुक हुन्छ, तिनमा तिथिको उतारचढाव र सूर्य तथा चन्द्रमाको गतिस्थितिको अनुभूति छिटो हुन्छ । मानसिक रोगीमा देखिने उतारचढावमा यो प्रभाव अत्यधिक रहेको देखिन्छ । त्यसैले गाउँघरमा 'अाैंसी पूर्णे लागेछ' भनी उखानको प्रयोग नै गर्ने चलन पनि छ । भावनाका दृष्टिकोणले किशोर अवस्थाको उमेरमा जोसुकै बढी संवेदनशील हुन्छन् । त्यस्तै पुरुषका तुलनामा स्त्रीहरू बढी भावुक र संवेदनशील हुन्छन् । जुन वेला चन्द्रमाका कलाहरू घट्दै र क्षीण हुँदै गएका हुन्छन्, मनोसंवेगमा त्यसको प्रभाव बढ्दै जान्छ र  अाैंसी तथा अासपासको समयमा हाम्रो मनमस्तिष्क र शरीरमा बढी हलचल हुने गर्दछ ।

माैसम विज्ञानमा पनि सूर्य र चन्द्रमा मिलन र दूरीको प्रत्यक्ष प्रभाव हुन्छ । सामान्यतया अाैंसी र पूर्णिमाका दिन समुद्रमा ज्वारभाटा अाउँछ । एकाएक समुद्रको सतह माथि उक्लिन्छ । वायुले समुद्रको जलको शोषण र दोहन शीघ्रगतिमा गर्नसक्ने वातावरण बन्छ । त्यस्तै सूर्य र चन्द्रमाको कोणीय सम्बन्ध बनेका दिनहरू अर्थात् दुबै पक्षका अष्टमीका दिन पनि सानो ज्वारभाटाको उत्पत्ति हुन्छ । त्यसैले अाैंसी वा पूर्णिमाका अासपासमा वर्षा र बादलको सङ्केत गर्ने प्रचलन छ ।


अाैंसीका दिन के के गर्नु हुँदैन :- 

१) अमावस्याको दिन पितृको प्रसन्नताका लागि छुट्याइएको दिन हो । त्यसैले यस दिन तिहारको लक्ष्मीपूजा बाहेक कुनै किसिमको माङ्गलिक कर्म गर्नु हुँदैन ।

२) यस दिन दाम्पत्यसुख र पारिवारिक सम्मृद्धिका लागि गरिने उपवास, दान, धर्म र परोपकारी काम गर्ने प्रचलन छ, त्यसैले यस दिन नाचगान, पार्टी, उत्सव, डेटिङ, भ्रमण, रमाइलो वा मैथुन गर्नुहुँदैन । यस दिन मैथुन गरेमा पति वा पत्नीमा मानसिक रोगको उच्च सम्भावना हुन्छ । त्यसैले अाैंसी वा यसको अासपासमा ठहरिएको गर्भबाट स्वस्थ शिशु जन्मने सम्भावना हुँदैन, त्यस्तै अाैंसी र यसको अघिल्लो दिन वा पछिल्लो दिन जन्मिएको जातकलार्इ ज्योतिषशास्त्रले राम्रो मान्दैन ।

३) यस दिन तामसी वस्तुको प्रयोग वा सेवन गर्नु हुँदैन, त्यस्तै जाँडरक्सी अादि नसालु चिजबिजको संसर्गमा रहुनु हुँदैन । यी वस्तुको सेवन गरेमा तत्काल हुने दुष्परिणामबाहेक भविष्य दीर्घरोगी बनाउने र परिवारसुखबाट वञ्चित बनाउने खतरा हुन्छ ।

४) अमावस्याको वैज्ञानिक पक्षलार्इ नै विचार गर्ने हो भने अाैंसीका दिनमात्र होइन कृष्ण पक्षको चतुर्दशी र शुक्लपक्षको प्रतिपदाका दिन पनि मन, वचन र शरीरले पवित्र र शुद्ध हुने प्रयास गर्नु वाञ्छनीय मानिन्छ ।

अाैंसीका दिन गर्नै पर्ने कामहरू :-

१) यस दिनको दानको ठूलो महिमा छ, योग्य व्यक्तिलार्इ गरेको दानले इहलोकमा सुखसम्मृद्धि दिनुका साथै पितृलोकमा रहेका अाफ्ना मृतपितृहरू प्रसन्न हुने गर्दछन् ।

२) अाैंसीका दिन गार्इको दुधमा खिर पकाएर गरिबगुरुबा र दिनदुःखीलार्इ दान गर्नाले पारिवारिक सुखशान्ति, दाम्पत्य कलहको अन्त्य र धनसम्पत्तिको अभिबृद्धि हुन्छ ।

३)  अमावस्याको दिन पिण्डदान र तर्पण गर्नाले पितृहरू सन्तुष्ट रहन्छन् र कुलदेवता प्रसन्न हुनुका साथै वंश र सन्ततिको सर्वतोमुखी बृद्धि हुन्छ ।

५) यस दिन वस्त्र (कपडा) दान गर्नाले शान्ति र सन्तुष्टि प्राप्त हुन्छ ।

६) अाैंसीका दिन ब्राह्मण भोजन गराउनाले सुख प्राप्त हुन्छ ।

७) यस दिन पवित्र नदीमा स्नान गर्नाले सम्पूर्ण पापहरू नष्ट हुनुका साथै शरीरमा रहेका रोगादिमा न्यूनीकरण हुन्छ । शरीर निरोगी हुन्छ ।

८) अाैंसीका दिन बेलुका सन्ध्याकालमा चारकुने दियोमा बत्ती बालेर घरको मूल दैलो अगाडिको बाटोमा राखिदिनाले लक्ष्मी प्रसन्न हुन्छिन्, पितृहरूको अाशीर्वाद प्राप्त हुन्छ र कुलदेवता सन्तुष्ट हुन्छन् । परिणामतः मनुष्यको भाग्यबल बढ्दै जान्छ र सुखसम्मृद्धि र धनवैभवको बृद्धि हुन्छ ।

Sunday, March 19, 2017

स्वधर्मको पहिचान

श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ॥
श्रीमद्भगवद्गीता ३।३५॥

जीवनको शाश्वतता र सफलताको मूल स्रोत सत्यता हो र त्यही शाश्वत सत्यको नाम धर्म हो । हरेक मानवले आफ्नो जीवनको सार्थकताका निमित्त अत्यन्त सावधान भएर कर्मसम्पादन गर्नुपर्दछ, जस्तो - के हेर्ने वा नहेर्ने ?, के सुन्ने वा नसुन्ने ?, कुन कुराको जानकारी लिने वा नलिने ? त्यस्तै के गर्ने वा के नगर्ने ? आदिइत्यादि ।

मानव एउटा चिन्तनशील प्राणि हो, त्यसैले जब मनुष्यले कुनै पदार्थलाई देख्दछ, अनि उसको मनमा त्यस पदार्थप्रति भाव, धारणा र विचार उत्पन्न हुन्छ । यही नै मानवताको लक्षण वा चिह्न हो । निरुक्तकार यास्कले मनुष्यत्वको निर्वचन गर्दै भनेका छन् - ‘मनुष्यः कस्मात् मत्वा कर्माणि सीव्यति’ ९३।८।२० अर्थात् मनुष्य तबमात्र पूर्णमनुष्य हुन्छ, जब उसले कुनै काम गर्नुअघि चिन्तनमनन गर्न प्रारम्भ गर्दछ । यही चिन्तनमननको प्रवृत्ति नै मनुष्यत्वको परिचायक हो । अन्यथा मनुष्य त्यो पशुसमान नै हो, जसले केवल हेर्नमात्र सक्दछ तर विना चिन्तनमनन काम क्रोधादि विषयको प्रवृत्तिमा अग्रसर हुन्छ । जबकि मनुष्य कुनै वस्तुलाई देख्नासाथ विषयप्रतिको आकर्षणमा अग्रसर हुनसक्दैन, यदि ऊ विषयतर्फ अकृष्ट हुन लाग्यो भने चिन्तन र मननले उसलाई चारैतिरबाट घेरा हाल्छन् । यही चिन्तनाको समयमा धर्म र अध्यात्मले के गर्नु समुचित हुन्छ भनी तपार्इंलाई मार्गनिर्देश गर्दछ । यही नै धर्मको वास्तविकता, नियमितता र शाश्वतपक्ष हो ।

जीवनमा धर्मको बोध भयो भने हामीले श्रेष्ठकर्म सम्पादन गर्न सक्दछौं, अर्थात् पदार्थको उपयोग र उपभोग यथायोग्य व्यवहार (व्यापार वा कर्म) का माध्यमले मात्र गर्न सकिन्छ । काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य यी छ वटा भावहरू मानव शरीरभित्र लुकेर बसेका हुन्छन्, जसले मनुष्यको मनस्थितिलाई हरसम्भव दूषित तुल्याउने प्रयास गरिरहेका हुन्छन् र ती मनुष्यसँग सधैं बस्ने शत्रुहरू हुन् । त्यसैले यी छवटाको समूहलाई षड्रिपु भनिएको हो । मनुष्यको वास्तविक व्यक्तित्वको विकास र उन्नतिमा यी षड्रिपु सर्वाधिक बाधक मानिन्छन् । त्यसैले प्रत्येक सचेत मानवले यी छ किसिमका शत्रुहरूको हरदम दमन र नियन्त्रण गर्ने प्रयत्न गर्नु पर्दछ र तिनलाई निष्क्रिय तुल्याउन मद्दत गर्ने अचुक हतियार हो - धर्म । यी विध्वंशकारी शत्रुहरूको समूल नाश गर्ने व्यक्तिलाई जितेन्द्रिय भन्ने गरिन्छ । मनुष्यको पराक्रम, उद्यम र लक्ष भनेकै विषय र वासनामाथि विजय प्राप्त गर्नु हो र यसका निमित्त सर्वप्रथम यी षड्रिषुमाथि विजय प्राप्त गर्नु आवश्यक हुन्छ । यदि व्यक्तिले धर्मको आचरण गरेको छैन भने उसले यी षड्रिपुका अधीनमा रहेर व्यवहार गर्नु पर्ने हुन्छ । काम, क्रोधादिको अधीनमा रहेर व्यक्ति स्वयं पतित त हुन्छ नै, ऊ सामाजिक पतनको कारण पनि बन्ने गर्दछ । यी पतनोन्मुखी प्रवृत्तिहरूलाई नियन्त्रण गर्नका निमित्त प्रत्येक व्यक्तिले विवेकशील हुनुपर्छ र विवेकी बन्नका लागि सच्चरित्र भएका मित्रको सङ्गत गर्नु र सद्ग्रन्थको स्वाध्ययन गर्नु पनि उत्तिकै वाञ्छनीय छ ।  सत्सङ्गति र स्वाध्ययनले मनुष्यले धर्मको आचरण गर्न थाल्दछ ।

हिजोआज धर्माचरणको अभावमा हाम्रो युवा पुस्ता पतनको मार्गमा अग्रसर हुँदै गएको छ । व्यक्तिको अन्तर्मनले चिन्तनमनन भन्ने वस्तुलाई चिन्न छाडेको छ, धैर्य, संयमता र विवेकादि प्रवृत्ति नष्टप्रायः देखिन्छ । युग नै त्यस्तो भएकाले हाम्रा सूचना र सामाजिक सञ्जालले नित्यप्रति मानवीय ह्रासताका कृत्यहरूलाई उजागर गरिरहेका छन् । तर यी परिघटना घटित हुनुमा को जिम्मेबार छ र किन भइरहेको छ भन्ने बारेमा कसैलाई सोच्नेसम्म फुर्सद छैन । यस्तो किन हुँदैछ भन्ने प्रसङ्गमा हामी घोत्लिएका देखिंदैनौं । अर्काको असफलता, दुःख, पीडा र कष्टप्रति हाम्रो मन बिथोलिएको देखिंदैन । एकलकाटे छवि विकसित भइरहेको छ, हामीभित्र । अब के बुझ्नुपर्यो भने युगधर्मको अनुसरणका कारण हाम्रो चिन्तनमनन र सोचविचार गर्ने क्षमतामा निरन्तर रूपमा कमी आउँदैछ । यान्त्रिक विषयप्रति मोह बढ्दै गएको छ, परिणामतः हाम्रा शरीरका अवयवहरू निष्क्रिय बन्दै गइरहेका छन् । हामीभित्रको अन्तरङ्गा शक्ति र सामर्थ्य घट्दै गएको छ ।

यस्ता प्रतिफल हामीले पाउनुको अर्थ हो - हाम्रो वर्तमान पुस्ताले धर्म र यसको वास्तविक अर्थ वा लक्षणलाई बुझ्ने चेष्टा नै गरेको छैन । धर्म के हो भनेर कसैले प्रश्न गरिहाल्यो भने हाम्रो मनमस्तिष्कमा देवीदेवताका मूर्ति र घरपरिवारमा सम्पन्न हुने कर्मकाण्ड र सांस्कृतिक कृत्यको झझल्को आउँछ, अर्थात् धर्म भन्नासाथ श्राद्ध, पूजादि कर्मकाण्डलाई मात्र मान्ने गरेको पाइन्छ । तर धर्म भनेको कर्मकाण्ड वा सामाजिक/सांस्कृतिक कृत्यहरू होइनन् । धर्म भने धारणा हो, उदाहरणका लागि अगोको धर्म तातोपन हो र पानीको धर्म शीतलता, विद्यार्थीको धर्म पठनपाठन हो अनि किसानको धर्म खेतीपाती हो ।  अब बुझ्नु पर्यो मान्छेको धर्म मानवता हो । हामीले आफूभित्र धृति, क्षमा, दम, अस्तेय, शौच, इन्द्रियनिग्रह, धी, विद्या, सत्य, अक्रोध आदि यी दसवटा प्रमुख कर्तव्यलाई धारणा गर्नु पर्दछ, तिनै दसवटा वस्तुको साररूप धर्म हो ।

हुन त धर्मको परिभाषा व्यक्तिपिच्छे फरकफरक पाइन्छ । धर्मलाई व्याख्या गर्ने विभिन्न आचार्यहरूका आअफ्ना मत छन् । संसारमा यी भिन्नभिन्न मत भएकाहरूले धर्मका नाममा विभिन्न चिह्न र परिचयहरू स्थापना गरेका देखिन्छन् । कसैले लामोलामो कपाल पाल्नुलाई धर्म मानेको पाइन्छ, त्यस्तै कसैले दाह्री पाल्नुलाई धर्म भनेका छन्, कोही दाह्री र कपाल दुबै पाल्नु धर्म हो भन्छन् त कोही दाह्रीकपाल फ्यालेर मुण्डन गर्नुलाई धर्म मान्दछन् । कोही टुप्पी पाल्नु धर्म मान्दछन्, कोही टुप्पी फ्याल्नुलाई । कसैले निधारको टीको धर्म हो भनेको देखिन्छ भने कोही ठाडो टीको वा बिन्दु होइन, तेर्सा धर्काले धर्मको द्योतन गरेको भन्ठान्छन् । यसरी धर्मको परिभाषा पहिल्याउन अनुसन्धान नै गर्ने हो भने के के भेटिन्छ के के ? तर यीमध्ये कुनै पनि धर्मसम्बद्ध वस्तु होइनन् । ‘इन्द्रियाणां निरोधेन रागद्वेषक्षयेण च । अहिंसया च भूतानाममृतत्वाय कल्पते । दूषितोऽपि चरेद्धर्मं यत्र तत्रश्रमे रतः । समः सर्वेषु भूतेषु न लिङ्गं धर्मकारणम् ।’ अर्थात् धर्मको कारण कुनै चिह्नविशेष हुँदैन, इन्द्रियहरूमाथि नियन्त्रण गरी परोपकार र सर्वहितका लागि गरिने कर्म नै धर्म हो  भनिएको छ ।

हामीले साँच्चिकै धर्मलाई बुझ्न खोज्ने हो भने धर्मशास्त्रका यी पङ्क्तिलाई पनि बुझ्नु अनिवार्य छ - ‘धर्मं जिज्ञासमानानां प्रमाणं परमं श्रुतिः’ जसले धर्मका बारेमा जिज्ञासा गर्दछ, उसले वेदको वास्तविक ज्ञान प्राप्त गर्नुपर्दछ । धर्म भनेको धारणा हो, त्यसैले ‘धारणाद् धर्म इत्याहुर्धर्मो धारयते प्रजाः’ भनिएको हो । जसले जुनसुकै काम गर्नु अघि सत्य र असत्यको विवेक राखी निर्णय गर्दछ, त्यही नै धर्म हो । हामीले धर्मलाई मनमस्तिष्कमा धारण गर्दछौं र त्यसलाई आफ्नो अचरण र व्यवहारमा उतार्दछौं । अर्को शब्दमा भन्ने हो भने बोध (ज्ञान वा जानकारी) नै धर्म हो । अतः अन्तर्मनमा धर्मको उदय हुनुअघि वेदको ज्ञान प्राप्त गर्नु अनिवार्य छ । वेदको मार्गनिर्देश वा ज्ञान ईश्वरीय प्रेरणा र सन्मार्ग हो । ईश्वर सर्वज्ञ भएका कारणले त्यस ज्ञानमा भ्रान्ति अथवा कमजोरीको मात्रा अलिकति पनि हुँदैन । वेदको ज्ञान सृष्टिको आदिज्ञान हो र यो सबै प्रकारका ज्ञानको मूल पनि हो । अतः हामीले मूल ज्ञानलाई उपेक्षा गरी हाँगाबिगा र शाखापत्रादिको ज्ञान प्राप्त गर्नपट्टि लाग्यौं भने हाम्रो महत्त्वपूर्ण समय फुत्कन सक्छ ।

सङ्क्षेपमा धर्मज्ञान र तदनुरूप आचरण आममनुष्यका निमित्त परमावश्यक मानिन्छ, जुन हाम्रो उन्नति र सुखको आधार तथा लक्षप्राप्तिको सोपान हो । मनुष्यको परम लक्ष्य पुरुषार्थ चतुष्ट्य (धर्म, अर्थ, काम र मोक्ष) को साधना हो । वेदले मनुष्यमात्रलाई निर्देश गरेको छ - ‘मा मृत्योरुदगा वशम्’ अर्थात् मनुष्यले हरेक पल सतर्क भई अफ्नो वरिपरिको परिवेशमा फैलिएर बसेको मृत्युको भयङ्कर पाशाहरूबाट जोगिने प्रयास गर्नु पर्दछ । उपनिषद्हरूमा ऋषिहरूले प्रार्थना गरेका छन् - ‘मृत्योर्माऽमृतं गमय’ अर्थात् 'हे प्रभो ! मलाई यो मृत्युपाशबाट जोगाएर अमर हुने प्रेरणा प्रदान गर्नुहवस् ।' यिनै तथ्यलाई प्रष्ट पार्न धर्मशास्त्रका व्याख्याताहरूले उद्घोष गरेका हुन् - 'धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः' अर्थात् जुन व्यक्तिले धर्मको पालना गर्दछन्, धर्मले पनि उसको रक्षा गर्ने गर्दछ अनि जसले धर्मविपरीत अचरण गर्दछ, धर्मले त्यसको नाश गर्दछ ।

जो निराश र हतास भएर जीवनयापन गर्दछन्, तिनको धार्मिक पक्ष स्वतः कमजोर हुन्छ । मानिसमा किंकर्तव्यविमूढ हुनु भन्नु नै धार्मिक आचरणको शून्यता र निर्बलता हो अनि अधर्मको बृद्धि हुनु भनेको व्यक्तिविशेषलाई निराश र दुर्बल बनाउने कारकत्व बढेको सङ्केत हो । धर्माचरणमा सक्रिय भएमा आफूभित्रका षड्रिपुको नियन्त्रण हुन्छ, असल भावनाको विकास हुन्छ र सदाचार एवं अनुशासनको अनुसरण गर्न सकिन्छ । त्यसपछि मात्र मनुष्यले आफ्नो व्यक्तित्वमा निखार ल्याई आफूलाई सबल र सशक्त तुल्याउन मद्दत पुग्छ, साथै अधर्मका कारण हुने खिन्नता, उद्वेलन र क्षीणताले शरीरमा प्रवेश गर्न पाउँदैनन् । परिणामतः शरीर स्वस्थ, फुर्तिलो र चलाख हुन्छ । त्यसबाहेक धर्माचरणका कारण एकआपसमा प्रीति र सहानुभूतिको बृद्धि हुन्छ, अनि सुखप्राप्ति हुन्छ । आचार्य चाणक्य भन्दछन् - ‘सुखस्य मूलं धर्मः धर्मस्य मूलमिन्द्रियजयः।’ अर्थात् सुखको मूल धर्म हो र धर्मको मूल इन्द्रियहरूमाथि विजय प्राप्त गर्नु हो । संसारमा प्रत्येक मनुष्यको अकाङ्क्षा हुने गर्दछ - म सुखी रहुँ । तर धर्मको अभावमा किमार्थ सुखप्राप्ति हुँदैन । त्यसैले धर्मको पालना गर्नु अनिवार्य हुन्छ । संसारका कुनै पनि वस्तु सुखको कारक बन्नसक्छ, तर मरणोपरान्त कुनै वस्तुले पनि मान्छेलाई साथ दिएको दृष्टान्त पाइँदैन । सबैले जानेकै विषय हो, मृत्युपछि कसैसँग केही पनि जाँदैन । शास्त्रकार चर्चा गर्दछन् -
धनानि भूमौ पशवश्च गोष्ठे भार्या गृहद्वारि जन: श्मशाने ।
देहश्चितायां परलोकमार्गे धर्मानुगो गच्छति जीव एक: ।।
(समस्त भौतिक धनसम्पत्ति जमिनमा नै रहने गर्दछ, अथवा हिजोआज सम्पत्ति बाकस, बैंक वा लकरमा सीमित हुन्छ, त्यस्तै गाईवस्तु गोठमा बाँधिन्छन्, पत्नीको माया घरको ठेलोसम्म मात्र हुन्छ, बन्धुबान्धवको अधिकार श्मसानघाटसम्म हुन्छ, शरीरको साथ चितासम्म मात्र हुन्छ, तर धर्मले मरणोपरान्त र परलोकमा पनि जीवलाई साथ दिने गर्दछ ।)

सारांशमा इहलोक र परलोक दुबै अवस्थामा अन्त्यसम्म साथ दिने वस्तु केवल धर्म हो । धर्म भनेको सत्य र असत्यको पहिचान हो । धर्मानुसार नै मानिसका इहलौकिक सुख र दुःखका साथै पारलाैकिक राम्रा र नराम्रा गतिको प्राप्ति हुन्छ । अतः हामीले धर्मलाई यथार्थ रूपमा बुझेर व्यवहारिक रूपमा नै आफ्ना लागि धर्माचरण र धर्मलाई धारण गर्नु परमावश्यक छ । धर्म नै हाम्रो त्यस्तो एउटामात्र अस्त्र हो, जसका माध्यमबाट हामीले इहलौकिक सुखका साथमा पारलौकिक यात्रालाई पूर्ण गर्ने सामर्थ्य प्राप्त गर्दछैं । त्यसैले आजैबाट प्रण गरौं - हामी सबैले धर्मको आचरण गरौं । धर्मो रक्षति रक्षितः