गणेशको नाम 'गणेश' किन ?
सनातन हिन्दू धर्मअन्तर्गतका पौराणिक कथामा उल्लेख भए अनुसार भगवान् गणेशलार्इ सबै देवीदेवतामध्ये आदिपूज्य र मङ्गलकारक देवता मानिन्छ । जुनसुकै शुभकर्ममा यिनको पूजा सर्वप्रथम हुने गर्दछ । यिनले यो सम्मान आफ्नै मातापिताबाट प्राप्त गरेका हुन् । एकपटक भगवान् गणेश र स्वामी कार्त्तिकेय बालक्रिडा गरिरहेका थिए । खेल्दाखेल्दै दुबै जनामा भीषण विवाद हुन थाल्यो । भूतभावन भगवान् शङ्कर दाजुभाइको विवाद सुल्झाउन तिनीहरू खेलिरहेको स्थानमा पुग्नुभयो । त्यहाँ पुगेपछि शिवजीले थाहा पाउनु भयो, ती दुबैजना एकआपसमा को ठूलो भनेर पो झगडा गरिरहेका रहेछन् । बालकहरूको किचलोबाट ध्यान भङ्ग होस् भनेर भोलेनाथले भन्नुभयो – तिमीहरू दुबै जना सुन्दर छौ, सक्षम छौ अनि अनुशासित छौ, त्यसैले तिमीहरू दुबै जना ठूूला हौ, त्यसैले मिलेर खेल, लडाइँ नगर । बाबुका यस्ता कुरा सुनेर उनीहरू पितातर्फ नै फर्किए र भन्न थाले – होइन, पिताश्री ! तपार्इंले छिनोफानो गर्नै पर्छ, हामी दुर्इमध्ये को ठूलो हो । बालकका यस्ता हठी कुरा सुनेपछि शिवजीले भन्नु भयो – ल तिमीहरू दुर्इजनामध्ये जसले समस्त ब्रह्माण्डको सात चोटि परिक्रमा गरेर आउँछ, त्यही ठूलो हो । पिताजीको आज्ञा प्राप्त गर्नासाथ कार्त्तिकेय आफ्नो वाहन मुजुरमा बसेर ब्रह्माण्डको परिक्रमा गर्न हुइँकी हाले । विचरा ठूलो ज्यान भएका गणेश परे विलखबन्दमा । कार्त्तिकेयको जस्तो छरितो र उड्न सक्ने वाहन पनि थिएन, गणेशसित । उनको वाहन मुसो गणेशको भारीभरकम शरीर बोकेर उड्न र कुद्न त के राम्ररी हिंड्न पनि सक्दैनथ्यो । धेरै बेर गमेर अब कुमार कार्त्तिकेयले बाजी मार्ने भए भन्ने सोच्दै गणेश घोरिए । अन्त्यमा उपाय सुझ्यो र मातापिताको खोपीमा गएर फटाफट नबोली मनमनै 'त्वमेव माता च पिता त्वमेव ...........' जप्दै लगातार सात पटक परिक्रमा गरे र महादेवका सामुमा उभ्भिए । गणेश ब्रह्माण्डको परिक्रमा गर्न नगएको देखेर महादेवले तिमी किन परिक्रमा गर्न नगएको भनी प्रश्न गर्नुभयो । गणेशले कुमार कार्त्तिकेयको छरितो ज्यान छ, हावाको वेगमा उड्न सक्ने वाहन छ, आफ्नो शरीर र वाहन दुबैले बाजी जित्न नसकिने भएको आफ्नो विवशता सुनाउँदै भने - हे पिता ! हे माता ! संसारमा जन्म दिने आमाबाबुको ठूलो महत्त्व छ, जसले यो जगत्मा आँखा खोल्ने, हुर्कने र जीविकोपार्जन गर्ने क्षमता प्रदान गर्यो, त्यो समस्त ब्रह्माण्डभन्दा पनि ठूलो हो भन्ने ठानेर मैले हजुरहरूको सात फन्को परिक्रमा गरेको हुँ । मैले भूल गरेको रहेंछु भने मलार्इ माफ गर्नु होला ।' यसरी बुद्धिको उपयोग गरी आफ्नो परिक्रमा गरेछन् भन्ने कुरा सर्वज्ञाता भगवान् आशुतोषलार्इ पहिले नै थाहा थियो । अहिले उनका विनम्रतापूर्ण कुरा सुनेर उहाँको हृदय झन गदगद भयो । तुरुन्त शिवजीले गणेशलार्इ वरदान दिइहाल्नु भयो बाबु गणेश तिमी बुद्धिमान् र विद्वान् छौ । मेरो आशीर्वादले तिमीले आफ्नो बुद्धि र विद्वत्ताका बलमा सर्वश्रेष्ठता हासिल गर्नेछौ र तिम्रो विघ्नहर्ताका रूपमा जुनसुकै कर्ममा प्रथम पूजा हुनेछ । त्यसपछि गणेशको शीघ्र निर्णयक्षमता र बुद्धिबलको सम्मान गर्दै आफ्ना सेवकदल (गण) को प्रमुखमा उनलार्इ नियुक्त गर्नुभयो । शिवजीको गणको नायक भएकाले नै भगवान् गणेशको नाम 'गणेश' रहन गएको हो ।
को हुन् त 'ऋद्धि' र 'सिद्धि' अनि 'शुभ' र 'लाभ' ?
विभिन्न पुराणमा उल्लेख भएअनुसार भगवान् गणेशका दुर्इ जना पत्नी थिए । ती दुर्इको नाम क्रमशः ऋद्धि र सिद्धि हो । ऋद्धि र सिद्धिका पति भएकाले गणेशलार्इ अष्टसिद्धिका प्रदाता भन्ने गरिएको हो । ऋद्धि र सिद्धि दुबै जना प्रजापिता भगवान् ब्रह्माका छोरी हुन् । ब्रह्माले मैथुनी सृष्टि प्रारम्भ गर्नुअघि आफैं मानसिक सृष्टि गर्नुहुन्थ्यो । त्यसै क्रममा ऋद्धि र सिद्धिको जन्म भएको हो । यस आधारमा गणेश जीलार्इ ब्रह्माका ज्वाइँ मान्दा पनि अत्युक्ति हुँदैन । गणेशजीले जेठी पत्नी ऋद्धिको कोखबाट 'शुभ' नाम गरेको पुत्र र सिद्धिको कोखबाट 'लाभ' नामको पुत्र उत्पन्न गर्नुभयो । त्यसैले गणेशपरिवारका ऋद्धि, सिद्धि, शुभ र लाभ सदस्य हुन् । सनातन धर्मका अनुयायीहरूले कुनै पनि शुभ कार्य गर्नुभन्दा पहिले वा तिहारको लक्ष्मीपूजामा शुभ र लाभ लेख्ने अनि पूजा गर्ने कारण पनि यही हो । शुभ शब्दको अर्थ पवित्रता र लाभको अर्थ फाइदा वा आय भन्ने हुन्छ ।
गणेश र लक्ष्मी/सरस्वती
माता लक्ष्मी धनधान्य र वैभवकी र्इश्वरी हुन् भने माता सरस्वती ज्ञान र गीत/सङ्गीतकी देवी हुन् । माता लक्ष्मीलार्इ 'श्री' नामद्वारा पनि सम्बोधन गरिन्छ । श्री शब्दको अर्थ हुन्छ – सम्पत्त्ति, सम्मृद्धि, सुख, सत्ता, भोग, ऐश्वर्य आदि । लक्ष्मी देवी भगवान् विष्णुकी अर्धाङ्गिनी हुन् । कतिपय पुराणमा उनको उत्पत्ति समुद्र मन्थनका क्रममा समुद्रबाट भएको बताइएको छ । तर अर्को पौराणिक कथामा यिनलार्इ महर्षि भृगु र उनकी पत्नी ख्यातिको कोखबाट भएको प्रसङ्ग समेत उल्लेख गरिएको पाइन्छ । जब भगवान् विष्णुले विभिन्न अवतार ग्रहण गर्नुभयो, लक्ष्मीले पनि उहाँको अनुसरण गर्दै रूप धारण गर्नुभएको प्रसङ्ग पनि पुराणहरूमा लेखिएको पाइन्छ । जस्तै – भगवान् विष्णुको वामन, परशुराम, राम, कृष्ण आदि अवतारका क्रममा लक्ष्मी माताले क्रमशः पदमा, धरणी, सीता र रुक्मिणीका रूपमा अवतार लिनुभएको थियो ।
सरस्वती शब्दको अर्थ हो – ऊर्जाको अविरल प्रवाह । माता सरस्वतीलार्इ शारदादेवी पनि भन्ने गरिन्छ । देवी गायत्री सरस्वतीकै अर्को रूप हो भन्ने मान्यता पनि छ । माता सरस्वतीलार्इ कतै ब्रह्माकी पत्नी मानिएको प्रसङ्ग पनि पुराणहरूमा उल्लेख गरिएको पाइन्छ । नेपाललगायत समस्त भारतवर्षमा लक्ष्मी, सरस्वती र गणेशको एक साथमा पूजाआजा गरिएको पाइन्छ । लक्ष्मीमा धनवैभव र विलासमात्र छ, अनि सरस्वतीमा ज्ञानविज्ञान, मनोरञ्जन, कला र सङ्गीतमात्र छ तर गणेशमा बुद्धि र वैभव दुबै कुरा छ । त्यसैले ज्ञान र विवेकका साथमा धववैभव र भोगविलासको आम चाहनाको पूर्णताका निमित्त यसरी गणेश लक्ष्मी र सरस्वतीको एकसाथ पूजाआजा गरिएको हो ।
विघ्नहर्त्ता र सिद्धिदायक मानिए पनि गणेशको दर्शनले हामी दरिद्र हुन सक्छौं, किन त ?
आदिपूज्य भगवान् गणेशको नामोच्चारण र दर्शन गर्नासाथ हामीभित्र रहेका समस्त पापराशिको नाश हुन्छ, अक्षय पुण्य पाइन्छ अनि समस्त सङ्कट र विघ्नको निवारण हुन्छ । गणेश जी सबै सुखका प्रदाता मानिन्छन् । आफ्ना भक्तजनका दुःख र कष्टलार्इ हरण गर्ने र शत्रुहरूको चलखेललार्इ ध्वस्त बनार्इ शत्रुको नाश गर्ने सामर्थ्य भगवान् गणेशमा मात्र छ । त्यसैले पनि उनको दर्शन गर्नासाथ मन शान्त रहन्छ, समस्त कार्यमा सफलता प्राप्ति हुन्छ । तर गणेशजीको पिठ्युँको दर्शन गर्नु हुँदैन ।
यद्यपि गणेशजीलार्इ ऋद्धि र सिद्धि तथा शुभ र लाभका प्रदाता मानिन्छ, तर उनको पिठ्युँमा दुःख र दारिद्र्यले निवास गर्ने भएकाले यिनको पिठ्युँको दर्शन गर्न निषेध गरिएको हो । गणेशजीको शरीरका प्रत्येक अङ्गमा तेतीस कोटि देवताको वास छ । जस्तै – सुँडमा धर्म, कानमा ऋचा, दाहिने हातमा वरमुद्रा, देब्रे हातमा अन्नपूर्णा, भुँडीमा सम्मृद्धि, नाइटोमा ब्रह्माण्ड, आँखामा लक्ष्य, पाउमा सातैवटा लोक र टाउकोमा ब्रह्मलोक आदि । त्यसैले गणेशको मूर्तिसामुबाट दर्शन गर्दा मानिसले समस्त इच्छा र आकाङ्क्षा पूर्ण गर्दछ, गणेशजी प्रसन्न भएर सुखसम्मृद्धि प्रदान गर्दछन् तर पिठ्युँको दर्शन गरेमा मनुष्यले दुःखकष्ट र दरिद्रता प्राप्त गर्दछ । त्यसैले जानी वा नजानी गणेशजीको पिठ्युँको दर्शन गरिहालियो भने तुरुन्त २१ वटा दुबो चढाएर गणेशजीसित क्षमायाचना गर्नु आवश्यक छ ।
अतः गणेशजीको पिठ्युँको कहिल्यै दर्शन गर्नु हुँदैन । सामान्यतया घरको मूल दैलोमा गणेशको प्रतिमा बनाएर टाँस्ने चलन छ । याद गर्नुहोला उक्त प्रतिमाको भित्रपट्टि गणेशको पिठ्युँमा माता लक्ष्मीको वा भगवान् गणेशकै अर्को प्रतिमा टाँस्नु अनिवार्य छ । त्यसरी नटाँसेमा घरमा सुखसम्मृद्धिको अभाव हुनसक्छ र दुःख तथा दरिद्रताको निवास तपार्इंको घरमा नै रहन जान्छ । जय श्री गणेश ।
No comments:
Post a Comment