Showing posts with label तिहार. Show all posts
Showing posts with label तिहार. Show all posts

Monday, April 30, 2018

किन गरिन्छ ? लक्ष्मीका साथमा गणेशजीको पूजा

लक्ष्मीलार्इ धनधान्य र सुखसम्मृद्धि र गणेश तथा सरस्वतीलार्इ बुद्धिको प्रतीक मान्ने गरिन्छ । एक पटकको कुरा हो । एक जना राजाले कुनै दाउरे किसानको विपन्नता र दरिद्रता नष्ट होस् भन्ने उद्देश्यले उसलार्इ एउटा श्रीखण्ड चन्दनको जङ्गल उपहारका रूपमा बिर्ता दिए । किसान प्रसन्न भयो । केही वर्षपछि राजा किसानको जीवनस्तर पक्का पनि सुध्रियो होला भन्ठानी उसको घरमा गए । परिस्थिति सुध्रिने कुरा त परै जाओस्, उसको गरिबी जस्ताको त्यस्तै थियो । भएछ, के भने सुरुमा खान पुग्दैन थियो र जीविकाका लागि ऊ जङ्गल जङ्गलमा भौंतारिएर दाउरा सङ्कलन गरी सहरमा गर्इ बेचबिखन गर्थ्यो । तर जब जङ्गलको स्वामित्व उसको जिम्मामा आयो, उसले जङ्गल फाँड्दै दाउरा बाल्दै जीविका चलाउन थाल्यो । वन फँडानी गरेको जग्गाको सदुपयोग गर्न जानेन । राजा पुगेका दिनसम्ममा त उसको श्रीखण्डको जङ्गल पनि समाप्त भइसकेको थियो, त्यहाँको जमिन पनि बाँझो देखिन्थ्यो । राजाले बुझे, मानिसले सम्पत्ति प्राप्त गरेरमात्र हुँदो रहेनछ, त्यसलार्इ उपयोग गर्ने बुद्धिको समेत खाँचो पर्दो रहेछ । त्यसैले तिहारमा लक्ष्मीपूजाका दिन धनधान्य र सुखसम्मृद्धिकी देवीका साथमा बुद्धिकी अधिष्ठात्री सरस्वती र बुद्धिका स्वामी गणेशको पूजा गरिएको हो ।

यस प्रसङ्गमा एउटा अर्को कथा पनि प्रचलनमा छ । एक पटक एउटा बाहुनले राजसी सुख पाउने इच्छाले लामो समयसम्म माता लक्ष्मीको उपासना गरे । माता प्रसन्न भएपछि वरदान दिनुभयो - जाउ तिम्रो मनोकाङ्क्षा पूर्ण हुनेछ । बाजे तपस्याबाट जुरुक्क उठे र राजदरबारमा गए । उनले तपस्या त गरेका थिए, तर त्यसलार्इ कसरी फलीभूत बनाउने जानेका थिएनन् । दरबारमा पुगेर एकछिन टोलाए, अन्ततः राजसिंहासनको छेउमा पुगे । दरबारको सभा चल्दै थियो, के भन्नुपर्छ थाहा छैन, राजसी सुख भोग गर्ने हतारो छ । उनले केही नभनी राजाको शिरको ताजपोस मुकुट झिकेर भुइँमा फ्यालिदिए । एकाएक अपरिचित बाहुन आएर भरिएको सभामा राजाको अपमान गरेको कसैलार्इ सह्य भएन । सिपाही बाहुनको पाता कस्न थाले । त्यत्तिकैमा भुइँमा झरेको मुकुटबाट एउटा सर्प बाहिर निस्कियो । सर्प देखेपछि सबैको ध्यान त्यतापट्टि केन्द्रित भयो ।

ब्राह्मणको ठूलो सम्मान भयो । आफूलार्इ सर्पबाट जोगाएको हुँदा केही समयपछि राजाले बाजेलार्इ मन्त्री बनाइदिए । राजकाज कसरी सञ्चालन गर्ने बाहुनलार्इ थाहा थिएन, सनकका भरमा उनी जहिले पनि केही न केही आदेश दिइरहन्थे । आफ्नो वरदान सिद्ध गर्न उसका गल्तीको ढाकछोप माता लक्ष्मीले गरिदिनु हुन्थ्यो । एक पटक बाहुनले राजपरिवारका सबै सदस्य र भारदारहरूलार्इ दरबार खाली गर्ने आदेश दिए । उनका प्रत्येक क्रियाकलापमा कुनै न कुनै चमत्कार भइरहन्थ्यो, आनाकानी नगरी सबै दरबारबाहिर चौरमा भेला भए । बाहिर निस्कनासाथ ठूलो भुइँचालो आयो । देख्दादेख्दै दरबार खण्डहरमा परिणत भयो । बाहुनको चमत्कार अचम्मको थियो, अव उनी प्रधानमन्त्रीमा नै नियुक्त भए ।

दरबारमा बाहुनको बोलबाला मात्र चल्दथ्यो । राजा नाम मात्रका थिए । तर बाहुनबाजेको सनक जस्ताको तस्तै थियो । दरबारको कोठाचोटा जता जान पनि उनलार्इ छुट नहुने कुरै भएन । एक पटक उनी राजा सुत्ने शयनागारमा पुगे । सिरानेभागमा गणेशको मूर्ति राखिएको थियो । राजा नित्य प्रातःकालमा भक्तिभावपूर्वक भगवान् गणपतिको पूजाआराधना गर्थे । बाहुनले आदेश दिए - यो गणेशको मूर्ति दरबारबाहिरको नालीमा लगेर फ्यालिदिनु ।

भोलिपल्ट राजाले आफ्ना आराध्यदेवको पूजा गर्न पाएनन् । दिउँसो राजसभामा बाहुनको सनकको पारो फेरि तात्यो । भारदार र नागरिकको भरिपूर्ण सभामा उनले राजालार्इ आदेश दिए - तुरुन्त सुरुवाल खोलेर नाङ्गै उभिनुहोस् । उनले भनेको नमान्ने कुरै भएन । लगाएको सुरुवाल तुरुन्त फ्यालेर राजा नाङ्गिए । सिपाहीहरूले सुरुवाल ओल्टाइपल्टाइ गरे । त्यसमा केही पनि भेटिएन । राजा मुर्मुरिंदै दरबारभित्र पसे, भारदारहरूले लाजले टाउको निहुर्याए । सिपाहीले उक्त सुरुवाल दरबारबाहिर बगैंचामा मिल्काइदिए । अब राजाको क्रोधको पारो चुलिर्इ सकेको थियो । त्यसै साँझ भारदारसभा डाकेर बाहुनलार्इ पदच्युत गरियो र पाता कस्न लगार्इ जेलको कालकोठरीमा हालियो । जेलमा अब के काम गर्ने ? बाहुन फेरि माता लक्ष्मीको उपासना गर्न थाले । लक्ष्मी प्रकट भर्इन् र भनिन् - 'रे ! मूर्खब्राह्मण, मैले सकेसम्म राजवैभव र सुख त दिएकै थिएँ नि, त्यसको उपयोग गर्न जानेनौ । गणेशजी दरबारमा प्रतिष्ठित हुनुहुन्थ्यो र तिमीले जे बोले पनि र जे गरे पनि वहाँले मेरो वरदान सिद्ध गर्न सघाउ पुर्याउनु भएको थियो । तिम्रो मन्दबुद्धि भ्रष्ट हुनपुग्यो, गणेशको प्रतिमा नालीमा फ्यालिदियौ, परिणामतः अहिले कालकोठरीमा पर्यौ । बाबु, आफूसँग सामर्थ्य भएरमात्र हुँदैन, त्यसको उपयोग गर्न जान्नुपर्छ । अब मेरो होइन, तिमीले गणेशको आराधना गर ।'

बाहुनलार्इ गल्तीको अनुभूति भयो । उनले गणपतिलार्इ प्रसन्न तुल्याउन पुनः आराधना गरे । यता गणेशजी प्रसन्न हुनुभयो, उता प्रातःभ्रमणमा निस्किएका राजा सुरुवाल मिल्काइएको बगैंचामा पुगे । सुरुवालमा सर्पको काँचुली देखियो । 'बाहुनले ठिकै पो भनेका रहेछन्' - राजाले मनन गरे । तुरुन्त बन्दीगृहमा पुगे र बाहुनलार्इ कैदमुक्त बनार्इ पुनः प्रधानमन्त्री बनार्इदिए । पदबहाली हुनासाथ बाहुनले नालीमा फ्यालेको प्रतिमा ल्याएर पहिलेकै स्थानमा विधिवत् प्रतिष्ठा गरे । उनले माता लक्ष्मी र सरस्वतीको समेत प्रतिष्ठा गरे, त्यहाँ लक्ष्मीलार्इ माझमा राखी एक छेउमा गणेशजी र अर्को छेउमा सरस्वतीको मूर्ति स्थापना गरिएको थियो ।

त्यसैले धनधान्य र सामर्थ्यका साथमा बुद्धिपक्ष आवश्यक हुन्छ भनिएको हो । दुबै प्रवृत्ति एकसाथ प्राप्त गरेका व्यक्तिमा मात्र सुख र सम्मृद्धि टिकाउ हुन्छ । सारतत्त्व के हो भने तिहारमा लक्ष्मीपूजाका दिन धनधान्यकी देवी माता लक्ष्मीका साथमा गणेश र सरस्वतीको पूजा गर्ने पद्धतिको मुख्य आधार भनेको बुद्धि र धन दुबै पक्षको आराधना पूर्ण गर्नु हो । अस्तु ॥


Tuesday, November 15, 2016

लक्ष्मीको अाविर्भाव

लक्ष्मी सनातन हिन्दू धर्मअन्तर्गत एउटी प्रमुख देवी हुन् । लक्ष्मी, भगवान विष्णुकी पत्नी तथा धन, सम्पदा, शान्ति र समृद्धिकी देवी मानिन्छिन्। तिहारको लक्ष्मीपूजाका दिन उनको विशेष पूजा हुन्छ । आद्याशक्ति भगवती दुर्गाका जति पनि शक्तिहरूको मान्यता छ, ती समस्त शक्तिकी मूल भगवती लक्ष्मीलाई नै मान्ने गरिन्छ । यिनलाई नै सर्वोत्कृष्ट पराशक्ति भनिन्छ । लक्ष्मी शब्दको प्रयोग र अभिव्यक्ति मूलतः दुई अर्थमा भएको देखिन्छ :— श्री (सौभाग्य, सम्मृद्धि ) र लक्ष्मी (धनसम्पत्ति र वैभव) । पदप्रतिष्ठा, राजकीय सत्ता, अस्तित्व र गृहिणीका अर्थमा पनि लक्ष्मीको प्रयोग हुँदै आएको देखिन्छ । यसरी शाब्दिक अर्थमा लक्ष्मीको प्रयोग बहुआयामिक सन्दर्भमा भएपनि यिनको भौतिक र मूर्त आध्यात्मिक प्रयोग भने एउटै रूपमा हुन्छ । यिनी भगवान् विष्णुकी पत्नी हुन् । यिनको थोरै कृपा प्राप्त गरेर व्यक्ति वैभववान् हुन्छ । भगवती लक्ष्मीको निवास कमल वनमा छ, यिनको आसन पनि कमल हो र हातमा कमल पुष्प नै धारण गर्ने गर्दछिन् । समस्त सम्पदाकी स्वामिनी एवं अधिष्ठात्री श्रीदेवी शुद्ध सात्विक भावकी देवी हुन् । उनमा विकार र द्वेषको प्रवेश छैन । भगवान विष्णुले जबजब अवतार लिनुहुन्छ, त्यसबेलामा भगवती महालक्ष्मी पनि अवतीर्ण भएर उनका प्रत्येक लीलामा सहभागी हुने गर्दछिन् । धनधान्यकी देवी मानेर भक्तजनले यिनको प्रतिदिन पूजाआराधना र भजनकीर्तन गर्दछन् । माता लक्ष्मीको आविर्भावसम्न्धी कथा र आख्यानहरू भिन्नभिन्न पुराण र उपपुराणमा बेग्लाबेग्लै प्रसङ्गमा उल्लेख गरिएको पाइन्छ । तीमध्ये केही प्रसङ्ग यस प्रकार छन् :—

महर्षि भृगुकी पत्नी ख्यातिको गर्भबाट एउटी त्रिलोक सुन्दरी कन्याको जन्म भयो । ती कन्या समस्त शुभ लक्षणहरुबाट सुशोभित थिईन् । त्यसैले उनको नाम लक्ष्मी राखियो । शुक्लपक्षको चन्द्रमाको विस्तार भए झैं समय क्रममा उनी बढ्दै गईन् । ठूली भएपछि लक्ष्मीले भगवान नारायणको व्यक्तित्व र एैश्वर्यका साथै गुण र प्रभावको वर्णन सुनिन् । भगवान् विष्णुको वर्णन सुन्दै जाँदा उनको हृदयमा भगवान्प्रति गहिरो अनुराग देखा पर्न थाल्यो । अझ युवावस्थामा पुग्नासाथ उनले भगवान् नारायणलाई नै पतिका रूपमा पाउने कामना गर्न थालिन् । आफ्ना सखीहरूको सल्लाह लिई उनी विष्णुलाई पति बनाउन समुद्रका किनारामा गई घोर तपस्या गर्न थालिन् । लामो समयसम्म नियम र निष्ठाका साथ लक्ष्मीले तपस्या गरेको चर्चा चारैतिर फैलियो । देवतालगायत भगवान् विष्णुले पनि यो कुरो चाल पाउनुभयो । लक्ष्मीको तपस्याको परीक्षण गर्न विष्णुले देवताका राजा इन्द्रलाई खटाउनु भयो । विष्णुको आज्ञा स्वीकार गरी इन्द्र विष्णुकै रूप धारण गरी लक्ष्मीले तपस्या गरेको ठाउँमा गए । विष्णुको भेष बनाएका इन्द्रले लक्ष्मीलाई सम्बोधन गर्दै आफू उनको तपस्याबाट प्रसन्न भएको हुनाले वरदान प्राप्त गर्न आग्रह गरे । लक्ष्मीले आफूसामु विष्णु नै उभिएको ठानेर इन्द्रलाई भनिन् — हे भगवन्, हजुर मदेखि प्रसन्न हुनुहुन्छ भने मलाई हजुरको विश्वरूपको दर्शन गराउनु हवस् । इन्द्रले विष्णुको छद्मवेष बनाउन मात्र जानेका थिए, तर भगवानका प्रत्येक क्रियाकलाप र लीला गर्न जान्दैनथे । त्यसैले इन्द्रले लक्ष्मीले मागेबमोजिम विश्वरूपको स्वरूप बनाउन सकेनन् र त्यहाँबाट लज्जित भएर कुलेलम ठोके । इन्द्रले लक्ष्मीको परीक्षा लिन नसकेको कुरा भगवान् विष्णुले थाहा पाउनुभयो र अन्त्यमा भगवती लक्ष्मीलाई कृतार्थ बनाउन आफूस्वयं उनले तपस्या गरेको ठाउँमा जानुभयो । भगवानसित पनि उनले विश्वरूपको दर्शनको आकाङ्क्षा राखिन् । उनको प्रार्थना स्वीकार गरी भगवानले विश्वरूपको दर्शन गराउनु भयो । त्यसपछि लक्ष्मीको इच्छानुसार भगवान् विष्णुले उनलाई पत्नीका रूपमा स्वीकार गर्नुभयो ।

माता लक्ष्मी प्रकट हुनुभएको अर्को कथा पनि बहुप्रचलित छ । एकपल्ट महर्षि दुर्वासा तीनै लोकको भ्रमणका क्रममा थिए । घुम्दाघुम्दै उनी एउटा मनोहर उपवनमा पुगे, चित्तस्थिर भयो र आद्याशक्ति जगन्माताको आराधना गर्न लागे । अचानक त्यहाँ एउटी सुन्दरी हातमा माला बोकेर प्रकट भईन्, तिनी विद्याधर वंशकी कन्या थिईन् । उनले त्यो माला ऋषि दुर्वासालाई समर्पण गरिन् । सुगन्धित पुष्पको संयोजन गरी निर्माण भएको त्यो माला ऋषिले आफ्नो शिरमा राखे र पुनः भ्रमणलाई निरन्तरता प्रदान गर्न त्यस उपवनबाट बाहिरिए । पृथ्वीमा भ्रमणरत रहेकै बेला स्वर्गका राजा देवराज इन्द्र र देवताहरूसँग ऋषि दुर्वासाको भेट भयो । ऐरावत हात्तीमा बसेका इन्द्रले ऋषिलाई अभिवादन गरे । महर्षि दुर्वासाले आफूले धारण गरेको त्यो सुगन्धित माला इन्द्रलाई दिए । देवराज इन्द्रले त्यस मालाको सुगन्ध ग्रहण गरी आफ्नो वाहन ऐरावत हात्तीको मस्तकमा राखिदिए । ऐरावतले मालामा रहेको तीक्ष्ण सुगन्धद्वारा आकर्षित भएर त्यो माला आफ्नो सुँडले थुत्यो र आकाशमा तीन फन्का घुमाउँदै जमिनमा हुत्याई दियो र खुट्टाले किचिमिची पार्दै टेक्यो । आफूले आशीर्वाद स्वरूप इन्द्रलाई प्रदान गरेको मालाको दुर्दशा देखेर महर्षि दुर्वासा क्रोधित भए । आगोको ज्वालाजस्तो रापिलो अनुहार बनाउँदै दुर्वासाले इन्द्रलाई तत्काल तेरो श्रीको नाश होस् भनी शराप दिए । दुर्वासाको श्रापको प्रभावले इन्द्रको राज्य, प्रतिष्ठा र वैभवको तुरुन्त नाश भयो, उनी श्रीभ्रष्ट भए र सम्पूर्ण देवलोकमा असुरहरुको शासन कायम भयो । समस्त देवतागण असुरहरूबाट सन्त्रस्त भएर यत्रतत्र भौंतारिन थाले । धेरै वर्षसम्म वन, जङ्गल, गुफा, कन्दरामा दुःखकष्टका साथमा जीवन व्यतीत गरेपछि देवताहरू ब्रह्माको शरणमा गए र ब्रह्माले दिनुभएको सल्लाहबमोजिम  स्वयं ब्रह्मा र इन्द्रलगायत सबै देवताले भगवान् विष्णुको भक्तिपूर्वक स्तुति गर्न थाले । देवताहरूको स्तुतिबाट प्रसन्न भएर भगवान् विष्णुले देवताहरूलाई दर्शन दिनुभयो र भन्नुभयो — हे इन्द्रादि देवताहरू, अहिले समय तपाईंहरूको पक्षमा छैन, दानवहरू बलवान् छन् । त्यसैले उनीहरूसँग समझौता गरी  मेलमिलापको वातावरण तैयार गर्नु पर्दछ । दुबै पक्षको सामर्थ्य र प्रयासद्वारा क्षीरसागर नामक समुद्रलाई मन्थन गर्नु पर्दछ । त्यहाँबाट अमृत प्राप्त हुन्छ । त्यो अमृत पान गरेपछि तपाईंहरू बलियो हुनुहुन्छ र त्यसपछिमात्र दानवहरूलाई हराउन सकिन्छ । भगवानको आज्ञा पाएर देवगणले दैत्यहरूसित सन्धि गरे । त्यसपछि अमृतप्राप्तिका लागि समुद्र मनथन गरिने भयो । समुद्रलाई मथ्न मन्दराचल पर्वतलाई मदानी र वासुकी नागलाई नेतीका रूपमा प्रयोग गरियो । भगवान् विष्णु स्वयं कछुवाको रूप धारण गरेर मन्दराचल पर्वतको आधार बन्नुभयो । यसरी मन्थन गरेपछि क्षीरसागरबाट क्रमशः कालकूट विष, कामधेनु गाई, उच्चैश्रवा नामको घोडा, ऐरावत हात्ती, कौस्तुभ मणि, कल्प वृक्ष, अप्सराहरू, लक्ष्मी, वारुणी, चन्द्रमा, शंख, शार्ङ्ग धनुष, धन्वन्तरि र अमृत प्रकट भए । क्षीरसमुद्रबाट प्रकट हुँदा माता लक्ष्मी फक्रिएको श्वेतकमल(सेतो कमल)को आसनमा विराजमान थिईन् । उनले हातमा कमलकै फूल धारण गरेकी थिईन् । उनका सुकोमल अङ्गहरूमा दिव्यकान्ति प्रस्फुटित भइरहेको देखिन्थ्यो । माता लक्ष्मीको दर्शन गरेर देव, दानव र उपस्थित ऋषि र महर्षिहरू प्रसन्न भए । तिनीहरूले ऋग्वेदमा रहेको श्रीसूक्तको पाठ गरेर लक्ष्मी देवीको स्तुति गरे । त्यसपछि सबैका सामु भगवती लक्ष्मीले भगवान् विष्णुलाई रोजिन् र भगवान् नारायणकी अर्द्धाङ्गिनी भएर वैकुण्ठमा निवास गर्न थालिन् ।

समुन्द्र मन्थनबाट प्रकट भएकी सेतो वस्त्र पहिरेकी लक्ष्मी धनकी देवी हुन् । यिनका पनि दुई भेद छन् :-
१. विष्णुप्रिया (विष्णुका साथ सदा बसिरहने)
२. राज्यलक्ष्मी (सम्पन्न र सम्भ्रान्तहरूका साथमा राज्यवैभव र ऐश्वर्यको रूपमा रहने)

लक्ष्मी, काैडा, हात्ती र कमल
माता लक्ष्मी सदैव कमल र हात्तीका साथ बस्ने गर्दछिन्, अनि उनको अासन नै कमलको पुष्प हुन्छ, हातमा पनि कमलको फूल लिएको देखिन्छ । हामीले लक्ष्मीको फोटोलार्इ नियाल्याैं भने उनका दाहिने र देब्रे दुबै भागमा दुर्इ वटा हात्तीले अाअाफ्ना सुँडले स्वर्ण घडा लिर्इ अमृत बर्साइरहेको दृश्य देख्न सक्छाैं । यसको मुख्य कारण हो – हात्ती, धन्वन्तरी, शङ्ख,  काैडा, कमलको फूल र लक्ष्मी यी सबै वस्तु र देवताको उत्पत्ति समुद्रबाट भएको हो । त्यसैले शङ्ख, काैडा, हात्ती र कमल लक्ष्मीको अभिन्न अङ्ग भएको हो भन्न सकिन्छ र लक्ष्मीको अभिन्न अङ्ग भएका कारणले ती सबै पवित्र पनि छन् ।त्यसैले कमलकै नामबाट लक्ष्मीका अधिकांश नामहरू प्रचलनमा अाएका हुन् । जस्तै – पद्मा, पद्मजा, पद्मस्थिता, पद्मसम्भवा, पद्महस्ता, पद्मिनी आदि ।

लक्ष्मी कसरी प्रसन्न हुन्छिन् ?