Thursday, July 26, 2018

गुरु पूर्णिमा

असार महिनाको शुक्लपक्षको पूर्णिमा तिथिलार्इ गुरुपूर्णिमाका रूपमा मनाइन्छ । अक्षर चिनाउने, औपचारिक वा अनौपचारिक शिक्षादीक्षा प्रदान गर्ने, मन्त्र सुनाउने, मार्गनिर्देशन गर्ने सबैलाई गुरु/गुरुआमाका रूपमा श्रद्धापूर्वक फल, फूल, अन्न र वस्त्र उपहारका रूपमा अर्पण गरेर सम्मान गर्ने चलन छ । महाभारतका श्रष्टा र प्रमुख नायक वेदव्यासलाई महागुरु भनिन्छ । सनातन (हिन्दु) धर्मावलम्बीहरूको प्राचीन र प्रमुख शास्त्र वेदलाई विभाजन गरेर, सम्पादन गरेर सर्वसाधारणका लागि सहज बनाइदिएकोले कृष्ण द्वैपायन व्यास वेदव्यासको रूपमा चर्चित छन् । वेदव्यासलाई महागुरुका रूपमा गुरुपूर्णिमाका दिन स्मरण र पूजन गरिन्छ । महाभारत अनुसार कौरव र पाण्डवलाई शास्त्र शिक्षा प्रदान गर्ने गुरु द्रोणाचार्य, विभिन्न नीतिशास्त्र, धनुर्विद्या र दर्शनको ज्ञान दिने भीष्म पितामह, कुलगुरु कृपाचार्य, पाण्डवहरूका गुरु धौम्य अादि सबैको गुरुका रूपमा आदरणीय र सम्मानजनक स्थान भए पनि महागुरुका रूपमा चाहिँ वेदव्यास नै पूजित छन् । दशरथका श्री रामचन्द्र लगायतका छोराहरूका गुरु वशिष्ठ र विश्वामित्र, श्रीकृष्ण र बलरामका गुरु सान्दिपनि, देवगुरु वृहस्पति सबैको नाम र काम स्मरणीय छन् । तर पनि गुरुपूर्णिमाका दिन महागुरु वेदव्यासको जन्मजयन्ती मनाइन्छ ।

धेरैधेरै वर्षपहिले ऋषि र देवताहरूले महर्षि वेदव्याससित अनुरोध गरेका थिए, जसरी सबै देवताहरूको पूजा र उपासना गर्ने कुनै न कुनै दिन निर्धारण गरिएको छ, तर गुरु र महापुरुषको वन्दना, स्मरण र अर्चना गर्ने कुनै दिन तोकिएको छैन, त्यसैले गुरु र महापुरुषको अाराधनाका लागि पनि कुनै एउटा दिन तोकिनु पर्छ । यसरी एउटा दिनको व्यवस्था गरियो भने शिष्य र साधकले अाअाफ्ना गुरुहरूप्रति कृतज्ञता अर्पण गर्न पाउने थिए । देवताहरूको यस्तो अनुरोधपछि गुरु वेदव्यासले 'ब्रह्मसूत्र' को रचना गर्न थाल्नुभयो र त्यस दिनलार्इ त्यसपछि व्यास जयन्ती र गुरुपूर्णिमाका रूपमा मनाउन थालिएको हो ।

गुरु तिनलार्इ भनिन्छ, जसमा अाकर्षण हुन्छ, जसको अालोकमा हामी स्वयं बत्तीमा पुतली तानिए झैं अाकर्षित भएर पुग्ने गर्दछाैं । हामी जत्ति गुरुका समीपमा पुग्दछाैं, त्यत्ति नै धेरै उत्साही र स्वतन्त्र भएको महसुस हामीलार्इ हुन्छ । गुरु गोरखनाथ, कबीर, नानक र बुद्धको स्मरणबाट यस्तै विचित्र अनुभूतिको अाभास हुन्छ । व्यक्तिले गुरुप्रतिको अनुशासन र समर्पणभावलार्इ दासताका रूपमा स्वीकार गरेको हुँदैन, बरु त्यस अनुशासन, दायित्व र समर्पणभावलार्इ मुक्ति र स्वतन्त्रता ठानेको हुन्छ । गुरु मध्यस्थ र मार्गदर्शक बन्नासाथ हामीले सहजै अात्मज्ञान प्राप्त गर्ने खुडकिलो प्राप्त गरिसकेका हुन्छाैं । वर्तमान सन्दर्भमा गुरुको स्थान पहिल्याउने हो भने औपचारिक र अनौपचारिक शिक्षा प्रदान गर्ने सबैलाई शिक्षक भनिन्छ । तर गुरुको सम्बोधन र सम्मान सबैले पाउँदैनन् । गुरु शब्दले गहिरो अर्थ बोकेको छ । कक्षा कोठाभित्र पढाउँदैमा उसले गुरुको सम्मान पाउँदैन । गुरु त्यो हो, जसले कोरा ज्ञानमात्र नदिएर शिष्टता, विनय, व्यावहारिक ज्ञान र परोपकार पनि सिकाउँछ । हाम्रो संस्कार र सभ्यताले हामीलार्इ गुरु सर्जक, पालक र संहारक तीनै रूपमा एकाकार स्वरूप हुन् भन्ने पाठ घोकाएको छ र उद्घोष गरेको छ :-

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥

यस मन्त्रको अर्थ हो - हे गुरुदेव हजुर नै ब्रह्मा हुनुहुन्छ, हजुर नै विष्णु हो र हजुर नै शिव हुनुहुन्छ । हे, गुरुदेव हजुर परम ब्रह्म हुनुहुन्छ, हजुरलार्इ म वन्दना गर्दछु ।

अाषाढ महिनाको शुक्लपक्षको पूर्णिमा तिथि गुरु पूर्णिमाको दिन हो । गुरुको व्युत्पति गर्ने हो भने गुरु शब्दमा अाएको 'गु' अक्षरको अर्थ अन्धकार हो र 'रु' ध्वनिको अर्थ टाढा पार्नु वा हुत्याउनु भन्ने बुझिन्छ । यसको समग्र अर्थ हुन्छ, हाम्रो अज्ञानतालार्इ जसले टाढा हुत्याउँदछ, तिनै लार्इ गुरु भन्ने गरिन्छ । हाम्रो संस्कृतिको एउटा महत्त्वपूर्ण पक्ष गुरुशिष्य परम्परा पनि हो । जुनबेला बालकलार्इ यज्ञोपवित (जनै) भिरार्इ गुरुको अाश्रममा पुर्याइन्थ्यो, त्यति बेलादेखि नै उसको जीवनको नवनिर्माण प्रारम्भ हुने गर्दथ्यो । त्यस समयमा अाश्रममा अार्इ पुगेको छात्रका लागि गुरुका अतिरिक्त मातापिताको भूमिका पनि गुरुले नै वहन गर्नुपर्दथ्यो । अाश्रममा गुरुले सर्वाङ्गीण शिक्षा दिइसकेपछि ऊ पुनः अाफ्नो घर फर्कंदा अाश्रमबाट विदा लिनुपूर्व क्षमताले भ्याएसम्म गुरुदक्षिणा दिएर फर्कन्थ्यो र जिन्दगीलार्इ नयाँ ढंगले सुसञ्चालन गर्ने गर्दथ्यो । त्यसै परम्परालार्इ जीवन्त तुल्याउँदै अाज अाश्रममा गर्इ शिक्षाग्रहण गर्ने परिपाटी नभए पनि प्रत्येक वर्ष गुरुपूर्णिमाका दिन गुरुको ऋणबाट ऊऋण हुन हामी हाम्रा गुरुलार्इ श्रद्धाभाव प्रकट गर्दछाैं र सालिन्दा अाशीर्वाद ग्रहण गर्न गुरुकहाँ गएर वा फोनसम्पर्क गरी वन्दना र सम्झना टक्र्याउँदछाैं अनि सकेको उपहार प्रदान गर्ने गर्दछाैं । यही हो हाम्रो संस्कार र सभ्यताले सिकाएको गुरुशिष्य परम्परा ।

गुरु गीतामा गुरुहरूको वर्गीकरण गरिएको छ । गुरुगीता सनातन धर्मको एउटा महत्त्वपूर्ण ग्रन्थ हो । यस ग्रन्थका रचयिता पनि भगवान् वेदव्यास नै हुन् । वास्तवमा यो स्कन्दपुराणको एउटा खण्ड हो । यसमा जम्मा ३५२ श्लोक रहेका छन् । उक्त ग्रन्थमा बताइए बमोजिम ‘सूचक गुरु’, ‘वाचक गुरु’, बोधक गुरु’, ‘निषिद्ध गुरु’, ‘विहित गुरु’, ‘कारणाख्य गुरु’, र ‘परम गुरु’ भनी गुरुको कोटिको गणना गरिएको छ । गुरुगीतामा भगवान् अाशुतोष शिवजी र जगदम्बा पार्वतीको संवाद छ । यसमा सुरुमा पार्वतीले भगवान् शङ्करसँग गुरु र उनको महिमा व्याख्या गर्ने अनुरोध गरेकी छन् । यसमा भगवान् भोलेनाथले गुरु के हो, गुरु को हो, गुरुको अाराधना र पूजा गर्ने पद्धति र गुरुगीताको अध्ययनबाट हुने लाभ अादिका बारेमा चर्चा गर्नुभएको छ । यसमा सद्गुरु भनेको के हो, उनको केकस्तो गरिमा र महिमा छ भन्ने विषयमा पनि पूर्ण विवरण छ । त्यसबाहेक शिष्यको योग्यता, उसको मर्यादा, व्यवहार, अनुशासन आदिको वर्णन पनि उक्त ग्रन्थमा उल्लेख गरिएको छ । जुन गुरुको शरणमा जाँदा शिष्यले पूर्णता प्राप्त गर्दछ, ऊ स्वयं ब्रह्मरूपमा परिणत हुन्छ, उसका समस्त धर्म-अधर्म, पाप-पुण्य आदि समाप्त हुन पुग्दछन् र केवल चैतन्यमात्र बाँकी रहन्छ र ऊ गुणातीत र रूपातीत हुन जान्छ, जुन उसको अन्तिम गति हो, यो उसको गन्तव्य हो, जहाँ पुग्नुपर्ने हो, त्यहाँ ऊ पुग्दछ, जुन उसको अन्तिम लक्ष्य हो, त्यसलार्इ उसले प्राप्त गर्ने सामर्थ्य प्राप्त गर्दछ, तिनै गुरु नै वास्तवमा सद्गुरु हुन् भनी यस ग्रन्थमा उल्लेख गरिएको छ । 

तैत्तरियोपनिषदमा आचार्य (गुरु), आमा, बाबु र पाहुनालाई देवतासरह नै मान्ने निर्देशन दिँदै उल्लेख गरिएको छ :- 
मातृदेवो भव ॥ पितृदेवो भव ॥ आचार्यदेवो भव ॥ अतिथिदेवो भव ॥

सनातन हिन्दुधर्मका धर्मग्रन्थले बारम्बार आमा, बाबु, पाहुना र गुरुलाई मन, वचन र कर्मले आदर, सम्मान गर्ने शिक्षा दिएको छ । अविद्यालाई नाश गरेर ज्ञान दिने पुरुष, माता, पिता, दाजु, राष्ट्रप्रमुख, मामा, ससुरा, मावली, बाजे, जिजुबुबा र ब्राह्मणको ज्ञान राख्ने ज्ञाता सबैलाई गुरुको दर्जामा राख्ने निर्देशन दिइएको छ । पुरश्चार्यार्णव तान्त्रिक ग्रन्थमा थरीथरीका गुरुको उल्लेख गरिएको छ :- गुरु, परमगुरु, परात्पर गुरु र परमेष्ठी गुरु । शिक्षा, मन्त्र प्रदान गर्ने गुरु, गुरुका बाबु परमगुरु, इष्टदेवता परात्परगुरु र देवाधिदेव महादेव परमेष्ठी गुरु भनेर तान्त्रिक ग्रन्थमा वर्णन गरेको पाइन्छ । सातवटा बारमध्ये वृहस्पतिबारलाई गुरुबार नामकरण गरिएबाटै गुरुको महत्त्व बुझ्न सकिन्छ । गुरुको मार्गनिर्देशन अनुसार चलेमा बाटो पत्ता लगाउन र गन्तव्यमा पुग्न सजिलो हुन्छ । विद्या, ज्ञान प्राप्तिका लागि लालसा र समर्पणको आवश्यकता हुन्छ । त्यो हिजो जत्तिको साँचो थियो, आज पनि त्यत्तिकै छ ।

सन्त कबीरले भन्नु भएको छ :-
गुरु गोबिन्द दोउ खडे काके लागूँ पाँय।  बलिहारी गुरु आपने गोबिन्द दियो बताय।।

यसको तात्पर्य हो - गुरु र भगवान् (ईश्वर) दुबैले एकै पटक दर्शन दिएमा भावकलार्इ दोधार हुन सक्छ, कसलार्इ पहिले अभिवादन गर्ने भनेर । त्यस्तो अवस्थामा सुरुमा गुरुदेवको नै वन्दना गर्नु उचित हुन्छ, किनभने र्इश्वरलार्इ र्इश्वर हो भनेर चिनाउने श्रेय त गुरुले प्राप्त गर्नु भएको छ । गुरु नभए हामीले र्इश्वरको पहिचान नै गर्न सकदैन थियाैं नि । वास्तवमा गुरुको मार्ग निर्देशन नपाउने हो भने हामीले र्इश्वरको प्राप्ति नै कसरी गर्न सक्छाैं र?

सन्त कबीरको अर्को एउटा प्रचलित श्लोक छ :- 
कबीरा ते नर अंध है गुरु को कहते और हरि रूठे गुरु ठौर है गुरु रूठे नही ठौर।।

अर्थात् त्यो व्यक्ति अन्धो हो, जसले गुरुलार्इ र उहाँको व्यक्तित्वलार्इ चिनेको छैन । यदि र्इश्वर रिसाउनु भयो भने त्यस प्रकोपबाट जोगाउने उपाय गुरुले सिकार्इ दिनुहुन्छ र हामीलार्इ उद्धार गरी जोगाउनु हुन्छ, तर गुरु स्वयं हामीबाट टाढिनु भयो भने हामीलार्इ कसले जोगाउने? अतः अन्धकारमा बसेर सही मार्ग पहिल्याउन नसकेको अवस्थामा गुरुले उज्यालो देखाएर बाटो ठम्याउन मदत गर्छन्, त्यसैले गुरु शब्द नै सारै सम्मानजनक छ । शास्त्रमा गुरुलाई नै ब्रह्मा, विष्णु, महेश्वर र परब्रह्म मानिएको छ ।

अाज गुरु पूर्णिमाको दिन, यस दिन के के गर्ने त?

१. जजसका गुरु जीवित हुनुहुन्छ, तिनले सम्भव भएसम्म गुरुको भाैतिक शरीरको दर्शन गर्नु पर्दछ । जजसका गुरु हुनुहुन्न तिनले पनि गुरुको गुणा र कीर्तिको स्मरण गर्नुपर्दछ ।

२. सनातन हिन्दु धर्मले श्री आदि शङ्कराचार्यलार्इ जगद्गुरु मानेको छ, त्यसैले उनको पूजा र उपासना गर्नु पर्दछ । तर कुनै सम्प्रदायमा अाबद्ध हुनुहुन्छ भने ती भिन्नभिन्न सम्प्रदायका अनुयायीले अाअाफ्ना अाचार्य र प्रथम गुरुको वन्दना गर्नु मुनासिब हुन्छ ।

३. गुरुका पनि गुरु गुरु गोरखनाथ प्राचीन नेपालका जगद्गुरु हुनुहुन्छ, त्यसैले गुरु गोरखनाथको स्मरणादि वन्दना गर्ने दिन पनि अाज नै हो । त्यस्तै कीटपतङ्गादि विविध जीवलार्इ गुरु मान्ने गुरु दत्तात्रेयले शिक्षा अाफ्नो दृढ धारणाका बलमा जेसँग जति बेला पनि लिन सकिन्छ भन्ने प्रेरणा प्रदान गर्नु भएको छ । त्यसैले गुरु दत्तात्रेयको पूजा, अर्चना र वन्दना पनि अाज नै गर्ने गरिन्छ ।

४. भगवान् वेदव्यासको जन्मदिन पनि अाज नै हो, त्यसैले भगवान् वेदव्यासको पूजा, अाराधना र वन्दना गर्ने दिन पनि अाज नै हो ।

गुरु पूर्णिमाका दिन सम्पादन गर्दा शुभता प्राप्त हुने केही उपायहरू :-
– केसरी मिसाएर सात्विक भोजन ग्रहण गर्नु राम्रो मानिन्छ, साथै प्रातःस्नानपछि नाइटो र निधारमा केशरीको टीका लगाउनु पनि शुभ हुन्छ ।

– साधुसन्त, ब्राह्मण एवं पीपलको बोटको पूजाबाट सुखसम्मृद्धि बढ्ने गर्दछ ।

– गुरु पूर्णिमाका स्नान गर्दा शुद्धजलमा कुश र दुबो मिसाएर गर्नुपर्दछ ।

– आफ्नो फूलबारी वा गमलामा पहेंला रङका वनस्पति वा फूलको विरुवा रोप्नु लाभदायक मानिन्छ ।

– गुरु वा मान्यजनको दर्शन गर्दा उहाँको चरणकमलमा पहेंलो रङको फूल चढाउनु राम्रो मानिन्छ ।

– कुनै देवालयमा केराको एक जोडा बोट रोप्नु वा नैवेद्यका रूपमा केरा चढाउनु र ब्राह्मण, साधुसन्त तथा गरीबगुरुवालाई केरा बाँड्नु पनि शुभ लक्षण मानिन्छ ।

– गुरु पूर्णिमाका मुँग (दाल) का सग्ला दाना (६२५ ग्राम) मन्दिरमा दान गर्नु र बाह्र वर्षमुनिकी (रजस्वला नभएकी) कन्याको चरणस्पर्श गरी आशीर्वाद ग्रहण गर्नु पर्दछ ।

– आज कुनै शुभ मुहूर्त विचार गरी चाँदीबाट बनेको कुनै पात्र वा सिक्का घरभित्र वा वरिपरि जमिनमुनि गाडिदिनु राम्रो मानिन्छ ।

– आज मान्यजन, साधुसन्त, गुरु, शिक्षक, बुद्धिजीवी कसैलाई पनि अपमान गर्नु, होच्याउनु, निन्दा गर्नु वा कुरा काट्नु हुँदैन । झुक्किएर त्यस्तो भइहालेमा तपाईंका सन्ततिको बुद्धिभ्रष्ट हुने खतरा हुने भएकाले प्रायश्चित्तका निमित्त भोलि बिहानै स्नानोपरान्त कुनै दान दिन योग्य व्यक्तिलाई पहेंलो कपडा दान गर्नुपर्दछ ।

– तपाईंको शयन कक्षमा रहेको खाट वा पलङको चारै कुनाका खुट्टीमा सुन वा कुनै पहेंलो धातुको काँटी ठोक्नु वा पहेंलो तारले बेर्नु राम्रो हुन्छ । यसो गरेमा मनमा आउने भय, त्रास, दुःस्वप्न आदि प्रकोपबाट जोगिन सकिन्छ ।

Wednesday, July 18, 2018

सफलताको ढोका

'अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभम्' जीवनमा गरिएका कुनै पनि राम्रा वा नराम्रा कामको प्रतिफल अवश्य प्राप्त हुन्छ । त्यस्तै कुनै गन्तव्य वा लक्ष्यमा पुग्न सुरुमा आफैंबाट प्रयास हुनुपर्छ र मिहिनेत गर्नुपर्दछ । मिहिनेत कहिल्यै पनि खेर जाँदैन । हामीले जुन अनुपातमा मिहिनेत गरेका हुन्छौं, त्यसको प्रतिफल ढिलोचाँडो कुनै न कुन रूपमा अवश्य प्राप्त गर्दछौं, यही यथार्थ हो र यही नै सत्य हो ।

फरक केवल यत्ति छ कुनै मानिस मिहिनेत र कर्मको प्रतिफल अवश्य प्राप्त हुन्छ भन्ने विश्वास गरी निरन्तर रूपमा परिश्रम गरिरहन्छन्, अत्तालिंदैनन्, उनीहरूको प्रयास तबसम्म जारी रहन्छ, जबसम्म लक्ष्य प्राप्त हुँदैन । अर्काथरी मानिस त्यस्ता हुन्छन्, जो काम थाल्ने बित्तिकै वा थोरै मिहिनेत गर्नासाथ फल प्राप्त भैहाल्नु पर्छ भन्ने सोच राख्छन्, अनि अलिकति थप प्रयासको खाँचो पर्यो वा केही समय प्रतीक्षा गर्नु पर्ने भयो भने थालेको प्रयास र कामलाई चटक्क छाडिदिन्छन् । तुरुन्त हार मानिहाल्छन् ।

वास्तवमा सफलता र असफलताका बीचमा देखिने भिन्नता वा फरक यत्ति मात्र हो । यसैलाई विश्वास र अविश्वासको खेल मान्न सकिन्छ । सारांशमा भन्ने हो भने यसरी बुझ्दा हुन्छ — जसमा लक्ष्यप्रति सजगता, निरन्तरता, विश्वास र आत्मबल छ, त्यसले सधैं सफलता हासिल गर्दछ, जसमा यी कुराको अभाव छ, ऊ असफल र निर्बल बन्न पुग्छ ।

विश्वासले नै ढुंगोलाई भगवान् बनाउन सक्छ र अविश्वासले मानिसलाई कठोर, निर्दयी र क्रूर बनाउन सक्छ । महान् वैज्ञानिक थमस अल्वा एडिसन (Thomas Alva Edison) असाध्यै मिहिनेती एवं जुझारू प्रवृतिका व्यक्ति थिए । बाल्यकालमा उनलाई मन्दबुद्धि भन्ठानेर विद्यालयबाट रेस्टिगेट गरिएको थियो । तर तिनै एडिसनले महत्त्वपूर्ण आधुनिक उपकरणहरूको आविष्कार गरे, तिनै आविष्कारमध्ये एउटा हो — बिजुलीको बल्ब । उनले बल्बको आविष्कार गर्नु अघि हजारौं पल्ट परीक्षण गरेका थिए, जुन निरर्थक प्रयास हुन पुगेका थिए । तर पनि लक्ष्यप्रति इमानदार र चनाखो भएका कारण उनले सफलता प्राप्त गरी छाडे । अनेकौं असफल प्रयासबाट पनि बल्ब तैयार गर्न नसकेका बेला उनलाई एकजना मानिसले प्रश्न गरेका थिए — 'तपाईंले करिब एक हजार पटक प्रयोग गर्नुभयो, तर तपाईंको समस्त प्रयास विफल भए । यसरी पटकपटक असफल हुँदा तपाईंलाई दुःख लाग्दैन ?'

एडिसनले तुरुन्त जवाफ दिए – 'म असफल भएको ठान्दिंन, मैले गरको परिश्रम खेर गएको छैन, मैले गरेका एक हजार वटा प्रयोग विफल भएकोमा मैले के सिकेको छु भने बल्ब निर्माणका लागि ती एकहजार वटा प्रयोग उपयोगी छैनन्, ती प्रयोगबाट बल्ब तैयार हुँदैन, बल्ब निर्माण गर्न तीभन्दा फरक ढंगको अर्को प्रयोगको खाँचो छ । मेरा पुराना एक हजार वटा प्रयोगबाट प्रेरणा पाएको छु, त्यसैले म बल्ब बनाउने अर्को नयाँ प्रयोग गर्नेछु ।'

एडिसनको सट्टामा कुनै सामान्य मान्छे भए पक्का पनि त्यत्ति विधि प्रयास गर्दैनथ्यो होला, सुरुमैं निराश भएर लक्ष्यबाट हटी सक्थ्यो । तर एडिसनले आफ्नो प्रयास जारी राखे, हार मानेनन् र अन्त्यमा उनको प्रयास सफल भइछाड्यो । उनले बल्बको आविष्कार गरी छाडे, उनको आविष्कारले अन्ततः सारा संसारलाई उज्यालो प्रकाश दिनसक्यो । यो एडिसनको विश्वास नै थियो, जसले आशाको किरणलाई निभ्न दिएन र विश्वले प्रकाशको सुनौलो आलोक प्राप्त गर्नसक्यो ।

सफलता को बाटो त्यतिखेर खुल्दछ, जब हामी त्यसको नजिकै पुग्दछौं । मिहिनेत कहिल्यै पनि निरर्थक र फलरहित हुँदैन । यो विश्वासले नै हामीलाई निरन्तर प्रयास गर्न र अघि बढ्न प्रेरणा प्रदान गर्दछ, अनि हामी जतिजति अघि बढ्दै जान्छौं, त्यतित्यति हाम्रो लक्ष्य र गन्तव्य नजिक हुँदै जान्छ र सफलताको दैलो उघ्रँदै जान्छ । जुन व्यक्तिले विश्वास गर्दैन, त्यो व्यक्ति कुनै पनि काममा धेरै बेर टिक्न सक्दैन । उसका समस्त प्रयास क्षणिक हुन्छन्, फलतः उसका प्रत्येक ढोका बन्द झैं हुन्छन् । सारांशमा आफ्नो लक्ष्य र गन्तव्यमा तबमात्र पुग्न सक्छौं, जब हामी त्यसको नजिकमा पुग्न सक्दछौं, नजिकै पुगेपछिमात्र सफलताको ढोका खुल्दछ ।

प्रारब्ध, भाग्य र भविष्य : आफ्नै पाखुरी

एक पटकको कुरा हो । दुईवटा छिमेकी देशका बीचमा सम्बन्ध चिसिएको थियो । दुबै एकअर्कामाथि आक्रमणको योजना बनाउँदै थिए । ती दुबै देशका राजा एउटै सन्तका भक्त थिए । उनीहरू आआफ्नो विजयका निमित्त सन्तको आशीर्वाद लिन बेग्लाबेग्लै समयमा सन्तको आश्रममा पुगे । पहिलो शासकलाई गुरु महाराजले आशीर्वाद दिंदै भने – तिम्रो विजय सुनिश्चित छ । अर्को शासकलाई तिनै सन्तले भने – तिम्रो विजय शङ्कास्पद देखिन्छ ।

सन्तकहाँ पछि पुगेको दोस्रो राजा सन्तले दिएको आशीर्वादको मनन गर्दै निराश नभई, युद्धमा शत्रुपक्षको सामना कसरी गर्ने भन्ने योजना तुन्दै आफ्नो राज्यमा फर्किएर आयो । उसले हार मानेन, दरबारमा फर्किने बितिक्कै सेनापतिलाई बोलायो र आदेश दियो – मैले गुरुजीको आशीर्वाद लिएर आएको छु, हामीले जोडतोडका साथ तैयारी गर्नुपर्छ । सबै सिपाहीहरूले राष्ट्रका निमित्त प्राण नै आहुति दिनु परे पनि पछि हट्नु हुँदैन ।

उता सुरुमा सन्त भेट्न गएको शासकमा उल्लास र आनन्द थियो । गुरु महाराजले विजय सुनिश्चित छ भन्ने आशीर्वाद दिनु भएकाले उसले चिन्तित हुनु पर्ने कुनै परिस्थिति नै थिएन । विजय निश्चित भएकाले उसको सम्पूर्ण समय आमोद–प्रमोदमा बित्न थाल्यो । युद्धको पूर्वसन्ध्यासम्म पनि उसले आफ्नो सेनापतिलाई भेट्न आवश्यक ठानेन । उसका सैनिकहरू पनि मोजमस्तीमा मग्न थिए । जुन शासकले विजयश्रीको आशीर्वाद पाएको थियो, उसलाई युद्धप्रति कुनै वास्ता नै थिएन, उसका सिपाहीहरूले युद्धको अभ्याससम्म पनि गरेनन् । तर जसको विजयका बारेमा सन्तले शङ्का व्यक्त गरेका थिए, उसले र उसका सिपाहीहरूले रातदिन मिहिनेत गरी युद्धको अभ्यास गरे । उनीहरू युद्धका ससाना एकाइलाई पनि राम्ररी बुझ्नका लागि मिहिनेत गर्दथे । परिणामतः तिनले युद्धकलाका सबै पक्षमा आफूलाई योग्य र दक्ष तुल्याए ।


निर्धारित समयमा युद्ध प्रारम्भ भयो । पछिबाट सन्तको आश्रममा पुग्ने राजाका सिपाहीहरूले युद्धमा आफूले गरेको अभ्यास र युद्धकलालाई प्रयोग गरे अनि युद्ध सुरु भएको केही समय बित्न नपाउँदै शत्रुपक्षका सेनालाई परास्त तुल्याइदिए । सुरुमा सन्तलाई भेटेर विजयप्रति ढुक्क भएको शासक छक्क पर्यो, रिसले तिलमिलायो अनि हारको झ्वाँकमा तुरुन्त गुरु महाराज कहाँ पुग्यो र झर्कोफर्को गर्दै भन्यो – गुरुदेव, अब तपाईंको वाणीमा कुनै शक्ति बाँकी रहेन, तपाईंको भविष्यवाणी पनि झूठ्ठा हुने रहेछ । पराजित राजाका कुरा सुनेर सन्त मुसुक्क हाँसे र शान्त मुद्रामा भन्न थाले – बाबु, तिमीले रिसाउनु र अत्तालिनु निरर्थक छ, मैले भविष्यवाणी गर्दा तिम्रो र उसको सेनाको तात्कालिक आकलन गरेर बोलेको थिएँ । तिम्रो विजय र उसको हार निश्चित थियो । तर विजयको त्यो अवस्थालाई कायम राख्न मिहिनेत, परिश्रम र पुरुषार्थको पनि आवश्यकता हुन्थ्यो, तिमी र तिम्रा सिपाहीमा त्यसको अभाव देखियो । अतः भाग्यले पनि सदैव कर्मशील र पुरुषार्थी मनुष्यलाई मात्र साथ दिन्छ । मैले तिम्रो शत्रुलाई तेरो विजय शङ्कास्पद छ भनेको थिएँ, त्यस्तो सुनेर पनि उसले अभ्यास र परिश्रमलाई निरन्तरता दियो, त्यसैले उसले यो युद्धलाई सजिलै जित्यो, यद्यपि उसकै पराजय निश्चित थियो । सन्तको उत्तर सुनेर पराजित राजा लज्जित भयो र उनीसँग क्षमा माग्दै फर्कियो । ऊ अब हुने अर्को युद्धमा विजय प्राप्त गर्न केकस्ता कमी कमजोरीलाई सुधार्नु पर्ने रहेछ भन्ने सोच्दै दरबारमा आइपुग्यो ।

त्यसैले तपार्इंको भाग्य र भविष्य तपार्इंकाे मुट्ठीमा छ ।