Showing posts with label बार र व्रत. Show all posts
Showing posts with label बार र व्रत. Show all posts

Saturday, April 21, 2018

रवि सप्तमी र आइतबारको व्रतकथा

आइतबार र सप्तमी तिथिको संयोग परेको दिनलाई रवि सप्तमी भन्ने गरिन्छ । यस दिन भगवान सूर्यनारायणको पूजा, अर्चना र व्रत सम्पादन गर्ने गरिन्छ । चराचर जगतका प्रकाशक देवता हुनाले सूर्यलाई सविता भन्ने गरिन्छ । गायत्री मन्त्र तिनै ‘सविता’ को उपासना गर्ने मन्त्र हो । सूर्य साक्षात् सृष्टिकर्ता र विधाता हुन् । उनले केवल पृथ्वी, अन्तरिक्ष र द्युलोकलाई मात्र प्रकाशित तुल्याउने काम गर्दैनन्, अपितु चराचर जगतलाई नियन्त्रण गर्ने काम पनि उनैबाट हुन्छ । यिनी समस्त देवताहरूका प्रशासक हुन् । यिनको दिनकर र भास्करादि अन्य नाम पनि छन् । यिनले सम्पूर्ण जगतलाई उज्यालो बनाउँदै धारण गर्दछन् र सबैलाई कर्म गर्न प्रेरणा प्रदान गर्दछन् । त्यसैले सूर्य सबैका लागि वन्दनीय छन् । संसारका समस्त घटनाहरू भगवान् सूर्य नारायणकै लीलाविलास हो । भगवान् सूर्यले प्रातःकालमा आफ्नो सात्विक शक्ति सञ्चरण गर्दै समस्त चराचर जगतलाई सञ्जीवनी प्रदान गरी उत्साहित र प्रफुल्ल तुल्याउँदछन् ।  यिनीबाट प्रातःकालमा प्राप्त हुने सञ्जीवनी शक्तिका कारण संसार आफ्नो कर्मसृष्टि र सिर्जनाको लीलामा जुट्दछ । प्रातःकालका सूर्यलाई सृष्टिकर्ता ब्रह्माको प्रतीक मानिन्छ ।

मध्याह्न कालमा सूर्यले आफ्नो तामसी स्वभावको प्रदर्शन गर्दछन् । आफ्ना किरणमा भएका तीक्ष्ण र प्रचण्ड प्रकाशलाई चराचर जगतमा सञ्चरण गर्दै सूर्यले आफूमा रहेको तमोगुणबाट सम्पूर्ण दैनिक कर्म सृष्टिको कालिमालाई शोषण गर्दछन् । भगवान् आदित्यले मध्याह्नकालमा आफ्ना रश्मिहरूद्वारा महेश्वर रूपमा दैनिक सृष्टिका विकारहरूलाई शोषित गरेर जगतलाई हृष्टपुष्ट, स्वस्थ र नीरोगी बनाउँदछन् । जगत् कल्याणका लागि भगवान् सूर्यको यो दैनिक विकार शोषणको लीलालाई नै भगवान् भोलेशङ्कर नीलकण्ठको हलाहल पानको प्रतीकका रूपमा लिइन्छ ।

जसरी ईश्वरले बनाएको सृष्टिलाई ईश्वर आफैंले आवश्यकतानुसार आफैंमा विलय गर्नुहुन्छ, ठीक त्यसरी नै सन्ध्याको समयमा सम्पूर्ण सृष्टिलाई दिनभरि प्रकाश र आनन्द सञ्चरण गरेर सायंकालमा अस्ताचलमा गएर आफ्नो राजसी स्वरूप प्रदर्शन गर्दछन् र सारा जगतलाई विश्रामको सन्देश प्रवाह गर्दछन् । सन्ध्याकालका सूर्यलाई क्षीरसागरमा शयन गर्नुहुने भगवान् विष्णुको स्वरूपलाई स्मरण गर्ने गरिन्छ । त्यसैले सूर्यको विशेषता बताउँदै भनिएको छ :-
उदये ब्रह्मणो रूपं मध्याह्ने तु महेश्वरः ।
अस्तकाले स्वयं विष्णुस्त्रिमूर्तिश्च दिवाकरः ।।

सूर्यको उपासनाका क्रममा सूर्यका विविध रूपको ध्यान र पूजा गर्ने प्रचलन छ, जसमा धाता, अर्यमा, मित्र, वरुण, इन्द्र, विवस्वान्, पूषा, पर्जन्य, अंशुमान्, भग, त्वष्टा, विष्णु आदि सूर्यका बाह्रवटा स्वरूपको चर्चा गरिन्छ ।

आइतबारको व्रतविधान
आइतबारको व्रत लिँदा सामान्यतया रविसप्तमीको दिनबाट वा शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गर्नु पर्दछ । व्रतका दिन सकेसम्म रातो कपडा पहिरनु आवश्यक छ । यो व्रत कम्तीमा एक वर्षसम्म लिन सकिन्छ । यदि कुनै कारणले एक वर्ष पूरा गर्न सकिएन भने कम्तीमा १२ वटा आइतबार चाँहि व्रत लिनै पर्दछ । व्रतालुले आइतबारका दिन घाम उदाउनुअघि नै ब्युँझनु पर्दछ । आफ्नो नित्यकर्म सिद्ध्याएर शुद्ध रातो कपडा लगाएर 'ॐ घृणि सूर्याय नमः' यस बीज मन्त्रको कम्तीमा ५ माला जाप गर्नु पर्दछ । एकै पटक जाप पूरा गर्न नसकिएममा व्रतको अवधिभरिमा भए पनि पाँच माला जाप पुर्याएको राम्रो हुन्छ । जाप गरिसकेपछि तामाको लोटी वा कलशमा चोखो जल भर्नु पर्दछ र त्यसमा मह वा चिनी, अबीर, रातो फूल, राता अक्षता, रातो चन्दन, दुबो र सर्स्युँ राख्नु पर्दछ । यसरी तैयार गरिएको जलले तुलसाको मठमा वा गमलामा पूर्व फर्किएर भगवान् सूर्य नारायणलाई निम्न मन्त्र पढ्दै अर्घ्य दिनुपर्दछ ।

एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर ।।
नमः सहस्रकिरण !  सर्वव्याधिविनाशिने ।
गृहाणार्घ्यं मया दत्तं सन्ध्यया सहितो रवे ।।

अर्घ्य दिंदा तामाको लोटी वा कलशबाट खसेको जलको धाराको माझबाट सूर्यबिम्बको दर्शन गर्नुपर्दछ, प्रदक्षिणा गरेर रातो चन्दनको तिलक लगाउनु पर्दछ, यति गरिसकेपछि त्यस दिन दिनभरि उपवास गर्नु पर्दछ । सकेसम्म भोजनादि गर्नु हुँदैन । नसक्नेले फलाहार गर्नुपर्छ र फलाहार गर्दा पनि चित्त नबुझेमा गहुँका रोटी वा पुरी खान सकिन्छ । यसरी दिनभर व्रत लिएर बेलुका अग्निहोत्रादि नित्यकर्म गरेर नुन र नुनिलो चिजबाहेक अन्य सात्विक भोजन ग्रहण गर्दा हुन्छ । व्रतको समाप्ति अर्थात् अन्तिम आइतवारका दिन हवनपछि ब्राह्मण दम्पतीलाई भोजन गराई यथाशक्ति राता चिजबिज, रातै कपडा एवं दक्षिणासहित प्रसन्न तुल्याई आशिर्वाद ग्रहण गर्नु पर्दछ।

किन लिने आइतबारको व्रत ?
आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामनासिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणका निम्ति आइतबारको व्रत लिने गरिन्छ । विधिपूर्वक प्रत्येक आइतबारका दिन सूर्यको उपासना गर्दा दैविक, दैहिक र भौतिक तीनै किसिमका कष्टबाट छुटकारा पाइन्छ । यसरी सूर्योपासना गर्ने उपासकको सूर्यको प्रकाश जसरी नै बुद्धि प्रखर र तीव्र हुन्छ । त्यसबाहेक ज्योतिषीय अवधारणा बमोजिम जन्मकुण्डलीमा चौथो, आठौँ र बाह्रौं घरमा सूर्य रहेको अवस्थामा वा सूर्यका साथमा राहु वा केतुको युति भई ग्रहण योग अथवा पितृ दोषको सिर्जना भएमा वा जन्मकालमा औंसी, कृष्णपक्षको चतुर्दशी र शुक्लपक्षको प्रतिपदा तिथि भएमा सिर्जना हुने सूर्यको दुष्प्रभावबाट जोगिन आइतबारको व्रत लिने विधान छ।

आइतबारको व्रतकथा
कुनै गाउँमा एउटी बुढी आमै बसोबास गर्ने गर्दथिन् । तिनको नियम थियो, प्रत्येक आइतवारका दिन बिहानै स्नानादि गरी गोबरले घर लिपेर भोजन तैयार गरी भगवान् सूर्यनारायणलाई भोग लगाएरमात्र भोजनादि ग्रहण गर्ने । यस नियमको पालना गरी अनुष्ठान गरेकाले उनको घरपरिवारमा सुखसन्तोष थियो र अनेक किसिमका धनधान्य र सुखसुविधाले भरिपूर्ण थियो, उनको परिवार । भगवान् श्रीहरिको कृपाले घरमा कुनै किसिमको विघ्न वा दुःख थिएन । ती बृद्धाको घरमा गाई थिएन, त्यसैले व्रतपालना गर्न उनी छिमेकबाट गोबर ल्याउने गर्दथिन् । यो क्रम चलिरहेको थियो, केही दिन बितेपछि उनले गोबर ल्याउने घरकी छिमेकी महिलाले विचार गरिन् - यी बृद्धा सधैं मेरो घरबाट गोबर लिएर जान्छिन् र धर्मकर्म गर्छिन्, उनको घरमा सुखैसुख र आनन्द छ, त्यसैले अब म गोबर लान दिन्न, बरु आफ्नो गाईलाई घरभित्र बाँध्न थाल्छु ।

छिमेकीले गाईलाई गोठभित्र बाँधेर थुनेपछि एकाबिहानै आमैले गोबर लान पाइनन् । छिमेकी नउठुन्जेल एक पटक त पर्खिएर गोबर ल्याउने विचार पनि गरिन् । तर ईर्ष्यालु छिमेकीले कुनै हालतमा गोबर नदिने भनेपछि उनले एउटा आइतबारका दिन घर लिप्न पाइनन् । उनको सूर्योपासनाको क्रम भङ्ग भयो । उनले त्यस दिन न त भोजन नै बनाइन्, न भगवानलाई अर्पण नै गरिन् । नियमिततामा विघ्न आएकाले उनले आँफूले पनि केही खाइनन् । बरु उनले निराहार व्रत लिने प्रण गरिन् । रात पर्यो उनी भोकै सुतिन् ।  रातको समयमा सपनामा उनले भगवान् सूर्यनारायणको दर्शन पाइन् । सूर्यले उनलाई भोजन नबनाएको र भोग नलगाएको कारण सोध्नुभयो । बृद्धाले गोबरको अभावमा नित्यकर्म सम्पादन हुन नसकेको र व्रतमा विघ्न सिर्जना भएकाले आफूले त्यसो गरेको विवरण बिन्ती बिसाइन् । आफूमा अगाध श्रद्धा र भक्तिभाव राख्ने ती सरल स्वभावकी बृद्धाको अवस्था बुझेर सूर्यनारायणले आज्ञा गर्नुभयो -  'हे  माता ! म तपाईंको भक्तिभावबाट अत्यन्त प्रसन्न भएको छु, अब म तपाईंलाई एउटा यस्तो गाई दिन्छु, जसले तपाईंका समस्त इच्छाहरू पूर्ण गर्नेछ । तपाईं जसरी नै प्रत्येक आइतबारका दिन व्रत सम्पादन गर्ने प्रत्येक नरनारीसँग म अत्यन्त प्रसन्न हुने गर्दछु । मेरा भक्तहरूको स्वास्थ्य रक्षा गर्नु मेरो पहिलो कर्तव्य हो, त्यसबाहेक निर्धनलाई धन र बाँझी स्त्रीहरूलाई पुत्र प्रदान गरेर दुःख नष्ट गर्दछु । मेरा भक्तजनहरूले जीवनकालभरि धनधान्य र सुखसम्मृद्धिका साथमा जीवन बिताएर अन्त्यकालमा मोक्ष प्राप्त गर्दछन् ।' स्वप्नमा यसरी वरदान दिएर भगवान अन्तर्धान हुनुभयो । बृद्धा ब्युँझिइन्, सपनामा सूर्यले दिएको वरदान साँच्चिकै साकार भयो, उनका आँखा खुल्दा आँगनमा एउटा अति सुन्दर गाई र बाछो उभिइरहेको दृश्य देखियो । त्यसरी आफ्नै आँगनमा गाई र बाछो देखेर अति प्रसन्न भएकी आमैले तिनलाई घरबाहिर बाँधि दिईन र घाँसपात गरिदिइन् । दिउँसो उनकी छिमेकी स्त्रीले ती आमैका घरमा पनि गाई र बाछो ल्याइएको थाहा पाइन्, उनको डाहा र रिसको पारो अझ चुलियो । उनी ईर्ष्यालु भई गाई र बाछो हेर्दै थिइन्, त्यसै बखतमा गाईले गोब्र्यायो, त्यस गाईले त सुनको गोबर पो गोब्र्याउँदो रहेछ । यो दृश्य देख्दा त उनको मनमा अझ खपिनसक्नु भयो । यसो वरपर हेरिन्, कसैले देखेको छैन भन्ने चाल पाएर  उनले तुरुन्त त्यो सुनको गोबरको थाप्रो टिपेर आफ्नो गाईको गोबरसँग साटिदिइन् । अब ती छिमेकीको काम कतिबेला त्यस गाईले गोब्र्याउँछ, रुङ्ने र साट्ने हुनथाल्यो । ती सोझी बृद्धालाई छिमेकी स्त्रीको कुटिलता र चलाखीको अत्तोपत्तो थिएन ।

छिमेकी स्त्रीको यो नयाँ दैनिकीलाई जगत्साक्षी भगवान् सूर्यनारायणले पनि नियालिरहनु भएको थियो । लामो समयसम्म ती चलाख छिमेकीका कपटपूर्ण कर्मद्वारा बृद्धा ठगिएको ठगियै भइन् । अनि जगदीश्वर सूर्यले एक दिन सन्ध्याकालमा आफ्नो मायाद्वारा ठूलो हुरीबतासको सिर्जना गर्नुभयो । आमैले आँधीबेरीले गाई र बाछोलाई नोक्सान पो गर्ने हो कि भन्ने भयले ती बृद्धाले ती वस्तुभाउ घरभित्र लगेर बाँधिन् । अर्को दिन प्रातःकालमा बल्ल ती बृद्धाले गाईले सुनको गोबर गोब्र्याएको दृश्य देखिन्, उनको आश्चर्यको सीमा रहेन । त्यसपछिमात्र ती आमैले हरेक दिन गाईबाछालाई घरभित्र नै बाँध्न थालिन् । बृद्धाले गाई र बाछा भित्र बाँध्न थालेपछि छिमेकी स्त्रीको आयस्रोत घट्ने भयो । उनी ईर्ष्या र डाहले अझ पिरोलिन थालिन् । दुई चार दिन प्रतीक्षा गरिन्, आमैले त्यसपछि कहिल्यै पनि घरबाहिर गाई र बाछालाई छाडिनन् । केही उपाय नदेखेर तिनले बुढीआमैलाई दुःख दिने उद्देश्यले राजाका सभामा गएर उजुर गरिन् - 'महाराज ! मेरो छिमेकमा एउटी बृद्धासँग यस्तो गाई छ, जुन गाई हजुरहरू जस्ता राजाहरूसँग मात्र हुनुपर्ने हो, किनकि त्यस गाईले प्रत्येक दिन एक थाप्रो सुनको गोबर गोब्र्याउने गर्छ । त्यसैले हे महाराज !  हजुरले नै त्यो गाईलाई अधिग्रहण गरी दरबारमा ल्याएर राख्नु उचित हुन्छ । त्यस गाईले गोब्र्याउने सुनको थाप्रोले देशको विकास र प्रजाको संरक्षणमा टेवा पुग्छ । आखिर त्यस बृद्धालाई त्यत्रो सम्पत्तिको के काम छ र ?' राजाले स्त्रीका उजुरमाथि विचार गर्दा उनलाई ती कुरा जायज लाग्यो । उनले तुरुन्त आफ्ना सिपाहीलाई आदेश दिए - 'जाओ, त्यो गाई र बाछो लिई आओ ।'

त्यस दिन पनि आइतबार नै परेको थियो । आमै आफ्नो प्रातःकालको नित्यकृत्य सिद्ध्याएर भोजन गर्न लागेकी थिईन्, त्यत्तिकैमा राजाका सिपाहीहरूले उनका गाई र बाछा खोलेर लगे । आमैले रोक्ने प्रयास गरिन्, अनुनय, विनय र अनेक तरहले विलाप गरिन्, रोइन्, कराइन्, तर उनको जोड चलेन । त्यस दिन बृद्धाले गाईको वियोगका कारण भोजन गर्न पनि सकिनन् र रातपरेपछि पनि सुँक्क् सुँक्क गर्दै ईश्वरसँग आर्तपुकारा गरिरहिन् । उक्त गाई र बाछा पुनः प्राप्त होस्, बरु राजालाई आवश्यक छ भने आफूसँग भएको सबै धनसम्पत्ति र गाईले दिनैपिच्छे गोब्र्याउने सुनको थाप्रो सबै उनले लगेहुन्थ्यो भन्ने कामनाले आमैले भगवान् सूर्यनारायणसित प्रार्थना गरिरहिन् । राजा सिपाहीले गाई ल्याएको समाचार सुनेर असाध्यै प्रसन्न भए, बिहान छिट्टै उठेर गाईले गोब्र्याएको सुन हेर्ने रहर थियो उनमा । तर भोलिपल्ट राजाले सोचेजस्तो भएन । उनी उठ्दा त सारा महल गोबरैगोबरले भरिएको देखियो । यस्तो दृश्य देखेर राजा अत्तालिए, सिपाहीलाई तुरुन्त सरसफाइ गर्ने आदेश दिए । जति सफा गरे पनि फेरि जताजतै गोबरैगोबर देखिन्थ्यो । दिनभरि राजाको चिन्ताको विषय बन्यो, उक्त गाई र महलभरि छरिएको गोबर । रात्रीकालमा अब के उपाय होला भनी राजा घोरिंदाघोरिंदै निदाए । राजा पनि धार्मिक स्वभावका थिए, उनलालाई सपनामा दर्शन दिएर सूर्यनारायणले आज्ञा गर्नुभयो - 'हे राजन् ! ती गाई र बाछा जहाँबाट ल्याएको हो, त्यही पुर्याइदिनुहोस्, तपाईंको कल्याण हुनेछ । मैले बृद्धाले निष्ठा र श्रद्धासाथ लिएको आइतबारको व्रतको प्रभावबाट प्रसन्न भएर उनलाई उक्त गाई र बाछो प्रदान गरेको थिए ।

भोलिपल्ट ब्युँझनासाथ राजाले गाई र बाछा बृद्धाका घरमा पुर्याउन आदेश दिए, साथै ती बृद्धा भक्तलाई ससम्मान पालकीमा राखी तथा छिमेकी कुटिल स्त्रीलाई पाता कसेर घिसार्दै लिई आउन उर्दी पनि गरे । राजाले यसरी आदेश गर्नासाथ राजाको महलबाट फोहोर  स्वतः हट्यो । त्यस दिनपछि राजाले नगरवासीहरूलाई उर्दी जारी गरे - 'समग्र राज्य र आआफ्नो सुखसम्मृद्धिका निमित्त तथा समस्त मनोकामना पूर्तिका निम्ति आइतबार (रविवार) का दिन व्रत लिनुपर्छ ।' राजाज्ञापछि त्यस राज्यका सबै नरनारीले त्यसपछि आएको रविसप्तमीको शुभमुहूर्तदेखि प्रारम्भ गरी विधिवत् आइतबारको व्रत लिनथाले । व्रत गर्नाले नगरका नागरिकहरू सुखी जीवन व्यतीत गर्न थाले । त्यस राज्यभित्र कुनै पनि रोगव्याधि तथा प्रकृतिको प्रकोप हुन छाड्यो ।  सारा जनता सुखपूर्वक भगवानको भजनकीर्तनमा समय बिताउन थाले । अन्त्यकालमा राजालगायत समस्त देशवासीले क्रमशः मोक्ष प्राप्त गर्दा भए ।

Thursday, November 9, 2017

कसरी लिने सन्तोषी माताको व्रत ?

सन्तोषी माता भगवान् गणेशकी सुपुत्री हुन् । यिनलाई पनि आद्याशक्ति जगन्माताको एउटा स्वरूप मानी पूजा र उपासना गर्ने विधान छ । प्रत्येक हप्ताको शुक्रबारका दिन सन्तोषी मातालाई प्रसन्न तुल्याउन व्रत लिने चलन छ । यस दिन व्रत लिने व्यक्तिले फलाहारका रूपमा चना र सक्खरको प्रयोग गरिन्छ । यस व्रतमा अमिलो खानु ठूलो त्रुटि मान्ने गरिन्छ, त्यसैले यस दिन कुनै किसिमका अमिलो चिजबीज चलाउनु र खानु पूर्णरूपेण निषेध गरिएको पाइन्छ । अतः सन्तोषीमाताको व्रत गरेको दिन व्रतालुले मात्र होइन, घरपरिवारका कुनै पनि सदस्यले अमिलो पदार्थ खानु चलाउनु हुँदैन । देवी सन्तोषीको उपासना गरी यिनलाई प्रसन्न तुल्याएमा घरपरिवारमा दुःखदारिद्र्य नष्ट हुनुका साथै समस्त मनोकाङ्क्षा पूर्ण भई परिवारमा सुख, समृद्धि र सन्तुष्टि प्राप्त हुन्छ । मातापिता गणेेश र ऋद्धिसिद्धि भएकाले यिनको भक्ति र उपासनाबाट घरमा आयस्रोत बढ्न थाल्छ, धनधान्य, स्वर्णादि बहुमूल्य धातु र रत्नको बृद्धि हुन्छ भने कलह र क्लेशको अन्त्य हुनुका साथै दरिद्रता दूर हुन्छन् । सुख र शान्तिको आगमन हुन्छ । बालबच्चाहरूका बालग्रह र रोगव्याधिको शमन हुन्छ । मनका समस्त शोक, विपत्ति, चिन्ता समाप्त हुन्छन्, माता सन्तोषीको नाम लिनासाथ सुखसम्मृद्धि र प्रसन्नताको प्रवेश हुन्छ ।

व्रतविधि
एकपाउ (न्युनतम एकाइमा २५ प्रतिशत थपेर) अर्थात् सवा जोडिएको पैसा, आना, सुका, रुपियाँको सक्खर र चना किनेर सन्तोषीमाताको व्रत सम्पादन गर्ने विधान छ । धनको कमी छ भने सवा पैसाकै भए पनि कुनै आपत्ति हुँदैन । सक्खर घरैमा छ भने त्यो पनि मिसाउनु पर्दछ, जोगाउन वा वचत गर्न खोज्नुहुँदैन, किनभने सन्तोषीमातालाई सक्खर असाध्यै मनपर्छ, उनी गुलियोकी भोकी देवी हुन्, वचत गर्न खोज्दा देवी असन्तुष्ट भई क्रुद्ध हुन्छिन् र चिताएको परिणामको उल्टो फल प्राप्त हुन्छ । देवी भावनाकी भोकी छन्, धेरथोरको वास्ता गर्दिनन् । त्यसैले जेजति सामाग्री जुटाउन सकिन्छ, श्रद्धा र प्रेमका साथमा जुटाई प्रसन्नचित्तले व्रत लिनुपर्दछ । कथाको प्रारम्भमा पूजास्थलमा चना र गुडले भरिएको डालोमाथि पवित्र जलले भरिपूर्ण एउटा ठूलो कलशको स्थापना गरी त्यसलाई अबीर र केशरीले सिङारेर पूजा गरिदिनु पर्दछ । यो व्रत सम्पादन गर्नेले कथा भन्दा वा सुन्दा हातमा सक्खर र भुटेको चना लिनुपर्दछ । कथामा उपस्थित श्रोताले बीचबीचमा ‘सन्तोषी माताको जय’, ‘सन्तोषी माताको जय’ भन्दै जय-जयकार भन्नुपर्दछ । कथाको समाप्तिमा त्यसरी हातमा लिएको चना र सक्खर गाईलाई खुवाउनु पर्दछ । कलशमा राखिएको सक्खर र चना प्रसादका रुपमा भक्तजनहरूलाई वितरण गर्नुपर्दछ । अन्त्यमा पूजा र आरती गरेर कलशको जल तुलसीको मठमा वा तुलसीको फेदमा सेलाई दिनुपर्दछ | दियो वा खोरीमा घिउको वर्तनमा भिजाएको बात्ती बालेर सन्तोषी माताको “जय-जयकार” गर्दै कथाको समाप्तिमा नरिवल फोर्नुपर्दछ । व्रत गर्ने व्यक्तिले कथा सुनेर अथवा कथा पाठ गरिसकेपछि प्रसाद लिनु र त्यस दिन एक छाक मात्र भोजन गर्नुपर्दछ । व्रतको उद्यापनमा साढे दुई (अढाई) सेर (एक धार्नी) खाजा (अर्नी), घिउमा मुछेको पिठोको पुरी, खीर, चनाको तरकारी आदिको नैवेद्य तैयार गर्नु पर्दछ । उक्त दिन आठ जना १२ वर्षमुनिका बालकहरू भेला पारी भरपेट भोजन गराउनु पर्दछ । तिनलाई दक्षिणाका रूपमा रुपैंयापैसा दिनु हुँदैन । पैसा पाएपछि तिनले पसलमा गई अमिलो किनेर खाने खतरा हुन्छ । त्यसैले दक्षिणाका रूपमा कुनै फल वा वस्त्रादि वितरण गर्नुपर्दछ । त्यस्तै केटाहरू जम्मा पार्दा सकेसम्म घरपरिवारका अर्थात् देवर, जेठाजु र नजिकैका छिमेकीका छोरानातिलाई जम्मा पार्नु पर्दछ । आफ्नै गोत्रका दाजुभाईका छोराहरू नभेटिए ब्राह्मण, अन्य नातेदार र पारिवारक सम्बन्ध राम्रो भएका केटाहरू जम्मा पार्नुपर्दछ । उद्यापनमा सहभागी भएका बालकहरूले त्यस दिन दिनभरि अमिलो पदार्थ खानु हुँदैन । कुनै किसिमका अमिलो पदार्थको सेवन नगरून् भन्ने उद्देश्यले सकेसम्म ती केटाहरूलाई दिनभरि घरैमा राख्नु वा निगरानीमा राख्नु पर्दछ । यसरी विधिविधानका साथमा व्रत लिनाले माता सन्तोषी अतीव प्रसन्न हुन्छिन् र मनोवाञ्छित आशीर्वाद र वरदान प्रदान गर्दछिन् ।

Saturday, July 29, 2017

रवि सप्तमी र आइतबारको व्रतकथा

आइतबार र सप्तमी तिथिको संयोग परेको दिनलाई रवि सप्तमी भन्ने गरिन्छ । यस दिन भगवान सूर्यनारायणको पूजा, अर्चना र व्रत सम्पादन गर्ने गरिन्छ । चराचर जगतका प्रकाशक देवता हुनाले सूर्यलाई सविता भन्ने गरिन्छ । गायत्री मन्त्र तिनै ‘सविता’ को उपासना गर्ने मन्त्र हो । सूर्य साक्षात् सृष्टिकर्ता र विधाता हुन् । उनले केवल पृथ्वी, अन्तरिक्ष र द्युलोकलाई मात्र प्रकाशित तुल्याउने काम गर्दैनन्, अपितु चराचर जगतलाई नियन्त्रण गर्ने काम पनि उनैबाट हुन्छ । यिनी समस्त देवताहरूका प्रशासक हुन् । यिनको दिनकर र भास्करादि अन्य नाम पनि छन् । यिनले सम्पूर्ण जगतलाई उज्यालो बनाउँदै धारण गर्दछन् र सबैलाई कर्म गर्न प्रेरणा प्रदान गर्दछन् । त्यसैले सूर्य सबैका लागि वन्दनीय छन् । संसारका समस्त घटनाहरू भगवान् सूर्य नारायणकै लीलाविलास हो । भगवान् सूर्यले प्रातःकालमा आफ्नो सात्विक शक्ति सञ्चरण गर्दै समस्त चराचर जगतलाई सञ्जीवनी प्रदान गरी उत्साहित र प्रफुल्ल तुल्याउँदछन् ।  यिनीबाट प्रातःकालमा प्राप्त हुने सञ्जीवनी शक्तिका कारण संसार आफ्नो कर्मसृष्टि र सिर्जनाको लीलामा जुट्दछ । प्रातःकालका सूर्यलाई सृष्टिकर्ता ब्रह्माको प्रतीक मानिन्छ ।

मध्याह्न कालमा सूर्यले आफ्नो तामसी स्वभावको प्रदर्शन गर्दछन् । आफ्ना किरणमा भएका तीक्ष्ण र प्रचण्ड प्रकाशलाई चराचर जगतमा सञ्चरण गर्दै सूर्यले आफूमा रहेको तमोगुणबाट सम्पूर्ण दैनिक कर्म सृष्टिको कालिमालाई शोषण गर्दछन् । भगवान् आदित्यले मध्याह्नकालमा आफ्ना रश्मिहरूद्वारा महेश्वर रूपमा दैनिक सृष्टिका विकारहरूलाई शोषित गरेर जगतलाई हृष्टपुष्ट, स्वस्थ र नीरोगी बनाउँदछन् । जगत् कल्याणका लागि भगवान् सूर्यको यो दैनिक विकार शोषणको लीलालाई नै भगवान् भोलेशङ्कर नीलकण्ठको हलाहल पानको प्रतीकका रूपमा लिइन्छ ।

जसरी ईश्वरले बनाएको सृष्टिलाई ईश्वर आफैंले आवश्यकतानुसार आफैंमा विलय गर्नुहुन्छ, ठीक त्यसरी नै सन्ध्याको समयमा सम्पूर्ण सृष्टिलाई दिनभरि प्रकाश र आनन्द सञ्चरण गरेर सायंकालमा अस्ताचलमा गएर आफ्नो राजसी स्वरूप प्रदर्शन गर्दछन् र सारा जगतलाई विश्रामको सन्देश प्रवाह गर्दछन् । सन्ध्याकालका सूर्यलाई क्षीरसागरमा शयन गर्नुहुने भगवान् विष्णुको स्वरूपलाई स्मरण गर्ने गरिन्छ । त्यसैले सूर्यको विशेषता बताउँदै भनिएको छ :-
उदये ब्रह्मणो रूपं मध्याह्ने तु महेश्वरः ।
अस्तकाले स्वयं विष्णुस्त्रिमूर्तिश्च दिवाकरः ।।

सूर्यको उपासनाका क्रममा सूर्यका विविध रूपको ध्यान र पूजा गर्ने प्रचलन छ, जसमा धाता, अर्यमा, मित्र, वरुण, इन्द्र, विवस्वान्, पूषा, पर्जन्य, अंशुमान्, भग, त्वष्टा, विष्णु आदि सूर्यका बाह्रवटा स्वरूपको चर्चा गरिन्छ ।

आइतबारको व्रतविधान
आइतबारको व्रत लिँदा सामान्यतया रविसप्तमीको दिनबाट वा शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गर्नु पर्दछ । व्रतका दिन सकेसम्म रातो कपडा पहिरनु आवश्यक छ । यो व्रत कम्तीमा एक वर्षसम्म लिन सकिन्छ । यदि कुनै कारणले एक वर्ष पूरा गर्न सकिएन भने कम्तीमा १२ वटा आइतबार चाँहि व्रत लिनै पर्दछ । व्रतालुले आइतबारका दिन घाम उदाउनुअघि नै ब्युँझनु पर्दछ । आफ्नो नित्यकर्म सिद्ध्याएर शुद्ध रातो कपडा लगाएर 'ॐ घृणि सूर्याय नमः' यस बीज मन्त्रको कम्तीमा ५ माला जाप गर्नु पर्दछ । एकै पटक जाप पूरा गर्न नसकिएममा व्रतको अवधिभरिमा भए पनि पाँच माला जाप पुर्याएको राम्रो हुन्छ । जाप गरिसकेपछि तामाको लोटी वा कलशमा चोखो जल भर्नु पर्दछ र त्यसमा मह वा चिनी, अबीर, रातो फूल, राता अक्षता, रातो चन्दन, दुबो र सर्स्युँ राख्नु पर्दछ । यसरी तैयार गरिएको जलले तुलसाको मठमा वा गमलामा पूर्व फर्किएर भगवान् सूर्य नारायणलाई निम्न मन्त्र पढ्दै अर्घ्य दिनुपर्दछ ।

एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर ।।
नमः सहस्रकिरण !  सर्वव्याधिविनाशिने ।
गृहाणार्घ्यं मया दत्तं सन्ध्यया सहितो रवे ।।

अर्घ्य दिंदा तामाको लोटी वा कलशबाट खसेको जलको धाराको माझबाट सूर्यबिम्बको दर्शन गर्नुपर्दछ, प्रदक्षिणा गरेर रातो चन्दनको तिलक लगाउनु पर्दछ, यति गरिसकेपछि त्यस दिन दिनभरि उपवास गर्नु पर्दछ । सकेसम्म भोजनादि गर्नु हुँदैन । नसक्नेले फलाहार गर्नुपर्छ र फलाहार गर्दा पनि चित्त नबुझेमा गहुँका रोटी वा पुरी खान सकिन्छ । यसरी दिनभर व्रत लिएर बेलुका अग्निहोत्रादि नित्यकर्म गरेर नुन र नुनिलो चिजबाहेक अन्य सात्विक भोजन ग्रहण गर्दा हुन्छ । व्रतको समाप्ति अर्थात् अन्तिम आइतवारका दिन हवनपछि ब्राह्मण दम्पतीलाई भोजन गराई यथाशक्ति राता चिजबिज, रातै कपडा एवं दक्षिणासहित प्रसन्न तुल्याई आशिर्वाद ग्रहण गर्नु पर्दछ।

किन लिने आइतबारको व्रत ?
आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामनासिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणका निम्ति आइतबारको व्रत लिने गरिन्छ । विधिपूर्वक प्रत्येक आइतबारका दिन सूर्यको उपासना गर्दा दैविक, दैहिक र भौतिक तीनै किसिमका कष्टबाट छुटकारा पाइन्छ । यसरी सूर्योपासना गर्ने उपासकको सूर्यको प्रकाश जसरी नै बुद्धि प्रखर र तीव्र हुन्छ । त्यसबाहेक ज्योतिषीय अवधारणा बमोजिम जन्मकुण्डलीमा चौथो, आठौँ र बाह्रौं घरमा सूर्य रहेको अवस्थामा वा सूर्यका साथमा राहु वा केतुको युति भई ग्रहण योग अथवा पितृ दोषको सिर्जना भएमा वा जन्मकालमा औंसी, कृष्णपक्षको चतुर्दशी र शुक्लपक्षको प्रतिपदा तिथि भएमा सिर्जना हुने सूर्यको दुष्प्रभावबाट जोगिन आइतबारको व्रत लिने विधान छ।

आइतबारको व्रतकथा
कुनै गाउँमा एउटी बुढी आमै बसोबास गर्ने गर्दथिन् । तिनको नियम थियो, प्रत्येक आइतवारका दिन बिहानै स्नानादि गरी गोबरले घर लिपेर भोजन तैयार गरी भगवान् सूर्यनारायणलाई भोग लगाएरमात्र भोजनादि ग्रहण गर्ने । यस नियमको पालना गरी अनुष्ठान गरेकाले उनको घरपरिवारमा सुखसन्तोष थियो र अनेक किसिमका धनधान्य र सुखसुविधाले भरिपूर्ण थियो, उनको परिवार । भगवान् श्रीहरिको कृपाले घरमा कुनै किसिमको विघ्न वा दुःख थिएन । ती बृद्धाको घरमा गाई थिएन, त्यसैले व्रतपालना गर्न उनी छिमेकबाट गोबर ल्याउने गर्दथिन् । यो क्रम चलिरहेको थियो, केही दिन बितेपछि उनले गोबर ल्याउने घरकी छिमेकी महिलाले विचार गरिन् - यी बृद्धा सधैं मेरो घरबाट गोबर लिएर जान्छिन् र धर्मकर्म गर्छिन्, उनको घरमा सुखैसुख र आनन्द छ, त्यसैले अब म गोबर लान दिन्न, बरु आफ्नो गाईलाई घरभित्र बाँध्न थाल्छु ।

छिमेकीले गाईलाई गोठभित्र बाँधेर थुनेपछि एकाबिहानै आमैले गोबर लान पाइनन् । छिमेकी नउठुन्जेल एक पटक त पर्खिएर गोबर ल्याउने विचार पनि गरिन् । तर ईर्ष्यालु छिमेकीले कुनै हालतमा गोबर नदिने भनेपछि उनले एउटा आइतबारका दिन घर लिप्न पाइनन् । उनको सूर्योपासनाको क्रम भङ्ग भयो । उनले त्यस दिन न त भोजन नै बनाइन्, न भगवानलाई अर्पण नै गरिन् । नियमिततामा विघ्न आएकाले उनले आँफूले पनि केही खाइनन् । बरु उनले निराहार व्रत लिने प्रण गरिन् । रात पर्यो उनी भोकै सुतिन् ।  रातको समयमा सपनामा उनले भगवान् सूर्यनारायणको दर्शन पाइन् । सूर्यले उनलाई भोजन नबनाएको र भोग नलगाएको कारण सोध्नुभयो । बृद्धाले गोबरको अभावमा नित्यकर्म सम्पादन हुन नसकेको र व्रतमा विघ्न सिर्जना भएकाले आफूले त्यसो गरेको विवरण बिन्ती बिसाइन् । आफूमा अगाध श्रद्धा र भक्तिभाव राख्ने ती सरल स्वभावकी बृद्धाको अवस्था बुझेर सूर्यनारायणले आज्ञा गर्नुभयो -  'हे  माता ! म तपाईंको भक्तिभावबाट अत्यन्त प्रसन्न भएको छु, अब म तपाईंलाई एउटा यस्तो गाई दिन्छु, जसले तपाईंका समस्त इच्छाहरू पूर्ण गर्नेछ । तपाईं जसरी नै प्रत्येक आइतबारका दिन व्रत सम्पादन गर्ने प्रत्येक नरनारीसँग म अत्यन्त प्रसन्न हुने गर्दछु । मेरा भक्तहरूको स्वास्थ्य रक्षा गर्नु मेरो पहिलो कर्तव्य हो, त्यसबाहेक निर्धनलाई धन र बाँझी स्त्रीहरूलाई पुत्र प्रदान गरेर दुःख नष्ट गर्दछु । मेरा भक्तजनहरूले जीवनकालभरि धनधान्य र सुखसम्मृद्धिका साथमा जीवन बिताएर अन्त्यकालमा मोक्ष प्राप्त गर्दछन् ।' स्वप्नमा यसरी वरदान दिएर भगवान अन्तर्धान हुनुभयो । बृद्धा ब्युँझिइन्, सपनामा सूर्यले दिएको वरदान साँच्चिकै साकार भयो, उनका आँखा खुल्दा आँगनमा एउटा अति सुन्दर गाई र बाछो उभिइरहेको दृश्य देखियो । त्यसरी आफ्नै आँगनमा गाई र बाछो देखेर अति प्रसन्न भएकी आमैले तिनलाई घरबाहिर बाँधि दिईन र घाँसपात गरिदिइन् । दिउँसो उनकी छिमेकी स्त्रीले ती आमैका घरमा पनि गाई र बाछो ल्याइएको थाहा पाइन्, उनको डाहा र रिसको पारो अझ चुलियो । उनी ईर्ष्यालु भई गाई र बाछो हेर्दै थिइन्, त्यसै बखतमा गाईले गोब्र्यायो, त्यस गाईले त सुनको गोबर पो गोब्र्याउँदो रहेछ । यो दृश्य देख्दा त उनको मनमा अझ खपिनसक्नु भयो । यसो वरपर हेरिन्, कसैले देखेको छैन भन्ने चाल पाएर  उनले तुरुन्त त्यो सुनको गोबरको थाप्रो टिपेर आफ्नो गाईको गोबरसँग साटिदिइन् । अब ती छिमेकीको काम कतिबेला त्यस गाईले गोब्र्याउँछ, रुङ्ने र साट्ने हुनथाल्यो । ती सोझी बृद्धालाई छिमेकी स्त्रीको कुटिलता र चलाखीको अत्तोपत्तो थिएन ।

छिमेकी स्त्रीको यो नयाँ दैनिकीलाई जगत्साक्षी भगवान् सूर्यनारायणले पनि नियालिरहनु भएको थियो । लामो समयसम्म ती चलाख छिमेकीका कपटपूर्ण कर्मद्वारा बृद्धा ठगिएको ठगियै भइन् । अनि जगदीश्वर सूर्यले एक दिन सन्ध्याकालमा आफ्नो मायाद्वारा ठूलो हुरीबतासको सिर्जना गर्नुभयो । आमैले आँधीबेरीले गाई र बाछोलाई नोक्सान पो गर्ने हो कि भन्ने भयले ती बृद्धाले ती वस्तुभाउ घरभित्र लगेर बाँधिन् । अर्को दिन प्रातःकालमा बल्ल ती बृद्धाले गाईले सुनको गोबर गोब्र्याएको दृश्य देखिन्, उनको आश्चर्यको सीमा रहेन । त्यसपछिमात्र ती आमैले हरेक दिन गाईबाछालाई घरभित्र नै बाँध्न थालिन् । बृद्धाले गाई र बाछा भित्र बाँध्न थालेपछि छिमेकी स्त्रीको आयस्रोत घट्ने भयो । उनी ईर्ष्या र डाहले अझ पिरोलिन थालिन् । दुई चार दिन प्रतीक्षा गरिन्, आमैले त्यसपछि कहिल्यै पनि घरबाहिर गाई र बाछालाई छाडिनन् । केही उपाय नदेखेर तिनले बुढीआमैलाई दुःख दिने उद्देश्यले राजाका सभामा गएर उजुर गरिन् - 'महाराज ! मेरो छिमेकमा एउटी बृद्धासँग यस्तो गाई छ, जुन गाई हजुरहरू जस्ता राजाहरूसँग मात्र हुनुपर्ने हो, किनकि त्यस गाईले प्रत्येक दिन एक थाप्रो सुनको गोबर गोब्र्याउने गर्छ । त्यसैले हे महाराज !  हजुरले नै त्यो गाईलाई अधिग्रहण गरी दरबारमा ल्याएर राख्नु उचित हुन्छ । त्यस गाईले गोब्र्याउने सुनको थाप्रोले देशको विकास र प्रजाको संरक्षणमा टेवा पुग्छ । आखिर त्यस बृद्धालाई त्यत्रो सम्पत्तिको के काम छ र ?' राजाले स्त्रीका उजुरमाथि विचार गर्दा उनलाई ती कुरा जायज लाग्यो । उनले तुरुन्त आफ्ना सिपाहीलाई आदेश दिए - 'जाओ, त्यो गाई र बाछो लिई आओ ।'

त्यस दिन पनि आइतबार नै परेको थियो । आमै आफ्नो प्रातःकालको नित्यकृत्य सिद्ध्याएर भोजन गर्न लागेकी थिईन्, त्यत्तिकैमा राजाका सिपाहीहरूले उनका गाई र बाछा खोलेर लगे । आमैले रोक्ने प्रयास गरिन्, अनुनय, विनय र अनेक तरहले विलाप गरिन्, रोइन्, कराइन्, तर उनको जोड चलेन । त्यस दिन बृद्धाले गाईको वियोगका कारण भोजन गर्न पनि सकिनन् र रातपरेपछि पनि सुँक्क् सुँक्क गर्दै ईश्वरसँग आर्तपुकारा गरिरहिन् । उक्त गाई र बाछा पुनः प्राप्त होस्, बरु राजालाई आवश्यक छ भने आफूसँग भएको सबै धनसम्पत्ति र गाईले दिनैपिच्छे गोब्र्याउने सुनको थाप्रो सबै उनले लगेहुन्थ्यो भन्ने कामनाले आमैले भगवान् सूर्यनारायणसित प्रार्थना गरिरहिन् । राजा सिपाहीले गाई ल्याएको समाचार सुनेर असाध्यै प्रसन्न भए, बिहान छिट्टै उठेर गाईले गोब्र्याएको सुन हेर्ने रहर थियो उनमा । तर भोलिपल्ट राजाले सोचेजस्तो भएन । उनी उठ्दा त सारा महल गोबरैगोबरले भरिएको देखियो । यस्तो दृश्य देखेर राजा अत्तालिए, सिपाहीलाई तुरुन्त सरसफाइ गर्ने आदेश दिए । जति सफा गरे पनि फेरि जताजतै गोबरैगोबर देखिन्थ्यो । दिनभरि राजाको चिन्ताको विषय बन्यो, उक्त गाई र महलभरि छरिएको गोबर । रात्रीकालमा अब के उपाय होला भनी राजा घोरिंदाघोरिंदै निदाए । राजा पनि धार्मिक स्वभावका थिए, उनलालाई सपनामा दर्शन दिएर सूर्यनारायणले आज्ञा गर्नुभयो - 'हे राजन् ! ती गाई र बाछा जहाँबाट ल्याएको हो, त्यही पुर्याइदिनुहोस्, तपाईंको कल्याण हुनेछ । मैले बृद्धाले निष्ठा र श्रद्धासाथ लिएको आइतबारको व्रतको प्रभावबाट प्रसन्न भएर उनलाई उक्त गाई र बाछो प्रदान गरेको थिए ।

भोलिपल्ट ब्युँझनासाथ राजाले गाई र बाछा बृद्धाका घरमा पुर्याउन आदेश दिए, साथै ती बृद्धा भक्तलाई ससम्मान पालकीमा राखी तथा छिमेकी कुटिल स्त्रीलाई पाता कसेर घिसार्दै लिई आउन उर्दी पनि गरे । राजाले यसरी आदेश गर्नासाथ राजाको महलबाट फोहोर  स्वतः हट्यो । त्यस दिनपछि राजाले नगरवासीहरूलाई उर्दी जारी गरे - 'समग्र राज्य र आआफ्नो सुखसम्मृद्धिका निमित्त तथा समस्त मनोकामना पूर्तिका निम्ति आइतबार (रविवार) का दिन व्रत लिनुपर्छ ।' राजाज्ञापछि त्यस राज्यका सबै नरनारीले त्यसपछि आएको रविसप्तमीको शुभमुहूर्तदेखि प्रारम्भ गरी विधिवत् आइतबारको व्रत लिनथाले । व्रत गर्नाले नगरका नागरिकहरू सुखी जीवन व्यतीत गर्न थाले । त्यस राज्यभित्र कुनै पनि रोगव्याधि तथा प्रकृतिको प्रकोप हुन छाड्यो ।  सारा जनता सुखपूर्वक भगवानको भजनकीर्तनमा समय बिताउन थाले । अन्त्यकालमा राजालगायत समस्त देशवासीले क्रमशः मोक्ष प्राप्त गर्दा भए ।

Sunday, July 16, 2017

सोमबारको व्रत : प्रक्रिया र व्रतकथा

नेपालीलगायत सबै स्थान, समय र वर्णका सनातन धर्ममा अास्था राख्ने व्यक्तिहरू स्वभावैले धर्मपरायण हुन्छन् । विशेष गरी महिलाहरु पूजा गर्न र व्रत बस्न मन पराउँछन् र यसलाई आफ्नो कर्तव्य ठान्दछन् । हाम्रो सनातन संस्कृतिमा विभिन्न धार्मिक पर्व, उत्सव र व्रतादि मनाउने चलन छ, तीमध्ये सोमबारे व्रत पनि एउटा प्रमुख अनुष्ठानभित्र पर्दछ । व्रत शब्दको सामान्य अर्थ भोजन नगरी निराहार बस्नु हो । यसलार्इ उपवास पनि भन्ने गरिन्छ । उपवासको धार्मिक मात्र होइन, वैज्ञानिक महत्त्व पनि छ । विज्ञानले पाचनप्रणालीलार्इ कम्तीमा सातामा एक दिन विश्राम दिएमा स्वास्थ्यलाभ हुने कुरा प्रमाणित गरिसकेको छ । खानपानमा नियन्त्रण गर्नसक्दा व्यक्तिले दीर्घजीवन प्राप्त गर्दछ, तर अाफ्नो स्वास्थ्यमा रहेको कमजोरी र दुर्बलता बढाउने गरी कसैले पनि व्रत लिनु हुँदैन । त्यसरी व्रत गरी शरीरलार्इ अधोगतितिर लान शास्त्रले नै निषेध गरेको छ । नखानुमात्र व्रत लिनु होइन, व्रत लिंदा मन, वचन र कर्मद्वारा सदाचारको पालना गर्नु पर्दछ । व्रत लिएको दिन स्नानादि गरी शरीरलार्इ शुद्ध बनाउनु पर्छ, असत्य, हिंसा, अावेग, अभिमान, लोभ, याैनाकाङ्क्षा, क्रोध, लालसा अादि गलत वृत्तिलार्इ मनैदेखि त्याग गर्न सक्नुपर्छ, अनिमात्र व्रतसम्पादन गरेको फलप्राप्ति हुन्छ । सारांशमा शान्त र सरल जीवनयापनको प्रेरणा व्रत बस्नाले मात्र प्राप्त गर्न सकिन्छ । हाम्रा धार्मिक ग्रन्थहरुमा व्रतका विभिन्न विधान उल्लेख छन्, जसमा नियमको पालना गरी श्रद्धाले पूजाअर्चनाका साथै कथा श्रवण गरिन्छ । प्रकृतिअनुसार व्रत बेग्लाबेग्लै किसिमका हुन्छन्, जस्तै तिथिमा अाधारित, बार, नक्षत्र, महिना, अवधि अादिमा अाधारित । जेजस्तो व्रत भए पनि सबै व्रतको साझा उद्देश्य हो — आफ्नो मनलाई हरेक तरिकाले पवित्र बनार्इ विषय र इन्द्रियहरूमाथि विजय प्राप्त गर्नु । भगवान् श्रीकृष्णले भोको बस्न सके विषयप्रतिको अाकर्षण हटाउन सकिन्छ भनी श्रीमद्भगवद्गीतामा बताउनु भएको छ :-

विषयाः विनिवर्तन्ते निराहारस्य देहिनः । रसवर्जं रसोऽप्यस्य परं दृष्ट्वा निवर्तते ॥२।५९

निराहार बस्नाले मानिसमा काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य अादि विषयहरूमा विकर्षण हुन्छ ।

सोमबार चन्द्रमासँग सम्बद्ध बार हो । यस बारका देवता भगवान् शिव हुन् । त्यसैले सोमबारलार्इ शिवजीको प्रियतम बार मान्ने गरिन्छ । 'सोमबारे व्रतं कार्यं श्रावणे वै यथा विधि' भनी शास्त्रमा बताइएको हुँदा अन्य सोमबारको व्रत लिन नसके पनि साउनको महिनामा पर्ने सोमबारको व्रत लिनुपर्ने मान्यता छ । यो व्रत पाँच पटक, चौध पटक वा सोह्र पटक, पाँच महिना, चौध महिना वा सोह्र महिनासम्म अथवा पाँच वर्ष, चौध वर्ष अथवा सोह्र वर्षसम्म श्रद्धा र भक्तिका साथ विधिपूर्वक गर्नु पर्दछ ।  श्रावण, चैत, वैशाख, कार्त्तिक वा मंसिर महिनाको शुक्लपक्षको पहिलो सोमबारबाट, प्रदोष वा अष्टमी तिथि र सोमबारको संयोग परेको दिनबाट वा आर्द्रा नक्षत्र र सोमबारको संयोग परेको दिनबाट व्रत सुरु गर्नु उपयुक्त हुन्छ । व्रत आरम्भ गर्दा एक दिनअघिदेखि नै नङ, केश गरी मन, वचन र कर्मले पवित्र हुनुपर्छ र भोलिपल्ट सोमबारका दिन बिहान सबेरै उठेर पानीमा कालो तिल मिसाई स्नान गर्नु पर्दछ, त्यसपछि सेतो वस्त्र धारण गरी सेतो फूल, सेतो चन्दन, पञ्चामृत, अक्षता, सुपारी, बेलपत्र आदि पूजासामाग्री तैयार पारी 'ॐ नमः शिवाय' लगायत शिवसँग सम्बद्ध मन्त्र वा प्रार्थनाद्वारा शिवपार्वतीको पूजा गर्नु पर्दछ, सोमबारको व्रत भरिसक्य निर्जल, निराहार अथवा एक छाक अलिनो खान्की ग्रहण गरी सम्पादन गर्ने गरिन्छ ।  निराहार व्रत बस्नाले अजीर्ण, टाउको दुख्ने, ज्वरो आउने अादि समस्याबाट मुक्त हुनसकिने कुरा धर्मग्रन्थहरूमा उल्लेख छ । दिनभरि सकेसम्म निराहार (पानी पनि नखार्इ) बसेर साँझमा दुर्इ घडी रात बितेपछि प्रदोषकालमा शिवजीको पुनः पूजाअारती गर्नुपर्छ । व्रतको दिन शुक्लपक्षमा पर्ने रहेछ भने शिवजीको पूजापछि घरबाहिर निस्केर चन्द्रमाको समेत पूजा गर्नुपर्दछ । साँझको पूजादि कर्म सकेपछि एक छाक चोखो खान्की (हविष्यान्न) ग्रहण गर्न सकिन्छ । भोलिपल्ट मङ्गलबारका दिन बिहान अाफ्नो नित्यकर्म समापन गरेपछि ब्राह्मण, गरिबगुरुबा वा चेलीबेटी,/भान्जाभान्जीलार्इ टीका लगार्इ दान, दक्षिणा गरी भोजन गराएर अाफूले पनि भोजन गर्नुपर्दछ र व्रत समापन हुन्छ । अाफूले चिताएको वा सङ्कल्प गरेको सङ्ख्यामा व्रत लिर्इ सकेपछि सोमबारकै दिन रुद्री/हवन जुर्ने गरी साइत हेरार्इ यथासङ्ख्यामा ब्राह्मणद्वारा रुद्रीपाठका साथमा रुद्राभिषेक कर्म गर्न लगार्इ कम्तीमा १६ जना साैभाग्यवती स्त्रीलार्इ साैभाग्यका सामाग्री र सकेसम्म चाँदीको कचाैरामा पायस दान गरी साङ्गे गर्न सकिन्छ । यसरी विधिविधानपूर्वक सोमबारको व्रत लिन सकेमा मानसिक शान्ति, धन, पुत्रप्राप्ति, पतिप्राप्ति एवं सबै किसिमको कष्टबाट छुटकारा प्राप्त हुनेछ र भक्तका अन्य समस्त मनोकाङ्क्षा पूर्ण भर्इ यस जन्ममा अनेकानेक सुखसम्मृद्धि र एेश्वर्य भोग गर्दै मृत्युपछि उत्तम गति प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

सोमबारको व्रतकथा
उहिले अवध देशको कुनै एउटा नगरमा एकजना वणिक्पाल नाम गरेको व्यापारीले निवास गर्दथ्यो । उसको घरमा धनधान्य र सुखसम्मृद्धिको कुनै कमी थिएन । सामाजिक यश, सम्मान र प्रतिष्ठा पनि पर्याप्त थियो, तर उसको घरमा खट्किएको कमजोरी बन्न पुगेको थियो - सन्ततिसुखको अभाव । वणिक्पालको रातदिनको चिन्ताको विषय कसरी सन्तान प्राप्त गर्ने भन्नेमात्र थियो ।  ऊ पुत्रको कामना गर्दै प्रत्येक सोमवारका दिन शिवजीको व्रत र पूजाअाराधना गर्ने गर्दथ्यो र सायंकालमा शिव मन्दिरमा गएर शिवजीको श्री विग्रहअगाडि दियो बाल्ने गर्थ्यो । उसको यस भक्तिभावलाई विचार गरेर एकपटक माता पार्वतीले शिवजीसँग जिज्ञासा राख्नुभयो  - हे स्वामी ! यो वैश्य हजुरको अनन्य भक्त हो, उसले अाफ्नो निष्ठा र सामर्थ्यले भ्याएसम्म श्रद्धापूर्वक हजुरको अाराधना र उपासनामा संलग्न भएको पाइएको छ, तर पनि उसको मनोकाङ्क्षा पूर्ण हुन किन बिलम्ब भएको हो ? जान्न चाहान्छु । पार्वतीका वात्सल्यपूर्ण जिज्ञासाको जवाफमा शिवजीले बताउनु भयो – प्रिये ! संसार कर्मक्षेत्र हो । किसानले खेतमा जस्तो बीउ छरेको हुन्छ, त्यस्तै फल प्राप्त गरे झैं यस संसारमा जन्मलिने प्राणीले पनि अाफूले गरेको कर्मको फल भोग्नुपर्दछ । पार्वतीले उक्त वैश्यप्रति अनुराग राख्दै पुनः शिवजीसँग अाग्रह गर्नुभयो – हे पतिदेव ! यसले हजुरको अनन्य भक्ति गरेको छ, यसका यस जन्मका वा पूर्वजन्मका कुनै दोष वा पाप छन् भने तिनको निवारण गरी हजुरले उसका इच्छा पूर्ण गरिदिनु पर्छ । अाम प्राणिजगत्मा हजुरलार्इ अाशुतोष नामले प्रतिष्ठा मिलेको छ, किनकि हजुर अाफ्ना भक्तप्रति अत्यन्त दयालु हुनुहुन्छ, तिनको सामान्य भक्तिभाव र सेवाबाट प्रसन्न भर्इ इच्छित वरदान प्रदान गर्नुका साथै अनेकानेक दुःख कष्टको निवारण गर्नु भएको दृष्टान्त छ, अहिले यदि हजुरले यस वैश्यलाई अनुकम्पा गर्न बिलम्ब गर्नुभयो भने जनमानसमा हजुरप्रतिको अगाध अास्था र विश्वासमा कमी अाउन सक्छ । अतः यस व्यापारीको इच्छालार्इ पूर्ण गर्न हजुरसमक्ष अनुरोध गर्दछु । माता पार्वतीको यस्तो अाग्रह सुनेपछि शिवजीले भन्नुभयो - हे शिवे ! यस वैश्यले पूर्वजन्ममा गरेको कुकर्मका कारण यस जन्ममा सन्तानको सुख प्राप्त गरेको छैन । प्रारब्धदेखि नै पाउन नसकेको कुरा प्राप्त गर्न यसले मेरो अाराधना गरिरहेको छ । हुन त यसका भाग्यमा सन्तानको सुख नै छैन, तर जगज्जननीको भूमिकामा रहेकी तिमीले अाग्रह गरेपछि मैले यसलार्इ एउटा पुत्रको सुख प्रदान गर्नै पर्ने भयो । तर प्रारब्धलार्इ मेट्न सक्ने सामर्थ्यमा ममा पनि छैन, त्यसैले यसको छोरो बाह्रवर्षभन्दा बढी बाँच्ने छैन । अाफूहरूबीच भएको संवाद वैश्यले पनि थाहा पाअाेस् र सांसारिक मोहलार्इ त्यागोस् भन्ने ठानेर शिवजीले एक दिन उसको सपनामा यिनै संवाद र दृश्यावली दोहोर्यार्इ दिनुभयो । सपनामा थाहा पाएपछि पनि वैश्यमा न कुनै प्रसन्नता नै हुन पुग्यो न निराशा नै । उसको दिनचर्यामा कुनै किसिमको बदलाव अाएन । ऊ पहिले जसरी नै शिवजीको व्रत र पूजन कर्ममा संलग्न रह्यो । केही समय व्यतीत भएपछि साहूकी स्त्री गर्भवती भई र दस महिनापछि उसको गर्भबाट एउटा अति सुन्दर पुत्रको जन्म भयो । साहूका घरमा ठूलो उत्सव मनाइयो । नवजात शिशुको जातकर्म संस्कार सम्पन्न भयो । भाग्यले ठगिएको ठानी वणिक्पालले छोराको नाम अबोधकर्म राखिदिए । अायु बाह्र वर्षमात्र छ भन्ने थाहा पाएको हुँदा साहुमा धेरै उमङ्ग र उत्साह देखिएन । उसले छोराको अायुका बारेमा चाल पाएको भए पनि यो रहस्य अरुले चाल पाएका थिएनन् । दिन बित्दै गयो, साहुको छोरो ११ वर्षको भयो, घरमा छोराको व्रतबन्ध, विवाहादि संस्कार सम्पन्न गर्नुपर्छ भन्ने कुरा उठ्न थाले । अल्पायु छ भन्ने थाहा पाएको हुँदा वणिक्पालले संस्कारादि कर्मप्रति चासो राखेन । बरु बालकको अन्त्य अाफ्नो अगाडि नहोस् र उसले पुण्यक्षेत्रमा नै शरीर त्याग्न पाअाेस् भन्ने उद्देश्यले अध्ययनको वाहना बनार्इ छोरालार्इ काशी पठाउने विचार गर्यो ।  वणिक्पालको एउटा सालो थियो - धूर्तबुद्धि । उसले आफ्नो सालोलार्इ बोलाएर भन्यो - बाबु तिम्रो भानिजको पठनपाठनको समय अाएको छ, त्यसैले यसलार्इ काशीमा पुर्याएर एउटा राम्रो गुरुकुलमा भर्ना गरेर अाऊ । तर तिमीले यात्राका क्रममा एउटा अनुष्ठान दिनैपिच्छे गर्नुपर्छ ।  तिमीले प्रत्येक बासमा यज्ञ सम्पन्न गरी ब्राह्मणभोजन गराएरमात्र अर्को दिनको यात्रा सुरु गर्नु । भिनाजुको अाज्ञा शिरोधार्य गरी दुबै मामाभान्जा अावश्यक धनधान्य र सरसामाग्री बोकी काशीको यात्रामा निस्किए ।

व्यापारीको इच्छानुकूल दुबै मामाभान्जा बास बसेको स्थानमा यज्ञादि र ब्राह्मण भोजन गराउँदै क्रमशः काशीतर्फ लम्कँदै थिए ।  बाटोमा अवध देशको राजधानी पर्दथ्यो । त्यसबेला देशकी राजकुमारी सुकुमारीको विवाहको उत्सव हुँदै थियो । छिमेकी देशको राजकुमारसँग सुकुमारीको विवाह हुने टुङ्गो भएको थियो । विडम्बना त्यस दिनको बेउलाको एउटा अाँखा थिएन, ऊ कानो थियो । बिहेको टुङ्गो गर्दा केटो कानो भएको सूचना दिइएकै थिएन । बेउलाको बाउलार्इ कतै छोराको अाँखाले गर्दा विवाह भड्किने त होइन भन्ने ठूलो चिन्ता थियो । मामाभान्जा हिंडीरहेकै बाटोबाट जन्ती जाने तैयारी हुँदै थियो । बाटामा हिंडी रहेका बटुवालार्इ पाखा लगाउँदै सिपाहीहरू बाटो खाली पार्न थाले । ती दुर्इ जना पनि बाटाको छेउमा बसी जन्ती र लावालश्करको दृश्य हेर्न थाले । जन्तीपक्षको राजाको नजर त्यस व्यापारीको छोरा अबोधकर्ममाथि पर्यो । अति सुन्दर र साैम्य बालक देखेपछि उसले मनमनै विचार गर्यो, कथंकदाचित् यो मेरो पुत्र भइदिएको भए !, एकै छिनमा उसले सम्झ्यो, यसै बालकलार्इ बेउलो बनाएर जन्ती नपर्सिउन्जेल राख्न सके तत्कालका लागि छोराको अाँखाको दोषका कारण लज्जित हुनुपर्ने थिएन । राजाले अबोधकर्म र उसको मामा धूर्तबुद्धिलार्इ बोलाएर अाफ्नो इच्छा बतायो र अाफूलार्इ सहयोग गरे बख्सिसका रूपमा प्रशस्त धन दिने भनी प्रलोभन पनि देखायो ।  राजाजस्तालार्इ सहयोग गर्न पाइने र सानो सहयोग गर्दा धनार्जन पनि हुने ठानी राजाका कुरामा दुबै मामाभान्जा सहमत भए । त्यसपछि अबोधकर्मलाई बेहुलाको पहिरनमा सजाएर बग्गीमा राखी जन्ती अघि बढ्यो । विवाहमण्डपको स्वागतद्वारमा पुगेपछि जन्ती पर्सने कार्यक्रम कुशलतापूर्वक सम्पन्न भयो ।

अब बिहेको विधि अझ धेरै नै बाँकी थियो, बेहुलाका बाबु फेरि घोरिन थाले विवाहको कार्यक्रम नसकिउन्जेल पनि त बेहुलाको मुखाकृति हेर्न चाहनेहरू निस्किन सक्छन्, अाखिर यसै ढाँटियो, उसै ढाँटियो पूरा विवाह यसै केटोलार्इ नक्कली बेहुलो बनाएर गरे के नापिन्छ र ?  बेहुलाको पिताले अबोधकर्म र उसका मामासँग पुनः सहयोग गर्न अाग्रह गर्दै भन्यो – अब यी बालकलार्इ नक्कली बेहुलो बनाएर यति काम गरिहालियो, अब बाँकी काम पनि यिनैले सहयोग गरी सम्पन्न गरिदिए म अरु धन बख्सिसका रूपमा थपिदिने थिएँ । त्यसैले गोडा धुने, सिन्दूरपोते लगाउने, कन्यादान लिनेदिने लगायतका काममा पनि यिनै बालक बेहुला बनिदिए म कृतार्थ हुने थिएँ । ती दुबै मामाभान्जाले राजाको प्रस्तावलार्इ फेरि पनि स्वीकार गरे र विवाहको शेष कर्मकाण्ड पनि त्यसै अबोधकर्मलार्इ नक्कली बेहुलो बनार्इ सम्पन्न भयो । पहिलेपहिले सानो उमेरमा नै विवाह सम्पन्न हुन्थ्यो । विवाह भएको निकै दिन जन्तीपक्ष बेहुलीकै घरमा पाहुना बनेर बस्दथे र उचित मुहूर्त हेरी विदावारी भर्इ जन्ती फर्कने काम हुन्थ्यो । विवाहको विधि सकिनासाथ दुबै मामाभान्जा बेहुला पक्षका राजासँग विदा मागी उपहारका रूपमा प्राप्त गरेको धनका साथमा अाफ्नो बाटो लागे ।

राजकुमारी सुकुमारी र वैश्यपुत्र अबोधकर्मको विवाह सम्पन्न भएको दृश्यलार्इ कैलाशलोकमा माता पार्वतीले नियालीरहनु भएको थियो । एउटाले सिन्दूर हालेकी निर्दोष कन्यालार्इ अनजान अवस्थामैं अर्कैले पत्नी बनाउन खोजेको प्रपञ्च पार्वतीलार्इ मन परेन । विवाह भएको राती सुकुमारीको सपनामा दर्शन दिर्इ माताले विवाहमण्डपमा घटेको सबै वृत्तान्त बताउनु भयो र ती कन्यालार्इ जोसँग उसको विधिवत् विवाह सम्पन्न भएको छ, उसको अायु सिद्धिन लागेको कुराको समेत जानकारी दिनुभयो । सपनामा पार्वतीले यस्ता विचित्र घटना सुनाएपछि सुकुमारी छक्क परी । झन् अाफूसँग विवाह गर्ने वास्तविक बेहुलोको अल्पायु छ भन्ने थाहापाउँदा उसलार्इ दुःख लाग्यो । यति थाहा पाउँदा पाउँदै पनि राजकुमारीले धैर्य र संयम भर्इ माता पार्वतीसित सपनामैं अनुरोध गरी - माते ! जसरी मेरो सतीत्वरक्षा गर्न तपार्इंले अनायासै यी सत्य विवरण बताउनु भयो, अब मेरो साैभाग्यको रक्षाका लागि कुनै उपाय छ भने त्यो पनि अाज्ञा गर्नुहवस् । पतिको प्राणरक्षाका लागि जति कठिन उपाय भए पनि म त्यसलार्इ पालना गर्न तैयार छु । माता पार्वतीले सुकुमारीको अाग्रह सुनेपछि भन्नुभयो - बालिके ! भगवान् शङ्कर तीनै लोकका मालिक हुनुहुन्छ । वहाँ प्रसन्न हुनुभयो भने यस ब्रह्माण्डमा हुन नसक्ने कुरो केही पनि रहँदैन । लोकको कल्याणका लागि हलाहल विष पनि सेवन गर्ने शिवजीले भक्तका हरेक अाकाङ्क्षा र चाहना पूरा गर्नुहुन्छ । त्यसैले तिमीले अाफ्नो साैभाग्यका निमित्त भगवान् शिवजीको भक्ति र निष्ठापूर्वक अाराधना गर । पार्वतीका यस्ता अाश्वासनयुक्त भनाइ सुनेपछि सुकुमारीले पुनः प्रश्न गरी - हे अामा ! मलार्इ व्रत, तीर्थ, दान र धर्मका बारेमा केही पनि थाहा छैन । म अहिले केवल नाै वर्षकी अबोध बालिका छु । भगवान् भोलेशङ्कर कसरी प्रसन्न हुनुहुन्छ र मैले कुन व्रत लिंदा उत्तम हुन्छ ? त्यो पनि बताइदिनु हवस् । बालिकाका यस्ता बालसुलभ जिज्ञासाको उत्तर दिंदै पार्वतीले उसलार्इ सोह्रवटा सोमबारको व्रत बसी शिवोपासना गर्ने सल्लाह र सम्पूर्ण व्रतविधिको जानकारी दिर्इ अन्तर्ध्यान हुनुभयो । यस्तो सपना देखेपछि राजकुमारी झल्याँस्स ब्युँझी । सपनामा देखेको कुरा वास्तविक हो कि होइन भन्ने लागेर रुँदैरुँदै अाफ्नी अामा महारानीकहाँ पुगी । भर्खरै विवाह भएकी छोरी अचानक रुँदै अाएको देखेर रानीले कारण सोधिन् । सुकुमारीले सपनामा देखेको विवरण एकएक गरी बतार्इ । रानीले थाहा पाएपछि यो कुरो दरबारका सबै भाइभारदार र राजाले पनि थाहा पाए । राजाले अाफ्ना गुप्तचरमार्फत खोजीनीति गर्दा सपनाको कुरो यथार्थ रहेछ भन्ने चाल पाए । रहस्य खुल्यो भन्ने थाहा पाएपछि जन्तीपक्षको राजा अाफ्ना नातागोताका साथमा कानो छोरोलार्इ लिर्इ त्यहाँबाट भाग्यो । त्यसपछि राजाले छोरीलार्इ सम्झाउँदै भन्यो - नानी ! सबैले अाअाफ्नो कर्मको भोग गर्नुपर्दछ । अब जे भयो भयो, विगतको चिन्ता नगर, माता पार्वतीले दिएको उपायको पालना गर । तैंले गरेको उपासनामा हामी पनि सहभागी हुन्छाैं । अवश्य पनि भगवान् भोलेशङ्करको उपासनाले तेरो साैभाग्यबृद्धि हुनेछ । त्यसपछि उचित मुहूर्त र समय ठहर्यार्इ सुकुमारीले सोमबारको व्रत लिन थाली, राजा र रानीले पनि राजकुमारीले लिए जसरी नै उक्त व्रतको पालना गर्न थाले । 

उता सेठको छोरो र उसको मामा बाटामा प्रत्येक बासमा यज्ञ गर्दै काशी पुगे । राजकुमार एउटा राम्रो गुरुकुलमा भर्ना भर्इ अध्ययन गर्न थाल्यो । उसको मामा चाहिं अाफ्ना भिनाजुको अाज्ञापालन गर्दै नित्य यज्ञको अायोजना गर्दै भानिजको हेरचाह गर्न त्यहीं बस्यो । हेर्दाहेर्दै केटोको उमेर बाह्र वर्ष पूर्ण भयो । त्यस दिन पनि नित्य यज्ञका निमित्त अबोधकर्मलार्इ दीक्षित गरिएको थियो, अचानक ऊ मूर्च्छित भयो । यज्ञमण्डपमा नै मूर्च्छित भएको त्यस बालकका केही बेरमैं प्राणपखेरु उडे । भान्जोलार्इ मृतअवस्थामा देखेर मामा चिन्तित भयो, उसले मनमनै सोच्यो - यदि मैले शोकका कारण रुनकराउन थालें भने यज्ञको सम्पादनमा विघ्न आउने छ, अतः ऊ शीघ्रताका साथ यज्ञ सम्पन्न गराउनपट्टि लाग्यो । त्यसै दिन सुकुमारीले सोमबारको सोह्रवटा व्रत पूर्ण गरी साङ्गे गरी । व्रतको समापनमा उसको भक्ति र निष्ठादेखि प्रसन्न भर्इ भगवान् शङ्करले दर्शन दिर्इ वरदान माग्न अाग्रह गर्नुभयो । शिवजीको अाज्ञा पाएपछि उसले पनि हे, परमेश्वर मेरो भर्खरै विवाह सम्पन्न भएको छ । अहिले मैले पतिगृह पनि देखेकी छुइँन, अतः मेरो पतिगृहमा कुनै किसिमको धनधान्य र सुखसम्मृद्धिको अभाव नरहने गरी अखण्ड साैभाग्यको वरदान प्रदान गर्नुहवस् । शिवजीले बालिकाको साैम्यता देखेर गदगद भर्इ ख्यालै नगरी तथास्तु भन्नु भयो । शिवजीले राजकुमारीलार्इ यस्तो वरदान प्रदान गर्नासाथ उता मृतअवस्थामा पुगेको अबोधकर्म निद्राबाट ब्युँझिए झैं जुरुक्क उठ्यो । त्यसपछि दीक्षित भएको यज्ञको बाँकी कर्म पूरा गर्यो । राजकुमारीले यसरी अखण्ड साैभाग्यको वरदान पाएपछि राजाले काशीमा पुगी अाफ्ना ज्वाइँलार्इ लिइअाउन सैनिकहरूलार्इ खटाए । सैनिक बढाइँ र लावालश्करका साथमा अबोधकर्मलार्इ सेनाहरूले ससम्मान लिर्इ अाए । यसरी शिवजीको कृपाले केटो जीवित हुन पुग्यो । राजाले भव्यताका साथमा ज्वाइँको स्वागतसम्मान गर्यो । केही दिन दरबारमा बसेपछि भाैतिक सुखसुविधाका सरसामान, धनधान्य र अनेक दासदासीका साथमा उसले विधिपूर्वक छोरीज्वाइँलाई विदा गर्यो । 

यता घरमा रहेको वैश्यले अाफ्नो छोरो अल्पायु भएकाले काशीवास गर्दा मृत्यु होस् भन्ने उद्देश्यले गुरुकुलमा पठाएको र मरणोपरान्त उत्तम गति प्राप्त होस् भन्ने उद्देश्यले दिनैपिच्छे यज्ञ सम्पादन गर्न र व्राह्मणभोजन गराउन अादेश दिएको कुरो पत्नीलार्इ बतायो । छोराको वास्तविकता थाहा पाएपछि दुबै पतिपत्नीमा वैराग्य उत्पन्न भयो । त्यसपछि सबै कारोबार त्यागी घरको छानामा गर्इ छोरो गएको बाटो हेर्दै दुबै पतिपत्नी एकचित्तले ॐ नमः शिवाय मन्त्र जप्दै बसेका थिए । उनीहरू शिवभक्तिको प्रभावले बाह्र वर्षको उमेर पार भएपछि हाम्रो पुत्र सकुशल फर्कियो भने राजीखुसी छानाबाट तल झर्ने नत्र छतबाट फाल हालेर प्राण त्याग्ने भनी प्रतिज्ञाबद्ध भई छोराको बाटो कुरेर बसेका थिए  । त्यत्तिकैमा साहुको सालो हर्षित र प्रसन्नमुद्रामा त्यहाँ अाइपुगेर भन्यो - दिदीभिनाजु, ल छोराबुहारीलार्इ स्वागत गर्न तैयार हुनुहोस् । तपार्इंहरूको पुत्र यस देशकी राजकुमारी सुकुमारीलार्इ बेहुली बनार्इ फर्किंदैछन् । सालोका कुरा सुन्दा ती जोर्इपोइलार्इ विश्वास लागेन, तर छतबाट हेर्दा पर बाटामा लावालश्कर र बाजागाजाका साथमा बेहुलाबेहुली अाउँदै गरेको देख्दा पत्याउन विवश भए । अब सेठदम्पतिको खुसीको ठेगान भएन । तिनीहरू आनन्दपूर्वक तल झरे र छोराबुहारीको विधिवत् स्वागत गरे । त्यसपछि वैश्यको परिवारका प्रत्येक सदस्यले बडो प्रसन्नताका साथमा भगवान् भोलेशङ्करको उपासना र अाराधना गर्दै जीवन यापन गर्न थाले ।

यसरी शिवोपासनाको पुण्यप्रभावका कारण अपुत्रले उत्तम पुत्र, निर्धनले सुखसम्मृद्धिका साथमा धनधान्य, कुमारी केटीले सुयोग्य र इच्छित वर, पतिव्रताले सुखद दाम्पत्यजीवनका साथमा अखण्ड साैभाग्य, बेरोजगारले उच्च पद र सुविधासमेत उचित रोजगारी, रोगीले सुस्वास्थ्य र दीर्घजीवन प्राप्त गर्ने अवसर मिल्दछ । त्यसैले प्रत्येक गृहस्थीले सोमवारको व्रत विधिपूर्वक लिनुपर्दछ । तोकिएको विधिमा सोमबारको व्रत लिर्इ साङ्गे गरेमा भक्तजनका समस्त मनोकाङ्क्षा पूर्ण भर्इ अाजीवन सुखभोग गरी मरणोपरान्त कैलाश प्राप्ति हुने गर्दछ । व्रत लिन नसक्नेले प्रत्येक सोमबारका दिन यो कथा र महात्म्यको श्रवण गरेमा मात्र पनि मनोकामना पूर्ण भर्इ अघिपछिका सातपुस्तासम्मका वंशजले कैलाशधाम प्राप्त गरी जन्ममरणको चक्रबाट छुटकारा पाउँदछन् । जय नित्य अविनाशी,  भोलेशङ्कर कैलाशपति । सत्यं शिवं सुन्दरम्