Showing posts with label एकादशी. Show all posts
Showing posts with label एकादशी. Show all posts

Saturday, June 23, 2018

निर्जला एकादशी

आज तुलसीको दल राख्ने दिन । निर्जला एकादशी । निर्जला एकादशी ज्येष्ठ महिनामा शुक्ल पक्षको एकादशीका दिन पर्दछ । यसको कथाप्रसङ्ग पद्म पुराणमा उल्लेख गरिएको छ ।

धर्मराज युधिष्ठिर र श्रीकृष्णको संवादका बीचमा सुरु भएको यसको महात्म्य वेदव्यासले बखान गर्नुभएको हो । एकपटक युधिष्ठिरले 'हे जनार्दन ! ज्येष्ठ महिनाको शुक्लपक्षमा पर्ने एकादशीको महत्त्वका बारेमा वर्णन गर्नुहोस्' भनी आग्रह गरेपछि श्रीकृष्णले आज्ञा गर्नुभएको थियो :- 'हे राजन् ! यसको वर्णन मैले गर्नुभन्दा पनि अठारवटै पुराणका रचयिता परम धर्मात्मा सत्यवतीपुत्र वेदव्यासले गर्नुहुनेछ, किनभने वहाँ सम्पूर्ण शास्त्रका तत्त्वज्ञ र वेदवेदाङ्गका पारङ्गत विद्वान् हुनुहुन्छ ।

श्रीकृष्णको आशय बुझेपछि वेदव्यासले युधिष्ठिरलाई बताउनु भयो - 'हे राजन् ज्येष्ठ महिनाको शुक्ल पक्षमा पर्ने एकादशीको नाम निर्जला एकादशी हो । यस एकादशीका दिन भोजनादि लगायत पानी खानसमेत निषेध गरिएको छ । सामान्यतया जुनसुकै एकादशीको व्रत परेको दिन कुनै पनि मनुष्यले अहोरात्र व्रत सम्पादन गरेपछि भोलिपल्ट द्वादशीका दिन स्नानादिबाट निवृत्त भएर पहेंलो फूलले भगवान नारायणको विधिपूर्वक पूजा गर्नुपर्छ । अनि नित्यकर्म गरी सर्वप्रथम ब्राह्मणहरूलाई भोजनादि र दानदक्षिणा दिई अन्त्यमा स्वयंले भोजन गरी व्रतको समापन गर्नुपर्दछ । हे राजन् ! जुठो वा सुतक जेपरे पनि एकादशीका दिन स्नानादि गरी मनैले भगवान् विष्णुका दिव्य नामहरूको स्मरण गर्नुपर्दछ र कुनै हालतमा पनि भोजनादि गर्नुहुँदैन । अशक्त वा रोगी छ भने पनि कम्तीमा चामलको प्रयोग हुने कुनै पनि खाद्यपदार्थ ग्रहण गर्नुहुँदैन ।'

प्रत्येक एकादशीमा भोकै बसेर व्रत लिनु पर्ने कुरा सुनेपछि भीमको अनुहार अँध्यारो भयो । भीमलाई धेरै खानेकुरा चाहिन्थ्यो । उनी भोक सहन सक्दैन थिए । व्यासका कुरा बीचमा रोक्दै उनले प्रश्न गरिहाले - 'पितामह, म भोकलाई सहन गर्न सक्दिन, महिनै पिच्छे व्रत लिने हो भने म महिनामा दुईदुई दिन कसरी भोकै बस्न सकुँला ? म यस्तो कुराको कल्पनासम्म पनि गर्न सक्दिन । मलाई थाहा छ, दाजु युधिष्ठिर, माता कुन्ती, द्रौपदी, अर्जुन, नकुल र सहदेव सबैले कुनै पनि एकादशीका दिन कहिल्यै पनि भोजनादि गर्नुहुन्न अनि मसित पनि भोजनादि गर्नुहुँदैन भन्नुहुन्छ । तर भोक सहनै सक्दिन, त्यसैले वहाँहरूका कुराको वास्ता नै नगरी भोजन गरिहाल्छु ।' भीमका कुरा सुनेपछि व्यासले फेरि भन्नुभयो :- ‘भीमसेन ! तिमी नरकमा जान चाहँदैनौं र पापबाट डराउँछौ भने अहिलेसम्म जे गर्यौ गर्यौ, अबउप्रान्त एकादशीका दिन भोजनादि नगर्नु राम्रो हुन्छ । भीमसेनले फेरि भने :- 'हे पितामह ! म तपाईंका कुरालाई सत्य मान्दछु, तर मेरो शरीर यत्ति ठूलो र भद्दा छ, जसलाई जीवित राख्न एकादशीको निराहार व्रत त के त्यसदिन केवल एक छाक मात्र खाएँ भने पनि म सन्तुष्ट हुन सक्दिन । मेरो भुँडीमा वृक नाम गरेको आगोको ज्वाला सधैं प्रज्वलित भइरहन्छ । त्यसै कारणले मैले धेरै खानुपर्छ । मैले एक छाक मात्र खाइँन भने उक्त अग्निको ज्वाला उग्र भएर आउँछ र मैले असह्य पीडा भोग्नु पर्दछ । त्यसैले मैले नखाई हुँदै हुँदैन । तपाईं सबै कुरा जान्ने हुनुहुन्छ । त्यसैले हे महामुने ! मैले वर्षभरिमा केवल एउटा मात्र उपवास गर्ने कुनै उपाय छ भने बताउनु होस, जसबाट स्वर्गप्राप्ति सुलभ होस् तथा जुन व्रतको पालना गर्नाले म पनि कल्याणको भागी बन्न सकौं । बरु म त्यस व्रतको यथोचित रुपले पालना गर्ने प्रयास गर्नेछु ।' भीमका कुरा सुनेपछि व्यासले फेरि बताउन थाल्नुभयो :- 'भीम ! ज्येष्ठ महिनामा सूर्य वृष राशिमा होस् वा मिथुन राशिमा, शुक्लपक्षमा जुन एकादशी हुन्छ, त्यसलाई यत्नपूर्वक निर्जल व्रत गर । केवल कुल्ला वा आचमन गर्नमात्र मुखमा पानी लगाऊ, त्यसबाहेक मुखमा पानी नहाल, तिमीले वर्षभरि लिएका एकादशीको फल एकमुष्ट रूपमा प्राप्त गर्नेछौ ।'

व्यासका मुखबाट यस्ता सान्त्वना भरिएका कुरा सुनेपछि भीमले पुनः प्रश्न गरे - 'हे पितामह, निर्जला एकादशीको त्यस्तो के महत्त्व छ र यस एकादशीको व्रत गर्ने के विशेष नियम छ, कृपा गरेर त्यो कुरा पनि मलाई सिकाइदिनु होस् ।' भीमका जिज्ञासा शान्त बनाउँदै पुनः व्यासले भन्नुभयो - 'बाबु भीम ! यो एकादशी अत्यन्त महिमायुक्त एकादशी हो । यस एकादशीको व्रत गर्ने मनुष्यका छेउमा विकराल आकृति भएका, कालो रंगका दण्ड र पासो लिएका हेर्दा भयङ्कर र विशालकाय देखिने यमराजका दूतहरू आउनै सक्दैनन् । उसलाई अन्त्यकालमा पीताम्बरधारी, सौम्यस्वभाव भएका, हातमा सुदर्शन चक्र धारण गर्ने र मन जत्तिकै शीघ्र वेग भएका वैकुण्ठनाथ भगवान् विष्णुका दूत लिन आउँछन् र दिव्य विमानमा राखेर सीधै वैकुण्ठलोक लिएर जान्छन् । निर्जला एकादशीमा कुनै मनुष्यले झुक्किएर केही पनि खान पाएन भने पनि उसको मृत्युपछि विष्णुका दूतले उसलाई भगवान विष्णुका धाममा लिएर जान्छन् । शङ्ख, चक्र गदा र पद्म धारण गर्नुहुने भक्तवत्सल भगवान् नारायणले उद्घोष गर्नुभएको छ - ‘यदि मानिस सबै किसिमका कुरा छाडेर केवल मलाई सम्झिएर मेरो शरणमा आउँछ र जेठ महिनामा पर्ने यस निर्जला एकादशीको जलसमेत ग्रहण नगरी व्रत गर्दछ भने त्यस व्यक्तिका सबै पापबाट मुक्त तुल्याउने र सीधै मेरो धाममा प्रवेश गराउने जिम्मा म लिन्छु ।' त्यसैले बाबु भीष्म ! अब तिमीले अरु एकादशीको व्रत लिन सक्दैनौ भने पनि कम्तीमा पनि जेठ महिनाको शुक्लपक्षमा पर्ने निर्जला एकादशीको व्रत गर, तिम्रो अभीष्ट पूर्ण हुनेछ । यस एकादशीका दिन बिहानै स्नानादि र नित्यकर्मबाट निवृत्त भई उपवास गर्नु पर्दछ । एकादशीका दिन दन्तधावन गरेर प्रतिज्ञा गर्नुपर्दछ ‘म भगवान केशवको प्रसन्नताका निम्ति आजको एकादशीका दिन निराहार रहेर आचमनबाहेक अन्य जलको सेवन गर्ने छैन।’ यसरी निर्जला एकादशीका दिन अहोरात्र निराहार बसी व्रत गरेर द्वादशीका दिन भगवान् विष्णुको पूजा गर्दै शुद्ध र सुगन्धित जलले युक्त घडा दान गर्नुपर्दछ । गन्ध, धूप, पुष्प र सुन्दर वस्त्रद्वारा विधिपूर्वक पूजन गरी जलयुक्त घडादानको सङ्कल्प गर्दै निम्नाङ्कित मन्त्रको उच्चारण गर्नुपर्दछ :-

देवदेव हृषीकेश संसारार्णवतारक । उदकुम्भप्रदानेन नय मां परमां गतिम्॥
‘संसारसागरबाट तार्ने हे देवदेव हृषीकेश ! यस जलको घडा दान गर्नाले हजुरले मलाई परम गति प्राप्ति गराउनु होस् ।’

व्यास भन्नुहुन्छ, 'हे भीमसेन ! ज्येष्ठमासमा शुक्लपक्षको जुन एकादशी हुन्छ, त्यसको निर्जल व्रत गर्नुपर्दछ । त्यस दिन श्रेष्ठ ब्राह्मणहरूलाई शख्खरसित जलको घडादान गर्नुपर्दछ। यसो गर्नाले मनुष्यले भगवान् विष्णुका समीपमा पुगेर आनन्दको अनुभव गर्दछ । तत्पश्चात् द्वादशीका दिन ब्राह्मणभोजन गराए पछि स्वयं आफूले पनि भोजन गर्नुपर्छ । जसले यसरी पूर्ण रुपले यस पापनाशिनी एकादशीको व्रत गर्छ, ऊ सबै पापबाट मुक्त भई मरणोपरान्त आनन्दमय पद प्राप्त गर्न सफल हुन्छ । व्रतको अवधिभरि भगवान् श्रीहरिको पूजाआजा र नाम सङ्कीर्तन गर्नुपर्दछ ।

'जस्तोसुकै मनुष्य होस्, उसले मेरु पर्वतसमान महान पाप गरेको छ भने पनि त्यो सबै यस एकादशीको व्रतको प्रभावबाट भस्म हुन्छ । जसले यस दिन जलाहार गर्दैन, त्यो महान् पुण्यको भागी हुन्छ । त्यसलाई एकएक प्रहरमा कोटिकोटि स्वर्णमुद्रा दान गरेको फल प्राप्त हुन्छ । मनुष्यले निर्जला एकादशीका दिन स्नान, दान, जप, होम आदि जेजस्तो कर्म गर्दछ, त्यो सम्पूर्ण अक्षय हुन पुग्छ, यो कथन भगवान् श्री कृष्णको हो । निर्जला एकादशीको विधिपूर्वक उत्तम रीतिबाट उपवास गरी मानवले वैष्णवपद प्राप्त गर्दछ । जो मनुष्य एकादशीका दिन अन्न खाने गर्दछ, त्यसले पापयुक्त भोजन गरेको ठहरिन्छ । यस लोकमा त्यो चण्डालसमान हो र मरेपछि पनि ऊ दुर्गतिमा पुग्दछ । बिहान कुल्ला गर्दाबाहेक अरु बेला मुखमा पानी पार्नै हुँदैन । अन्यथा व्रत भङ्ग हुन्छ । एकादशीको सूर्योदयदेखि भोलिपल्ट सूर्योदयसम्म मनुष्यले पानी खानै हुँदैन अनि मात्र यो व्रत पूर्ण हुनपुग्छ । भोलिपल्ट द्वादशीका दिन प्रभातकालमा स्नान गरेर ब्राह्मणहरूलाई विधिपूर्वक जल र सुवर्ण दान गर्नुपर्छ । यसरी सबै कार्य पूरा गरेर जितेन्द्रिय पुरुषले ब्राह्मणका साथमा भोजनादि गर्नुपर्छ । वर्षभरिमा जतिपनि एकादशीहरू हुन्छन, ती सबैको फल एउटा निर्जला एकादशीको पालनाबाट मनुष्यले प्राप्त गर्न सक्छ, यसमा सन्देह गर्ने ठाउँ छैन । जसले ज्येष्ठको शुक्लपक्षको उपवास गरेर दान गर्दछ, त्यसले परमपद प्राप्त गर्दछ । जजसले एकादशीको उपवास गर्दछन्, ती हत्यारा, रक्स्याहा, चोर तथा गुरुद्रोही भए पनि सबै पातकबाट मुक्त हुनपुग्छन् ।'

हे कुन्तीनन्दन ! ‘निर्जला एकादशी’का दिन श्रद्धालु स्त्री तथा पुरुषहरूले जुन विशेष दान र कर्त्तव्य पूरा गर्नुपर्दछ, त्यो पनि सुन, त्यस दिन जलाशायी भगवान् विष्णुको पूजन र जलमयी धेनु (गौ) दान गर्नु पर्दछ । प्रत्यक्ष धेनु वा घृतमयी धेनुको दान गर्नु पनि उचित हुन्छ । पर्याप्त दक्षिणा र किसिम किसिमका मिष्ठान्नद्वारा यत्नपूर्वक ब्राह्मणहरूलाई सन्तुष्ट तुल्याउनु पर्दछ । यसो गर्नाले ब्राह्मण पक्का पनि सन्तुष्ट हुन्छन् र ती सन्तुष्ट भए पछि भगवान श्रीहरिले मोक्ष प्रदान गर्नुहुन्छ । जुन भक्तले शम, दम र दानमा प्रवृत भई श्रीहरिको पूजा र रात्रिको समयमा जागरण गर्दै यस ‘निर्जला एकादशी’को व्रत गरेको छ, उसले आफूसँगै बितेका सय पुस्ताका र आगामी सय पुस्ताका व्यक्तिहरूलाई भगवान् वासुदेवको परम धाममा पुर्याउँछ । निर्जला एकादशीका दिन अन्न, वस्त्र, गौ, जल, शैय्या, सुन्दर आसन, कमण्डलु तथा छाता दान गर्नुपर्दछ । जसले श्रेष्ठ तथा सुपात्र ब्राह्मणलाई जुत्ता दान गर्दछ, ऊ सुनको विमानमा बसेर स्वर्गलोकमा पुग्दछ र प्रतिष्ठित हुन्छ । जसले यस एकादशीको महिमालाई भक्तिपूर्वक सुन्दछ अथवा त्यसको वर्णन गर्दछ, त्यो स्वर्गलोकमा पुग्छ । चतुर्दशीयुक्त अमावस्याका दिन सूर्यग्रहणका समयमा श्राद्ध गरी मनुष्यले जुन फल प्राप्त गर्दछ, त्यही फल यस कथालाई श्रवण गर्नाले प्राप्त हुन्छ ।'

व्यासका मुखारबिन्दबाट यति सुनेर भीमसेनले पनि निर्जला एकादशीको व्रत लिने अठोट गरे । तबदेखि यस लोकमा यस एकादशीको नाम निर्जला एकादशी र यसको भोलिपल्ट पर्ने द्वादशीको नाम ‘पाण्डव द्वादशी’ रहन गयो । त्यसबाहेक यस एकादशीका दिन सनातन धर्मावलम्बीले घरघरमा रहेको तुलसीको मठलाई सरसफाइ गरी पुराना बिरुवाहरू उखेली नयाँ दल राख्ने प्रचलन पनि छ । यसरी दल राखिएको तुलसीलाई यस एकादशीको ठिक एक महिनापछि पर्ने हरिशयनी एकादशीका दिन विधिपूर्वक पूजादि गरी रोप्ने गरिन्छ । 

Saturday, June 9, 2018

मलमासमा पर्ने अर्को एकादशी : परमा एकादशी

अधिक मासको कृष्णपक्षमा पर्ने एकादशीका बारेमा बताउन जिज्ञासा राख्दै युधिष्ठिरले भगवान् श्रीकृष्णसँग प्रश्न गर्नुहुन्छ –
भगवञ्छ्रोतुमिच्छामि व्रतानामुत्तमं व्रतम् ॥
सर्वपापहरं विष्णोः फलदं व्रतिनां च यत् ॥१॥
पुरुषोत्तममासस्य कथां ब्रूहि जनार्दन ॥
को विधिः किं फलं तस्य को देवस्तत्र पूज्यते ॥२॥
अधिमासे च संप्राप्ते व्रतं ब्रूहि जनार्दन ॥
कस्य दानस्य किं पुण्यं किं कर्त्तव्यं नृभिः प्रभो ॥३॥
कथं स्नानं च किं जाप्यं कथं पूजाविधिः स्मृतः॥
किं भोज्यमुत्तमं चान्नं मासेऽस्मिन्पुरुषोत्तमे ॥४॥
हे परमात्मन्, व्रतहरूमध्ये उत्तम व्रत, जसले व्रतालुका सबै पापहरण गर्नुका साथै भगवान् नारायणको उत्तम लोक प्राप्त गराउँदछ, त्यस्तो एकादशीको महात्म्य अझै सुन्ने धोको छ । प्रभु मलाई पुरुषोत्तम महिनामा पर्ने कृष्णपक्षमा पर्ने एकादशीका बारेमा आज्ञा गर्नुहोस् । के कस्ता विधिले त्यस व्रतलाई सम्पादन गर्नुपर्दछ, के दान गर्नुपर्छ, व्रतालुका के के कर्तव्य हुनेछन् ? कुन तीर्थमा गएर कसरी स्नान गर्नुपर्छ, के मन्त्रको जाप गर्नुपर्छ, कुन देवताको के कसरी पूजाआजा गर्नुपर्छ ? के खानुपर्छ वा खानु हुँदैन र के कस्तो फल प्राप्त हुन्छ, यी सबै कुरो जान्ने इच्छा छ । युधिष्ठिरले यस्ता जिज्ञासा राखेपछि भगवान् पुरुषोत्तम श्रीकृष्ण आज्ञा गर्नुहुन्छ –
कथयिष्यामि राजेंद्र भवतः स्नेहकारणात् ॥
पुरुषोत्तममासस्य माहात्म्यं पापनाशनम् ॥५॥
अधिमासे तु संप्राप्ते भवेदेकादशी तु या ॥
कमला नाम सा नाम्ना तिथीनामुत्तमा तिथिः ॥६॥
तस्या व्रतप्रभावेन कमलाभिमुखी भवेत् ॥
ब्राह्मे मुहूर्त्ते चोत्थाय संस्मृत्य पुरुषोत्तमम् ॥७॥
हे राजेन्द्र यस व्रतको एकदिन अगावै अर्थात दशमीकै दिनबाट तामसी भोजन त्याग्नु आवश्यक छ । हृदयलाई शुद्ध बनाई भोगविलासमा प्रतिबन्ध लगाउँदै ब्रह्मचर्यको पालना गर्नुपर्दछ । एकादशीका दिन प्रातः कालमा ब्रह्ममुहूर्तमा जागेर भगवान् पुरुषोत्तमको स्मरण गरी दम्पतीसहित श्रीमान् र श्रीमतीले स्नानादि नित्यकर्मबाट निवृत्त हुनुपर्दछ । आफ्ना इष्ट र कुलदेवताका साथै भगवान् पुरुषोत्तमको पूजाआजा गरी मनसा, वाचा, कर्मणा शरीरशुद्धि गरी व्रत लिनुपर्दछ । मध्याह्नमा एकादशीको महात्म्य र हरिकथाको श्रवण गर्नुपर्छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन सकल परिवार प्रात स्नान गरी ब्राह्मण डाकी दानादि र ब्राह्मण भोजन गर्नु वाञ्छनीय छ ।
परमेति समाख्याता पवित्रा पापहारिका ॥ भुक्तिमुक्तिप्रदा नृणां भोगदा च युधिष्ठिर ॥८॥
हे राजेन्द्र यस अधिमासमा जुन एकादशी पर्दछ, यो तिथिहरूमध्ये सर्वोत्तम तिथि हो । यसको व्रतसम्पादन गर्नाले लक्ष्मी प्रसन्न हुने गर्दछिन् । यस एकादशीका दिन भगवान्का दिव्यमन्त्रहरूको विशेष जाप गर्ने नियम छ । त्यसरी जाप गर्दा घरमा जाप गर्दा एक गुना, नदीको किनारमा जाप गरेमा दुई गुणा, गाईको गोठमा बसेर जाप गरेमा हजार गुणा, अग्निहोत्र ब्राह्मणका घरमा गई जाप गरेमा एक हजार एकसय गुना, शिवालयमा, तीर्थक्षेत्रमा, देवीदेवताको मन्दिरमा वा तुलसीको मठमा गई जाप गरेमा अनन्त गुणा फल प्राप्त हुने गर्दछ । व्रत लिने व्रतालुले सुदर्शन चक्र धारण गर्ने देवाधिदेव भगवान् पुरुषोत्तम विष्णुको प्रतिमाका सामुन्ने उभिएर तलको मन्त्रको उच्चारण गर्नुपर्दछ 
एकाश्यानिराहारः स्थित्वाहमपरेहनि ॥ भोक्ष्यामि पुण्डरीकाक्ष शरणं मे भवाच्युत ॥९॥
हे कमलनयन भगवान् अच्युत म एकादशीको व्रत निराहार रहेर द्वादशीका दिन भोजन गर्नेछु । हजुरले मलाई शरणमा लिनुहोस् भनी विधिपूर्वक भगवान् पुरुषोत्तमको पूजादि गरिदिनु पर्दछ । त्यसपछि यस मन्त्रको प्रयोग गरी प्रार्थना गर्नुपर्दछ अज्ञानतिमिरान्धस्य व्रतेनानेन केशव । प्रसीद सुमुखो भूत्वा ज्ञानदृष्टिप्रदो भव । अर्थात् हे केशव म अज्ञानरूपी अन्धकारले गर्दा अन्धो भएको छु । तसर्थ मैले गरेको व्रतबाट प्रसन्न भएर मलाई ज्ञानदृष्टि प्रदान गर्नुहोस् । यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई भन्नुहुन्छ हे धर्मपुत्र अधिकमासमा कृष्णपक्षमा पर्ने एकादशीको नाम परमा एकादशी हो । यसको महात्म्यका सम्बन्धमा एउटा कथा प्रसिद्ध छ, अब त्यसको प्रकाश गर्दछु, ध्यानपूर्वक सुन्नुहोस् । 
काम्पिल्य नगरीमा सुमेधा नामक एकजना ब्राह्मण आफ्नी पत्नीका साथमा निवास गर्दथे। ब्राह्मण धर्मात्मा थिए र उनकी पत्नी पनि पतिव्रता थिइन्। त्यो परिवार यस्तो थियो, आफुस्वयं भोकै बसेर भए पनि अतिथि र परपाहुनाको सेवा हृदयबाट नै सत्कारपूर्वक गर्दथ्यो। धनको अभावका कारण एक दिन ब्राह्मणले आफ्नी पत्नीलाई भने - धनोपार्जन गर्न म अब परदेश जानु उचित हुनेछ किनकि धनको अभावमा परिवार सञ्चालन गर्न अति कठिन छ। ब्राह्मणीले पतिलाई सम्झाउँदै भनिन् -
पूर्व दत्ता हि या विद्या पूर्व दत्तं हि यद्धनम् ॥
पूर्व दत्ता हि या भूमिरिह जन्मनि लभ्यते ॥१०॥
यद्धात्रा लिखितं भाले तत्तत्रैव हि लभ्यते ॥
विनादत्तेन किं क्वापि लभ्यते नैव किञ्चन ॥११॥
अर्थात् पूर्व जन्ममा राखेको विद्या, धन, भूमिवाहेक यस जन्ममा केही पनि प्राप्त गर्दैन । आफू पूर्वजन्मको कमाई नभएर जहाँ गए पनि यस जन्ममा पाइँदैन । दैवले निधारमा जे लेखेको छ, त्यही नै पाइन्छ । मनुष्यले जे जस्तो वस्तु प्राप्त गर्दछ, त्यो भाग्यवश प्राप्त हुन्छ, हामीले पूर्वजन्ममा गरेका कुकर्मका कारण अहिले गरिबी ब्यहोर्नु परेको हो, हजुर परदेशमा जाँदा मेरो पनि बिल्लीबाठ हुन्छ, त्यसैले यतै आफ्नै थातथलोमा बसेर कर्मशील हुनुहवस्, म पनि मेरा बुताले भ्याएसम्म सरसहयोग गर्नेछु, जसैतसै गुजारा चल्नेछ । अनि भगवानको इच्छा जाग्यो भने राम्रै पनि हुन सक्छ। आखिर मन सन्तुष्ट र आनन्दपूर्ण भयो भने धेरै धनसम्पत्ति पनि त चाहिंदैन । बाहुनलाई बुढीका कुरा मन परे र जेजस्तो भए पनि घरैमा बसेर कुनै कामधन्दा गर्ने निधो गरे। एक दिन संयोगले कौण्डिण्य ऋषि ती ब्राह्मणका घरैछेउबाट कतै जांदै थिए, ऋषिको दर्शन प्राप्त गरेर ब्राह्मण र ब्राह्मणी अतीव प्रसन्न भए र ऋषिलाई घरमा बोलाएर स्वागतसत्कार र आदरभाउ गरे । त्यसपछि आफूहरूले ब्यहोर्नु परिरहेको निर्धनता र गरिबी कसरी हटाउन सकिन्छ भनी ती दम्पतीले श्रद्धाभक्ति सहित प्रश्न गरे । कौण्डिण्य ऋषि पनि ती दम्पतीको सेवा भावनालाई देखेर असाध्यै खुसी भए अनि ब्राह्मण र ब्राह्मणीको गरिबी एवं दीनता हटाउने उद्देश्यले मलमासको कृष्ण पक्षको एकादशीको व्रत प्रतिपादन गर्ने सल्लाह समेत प्रदान गर्दै भने हजुरहरू युगल दम्पतीले अधिकमासमा आउने उक्त परमा नामको एकादशीको विधिपूर्वक व्रत सम्पादन गर्नुहोस्। यक्षवंशका राजा कुवेरले पनि परमा एकादशीको व्रत सम्पादन गरेकाले व्रतको प्रभावले भगवान् शङ्कर प्रसन्न हुनुभएको र उनको भण्डार मणिरत्नादिले पूर्ण बनाएर सबैभन्दा धनी र देवताहरूमध्ये धनाध्यक्ष बनाइदिनु भयो । लोकमा पनि जसको धेरै सम्पत्ति हुन्छ, त्यसलाई कुवेर भयो भन्ने आहान चलेको पाइन्छ । यस्तो उत्तम व्रत एकादशीदेखि अमावस्यासम्म ५ दिन लिने व्यक्तिले तुरुन्त फल प्राप्त गर्दछ । उनले उक्त एकादशीको व्रतको प्रभावबाट धनधान्य, ऐश्वर्य र वैभवको प्राप्ति हुने र इहलोकमा सुखसम्मृद्धिका साथै परलोकमा समस्त पापको नाश गर्दै उत्तम गतिको प्राप्ति हुन्छ भने । मलमासको समय प्राप्त भएपछि सुमेधा नामका ती ब्राह्मणले विधिपूर्वक त्यस एकादशीको व्रत लिए, जसबाट उनको गरिबीको अन्त्य भयो र पृथ्वीमा लामोसमयसम्म सुख भोगेर ती दुबै पतिपत्नी भगवान् विष्णुको उत्तम वैकुण्ठ लोकतर्फ प्रस्थान गरे।

व्रत पूजन विधि
यस व्रतका दिन भगवान् विष्णुको ध्यान गर्दै उनलाई नै समर्पण गर्ने उद्देश्यले व्रत लिनु पर्दछ। व्रत लिने व्यक्तिले घिउको वर्तनमा दियो बालेर फल, फूल, तिल, चन्दन एवं धूपले पुरुषोत्तम भगवान् विष्णुको पूजा गर्नु पर्दछ। व्रत अवधिमा विष्णु सहस्रनाम एवं विष्णु स्तोत्रको पाठ गर्नुपर्छ, यसको ठुलो महत्त्व छ।

दानको महत्त्व
शास्त्रहरूमा परमा एकादशीलाई दान गर्नका निमित्त पनि अत्युत्तम दिन भनेर चर्चा गरिएको पाइन्छ, यस दिन धार्मिक पुस्तकहरू, अन्न, फल, मिट्ठाइ आदि दान गर्ने विधान छ। जसले कारणवश यो व्रत सम्पादन गर्न सक्दैनन् तिनले यस व्रतको पुण्य प्राप्त गर्न माथि बताइएका वस्तुहरूको दान गर्नुपर्दछ। दान गर्दा के कुरो सम्झनुपर्छ भने त्यस्ता व्यक्तिलाई धार्मिक पुस्तक दान गर्नुपर्दछ, जो ईश्वर एवं धार्मिक पुस्तकप्रति आस्था राख्दछ ।

यस परमा एकादशीकाे व्रत सम्पादन गर्नेले इहलोकमा प्रशस्त धनधान्य र भोगविलासले युक्त जीवन यापन गरी अनन्त सुखभोग गरी अन्त्यमा भगवान् श्रीकृष्णकाे सान्निध्यमा वैकुण्ठलोकमा पुग्ने अवसर प्राप्त गर्दछ ।

एवं यः कुरुते राजन्कमलाव्रतमुत्तमम्
शृणुयाद्वासरे विष्णोः सर्वपापैः प्रमुच्यते ॥११॥

Thursday, May 24, 2018

मलमासको एकादशी 'पद्मिनी'

प्रत्येक दुई वा तीन वर्षमा पुरुषोत्तम मास वा मलमास पर्ने गर्दछ। मलमासमा पर्ने दुईओटा एकादशीको अन्य एकदशीजस्तै आफ्नै छुट्टै विशेषता छ। यी एकादशीमा व्रत लिनाले समेत विशिष्ट फलप्राप्ति हुने धार्मिक मान्यता छ। तीमध्ये पहिलो एकादशी अर्थात् अधिकमासको शुक्लपक्षको एकादशीलाई पद्मिनी एकादशी भनिन्छ। पुरुषोत्तम महिनाको एकादशी भएकाले यसलाई पुरुषोत्तमी एकादशी पनि भनिन्छ। यो एकादशी (Padmini Ekadashi) भगवानले अतीव प्रिय मान्नुहुन्छ। त्यसैले यस एकादशीको व्रत विधिपूर्वक सम्पादन गर्दा प्रत्येक जीव सीधै विष्णुलोक पुग्दछ भन्ने धार्मिक विश्वास छ। यस व्रतको विधिवत् पालनाबाट व्यक्तिले सबै प्रकारका यज्ञ, व्रत एवं तपश्चर्याको फल प्राप्त गर्दछ। यस व्रतको महात्म्यमा उल्लिखित कथा अनुसार भगवान् श्रीकृष्ण युधिष्ठिरलाई सम्बोधन गर्दै भन्नुहुन्छ, त्रेता युगमा कृतवीर्य नामका एकजना परम पराक्रमी र बलशाली राजा थिए। तिनका धेरैवटी रानीहरू थिए तर कुनै रानीबाट पनि यिनले सन्तान उत्पादन गर्न सकेका थिएनन्।  सन्तानहीन भएकाले राजा र तिनका रानीहरू यावत् सुखसुविधाहरूका माझमा पनि दु:खी र सन्तप्त थिए। सन्तानप्राप्तिको मनोरथ पूर्ण गर्न ती राजा आफ्ना रानीलाई साथमा लिई तपस्या गर्न वनतर्फ लागे। हजारौं वर्षसम्म तपस्या गर्दा पनि उनको तपस्या सफल हुन सकेन। बरु राजा दुब्लापातला र ख्याउटे बन्न पुगे। उनी यतिसम्म निर्बल भए कि रानीहरूको कामना पूर्ति गर्न समेत उनी असमर्थ झैं हुनपुगे। त्यसै जङ्गलमा नजिकै ऋषि अत्रिको आश्रम थियो। उनकी पत्नी अनुसूया सतीत्व, पवित्रता र आचरणमा तीनै लोकमा प्रसिद्ध थिइन्। राजा कृतवीर्यका रानीहरूले ऋषिपत्नी अनुसूयासँग आफ्ना आकाङ्क्षालाई बताउँदै सन्तानप्राप्तिको उपाय सुझाउन अनुरोध गरे। ठिक्क त्यतिबेला अधिकमास परेको थियो, गुरुआमा अनुसूयाले तिनलाई त्यस मलमासमा शुक्ल पक्षमा आउने एकादशीको व्रत लिने कुरा सुझाईन् र व्रत कसरी लिने भन्ने बारेमा विधान पनि बताईन्। रानीहरूले पनि गुरुपत्नीले निर्देशन गरेबमोजिम पद्मिनी एकादशीको व्रत लिए। व्रतको सम्पादन पूर्ण भएपछि भगवान् प्रकट हुनुभयो र वरदान माग्न निर्देश गर्नुभयो। रानीहरूले भगवानसित भने- प्रभु ! हजुर हामीसँग प्रसन्न हुनुहुन्छ भने हाम्रो सट्टामा हाम्रा पतिलाई वरदान र आशिक दिनुहवस्। भगवानले रानीहरूको अनुरोधलाई स्वीकार गर्दै राजासँग वरदान माग भन्नुभयो, राजा कृतवीर्यले पनि भगवानसँग बिन्ती गरे- हे प्रभो ! मेरी जेठी पत्नी (पट्टरानी)को कोखमा हजुरले मलाई यस्तो एउटा पुत्र प्रदान गर्नुहवस्, जो सर्वगुण सम्पन्न होस् र तीनै लोकमा आदरणीय तथा सम्मानित पनि होस्, अनि ऊ कसैसित पनि पराजित नहोस्। भगवानले पनि तथास्तु भन्नुभयो र त्यहाँबाट अन्तर्धान हुनुभयो। केही समयपछि कृतवीर्यकी जेठी रानीले गर्भधारण गरिन् र एउटा छोरो जन्माइन्, जसको नाम कार्तवीर्यार्जुन रह्यो, धेरै ओटी आमाहरूले निस्वार्थ भगवद्भक्ति गरी जन्मिएको हुँदा ऊ जन्मँदै सहस्रबाहु अर्थात् हज्जारवटा हातसहित जन्मिएको थियो। उसको व्यक्तित्व, ऐश्वर्य र पराक्रम तीनै लोकमा प्रसिद्ध भयो। उसको अन्त्यका निमित्त स्वयं भगवानले पर्शुराम अवतार लिनु परेको प्रसङ्ग विभिन्न पुराणहरूमा पाइन्छ। कुनै समयमा कार्तवीर्यले रावणलाई पनि बन्दी बनाएको थियो भन्ने कथा छ।

पद्मिनी एकादशी व्रत विधान
यस एकादशीको व्रतसम्पादन गर्ने नियम र विधान यस प्रकार छ :-
१) एकादशीका दिन स्नानादिबाट निवृत्त भएर भगवान् विष्णुको विधिपूर्वक पूजा गर्नुपर्छ।
२) निर्जला(सकेसम्म पानीसमेत नखाई) व्रतसम्पादन गर्नुपर्छ।
३) दिनभरि पुराणको अध्ययन, श्रवण र मनन गर्नुपर्दछ। 
४) रात्रीकालमा पनि निर्जला व्रत लिनुपर्छ र भजनकीर्तनका साथमा जागरण गर्नुपर्दछ।
५) रात्रिकालमा प्रत्येक प्रहरमा क्रमशः दम्पतीसहित भगवान् नारायण र शङ्करको पूजा गर्नुपर्दछ।
६) प्रत्येक प्रहरमा भगवान् भिन्नभिन्न नैवेद्य र भेटी चढाउनु पर्दछ, जस्तै पहिलो प्रथम प्रहरमा श्रीफल(नरिवल), दोस्रो प्रहरमा बेल, तेस्रो प्रहरमा फर्सी  र चौथो प्रहरमा मौसमी, जुनार वा सुन्तला र सुपाडी अर्पण गर्नुपर्दछ।
७) द्वादशीका दिन बिहानै भगवानको पूजा गरेर ब्राह्मणलाई भोजन गराई सीधा, दक्षिणासहित विदा गर्नुपर्छ र त्यसपछि आफूस्वयंले भोजन ग्रहण गर्नुपर्दछ।
यसरी यस एकादशीको व्रतसम्पादन गर्नाले मनुष्यको जीवन सफल हुन्छ, उसले आजीवन सुख भोगेर अन्त्यमा वैकुण्ठलोक प्राप्त गर्दछ।

Thursday, May 10, 2018

अचला वा अपरा एकादशी

युधिष्ठिरले भन्नुभयो -

ज्येष्ठस्य कृष्णपक्षे तु किं नामैकादशी भवेत् ।
श्रोतुमिच्छामि माहात्म्यं तद्वदस्व जनार्दन

हे भगवन् ! ज्येष्ठ कृष्णपक्षको एकादशीको के नाम हो तथा त्यसको माहात्म्य के छ, कृपा गरी आज्ञा गर्नुहवस् !
भगवान् श्रीकृष्णले आज्ञा गर्नुभयो -

साधु पृष्टं त्वया राजन्लोकानां हितकाम्यया
बहुपुण्यप्रदा ह्येषा महापातकनाशिनी 

हे राजन् ! तपाईंले लोकको हितका इच्छाले अति उत्तम प्रश्न गर्नु भयो । अत्यन्त पुण्य प्रदान गर्ने उक्त एकादशीले ठूलाठूला पाप र पातकलाई नाश गर्दछ ।

अपरा नाम राजेंद्र अपरा पुत्रदायिनी
लोके प्रसिद्धितां याति अपरां यस्तु सेवते

यस ज्येष्ठ कृष्ण पक्षको एकादशी एकादशीको नाम अपरा एकादशी हो । जसले यस एकादशीको विधिपूर्वक व्रत लिने गर्दछ उसले सद्बुद्धिले युक्त जीवनसाथी र सन्ततिका साथमा इहलोकमा प्रसिद्धि, वैभव र सम्मान प्राप्त गर्नुका साथै परलोकमा उत्तम गति प्राप्त गर्दछ । व्रत सम्पादान गर्नाले व्यक्तिले अपार धनसम्पदा, सुखसम्मृद्धि र भोगविलास प्राप्त गर्न सक्दछ। त्यसबाहेक जुन मनुष्यले यस व्रतलाई नियमपूर्वक पालना गर्दछ, त्यसले संसारमा ख्याति र सम्मानसमेत प्राप्त गर्दछ । व्यवहारमा यो एकादशी अचला तथा अपरा दुई नामबाट प्रसिद्ध छ । यस दिन भगवान् विष्णुको त्रिविक्रम अवतारको पूजा गर्ने प्रचलन छ ।

ब्रह्महत्याभिभूतोऽपि गोत्रहा भ्रूणहा तथा
परापवादवादी च परस्त्री रसिकोऽपि च 
कूटसाक्ष्यं कूटमानं तुलाकूटं करोति यः 
अपरा सेवनाद्राजन्विप्रात्मा भवति ध्रुवम्

अपरा एकादशीको व्रतको प्रभावले ब्रह्महत्या, भूतयोनि, परनिन्दा आदिबाट उत्पन्न भएका सबै किसिमका पापहरू नष्ट हुन्छन् । यस व्रतको पालनाबाट परस्त्रीगमन, झूठो बकपत्र, असत्यवादन, नक्कली विद्याध्ययन वा प्रमाणपत्र निर्माण, नक्कली भविष्यवाणी तथा नक्कली वैद्य वा डाक्टर भई जीविकोपार्जन गर्ने प्रत्येक मानिसले सिर्जना गरेका यावत् पापहरू नष्ट हुन्छन् ।

क्षत्त्रियः क्षात्रधर्मं यस्त्यक्त्वा युद्धात्पलायते
स याति नरकं घोरं स्वीयधर्मबहिष्कृतः 
अपरा सेवनात्सोऽपि पापं त्यक्त्वा दिवं व्रजेत्
विद्यावान्यः स्वयं शिष्यो गुरुनिंदां करोति च 
स महापातकैर्युक्तो निरयं याति दारुणम्
अपरा सेवनात्सोऽपि सद्गतिं प्राप्नुयान्नरः 

जुन मनुष्य क्षत्रिय भईकन पनि कायर भई युद्धभूमिबाट भाग्छन्, तिनले सामान्यतया नरक जानुपर्दछ, तर तिनले पनि जीवनमा एकपल्ट अपरा एकादशीको व्रत लिन पाए भने स्वर्ग पुग्ने अवसर पाउँदछन् । जुन शिष्यले आफूलाई शिक्षा प्रदान गर्ने गुरूसित द्रोह गर्दछन् र गुरुनिन्दाजस्तो निकृष्ट कर्म गर्दछन्, तिनले पनि यस एकादशीको व्रत लिएमा उक्त दोषबाट निवृत्त हुने अवसर प्राप्त गर्दछन् ।

महिमानमपरायाः शृणु राजन्वदाम्यहम्
मकरस्थे रवौ माघे प्रयागे यत्फलं नृणाम्
काश्यां यत्प्राप्यते पुण्यमुपरागे निमज्जनात्
गयायां पिंडदानेन पितॄणां तृप्तिदो यथा
सिंहस्थिते देवगुरौ गौतम्यां स्नातको नरः
कन्यागते गुरौ राजन्कृष्णवेणी निमज्जनात्
यत्फलं समवाप्नोति कुंभकेदार दर्शनात्
बदर्याश्रमयात्रायां तत्तीर्थसेवनादपि
यत्फलं समवाप्नोति कुरुक्षेत्रे रविग्रहे
गजाश्व हेमदानेन यज्ञं कृत्वा सदक्षिणम्
तादृशं फलमाप्नोति अपरा व्रतसेवनात्

अर्धप्रसूतां गां दत्वा सुवर्णं वसुधां तथा तीनवटा कार्तिक पूर्णिमाको शुभ अवसर पारेर लगातार पुष्कर तीर्थमा स्नान गर्नाले वा गङ्गा नदीको किनारमा पितृहरूलाई पिण्डदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यो फल अपरा एकादशीको व्रत गर्नाले सजिलै प्राप्त गर्न सकिन्छ । मकर सङ्क्रान्तिका दिन गङ्गा र यमुनाको सङ्गमस्थल प्रयागराजको स्नान गर्नाले, शिवरात्रिको व्रत गर्नाले, सिंह राशिको बृहस्पतिमा गोमती नदीको स्नान गर्नाले, कुम्भ राशिमा बृहस्पति भएको बेला केदारनाथ/बद्रीनाथको यात्रा र दर्शन गर्नाले, सूर्यग्रहणमा कुरुक्षेत्रको स्नान गर्नाले, स्वर्णदान गर्नाले अथवा अर्द्धप्रसूता गोदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यही फल अपरा एकादशीको व्रतबाट प्राप्त हुन्छ ।

यो व्रत पापरूपी वृक्षलाई काट्ने बन्चरो हो भने पनि हुन्छ । पापरूपी इन्धनलाई बाल्ने अग्नि, अज्ञानरूपी अन्धकारलाई मेटाउने सूर्य र कुकृत्यरूपी मृगलाई मार्ने सिंह भनेकै अपरा एकादशी हो । मनुष्यले जीवनभरि पापकर्म र परपीडा हुने कृत्य गर्नु हुँदैन, तर कथं-कदाचित जानीजानी वा नजानी भूलचुकमा झुक्किएर गरेका अनेकानेक पापकर्मको निवृत्ति गर्न ज्येष्ठ महिनाको कृष्णपक्षमा पर्ने एकादशी (अपरा/अचला) को व्रतको पालना गर्नुपर्दछ । अपरा एकादशीको व्रत सम्पादन गर्ने तथा त्यस दिन भगवान् त्रिविक्रम (वामन) को पूजन गर्नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोकमा पुग्दछ ।

अपरा एकादशीको व्रतकथा

अपरा वा अचला एकादशीको प्रचलित कथा यस्तो छ :– प्राचीन कालमा महीध्वज नाम गरेका एक जना धर्मात्मा राजा थिए। तिनको कान्छो भाइ वज्रध्वज असाध्यै क्रूर, अधर्मी तथा अन्यायी थियो । ऊ आफ्ना दाजुसित द्वेषबुद्धि राख्दथ्यो । त्यस पापीले एक दिन रातको समयमा दाजु महीध्वजको हत्या गरी मृत शरीरलाई जङ्गलमा पुर्याई एउटा पीपलको फेदमा गाडिदियो । अकाल मृत्यु भएका कारण राजाले प्रेतयोनिमा प्रवेश गर्नुपर्यो । त्यसपछि प्रेतात्माका रूपमा राजा महीध्वज त्यसै पीपलको रुखमा बस्नथाले र किसिम किसिमका उत्पात गर्न थाले । एक दिन त्यसै वनको बाटो भई यात्रामा निस्किएका धौम्य ऋषि त्यही पीपलको बोट भएको ठाउँमा आइपुगे । साँझको समय थियो, त्यस प्रेतले ओकानेक उत्पात मच्चाउँदै ऋषि धौम्यलाई ध्यानाकृष्ट गर्यो । आफूमा भएको योगबलका कारण ऋषिले  त्यस प्रेतलाई देखे र प्रेतको अतीतलाई पहिचान गरे र साथै आफ्नो तपोबलले प्रेतले उत्पात मच्चाएको पृष्ठभूमि एवं कारणसमेत थाहा पाए। ॠषिले प्रसन्नचित्त भई त्यस प्रेतलाई पीपलको रुखबाट बाहिर निकाले र परलोकगमन गर्न अलौकिक विद्याको उपदेश गरे। दयालु ॠषिले राजाको प्रेतयोनिबाट मुक्ति दिलाउन स्वयं आफुले अपरा/अचला एकादशीको व्रत सम्पादन गरे र राजाको अधोगति हटाउन त्यस एकादशीको पुण्य प्रेतलाई सुम्पिदिए । यसरी ऋषिले लिएको अपरा एकादशीको पुण्य प्राप्त गरेपछि राजाले प्रेतयोनिबाट छुटकारा पाए । त्यसपछि राजा महीध्वजले ॠषिलाई साधुवाद व्यक्त गर्दै दिव्य देह धारण गरी पुष्पक विमानमा बसेर वैकुण्ठलोक प्रस्थान गरे ।

अपरां समुपोष्यैव पूजयित्वा त्रिविक्रमम्
सर्वपापविनिर्मुक्तो विष्णुलोके महीयते
लोकानां च हितार्थाय तवाग्रे कथितं मया
पठनाच्छ्रवणाद्राजन्गोसहस्रफलं लभेत्

यसरी समस्त पापराशिलाई नष्ट बनाउन समर्थ यस एकादशीको व्रतकथालाई पढने तथा सुन्ने दुबै थरीले सबै पापबाट मुक्त भई अन्त्यकालमा वैकुण्ठलोक पुग्दछन् भन्ने मान्यता पनि छ ।

Tuesday, April 24, 2018

मोहिनी एकादशी

वैशाख महिनाको शुक्ल पक्षमा पर्ने एकादशीलाई मोहिनी एकादशी भन्ने गरिन्छ । पौराणिक ग्रन्थहरूमध्ये ब्रह्मवैवर्त, भविष्योत्तर र पद्मपुराणमा वर्षभरिका विभिन्न व्रत, पर्व र उत्सवको महात्म्य, वैशिष्ट्य र व्रतकथा उल्लेख गरिएको छ । यी पुराणमा पनि मोहिनी एकादशीको व्रतकथा उल्लेख गरिएको छ । यहाँ पद्मपुराणमा उल्लेख भएको कथा उपस्थापन गरिएको छ -


भगवान् श्रीकृष्ण र युधिष्ठिरका बीचमा विभिन्न धर्मकर्म, व्रततीर्थ र महात्म्यको चर्चा चल्दैथियो । यसै प्रसङ्गमा धर्मराज युधिष्ठिरले कृष्णसित सोध्नुभयो -

वैशाख शुक्लपक्षे तु किन्नामैकादशी भवेत् किं फलं को विधिस्तत्र कथयस्व जनार्दन 

 'हे गोपाल ! वैशाख महिनाको शुक्ल पक्षमा पर्ने एकादशीको नाम के हो ? त्यसको महात्म्य र कथा कस्तो छ ? अनि उक्त व्रतलार्इ कुन विधिको प्रयोग गरी सम्पादन गर्नुपर्छ ?, सो सबै विस्तारपूर्वक बताउनु हवस्' ।

श्रीकृष्णले उनका जिज्ञासा शान्त तुल्याउँदै भन्न थाल्नुभयो -

इदमेव पुरा पृष्टं रामचंद्रेण धीमता वसिष्ठं प्रति राजेंद्र यत्त्वं मामनुपृच्छसि

'हे धर्मराज ! म यस प्रसङ्गमा एउटा कथा भन्दछु, जसलाई त्रेता युगमा महर्षि वशिष्ठले श्री रामचन्द्रको जिज्ञासा शान्त तुल्याउँदै सुनाउनु भएको थियो ।' एक पटक गुरु वशिष्ठसमक्ष श्रीरामले प्रश्न गर्नु भएको थियो -

भगवञ्छ्रोतुमिच्छामि व्रतानामुत्तमं व्रतम् । सर्वपापक्षयकरं सर्वदुःखनिकृंतनम् ।।मया दुःखानि भुक्तानि सीताविरहजानि तु । ततोऽहं भयभीतोऽस्मि पृच्छामि त्वां महामुने ।।

'हे गुरुदेव ! कुनै यस्तो व्रतका बारेमा बताउनु हवस्, जसबाट समस्त पाप र दु:ख नष्ट होऊन् । मैले सीताको वियोगमा असाध्यै दु:ख भोगेको छु, त्यस्तो दुःख र पीडा अरु कसैले पनि भोग्नु नपरोस्, त्यस्तै त्यस्तो कुनै व्रतको विधि आज्ञा गर्नुहवस् ।

महर्षि वशिष्ठले आज्ञा गर्नु भयो -

साधु पृष्टं त्वया राम तवैषा नैष्ठिकी मतिः । त्वन्नामग्रहणेनैव पूतो भवति मानवः।।
तथापि कथयिष्यामि लोकानां हितकाम्यया । पवित्रं पावनानां च व्रतानामुत्तमं व्रतम् ।।
वैशाखस्य सिते पक्षे राम चैकादशी भवेत् । मोहिनी नाम सा प्रोक्ता सर्वपापहरापराः ।।

'हे राम ! तपाईले अत्यन्त सुन्दर प्रश्न गर्नु भएको छ । हुन त तपाईंको नामोच्चारण गर्नासाथ मनुष्यले त्रिविध ताप नष्ट गर्नुका साथै यस जन्ममरणको चक्रबाट पार पाउने गर्दछ । तर पनि तपाईंले आफ्नो अत्यन्त शुद्ध, पवित्र र निर्मल बुद्धिको प्रयोग गरी लोकहितका लागि यो प्रश्न गर्नुभएको छ, त्यसैले म यस प्रश्नको उत्तर दिन्छु । वैशाख महिनाको शुक्लपक्षमा जुन एकादशी पर्दछ, त्यसको नाम मोहिनी एकादशी हो ।

मोहजालात्प्रमुच्यंते पातकानां समूहतः । अस्याः व्रत प्रभावेन सत्यं सत्यं वदाम्यहम् ।।
अतः कारणतो राम कर्तव्यैषा भवादृशैः । पातकानां क्षयकरी महादुःखविनाशिनी ।।
शृणुष्वैकमना राम कथां पापहरां पराम् । यस्याः श्रवणमात्रेण महापापं प्रणश्यति ।।

यस एकादशीको व्रत गर्नाले मनुष्यले सबै पाप तथा दु:खबाट मुक्त भई समस्त सांसारिक मोह जालबाट उन्मुक्त हुने अवसर प्राप्त गर्दछ । त्यसैले मोहिनी एकादशीको व्रतलाई नियम, निष्ठा र विधिको पालना गरी लिनु प्रत्येक सांसारिक मनुष्यको कर्तव्य हो । यसको पालना गर्नाले मनुष्यका सबै दुःख, कष्ट र पाप नाश हुन्छन् । अब यस व्रतको महात्म्य र वैशिष्ट्य उजागर हुने व्रतकथा प्रस्तुत गर्दछु, ध्यानपूर्वक सुन्नुहवस् ।

सरस्वत्यास्तटे रम्ये पुरी भद्रावती शुभा । द्युतिमान्नाम नृपतिस्तत्र राज्यं करोति वै ।।
चंद्रवंशोद्भवो नाम धृतिमान्सत्यसंगरः । तत्र वैश्यो निवसति धनधान्यसमृद्धिमान् ।।

धेरै वर्षपहिले सरस्वती नदीको किनारमा भद्रावती नामको एउटा सुखसुविधा र सौन्दर्यले युक्त नगरी थियो । त्यहाँ द्युतिमान नामक चन्द्रवंशी राजाले राज्य गर्दथे । त्यसै नगरीमा धनधान्य र सुखसम्पत्तिले पूर्ण पुण्यवान् र धार्मिक स्वभावको धनपाल नामक एउटा वैश्य पनि बसोबास गर्दथ्यो । ऊ अत्यन्त धर्मात्मा र विष्णुभक्त थियो। उसले नगरका विभिन्न स्थानमा पाटीपौवा, भोजनालय, धारा, कुवा, सरोवर, धर्मशाला आदिको निर्माण गराएको थियो । त्यस्तै उसले सहरका सडकको किनारामा आँप, जामुनो, नीम आदिका अनेक बृक्ष रोपेको थियो । त्यस वैश्यका पाँच पुत्र थिए - सुमना, सद्बुद्धि, मेधावी, सुकृति र धृष्टबुद्धि । यी मध्ये धृष्टबुद्धि नामको कान्छो छोरो दुष्ट, नीच र पापी थियो । उसले धर्मकर्म, कुल, परम्परा, संस्कृति र पैतृक कर्म भनेको के हो ? चाल पाएको थिएन, त्यसैले ऊ महान् पापी थियो । ऊ वेश्या र दुराचारी मनुष्यको सङ्गतिमा रहेर जुवा खेल्थ्यो । परस्त्रीका साथ भोगविलास गर्थ्यो, मासु-मदिराको सेवन गर्थ्यो । अरुअरु अनेक कुकर्ममा संलग्न रहेर उसले आफ्ना पिताको मानसम्मान, प्रतिष्ठा र धनधान्यको नाश गरिरहेको थियो । ऊ वेश्याहरूसित अङ्गालो हाली खुलेआम घुमफिर गर्दथ्यो । उसका यी लाजमर्दा क्रियाकलापले उसका पिता, दाजुभाइ तथा कुटुम्बहरूले सल्लाह गरी उसलाई  घरबाट निकाली दिए, भातपानीबाट वञ्चित गरियो । यसरी धृष्टबुद्धि निन्दाको पात्र बन्यो । घरबाट बाहिरिएपछि उसले केही समय आफ्ना गहना र कपडा बेचेर निर्वाह गर्यो । उसँग भएका गरगहना र धन सकिएपछि वेश्या र दुष्ट स्वभावका सँगीसाथीहरूले पनि उसको साथ छोडे । अब ऊ धनको अभावमा भोक र प्यासबाट अत्यन्त दु:खित भई भौंतारिन थाल्यो । ऊसँग जीविकाको कुनै अर्को सहारा नभेटिएकाले अब ऊ चोरी गर्न थाल्यो । एक पटक सिपाहीहरूले उसलाई समाते पनि, तर राजाका कर्मचारीहरूले उसलाई इमानदार वैश्यको छोरो ठानेर खासै कारबाही नगरी थुना मुक्त गरे। यसरी सजिलै थुनाभक्त भएपछि उसले चोरी कर्मलाई निरन्तरता दियो । तर जब अर्को पटक पनि ऊ पुनः पकडाउ पर्यो, सामान्य छानबीनपछि उसलाई दण्डित गर्न राजासमक्ष उपस्थित गराईयो । राजाले उसलाई कारागारमा बन्द गरी सजाय दिने आदेश दिए । कारागारमा सिपाहीहरूले उसलाई किसिमकिसिमले यातना दिई यातना दिए । उसले असाध्यै  दु:ख पायो । सजाय समाप्त भएपछि उसलाई देश निकाला गरियो । अन्त्यमा ऊ सहरबाट बाहिरियो र वनमा लुकेर बस्न थाल्यो, प्राण धान्न अब उसले पशुपन्छी मारेर खान थाल्यो ।

केही समय पछि ऊ बाटो ढुकेर यात्रुहरूलाई लुट्ने र जङ्गली जनाबरहरूको हत्या गर्ने नृशंस सिकारी बन्नपुग्यो । ऊ धनुष बाण लिएर पशुपन्छी र वनमा पुगेका स्त्रीपुरुषलाई मार्ने र लुट्ने गरी जीविका चलाउन थाल्यो । एक दिन उसले कुनै सिकार भेटेन । भोक र प्यासबाट आक्रान्त भई आहाराको खोजीमा घुम्दै गर्दा उसले कौडिण्य ऋषिको आश्रममा पुग्यो । आश्रममा भएको धनमाल हडप गरेर भोक टार्ने उसको मनसाय थियो । त्यस समय वैशाख महिना चल्दै थियो र कौडिन्य ऋषि गंगा स्नान गरी फर्कंदै थिए । पवित्र महिना वैशाखमा ऋषिका भिजेका लुगाको छिँटा पर्नाले उसलाई केही सद्बुद्धि प्राप्त भयो । उसका मनमा भएका यावत् कलुषित भावनाहरू नष्ट भए । अब ऊ मुनिसमक्ष हात जोडेर भन्न थाल्यो - हे मुने ! मैले आफ्नो जीवनमा धेरै ठूलाठूला पापकर्म गरेको छु, तपाईंले ती पापहरूबाट मुक्त तुल्याउने सरल र साधारण अनि धनको अभावमा पनि सम्पन्न गर्न सकिने उपाय बताउनु हवस् । त्यसका दीनवचन सुनेर ऋषिले भन्नुभयो - अहिले वैशाख महिना चलिरहेको छ । यस महिनाको शुक्ल पक्षको एकादशीको विशिष्ट महत्त्व छ । त्यसैले तिमीले पनि वैशाख शुक्ल एकादशीको व्रत सम्पादन गर । उक्त एकादशीको नाम मोहिनी हो र यसको शुद्ध भावले पालना गर्दा तिम्रा सम्पूर्ण पाप नष्ट हुनेछन् । मुनिका वचन सुनेर ऊ अत्यन्त प्रसन्न भयो र ऋषिद्वारा बताइएको विधिअनुसार उसले मोहिनी एकादशीको व्रत गर्यो । हे राम ! यस व्रतको प्रभावबाट उसका सबै पाप नष्ट भए र अन्त्यमा ऊ गरुडमा चढेर विष्णुलोक गयो ।

इतीदृशं रामचंद्र उत्तमं मोहिनी व्रतम् । नातः परतरं किंचित्त्रैलोक्ये सचराचरे ।।
यज्ञादितीर्थदानानि कलां नार्हंति षोडशीम् । पठनाच्छ्रवणाद्राजन्गोसहस्र फलं लभेत् ।।

अतः यस व्रतबाट मोह आदि सम्पूर्ण बन्धनहरू नष्ट हुन पुग्छन् । संसारमा यस व्रतभन्दा श्रेष्ठ अन्य कुनै व्रत छैन । यसको माहात्म्य  पढ़दा अथवा सुन्दा पनि एक हजार गोदानको फल प्राप्त हुन्छ ।

Monday, October 30, 2017

एकादशीमा हुनसक्छ, भाग्य-परिवर्तन

धर्मग्रन्थहरूमा एकादशी तिथिलाई समस्त तिथिहरूमध्ये सर्वश्रेष्ठ तिथि मानिएको छ । यस दिन भगवान् विष्णुको पूजाआराधनाका साथमा गरिएको जप, तप, दानादिको ठूलो महत्त्व छ । त्रिमूर्ति अर्थात् ब्रह्मा, विष्णु र महेशमध्ये भगवान् विष्णुलाई यस सृष्टिसंरचनाको पालनकर्ता अर्थात् सञ्चालनकर्ता मान्ने गरिन्छ र एकादशी तिथि उहाँको सर्वाधिक प्रिय तिथि मान्ने गरिन्छ । त्यसैले यस दिन केही नियम र अनुशासनका विषयमा सचेत हुनु आवश्यक छ, जसबाट श्रीहरिको अहैतुकी सहज कृपा प्राप्त होस् । शास्त्रमा एकादशीका दिन के गर्ने र के नगर्ने विषयमा विविध जानकारीहरू प्रदान गरिएको छ । केही कर्महरू एकादशीका दिन निषेध गरिएका छन्, जुन भुलचुकमा भएमा मनुष्यले सीधै नरकमा प्रवेश गर्नुपर्ने हुन्छ, त्यस्तै केही सरलतम उपायहरू पनि बताइएको छ, जसको पालनाबाट नीच मनुष्यले पनि सहजै वैकुण्ठमा प्रवेश गर्ने स्वीकृति प्राप्त गर्दछ । यस आलेखमा एकादशीका दिन गर्नैपर्ने र गर्न नहुने विषयका बारेमा चर्चा गरिने छ ।

यसबाहेक कतिपय मनुष्यले पारिवारिक सुखसम्मृद्धिका निमित्त वा आफ्नो व्यक्तित्व विकासका निमित्त अनेकौं प्रयास र परिश्रम गर्दागर्दै पनि असफल भइरहेको अवस्था देखिन्छ, तर एकादशी यस्तो महत्त्वपूर्ण दिन हो जुन दिन गरिएका सरल उपायले मानिसले आफ्नो भाग्यको ढोका सजिलै उघार्न सफल हुने गर्दछ । धार्मिक मान्यतानुरूप भगवान् विष्णुको प्रसन्नता भएपछि स्वतः माता लक्ष्मीको कृपा प्राप्त भइहाल्ने गर्दछ, त्यसैले पनि एकादशीका दिन गरिएको श्रद्धाभक्ति र भक्तिउपासनाका माध्यमबाट व्यक्तित्वका साथमा घरपरिवारमा सुख र खुसी भित्र्याउन सकिन्छ ।

एकादशीमा पालना गरिएका तलका उपाय र अनुशासनका माध्यमबाट भाग्य बदलिन सक्छ ।

  • एकादशीका दिन कुनै पनि बोटबिरुवाबाट फूल र पात टिप्नुहुँदैन ।
  • एकादशीका दिन दात माँझ्नु हुँदैन । खासगरी दतिउनको प्रयोग गर्न निषेध गरिएको छ । त्यसैले ब्रुशमन्जन नगरेर औंलाको प्रयोग गरी मुखकुल्ला गर्नु राम्रो हुन्छ वा दशमीको राती नै राम्ररी दाँत सफा गरेर सुते सजिलो हुन्छ ।
  • एकादशीका दिन चामल र चामलबाट बनेका कुनै पनि खाद्यपरिकारको उपभोग गर्नु हुँदैन । त्यस्तै भगवान् विष्णुको प्रतिमा वा फोटोमा पूजा गर्दा अक्षताको प्रयोग गर्नु हुँदैन । अक्षताको सट्टामा तिलको प्रयोग गर्न सकिन्छ ।
  • एकादशीका दिन जौ र यसबाट बनेका खाद्यपरिकारको सेवन गर्न पनि निषेध गरिएको छ । शास्त्रमा महर्षि मेधाको शरीरबाट जौको उत्पत्ति भएको भन्ने कथा छ, त्यसैले विष्णुको पूजामा जौको निषेध गरिएको हो ।
  • एकादशीको दिन दान गर्ने वा अरुलाई केही वस्तु प्रदान गर्ने दिन हो । यस दिन गरेको दानबाट अक्षय पुण्य प्राप्त हुन्छ । तपाईंले दान नगरेमा कुनै दोष लाग्दैन, तर यस दिन अरुबाट कुनै उपहार वा दानादि ग्रहण गर्नु हुँदैन । अझ यस दिन अरुले दिएको खाद्यपरिकार सेवन गरेमा भगवान् विष्णु निराश हुनुहुन्छ र सित्तैमा अरुको धनधान्य वा सरसामान लिएमा आर्थिक सङ्कटमा परिन्छ वा दरिद्रता बढ्छ भन्ने मान्यता छ । तर पूजादिमा ब्राह्मणले दान लिएमा दोष लाग्दैन ।
  • एकादशीका जाँडरक्सी, माछामासु, लसुन, प्याज, मुसुरोको दाल आदि तामसी पदार्थको सेवन गर्नुहुँदैन ।
  • एकादशीका दिन व्रतालुले गाजर, शलगम, काउली, पालक, पानी वा दहमा फल्ने सागसब्जीको सेवन गर्नु हुँदैन ।
  • एकादशीका दिन भगवान् विष्णुलाई पानको पात चढाउने प्रचलन छ, तर यस दिन पानतमाखुको सेवन गर्नसमेत निषेध गरिएको छ ।
  • एकादशी परेको एक दिनअघि नै घर बढारकुँडार गरेर सफा बनाउनु राम्रो हुन्छ, किनकि एकादशीका दिन घर बढारकुँडार गर्न पनि निषेध गरिएको छ । नबढार्नु भन्नुको मुख्य उद्देश्य घरमा कुचो लगाउँदा सूक्ष्म जीवजन्तुको मृत्यु नहोस् वा तिनले समेत दुःख नापाऊन् भन्ने हो, यस अतिरिक्त यस दिन घरको कसिङ्गर बाहिर फ्यालेमा घरको सह पनि बढारिएर जाने गर्दछ, त्यसैले बाध्यतावश यस दिन कसिङ्गर लगाउनु पर्यो भने कसिङ्गर घरभित्रै कुनै ठाउँमा व्यवस्थित गरी राखेर भोलिपल्टमात्र मिल्काउनु पर्दछ पनि भन्ने चलन छ ।
  • एकादशीका दिन दाह्री, कपाल, नङ काट्नु हुँदैन ।
  • एकादशी तिथिका दिन सायंकालमा तुलसीको मठमा गाईको घिउको वर्तन प्रयोग गरी दियो बालीदिनु पर्दछ । त्यसपछि ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको जाप गर्दै तुलसाको मठको एघार पटक परिक्रमा गरेमा घरमा पारिवारिक कलहको अन्त्य हुनुका साथै सुखसम्मृद्धि र शान्तिको वातावरण कायम हुन्छ भन्ने मान्यता छ ।
  • एकादशीका दिन भगवान् विष्णुको पूजा गर्दा पहेंलो रङको प्रयोग हुने वस्तु, पदार्थ र नैवेद्यको प्रयोग गर्नु पर्दछ । त्यसैले पीताम्बर, पहेंलो फूल, केसरीको चन्दन आदिको प्रयोग गरिएको हो । यसरी पहेंलो वस्तुको प्रयोग गरेमा भक्तका प्रत्येक मनोकामनाहरू पूर्ण हुने गर्दछन् ।
  • एकादशीका दिन भगवान् विष्णुलाई प्रदान गरिने नैवेद्य (खाद्यसामाग्री) मा तुलसीपत्र राखेर मात्र चढाउनु पर्दछ ।
  • एकादशीका दिन पिपल र वरको बोटको पूजा गरी धूपबाती गरिदिएमा ऋणबाट मुक्त भइन्छ । 
  • एकादशीका दिन कुनै सौभाग्यवती ब्राह्मणीलाई घरमा ल्याएर फलाहार गराउने र तिनलाई सौभाग्यका सामाग्री दान गरेमा कुमारी कन्याले मनले चाहेको वर प्राप्त गर्दछिन्, साथै गृहिणीले सुमधुर दाम्पत्य जीवन भोग गर्न पाउँछिन्, त्यस्तै विधवाका मृत पतिले उत्तम गति प्राप्त गर्दछन् ।
  • एकादशीका दिन भगवान् विष्णुका साथमा माता लक्ष्मीको समेत पूजा गरेमा धनधान्य र सुखसम्मृद्धिको कमी हुँदैन ।
  • एकादशीका दिन प्रातःस्नानपछि केसरीमिश्रित दूधले भगवान् विष्णुको प्रतिमामा पूजा गरिदिएमा बुद्धि बढ्दछ, परीक्षा र प्रतियोगितामा सफल भइन्छ ।
  • एकादशीका दिन गीता, भागवत आदि ग्रन्थहरूको पाठ गरे गराएमा मृतपितृहरूले उत्तम गति प्राप्त गर्दछन् । 
  • एकादशीका दिन दक्षिणावर्ती शङ्खको पूजा गर्नाले भगवान् विष्णुका साथमा माता लक्ष्मी पनि अतीव प्रसन्न हुनुहुन्छ, त्यसैले यसो गर्दा भक्तको घरमा कहिल्यै पनि दरिद्रताले प्रवेश गर्ने अवसर पाउँदैन ।
  • शास्त्रमा परनिन्दा अर्थात् अरुका कुरा काट्ने काम गर्नुलाई घोर पाप मानिएको पाइन्छ । यसो गर्दा मनमा अनेकानेक कटु भाव उत्पन्न हुने र मनोरोग सिर्जना हुने खतरा हुन्छ । त्यसैले कहिल्यै पनि परनिन्दामा सक्रिय हुनुहुँदैन । अझ एकादशीका दिन बिर्सेर पनि परनिन्दा गर्नु हुँदैन ।
  • एकादशीका दिन क्रोध र हिंसा गर्नुहुँदैन । क्रोधका कारण शरीरमा रक्तविकार हुन्छ र मन पनि स्थिर हुन सक्दैन । 
  • शास्त्रमा चोरी गर्नु, धोका दिनु, छक्याउनु जस्ता कामलाई घोर पाप मानिएको छ । यसबाट व्यक्तिको सामाजिक प्रतिष्ठा नाश हुन्छ, साथै उसले मरणोपरान्त नरकमा जानु पर्दछ । त्यसैले कुनै पनि व्रतका दिन यी काम गर्न निषेध गरिएको हो, जुन एकादशीका दिन पनि पालना गर्नु अनिवार्य मानिन्छ ।
  • एकादशीका दिन खासगरी शरीरभित्रै रहेका छ किसिमका शत्रुहरू (काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य) माथि पूर्ण रूपेण नियन्त्रण राख्नु अनिवार्य छ । यस दिन भोगविलास, आनन्द, मौजमज्जा, मनोरञ्जन, यौन र मैथुन आदि विलासिताका भावनाहरू मनमा आउन दिनुहुँदैन । मनमा यस्ता धारणा उत्पन्न भएमा भक्ति, निष्ठा र श्रद्धाभावमा विघ्न पर्दछ र व्रत पूर्ण हुन पाउँदैन ।

यसरी एकादशीका दिन, साथै जीवनका विभिन्न मोडहरूमा यी उपायको पालना गरेमा व्यक्तिले व्यक्तित्वको उचित विकास गर्नुका साथै पारिवारिक सुखसम्मृद्धि र ऐश्वर्य प्राप्त गरी समस्त अभिलाषा र इच्छाहरू प्राप्त गर्न सक्दछ ।

ठूली एकादशी

नेपाली समाजमा आषाढ शुक्लपक्षको हरिशयनी एकादशी र कार्तिक शुक्लपक्षमा पर्ने हरिबोधिनी एकादशीलाई ठूली एकादशी भन्ने चलन छ। हुन त वर्षमा २४ वटा एकादशी हुन्छन्, अझ मलमास परेको वर्षमा २६ वटा एकादशी पनि हुन्छन्। तर तीसबै एकादशीका तुलनामा यी दुईवटा एकादशीलाई विशेष महत्त्वका साथ शास्त्रीय विधिविधान पालना गरी व्रतसम्पादन गर्ने परम्परा रही आएको छ। यसरी यी दुई एकादशीको विशेष महत्त्व देखिनुमा भगवान् विष्णुको दैनन्दिनीको भूमिका रहेको पाइन्छ। सनातन हिन्दु धर्मभित्र यस चराचर जगतको संरक्षण र पालना गर्ने जगन्नियन्ता परब्रह्म परमेश्वरका रूपमा भगवान् विष्णुको भक्तिआराधना हुने परम्परा पाइन्छ। अनि हामी पृथ्वीमा बसोबास गर्ने मनुष्यहरूको एकवर्षको अवधि देवताहरूको केवल एकदिनको अवधि मान्ने चलन समेत छ। सामान्यतया सूर्य दक्षिणायनतर्फ ढल्कनासाथ देवताहरूको रात्रीकाल हुने चर्चा विभिन्न धार्मिक ग्रन्थमा प्राप्त हुन्छ। यिनै पौराणिक मान्यता र आख्यानका आधारमा आषाढ महिनामा पर्ने ठूली एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा पुगेर शयन गर्ने र कार्तिक शुक्ल पक्षमा पर्ने ठूली एकादशीका दिन निद्रा त्यागी ब्युँझने कथाप्रसङ्ग बेग्लाबेग्लै धार्मिक ग्रन्थहरूमा उल्लेख भएकाले पनि यी एकादशीको महत्त्व चुलिन पुगेको मान्न सकिन्छ।

हिन्दू धर्म मान्ने प्रत्येक व्यक्तिको घरमा मठ बनाएर सम्मानका साथमा संरक्षण र सम्बर्द्धन गरिने वनस्पति हो तुलसी। यी दुईवटा एकादशीमा तुलसी पनि गाँसिएको पाइन्छ। तुलसीको विरुवामा एक प्रकारको तेल हुन्छ, जुन तेल वातावरणमा रहेको वायुमण्डलमा सजिलै सम्मिश्रण हुन्छ। जसबाट घरको वातावरणलाई प्रदुषण हुनबाट जोगाउँछ। जहाँ र जुन घरमा तुलसीको वास हुन्छ, पूजा हुन्छ, त्यहाँ ऋद्धिसिद्धिको बास हुन्छ भन्ने मान्यता पनि छ। यसरी धार्मिक र वैज्ञानिक आधारमा तुलसीको छुट्टै वैशिष्ट्य छ। आषाढको ठूली एकादशीमा प्रत्येक हिन्दु धर्मावलम्बीले आआफ्ना घरमा रहेको मठमा तुलसीको बिरुवा रोप्ने र कार्तिकको ठूली एकादशीका दिन उक्त तुलसीको विधिवत् विवाह सम्पन्न गरिदिने चलन पनि छ। स्कन्दपुराणमा वर्णित कथाका अनुसार जालन्धर नामका महान् पराक्रमी दैत्यकी पतिव्रता पत्नी वृन्दाको सतीत्व नै उसको अमरत्वको आधार थियो। सृष्टिको कल्याण गर्ने उद्देश्यले भगवान् विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नु परेको थियो। त्यसपछि मात्र जालन्धरको बध गर्न सम्भव भएको थियो। भगवान् विष्णुले रूप बदलेर आफ्ना पतिको भेषमा आफ्नो सतीत्व नष्ट पारेको थाहा पाएपछि वृन्दामा क्रोधको सीमा रहेन र क्रोधको आवेगमा उनले भगवान् विष्णुलाई श्राप दिईन्। त्यसपछि भगवान् विष्णु पत्थरमा परिणत भई शालीग्रामका रूपमा अवतीर्ण भए। यसरी वृन्दाले दिएको श्रापबाट मुक्त हुन भगवान् विष्णुले शालीग्राम स्वरुपमा रहेर तुलसीसँग विवाह गर्नु परेको थियो। जुन दम्पतीको छोरी छैन, उनीहरूले जीवनमा एकपल्ट आषाढको एकादशीमा आफ्नो घरआँगनको तुलसीको मठमा तुलसी रोपी, चार महिनासम्म नित्य पूजाअर्चना गरी कार्तिक महिनाको ठूली एकादशीमा विधिवत् विवाह गरिदिएमा कन्यादानको पुण्यप्राप्त हुन्छ र पुत्रीलाभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ।

यी दुबै एकादशीमा नेपालका विभिन्न तीर्थस्थल देवालय र मठमन्दिरमा मेला लाग्ने गर्दछ। त्यस्तै सानाठूला नदीनाला तालपोखरी र सरोबरमा स्नान गर्ने मानिसहरूको घुइँचो लाग्ने गर्दछ। आषाढमा पर्ने एकादशीका दिनबाट सुरु गरी चार महिनासम्म चोखोनीतो भई, एक छाकमात्र खाई चतुर्मासा व्रत बस्ने चलन पनि छ। चतुर्मासाको अवधिभरि ठाउँठाउँमा व्रतकथा महात्म्य र पुराणहरूको कथा श्रवण गर्ने व्यवस्थापन समेत हुने गर्दछ। कतिपय धार्मिक व्यक्तित्वहरूले आआफ्ना घरैमा कथा सुन्ने सुनाउने व्यवस्था गरेका हुन्छन्। ठूलाठूला विद्वान् सन्त महन्त योगी र सन्न्यासीहरू यस अवधिमा सम्भव भएसम्म एकै ठाउँमा बस्ने गर्दछन् र आफ्ना धार्मिक आध्यात्मिक उपदेश र प्रवचनहरू प्रदान गर्ने गर्दछन्। केही तीर्थस्थलहरूमा बाहेक अन्य तीर्थस्थलको तीर्थयात्रा पनि यस अवधिमा बन्द हुन्छ। यस अवधिमा वृन्दावन, बाबाधाम, बद्रीनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, दूधकुण्ड आदि तीर्थको तीर्थाटन गर्ने परम्परा पनि छ। समग्रमा आध्यात्मिक र धार्मिक दृष्टिले चतुर्मासा अवधिको ठूलो महत्त्व छ।


हरिबोधिनी एकादशी (कार्तिकको ठूली एकादशी)

प्रत्येक वर्षको कार्तिक शुक्लपक्षमा पर्ने एकादशीलाई हरिबोधिनी एकादशी भन्ने गरिन्छ । यस एकादशीका दिन क्षीरसागरमा शयनावस्थामा रहनुभएका भगवान् विष्णु निद्राबाट जागा हुनुहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस एकादशीको व्रत लिनाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा एक हजार अश्वमेध तथा एक सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ । नेपाली परिवेशमा यस एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिन्छ । यस दिन गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह सम्पन्न गर्दछन् । आज तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी रङ्गीचङ्गी वस्त्र र फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ । यस एकादशीको व्रत लिने व्रतालुले तुलसीको विधिसम्मत विवाह गरिदिएर व्रत बसी फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड खाने गर्दछन् ।

लक्ष्मीले एक पटक क्षीरसागरमा शयनावस्थामा रहनु भएका भगवान् नारायणको सेवा गर्दै आफ्नो जिज्ञासा राख्नु भएको थियो - 'हे नाथ! हजुर जागा रहँदा पनि वर्षौंवर्षसम्म जागै बस्नुहुन्छ र सुत्नुभयो भने पनि लाखौँ-करोडौँ वर्षसम्म सुत्नुहुन्छ । हजुर जागा रहँदा समस्त चराचर जगत् चलायमान हुन्छ, अनि शयनावस्थामा रहँदा समस्त जगतको प्रलय भई सृष्टिको विनाश हुने गर्दछ । त्यसैले हजुरले नियमित रूपमा विश्राम गर्ने व्यवस्था हुनु आवश्यक छ । त्यसरी हजुरले विश्राम गर्नुभयो भने मैले पनि केही समय फुर्सद पाउने छु ।' लक्ष्मीका कुरा सुनेर मुसुक्क हाँसेर भगवान् विष्णुले जवाफ दिनुभयो - 'हे देवी ! तिमीले ठीक भन्यौ । म जागा रहेको अवस्थामा मेरो सेवामा तल्लीन हुनुपर्ने भएकाले समस्त देवगणका साथमा तिमीले निकै खट्नु पर्छ, थकाइ मार्ने र विश्राम लिने समय नहुनाले शारीरिक र मानसिक रूपमा सबैलाई कष्ट हुन्छ।  त्यसैले, तिम्रो इच्छा पूर्ण गर्न म आजदेखि प्रतिवर्ष वर्षा ऋतुबाट प्रारम्भ गरी चार महिनासम्म शयन गर्नेछु । उक्त समयमा तिमी र समस्त देवगणले फुर्सद पाउने छन् । उक्त निद्रा मेरो अल्पनिद्राका रूपमा विख्यात हुनेछ । मेरो अल्पनिद्राको समयमा प्रलयकाल जस्तो चराचर जगतको अन्त्य हुनेछैन, यथावत् सुसञ्चालित भइरहने छ । तर जब प्रलयको समय आउने छ, त्यस समयमा मैले महानिद्रा ग्रहण गर्नेछु र महानिद्राकालमा समस्त चराचर जगत भङ्ग हुनेछ, सृष्टिको विनाश हुनेछ । मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मङ्गलकारी, उत्सवप्रद तथा पुण्यबर्द्धक बन्नेछ । मैले अल्पनिद्रा ग्रहण गरेको समयमा मेरा श्रद्धालु भक्तजनले शयनावस्थाको अनुभूति ग्रहण गर्दै मेरो आराधना र व्रत/अनुष्ठान सम्पन्न गर्नेछन् । त्यसरी मेरो भक्ति/आराधना गर्ने भक्तजनको घरमा उक्त अवधिमा म तिम्रासाथमा निवास गर्नेछु ।'
भगवान् विष्णुले यसरी लक्ष्मीलाई आश्वस्त तुल्याएपछि प्रत्येक वर्ष आषाढ शुक्ल पक्षमा पर्ने एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा गई शयन गर्नुहुने र कार्तिक शुक्ल पक्षमा पर्ने एकादशीका दिन शयनावस्थाबाट जागा हुनुहुने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी र कार्तिक शुक्ल पक्षको एकादशीलाई हरिबोधिनी एकादशी भन्ने गरिन्छ । हरिबोधिनी एकादशीलाई देवोत्थान एकादशी पनि भन्ने गरिन्छ ।

हरिबोधिनी एकादशीका दिन व्रतालुले प्रातःकालमा ब्रह्ममुहूर्तमा निद्रा त्याग गरी स्नानशौचादि नित्यकर्मबाट निवृत्त भई भगवान् नारायणको प्रतिमासामु उपस्थित भई घण्टा ,शङ्ख, मृदङ्ग आदि बजाएर भगवान् विष्णुलाई अल्पनिद्राबाट ब्युँझाउन यी श्लोकहरू पढेर जगाउने गरिन्छ -
उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ॥
उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत-वसुन्धरे ।
हिरण्याक्षप्राणघातिन् त्रैलोक्ये मङ्गलं कुरु ॥

यसरी श्रीहरिलाई जागा गराएपछि स्नानादि गराई सुन्दर वस्त्राभूषणले सुसज्जित तुल्याई षोडशोपचार विधिले पूजा गरिदिनु पर्छ । त्यसपछि सम्भव भए पूर्णरूपमा निराहार रही वा फलाहार गरी व्रत लिनुपर्छ । व्रत लिन सम्भव नभए त्यस दिन चामलले बनेको पक्वान्न भए पनि त्याग गर्नु राम्रो हुन्छ । यस एकादशीका दिन जागरण गरेको राम्रो मानिन्छ । व्रतालुले रातभरि जागा रहेर हरि नामसङ्कीर्तन, अखण्ड भागवत पाठ, स्मृतिपुराणादिको कथाश्रवण गर्नाले भगवान विष्णु प्रसन्न हुनुहुन्छ भन्ने मान्यता छ ।

सनातन हिन्दू धर्मावलम्बीका समस्त वैदिक कर्म र संस्कारहरूमा भगवान् विष्णुको नामोच्चारणका साथमा सङ्कल्प गर्ने प्रावधान छ । श्रावणदेखि कार्तिकसम्मको चार महिनाको अवधि भगवान् विष्णुको शयनावस्था हुने भएकाले आषाढमा पर्ने ठूली एकादशीपछि विवाहादि समस्त माङ्गलिक कार्यको अन्त्य हुने र कार्तिकमा पर्ने ठूली एकादशीबाट ती कर्मको शुभारम्भ हुन्छ भन्ने मान्यता पनि छ ।

पद्मपुराणको उत्तरखण्डमा एकादशीको महात्म्य उल्लेख गरिएको छ । उक्त माहात्म्यअनुसार हरि प्रबोधिनी (देवोत्थान) एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा एक सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस एकादशीको व्रतले शरीरमा जन्मजन्मान्तरदेखि सञ्चित रहेका सबै पापको अन्त्य हुन्छ र व्रत लिने व्यक्तिले मरणोपरान्त वैकुण्ठलोक प्राप्त गर्दछ । यस एकादशीका दिन भक्तजनले श्रद्धाका साथ जेजस्तो जप, तप, स्नानदान र होमादि गर्दछन्, ती सबै अक्षय पुण्यदायक हुन पुग्छन् । यस एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातन धर्मावलम्बी गृहस्थीको आध्यात्मिक कर्तव्य हो भन्ने मान्यता पनि छ ।

यस एकादशीका दिन प्रत्येक गृहस्थीले आआफ्ना घरआँगनमा रोपेको तुलसीको बिरुवाको साजसज्जा गरी विवाहोत्सव गर्ने चलन पनि छ । यस सन्दर्भमा विभिन्न पुराणमा एउटा कथा भेटिन्छ - उहिले एउटा जालन्धर नामको बलशाली दैल्य थियो । ऊ अधार्मिक, दुष्ट र खराब आचरणको भए पनि उसकी पत्नी वृन्दा शीलस्वभाव र सौन्दर्यमा तीनै लोकमा विख्यात थिई । उसले आफ्नो सतीत्व नष्ट नहुन्जेल अखण्ड सौभाग्यको वरदान प्राप्त गरेकी थिई । एक पटक भगवान् महादेव र जालन्धरका बीचमा ठूलो युद्ध भयो । युद्धमा कुनै तरिकाले जालन्धर पराजित भएन । उसकी पत्नीको पातिव्रत्य धर्म समाप्त नहुन्जेल जालन्धरलाई हराउन नसक्ने रहस्य थाहा पाएर महादेवले विष्णुको सहयोग लिनुपर्यो । अनि भगवान् विष्णुले  जालन्धरको रूप धारण गरी वृन्दाको सतीत्व नष्ट बनाउनु भयो । अन्ततः महादेवले जालन्धरको बध गर्नुभयो । विष्णुले आफूसित छल गरेको चाल पाएपछि वृन्दाले उनलाई श्राप दिईन् । वृन्दाको श्रापबाट विष्णुले पत्थर भएर शालिग्रामका रूपमा परिवर्तित हुनुपर्यो ।

विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरी वृन्दालाई वरदान दिनुभयो र भन्नुभयो - 'तिम्रो शरीर गण्डकी नदीका रूपमा रहने छ, म त्यस नदीमा शालिग्राम शीलाका रूपमा सदैव तिम्रा साथमा रहने छु । अनि तिम्रो केश तुलसीका रूपमा औषधीय गुणले युक्त वनस्पति भई उत्पन्न हुनेछ । प्रत्येक गृहस्थीले तुलसीको पूजा गर्नेछन् । मेरो पूजा र भक्ति गर्दा सदैव तुलसीपत्रको प्रयोग हुनेछ र तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ । आजबाट तिमी मेरा निम्ति लक्ष्मीसरह प्रिय रहने छौ, त्यसैले तिमी हरिप्रिया नामले प्रसिद्ध हुनेछौ ।'

भगवान् विष्णुको आशीर्वाद प्राप्त गरेकै दिनदेखि तुलसीको महत्त्व बढ्न गएको हो । आजको हरिबोधिनी एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको विवाह गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई स्वर्गका देवतासरह प्रसन्नता प्राप्त हुन्छ भन्ने मान्यता पनि छ । अस्तु ।।