Showing posts with label ज्योतिषविज्ञान. Show all posts
Showing posts with label ज्योतिषविज्ञान. Show all posts

Monday, June 11, 2018

के हो अपशकुन?

कुनैकुनै लक्षणलाई देख्नासाथ मान्छेको मनमा आनन्दानुभूति र कुनै लक्षणका कारण उद्विग्नताको अनुभूति हुन्छ र संयोगले चिताएको वा आँटेको काममा विघ्न हुन्छ । कुनै कार्य अपूर्ण रहने वा परिस्थिति सिर्जना गर्ने चिज, वस्तु वा दर्शनलाई हामी अपशकुन मान्छौं । अपशकुनका सन्दर्भमा पूर्वीय धर्मशास्त्र, ज्योतिष, सामाजिक र पारम्परिक संस्कारमा भिन्नभिन्न धारणा, मानसिकता र भ्रम प्रचलनमा छन् । यसबाहेक यस विषयमा सिग्मण्ड  फ्रायड जस्ता अनेकानेक पाश्चात्य विद्वान् एवं मनोविदहरूले समेत कलम चलाएका छन् । यस आलेखमा पाठकहरूमा जानकारी प्राप्त होस् भन्ने उद्देश्यले घरव्यवहारमा दिनहुँ प्रयुक्त हुने चिजबिज, जीवजन्तु, पंक्षी आदिसित जोडिएका केही अपशकुनहरूको विवरण प्रस्तुत गरिएको छ ।

कुचो -
नयाँ घरमा गृहप्रवेश गर्दा पुरानो कुचो प्रयोग गर्न निषेध गरिएको छ । त्यस्तै कुचो ठड्याएर वा माथिल्तिर टुप्पो रहने गरी राख्नु हुन्न भन्ने मान्यता छ । त्यस्तै साँझ परेपछि वा रात्रीकालमा घर बढार्न निषेध गरिएको छ । यी कुरा चाहाँदानचाँहादै घटित हुन गएमा आर्थिक पक्षमा नोक्सानी हुने अनुमान गरिन्छ, लक्ष्मीले घर छोडेर जान्छिन् भन्ने मान्यता छ र दरिद्रताले घरमा प्रवेश गर्दछ भन्ने विश्वास गरिन्छ । त्यस्तै नवजात वा भर्खर हिंडडुल गर्न थालेका केटाकेटीले घर बढार्न थाले भने घरमा अनावश्यक परपाहुना आई झन्झट थपिने सम्भावना हुन्छ भन्ने गरिन्छ । अनि परिवारभित्र वा बाहिरको व्यक्ति घरबाट बाहिर गएको कम्तीमा दुई मुहूर्तसम्म घर बढार्नु हुँदैन भन्ने मान्यता पनि छ । यसो गर्दा घरबाहिर गएको व्यक्तिले यात्राका क्रममा अनवश्यक दुःख पाउने र शारीरिक रूपमा जोखिम ब्यहोर्ने सम्भावना हुन्छ । अनि कुचोलाई लत्याउनु हुँदैन, खुट्टाले कुचो जानीनजानी छोइयो भने भगवान् विष्णुको नाम स्मरण गर्नुपर्छ । कुचोमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता छ, त्यसैले कुचो लत्याउँदा आर्थिकरूपमा जोखिमको सम्भावना पनि हुन्छ ।

दूध -
अपशकुनको सन्दर्भमा दूधको छुट्टै वैशिष्ट्य छ । दूध पोखिनु राम्रो मानिँदैन । बालबालिकाहरू दुग्धपान गर्नासाथ घरबाट बाहिर पुगे भने बिरामी हुन्छन् भन्ने मान्यता छ । सपनामा समेत दूध देखिनुलाई राम्रो सङ्केत मानिंदैन । तर महिलाले सपनामा दूध वा दुग्धजन्य पदार्थ देखेमा गर्भधारण गर्ने मान्यता पनि छ ।

पशु -
पशुका सन्दर्भमा पनि विविध शकुन र अपशकुनको चर्चा गरिएको पाइन्छ । जस्तै कुकुर यात्राकालको शुभशकुन हो, तर तपाईं हिंड्ने बेलामा कुकुर तर्सियो भने त्यो यात्रा कष्टदायक हुन्छ । त्यस्तै त्यसै समयमा कुकुरले आफ्नो जिउ कन्याएको स्थिति देखा पर्यो भने तपाईंले आँटेको काम अपूर्ण र असफल हुने सङ्केत हो भन्ने मान्यता छ । तपाईंको घरमा पालेको कुकुरले तपाईंको यात्राकालमा भुक्यो भने तपाईं अप्रत्याशित घटनाचक्रमा फँस्ने सम्भावना हुन्छ वा दुर्घटनाको भय हुन्छ । त्यस्तै कुकुरको जिउ फोहोर छ र त्यसले आफ्नो जिउ र कान पटकपटक झट्कार्छ भने तपाईंलाई त्यसले भावी सङ्कटबाट जोगिने सल्लाह दिएको मान्ने प्रचलन छ । हिंड्नेबितिक्कै तपाईंले कुकुरहरूका बिचमा झगडा भएको दृश्य देख्नुभयो भने सोच्नोस्, तपाईं कुनै लडाइँ वा झगडा सहभागी भएर दुःख पाउँदै हुनुहुन्छ । त्यस्तै सन्ध्याकालमा धेरैवटा कुकुर पूर्व फर्केर भुक्दछन् भने त्यस गाउँ वा टोलमा ठूलो विपत्ति आइलाग्छ । अनि कुकुरले तपाईंको घरको भित्ता कोतरेको देख्नुभयो भने मेरो केही चिज हराँउदै छ भन्ने आंकलन गर्दा हुन्छ वा तपाईंको घरमा चोरीडकैती हुने सम्भावना बढ्छ । त्यस्तै कुकुरले विनाकारण भुक्दै आफ्नो मालिकसित अँगालो मार्न खोज्यो भने त्यसले तपाईंलाई बन्धनको सङ्केत गरेको ठहरिन्छ । कुकुरले बल्दै गरेको दाउरा बोकेर हिंडेको देखियो भने त्यसले कुनै प्रियजनको मृत्युको द्योतन गरेको मानिन्छ । कुकुरले शयनकक्षको खाटमाथि चढेको देखिए विविध बाधा र सङ्कटको सङ्केत गर्दछ भनिन्छ । कतै हिंड्नेबेलामा कुकुरले ढुङ्गामाथि वा श्मशानघाटमा पिसाब फेरेको दृश्य देखियो भने यात्रा कष्टप्रद हुन्छ, त्यसैले त्यो यात्रा रद्द गर्नु पर्दछ भन्ने मान्यता छ ।

कुकुर जस्तै यात्राका क्रममा र अन्य विषयमा बिरालोबाट पनि अपशकुनको सङ्केत हुन्छ भन्ने मान्यता छ । बिरालोले दूध खाइदियो भने घरका केटाकेटीको स्वाश्थ्यमा प्रतिकूल प्रभाव पर्छ भन्ने गरिन्छ । बाटो हिँड्दा कालो बिरालोले बाटो काट्यो भने त्यो यात्रा निरर्थक हुन्छ, हुन लागेको वा इच्छएको काममा विघ्न हुन्छ, त्यसैले केही कदम फर्किएर पुनः यात्रा सुचारु गर्नुपर्छ भन्ने मान्यता छ । तपाईं निदाएको वा सुतेको बेला अचानक बिरालो तपाईंको शरीरमाथि फाल हाल्यो भने त्यसलाई पनि अपशकुन माने गरिन्छ, अनि बिरालो जुध्नु, रुनु र हाँच्छ्यु गर्नु पनि अशुभ हो भन्ने गरिन्छ । हाम्रो धार्मिक मान्यतामा गाईलाई शुभताको प्रतीकका रूपमा लिइन्छ तर शकुनशास्त्रले गाईले अभक्ष खाएको अवस्थालाई राम्रो मान्दैन । यदि गाईले आफ्ना बाच्छाबाच्छीलाई स्नेह गर्दैन र बाच्छाबाच्छी देख्दा फाँफाँफुँफु गर्छ भने त्यस घरकी स्त्रीको गर्भमा सङ्कट हुन्छ भन्ने विश्वास गरिन्छ । यात्रा गर्ने क्रममा घरबाट निस्कना साथ गाई वा गधा कराएको सुनियो भने यात्रा असहज हुन्छ, अनि गाई वा घरपालुवा घोडाले खुट्टा चलाउँदै जमिन खोस्रेको वा डराए झैं गरेको दृश्य देखिँदासमेत यात्रा दुर्घटनाप्रद हुन्छ भन्ने मान्यता छ । त्यस्तै घोडाले दाहिने खुट्टो उचालेको अवस्थामा यात्र गर्नुहुन्न, यात्राका क्रममा आफ्नो देब्रेपट्टिबाट उँट कराउनु अशुभ मानिन्छ । यात्राका क्रममा हात्ती माउते बिना वा अन्य हात्तीबिना एक्लै उभिएको देखिनु, हात्ती कराउनु र हात्तीले माटो खोस्रनु पनि राम्रो मानिंदैन, हात्तीको अवस्थितिकै दिशातर्फको यात्रा त्याग्नु पर्छ भन्ने मान्यता छ । यात्राकै समयमा एकाबिहानै तपाईंको देब्रेतर्फ एकतमाशले नहल्लिई उभिएको हरिण देखियो भने त्यो यात्रा अनिष्टकारक हुन्छ । हरिणले मलमूत्र विसर्जन गरेको, खोकेको, हाँच्छ्यु गरेको अवस्थालाई समेत अशुभ मानिन्छ ।

पन्छी -
आफ्नो देब्रेपट्टी रुपी(मैना) देखिनुलाई यात्राकालको अशुभता मानिन्छ । सुकेको रुख वा नाङ्गो डाँडामा सुँगा कराएको देखियो भने यात्रामा भय हुने सङ्केत मानिन्छ । त्यस्तै यात्रा गर्ने बेलामा आफ्नो सम्मुखमा रुपी(मैना) कराएमा कलह हुने र देब्रेतर्फ कराएमा विपत्ति हुने सङ्केत हो भन्ने गरिन्छ । देब्रेतर्फबाट हाँसको आवाज आउनुलाई पनि यात्राका लागि अशुभ मानिन्छ । बकुल्लो भयभीत भई उडेको देखिँदा समेत यात्रामा विघ्न हुन्छ भन्ने मान्यता छ । यात्राकालमा पन्छीहरूको बथान डराएर उडेको देखिनुलाई पनि राम्रो मानिंदैन । परेवालाई शान्तिको प्रतीक मानिए पनि यात्रा गर्ने बेलामा दाहिनेतिर रहेको परेवालाई राम्रो मानिंदैन । मयुर जुधेको दृश्यबाट यात्रुको मृत्युलाई सङ्केत गरेको मानिन्छ, त्यसैले त्यो यात्रा छोट्याउनु वा बन्द गर्नु बुद्धिमत्ता हुन्छ भन्ने मान्यता छ ।

किराफट्याङ्ग्रा र सर्पादि -
किराफट्याङ्ग्रा र सरिसृप(घिस्रने जीवजन्तु) आदिले पनि शुभ र अशुभ सङ्केत गर्ने मान्यता छ । 'देब्रे छेपारो दाहिने साँप, जहाँजहाँ टेक्यो त्यहाँ फलिफाप' भन्ने भनाई ले छेपारो र सर्पलाई शकुनशास्त्रमा महत्त्व दिइएको प्रमाणित हुन्छ । सर्प यात्राका क्रममा देब्रेतिर सर्प देखिनु र दाहिनेतिर छेपारो देखिनु शुभ हुन्छ, तर विपरीत दिशामा देखिएमा अशुभ मान्ने चलन छ । तराईका घरैपिच्छे सर्प भेटिए पनि सामान्यतया घरभित्र सर्पको उपस्थितिलाई अशुभ नै मानिन्छ र स्वस्तिशान्ति गर्ने विधान बताइएको पाइन्छ ।

विष्टापतन -
कहिलेकाहिँ बाटो हिँड्दै गर्दा वा बसिराखेको ठाउँमा व्यक्तिको शरीरमाथि चराचुरुङ्गीको विष्टा खस्दछ । यो अवस्थालाई ठूलो अपशकुन मान्ने चलन छ । यसले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने र सामाजिक हैसियतमा चोट पुग्नसक्ने विषयको सङ्केत प्रदान गर्दछ । खासगरी गिद्ध, चिल, काग, चमेरो आदिले विष्ट्याउँदा मानिसको शरीरमा पर्यो भने त्यस्तो घटना घटेको ६ महिनासम्मको अवधिमा कुनै पनि रोगव्याधि वा दुर्घटनाका कारण व्यक्तिको मृत्यु हुनसक्ने कुरा विभिन्न शास्त्रमा उल्लेख गरिएको बताउँदछन्, जानकार र ज्योतिषीहरूले व्यक्तिको शरीरमा माउसुली खस्यो भने पनि शुभाशुभ दुबै किसिमका फलहरू प्राप्त हुने बताइन्छ । त्यस्तै लोथर्केले शरीरमा छोयो भने पनि शुभाशुभ विचार गर्ने चलन छ । सामान्यतया पुरुषको दाँया अङ्गमा तथा स्त्रीको बामाङ्गमा माउसुली झर्दा शुभ हुने र यसविपरीत हुँदा अशुभ हुने मानिन्छ ।

सङ्क्षेपमा भन्नु पर्दा अनिष्ट अपशकुन देखियो वा अनुभूति गर्नुपर्यो भने व्यक्तिले शारीरिक, आर्थिक र मानसिक रूपमा कष्टको सामना गर्नुपर्छ । शकुन र अपशकुनको मान्यताले प्राचीन कालदेखि नै मानव समुदायलाई आफ्नो मोह पाशमा बाँधेको छ भन्दा हुन्छ, तर केही व्यक्तिलाई मात्र अपशकुन/शकुनको यस चक्रबाट सुयोग र दुर्योगको सूचना वा सङ्केत प्राप्त हुने मात्र होइन, यसबाट अचानक धन प्राप्ति पनि हुनसक्छ भन्ने थाहा छ । त्यसैले शास्रले अपशकुनका दुष्प्रभावहरूलाई निवारण गर्न वैदिक र तान्त्रिक उपाय, पाठ, जप, मन्त्र आदिद्वारा मार्गनिर्देशन गरेको हुन्छ, फलस्वरूप अशुभ प्रभाव समाप्त भएपछि चामत्कारिक लाभ भएका प्रसङ्गहरू पनि देख्न, सुन्न र पढ्न पाइन्छ । तल केही उपायहरू सुझाइएका छन्, जसको श्रद्धा र निष्ठाका साथ गरिएको प्रयोगबाट अशुभ सङ्केतलाई शुभ योगमा रूपान्तरण गर्न सकिन्छ ।

·         यदि तपाईं कुनै कालो पक्षीको अपशकुनबाट प्रभावित हुनुहुन्छ भने आफ्नो इष्टदेवताको वा जन्मकुण्डलीका आधारमा लग्नेशका अधिपति देवताको पूजा, आराधना वा मन्त्रको विधिपूर्वक जाप गर्नुपर्दछ । त्यस्तै च्यात्तिएका लुगाफाटा (वस्त्र) र तिलको तेल दान गर्नुपर्दछ वा धार्मिक क्षेत्र अथवा परोपकारका क्षेत्रमा प्रदान गर्नुपर्दछ ।

·         शरीरमा माउसुली खसेर हुने दुष्प्रभावबाट मुक्त हुन कुनै धार्मिक मठमन्दिर वा स्थानमा गई देवी/देवतालाई प्रसाद भोग लगाई भक्तजनमा वितरण गरेर मुक्ति प्राप्त गर्न सकिन्छ ।

·         यात्रा गर्ने बेलामा आफैंले वा अरु मानिस वा जीवजन्तुले हाँच्छ्यु गरेमा त्यसबाट हुने दुष्प्रभावलाई शान्त तुल्याउन 'ॐ राम रामेति शान्ति-शान्ति' भन्दै औँला पड्काउनु (चुट्की बजाउनु) पर्छ र एकछिन बिसाएर एक गिलास ठण्डा पानी खानु पर्छ, पानी खाने अनुकूलता नभएमा जुत्ताचप्पल खोलेर साटफेर गरे झैं गरी पुनः धारण गर्नुपर्छ ।

·         अशुभ स्वप्नको प्रभावबाट जोगिन महामृत्युञ्जय मन्त्र (ॐ हौं जूं सः ॐ भूर्भुव स्वःॐ त्र्यम्बकम् यजामहे सुगन्धिम् पुष्टिवर्धनम् उर्बारुकमिवबन्धनान्मृत्योर्मुक्षीय मामृतात् ॐ स्वर्भुव भूः ॐ सः जूं हौं ॐ॥) को जप वा विष्णुसहस्रनामस्तोत्रको पाठ गर्दा राम्रो हुन्छ ।

·         सर्पका कारणबाट अशुभ स्थिति प्राप्त भएमा 'जय राजा जनमेजय' भन्ने शब्दावलीलाई २१ पटक उच्चारण गर्दा उक्त अपशकुन दूर हुन्छ ।

·   तपाईं लामो यात्रामा अचानक बाहिरिनु भयो, तर कुनै ज्योतिषीको शास्त्रीय परामर्शद्वारा शुभसाइत जुराउने अनुकूलता प्राप्त भएन भने बाटोमा कुनै किसिमको विघ्न नआओस् भन्ने उद्देश्यले थोरै गन्धकको धुलो र हरिताल छर्किएर बाटो लाग्नु पर्छ, यात्रामार्गमा हुनसक्ने समस्त कष्ट र विघ्न निष्प्रभावी हुने विश्वास गरिन्छ ।

·       बिहानै उठेर प्रतिदिन हातले जमिनलाई छोएर 'ॐ पृथ्वी त्वया धृता लोका देवि त्वं विष्णुना धृता। त्वं च धारय मां देवि पादस्पर्शं क्षमस्व मे ॥' भन्दै धरतीमा टेक्नु पर्छ, तपाईंको त्यो दिन राम्ररी बित्नेछ, कुनै सङ्कट ब्यहोर्नु पर्दैन।

Wednesday, November 8, 2017

राशि तथा राशिफल

कपिलदेव भट्टराई

राशि शब्दको सामान्य अर्थ थुप्रो वा समूह भन्ने हुन्छ । यो संस्कृतभाषाबाट नेपाली भाषामा प्रयोग भएको तत्सम शब्द हो । ज्योतिषशास्त्रमा यो शब्द अत्यन्त प्रचलित मानिन्छ । ब्रहृमाण्डमा अनेकौं आकाशीय पिण्ड छन् र ती आ-आफ्नै गतिमा आ-आफ्नै कक्षमा भ्रमण गर्दछन् । सूर्य एउटा तारा हो । पूर्वीय ज्योतिषमा यसलाई ग्रहहरूको अधिपति वा प्रमुख मानी ग्रहकै कोटिमा राखिएको छ । यसको भ्रमणमार्गलाई वृत्त कल्पना गरी त्यसलाई क्रान्तिवृत्त नामकरण गरिएको छ । सोही क्रान्तिवृत्तलाई १२ समान विभाग गरी मेषादि १२ राशिको कल्पना र २७ समान विभाग गरी अश्विनी आदि २७ नक्षत्रको परिकल्पनासहित नामकरण त्यहाँ गरिएको पाइन्छ । गणितीय सिद्धान्त अनुसार वृत्तको मान ३६० डिग्री हुने र त्यसलाई १२ ले भाग गर्दा ३० अंशा पर्नेभएकाले समेत राशि भन्नाले थुप्रो वा समूह नै हो भन्ने प्रमाणित हुन्छ । ज्योतिषमा डिग्रीलाई अंशा भनिन्छ । प्रत्येक नक्षत्रमा चारवटा अक्षरहरू हुन्छन् । तिनै अक्षरबाट मान्छेको नामकरण गर्ने परिपाटी पूर्वीय ज्योतिषमा रहेको छ ।


यसरी २७ वटा नक्षत्रमा जम्मा १०८ वटा नामाक्षर हुने र तिनै नामाक्षरलाई समान १२ भागगर्दा एक राशिमा ९ वटा अक्षर पर्नेभएकाले पनि नामराशि भन्नाले अगाडिको ९ नामाक्षरहरूको समूह हो भन्ने बुझ्नुपर्दछ । प्रत्येक राशिमा ९ जना प्रतिनिधि व्यक्ति रहन्छन् केवल एक व्यक्तिको पूरै राशिमा एकलौटी आधिपत्य हुदैन । यसकारण प्रत्येक व्यक्ति कुनै एक राशिमा सीमित हुन्छन् तर राशि कुनै एक व्यक्तिमा मात्रै सीमित रहन्न । त्यसैले दैनिक राशिफल सुन्नासाथ वा पढ्नासाथ आफ्नो अनुकूल नभएमा मिलेन भन्नमिल्दैन सोही राशिका अन्य आठ जनामा तुलना गरिनुपर्दछ ।

सूर्य एक नक्षत्रमा १३ दिन २० घडीसम्म रहन्छ भने एक राशिमा एक महिना पूर्ण अवधि रहन्छ । सूर्यलाई राशिचक्र अर्थात् भचक्रको भ्रमण गर्न १२ महिना अर्थात् एकवर्ष समय लाग्छ तर चन्द्रमा एक राशिमा २ दिन २५ घडी ५४ पला १० प्रतिविपला रहने भएकाले एक महिना अवधिमा नै चन्द्रमाले भचक्रको परिक्रमा पूर्ण गर्दछ । पूर्वीय ज्योतिषमा मानिसको जन्मराशि चन्द्रमालाई आधार मानी बनाइएकाले थोरै समय अन्तरालका पनि नामराशि फरक पर्न जान्छ ।

यसरी पूर्वीय सिद्धान्तानुसार एक महिना अवधिमा १२ वटै राशिका मानिसको जन्म हुन सक्छ तर पाश्चात्य पद्धतिमा मान्छेको नामराशि सूर्यमा आधारित छ । जस अनुसार मार्च २१ त्ाारिखदेखि अपि्रल १९ सम्मजन्म भएमा मेषराशि, अपि्रल २० देखि मे २० सम्म वृष राशि, मे २१ देखि जुन २० सम्म मिथुन राशि, जुन २१ देखि जुलाई २२ सम्म कर्कट राशि, जुलाई २३ देखि अगष्ट २२ सम्म सिंह राशि, अगष्ट २३ देखि सेप्टेम्बर २२ सम्म कन्या राशि, सेप्टेम्बर २३ देखि अक्टुबर २२ सम्म तुला राशि, अक्टुबर २३ देखि नोभेम्बर २१ सम्म वृश्चिक राशि, नोभेम्बर २२ देखि डिसेम्बर २१ सम्म धनु राशि, डिसेम्बर २२ देखि जनवरी १९ सम्म मकर राशि, जनवरी २० देखि फेब्रुवरी १८ सम्म कुम्भ राशि र फेब्रुवरी १९ देखि मार्च २० सम्म मीन राशि भनी राशि निर्धारण गरिन्छ । अङ्ग्रेजी महिनाहरूको गणना सूर्यमा आधारित भएकाले राशि विभाजन पनि सूर्यमा आधारित भएको स्वतः सिद्ध हुन्छ ।

पूर्वीय सिद्धान्तानुसार मानिसको जन्म हुँदा चन्द्रमा जुन नक्षत्र र राशिमा छ मानिसको जन्मनक्षत्र र जन्मराशि पनि त्यही हुन्छ । अङ्ग्रेजी मार्च महिनाको २१ तारिख चैत महिनाको प्राय ८ गते पर्दछ । निरयण गण्ना पद्वति अनुसार चैत महिनामा सूर्य मीन राशिमा रहन्छ । पाश्चात्य कालगणना सायनपद्धतिमा आधारित छ । सायन गणना पद्वति अनुसार सूर्य प्रायः चैत्र ७ गते नै मेष राशिमा सङ्क्रमित भई बैशाख ७/८ गतेसम्म रहनेहुँदा पाश्चात्य ज्योतिषले सूर्यमा आधारित भई निर्धारण गरेको एक महिना अवधिमा जन्म हुने सबैको एउटै राशि हुने पद्धति पनि ठीकै हो तर एक महिना अवधिभर राशिफल पनि एकै हुन्छ भन्ने चाहि होइन । गणित प्रक्रिया विचित्रको हुन्छ । गणितमा जति स्थूल प्रक्रिया अपनाइयो फल त्यति सानो हुने र जति सूक्ष्म प्रक्रिया अपनाइयो फल त्यति ठूलो हुनु नै गणितको विशेषता हो । यसर्थमा पाश्चात्य पद्धतिको जन्मराशि निर्धारण भन्दा पूर्वीय मान्यताको जन्मराशि निर्धारण प्रक्रिया सूक्ष्मतम देखिन्छ । प्राचीन ऋषिमुनि एवं मनीषीहरूद्वारा प्रतिपादित ज्योतिषका सम्पूर्ण सिद्धान्त एवं ग्रन्थहरू निरयण पद्धतिमा आधारित भएकाले पूर्वीय पद्धतिको चन्द्रमामा आधारित भई निर्धारण गरिएको राशि र गरिने फलादेश तथ्यपूर्ण हुन्छ । आकाशमा निरयण बिन्दु सधैं स्थिर हुने, स्थिर विन्दुलाई आधार मानी ग्रहगति गणना गर्दा गणितमा पनि स्थिरता हुने र फलादेश निरयण पद्धतिबाटै गरिने शास्त्रीय सिद्धान्तसमेत भएकाले पाश्चात्य सिद्धान्तको राशि निर्धारण पद्धतिभन्दा पूर्वीय सिद्धान्तको राशि निर्धारण पद्धति विशिष्टीकृत देखिन्छ ।

पाश्चात्य सिद्धान्तमा रही कुनै अन्वेषकले नवजात शिशुहरूको राशिगत भिन्नताका आधारमा व्यक्तिगत रुचि जस्ता विषयमा १२ राशिकै शिशुहरूको अवस्था अध्ययन गर्ने हो भने कम्तीमा एक वर्ष समय अवधि लाग्छ तर पूर्वीय सिद्धान्तअनुसार एक महिना अवधिमै सो कुरा सम्भव देखिन्छ । यसकारण अन्वेषकहरूका लागि समेत पूर्वीय सिद्धान्त श्रेयस्कर बन्नजान्छ ।

अधिकतम मानिसको खुराक बनेको विभिन्न पत्रपत्रिका, एफ.एम्.रेडियो, टेलिभिजन आदिमा पढ्न, सुन्न र देख्नपाइने राशिफल व्यक्तिगतरूपमा जिज्ञासा र सान्त्वनाको विषय पनि हो । नहँुदो हो त हरेक पत्रिका, रेडियो तथा टेलिभिजनले प्रमुखताका साथ प्रकाशन वा प्रसारण गर्ने थिएनन् । राशि र राशिफल मानिसको व्यावहारिक जीवनसँग सम्बन्धित छ । यति महत्त्वको विषयवस्तु हुँदाहुँदै पनि पत्रिका नै पिच्छे फरक राशिफल, रेडियो नै पिच्छे भिन्न फलादेश र टेलिभिजन नै पिच्छे भिन्न भविष्यकथनले सम्पूर्ण जनमानसमा सम्बन्धित विषय माथि वैचारिक तरङ्ग आउनु स्वाभाविकै हो । यसै सन्दर्भको गत फागुन १० गतेको शनिवार परिशिष्टमा निर्मलकुमार आचार्यले प्रस्तुत गर्नुभएको भिन्न-भिन्न उदाहरण मननयोग्य छन् । आचार्यले दर्शाउनुभएको समस्या यथार्थपरक भएकाले सम्बन्धित विषय अध्येताका हैसियतले उहाँप्रति साधुवाद ज्ञापन गर्दछु ।

वेदादि शास्त्रको आँखा मानिएको ज्योतिषशास्त्र प्रत्यक्ष मानिन्छ, किनभने आकाशीय सूर्य, चन्द्रमा यसका साक्षी छन् । हरेक विम्ब वा विषयवस्तुको सप्रमाण व्याख्या गर्नु नै ज्योतिषको प्रमुख उद्देश्य हो । ग्रह, विम्ब, तारा, नक्षत्र आदिको नामकरण तिनको वनावट प्रकृति हेरी गरिएको छ । चित्रा नक्षत्र काल्पनिक नाम होइन । यो चित्रविचित्र वर्णकै छ । यसैगरी मेषादि १२ राशिको नामकरण हचुवाका भरमा काल्पनिकरूपमा गरिएको छैन । राशि कसरी चिन्ने वा राशि भेद कसरी गर्ने ? भन्ने सम्बन्धमा त्रिस्कन्धज्ञ आचार्य वराहमिहिरले बृहज्जातकको राशिप्रभेदाध्यायमा " मत्स्यौ घटी नृमिथुनम् ....." इत्यादि प्रमाणका साथ राशिस्वरूप यसरी बताएका छन् — ' मेष भनेको भेडो हो सोही आकृतिमा, वृष भनेको गोरु हो सोही आकृतिमा, वीणा धारण गरेकी स्त्री र गदा बोकेको पुरुषको युग्म जोडी झैं मिथुन राशि, कर्कट गंगटोको आकृतिमा, सिंह जस्तो सिंह राशि,एक हातमा अन्न र अर्काे हातमा अग्नि लिएर डुँगामा बसेकी कन्या झैं कन्या राशी, तराजु झंै तुला राशि, विच्छी जस्तै वृश्चिक राशि, हातमा धनुष लिएको,घोडाको जाँघ जस्तै जाँघ भएको पुरुष जस्तो धनु राशि, मकर भनेको गोही हो अतः हरिणको मुख झैं मुख भई गोहीको झैं शरीर भएको पुरुष प्रकृतिको मकर राशि, काँधमा घडा बोकेको पुरुष झैं कुम्भ राशि र मुख तथा पुच्छर युक्त दुई वटा माछोको चित्र झैं मीन राशिको स्वरूप आकाशमा देखिनेभएकाले तत्तत् प्रकारका राशिको चित्राकृति हुनुपर्छ ।' राशि स्वरूपका सम्बन्धमा वैद्यनाथले जातकपारिजातमा र कल्याण वर्माले सारावलीमा यही लक्षण बताएकाले र यन्त्रमाध्यमले आकाशीय दृश्य अवलोकन गर्दा समेत यही प्रमाणित भएकाले राशिचित्र माथि भनिए झैं हुनुपर्दछ । जीवनाथ, मन्त्रेश्वर, यवनेश्वर, काशीनाथ, जयदेव, ढुण्डीराज, खानखाना, कालीदास जस्ता ज्योतिषी हरू एवं यवनजातक, मानसागर जस्ता ज्योतिषग्रन्थहरूले राशिशील र आकृतिका सम्बन्धमा वराहमिहिरको झैं मत प्रकट गरेकाले झनै स्पष्ट हुनजान्छ । राशिनामको शाब्दिक अर्थबाटै आकृति बुझिनेभए तापनि राशिबलका आधारमा र राशिवासस्थानका आधारमा राशि विभाजन गरी विश्लेषण गर्दा तिनीहरूको प्रकृति अझै सुस्पष्ट हुनजान्छ । यसबाट चित्राङ्कनमा समेत सरलता हुनजान्छ ।

आचार्य वराहमिहिरले वृहत्संहिताको सांवत्सरसूत्राध्यायमा बत्ती विनाको रात र सूर्य विनाको आकास जस्तो अन्धकारमय हुन्छ ज्योतिषी विनाको राज्यप्रमुख पनि त्यस्तै अन्धकारमा घुमिरहन्छ भनी ज्योतिषको प्रशंसा गरेलगत्तै ' अविदित्वैव यच्छास्त्रं...' भन्दै जान्दै नजानी दैवज्ञ हुनखोज्नु भनेको नक्षत्रसमूहलाई नै कलुषित पार्ने कलङ्कति नक्षत्र समान हुनु हो भनी अप्रावीण्य दैवज्ञको निन्दा पनि गरेका छन् । यसबाट तमाम ज्योतिषीमा आत्मसमीक्षा गर्नुपर्ने शिक्षा पाइन्छ । एकै व्यक्तिको शरीरको शिर, मुख, हात, हृदय, पेट, कटी, वस्तिस्थान, गुहृयस्थान, तिघ्रा, घुँडा, जाँघ र खुट्टालाई क्रमशः मेषादि १२ राशिको विभाग गरी जन्मकुण्डलीमा शुभाशुभ ग्रहहरूको स्थान अवलोकन गरी फलादेश गर्दा एउटा व्यक्तिमा सम्पूर्ण लक्षण घटेझैं दैनिक, साप्ताहिक, पाक्षिक, मासिक वा वाषिर्क राशिफल लेख्दा पनि चन्द्रसँग सम्बन्धित भएकाले मुख्य आधार चन्द्रमालाई मानी त्यसको स्थान, उच्चनीचता, क्षीणावस्था, पूर्णावस्था, अन्यग्रहको दृष्टि, मित्रादि अवस्था, भावस्थान आदि विचार गरी राशिफल लेख्दा सबैतिर मेल खान्छ र उपयुक्त पनि हुन्छ । लामो समयको राशिफल लेख्दा चन्द्रमाको राशिसङ्क्रमण धेरै पटक हुनेहुँदा सूर्यलाई आधार मानी लेख्नु भन्ने कुरा एकाध पाइए तापनि निरयण सूर्य र अन्य ग्रहसँगको सम्बन्धलाई नकार्न भने मिल्दैन । दैनिक राशिफल लेख्ने आधार भने चन्द्रमा नै हो अरू होइन । केवल अन्यग्रहसँगको सम्बन्धमात्रै हो । यी र यस्ता अनेकन् प्रमाण हुँदाहुँदै अर्कोभन्दा आफू पृथक् हुने सोचमा वा विशिष्टस्थान जमाउने धुनमा शास्त्रीयसिद्धान्त नाघेर स्वेच्छिक राशिचित्र र काल्पनिक राशिफलको प्रकाशन वा वकालत गर्नु वा गर्न लगाउनु वराहमिहिरका मान्यतामा ज्योतिषकुलकै कलङ्क बन्नु भएकाले सर्वाधिक पाठकको खुराक बनेको राशिफलका लेखक तथा प्रकाशन वा प्रसारण संस्थाले यस सम्बन्धमा जनमानसमा जागृत वैचारिक द्वन्द्व शमन गर्न गम्भीर चिन्तन र अध्ययन गर्नुपर्ने देखिन्छ । 

लेखक ज्योतिषाचार्य (सिद्धान्त तथा फलित) हुनुहुन्छ ।)

Saturday, November 4, 2017

मूल, गण्डान्त र अभुक्त मूलको निर्णय एवं शान्तिविधान

जुन बालबालिकाको जन्मकालमा कुनै एउटा राशि र कुनै एउटा नक्षत्र एकै पटक समाप्त हुने स्थिति सिर्जना हुन्छ, त्यस्तो अवस्थालाई गण्डान्त अवस्था मान्ने गरिन्छ । यसै समापनको स्थितिमा नै नयाँ राशि र नयाँ नक्षत्र एकै चोटि प्रारम्भ हुने भएकाले यी नक्षत्रहरूलाई मूल संज्ञक वा गण्डान्त नक्षत्र भन्ने गरिन्छ । यदि कुनै नवजात शिशुको जन्मकालमा ज्योतिषीय गणनामा रहेका सत्ताईस वटा नक्षत्रमध्ये मीन र मेष राशिको सन्धि गराउने रेवती र अश्विनी नक्षत्र, कर्कट र सिंह राशिलाई जोड्ने अश्लेषा र मघा नक्षत्र एवं बृश्चिक र धनु राशिलाई सन्धि गराउने ज्येष्ठा र मूल नक्षत्रमध्ये कुनै एउटा नक्षत्र भएमा सामान्य भाषामा त्यस बच्चाको जन्म मूलसंज्ञक वा गण्डान्त नक्षत्रमा भएको मान्ने गरिन्छ। अझ राशि र नक्षत्र एकैसाथ समाप्त हुने अश्लेषा, ज्येष्ठा र रेवती गण्डान्त नक्षत्र र अश्विनी, मघा र मूल नक्षत्र मूलसंज्ञक नक्षत्र हुन् । तर नेपाली परम्परामा यी ६ वटा नक्षत्रमध्ये पनि अश्लेषा, ज्येष्ठा र मूल नक्षत्रलाई विशेष महत्त्वका साथमा लिने गरेको पाइन्छ ।

मूल संज्ञक नक्षत्रको निर्णय

ज्येष्ठाश्लेषारेवतीनामन्ते च घटिकाद्वयम् ।
आदौ मूलमघाश्वानां भगण्डो घटिका द्वयम् ।।        - ज्योतिःसार शिरोमणि २।२४५
(ज्येष्ठा, अश्लेषा र रेवती यी नक्षत्रको अन्तिम दुई घडी तथा मूल, अश्विनी र मघाका आदिका दुई घडी नक्षत्रगण्डान्त हुन् ।)

अभुक्त मूलको निर्णय

ज्येष्ठान्ते घटिकायुग्मं मूलादौ घटिकाद्वयम् ।
अभुक्तमूलमेतत्स्यादित्येवं नारदोऽब्रबीत् ।
वशिष्ठस्तु तयोरन्त्याद्ययोरेकद्विनाडिकम् ।
अङ्गीरा घटिकामेकामन्ये षट् चाष्ट तत्र तु ।
जातं शिशुं त्यजेत्तातो न पश्येद्वाष्टहायनम् ।।
(ज्येष्ठा नक्षत्रको अन्तिमको २ घडी र मूलको सुरुको २ घडी अभुक्तमूल संज्ञक हुन्छ । यो नारदको वचन हो । वशिष्ठको मतमा ज्येष्ठाको अन्तिम १ घडी र मूलको सुरुको १ घडी अभुक्तसंज्ञक मूल हुन्छ । अङ्गीराको मतमा मत पनि वशिष्ठसँग मेल खान्छ । तर अरुअरु आचार्यहरूको मतमा ज्येष्ठाको अन्तिम ६ घडी र मूलको प्रारम्भको ६ घडी अभुक्त संज्ञक हो । यस्ता योगमा बाल उत्पन्न भयो भने बाबुले त्यसलाई त्यागीदिनु वा आठ वर्षसम्म त्यस नवजात शिशुको मुख नहेर्नु, त्यसपछि हेर्दा दोष लाग्दैन, हेर्नु हुन्छ ।)

मूल नक्षत्र जन्मफल

आद्ये पिता नाशमुपैति मूले पादे द्वितीये जननी तृतीये
धनं चतुर्थोऽस्य शुभोऽथ शान्त्या सर्वत्र सत्स्यादहिभे विलोमम् ।।     - ज्योतिःसार शिरोमणि २।२३७
(मूल नक्षत्रको पहिलो चरणमा पिताको, दोस्रो चरणमा माताको र तेस्रो चरणमा धनधान्यको नाश हुन्छ । तर अन्तिम चरणमा सबै असल हुन्छ । यद्यपि शान्ति गरे/गराएमा राम्रो हुन्छ । यस्तै अश्लेषाको विलोम फल हुन्छ । अर्थात् अश्लेषाको पहिलो पाउमा शुभ, दोस्रोमा धननाश, तेस्रोमा मातृकष्ट र अन्तिम चरणमा पितृवियोगको फल हुन्छ ।)

ज्येष्ठा नक्षत्र जन्मफल

आद्ये पादेऽग्रजं हन्ति ज्येष्ठायामनुजं द्विके ।
तृतीये जननीं जातः स्वात्मानं च तुरीयके ।।
(ज्येष्ठा नक्षत्रका पहिला चरणमा दाजुको नाश गर्छ, दोस्रा चरणमा भाइको नाश गर्छ, तेस्रा चरणमा मातालाई पिर्दछ र अन्तिम चरणमा जन्म भए आफैँ नाश हुन्छ ।)


मूल/अश्लेषा वास फल

मार्गफाल्गुनवैशाखज्यैष्ठे मूलं रसातले ।
माघाश्विननभस्येषु शुचौ मूलं सुरालये ।
पौषश्रावणचैत्रेषु कार्त्तिके भूमिसंस्थितम् ।
भूमिष्ठं दोषबहुलं स्वल्पमन्यत्र संश्रितम् ।।
(वैशाख, ज्येष्ठ, मंसिर र फाल्गुन महिनामा मूलको वास रसातल अर्थात् पातालमा हुन्छ । असार, भाद्र, आश्विन र माघमा स्वर्गमा मूलको वास हुन्छ । अनि श्रावण, कार्तिक, पौष र चैत्रमा पृथ्वीमा मूलको वास हुन्छ । मूल नक्षत्र पृथ्वीमा रहेको अवस्थामा जातकले अत्यधिक दुःख र कष्ट व्यहोर्नु पर्छ, अन्यत्र हुँदा आंशिक रूपमा मात्र व्यहोर्नु पर्दछ ।)
स्वर्गे मूले भवेद्राज्यं पाताले च धनागमः । 
मर्त्यलोके यदा मूल तदा शून्यं समादिशेत् ।।
(स्वर्गमा मूल भएमा राज्यप्राप्ति र पातालमा भएमा धनागम हुन्छ भने पृथ्वीमा भएको खण्डमा फलरहित हुने गर्दछ ।)

मूल वृक्ष विचार

जयार्णव नामक ग्रन्थमा मूल नक्षत्रलाई एउटा वृक्षको स्वरूप मानी त्यसका ६० घटिकामध्ये जुन घटिकामा बालकको जन्म भएको छ, तदनुसार फल प्राप्त गर्ने विषय उल्लेख गरिएको छ ।
मूलस्तम्भस्त्वचा शाखा पत्रं पुष्पं फलं शिखा ।
मुनयोऽष्टौ दिशो रुद्राः सूर्य्याः पञ्चाङ्घ्रयोऽग्नयः ।
मूले तु मूलनाशः स्यात् स्तम्भे वंशविनाशनम् ।
त्वचि १० मातुर्भवेत् क्लेशः शाखायां ११ सातुलस्य च ।
पत्रे १२ राज्यं विजानीयात् पुष्पे ५ मन्त्रिपदं स्मृतम् ।
फले ४ च विपुला लक्ष्मीः शिखाया ३ मल्पजीवितम् ।।
(मूल नक्षत्रका ६० घडीमध्ये सुरुदेखि क्रमशः ७ घडी फेदमा, ८ घडी स्तम्भमा, १० घडी बोक्रामा, ११ घडी हाँगामा, १२ घडी पातमा, ५ घडी फूलमा, ४ घडी फलमा र ३ घडी टुप्पोमा परेको मानिन्छ । फेदमा जन्म भए मूलनाश र स्तम्भमा भए  वंश नाश हुन्छ, त्यस्तै बोक्रामा मातृकष्ट, शाखामा दाजुभाइको हानि, पातमा राज्यप्राप्ति, फूलमा मन्त्रीपद, फलमा प्रशस्त धनसम्पत्ति प्राप्त हुन्छ भने टुप्पामा परेमा अल्पायु हुने गर्दछ ।)

यसरी नै मूल नक्षत्रलाई पुरुषाकारमा स्थापना गरेर घटिकाको विभाजन गर्ने नियम पनि छ ।
मूलस्य घटिकान्यासो मूर्ध्निपञ्च ५ नृपो भवेत् ।
मुखे सप्त ७ मृतिः पित्रोः स्कन्धे वेदा ४ महाबलः ।
बाह्वोरष्टौ बली पाण्योस्तिस्रो ३ हस्तान्वितो भवेत् ।
हृदि खेटाः ९ भूपमन्त्री नाभौ द्वौ २ ब्रह्मविद्भवेत् ।
गुह्ये दशा १०ऽतिकामी स्याज्जानुनोः षण् ६ महामतिः ।
पादयोः षण् ६ मतिस्तस्येत्युक्तवान् कमलासनः ।।
(मूलपुरुषचक्रमा क्रमशः यसका ६० घडीमध्ये सुरुका ५ घडी टाउकामा, ७ घडी मुखमा, ४ घडी काँधमा, ८ घडी पाखुरामा, ३ घडी हातमा, ९ घडी हृदयमा, २ घडी नाइटामा, १० घडी गुदद्वारमा, ६ घडी तिघ्रामा र ६ घडी खुट्टामा पर्दछ । टाउकामा परे राजा, मुखमा पितृनाश, काँधमा महाबली, पाखुरामा बली, हातमा परोपकारी, हृदयमा राजाको मन्त्री, नाइटामा ब्रह्मवेत्ता, गुदद्वारमा कामुक, तिघ्रामा विद्वान् र खुट्टामा परे चतुरो हुने फल प्राप्ति हुनेछ ।)
तर माथि बताइएको चक्र पुरुष जातक अर्थात् छोराका लागि निर्धारित गरिएको हो । स्त्री जातक अर्थात् छोरीका लागि छुट्टै नियम छ ।
चतस्रो ४ नाडिकाः शीर्षे कुर्वन्ति पशुनाशनम् ।
मुखे षट् ६ धनहानिश्च कण्ठे पञ्च धनागमः ।
कौटिल्यं हृदये पञ्च बाह्वोर्बित्तागमं च तत् ।
वेदाः ४ पाण्योर्दयाधर्म्मं वेदा ४ गुह्येऽतिकामिनी ।
ज्येष्ठमातुलनाशश्च जङ्घयोर्युग ४ नाडिकाः ।
ज्येष्ठभ्रातृविनाशश्च चतस्रो जानुयुग्मके ।
पादयोर्दश १० नाड्यश्च तत्र वैधव्यमादिशेत् ।
(यसरी नै मूल स्त्री चक्रमा ६० घडीमध्ये सुरुदेखि क्रमशः ४ घडी शिरमा, ६ घडी मुखमा, ५ घडी घाँटीमा, ५ घडी हृदयमा, ५ घडी दाहिने पाखुरामा, ५ घडी देब्रे पाखुरामा, ४ घडी दाहिने हातमा, ४ घडी देब्रे हातमा, ४ घडी गुदद्वारमा, ४ घडी तिघ्रामा, ४ घडी घुँडामा र १० घडी खुट्टामा पर्ने गर्दछ । शिरमा परे पशुनाश, मुखमा धनहानि, घाँटीमा धनहानि, हृदयमा कुटिलता, पाखुरामा धनागम, हातमा दयालु, गुह्यमा कामुक, तिघ्रामा जेठा मामालाई कष्ट, घुँडामा दाजुलाई कष्ट, खुट्टामा परे वैधव्यको फल हुन्छ ।)

यसरी नै अश्लेषाको पनि पुरुष चक्र बनाएर फलादेश गर्ने विधान छ ।
मूर्ध्नि पञ्चसु ५ पुत्राप्तिर्मुखे सप्त ७ पितृक्षयः ।
नेत्रे द्वे २ जननीनाशो ग्रीवायां स्त्रीषु लम्पटः ।
स्कन्धे वेदाः ४ गुरौ भक्ति र्हस्तेऽष्टौ ८ च बली भवेत् ।
हृद्येकादशभि ११ श्चात्मघाती संजायते नरः ।
द्वाभ्यां नाभौ भ्रमः, षड्भिर्गुदे नन्दै ९ स्तपोधनः ।
पादे पञ्च ५ धनं हन्ति सार्पादेतत्फलं क्रमाद् ।।
(अश्लेषाको पुरुष चक्रमा सुरुदेखि क्रमशः ५ घडी टाउकामा, ७ घडी मुखमा, २ घडी आँखामा, १ घडी घाँटीमा, ४ घडी काँधमा, ८ घडी हातमा, ११ घडी हृदयमा, २ घडी नाइटामा, १५ घडी गुदामा, ५ घडी खुट्टामा पर्दछ । यीमध्ये टाउकामा परे सुपुत्रवान्, मुखमा पितृनाश, नेत्रमा मातृनाश, घाँटीमा स्त्रीलम्पट, काँधमा गुरुभक्ति, हातमा बलवान्, हृदयमा आत्मघाती, नाइटामा शङ्कालु, गुदामा तपस्वी तथा खुट्टामा परे धनहानिको फलप्राप्ति हुन्छ ।)

मूल नक्षत्र जसरी नै अश्लेषा नक्षत्रको समेत वृक्षचक्र हेर्ने चलन पनि छ ।
फलं पुष्पं दलं शाखा त्वग्लता कन्द एव च । 
सार्पवल्या दशा १० क्षां ५ ङ्कं ९ स्वर ७ विश्वा १३ र्क १२ सागराः ४।
नाडिकास्तद्भवे बाले फलं ज्ञेयं यथाक्रमम् ।
श्रीः श्रीराजभयं हानिर्मातृपित्रात्मसंक्षयः ।


माथि उल्लेख भएका शास्त्रीय वचनका आधारमा पनि मूल वा गण्डान्त नक्षत्रमा जन्मनासाथ सबै स्थितिमा अशुभ फल नै प्राप्त हुन्छ भन्ने निर्णय गर्न सकिंदैन ।तर अधिकतम मानिसहरूमा के भ्रम छ भने मूलमा जन्मिएका मानिसहरू अल्पायु हुन्छन्, उसले मातापिता, मावली, हजुरबाहजुरामाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्दछ र धनवैभव नाश तुल्याउँछ । यसै भ्रमका कारण एउटा नवजात शिशुले जन्मनासाथ दुर्भाग्यको कारक हुनुपर्दछ अनि अनेक क्रियाकलापका अनिष्टपक्षको अपजश ब्यहोर्नुपर्दछ । यद्यपि सबै अवस्थामा यी सबै नक्षत्र अनिष्टकारी हुँदैनन्, समाजमा चलेका भ्रमका कारण यी नक्षत्र दुर्नाम भएको अवस्था भने विद्यमान छ ।

ज्योतिष विधाका ठूलठूला ग्रन्थहरू र शतपथ ब्राह्मण एवं तैत्तिरीय ब्राह्मणमा मूलसंज्ञक नक्षत्रको चर्चा गरिनुका साथै तिनको वेदोक्त मन्त्रद्वारा उपचारका प्रसङ्गमा विस्तारपूर्वक वर्णन गरिएको भेटिन्छ । यता ज्योतिषीय फलादेशलाई महत्त्व दिने केही जातक ग्रन्थहरूमा समेत उक्त मूलसंज्ञक नक्षत्र सदैव अनिष्टकारी हुने ठोकुवा गरेको भेटिंदैन । कतिपय अवस्थामा यी नक्षत्रको स्वतः अरिष्टशमन भएको समेत देखिन्छ । त्यसैले यहाँ प्रत्येक अवस्थामा मूलसंज्ञक नक्षत्र अरिष्ट नहुने देखिएकाले मूलसंज्ञक नक्षत्रका बारेमा फलादेश गर्नुअघि गहिरो चिन्तन गरेर निर्णय लिनु जायज हुन्छ । मेरो व्यक्तिगत अनुभवका आधारमा मूलसंज्ञक नक्षत्रको अरिष्टपक्ष तीस प्रतिशत व्यक्तिलाई मात्र लागू भएको देखिएको छ । सत्तरी प्रतिशत व्यक्ति यस प्रभावबाट स्वतः मुक्त हुन्छन्। तिनलाई सामान्य ढङ्गले स्वस्तिशान्ति गरिदिंदा हुन्छ ।

मूल नक्षत्र स्वतः परिहार हुने केही अवस्थाहरू

१) बालबालिकाको जन्म यदि गण्डान्त नक्षत्रहरू अश्लेषा, ज्येष्ठा र रेवतीको अन्तिम चरणमा भएको छैन भने गण्डान्त जन्मको दोष तिनले भोग्नु पर्दैन ।

२) त्यस्तै कुनै जातक मूलसंज्ञक नक्षत्रहरू अश्विनी, मघा र मूलको पहिलो पाउमा जन्मिएका छैनन् भने तिनले पनि त्यस योगबाट सिर्जना हुने अनिष्ट पाटोको सिकार बन्नु पर्दैन ।

३) बच्चाको जन्मसमयमा यदि वृष, सिंह, वृश्चिक वा कुम्भ लग्नको उदय छ भने ती भाग्यमानी नै हुने गर्छन्, न कि दुर्भाग्यका कारक ।

४) दिउँसो र रात्रीकालको जन्मबाट पनि मूलसंज्ञक र गण्डान्त नक्षत्रमा पाइने शुभाशुभ फलको प्रभाव परेको देखिन्छ, जस्तै जातक पुरुष हो र ऊ दिवाकालमा जन्मिएको छ भने र जातक स्त्री हो र ऊ रात्रीकालमा जन्मिएकी छ भने अनिष्ट फल ब्यहोर्नु पर्दैन ।

५) जन्मिएको दिनमा कुन बार छ, त्यसका आधारमा समेत यी गण्डान्त र मूलसंज्ञक नक्षत्रको परिणाम लेखाजोखा गर्ने परिपाटी छ, जस्तै मङ्गलबार र शनिबारबाहेक अन्य बारमा जन्मिएका बालबालिकाहरूमा गण्डान्त र मूलको अनिष्ट प्रभाव कम रहेको देखिन्छ । मङ्गलबारलाई उग्रसंज्ञक र शनिबारलाई तीक्ष्णसंज्ञक नक्षत्र मानिने भएकाले त्यस दिन जन्मिएका जातकमा भने गण्डान्त र मूल नक्षत्रको दुष्प्रभाव बढी हुने सम्भावना हुन्छ ।

६) ज्योतिषशास्त्रका केही शुभ र अशुभ मानिएका योगहरू जस्तै छत्र योग, कालसर्प योग, गजकेसरी योग, सिद्धि योग, सर्वार्थसिद्धि योग, गुरुपुष्य योग, रविपुष्य योग, पुष्कर योग, अमृतसिद्धि योग, राजयोग, द्विपुष्कर एवं त्रिपुष्कर योगका साथमा जातक जन्मन गएमा समेत गण्डान्त र मूलसंज्ञक नक्षत्रको दुष्परिणाम प्राप्त हुँदैन ।

यद्यपि सबै अवस्थामा गण्डान्त र मूलसंज्ञक नक्षत्रले बिगार गर्दैनन् । तर यीमध्ये अश्लेषा नक्षत्रमा जन्म लिने व्यक्तिको सुरुमा बुध ग्रहको र भ्रामरी योगिनीको दशाकालमा, ज्येष्ठा नक्षत्रको बुध ग्रह र भद्रिका योगिनीको दशाकालमा, रेवती नक्षत्रको बुध ग्रह र उल्का योगिनीको दशाकालमा जन्म हुने एवं अश्विनी नक्षत्रमा जन्मने बालबालिकाको जन्मकालमा केतु ग्रह र भ्रामरी योगिनीको दशाकालमा, मघा नक्षत्रको केतु ग्रह र भद्रिका योगिनीको दशाकालमा र मूल नक्षत्रको केतु ग्रह र उल्का योगिनीको दशाकालमा जन्म हुने भएकाले बाल्यावस्थामा विशेष गरी तिनको बुध/भद्रिका, केतु/उल्का, राहु/उल्का, शनि/उल्का, राहु/सङ्कटाको संयुक्त दशावधि चलेको समय संवेदनशील रहने कुरामा भने तिनका अभिभावकले सचेत र सावधान रहनु आवश्यक हुन्छ। विशेषतः ती नक्षत्रमा जन्मिएका बालबालिका मध्ये बुधको दशाकालमा तिनको कुण्डलीमा बुध ग्रह बसेको र उसको दृष्टि परेको घरमा अनि केतु ग्रहको उपस्थिति रहेको र दृष्टि रहेको घरमा केही नकारात्मक फल प्राप्त हुने हुँदा मूलसंज्ञक नक्षत्रको एकपल्ट विधिविधानपूर्वक शान्ति कर्मसम्पादन गर्नु अनिवार्य हुन आउँछ ।

मूल शान्तिका लागि आवश्यक सामाग्री

मूलशान्ति कर्म गर्दा घरमा सामान्य रुद्री र हवन गर्दा जेजति सामाग्री चाहिने हो, त्यति नै सामाग्रीमा केही थप सामाग्री जुटाएर गर्न सकिन्छ । यस कर्ममा विशेष गरी मूल नक्षत्रलाई केन्द्रमा राखी सत्ताईसवटा नक्षत्रको विशेष पूजा हुने भएकाले ती नक्षत्रका देवताको प्रतीकका रूपमा सत्ताईस वटा प्रतिमाको आवश्यकता हुन्छ । भरिसक्य सुनको वा कुनै एउटा धातुबाट निर्माण भएका सत्ताईस वटै प्रतिमा, सम्भव नभए कम्तीमा तीनवटा र त्यो पनि सकिंदैन भने कम्तीमा एउटा देवप्रतिमाको निर्माण गराउनु पर्दछ । यसरी प्रतिमा निर्माण गर्दा एउटा ठूलो र मूल्यवान्, अरु दुईवटा अलि साना र बाँकी चौबीस वटा सामान्य प्रतिमा बनाउने चलन छ । एउटामात्र प्रतिमा बनाएको अवस्थामा मूल प्रतिमाबाहेक अन्य छब्बीस वटा नक्षत्रका लागि एकएक वटा गिल्टी पैसा (डलर) वा सुपारीको प्रयोग गर्न सकिन्छ । त्यसबाहेक मूल शान्तिमा प्रयोग गरिने तामाको एउटा नयाँ कलश, त्यसमाथि राखिने सुन, चाँदी वा तामा (इच्छानुसारको) एउटा नयाँ थालीसमेत खरिद गर्नु पर्दछ । स्नान गर्दा सहस्रधारा सृजना होस् भन्ने उद्देश्यले चाल्नीको प्रयोग गरिन्छ । त्यसैले सुन, चाँदी, तामा वा बाँसको इच्छानुसार नयाँ चाल्नी पनि किन्नुपर्दछ । शान्तिकर्मपछि उक्त थाली, चाल्नी, कलश र प्रतिमा शान्ति गराउने पण्डितजीलाई दान गर्ने विधान छ । यसबाहेक जसको मूल शान्ति गर्ने हो, उसलाई र मुख्य कर्ता (भएसम्म जातकको पिता) ले लगाउने एकसरो नयाँ लुगा पनि किन्नु पर्दछ । त्यसबाहेक आफ्नो इच्छानुसार पूजासामाग्रीहरू गोदानका लागि एउटा लैनो गाई (सम्भव नभए त्यसको सट्टामा नगद, गोदान द्रव्य), लगभग दुई पाथी जति चरु (हवन सामाग्री), ब्राह्मणको सङ्ख्या हेरी वरणसामाग्री (सामर्थ्य बमोजिम धोती, गम्छा, कपडा, टोपी आदि), अग्निस्थापना विधि सम्पन्न गर्न आवश्यक पर्ने पूजासामाग्री, चन्दन, राता, काला र नीला अक्षता, कुमकुम, अगरबत्ती, धूप, फलफूल, माला, तिल, जौ, कुश, समिधा (सामान्य दाउराका अतिरिक्त विशेष गरी पलाश र खयरका समिधा तथा ग्रहका लागि छुट्टाछुट्टै समिधा समेत), च्यातचुते कपडा (रातो, सेतो, पहेंलो, कालो), धानचामल, आवश्यक खाद्यपदार्थ, चानचुने पैसा (करिब २०० थान), भेटीदक्षिणा, भाडाकुँडा, दुनाटपरी आदि आवश्यक पर्दछ । सौभाग्यवती स्त्रीहरू, कन्याकुमारीहरू, ब्राह्मणहरू, गरिबगुरुबाहरू आदिलाई विशेष निमन्त्रणा गरी भोजन गराई वस्त्रपात्रादि दान गरी दक्षिणा समेत दिनु पर्दछ ।

मूल शान्तिको प्रयोग

देश, काल र परिस्थितिअनुसार नक्षत्रको कुण्डलीगत दोषका आधारमा योग्य र कर्मकाण्डी ब्राह्मणद्वारा वैदिक यज्ञ र पूजासम्पादन गर्दा मूलदोष शान्त हुने विश्वास गरिन्छ । त्यसबाहेक जातकले मूलशान्ति गर्न सम्भव नभएमा जातकको लग्नेशलाई विचार गरी जीवनरत्न वा लग्नेशको प्रतीकात्मक रुद्राक्ष धारण गर्दा समेत मूलको प्रभाव न्यूनीकरण भएको देखिन्छ । बुधको प्रभाव अनिष्टकारक भएमा चार वा छमुखे र केतुको प्रभाव अनिष्टकारक भएमा नौ वा तेह्रमुखे रुद्राक्ष धारण गर्दा समेत शुभफल प्राप्त हुन्छ । मूलशान्ति कर्म सम्पादन गर्न नौजना योग्य र दक्ष ब्राह्मणको आवश्यकता पर्दछ । उक्त कर्म गर्दा अग्निस्थापना र रुद्रीपूजा गर्नु अनिवार्य हुन्छ । त्यसैले अग्नि र शिववास जुरेको कुनै गण्डान्त वा मूलसंज्ञक नक्षत्र रहेकै दिनमा कर्मसम्पादन गर्नु पर्दछ । कर्मसम्पादन गर्दा निम्न सामाग्री खोजमेल गरी दिइएको विधिबमोजिम सम्पादन गर्नु पर्दछ ।

१) १०८ वटा मूलको पानी, १०८ वटा पवित्र स्थलको माटो र १०८ वटा भिन्नभिन्न वनस्पतिको पात जम्मा पारी महादशाचक्र बमोजिम जन्मकालको आद्यदशा प्रदान गर्ने ग्रहको तान्त्रिक वा वैदिक मन्त्रको एक लाख पच्चीस हजार पटक जाप गराउनु पर्दछ।

२) सम्बद्ध ग्रहको दानसामाग्रीका अतिरिक्त चामल, गुड़, घिउ, कालो तिल, गहुँ, कम्बल, जौ आदि सामाग्री समेत दान गर्नु पर्दछ।

३) मूलशान्ति कर्मसम्पादन गर्दा बुधको आद्यदशा भए भगवतीको कुनै शक्तिपीठ वा देवीदेउरालीमा र केतुको आद्यदशा भएमा शिवालयमा गर्दा प्रभावकारी ढङ्गले शुभफल प्राप्त हुन्छन्। त्यसबाहेक मुक्तिक्षेत्र, पाशुपत क्षेत्र, परशुराम क्षेत्र, हरिहर क्षेत्र, कुरुक्षेत्र, बाराहक्षेत्र आदि तीर्थस्थलमा यी कर्म सम्पादन गर्नु अझ प्रभावकारी हुन्छ भन्ने विश्वास पनि गरिन्छ।

मूल नक्षत्रमा जन्मिएका जातकका पिताले नामकरण संस्कारका दिन, जन्मभएको १२ दिनका दिन, २७ दिन भित्रको कुनै शुभ दिन वा कुनै वर्षको जन्मनक्षत्रका दिन वा रुद्रीहवन जुरेको कुनै पनि शुभ दिनमा यज्ञको आयोजना गर्न सकिन्छ । यस क्रममा मूल यजमान (सकेसम्म कर्म चलेको भए जातक स्वयं नत्र जातकको पिता) ले सबैभन्दा पहिले स्वस्तिवाचनपूर्वक विघ्नहर्ता भगवान् गणेशको पूजा गरी पवित्र आसनमा बसी आचमनादि गरी पाद्यअर्घ्यादि पूजनसामाग्री तैयार गरी सङ्कल्प गर्नुपर्छ । (अद्येहेत्यादि अमुक राशिरमुकशर्म्माहम् अमुकराशे पुत्रस्य कन्याया वा मूलनक्षत्रस्यामुकपादजननशान्तिकर्मणि गोमुखप्रसवकर्मणि च निर्विघ्नतया कार्य्यसिद्धये भगवतो गणेश्वरस्य पूजनं कारयिष्ये)

सङ्कल्प गरेपछि भगवान् गणेशलाई यथोपचार पूजा गरी जौतिलकुशमिश्रित तिलानीको पानी हातमा लिएर तिथि, नक्षत्र, वार, योग, करण आदि पञ्चाङ्गको स्मरण गरी मुख्य सङ्कल्प गर्नुपर्दछ । (अद्येहेत्यादि स्मृत्वा अमुकगोत्रोऽमुकराशिरमुकनाम्नः पुत्रस्य मूलनक्षत्रामुकपादजननामुकारिष्टनिवृत्तिपूर्वकसर्वोपद्रवशान्त्यर्थं शुभफलप्राप्तये शौनकोक्तप्रकारेण गोमुखप्रसवपूर्वकं मूलशान्तिं कारयिष्ये तत्पूर्वाङ्गत्वेन मातृपूजापुण्याहवाचननान्दीश्राद्धानि करिष्ये तथा मूलशान्तिकर्मसम्पत्तये आचार्य्यब्रह्मणो सदस्यत्र्विजां च सप्तशतीशान्तिकसूक्तादिपाठकर्तृणां ब्राह्मणानां पूजनपूर्वकं वरणं च करिष्ये)

यसरी सङ्कल्प गरी यथायोग्य मातृपूजा, नान्दीश्राद्ध, पुण्याहवाचन आदि कर्म गरी आचार्यहरूलाई पूजादि र वरण गरी यजमानले करबद्ध भई यथाविहितं कर्म कुरुध्वम् भन्नु र आचार्यहरूले पनि करवामः भनी स्वीकृति प्रदान गर्नुपर्दछ । त्यसपछि आचार्यहरूले यज्ञमण्डपमा गई आचार्य, ऋत्विक् र सदस्यहरू यथास्थानमा बसी यज्ञको प्रारम्भिक विधि अग्निसंस्कारादि चतुस्वस्ति होमपर्यन्तको कर्म गरी पुण्यतीर्थहरूबाट सङ्ग्रह गरिएको अभिमन्त्रित जल र पञ्चगव्यले भूमि शुद्ध बनाई मण्डपको नैऋत्य दिशामा वेदी बनाई त्यसमा चौबीस दलको (चतुर्विंशतिदलको कमल आकार) रेखी हाली वा चामल वा रङको प्रयोग गरी मूलचक्र निर्माण गरी त्यसको माझमा तामाको कलश स्थापना गरी त्यसको कलशस्थापन विधिको प्रयोग गरी पूजादि गरी त्यसमाथि सुन, चाँदी वा तामाको यथायोग्य थाली राखी त्यसमाथि यथाशक्ति निर्माण गरिएको निऋतिको प्रतिमा अग्निसंस्कारद्वारा शुद्ध तुल्याई दूध, दही, घिउ, मह र चिनीले स्नान गराई ॐ मनोजूति ........ भूर्भुवः स्वः मूलनक्षत्रस्वामिन्निऋते इहागच्छेहतिष्ठसुप्रप्रतिष्ठितो वरदो भव भनी स्थापना गर्नुपर्दछ । उक्त प्रतिमाको दाहिनेपट्टि ज्येष्ठा नक्षत्रका देवता इन्द्रको र देब्रेपट्टि पूर्वाषाढा नक्षत्रका देवता तोयको स्थापना गर्नुपर्दछ । त्यसपछि चौबीस दलको कमलको पूर्वबाट ईशानसम्म क्रमशः उत्तराषाढा नक्षत्रदेखि सुरु गरी श्रवण, धनिष्ठा आदि क्रमले अनुराधा नक्षत्रपर्यन्तका देवताको स्थापना गर्नुपर्दछ । (उक्त क्रममा प्रत्येक नक्षत्रका देवताको उच्चारण गर्दै ॐ भूर्भुवः स्वः उत्तराषाढादेवाः इहागच्छेहतिष्ठसुप्रप्रतिष्ठितो वरदो भव, ॐ भूर्भुवः स्वः श्रवणदेव इहागच्छेहतिष्ठसुप्रप्रतिष्ठितो वरदो भव, ॐ भूर्भुवः स्वः धनिष्ठादेव इहागच्छेहतिष्ठसुप्रप्रतिष्ठितो वरदो भव भनी समस्त चौबीसवटै नक्षत्रको नामोच्चारणका साथमा स्थापना गर्नुपर्दछ र अन्तिममा ॐ भूर्भुवः स्वः विश्वेदेवाआरभ्यमित्रपर्य्यन्ताः देवताः सुप्रतिष्ठिता भवन्तु भनी सबैको पूजा गरिदिनु पर्दछ । )

यसरी २७ वटै नक्षत्रको स्थापना गरेपछि ईशान कलशको विधि प्रयोग गरी कलशमा ब्रह्म, वरुणसमेत नवग्रहको आह्वान गरी पूजाका लागि सङ्कल्प गर्नुपर्दछ । (अद्येहेत्यादि अमुकराशिरमुकशम्र्माहं अमुकराशेः पुत्रस्य मूलनक्षत्रामुकपादजननामुकारिष्टनिवृत्तये शुभफलप्राप्तये मूलशान्तिकम्र्मणि सुवर्णप्रतिमायां अधिदेवताप्रत्यधिदेवतासहितस्य मूलाधिदेवस्य निर्ऋतेः उत्तराषाढादिनक्षत्रदेवतानां विश्वेदेवादिमित्रान्तानां पूजनं करिष्ये तथा कलशे आवाहितानां ब्रह्मवरुणसहितादित्यादिनवग्रहाणां साधिप्रत्यधिदेवानां च यथामिलितोपचारैः पूजनं करिष्ये ।)

यसपछि निर्ऋति देवताको ध्यान गर्नुपर्दछ –
संस्मरेन्निर्ऋतिं श्यामं सुमुखं नरवाहनम् । रक्षोऽधिपं खड्गहस्तं दिव्याभरणभूषितम् ।

अब इन्द्रको ध्यान गर्नुपर्दछ –
वराभयकरः साक्षाद्द्विभुजो रक्तवर्णकः । पद्मासनोपविष्टश्च ध्यातव्यो मघवा नरैः ।

अब तोयको ध्यान गर्नुपर्दछ –
पाशयुग्मधरो देवो द्विभुजः श्वेतवाहनः । ध्यातव्यस्तोयदेवस्तु मीनस्योपरि संस्थितः ।

यसरी नै चौबीस दलको कमलमा स्थापना गरिएका समस्त विश्वेदेवादि नक्षत्रका देवताहरू र नवग्रह आदिको नाममन्त्रले ध्यान गर्नुपर्दछ । अब मुख्यदेवता निर्ऋतिदेवको ॐ मोषुण परावरा निर्ऋतिर्द्रुहिणावदी तदतृष्णा तृष्णया सह यस मन्त्रले आवाहन गरी आसनादि प्रदान गरी पूजा गरिदिनु पर्छ । इन्द्र र तोयको पनि यसरी नै पूजा गरी स्थापित अन्य २४ वटै नक्षत्र देवताहरूलाई पनि ॐविश्वेभ्यो देवेभ्यो नमः, ॐगोविन्दाय नमः, ॐवसुभ्यो नमः, ॐवरुणाय नमः, ॐअजचरणाय नमः, ॐअर्हिबुध्न्याय नमः, ॐपूष्णे नमः, ॐदस्राभ्यां नमः, ॐयमाय नमः, ॐअग्नये नमः, ॐब्रह्मणे नमः, ॐचन्द्राय नमः, ॐशिवाय नमः, ॐअदितये नमः, ॐगुरवे नमः, ॐसर्प्पेभ्यो नमः, ॐपितृभ्यो नमः, ॐभगाय नमः, ॐअर्य्यम्णे नमः, ॐरवये नमः, ॐत्वष्ट्रे नमः, ॐत्रायवे नमः, ॐशक्राग्नीभ्यां नमः, ॐमित्राय नमः भनी नाममन्त्रले आवाहन, आसनादि प्रदान गर्नुपर्दछ । अब मुख्यकलशमा आदित्यादि नवग्रहको आकृष्णेन आदि वेदमन्त्रले आदित्याय नमः, सोमाय नमः इत्यादि नाममन्त्रको उच्चारण गर्दै त्यसरी नै पूजा गरिदिनु पर्छ । अब मुख्यदेवता निर्ऋतिदेवलाई रातो चन्दन, फूल, काला अक्षता आदिको प्रयोग गरी षोडशोपचार पद्धतिले पुष्प समर्पणपर्यन्तको पूजा गरिदिनु पर्दछ । यसरी नै पूर्वस्थापित अन्य देवताको पूजादि गर्नुपर्दछ ।

यसपछि वेदीको ईशानकुनामा कम्तीमा एकपाथी परिमाणको धान ओछ्याई त्यसमाथि एउटा कलशको स्थापना गरी स्वस्तिक चिह्नले युक्त थाली राखी त्यसमाथि शिवजीको स्थापना गर्नुपर्दछ र सङ्कल्प (अद्यहेत्यादि अमुकोऽहं मूलशान्तिकम्र्मणि रुद्रकलशे सुवर्णप्रतिमायां श्रीरुद्रस्य पूजनं करिष्ये) गरी ॐभूर्भुवः स्वः सुवर्ण प्रतिमायां श्रीरुद्र सुप्रतिष्ठितो वरदो भव भनी शिवप्रतिमाको स्थापना गरी महामृत्युञ्जय मन्त्रको उच्चारण गर्दै ध्यान गर्नुपर्दछ –
ॐत्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्द्धनम् । उर्वारुकमिवबन्धनान्मृत्योर्मुक्षीय मा मृतात् ।।

यसरी नै उक्त मन्त्रको उच्चारण गर्दै आवाहन, आसन, पाद्यादि विधिले शिवजीको पूजा गरिदिनु पर्छ । त्यसपछि एघार आवृत्ति रुद्री, आशुः शिशान, अप्रतिरथकवचं, नमस्ते रुद्रमन्यवका सोह्रमन्त्र, शतरुद्रानुवाकं त्वं यविष्ठदाशुषे, रक्षोघ्नं रक्षोहण, कृणुष्वपाज आदि मन्त्रको एघार एघार पटक छुट्टै पाठ गरिदिनु पर्दछ । अनि त्र्यम्बकं यजामहे भन्ने मन्त्रको एक सय आठ पटक र पुनन्तु मा देवजनापावमानीश्च मन्त्रको एक पटक पाठ गर्नु पर्दछ ।

यसपछि प्रधान निर्ऋति देवतालाई धूप दिनुपर्दछ । यसरी धूप दिंदा मेषश्रृङ्गादिधूपैश्च दीपैश्चैव विशेषतः । सुरापोलिकमांसाद्यैस्तथा गोरोचनादिभिः भनिएको छ । तर मत्स्यमांससुरादीनि ब्राह्मणः परिवर्जयेत् सुरास्थाने प्रदातव्यं क्षीरं सैन्धवमिश्रितम् । पायसं लवणोपेतं मांसस्थाने प्रदापयेत् । भनिएको हुँदा दूध र खिरमा नुन मिसाएर नैवेद्य चढाउनु पर्दछ । यति गरेपछि समस्त देवताको नीराजन (आरती) गरी पुष्पाञ्जली गरिदिनु पर्छ ।

यसपछि पहिल्यै नै पञ्चभूसंस्कार गरी स्थापना गरिएका अग्निकुण्डमा गई द्रव्यत्याग सङ्कल्प गर्नुपर्दछ । (अद्येहेत्यादि अमुकोऽहं मूलशान्तिकम्र्मणा यक्ष्ये तत्र आघाराज्यभागदेवताभ्य इदमाज्यं तथा इदं सम्पादितं पायससमित्कृसरादि-चरुद्रव्यं निर्ऋतीन्द्र-तोय-विश्वेदेव-गोविन्द-वसु-वरुणाजपादहिर्बुध्न्य-पूष-दस्र-यमाग्नि-प्रजापतीन्दु-शिवादिति-गुरु-सर्प-पितृ-भगार्य्यमा-रवि-त्वष्ट्र-वायुयन्द्राग्निमित्र-नवग्रह-रक्षोघ्न-वामदेव-दुर्गा-ऋत्विक्स्तुत्वास्तोष्पत्यग्नि-क्षेत्रपाल-मित्रावरुण-विरुपाक्षाग्नि-श्री-सोम-रुद्र-स्विष्टकृदग्निभ्यो महाव्याहृतिदेवताभ्यः सर्वप्रायश्चित्तदेवताभ्यः प्रजापतये च मया परित्यक्तं ॐतत्सत् यथादैवतमस्तु ।)

प्रधानदेवताहोमः

प्रजापति, इन्द्र र अग्निको हवन गरेपछि प्रधानदेवता निर्ऋतिको घृतमिश्रित पायसको चरु प्रयोग गरी पलाश, खयर वा अन्य समिधामा १०८ पटक होम गर्नुपर्दछ ।

विनियोग – मोषूणपरावरेति अघोरकर्णऋषिर्गायत्रीच्छन्दो निर्ऋतिर्देवता घृतमिश्रितपायसादिद्रव्येणाष्टोत्तरशतसंख्यया होमे विनियोगः
मन्त्र – ॐ मोषूणः परावरा निर्ऋतिर्द्रुहिणावदी तरतृष्णः तृष्णया सह । स्वाहा इदं निर्ऋतये ।

त्यसपछि अधिदेवता इन्द्र र प्रत्यधिदेवता तोयका निमित्त अट्ठाईस अट्ठाईस पटक हवन गर्नुपर्दछ ।
विनियोगः – इन्द्रआसामिति प्रजापतिर्ऋषिस्त्रिष्टुप्छन्दः इन्द्रो देवता पायसाज्येनाष्टाविंशतिसंख्यया होमे विनियोगः
मन्त्र – ॐ इन्द्रऽआसान्नेता बृहस्पतिर्द्दक्षिणा यज्ञःपुरऽएतु सोमः देवसेनानामभिभञ्जतीनाञ्जयन्तीनां मरुतो यन्त्वग्रम् । स्वाहा इदमिन्द्राय ।

विनियोग – आपोहिष्ठेति सिन्धुद्वीपऋषिर्गायत्रीच्छन्द आपो देवता अपां प्रीतये अष्टाविंशतिसंख्यया होमे विनियोगः ।
मन्त्र – ॐआपोहिष्ठा मयोभुवस्तानऽऊर्ज्जेदधातन महेरणाय चक्षसे । स्वाहा इदमद्भ्यः ।

यसपछि चौबीस दलको कमलमा स्थापना गरिएका प्रत्येक देवताहरूलाई आठ आठ पटक नाममन्त्रले पायस हवन गरिदिनुपर्दछ । क्रमशः ॐविश्वेभ्यो देवेभ्यो नमः स्वाहा इदं विश्वेभ्यो देवेभ्यः । ॐगोविन्दाय नमः स्वाहा इदं ........। ॐवसुभ्यो नमः स्वाहा इदं ........। ॐवरुणाय नमः स्वाहा इदं ........। ॐअजचरणाय नमः स्वाहा इदं ........। ॐअहिर्बुध्न्याय नमः स्वाहा इदं ........। ॐपूष्णे नमः स्वाहा इदं ........। ॐदस्राभ्यां नमः स्वाहा इदं ........। ॐयमाय नमः स्वाहा इदं ........। ॐअग्नये नमः स्वाहा इदं ........। ॐधात्रे नमः स्वाहा इदं ........। ॐचन्द्रमसे नमः स्वाहा इदं ........। ॐशर्वाय नमः स्वाहा इदं ........। ॐअदितये नमः स्वाहा इदं ........। ॐबृहस्पतये नमः स्वाहा इदं ........। ॐसर्प्पेभ्यो नमः स्वाहा इदं ........। ॐपितृभ्यो नमः स्वाहा इदं ........। ॐभगाय नमः स्वाहा इदं ........। ॐअर्य्यम्यो नमः स्वाहा इदं ........। ॐसवित्रे नमः स्वाहा इदं ........। ॐत्वष्ट्रे नमः स्वाहा इदं ........। ॐवायवे नमः स्वाहा इदं ........। ॐशक्राग्नीभ्यां नमः स्वाहा इदं ........। ॐमित्राय नमः स्वाहा इदं मित्राय भनी नक्षत्रका चौबीस वटै देवताको हवन गरेपछि आकृष्णेन आदि मन्त्रले नवग्रह प्रत्येकलाई आठआठ पटक हवन गरिदिनु पर्छ । यसपछि दाल र चामलमिश्रित कृसरले रक्षोहा देवतालाई आठ पटक हवन गर्नुपर्छ ।

विनियोग – कृष्णुस्वेति पञ्चर्चस्य वामदेवऋषिस्त्रिष्टुप्छन्दो रक्षोहा देवता अष्टसंख्यया कृसर होमे विनियोगः
मन्त्र – ॐकृष्णुस्व पाजः प्रसितिं च पृथ्वीं याहि राजेवामवाँ२ । इभेन तृष्वीमनुप्रसितिं द्रूणानोस्तासि विध्यरक्षसस्तपिष्ठैः स्वाहा । इदमग्नये १।

ॐतव भ्रमासऽआशुया पतन्त्यनुस्पृश धृषता शोशुचानः तपुϑष्यग्ने जुह्वा पतङ्गानसन्दितो विसृज विष्वगुल्काः स्वाहा । इदमग्नये २।

ॐप्रतिस्पशो विसृज तूर्णितमो भवापायुर्विशोऽअस्या अदब्धः । यो नो दूरेऽअघशϑसो योऽअन्त्यग्ने माकिष्टे व्यथिराघर्षीत् स्वाहा । इदमग्नये ३।

ॐउदग्ने तिष्ठ प्रत्यातनुष्वन्यमित्राँ२ । ओषतात्तिग्महेते । या नोऽअरातिϑसमिधान चक्रे नी तं धक्ष्यतसन्न शुष्कं स्वाहा । इदमग्नये ४।

ॐऊर्द्ध्वो भव प्रतिविध्याध्यस्मदाविष्कृष्णुष्व दैव्यान्यग्ने अवस्थिरा तनुहि यातुजूनां जामिमजामिं प्रमृणीहि शत्रून् स्वाहा । इदमग्नये ५।

यसपछि गायत्री मन्त्रले सविता देवतालाई, ॐ जातवेदसो मन्त्रले दुर्गालाई, महामृत्युञ्जय मन्त्रले रुद्रलाई, ॐ सीरायुञ्जन्ति मन्त्रले ऋत्विक्स्तुतिलाई, ॐ तामग्निवर्णां मन्त्रले दुर्गालाई, ॐवास्तोपते मन्त्रले वास्तुदेवतालाई, ॐअग्निमीले मन्त्रले अग्निलाई, ॐक्षेत्रस्यपतीनां मन्त्रले क्षेत्रपाललाई, ॐगृणाना जमदग्निना मन्त्रले मित्रावरुणलाई, ॐअग्निन्दूतं पुरोदधे मन्त्रले विरुपाक्ष नामका अग्निलाई समेत आठआठ पटक कृसर हवन गरिदिनु पर्छ । कृसर हवन पछि श्रीसूक्तको पाठ गरी प्रत्येक मन्त्रले श्रीदेवीलाई चरुले हवन गरिदिनु पर्छ ।

त्यसपछि पुनः पायसले ॐत्वन्नः सोम विश्वतो गोपा मन्त्रले सोमलाई र ॐया ते रुद्र शिवा मन्त्रले रुद्रलाई हवन गरेर पुनः कृसर, पायस र चरुमिश्रित सामाग्रीद्वारा ॐ अग्नये स्विष्टकृते स्वाहा भनि अग्निमा हवन गर्नुपर्दछ । त्यसपछि भूरादि आहुति गर्नुपर्दछ । यसपछि यज्ञको उत्तरार्द्धमा गरिने प्रक्रियाहरू क्रमशः पूर्णपात्र, मासभक्तपायसबलि, पूर्णाहुति गर्नुपर्दछ । यसपछि यज्ञान्तगोदान, दक्षिणा सङ्कल्पादि गरी यज्ञसमापन गर्नुपर्दछ ।

यज्ञको विधि समाप्त भएपछि घर वा पूजास्थलको मूलआँगनमा यज्ञमा प्रयोग भएका निर्ऋतिकलश, ईशानकलश आदिको जल अभिमन्त्रित गरी मूल नक्षत्र भएको जातकका साथमा यज्ञका कर्ता तथा यजमानहरूलाई पहिरिएका कपडाका साथमा विभिन्न शान्तिमन्त्र, वसुधाराको मन्त्र, पुरुषसूक्त, श्रीसूक्त र अन्य स्तुतिहरूको पाठ गर्दै सुन, चाँदी, तामा वा यथायोग्य बनाइएको चालनी माथिबाट स्नान र अभिषेक गरिदिनु पर्दछ । अभिषेक गरेको जातकले पुराना वस्त्र त्यागी नूतन वस्त्र धारण गरेर ब्राह्मणहरूलाई भोजन, दक्षिणा, वस्त्राभूषण प्रदान गरी प्रसन्न तुल्याउनु पर्दछ । अस्तु ।

Monday, July 24, 2017

अपरेशन : कालसर्प योगको

पछिल्लो समयमा कालसर्प योगको चर्चापरिचर्चा खुब राम्रोसित भएको पाइन्छ । कालसर्प योग भएका जातकहरूको जीवनचर्यामा केही साझा विशेषताहरू पनि प्राप्त भएको देखिन्छ, जसका कारण अाम मानिसहरू ए कालसर्प योगका कारण जीवन तनावग्रस्त पो भइहाल्छ कि भनी छिट्टै प्रभावित पनि भइहाल्छन् । कालसर्प योग भएका भनिएका जातकहरूमा देखिने साझा विशेषताहरू निम्नानुसार छन् भनी कतिपय ज्योतिषीले भनेको सुन्न पाइन्छ, जस्तै : -

१-     घरमा मानसिक असन्तुष्टि, चिडचिडेपना र कलहको वातावरण हुनु । 
२- धनागम र दैनिकी सञ्चालनका लागि व्यस्त जीवनचर्या कायम हुनु, कडा मिहिनेत र परिश्रम गरी धनार्जन गर्नुपर्ने र अाएको धन दैनिकी र व्यवहारिक समस्यामा तुरुन्त खर्च भइहाल्ने परिस्थिति सिर्जना भइरहनु ।
३-     परिवारका सदस्यहरू बढी महत्त्वाकाङ्क्षी हुनु, साैखिन जीवनचर्या कायम हुनु, एकै ठाउँमा भेला भएको बेला पनि काल्पनिक वा असम्भव कुराहरूमा तर्कवितर्क गरी रहनु, तर टाढा जाँदा वा दूरी बढ्दा एकअर्काप्रति प्रेमभाव प्रदर्शन गर्ने वा खोजीनीति गरी रहने । परिवारका सदस्यको उचित समयमा उचित काम वा उन्नतिप्रगति हुन नसक्नु (जस्तै विवाह, व्यवसायिक जीवन वा अन्य पेसा, रोजगारी, पठनपाठन अादिमा योग्यता, क्षमता वा वातावरण हुँदाहुँदै अाकस्मिक रूपमा बाधाविघ्न अाइलाग्नु)
४-     सबै व्यवहार ठिकठाक हुँदाहुँदै पनि अाकस्मिक र चिताउँदै नचिताएका कुनै अवाञ्छित घटना घट्नु र त्यस घटनाको जिम्मेबारीबोध अाफूलार्इ हुनु ।
५-     पेसा, व्यवसाय, नोकरी वा बन्दव्यापारमा अचानक मन्दी अाउनु ।
६-    हुनै लागेका काम बन्न नसक्नु, कडा मिहिनेत र परिश्रमका साथमा काम सम्पन्न भए पनि विना अवरोध काम हुन नसक्नु । त्यसरी काम सम्पन्न गर्दा यस्ता बाधाविघ्न उपस्थित हुन पुग्छन् जुन कुरो उसले सम्झिएको पनि हुँदैन ।
७-     घरपरिवारका सदस्य एकअापसमा विना उद्देश्य झगडामात्र गर्दछन्, वंश वा विशेष गरी छोरो नजन्मनु, वा उसको उन्नतिप्रगति अनेकानेक बाधाअवरोध सिर्जना हुनु ।
८-     घरमा सुखको अनुभूति नहुनु, शून्यताको महसुस हुनु, परिवारका कुनै न कुनै सदस्यलार्इ कुनै न कुनै रोगको प्रकोप रही रहनु, गाइवस्तु वा पशुपन्छी अचानक मर्नु, रुखविरुवा अचानक सुक्नु ।
९-     अाफ्नो क्षमता वा योग्यताबमोजिमको काम नपाउनु, अाफूभन्दा कम योग्यताको नजिकैको कुनै नातेदारले विनामिहिनेत र परिश्रम निकै धनार्जन गर्नु वा उन्नतिप्रगति हुनु, तर अाफ्नो नभएकाले चिन्ताग्रस्त रहनु ।
१०- प्रेमप्रसङ्गमा विफल हुनु, वैवाहिक जीवनमा किचलो अाइरहनु, सन्तानहरू अस्वस्थ भइरहनु ।

माथिका विवरणलार्इ मनन गर्ने हो भने तपार्इंको कालसर्प योग भए पनि वा नभए पनि अामजीवनमा जीवनसङ्घर्षको प्रारम्भिक कालमा सबैले भोग्ने पीडा हो भन्दा फरक पर्दैन । तर यिनै विषयवस्तुलार्इ फलादेशको अाधार बनार्इ कतिपय ज्योतिषी र धर्मगुरुले कालसर्प योगलाई राम्रो कमाइ खाने भाँडो बनाएको पनि देखिन्छ । कुण्डलीमा भएका शुभ वा अशुभ योगहरूको ज्ञान नभएका वा ज्ञान भए पनि तिनको वास्ता नगरी केवल कालसर्प योगको मात्र चर्चा गरी कसरी जातकबाट अलि बढी धन वा रकमकलम हात पार्ने भन्ने ध्याउन्नमा हुन्छन्, ज्योतिषी र पण्डितहरू । त्यसैले कालसर्प योग यी प्रसङ्ग वा विषयको कारक योग होइन । बरु कालसर्प योग हुने जातकहरूमा केही छुट्टै विशेषता पाउन सकिन्छ, ती हुन् :-

१-    कालसर्प योग भएका जातकका अाममानिसको भन्दा फरक र छुट्टै प्रतिभा हुन्छ । 
२-  यस योगको मानिस निरन्तर मिहिनेत र परिश्रम गरी सामाजिक वर्चस्व स्थापना गर्न लागिपर्दछ।
३-  बाल्यावस्थामा उच्च प्रतिभा हुन्छ, तर किशोरावस्थादेखि नै उसको लगाव अध्ययनमा मात्र सीमित नभर्इ सामाजिकता र रचनात्मकतातर्फ अाकर्षित हुने हुँदा अध्ययनको स्तरमा गिरावट अाउन सक्छ ।
४-  यस योगमा जन्म लिने जातकमा उत्ताउलोपन हुँदैन, तर अाफ्नोपन र भावुकता हुन्छ ।
५-  धनसम्पत्तिको हकमा मध्यम वर्गको सामाजिक जीवन धान्नसक्ने सम्पत्ति र योग्यता हासिल गर्दछ ।
६-  प्रायः पुत्रसन्तानप्रतिको मोह हुँदैन । तर पतिपत्नी दुबै कालसर्प योग वा राहुको अधिकारभित्रका रहेछन् भने राम्रो अार्थिक हैसियत बनाउन सफल भएका पनि देखिन्छन् र छोरो पनि हुन्छ ।
७-  स्वावलम्बी र दक्ष हुने भएकाले यिनीहरू जेजस्तो कर्ममा पनि उपयुक्त हुन्छन्।
८- घरपरिवारको पारम्परिक कर्तव्य र सुखसुविधा जुटाउने सजगता देखिन्छ, तर विवाह वा सम्बन्धका लागि निर्धारित अनुशासनलार्इ पालना गर्दैनन् ।
९-  परिस्थितिअनुरूप अाफ्नो कार्यक्षेत्र र स्थान फेरिरहन्छन् । यिनीहरू अस्थिर मतिका भएकाले कार्यक्षेत्रलार्इ महत्त्व दिए असफल पनि हुँदैनन् ।

१०- प्रेमजीवनमा निष्ठावान् हुन्छन् । चोरबुद्धि र चतुर्याइँको कमी हुन्छ । सामाजिक स्थान उच्च बनाउने प्रयत्न पनि गर्दछन् र अन्त्यसम्ममा सफल पनि हुन्छन् । त्यसैले कतिपय सन्तमहन्त, राजनेता र सामाजिक अभियन्ताको कुण्डलीमा कालसर्प योग भएको देखिन्छ ।


के हो त काल सर्प योग?
जसरी कुनै व्यक्तिको आफ्नो नाम अरुको जस्तै राम्रै हुन्छ भन्ने हुँदैन, जस्तै हाम्रै समुदायमा रावण, दुर्योधन, यमराज आदि शास्त्र र समाजमा खल चरित्र मानिएका नाम जस्तै नाम भएका मानिसहरू पनि छन्, त्यस्तै कालसर्प केवल एउटा योगको नाममात्र हो अर्थात् योगलाई परिचय गराउने शब्द हो। राहु ग्रहको पर्यायवाची शब्द सर्प र केतु ग्रहको पर्यायवाची शब्द यमराज (काल) हो । ती दुई आकाशमा भौतिक पिण्ड नभएका छायाजस्ता धब्बा मात्र हुन्। त्यस्तो छाया हामीले पृथ्वीबाट देख्नसकिने ठूला ग्रहपिण्डहरू सूर्य र चन्द्रमाको परिभ्रमणपथको मिलनबिन्दुबाट उत्पन्न हुन्छ। साना र ठूला दुईवटा वृत्तलाई एकै ठाउँमा खप्टँदा जसरी दुईवटा वृत्तका परिधीय रेखा (धर्सा) मिलन हुने दुईवटा बिन्दु भेटिन्छन्। त्यस्तै यी राहु र केतु नामका बिन्दु पनि आकाशका दुईवटा विपरीत ठाउँमा हुन्छन् र यी दुईवटा छाया ग्रहको उपस्थिति ६ वटा राशिको फरकमा अर्थात् १८० डिग्रीको दूरीमा हुन्छ। कालसर्प योगको सिर्जना यिनै राहु र केतु बिन्दुका माझमा सूर्य, चन्द्रमा, मङ्गल, बुध, बृहस्पति, शुक्र र शनि ग्रहहरू भएको अवस्थामा हुन्छ। राहु र केतुको घेरा बाहिर एउटासम्म ग्रह परेको अवस्था छ भने त्यसलाई 'आंशिक कालसर्प योग' मान्ने चलन छ। कालसर्प योगले सबैलाई र सबै स्थितिमा अशुभ प्रभाव वा अनिष्ट फलमात्र प्रदान गर्ने गर्दैन।

त्यसैले कालसर्पको हचुवाका भरमा निर्क्याैल गरी असफलता, निराशा, अवरोध वा विघ्नको कारक कालसर्प योग नै हो भनी ठोकुवा गरी शान्तिप्रक्रियामा संलग्न गराउनु राम्रो होइन । वास्तवमा कालसर्प योग शास्त्रमा पहिले देखि नै चर्चा गरिएको योग होइन । खासगरी रेडियो, टिभीमा ज्योतिषीय चर्चापरिचर्चाका कार्यक्रम सञ्चालन हुन थालेपछि यस योगका बारेमा ज्योतिषी र आमजनताको चासो बढेको देखिन्छ । यस योगको सिर्जना राहु र केतु ग्रहको अवस्थितिका आधारमा हुने गर्छ र यसको शान्तिप्रक्रिया एवं फलादेशमा राहु र केतुलाई नै विशेष महत्त्व दिने गरिन्छ । यस आलेखमा नजिकिंदै गरेको नागपञ्चमी पर्व र सामूहिक वा व्यक्तिगत रूपमा आयोजना गरिने कालसर्प योगको शान्तिकर्मलाई ध्यानमा राखी यस योगको सैद्धान्तिक पक्ष र आम व्यवहारमा देखिएका केही महत्त्वपूर्ण पाटोलाई उजागर गर्ने प्रयास गरिएको छ ।

जसरी मन्दिरमा भोग र अस्पतालमा रोगको महत्व हुन्छ, त्यसरी नै ज्योतिषमा योगको महत्व हुन्छ । ज्योतिषमा राम्रा र नराम्रा गरी ४०३५ वटा योग हरू छन् त्यसमध्ये ६३ प्रतिशत राम्रा योग हुन्छन् भने ३७ प्रतिशत नराम्रा योग हुन्छन् । ती मध्ये एउटा योगको नाम हो, कालसर्प योग । कालसर्प योग समग्रमा नराम्रो हुँदैन, यस योगका जातकहरू महापुरुषदेखि सर्वसाधारण जीवन यापन गर्ने मनुष्य बन्न वा हुन सक्दछन्

कालसर्प योगको गणितीय पक्ष
सामान्य अर्थमा कालको अर्थ मृत्यु हो । शास्त्रमा सर्पलाई कालको पर्यायका रूपमा लिइएको पाइन्छ । काल स्वयं उत्पन्न भएको र यसलाई कसैले सृष्टि नगरेको पनि बताइन्छ । आदि, मध्य, अन्त्य र विनाशबाट रहित मानिन्छ काललाई । मनुष्यलगायत सम्पूर्ण चराचर प्राणिको मृत्यु कालका अधीनमा छ । काल सधैं गतिशील रहन्छ । यो कहिल्यै कसैका लागि पर्खँदैन । यसैले प्राणिलाई मृत्युका सम्मुख पुर्याउँछ । सर्पलाई पनि कालकै अङ्ग मानिएको छ । कालसर्प योग सम्भवतः समयको आन्तरिक गतिसँग जोडिएको त्यस्तो परिस्थिति हो, जसले व्यक्तिविशेषलाई मानसिक रूपले संवेदनशील बनाउँदछ र जीवनमा कतिपय ऊहापोहसँग ऊ गाँसिन पुग्छ । हामीले व्यवहारमा मान्दै आएका नवग्रहहरूमध्ये आकाशमा हेर्दा निश्चित खगोलीय पिण्ड नभएका दुईवटा ग्रह छन् । ती वास्तवमा ग्रह नै होइनन् । ती चन्द्रमा र सूर्यको परिभ्रमण पथमा काटिएका दुईवटा विन्दु हुन् । चन्द्रमा र सूर्यको परिभ्रमण पथको मिलनविन्दुमा दुईवटा छायाका धब्बा देखिन्छन् । ती छायाहरू एकआपसमा १८० डिग्रीको दूरीमा हुने गर्दछन् । त्यसैले पूर्वीय दर्शनमा आधारित ज्योतिषशास्त्रले राहु र केतुलाई छायाग्रह भन्ने गरेको पाइन्छ, जबकि अङ्ग्रेजीमा यिनलाई नोड (Node) भन्ने गरिन्छ । नक्षत्रविज्ञानका अनुसार राहुको नक्षत्र भरणी र केतुको नक्षत्र अश्लेषा मानिदैं आएको छ भने नक्षत्रपतिको गणना गर्दा भरणीको देवता यमराज वा काल र अश्लेषाको देवता सर्प मानिएको छ । त्यसैले नक्षत्रका अधिदेवताका नाममा राहुलाई काल र केतुलाई सर्पका रूपमा उल्लेख गरेर राहु र केतुको संयुक्त नामका रूपमा यी दुईलाई काल र सर्प वा कालसर्प पनि भन्ने गरेको पाइन्छ । पूर्वीय ज्योतिषशास्त्रमा राहु र केतुको प्रभावमा जन्मलिने जातकलाई दुःखी, क्रूर, निर्धन र परान्नमा आश्रित हुन्छन् भनी बताइएको छ । सामान्यतया अश्विनी, आर्द्रा, मघा, स्वाती, मूल र शतभिषा नक्षत्रमा जन्मिएका जातकको जन्मकालको महादशा केतु वा राहु ग्रहको अधीनमा हुने गर्दछ । त्यस्तै केन्द्रवर्ती राहु वा केतु अथवा आठौं घरमा रहेको राहु र केतुलाई पनि अनिष्ट नै मान्ने चलन छ । यस सन्दर्भमा एउटा श्लोक उदाहरणीय छ
विषयाः क्रूराः निःस्वान्नित्यं दुःखार्तिदाः सुदीनाश्च ।
परभक्षपाननिरताः सर्पप्रभवाः भवन्ति नराः
अर्थात् सर्पयोगमा जन्म लिने व्यक्ति कुटिल, क्रूर, निर्धन, दीनदुःखी र परान्नमा निर्भर हुने गर्दछन् ।

योगका रूपमा कालसर्प योगको चर्चा ज्योतिषका आधिकारिक ग्रन्थहरूमा कतै पनि भेटिंदैन । हाम्रा गाउँघरका कहलिएका बुढापुराना ज्योतिषीहरूले यस योगको कुरा निकाल्दैन थिए । पुस्तक र पत्रपत्रिकाको प्रकाशनको बाढी आएपछि र रेडियो टेलिभीजनमा कार्यक्रम प्रसारण हुन थालेपछि यस योगको सिर्जना भएको भन्दा अत्युक्ति हुँदैन । हुन त राहु र केतुको फलप्रकरणका बारेका पुराना ग्रन्थमा पनि उल्लेख नभएको होइन, जस्तै राहुको आकार मुख र केतुको आकार पुच्छरका रूपमा विभाजित सर्पको जस्तो छ भनी कसैकसैले भनेका छन् भन्ने बराहमिहिरको लेखन विशेष स्मरणीय छ :­ मुखपुच्छविभक्ताङ्गं भुजङ्गमाकारमुपदिशन्त्यन्ये

त्यसैले कालसर्प योग भन्ने नाम नै किटान नगरे पनि प्रकारान्तरबाट बराहमिहिर, परासर, गर्ग आदिले राहु र केतुका विविध स्वरूप र फलप्रकरणका बारेमा चर्चा गरेको पाइन्छ । सारावली, मानसागरी, जातकतत्त्व, भृगुसूत्र लगायतका ज्योतिषीय ग्रन्थहरूमा कालसर्प योगको चर्चा त छैन तर राहु र केतुका विशेषता र फलादेशका बारेमा पर्याप्त चर्चा परिचर्चाहरू भएका छन् । हिजोआज कालसर्प योगको फल बताउने क्रममा मुख्यतः राहु ग्रहले पार्ने प्रभावको चर्चा गर्ने गर्दछन् । त्यसैले कालसर्प योग ज्योतिषशास्त्रको आधिकारिक योग होइन, यो राहु ग्रहले जन्मकुण्डलीमा प्राप्त गरेको विशेष बल मात्र हो । अतः कालसर्प योगको डर देखाउने र डर मान्ने दुबै पक्ष ढुक्क भए हुन्छ, यस योगका कारणले मात्र मानवले छुट्टै हण्डरठक्कर खाएर भौंतारिनु पर्दैन । हो, तपाईंको कुण्डलीमा अरु शुभकारक योगको कमी छ वा अशुभ योग बलवान् छन् भने तपाईंले केही गर्न सक्नुहुन्न, अझ कालसर्प योगको प्रभावसमेत छ भने तपाईंले डराउनु जायज नै हुनेछ ।

वैज्ञानिक विचार
आकाशमा राहु र केतुको कुनै पनि भौतिक पिण्ड नभएका कारणले ज्योतिषशास्त्रले यी दुबै ग्रहलाई छायाग्रह मान्ने गरेको छ । वैज्ञानिक मतमा खगोलीय वृत्तमा जुन ठाउँमा सूर्य र चन्द्रमाको परिभ्रमणपथको काल्पनिक रेखाको मिलन हुन्छ, त्यस बिन्दुविशेषलाई राहु र केतु नाम दिइएको हो । अङ्ग्रेजी भाषामा Node नाम भएका यी राहु र केतु बिन्दुहरू जहिल्यै पनि १८० डिग्रीको दूरीमा रहन्छन् । सूर्यादि सातवटा ग्रहको भ्रमणपथ प्रायशः घडीको सूइको विपरीत दिशा (Anti-clockwise) मा हुने गर्दछ, तर यी घडीको सुइ जसरी (Clockwise) घुम्ने गर्दछन् । सूर्यादि ग्रहहरू आआफ्ना भ्रमणपथमा भिन्नभिन्न गतिले भ्रमण गर्ने हुनाले पृथ्वीमा बसेर अवलोकन गर्नेहरूले सूर्यलगायतका सातवटा ग्रहहरू (राहु र केतुबाहेक) लाई एउटै अर्द्धवृत्तमा वा १८०˚ भित्र देख्ने परिस्थिति सिर्जना हुनुलाई दुर्लभ नै मानिन्छ । अझ छायाग्रहका रूपमा मानिएका दुई विन्दुहरू राहु र केतुको बीचमा माथि उल्लेखित सातै ग्रहहरू एकत्रित हुनु त झनै दुर्लभ हुन्छ । यही राहु र केतुको बीचमा सबै ग्रहहरू रहेको देखिने दुर्लभ परिस्थिति ­विशेषलाई नै वास्तवमा कालसर्प योग भन्ने गरिन्छ ।

तपाईंको चिनामा सबै ग्रहलाई तपाईंको जन्मसमय, जन्मस्थान र त्यस समयको ग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्द्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्द्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु(छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो । अर्को शब्दमा जब तपाइको चिनामा भएका सबै ग्रहहरू राहु र केतु को बीचमा हुन्छन् अनि निर्माण हुन्छ - काल सर्प योग । मूलत: राहु-केतु भौतिक ग्रह नभएर आध्यात्मिक ग्रह हुन् । अत: यी दुबै ग्रहका सम्बन्धमा विशेष अध्ययन गर्नु नितान्त आवश्यक छ । वास्तवमा राहु र केतु दुबै ग्रहको हाम्रो कर्मगत फलसँग अति गहिरो सम्बन्ध छ । यी ग्रह जीवनका सूक्ष्मतम बिन्दुसँग असाध्यै नजिक छन् । यी दुबैको सोझो सम्बन्ध हाम्रो चेतनासित छ । त्यसैले राहु र केतु यी दुईवटै ग्रह आफ्नो प्रभाव देखाउन शीघ्रता गर्दछन् ।

भलै आफ्नो पद, गरिमा र व्यक्तित्व विकासका लागि कडा मिहिनेत, सङ्घर्ष र तपस्या गर्नु परेको होस्, तर सबै कालसर्प योग भएका मानिस असफल र निराश नै हुनु परेको छैन, उनीहरूले जेजसरी भए पनि आफूलाई वरिष्ठ तुल्याएरै छाडेको देखिन्छ । यहाँ कालसर्प योग परेका भनी मानिएका त्यस्ता केही व्यक्तित्वहरूको नामावली र कालसर्प योगको नाम लेखिएको छ, जसले आफ्नो जीवनलाई सार्थक र प्रेरणादायी बनाउने सफलता आर्जन गरेका छन् । कालसर्पयोग परेका ती चर्चित व्यक्तित्वहरू :-
        गौतमबुद्ध (आंशिक, पृष्ठोदय, धर्मप्रवर्तक)
        पृथ्वीनारायण शाह (आंशिक, मुखोदय, आधुनिक नेपालका प्रथम राजा)
        राजा प्रताप मल्ल (आंशिक, मुखोदय, कान्तिपुरका राजा)
        राजमाता योगमती (आंशिक, मुखोदय, ललितपुरकी शासक, राजमाता)
        बहादुर शाह (आंशिक, मुखोदय, नेपालका नायब, राजकुमार)
        चन्द्र शम्सेर (आंशिक, मुखोदय, नेपालका प्रधानमन्त्री)
        फत्येजङ्ग शाह (आंशिक, मुखोदय, नेपालका चौतरिया)
        पुष्पकमल दाहाल 'प्रचण्ड' (आंशिकमुखोदयनेपालका प्रधानमन्त्री)
        महात्मा गान्धी (आंशिक, पृष्ठोदय, भारतीय राष्ट्रपिता)
        डा. शङ्करदयाल शर्मा (आंशिक, मुखोदय, भारतीय राष्ट्रपति)
        अब्राहम लिङ्कन (पूर्ण, मुखोदय, अमेरीकी राष्ट्रपति)
        मुसोलिनी (पूर्ण, मुखोदय, इटालीका राष्ट्रपति)
        जवाहरलाल नेहरू (पूर्ण, पृष्ठोदय, भारतीय प्रधानमन्त्री)
        अटलबिहारी बाजपेयी (आंशिक, पृष्ठोदय, भारतीय प्रधानमन्त्री)
        राजीव गान्धी (आंशिक, पृष्ठोदय, भारतीय प्रधानमन्त्री)
        पी. वी. नरसिंह राव (आंशिक, मुखोदय, भारतीय प्रधानमन्त्री)
        टी. एन. शेषन (आंशिक, मुखोदय, भारतीय निर्वाचन आयुक्त)
        शत्रुघन सिन्हा (आंशिक, पृष्ठोदय, भारतीय सिने कलाकार)
        अनील कपुर (पूर्ण, पृष्ठोदय, भारतीय सिने कलाकार)
        मार्भन आटापट्टु (आंशिक, मुखोदय, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी(श्रीलङ्काली))
        लारा दत्ता (पूर्ण, मुखोदय, विख्यात विश्वसुन्दरी)

त्यसैले कालसर्प योग छ भनेर ङिस्रिक्क परेर निराश हुने काम छैन, कर्मप्रति इमान्दार भई लगनशील भएमा कालसर्प योग परेका मानिसहरूले पनि नाम, दाम, प्रतिष्ठा र इज्जत कमाएको देखिन्छ ।

कालसर्पयोगका आधारभूत पक्षहरू
राहु र केतुको बीचमा सबै ग्रहहरू फँसेर कालसर्प योगको सिर्जना हुन्छ । गणितीय विश्लेषण गर्ने हो भने संसारभरिका १२ भागका १ भाग मानिसहरू स्वतः कालसर्प योगमा जन्म लिन पुग्दछन् । तपाईंले कुनै वर्षको पात्रोको अध्ययन गर्नुभयो भने चाल पाउनु हुनेछ, वर्षभरिको कुनै न कुनै निश्चित अवधिभरि कालसर्प योगको सिर्जना हुन्छ । तर अहिले कर्मकाण्डी ज्योतिषीहरूले राहु र केतुको घेरामा सूर्यादि सातवटामध्ये छ वटा ग्रह रहेको र एउटासम्म ग्रह बाहिर बसेको अवस्थालाई समेत कालसर्प योग हो भनी व्याख्या गर्ने गरेको पाइन्छ । त्यसरी बनेको कालसर्प योगलाई आंशिक कालसर्प योग भन्ने गरिन्छ । अझ लग्नमा राहु वा केतु रहेको परिस्थितिलाई पनि कालसर्प योगकै अवस्था हो भनी शान्तिकर्म गराएको प्रसङ्ग पनि यदाकदा सुन्न र देख्न पाइन्छ । आठौं भावमा रहेको राहु वा केतुलाई पनि कालसर्प योगको प्रभाव हुने वर्णन गरेको पनि देखिन्छ । यी सबै कालसर्प योगको सम्भाव्यता अध्ययन गर्ने हो भने लगभग ४३ प्रतिशत मानिस कालसर्प योगको चपेटामा परेको देखिन्छ । त्यसो हुँदा कालसर्प योगका जातकले जान्नु र बुझ्नु पर्यो, मजस्तै योग भएका मानिस संसारमा ४३ प्रतिशत छन्, तिनको जे गति मेरो पनि त्यही गति त्यसैले मैलेमात्र किन दुःख पाउने ? अतः वास्तवमा कालसर्पयोगलाई ग्रहभ्रमणका क्रममा हुने एउटा गतिपरक योगका रूपमा लिई सोको समसामयिक विश्लेषण गरी उपचार गर्नु उचित हुन्छ ।

सामान्यतया देहायका अवस्थालाई मात्र कालसर्पयोग मान्नुपर्ने हुन्छ :-
सबै ग्रहहरू राहु र केतुको बीचमा एकापट्टिमात्र रहेको वा परेको हुनु पर्दछ । यसबारेमा भनिएको पनि छ ­-
अग्रे राहुरधः केतुः सर्वे मध्यगता ग्रहाः । योगोयं कालसर्पाख्यो शीघ्रं तं तु विनाशयेत् ॥
अथवा
अग्रे राहुः पृष्ठे केतुरन्तरस्थाः नवग्रहाः । कालसर्पो भवेद्योगो वंशनाशो भवेद् ध्रुवम् ॥

यदि सबै ग्रहहरू वा केही ग्रहहरू राहु वा केतुका साथमा रहेको भएमा पनि अंशात्मक रूपमा राहु र केतुको बीचमा सबै ग्रहहरू परेकै हुनुपर्दछ, सँगै बस्नासाथ सबै राहु र केतुको बीचमा छन् भन्ने हुँदैन ।
राहुबाट आठौंमा शनि परेमा पनि कालसर्पयोगको फल लागू हुन्छ ।
चन्द्रमाबाट आठौं राहु वा केतु परेमा पनि यस्तै फल प्राप्त हुन्छ ।
कुण्डलीमा राहु बलवान् छ, जस्तै लग्नमा, सातौं भावमा वा आठौं भावमा अरु कुनै ग्रहसँग युति बनाएर बसेको छ भने कालसर्प योगको फल लागू हुन्छ । कुण्डलीको कुनै भावमा राहु वा एक्लै उपस्थित छ भने त्यो निर्बल बन्न जान्छ, तर कुनै ग्रहसँग युति बनाएर संयुक्त रूपमा बसेको अवस्थामा छ भने राहु बलियो हुनपुग्छ र जुन ग्रहसँग टाँसिएको छ, त्यसको नैसर्गिक शुभ वा अशुभ फललाई उल्टो बनाएर प्रदान गर्दछ ।

कालसर्पयोगको फलका बारेमा चर्चा गर्दा, कुनै एउटा ग्रह राहु वा केतुको घेरा बाहिर परे पनि त्यसलाई आंशिक कालसर्पयोग भनेर व्याख्या गर्ने गरेको पाइन्छ । तर वास्तवमा त्यस्तो बाहिर परेको ग्रह बक्री अवस्थामा छैन र तपाईंको लग्नको मालिकको मित्र, अधिमित्र वा समभाव जनाउने ग्रह छ भने त्यस कालसर्प योगको नकारात्मक फल प्राप्त हुँदैन । यस किसिमको योग बनाएर बाहिर परेको ग्रहलाई पाश्चात्य ज्योतिषीहरू उपचारक वा बचाउने ग्रह (Saving Planet) भन्ने गर्दछन् ।

राहु र केतुको गति सदैव उल्टो देखिने हुनाले लग्नमा राहु भएको अवस्थामा सातौंमा केतु हुन्छ । यस अवस्थामा अन्य सबै ग्रह १२, ११, १०, ९ र ८ औं घरमा हुने परिस्थितिलाई वास्तविक कालसर्पयोग भनिन्छ र राहुको बाटोमा सबै ग्रह रहने हुनाले यही स्थितिलाई नै मुखोदय वा ग्रस्त कालसर्पयोग पनि भन्ने गरिन्छ । माथि बताइएको स्थितिमा सबै ग्रह दृश्यभागमा रहने हुनाले यसैलाई उदित गोलार्द्ध कालसर्पयोग पनि भन्ने प्रचलन छ । यसको ठीक विपरीत परिस्थितिलाई पृष्ठोदय कालसर्प योग, अस्तगत कालसर्प योग वा अनुदित गोलार्द्ध कालसर्प योग भन्ने गरिन्छ ।

कालसर्पयोगको गणना वा फलादेश गर्दा आधुनिक समयको अनुसन्धानबाट अस्तित्वमा आएका युरेनस, नेप्च्युन र प्लुटोलाई लिइएको हुँदैन ।

कालसर्प योगको प्रभाव
मुख्यत: जन्मकुण्डलीमा राहु र केतु नाम गरेका यी दुबै ग्रहको उपस्थितिका आधारमा आंशिक रूपमा जातकको आन्तरिक स्वभाव र रूचिको जानकारी लिन सकिन्छ । यी दुबै ग्रहको स्पष्ट व्याख्याबाट व्यक्तिले आफ्नो जीवनमा भविष्यमा आइपर्ने कठिनाइको पूर्वानुमान गरेर ती कष्टहरूबाट आफूलाई सुरक्षित राख्न सक्दछ । तर यी दुबै ग्रहको प्रभावका कारण जातक अन्तर्मुखी, मनोलोकमा विचरण गर्ने र अध्यात्मवादी बन्ने गरेको पनि देख्न पाइन्छ । केतु शब्दले ध्वजा अर्थ पनि प्रदान गर्दछ । तर यहाँ ध्वजा भनेको पताका वा झण्डा होइन, केतुलाई ध्वजा भन्नुको अर्थ हो - केतु परमात्माको शक्तिको मूर्त रूप हो । अतः केतुको प्रभाव र चेतनाबाट जातकले यस सृष्टिमा व्याप्त सर्वशक्तिमान्, सर्वव्यापी शक्तिको अनुभव गर्न सक्दछ । तपाईं कुण्डलीमा कालसर्प योग छ भन्ने बितिक्कै यसको चपेटामा फँसी हाल्नुहुन्न, तर तपाईंको कुण्डलीमा अन्य ग्रह बलवान् छैनन् र शुभकारक योगको कमी छ भने तपाईं अल्पायु, निर्धन र असफल हुने सम्भावना हुन्छ । यस्तो परिस्थितिमा तपाईंले जति सङ्घर्ष गरे पनि अनेकौं हण्डरठक्कर र निराशा हात पार्नुहुन्छ र पटकपटक मृत्युतुल्य कष्ट पनि व्यहोर्नु हुन्छ । अन्य योगको अभावमा वा कमजोरीले मात्र यस योगले प्राणिलाई किसिमकिसिमले दुःख र पीडा प्रदान गर्दछ, अनेकखाले कष्ट र तनाव भोग्नुपर्छ । त्यसैले कालसर्प योग आफैंमा गलत योग होइन, यो ज्योतिषशास्त्रको प्रामाणिक योग होइन, यसको उदय कर्मकाण्डीय मनोवृत्तिमा भएको हो र यो योग कुण्डलीका सामान्य सकारात्मक पक्ष र शुभ योगका कारण स्वतः नष्ट हुन्छ ।

तपाईंको जन्मकुण्डलीमा कालसर्प योग छ भनेर ठोकुवा गर्ने ज्योतिषीलाई मेरो कुण्डली यी शुभकारक स्थिति पनि छन् कि छैनन् भनेर प्रतिप्रश्न गर्नुस्, यदि तपाईंको कुण्डलीमा तीमध्ये कुनै एउटा मात्र कुरो रहेछ भने निश्चिन्त हुनुहोस् तपाईंको कालसर्प योगले तपाईंलाई उन्नति, प्रगति र व्यक्तित्व विकासमा कुनै किसिमको बाधा पुर्याउने छैन ।

सबै ग्रह सप्तमस्थानदेखि प्रथमस्थानसम्म रही शुभफलदायक छत्रयोग छ कि छैन ?
सबै ग्रह प्रथमस्थानदेखि सप्तमस्थानसम्म रही शुभफलदायक नौका योग छ कि छैन ?
सबै ग्रह चतुर्थस्थानदेखि दशमस्थानसम्म रही शुभफलदायक कुट योग छ कि छैन ?
सबै ग्रह दशमस्थानदेखि चतुर्थस्थानसम्म रही शुभफलदायक सर्प योग छ कि छैन ?
राहु ग्रह जन्मकुण्डलीको तेस्रो, छैटौं, दशम वा एघारौं भावमा उपस्थित छ कि छैन ?
राहु ग्रह बसेको राशि मिथुन, कन्या, मकर वा कुम्भ हो कि होइन ?
राहु र केतु ग्रह जन्मकुण्डलीको जुन भावमा बसेका भए पनि सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र वा शनि मध्ये कुनै ग्रह बसेको भन्दा भिन्न राशिमा बसेका छन् कि छैनन् ?
तपाईंको जन्मकुण्डलीमा सूर्य र बुध, चन्द्रमा र मङ्गल, चन्द्रमा र बृहस्पति ग्रहको युति (एउटै राशिको बसाइ) छ कि छैन?
आंशिक कालसर्प योग छ भने उक्त कालसर्प योगमा राहु र केतुको घेराभन्दा बाहिर बसेको ग्रह मार्गी र बलवान् छ कि छैन? र उक्त ग्रह लग्नको स्वामीको मित्र वा कारक हो कि होइन ?

माथिका प्रश्नमध्ये कुनै एउटामात्र प्रश्नको सकारात्मक हो वा छ भन्ने उत्तर आयो भने बुझ्नुस् तपाईंको कुण्डलीमा रहेको कालसर्प योगले केही पनि लछारपाटो लगाउँदैन । त्यस्तो अवस्थामा कर्ममा विश्वास गरी अघि बढ्नुस्, पक्का पनि विजयश्री तपाईंको पोल्टामा पर्नेछ ।

आमजीवनमा दाम्पत्यसुखको सकारात्मक र नकारात्मक प्रभावमा मङ्गल ग्रहसँगसँगै राहुको भूमिका पनि प्रबल भएको देखिन्छ । आन्तरिक मनोवृत्तिमा केतु ग्रहको अधिकार हुन्छ, त्यसैले लग्नमा राहु भएको कुण्डलीको सातौं भावमा केतु ग्रह बसेको हुन्छ । केतु ग्रह जुन भावमा बस्दछ, मानिसको मनोवृत्ति त्यसै कर्मप्रति लिप्त हुन्छ, जस्तै लग्नमा केतु बसेका व्यक्तिको मनोवृत्ति व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको महत्त्वाकाङ्क्षामा केन्द्रित हुन्छ । त्यस्तै दोस्रो भावको केतुले धनसङ्ग्रहप्रति, तेस्रोभावमा भए सामाजिक प्रतिष्ठा, चौथो भावको गृहसुखमा, पाँचौं भावको केतुले उच्च अध्ययनतर्फ मानिसलाई केन्द्रित बनाउँछ । त्यसरी नै सातौं भावको केतुले यौन क्रियाकलाप र प्रणयप्रसङ्गमा केन्द्रित बनाउँछ । त्यसैले पनि दाम्पत्यप्रसङ्गमा राहुको विशेष भूमिका हुन्छ । कालसर्प योगमा राहुको कारकत्व रहने भएकाले यस योगमा जन्मिने जातकमा दाम्पत्य जीवनसम्बद्ध छुट्टै वैशिष्ट्य देखिने गर्दछ ।त्यसबाहेक दाम्पत्यजीवन यौनमा मात्र आधारित सम्बन्ध होइन, समुन्नत, सम्मृद्ध र दीर्घजीवी सन्तानको आकाङ्क्षा प्रत्येक दम्पतीले राखेका हुन्छन् । केतु ग्रह सन्ततिसुखको कारक ग्रह मानिन्छ । तपाईंका सन्ततिको व्यक्तित्व विकास, सुस्वास्थ्य, दीर्घायु र सम्मृद्धिका लागि केतु ग्रह बलवान् हुनु आवश्यक मानिन्छ । त्यसैले कालसर्प योग भएका जातकको सन्ततिसुख खासगरी पुत्र सन्तानको अभाव भएको देखिन्छ । अतः तपाईंको कुण्डलीमा रहेको कालसर्प योगले कतै दाम्पत्य जीवनमा कठिनाइ उत्पन्न गर्छ कि वा सन्तानबाधा त गर्दैन भन्ने चिन्ता हुनु स्वाभाविक नै हो । त्यसैले तपाईंको जन्मकुण्डलीमा कालसर्प योग छ भने आफ्नो पति वा पत्नीको कुण्डलीमा पनि निम्न लक्षणहरू खोज्नुस्, यदि ती लक्षण छन् भने पनि त्यस कालसर्प योगले तपाईंको दाम्पत्य जीवन र सन्ततिपक्षमा कुनै नकारात्मक स्थिति सिर्जना गर्न सक्दैन ।

पति वा पत्नी मूल संज्ञक नक्षत्र (अश्विनी, अश्लेषा, मघा, ज्येष्ठा, मूल र रेवती नक्षत्र) र भरिणी नक्षत्रमा जन्म भएको छ भने
पति वा पत्नीको जन्मकुण्डलीमा स्पष्ट कालसर्प योग (आंशिक वा पूर्ण) छ भने
पति वा पत्नीको कुण्डलीमा राहु ग्रह केन्द्रवर्ती भएर बसेको छ भने वा राहु ग्रह आठौं भावमा बसेको छ भने
पति वा पत्नीको कुण्डलीको लग्न मिथुन, कन्या, मकर वा कुम्भ छ भने
पति वा पत्नीको सर्य योनि वा सर्प वर्ग छ भने


कालसर्प योगका किसिम
वास्तविक कालसर्प योग के हो ? र यसको मान्यता के कसरी प्रारम्भ भएको भन्ने विषयमा माथि नै चर्चा भइसकेको छ । कालसर्प योगको नाम दिए पनि वा राहुको विशेष अधिकार माने पनि यसका केही पक्षलाई मनन गर्नै पर्ने हुन्छ । त्यसैले अहिलेका आधुनिक भनौंदा ज्योतिषीहरूको विवेचनालाई उल्लेख गर्नु वाञ्छनीय नै मान्नु पर्दछ । सारांशमा राहु र केतुको घेरा बाहिर एउटासम्म ग्रह भएको अवस्थामा पनि व्यक्तिलाई व्यवहारमा आंशिक असर पर्न जाने पक्षलाई मध्यनजर राखी पूर्ण कालसर्पयोग र आंशिक कालसर्पयोग भनेर वर्गीकरण गर्ने जनधारणा रही आएको छ । यस आधारमा पूर्ण र आंशिक कालसर्पयोगका विविध भेद भनेर ३४५६ किसिमका कालसर्पयोगको अवधारणा आधुनिक ज्योतिषीहरूले अघि सारेका छन् । यस मान्यताअनुसार १२ भावगत र १२ राशिबाट १४४, उदित र अनुदित भेदले २८८ र ती हरेकमा एक­एक भावमा एक­एक ग्रह राहु र केतुको घेराबाहिर पर्दा बन्ने आंशिक योगको भेदसहित गणना गर्दा ३४५६ प्रकारका हुने देखिन्छ तर पनि निम्नलिखित १२ योगलाई विशेष महत्त्वपूर्ण मानिन्छ । ती हुन् :-

१) अनन्त - बाल्यावस्थामा चोटपटक, स्वास्थ्यकष्ट र दुःखद पारिवारिक स्थिति, तर युवा र प्रौढावस्थामा देशदेशान्तरको यात्रा, बेमेल वा अन्तर्जातीय विवाह
२) कुलिक - दुःखद आर्थिक स्थिति, वाक्युद्ध
३) वासुकी - उच्च आर्थिक र सामाजिक उन्नति
४) शंखपाल - प्रभावशाली व्यक्तित्व तर निराश दिनचर्या
५) पद्म - तेज दिमाग र धनलाभ तर सन्तानपीडा
६) महापद्म - तीक्ष्ण तार्किक र दिमागी क्षमता, धन, मान र प्रतिष्ठावृद्धि तर यदाकदा स्वास्थ्यबाधा
७) तक्षक - देशपरदेशको यात्रा र व्यापारमा वृद्धि, तर वैवाहिक कष्ट र दुर्घटना
८) कर्कोटक - स्थान परिवर्तन योग तर जेल र अङ्गभङ्गको पनि भय
९) शंखचूड - भाग्यवृद्धि तर धर्मनाश र आकस्मिक वैराग्ययोग
१०) घातक - कर्मवृद्धि र पदप्रतिष्ठा प्राप्ति तर पितृनाश
११) विषधर - सामाजिक सम्मान र धनवृद्धि तर पुत्रबाधा
१२) शेषनाग - दुःखद बाल्यावस्था, धनक्षय, जेलबन्धन र अङ्गभङ्गको भय, तर स्थाननाश एवं देशपरदेशको यात्रा


यसरी संलग्न विवरण हेर्दा सामान्यतया ३, , , १०, ११ औं स्थानमा राहु बसेर बनाएको कालसर्पयोगको फल सुखद र सकारात्मक हुने गरेको पाइएको छ । यी समस्त कालसर्प योगहरू मध्ये कर्कोटक, विषधर, घातक र शंखचूड सबैभन्दा बढी दुष्प्रभावी हुन्छन् । बाँकी कालसर्प योग त्यति हानिकारक हुँदैनन् । यी कालसर्प योग हुने जातकले राहु ग्रह अथवा नागको विशेष पूजापाठ, स्वस्तिशान्ति गराउनाले नकारात्मक पक्षबाट जोगिन सकिन्छ । माथि उल्लेख गरिए झैं कालसर्प योगको दोष नलाग्ने अवस्था नभएको खण्डमा यसको दोषले जसलाई आक्रान्त तुल्याएको हुन्छ, त्यो व्यक्ति प्रायशः अन्यौलमय परिस्थितिमा रहने गर्दछ, निर्णय क्षमतामा कमी आउँछ, अनि कुनै पनि काम पनि सही तरिकाले गर्न सक्दैन, सधैंजसो भयग्रस्त रहन्छ वा उद्दण्ड क्रियाकलापमा सक्रिय हुन्छ । यी बाह्रै किसिमका कालसर्प योगको सङ्क्षिप्त परिचय यस प्रकार छ :-


राहु लग्नमा र केतु सप्तमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा अनन्त नामक कालसर्प योगको रचना हुन्छ । यस कालसर्प योगको प्रभावले जातक धनवान्, बलवान्, बुद्विमान् र अध्यात्मवेत्ता हुने गर्दछ, साथै अतीव दृढ़ निश्चयी र साहसीसमेत हुन्छ । त्यस जातकले आफ्नो पुरुषार्थमा राम्रो सफलता प्राप्त गर्दछ । युवावस्थामा देशविदेशको भ्रमण गरी धन, मान र प्रतिष्ठा बृद्धि गर्दछ । तर त्यस व्यक्तिको पति वा पत्नीको स्वास्थ्यमा प्रायशः प्रतिकूलता देखिन्छ । उसको वैवाहिक जीवन पनि प्राय: कष्टप्रद हुन्छ । प्रौढावस्था सुरु हुनलाग्दा उसको सन्तान विशेषतः पुत्रसन्ततिसित सम्बन्ध अनुकुल हुँदैन । मानसिक अशान्ति र अस्थिरताको प्रवृत्तिले ग्रसित हुन्छ । दुष्टबुद्धि, मिथ्याभाषी र लम्पट हुन्छ । षडयन्त्रमा फँसिरहन्छ । अड्डाअदालतका कारण प्रशस्त हानि ब्यहोर्नु पर्ने हुन्छ । आफ्नो कार्यक्षमता बमोजिम वाञ्छित सफलता प्राप्ति हुँदैन । आफूले गरेको परिश्रमको फल पनि पराइले प्राप्त गर्दछन् । धर्म र ईश्वरप्रतिको विश्वास क्रमश: हटदै जान्छ । आफूलाई समाजमा स्थापित तुल्याउन असाध्यै मिहिनेत गर्नुपर्छ । बाल्यावस्था सन्तोषजनक हुँदैन । स्वास्थ्यसम्बद्ध विविध समस्या त ब्यहोर्नु नै पर्छ साथै उसको पारिवारिक स्थिति पनि दु:खद रहने गर्दछ ।

उपाय
प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप वा भगवान शिवमा श्रद्धाभक्ति र ॐ नम: शिवाय मन्त्रको प्रतिदिन जाप वा नागपञ्चमीका दिन प्रतिवर्ष व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागलाई दूध चढाउने वा राहु ग्रहको विशेष यन्त्र घरमा स्थापना गरेर त्यसका सामु बसी प्रतिदिन सर्प गायत्री मन्त्रको १०८ पटक जाप गर्ने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने । सूर्योदयपछि तामाको कुनै एउटा पात्रमा गहुँ र सक्खर(गुड़)मिश्रित अन्न झुसी हुनेगरी भरेर कम्तीमा सातवटा शनिबार बग्दो पानीको प्रवाहमा बिसर्जन गर्नुपर्दछ । अन्तिम शनिबारका दिन रुद्राभिषेक गरी उक्त भाँडो र कालो राडी(कम्बल) ब्राह्मण वा दीनदुःखीलाई दान गर्नुपर्दछ । प्रतिदिन एक माला ॐ नम: शिवाय यस मन्त्रको स्वयं आफैले वा ब्राह्मणद्वारा जप गर्नुपर्दछ । अथवा तामाको पत्रमा लेखिएको नाग यन्त्र वा राहु ग्रहको विशेष यन्त्र घरमा स्थापित गरी त्यसको नियमित पूजन गर्नुपर्दछ ।


राहु दोस्रो स्थानमा र केतु अष्टमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा कुलिक नामक कालसर्प योगको रचना हुन्छ । यस भावमा बसेर राहुले सदैव जातकलाई दहीचिउरे स्वभावको बनाइदिन्छ । अत्यधिक आत्मविश्वासका कारण अनेक प्रकारका मानसिक असन्तोष र तनावको सामना गर्नुपर्ने हुन्छ । आफ्ना प्रियजनको विरहव्यथा भोग्नुपर्छ । केतु आठौं भावमा रहेका कारण कतिपय जातक पायल्सका रोगी हुने गर्दछन् । तर आठौं घरको केतु मेष, वृष, मिथुन, कन्या र वृश्चिक राशीमा अवस्थित छ भने जातकसँग धनको कमी हुँदैन । यस्ता व्यक्तिले पुस्तान्तरबाट प्राप्त पुर्ख्यौली सम्पत्ति उपभोग गर्न पाउँछन् । जातकलाई प्रारम्भिक शिक्षादीक्षामा कठिनाइ हुन्छ । आँखा र मुखसित सम्गद्ध रोगले सताउँछ । जीवन र परिवार धान्न लिएको ऋणले गर्दा आर्थिक अवस्था दयनीय हुन पुग्छ । अन्य शुभयोगका बलले राम्रै सामाजिक र आर्थिक स्थिति भइहाले पनि ऊ मानसिक रूपले तनावग्रस्त रहने गर्छ । त्यो तनावको प्रभाव उसको व्यक्त्गित नातागोता माता-पिता, पत्नी, पुत्रादिमा स्पष्टत: देखिन्छ । उसले आफन्तलाई त्याग्न पनि सक्छ । दु:खद आर्थिक स्थिति त हुन्छ नै, उसले झगडा र मुद्दामामिला पनि खेप्नु पर्छ ।

उपाय
चाँदीको दाना बनाएर सेतो धागोमा बाँधेर हरहमेशा घाँटीमा धारण गर्नुपर्दछ । केसरीको तिलक लगाउने गर्दा पनि यस्ता जातकलाई शुभ नै हुन्छ । २१ वटा आइतबारसम्म कुनै गङ्गागामिनी ठूलो नदीमा आफ्नो श्रद्धानुसार काठका कोइला प्रवाहित गर्नुपर्दछ । भगवान श्रीकृष्णको पूजाआजा गर्ने वा राहु र केतुको मन्त्रलाई प्रतिदिन पाठ गर्ने तथा दुबै ग्रहको दानादि गर्ने वा आफ्नो लग्न-अनुकूल हुने गरी रत्न धारण गर्ने वा प्रतिवर्ष नागपञ्चमीका दिन व्रत गर्ने र पूजा लगाउने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


राहु तेस्रो स्थानमा र केतु नवमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा वासुकी नामक कालसर्प योगको रचना हुन्छ । यस्तो अवस्थामा जातकसँग धनदौलथ र वैभवको कुनै कमी हुँदैन । उसका अनुकूलमा सुख हुन्छ तथा मित्रशक्तिबाट पनि यथेष्ट सहयोग प्राप्त हुन्छ । पितासित अत्यन्त सुमधुर सम्बन्ध हुन्छ र पिताको आज्ञाकारी पुत्रका रूपमा उदाहरणीय हुन्छ । यस्ता व्यक्तिले धर्म र अध्यात्मका माध्यमले धनार्जन गर्दछन्, प्रसिद्धि प्राप्त गर्दछन् र देशदेशान्तरमा समेत यश प्राप्त गर्दछन् । तर यस्तो जातकको आफूभन्दा कान्छो भाइ जीवित रहँदैन वा जीवितै रहे पनि ती दुईको एकआपसमा ठूलो शत्रुता हुन्छ । आफ्ना परिवारजन र खासगरी भाइबहिनीसित सम्बद्ध समस्याले सताउने देखिन्छ । नजिकैका साथीभाइ र नातागोताले विश्वासघात गर्दछन् । साहस, धैर्य र पराक्रममा कमी आउनाले जीवन नैराश्यपूर्ण देखिन्छ । वैदेशिक यात्राको प्रबल योग हुन्छ, तर प्रवासमा अनेकानेक कष्ट ब्यहोर्नु पर्छ । कानुनी कागजात वा लेखापढीमा ध्यान नदिनाले हानि ब्यहोर्नु पर्छ । यी अनिष्टता देखिए पनि उसको आर्थिक र सामाजिक स्थिति उन्नत हुन्छ ।

उपाय
चामल, दाल र चना एउटा पात्रमा राखी कम्तीमा सातवटा बुधबार कुनै गङ्गागामिनी ठूलो नदीमा प्रवाहित गर्नुपर्दछ । घरको मुख्य द्वारमा भित्रबाहिर दुबैतिर स्वस्तिक वा गणेशजीको प्रतिमा टाँस्नुपर्छ । ७२ वटा बुधबारसम्म प्रत्येक बुधबारका दिन काला खाद्यपदार्थ र वस्तुहरू श्रद्धानुसार कालै वस्त्रमा बाँधेर राहुको मन्त्र जप गर्दै गरीब वा ब्राह्मणलाई दान गर्नुपर्छ । दान लिन कसैले नमानेमा त्यस पोकोलाई कुनै गङ्गागामिनी ठूलो नदीमा बगाइदिनु पर्छ । राहु, केतु र सङ्कटाको दशा वा अन्तर्दशामा महामृत्युञ्जय मन्त्रको नियमित जाप गर्नुपर्छ वा ब्राह्मणद्वारा गराउनु पर्छ । नागपञ्चमीका दिन प्रतिवर्ष व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागलाई दूध चढाउने वा मृत पितृहरूको यथोचित तीर्थश्राद्ध सम्पन्न गर्ने वा ११ दाना जटासहितका नरिवल शनिवारका दिन वा नागपञ्चमीका दिन कुनै गङ्गागामिनी ठूलो नदीमा बगाइदिने वा चराचुरुङ्गीलाई प्रतिदिन चारो दिने वा कुनै गङ्गागामिनी ठूलो नदीमा ११२५ ग्राम गँहु वा जौ बगाउने । राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


राहु चौथो स्थानमा र केतु दशमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा शङ्खपाल नामक कालसर्प योगको रचना हुन्छ । जातकको व्यक्त्तित्व प्रभावशाली हुन्छ, तर उसको दिनचर्या भने नैराश्यपूर्ण हुन्छ । आमाको ममता तथा स्नेहप्राप्तिमा कठिनाइ उत्पन्न हुन्छ । आमा जीवित नै रहेको अवस्थामा आमाका माध्यमबाट हानि ब्यहोर्नु पर्छ । उसले शिक्षाग्रहण गर्ने प्रसङ्गमा पनि प्रशस्त झमेला खेप्नु पर्छ । चलअचल सम्पत्तिबारेमा पनि कष्ट भोग्नुपर्छ । वाहन दुर्घटनाका प्रशस्त सम्भावनाहरू हुन्छन । जग्गाजमिनमा पनि किचोला भइरहन्छ । सामाजिक सेवाका प्रसङ्गमा विना कारण अपयशको भागी बन्नु पर्छ । कुनै कार्यारम्भ गर्नु अघि नै उसलाई अनावश्यक भ्रम र शङ्काले ग्रस्त बनाउँछ । अत: जातकको जीवन घोर निराशापूर्ण र सङ्घर्षमय भएर बित्छ । यस्तो कालसर्प योग हुने जातकले राहु उच्चगृहको र शुभराशीको भए समस्त सुखभोग गर्न सक्दछ एवं जातकको कुण्डलीमा शुक्र अनुकूल भएमा विवाहपछि कारोबार र धनधान्यमा वृद्धि प्राप्त हुन्छ । साथै यदि चन्द्रमा लग्नमा भए आर्थिक तनावको सामना गर्नुपर्दैन । यो योग हुने व्यक्तिले ४८ वर्षको उमेरमा बृहस्पतिग्रहको उत्तम फल प्राप्त गर्दछ । यद्यपि सफलताका निम्ति उसले विघ्नको सामना गर्नु पर्दछ । उता केतु दसौं घरमा मेष, वृष, कन्या र वृश्चिक राशिमा हुँदासमेत उत्तम फल प्राप्त हुन्छ एवं उसलाई शत्रुले प्रयत्न गरेर पनि हानि पुर्याउन सक्दैनन् । यस्ता व्यक्तिले राजनीतिमा उतारचढ़ाव हुँदाहुँदै राम्रो सफलता प्राप्त गर्दछन् । अनि यस्ता व्यक्तिले आफ्ना साथीभाईबाट नचाँहदा नचाँहदै पनि सहयोग प्राप्त गर्दछन् ।

उपाय
प्रत्येक आइतबार पहेंलो कपड़ामा गहूँ बाँधेर खाँचोको अनुभव भएका व्यक्तिलाई दान दिनुपर्दछ । आइतबारका दिन ४०० ग्राम धनिया कुनै गङ्गागामिनी ठूलो नदीमा प्रवाहित गर्नुपर्दछ । शिवलिङ्गको अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा चाँदीको सर्प बनाएर शिवजीलाई चढाउने वा राहु ग्रहको मन्त्र प्रतिदिन पाठ गर्ने वा धातुबाट निर्मित १०८ वटा राहुयन्त्र नागपञ्चमीका दिन कुनै गङ्गागामिनी ठूलो नदीमा बगाउने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


राहु पाँचौ घरमा र केतु एघारौं घरमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा पद्म नामक कालसर्प योगको रचना हुन्छ । जातकको दिमाग तेजिलो हुन्छ । तर उसले उच्चस्तरीय शिक्षा ग्रहण गर्न सक्दैन । प्रशस्त धनसम्पत्ति कमाउने योग पनि हुन्छ, यद्यपि त्यो धन शत्रुमार्फत नष्ट हुन्छ । सन्तानसुखमा पूर्णरूपमा बाधा हुन्छ, कि त सन्तान हुँदैनन वा पुत्रसन्तानको अभाव हुन्छ, अथवा भएका सन्तति रोगी, अपाङ्ग र बेकामे हुन्छन् । बुढ्यौली एकाकी र निरस भएर बित्छ । यस्ता व्यक्तिहरूलाई पाचनप्रणालीसम्बद्ध रोगको सम्भावना हुन्छ । पञ्चम भावको राहु तथा एघारौं भावको केतुले जातकलाई अध्यात्मपट्टि प्रेरित गर्दछ । उत्तम परिवार भएको, आर्थिक स्थिति मजबूत भएको तथा उत्तम गुण एवं भोगबाट युक्त हुन्छ । केतुले एघारौं घरमा सम्पूर्ण सिद्धि तथा सफलता प्राप्त गराउँदछ तर यस योगमा सन्तान पक्षमा थोरै कमजोरी रहन सक्दछ । साथै जातक आफ्ना दाजुभाइहरूका निम्ति प्रियकर नहुन सक्छ । २१ वा ४२ वर्षको उमेरमा जातकको पितालाई कष्टको सम्भावना रहन्छ । यिनीहरू सफल राजनितिज्ञ बन्नसक्छन् । यस्ता व्यक्तिहरूलाई उतारचढ़ाव त भैरहन्छ तर सफलता र राम्रो यश प्राप्त हुन्छ । धेरै जसो ठूला राजनितिज्ञहरूमा यो कालसर्प योग भएको देखिन्छ । पञ्चमभावलाई पूर्वजन्मसँग सम्बन्धित भाव पनि मान्ने गरेको पाइन्छ ।

उपाय
राती सुत्ने बेलामा सिरानेमुनि पाँचवटा मूला राखेर बिहानै भगवान् शिवको मन्दिरमा अर्पण गर्नुपर्दछ । सन्तान सुखको कामना हुनेले मूल दैलोको ठेलोलाई चाँदीको पत्रले मोड्नुपर्दछ । कुनै शुभ मुहूर्तमा एउटा आँखा भएको नरिवल आफ्नो शिरदेखि पैतालासम्म सातपल्ट आरती गरे झैं घुमाएर सातवटा बुधवारसम्म गङ्गा वा जमुना नदीमा अथवा गङ्गागामिनी नदीमा प्रवाहित गर्नुपर्दछ । ४० दिनसम्म पंक्षीलाई जौका दानाको चारो खुवाउनु पर्दछ । भगवान श्रीकृष्णको पूजाआजा गर्ने वा आफूभन्दा पाका उमेरका व्यक्तिलाई सम्मान र आदर भाव राख्ने वा ज्ञानप्राप्ति गर्ने सिलसिलामा आफूभन्दा कान्छै भएपनि उसबाट श्रद्धाभक्तिपूर्वक करबद्ध भई ग्रहण गनुपर्छ वा घरमा मुजुरको प्वाँख राख्ने वा प्रतिदिन सर्पसूक्तको जाप गर्ने । राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


राहु छैठौं घरमा र केतु बाह्रौं घरमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा महापद्म नामक कालसर्प योगको रचना हुन्छ । छैटौं स्थानको राहुले धेरै सहयोग गर्दछ र राम्रो फल प्रदान गर्दछ, यहाँसम्म कि मृत्युको मुखबाट पनि खोसेर ल्याउने काम राहुले गर्दछ । सम्पत्ति, वाहन, दीर्घायु, सर्वत्र विजय, साहस, बहादुरी आदि गुण राहुको प्रभावबाट प्राप्त हुन्छ । यस योगका जातक धर्म र अध्यामसँग जोडिएका हुन्छन् । बौद्धिक क्षमता तीब्र हुन्छ । सबै प्रकारको प्रतिस्पर्धामा राम्रो सफलता पाउँदछन् तथा दान, पुण्य र अरुको मदद गर्न आफ्नो सबै धनसम्पत्ति लुटिएको पनि थाहा पाउँदैनन् । तर जातक प्राय: रोग र ऋणबाट ग्रस्त हुन्छ । दुर्व्यसनी हुन्छ । आँखाको बिमारीले पनि सताउँछ । चारित्रिक दोष पनि देखिन्छ । माता वा मावलीपक्षमा कष्ट हुन्छ । व्यवसायमा हानि हुन्छ । यद्यपि उसले सबै समस्याहरू झेल्दै धन, मान र प्रतिष्ठा त कमाउँछ तर खराब स्वास्थ्य सहितको बुढ्यौलीले उनलाई जीवनलाई निराशामय बनाइदिन्छ । आफू कहिल्यै स्वस्थ रहन सक्दैन । अनेक किसिमका रोगले सताउँछ । जुवा, तास, सट्टापट्टा वा चिट्ठाको दुर्व्यसनले यस्ता व्यक्तिलाई बर्बाद तुल्याउन सक्छ ।

उपाय
यस्तो कालसर्पयोग हुने जातकका लागि गणेशजीको उपासना सर्वमङ्गलकारी मानिन्छ । शुक्ल पक्षको पहिलो शनिबारबाट थालनी गरी कम्तीमा १८ पटक शनिबारको व्रत लिनु पर्दछ । कालो वस्त्र धारण गरेर १८ माला राहु ग्रहको बीजमन्त्रको जाप गर्नुपर्दछ । तदनन्तर एउटा भाँडोमा दूर्वा र कुश मिश्रित पानी पिपलको जरामा चढाउनु पर्छ । गुलियो खाद्यपदार्थ जस्तै गुलियो सातु, रोटी, कुराउनी, भुजाको लड्डु, तिल र सक्खरको लड्डु आदिले हवन गर्नुपर्छ र यिनै सामाग्री जुटाएर गरिबगुरुबा वा ब्राह्मणलाई दान गर्नुपर्छ । घिउको दियो बालेर पिपलको रुखको फेदमा रातको समयमा राखिदिनु पर्छ । अन्य उपायहरूमा श्रीकृष्णको पूजाआजा गर्ने वा लगातार १६ वटा औंसीमा नजिकको तीर्थस्थलमा आफ्ना मृत पितृको मोक्षार्थ यथोचित श्राद्ध सम्पन्न गर्ने, १६ वटा पुर्याउन नसक्ने परिस्थिति भएमा एक पटक सोह्रश्राद्धको अवसर पारी बद्रीनाथधाममा श्राद्ध गरिदिने वा नागपञ्चमीका दिन प्रतिवर्ष व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागलाई दूध चढाउने वा शिवलिङ्गका अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा कुनै गङ्गागामिनी ठूलो नदीमा ११२५ ग्राम गँहु वा जौ बगाउने वा घरको मूल दैलोमा विधिपूर्वक प्राणप्रतिष्ठा गर्न लगाई स्वस्तिक यन्त्र झुन्ड्याउने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने । मङ्गलवार एवं शनिवारका दिन रामायणको सुन्दरकाण्डको १०८ पल्ट श्रद्धापूर्वक पाठ गर्ने ।


केतु लग्नमा र राहु सप्तमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा तक्षक नामक कालसर्प योगको रचना हुन्छ । यस योगमा जन्मने जातकका लागि लामो र टाढाको यात्रा प्राय: कष्टप्रद हुन्छ । साझेदार भई गरेको व्यापार व्यवसायमा हानि ब्यहोर्नु पर्छ । विश्वासी र भरपर्दो साथीले पनि एकाएक शत्रुवत् व्यवहार गर्न थाल्छ । उसको प्रगतिको मार्ग अवरुद्ध हुनपुग्छ । यद्यपि उसले सबै समस्याहरू झेल्दै यात्रा, व्यापार र व्यवसाय बढाउँछ तर जातकको वैवाहिक जीवन समस्यामूलक हुन्छ र उसमा वैराग्यका भावनाहरू सञ्चरण हुन थाल्छन् । जातकले उच्च सरकारी पदमा बसी काम गर्ने अवसर पनि प्राप्त गर्दछ । सुखी, परिश्रमी र धनी हुन्छ । पितालाई आदर, सम्मान र प्रेम गर्दछ साथै सहयोगी पनि हुन्छ । धनधान्य र सुखसम्पत्तिको कुनै कमी हुँदैन । यति हुँदाहुँदै जातकले आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने प्रवृत्ति सिर्जना हुन्छ । यस्ता मानिसले सङ्गत गुनाको फल पाउने भएकाले खराब र व्यभिचारीको सङ्गतमा फँसेमा यस कालसर्प योगका जातकको जीवन नराम्ररी बिग्रने सम्भावना हुन्छ । यदि जातकले खासगरी सामाजिक र परोपकारी काममा चित्त लगाएमा यी कुलक्षणहरू नदेखिन सक्छन् ।

उपाय
सातवटा आइतबारसम्म प्रत्येक आइतबार ११ वटा नरिवल कुनै गङ्गागामिनी ठूलो नदीमा प्रवाहित गर्नुपर्दछ । दिनहुँ हनुमान् चालिसाको ११ पल्ट पाठ गर्नुपर्दछ र हरेक शनिवारका दिन रातो कपडामा आठ मुट्ठी भिजेका चना तथा ११ वटा केरा अगाडि राखेर हनुमान चालिसाको १०८ पल्ट पाठ गर्नुपर्दछ र ती केरा बाँदरलाई खुवाउनुपर्छ र प्रत्येक मङ्गलवारका दिन हनुमान् मन्दिरमा बुनियाको लड्डूको भोग लगाएर हनुमानको प्रतिमामा चमेलीको तेल दलिदिनु पर्दछ । राहु ग्रहको विशेष यन्त्र घरमा स्थापना गरेर उक्त यन्त्रको सामुमा बसी प्रतिदिन सर्प गायत्री मन्त्रको १०८ पटक जाप गर्ने वा ११२५ ग्राम जौ वा धातुबाट निर्मित १०८ वटा राहुयन्त्र नागपञ्चमीका दिन कुनै गङ्गागामिनी ठूलो नदीमा बगाउने वा शिवलिङ्गका अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


केतु दोस्रो भावमा र राहु अष्टम भावमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए कर्कोटक नामक कालसर्प योगको निर्माण हुन्छ । यस योगमा जन्म लिने जातक उदारमना, समाजसेवी र धनवान् हुन्छ । तर वाणीमा संयमता हुँदैन । शिक्षामा समस्या आउँछ । परिवारमा कलह हुन्छ । सधैं निन्दाको पात्र बन्नुपर्छ । भाग्यले साथ दिदैन । नोकरी वा व्यवसायमा स्थिरता हुँदैन । घटुवा र असफलता भइरहन्छ । पैतृक सम्पत्ति र कुलको इज्जतमा पनि हानि पुग्छ । साथीहरूबाट छलप्रपञ्च र जालसाजी हुन्छ । अकस्मात् शस्त्रप्रहार वा विषपानद्वारा मृत्यु पनि हुनसक्छ । उसले दुर्गमस्थानमा बसाइँ सर्नुपर्ने वा सरुवा भई जानुपर्ने हुन्छ । राज्यपक्षबाट अनावश्यक दु:ख पाउने र बन्धनको स्थिति आउँछ । चोटपटकबाट अङ्गभङ्गको भय पनि हुन्छ ।

उपाय
चाँदीको चारकुने टुक्रो बनाएर हरहमेशा आफ्नो गोजीमा राख्नुपर्छ । शुभ मुहूर्तमा कुनै गङ्गागामिनी ठूलो नदीमा मुसुरोको दाल सातपल्ट प्रवाहित गर्नुपर्छ र त्यसपछि लगातार पाँचवटा मङ्गलबारका दिन हनुमानको प्रतिमामा चमेलीको तेल घसिदिनु पर्छ,हनुमानलाई बुनियाको लड्डू अर्पण गरेर प्रसाद वितरण गर्नुपर्छ । अन्तिम मङ्गलबार गुलिया खाद्यपदार्थहरू र मिठाई सवा किलोको परिमाणमा हनुमानलाई अर्पण गरेर प्रसादका रूपमा वितरण गर्नुपर्छ । ४१ दिनसम्म जौका दानालाई चाराका रूपमा पन्छीलाई खुवाउनु पर्छ र प्रत्येक शनिवारका दिन कमिलालाई चाराका रूपमा सक्खर मिश्रित सातु वितरण गर्नुपर्छ । असली रुद्राक्षको माला बनाएर धारण गर्ने वा शिवलिङ्गका अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा राहु र केतुसँग सम्बन्धित दानादि सङ्कलन गरी ब्राह्मणलाई दान गर्ने वा गरिबगुरुवालाई प्रदान गर्ने वा धातुबाट निर्मित १०८ वटा राहुयन्त्र नागपञ्चमीका दिन कुनै गङ्गागामिनी ठूलो नदीमा बगाउने वा राहु ग्रहको विशेष यन्त्र घरमा स्थापना गरेर उक्त यन्त्रसामु बसी प्रतिदिन सर्प गायत्री मन्त्रको १०८ पटक जाप गर्ने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


केतु तेस्रो भावमा र राहु नवम भावमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए शङ्खचूड नामक कालसर्प योगको निर्माण हुन्छ । जातकले भाग्यको साथ पाउँदैन । पितृवियोग सहनु पर्छ वा पिताको सान्निध्य पाउन सकिंदैन । राज्यपक्षबाट अनावश्यक दु:ख पाउने स्थिति हुन्छ । अति परिश्रम गरी सुख सुविधा त जसैतसै जुटछ तर त्यसको भोग गर्न पाउँदैन । पिता, परिवारका बृद्ध सदस्य र राज्यपक्षसित मतभेद हुनाले उसले विविध समस्या र तनावले घेरिएर बस्नुपर्छ र वैराग्यका भावनाहरू सञ्चरण हुन थाल्छन् । हुन त यस योगमा जन्मिने जातक दिर्घायु, साहसी, यशस्वी र धनधान्यले परिपूर्ण हुन्छ । दाम्पत्य सुख अनुकूल रहन्छ । सर्वत्र विजय र सम्मान प्राप्त हुन्छ । तर यस जातकको चित्त सधैं अस्थिर रहन्छ ।

उपाय
राहु र केतुका बीज मन्त्रहरूको जाप गर्नुपर्छ । महामृत्युञ्जय कवचको नित्य पाठ गर्नुपर्छ । प्रत्येक दिन शिवलिङ्गमा बेलपत्र अर्पित गर्नुपर्छ । चाँदी वा अष्टधातुको नागाकृति औंठी बनाएर ज्योतिषीको सल्लाहबमोजिम हातको औंलामा धारण गर्नुपर्छ । घरको मूल दैलोमा विधिपूर्वक प्राणप्रतिष्ठा गर्न लगाई स्वस्तिक यन्त्र झुन्ड्याउने वा राहु ग्रहको विशेष यन्त्र घरमा स्थापना गरेर उक्त यन्त्रको सामुमा बसी प्रतिदिन सर्प गायत्री मन्त्रको १०८ पटक जाप गर्ने वा नागपञ्चमीका दिन प्रतिवर्ष व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागलाई दूध चढाउने वा शिवलिङ्गका अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा १०८ वटा कोइलाका टुक्रा नागपञ्चमीका दिन कुनै गङ्गागामिनी ठूलो नदीमा बगाउने वा विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने ।


केतु चतुर्थ स्थानमा र राहु दशम स्थानमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए घातक नामक कालसर्प योगको निर्माण हुन्छ । जातकले व्यापार व्यवसायमा अकल्पनीय क्षति ब्यहोर्नु पर्छ । हेर्दा व्यापार व्यवसायबाट सफलता र लाभको स्थिति त देखिन्छ तर प्रत्यक्षत: घाटा नै हुन्छ । पितृवियोग सहनु पर्छ वा पिताको सान्निध्य प्राप्त हुन सक्दैन । धर्म र ईश्वरप्रतिको विश्वास क्रमश: हट्दै जान्छ । वैराग्यको भावना सञ्चरण हुन थाल्छ । पदप्रतिष्ठा र कर्मवृद्धिका लागि उसले प्रशस्त सङ्घर्ष गर्छ र प्रयासअनुरूप लाभसमेत पाउँछ, तर बुढ्यौलीसँगै वैराग्यपूर्ण जीवन बाँच्नु पर्ने हुन्छ । यदि शनि अनुकूल स्थानमा बसेको छ भने यस योगमा जन्म लिने व्यक्ति परिश्रमी, धनसञ्चयी तथा सुखी हुने गर्दछन् । शनिको अनुकुलतामा उपचार र प्रयोग गर्न जानेमा यो राजयोग सरहको योग हो । यस्तो अवसरमा जन्म लिने जातकले मनोवाञ्छित सफलताहरू प्राप्त गर्नुका साथै राजनीतिमा समेत सफलता प्राप्त गर्न सक्दछ । तर जातकले प्रायशः आफ्नो जन्मभूमिभन्दा टाढा रहँदा मात्र राम्रो उन्नति गर्न सक्छ । माताको स्वास्थ्य प्रतिकूल रहन्छ । सबै ऐश्वर्य हुँदाहुँदै पनि जातकले आँफू स्वयंले भने सुख प्राप्त सक्दैन ।

उपाय
प्रत्येक मङ्गलबारको व्रत गर्नुपर्छ र १०८ पल्ट हनुमान चालिसाको पाठ गर्नुपर्छ अथवा दिनैपिच्छे हनुमान चालिसाको पाठ गर्नुपर्छ तथा प्रत्येक मङ्गलबारको व्रत लिनुपर्छ र हनुमानलाई चमेलीको तेल अर्पण गर्नुपर्छ । बुनियाको लड्डूको भोग लगाउनु पर्छ । अर्को उपायमा एक वर्षसम्म गणपति अथर्वशीर्षको दिनहुँ पाठ गर्नुपर्छ । शनिवारका दिन व्रत लिँदा पनि हुन्छ र लहसुनियां(वैदूर्यमणि), फलाम, तिल, सप्तधान्य, तेल, कालो वस्त्र, सुकेको नरिवल आदिलाई दानका रूपमा गरिबगुरुबालाई वा खाँचो हुने ब्राह्मणलाई प्रदान गर्नु पर्छ । मङ्गलवारका दिन बाँदरलाई केरा खुवाउनु पर्छ र कुनै गङ्गागामिनी ठूलो नदीमा मुसुरोको दाल ७०० ग्रामका दरले प्रत्येक शनिबार सात पल्ट प्रवाहित गर्नुपर्छ । भगवान शिवको प्रतिमा घरैमा स्थापना गरी वा चित्र बनाई श्रद्धाभक्तिपूर्वक महामृत्युञ्जय वा ॐ नम: शिवाय मन्त्रको प्रतिदिन जाप वा धातु वा माटाका १०८ वटा सर्प बनाएर नागपञ्चमीका दिन विधिपूर्वक कुनै गङ्गागामिनी ठूलो नदीमा बगाउने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


केतु पञ्चम स्थानमा र राहु एघारौं भावमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए विषधर नामक कालसर्प योगको निर्माण हुन्छ । यस योगमा उत्पन्न जातकको ज्येष्ठ सन्तानलाई कष्ट हुन्छ । जातकले आफ्ना दाजुभाइसित झगडा गर्छ । आर्थिक रूपमा प्रशस्त हानि ब्यहोर्नु पर्छ । आँखाको समस्या वा अनिद्रा, हृदयरोग र गुदासम्बन्धी रोगले ग्रस्त हुनपुग्छ । सन्ततिको अभाव वा सन्ततिसुखको बाधाले उसको जीवनलाई निराश बनाउँछ । उसले सामाजिक सम्मान र मानप्रतिष्ठा तथा धनवैभव कमाउँछ । तर यस योगमा आफुले गरेका दुष्कर्मको प्रतिफल यसै जीवनमा भोग्न बाध्य हुनुपर्छ । दुष्कर्मको परिणाम भोग्नुपर्ने भएकाले कमाएको सुखसम्मृद्धि र मानप्रतिष्ठा स्वतः गुम्नसक्ने खतरा पनि हुन्छ । जीवनको अन्त्य रहस्यमय ढङ्गले हुन्छ । तर शनिश्चर अनुकुल स्थानमा रहेमा यस योगमा उत्पन्न जातकले २४ वर्षको उमेरपछि सफलता प्राप्त गर्दछ । त्यसपछिको आर्थिक स्थिति पनि राम्रो हुन्छ । एघारौं भावमा राहुले सदैव अनुकूल फल प्रदान गर्दछ । उचित तथा अनुचित दुइटै तरिका अपनाएर धनको प्राप्ति हुन्छ । दाम्पत्य सुख अनुकूल हुन्छ । सन्तान सुखको कुनै कमी हुँदैन ।

उपाय
घिउको दियो बालेर दुर्गा कवच र सिद्धकुञ्जिका स्तोत्रको पाठ गर्नुपर्छ । देवदारू(लेकाली सल्लो)को बोक्रो, सरस्युँ तथा काँचो फलाम - यी तीन चिजलाई पानीमा उमालेर त्यस पानीलाई मनतातो बनाई ४१ दिनसम्म प्रत्येक दिन स्नान गर्नुपर्छ । कम्तीमा सोह्रवटा सोमवारसम्म प्रत्येक सोमबार भगवान शङ्करलाई ॐ हर हर महादेव भन्दै दहीले अभिषेक गर्नुपर्छ । राहु ग्रहको विशेष यन्त्र घरमा स्थापना गरेर उक्त यन्त्रको सामुमा बसी प्रतिदिन सर्प गायत्री मन्त्रको १०८ पटक जाप गर्ने वा राहु र केतुको मन्त्रलाई प्रतिदिन पाठ गर्ने तथा दुबै ग्रहको दानादि गर्ने वा राहु र केतुसँग सम्बन्धित दानादि सङ्कलन गरी ब्राह्मणलाई दान गर्ने वा गरिबगुरुवालाई प्रदान गर्ने वा धातु वा माटाका १०८ वटा सर्प बनाएर नागपञ्चमीका दिन विधिपूर्वक कुनै गङ्गागामिनी ठूलो नदीमा सेलाउने वा लगातार ११ वटा शनिबार पिपल र शिवलिङ्गमा जल चढाउने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।



केतु छैठौं भावमा र राहु बाह्रौं घरमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए शेषनाग नामक कालसर्प योगको निर्माण हुन्छ । जातकलाई सधैं अपरिचित शत्रुको डर भइरहन्छ । विनाकारण झैझमेला वा मुद्दामामिलामा फँस्नु पर्छ । नोकरी वा व्यवसायमा स्थिरता हुँदैन । घटुवा र असफलता भइरहन्छ । उसले जन्मभूमिभन्दा टाढा वा दुर्गमस्थानमा बसाइँ सर्नुपर्ने वा घरजम गरी बस्नु पर्ने हुन्छ । राज्यपक्षबाट अनावश्यक दु:ख पाउने र बन्धनको स्थिति पनि आउँछ । त्यस्तै चोटपटकबाट अङ्गभङ्गको भय पनि हुन्छ । सन्तति निरोगी, बलिया र दीर्घायु नै हुन्छन् तर ससुराली पक्षको खटपटले दाम्पत्य जीवनमा असर पर्न सक्छ र दाम्पत्य जीवनमा थोरै पनि सुखको अनुभूति हुन पाउँदैन । मावलीको साथ सहयोग प्राप्त हुँदैन । शनिको अनुकूलतामा उसले कडा परिश्रमपछि आफ्नो मिहिनेत र सुझबुझका बलमा मात्र सफलता हासिल गर्दछ । तर जातकले आफ्नो आचरणलाई संयमित राख्नु अत्यावश्यक छ नत्र अपयशको भागी हुनुपर्छ । यद्यपि मृत्युपछि उसले ठूलो प्रसिद्धि प्राप्त गर्छ ।

उपाय
कम्तीमा एघार हप्ता प्रत्येक बिहीबार कालो र सेतो तिल बराबर मिसाई कुनै गङ्गागामिनी ठूलो नदीको जलप्रवाहमा सेलाउनु पर्छ । भगवान् विष्णुको मन्दिरमा एक दर्जनको सङ्ख्यामा केरा चढाउनु पर्छ । कुनै शुभ मुहूर्तमा ॐ नमो भगवते वासुदेवाय मन्त्रको ११ माला जाप गरेर भगवान् विष्णुको प्रतिमा वा विग्रहमा गाईको दूधले अभिषेक गर्नुपर्छ । १२ को सङ्ख्यासँग मिल्दो परिमाणमा सुन, चाँदी वा पित्तलबाट निर्मित शेषनागको प्रतिमालाई विधिवत् प्रतिष्ठा गरी विष्णु भगवानको मन्दिरमा अर्पण गर्नुपर्छ । आजीवन वा राहु ग्रहको महादशा कालमा प्रत्येक वर्ष श्रीमद्भागवत महापुराण अन्तर्गतको नारायण कवचको १०८ आवृत्ति पाठ गर्नु वा गराउनु पर्छ । बिहीबारका दिन भगवान् नारयणको प्रतिमामा पहेंला रङका खाद्यान्न र चिजबीज अर्पण गर्नुपर्छ । यस अतिरिक्त आफ्नो लग्न-अनुकूल हुने गरी रत्न धारण गर्ने वा राहु ग्रहको विशेष यन्त्र घरमा स्थापना गरेर उक्त यन्त्रको सामुमा बसी प्रतिदिन सर्प गायत्री मन्त्रको १०८ पटक जाप गर्ने वा प्रत्येक पञ्चमीका दिन व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागपञ्चमीमा नागलाई दूध चढाउने वा प्रतिवर्ष अक्षय तृतीयामा नरायणबली गर्ने वा राहु र केतुको मन्त्रलाई प्रतिदिन पाठ गर्ने तथा दुबै ग्रहको दानादि गर्ने । राहु र केतुसँग सम्बन्धित दानादि सङ्कलन गरी ब्राह्मणलाई दान गर्ने वा गरिबगुरुवालाई प्रदान गर्ने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।

लग्नबमोजिम कालसर्प योगको फल

मेष र वृश्चिक लग्न
यी दुई लग्नको मालिक मङ्गल ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले कार्यक्षेत्रमा सन्तुष्टि प्राप्त गर्दैन । उसको व्यवसायिक क्षेत्र चौपट हुन्छ । नोकरी र व्यवसाय आदिमा अनेक किसिमका आरोहअवरोह भैरहन्छन् । उत्तरोत्तर सङ्घर्ष व्यहोर्नु पर्ने भएकाले व्यक्तिको आत्मविश्वास क्षीण हुँदै जान्छ । उसले जीवनभरि गाँसबास जुटाउन नै लागी पर्नु पर्ने हुन्छ । असन्तुष्टि र तनावको स्वतः सृष्टि हुन्छ । समग्रमा व्यक्ति अशान्त र निराश हुने गर्दछ । उसको अनुहारमा हरहमेशा निराशा मात्र देखा पर्दछ । यस्ता व्यक्तिले आफ्ना चारैतिर अन्धकारै अन्धकार मात्र देख्दछन् ।

वृष र तुला लग्न
यी दुई लग्नको मालिक शुक्र ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातक रोजगारीका क्षेत्रमा प्रायशः चिन्तित हुने गर्दछन् । आफूँसँग भएको वृत्ति गुम्ने हो कि भन्ने चिन्ता उसको मुख्य विषय हुने गर्दछ । यस्ता जातकलाई म आफैं सक्षम छु र मेरा लक्ष्यमा पुग्न म समर्थ छु भन्ने कुरामा पटक्कै आत्मविश्वास हुँदैन । लक्ष्यको नजिकै पुगेर पनि उसले कतिपय पटक कार्यक्षेत्र फेर्न सक्छ । यसै कारणले अशान्त र तनावग्रस्त भई ऊ पुनः नयाँ काम थाल्ने निधो गर्न पुग्छ । कार्यक्षेत्रको अस्थिरताका कारण ऊ आत्मघाती हुन बेर लगाउँदैन ।

मिथुन र कन्या लग्न
यी दुई लग्नको मालिक बुध ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले आफ्नो कार्यक्षेत्रमा उच्च सफलता हासिल गर्ने सपना भने अवश्य देख्दछ तर उसले सफलता कहिल्यै पनि प्राप्त गर्न सक्दैन । अझ यस्ता व्यक्तिले स्टिल, फर्निचर वा मेसेनरी उद्योगधन्दा गरेको छ भने त तनावग्रस्त जिन्दगी त गुजार्नु पर्छ नै उसलाई गाँसबासको खर्च जुटाउन पनि धौधौ हुन्छ । त्यस्तै ऊ खरिदबिक्री, कमिसन वा दलालीको क्षेत्रमा संलग्न छ भने पटकपटक मिहिनेत गरेर कमाएको रकम घाटा परेर एकै पटकमा गुमाउनु पर्ने हुन्छ । यस योगमा जन्म लिने जातकहरू कागत, कपडा, अन्नपात, किराना, गृहोपयोगी सामाग्री, होटल व्यवसाय आदिका व्यापारिक क्षेत्रमा प्रायशः सफल भएका देखिन्छन् । आँफूभन्दा ज्येष्ठ र वरिष्ठहरूसँग टक्करको स्थिति भैरहन्छ, उनीहरूसँग रिसराग बढ्ने र झगडा हुने परिस्थिति पनि उत्पन्न हुन्छ । फलतः ज्येष्ठ र वरिष्ठहरूको श्राप र चित्त दुःखाइले समेत उसले अनेक किसिमका क्षति र कष्ट व्यहोर्नु पर्छ ।

कर्कट लग्न
यस लग्नको मालिक चन्द्रमा ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकको स्थिरतामा कमी देखिन्छ । उसले नोकरी वा व्यवसाय दुबै क्षेत्रमा सफलता हासिल गर्न सक्दैन र जीविकोपार्जनका लागी कठिनाइ उत्पन्न हुने गर्छ । एकै पटक धेरै वटा काममा हात हाल्ने बानी हुन्छ र तिनलाई व्यवस्थित ढंगले परिणाममुखी तुल्याउन सक्दैन । अन्ततः ऊ सबै क्षेत्रमा असफल हुन्छ । यस योगमा जन्मने जातकहरू चिकित्सक, वकिल, ज्योतिषी, शिक्षक तथा कलाकार जस्ता स्वतन्त्र कार्यक्षेत्रमा विशेषज्ञ भएर सफल हुने गर्दछन् । यिनीहरू शारीरिक रूपले अस्वस्थ र परिवारसँग असन्तुष्ट हुने गर्दछन् । चतुर्याइँ, चलाकी र चङ्खपनले अवसरमुखी भई यिनीहरूले आफ्नो आवरण फेर्ने गर्दछन् । यस्ता जातकले चौतर्फी उन्नति त गर्दछन् तर त्यसलाई स्थिर तुल्याउन दानपुण्य गर्नु अनिवार्य छ ।

सिंह लग्न
यस लग्नको मालिक सूर्य ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले आफ्नो आजीविका र परिवारको भरणपोषणमा सदैव चिन्तित हुनुपर्दछ । उसको व्यवसायमा पटक पटक तीव्र उन्नति त हुन्छ तर एकै पटकको मन्दीले उसको सम्पूर्ण आम्दानी चकनाचुर हुन पुग्छ । उसको पुँजीगत सम्पत्ति सुस्त गतिमा वृद्धि भएको त देखिन्छ तर एउटै झट्कामा सर्वस्व नाश हुन्छ । यस लग्नमा जन्म लिने जातक अर्काको अधीनमा रहन चाहँदैन, तर परिस्थितिवश विवश भएर उसले पराधीनता स्वीकार गर्नु पर्छ । परिवारजनलाई एउटै सूत्रमा बाँधेर राख्नु यिनीहरूको विशेषता हो ।

धनु र मीन लग्न
यी दुई लग्नको मालिक बृहस्पति ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले पराधीनमा रहेर गर्नुपर्ने काम नोकरी आदिमा सफलता प्राप्त गर्न सक्दैन । विपरीत लिङ्गीको सहयोगले स्वतन्त्र कार्यक्षेत्रमा भने ऊ सफल हुन्छ । उसको जीवनसाथीसितको सम्बन्ध त्यति राम्रो हुँदैन । उसले दलाली, कमिसन एजेन्सी, कन्सलटेन्सी एवं राजनीति आदि क्षेत्रमा मान र यश प्राप्त गर्दछ । प्रसिद्धि त प्राप्त हुन्छ तर उसको अन्तर्मुखी स्वभावका कारण धनको अभावको अनुभूति भने भइरहन्छ । कमाएको धन पनि उपयोग गर्न पाउँदैन । पारिवारिक जीवन असाध्यै सङ्घर्षमय हुन्छ । छातीमाथि गह्रुङ्गो भारी बोकेर हाँसेर हिंड्नु पर्ने अवस्थामा गुज्रान गर्नुपर्छ । ऊ परोपकार गर्न तल्लीन हुन्छ तर यसो गर्दा पनि अपयश र कष्ट व्यहोर्नु पर्छ ।

मकर र कुम्भ लग्न
यी दुई लग्नको मालिक शनिश्चर ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले परदेशमा गुज्रान गर्नुपर्छ । उसले आफ्नो थातथलो छाडेर अन्यत्र बसाइ सर्दा मात्र सफलता आर्जन गर्न सक्दछ । ऊ स्त्रीपुत्रादिबाट सन्तुष्ट र तृप्त हुँदैन । उसले पैतृक सम्पत्तिलाई समेत सदुपयोग गर्न सक्दैन । हुन त यस योगमा जन्मिने जातकले आफूलाई आवश्यक धन आफैं आर्जन गर्दछन् तर त्यस धनबाट न त ऊ आँफू सन्तुष्ट हुन्छ, न स्त्रीपुत्रादि, परिवारजन नै । खनिज पदार्थ, पेट्रोलियम, एसिड, कोइला, औषधी, रासायनिक पदार्थ आदिको कारोबारमा व्यापार गरी वा त्यस क्षेत्रमा नोकरी गरी यस योगमा उत्पन्न हुने व्यक्तिले राम्रो सफलता हासिल गर्न सक्छन् । तर यदाकदा देखिने आर्थिक सङ्कटले कमाएको सारा सम्पत्ति एकै चोटि स्वाहा हुने गर्दछ । सेयरको कारोबार, सट्टापट्टा, चिठ्ठा आदिबाट पनि उसलाई लाभ हुन्छ ।[५]

समग्र उपाय
यदि हजुरले सपनामा सर्प देख्नुहुन्छ वा प्रत्येक समय तनाव र असमंजसपूर्ण अवस्थामा रहनुहुन्छ भने हुनसक्छ तपाईँको कुण्डलीमा समेत कालसर्पको प्रभाव छ । ज्योतिषशास्त्र-अनुसार जुन व्यक्तिको कुण्डलीमा कालसर्प योग हुने गर्दछ, त्यसले जीवनभरि कतिपय कष्ट र कठिनाइ ब्यहोर्नु पर्दछ । उसले कतिचोटि त यतिसम्म तनाव अनुभव गर्दछ कि उसको मस्तिष्कमा आत्महत्यासम्मका विचार उद्भव हुन थाल्छ । यो योग अधिकतम व्यक्तिको कुण्डलीमा कुनै न कुनै रूपमा अवस्थित हुन्छ ।

जन्मकुण्डलीको निर्माण नभएका तर सर्पको बाधा भइरहने वा सपनामा किराफट्याङ्ग्रा तथा सर्पादि सरिसृप जीव देख्ने व्यक्तिले वा दाम्पत्य जीवनमा कलह, बिछोड र असन्तुष्टि हुने दम्पतिले नागपञ्चमीका दिन निम्न कर्म सम्पन्न गरी यस योगको समग्र निवारण यसरी गर्न सक्दछन् :-

१ - त्रिपिण्डी श्राद्ध : पितृहरू असन्तुष्ट हुँदा यो योग हुने गर्छ, अतः नजिकको तीर्थस्थल (विष्णुपादुका, गोकर्ण, गया)मा गई विधिविधान पूर्वक त्रिपिण्डी श्राद्ध गर्ने, तर मातापिता हुनेले यो कर्म घरका श्राद्धाधिकारप्राप्त सदस्यहरूबाट मात्र सम्पन्न गर्नसक्नु हुनेछ ।

२ - मृत्युञ्जय जाप : कम्तीमा २१००० पटक महामृत्युञ्जय मन्त्रको जाप आफैं गर्ने वा ब्राह्मणद्वारा गराउने ।

३ - नागपूजा : नागपञ्चमीको दिन विधिवत् नागको पूजा गरी धातुनिर्मित नागको प्रतिमा बनाई ब्राह्मणलाई दान गर्नु पर्दछ । त्यस्तै दान नगर्दा उक्त प्रतिमा नजिकैको शिवालयमा चढाउनु पर्छ वा कुनै गङ्गागामिनी नदीमा प्रवाहित गरी राहु ग्रहको रत्न वा यन्त्र धारण गर्नु पर्दछ ।

४ - पीपलको बोटको एक वर्षभित्र २८००० पटक परिक्रमा गरेमा पनि कालसर्प योगको दुष्प्रभाव भोग्नुपर्दैन ।

५ - कुनै धातुको नाग बनाई विधिपूर्वक पूजनप्रतिष्ठा गरी ब्रह्ममुहूर्तमा शिवलिङ्गमा चढाउनुपर्छ वा चाँदीका नाग-नागिनी बनाएर नदीमा बगाउनुपर्छ ।

६ - वर्षमा एकपल्ट घरैमा वा नजिकै रहेको कुनै शिवालयमा शिवजीको विशेष उपासना वा लघु रुद्रीको अनुष्ठान गर्नुपर्छ ।

७ - बुधवार वा शनिवारका दिन भिखारीलाई कम्बल, कालोदाल, मुँगा आदि दान गर्नुपर्छ ।

८ - एउटा तरबूजालाई प्रत्येक शनिबार पानीको स्रोतछेउमा बेस्सरी पछार्नु पर्दछ ।

९ - शनिवारका दिन कुकुरलाई खाद्यसामाग्री अर्पण गर्नुपर्दछ ।

१० - नवनाग स्तोत्रको विधिविधानपूर्वक पाठ गर्नुपर्दछ ।

सामूहिक शान्तिकर्म कालसर्प योगको निवारणको समग्र उपाय होइन

कालसर्प योगको व्यवसायिकता र ठगी
गणितीय आधारमा संसारको समस्त जनसङ्ख्याको करिब ४३ प्रतिशत जनसंख्यामा कालसर्प योग रहने सम्भावना हुन्छ। यो योग नयाँ होइन, उहिल्यै पनि यस्तो गणीतीय योगको सिर्जना हुन्थ्यो, हिजोआज पनि हुन्छ र भविष्यमा पनि यत्तिकै मानिसहरूमा सम्भव हुन्छ। तर अहिले यसका प्रभावका बारेमा व्यापारिक र व्यवसायिक दृष्टिकोणले विवेचना गरी भिन्नमिन्न धारणा र शान्तिविधि उल्लेख भएका लेखरचना र पुस्तकहरू प्रशस्त पाइन्छ र विगत १०/१५ वर्षयता यसको चर्चा परिचर्चा र स्वस्तिशान्तिका प्रोपोगण्डा खुब हुँदै आएको छ। धर्मभीरु, सङ्घर्ष गर्न डराउने र सोझा एवं सरल व्यक्तिहरू कालसर्प योगको शान्तिका नाममा दिनदहाडे ठगिएका छन्। अब नागपञ्चमी आउन लागेको छ, तपाईंहरूले पनि हिजोआज टीवी, एफ्एम् र अख़बारहरूमा यस योगलाई जरैदेखि उखेलेर फ्याल्ने प्रचारहरू प्रसारण/प्रकाशन भएको देख्नुभएकै होला। ठाउँठाउँमा कालसर्प योग शान्ति कर्मका निम्ति बुकिङ्ग हुन सुरु भइसकेको छ। तर विधिपूर्वक गर्ने नगर्ने सम्बन्धमा शङ्का चाँहि रहिरहन्छ। त्यसैले प्रचार र हल्लाका भरमा गरिएका अवैध शान्तिकर्म गर्नासाथ तपाईंका सबै अवरुद्ध मार्गहरू खुल्लान् भन्ने ग्यारेन्टी हुनसक्दैन र तपाईंले जीवनपथमा लाभ प्राप्त गरिहाल्न पनि थाल्नु हुन्न। त्यसैले यस्ता ठगीका धन्दाहरूमा कसैले पनि फँस्नु हुँदैन।


खासमा हामीभित्र पलाएको स्वार्थीपना, धनलोलुपता, व्यक्तिवादिता, अमानवीय क्रियाकलाप, ढोङ्गीपन, आहारविहार र खानपानमा हुने अनियन्त्रण, चारित्रिक स्खलन, व्यभिचार आदिले चिनामा भएका अशुभ, अनिष्ट र खराब योगहरू सक्रिय हुने गर्दछन् । तपाईं साँच्चै कालसर्प योगको दुष्प्रभावबाट मुक्त हुन चाहनुहुन्छ भने आजैबाट यी समस्त विकृतिलाई त्याग्नुस् र चलिरहेको पवित्र महिना श्रावणमा भगवान् भोलेशङ्करको श्रद्धाभक्तिपूर्वक साँचो मनले प्रत्येक वर्ष आराधना गर्नुस्। तपाईंको कालसर्प योगका सकारात्मक फलहरू मात्र प्राप्त हुन्छन्, अनि तपाईंको कल्याण हुनेछ।

हिजोआज गुरुपुरोहित र ज्योतिषीहरूले खेतीका रूपमा सामूहिक कालसर्प योगको आयोजना गरेक प्रचारप्रसार र दृश्यावली देख्न, सुन्न र हेर्न पाइन्छ । सामूहिक कर्ममा तपाईंको सहभागिता हुँदा मानसिक शान्ति त हुनसक्ला तर विचार गर्नुस् त । कुनै पनि वैदिक कर्ममा तपाईंको नाम, थर, गोत्र, प्रवर आदिको नाम स्पष्टसँग उच्चारण गरिन्छ, सङ्कल्प, विनियोग आदि स्थानमा पानी समाउँने र छाड्ने तथा पाद्य,अर्घ्य, आचमन, नैवेद्य, पूजासामाग्री आदि समर्पण गरी विधि पुर्याउनु पर्दछ । सामूहिकको नाममा सामेल भएको भीडले यी काम विधि नछाडी पूरा गर्नु कति सम्भव हुन्छ ? पक्का पनि पूर्ण हुँदैन । कथंकदाचित् तपाईं बाठो भएर सम्पन्न गरिहाल्नुभयो भने पनि त्यहाँ सबै सहभागीले कर्म पूरा गर्नु असम्भव छ । त्यसैले सामूहिक रूपमा गरिएको कुनै पनि कर्मले कर्मपूर्ण हुँदैन । सामूहिक शान्तिको आयोजना त प्रोपोगन्डा र शीघ्र धनार्जन गर्ने आयोजकको उपाय मात्र बन्न सक्छ, तपाईंको कुनै पनि शान्तिकर्म गराउने माध्यम बन्न सक्दैन । त्यसैले सामूहिक शान्तिकर्ममा सहभागी हुनुभन्दा माथिको उपायमा उल्लेख गरिएको ससाना उपाय बढी फलदायी हुने हुन्छ । पहिलो कुरा त तपाईंको कालसर्प योग शास्त्रले मान्यता दिएको योगमा पर्दै पर्दैन, अर्को कुरा कालसर्प योगकै कारण आफ्नो उन्नतिप्रगतिमा बाधा भएको ठान्नुहुन्छ भने व्यक्तिगत तवरमा छुट्टै शान्तिकर्मको आयोजना गर्नु बेस हुन्छ । त्यसैले सामूहिक शान्तिविधि कालसर्प योगको निवारणको समग्र उपाय होइन ।

उपसंहार
कालसर्पयोगको घेराभित्र रहेका शुभाशुभ ग्रहहरूका फलमा छाया पारिदिने हुनाले कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि उल्लेख गर्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन । अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्ततिसुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन-अध्यापनको क्षेत्रमा कमजोरी आदि यस योगका सामान्य लक्षण हुन् । मूलतः कालसर्प योग शास्त्रमा उल्लिखित योग होइन, हिजोआजका अधिकतर ज्योतिषीले कालसर्प योगको अस्तित्वलाई स्वीकार गरे पनि केही सैद्धान्तिक ज्योतिषीहरू यस योगलाई योग मान्न तैयार छैनन् । योगका रूपमा स्वीकार गर्ने कतिपय ज्योतिषीले पनि कर्मकाण्डीय प्रलोभनका कारणमात्र कालसर्प योगलाई महत्त्व दिने गरेको पाइएको छ । जे भए पनि सबै कालसर्प योग खराब हुँदैनन्, कुण्डलीमा रहेका अन्य ग्रहको शुभ र अशुभ स्थितिका आधारमा कालसर्प योग खराब वा असल हुने गर्दछन् ।  माथि उल्लिखित नामावलीलाई नै केलाउने हो भने पनि कालसर्प योगलाई खराबै योग हो भनेर विवेचना गर्नु युक्तिसङ्गत हुँदैन । कुनैकुनै कालसर्प योग असाध्यै राम्रा मानिन्छन्, त्यसैले विज्ञ ज्योतिषीको सल्लाह प्राप्त गरी यसको शान्ति गर्ने कि नगर्ने निश्चित गर्नुपर्दछ । कालसर्प योग मान्नेहरूकै भनाइलाई मान्ने हो भने कालसर्प योगको शान्तिकर्म गर्नाले राहु र केतु यी दुई छायाग्रहको घेरामा बसेर पूर्ण प्रभाव देखाउन नसकेका ग्रहहरूको पूर्ण प्रभाव गराउने वातावरण तैयार गर्नु हो । यदि चन्द्र र शनिले विषयोग बनाएको कालसर्प योग छ भने त्यसको शान्तिकर्म गर्दा विषयोगलाई पनि सक्रिय तुल्याइदिन्छ । अब स्वयं फैसला गर्नुहोस् निष्क्रिय विषयोग सक्रिय भयो भने त पक्का पनि राम्रो हुन सक्दैन । त्यसैले राहु र केतुको घेराभित्र रहेका सूर्यादि सातवटा ग्रहको अवस्थिति र युति कुनै पक्षबाट पनि राम्रा छैनन् भने कालसर्प योगको शान्तिकर्म गरेको भन्दा नगरेको बेस हुन्छ । स्मरण रहोस् शुभ योगको समेत समुचित उपचारबाटमात्र शुभ्यफाप्य हुन्छ !