Monday, June 11, 2018

के हो अपशकुन?

कुनैकुनै लक्षणलाई देख्नासाथ मान्छेको मनमा आनन्दानुभूति र कुनै लक्षणका कारण उद्विग्नताको अनुभूति हुन्छ र संयोगले चिताएको वा आँटेको काममा विघ्न हुन्छ । कुनै कार्य अपूर्ण रहने वा परिस्थिति सिर्जना गर्ने चिज, वस्तु वा दर्शनलाई हामी अपशकुन मान्छौं । अपशकुनका सन्दर्भमा पूर्वीय धर्मशास्त्र, ज्योतिष, सामाजिक र पारम्परिक संस्कारमा भिन्नभिन्न धारणा, मानसिकता र भ्रम प्रचलनमा छन् । यसबाहेक यस विषयमा सिग्मण्ड  फ्रायड जस्ता अनेकानेक पाश्चात्य विद्वान् एवं मनोविदहरूले समेत कलम चलाएका छन् । यस आलेखमा पाठकहरूमा जानकारी प्राप्त होस् भन्ने उद्देश्यले घरव्यवहारमा दिनहुँ प्रयुक्त हुने चिजबिज, जीवजन्तु, पंक्षी आदिसित जोडिएका केही अपशकुनहरूको विवरण प्रस्तुत गरिएको छ ।

कुचो -
नयाँ घरमा गृहप्रवेश गर्दा पुरानो कुचो प्रयोग गर्न निषेध गरिएको छ । त्यस्तै कुचो ठड्याएर वा माथिल्तिर टुप्पो रहने गरी राख्नु हुन्न भन्ने मान्यता छ । त्यस्तै साँझ परेपछि वा रात्रीकालमा घर बढार्न निषेध गरिएको छ । यी कुरा चाहाँदानचाँहादै घटित हुन गएमा आर्थिक पक्षमा नोक्सानी हुने अनुमान गरिन्छ, लक्ष्मीले घर छोडेर जान्छिन् भन्ने मान्यता छ र दरिद्रताले घरमा प्रवेश गर्दछ भन्ने विश्वास गरिन्छ । त्यस्तै नवजात वा भर्खर हिंडडुल गर्न थालेका केटाकेटीले घर बढार्न थाले भने घरमा अनावश्यक परपाहुना आई झन्झट थपिने सम्भावना हुन्छ भन्ने गरिन्छ । अनि परिवारभित्र वा बाहिरको व्यक्ति घरबाट बाहिर गएको कम्तीमा दुई मुहूर्तसम्म घर बढार्नु हुँदैन भन्ने मान्यता पनि छ । यसो गर्दा घरबाहिर गएको व्यक्तिले यात्राका क्रममा अनवश्यक दुःख पाउने र शारीरिक रूपमा जोखिम ब्यहोर्ने सम्भावना हुन्छ । अनि कुचोलाई लत्याउनु हुँदैन, खुट्टाले कुचो जानीनजानी छोइयो भने भगवान् विष्णुको नाम स्मरण गर्नुपर्छ । कुचोमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता छ, त्यसैले कुचो लत्याउँदा आर्थिकरूपमा जोखिमको सम्भावना पनि हुन्छ ।

दूध -
अपशकुनको सन्दर्भमा दूधको छुट्टै वैशिष्ट्य छ । दूध पोखिनु राम्रो मानिँदैन । बालबालिकाहरू दुग्धपान गर्नासाथ घरबाट बाहिर पुगे भने बिरामी हुन्छन् भन्ने मान्यता छ । सपनामा समेत दूध देखिनुलाई राम्रो सङ्केत मानिंदैन । तर महिलाले सपनामा दूध वा दुग्धजन्य पदार्थ देखेमा गर्भधारण गर्ने मान्यता पनि छ ।

पशु -
पशुका सन्दर्भमा पनि विविध शकुन र अपशकुनको चर्चा गरिएको पाइन्छ । जस्तै कुकुर यात्राकालको शुभशकुन हो, तर तपाईं हिंड्ने बेलामा कुकुर तर्सियो भने त्यो यात्रा कष्टदायक हुन्छ । त्यस्तै त्यसै समयमा कुकुरले आफ्नो जिउ कन्याएको स्थिति देखा पर्यो भने तपाईंले आँटेको काम अपूर्ण र असफल हुने सङ्केत हो भन्ने मान्यता छ । तपाईंको घरमा पालेको कुकुरले तपाईंको यात्राकालमा भुक्यो भने तपाईं अप्रत्याशित घटनाचक्रमा फँस्ने सम्भावना हुन्छ वा दुर्घटनाको भय हुन्छ । त्यस्तै कुकुरको जिउ फोहोर छ र त्यसले आफ्नो जिउ र कान पटकपटक झट्कार्छ भने तपाईंलाई त्यसले भावी सङ्कटबाट जोगिने सल्लाह दिएको मान्ने प्रचलन छ । हिंड्नेबितिक्कै तपाईंले कुकुरहरूका बिचमा झगडा भएको दृश्य देख्नुभयो भने सोच्नोस्, तपाईं कुनै लडाइँ वा झगडा सहभागी भएर दुःख पाउँदै हुनुहुन्छ । त्यस्तै सन्ध्याकालमा धेरैवटा कुकुर पूर्व फर्केर भुक्दछन् भने त्यस गाउँ वा टोलमा ठूलो विपत्ति आइलाग्छ । अनि कुकुरले तपाईंको घरको भित्ता कोतरेको देख्नुभयो भने मेरो केही चिज हराँउदै छ भन्ने आंकलन गर्दा हुन्छ वा तपाईंको घरमा चोरीडकैती हुने सम्भावना बढ्छ । त्यस्तै कुकुरले विनाकारण भुक्दै आफ्नो मालिकसित अँगालो मार्न खोज्यो भने त्यसले तपाईंलाई बन्धनको सङ्केत गरेको ठहरिन्छ । कुकुरले बल्दै गरेको दाउरा बोकेर हिंडेको देखियो भने त्यसले कुनै प्रियजनको मृत्युको द्योतन गरेको मानिन्छ । कुकुरले शयनकक्षको खाटमाथि चढेको देखिए विविध बाधा र सङ्कटको सङ्केत गर्दछ भनिन्छ । कतै हिंड्नेबेलामा कुकुरले ढुङ्गामाथि वा श्मशानघाटमा पिसाब फेरेको दृश्य देखियो भने यात्रा कष्टप्रद हुन्छ, त्यसैले त्यो यात्रा रद्द गर्नु पर्दछ भन्ने मान्यता छ ।

कुकुर जस्तै यात्राका क्रममा र अन्य विषयमा बिरालोबाट पनि अपशकुनको सङ्केत हुन्छ भन्ने मान्यता छ । बिरालोले दूध खाइदियो भने घरका केटाकेटीको स्वाश्थ्यमा प्रतिकूल प्रभाव पर्छ भन्ने गरिन्छ । बाटो हिँड्दा कालो बिरालोले बाटो काट्यो भने त्यो यात्रा निरर्थक हुन्छ, हुन लागेको वा इच्छएको काममा विघ्न हुन्छ, त्यसैले केही कदम फर्किएर पुनः यात्रा सुचारु गर्नुपर्छ भन्ने मान्यता छ । तपाईं निदाएको वा सुतेको बेला अचानक बिरालो तपाईंको शरीरमाथि फाल हाल्यो भने त्यसलाई पनि अपशकुन माने गरिन्छ, अनि बिरालो जुध्नु, रुनु र हाँच्छ्यु गर्नु पनि अशुभ हो भन्ने गरिन्छ । हाम्रो धार्मिक मान्यतामा गाईलाई शुभताको प्रतीकका रूपमा लिइन्छ तर शकुनशास्त्रले गाईले अभक्ष खाएको अवस्थालाई राम्रो मान्दैन । यदि गाईले आफ्ना बाच्छाबाच्छीलाई स्नेह गर्दैन र बाच्छाबाच्छी देख्दा फाँफाँफुँफु गर्छ भने त्यस घरकी स्त्रीको गर्भमा सङ्कट हुन्छ भन्ने विश्वास गरिन्छ । यात्रा गर्ने क्रममा घरबाट निस्कना साथ गाई वा गधा कराएको सुनियो भने यात्रा असहज हुन्छ, अनि गाई वा घरपालुवा घोडाले खुट्टा चलाउँदै जमिन खोस्रेको वा डराए झैं गरेको दृश्य देखिँदासमेत यात्रा दुर्घटनाप्रद हुन्छ भन्ने मान्यता छ । त्यस्तै घोडाले दाहिने खुट्टो उचालेको अवस्थामा यात्र गर्नुहुन्न, यात्राका क्रममा आफ्नो देब्रेपट्टिबाट उँट कराउनु अशुभ मानिन्छ । यात्राका क्रममा हात्ती माउते बिना वा अन्य हात्तीबिना एक्लै उभिएको देखिनु, हात्ती कराउनु र हात्तीले माटो खोस्रनु पनि राम्रो मानिंदैन, हात्तीको अवस्थितिकै दिशातर्फको यात्रा त्याग्नु पर्छ भन्ने मान्यता छ । यात्राकै समयमा एकाबिहानै तपाईंको देब्रेतर्फ एकतमाशले नहल्लिई उभिएको हरिण देखियो भने त्यो यात्रा अनिष्टकारक हुन्छ । हरिणले मलमूत्र विसर्जन गरेको, खोकेको, हाँच्छ्यु गरेको अवस्थालाई समेत अशुभ मानिन्छ ।

पन्छी -
आफ्नो देब्रेपट्टी रुपी(मैना) देखिनुलाई यात्राकालको अशुभता मानिन्छ । सुकेको रुख वा नाङ्गो डाँडामा सुँगा कराएको देखियो भने यात्रामा भय हुने सङ्केत मानिन्छ । त्यस्तै यात्रा गर्ने बेलामा आफ्नो सम्मुखमा रुपी(मैना) कराएमा कलह हुने र देब्रेतर्फ कराएमा विपत्ति हुने सङ्केत हो भन्ने गरिन्छ । देब्रेतर्फबाट हाँसको आवाज आउनुलाई पनि यात्राका लागि अशुभ मानिन्छ । बकुल्लो भयभीत भई उडेको देखिँदा समेत यात्रामा विघ्न हुन्छ भन्ने मान्यता छ । यात्राकालमा पन्छीहरूको बथान डराएर उडेको देखिनुलाई पनि राम्रो मानिंदैन । परेवालाई शान्तिको प्रतीक मानिए पनि यात्रा गर्ने बेलामा दाहिनेतिर रहेको परेवालाई राम्रो मानिंदैन । मयुर जुधेको दृश्यबाट यात्रुको मृत्युलाई सङ्केत गरेको मानिन्छ, त्यसैले त्यो यात्रा छोट्याउनु वा बन्द गर्नु बुद्धिमत्ता हुन्छ भन्ने मान्यता छ ।

किराफट्याङ्ग्रा र सर्पादि -
किराफट्याङ्ग्रा र सरिसृप(घिस्रने जीवजन्तु) आदिले पनि शुभ र अशुभ सङ्केत गर्ने मान्यता छ । 'देब्रे छेपारो दाहिने साँप, जहाँजहाँ टेक्यो त्यहाँ फलिफाप' भन्ने भनाई ले छेपारो र सर्पलाई शकुनशास्त्रमा महत्त्व दिइएको प्रमाणित हुन्छ । सर्प यात्राका क्रममा देब्रेतिर सर्प देखिनु र दाहिनेतिर छेपारो देखिनु शुभ हुन्छ, तर विपरीत दिशामा देखिएमा अशुभ मान्ने चलन छ । तराईका घरैपिच्छे सर्प भेटिए पनि सामान्यतया घरभित्र सर्पको उपस्थितिलाई अशुभ नै मानिन्छ र स्वस्तिशान्ति गर्ने विधान बताइएको पाइन्छ ।

विष्टापतन -
कहिलेकाहिँ बाटो हिँड्दै गर्दा वा बसिराखेको ठाउँमा व्यक्तिको शरीरमाथि चराचुरुङ्गीको विष्टा खस्दछ । यो अवस्थालाई ठूलो अपशकुन मान्ने चलन छ । यसले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने र सामाजिक हैसियतमा चोट पुग्नसक्ने विषयको सङ्केत प्रदान गर्दछ । खासगरी गिद्ध, चिल, काग, चमेरो आदिले विष्ट्याउँदा मानिसको शरीरमा पर्यो भने त्यस्तो घटना घटेको ६ महिनासम्मको अवधिमा कुनै पनि रोगव्याधि वा दुर्घटनाका कारण व्यक्तिको मृत्यु हुनसक्ने कुरा विभिन्न शास्त्रमा उल्लेख गरिएको बताउँदछन्, जानकार र ज्योतिषीहरूले व्यक्तिको शरीरमा माउसुली खस्यो भने पनि शुभाशुभ दुबै किसिमका फलहरू प्राप्त हुने बताइन्छ । त्यस्तै लोथर्केले शरीरमा छोयो भने पनि शुभाशुभ विचार गर्ने चलन छ । सामान्यतया पुरुषको दाँया अङ्गमा तथा स्त्रीको बामाङ्गमा माउसुली झर्दा शुभ हुने र यसविपरीत हुँदा अशुभ हुने मानिन्छ ।

सङ्क्षेपमा भन्नु पर्दा अनिष्ट अपशकुन देखियो वा अनुभूति गर्नुपर्यो भने व्यक्तिले शारीरिक, आर्थिक र मानसिक रूपमा कष्टको सामना गर्नुपर्छ । शकुन र अपशकुनको मान्यताले प्राचीन कालदेखि नै मानव समुदायलाई आफ्नो मोह पाशमा बाँधेको छ भन्दा हुन्छ, तर केही व्यक्तिलाई मात्र अपशकुन/शकुनको यस चक्रबाट सुयोग र दुर्योगको सूचना वा सङ्केत प्राप्त हुने मात्र होइन, यसबाट अचानक धन प्राप्ति पनि हुनसक्छ भन्ने थाहा छ । त्यसैले शास्रले अपशकुनका दुष्प्रभावहरूलाई निवारण गर्न वैदिक र तान्त्रिक उपाय, पाठ, जप, मन्त्र आदिद्वारा मार्गनिर्देशन गरेको हुन्छ, फलस्वरूप अशुभ प्रभाव समाप्त भएपछि चामत्कारिक लाभ भएका प्रसङ्गहरू पनि देख्न, सुन्न र पढ्न पाइन्छ । तल केही उपायहरू सुझाइएका छन्, जसको श्रद्धा र निष्ठाका साथ गरिएको प्रयोगबाट अशुभ सङ्केतलाई शुभ योगमा रूपान्तरण गर्न सकिन्छ ।

·         यदि तपाईं कुनै कालो पक्षीको अपशकुनबाट प्रभावित हुनुहुन्छ भने आफ्नो इष्टदेवताको वा जन्मकुण्डलीका आधारमा लग्नेशका अधिपति देवताको पूजा, आराधना वा मन्त्रको विधिपूर्वक जाप गर्नुपर्दछ । त्यस्तै च्यात्तिएका लुगाफाटा (वस्त्र) र तिलको तेल दान गर्नुपर्दछ वा धार्मिक क्षेत्र अथवा परोपकारका क्षेत्रमा प्रदान गर्नुपर्दछ ।

·         शरीरमा माउसुली खसेर हुने दुष्प्रभावबाट मुक्त हुन कुनै धार्मिक मठमन्दिर वा स्थानमा गई देवी/देवतालाई प्रसाद भोग लगाई भक्तजनमा वितरण गरेर मुक्ति प्राप्त गर्न सकिन्छ ।

·         यात्रा गर्ने बेलामा आफैंले वा अरु मानिस वा जीवजन्तुले हाँच्छ्यु गरेमा त्यसबाट हुने दुष्प्रभावलाई शान्त तुल्याउन 'ॐ राम रामेति शान्ति-शान्ति' भन्दै औँला पड्काउनु (चुट्की बजाउनु) पर्छ र एकछिन बिसाएर एक गिलास ठण्डा पानी खानु पर्छ, पानी खाने अनुकूलता नभएमा जुत्ताचप्पल खोलेर साटफेर गरे झैं गरी पुनः धारण गर्नुपर्छ ।

·         अशुभ स्वप्नको प्रभावबाट जोगिन महामृत्युञ्जय मन्त्र (ॐ हौं जूं सः ॐ भूर्भुव स्वःॐ त्र्यम्बकम् यजामहे सुगन्धिम् पुष्टिवर्धनम् उर्बारुकमिवबन्धनान्मृत्योर्मुक्षीय मामृतात् ॐ स्वर्भुव भूः ॐ सः जूं हौं ॐ॥) को जप वा विष्णुसहस्रनामस्तोत्रको पाठ गर्दा राम्रो हुन्छ ।

·         सर्पका कारणबाट अशुभ स्थिति प्राप्त भएमा 'जय राजा जनमेजय' भन्ने शब्दावलीलाई २१ पटक उच्चारण गर्दा उक्त अपशकुन दूर हुन्छ ।

·   तपाईं लामो यात्रामा अचानक बाहिरिनु भयो, तर कुनै ज्योतिषीको शास्त्रीय परामर्शद्वारा शुभसाइत जुराउने अनुकूलता प्राप्त भएन भने बाटोमा कुनै किसिमको विघ्न नआओस् भन्ने उद्देश्यले थोरै गन्धकको धुलो र हरिताल छर्किएर बाटो लाग्नु पर्छ, यात्रामार्गमा हुनसक्ने समस्त कष्ट र विघ्न निष्प्रभावी हुने विश्वास गरिन्छ ।

·       बिहानै उठेर प्रतिदिन हातले जमिनलाई छोएर 'ॐ पृथ्वी त्वया धृता लोका देवि त्वं विष्णुना धृता। त्वं च धारय मां देवि पादस्पर्शं क्षमस्व मे ॥' भन्दै धरतीमा टेक्नु पर्छ, तपाईंको त्यो दिन राम्ररी बित्नेछ, कुनै सङ्कट ब्यहोर्नु पर्दैन।

No comments:

Post a Comment