Showing posts with label चाडपर्व र उत्सव. Show all posts
Showing posts with label चाडपर्व र उत्सव. Show all posts

Thursday, July 26, 2018

गुरु पूर्णिमा

असार महिनाको शुक्लपक्षको पूर्णिमा तिथिलार्इ गुरुपूर्णिमाका रूपमा मनाइन्छ । अक्षर चिनाउने, औपचारिक वा अनौपचारिक शिक्षादीक्षा प्रदान गर्ने, मन्त्र सुनाउने, मार्गनिर्देशन गर्ने सबैलाई गुरु/गुरुआमाका रूपमा श्रद्धापूर्वक फल, फूल, अन्न र वस्त्र उपहारका रूपमा अर्पण गरेर सम्मान गर्ने चलन छ । महाभारतका श्रष्टा र प्रमुख नायक वेदव्यासलाई महागुरु भनिन्छ । सनातन (हिन्दु) धर्मावलम्बीहरूको प्राचीन र प्रमुख शास्त्र वेदलाई विभाजन गरेर, सम्पादन गरेर सर्वसाधारणका लागि सहज बनाइदिएकोले कृष्ण द्वैपायन व्यास वेदव्यासको रूपमा चर्चित छन् । वेदव्यासलाई महागुरुका रूपमा गुरुपूर्णिमाका दिन स्मरण र पूजन गरिन्छ । महाभारत अनुसार कौरव र पाण्डवलाई शास्त्र शिक्षा प्रदान गर्ने गुरु द्रोणाचार्य, विभिन्न नीतिशास्त्र, धनुर्विद्या र दर्शनको ज्ञान दिने भीष्म पितामह, कुलगुरु कृपाचार्य, पाण्डवहरूका गुरु धौम्य अादि सबैको गुरुका रूपमा आदरणीय र सम्मानजनक स्थान भए पनि महागुरुका रूपमा चाहिँ वेदव्यास नै पूजित छन् । दशरथका श्री रामचन्द्र लगायतका छोराहरूका गुरु वशिष्ठ र विश्वामित्र, श्रीकृष्ण र बलरामका गुरु सान्दिपनि, देवगुरु वृहस्पति सबैको नाम र काम स्मरणीय छन् । तर पनि गुरुपूर्णिमाका दिन महागुरु वेदव्यासको जन्मजयन्ती मनाइन्छ ।

धेरैधेरै वर्षपहिले ऋषि र देवताहरूले महर्षि वेदव्याससित अनुरोध गरेका थिए, जसरी सबै देवताहरूको पूजा र उपासना गर्ने कुनै न कुनै दिन निर्धारण गरिएको छ, तर गुरु र महापुरुषको वन्दना, स्मरण र अर्चना गर्ने कुनै दिन तोकिएको छैन, त्यसैले गुरु र महापुरुषको अाराधनाका लागि पनि कुनै एउटा दिन तोकिनु पर्छ । यसरी एउटा दिनको व्यवस्था गरियो भने शिष्य र साधकले अाअाफ्ना गुरुहरूप्रति कृतज्ञता अर्पण गर्न पाउने थिए । देवताहरूको यस्तो अनुरोधपछि गुरु वेदव्यासले 'ब्रह्मसूत्र' को रचना गर्न थाल्नुभयो र त्यस दिनलार्इ त्यसपछि व्यास जयन्ती र गुरुपूर्णिमाका रूपमा मनाउन थालिएको हो ।

गुरु तिनलार्इ भनिन्छ, जसमा अाकर्षण हुन्छ, जसको अालोकमा हामी स्वयं बत्तीमा पुतली तानिए झैं अाकर्षित भएर पुग्ने गर्दछाैं । हामी जत्ति गुरुका समीपमा पुग्दछाैं, त्यत्ति नै धेरै उत्साही र स्वतन्त्र भएको महसुस हामीलार्इ हुन्छ । गुरु गोरखनाथ, कबीर, नानक र बुद्धको स्मरणबाट यस्तै विचित्र अनुभूतिको अाभास हुन्छ । व्यक्तिले गुरुप्रतिको अनुशासन र समर्पणभावलार्इ दासताका रूपमा स्वीकार गरेको हुँदैन, बरु त्यस अनुशासन, दायित्व र समर्पणभावलार्इ मुक्ति र स्वतन्त्रता ठानेको हुन्छ । गुरु मध्यस्थ र मार्गदर्शक बन्नासाथ हामीले सहजै अात्मज्ञान प्राप्त गर्ने खुडकिलो प्राप्त गरिसकेका हुन्छाैं । वर्तमान सन्दर्भमा गुरुको स्थान पहिल्याउने हो भने औपचारिक र अनौपचारिक शिक्षा प्रदान गर्ने सबैलाई शिक्षक भनिन्छ । तर गुरुको सम्बोधन र सम्मान सबैले पाउँदैनन् । गुरु शब्दले गहिरो अर्थ बोकेको छ । कक्षा कोठाभित्र पढाउँदैमा उसले गुरुको सम्मान पाउँदैन । गुरु त्यो हो, जसले कोरा ज्ञानमात्र नदिएर शिष्टता, विनय, व्यावहारिक ज्ञान र परोपकार पनि सिकाउँछ । हाम्रो संस्कार र सभ्यताले हामीलार्इ गुरु सर्जक, पालक र संहारक तीनै रूपमा एकाकार स्वरूप हुन् भन्ने पाठ घोकाएको छ र उद्घोष गरेको छ :-

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥

यस मन्त्रको अर्थ हो - हे गुरुदेव हजुर नै ब्रह्मा हुनुहुन्छ, हजुर नै विष्णु हो र हजुर नै शिव हुनुहुन्छ । हे, गुरुदेव हजुर परम ब्रह्म हुनुहुन्छ, हजुरलार्इ म वन्दना गर्दछु ।

अाषाढ महिनाको शुक्लपक्षको पूर्णिमा तिथि गुरु पूर्णिमाको दिन हो । गुरुको व्युत्पति गर्ने हो भने गुरु शब्दमा अाएको 'गु' अक्षरको अर्थ अन्धकार हो र 'रु' ध्वनिको अर्थ टाढा पार्नु वा हुत्याउनु भन्ने बुझिन्छ । यसको समग्र अर्थ हुन्छ, हाम्रो अज्ञानतालार्इ जसले टाढा हुत्याउँदछ, तिनै लार्इ गुरु भन्ने गरिन्छ । हाम्रो संस्कृतिको एउटा महत्त्वपूर्ण पक्ष गुरुशिष्य परम्परा पनि हो । जुनबेला बालकलार्इ यज्ञोपवित (जनै) भिरार्इ गुरुको अाश्रममा पुर्याइन्थ्यो, त्यति बेलादेखि नै उसको जीवनको नवनिर्माण प्रारम्भ हुने गर्दथ्यो । त्यस समयमा अाश्रममा अार्इ पुगेको छात्रका लागि गुरुका अतिरिक्त मातापिताको भूमिका पनि गुरुले नै वहन गर्नुपर्दथ्यो । अाश्रममा गुरुले सर्वाङ्गीण शिक्षा दिइसकेपछि ऊ पुनः अाफ्नो घर फर्कंदा अाश्रमबाट विदा लिनुपूर्व क्षमताले भ्याएसम्म गुरुदक्षिणा दिएर फर्कन्थ्यो र जिन्दगीलार्इ नयाँ ढंगले सुसञ्चालन गर्ने गर्दथ्यो । त्यसै परम्परालार्इ जीवन्त तुल्याउँदै अाज अाश्रममा गर्इ शिक्षाग्रहण गर्ने परिपाटी नभए पनि प्रत्येक वर्ष गुरुपूर्णिमाका दिन गुरुको ऋणबाट ऊऋण हुन हामी हाम्रा गुरुलार्इ श्रद्धाभाव प्रकट गर्दछाैं र सालिन्दा अाशीर्वाद ग्रहण गर्न गुरुकहाँ गएर वा फोनसम्पर्क गरी वन्दना र सम्झना टक्र्याउँदछाैं अनि सकेको उपहार प्रदान गर्ने गर्दछाैं । यही हो हाम्रो संस्कार र सभ्यताले सिकाएको गुरुशिष्य परम्परा ।

गुरु गीतामा गुरुहरूको वर्गीकरण गरिएको छ । गुरुगीता सनातन धर्मको एउटा महत्त्वपूर्ण ग्रन्थ हो । यस ग्रन्थका रचयिता पनि भगवान् वेदव्यास नै हुन् । वास्तवमा यो स्कन्दपुराणको एउटा खण्ड हो । यसमा जम्मा ३५२ श्लोक रहेका छन् । उक्त ग्रन्थमा बताइए बमोजिम ‘सूचक गुरु’, ‘वाचक गुरु’, बोधक गुरु’, ‘निषिद्ध गुरु’, ‘विहित गुरु’, ‘कारणाख्य गुरु’, र ‘परम गुरु’ भनी गुरुको कोटिको गणना गरिएको छ । गुरुगीतामा भगवान् अाशुतोष शिवजी र जगदम्बा पार्वतीको संवाद छ । यसमा सुरुमा पार्वतीले भगवान् शङ्करसँग गुरु र उनको महिमा व्याख्या गर्ने अनुरोध गरेकी छन् । यसमा भगवान् भोलेनाथले गुरु के हो, गुरु को हो, गुरुको अाराधना र पूजा गर्ने पद्धति र गुरुगीताको अध्ययनबाट हुने लाभ अादिका बारेमा चर्चा गर्नुभएको छ । यसमा सद्गुरु भनेको के हो, उनको केकस्तो गरिमा र महिमा छ भन्ने विषयमा पनि पूर्ण विवरण छ । त्यसबाहेक शिष्यको योग्यता, उसको मर्यादा, व्यवहार, अनुशासन आदिको वर्णन पनि उक्त ग्रन्थमा उल्लेख गरिएको छ । जुन गुरुको शरणमा जाँदा शिष्यले पूर्णता प्राप्त गर्दछ, ऊ स्वयं ब्रह्मरूपमा परिणत हुन्छ, उसका समस्त धर्म-अधर्म, पाप-पुण्य आदि समाप्त हुन पुग्दछन् र केवल चैतन्यमात्र बाँकी रहन्छ र ऊ गुणातीत र रूपातीत हुन जान्छ, जुन उसको अन्तिम गति हो, यो उसको गन्तव्य हो, जहाँ पुग्नुपर्ने हो, त्यहाँ ऊ पुग्दछ, जुन उसको अन्तिम लक्ष्य हो, त्यसलार्इ उसले प्राप्त गर्ने सामर्थ्य प्राप्त गर्दछ, तिनै गुरु नै वास्तवमा सद्गुरु हुन् भनी यस ग्रन्थमा उल्लेख गरिएको छ । 

तैत्तरियोपनिषदमा आचार्य (गुरु), आमा, बाबु र पाहुनालाई देवतासरह नै मान्ने निर्देशन दिँदै उल्लेख गरिएको छ :- 
मातृदेवो भव ॥ पितृदेवो भव ॥ आचार्यदेवो भव ॥ अतिथिदेवो भव ॥

सनातन हिन्दुधर्मका धर्मग्रन्थले बारम्बार आमा, बाबु, पाहुना र गुरुलाई मन, वचन र कर्मले आदर, सम्मान गर्ने शिक्षा दिएको छ । अविद्यालाई नाश गरेर ज्ञान दिने पुरुष, माता, पिता, दाजु, राष्ट्रप्रमुख, मामा, ससुरा, मावली, बाजे, जिजुबुबा र ब्राह्मणको ज्ञान राख्ने ज्ञाता सबैलाई गुरुको दर्जामा राख्ने निर्देशन दिइएको छ । पुरश्चार्यार्णव तान्त्रिक ग्रन्थमा थरीथरीका गुरुको उल्लेख गरिएको छ :- गुरु, परमगुरु, परात्पर गुरु र परमेष्ठी गुरु । शिक्षा, मन्त्र प्रदान गर्ने गुरु, गुरुका बाबु परमगुरु, इष्टदेवता परात्परगुरु र देवाधिदेव महादेव परमेष्ठी गुरु भनेर तान्त्रिक ग्रन्थमा वर्णन गरेको पाइन्छ । सातवटा बारमध्ये वृहस्पतिबारलाई गुरुबार नामकरण गरिएबाटै गुरुको महत्त्व बुझ्न सकिन्छ । गुरुको मार्गनिर्देशन अनुसार चलेमा बाटो पत्ता लगाउन र गन्तव्यमा पुग्न सजिलो हुन्छ । विद्या, ज्ञान प्राप्तिका लागि लालसा र समर्पणको आवश्यकता हुन्छ । त्यो हिजो जत्तिको साँचो थियो, आज पनि त्यत्तिकै छ ।

सन्त कबीरले भन्नु भएको छ :-
गुरु गोबिन्द दोउ खडे काके लागूँ पाँय।  बलिहारी गुरु आपने गोबिन्द दियो बताय।।

यसको तात्पर्य हो - गुरु र भगवान् (ईश्वर) दुबैले एकै पटक दर्शन दिएमा भावकलार्इ दोधार हुन सक्छ, कसलार्इ पहिले अभिवादन गर्ने भनेर । त्यस्तो अवस्थामा सुरुमा गुरुदेवको नै वन्दना गर्नु उचित हुन्छ, किनभने र्इश्वरलार्इ र्इश्वर हो भनेर चिनाउने श्रेय त गुरुले प्राप्त गर्नु भएको छ । गुरु नभए हामीले र्इश्वरको पहिचान नै गर्न सकदैन थियाैं नि । वास्तवमा गुरुको मार्ग निर्देशन नपाउने हो भने हामीले र्इश्वरको प्राप्ति नै कसरी गर्न सक्छाैं र?

सन्त कबीरको अर्को एउटा प्रचलित श्लोक छ :- 
कबीरा ते नर अंध है गुरु को कहते और हरि रूठे गुरु ठौर है गुरु रूठे नही ठौर।।

अर्थात् त्यो व्यक्ति अन्धो हो, जसले गुरुलार्इ र उहाँको व्यक्तित्वलार्इ चिनेको छैन । यदि र्इश्वर रिसाउनु भयो भने त्यस प्रकोपबाट जोगाउने उपाय गुरुले सिकार्इ दिनुहुन्छ र हामीलार्इ उद्धार गरी जोगाउनु हुन्छ, तर गुरु स्वयं हामीबाट टाढिनु भयो भने हामीलार्इ कसले जोगाउने? अतः अन्धकारमा बसेर सही मार्ग पहिल्याउन नसकेको अवस्थामा गुरुले उज्यालो देखाएर बाटो ठम्याउन मदत गर्छन्, त्यसैले गुरु शब्द नै सारै सम्मानजनक छ । शास्त्रमा गुरुलाई नै ब्रह्मा, विष्णु, महेश्वर र परब्रह्म मानिएको छ ।

अाज गुरु पूर्णिमाको दिन, यस दिन के के गर्ने त?

१. जजसका गुरु जीवित हुनुहुन्छ, तिनले सम्भव भएसम्म गुरुको भाैतिक शरीरको दर्शन गर्नु पर्दछ । जजसका गुरु हुनुहुन्न तिनले पनि गुरुको गुणा र कीर्तिको स्मरण गर्नुपर्दछ ।

२. सनातन हिन्दु धर्मले श्री आदि शङ्कराचार्यलार्इ जगद्गुरु मानेको छ, त्यसैले उनको पूजा र उपासना गर्नु पर्दछ । तर कुनै सम्प्रदायमा अाबद्ध हुनुहुन्छ भने ती भिन्नभिन्न सम्प्रदायका अनुयायीले अाअाफ्ना अाचार्य र प्रथम गुरुको वन्दना गर्नु मुनासिब हुन्छ ।

३. गुरुका पनि गुरु गुरु गोरखनाथ प्राचीन नेपालका जगद्गुरु हुनुहुन्छ, त्यसैले गुरु गोरखनाथको स्मरणादि वन्दना गर्ने दिन पनि अाज नै हो । त्यस्तै कीटपतङ्गादि विविध जीवलार्इ गुरु मान्ने गुरु दत्तात्रेयले शिक्षा अाफ्नो दृढ धारणाका बलमा जेसँग जति बेला पनि लिन सकिन्छ भन्ने प्रेरणा प्रदान गर्नु भएको छ । त्यसैले गुरु दत्तात्रेयको पूजा, अर्चना र वन्दना पनि अाज नै गर्ने गरिन्छ ।

४. भगवान् वेदव्यासको जन्मदिन पनि अाज नै हो, त्यसैले भगवान् वेदव्यासको पूजा, अाराधना र वन्दना गर्ने दिन पनि अाज नै हो ।

गुरु पूर्णिमाका दिन सम्पादन गर्दा शुभता प्राप्त हुने केही उपायहरू :-
– केसरी मिसाएर सात्विक भोजन ग्रहण गर्नु राम्रो मानिन्छ, साथै प्रातःस्नानपछि नाइटो र निधारमा केशरीको टीका लगाउनु पनि शुभ हुन्छ ।

– साधुसन्त, ब्राह्मण एवं पीपलको बोटको पूजाबाट सुखसम्मृद्धि बढ्ने गर्दछ ।

– गुरु पूर्णिमाका स्नान गर्दा शुद्धजलमा कुश र दुबो मिसाएर गर्नुपर्दछ ।

– आफ्नो फूलबारी वा गमलामा पहेंला रङका वनस्पति वा फूलको विरुवा रोप्नु लाभदायक मानिन्छ ।

– गुरु वा मान्यजनको दर्शन गर्दा उहाँको चरणकमलमा पहेंलो रङको फूल चढाउनु राम्रो मानिन्छ ।

– कुनै देवालयमा केराको एक जोडा बोट रोप्नु वा नैवेद्यका रूपमा केरा चढाउनु र ब्राह्मण, साधुसन्त तथा गरीबगुरुवालाई केरा बाँड्नु पनि शुभ लक्षण मानिन्छ ।

– गुरु पूर्णिमाका मुँग (दाल) का सग्ला दाना (६२५ ग्राम) मन्दिरमा दान गर्नु र बाह्र वर्षमुनिकी (रजस्वला नभएकी) कन्याको चरणस्पर्श गरी आशीर्वाद ग्रहण गर्नु पर्दछ ।

– आज कुनै शुभ मुहूर्त विचार गरी चाँदीबाट बनेको कुनै पात्र वा सिक्का घरभित्र वा वरिपरि जमिनमुनि गाडिदिनु राम्रो मानिन्छ ।

– आज मान्यजन, साधुसन्त, गुरु, शिक्षक, बुद्धिजीवी कसैलाई पनि अपमान गर्नु, होच्याउनु, निन्दा गर्नु वा कुरा काट्नु हुँदैन । झुक्किएर त्यस्तो भइहालेमा तपाईंका सन्ततिको बुद्धिभ्रष्ट हुने खतरा हुने भएकाले प्रायश्चित्तका निमित्त भोलि बिहानै स्नानोपरान्त कुनै दान दिन योग्य व्यक्तिलाई पहेंलो कपडा दान गर्नुपर्दछ ।

– तपाईंको शयन कक्षमा रहेको खाट वा पलङको चारै कुनाका खुट्टीमा सुन वा कुनै पहेंलो धातुको काँटी ठोक्नु वा पहेंलो तारले बेर्नु राम्रो हुन्छ । यसो गरेमा मनमा आउने भय, त्रास, दुःस्वप्न आदि प्रकोपबाट जोगिन सकिन्छ ।

Wednesday, May 23, 2018

गङ्गा दशहरा

आर्य संस्कृतिका अनुयायी तथा सनातन धर्ममा आस्था राख्ने समस्त नेपालीहरूको तालतलैया, खोलानाला, कुलाकुलेसा, नदी र पानीसित अन्योन्याश्रित सम्बन्ध रहेको कुरो उल्लेख गरिरहनु पर्दैन । गङ्गा, गङ्गाजल र अन्य असङ्ख्य नदीहरू हाम्रो मनमस्तिष्क र हृदयमा सन्निहित भएर बसेका छन् । हामी गङ्गालाई आमासरह पूजा र आराधना गर्दछौं । नामोच्चारण हुनासाथ शरीरमा जानीनजानी सञ्चित हुन पुगेका यावत् पापराशि पखालिन्छन् भनी एकाबिहानै नुहाउँदा वा मुख धुँदा गङ्गे च यमुने चैव ..... भन्दै मन्त्रपाठ गर्दछौं । जीवनको अन्तिम समयमा मृत्युशय्यामा छटपटाउँदासमेत मुखमा गङ्गाजलको एउटा थोपो परिदिए सीधै वैकुण्ठ पुगिन्छ भन्ने आमधारणा र विश्वास छ । साँच्चिकै गङ्गाको पानी पवित्र हुन्छ, विचार गर्नुस् त, उहिले तीर्थयात्राका क्रममा गङ्गा नदीमा पुगेका बखतमा कसैले गङ्गाजल लिएर आएको हुन्छ र वर्षौंवर्षसम्म साधारण सिसा वा बोतलमा घरको एउटा कुनामा थन्क्याइएको हुन्छ रपनि अहिले निकाल्दा पनि उक्त पानी ताजा झैं उस्तै निर्मल र कञ्चन देखिन्छ । वास्तवमा गङ्गाको अगाध जलराशिको अङ्ग बन्नपुगेका असङ्ख्य नदीनाला हाम्रै पाखापखेरा र पहाडपर्वतमा भेटिने औषधीय तत्त्वले युक्त ढुङ्गामाटो र जडीबुटीको रसलाई समेटेर बहेका हुन्छन् । त्यसैले पनि यस्तै शुद्ध र पवित्र जलले युक्त गङ्गा नदीको संसर्ग र स्नानबाट हाम्रा समस्त शारीरिक रोगव्याधि नाश हुनाका साथै हामीलाई मानसिक र आध्यात्मिक तुष्टिसमेत प्राप्त हुन्छ ।

प्रदूषण :  नदीसंस्कृतिको विडम्बना
विकसित र आदिम सभ्यताका प्रतीक मानिएका सहर र नगरमा कुनै ठूलो नदीको उत्तिकै महत्त्वपूर्ण योगदान र भूमिका रहेको पाइन्छ । नदीले बनाएका उपत्यकामा संसारका उत्कृष्ट सभ्यताको उद्भव र विकास भएको थियो, जुन मानवमात्रको प्राचीन इतिहास, वैभव र गौरव हो । मेची, कोसी, बागमती, गण्डकी, कर्णाली, काली लगायतका गङ्गाका प्रत्येक भँगालाहरू हाम्रो पुरातन संस्कृतिको परम पावन धरोहर पनि हो । ऋषि, महर्षि र मनीषीहरूले गङ्गालाई नेपालमात्र होइन, समग्र भारतवर्षको सुषुम्ना नाडी हो भनेर प्रशंसा गरेको पाइन्छ । तर विडम्बना नै मान्नुपर्छ, अहिले गङ्गाजलमात्र होइन, कुनै पनि नदीको पानी खानसक्ने त कुरै भएन, अचाउन सकिने परिस्थितिसमेत छैन । विगत केही वर्षदेखि विकसित भएका अनियन्त्रित भौतिक उन्नति र अन्धाधुन्ध औद्योगिकीकरणका साथमा प्रकृतिका साथमा गरिएको हेलचक्र्याइँले ऋषिमनीषीको यो पवित्र संस्कृतिलाई ध्वस्त तुल्याइएको छ । हिमालयबाट वहने अजस्र जलधारा बोकेका पवित्रतम नदीहरू अहिले संसारका सबैभन्दा प्रदूषित नदीहरूमा गणना हुन थालेका छन् ।

पतीतपावन गङ्गा नदीका तटमा ज्ञान, धर्म, अध्यात्म र सभ्यता-संस्कृतिका समुज्ज्वल किरणहरू प्रस्फुटित भएका थिए, जसका कारण आर्यावर्तमात्र होइन, समष्टिरूपमा विश्व नै आलोकित हुन पुगेको थियो ।  हिमालयबाट वहने यिनै नदीनालाको तटमा रामायण र महाभारतकालीन सभ्यताको उद्भव र विलय भएको थियो । वैदिक वाङ्मयका शतपथ, पञ्चविंश र गोपथ ब्राह्मण, ऐतरेय, कौशितकी र साङ्ख्यायन, आरण्यक, वाजसनेयी संहिता एवं रामायण, महाभारत तथा पौराणिक ग्रन्थहरूमा वर्णित घटनादेखि उत्तर वैदिककालीन उन्नत सभ्यताको विस्तृत जग र इतिहास गङ्गाको जलप्रस्रवण क्षेत्रबाट प्राप्त हुन्छ । 

गङ्गाको वैज्ञानिक महत्त्‍व
प्रयोगशालामा प्रमाणित भइसकेको छ, गङ्गाजलमा प्राप्त हुने बैक्टीरियोफेज नामक जीवाणुले यस जललाई विकृत हुनबाट जोगाउँछ । आर्यसंस्कृतिका ऋषिमनिषिहरूले वातावरण र पर्यावरणको सन्तुलनका निमित्त नदीनाला, पहाड, वनजङ्गल, पशुपन्छीलगायत समग्र जीवनजगतमा सहअस्तित्वको विशिष्ट अवधारणा विकसित तुल्याएका थिए । अहिले पनि नेपाल र भारतका करिब ५० प्रतिशत जनताको आजीविका हिमालय र यसबाट निःसृत नदीनालामा निर्भर रहेको देखिन्छ । कृषि, पर्यटन, राफ्टिङ (साहसिक खेल) र उद्योगधन्दाको विकासमा गङ्गा नदीलगायत यसका शाखाहरू कोसी, बागमती, नारायणी, कर्णाली आदिको महत्त्वपूर्ण भूमिका र देन छ । यी नदीनाला र तालतलैयाका तटमा अवस्थित ग्राम, नगर, तीर्थ र पर्यटकीय क्षेत्रहरू सनातन संस्कृतिको सामाजिक व्यवस्थाको महत्त्वपूर्ण अङ्ग हुन् ।

गङ्गा : देवलोकबाट धर्तीमा प्राप्त उपहार
पुराणमा उल्लेख भएअनुसार गङ्गा देवलोकबाट प्राप्त भएकी महनीय उपहार हुन् ।  यिनको उत्पत्तिप्रसङ्ग रघुकुलका पूर्वज राजा भगीरथको सत्प्रयास र पुरुषार्थसम्बद्ध मानिन्छ । ज्येष्ठ महिनाको शुक्ल पक्षको दशमीका दिन सूर्यवंशका राजा भगीरथको कठोर तपस्या सार्थक भएकाले स्वर्गमा रहेकी गङ्गा नदीले कैलाशपति भगवान् शङ्करको जटाजुट हुँदै पृथ्वीमा अवतरण गर्नु परेको थियो । स्कन्दपुराणमा उल्लेख भएअनुसार जुन दिन गङ्गाले पृथ्वीलोकमा अवतरण गरेकी थिईन्, त्यस दिन दसवटा ज्योतिषीय योग थिए, जस्तै : ज्येष्ठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुध बार, हस्ता नक्षत्र, व्यतिपात योग, गर करण, आनन्द योग, कन्या राशिको चन्द्रमा र वृष राशिको सूर्य । त्यसैले यस दिन गरिएको स्नानदानादिबाट दस किसिमका पापहरू हरण हुन्छन् भन्ने मान्यता छ । भगीरथको कठोर तपस्याका कारण पृथ्वीतलमा आइपुगेकी हुनाले देवनदी गङ्गाको अर्को नाम भागिरथी पनि रहन गयो । उनी सर्वप्रथम धर्तीमा ओर्लँदा उनको वेगलाई सम्हाल्ने दायित्व देवाधिदेव महादेवले लिनु भयो । त्यसपछि शिवजटाबाट पुनः प्रवाहित भएकी गङ्गाले ब्रह्माद्वारा निर्मित बिन्दुसर सरोवरमा अवतरण गरिन् । यस सरोवरको आकृति गाईको मुखजस्तो भएकाले यस स्थानको नाम गोमुख रहन गयो । गोमुखबाट गङ्गाका सातवटा धाराहरू विभक्त भए । त्यसपछि राजा भगीरथका पछि लाग्दै गङ्गा कपिलमुनिको आश्रममा पुगीन् र उनका पूर्वज साठीहजार सगरपुत्रहरूको उद्धार गरिन् ।

नेपालमा गङ्गा दशहरा
शरीर, मन र वचनले गरिने दश प्रकारका पाप ज्येष्ठ शुक्ल पक्षका दश दिन स्नान गरेर नाश हुने विश्वास नेपाली समाजमा पनि रहेको पाइन्छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्रीगमन गर्नु, कठोर वचन र असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलबको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानि पुर्याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्ने जस्ता पाप दश दिनसम्म गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ । त्यसैले गङ्गा दशहराका अवसरमा नेपालमा पनि विभिन्न पवित्र नदी र ताल (सरोवर)मा मेला लाग्ने गर्दछ । खास गरी रसुवाको गोसाइँ कुण्डमा ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म लगातार दस दिनसम्म भक्तहरू पुगी स्नानादि कर्म सम्पादन गर्ने गर्दछन् । त्यसबाहेक काठमाडौँको हत्यामोचनघाट, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणीसङ्गमलगायत बराहक्षेत्र, कन्काइमाई, रिडी, देवघाट आदि तीर्थस्थलमा पनि यस दिन स्नानादि गर्ने प्रचलन रहेको देखिन्छ ।

Monday, May 14, 2018

शनि जयन्ती

जीवनका समस्त सुखदुःख, जयपराजय आदि विषय नवग्रहमा आधारित छन्। यी नवग्रहमध्ये शनिश्चरलाई सन्तुलन र न्यायका देवता मानिन्छ । हामीले प्रचलन गर्ने गरेको पञ्चाङ्गअनुसार प्रत्येक वर्ष ज्येष्ठ महिनाको अमावस्या(औंसी) तिथिका दिन 'शनि जयन्ती' मनाउने गरिन्छ । यस पटकको शनि जयन्ती आज २०७५ साल जेठ ०१ गते मङ्गलवार अर्थात् मई १५, २०१८ का दिन परेको छ । शनिलाई ग्रहसमूहको क्रूर न्यायाधीशका रूपमा गणना गरिन्छ । शनि देवताको क्रोध र रिस कडा हुन्छ भन्ने मान्यता छ, खासगरी शनिको दृष्टिलाई ज्योतिषशास्त्रमा महत्त्वकासाथ विश्लेषण गर्ने गरिन्छ । शनिदेवले खराब आचरणमा रहेका व्यक्तिलाई मौका पर्नासाथ अति कठोरतापूर्वक सजाय गर्दछन् । शनि ग्रहको कुदृष्टिको प्रभावले एउटा राजालाई रातारात भिखारी बनाउने गर्दछ, यद्यपि शनिको शुभ दृष्टि प्राप्त हुँदा एउटा भिखारी राजातुल्य सम्पन्न र सम्मृद्ध बनाइदिन्छ । जन्मकुण्डलीमा शनि ग्रहको अशुभ प्रभाव हुँदा यसका कारण व्यक्तिलाई निर्धन, अल्छी, दुःखी, कमजोर, शक्तिहीन, व्यापारबाट घाटा ब्यहोर्ने, लागुपदार्थको भोगी, अल्पायु, निराशावादी, जुवारी, कानको रोगी, कब्जियतको समस्या, जोर्नीको समस्या, उदासीन, नास्तिक, बेइमान, तिरस्कृत, कप्टी, अधार्मिक तथा मुद्दामामिला र चुनावमा हार व्यहोर्ने आदि स्थितिको सिर्जना हुन्छ। शनि देव तपाईंको जन्मकुण्डलीमा अशुभ फलकारकका रूपमा रहेको छ भने निम्न उपायहरूको प्रयोग गरी शुभ लाभ प्राप्त गर्न सक्नुहुन्छ -


वैदिक मन्त्र -
ॐ शन्नोदेवीरभिष्टय आपोभवन्तु पीतये। शंय्यो रभिस्रवन्तु नः।

पौराणिक मन्त्र -
ॐ नीलाञ्जन समाभासं रविपुत्रं यमाग्रजम्। छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम्।।

तन्त्रोक्त मन्त्र -
ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः।

शनि गायत्री -
ॐ भगभवाय विद्महे मृत्युरुपाय धीमहि तन्नो सौरिः प्रचोदयात्।

जप संख्या - २३०००

दानादिका लागि आवश्यक सामाग्री -
फलाम, तिल, कालोमास, तोरीको तेल, कालो वस्त्र, कालोगाइ, फलामबाट बनेको भाँडो, जुत्ता, भैंसी, कस्तूरी, सुन, नरिवल, कालो वा नीलो फूल।

रत्न -
शनिको शुभ फल प्राप्त गर्न नीलम रत्न धारण गर्ने गरिन्छ। तर शनिको रत्न फाप्नेनफाप्ने विषयमा ज्योतिषीसित परामर्श गर्नु आवश्यक छ, वास्ता नगरी धारण गर्दा निलम रत्नले तुरुन्त अनिष्ट फल प्रदान गर्दछ।

अन्य उपाय -
शनिवारका दिन व्रत लिनुपर्दछ। शिव स्तोत्र वा शनि स्तोत्रको पाठ गर्नु पर्दछ। शनिको यन्त्र धारण गर्नुपर्दछ । हनुमानको उपासनाबाट पनि लाभ प्राप्ति हुन्छ। चराचुरुङ्गी र माछालाई खानेकुरा प्रदान गर्नु र माछामासु खानु हुँदैन।




के के गरेमा राम्रो हुन्छ ? शनि जयन्तीका दिन
१) शनि ग्रहको तान्त्रिक मन्त्र, वैदिक मन्त्र, पौराणिक मन्त्र, महाकाल शनि मृत्युञ्जय मन्त्र र महामृत्युञ्जय मन्त्रको स्वयं आफैले वा परिवारका सदस्यद्वारा जाप गर्नुपर्दछ।

२) शनि ग्रहका लागि निर्धारण गरिएका दानसामाग्रीहरू आफ्नो गच्छेले भ्याएसम्म जुटाएर दान गर्नुपर्दछ।

३) शनि ग्रह निम्नवर्ग, पीडित, दुःखी र निर्धाहरूको प्रतिनिधि र प्रतीकका रूपमा पुजिने ग्रह हो। त्यसैले उक्त वर्गका सामान्य जनसमूहको सेवासम्मान र पूजा गरेर शनिलाई प्रसन्न तुल्याउनु पर्दछ।

४) कुनै जाप वा अनुष्ठान सम्पादन गर्न नसक्ने व्यक्तिले शनि जयन्तीका दिन कुनै फलामको भाँडोमा तोरीको तेल भरेर त्यसको छायामा आफ्नो अनुहार हेरेर त्यसलाई एउटा आँकको बोटको फेदमा त्यो तेल खन्याएर त्यसलाई माटोले छोपिदिएमा शनि ग्रहका अशुभ फललाई निवारण गर्न सकिन्छ। यसरी प्रयोग गरिएको फलामको भाँडो तल्लो निम्न वर्गका व्यक्तिलाई दान गर्नु पर्दछ।

Thursday, November 2, 2017

वैकुण्ठ चतुर्दशी

कार्तिक महिनाको शुक्लपक्षको चतुर्दशी तिथिलार्इ वैकुण्ठ चतुर्दशी भन्ने गरिन्छ । यस दिन भगवान् शिव र विष्णुको संयुक्त रूपमा भक्तिअाराधना गर्दै व्रत/उपवास सम्पादन गर्ने गरिन्छ ।

वैकुण्ठ चतुर्दशीको पूजा
वैकुण्ठ चतुर्दशीका दिन भगवान् नारायण र भगवान् भोलेशङ्करको विधिवत पूजा गरिन्छ । व्रतालुले प्रातः ब्रह्ममुहूर्तमा उठेर नित्यकर्मबाट निवृत्त भर्इ शुद्ध वस्त्र धारण गरी पूजास्थलमा पवित्र अासनमा बसी दीप, कलश र गणेशको पूजनोपरान्त भगवान् विष्णु र भगवान् शिवको प्रतिमा प्रतिष्ठा गरी पाद्य, अर्घ्य, चन्दन, अक्षता, पुष्प, तुलसीपत्र, बेलपत्र, धूप, दीप, नैवेद्यादि षोडशोपचार पद्धतिले पूजा सम्पन्न गरी अारती र प्रदक्षिणादि गरिदिनु पर्छ । पूजा गर्दा सम्भव भएसम्म कमलको फूल प्रयोग गर्नुपर्छ । त्यसपछि गीता, भागवत, श्रीसूक्त, रुद्री अादि पाठ र इष्टदेवताको मन्त्रजाप गर्नुपर्छ । यसरी भक्तिअाराधना, मन्त्रजाप, पाठ र कथाश्रवण गर्नाले भक्तका इहलाैकिक मनोरथ पूर्ण हुनुका साथै मरणोपरान्त वैकुण्ठलोक प्राप्त हुने विश्वास गरिन्छ ।

वैकुण्ठ चतुर्दशीको पौराणिक महत्व (Methodological Importance of Baikunth Chaturdashi)
पद्मपुराणको एउटा प्रसङ्गमा उल्लेख भएअनुसार एक पटक देवर्षि नारदले सामान्य नरनारीले सरल भक्तिका माध्यमले सहजै मुक्ति प्राप्त गर्ने कुन उपाय होला भनी भगवान् विष्णुसित प्रश्न गरेका थिए । नारदको जिज्ञासालार्इ शान्त तुल्याउन भगवान् विष्णुले भन्नुभयो -  हे नारद ! कार्तिक शुक्लपक्षको चतुर्दशीका दिन वैकुण्ठको ढोका खुल्ला हुन्छ । त्यसैले त्यस दिन जेजति भक्तजनले व्रत सम्पादन गरी श्रद्धाभक्तिपूर्वक पूजाअाराधना गर्दछन् तिनले सहजताका साथमा वैकुण्ठलोक प्राप्त गर्दछन् ।

वैकुण्ठ चतुर्दशीको वैशिष्ट्य (Importance of Baikunth Chaturdashi)
वैकुण्ठ चतुर्दशी व्रतको वैशिष्ट्य के हो भने यस दिन स्नानादि नित्यकर्मबाट निवृत्त भर्इ एक हजार कमलका फूल अर्पण गरी भगवान् विष्णुको पूजा गरी जसले शिवको पूजा गर्दछन्, ती भवबन्धनबाट मुक्त भर्इ वैकुण्ठ धाम प्राप्त गर्दछन् । त्यसैले सम्भव भएसम्म यस दिन कमलको पुष्पले भगवान् विष्णु र शिवको पूजाअाजा गरेमा भगवानले अानन्दको अनुभूति गर्नुहुन्छ र भक्तजनले शुभफल प्राप्त गर्दछन् । वैकुण्ठ चतुर्दशीको सन्ध्याकालमा नदी, सरोवर, तलाउ, पधेंरो वा धारामा चाैधवटा लोकको प्रतीकका रूपमा १४ वटा दियो पनि बालेर पूजा गर्ने गरिन्छ ।

कार्तिक शुक्ल चतुर्दशी तिथि भगवान् विष्णु र शिवजीको ऐक्यबद्धताको प्रतीक पनि हो । पाैराणिक मान्यताअनुसार यस दिन भगवान् विष्णुले भारतको वाराणसी (काशी) को मणिकर्णिका घाटमा भगवान् शिवको अाराधना गर्नुभएको थियो । अाषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा गएर सुत्नु भएका विष्णुले कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) का दिन जागा भर्इ वैकुण्ठमा गर्इ पुनः सृष्टि सञ्चालनको कार्यभार जिम्मा लिनुअघि उक्त दिन भगवान् शिवको अाराधना गर्नुभएको हो । भगवान् विष्णुको अल्पनिद्राको समयमा सृष्टिसञ्चालनको अभिभारा भगवान् शिवले लिनु हुने विश्वास गरिन्छ । त्यसैले भगवान् शिवले कार्यवाहक भर्इ जिम्मा लिएको अभिभारा पुनः भगवान् विष्णुलार्इ सुम्पिएको दिन पनि हो, वैकुण्ठ चतुर्दशी ।

यस क्रममा भगवान् विष्णुले एक हजार स्वर्णपुष्प (सुनको कमलको फूल) चढार्इ शिवलार्इ प्रसन्न बनाउने सङ्कल्प गर्नुहुन्छ । शिवले विष्णुको परीक्षा लिने विचारले चढाउन ठिक्क पारेका कमलका फूलमध्ये एउटा फूल लुकार्इ दिनुहुन्छ । त्यसपछि एउटा पुष्पको सट्टामा अाफ्नै एउटा अाँखा झिकेर शिवलार्इ अर्पण गर्न खोज्नुहुन्छ र शिव प्रसन्न भएर भगवानसामु उपस्थित भर्इ भगवानको शयनकालमा जिम्मा लिएको सृष्टिसञ्चालनको अभिभारा र सुदर्शन चक्र विष्णुलार्इ हस्तान्तरण गर्नुहुन्छ । जिम्मेबारी प्राप्त गरेपछि भगवान् विष्णु पुनः वैकुण्ठलोकतर्फ प्रस्थान गर्नुहुन्छ । त्यसैले यस दिन वैकुण्ठको ढोका खुल्ला रहन्छ भन्ने मान्यता विकसित भएको हो । यो दिन विष्णु र शिवको एकीभवनको दिन हो । भक्तजन दुबै देवताको एकीकृत स्वरूप 'हरिहर' को पूजासमेत यसै दिन गर्ने गर्दछन् । शिवलार्इ कमल पुष्पको अभावमा अाँखा नै अर्पण गर्ने खोजेकाले विष्णुको नाम 'कमलनयन''पुण्डरीकाक्ष' रहन गएको हो ।

Saturday, October 28, 2017

गुप्तदान गर्ने दिन : कुष्माण्डा नवमी

कार्तिक महिनाको शुक्ल पक्षको नवमी तिथिलाई कुष्माण्डा नवमी भन्ने गरिन्छ । यसै तिथिलाई आमलकी नवमी र अक्षय नवमी भन्ने चलन पनि छ । यस नवमीको दिनबाट सत्ययुग प्रारम्भ भएको धार्मिक मान्यता छ । यस दिन गरिएको कुभिण्डोको दानादि र ब्राह्मणभोजनबाट दान कर्ताले अक्षय पुण्य प्राप्त गर्नुका साथै उसले दान गरेको फलादिमा जतिवटा बियाँ हुन्छन्, त्यति नै दिव्यवर्षपर्यन्त स्वर्गमा निवास गर्ने अनुकूलता प्राप्त गर्दछ । त्यस्तै अक्षय नवमी भएकाले यस दिन कसैले एउटा अमलाको बोट रोप्यो र आजीवन त्यसको सेवासुश्रुषा गर्यो भने उसले राजसूय यज्ञ सम्पादन गरेको फल प्राप्त गर्दछ भन्ने धार्मिक विश्वास लिने गरिन्छ । यसरी दान गर्दा कुभिण्डोभित्र लुकाएर स्वर्णादि धातु राखी गुप्तदान गर्ने प्रचलनसमेत छ, अनि यस दिन नेपालको मकवानपुर जिल्लामा रहेको कुष्माण्ड सरोवरमा विशेष मेला लाग्ने गर्दछ ।

ब्रह्माण्डको सृष्टिहुनु अघि सबैतिर अन्धकारमय अवस्था थियो । यस समयमा सृष्टिको कुनै अस्तित्व थिएन। यस्तो परिस्थितिको प्रारम्भमा आद्याशक्ति जगन्माता भगवतीको मन्दमुस्कानद्वारा अण्ड अर्थात् ब्रह्माण्डको उत्पत्ति भयो। अतः संसारमा यिनलाई कुष्माण्डा भगवतीका नामले प्रसिद्धि प्राप्त भएको हो। कुभिण्डोलाई संस्कृत भाषामा ‘कुष्माण्डम्’ पनि भनिन्छ । बलिहरूमध्ये सर्वाधिक प्रिय बलिका रूपमा भगवती दुर्गालाई कुभिण्डो मन पर्ने हुनाले पनि यिनलाई कुष्माण्डा भगवती भनिएको हो। कुष्माण्डा भगवती सूर्यमण्डलको भित्री तहमा निवास गर्छिन्। यिनको शरीरको ज्वाज्ज्वल्यमान कान्ति पनि सूर्य झैं देदीप्यमान भएर सम्पूर्ण ब्रह्माण्डमा फैलिएको हुन्छ। यिनको तेजको तुलना यिनैसँग मात्र गर्न सकिन्छ, अरू कुनै पनि देवीदेवताको तेजलाई यिनको तेजोमय देदीप्यमान प्रकाशसँग समता गर्न सकिँदैन । शास्त्रीय मतानुसार श्री कुष्माण्डा भगवतीले आफ्ना आठवटा हातहरूमा दाहिनेपट्टि क्रमशः कमण्डलु, धनुष, वाण र कमलको फूल एवं देब्रेपट्टिका हातहरूमा क्रमशः अमृतपूर्ण कलश, चक्र, गदा र अणिमादि समस्त सिद्धि प्रदान गर्ने जपमाला धारण गरेकी हुन्छिन् । यसरी भगवतीले कुष्माण्डाको स्वरूप धारण गरेको पवित्र दिन, सृष्टिको पहिलो दिन र सत्ययुगको पहिलो दिन भएकाले यो दिन कुष्माण्डा नवमीका रूपमा प्रख्यात भएको हो ।

कुष्माण्डा नवमीका दिन भगवान् विष्णुले कुष्माण्डक नाम गरेको दैत्यको बध गर्नु भएको प्रसङ्गसमेत विभिन्न पुराणमा उल्लेख गरिएको छ । मरणोपरान्त त्यही कुष्माण्डक दैत्य एउटा लहराका रूपमा प्रकट भएको र उक्त लतामा फर्सी आकारको एउटा फल उत्पन्न हुन थालेको हुँदा उक्त फलको नाम नै कुष्माण्ड (कुभिण्डो) रहन गएको हो भन्ने मान्यता छ । त्यसैले यस दिन कुभिण्डो दान गर्ने प्रचलन सुरु भएको हो । यसरी यस पावन दिनमा कुभिण्डो वा कुभिण्डोबाट बनेका परिकार दान गरेमा उत्तम फल प्राप्त हुने विश्वास गरिन्छ । यस दिन कुभिण्डो दान गर्दा सुरुमा विधिपूर्वक त्यसलाई चन्दन, अक्षता र पुष्पादिले पूजन गरी त्यसभित्र कुनै बहुमूल्य वस्तु लुकाएर दान गर्नुपर्दछ । त्यस्तै यस दिन विधिपूर्वक तुलसीको विवाह गरिदिएमा कन्यादानको फल प्राप्ति हुन्छ भन्ने कुरा व्रतराज नामक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ, तर नेपाली परिवेशमा यस दिनको दुई दिनपछि पर्ने हरिबोधिनी (ठूली एकादशी) का दिन धूमधामका साथ तुलसी विवाह गर्ने गराउने प्रचलन रहेको देखिन्छ ।

कुष्माण्डा नवमीको अर्को नाम अक्षय नवमी पनि हो । सामान्यतया प्रत्येक युगको प्रारम्भ भएका तिथिलाई युगादि भन्ने चलन छ, त्यसैले यो दिन पनि युगादि तिथि हो ।  स्कन्दपुराण र नारदपुराणमा उल्लेख भएबमोजिम युगादि तिथिहरू कार्तिक शुक्ल नवमी (सत्ययुगादि), वैशाख शुक्ल तृतीया (अक्षय तृतीया, त्रेतायुगादि), माघको पूर्णिमा (द्वापरयुगादि) र भाद्र कृष्ण त्रयोदशी (कलियुगादि) मानिन्छन् र यी चारवटा तिथिमा जेजति दानादि गरिन्छ, तिनको अक्षय फल प्राप्त हुन्छ ।

नवमी कार्तिके शुक्ला कृतादिः परिकीर्तिता ।
वैशाखस्य तृतीया या शुक्ला त्रेतादिरुच्यते ॥
माघे पञ्चदशीनाम द्वापरादिः स्मृता बुधैः ।
त्रयोदशी नभस्ये च कृष्णा सा हि कलेः स्मृता ॥ स्कन्दपुराण ५।१२१-१२३ ॥
तृतीया माधवे शुक्ला भाद्रे कृष्णा त्रयोदशी । 
कार्तिके नवमी शुद्धा माघे पञ्चदशौ तिथिः ॥ 
एता युगाद्याः कथिता दत्तस्याक्षयकारिकाः ॥ (नारदपुराण पूर्वभाग २५।५०–५१)

त्यस्तै नारदपुराणमा कार्तिक शुक्ल नवमीका दिन पिपलको फेदमा देवता, पितृ र ऋषिहरूको तर्पण गर्नाले अक्षयपुण्य प्राप्त हुने तथा सूर्यलाई अर्घ्य दिने एवं गरीवगुरुवा र ब्राह्मणलाई भोजनदक्षिणादि प्रदान गर्ने तथा हवन र जापादि गर्ने विधान बताइएको छ ।

कार्तिके शुक्लनवमी याऽक्षया सा प्रकीर्तिता ।
तस्यामश्वत्थमूले वै तर्प्पणं सम्यगाचरेत् ॥
देवानां च ऋषीणां च पितॄणां चापि नारद ।
स्वशाखोक्तैस्तथा मन्त्रैः सूर्यायार्घ्यं ततोऽर्पयेत् ॥
ततो द्विजान्भोजयित्वा मिष्टान्नेन मुनीश्वर ।
स्वयं भुक्त्वा च विहरेद्द्विजेभ्यो दत्तदक्षिणः ॥ 
एवं यः कुरुते भक्त्या जपदानं द्विजार्चनम् ।
होमं च सर्वमक्षय्यं भवेदिति विधेर्वयः ॥ नारदपुराण, पूर्वभाग ११८।२३-२६ ॥

यसरी नै वराह पुराणमा नवमी तिथिका दिन आद्याशक्ति जगन्माता भगवतीको पूजाअर्चना गर्ने प्रसङ्ग उल्लेख गरिएको छ –

इयं देवी वरारोहा यातु शैलं हिमाचलम् ।
तत्र यूयं सुराः सर्व्वे गत्वा नन्दतमाचिरम् ॥
नवम्याञ्च सदा पूज्या इयं देवी समाधिना ।
वरदा सर्व्वलोकानां भविष्यति न संशयः ॥
नवम्यां यश्च पिष्टाशी भविष्यति हि मानवः ।
नारी वा तस्य सम्पन्नं भविष्यति मनोगतम् ॥

अझ कार्तिक महिनाको शुक्लपक्षको कुष्माण्डा नवमीका दिन जगद्धात्री भगवती दुर्गाको विशेष आराधना गर्ने प्रसङ्ग विभिन्न तन्त्रग्रन्थमा उल्लेख भएको पाइन्छ –

प्रपूजयेज्जगद्धात्रीं कार्त्तिके शुक्लपक्षके ।
दिनोदये च मध्याह्ने सायाह्ने नवमेऽहनि ॥ इति मायातन्त्रे १७ पटलः ॥
कुम्भराशिगते चन्द्रे नवम्यां कार्त्तिकस्य च ।
उषस्यर्द्धोदितो भानुर्द्दुर्गामाराध्य यत्नवान् ॥
पुत्त्रारोग्यधनं लेभे लोकसाक्षित्वमेव च ।
तां तिथिं प्राप्य मनुजः शनिभौमदिने यदि ।
प्रपूजयेन्महादुर्गां धर्म्मकामार्थमोक्षदाम् ॥ इति कात्यायनीतन्त्रे ७८ पटलः ॥

मथुरा-वृन्दावन परिक्रमा

अक्षय नवमीका दिन भगवान् श्री कृष्णले आफ्ना मामा कंसको बध गर्नुपूर्व मथुरावृन्दावन क्षेत्रमा रहेका तीनवटा वनको परिक्रमा गर्दै शङ्खनाद गर्नु भएको थियो भन्ने मान्यता छ । यसै परम्पराको अनुसरण गर्दै अहिले पनि कुष्माण्डा नवमी (अक्षय नवमी) का दिन असत्यका विरुद्ध सत्यको जीतका निमित्त मथुरावृन्दावनको संयुक्त परिक्रमा गर्ने प्रचलन छ । मथुरा, वृन्दावन र कार्तिक महिनालाई साक्षात् राधादामोदर स्वरूप मान्ने गरिन्छ । यसै महिनामा भगवान् श्रीकृष्णले गाई चराउन (गोचारण) का निमित्त पिता नन्द गोपसित आज्ञा लिनु भएको थियो ।

अमलाको पूजा

कुष्माण्डा नवमीको अर्को नाम आमलकी नवमी पनि हो । त्यसैले यस दिन अमलाको वृक्षको पूजा गर्नाले गृहिणीहरूले अखण्ड सौभाग्य, गृहस्थ जीवनमा सुखशान्ति, आयु एवं सन्तानवृद्धिको फल प्राप्त गर्दछन् । आमलकी नवमीका दिन अमलाको बोटबाट अमृतका थोपा झर्दछन् भन्ने मान्यता छ । त्यसैले यस दिन यस रुखको फेदमा बसी भोजनादि गर्नाले कतिपय असाध्य रोगबाट निवृत्ति हुन्छ भन्ने विश्वाससमेत लिने गरिन्छ । यस दिनदेखि कार्तिक पूर्णिमासम्म सात दिन भगवान् विष्णुले अमलाको वृक्षमा निवास गर्नुहुन्छ । धर्मग्रन्थ र आयुर्वेदमा अमलामा प्रशस्त औषधीय गुण विद्यमान हुने प्रसङ्ग उल्लेख गरिएको पाइन्छ । चाडपर्व र व्रतादिमा खाएको अमलाले शरीरमा भएको गरिष्ठ भोजनलाई पचाउनुका साथै यसले पतिपत्नीका बीचको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुर्याउने हार्मोनको परिपूर्ति गर्ने बताइन्छ । अझ कुष्माण्डा नवमीका दिन युगल दम्पतीले गरेको अमलाको पूजा, सेवन र व्रतदानादिबाट सन्ततिलाभ, वंशोन्नति, शान्ति, सद्भाव र सुखसम्मृद्धि हुनुका साथै श्रद्धालुले जन्ममरणको चक्रबाट छुटकारा पाई पुनर्जन्मको बन्धनबाट मुक्त हुने अवसर प्राप्त गर्दछ ।

अक्षय नवमीको पूजा गर्ने विधान

सबैभन्दा पहिले आद्याशक्ति जगन्माता भगवती कुष्माण्डाको पूजाआराधना गर्नुपर्दछ । उनको स्मरण गर्दै निम्न मन्त्रको उच्चारण गर्नुपर्दछ - 

दुर्गतिनाशिनि त्वं हि दारिद्र्यादिविनाशिनीम्।
जयदां धनदां देवि कूष्माण्डे प्रणमाम्यहम् ॥

यसपछि कर्पूरबाती बालेर तल लेखिएका मन्त्रको उच्चारणका साथ अमला वा पिपलको अथवा दुबै वृक्षको पूजा गरी परिक्रमा गर्दै अक्षय सुखसमृद्धि र आरोग्यको कामना गर्नुपर्छ ।

अमलाको बोट वा पिपलको प्रार्थना गर्ने मन्त्र :-

मूले विष्णु: स्थितो नित्यं स्कन्धे केशव एव च ।
नारायणस्तु शाखासु पत्रेषु भगवान् हरि: ।।
फलेऽच्युतो न सन्देह: सर्वदेवै: समन्वित: ।।
स एव विष्णुर्द्रुम एव मूर्तो महात्मभि: सेवितपुष्यमुल: ।
यस्याश्रय: पापसहस्त्रहन्ता भवेन्नृणां कामदुघो गुणाढ्य: ।।
अश्वत्थ सुमहाभागसुभग प्रियदर्शन।
इष्टकामांश्च मे देहि शत्रुभ्यस्तु पराभवम् ॥
आयु: प्रजां धनं धान्यं सौभाग्यं सर्वसम्पदम्।
देहि देवि महावृक्ष त्वामहं शरणं गत:॥

यस क्रममा अमला वा पिपलको वृक्षलाई परिक्रमा गर्दै काँचो धागोले १०८ पटक बेर्ने चलन छ । परिक्रमा पूर्ण भएपछि अमला वा पिपलको वृक्षको फेदमा पूर्व दिशामा निहुरिएर ॐ धात्र्यै नमः मन्त्रको उच्चारण गरी दूधको धाराले पितृहरूलाई तर्पण गरी कपूरबातीले आरती गरिदिनु पर्दछ । त्यसपछि घरमा आएर दानादि गर्ने नियम छ । यस नवमी तिथिमा अमला, कुभिण्डो, फर्सी (सीताफल) आदि बाटुलो आकारको फलफूलका साथमा भोजन, द्रव्य, वस्त्र, स्वर्णादि योग्य ब्राह्मण र गरीवगुरुवालाई दान गर्नुपर्दछ । दान गर्दा सङ्कल्प उच्चारणका साथमा ममाऽखिलपापक्षयपूर्वकं सुखसम्मृद्धिसौभाग्यादीनामुत्तरोत्तराभिवृद्धये कूष्माण्डदानं तदभावे अन्य फलदानमहं करिष्ये भनी दान गर्नु पर्दछ । त्यसपछि अक्षय नवमीको कथा श्रवण गर्नुपर्दछ ।

कुष्माण्डा नवमीको कथा

भारतको वाराणसी (काशी) सहरमा एउटा व्यापारी निवास गर्दथ्यो । ऊ असाध्यै धर्मात्मा र दानी थियो ।  उसकी पत्नी पनि शील र स्वभावले युक्त तथा धर्माचरण र कर्तव्यपथमा निरन्तर अघि बढिरहने सुन्दर नारी थिई । दाम्पत्यसूत्रमा बाँधिएको लामो समय बित्दा पनि तिनका कुनै सन्तान थिएनन् । सन्तानहीनताका कारण व्यापारीकी पत्नी खिन्न र निराश हुने गर्थी । उसमा वैराग्यका भावना वहन थालेका थिए, एकान्तमा बस्ने, काममा मन नलाउने र झर्कोफर्को गर्ने बानी विकसित हुँदै थियो । व्यापारी पनि पत्नीको चिडचिडेपना देखेर दिक्क मान्न थालेको थियो ।

यस्तैमा साहुनीसित कुनै एउटा तान्त्रिक योगीको भेट भयो । उसले योगीलाई उसले आफूले सन्तान प्राप्त गर्न नसकेको र निराशाभाव बढ्न थालेको कुरा बताई । तान्त्रिकले सन्तानप्राप्तिको उपाय बताउँदै भने - आफ्नो कोखमा सन्तान भएको देख्न चाहन्छ्यौ भने तिमीले कालभैरवको मन्दिरमा कुनै जीवित बालकको बलि दिनुपर्दछ । तान्त्रिकका कुरामा पत्यार लागेर उसले सन्तान प्राप्त गर्न कुनै बालकको खोजी गरी बलि चढाउनका लागि पतिसमक्ष अनुरोध गरी । तर धार्मिक स्वभावको व्यापारीले कसैको हत्या गरी आफू पिता बन्नु समुचित नहुने ठानेर पत्नीका कुरामा ध्यान दिएन । तर व्यापारीकी पत्नीमा सन्तानको इच्छाले जरो गाडिसकेको थियो । उसको इच्छा र मोहका कारण कुन कुरो ठिक र कुन कुरो खराब भन्ने विवेक गर्ने क्षमता नाश भयो ।

एक दिन पतिलाई जानकारी नै नदिई उसले एउटा बालकको खोजी गरी कालभैरवलाई बलि चढाएरै छाडी । मानवको वा पशुको बलि दिएर देवता प्रसन्न हुने होइनन्, तान्त्रिकले कुनै साधना पूरा गर्न उसद्वारा बलि दिलाउन हौस्याएको मात्र थियो । त्यसैले साहुनीले गर्भधारण गर्नु त परै जाओस्, प्रारम्भदेखि नै उसमा देखा परेको मनोरोगका साथमाा उसका शरीरमा नानाथरिका चर्मरोग र कुष्ठरोगले आक्रमण गरे । केही समयपछि व्यापारीले  पत्नीले गोपनीय ढंगले मानवबलि दिएको र विभिन्न रोगव्याधिको प्रकोप सहनु परेको कुरो चाल पायो । साहु यो कुरो थाहा पाएर असाध्यै खिन्न र आफ्नी पत्नीका गलत क्रियाकलापप्रति क्रोधित पनि भयो ।

जीवनसाथी र अर्द्धाङ्गिनी भएका कारण रोगव्याधिबाट ग्रस्त पत्नीको उपचार गर्नुबाहेक उसँग कुनै विकल्प थिएन । त्यसपछि शरीरमा उत्पन्न समस्त रोग र विकारको नाशका लागि दिनहुँ गङ्गास्नान गरी प्रायश्चित्तका लागि ईश्वरसँग प्रार्थना गर्न पत्नीलाई अह्रायो । साहुनीलाई पनि पछुतो भइसकेको थियो, उसले पतिको आज्ञा पालना गर्न थाली । ऊ दिनहुँ दशाश्वमेध घाटमा गएर गङ्गास्नान गर्दथी, माता गङ्गाको आराधना गरेर विश्वनाथ महादेवको मन्दिरमा गई प्रार्थना गर्ने गर्दथी । यसरी लामोसमय सम्म गङ्गास्नान र ईश्वर आराधना गरेपछि एक दिन प्रसन्न भएकी गङ्गामाताले एउटी बृद्ध स्त्रीको रूप लिई साहुनीलाई दर्शन दिंदै बताइन् - हे स्त्री ! कार्तिक महिनाको शुक्लपक्षको नवमी तिथिका दिन ब्रज क्षेत्रको वृन्दावनमा गएर अमलाको फेदमा भगवान् नारायणको पूजा गर्नु, ब्राह्मण भोजन गराउनु साथै कुभिण्डो वा त्यसबाट बनेका खाद्य परिकारको दान गर्नु तेरो शरीरमा भएका समस्त रोगव्याधि र विकार दूर हुनेछन् । गङ्गामाताको आदेशानुसार साहुनीले विधिपूर्वक अमलाको बोटमा भगवान् नारायणको प्रतिष्ठा गरी पूजादि सम्पन्न गरी । उसका शारीरिक रोगव्याधिको नाश भयो । उसले पूर्ववत् सुन्दर शरीर प्राप्त गरी । केही समयपछि उसले गर्भधारण गरी र एउटा सुन्दर पुत्रसमेत प्राप्त गरी । त्यसैले सन्तानहीन महिलाले यस नवमीको व्रत सम्पादन गर्न थाले ।

सन्तान नहुनेले मात्र होइन, सन्तान भएका महिलाले समेत यस कुष्माण्डा नवमीको व्रत सम्पादन गरेमा सन्तान स्वस्थ र निरोगी हुनुका साथै तिनको उन्नतिप्रगतिको मार्गमा देखिएका विघ्नबाधा दूर भई तिनले धनधान्य, मानसम्मान र सुखसुविधा प्राप्त गर्ने गर्दछन् ।

Friday, October 27, 2017

गोपाष्टमी

परिचय

प्रत्येक वर्षको कार्तिक महिनाको शुक्ल पक्षको अष्टमी तिथिलाई गोपाष्टमी भनिन्छ । यसै दिनबाट भगवान् श्रीकृष्णले गोठमा बस्ने र गाई चराउने लीला प्रारम्भ गर्नुभएको विश्वास गरिन्छ। यो पर्व ब्रजसंस्कृतिको एउटा प्रमुख पर्व हो । गाई र ग्वालाहरूको रक्षा गर्नाले भगवान् श्री कृष्णको नाम नै 'गोविन्द' रहन गएको हो । द्वापर युगमा कुनै कार्तिक महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन ब्रजक्षेत्रका गाई लगायतका पशुधन, गोप, गोपी आदिलाई वर्षाका देवता इन्द्रको कोपबाट मुक्त पारी तिनको संरक्षण गर्न भगवानले गोवर्द्धन पर्वतलाई धारण गर्नु परेको थियो । दाहिने हातको कान्छी औंलामा लगातार सात दिनसम्म श्रीकृष्णले उक्त पर्वतलाई उचालेर मुसलधारे वर्षाको सङ्कटबाट जनतालाई बचाउनु भएको र आठौं दिन इन्द्र अहङ्कार रहित भएर भगवानको शरणमा आएको थियो । त्यस दिन कामधेनुले श्रीकृष्णको अभिषेक गरेकी थिईन् र त्यसै अवसरबाट भगवान् श्रीकृष्णलाई गोविन्द भन्न थालिएको थियो । त्यसैले कार्तिक शुक्ल पक्षको अष्टमी तिथिलाई गोपाष्टमी पर्वका रूपमा मनाउन थालिएको हो ।

विधिविधान

गोपाष्टमीका दिन प्रातःकालमा उठेर स्नानशौचादि नित्यकर्मबाट निवृत्त हुनुपर्दछ । गोठको सरसफाइ गरी गाईलाई समेत नुहाइदिनु पर्छ र चन्दन, अक्षता, फूल, धूप, दीप आदि पञ्चोपचार पद्धतिले गाईको पूजा गर्नुपर्छ । त्यसपछि वस्त्रालङ्कारले गाई र बाछालाई सुशोभित तुल्याई गोठ वरिपरि प्रदक्षिणा गर्नुपर्छ । गाईलाई गोग्रास (खानेकुरा) प्रदान गरी गोठालाहरूको पूजा गर्नुपर्दछ । तिनलाई समेत यथायोग्य भोजन, दक्षिणादि प्रदान गरेपछि गाईको दाम्लो खोली चराउन लैजानु पर्छ । गोपाष्टमीका दिन गोधुली समय अर्थात् सायंकालमा चरेर फर्किएका गाईलाई पनि प्रणाम गरी पञ्चोपचार पद्धतिले पूजा गरी गाईको खुरले कुल्चिएको माटोको तिलक गर्ने विधान छ । यति कर्म सम्पादन गरेमा अभीष्ट र मनोकाङ्क्षा सिद्धि र सौभाग्यको अभिबृद्धि हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

गोठ र गाई नहुनेले के गर्ने ?

गोपाष्टमीका दिन गाईको पालनपोषण नगर्ने घरपरिवारका व्यक्तिहरूले बिहानै आफ्नो नित्यकर्मबाट निवृत्त भएर नजिकै रहेको मन्दिर, आश्रम वा गौशालामा गएर पूजाआजा गर्नु पर्दछ । यस दिन आफ्नो तौलबराबरको घाँसपानी, चोकर वा दाना गौशालामा वा आफ्नो घरछेउमा गाईको पालनपोषण गरेर जीविकोपार्जन गर्ने जोसुकैलाई दान गरेमा वर्षभरि गाईलाई गोग्रास प्रदान गरेको फलप्राप्ति हुन्छ । ज्योतिषीय दृष्टिकोणले समेत यसै दिन वा जन्मतिथिका दिन गाईको पूजाआराधना गरी आफ्नो तौलबराबर घाँसपानी, चारा, दाना आदि दान गरेमा पतिपत्नीबीचको खटपट, नाडीदोष, शुक्र ग्रहको प्रतिकूलता र शुक्रसिद्धाको स्वामीपत्नी योगको दुष्परिणामबाट बँच्न सकिने मान्यता छ ।

महत्त्व र वैशिष्ट्य

आर्यावर्तको गङ्गा नदीको प्रस्रवण क्षेत्र अर्थात् गङ्गा नदीको उत्तरी र दक्षिणी दिशामा रहेका समथर तथा पहाडी भूभाग कृषिकर्म र पशुपालनका लागि उत्तम क्षेत्र हो । यहाँको प्रायः जनसङ्ख्या कृषि पेसामा नै निर्भर रहेका छन् । त्यसैले आर्य-संस्कृतिभित्रका शैव, शाक्त, वैष्णव, गाणपत्य, जैन, बौद्ध, सिख आदि धर्म र सम्प्रदायमा उपासना र कर्मकाण्डका पद्धतिमा विविधता देखिए पनि गाईका बारेमा भने समान दृष्टिकोण रहनु र आदर र सम्मान गरिनुबाट समेत हाम्रो संस्कृतिमा प्राणतत्त्वका रूपमा गाईको वैशिष्ट्य रहेको देखिन्छ । गाईलाई हामी गङ्गा, गायत्री, गीता, गोवर्द्धन र गोविन्दसरह पूजा, अर्चना र आराधना गर्ने गर्दछौं । सनातन धर्ममा गाईलाई 'मातर: सर्वभूतानां गाव:' भनिएको छ । यसको अर्थ हुन्छ - गाई समस्त प्राणीहरूकी आमा हुन् । हामी गाईलाई 'गोमाता' भनेर सम्बोधन गर्ने गर्दछौं । दिव्य गुणहरूबाट युक्त भएकी गाईलाई पृथ्वीतल सशरीर उपस्थित भएकी साक्षात् भगवतीका रूपमा उपासना गर्ने गरिन्छ । भन्ने पनि गरिन्छ - 'सर्वे देवा: स्थिताः देहे सर्वदेवमयी हि गौ:' । त्यसैले जुन मनुष्यले प्रात:कालमा स्नानोपरान्त गाईलाई स्पर्श गर्दछ, ऊ समस्त पापबाट मुक्त हुन्छ भन्ने सामाजिक मान्यता छ ।

गोसेवाको फल

•        गाई र बाछाको समूहले जुन ठाउँमा बसेर आरामले सास फेर्नसक्छ, त्यस स्थानको शोभा बढ्ने मात्र होइन, त्यस ठाउँका समस्त पापराशिको नाश हुन्छ ।

•        तीर्थतीर्थ डुलेर स्नान-दानादि गर्नाले, ब्राह्मण जम्मा पारी भोजन गराउनाले, व्रत-उपवास र जप-तप अनि हवन-यज्ञ गर्नाले जुन पुण्यको प्राप्ति हुन्छ, त्यो पुण्य गाईको सेवासुश्रुषा गर्नाले प्राप्त हुन्छ ।

•        गोसेवाका कारण दुःख र दुर्भाग्य टाढा जान्छन् र घरमा सुख र समृद्धिले वास गर्दछन् ।

•        जसले गाईको श्रद्धापूर्वक पूजा र सेवा गर्दछ, त्यससित देवता, कुल र पितृ कहिल्यै पनि रिसाउँदैनन् ।

•        जुन घरमा प्रातःकालको भोजन ग्रहण गर्नुअघि गोग्रास छुट्याइन्छ, त्यस परिवारमा कहिल्यै पनि धनधान्यको अभाव हुँदैन ।

•        गाई मात्र त्यस्तो प्राणि हो, जसको मल र मूत्र दुबै पवित्र मानिएको छ र यी धार्मिक र वैज्ञानिक दुबै दृष्टिकोणबाट गुणकारक मानिएका छन् ।

•        गोबरमा लक्ष्मीको बास हुने भएकाले यसलाई गो (लक्ष्मी) को वर (वर, प्रसाद, आशीर्वाद ) भनिएको हो ।

•        गाईको गोबरले लिप्नाले घरआँगनमा कीटाणुको नाश हुन्छ र आयुर्वेदमा उल्लेखभए बमोजिम गाईको गोबरबाट हैजा र मलेरियाका कीटाणु नष्ट हुन्छन् । गोबरले लिप्नाले पूजाआराधना र यज्ञयागादिका निमित्त भूमि पनि पवित्र हुन्छ भन्ने मान्यता छ ।

•        गोबरलाई इन्धनका रूपमा समेत प्रयोग गरिन्छ, यसका गुइँठा घरको भान्सादेखि यज्ञ सम्पादन गर्न समेत मान्य हुन्छ ।

•        गाईको मलमूत्र कुहाएर प्राङ्गारिक  मल बनाउन सकिन्छ र गोबरबाट बनेको गुइँठा बालेर बन्ने खरानीले खेतीपातीका लागि राम्रो मलखादको काम गर्छ ।

•        आयुर्वेदमा गहुँतको प्रयोग गरी कतिपय असाध्य रोग नाश हुने कुरा बताइएको छ । विशेषतः कलेजोका रोगीका लागि यो अमोघ औषधी हो । पेटको समस्या, चर्मरोग, बवासीर, रुँघामर्की, जोर्नीको दुखाइ, हृदय रोग आदि रोगको निदानमा गहुँतको प्रयोगद्वारा आश्चर्यजनक लाभ प्राप्ति हुन्छ । यसलाई विधिवत् सेवन गर्नाले मोटोपना र कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्न सकिन्छ ।

•       गाईको दूध, दही, घिउ, गोबर र गहुँतको प्रयोग गरी निर्माण गरिएको पञ्चगव्यले तन, मन र आत्मालाई पवित्र बनाउँछ भन्ने मान्यता छ ।

अतः भौतिक र वातावरणीय अशुद्धि रहेको वर्तमान प्रदूषणयुक्त समयमा गाईको भूमिका र योगदान महत्त्वपूर्ण रहेको प्रष्ट हुन्छ । त्यसैले हामीले गोधन र गोवंशको रक्षाका निमित्त पूर्ण तत्परताका साथ जुट्नु आवश्यक छ । अनिमात्र गोविन्दगोपालको पूजा, श्रद्धा र भक्ति सार्थक हुन्छ । गोपाष्टमी पर्व सम्पादनको मुख्य उद्देश्य नै गोसम्बर्द्धन हो ।

Thursday, July 27, 2017

नागपञ्चमीकै दिन : श्रावणी स्नान, ऋषितर्पणी र जनै फेर्ने

सनातन धर्ममा जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । दुईवटा शिखा भएको एकजोर जनैको एउटा शिखामा रहेका तीनवटा डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकका रूपमा लिइन्छ । यस दिन सनातन धर्मावलम्बी तागाधारी (जनै लगाउने) हरू बिहान सबेरै उठी नजिकैको तीर्थस्थल, नदी, तलाउ वा सरोबरमा गई पद्धतिमा उल्लिखित विधानको प्रयोग गरी स्नानादि सम्पादन गर्दछन्, यसरी स्नान गर्ने प्रक्रियालाई श्रावणी स्नान भनिन्छ । त्यसपछि सप्तर्षिहरूको पूजाआजा र तर्पणादि, रक्षाविधानको अभिमन्त्रण अनि जनै मन्त्रने काम हुन्छ । अन्त्यमा नयाँ जनै फेर्ने र नारीमा रक्षासूत्र (डोरो) बाँध्ने काम हुन्छ । रक्षाबन्धन बाँध्दा पहाडे समुदायमा विशेष गरी ब्राह्मणद्वारा नारीमा डोरो बाँध्न लगाउने चलन छ भने तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइका हातमा रक्षासूत्र (राखी) बाँधेर मनाउने परम्परा छ ।

जनैपूर्णिमाका दिन गरिने कृत्यहरूका बारेमा बुझौं :–

उपाकर्म वा स्वाध्यायोपाकर्म
उपाकर्म अथवा स्वाध्यायोपाकर्म गृह्यसूत्रमा विधान गरिएको कृत्य हो – यो कृत्य वेद पढाउने गुरु र तिनीसित वेद पढ्ने शिष्य मिलेर गर्ने कृत्य हो । उपाकर्मको समय (काल) निर्णयका निमित्त धेरै विकल्पहरू शास्त्रमा उल्लेख भएको देखिन्छ । खासगरी वेदका भिन्नभिन्न शाखाअनुसार त्यस्तो विभेद देखिएको हो ।
जस्तै :-
अथातोऽध्यायोपाकर्म,औषधीनां प्रादुर्भावे श्रवणेन श्रावण्यां पौर्णमास्यां श्रावणस्य पञ्चमीं हस्तेन वा (पारस्कर गृह्यसूत्र) ।
उपाकर्मको यसै पद्धतिलाई अनुसरण गरी हिजोआज श्रावणी स्नान, ऋषितर्पणी, जनै अभिमन्त्रणा गर्ने र नयाँ जनै फेर्ने काम सम्पादन हुन्छ ।

रक्षाबन्धन
रक्षाबन्धन पुराणमा विधान गरिएको छुट्टै कृत्य हो । यो उपाकर्म होइन र त्यसको अङ्ग पनि होइन । उपाकर्मका अधिकारी तागाधारी मात्र हुन् भने रक्षाबन्धन सबैका लागि हो ।

हाम्रो सनातन वैदिक सामाजिक व्यवस्थामा वर्णाश्रम धर्मको विशेष महत्त्व छ । संस्कारको कसी र कामको प्रकृतिमा आधारित ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र यी चारवटा वर्णव्यवस्थाका कारण हाम्रो प्राचीन समाज आजको आधुनिक समाजको तुलनामा व्यवस्थित र अनुशासित रहेको अनुमान गर्न सक्दछौं । वंशपरम्परामा आधारित वर्णव्यवस्थामा देखिएका छुटपुट विकारको प्रारम्भ भएको धेरै समय बितेको छैन, केही शताब्दीभित्र मौलाएको यो प्रचलन पनि लोकतान्त्रिक शासनव्यवस्था र सामाजिक एवं कानुनी मान्यतामा आएको बदलावका कारण अब समाप्तिका क्रममा रहेको देखिन्छ ।

चारवटा वर्णव्यवस्था (ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र) र चारवटा पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष) मा विभाजित आर्यसमाजको प्राचीन वैदिक व्यवस्थामा हामीकहाँ वर्षभरिमा मुख्यमुख्य चार वटा चाडको विशेष महत्त्व हुने गर्दथ्यो । जसमा विशेषतः प्रथम वर्ण अर्तात् ब्राह्मणद्वारा संयोजन गरिने श्रावणी पर्व ऋषितर्पणी र रक्षाबन्धन पर्व हो, जुन पर्वले समाजको आध्यात्मिक शक्तिलाई सञ्चय गर्ने गर्दथ्यो । क्षत्रिय वर्णद्वारा संयोजन गरिने बडा दशैं (विजया दशमी) को पर्व शक्तिउपासनाको अर्को पर्व हो, जसमा समाजको सैन्यबललाई सुसज्जित तुल्याउने काम हुन्थ्यो । वैश्य समुदायमा महत्त्व दिई मनाइने तिहार (महालक्ष्मीको भक्तिआराधना र दीपावलीको पर्व) तेस्रो ठूलो पर्व हो, जसमा समाजको अर्थशक्तिलाई व्यवस्थित गर्ने र आर्थिक क्रियाकलापको हरहिसाब राख्ने काम हुन्थ्यो । त्यस्तै शुद्र वर्णको संयोजनमा सम्पन्न हुने होली पर्व चौथो पर्व हो, जसमा हाँसखेल, मनोरञ्जन, खुसी र उमङ्गको सञ्चरण गरी सामाजिक समन्वय र समानताको बोध गर्दै तात्कालिक समाजमा विद्यमान असमानता र विभेदको पर्खाललाई भत्काई सद्भाव, बन्धुत्व र भाइचाराको सन्देश प्रवाहित गरिन्थ्यो ।

समाजका चारवटै वर्णका अध्यात्म, सैन्यबल, अर्थशक्ति एवं पुरुषार्थ जस्ता शक्तिका माध्यमले सामाजिक सम्बन्ध र सर्वाङ्गीण समाजलाई सुदृढ बनाउने समन्वयात्मक प्रयास नै यी चाडपर्वको मूल उद्देश्य थियो भन्नु उपयुक्त हुन्छ । त्यसैले सनातनधर्मका अनुयायीहरूलाई बिथोल्न र छिन्नभिन्न तुल्याउन विधर्मी र शत्रुहरूले गरेका पटकपटकका धर्मपरिवर्तन, प्रलोभन र अाततायी क्रियाकलाप आदि दुरूह प्रयास विफल बन्न पुगे र अनेकानेक विघ्न तथा बाधाव्यवधान ब्यहोरेर पनि हाम्रो संस्कृति र सभ्यताले आफ्नो अस्मितालाई सुरक्षित राख्न सक्यो । सनातन धर्मका चाडपर्व र व्रतोत्सवको मुख्य विशेषता पनि यही नै हो । यिनै पर्वहरूमध्ये एउटा विशिष्ट पर्व हो - जनै पूर्णिमा । यो श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ र यसलार्इ श्रावणी पर्व पनि भन्ने गरिन्छ । यस पर्वलाई नेपालमा चार किसिमका भिन्नभिन्न नाम, संस्कार र विधानको प्रयोग गरी मनाउने परम्परा छ :- ऋषितर्पणी, जनै पूर्णिमा, रक्षाबन्धन, क्वाँटी पूर्णिमा ।

ऋषितर्पणी र जनैपूर्णिमा

वैदिक कालदेखि नै द्विजाति (जनै लगाउने संस्कार भएका व्यक्ति) हरूका लागि यस दिनलाई आत्मशोधन गराउने पुण्य पर्वका रूपमा लिइन्छ । अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरूको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरू नदोहोर्‍याई सन्मार्गमा अभिप्रेरित हुन यस दिन प्रातःकालमा नदी वा तीर्थतटमा गई वैदिक विधि अनुसार सङ्कल्पोच्चारणपूर्वक स्नान, सूर्य आराधना, प्राणायाम, अग्निहोत्र, ऋषिपूजन आदि कर्मद्वारा शारीरिक, मानसिक र आध्यात्मिक शुद्धिका कर्महरू सम्पन्न गरिन्छन् । कात्यायन स्मृति, आन्हिक र प्रयोगपारिजात जस्ता ग्रन्थहरूले जनैपूर्णिमाको महत्त्वगान गरेका छन् । श्रावणी उपाकर्मद्वारा सुसंस्कृत भई वैदिक मन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवीत (जनै) यस दिन धारणा गरिने भएकाले यस पर्वलाई जनैपूर्णिमा भनिएको हो ।

ज्ञान, अध्यात्म, संस्कार र प्रविधिका मूल स्रोत मानिने प्राचीन युगका अनुसन्धाता र वैज्ञानिक ऋषिमहर्षिहरूको स्मरण, श्रद्धा र तर्पण गरिने पर्व भएकाले यस पर्वलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ, त्यसैले यस दिन प्रातःकालमा कुनै पवित्र नदी, सरोवर वा तीर्थमा गई महासङ्कल्पको उच्चारण गरी स्नान गरी ऋषिपूजा र तिनलाई तर्पण गरी श्रद्धा व्यक्त गर्ने गरिन्छ । श्रद्धालुहरू यस दिन नदी वा सरोवरको जलराशिमा उभिएर अाफ्नो प्राचीनतम र विराट परम्पराको स्मरण गर्दै सङ्कल्प अर्थात् प्रतिज्ञा गर्दछन् । उक्त सङ्कल्पलाई हेमाद्रि सङ्कल्प भन्ने गरिन्छ । हेमाद्रिको अर्थ हो - हिमालय पर्वत । हिमालयको काखमा दैनन्दिनी सञ्चालन गरिरहेका आमनेपालीको जीवनस्रोतको सिञ्चन गर्ने हिमालय पर्वत झैं महान् बन्ने प्रेरणा प्रदान गर्दछ, उक्त महासङ्कल्पले । यस सङ्कल्पमा सर्वप्रथम मनुष्यमात्रमा उदय हुनसक्ने अनेकानेक पाप, दुराचरण र असामाजिक कर्मबाट विमुख हुनुपर्ने प्रायश्चित्तको कुरो छ । उक्त सङ्कल्पमा बद्रिकारण्य, दण्डकारण्य, अरावलीवन, गुह्यारण्य, जम्बुकारण्य, विन्ध्याचलवन, द्राक्षारण्य (अङ्गुरको वन), नहुषारण्य, काम्यकारण्य, द्वैतारण्य, नैमिषारण्य, अवन्तिवन आदि ठाउँको विवरण उल्लेख गरी समग्र आर्यावर्तका प्राचीन वनप्रदेश र प्राकृतिक सुषमासँग गाँसिएको हाम्रो जीवनपद्धतिको स्मरण गरिएको छ । यसका साथै उक्त प्रतिज्ञावाक्यमा सुमेरूकूट (पर्वत), निषिधकूट, शुभ्रकूट, श्रीकूट, हेमकूट (हिमालय) रजकूट, चित्रकूट, किष्किन्धा, श्वेताद्रि, विन्ध्याचल, नीलगिरि, सह्याद्रि, कश्मेरू आदि समस्त पर्वत श्रृङ्खलाको उच्चारण पनि छ, ती ठाउँ यस्ता स्थान हुन्, जहाँ आर्य संस्कृतिले झाङ्गिने र विकसित हुने अवसर पाएको थियो । अनि सिन्धु, ब्रह्मपुत्र, गङ्गा, गोदावरी, सतलुज, गण्डकी, कोसी, तुङ्गभद्रा, नर्मदा, कृष्णा, कावेरी आदि पवित्र नदी र तिनको सभ्यतालाई समेत यसमा समेटिएको पाइन्छ ।

यस पर्वलाई अर्को शब्दमा श्रावणी कर्म वा श्रावणी स्नान भन्ने गरिन्छ । यो पर्व चान्द्र गणनाअनुसार श्रावण महिनाको अन्तिम दिन र प्रायः श्रवण नक्षत्रका दिन पर्ने भएकाले पनि यसलाई श्रावणी कर्म भनिएको हुनसक्छ । पूर्वीय संस्कार अनुसार श्रावणी कर्मका तीन अङ्गहरू हुन्छन्, ती हुन् - १. स्नान र तर्पण, २. सूर्योपस्थान र ३. ऋषिपूजन सहित यज्ञोपवीत धारण । यी तीनवटै कामहरू शरीर, मन र आत्मशुद्धिसँग सम्बद्ध मानिन्छन् ।

यस दिन प्रारम्भमा 'हेमाद्री'द्वारा प्रतिपादित महासङ्कल्पोच्चारणमा आएका ज्ञातअज्ञात अवस्थामा गरिएका सम्पूर्ण शुभअशुभ कार्यहरूको उच्चारण र मनन हुन्छ । त्यस अवसरमा खरानी, गोबर, माटो, अपामार्ग, कुश, जौ, दुबो, गाईको दूध, दही, घिउ, गहुँत आदिको प्रयोग गरी शरीरमा लेपन गरी स्नान गर्ने विधान छ । शरीर संरचना र स्वास्थ्यका निमित्त आयुर्वेद र स्वास्थ्यविज्ञानका दृष्टिले यी सबै वस्तुको विशेष महत्त्व छ । जस्तै - 'ॐ जलमिति भस्म स्थलमिति भस्म ...' आदि मन्त्रोच्चारणका साथ भस्मस्नान गरिन्छ । भस्म भनेको खरानी हो । यज्ञशेषको रूपमा प्राप्त भस्मलेपन गरी स्नान गर्दा छाला सम्बन्धी रोग नलाग्ने र नष्ट हुने वैज्ञानिक तथ्य पाइन्छ । आयुर्वैदिक औषधिहरूमा स्वर्ण भस्म, मुक्ताभस्म, लौहभस्म, अभ्रखभस्म जस्ता अमूल्य औषधिहरू रोग निदानमै उपयोग गरिने भएकाले जनैपूर्णिमाका दिन गरिने भस्मस्नान पनि तथ्यपूर्ण मान्न सकिन्छ । गाईको गोबरमा कीटाणुनाशक अनेकानेक विशेषताहरू छन् । उदाहरणका लागि वर्षा ऋतुमा यो पर्व मनाउने गरिन्छ, अनि यो समय वनजङ्गलका प्रत्येक वनस्पतिमा नयाँ जीवन प्रारम्भ भएको समय हो । यसै वेला अधिकतम मात्रामा नयाँनयाँ वनौषधिहरू उत्पन्न हुनेगर्दछन् । गाईहरू जङ्गलमा चर्ने गर्दछन् र तिनले वनमा चर्दा घाँसका रूपमा खाएको औषधिको सेवनले पाचनप्रणालीमा प्रशोधित भएको वस्तु गोबरका रूपमा विसर्जन गर्दछन् । यसरी किटाणु नाशक औषधीय तत्त्वले युक्त हुनाले गोमय (गोबर) लाई हाम्रो संस्कारमा पवित्र मानिएको हो । अतः गोबरको लेपद्वारा स्नान गर्दा शरीरले स्वास्थ्यजन्य विकृति र दोषको नाश गर्दछ र शरीरशुद्धि हुन्छ भन्ने मान्यता छ ।  माटो हाम्रो आधारस्थल हो । पृथ्वीको आफ्नै वैशिष्ट्य र चरित्रका कारण यहाँ अनेकानेक जीवको सृष्टि र जीवनचक्र सञ्चालित भएको छ भन्ने तथ्यलाई कसैले नकार्न सक्दैन । पृथ्वीका यी गुणहरू भइदिएको भए अहिले अरुअरु ग्रहमा पनि जीवनको सम्भाव्यता देखिन्थ्यो । अतः जीवनचक्रको सञ्चालनमा माटोको विशेष महत्त्व छ, त्यसैले माटोकाे लेपबाट मानिसलाई प्रकृतिभन्दा टाढा नजानु र गएमा शरीर र प्राणका लागि हानिकारक हुन्छ भन्ने चेतना माटोको लेपका साथमा गरिने स्नानले प्रदान गरेको छ । त्यस्तै श्रावणी स्नानमा प्रयोग गरिने कुश, जौ, दुबो अपामार्ग आदिको पनि हाम्रो शरीरका लागि अत्यन्त लाभदायक छुट्टाछुट्टै महिमा र वैशिष्ट्य छ । यसरी गरिने श्रावणी स्नानले बाहिरी शरीर शुद्ध भए झैं पदार्थ विज्ञानका अनुसार गाईको दूध, दही, घिउ, गहुँत र गोबर मिश्रित पञ्चगव्यको प्रयोगले वात, पित्त र कफ जनित दोष निराकरण गर्ने, शरीरका प्रतिरोधात्मक विषालु तत्त्वको शमन गर्ने र बुद्धि बढाउने काम गर्दछ र मूत्र-कृच्छ, दाद, अपस्मार, मृगी जस्ता रोग विनाश गर्न सक्षम ठानिन्छ । त्यसैले हरेक धार्मिक कार्यको प्रारम्भमा पञ्चगव्य प्राशन गर्नुमा आर्यसंस्कृतिको स्वास्थ्यचिन्तन र दीर्घायुष्यको धारणा प्रस्फुटन भएको छ भन्न सकिन्छ ।

सूर्य समस्त चराचर जगतको प्राणाधार र हाम्रो मन, बुद्धि र कर्मको प्रेरणास्रोत हो । सूर्यो आत्मा जगतस्तस्थुषश्च अर्थात् सूर्यलाई प्राणीको आत्मरूप मानिन्छ । जनैपूर्णिमाका दिन दुवै हात उठाएर सूर्योपासना गर्नु भनेको निर्मल बुद्धि र कल्याणको याचना गर्नु हो । त्यस्तै ऋषिहरूको पूजनका क्रममा आफ्नो नाम, गोत्र र प्रवरको उच्चारण गर्ने विधान छ, यसको अर्थ हो - आफ्ना पूर्वजको महानता अनि आफ्नो लघुताका बीचमा तुलना गर्नु । आफ्ना पूर्वजहरू अर्थात् अगम्य ज्ञानका महान् स्रोत ऋषिहरू जत्तिकै तेजस्वी र शक्तिशाली व्यक्तिका रूपमा आफूलाई पनि विकसित तुल्याउने भावना जागृत गराउनु र कर्मच्युत भई पथभ्रष्ट बन्नबाट नियन्त्रण गर्न मानसिक सङ्कल्प गर्नु तथा सत्प्रेरणा पाउनु यस कर्मको मुख्य उद्देश्य रहेको देखिन्छ ।

सनातन हिन्दू परम्पराअनुसार द्विज (जनै लगाउने जाति विशेष, तागाधारी) ले कतै पनि नचुडाई विधिपूर्वक पञ्चशिखा बनाएर वैदिक मन्त्रोच्चारणका साथ अभिमन्त्रित नयाँ जनै (नूतन यज्ञोपवीत) धारण गरी पुरानो जनैलाई त्याग्ने चलन छ । उनीहरू ऋषितर्पणी पर्व मनाउन र नवीन यज्ञोपवीत धारण गर्न अघिल्लो दिनदेखि नै कपाल खौरेर उपवास बस्दछन् र भोलिपल्टको कर्मसम्पादन गरी हातमा रक्षासूत्र बाँधी नयाँ जनै फेर्ने गर्दछन् । जनै द्विजातिको सर्वाङ्गीण रक्षासूत्र हो । वैदिक र पौराणिक मन्त्रको प्रयोग गरी अभिमन्त्रणा गरिने एउटा जनैमा तीन वटा धागाको समूह हुन्छ, गृहस्थीले त्यस्ता एक जोर ( छवटा डोरो भएको) जनै लगाउँदछन् । शास्त्रमा ब्रह्मचारीले एउटा, गृहस्थीले दुईवटा र वानप्रस्थले तीनवटा जनै लगाउनु पर्दछ भनिएको छ, त्यस्तै वर्णविशेषमा ब्राह्मणले तीनवटा, क्षत्रियले दुईवटा र वैश्यले एउटा जनै लगाउने पनि भनिएको देखिन्छ । तर नेपालमा आमरूपमा दुर्इवटा (एक जोर) जनै लगाउने गरिन्छ ।

जनैमा प्रयोग गरिएका धागाका तन्तुहरूलाई केवल धागोमात्र मान्नु हुँदैन, ती प्रत्येक डोराले प्रतीकात्मक रूपमा आत्मरक्षा, धर्मरक्षा र राष्ट्ररक्षाको सङ्कल्पलाई वहन गरेका हुन्छन् । रक्षासूत्रलाई स्थानविशेषअनुसार राखी, तागा, रक्षाबन्धन, डोरो, जनैधागो आदि पनि भन्ने गरिन्छ । रक्षासूत्र बाँधिदिन ठाउँ र चलनअनुसार गुरुपुरोहित, ज्वाइँ, भान्जाभान्जी र छोरीचेली वा दिदीबहिनीको सहयोग लिने गरिन्छ । नेपालमा पहाडी समुदायमा प्रायः गुरु पुरोहित, ज्वाइँ वा भान्जाभान्जीका हातबाट र तराईवासीमा छोरीचेली र विशेषतः दिदीबहिनीका हातबाट रक्षासूत्र बाँध्ने गरिन्छ । यसरी हातमा रक्षासूत्र बाँध्ने प्रचलन नेपालको परिप्रेक्ष्यमा राष्ट्राध्यक्षदेखि सामान्य गृहस्थी सम्मका सबैमा चलिआएको छ ।

उहिले स्वर्गका राजा इन्द्रकी पत्नी शचीले वैदिक मन्त्रद्वारा अभिमन्त्रित एउटा सूत्र (धागो) आफ्ना पति देवराज इन्द्रको हातमा बाँधेकी थिर्इन् । उनका तमाम शत्रुलाई पराजित बनाउने सामर्थ्य र बल उक्त रक्षासूत्रले प्रदान गरेको र शत्रुको प्रहारबाट सुरक्षित राख्न कवचको रूपमा उक्त रक्षासूत्र प्रयुक्त भएको थियो भन्ने परम्परालाई जीवन्त राख्न तथा शत्रुबाधा, भय र त्रासबाट मुक्त भई कर्मक्षेत्रमा निरन्तर गतिशील हुन प्रेरणा प्राप्त होस् भनी श्रावणशुक्ल पूर्णिमाका दिन यो पर्व मनाउन थालिएको हो भनी भविष्यपुराणको एउटा प्रसङ्गमा बताइएको छ । त्यस्तै उक्त पुराणमा 'सर्वरोगोपशमनं सर्वाशुभविनाशनम्, सकृत्कृतेनाब्दमेकं येन रक्षा कृता भवेत्' अर्थात् यस पर्वमा धारण गरिएको रक्षासूत्र सम्पूर्ण रोग एवं अशुभ कर्मको विनाशक मानिने र उक्त रक्षासूत्रले एक वर्षको अवधिभरि मानिसलाई हरेक विपत्तिबाट सुरक्षित राख्ने गर्दछ भनेर पनि लेखिएको छ । रक्षासूत्र बाँध्दा 'जुन प्रयोजनका लागि यस रक्षासूत्रले महावली सम्राट् बली बाँधिएका थिए त्यही प्रयोजन स्वरूप हे रक्षासूत्र आज म तिमीलाई बाँधिरहेको छु, अतः तिमी पनि आफ्नो निश्चित उद्देश्यमा विचलित नभई दृढ बनेर बस' भन्ने भावको 'येन बद्धो बली राजा दानवेन्द्रो महाबल:,  तेन त्वां प्रतिबध्नामि रक्ष  मा चल  मा चल' भन्ने पौराणिक मन्त्रोच्चारण गरिन्छ । रक्षासूत्र अभिमन्त्रणमा प्रयोग गरिने सर्वौषधि, सर्स्यौं, दुबो, अक्षता, जौ, चन्दन आदि वस्तुमा कीटाणुनाशक र रोग निरोधक तत्त्व हुन्छ । बादल लागेर घामको उज्यालोबाट वञ्चित हुनुपर्ने मौसमको यस समयमा रक्षासूत्र धारण गर्दा रोगनिरोधक शक्ति प्राप्त हुने गर्दछ भन्ने शास्त्रीय प्रमाण पनि छ । अझ यसभन्दा महत्त्वपूर्ण पाटो 'रक्षासूत्र धारण गरेपछि एक वर्ष अवधिभर रक्षित भयौ, कुनै पनि कुराको भय हुँदैन' भन्ने वाक्यमा रक्षासूत्र बाँध्दा पढिने मन्त्रमा उल्लेख भएकाले मानिस स्वयं पनि मानसिकरूपमा स्वस्थ बन्ने मनोवैज्ञानिक पक्ष हो भन्न सकिन्छ अनि सन्मार्गमा आत्मरक्षाका साथ अघिबढ्न प्रेरणा प्रदान गर्ने सङ्कल्प दिवस हो, यो पर्व । यो नै श्रावणी पर्व अर्थात् जनै पूर्णिमाको उच्चतम उपलब्धि हो ।

रक्षाबन्धन वा राखी

भारत र तराई क्षेत्रमा आजको पर्व राखीका नामले प्रसिद्ध छ । नेपालको सरकारी पञ्चाङ्ग निर्णायक समितिले रक्षाबन्धन पनि आजै श्रावण १३, २०७४ का दिन गर्ने निर्णय गरेको र सरकारले सार्वजनिक विदा दिएको अवस्था छ । तर अधिकांश तराई क्षेत्रमा भारतबाट प्रकाशित पञ्चाङ्गको प्रयोग गरिने हुँदा यस पटक राखी पर्व विवादास्पद रहने देखिन्छ । त्यस्तै परम्परानुसार मनाइने क्वाँटी आदि पर्व पनि पूर्णिमाकै दिन मनाइने देखिन्छ । श्रावण शुक्ल पक्षको पूर्णिमाका दिन यदाकदा चन्द्र ग्रहण परिरहन्छ । यसभन्दा अघि वि.सं. १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि यसै दिन चन्द्र ग्रहण परेको थियो । यति धेरै शुभकर्म सम्पादन गर्ने दिन ग्रहण लाग्यो भने ग्रहणको सूतकका कारण ती कर्म सम्पादन गर्न मिल्छ वा मिल्दैन भन्ने खुल्दुली हुनु स्वाभाविक हो । अतः ती जिज्ञासाहरूलाई शास्त्रसम्मत ढंगले साथै नेपाल र भारतबाट प्रकाशन हुने सबै पञ्चाङ्गहरूमा एकरूपता आउने गरी निर्णय गर्नु र जनसमक्ष ल्याउनु पञ्चाङ्ग निर्णायक समितिको काम हो । उक्त समितिले गरेको निर्णयमा दोधारेपन र व्यवहारिक रूपमा फरक पर्नु हुँदैन । तर यस पटक यो समस्या देखा परेको छ ।

जनै पूर्णिमाका दिन ग्रहण परेमा के गर्ने भन्ने विषयमा शास्त्रमा चर्चा भएका प्रसङ्गहरू पनि अवलोकन गरौं :–

उपाकर्मका निमित्त 
सङ्क्रान्ति ग्रहणं वापि पौर्णमास्यां यदा भवेत् । उपाकृतिस्तु पञ्चम्यां कार्या वाजसनेयिभिः । (सत्कर्मरत्नाकरः)
पूर्णिमाका दिन ग्रहण वा सङ्क्रान्ति परेको अवस्थामा उपाकृति (उपाकर्म) वाजसनेयीहरूले पञ्चमीका दिन गर्नुपर्दछ ।

अर्धरात्रादधस्ताच्चेत्सङ्क्रान्तिग्रहणं तदा । उपाकर्म न कुर्वीत परतश्चेन्न दोषभाक् ।। (कात्यायनको मत, निर्णयसिन्धु) । 
अर्थात् अर्धरात्रीपूर्व नै सङ्क्रान्ति वा ग्रहण परेको छ भने उपाकर्म गर्नु हुँदैन, तर अर्धरात्रीपछि ग्रहण वा सङ्क्रान्ति भए दोष लाग्दैन ।

रक्षाबन्धनका निमित्त
इदं रक्षाबन्धनं नियतकालत्वाद् भद्रावर्ज्यग्रहणदिनेऽपि कार्यं होलिकावत्, ग्रहसङ्क्रान्त्यादौ रक्षानिषेधाभावात् (निर्णयसिन्धु) । 
अर्थात् रक्षाबन्धन निश्चित समयमा हुने भएकाले होली पर्व मनाएसरह भद्रा परेको समबाहेक ग्रहणका दिनमा पनि गर्नु उपयुक्त हुन्छ । ग्रहण र सङ्क्रान्ति आदिमा रक्षाबन्धन कर्म वर्जित छैन ।

रक्षाबन्धनमस्यामेव पूर्णिमायां भद्रारहितायां त्रिमुहुूर्तादधिकोदयव्यापिन्यामपराह्ने प्रदोषे वा कार्यम्.... इदं ग्रहणसङ्क्रान्तिदिनेऽपि कर्तव्यम् (धर्मसिन्धु) ।
अर्थात्  रक्षाबन्धन यसै भद्राको समय नपरेको र उदयपछि तीन मुहूर्तभन्दा बढी उदयव्यापिनी पूर्णिमा (श्रावणको) कै दिन अपराह्न वा प्रदोष कालमा गर्नुपर्दछ, यस दिन ग्रहण वा सङ्क्रान्ति परे पनि गर्नै पर्दछ ।

माथिका प्रमाणको अध्ययनपछि हामीले बुझ्यौं - उपाकर्म र रक्षाबन्धन दुई बेग्लाबेग्लै कृत्य हुन् । यी एकअर्कामा अन्योन्याश्रित छैनन्, त्यसैले दुबै स्वतन्त्र कृत्य हुन् । निर्णयसिन्धु र धर्मसिन्धु दुबै ग्रन्थले रक्षाबन्धनका लागि छुट्टै विशेष व्यवस्था गरेको छ, जुन माथि उल्लेख भइसकेको छ । भारतका पञ्चाङ्ग र पात्रोहरूमा माथिका सबै विषयलाई समेटेर ऋषितर्पणीका लागि पञ्चमी र रक्षाबन्धनका लागि पूर्णिमा नै तोकेको देखिन्छ, तर नेपालका पात्रोहरूमा यस विषयमा परम्पराको मात्र अनुसरण गरी, शास्त्रको विमर्श र अध्ययन नै नगरी हचुवाका भरमा पञ्चमीका दिन दुबै कर्म सम्पादन गर्न निर्देशन गरेको देखिन्छ, जुन ठिक होइन ।

त्यसैले यस पटकको जनै पूर्णिमामा गरिने कर्महरूमध्ये श्रावणी, ऋषितर्पणी र जनै लगाउने काम नागपञ्चमीका दिन (२०७४ साल श्रावण १३ गते शुक्रबार) एवं रक्षाबन्धन (डोरो बाँध्ने वा राखी बाँध्ने काम) पूर्णिमाकै दिन (२०७४ साल श्रावण २३ गते, सोमबार) गर्नु शास्त्रसम्मत हुन आउँछ ।

नाग पञ्चमी

हिन्दु धार्मिक ग्रन्थहरुमा श्रावण महिनालाई आराध्यदेव शिवको पूजा उपासना गर्न सर्वोत्तम महिनाको रुपमा परिभाषित गरिएको छ। यद्यपि शिवरात्रिको महिमा पनि उत्तिकै महत्वका साथ गरिएको भएतापनि श्रावण महिनामा गरिएको शिव अनुष्ठानले सजिलै शिवजीलाई प्रसन्न गराउन सकिने हुनाले भक्तजनहरुले चाहना गरेको फल यथाशीघ्र प्राप्त हुने उल्लेख गरिएको छ। यही मान्यतालाई आत्मसात् गर्दै सनातन हिन्दू धर्माबलम्बीहरु शिवालयमा बेलपत्र,गाईको दुध लगायतका उपचार सामाग्रीहरू चढाएर पूजाअर्चना गर्ने तथा यस महिनामा पर्ने सोमबारका दिन व्रत लिने गर्दछन्। त्यस बाहेक साउने सङ्क्रान्ति, गुँलाधर्म, खिर खाने दिन (साउन १५ गते), जनै पूर्णिमा, नागपञ्चमी आदि पर्व समेत श्रावण महिनामा नै पर्दछन्।



नाग पञ्चमीको विशेषता

प्रत्येक वर्ष चान्द्र गणना अनुसार श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन नागपञ्चमी पर्व नेपाल र संसारका अन्य भूभागका समस्त हिन्दू धर्मावलम्बीहरूले धुमधामका साथ मनाउने गर्दछन्। यस दिन नागको पूजा आजा गर्दै घरघरमा नागको चित्र टाँस्ने चलन छ। जीवजन्तुलाई समेत देवताका रूपमा पूजाआजा गर्ने हाम्रो सभ्यतामा नागलाई पनि विशेष महत्व दिइएको पाइन्छ। त्यसैले विभिन्न धार्मिक ग्रन्थहरुका विभिन्न आख्यानमा समेत नागको चर्चा गरिएको पाइन्छ। वर्षा गराउने देवताका रूपमा लिइने नागको जहाँजहाँ बास हुन्छ, त्यस ठाउँमा अन्नबाली सप्रन्छ र  धनसम्पदा भरिपूर्ण हुन्छ भन्ने जनविश्वास छ।  नेपालमा नागपञ्चमीका दिन बिहानैदेखि विभिन्न नागका मन्दिरलगायत राजधानी काठमाण्डौंका नागपोखरी, सिद्धपोखरी, नागदह तथा टौदहमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। यस दिनमा नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि शुभ मानिन्छ । नाग पञ्चमीका दिन नागको चित्रमा दुध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबरले घरको ढोका माथि टाँस्ने गरिन्छ । यसै पञ्चमीका दिनदेखि वषर्यामको समाप्ति हुने र हिउँद यामको सुरुवात हुने जनविश्वास समेत रहेको पाइन्छ । अष्टकुली नाग अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन ।


नाग पञ्चमीमा व्रतको विधि

नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ । यस व्रतमा मध्याह्नको समयसम्म निर्जल व्रत बसेर दिनको मध्यबिन्दुमा नाग देवताको पूजाका लागि खीर(प्रसाद) पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मंदिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रुपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ । व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन नै, र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरुको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित अन्य नियमको विधिवत पालनासमेत गर्नुपर्दछ ।


मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा

नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ़्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्नु राम्रो हुन्छ :-

विष्णुलोके च ये सर्पाः अनंताद्याः महाबलाः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥१॥

ब्रह्मलोके च ये सर्पाः वासुकिप्रमुखाश्शुभाः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥२॥

इन्द्रलोके च ये सर्पास्तक्षकाद्याः महाबलाः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥३॥

कैलासलोके ये सर्पाः कार्कोटकबलादयः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥४॥

पाताललोके ये सर्पा आदिशेषादयो वराः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥५॥

द्वीपान्तरे च ये सर्पाः काळिन्दीनिलयस्तथा ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥६॥

सर्वताग्रेषु ये सर्पाश्शिलासंधिषु संस्थिताः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥७॥

ग्रामे वा यदि वारण्ये ये च सर्पा गृहेषु वा ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥८॥

सत्यलोकेषु ये सर्पा: वासुकिना च रक्षिता ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥९॥

काद्रवेयाश्च ये सर्पा: मातृभक्तिपराः सदा ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥१०॥

सर्वग्रामेषु ये सर्पा: वसन्ति विलसंस्थिताः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥११॥

समुद्रतीरे ये सर्पाः ये सर्पाः जलवासिन: ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥१२॥

रसातलेषु ये सर्पा: कालियाद्याः महाबला: ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥१३॥

नागमन्त्र पाठ गर्न असम्भव भए 'ॐ कुरुकुल्ये हुँ फट स्वाहा' मन्त्रको ९००० पटक जाप गर्नु पर्दछ ।
नागगायत्रीको मन्त्र (ॐ नवकुलाय विद्महे विषदन्ताय धीमहि तन्नो सर्पः प्रचोदयात्) को समेत एक माला (१०८ पटक) जप गर्नुपर्दछ । यो नागगायत्री मन्त्रलाई तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् । नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रियकर हुन्छ । त्यसैले नागको पूजाका क्रममा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै नागको पूजा गर्दा सेतो कमलको प्रयोग गर्ने विधानसमेत छ । नागपञ्चमीका दिन यसरी विधिविधानले नागको पूजा गर्दा धनधान्य र सुखसम्मृद्धि प्राप्त हुन्छ र अन्य दैविक, भौतिक र प्राकृतिक आपतविपत र अनिष्टहरू नाश हुनुका साथै 'कालसर्प योग'को दोषको शान्ति पनि हुन्छ भन्ने ज्योतिषीय मान्यता समेत छ।


कालसर्प योगको ठगी धन्दा

कालसर्प योगको शान्तिका निमित्त उपयुक्त महिना श्रावण नै हो र दिन पनि सर्वाधिक उपयुक्त नाग पञ्चमी नै हो । काल सर्प दोष निवारणका विविध उपायहरू बताइएको पाइन्छ। कतिपय अवस्थामा आफूलाई धुरन्धर ज्योतिषी भनेर ठगी धन्दामा संलग्न भएकाहरूले ज्योतिष र गणितको आधारभूत पक्षको ज्ञानलाई प्रयोग नै नगरी 'कालसर्प योग छ' भन्ने गरेको र स्वस्तिशान्तिको माध्यम बनाई ठगी गरेको, कतिले कर्मकाण्डको आधार मानिने शिववास र अग्निवास नजुरेको दिनमा पनि कालसर्प योग शान्तिकर्म गरेको पनि भेटिन्छ। ती सबैको उद्देश्य कर्मकाण्डका माध्यमबाट तपाईंलाई ठग्ने माध्यम मात्र हो। यस्तै कर्मकाण्डमा देखिएको विकृत तुल्याउने पण्डाहरूका कारण नेपालमा पण्डितहरूको आचार संहिता निर्माण भएको तीतो यथार्थ हामीसामु छर्लङ्ग छ। त्यसैले पहिले आफ्नो कालसर्प योग के कस्तो हो त्यसको सही निवारण गरी योग्य, विद्वान् एवं अनुभवी गुरु वा पुरोहितको परामर्शबमोजिम शान्तिकर्म सम्पादन गर्नुहोस्। सक्नुहुन्छ भने विधिविधानपूर्वक घरैमा शान्ति गर्नुहोस्। त्यसो गर्नुभएमा मात्र फेरि त्यस किसिमको शान्तिकर्मको आवश्यकता हुँदैन। तर सामूहिक कर्ममा सहभागी हुनुभएको छ भने त्यो शान्तिकर्म निर्विकल्प र अन्तिम हुनसक्दैन। त्यस्तो पूजामा वर्षैपिच्छे सहभागी हुँदा राम्रो हुन्छ। सामान्यतया कालसर्प योगको अनिष्ट परिणामको धेरैजसो विषयहरू दाम्पत्य जीवनसँग गाँसिएको हुन्छ र दुई दम्पतीमध्ये एउटाको कुण्डलीमा कालसर्प योग छ र कालसर्प योग नभएको पति वा पत्नीको कुण्डलीमा बुधादित्य, गजकेसरी, चतुष्केन्द्री र विविध राजयोगहरू हुँदा त्यसको अनिष्ट प्रभाव नहुने भनेर आधिकारिक विद्वान् र ग्रन्थहरू माझमा चर्चा भएको समेत छ। त्यसैले यसको पूर्ण शान्ति विवाहपछि गरे अझ बढी सार्थकता देखिने कुरामा दुई मत नहोला। त्यसैले कालसर्प योग हुने जातकहरूले सदाचारी र सात्विक जीवननिर्वाह गर्दै निम्न उपायहरूलाई आफ्नो दैनिकीमा समावेश गर्नुभएमा यस योगको तनाव र अशुभ/अनिष्ट पक्षबाट मुक्ति प्राप्त गर्नुहुनेछ।

कुण्डली बनाएको छैन र जन्ममिति आदि स्पष्ट विवरण छैन अनि हजुरले सपनामा सर्प देख्नुहुन्छ वा प्रत्येक समय तनाव र असमंजसपूर्ण अवस्थामा रहनुहुन्छ भने हुनसक्छ तपाईँको कुंडलीमा समेत कालसर्पको प्रभाव छ। ज्योतिषशास्त्र-अनुसार जुन व्यक्तिको कुंडलीमा कालसर्प योग हुने गर्दछ, त्यसले जीवनभरि कतिपय कष्ट र कठिनाइ ब्यहोर्नु पर्दछ। उसले कतिचोटि त यतिसम्म तनाव अनुभव गर्दछ कि उसको मस्तिष्कमा आत्महत्यासम्मका विचार उद्भव हुन थाल्छ। यस योगको शांति गर्न सकिन्छ। साह्रै थोरै व्यक्तिहरू यस योगबाट जोगिएका हुन्छन्। यो योग अधिकतम व्यक्तिको कुंडलीमा कुनै न कुनै रूपमा अवस्थित हुन्छ। त्यसैले जन्मकुण्डलीको निर्माण नभएका तर सर्पको बाधा भइरहने वा सपनामा किराफट्याङ्ग्रा तथा सर्पादि सरिसृप जीव देख्ने व्यक्तिले वा दाम्पत्य जीवनमा कलह, बिछोड र असन्तुष्टि हुने दम्पतिले नागपञ्चमीको दिन वा श्रावण महिनाको कुनै उपयुक्त दिनमा तल लेखिएका उपायहरू मध्ये कुनै उपाय अवलम्बन गरी यस योगको समग्र निवारण सक्दछन् :-

१ - त्रिपिण्डी श्राद्ध : पितृहरु असन्तुष्ट हुँदा कालासर्प योग हुने विश्वास गर्ने चलन पनि छ, अतः नजिकको तीर्थस्थल (विष्णुपादुका, गोकर्ण, गया आदि तीर्थस्थल)मा गई विधिविधान पूर्वक त्रिपिण्डी श्राद्ध गर्नुपर्छ, त्रिपिण्डी श्राद्धलाई एकोपार्वण श्राद्ध पनि भानिन्छ। मातापिता हुनेले आफैंले श्राद्ध गर्नु हुंदैन। यो कर्म गर्दा आफूलाई श्राद्धधिकार नहुंदा घरका श्राद्धाधिकारप्राप्त सदस्यहरू मार्फत सम्पन्न गर्न लगाउनु पर्छ। सामान्यतया यो श्राद्ध कृष्ण पक्षको औंसी वा एकादशीमा सम्पादन गर्ने विधान छ।
२ - मृत्युञ्जय जाप : कम्तीमा २१००० पटक महामृत्युञ्जय मन्त्रको जाप आफैं गर्ने वा ब्राह्मणद्वारा गराउने।
३ - नागपूजा : नागपञ्चमीको दिन माथि बताइएबमोजिम विधिवत् नागको पूजा गरी धातुनिर्मित नागको प्रतिमा बनाई ब्राह्मणलाई दान गरी, शिवालयमा चढाएर वा नदीमा प्रवाहित गरे कालसर्प योग निवारण यन्त्र धारण गरेपछि मात्र यो योग शान्त हुन्छ।
४ - यदि कुंडलीमा कालसर्प दोष छ भने पीपलको बोटको एक वर्षभित्र २८००० पटक परिक्रमा गर्नुपर्दछ।
५ - शिवलिंगमा कुनै धातुको नाग बनाई विधिपूर्वक पूजनप्रतिष्ठा गरी ब्रह्ममुहूर्तमा चढ़ाउनुपर्छ। चांदीका नाग-नागिनी बनाएर नदीमा बगाउनुपर्छ।
६ - शिव उपासना लघु रुद्रीको अनुष्ठान गर्नुपर्छ।
७ - बुधवार वा शनिवारका दिन भिखारीलाई कंबल, कालोदाल, मूंग आदि दान गर्नुपर्छ।
८ - एउटा तरबूजालाई प्रत्येक शनिबार पानीको स्रोतछेउमा बेस्सरी पछार्नु पर्दछ।
९ - शनिवारका दिन कुकुरलाई खाद्यसामाग्री अर्पण गर्नुपर्दछ।
१० - नवनाग स्तोत्रको विधिविधानपूर्वक पाठ गर्नुपर्दछ।



उपसंहार

कालसर्प योग ज्योतिषका आधिकारिक ग्रन्थहरूमा उल्लेख भएको योग होइन, यसको प्रभाव गोचरमा आउने साढेसाती र अढैया शनिको दशा जत्तिको पनि हुँदैन । यो भारतका अनर्गल प्रचार गर्ने मिडियामार्फत कमाउधन्दामा लागेका ज्योतिषीहरूले सुरु गरेको योग हो । सं. २०४५ अघि यस योगका बारेमा कसैलाई पनि थाहा थिएन । तर यस योगको व्याख्या गर्नेहरूको मतमा  कालसर्पयोगको घेराभित्र रहेका शुभाशुभ ग्रहहरूका फलमा छाया पारिदिने हुनाले कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि उल्लेख गर्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन, अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्ततिसुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन-अध्यापनको क्षेत्रमा कमजोरी आदि यस योगका सामान्य लक्षण हुन् भनिन्छ । तर यस्तो परिस्थिति ज्योतिषका अन्य योगबाट पनि सिर्जना हुनसक्छ । अतः सबै कालसर्प योग खराब हुँदैनन्, यस योगको स्वस्तिशान्ति गर्ने र मान्यता दिनेहरूकै शब्दमा पनि २५ प्रतिशत कालसर्प योग असाध्यै राम्रा मानिन्छन्, त्यसैले विज्ञ ज्यौतिषीको सल्लाह प्राप्त गरी आवश्यक छ भनेमात्र यसको विधिवत् शान्ति गर्नु पर्दछ। कालसर्प योगको शान्ति प्रक्रियाका क्रममा आफ्नो दैनिकीमा अपनाउने सरल उपायहरू यस प्रकार छन् -

१. प्रत्येक वर्ष महाशिवरात्रि, नागपंचमी, ग्रहण आदि विशिष्ट दिनमा शिवालयमा काँचो दूधले अभिषेक गर्नुहोस्। सकिन्छ र सामर्थ्य हुनेले यी विशेष दिनमा सेतो तिलको पीठो वा कुनै इच्छानुकूलको धातुबाट निर्माण गरिएको नाग र नगिनीको प्रतिमा अर्पण गर्दा पनि हुन्छ।
२. तल लेखिएको नवनागको स्तोत्र कण्ठ बनाएर दिनैपिच्छे बिहानबेलुकै वा बिहानमात्र नुवाइधुवाइ र शुद्ध भई दिनको ९ पटक पाठ गर्नुहोस् :-
अनन्तं वासुकीं शेषं पद्मनाभं च कम्बलम्।
शङ्खपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा।
एतानि नवनामानि नागानां च महात्मनाम्।
सायंकालेपठेन्नित्यं प्रातः काले विशेषतः॥
३. प्रत्येक नागपञ्चमीका दिन मध्याह्नकालसम्म पानी पनि नखाई व्रत सम्पादन गर्नुहोस् र मध्याह्नकालमा नागको प्रतिमा वा फोटोमा काँचो गाईको काँचो दूध र सुगन्धित फूल र चन्दनअक्षताले पूजा गरी गरिबगुरुबा वा ब्राह्मणलाई भोजन, दक्षिणा र सीधा गरी भोजन गर्नुहोस्।
४. तल लेखिएको विषहरण मन्त्र वा सर्प गायत्री मन्त्रमध्ये एउटा मन्त्रलाई प्रत्येक दिन १०८ पटक (एकमाला) जाप गर्नुहोस् :-
नाग गायत्री मन्त्र :- ॐ नवकुलाय विद्महे विषदन्ताय धिमही तन्नो सर्प प्रचोदयात्।
सर्पविषहरण मन्त्र :- ॐ कुरुकुल्ये हुं फट् स्वाहा