Saturday, October 28, 2017

गुप्तदान गर्ने दिन : कुष्माण्डा नवमी

कार्तिक महिनाको शुक्ल पक्षको नवमी तिथिलाई कुष्माण्डा नवमी भन्ने गरिन्छ । यसै तिथिलाई आमलकी नवमी र अक्षय नवमी भन्ने चलन पनि छ । यस नवमीको दिनबाट सत्ययुग प्रारम्भ भएको धार्मिक मान्यता छ । यस दिन गरिएको कुभिण्डोको दानादि र ब्राह्मणभोजनबाट दान कर्ताले अक्षय पुण्य प्राप्त गर्नुका साथै उसले दान गरेको फलादिमा जतिवटा बियाँ हुन्छन्, त्यति नै दिव्यवर्षपर्यन्त स्वर्गमा निवास गर्ने अनुकूलता प्राप्त गर्दछ । त्यस्तै अक्षय नवमी भएकाले यस दिन कसैले एउटा अमलाको बोट रोप्यो र आजीवन त्यसको सेवासुश्रुषा गर्यो भने उसले राजसूय यज्ञ सम्पादन गरेको फल प्राप्त गर्दछ भन्ने धार्मिक विश्वास लिने गरिन्छ । यसरी दान गर्दा कुभिण्डोभित्र लुकाएर स्वर्णादि धातु राखी गुप्तदान गर्ने प्रचलनसमेत छ, अनि यस दिन नेपालको मकवानपुर जिल्लामा रहेको कुष्माण्ड सरोवरमा विशेष मेला लाग्ने गर्दछ ।

ब्रह्माण्डको सृष्टिहुनु अघि सबैतिर अन्धकारमय अवस्था थियो । यस समयमा सृष्टिको कुनै अस्तित्व थिएन। यस्तो परिस्थितिको प्रारम्भमा आद्याशक्ति जगन्माता भगवतीको मन्दमुस्कानद्वारा अण्ड अर्थात् ब्रह्माण्डको उत्पत्ति भयो। अतः संसारमा यिनलाई कुष्माण्डा भगवतीका नामले प्रसिद्धि प्राप्त भएको हो। कुभिण्डोलाई संस्कृत भाषामा ‘कुष्माण्डम्’ पनि भनिन्छ । बलिहरूमध्ये सर्वाधिक प्रिय बलिका रूपमा भगवती दुर्गालाई कुभिण्डो मन पर्ने हुनाले पनि यिनलाई कुष्माण्डा भगवती भनिएको हो। कुष्माण्डा भगवती सूर्यमण्डलको भित्री तहमा निवास गर्छिन्। यिनको शरीरको ज्वाज्ज्वल्यमान कान्ति पनि सूर्य झैं देदीप्यमान भएर सम्पूर्ण ब्रह्माण्डमा फैलिएको हुन्छ। यिनको तेजको तुलना यिनैसँग मात्र गर्न सकिन्छ, अरू कुनै पनि देवीदेवताको तेजलाई यिनको तेजोमय देदीप्यमान प्रकाशसँग समता गर्न सकिँदैन । शास्त्रीय मतानुसार श्री कुष्माण्डा भगवतीले आफ्ना आठवटा हातहरूमा दाहिनेपट्टि क्रमशः कमण्डलु, धनुष, वाण र कमलको फूल एवं देब्रेपट्टिका हातहरूमा क्रमशः अमृतपूर्ण कलश, चक्र, गदा र अणिमादि समस्त सिद्धि प्रदान गर्ने जपमाला धारण गरेकी हुन्छिन् । यसरी भगवतीले कुष्माण्डाको स्वरूप धारण गरेको पवित्र दिन, सृष्टिको पहिलो दिन र सत्ययुगको पहिलो दिन भएकाले यो दिन कुष्माण्डा नवमीका रूपमा प्रख्यात भएको हो ।

कुष्माण्डा नवमीका दिन भगवान् विष्णुले कुष्माण्डक नाम गरेको दैत्यको बध गर्नु भएको प्रसङ्गसमेत विभिन्न पुराणमा उल्लेख गरिएको छ । मरणोपरान्त त्यही कुष्माण्डक दैत्य एउटा लहराका रूपमा प्रकट भएको र उक्त लतामा फर्सी आकारको एउटा फल उत्पन्न हुन थालेको हुँदा उक्त फलको नाम नै कुष्माण्ड (कुभिण्डो) रहन गएको हो भन्ने मान्यता छ । त्यसैले यस दिन कुभिण्डो दान गर्ने प्रचलन सुरु भएको हो । यसरी यस पावन दिनमा कुभिण्डो वा कुभिण्डोबाट बनेका परिकार दान गरेमा उत्तम फल प्राप्त हुने विश्वास गरिन्छ । यस दिन कुभिण्डो दान गर्दा सुरुमा विधिपूर्वक त्यसलाई चन्दन, अक्षता र पुष्पादिले पूजन गरी त्यसभित्र कुनै बहुमूल्य वस्तु लुकाएर दान गर्नुपर्दछ । त्यस्तै यस दिन विधिपूर्वक तुलसीको विवाह गरिदिएमा कन्यादानको फल प्राप्ति हुन्छ भन्ने कुरा व्रतराज नामक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ, तर नेपाली परिवेशमा यस दिनको दुई दिनपछि पर्ने हरिबोधिनी (ठूली एकादशी) का दिन धूमधामका साथ तुलसी विवाह गर्ने गराउने प्रचलन रहेको देखिन्छ ।

कुष्माण्डा नवमीको अर्को नाम अक्षय नवमी पनि हो । सामान्यतया प्रत्येक युगको प्रारम्भ भएका तिथिलाई युगादि भन्ने चलन छ, त्यसैले यो दिन पनि युगादि तिथि हो ।  स्कन्दपुराण र नारदपुराणमा उल्लेख भएबमोजिम युगादि तिथिहरू कार्तिक शुक्ल नवमी (सत्ययुगादि), वैशाख शुक्ल तृतीया (अक्षय तृतीया, त्रेतायुगादि), माघको पूर्णिमा (द्वापरयुगादि) र भाद्र कृष्ण त्रयोदशी (कलियुगादि) मानिन्छन् र यी चारवटा तिथिमा जेजति दानादि गरिन्छ, तिनको अक्षय फल प्राप्त हुन्छ ।

नवमी कार्तिके शुक्ला कृतादिः परिकीर्तिता ।
वैशाखस्य तृतीया या शुक्ला त्रेतादिरुच्यते ॥
माघे पञ्चदशीनाम द्वापरादिः स्मृता बुधैः ।
त्रयोदशी नभस्ये च कृष्णा सा हि कलेः स्मृता ॥ स्कन्दपुराण ५।१२१-१२३ ॥
तृतीया माधवे शुक्ला भाद्रे कृष्णा त्रयोदशी । 
कार्तिके नवमी शुद्धा माघे पञ्चदशौ तिथिः ॥ 
एता युगाद्याः कथिता दत्तस्याक्षयकारिकाः ॥ (नारदपुराण पूर्वभाग २५।५०–५१)

त्यस्तै नारदपुराणमा कार्तिक शुक्ल नवमीका दिन पिपलको फेदमा देवता, पितृ र ऋषिहरूको तर्पण गर्नाले अक्षयपुण्य प्राप्त हुने तथा सूर्यलाई अर्घ्य दिने एवं गरीवगुरुवा र ब्राह्मणलाई भोजनदक्षिणादि प्रदान गर्ने तथा हवन र जापादि गर्ने विधान बताइएको छ ।

कार्तिके शुक्लनवमी याऽक्षया सा प्रकीर्तिता ।
तस्यामश्वत्थमूले वै तर्प्पणं सम्यगाचरेत् ॥
देवानां च ऋषीणां च पितॄणां चापि नारद ।
स्वशाखोक्तैस्तथा मन्त्रैः सूर्यायार्घ्यं ततोऽर्पयेत् ॥
ततो द्विजान्भोजयित्वा मिष्टान्नेन मुनीश्वर ।
स्वयं भुक्त्वा च विहरेद्द्विजेभ्यो दत्तदक्षिणः ॥ 
एवं यः कुरुते भक्त्या जपदानं द्विजार्चनम् ।
होमं च सर्वमक्षय्यं भवेदिति विधेर्वयः ॥ नारदपुराण, पूर्वभाग ११८।२३-२६ ॥

यसरी नै वराह पुराणमा नवमी तिथिका दिन आद्याशक्ति जगन्माता भगवतीको पूजाअर्चना गर्ने प्रसङ्ग उल्लेख गरिएको छ –

इयं देवी वरारोहा यातु शैलं हिमाचलम् ।
तत्र यूयं सुराः सर्व्वे गत्वा नन्दतमाचिरम् ॥
नवम्याञ्च सदा पूज्या इयं देवी समाधिना ।
वरदा सर्व्वलोकानां भविष्यति न संशयः ॥
नवम्यां यश्च पिष्टाशी भविष्यति हि मानवः ।
नारी वा तस्य सम्पन्नं भविष्यति मनोगतम् ॥

अझ कार्तिक महिनाको शुक्लपक्षको कुष्माण्डा नवमीका दिन जगद्धात्री भगवती दुर्गाको विशेष आराधना गर्ने प्रसङ्ग विभिन्न तन्त्रग्रन्थमा उल्लेख भएको पाइन्छ –

प्रपूजयेज्जगद्धात्रीं कार्त्तिके शुक्लपक्षके ।
दिनोदये च मध्याह्ने सायाह्ने नवमेऽहनि ॥ इति मायातन्त्रे १७ पटलः ॥
कुम्भराशिगते चन्द्रे नवम्यां कार्त्तिकस्य च ।
उषस्यर्द्धोदितो भानुर्द्दुर्गामाराध्य यत्नवान् ॥
पुत्त्रारोग्यधनं लेभे लोकसाक्षित्वमेव च ।
तां तिथिं प्राप्य मनुजः शनिभौमदिने यदि ।
प्रपूजयेन्महादुर्गां धर्म्मकामार्थमोक्षदाम् ॥ इति कात्यायनीतन्त्रे ७८ पटलः ॥

मथुरा-वृन्दावन परिक्रमा

अक्षय नवमीका दिन भगवान् श्री कृष्णले आफ्ना मामा कंसको बध गर्नुपूर्व मथुरावृन्दावन क्षेत्रमा रहेका तीनवटा वनको परिक्रमा गर्दै शङ्खनाद गर्नु भएको थियो भन्ने मान्यता छ । यसै परम्पराको अनुसरण गर्दै अहिले पनि कुष्माण्डा नवमी (अक्षय नवमी) का दिन असत्यका विरुद्ध सत्यको जीतका निमित्त मथुरावृन्दावनको संयुक्त परिक्रमा गर्ने प्रचलन छ । मथुरा, वृन्दावन र कार्तिक महिनालाई साक्षात् राधादामोदर स्वरूप मान्ने गरिन्छ । यसै महिनामा भगवान् श्रीकृष्णले गाई चराउन (गोचारण) का निमित्त पिता नन्द गोपसित आज्ञा लिनु भएको थियो ।

अमलाको पूजा

कुष्माण्डा नवमीको अर्को नाम आमलकी नवमी पनि हो । त्यसैले यस दिन अमलाको वृक्षको पूजा गर्नाले गृहिणीहरूले अखण्ड सौभाग्य, गृहस्थ जीवनमा सुखशान्ति, आयु एवं सन्तानवृद्धिको फल प्राप्त गर्दछन् । आमलकी नवमीका दिन अमलाको बोटबाट अमृतका थोपा झर्दछन् भन्ने मान्यता छ । त्यसैले यस दिन यस रुखको फेदमा बसी भोजनादि गर्नाले कतिपय असाध्य रोगबाट निवृत्ति हुन्छ भन्ने विश्वाससमेत लिने गरिन्छ । यस दिनदेखि कार्तिक पूर्णिमासम्म सात दिन भगवान् विष्णुले अमलाको वृक्षमा निवास गर्नुहुन्छ । धर्मग्रन्थ र आयुर्वेदमा अमलामा प्रशस्त औषधीय गुण विद्यमान हुने प्रसङ्ग उल्लेख गरिएको पाइन्छ । चाडपर्व र व्रतादिमा खाएको अमलाले शरीरमा भएको गरिष्ठ भोजनलाई पचाउनुका साथै यसले पतिपत्नीका बीचको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुर्याउने हार्मोनको परिपूर्ति गर्ने बताइन्छ । अझ कुष्माण्डा नवमीका दिन युगल दम्पतीले गरेको अमलाको पूजा, सेवन र व्रतदानादिबाट सन्ततिलाभ, वंशोन्नति, शान्ति, सद्भाव र सुखसम्मृद्धि हुनुका साथै श्रद्धालुले जन्ममरणको चक्रबाट छुटकारा पाई पुनर्जन्मको बन्धनबाट मुक्त हुने अवसर प्राप्त गर्दछ ।

अक्षय नवमीको पूजा गर्ने विधान

सबैभन्दा पहिले आद्याशक्ति जगन्माता भगवती कुष्माण्डाको पूजाआराधना गर्नुपर्दछ । उनको स्मरण गर्दै निम्न मन्त्रको उच्चारण गर्नुपर्दछ - 

दुर्गतिनाशिनि त्वं हि दारिद्र्यादिविनाशिनीम्।
जयदां धनदां देवि कूष्माण्डे प्रणमाम्यहम् ॥

यसपछि कर्पूरबाती बालेर तल लेखिएका मन्त्रको उच्चारणका साथ अमला वा पिपलको अथवा दुबै वृक्षको पूजा गरी परिक्रमा गर्दै अक्षय सुखसमृद्धि र आरोग्यको कामना गर्नुपर्छ ।

अमलाको बोट वा पिपलको प्रार्थना गर्ने मन्त्र :-

मूले विष्णु: स्थितो नित्यं स्कन्धे केशव एव च ।
नारायणस्तु शाखासु पत्रेषु भगवान् हरि: ।।
फलेऽच्युतो न सन्देह: सर्वदेवै: समन्वित: ।।
स एव विष्णुर्द्रुम एव मूर्तो महात्मभि: सेवितपुष्यमुल: ।
यस्याश्रय: पापसहस्त्रहन्ता भवेन्नृणां कामदुघो गुणाढ्य: ।।
अश्वत्थ सुमहाभागसुभग प्रियदर्शन।
इष्टकामांश्च मे देहि शत्रुभ्यस्तु पराभवम् ॥
आयु: प्रजां धनं धान्यं सौभाग्यं सर्वसम्पदम्।
देहि देवि महावृक्ष त्वामहं शरणं गत:॥

यस क्रममा अमला वा पिपलको वृक्षलाई परिक्रमा गर्दै काँचो धागोले १०८ पटक बेर्ने चलन छ । परिक्रमा पूर्ण भएपछि अमला वा पिपलको वृक्षको फेदमा पूर्व दिशामा निहुरिएर ॐ धात्र्यै नमः मन्त्रको उच्चारण गरी दूधको धाराले पितृहरूलाई तर्पण गरी कपूरबातीले आरती गरिदिनु पर्दछ । त्यसपछि घरमा आएर दानादि गर्ने नियम छ । यस नवमी तिथिमा अमला, कुभिण्डो, फर्सी (सीताफल) आदि बाटुलो आकारको फलफूलका साथमा भोजन, द्रव्य, वस्त्र, स्वर्णादि योग्य ब्राह्मण र गरीवगुरुवालाई दान गर्नुपर्दछ । दान गर्दा सङ्कल्प उच्चारणका साथमा ममाऽखिलपापक्षयपूर्वकं सुखसम्मृद्धिसौभाग्यादीनामुत्तरोत्तराभिवृद्धये कूष्माण्डदानं तदभावे अन्य फलदानमहं करिष्ये भनी दान गर्नु पर्दछ । त्यसपछि अक्षय नवमीको कथा श्रवण गर्नुपर्दछ ।

कुष्माण्डा नवमीको कथा

भारतको वाराणसी (काशी) सहरमा एउटा व्यापारी निवास गर्दथ्यो । ऊ असाध्यै धर्मात्मा र दानी थियो ।  उसकी पत्नी पनि शील र स्वभावले युक्त तथा धर्माचरण र कर्तव्यपथमा निरन्तर अघि बढिरहने सुन्दर नारी थिई । दाम्पत्यसूत्रमा बाँधिएको लामो समय बित्दा पनि तिनका कुनै सन्तान थिएनन् । सन्तानहीनताका कारण व्यापारीकी पत्नी खिन्न र निराश हुने गर्थी । उसमा वैराग्यका भावना वहन थालेका थिए, एकान्तमा बस्ने, काममा मन नलाउने र झर्कोफर्को गर्ने बानी विकसित हुँदै थियो । व्यापारी पनि पत्नीको चिडचिडेपना देखेर दिक्क मान्न थालेको थियो ।

यस्तैमा साहुनीसित कुनै एउटा तान्त्रिक योगीको भेट भयो । उसले योगीलाई उसले आफूले सन्तान प्राप्त गर्न नसकेको र निराशाभाव बढ्न थालेको कुरा बताई । तान्त्रिकले सन्तानप्राप्तिको उपाय बताउँदै भने - आफ्नो कोखमा सन्तान भएको देख्न चाहन्छ्यौ भने तिमीले कालभैरवको मन्दिरमा कुनै जीवित बालकको बलि दिनुपर्दछ । तान्त्रिकका कुरामा पत्यार लागेर उसले सन्तान प्राप्त गर्न कुनै बालकको खोजी गरी बलि चढाउनका लागि पतिसमक्ष अनुरोध गरी । तर धार्मिक स्वभावको व्यापारीले कसैको हत्या गरी आफू पिता बन्नु समुचित नहुने ठानेर पत्नीका कुरामा ध्यान दिएन । तर व्यापारीकी पत्नीमा सन्तानको इच्छाले जरो गाडिसकेको थियो । उसको इच्छा र मोहका कारण कुन कुरो ठिक र कुन कुरो खराब भन्ने विवेक गर्ने क्षमता नाश भयो ।

एक दिन पतिलाई जानकारी नै नदिई उसले एउटा बालकको खोजी गरी कालभैरवलाई बलि चढाएरै छाडी । मानवको वा पशुको बलि दिएर देवता प्रसन्न हुने होइनन्, तान्त्रिकले कुनै साधना पूरा गर्न उसद्वारा बलि दिलाउन हौस्याएको मात्र थियो । त्यसैले साहुनीले गर्भधारण गर्नु त परै जाओस्, प्रारम्भदेखि नै उसमा देखा परेको मनोरोगका साथमाा उसका शरीरमा नानाथरिका चर्मरोग र कुष्ठरोगले आक्रमण गरे । केही समयपछि व्यापारीले  पत्नीले गोपनीय ढंगले मानवबलि दिएको र विभिन्न रोगव्याधिको प्रकोप सहनु परेको कुरो चाल पायो । साहु यो कुरो थाहा पाएर असाध्यै खिन्न र आफ्नी पत्नीका गलत क्रियाकलापप्रति क्रोधित पनि भयो ।

जीवनसाथी र अर्द्धाङ्गिनी भएका कारण रोगव्याधिबाट ग्रस्त पत्नीको उपचार गर्नुबाहेक उसँग कुनै विकल्प थिएन । त्यसपछि शरीरमा उत्पन्न समस्त रोग र विकारको नाशका लागि दिनहुँ गङ्गास्नान गरी प्रायश्चित्तका लागि ईश्वरसँग प्रार्थना गर्न पत्नीलाई अह्रायो । साहुनीलाई पनि पछुतो भइसकेको थियो, उसले पतिको आज्ञा पालना गर्न थाली । ऊ दिनहुँ दशाश्वमेध घाटमा गएर गङ्गास्नान गर्दथी, माता गङ्गाको आराधना गरेर विश्वनाथ महादेवको मन्दिरमा गई प्रार्थना गर्ने गर्दथी । यसरी लामोसमय सम्म गङ्गास्नान र ईश्वर आराधना गरेपछि एक दिन प्रसन्न भएकी गङ्गामाताले एउटी बृद्ध स्त्रीको रूप लिई साहुनीलाई दर्शन दिंदै बताइन् - हे स्त्री ! कार्तिक महिनाको शुक्लपक्षको नवमी तिथिका दिन ब्रज क्षेत्रको वृन्दावनमा गएर अमलाको फेदमा भगवान् नारायणको पूजा गर्नु, ब्राह्मण भोजन गराउनु साथै कुभिण्डो वा त्यसबाट बनेका खाद्य परिकारको दान गर्नु तेरो शरीरमा भएका समस्त रोगव्याधि र विकार दूर हुनेछन् । गङ्गामाताको आदेशानुसार साहुनीले विधिपूर्वक अमलाको बोटमा भगवान् नारायणको प्रतिष्ठा गरी पूजादि सम्पन्न गरी । उसका शारीरिक रोगव्याधिको नाश भयो । उसले पूर्ववत् सुन्दर शरीर प्राप्त गरी । केही समयपछि उसले गर्भधारण गरी र एउटा सुन्दर पुत्रसमेत प्राप्त गरी । त्यसैले सन्तानहीन महिलाले यस नवमीको व्रत सम्पादन गर्न थाले ।

सन्तान नहुनेले मात्र होइन, सन्तान भएका महिलाले समेत यस कुष्माण्डा नवमीको व्रत सम्पादन गरेमा सन्तान स्वस्थ र निरोगी हुनुका साथै तिनको उन्नतिप्रगतिको मार्गमा देखिएका विघ्नबाधा दूर भई तिनले धनधान्य, मानसम्मान र सुखसुविधा प्राप्त गर्ने गर्दछन् ।

No comments:

Post a Comment