Thursday, October 26, 2017

सूर्योपासनाको पर्व : छठ

-    सहप्रा.  कृष्णप्रसाद कोइराला
पिण्डेश्वर क्याम्पस, धरान – १४, सुनसरी


प्रत्येक वर्ष कार्तिक महिनाको शुक्लपक्षको षष्ठी तिथिका दिन नदी वा जलाशयमा शरीरको अर्द्धभाग पानीमा राखी उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई सूर्यको उपासना गर्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई त्यसै गरी अर्घ्य दिई व्रतको समापन गरिने पर्व हो, छठ । यो पर्वको पौराणिक नाम हो सूर्यषष्ठी र लोकजीवनमा यसलाई छइठ, छठी, डाला छठ आदि समेत भन्ने चलन छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । आस्था र श्रद्धाको यस महापर्वमा गरिने प्रकृति पूजा परम्परा र संस्कृतिको इतिहासमा अनुपम र उल्लेखनीय मानिन्छ । हुन त भगवान् सूर्यको उपासना र आराधना विश्वका सबै जातजाति, वर्ग, समुदाय र धर्मसंस्कृतिमा हुने गरेको उदाहरण र संस्कृति पाउन सकिन्छ । तर छठ पर्वमा बाहेक अस्ताउँदो सूर्यको उपासना र अर्चना गर्ने परिपाटी संसारका कुनै परम्परामा पाउन सकिन्न । यस महापर्वमा सुरुमा अस्ताचलमा डुब्दो सूर्यको पूजा गरिन्छ, अनि रातभरि जाग्राम बसी पुनः भोलिपल्ट बिहान उदयाचलमा देखिने सूर्यको पूजा गर्ने गरिन्छ ।

पूर्वको जापानदेखि प्राचीन ग्रीसेली–युनानी सभ्यतामा समेत सूर्यको पूजा र उपासना गर्ने पद्धति रहेको देखिन्छ । उदाउँदो सूर्यको देश जापानका नागरिक आफूलाई सूर्यपुत्र मान्ने गर्दछन् । त्यस्तै युनानी संस्कृतिमा हिलियसका नामबाट सूर्यको उपासना गर्ने प्रचलन छ । सनातन हिन्दू परम्परामा त वैदिक कालदेखि नै सूर्यको उपासनाको महनीय परम्परा विद्यमान रहेको छ । भारतवर्षमा सूर्य देवताका मन्दिर निर्माणको समयावधि ईश्वीको पहिलो शताब्दी मानिन्छ । भारतको अहिलेको विहार र झारखण्डको भूभागलाई पुरानो समयमा मगध देश भनिन्थ्यो । यसको राजधानी पाटलीपुत्र (अहिलेको पटना) थियो । त्यहाँ बसोबास गर्ने पहिलो समुदाय पारस देश (अहिलेको इरान) बाट आएका मग जातिका मानिसहरू थिए । यिनै मग जातिले मागधी सभ्यताको विकास गरे र सूर्योपासनाको परम्परालाई विकास गरे भन्ने संस्कृतिविद्को धारणा छ । विद्वान् चाणक्यको कर्मभूमि पनि यही मगध देश हो । वस्तुतः पतीत पावनी गंगाको सिञ्चन क्षेत्रबाट यस व्रतलाई सम्पादन गर्ने परम्पराको सुरुवात भएको हो र  नेपालको मिथिलाञ्चल क्षेत्र अर्थात् जनकपुर अञ्चल र त्यसभन्दा पूर्वको तराइका केही गाउँहरू तथा भारतको उत्तरी विहार र पूर्वी उत्तरप्रदेशका गाउँहरूमा मनाइने यो पर्वले अहिले आफ्नो आयाम विश्वका कुनाकुनासम्म पुर्याइसकेको देखिन्छ । 

यस व्रतका बारेमा विभिन्न पौराणिक आख्यानहरू भेटिएका छन् । तीमध्ये देवीभागवत महापुराणको एउटा कथा यस्तो छ । स्वायम्भुव मनुका पुत्र राजा प्रियव्रत सुरुमा सन्तति सुखबाट वञ्चित थिए । उनका कुनै सन्तान थिएनन् । विवाह भएको लामो समयपछि उनले गर्भमा नै मरेको एउटा छोरो जन्माए । बल्लबल्ल जन्मिएको छोरो जन्मँदै मृत रहेको थाहा पाएपछि राजा शोकमग्न भई नवजात शिशुको शव बोकेर श्मशान घाटमा पुगे र विलाप गर्न थाले । एउटी सुन्दरी स्त्रीले राजाले डाँको छोडेर रोएको र विलाप गर्दै गरेको देखिन् । उनी ब्रह्माकी मानसपुत्री देवसेना थिइन् । उनको विवाह शिवपार्वतीका पुत्र भगवान् स्कन्दकुमार कार्तिकेयसँग भएको थियो । उनी मूल प्रकृतिको छैठौं अंशबाट उत्पन्न भएकी थिइन् । त्यसैले तिनलाई षष्टिका देवी पनि भनिन्थ्यो । उनले राजा प्रियव्रतको वृत्तान्त थाहा पाइन् र राजालाई आफ्नो परिचयका साथमा सम्झाइबुझाई गरी त्यस मृतशिशुलाई जीवित तुल्याएर ब्युँझाई दिईन् र अन्तर्धान भईन् । संयोगले यो घटना शुक्ल पक्षको षष्ठी तिथिका दिन घटेको थियो, त्यसैले यसै दिनबाट षष्टिका देवीको आराधना गर्न थालिएको जनविश्वास छ । कालान्तरमा यही पर्व छठी पर्वका रूपमा प्रख्यात भएको हो ।

छठ पर्वसँग जोडिएको अर्को कथा सूर्य पुराणमा उल्लेख गरिएको छ, जसमा सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्, फलस्वरूप उनले अटल सौभाग्य र प्रतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको मान्ने चलन पनि छ । त्यस्तै सातौँ शताब्दीमा सरापबाट पीडित संस्कृत भाषाका प्रसिद्ध कवि मयूर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गरेको प्रसंगलाई पनि छठ पूजासँगै जोडिएको पाइन्छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्बले सूर्यको आराधना गरे र रोगमुक्त भए भन्ने चर्चा छ । त्यस्तै महाभारतमा पनि सूर्यपूजाको प्रसङ्ग छ, जसबमोजिम द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी उनीहरूले सूर्यदेवको आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरूले मिथिला क्षेत्रकै किराँत प्रान्तमा बसोबास गरेको उल्लेख छ ।

छठ पर्व मनाउनुको पृष्ठभूमिभित्र धार्मिक मान्यताका साथै वैज्ञानिक र ज्योतिषीय धारणासमेत रहेको देखिन्छ । वैज्ञानिक, ज्योतिषी र चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेको प्रमाण भेटिन्छ । संसारका सम्पूर्ण भौतिक विकासमा सूर्यको ऊर्जा र शक्तिको ठूलो योगदान छ । सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्य कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणद्वारा गरिने चिकित्सा पद्धतिका बारेमा कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । कैंयौ असाध्य तथा दुरुह रोगको आश्चर्यजनक उपचारसमेत सूर्यको विकिरण र प्रकाशबाट भएको छ । त्यसैले पनि छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति माइन्छ भन्ने जनविश्वास रहेको हो ।

चार दिनसम्म मनाइने यस पर्वमा अत्यन्त आस्था, निष्ठा र पवित्रतालाई आचरण गरिन्छ । यद्यपि यस पर्वमा चाहिने भाँडाकुँडा र चिजबिज आदिको बन्दोवस्त मिथिलामा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । यस पर्वमा चढाइने प्रसादलाई सम्भव भएसम्म समूह, झुत्तो र झुप्पाका रूपमा तैयार गरिन्छ । यस पर्वमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न हुने र व्रतालुका घरपरिवार लगायत कुटुम्बमा समेत भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा चढाइने पदार्थको सङख्या ७० पुर्याउनुपर्छ । यद्यपि चढाउने सामर्थ्य नभएकाहरूले ‘गम्हरी’ धानको चामलमात्र चढाए पनि सूर्य देवता प्रसन्न हुन्छन् भन्ने मान्यता छ । यसमा जसले सामर्थ्य र असक्षमताका कारण व्रत बस्न सक्दैनन् तिनले पनि प्रतिनिधिका माध्यमबाट व्रतसम्पादन गराउन सक्ने प्रावधान छ । आर्थिकरूपले अभावग्रस्त मानिसहरूले भिक्षा मागेर भए पनि यो पर्व मनाउने गर्दछन् । प्रत्येक वर्षको कार्तिक शुक्ल चतुर्थीका दिन नङ, केस आदि काटी नुवाइधुवाइ गरी व्रतालुले यस व्रतको सुरुवात गर्ने चलन छ  । पहिलो दिन चतुर्थीको दिनलाई ‘अरवा–अरबाइन’ वा 'नहानखान' भन्ने गरिएको छ । व्रतालुले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर आदि वस्तुको परित्याग गर्नुपर्दछ । पञ्चमी तिथि (दोस्रो दिन)लाई खरना (पापको क्षय) भनिन्छ । गाईको गोबरले लिपपोत गरी आफ्नो घरआँगन सफा बनाई अरबा चामलको पिठोबाट तयार पारिएको झोलले रेखी र चित्रका माध्यमले वरिपरि सिंगारेर चिटिक्क बनाइन्छ र व्रतालुले यो दिन दिनभरि अन्नपानी केही पनि नखाई निर्जला व्रत बस्छन् अनि बेलुका घाम डुबेपछि तर चन्द्रमा अस्ताउनु अघि नै पुनः स्नान गरी सक्खर र दूधमा पकाइएको गम्हरी धानको खिर र रोटी पकाएर चन्द्रमालाई अर्पण गरी प्रसाद ग्रहण गरी त्यस दिनको कर्मसमापन गर्ने गर्दछन् । तेस्रो दिन अर्थात् षष्ठीका दिन विशेष दिन हुन्छ । यस दिन नदी, तलाउ, पोखरी वा कुनै जलाशयको घाटमा मण्डप बनाई आफूले तैयार बनाएका विभिन्न खाद्य परिकार, फलफूल र प्रसाद फिंजाएर सजाइन्छ र पानीमा आधा शरीर डुबाई अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ तथा व्रतालु र घरपरिवारका सबैले जाग्राम गर्दछन् । यस दिन बिहान गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामाग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुरुवा, खजुरी, पेरुकिया तथा मुला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती आदि ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरूका साथमा व्रतालुहरू विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्दछन् । परिकारहरू जलाशयका किनारमा राख्नुअघि त्यसठाउँ र पूजा सामाग्रीलाई व्रतालुले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् । त्यसपछि व्रतालुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतालुले दुवै हत्केलामा ‘पिठार’ र सिन्दुर लगाएर अक्षता र फूल हालेर अन्य अर्घ्यसामाग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् । कार्तिक शुक्ल पक्षको सप्तमी छठपर्वको अन्तिम दिन हो । यस दिन पुनः उदाउँदो सूर्यको पूजापछि यस पर्वको समापन हुन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन सूर्यलाई अर्घ्य दिन्छन् । प्रातःकालीन अर्घ्यमा दीप मालाले सजिएको जलाशयमा अपूर्व दृश्य र अनुभूति जागृत हुन्छ । अर्घ्य सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतालुले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । त्यस कथामा एउटी सासू र बुहारीको सम्बन्धबारे चर्चा गरिएको छ । सासू दुष्ट र कन्जुस प्रवृत्तिकी थिइन् । कन्जुस्याईंले गर्दा सासूले उखुको एक टुक्रा पनि बुहारीलाई खान दिन्नन्, फलस्वरूप उनलाई कुष्ठरोग हुन्छ, तर बुहारीले सबैलाई उखु खान दिन्छिन्, त्यसैले उसको घरभरि सुनैसुन हुन्छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र नेपालमा विविध जातजाति, वेषभूषा, रीतिरिवाज, धर्म, संस्कृति, रहनसहन र परम्पराहरू रहेका छन् । त्यसैले यहाँ असंख्य चाडपर्वहरू मनाइने गरिन्छन् । यी चाडपर्वहरूमा विशेष गरी तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्वको महत्वपूर्ण स्थान छ । छठ पर्व धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव एवं एकता बढाउने विशिष्ट पर्व हो ।

No comments:

Post a Comment