परिचय
प्रत्येक वर्षको कार्तिक महिनाको शुक्ल पक्षको अष्टमी तिथिलाई गोपाष्टमी भनिन्छ । यसै दिनबाट भगवान् श्रीकृष्णले गोठमा बस्ने र गाई चराउने लीला प्रारम्भ गर्नुभएको विश्वास गरिन्छ। यो पर्व ब्रजसंस्कृतिको एउटा प्रमुख पर्व हो । गाई र ग्वालाहरूको रक्षा गर्नाले भगवान् श्री कृष्णको नाम नै 'गोविन्द' रहन गएको हो । द्वापर युगमा कुनै कार्तिक महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिका दिन ब्रजक्षेत्रका गाई लगायतका पशुधन, गोप, गोपी आदिलाई वर्षाका देवता इन्द्रको कोपबाट मुक्त पारी तिनको संरक्षण गर्न भगवानले गोवर्द्धन पर्वतलाई धारण गर्नु परेको थियो । दाहिने हातको कान्छी औंलामा लगातार सात दिनसम्म श्रीकृष्णले उक्त पर्वतलाई उचालेर मुसलधारे वर्षाको सङ्कटबाट जनतालाई बचाउनु भएको र आठौं दिन इन्द्र अहङ्कार रहित भएर भगवानको शरणमा आएको थियो । त्यस दिन कामधेनुले श्रीकृष्णको अभिषेक गरेकी थिईन् र त्यसै अवसरबाट भगवान् श्रीकृष्णलाई गोविन्द भन्न थालिएको थियो । त्यसैले कार्तिक शुक्ल पक्षको अष्टमी तिथिलाई गोपाष्टमी पर्वका रूपमा मनाउन थालिएको हो ।
विधिविधान
गोपाष्टमीका दिन प्रातःकालमा उठेर स्नानशौचादि नित्यकर्मबाट निवृत्त हुनुपर्दछ । गोठको सरसफाइ गरी गाईलाई समेत नुहाइदिनु पर्छ र चन्दन, अक्षता, फूल, धूप, दीप आदि पञ्चोपचार पद्धतिले गाईको पूजा गर्नुपर्छ । त्यसपछि वस्त्रालङ्कारले गाई र बाछालाई सुशोभित तुल्याई गोठ वरिपरि प्रदक्षिणा गर्नुपर्छ । गाईलाई गोग्रास (खानेकुरा) प्रदान गरी गोठालाहरूको पूजा गर्नुपर्दछ । तिनलाई समेत यथायोग्य भोजन, दक्षिणादि प्रदान गरेपछि गाईको दाम्लो खोली चराउन लैजानु पर्छ । गोपाष्टमीका दिन गोधुली समय अर्थात् सायंकालमा चरेर फर्किएका गाईलाई पनि प्रणाम गरी पञ्चोपचार पद्धतिले पूजा गरी गाईको खुरले कुल्चिएको माटोको तिलक गर्ने विधान छ । यति कर्म सम्पादन गरेमा अभीष्ट र मनोकाङ्क्षा सिद्धि र सौभाग्यको अभिबृद्धि हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
गोठ र गाई नहुनेले के गर्ने ?
गोपाष्टमीका दिन गाईको पालनपोषण नगर्ने घरपरिवारका व्यक्तिहरूले बिहानै आफ्नो नित्यकर्मबाट निवृत्त भएर नजिकै रहेको मन्दिर, आश्रम वा गौशालामा गएर पूजाआजा गर्नु पर्दछ । यस दिन आफ्नो तौलबराबरको घाँसपानी, चोकर वा दाना गौशालामा वा आफ्नो घरछेउमा गाईको पालनपोषण गरेर जीविकोपार्जन गर्ने जोसुकैलाई दान गरेमा वर्षभरि गाईलाई गोग्रास प्रदान गरेको फलप्राप्ति हुन्छ । ज्योतिषीय दृष्टिकोणले समेत यसै दिन वा जन्मतिथिका दिन गाईको पूजाआराधना गरी आफ्नो तौलबराबर घाँसपानी, चारा, दाना आदि दान गरेमा पतिपत्नीबीचको खटपट, नाडीदोष, शुक्र ग्रहको प्रतिकूलता र शुक्रसिद्धाको स्वामीपत्नी योगको दुष्परिणामबाट बँच्न सकिने मान्यता छ ।
महत्त्व र वैशिष्ट्य
आर्यावर्तको गङ्गा नदीको प्रस्रवण क्षेत्र अर्थात् गङ्गा नदीको उत्तरी र दक्षिणी दिशामा रहेका समथर तथा पहाडी भूभाग कृषिकर्म र पशुपालनका लागि उत्तम क्षेत्र हो । यहाँको प्रायः जनसङ्ख्या कृषि पेसामा नै निर्भर रहेका छन् । त्यसैले आर्य-संस्कृतिभित्रका शैव, शाक्त, वैष्णव, गाणपत्य, जैन, बौद्ध, सिख आदि धर्म र सम्प्रदायमा उपासना र कर्मकाण्डका पद्धतिमा विविधता देखिए पनि गाईका बारेमा भने समान दृष्टिकोण रहनु र आदर र सम्मान गरिनुबाट समेत हाम्रो संस्कृतिमा प्राणतत्त्वका रूपमा गाईको वैशिष्ट्य रहेको देखिन्छ । गाईलाई हामी गङ्गा, गायत्री, गीता, गोवर्द्धन र गोविन्दसरह पूजा, अर्चना र आराधना गर्ने गर्दछौं । सनातन धर्ममा गाईलाई 'मातर: सर्वभूतानां गाव:' भनिएको छ । यसको अर्थ हुन्छ - गाई समस्त प्राणीहरूकी आमा हुन् । हामी गाईलाई 'गोमाता' भनेर सम्बोधन गर्ने गर्दछौं । दिव्य गुणहरूबाट युक्त भएकी गाईलाई पृथ्वीतल सशरीर उपस्थित भएकी साक्षात् भगवतीका रूपमा उपासना गर्ने गरिन्छ । भन्ने पनि गरिन्छ - 'सर्वे देवा: स्थिताः देहे सर्वदेवमयी हि गौ:' । त्यसैले जुन मनुष्यले प्रात:कालमा स्नानोपरान्त गाईलाई स्पर्श गर्दछ, ऊ समस्त पापबाट मुक्त हुन्छ भन्ने सामाजिक मान्यता छ ।
गोसेवाको फल
• गाई र बाछाको समूहले जुन ठाउँमा बसेर आरामले सास फेर्नसक्छ, त्यस स्थानको शोभा बढ्ने मात्र होइन, त्यस ठाउँका समस्त पापराशिको नाश हुन्छ ।
• तीर्थतीर्थ डुलेर स्नान-दानादि गर्नाले, ब्राह्मण जम्मा पारी भोजन गराउनाले, व्रत-उपवास र जप-तप अनि हवन-यज्ञ गर्नाले जुन पुण्यको प्राप्ति हुन्छ, त्यो पुण्य गाईको सेवासुश्रुषा गर्नाले प्राप्त हुन्छ ।
• गोसेवाका कारण दुःख र दुर्भाग्य टाढा जान्छन् र घरमा सुख र समृद्धिले वास गर्दछन् ।
• जसले गाईको श्रद्धापूर्वक पूजा र सेवा गर्दछ, त्यससित देवता, कुल र पितृ कहिल्यै पनि रिसाउँदैनन् ।
• जुन घरमा प्रातःकालको भोजन ग्रहण गर्नुअघि गोग्रास छुट्याइन्छ, त्यस परिवारमा कहिल्यै पनि धनधान्यको अभाव हुँदैन ।
• गाई मात्र त्यस्तो प्राणि हो, जसको मल र मूत्र दुबै पवित्र मानिएको छ र यी धार्मिक र वैज्ञानिक दुबै दृष्टिकोणबाट गुणकारक मानिएका छन् ।
• गोबरमा लक्ष्मीको बास हुने भएकाले यसलाई गो (लक्ष्मी) को वर (वर, प्रसाद, आशीर्वाद ) भनिएको हो ।
• गाईको गोबरले लिप्नाले घरआँगनमा कीटाणुको नाश हुन्छ र आयुर्वेदमा उल्लेखभए बमोजिम गाईको गोबरबाट हैजा र मलेरियाका कीटाणु नष्ट हुन्छन् । गोबरले लिप्नाले पूजाआराधना र यज्ञयागादिका निमित्त भूमि पनि पवित्र हुन्छ भन्ने मान्यता छ ।
• गोबरलाई इन्धनका रूपमा समेत प्रयोग गरिन्छ, यसका गुइँठा घरको भान्सादेखि यज्ञ सम्पादन गर्न समेत मान्य हुन्छ ।
• गाईको मलमूत्र कुहाएर प्राङ्गारिक मल बनाउन सकिन्छ र गोबरबाट बनेको गुइँठा बालेर बन्ने खरानीले खेतीपातीका लागि राम्रो मलखादको काम गर्छ ।
• आयुर्वेदमा गहुँतको प्रयोग गरी कतिपय असाध्य रोग नाश हुने कुरा बताइएको छ । विशेषतः कलेजोका रोगीका लागि यो अमोघ औषधी हो । पेटको समस्या, चर्मरोग, बवासीर, रुँघामर्की, जोर्नीको दुखाइ, हृदय रोग आदि रोगको निदानमा गहुँतको प्रयोगद्वारा आश्चर्यजनक लाभ प्राप्ति हुन्छ । यसलाई विधिवत् सेवन गर्नाले मोटोपना र कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्न सकिन्छ ।
• गाईको दूध, दही, घिउ, गोबर र गहुँतको प्रयोग गरी निर्माण गरिएको पञ्चगव्यले तन, मन र आत्मालाई पवित्र बनाउँछ भन्ने मान्यता छ ।
अतः भौतिक र वातावरणीय अशुद्धि रहेको वर्तमान प्रदूषणयुक्त समयमा गाईको भूमिका र योगदान महत्त्वपूर्ण रहेको प्रष्ट हुन्छ । त्यसैले हामीले गोधन र गोवंशको रक्षाका निमित्त पूर्ण तत्परताका साथ जुट्नु आवश्यक छ । अनिमात्र गोविन्दगोपालको पूजा, श्रद्धा र भक्ति सार्थक हुन्छ । गोपाष्टमी पर्व सम्पादनको मुख्य उद्देश्य नै गोसम्बर्द्धन हो ।
No comments:
Post a Comment