Friday, May 25, 2018

शनि प्रदोष व्रत

शनि प्रदोष व्रतको विधिवत् पालना गर्नाले सन्तान प्राप्ति हुन्छ । खासगरी पुत्रको कामना हुने दम्पतिले यस व्रतलाई विधिवत् सम्पादन गर्नु पर्दछ । पुत्रको कामना हुने पतिपत्नीले व्रतका दिन गुलिया खाद्यपदार्थहरू गाई, ब्राह्मण र गरिबगुरुबालाई वितरण गर्दा बढी लाभ प्राप्त हुन्छ । चन्द्रमा र शनिको युति भएका व्यक्तिहरूमध्ये बृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ लग्न भएका जातकले यो व्रत आजीवन लिनु राम्रो हुन्छ । आजीवन व्रत सम्पादन गर्न कठिनाइ हुने मनुष्यले कम्तीमा १६ वटा, १६ महिना, १६ वर्ष आदि १६ को सङ्ख्या पुर्याएर व्रतको उद्यापन गर्नु पर्दछ ।

शनिप्रदोष व्रतको व्रतकथा
प्राचीन समयको कुरा हो । एउटा सहरमा शिवधन नाम गरेका वैश्य भौतिक सुखसुविधा र सम्पन्नताका साथमा वैभवपूर्ण जीवनयापन गरी बसोबास गर्दथे । उनको धन र वैभवको तुलना त्यस नगरमा अरु कसैसँग हुँदैनथ्यो । साहुजी अत्यन्त दयालु थिए । उनकहाँ पुगेको कुनै व्यक्तिले खाली हात फर्कनु पर्दैनथ्यो । जसलाई पनि उनी इच्छाएको वस्तु प्रदान गरेरै पठाउने गर्दथे । यसरी अर्काको सुख र हीत चाहने ती साहुजीका कुनै सन्तान थिएनन् ।

सन्तानहीनताका कारण ती वैश्यका पतिपत्नी अतीव चिन्तित थिए । बुढ्यौली आउन लाग्दा समेत सन्तान नभएको खिन्नताका कारण एक दिन ती दुबै दम्पतीले तीर्थमा गएर बाँकी जीवन बिताउने निर्णय गरे । आफ्ना समस्त कारोबार र व्यवसाय नोकरचाकरलाई सुम्पिएर ती साहुसाहुनी सहरबाट बाहिरिए । तिनीहरू त्यस नगरको सीमाबाहिर मात्र पुगेका थिए, उनीहरूले एउटा ठूलो रुखमुनि समाधि लगाएर बसेका एक जना साधुलाई देखे । हेर्दा ती साधु तेजस्वी देखिन्थे । यसभन्दा पहिले नदेखिएका ती साधुसित आशीर्वाद प्राप्त गरेरमात्र यात्रामा जाँदा राम्रो हुने विचार ती दुबैको मनमा आयो । समाधिस्थ योगीको आशीर्वाद ग्रहण गर्ने काम चुनौतीपूर्ण थियो किनभने उनी अविचल भई ध्यानपूर्वक समाधिमा लीन भई बसेका थिए । योगीलाई ब्युझाउँदा उल्टै रिसाउने र श्राप दिने डर पनि थियो ।

समाधिस्थ मुनिका सामु हात जोडेर धैर्यतापूर्वक उनको समाधि टुट्ने आशामा ती दुबै प्रतीक्षा गर्न थाले । बिहानदेखि नै  करबद्ध भएर बसेका साहुसाहुनी हात जोडेकोजोडै भए, साँझ पर्यो, रात पर्यो, रात बित्यो तर साधुको समाधि भङ्ग भएन । भोलिपल्ट उज्यालो भएपछि मात्र जोगी ब्युँझिए । वैश्य पतिपत्नी धैर्यपूर्वक हाथ जोड़ेर बसिरहेका थिए । आफ्ना अगाडि सहरका धनाढ्य व्यापारीका जोइपोइलाई देखेर मन्दमन्द मुस्कुराउँदै आशीर्वाद स्वरूप हात उचाल्दै मुनिले भने - ‘मैले तिमीहरूको अन्तर्मनको व्यथा पहिचान गरिसकेको छु अनि मेरो समाधि खुल्ने प्रतीक्षा गर्दागर्दै तिमीहरूले अज्ञानतामा नै ठूलो पुण्य प्राप्त गरिसकेका छौ । हिजो शनिबार र प्रदोष व्रत परेको महत्त्वपूर्ण दिन थियो । त्यसैले तिमीहरूको व्रत पूर्ण भएको छ । तिमीहरूलाई सन्तान प्राप्त हुनेछ । अब तीर्थवास गर्ने आवश्यकता छैन । बरु अहिले तीर्थयात्राका लागि जाओ र फर्किएर सँधै भक्तवत्सल भगवान् भोलेशङ्करको आराधना गरेर सुखी गृहस्थी जीवन आफ्नै घरमा बसेर यापन गर ।'

साधुका कुरा सुनेर प्रसन्न भएका ती दम्पत्तीले साधु र भगवान् भोलेशङ्करको भूरिभूरि प्रशंसा गरे र त्यसपछि आफूले नजानीकन लिएको प्रदोष व्रतको महात्म्य र व्रतविधान बताइदिन ऋषिसँग प्रार्थना गरे । साधुले निष्ठापूर्वक सम्पादन गर्दा सुयोग्य सन्तान दिलाउने शनि प्रदोष व्रत लगायत समस्त प्रदोष व्रतको महात्म्य र विशेषता बताएर व्रतसम्पादन गर्ने विधिविधान र नियम बताइदिए । मुनिसित आशीर्वाद र विदा प्राप्त गरी ती दम्पती त्यहाँबाट तीर्थयात्राका लागि बाटो लागे । तीर्थयात्रा पूर्ण भएपछि घरमा आएर शनि प्रदोष व्रतको दिनबाट सुरु गरी प्रत्येक प्रदोषका दिन निष्ठा र विधिपूर्वक व्रत लिन थाले । कालान्तरमा शिवधन वैश्यका घरमा एउटा सुन्दर पुत्रको जन्म भयो । यसरी शनि प्रदोष व्रतको प्रभावले ती वैश्यको जीवनमा छाएको अन्धकार लुप्त भयो । ती दम्पती पुत्र प्राप्त भएपछि आनन्दपूर्वक जीवनयापन गर्न थाले ।

त्यसैले पुत्रप्राप्तिको मात्र होइन, सन्तानको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्ने दम्पतीले शनिप्रदोषको व्रत लिनु पर्दछ । शनिबारबाहेक अन्यबारका दिन परेको भएपनि प्रदोष व्रतको निष्ठापूर्वक पालना गर्नाले तपार्इंको कुण्डलीमा देखिएको शनि ग्रहको अनिष्ट फल र नराम्रा प्रकोपहरू शान्त हुने गर्दछन्, अनि रोगव्याधि, दरिद्रता, घरभित्रको अशान्ति, नोकरी वा व्यापारव्यवसायमा देखिएको कठिनाइ पनि निवारण हुन्छन् ।

Thursday, May 24, 2018

मलमासको एकादशी 'पद्मिनी'

प्रत्येक दुई वा तीन वर्षमा पुरुषोत्तम मास वा मलमास पर्ने गर्दछ। मलमासमा पर्ने दुईओटा एकादशीको अन्य एकदशीजस्तै आफ्नै छुट्टै विशेषता छ। यी एकादशीमा व्रत लिनाले समेत विशिष्ट फलप्राप्ति हुने धार्मिक मान्यता छ। तीमध्ये पहिलो एकादशी अर्थात् अधिकमासको शुक्लपक्षको एकादशीलाई पद्मिनी एकादशी भनिन्छ। पुरुषोत्तम महिनाको एकादशी भएकाले यसलाई पुरुषोत्तमी एकादशी पनि भनिन्छ। यो एकादशी (Padmini Ekadashi) भगवानले अतीव प्रिय मान्नुहुन्छ। त्यसैले यस एकादशीको व्रत विधिपूर्वक सम्पादन गर्दा प्रत्येक जीव सीधै विष्णुलोक पुग्दछ भन्ने धार्मिक विश्वास छ। यस व्रतको विधिवत् पालनाबाट व्यक्तिले सबै प्रकारका यज्ञ, व्रत एवं तपश्चर्याको फल प्राप्त गर्दछ। यस व्रतको महात्म्यमा उल्लिखित कथा अनुसार भगवान् श्रीकृष्ण युधिष्ठिरलाई सम्बोधन गर्दै भन्नुहुन्छ, त्रेता युगमा कृतवीर्य नामका एकजना परम पराक्रमी र बलशाली राजा थिए। तिनका धेरैवटी रानीहरू थिए तर कुनै रानीबाट पनि यिनले सन्तान उत्पादन गर्न सकेका थिएनन्।  सन्तानहीन भएकाले राजा र तिनका रानीहरू यावत् सुखसुविधाहरूका माझमा पनि दु:खी र सन्तप्त थिए। सन्तानप्राप्तिको मनोरथ पूर्ण गर्न ती राजा आफ्ना रानीलाई साथमा लिई तपस्या गर्न वनतर्फ लागे। हजारौं वर्षसम्म तपस्या गर्दा पनि उनको तपस्या सफल हुन सकेन। बरु राजा दुब्लापातला र ख्याउटे बन्न पुगे। उनी यतिसम्म निर्बल भए कि रानीहरूको कामना पूर्ति गर्न समेत उनी असमर्थ झैं हुनपुगे। त्यसै जङ्गलमा नजिकै ऋषि अत्रिको आश्रम थियो। उनकी पत्नी अनुसूया सतीत्व, पवित्रता र आचरणमा तीनै लोकमा प्रसिद्ध थिइन्। राजा कृतवीर्यका रानीहरूले ऋषिपत्नी अनुसूयासँग आफ्ना आकाङ्क्षालाई बताउँदै सन्तानप्राप्तिको उपाय सुझाउन अनुरोध गरे। ठिक्क त्यतिबेला अधिकमास परेको थियो, गुरुआमा अनुसूयाले तिनलाई त्यस मलमासमा शुक्ल पक्षमा आउने एकादशीको व्रत लिने कुरा सुझाईन् र व्रत कसरी लिने भन्ने बारेमा विधान पनि बताईन्। रानीहरूले पनि गुरुपत्नीले निर्देशन गरेबमोजिम पद्मिनी एकादशीको व्रत लिए। व्रतको सम्पादन पूर्ण भएपछि भगवान् प्रकट हुनुभयो र वरदान माग्न निर्देश गर्नुभयो। रानीहरूले भगवानसित भने- प्रभु ! हजुर हामीसँग प्रसन्न हुनुहुन्छ भने हाम्रो सट्टामा हाम्रा पतिलाई वरदान र आशिक दिनुहवस्। भगवानले रानीहरूको अनुरोधलाई स्वीकार गर्दै राजासँग वरदान माग भन्नुभयो, राजा कृतवीर्यले पनि भगवानसँग बिन्ती गरे- हे प्रभो ! मेरी जेठी पत्नी (पट्टरानी)को कोखमा हजुरले मलाई यस्तो एउटा पुत्र प्रदान गर्नुहवस्, जो सर्वगुण सम्पन्न होस् र तीनै लोकमा आदरणीय तथा सम्मानित पनि होस्, अनि ऊ कसैसित पनि पराजित नहोस्। भगवानले पनि तथास्तु भन्नुभयो र त्यहाँबाट अन्तर्धान हुनुभयो। केही समयपछि कृतवीर्यकी जेठी रानीले गर्भधारण गरिन् र एउटा छोरो जन्माइन्, जसको नाम कार्तवीर्यार्जुन रह्यो, धेरै ओटी आमाहरूले निस्वार्थ भगवद्भक्ति गरी जन्मिएको हुँदा ऊ जन्मँदै सहस्रबाहु अर्थात् हज्जारवटा हातसहित जन्मिएको थियो। उसको व्यक्तित्व, ऐश्वर्य र पराक्रम तीनै लोकमा प्रसिद्ध भयो। उसको अन्त्यका निमित्त स्वयं भगवानले पर्शुराम अवतार लिनु परेको प्रसङ्ग विभिन्न पुराणहरूमा पाइन्छ। कुनै समयमा कार्तवीर्यले रावणलाई पनि बन्दी बनाएको थियो भन्ने कथा छ।

पद्मिनी एकादशी व्रत विधान
यस एकादशीको व्रतसम्पादन गर्ने नियम र विधान यस प्रकार छ :-
१) एकादशीका दिन स्नानादिबाट निवृत्त भएर भगवान् विष्णुको विधिपूर्वक पूजा गर्नुपर्छ।
२) निर्जला(सकेसम्म पानीसमेत नखाई) व्रतसम्पादन गर्नुपर्छ।
३) दिनभरि पुराणको अध्ययन, श्रवण र मनन गर्नुपर्दछ। 
४) रात्रीकालमा पनि निर्जला व्रत लिनुपर्छ र भजनकीर्तनका साथमा जागरण गर्नुपर्दछ।
५) रात्रिकालमा प्रत्येक प्रहरमा क्रमशः दम्पतीसहित भगवान् नारायण र शङ्करको पूजा गर्नुपर्दछ।
६) प्रत्येक प्रहरमा भगवान् भिन्नभिन्न नैवेद्य र भेटी चढाउनु पर्दछ, जस्तै पहिलो प्रथम प्रहरमा श्रीफल(नरिवल), दोस्रो प्रहरमा बेल, तेस्रो प्रहरमा फर्सी  र चौथो प्रहरमा मौसमी, जुनार वा सुन्तला र सुपाडी अर्पण गर्नुपर्दछ।
७) द्वादशीका दिन बिहानै भगवानको पूजा गरेर ब्राह्मणलाई भोजन गराई सीधा, दक्षिणासहित विदा गर्नुपर्छ र त्यसपछि आफूस्वयंले भोजन ग्रहण गर्नुपर्दछ।
यसरी यस एकादशीको व्रतसम्पादन गर्नाले मनुष्यको जीवन सफल हुन्छ, उसले आजीवन सुख भोगेर अन्त्यमा वैकुण्ठलोक प्राप्त गर्दछ।

Wednesday, May 23, 2018

गङ्गा दशहरा

आर्य संस्कृतिका अनुयायी तथा सनातन धर्ममा आस्था राख्ने समस्त नेपालीहरूको तालतलैया, खोलानाला, कुलाकुलेसा, नदी र पानीसित अन्योन्याश्रित सम्बन्ध रहेको कुरो उल्लेख गरिरहनु पर्दैन । गङ्गा, गङ्गाजल र अन्य असङ्ख्य नदीहरू हाम्रो मनमस्तिष्क र हृदयमा सन्निहित भएर बसेका छन् । हामी गङ्गालाई आमासरह पूजा र आराधना गर्दछौं । नामोच्चारण हुनासाथ शरीरमा जानीनजानी सञ्चित हुन पुगेका यावत् पापराशि पखालिन्छन् भनी एकाबिहानै नुहाउँदा वा मुख धुँदा गङ्गे च यमुने चैव ..... भन्दै मन्त्रपाठ गर्दछौं । जीवनको अन्तिम समयमा मृत्युशय्यामा छटपटाउँदासमेत मुखमा गङ्गाजलको एउटा थोपो परिदिए सीधै वैकुण्ठ पुगिन्छ भन्ने आमधारणा र विश्वास छ । साँच्चिकै गङ्गाको पानी पवित्र हुन्छ, विचार गर्नुस् त, उहिले तीर्थयात्राका क्रममा गङ्गा नदीमा पुगेका बखतमा कसैले गङ्गाजल लिएर आएको हुन्छ र वर्षौंवर्षसम्म साधारण सिसा वा बोतलमा घरको एउटा कुनामा थन्क्याइएको हुन्छ रपनि अहिले निकाल्दा पनि उक्त पानी ताजा झैं उस्तै निर्मल र कञ्चन देखिन्छ । वास्तवमा गङ्गाको अगाध जलराशिको अङ्ग बन्नपुगेका असङ्ख्य नदीनाला हाम्रै पाखापखेरा र पहाडपर्वतमा भेटिने औषधीय तत्त्वले युक्त ढुङ्गामाटो र जडीबुटीको रसलाई समेटेर बहेका हुन्छन् । त्यसैले पनि यस्तै शुद्ध र पवित्र जलले युक्त गङ्गा नदीको संसर्ग र स्नानबाट हाम्रा समस्त शारीरिक रोगव्याधि नाश हुनाका साथै हामीलाई मानसिक र आध्यात्मिक तुष्टिसमेत प्राप्त हुन्छ ।

प्रदूषण :  नदीसंस्कृतिको विडम्बना
विकसित र आदिम सभ्यताका प्रतीक मानिएका सहर र नगरमा कुनै ठूलो नदीको उत्तिकै महत्त्वपूर्ण योगदान र भूमिका रहेको पाइन्छ । नदीले बनाएका उपत्यकामा संसारका उत्कृष्ट सभ्यताको उद्भव र विकास भएको थियो, जुन मानवमात्रको प्राचीन इतिहास, वैभव र गौरव हो । मेची, कोसी, बागमती, गण्डकी, कर्णाली, काली लगायतका गङ्गाका प्रत्येक भँगालाहरू हाम्रो पुरातन संस्कृतिको परम पावन धरोहर पनि हो । ऋषि, महर्षि र मनीषीहरूले गङ्गालाई नेपालमात्र होइन, समग्र भारतवर्षको सुषुम्ना नाडी हो भनेर प्रशंसा गरेको पाइन्छ । तर विडम्बना नै मान्नुपर्छ, अहिले गङ्गाजलमात्र होइन, कुनै पनि नदीको पानी खानसक्ने त कुरै भएन, अचाउन सकिने परिस्थितिसमेत छैन । विगत केही वर्षदेखि विकसित भएका अनियन्त्रित भौतिक उन्नति र अन्धाधुन्ध औद्योगिकीकरणका साथमा प्रकृतिका साथमा गरिएको हेलचक्र्याइँले ऋषिमनीषीको यो पवित्र संस्कृतिलाई ध्वस्त तुल्याइएको छ । हिमालयबाट वहने अजस्र जलधारा बोकेका पवित्रतम नदीहरू अहिले संसारका सबैभन्दा प्रदूषित नदीहरूमा गणना हुन थालेका छन् ।

पतीतपावन गङ्गा नदीका तटमा ज्ञान, धर्म, अध्यात्म र सभ्यता-संस्कृतिका समुज्ज्वल किरणहरू प्रस्फुटित भएका थिए, जसका कारण आर्यावर्तमात्र होइन, समष्टिरूपमा विश्व नै आलोकित हुन पुगेको थियो ।  हिमालयबाट वहने यिनै नदीनालाको तटमा रामायण र महाभारतकालीन सभ्यताको उद्भव र विलय भएको थियो । वैदिक वाङ्मयका शतपथ, पञ्चविंश र गोपथ ब्राह्मण, ऐतरेय, कौशितकी र साङ्ख्यायन, आरण्यक, वाजसनेयी संहिता एवं रामायण, महाभारत तथा पौराणिक ग्रन्थहरूमा वर्णित घटनादेखि उत्तर वैदिककालीन उन्नत सभ्यताको विस्तृत जग र इतिहास गङ्गाको जलप्रस्रवण क्षेत्रबाट प्राप्त हुन्छ । 

गङ्गाको वैज्ञानिक महत्त्‍व
प्रयोगशालामा प्रमाणित भइसकेको छ, गङ्गाजलमा प्राप्त हुने बैक्टीरियोफेज नामक जीवाणुले यस जललाई विकृत हुनबाट जोगाउँछ । आर्यसंस्कृतिका ऋषिमनिषिहरूले वातावरण र पर्यावरणको सन्तुलनका निमित्त नदीनाला, पहाड, वनजङ्गल, पशुपन्छीलगायत समग्र जीवनजगतमा सहअस्तित्वको विशिष्ट अवधारणा विकसित तुल्याएका थिए । अहिले पनि नेपाल र भारतका करिब ५० प्रतिशत जनताको आजीविका हिमालय र यसबाट निःसृत नदीनालामा निर्भर रहेको देखिन्छ । कृषि, पर्यटन, राफ्टिङ (साहसिक खेल) र उद्योगधन्दाको विकासमा गङ्गा नदीलगायत यसका शाखाहरू कोसी, बागमती, नारायणी, कर्णाली आदिको महत्त्वपूर्ण भूमिका र देन छ । यी नदीनाला र तालतलैयाका तटमा अवस्थित ग्राम, नगर, तीर्थ र पर्यटकीय क्षेत्रहरू सनातन संस्कृतिको सामाजिक व्यवस्थाको महत्त्वपूर्ण अङ्ग हुन् ।

गङ्गा : देवलोकबाट धर्तीमा प्राप्त उपहार
पुराणमा उल्लेख भएअनुसार गङ्गा देवलोकबाट प्राप्त भएकी महनीय उपहार हुन् ।  यिनको उत्पत्तिप्रसङ्ग रघुकुलका पूर्वज राजा भगीरथको सत्प्रयास र पुरुषार्थसम्बद्ध मानिन्छ । ज्येष्ठ महिनाको शुक्ल पक्षको दशमीका दिन सूर्यवंशका राजा भगीरथको कठोर तपस्या सार्थक भएकाले स्वर्गमा रहेकी गङ्गा नदीले कैलाशपति भगवान् शङ्करको जटाजुट हुँदै पृथ्वीमा अवतरण गर्नु परेको थियो । स्कन्दपुराणमा उल्लेख भएअनुसार जुन दिन गङ्गाले पृथ्वीलोकमा अवतरण गरेकी थिईन्, त्यस दिन दसवटा ज्योतिषीय योग थिए, जस्तै : ज्येष्ठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुध बार, हस्ता नक्षत्र, व्यतिपात योग, गर करण, आनन्द योग, कन्या राशिको चन्द्रमा र वृष राशिको सूर्य । त्यसैले यस दिन गरिएको स्नानदानादिबाट दस किसिमका पापहरू हरण हुन्छन् भन्ने मान्यता छ । भगीरथको कठोर तपस्याका कारण पृथ्वीतलमा आइपुगेकी हुनाले देवनदी गङ्गाको अर्को नाम भागिरथी पनि रहन गयो । उनी सर्वप्रथम धर्तीमा ओर्लँदा उनको वेगलाई सम्हाल्ने दायित्व देवाधिदेव महादेवले लिनु भयो । त्यसपछि शिवजटाबाट पुनः प्रवाहित भएकी गङ्गाले ब्रह्माद्वारा निर्मित बिन्दुसर सरोवरमा अवतरण गरिन् । यस सरोवरको आकृति गाईको मुखजस्तो भएकाले यस स्थानको नाम गोमुख रहन गयो । गोमुखबाट गङ्गाका सातवटा धाराहरू विभक्त भए । त्यसपछि राजा भगीरथका पछि लाग्दै गङ्गा कपिलमुनिको आश्रममा पुगीन् र उनका पूर्वज साठीहजार सगरपुत्रहरूको उद्धार गरिन् ।

नेपालमा गङ्गा दशहरा
शरीर, मन र वचनले गरिने दश प्रकारका पाप ज्येष्ठ शुक्ल पक्षका दश दिन स्नान गरेर नाश हुने विश्वास नेपाली समाजमा पनि रहेको पाइन्छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्रीगमन गर्नु, कठोर वचन र असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलबको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानि पुर्याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्ने जस्ता पाप दश दिनसम्म गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ । त्यसैले गङ्गा दशहराका अवसरमा नेपालमा पनि विभिन्न पवित्र नदी र ताल (सरोवर)मा मेला लाग्ने गर्दछ । खास गरी रसुवाको गोसाइँ कुण्डमा ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म लगातार दस दिनसम्म भक्तहरू पुगी स्नानादि कर्म सम्पादन गर्ने गर्दछन् । त्यसबाहेक काठमाडौँको हत्यामोचनघाट, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणीसङ्गमलगायत बराहक्षेत्र, कन्काइमाई, रिडी, देवघाट आदि तीर्थस्थलमा पनि यस दिन स्नानादि गर्ने प्रचलन रहेको देखिन्छ ।

Monday, May 14, 2018

बटसावित्री व्रत

मिथिलाञ्चलका नारीले बट साबित्री व्रतका दिन बिहानैदेखि आ-आफ्ना पतिको दीर्घायुका लागि धार्मिक विधिपूर्वक वटसावित्री व्रत अर्थात बरसाइत पर्व मनाउने गर्दछन । प्राचीनकालमा  सावित्रीले आफ्ना पति सत्यवान्लाई यमराजको  हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएपछि यो पर्व सोही समयदेखि सुरु भएको धार्मिक विश्वास रही आएको छ । जेठ अमावस्याको तिथिमा प्रत्येक वर्ष मनाउने यस पर्वमा देवी पार्वती, सावित्री र नागनागिनीका साथै बरको बोटको पूजा गरी मनाउने गरिन्छ ।

बिहानैदेखि उपवासमा बसेर महिलाहरु स्नान गरी नयाँ बस्त्रधारण गरी पूजाको थालीमा आँप, केरा, हाते पङ्खा, मिठाई, चना,काँक्रो लगायतका सामग्री लिएर बरको रुखमुनि पुगेर बरको पूजा गरी ती प्रसाद सावित्री, नागनागिनी र पार्वतीलाई चढाएर यो पर्व मनाउने गर्दछन । खासगरी यो पर्व नवविवाहिता महिलाले बडो उत्साह र धूमधामका साथ मनाउने गर्छन् । नवविवाहिता महिलाले घरबाट माइतमा ल्याइएको नयाँ बस्त्र धारण गरी आ-आफ्ना सखी र महिलाहरुका साथमा विवाह र बरसाइत पर्वको पारम्परिक गीत गाउँदै बरको रुखमुनि पुग्छन् ।

नवविवाहिता महिलाको यो पर्व मनाउनका लागि घरबाट माइतमा नयाँ बस्त्र, १४ वटा हातेपङ्खा,चामल, चना, फलफुलका माटोको कलात्मक नागनागिनी, हात्ती बनाएर पठाइदिने चलन छ । नवविवाहिताको घरमा बरसाइत पूजा सम्पन्न भएपछि  चामल, बदाम र अन्य पकवान्नहरु गाउँभरि वितरण गर्ने नियमसमेत रही आएको छ ।

बटसावित्री व्रतको व्रतकथा
धर्मराज यधिष्ठिरले मार्कण्डेय ऋषिसँग सोधे, “हे ऋषिश्रेष्ठ! मलाई आफूले पाउने कष्टको चिन्ता छैन,तर यी द्रौपदीको दुःखलाई देखेर अत्यन्त क्लेश हुन्छ। जति कष्ट यिनले व्यहोर्दै छन्, त्यसभन्दा धेर कष्ट अरु कुनै पतिव्रता नारीले कहिल्यै भोगेका छैनन् होला ?” युधिष्ठिरका कुरा सुनेपछि मार्कण्डेय ऋषिले भन्नुभयो, “हे धर्मराज! तिम्रो यस जिज्ञासालाई मेटाउन म तिमीलाई पतिव्रता सावित्रीको कथा सुनाउँछु। मद्र देशका राजा अश्वपतिका कुनै पनि सन्तान थिएनन्, त्यसैले उनले सन्तान प्राप्तिका निमित्त सावित्री देवीको राम्ररी उपासना गरे। फलस्वरूप उनले एउटी अत्यन्त सुन्दर कन्या जन्माए। सावित्री देवीकै कृपाबाट उत्पन्न भएकी हुनाले ती कन्याको नाम पनि सावित्री नै राखियो। “सावित्रीको उमेर, रूप, गुण र लावण्य शुक्ल पक्षको चन्द्रमा झैं बढ्यो र तिनले युवावस्था प्राप्त गरिन्। अनि उनका पिता राजा अश्वपतिलाई उनको विवाह गर्ने इच्छा भयो। एक दिन उनले सावित्रीलाई नजीकै बोलाएर भने- छोरी! तिमी अत्यन्त विदुषी छ्यौ, त्यसैले आफूअनुरूप पतिलाई खोजेर तिमी आफैंले स्वयम्वर गर। पिताको आज्ञा पाएपछि सावित्री एकजना वृद्ध तथा अत्यन्त बुद्धिमान मन्त्रीलाई साथमा लिएर पतिवरण गर्ने कामनाका साथ देशविदेशको भ्रमणमा निस्किन्। जतिबेला उनी भ्रमण सिद्ध्याएर आफ्नो घरमा फर्किन्, त्यतिबेला सावित्रीका पिता अश्वपति देवर्षि नारदसँग भगवत्चर्चा गरिहेको देखिन्। सावित्रीले दुवैजनालाई प्रणाम गर्दै भनिन्- पिता! तपाईंको आज्ञानुसार म पतिको छनौट गर्न अनेकौं देशको भ्रमण गरी फर्किएँ। शाल्व देशमा द्युमत्सेन नामले प्रख्यात एकजना ठूला धर्मात्मा राजा थिए। तर दैववश उनी अन्धा भए। उनी अन्धा हुँदा उनका पुत्र बालकै थिए। द्युमत्सेनको अन्धत्व र उनका पुत्रको बाल्यावस्थाको लाभ उठाएर उनका छिमेकी राज्यका राजाले उनको राज्यमाथि आक्रमण गरी खोसे। परिणामतः उनले आफ्ना पत्नी एवं पुत्रका साथमा वनमा जानुपर्यो। आफूमाथि आइलागेको विपत्तिबाट छुटकारा पाउन उनी कठोर व्रतको पालना गर्नथाले। उनको ती पुत्रको नाम सत्यवान् हो, ती अहिले युवावस्थामा छन्। मलाई त तिनै युवक मन परे, ती नै मेरा निमित्त योग्य छन्, त्यसैले तिनलाई नै मैले पतिका रूपमा छनौट गरेकी छु।

सावित्रीका कुरा सुनेर त्यहीं पितासँगै बसेका देवर्षि नारदले भने- हे राजन्! तपाईंकी छोरीले पतिका रूपमा सत्यवानको छनौट गरेर ठूलो भूल गरिन्। नारदजीलाई तुरुन्त अश्वपतिले चिन्तित हुँदै सोधे - हे देवर्षि! सत्यवानमा त्यस्तो कुनचाहिँ अवगुण छ र तपाईं यसो भन्दै हुनुहुन्छ? अश्वपतिको जिज्ञासा शान्त पार्दै नारदजीले पुनः भने, राजन्! सत्यवान त वास्तवमा सत्यकै रूप हुन् र उनी समस्त गुणका स्वामी पनि हुन् तर उनको आयु छोटो छ। उनी अब एकवर्ष मात्र बाँच्छन्, त्यसपछि उनको मृत्यु हुनेछ। देवर्षिका कुरा सुनेर राजा अश्वपतिले आफ्नी छोरी सावित्रीलाई भने, पुत्री! तिमी नारदजीका वचनलाई सत्य मानेर अन्य कुनै उत्तम गुणसम्पन्न पुरुषलाई आफ्ना पतिका रूपमा चयन गर। पिताको आग्रह सुनेपछि सावित्रीले भनिन्, बुवा! आर्यावर्तका सच्चरित्र नारीले आफ्नो जीवनकालमा एकपल्ट मात्र पतिलाई वरण गर्छन्, चाहे त्यो मानसिक सङ्कल्प नै किन नहोस्। अब अर्को जति नै सुन्दर र दीर्घायु व्यक्ति नै किन नहोस्, म अर्को पुरुषलाई आफ्नो लोग्नेका रूपमा चुन्दिन र स्वीकार पनि गर्न सक्दिन। सावित्रीको दृढतालाई देखेर देवर्षि नारद अत्यन्त प्रसन्न भए र उनलाई प्रणयभक्ति समुचित छ भन्दै उनले राजा अश्वपतिलाई कन्यादान गर्ने सल्लाह दिए। तदनुरूप सावित्रीको विवाह सत्यवानसँग नै भयो।

विवाहपश्चात् सावित्रीले आफ्नो राजसी वस्त्राभूषण त्यागेर र वनवासीले धारण गर्ने वल्कल आदि धारण गरेर आफ्ना पति र सासुससुरासँग वनैमा दिन गुजार्न थालिन्। पति र सासुससुराको सेवालाई नै उनले आफ्नो कर्तव्य र धर्म ठहर्याइन्। तर जतिजति समय व्यतीत हुँदै जान्थ्यो, सावित्रीको मनमा डर पलाउँदै जान्थ्यो। अन्ततः त्यो दिन पनि आयो, जुन दिन सत्यवानको आयु समाप्त हुन्थ्यो, अर्थात् उनको पतिको मृत्युको मिति तोकिएको थियो। त्यस दिन सावित्रीले दृढ निश्चय गरिन्- त्यस दिन उनी आफ्ना पतिलाई एक पल पनि एक्लै छाड्ने छैनन्। सत्यवान दाउरा काट्न काँधमा बन्चरो बोकेर वनभित्र जान आँटेको देखेर सावित्रीले पनि आफू पनि सँगसँगै जाने आशय व्यक्त गरिन्। सत्यवानले उनलाई धेरै सम्झाए, बुझाउन खोजे, वनको मार्ग अत्यन्त दुर्गम भएकाले त्यहाँ जाँदा उनलाई अति कष्ट हुने कुरा पनि बताए, तर सावित्रीले आफ्नो मन अडिग बनाइन् र आफ्नो सासुससुरासित आज्ञा लिएर सत्यवानसँगै घना जङ्गलतर्फ लागिन्। दाउरा काट्न सत्यवान् एउटा रुखमा चढे, तर केही बेरमैं उनी अस्वस्थ भएर वृक्षबाट झरे। सावित्रीले उनको टाउकोलाई आफ्नो काखमा राखेर सुताइन्, ढल्कनासाथ सत्यवान् अचेत भए। सावित्रीले अब सत्यवानको अन्तिम समय आएको कुरा बुझिन् र मौन रहँदै अश्रु बगाउँदै ईश्वरसित प्रार्थना गर्न थालिन्।

अकस्मात् एउटा दृश्य देखापर्यो, सावित्रीले एकजना कान्तिमय, कृष्णवर्ण, हृष्टपुष्ट, मुकुटधारी व्यक्ति आफूसामु उभिएको देखिन्। सावित्रीले त्यससित प्रश्न गरिन्- हे देव! तपाईंको हो? उनले उत्तर दिए, सावित्री! म यमराज, पतिलाई लिन आएको हूँ। सावत्रीले जिज्ञासा राखिन्, हे प्रभो! सांसारिक प्राणिहरूलाई लिनका निम्ति त तपाईंका दूतहरू आउँछन्, तर के कारणले आज हजुरले आफैं उपस्थित हुनुपर्यो त? यमराजले उत्तर दिए- देवि! सत्यवान् धर्मात्मा तथा सद्गुणका समुद्र हुन्,मेरा दूतहरू उनलाई लिएर जान योग्य छैनन्, त्यसैले मैले आफैं आउनु पर्यो। यति भनेर यमराजले बलपूर्वक सत्यवानको शरीरलाई यमपाशमा बाँधेर हातको बुढीऔंला जत्रो जीवलाई बाहिर निकालेर दक्षिण दिशातर्फ लागे। सावित्री आफ्नो पतिलाई यमराजले लगेको देखेर आफूस्वयं पनि यमराजका पछिपछि हिंडिन्। केही पर पुगेपछि यमराजले सावित्री आफ्ना पछिपछि आँउदै गरेको चाल पाए, अनि उनलाई सोधे- हे सवित्री! तिमी मेरा पछि नआऊ किनकी तिम्रो पतिको आयु पूर्ण भइ सकेको छ र तिनलाई अब तिमीले फिर्ता पाउन सक्दिनौ। तिमी फर्कनुमा नै भलाइ छ। अब तिमीले आफ्ना पतिको मृतशरीरको अन्त्येष्टिको व्यवस्था गर। अहिलेको यो ठाउँभन्दा अगाडि तिमीले जाने अधिकार छैन। सावित्रीले तुरुन्त जवाफ दिईन्- हे प्रभो! आर्यावर्तकी आचरणशील नारी भएकाले मैले मेरा पतिको अनुगमन गर्नै पर्छ, यही नै मेरो धर्म हो र म यो स्थान त के, तपाईंका पछिपछि तपाईंको लोकसम्म नै पनि जान सक्छु किनभने मेरो पातिव्रत्य धर्मका बलका कारण मेरो गति कतै कहीँ पनि रोकिने छैन।

त्यसपछि सावित्रीलाई फर्काउने उपाय सोच्दै यमराजले भने, सावित्री! म तिम्रो पातिव्रत्य धर्मदेखि अत्यन्त प्रसन्न भएको छु, त्यसैले तिमी सत्यवानको पुनर्जीवनबाहेक कुनै एउटा वरदान माँग। यमराजको बठ्याइँलाई बुझेर सावित्रीले भनिन्- प्रभु! मेरा ससुरा ससुरा नेत्रहीन हुनुहुन्छ, कृपया उहाँको ज्योति फर्कने वरदान दिनुहवस्। यमराजले तथास्तु भन्दै पुनः फिर्ता जान आग्रह गरे। सवित्रीले पुनः अनुरोध गरिन्- भगवन्! जहाँ मेरा प्राणनाथ रहहुनेछ, त्यहीँ मेरो निश्चल र निश्चिन्त बसाइ हुनेछ। यसबाहेक मेरो एउटा अर्को पनि अनुरोध छ, त्यो हो मलाई आज तपाईंजस्ता देवताको दर्शन प्राप्त भयो, त्यसैले आजउप्रान्त देवदर्शन र संतसमागम हुँदा कहिल्यै निष्फल हुँदैन भन्ने शास्त्रीय प्रमाण छ, म आज कसरी खाली हात फर्कनु त? यमराजले उत्तर दिए, देवि! तिमीले भनेको कुरो राम्रो हो, तिमी ज्ञानी र विदुषी पनि रहिछ्यौ, त्यसैले सत्यवानको जीवनबाहेक फेरि पनि अर्को एउटा वर माँग। सावित्रीले भनिन् बोली, हे देव! मेरा ससुरा राज्यच्युत भएर वनवासी जीवन व्यतीत गर्दै हुनुहुन्छ। मलाई के वरदान दिनुहोस् भने मेरा ससुराले आफ्नो राज्यवैभव फिर्ता प्राप्त गर्नुहुस्। यमराजले पुनः ‘तथास्तु’ भन्दै सावित्रीलाई फर्कने आदेश दिए। सावित्रीले फेरि भनिन्, हे प्रभो! सनातन धर्मअनुसार मनुष्यहरूको धर्म हो सबैमा दया गर्नु। सत्पुरुषले त आफूनजीकै आएको शत्रुलाई पनि दया गर्छन्, त्यसैले म हजुरकी दयाकी पात्र हूँ। यमराजले भने- कल्याणी! तिमी असाध्यै बाठी र नीतिनिपुण रहिछ्यौ, तिर्खाएको मनुष्यलाई पानी खाँदा जुन आनन्द प्राप्त हुन्छ, तिम्रा कुरा सुन्दा त्यस्तै आनन्द प्राप्त हुन्छ। तिम्रा यस्ता मिठा कुराको कदर गर्दै म एउटा अर्को वरदान दिन चाहन्छु, आफ्ना पतिको जीवनबाहेक जे माग्छ्यौ, माग। अनि सावित्रीले मेरा पिता राजा अश्वपतिका कुनै पुत्र छैनन्, अतः हजुरले कृपा गरेर उहाँलाई पुत्र प्रदान गर्नुहवस्। यमराजले भने- ल मैले तिमीलाई यो वरदान पनि प्रदान गरें, अब त तिमी यहाँबाट फर्किएर जाऊ। सावित्रीले फेरि भनिन्- हे यमदेव! म आफ्नो पतिको अभावमा एक क्षण पनि जीवित रहन सक्दिन। हजुर त सन्तहृदय हुनुहुन्छ र सत्संगले सहृदयता बढ्छ नै। त्यसैले सन्तलाई सबैले श्रद्धा, विश्वास र प्रेमभाव प्रदर्शन गर्छन्। यमराजले भने, तिम्रा यी शास्त्रसम्मत वचन असल छन्, यस्ता वचन सुनेर मलाई अझ एउटा वरदान दिन मन लाग्यो, त्यसैले सत्यवानको जीवनलाई छाडेर अब एउटा अन्तिम वरदान माग, तर यसपछि चाहिँ तिमीले फिर्ता जानै पर्छ नि। सावित्रीले एकछिन घोरिएर भनिन्, प्रभु यदि मसँग हजुर साँच्चै नै प्रसन्न हुनुहुन्छ भने मेरा ससुरा द्युमत्सेनको कुलको वृद्धि गर्न मेरा कोखमा सयभाइ पुत्र जन्म हुने वरदान प्रदान गर्ने कृपा गर्नुहोस्। यमराजलाई सावित्री पछ्याउँदै आएकी र नफर्केकी हुँदा झिंझो लाग्न थालेको थियो, त्यसैले सावित्रीका कुरा भुइँमा खस्न नपाउँदै उनको मुखबाट तथास्तु शब्द फुस्कियो, अनि उनले झर्कंदै सावित्रीलाई भने- लौ त मैले तिमीलाई यो वर पनि दिएँ, अब त जाऊ।

त्यसपछि पनि सावित्रीले यमराजलाई पछ्याउन छडिनन्, पछिपछि हिंडिरहिन्। अझ आफ्ना पछि लागेको देखेर यमराजले भने- सावित्री! तिमी त असाध्यै ढीट र जिद्दी रहिछ्यौ, हेर मेरा कुरा मान र फिर्ता जाऊ, सत्यवानको मृतशरीरको अन्तिम संस्कारको व्यवस्था गर, अन्तिम संस्कारको अभावमा तिम्रा पतिले यमालोकमा ठूलो विपत्ति सहनु पर्छ। अब सावित्रीको बोल्ने पालो थियो, उनले भनिन्, हे प्रभु! तपाईंले अहिले भर्खरै मेरा कोखबाट ससुरा द्युमत्सेनको वंश विस्तार गर्न सयभाइ छोरा जन्मने वरदान दिनुभएको छ, मेरा पतिको अन्तिम संस्कार भयो भने मबाट मात्र हजुरको त्यस वरदानको पूर्ति हुनेछैन र मेरा ससुराको वंशवृद्धि पनि हुनेछैन। सावित्रीका यस्ता तार्किक वचन सुनेर यमराज छक्क परे र अन्त्यमा उनले भने, सावित्री! तिमी त अत्यन्त विदुषी र चतुरी रहिछ्यौ, तिमीले आफ्न वाग्जालमा पारेर मलाई रनभुल्ल बनाई मबाट वचन चुकायौ। तिमी पतिव्रता छ्यौ त्यसैले जाऊ, म सत्यवानलाई जीवनदान दिन्छु। यति भनेर यमराज अन्तर्धान भए अनि सावित्री पनि फर्किएर सत्यवानको भौतिक शरीर भएको स्थानमा आइन्। सावित्री त्यहाँ पुग्दा सत्यवानको चेतना भर्खर फर्कंदै थियो।

यति कथा सुनाएर मार्कण्डेय मुनिले युधिष्ठिरलाई भने, हे राजन्! यसप्रकार पतिव्रता सावित्रीले आफ्ना ससुरापक्ष र माइतिपक्ष दुबै कुलको उद्धार गरिन्। त्यसरी नै यी पतिव्रता द्रौपदीले पनि हजुरहरू सबैको उद्धार गर्नेछिन्। त्यसैले समस्त चिन्तालाई त्यागेर सुदिन आउने प्रतीक्षा गर्नुहोस्।”


यो कथा सुन्न तलको भिडियो प्रयोग गर्न सक्नुहुन्छ ।

शनि जयन्ती

जीवनका समस्त सुखदुःख, जयपराजय आदि विषय नवग्रहमा आधारित छन्। यी नवग्रहमध्ये शनिश्चरलाई सन्तुलन र न्यायका देवता मानिन्छ । हामीले प्रचलन गर्ने गरेको पञ्चाङ्गअनुसार प्रत्येक वर्ष ज्येष्ठ महिनाको अमावस्या(औंसी) तिथिका दिन 'शनि जयन्ती' मनाउने गरिन्छ । यस पटकको शनि जयन्ती आज २०७५ साल जेठ ०१ गते मङ्गलवार अर्थात् मई १५, २०१८ का दिन परेको छ । शनिलाई ग्रहसमूहको क्रूर न्यायाधीशका रूपमा गणना गरिन्छ । शनि देवताको क्रोध र रिस कडा हुन्छ भन्ने मान्यता छ, खासगरी शनिको दृष्टिलाई ज्योतिषशास्त्रमा महत्त्वकासाथ विश्लेषण गर्ने गरिन्छ । शनिदेवले खराब आचरणमा रहेका व्यक्तिलाई मौका पर्नासाथ अति कठोरतापूर्वक सजाय गर्दछन् । शनि ग्रहको कुदृष्टिको प्रभावले एउटा राजालाई रातारात भिखारी बनाउने गर्दछ, यद्यपि शनिको शुभ दृष्टि प्राप्त हुँदा एउटा भिखारी राजातुल्य सम्पन्न र सम्मृद्ध बनाइदिन्छ । जन्मकुण्डलीमा शनि ग्रहको अशुभ प्रभाव हुँदा यसका कारण व्यक्तिलाई निर्धन, अल्छी, दुःखी, कमजोर, शक्तिहीन, व्यापारबाट घाटा ब्यहोर्ने, लागुपदार्थको भोगी, अल्पायु, निराशावादी, जुवारी, कानको रोगी, कब्जियतको समस्या, जोर्नीको समस्या, उदासीन, नास्तिक, बेइमान, तिरस्कृत, कप्टी, अधार्मिक तथा मुद्दामामिला र चुनावमा हार व्यहोर्ने आदि स्थितिको सिर्जना हुन्छ। शनि देव तपाईंको जन्मकुण्डलीमा अशुभ फलकारकका रूपमा रहेको छ भने निम्न उपायहरूको प्रयोग गरी शुभ लाभ प्राप्त गर्न सक्नुहुन्छ -


वैदिक मन्त्र -
ॐ शन्नोदेवीरभिष्टय आपोभवन्तु पीतये। शंय्यो रभिस्रवन्तु नः।

पौराणिक मन्त्र -
ॐ नीलाञ्जन समाभासं रविपुत्रं यमाग्रजम्। छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम्।।

तन्त्रोक्त मन्त्र -
ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः।

शनि गायत्री -
ॐ भगभवाय विद्महे मृत्युरुपाय धीमहि तन्नो सौरिः प्रचोदयात्।

जप संख्या - २३०००

दानादिका लागि आवश्यक सामाग्री -
फलाम, तिल, कालोमास, तोरीको तेल, कालो वस्त्र, कालोगाइ, फलामबाट बनेको भाँडो, जुत्ता, भैंसी, कस्तूरी, सुन, नरिवल, कालो वा नीलो फूल।

रत्न -
शनिको शुभ फल प्राप्त गर्न नीलम रत्न धारण गर्ने गरिन्छ। तर शनिको रत्न फाप्नेनफाप्ने विषयमा ज्योतिषीसित परामर्श गर्नु आवश्यक छ, वास्ता नगरी धारण गर्दा निलम रत्नले तुरुन्त अनिष्ट फल प्रदान गर्दछ।

अन्य उपाय -
शनिवारका दिन व्रत लिनुपर्दछ। शिव स्तोत्र वा शनि स्तोत्रको पाठ गर्नु पर्दछ। शनिको यन्त्र धारण गर्नुपर्दछ । हनुमानको उपासनाबाट पनि लाभ प्राप्ति हुन्छ। चराचुरुङ्गी र माछालाई खानेकुरा प्रदान गर्नु र माछामासु खानु हुँदैन।




के के गरेमा राम्रो हुन्छ ? शनि जयन्तीका दिन
१) शनि ग्रहको तान्त्रिक मन्त्र, वैदिक मन्त्र, पौराणिक मन्त्र, महाकाल शनि मृत्युञ्जय मन्त्र र महामृत्युञ्जय मन्त्रको स्वयं आफैले वा परिवारका सदस्यद्वारा जाप गर्नुपर्दछ।

२) शनि ग्रहका लागि निर्धारण गरिएका दानसामाग्रीहरू आफ्नो गच्छेले भ्याएसम्म जुटाएर दान गर्नुपर्दछ।

३) शनि ग्रह निम्नवर्ग, पीडित, दुःखी र निर्धाहरूको प्रतिनिधि र प्रतीकका रूपमा पुजिने ग्रह हो। त्यसैले उक्त वर्गका सामान्य जनसमूहको सेवासम्मान र पूजा गरेर शनिलाई प्रसन्न तुल्याउनु पर्दछ।

४) कुनै जाप वा अनुष्ठान सम्पादन गर्न नसक्ने व्यक्तिले शनि जयन्तीका दिन कुनै फलामको भाँडोमा तोरीको तेल भरेर त्यसको छायामा आफ्नो अनुहार हेरेर त्यसलाई एउटा आँकको बोटको फेदमा त्यो तेल खन्याएर त्यसलाई माटोले छोपिदिएमा शनि ग्रहका अशुभ फललाई निवारण गर्न सकिन्छ। यसरी प्रयोग गरिएको फलामको भाँडो तल्लो निम्न वर्गका व्यक्तिलाई दान गर्नु पर्दछ।

Thursday, May 10, 2018

अचला वा अपरा एकादशी

युधिष्ठिरले भन्नुभयो -

ज्येष्ठस्य कृष्णपक्षे तु किं नामैकादशी भवेत् ।
श्रोतुमिच्छामि माहात्म्यं तद्वदस्व जनार्दन

हे भगवन् ! ज्येष्ठ कृष्णपक्षको एकादशीको के नाम हो तथा त्यसको माहात्म्य के छ, कृपा गरी आज्ञा गर्नुहवस् !
भगवान् श्रीकृष्णले आज्ञा गर्नुभयो -

साधु पृष्टं त्वया राजन्लोकानां हितकाम्यया
बहुपुण्यप्रदा ह्येषा महापातकनाशिनी 

हे राजन् ! तपाईंले लोकको हितका इच्छाले अति उत्तम प्रश्न गर्नु भयो । अत्यन्त पुण्य प्रदान गर्ने उक्त एकादशीले ठूलाठूला पाप र पातकलाई नाश गर्दछ ।

अपरा नाम राजेंद्र अपरा पुत्रदायिनी
लोके प्रसिद्धितां याति अपरां यस्तु सेवते

यस ज्येष्ठ कृष्ण पक्षको एकादशी एकादशीको नाम अपरा एकादशी हो । जसले यस एकादशीको विधिपूर्वक व्रत लिने गर्दछ उसले सद्बुद्धिले युक्त जीवनसाथी र सन्ततिका साथमा इहलोकमा प्रसिद्धि, वैभव र सम्मान प्राप्त गर्नुका साथै परलोकमा उत्तम गति प्राप्त गर्दछ । व्रत सम्पादान गर्नाले व्यक्तिले अपार धनसम्पदा, सुखसम्मृद्धि र भोगविलास प्राप्त गर्न सक्दछ। त्यसबाहेक जुन मनुष्यले यस व्रतलाई नियमपूर्वक पालना गर्दछ, त्यसले संसारमा ख्याति र सम्मानसमेत प्राप्त गर्दछ । व्यवहारमा यो एकादशी अचला तथा अपरा दुई नामबाट प्रसिद्ध छ । यस दिन भगवान् विष्णुको त्रिविक्रम अवतारको पूजा गर्ने प्रचलन छ ।

ब्रह्महत्याभिभूतोऽपि गोत्रहा भ्रूणहा तथा
परापवादवादी च परस्त्री रसिकोऽपि च 
कूटसाक्ष्यं कूटमानं तुलाकूटं करोति यः 
अपरा सेवनाद्राजन्विप्रात्मा भवति ध्रुवम्

अपरा एकादशीको व्रतको प्रभावले ब्रह्महत्या, भूतयोनि, परनिन्दा आदिबाट उत्पन्न भएका सबै किसिमका पापहरू नष्ट हुन्छन् । यस व्रतको पालनाबाट परस्त्रीगमन, झूठो बकपत्र, असत्यवादन, नक्कली विद्याध्ययन वा प्रमाणपत्र निर्माण, नक्कली भविष्यवाणी तथा नक्कली वैद्य वा डाक्टर भई जीविकोपार्जन गर्ने प्रत्येक मानिसले सिर्जना गरेका यावत् पापहरू नष्ट हुन्छन् ।

क्षत्त्रियः क्षात्रधर्मं यस्त्यक्त्वा युद्धात्पलायते
स याति नरकं घोरं स्वीयधर्मबहिष्कृतः 
अपरा सेवनात्सोऽपि पापं त्यक्त्वा दिवं व्रजेत्
विद्यावान्यः स्वयं शिष्यो गुरुनिंदां करोति च 
स महापातकैर्युक्तो निरयं याति दारुणम्
अपरा सेवनात्सोऽपि सद्गतिं प्राप्नुयान्नरः 

जुन मनुष्य क्षत्रिय भईकन पनि कायर भई युद्धभूमिबाट भाग्छन्, तिनले सामान्यतया नरक जानुपर्दछ, तर तिनले पनि जीवनमा एकपल्ट अपरा एकादशीको व्रत लिन पाए भने स्वर्ग पुग्ने अवसर पाउँदछन् । जुन शिष्यले आफूलाई शिक्षा प्रदान गर्ने गुरूसित द्रोह गर्दछन् र गुरुनिन्दाजस्तो निकृष्ट कर्म गर्दछन्, तिनले पनि यस एकादशीको व्रत लिएमा उक्त दोषबाट निवृत्त हुने अवसर प्राप्त गर्दछन् ।

महिमानमपरायाः शृणु राजन्वदाम्यहम्
मकरस्थे रवौ माघे प्रयागे यत्फलं नृणाम्
काश्यां यत्प्राप्यते पुण्यमुपरागे निमज्जनात्
गयायां पिंडदानेन पितॄणां तृप्तिदो यथा
सिंहस्थिते देवगुरौ गौतम्यां स्नातको नरः
कन्यागते गुरौ राजन्कृष्णवेणी निमज्जनात्
यत्फलं समवाप्नोति कुंभकेदार दर्शनात्
बदर्याश्रमयात्रायां तत्तीर्थसेवनादपि
यत्फलं समवाप्नोति कुरुक्षेत्रे रविग्रहे
गजाश्व हेमदानेन यज्ञं कृत्वा सदक्षिणम्
तादृशं फलमाप्नोति अपरा व्रतसेवनात्

अर्धप्रसूतां गां दत्वा सुवर्णं वसुधां तथा तीनवटा कार्तिक पूर्णिमाको शुभ अवसर पारेर लगातार पुष्कर तीर्थमा स्नान गर्नाले वा गङ्गा नदीको किनारमा पितृहरूलाई पिण्डदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यो फल अपरा एकादशीको व्रत गर्नाले सजिलै प्राप्त गर्न सकिन्छ । मकर सङ्क्रान्तिका दिन गङ्गा र यमुनाको सङ्गमस्थल प्रयागराजको स्नान गर्नाले, शिवरात्रिको व्रत गर्नाले, सिंह राशिको बृहस्पतिमा गोमती नदीको स्नान गर्नाले, कुम्भ राशिमा बृहस्पति भएको बेला केदारनाथ/बद्रीनाथको यात्रा र दर्शन गर्नाले, सूर्यग्रहणमा कुरुक्षेत्रको स्नान गर्नाले, स्वर्णदान गर्नाले अथवा अर्द्धप्रसूता गोदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यही फल अपरा एकादशीको व्रतबाट प्राप्त हुन्छ ।

यो व्रत पापरूपी वृक्षलाई काट्ने बन्चरो हो भने पनि हुन्छ । पापरूपी इन्धनलाई बाल्ने अग्नि, अज्ञानरूपी अन्धकारलाई मेटाउने सूर्य र कुकृत्यरूपी मृगलाई मार्ने सिंह भनेकै अपरा एकादशी हो । मनुष्यले जीवनभरि पापकर्म र परपीडा हुने कृत्य गर्नु हुँदैन, तर कथं-कदाचित जानीजानी वा नजानी भूलचुकमा झुक्किएर गरेका अनेकानेक पापकर्मको निवृत्ति गर्न ज्येष्ठ महिनाको कृष्णपक्षमा पर्ने एकादशी (अपरा/अचला) को व्रतको पालना गर्नुपर्दछ । अपरा एकादशीको व्रत सम्पादन गर्ने तथा त्यस दिन भगवान् त्रिविक्रम (वामन) को पूजन गर्नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोकमा पुग्दछ ।

अपरा एकादशीको व्रतकथा

अपरा वा अचला एकादशीको प्रचलित कथा यस्तो छ :– प्राचीन कालमा महीध्वज नाम गरेका एक जना धर्मात्मा राजा थिए। तिनको कान्छो भाइ वज्रध्वज असाध्यै क्रूर, अधर्मी तथा अन्यायी थियो । ऊ आफ्ना दाजुसित द्वेषबुद्धि राख्दथ्यो । त्यस पापीले एक दिन रातको समयमा दाजु महीध्वजको हत्या गरी मृत शरीरलाई जङ्गलमा पुर्याई एउटा पीपलको फेदमा गाडिदियो । अकाल मृत्यु भएका कारण राजाले प्रेतयोनिमा प्रवेश गर्नुपर्यो । त्यसपछि प्रेतात्माका रूपमा राजा महीध्वज त्यसै पीपलको रुखमा बस्नथाले र किसिम किसिमका उत्पात गर्न थाले । एक दिन त्यसै वनको बाटो भई यात्रामा निस्किएका धौम्य ऋषि त्यही पीपलको बोट भएको ठाउँमा आइपुगे । साँझको समय थियो, त्यस प्रेतले ओकानेक उत्पात मच्चाउँदै ऋषि धौम्यलाई ध्यानाकृष्ट गर्यो । आफूमा भएको योगबलका कारण ऋषिले  त्यस प्रेतलाई देखे र प्रेतको अतीतलाई पहिचान गरे र साथै आफ्नो तपोबलले प्रेतले उत्पात मच्चाएको पृष्ठभूमि एवं कारणसमेत थाहा पाए। ॠषिले प्रसन्नचित्त भई त्यस प्रेतलाई पीपलको रुखबाट बाहिर निकाले र परलोकगमन गर्न अलौकिक विद्याको उपदेश गरे। दयालु ॠषिले राजाको प्रेतयोनिबाट मुक्ति दिलाउन स्वयं आफुले अपरा/अचला एकादशीको व्रत सम्पादन गरे र राजाको अधोगति हटाउन त्यस एकादशीको पुण्य प्रेतलाई सुम्पिदिए । यसरी ऋषिले लिएको अपरा एकादशीको पुण्य प्राप्त गरेपछि राजाले प्रेतयोनिबाट छुटकारा पाए । त्यसपछि राजा महीध्वजले ॠषिलाई साधुवाद व्यक्त गर्दै दिव्य देह धारण गरी पुष्पक विमानमा बसेर वैकुण्ठलोक प्रस्थान गरे ।

अपरां समुपोष्यैव पूजयित्वा त्रिविक्रमम्
सर्वपापविनिर्मुक्तो विष्णुलोके महीयते
लोकानां च हितार्थाय तवाग्रे कथितं मया
पठनाच्छ्रवणाद्राजन्गोसहस्रफलं लभेत्

यसरी समस्त पापराशिलाई नष्ट बनाउन समर्थ यस एकादशीको व्रतकथालाई पढने तथा सुन्ने दुबै थरीले सबै पापबाट मुक्त भई अन्त्यकालमा वैकुण्ठलोक पुग्दछन् भन्ने मान्यता पनि छ ।

Monday, May 7, 2018

गणेशको दर्शन गर्दा पनि अशुभ हुन्छ र ?

गणेशको नाम 'गणेश' किन ?
सनातन हिन्दू धर्मअन्तर्गतका पौराणिक कथामा उल्लेख भए अनुसार भगवान् गणेशलार्इ सबै देवीदेवतामध्ये आदिपूज्य र मङ्गलकारक देवता मानिन्छ । जुनसुकै शुभकर्ममा यिनको पूजा सर्वप्रथम हुने गर्दछ । यिनले यो सम्मान आफ्नै  मातापिताबाट प्राप्त गरेका हुन् । एकपटक भगवान् गणेश र स्वामी कार्त्तिकेय बालक्रिडा गरिरहेका थिए । खेल्दाखेल्दै दुबै जनामा भीषण विवाद हुन थाल्यो । भूतभावन भगवान् शङ्कर दाजुभाइको विवाद सुल्झाउन तिनीहरू खेलिरहेको स्थानमा पुग्नुभयो । त्यहाँ पुगेपछि शिवजीले थाहा पाउनु भयो, ती दुबैजना एकआपसमा को ठूलो भनेर पो झगडा गरिरहेका रहेछन् । बालकहरूको किचलोबाट ध्यान भङ्ग होस् भनेर भोलेनाथले भन्नुभयो – तिमीहरू दुबै जना सुन्दर छौ, सक्षम छौ अनि अनुशासित छौ, त्यसैले तिमीहरू दुबै जना ठूूला हौ, त्यसैले मिलेर खेल, लडाइँ नगर । बाबुका यस्ता कुरा सुनेर उनीहरू पितातर्फ नै फर्किए र भन्न थाले – होइन, पिताश्री ! तपार्इंले छिनोफानो गर्नै पर्छ, हामी दुर्इमध्ये को ठूलो हो । बालकका यस्ता हठी कुरा सुनेपछि शिवजीले भन्नु भयो – ल तिमीहरू दुर्इजनामध्ये जसले समस्त ब्रह्माण्डको सात चोटि परिक्रमा गरेर आउँछ, त्यही ठूलो हो । पिताजीको आज्ञा प्राप्त गर्नासाथ कार्त्तिकेय आफ्नो वाहन मुजुरमा बसेर ब्रह्माण्डको परिक्रमा गर्न हुइँकी हाले । विचरा ठूलो ज्यान भएका गणेश परे विलखबन्दमा । कार्त्तिकेयको जस्तो छरितो र उड्न सक्ने वाहन पनि थिएन, गणेशसित । उनको वाहन मुसो गणेशको भारीभरकम शरीर बोकेर उड्न र कुद्न त के राम्ररी हिंड्न पनि सक्दैनथ्यो । धेरै बेर गमेर अब कुमार कार्त्तिकेयले बाजी मार्ने भए भन्ने सोच्दै गणेश घोरिए । अन्त्यमा उपाय सुझ्यो र मातापिताको खोपीमा गएर फटाफट नबोली मनमनै 'त्वमेव माता च पिता त्वमेव ...........' जप्दै लगातार सात पटक परिक्रमा गरे र महादेवका सामुमा उभ्भिए । गणेश ब्रह्माण्डको परिक्रमा गर्न नगएको देखेर महादेवले तिमी किन परिक्रमा गर्न नगएको भनी प्रश्न गर्नुभयो । गणेशले कुमार कार्त्तिकेयको छरितो ज्यान छ, हावाको वेगमा उड्न सक्ने वाहन छ, आफ्नो शरीर र वाहन दुबैले बाजी जित्न नसकिने भएको आफ्नो विवशता सुनाउँदै भने - हे पिता ! हे माता ! संसारमा जन्म दिने आमाबाबुको ठूलो महत्त्व छ, जसले यो जगत्मा आँखा खोल्ने, हुर्कने र जीविकोपार्जन गर्ने क्षमता प्रदान गर्यो, त्यो समस्त ब्रह्माण्डभन्दा पनि ठूलो हो भन्ने ठानेर मैले हजुरहरूको सात फन्को परिक्रमा गरेको हुँ । मैले भूल गरेको रहेंछु भने मलार्इ माफ गर्नु होला ।' यसरी बुद्धिको उपयोग गरी आफ्नो परिक्रमा गरेछन् भन्ने कुरा सर्वज्ञाता भगवान् आशुतोषलार्इ पहिले नै थाहा थियो । अहिले उनका विनम्रतापूर्ण कुरा सुनेर उहाँको हृदय झन गदगद भयो । तुरुन्त शिवजीले गणेशलार्इ वरदान दिइहाल्नु भयो बाबु गणेश तिमी बुद्धिमान् र विद्वान् छौ । मेरो आशीर्वादले तिमीले आफ्नो बुद्धि र विद्वत्ताका बलमा सर्वश्रेष्ठता हासिल गर्नेछौ र तिम्रो विघ्नहर्ताका रूपमा जुनसुकै कर्ममा प्रथम पूजा हुनेछ । त्यसपछि गणेशको शीघ्र निर्णयक्षमता र बुद्धिबलको सम्मान गर्दै आफ्ना सेवकदल (गण) को प्रमुखमा उनलार्इ नियुक्त गर्नुभयो । शिवजीको गणको नायक भएकाले नै भगवान् गणेशको नाम 'गणेश' रहन गएको हो ।

को हुन् त 'ऋद्धि' र 'सिद्धि' अनि 'शुभ' र 'लाभ' ?
विभिन्न पुराणमा उल्लेख भएअनुसार भगवान् गणेशका दुर्इ जना पत्नी थिए । ती दुर्इको नाम क्रमशः ऋद्धि र सिद्धि हो । ऋद्धि र सिद्धिका पति भएकाले गणेशलार्इ अष्टसिद्धिका प्रदाता भन्ने गरिएको हो । ऋद्धि र सिद्धि दुबै जना प्रजापिता भगवान् ब्रह्माका छोरी हुन् । ब्रह्माले मैथुनी सृष्टि प्रारम्भ गर्नुअघि आफैं मानसिक सृष्टि गर्नुहुन्थ्यो । त्यसै क्रममा ऋद्धि र सिद्धिको जन्म भएको हो । यस आधारमा गणेश जीलार्इ ब्रह्माका ज्वाइँ मान्दा पनि अत्युक्ति हुँदैन । गणेशजीले जेठी पत्नी ऋद्धिको कोखबाट 'शुभ' नाम गरेको पुत्र र सिद्धिको कोखबाट 'लाभ' नामको पुत्र उत्पन्न गर्नुभयो । त्यसैले गणेशपरिवारका ऋद्धि, सिद्धि, शुभ र लाभ सदस्य हुन् । सनातन धर्मका अनुयायीहरूले कुनै पनि शुभ कार्य गर्नुभन्दा पहिले वा तिहारको लक्ष्मीपूजामा शुभ र लाभ लेख्ने अनि पूजा गर्ने कारण पनि यही हो । शुभ शब्दको अर्थ पवित्रता र लाभको अर्थ फाइदा वा आय भन्ने हुन्छ ।

गणेश र लक्ष्मी/सरस्वती
माता लक्ष्मी धनधान्य र वैभवकी र्इश्वरी हुन् भने माता सरस्वती ज्ञान र गीत/सङ्गीतकी देवी हुन् । माता लक्ष्मीलार्इ 'श्री' नामद्वारा पनि सम्बोधन गरिन्छ । श्री शब्दको अर्थ हुन्छ – सम्पत्त्ति, सम्मृद्धि, सुख, सत्ता, भोग, ऐश्वर्य आदि । लक्ष्मी देवी भगवान् विष्णुकी अर्धाङ्गिनी हुन् । कतिपय पुराणमा उनको उत्पत्ति समुद्र मन्थनका क्रममा समुद्रबाट भएको बताइएको छ । तर अर्को पौराणिक कथामा यिनलार्इ महर्षि भृगु र उनकी पत्नी ख्यातिको कोखबाट भएको प्रसङ्ग समेत उल्लेख गरिएको पाइन्छ । जब भगवान् विष्णुले विभिन्न अवतार ग्रहण गर्नुभयो, लक्ष्मीले पनि उहाँको अनुसरण गर्दै रूप धारण गर्नुभएको प्रसङ्ग पनि पुराणहरूमा लेखिएको पाइन्छ । जस्तै – भगवान् विष्णुको वामन, परशुराम, राम, कृष्ण आदि अवतारका क्रममा लक्ष्मी माताले क्रमशः पदमा, धरणी, सीता र रुक्मिणीका रूपमा अवतार लिनुभएको थियो ।

सरस्वती शब्दको अर्थ हो – ऊर्जाको अविरल प्रवाह । माता सरस्वतीलार्इ शारदादेवी पनि भन्ने गरिन्छ । देवी गायत्री सरस्वतीकै अर्को रूप हो भन्ने मान्यता पनि छ । माता सरस्वतीलार्इ कतै ब्रह्माकी पत्नी मानिएको प्रसङ्ग पनि पुराणहरूमा उल्लेख गरिएको पाइन्छ । नेपाललगायत समस्त भारतवर्षमा लक्ष्मी, सरस्वती र गणेशको एक साथमा पूजाआजा गरिएको पाइन्छ । लक्ष्मीमा धनवैभव र विलासमात्र छ, अनि सरस्वतीमा ज्ञानविज्ञान, मनोरञ्जन, कला र सङ्गीतमात्र छ तर गणेशमा बुद्धि र वैभव दुबै कुरा छ । त्यसैले ज्ञान र विवेकका साथमा धववैभव र भोगविलासको आम चाहनाको पूर्णताका निमित्त यसरी गणेश लक्ष्मी र सरस्वतीको एकसाथ पूजाआजा गरिएको हो ।

विघ्नहर्त्ता र सिद्धिदायक मानिए पनि गणेशको दर्शनले हामी दरिद्र हुन सक्छौं, किन त ?
आदिपूज्य भगवान् गणेशको नामोच्चारण र दर्शन गर्नासाथ हामीभित्र रहेका समस्त पापराशिको नाश हुन्छ, अक्षय पुण्य पाइन्छ अनि समस्त सङ्कट र विघ्नको निवारण हुन्छ । गणेश जी सबै सुखका प्रदाता मानिन्छन् । आफ्ना भक्तजनका दुःख र कष्टलार्इ हरण गर्ने र शत्रुहरूको चलखेललार्इ ध्वस्त बनार्इ शत्रुको नाश गर्ने सामर्थ्य भगवान् गणेशमा मात्र छ । त्यसैले पनि उनको दर्शन गर्नासाथ मन शान्त रहन्छ, समस्त कार्यमा सफलता प्राप्ति हुन्छ । तर गणेशजीको पिठ्युँको दर्शन गर्नु हुँदैन ।

यद्यपि गणेशजीलार्इ ऋद्धि र सिद्धि तथा शुभ र लाभका प्रदाता मानिन्छ, तर उनको पिठ्युँमा दुःख र दारिद्र्यले निवास गर्ने भएकाले यिनको पिठ्युँको दर्शन गर्न निषेध गरिएको हो । गणेशजीको शरीरका प्रत्येक अङ्गमा तेतीस कोटि देवताको वास छ । जस्तै – सुँडमा धर्म, कानमा ऋचा, दाहिने हातमा वरमुद्रा, देब्रे हातमा अन्नपूर्णा, भुँडीमा सम्मृद्धि, नाइटोमा ब्रह्माण्ड, आँखामा लक्ष्य, पाउमा सातैवटा लोक र टाउकोमा ब्रह्मलोक आदि । त्यसैले गणेशको मूर्तिसामुबाट दर्शन गर्दा मानिसले समस्त इच्छा र आकाङ्क्षा पूर्ण गर्दछ, गणेशजी प्रसन्न भएर सुखसम्मृद्धि प्रदान गर्दछन् तर पिठ्युँको दर्शन गरेमा मनुष्यले दुःखकष्ट र दरिद्रता प्राप्त गर्दछ । त्यसैले जानी वा नजानी गणेशजीको पिठ्युँको दर्शन गरिहालियो भने तुरुन्त २१ वटा दुबो चढाएर गणेशजीसित क्षमायाचना गर्नु आवश्यक छ ।

अतः गणेशजीको पिठ्युँको कहिल्यै दर्शन गर्नु हुँदैन । सामान्यतया घरको मूल दैलोमा गणेशको प्रतिमा बनाएर टाँस्ने चलन छ । याद गर्नुहोला उक्त प्रतिमाको भित्रपट्टि गणेशको पिठ्युँमा माता लक्ष्मीको वा भगवान् गणेशकै अर्को प्रतिमा टाँस्नु अनिवार्य छ । त्यसरी नटाँसेमा घरमा सुखसम्मृद्धिको अभाव हुनसक्छ र दुःख तथा दरिद्रताको निवास तपार्इंको घरमा नै रहन जान्छ । जय श्री गणेश ।