Showing posts with label सन्तगाथा. Show all posts

Sunday, April 22, 2018

आदर्श नारी सीता

आदर्श नारी सीता जगज्जननी माता लक्ष्मीकी अंशावतार मानिन्छन् । यिनी प्रसिद्ध धार्मिक ग्रन्थ रामायणकी प्रमुख नारीपात्र तथा भगवान् श्रीरामकी अर्द्धाङ्गिनी हुन् । सीताको जन्म, जीवनकाल तथा अन्त्य रहस्यमय, रोचक, मार्मिक र अर्थपूर्ण छ । सनातन धर्मअन्तर्गतका धार्मिक ग्रन्थ र हाम्रो आध्यात्मिक इतिहासले लोकहीतका लागि ईश्वरले अवतार ग्रहण गर्दा उनको सहयोग गर्न उनका पार्षद र शक्ति पनि अवतरित भएका छन् । यसरी एकातिर भगवान् आफ्नो प्रयोजन सिद्ध गर्न विभिन्न लीला गर्नुहुन्छ भने उनको लीलाचरित्रमा उनकी शक्ति महामायाले पनि सहयोगीको भूमिका निर्वाह गरी एउटा आदर्श स्थापित गर्ने गर्दछिन् । माता सीताको अवतरण पनि यस धराधामलाई दुष्ट, क्रूर र दुराचारी शासक रावण र उसका मतियारहरूको सफाया गर्ने कारण बनेको स्पष्ट हुन्छ । यद्यपि सीताको जीवनकालमा उनले अनेकानेक भौतिक दुःख, कष्ट र कठिनाइको सामना गर्नुपरेको थियो ।

सीताका मातापिता को हुन् ? भन्ने विषयमा मतमतान्तर छ । सीता शब्दको अर्थ जोत्दा जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलोको फालीबाट धर्तीमा निर्मित रेखा आदि हुन्छ । उनको जन्म सन्दर्भमा उल्लेख गरिने कथा पनि यस्तै रहेको पाइन्छ । एक पटक राजर्षि जनकको राज्य मिथिलामा लामो समयसम्म पानी परेन, खडेरीले आक्रान्त भएका जनतालाई राहत दिन राजा स्वयंले यज्ञ गरी हलो जोतेमा पानी पर्छ भनी ज्योतिषी र पण्डितहरूले बताएपछि राजा हलो जोत्न तैयार भए । यस उक्त यज्ञमा राजर्षि जनकले हलो जोत्दा त्यही भूमिबाट सीता प्रकट भएको कथा विभिन्न धर्म ग्रन्थहरूमा उल्लेख छ ।

सीताको जन्मसम्बन्धमा प्राप्त वृत्तान्तहरूमा मतैक्य छैन । विभिन्न पुराणहरूमा भिन्नभिन्न प्रकारले यस प्रसङ्गलाई उल्लेख गरिएको पाइन्छ । तल केही प्रसङ्ग र आख्यानहरू उल्लेख गरिएको छ :-

१) देवी भागवतमा लेखिएअनुसार लङ्काधिपति रावणको विवाह मय दानवकी पुत्री मन्दोदरीसित भएको थियो । मन्दोदरी गर्भवती भएपछि ज्योतिषीहरूले उनीबाट जन्मने शिशुका बारेमा फलादेश गर्दा शिशुको जन्मपछि रावणको वंश नै समाप्त हुने भविष्यवाणि गरेको हुँदा उसले आफ्नो पहिलो सन्तान (कन्या) लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो । तिनै कन्यालाई पछि राजा जनकले प्राप्त गरेका हुन् र तिनै सीता थिईन् । अद्भूत रामायणमा मन्दोदरीको उक्त गर्भधारण गर्नुपूर्वको आख्यानसमेत उल्लेख गरी सीताको जन्मवृत्तान्तको यसै प्रसङ्गलाई पुष्टि गरिएको छ । अद्भूत रामायणमा उल्लेख गरिएअनुसार त्यतिखेर रावणले असाध्य अत्याचारपूर्वक शासन गरेको थियो । ऊ धर्माचरण गर्ने सज्जन देव, यक्ष, गन्धर्व, किन्नर र मनुष्यलगायत ऋषिमुनि र साधुसन्तहरूलाई निकै सास्ती दिने गर्दथ्यो र आश्रममा बसेर तपस्यारत रहेका ऋषिमुनि र तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर एउटा घैँटो भरेर राख्ने गर्दथ्यो । त्यसै कालखण्डमा गृत्समद नाम गरेका कुनै ऋषि आफ्नो आश्रममा तपस्या गरी बस्दथे । उनी कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा पार्ने र त्यसलाई पान गर्ने गर्थे । रावणले यो कुरो चाल पायो र उक्त कुशाग्रबाट सङ्कलित दूधको औषधीय महत्त्व थाहा पाई त्यो घैँटो चोरी दूध जति आफ्नो रगतको घैँटामा भरेर उसले लङ्का लिएर गएको थियो । रावणका अधार्मिक र क्रूर व्यवहारबाट दिक्क मानेकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन् । उनी मर्न त मरिनन्, तर त्यसबाट उनमा गर्भ रहन गयो । उक्त गर्भ नै रावण र मन्दोदरीको पहिलो सन्तानका रूपमा जन्मिएको थियो, जुन रावण र मन्दोदरीले त्यागेका थिए ।

आनन्द रामायणमा पनि रावणकी छोरीकै रूपमा सीताको वर्णन गरिएको छ । तर त्यहाँ रहेको प्रसङ्ग अध्यात्म रामायणभन्दा फरक छ । आनन्द रामायणको जन्म प्रसङ्गमा कुनै पद्माक्षर नामका राजाबाट प्रसन्न भएका भगवान् विष्णुले उसलाई एउटा महालिङ्ग उपहारका रूपमा प्रदान गर्नुभयो । उक्त महालिङ्गको उपासनाबाट उनले एउटी पद्मा नामकी पुत्री प्राप्त गरे । ती लक्ष्मीको अंशस्वरूप उत्त्पत्ति भएकी थिईन् । उमेर पुगेपछि राजाले राजकुमारी पद्माको विवाह गर्ने उद्देश्यले स्वयंवरको आह्वान गरे । तर पद्मा भगवान् विष्णुलाई नै पतिका रूपमा प्राप्त गर्न चाहन्थिन् । स्वयंवरमा उपस्थित भएका मनुष्य र राक्षसकुलका राजाहरू एकआपसमा लडाइँ गर्दै कोलाहल मच्चाउन थाले । पद्माले त्यसै कोलाहलमय अवसरमा स्वयंवरका लागि तैयार पारिएको अग्निकुण्डमा प्रवेश गरी विलीन भईन् । अर्को जन्ममा उक्त अग्निकुण्डबाटै वेदवती नामकी सुन्दर स्त्रीका रूपमा उनी अवतीर्ण भईन् । पूवस्मृति रहेकाले विष्णुलाई वरका रूपमा प्राप्त गर्न फेरि पनि तपस्यारत रहिन् । निरन्तरको तपस्याबाट उनको सौन्दर्य र आभामा विशेष आकर्षण देखिन्थ्यो । एक पटक रावण त्यस आश्रममा आइपुग्यो । वेदवतीको सौन्दर्यमा ऊ लट्ठ भयो र उनका इच्छा र भावनाको वेवास्ता गर्दै बलात्कार गर्न उद्यत भयो । रावणको कुकृत्यबाट जोगिन वेदवतीले पुनः आफूलाई यज्ञकुण्डभित्र अलप बनाईन् । अलप हुनुअघि वेदवतीले रावणलाई श्राप दिएकी थिईन् अरे - अर्को जन्ममा म तेरी छोरी भएर जन्मने छु र तेरो वंशलाई समूल नाश गर्ने कारण बन्नेछु । कालान्तरमा तिनै वेदवती मन्दोदरीकी छोरीका रूपमा प्रकट भएकी थिईन् । आनन्द रामायणमा राजा जनकले हलो जोत्दा भेटिएको प्रसङ्ग भने उल्लेख गरिएको छैन । त्यहाँ जमिनमुनि गाडिएको उक्त सन्दुक मिथिला भूमिका एक जना ब्राह्मणले फेला पारी राजा जनकलाई जिम्मा दिएका थिए र त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो भनिएको छ ।

तमिल भाषामा लेखिएको कम्ब रामायणमा सीताका मातापिताका बारेमा फरक प्रसङ्ग छ । त्यहाँ शीरध्वज (जनक) का भाइ कुशध्वजकी छोरी वेदवतीले रावणको अपमानका कारण आगामा होमिई खरानी हुनु परेको थियो र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन् भनिएको छ । यस कथाअनुसार सीता जनककी आफ्नै छोरी नभएर भाइकी छोरी भतिजी थिईन् भन्ने बुझिन्छ । सीताको जन्म र उनका मातापिताका बारेमा किसिमकिसिमका दृष्टान्त र कथाप्रसङ्ग प्राप्त हुन्छन् । आख्यान र कथोपक्रमको क्रम नमिले पनि प्रायशः ती सबैको मूल कथ्य यी माथि उल्लेख गरिएका विषयवस्तुसँगै कुनै न कुनै रूपमा मेल खाएको देखिन्छ ।

यसरी जगज्जननी सीताको जन्मसम्बन्धमा अनेकानेक किंवदन्ती र कथाहरू प्राप्त हुने भएकाले यसै हो भनी निर्क्यौल गर्न गाह्रो छ । यद्यपि जनकपुरसँगको उनको सम्बन्ध भने अकाट्य जस्तै देखिन्छ । नेपालका राष्ट्रिय विभूतिमध्ये एक रहेका जनकको वास्तविक नाम शिरध्वज हो । उनकी पत्नीको नाम सुनयना हो । उनी राजा ह्रस्वरोमा जनकका पुत्र थिए । वशिष्ठ ऋषिको श्रापले मरेका राजा निमिको शव मन्थन गर्दा 'मिथि' जन्मिएका र उनको राज्य मिथिला बनेको उल्लेख छ । रामायण र याज्ञवल्क्य स्मृतिमा राजा मिथिको राज्य भएकाले देशको नाम मिथिला रहेको प्रसङ्ग छ भने मत्स्यपुराणमा चाहिँ मिथिल नाम गरेका ऋषिको नामबाट मिथिला बनेको भनी लेखिएको छ । मिथिलाका राजाहरू वंशपरम्परादेखि नै जनक पदबाट विभूषित थिए, अतः जनकपुरका प्रत्येक राजाहरूले आफ्नो नामका सट्टामा जनक भन्न रुचाउँदथे । अतः नाम शिरध्वज भए पनि यिनलाई जनक भनिएको हो । जनककी छोरी भएकी नाताले सीताको अर्को नाम जानकी हो। मिथिलालाई विदेह पनि भनिने भएकाले विदेहकी छोरीको अर्थमा सीताको नाम वैदेही पनि छ।

जन्म नदिए पनि सीताका पालनपोषण गर्ने पिता राजा जनक र माता सुनयना हुन् । सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो । निकै बलिया र शूरवीरले पनि सजिलै उचाल्न नसकिने शिवधनुलाई उनी पूजा कोठाको बढारकुँडार र सरसफाइ गर्ने क्रममा सजिलै वर, पर राख्ने गर्थिन्। यही शक्ति देखेर नै जनकले शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका हुन्। स्वयम्बरका बेलामा देशदेशावरबाट अनेक राजामहाराजा आए । रावण पनि आएको थियो तर उसले शिवधनु हल्लाउनसमेत सकेन। अयोध्याबाट आएका श्रीरामचन्द्रले उचाल्नासाथ उक्त धनु भाँचिन पुग्यो र धुमधामसाथ श्रीराम र सीताको शुभविवाह सम्पन्न भयो । उर्मिला,  माण्डवी र श्रुतकीर्ति सीताका काकाका छोरीहरू थिए । यिनको बिहे पनि श्रीरामचन्द्रका भाइहरू क्रमशः लक्ष्मण, भरत र शत्रुघ्नसँग भएको थियो । माइतीमा जस्तै घरमा पनि सीताले सबैको मन जितेकी थिइन् ।

रानी केकैयीले आफ्ना दुईवटा वचनका बदलामा छोरो भरतलाई अयोध्याको राजगद्दी र सौता कौशल्याका छोरा रामचन्द्रलाई वनवास दिनुपर्ने अडान पतिसामु राखेपछि आफ्ना पिता दशरथको आज्ञा अनुसार श्रीराम १४ वर्षका लागि वनतर्फ प्रस्थान गर्न आँटेका हुन्छन् । पति वन जाँदा आँफू भोगविलास र सुखसयलले युक्त राजमहलमा नबस्ने भनी जिद्दी गर्दै सीता पनि श्रीरामसँगै वनवास प्रस्थान गरिन् । दाजुभाउजुलाई लक्ष्मणले पनि साथ दिन्छन्, उनी पनि श्रीराम र सीताका साथमा वनवासमा जान्छन् । अत्रि ऋषिका आश्रममा हुँदा सीताले सती अनुसूयाबाट पातिव्रत्य धर्मको उपदेश प्राप्त गर्छिन् ।

वनवासका क्रममा पञ्चवटी भन्ने स्थानमा पुगेका वेला जोगीको भेष गरी रावण वनमा आउँछ र श्रीराम र लक्ष्मणलाई झुक्याएर सीतालाई हरण गरी लङ्का पुर्याई अशोक वाटिकामा कडा पहराका साथमा राख्छ । उसले सीताको मन जित्न र उनलाई पत्नी बनाउन अनेक तिगडम चाल्न थाल्छ, तर सीताको सतीत्व डगमगाउन सक्दैन । त्यहाँ रावणपत्नी मन्दोदरी र त्रिजटाको नरम बोली र व्यवहार पाउँदा उनलाई राहत हुन्छ । यता सीताको खोजीमा रहेका श्रीरामले वानरराज सुग्रीवसँग मितेरी गाँसी वाँदर सेना तैयार गर्छन् । रामद्वारा पठाइएका दूत हनुमान् लङ्का पुगी सीताको अवस्थितिका बारेमा सूचना लिई आउँछन् । त्यसपछि रामको सेना समुद्र तरी लङ्कामा पुगेपछि भीषण युद्ध हुन्छ । सन्त स्वभावका विभीषणबाहेक मेघनाद,  कुम्भकर्ण,  रावण आदि सबै दुष्ट मारिन्छन् । सीता रावणको कब्जामा रहेकीले रामले सहजै स्वीकार गर्दैनन् । उनी अग्निपरीक्षाद्वारा निष्कलङ्क ठहरिएपछि पति श्रीरामका साथ पुष्पक विमानमा बसी अयोध्या पुग्छिन् । 

समय बित्दै जाँदा सीता गर्भवती हुन्छिन् । फेरि धोबीले बात लाउँछ र रामले उनलाई त्याग्ने विचार गर्दछन् । यसरी लामो समय वनबासमा कष्टपूर्ण जीवन बिताएकी सीताले किशोरावस्थामा अनजानवश भएको त्रुटि निवारणका लागि फेरि वनवास जानुपर्छ । पछिल्लो पटक उनको वनवासको कारणका प्रसङ्गमा उनको किशोरअवस्थासँग जोडिएको एउटा किंवदन्ती छ । सीताको स्वयंवरको घोषणा भएपछि एक दिन सीता जनकपुरको उद्यानमा एउटा रुखमुनि खेलिरहेका बेला एक जोडी सुँगाका भालेपोथी एकआपसमा भलाकुसारी गर्दै सीताकै विषयमा कुराकानी गर्दैथिए, जुन सीताले चाख मानी मानी सुनीरहेकी थिईन् । सुँगाको भाले आफ्नी पोथीलाई सुनाउँदै थियो - प्रिये राजकुमारी जानकी त माता लक्ष्मीकी अवतार हुन् । यिनको विवाह भगवान् विष्णुको मनुष्य अवतार अयोध्यापति दरशरथका पुत्र श्रीरामसँग हुनेछ । सुँगाका कुरा सुनेर सीता छक्क परिन् र आफ्ना सखीहरूलाई ती सुँगाका जोडीलाई समातेर लिईआउन अह्राईन् । साथीहरूले सुँगाको जोडीलाई समात्ने प्रयास गरे, भाले सुँगा तुरुन्त उडेर भाग्यो तर गर्भवती भएका कारण पोथी सुँगा छिट्टो भाग्न सकिन र सीताका सँगीहरूले त्यसलाई समातेर सीतालाई जिम्मा लाए । त्यसपछि सीताले सुँगासित रिसाउँदै भनिन् - राम भनेको को हो ?  वुवाले मेरो विवाह शिवधनुष चलाउन सक्ने पुरुषसित गरिदिने निश्चय गरेका छन्, तिमीहरू जाबो पन्छी भएर मेरो विवाह हुने पुरुषको खोजीनीति गर्छौ । उनले यति भन्नासाथ भाले सुँगा आएर आफ्नी पत्नी गर्भवती छ, त्यसैले तपार्इंका पन्जाले समातिंदा उसलाई अत्यन्त कष्ट भइरहेको छ । उसलाई छाडिदिनु हवस् भनी बिन्ती गर्न थाल्यो । तर सीताले उक्त पोथीलाई नछाडेर उडेर जाने पो हो कि भन्दै झन् कसेर समाईन् । कष्ट सहन नसकेर उक्त पोथी सुँगाको मृत्यु भयो । त्यसपछि भाले सुँगाले सीतालाई गर्भवती अवस्थामा पतिसँग विछोड हुनुपरोस् भनी श्राप दियो। त्यही सुँगाको जोडीको पछि गएर अयोध्यामा धोबीका पतिपत्नीका रूपमा पुनर्जन्म भएको थियो ।

लोकापवाद भएकाले श्रीरामले सीतालाई पुनः वनबास पठाउँछन् । गर्भवती सीतालाई महर्षि वाल्मीकिको आश्रय प्राप्त हुन्छ । यहीँ उनले लव र कुश नामका दुईवटा छोरा जन्माउँछिन् । रामले अश्वमेध यज्ञ गर्दा घोडा समाउने बालक यिनै हुन् । सीताको आज्ञा पाएपछि मात्र घोडा छाड्छन् । दरबारमा यी बालकले रामायण सुनाउँदा राम विह्वल हुनपुग्छन् र ती दुई भाइ आफ्ना छोरा भएको ज्ञान भएपछि सीताको खोजीमा दौडन्छन् । वाल्मीकिको आश्रममा पुगेर श्रीरामले सीतालाई अयोध्या फर्किन आग्रह गर्दछन्, तर यस पटक पनि लोकका निमित्त उनले पुनः अग्निपरीक्षा पार गर्नुपर्ने सर्त पनि राख्छन् । यसरी पटकपटक सतीत्वको परीक्षा दिनुपर्ने कुरा सुनेर उनी द्रवित हुन्छिन् र धर्तीमातासामु आफ्नो सतीत्व र पतिव्रता साँचो भए आश्रय दिनु भनी पुकार गर्दछिन् । तुरुन्त धर्ती फाट्छ अनि सीता धर्तीमाताको शरणमा सधैँ सधैँका लागि विलीन हुन पुग्छिन् । यसरी धर्तीबाट जीवनलीला थालेकी सीताको धर्तीभित्रै समाहित भई लीला समाप्त हुन्छ । यसरी दुःख, पीडा, सहनशीलता, पतिभक्ति, मर्यादा, मातृत्व र आदर्शको प्रतिमूर्ति बनेकी सीताको समग्र जीवन दुःख, कष्ट, पीडा र करुणाले भरिपूर्ण रहेको पाइन्छ, तलका बुँदाहरूले पनि सीताको चारित्रिक वैशिष्ट्यलाई उजागर गर्दछन् :- 

१ - सीता पतिव्रता नारीकी प्रतिनिधि चरित्र हुन् । उनी सपनामा समेत श्रीरामबाहेक कुनै पुरुषको दर्शन गर्ने इच्छा राख्दिनन् । अपहरित भई लङ्कामा बस्दासमेत सिन्काको साँध हुनुपर्छ भन्ने मान्यतालाई अनुसरण गर्दछिन् ।

२ - एउटी ममतामयी र संस्कारी माताको भूमिकालाई उनले प्रतिबद्धतापूर्वक पालना गरेकी छन् । लव र कुशलाई लालनपालन गरी हुर्काएर तिनको सुसंस्कृत व्यक्तित्व निर्माण गरी जगजाहेर गर्ने माता सीता नै हुन् ।

३ - उनी त्यागकी प्रतिमूर्ति थिईन्, त्यसैले उनले अग्निमा प्रवेश गरी आफ्नो पवित्रता प्रमाणित गर्ने हिम्मत देखाएकी थिईन् ।

४ - पति र आफूलाई वनवास पठाउने सौतेनी सासू कैकेयीप्रति उनले कहिल्यै दुःखेसो गर्ने वा वैमनस्यभाव दर्शाउने काम गरिनन् र एउटा कर्तव्यनिष्ठ गृहिणी र बुहारीको परिचय प्रदान गरिन् ।

त्यसैले नेपाली संस्कार र सनातन परम्परामा कुनै नवविवाहिता नारीलाई आदर्श र असल बन्न राम र सीताको दाम्पत्यसम्बन्धको उपमा दिई आशीर्वाद दिने चलन चलेको हो भन्दा फरक पर्दैन । धैर्य, संयम र विवेककी प्रतिमूर्ति सहनशीला सीताको यो आदर्शकथा संसारभरि प्रसिद्ध छ । पुराणको सन्दर्भमा हेर्ने हो भने उनी बराबरकी आदर्श नारी कोही पनि छैन । त्याग, परिश्रम र सच्चरित्रताकै कारण हुनुपर्छ, उनलाई भगवतीको दर्जा प्राप्त छ । उनको नामस्मरण गर्नु मात्रले पनि जीवन धन्य हुने, परलोक सप्रने जनविश्वास छ । जगज्जननीको श्रद्धा, विश्वास र भरोसा हासिल गर्न सफल नारीव्यक्तित्व सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि आस्था, श्रद्धा र गौरवको विषय हो ।

Wednesday, April 18, 2018

आद्यगुरु शङ्कराचार्य

आर्य संस्कृतिको विकासमा आद्य शङ्कराचार्यको विशिष्ट योगदान रहेको छ। उनको धर्मदर्शन, विचार र उपदेश आत्मा र परमात्माको ऐक्यसम्बन्धमा आधारित मानिन्छ, जसअनुसार परमात्मा एउटै समयबिन्दुमा सगुण र निर्गुण दुईवटै स्वरूपमा उपस्थिति जनाउन सक्षम छन्। स्मार्त सम्प्रदायका अनुयायीहरू आदि शङ्ककराचार्यलाई भगवान् शिवको अवतार मान्दछन्। भगवद्पादाचार्यका अभिधाद्वारा पनि सम्बोधन गरिने 'आदि शङ्कराचार्य'लाई वेदान्त दर्शनअन्तर्गत 'अद्वैतवाद'का प्रणेता मानिन्छ। आचार्य शङ्करको जन्म वैशाख शुक्ल पञ्चमी तिथिमा ईश्वीसंवत् ६८८ मा र परमधाम ईश्वीसंवत् ७२० मा भएको तथ्यलाई स्वीकारिन्छ। शङ्कर दिग्विजय, शङ्करविजयविलास, शङ्करजय आदि ग्रन्थमा उनका जीवनतथ्यसँग सम्बद्ध कतिपय प्रमाण उपलब्ध हुन्छन्। दक्षिण भारतको केरल राज्य (तत्कालीन मालाबार प्रान्त) मा आद्य शङ्कराचार्यको जन्म भएको हो। उनका पिता शिवगुरु तैत्तिरीय शाखाका यजुर्वेदी ब्राह्मण थिए। सनातन आर्य परम्परामा आद्य शङ्कराचार्यलाई भगवान् शिवको अवतार मानिन्छ। आठ वर्षको उमेरमा आचार्य गोविन्दपादको शिष्यत्व ग्रहण गरी सन्यासी हुनु, सेतुबन्धबाट वाराणसी हुँदै बद्रिकाश्रमसम्मको पैदल यात्रा गर्नु, सोह्र वर्षको उमेरमा बद्रीकाश्रममा पुगी त्यहीं वेदान्त दर्शनमा आधारित ग्रन्थ 'ब्रह्मसूत्र'को भाष्य लेख्नु, समस्त भारतवर्षको भ्रमण गरी अद्वैत वेदान्त दर्शनको प्रचारप्रसार गर्नु, माहिष्मती नगरी(दरभङ्गा)मा गई मण्डन मिश्रलाई शास्त्रार्थमा पराजित गरी वेदान्तको दीक्षा दिनु र मण्डन मिश्रलाई सन्यास आश्रममा पुर्याउन प्रेरणा प्रदान गर्नु, भारतवर्षमा प्रचलित तत्कालीन कुरीतिहरू हटाउन समभावदर्शी धर्मको स्थापना गर्नु, ईश, केन, कठ, प्रश्न, मुण्डक, मांडूक्य, ऐतरेय, तैत्तिरीय, बृहदारण्यक र छान्दोग्योपनिषद् जस्ता जटिल उपनिषद्उपर भाष्य लेख्नु र भारतवर्षमा राष्ट्रिय एकता अखण्डता एवं सांस्कृतिक अखण्डताको स्थापना गर्नु उनको अलौकिक व्यक्तित्वका परिचायक तथ्य हुन्। उनको जीवनयात्रालाई लक्षित गर्दै रचिएको एउटा श्लोकमा भनिएको छ -

अष्टवर्षेचतुर्वेदी द्वादशेसर्वशास्त्रवित् ॥
षोडशेकृतवान्भाष्यं द्वात्रिंशेमुनिरभ्यगात् ॥

अर्थात् आठ वर्षको आयुमा चारवटै वेदमा निष्णात भए, बाह्र वर्षको आयुमा समस्त शास्त्रमा पारङ्गत भए, सोह्र वर्षको आयुमा शाङ्करभाष्य लेखे र बत्तीस वर्षको आयुमा शरीर त्यागे।

मानवताका ज्योतिर्मय सूर्य जगद्गुरु शङ्कराचार्य केवल सात वर्षको उमेरमा नै सन्यासी भएका थिए। गुरुकुलको कडा नियमलाई पालना गर्दै भिक्षा माग्ने उद्देश्यले उनी एक जना ब्राह्मणको घरमा गए। ती ब्राह्मणको घरमा भिक्षा दिनका निम्ति अन्नको एउटा गेडो पनि उपलब्ध थिएन। ब्राह्मणकी पत्नीले ती सन्यासी बालकका हातमा एउटा अमलाको दानो राखेर रुँदै आफ्नो परिवारमा अवस्थित गरिबी, विपन्नता र आर्थिक मन्दीका बारेमा बताईन्। त्यस परिवारको दयनीय अवस्था देखेर ती प्रेम र दयाका प्रतिमूर्ति बालक सन्यासीको हृदय द्रवित हुनपुग्यो। उनले तुरुन्त अत्यन्त आर्तपुकारा गरी जगज्जननी माता लक्ष्मीको स्तोत्र रचना गरे र करुणामूर्ति माता लक्ष्मीलाई त्यस निर्धन ब्राह्मण परिवारमा अवस्थित विपदा हरण गर्न स्तुतिप्रार्थना गर्न थाले। बालयोगीको प्रार्थनाबाट सन्तुष्ट भएकी महालक्ष्मीले ती परम निर्धन ब्राह्मणका घरमा अमलाकै आकारका सुनका दाना बर्साउन थालिन्। यसरी जगज्जननी महालक्ष्मीलाई प्रसन्न तुल्याएर त्यस ब्राह्मण परिवारको दरिद्रता हरण गर्न समर्थ दक्षिण भारतको 'कालाड़ी' नामको गाउँमा जन्मिएका ती बालयोगी सन्यासीको नाम नै शङ्कर थियो र जीवनको उत्तरार्द्धमा ती ‘जगद्गुरु शङ्कराचार्य’का नामबाट प्रख्यात भए। ती महाज्ञानी शक्तिपुञ्ज बालकका रूपमा स्वयं भगवान् शङ्कर यस धराधाममा अवतीर्ण भएका हुन्। यिनका पिता शिवगुरु नामपुद्रिको विवाह भएको धेरै वर्षसम्म कुनै सन्तान नजन्मिएकाले उनले आफ्नी पत्नी विशिष्टादेवीसँगै पुत्र प्राप्तिका उद्देश्यले लामो समयसम्म चन्द्रमौली भगवान् शङ्करको कठिन र कष्टकर आराधना गरे। अन्तत: भगवान् शङ्कर प्रसन्न भए र उनले ती दम्पतिलाई स्वप्नमा दर्शन दिई वरदान माग्न आग्रह गरे। शिवगुरुले आफ्ना ईष्टगुरुसँग एउटा दीर्घायु र सर्वज्ञ पुत्रको याचना गरे। आफ्ना भक्तको याचना सुनेर भगवान् शङ्करले भने - ‘वत्स, दीर्घायु पुत्र सर्वज्ञ हुनसक्दैन अनि सर्वज्ञ पुत्र दीर्घायु हुन सक्दैन। भन तिमी दीर्घायु र सर्वज्ञमध्ये कुन पक्षलाई रोज्छौ?’ त्यसपछि धर्मप्राण शास्त्रसेवी शिवगुरुले दीर्घायु नभए पनि सर्वज्ञ पुत्र प्रदान गर्न आग्रह गरे। भगवान् शिवले फेरि भने- ‘वत्स तिमीले सर्वज्ञ पुत्र प्राप्त गर्नेछौ, म स्वयं पुत्रका रूपमा तिम्रो कोखबाट अवतीर्ण हुनेछु।’

केही समयपछि ईश्वीसंवत् ६८८ को वैशाख महिनाको शुक्लपक्षको पञ्चमी तिथि (केही विद्वानहरूको मतमा अक्षय तृतीया) का दिन मध्याह्नकालमा शिवगुरुकी धर्मपत्नी विशिष्टादेवीले परम प्रकाशस्वरूप, अत्यन्त सुन्दर, दिव्य कान्तिले युक्त बालक जन्माईन्। दैवज्ञ ब्राह्मणहरूले त्यस नवजात शिशुको टाउकोमा चक्राकृति चिह्न, निधारमा नेत्राकृति चिह्न र काँधमा शूलको चिह्न अङ्कित भएको देखेर त्यस्तो विशिष्ट लक्षण भगवान् शिवमा मात्र हुनसक्ने ठानी ती शिशुको नाम ‘शङ्कर’ राखी दिए। तिनै शङ्कराचार्यलाई श्रद्धासुमन समर्पण गर्न प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन 'श्री शंकराचार्य जयन्ती' का रूपमा मनाउने प्रचलन छ।

जुन समयमा जगद्गुरु शंकराचार्यको आविर्भाव भएको थियो, त्यस समय नेपाललगायत समस्त भारतवर्षमा वैदिक धर्मको स्थिति कमजोर थियो, मानवतालाई सबैले बिर्सन लागेका थिए र अधार्मिक कृयाकलापले प्रश्रय पाउन लागेको अवस्था थियो। यस्तो कठिन समयमा आचार्य शङ्कर मानव धर्मका ज्वाज्वल्यमान सूर्य झैं तेजस्वी भई प्रकाश स्तम्भका रूपमा प्रकट भएका हुन्। केवल ३२ वर्षको जीवनकालमा उनले सनातन धर्मलाई एउटा यस्तो ओजस्वी शक्ति प्रदान गरे जसबाट सनातन धर्मले त्राण पायो। शङ्कराचार्यको मातृभाषा 'मलयालम' थियो र तीन वर्षको सानै उमेरमा उनी आफ्नो भाषामा सटीक, शुद्ध र स्पष्ट बोलचाल गर्नसक्ने भएका थिए। तर उनका पिता शिवगुरु छोरोले देववाणी संस्कृतको पूर्ण ज्ञान प्राप्त गरेको देख्न चाहन्थे। उनको त्यो इच्छा आफ्नो जीवनकालमा पूर्ण हुन सकेन। शङ्कराचार्य पाँच वर्ष पुग्नुअघि नै यिनका पिताको अकालमा नै मृत्यु भयो र शङ्करले आफ्नो शिरबाट पिताको वात्सल्य र छत्रछाया गुमाउनु पर्यो। उनको लालनपालन र जिम्मेबारीका समस्त बोझ आमा विशिष्टादेवीले वहन गर्नु पर्यो। तिनले पुत्रलाई पालनपोषण गर्न र संस्कारयुक्त बनाउन कुनै कमी हुन दिइनन्। पाँच वर्षकै कलिलो उमेरमा यिनको उपनयन संस्कार अर्थात व्रतबन्ध सम्पन्न भयो र त्यसपछि यिनलाई शास्त्राध्ययनका निमित्त गुरुकुलमा पठाइयो। यिनी सानैदेखि प्रतिभासम्पन्न बालक थिए। यिनको अद्भूत प्रतिभा देखेर यिनका गुरुहरू पनि छक्क पर्थे। अप्रतिम प्रतिभाका धनी श्रुतिधर बालक शङ्करले गुरुकुलमा भर्ना भएको दुई वर्षको अवधि व्यतीत गर्न नपाउँदै वेद, पुराण, उपनिषद्, रामायण, महाभारत आदि ग्रन्थ कण्ठ पारी सकेका थिए। त्यसपछि गुरुबाट दीक्षान्त प्राप्त गरी यिनी घर फर्किए र आफ्नी ममतामयी आमाको सेवासुश्रुषा गर्न थाले। उनको मातृभक्ति र सेवाभावनाको वर्णन गर्ने क्रममा एउटा जनश्रुति प्रचलित छ। भनिन्छ, आमाले नित्य स्नान गर्न दैनिक दुई कोस टाढा रहेको आलवाई (पूर्णा गङ्गा) नदीमा पुग्नु पर्थ्यो। आमाले स्नानादिबाट निवृत्त हुन सधैंसधैं लामो दूरीको यात्रा गर्नु परेको र आफु बालकै भएकाले पानी ढुवानी गर्ने सामर्थ्यसमेत नभएर उनले गङ्गाको स्तुति गरे। बालकको स्तुतिबाट प्रसन्न भई उनको गाउँबाट धेरै टाढा बग्ने त्यो आलवाई (पूर्णा) नदीले आफ्नो बाटो नै बदल्नु पर्यो र बालक शङ्करकै गाउँलाई बाटो स्वीकार्नु पर्यो। यसरी यिनले आफ्नो भक्ति र योगबलका माध्यमले आफ्नी आमाको दैनिक स्नानादिमा सरलता प्रदान गरे। छोरो ठूलो हुँदै गएको अवस्थामा आमा विशिष्टादेवीले शङ्करचार्यको विवाह गर्ने योजना बनाईन्। तर बालक शङ्कर गृहस्थीको झन्झटबाट टाढै बस्न चाहन्थे। एकजना ज्योतिषीले उनको जन्मकुण्डलीको विवेचना गर्दै बालक शङ्करको अल्पायुमा नै मृत्यु हुने बताएका थिए। यस्तो बुझेर आचार्य शङ्करले आफू सन्यासी हुने र लोकसेवामा जुट्ने सङ्कल्प गरे। अन्तत: सन्यास ग्रहण गर्ने उद्देश्यले उनले आमासँग विदा मागे, फलस्वरूप उनले सात वर्षको कलिलो उमेरमा नै सन्यास ग्रहण गरे र त्यसपछि जीवनको उच्चतम लक्ष्य प्राप्त गर्ने उद्देश्यले घर छाडे।

उनी केरल प्रदेशबाट लामो पदयात्रा गर्दै नर्मदा नदीको किनारामा अवस्थित ओमकारनाथ पुगे। उनले त्यहाँ गोविंदपाद नाम गरेका गुरुसँग योग शिक्षा तथा अद्वैत ब्रह्मको ज्ञानार्जन गरे। तीन वर्षको अवधिसम्म आचार्य शङ्करले अद्वैत तत्त्वको साधना गरे। त्यसपछि गुरुको आज्ञामुताबिक उनी वाराणसी(काशी)मा अवस्थित भगवान् विश्वनाथको दर्शन गर्ने उद्देश्यले त्यहाँबाट हिंडे। काशी जाने क्रममा बाटोमा उनको एउटा चाण्डालसित जम्काभेट भयो। चाण्डाल बाटो छेकेर हिंड्दै थियो। त्यसको प्रवृत्ति देखेर शङ्करले रिसाउँदै बाटो छाड्न आदेश दिए। शङ्कराचार्यलाई क्रोधित देखेर चाण्डालले उनलाई विनम्रतापूर्वक भन्यो - ‘हे मुनि! हजुरले मलाई हप्काएर प्रत्येक शरीरमा उपस्थित हुनुहुने परमात्मालाई उपेक्षा गर्नुभएको छ, त्यसैले हजुरमा ब्राह्मणत्व देखिएन, हजुर त अब्राह्मण हुनुहुँदो रहेछ। त्यसैले हजुरले पो मलाई बाटो दिनुपर्यो।’ चाण्डालका मुखबाट त्यस्ता देववाणी सुनेपछि आचार्य शङ्करले अति प्रभावित भई उसलाई भने -‘तपाईंले मलाई ज्ञान प्रदान गर्नुभएको छ, त्यसैले मेरो शिष्यत्व स्वीकार गर्नुहोस्।' यति भनेर शङ्कराचार्यले साष्टाङ्ग प्रणाम गर्नासाथ त्यो चाण्डाल अलप भयो र त्यसका ठाउँमा भगवान् शिव प्रकट भई शङ्कराचार्यलाई दर्शन दिए। काशीमा केही दिन बिताएपछि शङ्कराचार्य आचार्य मण्डन मिश्रको दर्शनार्थ माहिष्मती नगरी गए। आचार्य मिश्रका पालेका मैनाले पनि वेदका मन्त्रको उच्चारण गर्ने गर्दथे। अचार्य मिश्रकै घरमा बस्दा ती दुबैका बीचमा शास्त्रार्थ चल्ने गर्दथ्यो। एकपल्ट आचार्य शङ्करले तिनलाई शास्त्रार्थमा जिते। आफ्ना पतिले शास्त्रार्थमा हर्दै गरेको देखेर मिश्रकी पत्नीले शङ्कराचार्यलाई सम्बोधन गर्दै भनिन् - ‘महात्मन्! अहिले हजुरले मेरा पतिको आधा अङ्गलाई मात्र जित्नुभएको छ, आफ्ना तर्क र युक्तिका बलले मलाई पराजित बनाउनु भयो भने हजुर विजयी हुनु हुनेछ।।’ यति भनेर मिश्रकी पत्नी भारतीले कामशास्त्रमा आधारित प्रश्नहरू तेर्स्याउन थालिन्। तर शङ्कराचार्य त आबाल ब्रह्मचारी थिए, त्यसैले उनमा कामशास्त्रसम्बद्ध ज्ञानको कमी थियो। उनले आफ्नो अज्ञानतालाई स्वीकार गरे र ती प्रश्नको उत्तर दिन केही समय लाग्ने बताए। त्यसपछि उनले सूक्ष्म रूप धारण गरी परशरीरमा प्रवेश गरी विषय र वासनासम्बद्ध समस्त जानकारी प्राप्त गरे। अनि आचार्य शङ्करले भारतीलाई पनि शास्त्रार्थमा जिते। काशीमा बसोबास गरेकै समयमा उनले ठूलठूला ज्ञानी, विद्वान् र पण्डितहरूलाई शास्त्रार्थमा हराउने काम गरे र 'गुरु' पदमा प्रतिष्ठित भए। अनेकानेक शिष्यहरूले उनीसित दीक्षा ग्रहण गरे। त्यसपछि आचार्य शङ्कर धर्मप्रचार गर्नथाले। उनले वेदान्तका जटिलताहरूलाई फुकाउँदै अनेकौं ग्रन्थहरूको रचनासमेत गरे। अद्वैत ब्रह्मवादी आचार्य शङ्कर केवल निर्विशेष ब्रह्मलाई मात्र सत्य मान्दथे र ब्रह्मज्ञानमा निमग्न हुने गर्दथे। एकपटक उनी ब्रह्ममुहूर्तको समयमा आफ्ना शिष्यमण्दलीका साथमा एउटा साँघुरो गल्लीको बाटो गङ्गास्नान गर्न वाराणसीस्थित मणिकर्णिका घाट जाँदै थिए। बीच बाटोमा एउटी युवती आफ्नो मृत पतिको टाउको काखमा राखी विलाप गरेर बसेकी थिई। आचार्य शङ्करका शिष्यहरूले त्यस स्त्रीसित मृत शव हटाएर बाटो दिन अनुरोध गरे, तर तिनको अनुरोधलाई नसुने झैं गरी ऊ रोइकराइ गरिरही। त्यसपछि स्वयं आचार्यले त्यो शव बाटोबाट हटाउन अनुरोध गरे। आचार्यको त्यस्तो आग्रह सुनेपछि त्यस स्त्रीले भनी - ‘हे संन्यासी! हजुर मलाई बारम्बार यो लाश हटाऊ भन्नुहुन्छ, यो लाशलाई नै बाटो छाड् भनेर आदेश चाहिं किन दिनुहुन्न। युवतीका कुरा सुनेर आचार्य शङ्करले फेरि भने - ‘हे देवी! तपाईंले शोकका कारण यो लाशमा आफैं बाटो छाड्ने शक्ति छैन भन्ने चेतनासमेत गुमाउनु भएछ।' आचार्यको बोली भुइँमा खस्न नपाउँदै तुरुन्त ती महिलाले प्रतिप्रश्न गरिहालिन् - ‘महात्मन् हजुरको दृष्टिमा त शक्तिबाट निरपेक्ष ब्रह्म नै जगतको कर्ता हो, त्यसो हो भने शक्तिविना नै यो लाश किन हट्न सक्दैन त?’ त्यस आइमाईका गम्भीर, ज्ञानमय र रहस्यपूर्ण वाक्य सुनेर आचार्य त्यहीं थचक्क बसे र समाधिस्थ भए। उनले अन्त:चक्षुमा के देखे भने सर्वत्र आद्याशक्ति महामायाले लीलाविलाप गरेर बसेकी छन्। उनको हृदय अनिवर्चनीय आनन्दबाट भरियो र उनको मुखबाट मातृवन्दनाका शब्दमयी धारा स्तोत्रका रूपमा प्रस्फुटन हुन थाले। जीवन भोगाइ र अनुभूतिको वेगमा खारिंदै अब आचार्य शंकर यस्ता महासागर बन्नपुगे, जसमा अद्वैतवाद, शुद्धाद्वैतवाद, विशिष्टाद्वैतवाद, निर्गुण ब्रह्म ज्ञान आदि समस्त सिद्धान्तहरू डगमगाउन थाले। ती मतका अनुयायीहरू ज्ञानको अद्वैत भूमिमा जुन परमात्मा निर्गुण निराकार ब्रह्म छन्, तिनै ईश्वर द्वैतभूमिमा सगुण साकार परमात्माका रूपमा छन् भनेर मान्न बाध्य भए। तिनीहरूले ब्रह्मका निर्गुण र सगुण दुबै स्वरूपलाई समर्थन त गरे नै, साथै निर्गुण ब्रह्मसम्म पुग्नका लागि सगुण ब्रह्मको उपासनालाई अपरिहार्य माने, अनि ज्ञान र भक्तिको मिलन भूमिमा अद्वैत ज्ञान नै समस्त साधनाहरूको परम उपलब्धी हो भन्ने अनुभूति समेत गरे। आचार्य शङ्करले ‘ब्रह्म सत्यं जगन्मिथ्या’को उद्घोष पनि गरे र शिव, पार्वती, गणेश, विष्णु आदिका भक्तिरसले परिपाक प्राप्त गरेका सुमधुर स्तोत्रहरूको रचना समेत गरे, साथै उनैद्वारा ‘सौन्दर्य लहरी’, ‘विवेक चूड़ामणि’ आदि श्रेष्ठतम ग्रन्थको सिर्जना पनि भयो अनि 'प्रस्थानत्रयी' को भाष्य पनि लेखियो। आफ्ना अकाट्य तर्कद्वारा शैव, शाक्त र वैष्णव मतको द्वन्द्वलाई समापन गरे। पञ्चदेवोपासना(पाञ्चायन देवताको आराधना) गर्ने परिपाटिको विकास गरे। उनले सेतुबन्धदेखि हिमालयसम्मको सम्पूर्ण भारतवर्षको यात्रा गरे र चारवटा मुख्यमुख्य मठ (दक्षिण भारतको श्रृङ्गेरीशङ्कराचार्यपीठ, पूर्व भारत (उडीसा) को जगन्नाथपुरीस्थित गोवर्द्धनपीठ, पश्चिम भारतको द्वारिकास्थित शारदामठ र उत्तराखण्डको बद्रिकाश्रममा अवस्थित ज्योतिर्पीठ) को स्थापना गरेर समस्त आर्यावर्तलाई सांस्कृतिक, धार्मिक, दार्शनिक, आध्यात्मिक एवं भौगोलिक एकताको अविच्छिन्न सूत्रमा निबद्ध गरे। उनले समस्त मानव जातिलाई जीवन्मुक्तिको एउटा महत्त्वपूर्ण सूत्र प्रदान गरे -

‘दुर्जन: सज्जनो भूयात् सज्जन: शान्तिमाप्नुयात्। शान्तो मुच्येत बंधेभ्यो मुक्त: चान्यान् विमोचयेत्॥’
अर्थात् दुर्जन सज्जन बनून्, सज्जनले शान्ति प्राप्त गरून्, शान्तजनहरू बन्धनबाट मुक्त होऊन् र मुक्तजनले अन्य व्यक्तिहरूलाई मुक्त तुल्याऊन्।

आफ्नो विशिष्ट प्रयोजन पूर्ण भएपछि तेतीस वर्षको अल्पायुत्वमा नै उनी यस नश्वर शरीरलाई त्यागेर जीवनमुक्त भएर गए।

ब्रह्मसूत्रको शाङ्कर भाष्य रचना गरेर विश्वलाई एउटा सूत्रमा बाँध्ने प्रयास पनि शङ्कराचार्यले नै गरेका हुन्, जुन सर्वसाधारण मनुष्यबाट असम्भव थियो। हामी शङ्कराचार्यको दार्शनिक सिद्धान्तमा सगुण र निर्गुण दुबै ब्रह्मको अनुभूति एकै पटक गर्न सक्दछौं। उनका मतमा निर्गुण ब्रह्म निराकार ईश्वर हुन् र सगुण ब्रह्म भनेका साकार ईश्वर हुन्। जीवलाई उनी अज्ञानस्वरूप र व्यष्टिको उपाधि प्रदान गर्दछन्। तत्त्वमसि अर्थात् तिमी नै ब्रह्म हौ, अहं ब्रह्मास्मि अर्थात् म नै ब्रह्म हुँ, अयमात्मा ब्रह्म अर्थात् यो आत्मा नै ब्रह्म हो यी बृहदारण्यकोपनिषद तथा छान्दोग्योपनिषदमा उल्लिखित वाक्यद्वारा यस जीवात्मालाई निराकार ब्रह्मभन्दा अभिन्न स्थापना गर्ने प्रयत्न शङ्कराचार्यले नै गरेका हुन्। ब्रह्मलाई जगतको उत्पत्ति, स्थिति र प्रलयका निमित्त कारण बताइएको छ। ब्रह्म (सत्) त्रिकालाबाधित नित्य, चैतन्यस्वरूप तथा आनन्दस्वरूप छ भन्ने कुरालाई शङ्कराचार्यले स्वीकार गरेका छन्। जगतको स्वरूपलाई बताउँदै उनी भन्दछन् :-

नामरूपाभ्यां व्याकृतस्य अनेककर्तृभोक्तृसंयुक्तस्य प्रतिनियतदेशकालनिमित्तक्रियाफलाश्रयस्य मनसाऽप्यचिन्त्यरचनारूपस्य जन्मस्थितिभङ्गयतः
( अर्थात् नाम र रूपबाट व्याकृत, अनेकौं कर्ता एवं भोक्ताद्वारा संयुक्त, जसमा देश, काल, निमित्त र क्रियाफल समेत आबद्ध छन्, जुन जगतको सृष्टिलाई मनले पनि कल्पना गर्न सकिंदैन, त्यस जगतको उत्पत्ति, स्थिति र प्रलय जसले गर्दछ, त्यसैलाई ब्रह्म भन्दछन्।)

सम्पूर्ण जगतका जीवलाई ब्रह्मका रूपमा स्वीकार गर्नु र तर्कद्वारा त्यसलाई प्रमाणित गर्नु आदि शङ्कराचार्यका विशेषता हुन्। यसरी शङ्कराचार्यको व्यक्तित्व र कृतित्वको मूल्याङ्कनबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने समस्त सनातन धर्मलाई एउटै सूत्रमा उनेर एकताबद्ध बनाएर उनले आर्यावर्तवासीलाई ठूलो गुन लगाए तथा आर्य संस्कृतिको विकासमा उनको अमूल्य योगदान रह्यो। त्यसैले उनी एकजना महान् समन्वयवादी सन्त थिए। उनले सनातन धर्मको निभ्न लागेको दियोलाई बर्तन थपेर पुनः समुज्ज्वल र प्रकाशमय बनाई पुनस्र्थापित र आलोकित तुल्याई प्रतिष्ठित पारे। एकातिर उनले अद्वैत चिन्तनलाई पुनर्जीवित तुल्याई सनातन हिन्दु धर्मको दार्शनिक आधारलाई सुदृढ बनाए भने अर्कातिर उनले सर्वसाधारण जनमानसले पूजा आराधना गर्दै आएको मूर्तिपूजाको औचित्यलाई पुष्टि गर्ने प्रयास समेत गरे। त्यस्तै सनातन हिन्दु धर्मलाई दर्बिलो जगमा खडा गर्न उनले आफूविरोधी सम्प्रदायका तर्क र मतलाई आंशिक रूपमा भए पनि स्वीकार गरे। उदाहरणका लागि शङ्कराचार्यको मायावादमा महायानी बौद्ध चिन्तनको प्रभाव छ भन्ने मान्यता प्राप्त हुन्छ। शङ्कराचार्यको अद्वैत दर्शनको सारतत्त्वलाई यसरी पनि अर्थ्याउन सकिन्छ :-

१. ब्रह्म र जीव मूलतः र तत्त्वतः एउटै हुन्। हामी ब्रह्म र जीवमा जुन अन्तर देख्दछौं त्यसको मुख्य कारण अज्ञानता हो।
२. जीवको मुक्तिका निमित्त ज्ञानको आवश्यकता हुन्छ।
३. ब्रह्ममा लीन हुनु नै जीवको मुक्ति हो।

जगद्गुरु रामानुजाचार्य

यो नित्यमच्युतपदाम्बुजयुग्मरुक्मं 
व्यामोहतस्तदितराणि तृणाय मेने ।
अस्मद्गुरोर्भगवतोऽस्य दयैकसिन्धोः
रामानुजस्य चरणौ शरणं प्रपद्ये ॥

दक्षिण भारतको मद्रास सहरका बारेमा नसुन्ने मानिस कमै होलान् । पहिले मद्रास भनिने यस सहरलार्इ अहिले चेन्नै भन्ने गरिन्छ । कुनै समयमा यो सहर द्रविड देशमा पर्ने गर्दथ्यो । श्रीमद्भागवतको महात्म्यमा भक्तिले आफ्नो जीवनी बताउने क्रममा भनेकी छन् -

उत्पन्ना द्रविडे साहं वृद्धि कर्णाटके गता।
क्वचित् क्वचिन् महाराष्ट्रे गुर्जरे जीर्णतां गता ॥
तत्र घोरकलेर्योगात् पाखण्डै: खण्डिताङ्गका।
दुर्बलाहं चिरं जाता पुत्राभ्यां सह मन्दताम् ॥
वृन्दावनं पुन: प्राप्य नवीनेव सुरूपिणी।
जाताहं युवती सम्यक् प्रेष्ठरूपा तु साम्प्रतम् ॥

भक्तिको उत्पत्ति द्रविड देशमा भएको प्रसङ्ग माथिका श्लोकबाट थाहा पाउन सकिन्छ । त्यसैले पनि विभिन्न धर्मगुरुहरू जस्तै जगद्गुरु शङ्कराचार्य, निम्बार्काचार्य, रामानुजाचार्यलगायत साइबाबाको जन्मसमेत दक्षिण भारत (द्रविड देश) नै भएको हुनुपर्छ । मद्रास सहरकै छेउमा एउटा पेरुम्बुदुर नाम गरेको ठाउँ छ । त्यहाँ आजभन्दा करिव एक हजार वर्ष पहिले वि. सं. १०७४ मा वैशाख शुक्ल पञ्चमीका दिन विशिष्टाद्वैत सम्प्रदायका प्रवर्तक भगवान् भाष्यकार स्वामी रामानुजाचार्यको जन्म भएको थियो । जगद्गुरु रामानुजाचार्य वैष्णव सम्प्रदायका प्रमुख आचार्यहरूमध्ये एक जना विशिष्ट आचार्य मानिन्छन् । यिनकै शिष्यपरम्परामा रामानन्द, कबीर र सुरदास जस्ता अन्य प्रसिद्ध आचार्यहरूको गणना हुने गर्दछ । रामानुजाचार्यले वेदान्त दर्शनमा आधारित आफ्नो छुट्टै नवीनतम दार्शनिक सिद्धान्त विशिष्टाद्वैतको रचना गरेका हुन् । उनले वेदान्तको उक्त सिद्धान्तबाहेक विक्रमको सातौंदेखि दसौं शताब्दीका माझमा दक्षिण भारतमा प्रचलित रहस्यवादी र भक्तिमार्गी अलवार (आचार्य) र सन्तहरूको भक्तिदर्शन र पाञ्चरात्र पद्धतिलाई आफ्नो विचारको मुख्य आधार बनाएका थिए ।

काञ्चीका यादवप्रकाश नाम गरेका गुरुबाट उनले वेदाध्ययन गरेका थिए । असाध्यै कुशाग्र बुद्धि भएका रामानुज गुरुले पढाउँदै गर्दा कहाँ त्रुटि भयो, औंल्याइहाल्दथे । यस्तो प्रखर प्रतिभा भएकाले उनी बाल्यावस्थादेखि नै अमूर्त दार्शनिक तत्त्वलाई बुझ्न, त्यसमा आफ्ना नवीनतम  धारणा बनाउन र भाष्य प्रस्तुत गर्ने क्षमता वहन गर्दथे । एक पटक उनले गुरु यादवप्रकाशले गरेको श्रुतिको व्याख्याका विषयमा असहमति प्रकट गरेका थिए भन्ने आहान प्रचलनमा छ । त्यस असहमतिको प्रसङ्ग यस्तो छ - गुरु यादवप्रकाशले 'कप्यासं पुण्डरीकाक्षम्'  भन्ने पदावलीको व्याख्यान गर्दा भगवानका आँखा बाँदरको चाकजस्तो रातो छ भनेका थिए, तर श्रीरामानुजाचार्यले आफूभित्र रहेको शास्त्रीय ज्ञान र विलक्षण प्रतिभाको परिचय दिंदै 'जलं पिबति इति कपि: सूर्य:, तेन आस्यते क्षिप्यते इति कप्यासम् कमलम्' यस्तो लौकिक विग्रह प्रस्तुत गरी 'कप्यासः' यस पदको अर्थ अगाध जलराशिमा उत्पन्न र उदाउँदो सूर्यकिरणबाट नवविकसित कमल दलसमान भगवान् नारायणका युगल नेत्र छन् भनी शास्त्रसम्मत र लोकसम्मत सुन्दर अर्थ लगाए । यसरी आफ्नो एउटा फुच्चे शिष्यले यस्तो सुन्दर व्युत्पत्ति र अर्थ गरेकाले गुरु यादवप्रकाशको हृदयमा उनीप्रति द्वेषभाव उत्पन्न भयो । उनले षड्यन्त्र गरी रामानुजलाई मार्ने योजना बनाए । तर शेषावतार भएकाले हरहमेशा उनीमाथि भगवान् वैकुण्ठनाथको छत्रछाया रहने गर्दथ्यो, त्यसैले भगवत्कृपाले उनलाई केही पनि भएन । उमेर बृद्धिसँगै भगवद्रामानुजको विद्वत्ता र ख्यातिमा निरन्तर बृद्धि हुँदै गयो । उनको उचित समयमा विवाह पनि भएको थियो, तर लामो समय दाम्पत्य जीवन चलेन । उनी युवावस्थामा नै सन्न्यासी बन्न पुगे । दक्षिण भारतको आन्ध्रप्रदेशमा रहेको श्रीरङ्गम् भन्ने स्थानमा पुगी उनले यतिराजबाट दीक्षा ग्रहण गरी सन्न्यासाश्रममा प्रवेश गरेका थिए ।

रामानुजको सन्न्यास जीवन प्रारम्भ भएपछि अब यिनको सम्पूर्ण समय अध्ययन, चिन्तन र भगवद्भक्तिमा व्यतीत हुन थाल्यो । उनका अनुयायी र शिष्यहरूको सङ्ख्यामा पनि दिनानुदिन बृद्धि हुन थाल्यो । कतिसम्म भने बाल्यावस्थामा यिनलाई वेद पढाउने तथा द्वेषबुद्धिले गर्दा उनलाई नै मार्न तानाबुना रच्ने गुरु यादवप्रकाश स्वयंले पनि कालान्तरमा यिनको शिष्यत्व ग्रहण गरेका थिए । भगवद्रामानुजद्वारा प्रतिपादित सिद्धान्तलाई विशिष्टाद्वैत सिद्धान्त भनिन्छ । श्रीरामानुजाचार्य असाध्यै विद्वान, सदाचारी, धैर्यवान् र उदार व्यक्तित्व थिए । चरित्रबल र भक्तिभावमा उनलाई अद्वितीय नै मान्ने गरिन्छ । उनले कतिपय दुरूह योगहरूमा पनि सिद्धि प्राप्त गरेका थिए । उनको जीवनको अधिकतम समय दक्षिण भारतको काञ्चीपुरम् भन्ने ठाउँमा रहेको वरदराज मन्दिरमा बितेको थियो । यिनले सन्न्यास ग्रहण गरेको ठाउँ  श्रीरङ्गम् भने काञ्चीबाट दक्षिणपश्चिम दिशामा करिव ३०० किलोमिटर टाढा पर्दछ ।

एक पटकको घटना हो श्री रङ्गम् मठका मठाधीश यामुनाचार्य मृत्युसन्निकट अवस्थामा थिए । अब आफ्नो जीवनलीला समाप्त हुँदैछ भन्ने थाहा पाएर उनले श्रीरामानुजाचार्यलाई आफ्ना समीपमा आइदिए हुन्थ्यो भनी एक जना शिष्यमार्फत सन्देश पठाए । तर रामानुज काञ्चीबाट श्रीरङ्गम् पुग्दानपुग्दै यामुनाचार्यले वैकुण्ठ प्रस्थान गरे । उनको नश्वर शरीरको सद्गत गर्न बाँकी नै थियो, रामानुज पनि श्रीरङ्गम् आइपुगे । यामुनाचार्यको मृत शरीरका दाहिने हातका तीनवटा औंला दोब्रिएका देखिन्थे ।  श्रीरामानुजाचार्यलाई यामुनाचार्य यी औलाका माध्यमबाट केही सन्देश प्रदान गर्ने इच्छा राख्दै गर्दा बितेका हुन् भन्ने आभाष भयो । त्यसपछि उच्चस्वरमा रामानुजले उद्घोष गरे - 'म विष्णुमतमा रहेर अज्ञानताले मोहजालमा जकडिएका मानिसहरूलाई पञ्च संस्कारले युक्त द्रविड वेदमा पारङ्गत बनाएर शरणागति धर्मप्रति उन्मुख बनाई तिनको सर्वदा रक्षा गर्नुका साथै आलवार भक्तहरूद्वारा गायन गरिएका पदहरूको सङ्ग्रह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।' रामानुजले यति भन्नासाथ यामुनाचार्यको मृत शरीरमा खुम्चिएका औंलामध्ये एउटा औंलो सोझियो । त्यसपछि पनि रामानुजले आफ्ना उद्गार जारी राख्दै भने - 'म सामान्य जनमानसको रक्षाका निमित्त समस्त अर्थको सङ्ग्रह गरी मङ्गलमय परम तत्त्वज्ञानको प्रतिपादन गर्ने श्रीभाष्यको रचना गर्नेछु ।' यति भन्नासाथ यामुनाचार्यको अर्को एउटा औंलो पनि सोझियो । रामानुजले फेरि पनि वाचा गर्दै गए - 'सांसारिक मनुष्यको दयाभावले जीव, ईश्वर, जगत्, तिनको प्रकृति र स्वभाव तथा उन्नतिको उपायको सुस्पष्ट व्याख्यान गरी ऋषि पाराशर (व्यास) द्वारा रचित श्री विष्णुपुराणको रचनाकारको गर्ने ऋणबाट ऊऋण हुन म कुनै वैष्णव पण्डितलाई तिनै ऋषिको नाम प्रदान गरी सम्मान गर्नेछु ।' रामानुजले यति भन्नासाथ यामुनाचार्यको खुम्चिएको अन्तिम औंलो पनि सोझिन पुग्यो । यस्तो परिदृश्य देखेर त्यहाँ उपस्थित सबै जना छक्क परे । तिनलाई अहिले वाचा गरिरहेको नवयुवकले छिट्टै नै आलवन्दार (श्रीयामुनाचार्य) को पदमा आसन ग्रहण गर्नेछ भन्ने कुरामा कुनै सन्देह भएन । श्रीरामानुजाचार्यले 'श्रीभाष्य' को रचना गरे, आलवन्दार (वैष्णव आचार्य) हरूद्वारा गायन गरिने पदहरूको सङ्ग्रह गरी 'दिव्यप्रबन्धनम्' को सङ्कलन गरे र दक्षिण भारतका तात्कालिक आठ जना दिग्गज आचार्यहरूमध्ये एक जना श्रेष्ठ वैष्णवाचार्यलाई 'पाराशर' नाम राखेर सम्मान गरे । यसरी श्रीयामुनाचार्यलाई प्रदान गरेका तीनवटै वचनलाई रामानुजले पूर्ण गरे भन्ने लोकोक्ति अहिले पनि दक्षिण भारतका वैष्णवजनहरूमाझ चर्चा हुने गर्दछ ।

श्रीरामानुचार्य गृहस्थ सन्त थिए, तर किन्तु गृहस्थी जीवनमा आबद्ध रहँदा आफ्ना उद्देश्य पूर्ण गर्न असमर्थ रहने लक्षण देखेपछि उनले गृहस्थाश्रम त्यागेर श्रीरङ्गम् पुगी सन्न्यास धर्मको दीक्षा लिएका थिए । यिनका गुरु यादवप्रकाशले आफ्नो पाठशालामा रहँदा रामानुजप्रति देखाएको वैरभाव र प्रतिशोधप्रति पछुतो मान्नुपर्यो र उनी पनि कालान्तरमा रामानुजसँगै सन्न्यासको दीक्षा प्राप्त गरी उनकै सेवासुश्रुषामा संलग्न हुनपुगे । रामानुजले अर्का आचार्य गोष्ठीपूर्णबाट अष्टाक्षरी 'ॐ नमो नारायणाय' यस मन्त्रको दीक्षा र उपदेश प्राप्त गरेका थिए । गोष्ठीपूर्ण गुरुले रामानुजाचार्यलाई अष्टाक्षरी नारायण मन्त्रको उपदेश गर्दै भनेका थिए - 'हे वत्स! यो परम पावन मन्त्र, जसको सुमधुर ध्वनि कानमा गुन्जिनासाथ व्यक्ति समस्त पापराशिबाट मुक्त हुन्छ, मरणोपरान्त भगवान् नारायणको दिव्य वैकुण्ठधाममा पुग्न पाउँछ, यो अत्यन्त गुप्त मन्त्र हो । यस मन्त्रलाई कुनै पनि अयोग्य व्यक्तिका कानमा नपार्नू, किनभने अयोग्य व्यक्तिले यस मन्त्रको आदर र सम्मान गर्न सक्दैन ।' गुरुले आफूलाई प्रदान गरेको अष्टाक्षरी मन्त्र कसैलाई पनि नसुनाउनु भनेर निर्देश गर्नुभएको थियो, तर जुन मन्त्रले असङ्ख्य मानव र जीवको मुक्तिमार्ग सहजै खुल्दछ, त्यस्तो मन्त्र झन् धेरै प्रचारप्रसार गर्नु ठीक हुन्छ भन्ने ठानेर रामानुजले मन्दिरको गोपुर (छानो) मा चढेर ठूलो स्वरले कराउँदै असङ्ख्य नरनारीलाई सुनाएका थिए । गुरुले आफ्नो अवज्ञा भएको ठाने र तुरुन्त रामानुजलाई नरक जानुपरोस् भनी श्राप दिए । गुरु क्रुद्ध भई आफूले श्राप पाएको चाल पाएर हाँसीहाँसी रामानुजले जवाफ दिएका थिए - 'यदि यस परम मन्त्रको श्रवण गरेर हजारौंहजार नरनारीले मुक्ति प्राप्त गर्दछन् भने म खुसी हुँदै नरक जान तैयार छु ।' भगवद्रामानुजको यस्तो उत्तर सुनेर गुरु गोष्ठीपूर्ण पनि प्रसन्न भए र रामानुजलाई लोकको जगद्गुरु भएस् भनी विशेष आशीर्वाद दिए ।

श्रीरामानुजाचार्यले यामुनाचार्यलाई आफ्नो मानसिक गुरु मानेर उनका शिष्य महापूर्णका सान्निध्यमा करिव छ महिनासम्म रहेर यामुनाचार्यका दार्शनिक सिद्धान्त र विचारको अध्ययन गरे । त्यसपछि एक वर्षसम्म सम्प्रदायका गोष्ठी, सभा र कार्यक्रममा सामेल भएनन् । त्यसपछि उनले भारतवर्षको पदयात्रा प्रारम्भ गरे । यस अवसरमा विष्णु मन्दिरका संरक्षकहरू, पण्डित र विद्वानहरूसित शास्त्रार्थ गरे । शास्त्रार्थमा पराजित भएका सबै विद्वानहरूले उनको शिष्यत्व ग्रहण गरे । उनले कतिपय महत्त्वपूर्ण र विशिष्ट मन्दिरहरूको निर्माण र जीर्णोद्धार गरे । यसरी उनको वैष्णव मत र श्रीसम्प्रदायको प्रचारप्रसार र श्रीबृद्धि हुनपुग्यो । अन्त्यमा दक्षिण भारतको श्रीरङ्गम् भन्ने स्थानबाट पैदल यात्रा गरी उत्तराखण्डको नेपाल देशमा पर्ने मुक्तिक्षेत्रको शालिग्राम क्षेत्रमा अाएर बाह्र वर्षसम्म साधना गरे । रामानुज स्वामीले उक्त अवधिमा श्रीसम्प्रदायको प्रचारप्रसारमात्र गरेनन्, यस अतिरिक्त ब्रह्मसूत्र, विष्णुसहस्रनाम र दिव्यप्रबन्धको भाष्य लेख्ने गुरुअाज्ञालार्इ पूर्णता प्रदान गर्ने कामसमेत सम्पादन गरे । त्यसपछि पनि उनले समस्त भारतवर्षको पैदल यात्रा गरी वैष्णव धर्मको प्रचारप्रसार गरे । वि. सं. ११९४ मा रामानुज स्वामीले १२० वर्षको उमेर पार गरी सांसारिक नश्वर देह त्यागी वैकुण्ठ प्रस्थान गर्दै भगवद्सान्निध्य प्राप्त गरे । शालग्राम क्षेत्रमा रचना गरिएका तिनै तीनवटा भाष्यहरू (ब्रह्मसूत्रको भाष्य, श्रीभाष्य र वेदार्थसङ्ग्रह) नै स्वामी रामानुजका उपलब्ध मूल ग्रन्थहरू हुन् ।

विशिष्टाद्वैत दर्शन : 
स्वामी रामानुजाचार्यको विशिष्टाद्वैत दर्शनमा सत्ता अथवा 'परमसत्'का तीनवटा तह छन्, ती हुन् - ब्रह्म अर्थात ईश्वर, चित् अर्थात आत्मा र अचित् अर्थात प्रकृति । वस्तुतः यी चित् अर्थात् आत्मतत्त्व र अचित् अर्थात् प्रकृतितत्त्व ब्रह्म अथवा ईश्वरभन्दा पृथक् वा फरक छैनन् । बरु यिनीहरू विशिष्ट ढङ्गले ब्रह्मकै स्वरूप हुन् र यी दुबै ब्रह्म अर्थात् ईश्वरमा आधारित छन् । यही स्वामी रामानुजाचार्यको विशिष्टाद्वैत सिद्धान्तको सार तत्त्व हो । जसरी शरीर र आत्मा फरक हुन्, तर कार्यभावले पृथक् मान्न सकिंदैन । किनभने आत्माको उद्देश्यपूर्तिका लागि शरीरले कार्य सम्पादन गर्दछ, त्यसरी नै ब्रह्म वा ईश्वरभन्दा पृथक् चित् र अचित् तत्त्वको कुनै अस्तित्व वा सत्ता स्वीकार गर्न सकिंदैन । ती ब्रह्म वा ईश्वरको शरीर हुन् भन्दा हुन्छ र त्यसरी नै ब्रह्म वा ईश्वर चित् र अचित् दुबै तत्त्वको आत्मासमान हो ।

भक्तिको तात्पर्य : 
रामानुज स्वामीको मतमा भक्तिको अर्थ पूजा, पाठ, कीर्तन वा भजन होइन, भक्ति भनेको त ध्यान र प्रार्थना हो । सामाजिक परिप्रेक्ष्यमा स्वामी रामानुजाचार्यले भक्तिलार्इ जाति र वर्गबाट अलग्ग सर्वग्राह्य मानेको पाइन्छ ।

Tuesday, April 17, 2018

परशुराम जयन्ती

परशुराम राजा प्रसेनजितकी छोरी रेणुका र भृगुवंशीय ब्राह्मण जमदग्निका सुपुत्र हुन् । उनी भगवान् विष्णुका मुख्यमुख्य दशवटा अवतारमध्ये छैटौं अंशावतार हुन् । त्यस्तै उनी आशुतोष भगवान् शिवका परम भक्त मानिन्छन् । हिन्दु परम्परामा सदैव जीवित रहने भनी विश्वास गरिने आठ जना चिरञ्जीवीमध्ये यिनी पनि एक जना चिरञ्जीवीका रूपमा प्रतिष्ठित छन् ।

यिनले भगवान् शिवबाट परशु (बन्चरो आकारको अस्त्र विशेष) प्राप्त गरेका थिए । सुरुमा यिनको नाम 'राम'मात्र थियो, तर पछि शिवबाट अमोघ अस्त्र परशु प्राप्त गरेका र सदैव परशुलाई धारण गर्ने भएकाले यिनको नामअगाडि 'परशु' शब्द गाँसिन गएकाले यिनलाई परशुराम भन्न थालियो । ऋषि जमदग्निका सुपुत्र भएकाले यिनलाई 'जामदग्न्य' नामले पनि चिनिने गर्थ्यो । यिनको जन्म अक्षय तृतीया (वैशाख शुक्ल तृतीया) का दिन भएको थियो । तृतीया तिथिको सन्ध्याकालमा जन्म भएकाले प्रत्येक वर्षको वैशाख महिनाको शुक्लपक्षको जुन दिन ठिक्क साँझ (सूर्यास्त)को समयमा तृतीया तिथिको संयोग हुन्छ, त्यसै दिन परशुराम जयन्ती मनाउने प्रचलन छ । यिनले ब्राह्मण वंशमा जन्म लिए पनि तत्कालीन समाजमा क्षत्रियहरूले पृथ्वीमा अन्याय, अत्याचार र धर्मको नाश गरी शासन गरेको हुँदा क्षत्रियहरूको अभिमान, घमण्ड र अहङ्कारलाई निस्तेज तुल्याई भूभार हरण गरेका थिए । यसरी क्रूर र अत्याचारी शासकहरूको अहङ्कारले भरिपूर्ण दमन, अन्याय र कदाचारबाट विश्वलाई मुक्ति प्रदान गर्न नै भगवान् विष्णुको अंशस्वरूप परशुरामको जन्म भएको थियो ।

 भृगुले आफ्ना छोरा ऋचिकको विवाहोत्सवपछि बुहारी सत्यवतीलाई आशीर्वाद दिंदै वर माग्न आग्रह गरे । उनकी नवविवाहिता बुहारीले आफ्ना  लागि साथै आफ्नी पुत्रहीन माताका निमित्तसमेत पुत्रप्राप्तिको कामना गरिन् । त्यसपछि महर्षि भृगुले पुत्रको कामनाले गरिने एउटा पुत्रेष्टि यज्ञको आयोजना सम्पन्न गरे । कुनै कुनै पुराणमा उक्त यज्ञ ऋषि ऋचिकको आचार्यत्वमा सम्पन्न भएको प्रसङ्ग लेखिएको पाइन्छ । जे होस्, आचार्यले  यज्ञको समापनमा अभिमन्त्रणा गरिएको जल र चरु खान भनी छुट्टाछुट्टै पात्रमा राखेर आमा र छोरी दुबैलाई दिंदा भए । दुबै जनाले ऋतुकालपछि स्नानादि गरी चरु र अभिमन्त्रित जल खाए, तर त्यसरी चरु र जल खाँदा उल्टोपाल्टो भयो । महर्षि भृगुले उक्त कुरो चाल पाए र बुहारी सत्यवतीलाई भने - 'तिम्री आमाका गर्भबाट जन्म हुने छोराले क्षत्रिय कुलमा जन्म लिए पनि ब्राह्मणोचित कर्म सम्पादन गर्नेछ, अनि तिमीले पाउने छोराले ब्राह्मण कुलमा जन्म लिए पनि क्षत्रीयोचित कर्म गर्नेछ ।' ससुराका यस्ता कुरा सुनेपछि सत्यवतीले 'जे हुनु थियो भइ हाल्यो, तर मेरो पुत्रमा ब्राह्मणोचित संस्कार हुनु पर्छ, एउटा दिव्यज्ञान भएका ऋषिकी सहधर्मिणी भएकी हुँदा मैले पाउने छोरोले ऋषिकुलको परम्परालाई निर्वाह गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।  अतः हजुरले जसरी भए पनि आफ्ना योगबलले हामी आमाछोरीबाट भएको त्रुटिको निवारण गरिदिनु पर्यो ।' निकै अनुनय र विनय गरेपछि भृगुले भने - 'ठिकै छ, अहिले तिमीले पाउने छोरो ब्राह्मणोचित कर्म सम्पादन गर्ने नै हुनेछ, तर तिम्रो एउटा नातिमा क्षत्रीयोचित गुण प्राप्त हुनेछ ।'

त्यसपछि सत्यवतीको कोखबाट जमदग्निको जन्म भयो, उनकी आमाको कोखबाट राजर्षि विश्वामित्रको जन्म भयो  । जमदग्नि पनि पितामह भृगु र पिता ऋचिकजस्तै ब्रह्मवेत्ता र तेजस्वी ऋषि भए । उनले राजा प्रसेनजितकी छोरी रेणुकासित विवाह गरे । रेणुकाको गर्भबाट जमदग्निका पाँच भाइ छोराहरू जन्मिए । तिनीहरूमध्ये क्रमशः जेठा रुक्मवान्, माहिला सुषेण, साहिंला वसु, काहिंला विश्वावसु र कान्छा परशुराम थिए । त्यसरी आफ्नी हजुरामाले त्रुटिवश चरुभक्षण गरेको हुँदा त्यसको प्रभावले उत्पन्न हुने क्षत्रीयोचित गुणयुक्त ब्राह्मणका रूपमा परशुरामको जन्म भएको थियो ।

एक पटक गङ्गामा स्नान गरेर सद्यस्नाता रेणुका घर फर्कंदै थिईन् । गङ्गाको मनोरम तटमा गन्धर्वका राजा चित्ररथ स्वर्गका अप्सराहरूका साथमा हासपरिहास र केलिक्रीडा गरिरहेका थिए । रेणुकाले तन्मय भई चित्ररथ र अप्सराका क्रियाकलापलाई हेर्न थालिन् । उनलाई आश्रममा पुग्न केही विलम्ब भयो । उता उनी आश्रम पुग्नुअघि नै ऋषि जमदग्निले दिव्यदृष्टिबाट उक्त घटनाको जानकारी पाइसकेका थिए । उनमा क्रोधाग्निको ज्वाला दन्कीसकेको थियो । रेणुका आश्रममा आइपुग्नासाथ पतिले उनलाई मार्ने आदेश दिए र छोराहरूलाई डाक्दै त्यसरी परपुरुषका यौनमय क्रियाकलापप्रति अनुराग राख्ने आमाको हत्या गर्ने आदेश दिए । क्रमशः जेठा, माइला, साहिंला र काहिंला कुनै पनि छोराले उनको आदेशलाई स्वीकार गरेनन् । रिसले चुर्मुरिएका ऋषिले ती चारै भाइलाई जडबुद्ध (अचेतन र मूर्ख) हुनु भनेर श्राप दिइहाले । त्यसपछि कान्छो छोरो परशुरामलाई बोलाएर आफ्नो आदेश कार्यान्वयन गर्ने आज्ञा दिए । पिताको आज्ञालाई उनले तुरुन्त पालना गरे र आमाको बध गरिदिए । कान्छो छोरो परशुरामसित जमदग्नि प्रसन्न भए र इच्छामाफिकको वर माग्न आग्रह गरे । परशुरामले बाबुको आज्ञाको पालना त गरेका थिए, तर उनलाई आमाप्रति पनि अगाध माया र श्रद्धा थियो, उनलाई आफ्ना पितामा विशिष्ट सामर्थ्य छ भन्ने पनि थाहा थियो । त्यसैले मौकाको अनुकूलता विचार गरी उनले तुरुन्त वर माग्दै पितासँग विनम्र भावमा बिन्ती गरे - 'हे पिता ! हजुर मदेखि साँच्चै नै प्रसन्न हुनुहुन्छ भने मेरी आमा पुनः जीवित तुल्याउनु हवस् र मेरा यी अचेत भएका दाजुहरूले हजुरको अवज्ञा गर्नाले जुन श्राप पाएका छन्, त्यसको समेत निवारण गरिदिनु होस् ।' जमदग्नि कान्छो छोरो परशुरामको आज्ञाकारिता र चतुर्याइँबाट अतीव प्रसन्न भए र उनको इच्छामुताबिक वर दिए । त्यसबाहेक जमदग्निले परशुरामलाई चिरञ्जीवी र अमर हुने थप वरदानसमेत प्रदान गरे । त्यसैले परशुराम सप्त चिरञ्जीवीमध्ये एक जना चिरञ्जीवीका रूपमा प्रतिष्ठित हुनपुगे ।

एक दिन आश्रममा परशुराम, ऋषि जमदग्नि र उनका दाजुहरू नभएको वेलामा त्यतिवेलाको क्रूर शासक कार्तवीर्य आइपुग्यो । हजारवटा हात भएकाले उसको अर्को नाम सहस्रार्जुन पनि थियो । जमदग्निको आश्रममा कामधेनु गाई थियो । जे माग्यो त्यही दिने गाई देखेर त्यस्तो गाई त बाहुनका कुटिमा होइन, राजाका दरबारमा हुनुपर्छ भनी उसले रेणुकासँग गाई लिएर जाने कुरा गर्यो । रेणुकाले राजाका कुरा मानिनन् । त्यसपछि कार्तवीर्यले ऋषिपत्नी रेणुकालाई लछारपछार गर्नुका साथै आश्रम र गाइगोठलाई पनि तोडफोड गरेर फर्कियो । राजाको यस्तो अभद्र क्रियाकलापबाट क्षुब्ध भएका परशुरामले उससँग युद्ध गरी उसका हजारवटा हात काटेर सजाय दिए । त्यसपछि कार्तवीर्यका सेना आएर ऋषि जमदग्निको बध गरिदिए । त्यसपछि परशुरामले पनि संसारलाई क्षत्रियविहीन बनाउने भनी सङ्कल्प गरे र २१ पटक क्षत्रिय राजाहरूसँग ठूलाठूला युद्ध गरे । यसरी उनले क्षत्रियहरूलाई नाश गर्दै जाँदा क्षत्रियहरूको रगतले पाँच वटा तलाउ भरिएको थियो भन्ने भनाइ छ । उनले क्षत्रियहरूको बध गर्दा जम्मा भएको रगतले पितृहरूलाई तर्पण गर्ने गर्दथे । अन्तिममा आफ्नो नाति परशुरामको नृशंस कार्य देखेर उनका मृत पितामह ऋचिक पितृलोकबाट स्वयं उपस्थित भई 'अबउप्रान्त युद्ध त्यागी ज्ञानमार्ग अवलम्बन गर्नू' भनी आदेश गरी फर्किए । त्यसपछि परशुरामले क्षत्रियहरूसँग युद्ध गर्न छाडी तपस्या गर्न थाले ।

कालान्तरमा परशुरामले भगवान् शिवको आराधना गरी पिनाक धनु प्राप्त गरेका थिए । साथमा बोकेर हिंड्दा स्याहारसुसार गर्न असजिलो भएकाले केही समयका लागि मिथिलाका राजा शिरध्वज जनकका दरबारमा आफ्नो नासोका रूपमा राखिदिनु भनी उक्त धनु थन्क्याएका थिए । त्यो धनु यति भारी थियो कि निकै बलिया व्यक्तिले पनि उचाल्न र सार्न सक्दैन थिए । एक दिन आफ्नी छोरी सीताले बढारकुँडार गर्दा उक्त धनुलाई सजिलै वरपर सारेको देखेर राजा जनक छक्क परे । राजाले 'जसले उक्त धनुमा ताँदो चढाउने सामर्थ्य राख्छ, त्यसैलाई मेरी छोरीको विवाह गरिदिन्छु' भनी स्वयंवरको उर्दी जारी गरे । देशदेशान्तरमा यो खबर फैलियो । त्यतिवेला अयोध्याका राजकुमार राम र लक्ष्मण जनकपुर नजिकैको विश्वामित्र आश्रम (सप्तकोसीको आसपास, चतरा र रामधुनी) मा बसी विद्याध्ययन गर्दै थिए । संसारभरिका राजा र राजकुमारका साथमा रामचन्द्रले पनि उक्त धनुषयज्ञमा भाग लिए । उचालेर ताँदो हाल्नु त पर जाओस्, कसैले पनि धनुलाई टसको मस हल्लाउन पनि सकेन । तर रामचन्द्रले उचालेर ताँदो चढाउन खोज्दा पिनाक धनु भाँचियो । यसरी रामचन्द्रद्वारा शिवको धनुष भाँचिएको खबर सुनेर परशुराम क्रुद्ध भए र उक्त धनुष यज्ञमा पुगे । यसरी राम र परशुराम दुबै विष्णुका अंशावतारको त्रेता युगमा जनकपुरमा मिलन हुन पुगेको थियो । उनले सुरुमा रामचन्द्रलाई सामान्य राजकुमार ठानी भन्नु नभन्नु अनेक थोक बोलेर अपमान गर्न खोजेका थिए । तर पछि उनले रामचन्द्रसमक्ष आफ्नो धनुलाई पनि ताँदो चढाउनू भनी प्रस्ताव गरे । रामले उनको धनुमा पनि सजिलै ताँदो चढाएको देखेर उनलाई यी सामान्य मनुष्य होइनन्, विष्णुकै अवतार हुनुपर्छ भन्ने बुझ्न समय लागेन । त्यसपछि भुलचुकमा माफी माग्दै रामचन्द्रको वन्दना गरी परशुराम पुनः तपस्या गर्न वनतर्फ बाटो लागे ।

अर्को पटक रामको पराक्रमको वर्णन सुनेर उनी अयोध्या पुगे । दशरथले परशुरामको स्वागत गर्न रामचन्द्रलाई पठाए । आफ्नो आवाभगतमा आएका श्रीरामलाई देख्नासाथ परशुरामले उनको पराक्रमको परीक्षा लिने विचार गरे । परशुरामले रामलाई क्षत्रिय संहारक दिव्य धनुषमा प्रत्यञ्चा (ताँदो) चढाउन अनुरोध गरे । रामले ताँदो चढाए, त्यसपछि पुनः उक्त धनुमा एउटा दिव्यवाण राखी कतै प्रहार गर्नू भने । रामले त्यस धनुमा एउटा दिव्य वाण राखी उक्त वाण परशुरामको शरीरमा नै छाडिदिए । त्यस दिव्यास्त्रले परशुरामभित्र भएको समस्त शक्ति, सामर्थ्य र तेजलाई शोषण गरी पुनः उक्त धनुमा नै फिर्ता आयो । यसरी परशुरामको सामर्थ्य र शक्ति समाप्त भयो । त्यसपछि रामले तेजहीन भएका परशुरामलाई दिव्यदृष्टि प्रदान गरे, जसबाट उनले रामको यथार्थ स्वरूपको दर्शन पाए । यस घटनापछि एक सय वर्षसम्म लज्जित, तेजहीन र अभिमानशून्य भएर परशुराम तपस्यामा लीन भए, तदनन्तर पितृहरूको प्रेरणा प्राप्त गरी 'वधूसर' नाम गरेको नदीमा गई तीर्थस्नान गरेपछिमात्र उनले पुनः आफ्नो तेज प्राप्त गरेका थिए ।

परशुराम कुण्ड
भारतवर्षको उत्तरपूर्वमा पर्ने असम प्रान्तको पूर्वी भाग (हालको अरुणाञ्चल प्रदेशको तेजु जिल्ला) बाट ब्रह्मपुत्र नदीले हिमालय पारीको यात्रा समाप्त गरी भारत वर्षमा प्रवेश गरेको देखिन्छ । ब्रह्मपुत्र नदीका निकै शाखाहरू छन्, तीमध्ये एउटा भङ्गालोको नाम हो - लोहित । उक्त नदीको किनारमा 'परशुराम कुण्ड' नामक तीर्थस्थल छ । परशुरामले उक्त स्थानमा तपस्या गरी भगवान् शिवबाट परशु प्राप्त गरेका थिए भन्ने मान्यता छ । पिताको आज्ञानुसार आमाको बध गर्न उक्त बन्चरो कै प्रयोग गरेको तथा २१ पटक क्षत्रियहरूको बध गर्न पनि उक्त अस्त्रकै प्रयोग भएकाले प्रायश्चित्तका लागि भारतवर्षका सारा तीर्थस्थलको दर्शन र स्नानपछि अन्त्यमा पुनः उक्त स्थानमा आई बन्चरो (परशु) पखाली उनले त्यसलाई विसर्जन समेत गरेको विश्वास गरिन्छ । यहाँ प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा मकर स्नान गर्न देशदेशान्तरबाट असङ्ख्य भक्तजनहरू आउने गर्दछन् । भारत सरकारले सीमान्त क्षेत्र भएकाले संवेदनशील र आदिवासी क्षेत्रको घोषणा गरेकाले माघे सँग्रातीबाहेक अरु वेला त्यहाँ जान विशेष पास लिएरमात्र जान सकिने व्यवस्था छ । त्यसैले वर्षमा एक पटक माघे सङ्क्रान्तिमा त्यहाँ निकै भीडभाड हुन्छ ।

यस कुण्डको वरिपरि करिब ५० किलोमीटरको क्षेत्रभित्र उचित बजार र बसोबासको व्यवस्था नभएकाले अरु वेलामा पुग्ने भक्तजनले नजिकैको ठूलो बजार तेजु वा तीनसुकियाबाट प्राइभेट गाडी रिजर्ब गरी उक्त स्थानमा पुगी, दर्शन गरी पुनः फिर्ता आउनु वेस हुन्छ । हुन त परशुरामकुण्डमा क्षत्रियहरूको रगत सङ्कलन गरी तैयार गरिएका पाँच वटा कुण्ड छन् भन्ने भनाइ छ, भनिन्छ परशुरामले तिनै कुण्डको रगतले आफ्ना पितृहरूको तर्पण गरेका र दिव्यपितृहरूको दर्शन पाई आशीर्वाद प्राप्त गरेका थिए । तर अहिले प्रत्यक्षतः त्यहाँ कुण्ड (तलाउ वा पोखरीजस्तो) को आकृतिमा कुनै दह छैन । नजिकै वहने लोहित गङ्गाको तटमा बनेका ससाना डोबिल्काहरूलाई नै कुण्डका रूपमा लिइने गरिन्छ । लोहित नदीको अर्थ पनि रगत र रातो रङ भन्ने हुन्छ । अतः त्यसैलाई परशुराम कुण्डका रूपमा व्याख्या गरिएको हुनसक्छ ।

पुत्रको कामनाले गरिने तीर्थाटनमा परशुराम कुण्डको समेत चर्चा हुने गर्दछ । पुत्रप्राप्तिमा कठिनाइ भइरहेका दम्पतीले परशुराम कुण्डमा गई स्नानादि गरी पितृहरूको श्राद्धतर्पणादि गरी आशीर्वाद प्राप्त गर्न सकेमा कुलको नाम समुज्ज्वल बनाउने एउटा दीर्घायु पुत्र प्राप्त हुन्छ भन्ने विश्वास छ । तर त्यसरी जन्मिएको बालकलाई पनि पछि बाबुले उक्त कुण्डमा पुर्याई स्नानदर्शन गराउनु पर्दछ भन्ने भनाइ पनि छ । आमाको बध गरेको खुँडो सेलाएको स्थान भएकाले परशुराम कुण्डमा एकसाथ पुत्रका साथमा आमाले यात्रा गर्नुहुँदैन भन्ने लोकोक्ति पनि प्रचलनमा रहेको पाइन्छ ।

Friday, November 3, 2017

गुरु नानक

सामाजिक सहयोग र सेवा भावनाका लागि सबैभन्दा उदार भावना भएको धार्मिक तथा जातीय समुदाय शिख हो भन्दा अत्युक्ति नहोला । कार्तिक महिनाको पूर्णिमा शिख धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाड हो । यो दिन गुरु नानक जयन्ती हो, तर शिखहरू यस दिनलाई गुरुपूर्णिमा भन्दछन् । यसै दिन शिखहरूका प्रथम गुरु गुरु नानकको जन्म भएको हो । शिख धर्मावलम्बीहरूले यस दिनलाई हर्ष र उल्लासका साथ मनाउँदछन् ।

विशेषगरी १५औं शताब्दीताका अर्थात् मुगलकालमा भारतमा धर्मको नाउँमा अत्याचार, अधर्म, कलह, वैमनस्यता र राक्षसी प्रवृत्ति बढेको थियो । हिन्दूभुमि भएर पनि भारतमा अज्ञानताको अन्धकारले सीमा नाघेपछि पुनः ज्ञान र धर्मको दिव्यदीपको खोजी भइरहेको थियो । यसै कालखण्डमा एक यस्ता महापुरुषको जन्म होस् भनी सर्वत्र प्रार्थना भइरहँदा विक्रम संवत् १५२६ (सन् १४६९) कार्तिक शुक्ल पूर्णिमाका दिन वर्तमान पाकिस्तान राष्ट्रको पञ्जाब प्रान्तमा पर्ने सेखुपुरा जिल्लाको तलबन्डी गाउँमा एउटा कट्टर हिन्दू परिवारमा पिता मेहता कल्याण दास वेदी र माता तृप्ता वेदीका सुपुत्रका रूपमा गुरु नानकको जन्म भएको थियो ।

गुरु नानक जन्मेकै क्षणदेखि विचित्र घटना हुन थालेको र नवजात शिशुमा महापुरुषका लक्षण प्रकट भएको पाइन्छ । एक वर्ष नपग्दै उनी हिंड्न थालेको र समकालीन बालकहरूसँग खेल्ने क्रमसँगै नानकले सबैलाई सत् कर्त्तार भनेर अभिवादन गर्ने गरेको कुरा प्रसिद्ध छ । आमाले घरमा खान दिएको खाने कुरासमेत भोकाहरूलाई बाँड्ने नानकको बाल्यकालका क्रियाकलापहरूबाट सबै आश्चर्य चकित हुने गर्दथे । उनको यस्तो चालचलन देखेर कतिले नानकलाई सिद्ध पुरुष ठाने भने कतिले उनलाई योगी माने । टाढाटाढाबाट साधुसन्त, पण्डित, महन्त र दैवज्ञहरू बालकको दर्शनार्थ आउन लागे । बालक नानकको दर्शनपछि ठूलाठूला विद्वान् र साधुहरूले के कुराको भविष्यवाणि गरे भने यो बालक बढ्दै गएपछि संसारलाई ज्ञानबाट पथप्रदर्शन गर्नेछ र मानिसलाई सही बाटो देखाउने छ । पुरोहितले बालकको निधार हेर्दै भने यस बालकको शिरमा त मोतीको झल्लर झुल्नेछ । यो हिन्दू, मुस्लिम सबैबाट पुजिने छ र जड चेतन सबै यसका नामोच्चारणले पवित्र हुनेछन् । तत्कालीन ज्योतिषी हरदयालले भने यो बालक त जगत्को प्रकाशक हो । मैले यस बालकका रूपमा साक्षात् परमात्माको नै दर्शन गरें, जसको प्रभाव अनेक देशदेशान्तरमा फैलने छ र जसलाई अनेक जाति र धर्मका मानिसहरूले सादर पुज्नेछन् तथा जसको दर्शनमात्रले आफ्ना सबै मनोकामना पूर्ण भएको ठान्नेछन् ।

यसरी बाल्यकालदेखि नै महापुरुषका लक्षणहरूले सम्पन्न नानक गाथा अनन्त छ । नानक अत्यन्तै दयालु र परोपकारी थिए । मातापिताले नानकको लालनपालन अत्यन्त माया र ममताले गरेका थिए । उनीहरूको नानकले ठूलो भएपछि घरपरिवारको र कारोबारको जिम्मा लिनुपर्छ भन्ने चाहना थियो । तर नानकको त दिनप्रतिदिन साधुको जस्तै एकान्तमा रमाउने र साधुको जस्तै बानीबेहोरा बढ्दै जान थालेको थियो । यसैबीच जब उनी सातआठ वर्षका भए, उनलाई गाउँको पाठशालामा पढ्न भर्ना गरियो । उनी त अरु बालबालिकाभन्दा फरक स्वभावका छात्र निस्किए । पढ्नुको अपेक्षा एकान्तमा बसेर भगवान्को भजन गाउन थाले । प्राकृतिक वस्तुहरूको निरीक्षण र साधुसन्तका उपदेशात्मक शब्दावलीमा बडबडाउन थाले । नानकको यस्तो अवस्था देखेर उनका आमाबाबुले बालकलाई के भयो भनेर आत्तिएर एक जना वैद्यलाई बोलाए । जब वैद्यले उनको परीक्षण गर्ने क्रममा नाडी(नारी) छाम्न थाल्यो, नानकले बबुरो वैद्यलाई परमात्माका लागि छटपटिएको हृदयको व्यथा के थाहा र औषधी गर्छ भन्दै वैद्यलाई घर जाने सल्लाह दिए । उनले वैद्यलाई भनेको वाणि यस्तो छ :-

वैद बुलाया वैदगी, पकड टटोले बाँह
भोला वैद न जानई, दर्द कलेजे माँह
जाहु वैद घर आपणे मेरी थाह न ले
हम स्ते शाह आपने तू किस दारु दे ।।

नानकको उमेर बढ्दै गयो, उनी अब नौ वर्षका भए । उनलाई संस्कृत भाषाको अध्ययनका लागि एउटा गुरुकुलमा लगियो । गुरुले पढाइ सुरु गर्ने उद्देश्यले सर्वप्रथम ॐ लेख्न लाउनुभयो । उनले ॐ लेख्नुअघि यसको अर्थ के हो भनी गुरुलाई जिज्ञासा राखे । गुरुले तिमी बच्चै छौ अहिले लेख्न सिक, भोलिपर्सी तिमीलाई यसको अर्थ सिकाइने छ, भन्नुभयो । नानकलाई गुरुको जवाफमा चित्त बुझेन र गुरुलाई यसको अर्थ सुनाए - ॐको अर्थ हो ईश्वर । उनको यस्तो विद्वत्तापूर्ण उत्तर सुनेपछि संस्कृतका गूरुले उनलाई पढाउन आनाकानी गर्नुभयो ।

त्यसपछि समयअनुकूल अरबी र फारसीको अध्ययन गर्नु पनि उत्तिकै वाञ्छनीय रहेकाले नानकलाई अरबी र फारसीको अध्ययनका लागि मदरसामा भर्ना गरियो । अरबीको लिपि सिकाउने क्रममा पहिलो अक्षर अलिफ लेख्न मौलबीले आदेश दिए । उनले यहाँ पनि अलिफको अर्थ जान्न चाहे । मौलबीले उत्तर दिन सकेनन् र गुरु नानकले आफैंले उत्तर दिए - अलिफ से अल्लाह सबका सिरजन हार (अलिफबाट अल्लाह वा ईश्वर बन्छ, जो सबैको सृष्टिकर्ता हो) । यहाँ पनि नानकको पढाइ भएन, मौलबीले उनलाई पढाउन सकिंदैन भनी विदा दिए ।

अब नानकलाई भैंसी चराउने काममा खटाइयो । भैंसी चराउने क्रममा उनले भैंसीलाई चौरमा छाडेर वृक्षमुनि बसेर ध्यान गर्न थाले । एक दिन रुखको छाया मुनि ध्यानमग्न भएको अवस्थामा दिन छिप्पिंदै जाँदा छाया सर्न गई यिनको शरीरमा घामको तीक्ष्ण प्रकाश पर्न गयो । त्यस समयमा एउटा सर्प आई यिनको शरीरमाथि आफ्नो फणा फैलाएर छाया पारेको दृश्य उनका गोठाला साथीहरूले देखे । यो दृश्य देखेर अत्तालिएका गोठालाहरू गाउँमा पुगेर हल्लखल्ल गर्न थाले । नानकलाई सर्पबाट जोगाउन र घटनाको निर्क्यौल गर्न गाउँले त्यहाँ पुग्दा तिनीहरूले सर्प देखेनन् । गाउँले त्यहाँ पुग्दा उनी ध्यानबाट ब्युँझी सकेका थिए ।

नानक अब किशोर अवस्थामा पुगे । उनका पिताले खेतमा काम गर्न अह्राउँदा उनले यो शरीर नै खेत हो, यसमा प्रेमको खेती गर्नुपर्छ भनेको प्रसङ्ग पनि उल्लेखनीय मानिन्छ । त्यसरी नै एकपटक उनका बाबुले व्यापारका लागि २० रुपैंया हातमा राखी नजिकैको लाहोर सहरमा पठाए र अह्राए - यो रकम प्रयोग गरी नाफा कमाएर आउनू । तर उनले लाहोर पुग्नुअघि नै उक्त रकम बाटामा भेटिएका भोकाहरूलाई भोजन गराएर सिद्ध्याए । उनका पिताले लाभहानिको हिसाबकिताब सोध्दा उनले आज सच्चाव्यापारबाट ठूलो लाभ कमाएको कुरा बताए ।

अब नानकको व्रतबन्धको समय आयो । व्रतबन्ध संस्कारको यज्ञमा खटिएका पुरोहितलाई उनले त्यस्तो जनै (यज्ञोपवित) लगाइदिन अनुरोध गरे, जो दयाको कपास, सन्तोषको धागो, संयमको गाँठो र सत्यको डोराले बनेको होस् । यसरी किशोरअवस्थादेखि नै परम्परागत रुढिहरूको विरोध गर्दै उनले परोपकार, दया, सहानुभूति, समानता र एकताको जनै लगाउने शिक्षा दिएका छन् । उनी जातपात र छुवाछुत भावको विरोधमा सर्वदा दत्तचित्त रहेका महागुरु हुन् । उनले गुण र कर्ममा आधारित वर्ण र धर्मका कुराहरुको अनुसरण गरेका थिए । उनैले ईश्वर र अल्लाह एकै हुन् भनी धर्म कलहको अन्त्यका लागि उपदेश दिएर सबैभन्दा ठूलो मानव धर्मको बाटोमा लाग्नुपर्ने मार्ग प्रस्तुत गरेका थिए ।

विक्रम संवत् १५९६ (सन् १५३९ सेप्टेम्बर २२) मा यस धराधामको इहलीला समाप्त गरी मृत्यु भएका गुरु नानक शिख धर्मका संस्थापक तथा शिखहरुको आदिगुरु मानिन्छन् । नानकका अनुयायीहरु उनलाई गुरु नानक, गुरु नानक देव जी, बाबा नानक र नानकशाह आदि नामले पुकार्दछन् । गुरु नानकको जन्म भई पवित्र हुन पुगेको पाकिस्तानमा पर्ने तलबण्डी गाउँ अहिले गुरु ननकाना साहिबका नामले विश्वप्रसिद्ध छ । शिख धर्मावलम्बीहरूले यस दिन गुरु ननकाना साहेब लगायत प्रत्येक स्थानका गुरुद्वारामा गुरु ग्रन्थ साहेबको पाठ, कथापारायण, गाउँघरमा धार्मिक झाँकीहरु सहित प्रभातफेरी र गुरुको स्मरण गर्दै विशेष भजनकीर्तन र पूजापाठ गर्दछन् । शिख भक्तहरूले गुरु नानकको जन्मदिनका दिन समाजसेवा र परोपकारका काम गर्दछन्, गरिबदुःखी र असहायका लागि यस दिन लङ्गर अर्थात भोजनदान लगायतका पुण्य कार्यहरु गर्दछन् ।

‘शिख’ को शाब्दिक अर्थ ‘शिष्य’ अथवा सिक्न चाहने व्यक्ति वा गुरुका माध्यमबाट शिक्षा लिई शिक्षित र शिष्य हुनु भन्ने हो । शिख धर्मले जाति, वर्ण, सम्प्रदाय एवं उचनीच र छुवाछूतको भेदभाव अन्त्य गर्न प्रोत्साहित गर्दछ । जातिवादको अहंकार देखाउनेहरुका लागि गुरु नानकले यस्तो प्रासंगिक उपदेश दिएका छन् :-

जातका गरब न कर मूरख गँवारा ।
इस गरब ते चलहिं बहुत विकारा ।।

नेपालमा शिखहरुको प्रवेश झण्डै १५० बर्षअघि भएको मानिन्छ । खासगरी वीरगञ्ज, भैरहवा, कृष्णनगर, धनगढी लगायतका शहरहरूमा शिख धर्मावलम्बीहरूको बसोबास रहेको पाइन्छ । शिखहरूको प्राचीन बसोबासले गर्दा बाँके जिल्लाको नेपालगञ्जस्थित एउटा गाउँको नाम नै ‘सिखनपुरा’ रहेको छ । काठमाडौं उपत्यकामा शिखहरूको प्राचीन गुरुद्वारा रहेको छ । ललितपुरको कुपण्डोलमा शिखहरुको बाक्लो बसोबास रहेको छ । वि.स. २०६८ को जनगणना अनुसार नेपालमा शिखहरुको जनसंख्या ६०९ मात्रै रहेको छ । जुन नेपालकै सवैभन्दा थोरै जनसंख्या भएको धर्मिक एवं जातीय समुदाय हो । गुरु नानकको जयन्तिका अवसरमा शिखहरुले गुरु ग्रन्थसाहेबमा उल्लेख भएअनुसारका उपदेश बाचन गरी सम्झना गर्दछन् । गुरु ग्रन्थसाहेब शिख गुरु नानकका भजनहरु लेखिएको पवित्र ग्रन्थ हो । नानकलाई प्रथम शिख गुरु र शिखवादका प्रवर्तक भएको मानिन्छ ।

जगद्गुरु श्री निम्बार्काचार्य

जगद्गुरु श्रीनिम्बार्काचार्यकी माताको नाम जयन्ती देवी र पिताको नाम श्रीअरुण मुनि थियो। यिनलाई भगवान् सूर्यको अवतार मानिन्छ। कसैकसैले यिनलाई भगवान् नारायणको सुदर्शन चक्रको अवतार पनि मान्दछन् तथा अन्य एउटा मतमा यिनको पिताको नाम श्रीजगन्नाथ हो भन्ने पनि सुनिन्छ। वर्तमान अन्वेषकहरूले विभिन्न प्रमाणका आधारमा यिनको जीवन-काल ईशाको ११औं शताब्दी हो भनेर प्रमाणित गरे पनि यिनका भक्तजन यिनको जन्मकाल द्वापर युगलाई मान्दछन्। गुरु निम्बार्काचार्यको जन्म दक्षिण भारतको गोदावरीको तटमा अवस्थित वैदूर्यपत्तन नामक नगर नजिकैको अरुणाश्रममा भएको थियो। एउटा किंवदन्ती के छ भने यिनको व्रतबन्ध संस्कारका समयमा स्वयं देवर्षि नारदले निम्बार्काचार्यलाई श्रीगोपाल-मन्त्रको दीक्षा प्रदान गर्नु भएको थियो तथा श्रीकृष्णोपासना गर्ने उपदेशसमेत दिनु भएको थियो। त्यसैले निम्बार्काचार्यका गुरु देवर्षि नारदलाई मानिन्छ र नारदका गुरु श्रीसनकादि ब्रह्मपुत्रहरूलाई मानिन्छ। त्यसैले गुरु निम्बार्काचार्यको निम्बार्क सम्प्रदायलाई सनकादि सम्प्रदाय पनि भन्ने गरिन्छ र यिनको मतलाई द्वैताद्वैतवाद भनिन्छ। श्रीनिम्बार्काचार्यको मतअनुसार यो मत अत्यन्त प्राचीन कालसित सम्बद्ध छ, कुनै नयाँ र नौलो मत होइन। उनले आफ्नो भाष्यमा नारद र सनत्कुमारको नामको उल्लेख गर्दै के सिद्ध गरेकाछन् भने यो मत सृष्टिको प्रारम्भदेखि नै प्रचलित छ।

गुरु निम्बार्काचार्यको प्रारम्भिक नाम नियमानन्द हो। यमुनाको तटवर्ती ध्रुवीय क्षेत्रमा गुरु निम्बार्काचार्यले आश्रमवासी भई निवास गर्दाको समयको कुरा हो, एक दिन एक जना दण्डी संन्यासी गुरुको आश्रममा आए। दण्डी स्वामी र जगद्गुरुका वीचमा लामो समयसम्म आध्यात्मिक विचार-विमर्श भयो। दुबैले सूर्यास्त भएको पनि ख्यालै गरेनन्। दण्डी स्वामी फर्किनलाग्दा गुरु निम्बार्काचार्यले स्वामीलाई भोजन गर्न अनुरोध गरे, तर सूर्यास्त भइसकेको हुँदा दण्डी स्वामीले भोजन गर्न नमिल्ने बताए। दण्डी संन्यासीहरू प्राय: सूर्यास्तपछि कहिल्यै पनि भोजन गर्दैनन्। साँझको अतिथि भोजन नगरी फर्कने अवस्था प्राप्त भएपछि श्रीनिम्बार्काचार्यलाई ठूलो चिन्ता भयो। भगवानले गुरुको वर्तमान समस्या समाधान गर्नका निमित्त प्रकृतिको नियमलाई समेत परिवर्तन गरेर अद्भुत लीलाको सिर्जना गर्नुभयो। आश्रम नजिकै रहेको निमको रुखमा भगवान् सूर्यदेव प्रकाशित हुनुभयो र अस्ताई सकेका सूर्यनारायण पुनः उदीयमान हुनुभयो। भगवानको अपार करुणाको प्रत्यक्ष दर्शन गरी आचार्यको हृदय गदगद भयो। भगवानको करुणाप्रति कृतज्ञता प्रकट गर्दै उनले अतिथि दण्डी सन्यासीलाई भोजन गराउने अवसर प्राप्त गरे र अतिथिलाई भोजनादिबाट सम्मान गरेपछि मात्र सूर्यास्त भयो। भगवानको यस असीम करुणा प्राप्त भएकाले श्रीनिम्बार्काचार्यको एउटा सिद्धका रूपमा ख्याति प्राप्त भयो। परिणामतः यिनको नाम निम्बादित्य(निम्ब = निमको रुख र आदित्य = सूर्य) अथवा निम्बार्क(निम्ब = निमको रुख र अर्क = सूर्य)का रूपमा प्रसिद्ध भयो। श्रीमद्भागवत यस सम्प्रदायको मुख्य ग्रन्थ हो। गुरु निम्बार्कचार्यको मतमा ब्रह्मभन्दा जीव पृथक् पनि छ र ब्रह्म र जीवको ऐक्यभाव पनि छ।

Wednesday, May 3, 2017

आदर्श नारी सीता

आदर्श नारी सीता जगज्जननी माता लक्ष्मीकी अंशावतार मानिन्छन् । यिनी प्रसिद्ध धार्मिक ग्रन्थ रामायणकी प्रमुख नारीपात्र तथा भगवान् श्रीरामकी अर्द्धाङ्गिनी हुन् । सीताको जन्म, जीवनकाल तथा अन्त्य रहस्यमय, रोचक, मार्मिक र अर्थपूर्ण छ । सनातन धर्मअन्तर्गतका धार्मिक ग्रन्थ र हाम्रो आध्यात्मिक इतिहासले लोकहीतका लागि ईश्वरले अवतार ग्रहण गर्दा उनको सहयोग गर्न उनका पार्षद र शक्ति पनि अवतरित भएका छन् । यसरी एकातिर भगवान् आफ्नो प्रयोजन सिद्ध गर्न विभिन्न लीला गर्नुहुन्छ भने उनको लीलाचरित्रमा उनकी शक्ति महामायाले पनि सहयोगीको भूमिका निर्वाह गरी एउटा आदर्श स्थापित गर्ने गर्दछिन् । माता सीताको अवतरण पनि यस धराधामलाई दुष्ट, क्रूर र दुराचारी शासक रावण र उसका मतियारहरूको सफाया गर्ने कारण बनेको स्पष्ट हुन्छ । यद्यपि सीताको जीवनकालमा उनले अनेकानेक भौतिक दुःख, कष्ट र कठिनाइको सामना गर्नुपरेको थियो ।

सीताका मातापिता को हुन् ? भन्ने विषयमा मतमतान्तर छ । सीता शब्दको अर्थ जोत्दा जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलोको फालीबाट धर्तीमा निर्मित रेखा आदि हुन्छ । उनको जन्म सन्दर्भमा उल्लेख गरिने कथा पनि यस्तै रहेको पाइन्छ । एक पटक राजर्षि जनकको राज्य मिथिलामा लामो समयसम्म पानी परेन, खडेरीले आक्रान्त भएका जनतालाई राहत दिन राजा स्वयंले यज्ञ गरी हलो जोतेमा पानी पर्छ भनी ज्योतिषी र पण्डितहरूले बताएपछि राजा हलो जोत्न तैयार भए । यस उक्त यज्ञमा राजर्षि जनकले हलो जोत्दा त्यही भूमिबाट सीता प्रकट भएको कथा विभिन्न धर्म ग्रन्थहरूमा उल्लेख छ ।

सीताको जन्मसम्बन्धमा प्राप्त वृत्तान्तहरूमा मतैक्य छैन । विभिन्न पुराणहरूमा भिन्नभिन्न प्रकारले यस प्रसङ्गलाई उल्लेख गरिएको पाइन्छ । तल केही प्रसङ्ग र आख्यानहरू उल्लेख गरिएको छ :-

१) देवी भागवतमा लेखिएअनुसार लङ्काधिपति रावणको विवाह मय दानवकी पुत्री मन्दोदरीसित भएको थियो । मन्दोदरी गर्भवती भएपछि ज्योतिषीहरूले उनीबाट जन्मने शिशुका बारेमा फलादेश गर्दा शिशुको जन्मपछि रावणको वंश नै समाप्त हुने भविष्यवाणि गरेको हुँदा उसले आफ्नो पहिलो सन्तान (कन्या) लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो । तिनै कन्यालाई पछि राजा जनकले प्राप्त गरेका हुन् र तिनै सीता थिईन् । अद्भूत रामायणमा मन्दोदरीको उक्त गर्भधारण गर्नुपूर्वको आख्यानसमेत उल्लेख गरी सीताको जन्मवृत्तान्तको यसै प्रसङ्गलाई पुष्टि गरिएको छ । अद्भूत रामायणमा उल्लेख गरिएअनुसार त्यतिखेर रावणले असाध्य अत्याचारपूर्वक शासन गरेको थियो । ऊ धर्माचरण गर्ने सज्जन देव, यक्ष, गन्धर्व, किन्नर र मनुष्यलगायत ऋषिमुनि र साधुसन्तहरूलाई निकै सास्ती दिने गर्दथ्यो र आश्रममा बसेर तपस्यारत रहेका ऋषिमुनि र तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर एउटा घैँटो भरेर राख्ने गर्दथ्यो । त्यसै कालखण्डमा गृत्समद नाम गरेका कुनै ऋषि आफ्नो आश्रममा तपस्या गरी बस्दथे । उनी कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा पार्ने र त्यसलाई पान गर्ने गर्थे । रावणले यो कुरो चाल पायो र उक्त कुशाग्रबाट सङ्कलित दूधको औषधीय महत्त्व थाहा पाई त्यो घैँटो चोरी दूध जति आफ्नो रगतको घैँटामा भरेर उसले लङ्का लिएर गएको थियो । रावणका अधार्मिक र क्रूर व्यवहारबाट दिक्क मानेकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन् । उनी मर्न त मरिनन्, तर त्यसबाट उनमा गर्भ रहन गयो । उक्त गर्भ नै रावण र मन्दोदरीको पहिलो सन्तानका रूपमा जन्मिएको थियो, जुन रावण र मन्दोदरीले त्यागेका थिए ।

आनन्द रामायणमा पनि रावणकी छोरीकै रूपमा सीताको वर्णन गरिएको छ । तर त्यहाँ रहेको प्रसङ्ग अध्यात्म रामायणभन्दा फरक छ । आनन्द रामायणको जन्म प्रसङ्गमा कुनै पद्माक्षर नामका राजाबाट प्रसन्न भएका भगवान् विष्णुले उसलाई एउटा महालिङ्ग उपहारका रूपमा प्रदान गर्नुभयो । उक्त महालिङ्गको उपासनाबाट उनले एउटी पद्मा नामकी पुत्री प्राप्त गरे । ती लक्ष्मीको अंशस्वरूप उत्त्पत्ति भएकी थिईन् । उमेर पुगेपछि राजाले राजकुमारी पद्माको विवाह गर्ने उद्देश्यले स्वयंवरको आह्वान गरे । तर पद्मा भगवान् विष्णुलाई नै पतिका रूपमा प्राप्त गर्न चाहन्थिन् । स्वयंवरमा उपस्थित भएका मनुष्य र राक्षसकुलका राजाहरू एकआपसमा लडाइँ गर्दै कोलाहल मच्चाउन थाले । पद्माले त्यसै कोलाहलमय अवसरमा स्वयंवरका लागि तैयार पारिएको अग्निकुण्डमा प्रवेश गरी विलीन भईन् । अर्को जन्ममा उक्त अग्निकुण्डबाटै वेदवती नामकी सुन्दर स्त्रीका रूपमा उनी अवतीर्ण भईन् । पूवस्मृति रहेकाले विष्णुलाई वरका रूपमा प्राप्त गर्न फेरि पनि तपस्यारत रहिन् । निरन्तरको तपस्याबाट उनको सौन्दर्य र आभामा विशेष आकर्षण देखिन्थ्यो । एक पटक रावण त्यस आश्रममा आइपुग्यो । वेदवतीको सौन्दर्यमा ऊ लट्ठ भयो र उनका इच्छा र भावनाको वेवास्ता गर्दै बलात्कार गर्न उद्यत भयो । रावणको कुकृत्यबाट जोगिन वेदवतीले पुनः आफूलाई यज्ञकुण्डभित्र अलप बनाईन् । अलप हुनुअघि वेदवतीले रावणलाई श्राप दिएकी थिईन् अरे - अर्को जन्ममा म तेरी छोरी भएर जन्मने छु र तेरो वंशलाई समूल नाश गर्ने कारण बन्नेछु । कालान्तरमा तिनै वेदवती मन्दोदरीकी छोरीका रूपमा प्रकट भएकी थिईन् । आनन्द रामायणमा राजा जनकले हलो जोत्दा भेटिएको प्रसङ्ग भने उल्लेख गरिएको छैन । त्यहाँ जमिनमुनि गाडिएको उक्त सन्दुक मिथिला भूमिका एक जना ब्राह्मणले फेला पारी राजा जनकलाई जिम्मा दिएका थिए र त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो भनिएको छ ।

तमिल भाषामा लेखिएको कम्ब रामायणमा सीताका मातापिताका बारेमा फरक प्रसङ्ग छ । त्यहाँ शीरध्वज (जनक) का भाइ कुशध्वजकी छोरी वेदवतीले रावणको अपमानका कारण आगामा होमिई खरानी हुनु परेको थियो र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन् भनिएको छ । यस कथाअनुसार सीता जनककी आफ्नै छोरी नभएर भाइकी छोरी भतिजी थिईन् भन्ने बुझिन्छ । सीताको जन्म र उनका मातापिताका बारेमा किसिमकिसिमका दृष्टान्त र कथाप्रसङ्ग प्राप्त हुन्छन् । आख्यान र कथोपक्रमको क्रम नमिले पनि प्रायशः ती सबैको मूल कथ्य यी माथि उल्लेख गरिएका विषयवस्तुसँगै कुनै न कुनै रूपमा मेल खाएको देखिन्छ ।

यसरी जगज्जननी सीताको जन्मसम्बन्धमा अनेकानेक किंवदन्ती र कथाहरू प्राप्त हुने भएकाले यसै हो भनी निर्क्यौल गर्न गाह्रो छ । यद्यपि जनकपुरसँगको उनको सम्बन्ध भने अकाट्य जस्तै देखिन्छ । नेपालका राष्ट्रिय विभूतिमध्ये एक रहेका जनकको वास्तविक नाम शिरध्वज हो । उनकी पत्नीको नाम सुनयना हो । उनी राजा ह्रस्वरोमा जनकका पुत्र थिए । वशिष्ठ ऋषिको श्रापले मरेका राजा निमिको शव मन्थन गर्दा 'मिथि' जन्मिएका र उनको राज्य मिथिला बनेको उल्लेख छ । रामायण र याज्ञवल्क्य स्मृतिमा राजा मिथिको राज्य भएकाले देशको नाम मिथिला रहेको प्रसङ्ग छ भने मत्स्यपुराणमा चाहिँ मिथिल नाम गरेका ऋषिको नामबाट मिथिला बनेको भनी लेखिएको छ । मिथिलाका राजाहरू वंशपरम्परादेखि नै जनक पदबाट विभूषित थिए, अतः जनकपुरका प्रत्येक राजाहरूले आफ्नो नामका सट्टामा जनक भन्न रुचाउँदथे । अतः नाम शिरध्वज भए पनि यिनलाई जनक भनिएको हो । जनककी छोरी भएकी नाताले सीताको अर्को नाम जानकी हो। मिथिलालाई विदेह पनि भनिने भएकाले विदेहकी छोरीको अर्थमा सीताको नाम वैदेही पनि छ।

जन्म नदिए पनि सीताका पालनपोषण गर्ने पिता राजा जनक र माता सुनयना हुन् । सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो । निकै बलिया र शूरवीरले पनि सजिलै उचाल्न नसकिने शिवधनुलाई उनी पूजा कोठाको बढारकुँडार र सरसफाइ गर्ने क्रममा सजिलै वर, पर राख्ने गर्थिन्। यही शक्ति देखेर नै जनकले शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका हुन्। स्वयम्बरका बेलामा देशदेशावरबाट अनेक राजामहाराजा आए । रावण पनि आएको थियो तर उसले शिवधनु हल्लाउनसमेत सकेन। अयोध्याबाट आएका श्रीरामचन्द्रले उचाल्नासाथ उक्त धनु भाँचिन पुग्यो र धुमधामसाथ श्रीराम र सीताको शुभविवाह सम्पन्न भयो । उर्मिला,  माण्डवी र श्रुतकीर्ति सीताका काकाका छोरीहरू थिए । यिनको बिहे पनि श्रीरामचन्द्रका भाइहरू क्रमशः लक्ष्मण, भरत र शत्रुघ्नसँग भएको थियो । माइतीमा जस्तै घरमा पनि सीताले सबैको मन जितेकी थिइन् ।

रानी केकैयीले आफ्ना दुईवटा वचनका बदलामा छोरो भरतलाई अयोध्याको राजगद्दी र सौता कौशल्याका छोरा रामचन्द्रलाई वनवास दिनुपर्ने अडान पतिसामु राखेपछि आफ्ना पिता दशरथको आज्ञा अनुसार श्रीराम १४ वर्षका लागि वनतर्फ प्रस्थान गर्न आँटेका हुन्छन् । पति वन जाँदा आँफू भोगविलास र सुखसयलले युक्त राजमहलमा नबस्ने भनी जिद्दी गर्दै सीता पनि श्रीरामसँगै वनवास प्रस्थान गरिन् । दाजुभाउजुलाई लक्ष्मणले पनि साथ दिन्छन्, उनी पनि श्रीराम र सीताका साथमा वनवासमा जान्छन् । अत्रि ऋषिका आश्रममा हुँदा सीताले सती अनुसूयाबाट पातिव्रत्य धर्मको उपदेश प्राप्त गर्छिन् ।

वनवासका क्रममा पञ्चवटी भन्ने स्थानमा पुगेका वेला जोगीको भेष गरी रावण वनमा आउँछ र श्रीराम र लक्ष्मणलाई झुक्याएर सीतालाई हरण गरी लङ्का पुर्याई अशोक वाटिकामा कडा पहराका साथमा राख्छ । उसले सीताको मन जित्न र उनलाई पत्नी बनाउन अनेक तिगडम चाल्न थाल्छ, तर सीताको सतीत्व डगमगाउन सक्दैन । त्यहाँ रावणपत्नी मन्दोदरी र त्रिजटाको नरम बोली र व्यवहार पाउँदा उनलाई राहत हुन्छ । यता सीताको खोजीमा रहेका श्रीरामले वानरराज सुग्रीवसँग मितेरी गाँसी वाँदर सेना तैयार गर्छन् । रामद्वारा पठाइएका दूत हनुमान् लङ्का पुगी सीताको अवस्थितिका बारेमा सूचना लिई आउँछन् । त्यसपछि रामको सेना समुद्र तरी लङ्कामा पुगेपछि भीषण युद्ध हुन्छ । सन्त स्वभावका विभीषणबाहेक मेघनाद,  कुम्भकर्ण,  रावण आदि सबै दुष्ट मारिन्छन् । सीता रावणको कब्जामा रहेकीले रामले सहजै स्वीकार गर्दैनन् । उनी अग्निपरीक्षाद्वारा निष्कलङ्क ठहरिएपछि पति श्रीरामका साथ पुष्पक विमानमा बसी अयोध्या पुग्छिन् । 

समय बित्दै जाँदा सीता गर्भवती हुन्छिन् । फेरि धोबीले बात लाउँछ र रामले उनलाई त्याग्ने विचार गर्दछन् । यसरी लामो समय वनबासमा कष्टपूर्ण जीवन बिताएकी सीताले किशोरावस्थामा अनजानवश भएको त्रुटि निवारणका लागि फेरि वनवास जानुपर्छ । पछिल्लो पटक उनको वनवासको कारणका प्रसङ्गमा उनको किशोरअवस्थासँग जोडिएको एउटा किंवदन्ती छ । सीताको स्वयंवरको घोषणा भएपछि एक दिन सीता जनकपुरको उद्यानमा एउटा रुखमुनि खेलिरहेका बेला एक जोडी सुँगाका भालेपोथी एकआपसमा भलाकुसारी गर्दै सीताकै विषयमा कुराकानी गर्दैथिए, जुन सीताले चाख मानी मानी सुनीरहेकी थिईन् । सुँगाको भाले आफ्नी पोथीलाई सुनाउँदै थियो - प्रिये राजकुमारी जानकी त माता लक्ष्मीकी अवतार हुन् । यिनको विवाह भगवान् विष्णुको मनुष्य अवतार अयोध्यापति दरशरथका पुत्र श्रीरामसँग हुनेछ । सुँगाका कुरा सुनेर सीता छक्क परिन् र आफ्ना सखीहरूलाई ती सुँगाका जोडीलाई समातेर लिईआउन अह्राईन् । साथीहरूले सुँगाको जोडीलाई समात्ने प्रयास गरे, भाले सुँगा तुरुन्त उडेर भाग्यो तर गर्भवती भएका कारण पोथी सुँगा छिट्टो भाग्न सकिन र सीताका सँगीहरूले त्यसलाई समातेर सीतालाई जिम्मा लाए । त्यसपछि सीताले सुँगासित रिसाउँदै भनिन् - राम भनेको को हो ?  वुवाले मेरो विवाह शिवधनुष चलाउन सक्ने पुरुषसित गरिदिने निश्चय गरेका छन्, तिमीहरू जाबो पन्छी भएर मेरो विवाह हुने पुरुषको खोजीनीति गर्छौ । उनले यति भन्नासाथ भाले सुँगा आएर आफ्नी पत्नी गर्भवती छ, त्यसैले तपार्इंका पन्जाले समातिंदा उसलाई अत्यन्त कष्ट भइरहेको छ । उसलाई छाडिदिनु हवस् भनी बिन्ती गर्न थाल्यो । तर सीताले उक्त पोथीलाई नछाडेर उडेर जाने पो हो कि भन्दै झन् कसेर समाईन् । कष्ट सहन नसकेर उक्त पोथी सुँगाको मृत्यु भयो । त्यसपछि भाले सुँगाले सीतालाई गर्भवती अवस्थामा पतिसँग विछोड हुनुपरोस् भनी श्राप दियो। त्यही सुँगाको जोडीको पछि गएर अयोध्यामा धोबीका पतिपत्नीका रूपमा पुनर्जन्म भएको थियो ।

लोकापवाद भएकाले श्रीरामले सीतालाई पुनः वनबास पठाउँछन् । गर्भवती सीतालाई महर्षि वाल्मीकिको आश्रय प्राप्त हुन्छ । यहीँ उनले लव र कुश नामका दुईवटा छोरा जन्माउँछिन् । रामले अश्वमेध यज्ञ गर्दा घोडा समाउने बालक यिनै हुन् । सीताको आज्ञा पाएपछि मात्र घोडा छाड्छन् । दरबारमा यी बालकले रामायण सुनाउँदा राम विह्वल हुनपुग्छन् र ती दुई भाइ आफ्ना छोरा भएको ज्ञान भएपछि सीताको खोजीमा दौडन्छन् । वाल्मीकिको आश्रममा पुगेर श्रीरामले सीतालाई अयोध्या फर्किन आग्रह गर्दछन्, तर यस पटक पनि लोकका निमित्त उनले पुनः अग्निपरीक्षा पार गर्नुपर्ने सर्त पनि राख्छन् । यसरी पटकपटक सतीत्वको परीक्षा दिनुपर्ने कुरा सुनेर उनी द्रवित हुन्छिन् र धर्तीमातासामु आफ्नो सतीत्व र पतिव्रता साँचो भए आश्रय दिनु भनी पुकार गर्दछिन् । तुरुन्त धर्ती फाट्छ अनि सीता धर्तीमाताको शरणमा सधैँ सधैँका लागि विलीन हुन पुग्छिन् । यसरी धर्तीबाट जीवनलीला थालेकी सीताको धर्तीभित्रै समाहित भई लीला समाप्त हुन्छ । यसरी दुःख, पीडा, सहनशीलता, पतिभक्ति, मर्यादा, मातृत्व र आदर्शको प्रतिमूर्ति बनेकी सीताको समग्र जीवन दुःख, कष्ट, पीडा र करुणाले भरिपूर्ण रहेको पाइन्छ, तलका बुँदाहरूले पनि सीताको चारित्रिक वैशिष्ट्यलाई उजागर गर्दछन् :- 

१ - सीता पतिव्रता नारीकी प्रतिनिधि चरित्र हुन् । उनी सपनामा समेत श्रीरामबाहेक कुनै पुरुषको दर्शन गर्ने इच्छा राख्दिनन् । अपहरित भई लङ्कामा बस्दासमेत सिन्काको साँध हुनुपर्छ भन्ने मान्यतालाई अनुसरण गर्दछिन् ।

२ - एउटी ममतामयी र संस्कारी माताको भूमिकालाई उनले प्रतिबद्धतापूर्वक पालना गरेकी छन् । लव र कुशलाई लालनपालन गरी हुर्काएर तिनको सुसंस्कृत व्यक्तित्व निर्माण गरी जगजाहेर गर्ने माता सीता नै हुन् ।

३ - उनी त्यागकी प्रतिमूर्ति थिईन्, त्यसैले उनले अग्निमा प्रवेश गरी आफ्नो पवित्रता प्रमाणित गर्ने हिम्मत देखाएकी थिईन् ।

४ - पति र आफूलाई वनवास पठाउने सौतेनी सासू कैकेयीप्रति उनले कहिल्यै दुःखेसो गर्ने वा वैमनस्यभाव दर्शाउने काम गरिनन् र एउटा कर्तव्यनिष्ठ गृहिणी र बुहारीको परिचय प्रदान गरिन् ।

त्यसैले नेपाली संस्कार र सनातन परम्परामा कुनै नवविवाहिता नारीलाई आदर्श र असल बन्न राम र सीताको दाम्पत्यसम्बन्धको उपमा दिई आशीर्वाद दिने चलन चलेको हो भन्दा फरक पर्दैन । धैर्य, संयम र विवेककी प्रतिमूर्ति सहनशीला सीताको यो आदर्शकथा संसारभरि प्रसिद्ध छ । पुराणको सन्दर्भमा हेर्ने हो भने उनी बराबरकी आदर्श नारी कोही पनि छैन । त्याग, परिश्रम र सच्चरित्रताकै कारण हुनुपर्छ, उनलाई भगवतीको दर्जा प्राप्त छ । उनको नामस्मरण गर्नु मात्रले पनि जीवन धन्य हुने, परलोक सप्रने जनविश्वास छ । जगज्जननीको श्रद्धा, विश्वास र भरोसा हासिल गर्न सफल नारीव्यक्तित्व सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि आस्था, श्रद्धा र गौरवको विषय हो ।

Sunday, April 30, 2017

जगद्गुरु रामानुजाचार्य

यो नित्यमच्युतपदाम्बुजयुग्मरुक्मं 
व्यामोहतस्तदितराणि तृणाय मेने ।
अस्मद्गुरोर्भगवतोऽस्य दयैकसिन्धोः
रामानुजस्य चरणौ शरणं प्रपद्ये ॥

जगद्गुरु रामानुजाचार्य वैष्णव सम्प्रदायका प्रमुख आचार्यहरूमध्ये एक जना विशिष्ट आचार्य मानिन्छन् । यिनकै शिष्यपरम्परामा रामानन्द, कबीर र सुरदास जस्ता अन्य प्रसिद्ध आचार्यहरूको गणना हुने गरिन्छ । रामानुजाचार्यले वेदान्त दर्शनमा आधारित आफ्नो छुट्टै नवीनतम दार्शनिक सिद्धान्त विशिष्टाद्वैतको रचना गरेका हुन् । रामानुजाचार्यले वेदान्तको उक्त सिद्धान्तबाहेक विक्रमको सातौंदेखि दसौं शताब्दीका माझमा दक्षिण भारतमा प्रचलित रहस्यवादी र भक्तिमार्गी अलवार (आचार्य) र सन्तहरूको भक्तिदर्शन र पाञ्चरात्र पद्धतिलाई आफ्नो विचारको मुख्य आधार बनाएका थिए ।

वि. सं. १०७३ को वैशाख शुक्ल पञ्चमी तिथिका दिन दक्षिण भारतको तिरुकुदुर भन्ने गाउँमा रामानुजको जन्म भएको हो । प्रारम्भिक शिक्षादीक्षा घरैमा प्राप्त गरी यिनले यादवप्रकाश गुरुका सान्निध्यमा वेदाध्ययन गरेका हुन् । पछि यिनले अलवार यामुनाचार्यबाट दीक्षा ग्रहण गरी श्रीसम्प्रदायमा प्रवेश गरे । उनी यामुनाचार्यका मुख्य शिष्यमध्ये पर्दथे । गुरु यामुनाचार्यको इच्छानुसार यिनले ब्रह्मसूत्र, विष्णुसहस्रनाम र दिव्यप्रबन्धको टीका लेख्ने सङ्कल्प गरेका रामानुजले त्यसपछि गृहस्थाश्रम त्याग गरी श्रीरङ्गमका आचार्य यतिराजबाट सन्न्यास अाश्रमको दीक्षा ग्रहण गरेका थिए । 

तात्कालिक मैसूर प्रान्त हालको तमिलनाडु प्रान्तमा पर्ने श्रीरङ्गमबाट पैदल यात्रा गरी रामानुज स्वामी उत्तराखण्डको नेपाल देशमा पर्ने मुक्तिक्षेत्रको शालग्राम क्षेत्रमा अाएर बाह्र वर्षसम्म साधना गरेकाे बताइन्छ । उक्त अवधिमा श्रीसम्प्रदायको प्रचारप्रसारका अतिरिक्त ब्रह्मसूत्र, विष्णुसहस्रनाम र दिव्यप्रबन्धको भाष्य लेख्ने गुरुअाज्ञालार्इ पूर्णता प्रदान गर्ने काम सम्पन्न भयो । त्यसपछि जगद्गुरु रामानुजाचार्यले समस्त भारतवर्षको पैदल यात्रा गरी वैष्णव धर्मको प्रचारप्रसार गरेका थिए । वि. सं. ११९३ मा रामानुज स्वामीले सांसारिक नश्वर देह त्यागी वैकुण्ठ प्रस्थान गरी भगवद्सान्निध्य प्राप्त गरे । शालग्राम क्षेत्रमा रचना गरिएका तिनै तीनवटा भाष्यहरू (ब्रह्मसूत्रको भाष्य, श्रीभाष्य र वेदार्थसङ्ग्रह) नै स्वामी रामानुजका उपलब्ध मूल ग्रन्थहरू हुन् ।

विशिष्टाद्वैत दर्शन : 
स्वामी रामानुजाचार्यको विशिष्टाद्वैत दर्शनमा सत्ता अथवा 'परमसत्'का तीनवटा तह छन्, ती हुन् - ब्रह्म अर्थात ईश्वर, चित् अर्थात आत्मा र अचित् अर्थात प्रकृति । वस्तुतः यी चित् अर्थात् आत्मतत्त्व र अचित् अर्थात् प्रकृतितत्त्व ब्रह्म अथवा ईश्वरभन्दा पृथक् वा फरक छैनन् । बरु यिनीहरू विशिष्ट ढङ्गले ब्रह्मकै स्वरूप हुन् र यी दुबै ब्रह्म अर्थात् ईश्वरमा आधारित छन् । यही स्वामी रामानुजाचार्यको विशिष्टाद्वैत सिद्धान्तको सार तत्त्व हो । जसरी शरीर र आत्मा फरक हुन्, तर कार्यभावले पृथक् मान्न सकिंदैन । किनभने आत्माको उद्देश्यपूर्तिका लागि शरीरले कार्य सम्पादन गर्दछ, त्यसरी नै ब्रह्म वा ईश्वरभन्दा पृथक् चित् र अचित् तत्त्वको कुनै अस्तित्व वा सत्ता स्वीकार गर्न सकिंदैन । ती ब्रह्म वा ईश्वरको शरीर हुन् भन्दा हुन्छ र त्यसरी नै ब्रह्म वा ईश्वर चित् र अचित् दुबै तत्त्वको अात्मासमान हो । 

भक्तिको तात्पर्य : 
रामानुज स्वामीको मतमा भक्तिको अर्थ पूजा, पाठ, कीर्तन वा भजन होइन, भक्ति भनेको त ध्यान र प्रार्थना हो । सामाजिक परिप्रेक्ष्यमा स्वामी रामानुजाचार्यले भक्तिलार्इ जाति र वर्गबाट अलग्ग सर्वग्राह्य मानेकाे पाइन्छ ।

Saturday, April 29, 2017