Wednesday, July 18, 2018

सफलताको ढोका

'अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभम्' जीवनमा गरिएका कुनै पनि राम्रा वा नराम्रा कामको प्रतिफल अवश्य प्राप्त हुन्छ । त्यस्तै कुनै गन्तव्य वा लक्ष्यमा पुग्न सुरुमा आफैंबाट प्रयास हुनुपर्छ र मिहिनेत गर्नुपर्दछ । मिहिनेत कहिल्यै पनि खेर जाँदैन । हामीले जुन अनुपातमा मिहिनेत गरेका हुन्छौं, त्यसको प्रतिफल ढिलोचाँडो कुनै न कुन रूपमा अवश्य प्राप्त गर्दछौं, यही यथार्थ हो र यही नै सत्य हो ।

फरक केवल यत्ति छ कुनै मानिस मिहिनेत र कर्मको प्रतिफल अवश्य प्राप्त हुन्छ भन्ने विश्वास गरी निरन्तर रूपमा परिश्रम गरिरहन्छन्, अत्तालिंदैनन्, उनीहरूको प्रयास तबसम्म जारी रहन्छ, जबसम्म लक्ष्य प्राप्त हुँदैन । अर्काथरी मानिस त्यस्ता हुन्छन्, जो काम थाल्ने बित्तिकै वा थोरै मिहिनेत गर्नासाथ फल प्राप्त भैहाल्नु पर्छ भन्ने सोच राख्छन्, अनि अलिकति थप प्रयासको खाँचो पर्यो वा केही समय प्रतीक्षा गर्नु पर्ने भयो भने थालेको प्रयास र कामलाई चटक्क छाडिदिन्छन् । तुरुन्त हार मानिहाल्छन् ।

वास्तवमा सफलता र असफलताका बीचमा देखिने भिन्नता वा फरक यत्ति मात्र हो । यसैलाई विश्वास र अविश्वासको खेल मान्न सकिन्छ । सारांशमा भन्ने हो भने यसरी बुझ्दा हुन्छ — जसमा लक्ष्यप्रति सजगता, निरन्तरता, विश्वास र आत्मबल छ, त्यसले सधैं सफलता हासिल गर्दछ, जसमा यी कुराको अभाव छ, ऊ असफल र निर्बल बन्न पुग्छ ।

विश्वासले नै ढुंगोलाई भगवान् बनाउन सक्छ र अविश्वासले मानिसलाई कठोर, निर्दयी र क्रूर बनाउन सक्छ । महान् वैज्ञानिक थमस अल्वा एडिसन (Thomas Alva Edison) असाध्यै मिहिनेती एवं जुझारू प्रवृतिका व्यक्ति थिए । बाल्यकालमा उनलाई मन्दबुद्धि भन्ठानेर विद्यालयबाट रेस्टिगेट गरिएको थियो । तर तिनै एडिसनले महत्त्वपूर्ण आधुनिक उपकरणहरूको आविष्कार गरे, तिनै आविष्कारमध्ये एउटा हो — बिजुलीको बल्ब । उनले बल्बको आविष्कार गर्नु अघि हजारौं पल्ट परीक्षण गरेका थिए, जुन निरर्थक प्रयास हुन पुगेका थिए । तर पनि लक्ष्यप्रति इमानदार र चनाखो भएका कारण उनले सफलता प्राप्त गरी छाडे । अनेकौं असफल प्रयासबाट पनि बल्ब तैयार गर्न नसकेका बेला उनलाई एकजना मानिसले प्रश्न गरेका थिए — 'तपाईंले करिब एक हजार पटक प्रयोग गर्नुभयो, तर तपाईंको समस्त प्रयास विफल भए । यसरी पटकपटक असफल हुँदा तपाईंलाई दुःख लाग्दैन ?'

एडिसनले तुरुन्त जवाफ दिए – 'म असफल भएको ठान्दिंन, मैले गरको परिश्रम खेर गएको छैन, मैले गरेका एक हजार वटा प्रयोग विफल भएकोमा मैले के सिकेको छु भने बल्ब निर्माणका लागि ती एकहजार वटा प्रयोग उपयोगी छैनन्, ती प्रयोगबाट बल्ब तैयार हुँदैन, बल्ब निर्माण गर्न तीभन्दा फरक ढंगको अर्को प्रयोगको खाँचो छ । मेरा पुराना एक हजार वटा प्रयोगबाट प्रेरणा पाएको छु, त्यसैले म बल्ब बनाउने अर्को नयाँ प्रयोग गर्नेछु ।'

एडिसनको सट्टामा कुनै सामान्य मान्छे भए पक्का पनि त्यत्ति विधि प्रयास गर्दैनथ्यो होला, सुरुमैं निराश भएर लक्ष्यबाट हटी सक्थ्यो । तर एडिसनले आफ्नो प्रयास जारी राखे, हार मानेनन् र अन्त्यमा उनको प्रयास सफल भइछाड्यो । उनले बल्बको आविष्कार गरी छाडे, उनको आविष्कारले अन्ततः सारा संसारलाई उज्यालो प्रकाश दिनसक्यो । यो एडिसनको विश्वास नै थियो, जसले आशाको किरणलाई निभ्न दिएन र विश्वले प्रकाशको सुनौलो आलोक प्राप्त गर्नसक्यो ।

सफलता को बाटो त्यतिखेर खुल्दछ, जब हामी त्यसको नजिकै पुग्दछौं । मिहिनेत कहिल्यै पनि निरर्थक र फलरहित हुँदैन । यो विश्वासले नै हामीलाई निरन्तर प्रयास गर्न र अघि बढ्न प्रेरणा प्रदान गर्दछ, अनि हामी जतिजति अघि बढ्दै जान्छौं, त्यतित्यति हाम्रो लक्ष्य र गन्तव्य नजिक हुँदै जान्छ र सफलताको दैलो उघ्रँदै जान्छ । जुन व्यक्तिले विश्वास गर्दैन, त्यो व्यक्ति कुनै पनि काममा धेरै बेर टिक्न सक्दैन । उसका समस्त प्रयास क्षणिक हुन्छन्, फलतः उसका प्रत्येक ढोका बन्द झैं हुन्छन् । सारांशमा आफ्नो लक्ष्य र गन्तव्यमा तबमात्र पुग्न सक्छौं, जब हामी त्यसको नजिकमा पुग्न सक्दछौं, नजिकै पुगेपछिमात्र सफलताको ढोका खुल्दछ ।

No comments:

Post a Comment