Showing posts with label प्रेरक प्रसङ्ग. Show all posts
Showing posts with label प्रेरक प्रसङ्ग. Show all posts

Wednesday, July 18, 2018

सफलताको ढोका

'अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभम्' जीवनमा गरिएका कुनै पनि राम्रा वा नराम्रा कामको प्रतिफल अवश्य प्राप्त हुन्छ । त्यस्तै कुनै गन्तव्य वा लक्ष्यमा पुग्न सुरुमा आफैंबाट प्रयास हुनुपर्छ र मिहिनेत गर्नुपर्दछ । मिहिनेत कहिल्यै पनि खेर जाँदैन । हामीले जुन अनुपातमा मिहिनेत गरेका हुन्छौं, त्यसको प्रतिफल ढिलोचाँडो कुनै न कुन रूपमा अवश्य प्राप्त गर्दछौं, यही यथार्थ हो र यही नै सत्य हो ।

फरक केवल यत्ति छ कुनै मानिस मिहिनेत र कर्मको प्रतिफल अवश्य प्राप्त हुन्छ भन्ने विश्वास गरी निरन्तर रूपमा परिश्रम गरिरहन्छन्, अत्तालिंदैनन्, उनीहरूको प्रयास तबसम्म जारी रहन्छ, जबसम्म लक्ष्य प्राप्त हुँदैन । अर्काथरी मानिस त्यस्ता हुन्छन्, जो काम थाल्ने बित्तिकै वा थोरै मिहिनेत गर्नासाथ फल प्राप्त भैहाल्नु पर्छ भन्ने सोच राख्छन्, अनि अलिकति थप प्रयासको खाँचो पर्यो वा केही समय प्रतीक्षा गर्नु पर्ने भयो भने थालेको प्रयास र कामलाई चटक्क छाडिदिन्छन् । तुरुन्त हार मानिहाल्छन् ।

वास्तवमा सफलता र असफलताका बीचमा देखिने भिन्नता वा फरक यत्ति मात्र हो । यसैलाई विश्वास र अविश्वासको खेल मान्न सकिन्छ । सारांशमा भन्ने हो भने यसरी बुझ्दा हुन्छ — जसमा लक्ष्यप्रति सजगता, निरन्तरता, विश्वास र आत्मबल छ, त्यसले सधैं सफलता हासिल गर्दछ, जसमा यी कुराको अभाव छ, ऊ असफल र निर्बल बन्न पुग्छ ।

विश्वासले नै ढुंगोलाई भगवान् बनाउन सक्छ र अविश्वासले मानिसलाई कठोर, निर्दयी र क्रूर बनाउन सक्छ । महान् वैज्ञानिक थमस अल्वा एडिसन (Thomas Alva Edison) असाध्यै मिहिनेती एवं जुझारू प्रवृतिका व्यक्ति थिए । बाल्यकालमा उनलाई मन्दबुद्धि भन्ठानेर विद्यालयबाट रेस्टिगेट गरिएको थियो । तर तिनै एडिसनले महत्त्वपूर्ण आधुनिक उपकरणहरूको आविष्कार गरे, तिनै आविष्कारमध्ये एउटा हो — बिजुलीको बल्ब । उनले बल्बको आविष्कार गर्नु अघि हजारौं पल्ट परीक्षण गरेका थिए, जुन निरर्थक प्रयास हुन पुगेका थिए । तर पनि लक्ष्यप्रति इमानदार र चनाखो भएका कारण उनले सफलता प्राप्त गरी छाडे । अनेकौं असफल प्रयासबाट पनि बल्ब तैयार गर्न नसकेका बेला उनलाई एकजना मानिसले प्रश्न गरेका थिए — 'तपाईंले करिब एक हजार पटक प्रयोग गर्नुभयो, तर तपाईंको समस्त प्रयास विफल भए । यसरी पटकपटक असफल हुँदा तपाईंलाई दुःख लाग्दैन ?'

एडिसनले तुरुन्त जवाफ दिए – 'म असफल भएको ठान्दिंन, मैले गरको परिश्रम खेर गएको छैन, मैले गरेका एक हजार वटा प्रयोग विफल भएकोमा मैले के सिकेको छु भने बल्ब निर्माणका लागि ती एकहजार वटा प्रयोग उपयोगी छैनन्, ती प्रयोगबाट बल्ब तैयार हुँदैन, बल्ब निर्माण गर्न तीभन्दा फरक ढंगको अर्को प्रयोगको खाँचो छ । मेरा पुराना एक हजार वटा प्रयोगबाट प्रेरणा पाएको छु, त्यसैले म बल्ब बनाउने अर्को नयाँ प्रयोग गर्नेछु ।'

एडिसनको सट्टामा कुनै सामान्य मान्छे भए पक्का पनि त्यत्ति विधि प्रयास गर्दैनथ्यो होला, सुरुमैं निराश भएर लक्ष्यबाट हटी सक्थ्यो । तर एडिसनले आफ्नो प्रयास जारी राखे, हार मानेनन् र अन्त्यमा उनको प्रयास सफल भइछाड्यो । उनले बल्बको आविष्कार गरी छाडे, उनको आविष्कारले अन्ततः सारा संसारलाई उज्यालो प्रकाश दिनसक्यो । यो एडिसनको विश्वास नै थियो, जसले आशाको किरणलाई निभ्न दिएन र विश्वले प्रकाशको सुनौलो आलोक प्राप्त गर्नसक्यो ।

सफलता को बाटो त्यतिखेर खुल्दछ, जब हामी त्यसको नजिकै पुग्दछौं । मिहिनेत कहिल्यै पनि निरर्थक र फलरहित हुँदैन । यो विश्वासले नै हामीलाई निरन्तर प्रयास गर्न र अघि बढ्न प्रेरणा प्रदान गर्दछ, अनि हामी जतिजति अघि बढ्दै जान्छौं, त्यतित्यति हाम्रो लक्ष्य र गन्तव्य नजिक हुँदै जान्छ र सफलताको दैलो उघ्रँदै जान्छ । जुन व्यक्तिले विश्वास गर्दैन, त्यो व्यक्ति कुनै पनि काममा धेरै बेर टिक्न सक्दैन । उसका समस्त प्रयास क्षणिक हुन्छन्, फलतः उसका प्रत्येक ढोका बन्द झैं हुन्छन् । सारांशमा आफ्नो लक्ष्य र गन्तव्यमा तबमात्र पुग्न सक्छौं, जब हामी त्यसको नजिकमा पुग्न सक्दछौं, नजिकै पुगेपछिमात्र सफलताको ढोका खुल्दछ ।

प्रारब्ध, भाग्य र भविष्य : आफ्नै पाखुरी

एक पटकको कुरा हो । दुईवटा छिमेकी देशका बीचमा सम्बन्ध चिसिएको थियो । दुबै एकअर्कामाथि आक्रमणको योजना बनाउँदै थिए । ती दुबै देशका राजा एउटै सन्तका भक्त थिए । उनीहरू आआफ्नो विजयका निमित्त सन्तको आशीर्वाद लिन बेग्लाबेग्लै समयमा सन्तको आश्रममा पुगे । पहिलो शासकलाई गुरु महाराजले आशीर्वाद दिंदै भने – तिम्रो विजय सुनिश्चित छ । अर्को शासकलाई तिनै सन्तले भने – तिम्रो विजय शङ्कास्पद देखिन्छ ।

सन्तकहाँ पछि पुगेको दोस्रो राजा सन्तले दिएको आशीर्वादको मनन गर्दै निराश नभई, युद्धमा शत्रुपक्षको सामना कसरी गर्ने भन्ने योजना तुन्दै आफ्नो राज्यमा फर्किएर आयो । उसले हार मानेन, दरबारमा फर्किने बितिक्कै सेनापतिलाई बोलायो र आदेश दियो – मैले गुरुजीको आशीर्वाद लिएर आएको छु, हामीले जोडतोडका साथ तैयारी गर्नुपर्छ । सबै सिपाहीहरूले राष्ट्रका निमित्त प्राण नै आहुति दिनु परे पनि पछि हट्नु हुँदैन ।

उता सुरुमा सन्त भेट्न गएको शासकमा उल्लास र आनन्द थियो । गुरु महाराजले विजय सुनिश्चित छ भन्ने आशीर्वाद दिनु भएकाले उसले चिन्तित हुनु पर्ने कुनै परिस्थिति नै थिएन । विजय निश्चित भएकाले उसको सम्पूर्ण समय आमोद–प्रमोदमा बित्न थाल्यो । युद्धको पूर्वसन्ध्यासम्म पनि उसले आफ्नो सेनापतिलाई भेट्न आवश्यक ठानेन । उसका सैनिकहरू पनि मोजमस्तीमा मग्न थिए । जुन शासकले विजयश्रीको आशीर्वाद पाएको थियो, उसलाई युद्धप्रति कुनै वास्ता नै थिएन, उसका सिपाहीहरूले युद्धको अभ्याससम्म पनि गरेनन् । तर जसको विजयका बारेमा सन्तले शङ्का व्यक्त गरेका थिए, उसले र उसका सिपाहीहरूले रातदिन मिहिनेत गरी युद्धको अभ्यास गरे । उनीहरू युद्धका ससाना एकाइलाई पनि राम्ररी बुझ्नका लागि मिहिनेत गर्दथे । परिणामतः तिनले युद्धकलाका सबै पक्षमा आफूलाई योग्य र दक्ष तुल्याए ।


निर्धारित समयमा युद्ध प्रारम्भ भयो । पछिबाट सन्तको आश्रममा पुग्ने राजाका सिपाहीहरूले युद्धमा आफूले गरेको अभ्यास र युद्धकलालाई प्रयोग गरे अनि युद्ध सुरु भएको केही समय बित्न नपाउँदै शत्रुपक्षका सेनालाई परास्त तुल्याइदिए । सुरुमा सन्तलाई भेटेर विजयप्रति ढुक्क भएको शासक छक्क पर्यो, रिसले तिलमिलायो अनि हारको झ्वाँकमा तुरुन्त गुरु महाराज कहाँ पुग्यो र झर्कोफर्को गर्दै भन्यो – गुरुदेव, अब तपाईंको वाणीमा कुनै शक्ति बाँकी रहेन, तपाईंको भविष्यवाणी पनि झूठ्ठा हुने रहेछ । पराजित राजाका कुरा सुनेर सन्त मुसुक्क हाँसे र शान्त मुद्रामा भन्न थाले – बाबु, तिमीले रिसाउनु र अत्तालिनु निरर्थक छ, मैले भविष्यवाणी गर्दा तिम्रो र उसको सेनाको तात्कालिक आकलन गरेर बोलेको थिएँ । तिम्रो विजय र उसको हार निश्चित थियो । तर विजयको त्यो अवस्थालाई कायम राख्न मिहिनेत, परिश्रम र पुरुषार्थको पनि आवश्यकता हुन्थ्यो, तिमी र तिम्रा सिपाहीमा त्यसको अभाव देखियो । अतः भाग्यले पनि सदैव कर्मशील र पुरुषार्थी मनुष्यलाई मात्र साथ दिन्छ । मैले तिम्रो शत्रुलाई तेरो विजय शङ्कास्पद छ भनेको थिएँ, त्यस्तो सुनेर पनि उसले अभ्यास र परिश्रमलाई निरन्तरता दियो, त्यसैले उसले यो युद्धलाई सजिलै जित्यो, यद्यपि उसकै पराजय निश्चित थियो । सन्तको उत्तर सुनेर पराजित राजा लज्जित भयो र उनीसँग क्षमा माग्दै फर्कियो । ऊ अब हुने अर्को युद्धमा विजय प्राप्त गर्न केकस्ता कमी कमजोरीलाई सुधार्नु पर्ने रहेछ भन्ने सोच्दै दरबारमा आइपुग्यो ।

त्यसैले तपार्इंको भाग्य र भविष्य तपार्इंकाे मुट्ठीमा छ ।

Saturday, October 21, 2017

लक्ष्मी कसरी प्रसन्न हुन्छिन् ?

तिहारको झिलीमिली । चारैतिर दियो, बत्ती र बिजुलीको उज्यालोले औंसीको अन्धकार अलप भएको थियो । सबैले बत्ती बाल्ने काम सिद्ध्याएर अब घरभित्र धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गर्ने तैयारी गर्दै थिए । म पनि लक्ष्मी पूजाका लागि पूजाको थाली सजाउन व्यस्त थिए । घरको मूलदैलोमा कसैले ढक्ढक्याएजस्तो लाग्यो । भित्रैबाट मैले कराएँ, "को हो ?"

उताबाट परिचित महिलाको आवाज आयो, "म माधवी ।"

मैले दैलो उघारें । मेरो दैलैअगाडि महँगा महँगा सारीचोलो र गहनाले झकिझकाउ भएर माधवी उभिएकी थिईन् । उनी मेरी छिमेकी हुन् । दाङदेउखुरीकी जमिनदारकी छोरी । हामी दुबैका पति त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत छन् । आफूलाई संस्कृत विषयकी ज्ञाता नै ठान्दथिन्, कता रानीपोखरीतिर उनी पढाउँछिन् पनि । सिङारपेटार र साजसज्जामा राम्रो सौख राख्छिन्, आडम्बर देखााउनु र परिवारको प्रशंसा अनि हैसियतको व्याख्यान गरेर कहिल्यै थाक्दिनन् । उनको व्यक्तित्वको वैशिष्ट्य यही हो भन्दा फरक पर्दैन । यिनै चरित्र ओकल्दै उनी बोल्न थालिन् - "म्याडम, तपाई ठिक्क साढे आठ बजे मेरा घरमा पाल्नु होला । हामी भव्यताका साथमा लक्ष्मी पूजाको तैयारी गर्दैछौं ।"

मैले प्रतिक्रिया जनाइहालें - "होइन, मेम, त्यतिवेला त तपाईंकहाँ मात्र कहाँ हो र ?, हाम्रामा पनि लक्ष्मी पूजा नै हुने गर्छ, अनि तपाईंको निम्तोमा कसरी पुग्न सकिएला र ?"

"होइन, सुन्नुस् न !, तपाईंलाई लक्ष्मी पूजा गर्न कत्ति समय लाग्ला र ! पूजाविधिको कुरै पर जाआेस्, तपाईंहरूलाई लक्ष्मीका स्तोत्र पनि आउँदैनन् । सर पर्नुभयो विज्ञानको शिक्षक, अनि तपाईंले पढेलेखेकै छैन ।  पूजामा लाग्ने त्यही पाँच दस मिनेटको समय त हो नि, त्यही फोटामा भएका लक्ष्मी र गणेशको चित्रमा फूलपाती र सेलरोटी चढायो सिद्धी हाल्छ । हामी कहाँ भव्य पूजा हुन्छ, त्यस्तो पूजा तपाईंले अहिलेसम्म कतै देख्नु भाकै छैन होला ।"

"त्यस्तो कसरी होला र ?, सबै पूजा एउटै होइन र ?"

"खोइ, तपाईंलाई कसरी सम्झाउनु, बरु यहाँ छिटोछिटो पूजा गरी ठिक्क साढे आठ बजे मकहाँ पाल्नुस् न । मैले टियु क्वार्टरका सबै परिवारलाई निम्तो गरेकी छु । थाहा पाइहाल्नु हुन्छ, मेरो पूजा देखेर सप्पै दङ्ग पर्नेछन् । वास्तविक लक्ष्मी पूजा कस्तो हुँदो रहेछ भन्ने थाहा पाएर सप्पैले वाह वाह भन्नेछन् । माता लक्ष्मी त्यस्तै भव्य पूजाबाट प्रसन्न हुन्छिन् । हिजोआजका मान्छे लक्ष्मीलाई रिझाउन पनि आनाकानी गर्छन् । पूजा गरे झैं झारा टार्छन् ।" यति भनिसकेर जसरी उनको मुखबाट फटाफट बोली निस्किरहेको थियो, त्यसरी नै फनक्क फर्केर गई पनि हालिन् ।

बेलुका साढे आठ बजे हामीले सपरिवार लक्ष्मीको पूजा सम्पन्न गर्यौं । केटाकेटी र पतिदेव छरछिमेकका घरको सजावट र बत्तीको झिलीमिली हेर्न बाहिरिए । टाढा कतै भैलिनी गाएको स्वर र मादलको आवाज सुनिंदै थियो, म घरैमा सोफामा बसी माधवीले लगाउने भनेको भव्य पूजाका बारेमा सोच्दै थिएँ । "साँच्चै हामीले धनधान्य र सुखसम्मृद्धिकी देवी मानिने लक्ष्मीको पूजाका लागि के नै गरेका छौं र ?" म घोत्लिंन थालें, "यसो दुईचार वटा सेल पकायो, पञ्चपालामा पाद्य, अर्घ्य बनाए झैं गर्यो, फूलपाती चढायो, धूपबाती गरिदियो, बस पाँच मिनेटमा पूजा खतम । वास्तवमा माधवीकै घरमा माता लक्ष्मीको वास्तविक र भव्य पूजा हुँदै होला ।" उत्सुकता बढ्दै गयो, मन मानेन, खुट्टामा चप्पल भिरेर माधवीकै घरतिर लागें । मेरा पति र केटाकेटी फूर्तिफार्ती र सेखी देखाउने माधवीका कुरामा चासो राख्दैनथे ।

उनका दैलामा आठ दस जना पुरुष र महिला उभिएका थिए, लक्ष्मी पूजा हेर्न निम्ता पाएर आएका हुनन्, प्रशंसा गर्दै भनिरहेका थिए - "साँच्चै बडो भव्यताका साथमा पूजाको तैयारी हुँदैछ ।" मैले पनि उनको घरमा प्रवेश गरें । पूजा सुरु हुनै लागेको रहेछ । उनले खुसी हुँदै मेरो स्वागत गरिन् । त्यसपछि पूजाकोठा देखाउन भित्र लिएर गईन् । महँगा महँगा विदेशी सारी वरपर राखेर कोठालाई सजाइएको थियो । मध्य भागमा लक्ष्मी र गणेशका निकै ठूलठूला चाँदीका प्रतिमा चाँदीकै पिर्का बनाएर प्रतिष्ठा गरिएको थियो । घरमा भएभरका गहनागुरिया लक्ष्मीको मूर्तिमा र जेजति नगद थिए, ती सबै एउटा रातो रेशमको कपडामाथि राखेर गणेशको मूर्तिमा चढाइएको थियो । त्यसबाहेक चाँदीकै थालीमा ११ किसिमका फलफूल, बजारमा महँगा मानिने किसिमकिसिमका ११ थरी मिठाइ, १६ वटा चाँदीकै दियोमा जगमग बत्ती बलिरहेको देखिन्थ्यो । म पनि असाध्यै प्रभावित भएँ । कताकता हाम्रा घरमा झुक्किएर लक्ष्मी आइहालिन् भने के भन्दी हुन् भन्ने ठानें । अनि भनें, "साँच्चिकै भव्य पूजा, वास्तवमा सक्नेले यसरी नै लक्ष्मी पूजा गर्नु पर्ने रहेछ ।"

"हो मेडम, हाम्रो परिवारमा त यो परम्परा नै बनेको छ । हामीले जत्तिको पूजा कसले पो गर्न सक्ला र ? यी मूर्ति र पूजाका भाँडाकुँडा छन् नि, तिनको मूल्यमात्र अहिले पाँच लाखभन्दा कम हुँदैन । यो हाम्रो पुर्ख्यौली सम्पत्ति हो । प्रोफेसर साहेबको कमाइले त खान पुर्याउन पनि गाह्रो हुन्छ । हुन पनि हाम्रो लवाइखवाइ पनि कहाँ कम छ र ?"

पूजा हेर्न त मन थियो, तर उनका कुराले मलाई त्यहाँ धेरै बेर अड्याएन । एकछिनमा शुभ दीपावली भनेर विदा मागें, उनले पनि शुभ दीपावली भनिन्, त्यसपछि आफ्नै घरमा आएँ । घर आइपुग्दा केटाकेटी पनि आइपुगेका रहेछन् । एकछिन पटाखा र फूलजरीको आनन्दमा रमायौं । दिनभरिको कामधन्दा जिउ गलेको रहेछ, एकै छिनमा भुसुक्क निंदाएछु । रात बाँकी नै थियो । लगभग बाह्र बजेको होला । छिमेकमा मानिसहरूको हल्लखल्ल र गाइगुइँ बढेछ, म ब्युँझिएँ । तिहारको उमङ्ग र उत्साह जागै थियो, कतै टाढा नाचगान र देउसी/भैलोका स्वरहरू गुन्जिरहेका थिए । छिमेकमा पनि त्यसैको रन्को होला भन्ठानें, तर ध्यानपूर्वक सुन्दा त तिनै माधवी चिच्याई चिच्याई रोइरहेकी पो रहिछन्, "हाइ, के अनर्थ भयो । हामी लुटियौं, उनको डेडवर्षे ऋण लिएर जोडेको सम्पत्ति, सबै एकै छिनमा गुम्यो । अब हाम्रो के हबिगत होला ? शत्रुका अगाडि कसरी मुख देखाउनु "

मैले ढोका खोलेर हेरें, बाहिर २०/२५ जना पुरुष र महिला उभिएका थिए । तिनैमध्ये कसैले सल्लाह दिएको आवाज आयो, "सबैभन्दा पहिले महानगरीय प्रहरी वृत्तमा खबर गर्नुपर्छ । उसैले पत्ता लगाउँछ, सबैको घरमा खानतलासी गर्न लगाउनु पर्छ ।"

"ए ! माधवीको घरमा चोरी भएछ", मैले कुरो बुझें । वास्तवमा पूजा सकेर लक्ष्मी आउँछिन् भनेर दैलो खुल्लै राखेर सबै सुतेछन्, ब्युँझदा पूजाकोठामा राखेका गरगहना, नगद, मूर्ति र पूजासामाग्री गायब । उनी विलौना गरिरहेकी थिईन्, उनकै घरबाहिर उभिएका छिमेकका आइमाई उनकै कुरा काट्दै थिए, "सानो ठाँटबाँट थिएन । आफैंले गर्दा त हो नि । अब आफैंले यसको परिणाम ब्यहोर्ने हो ।"

तिनै महिलामध्ये निकै धनीमानी र सम्भ्रान्त देखिने एउटी महिलाले भनिन्, "जसले घरमा आएका अतिथिको सत्कारमा, समाजको भलाइका लागि, गरीबगुरुबालाई दान गर्न र अन्य सार्वजनिक हीतमा धनको उपयोग गर्छ, लक्ष्मीलाई स्वकेन्द्रित नगरी व्यष्टिसमष्टितर्फ उनलाई लिएर जान्छ, उसैकहाँ लक्ष्मीको स्थायी निवास हुन्छ । यो पुराणको भनाइ हो, अन्यथा लक्ष्मी त चञ्चला हुन्छिन् ।"

तिनका कुरामा मेरो पनि चित्त बुझ्यो, उनलाई समर्थन गर्दै मैले पनि थपें, "साँचो भन्नुभो, मनको पवित्र भावना र सत्कर्म तथा श्रद्धाद्वारा देवीदेउता प्रसन्न हुन्छन् । आडम्बर र स्वाङ पारेर देउता खुसी हुँदैनन् ।"

केही बेरमैं प्रहरी आइपुगे । सोधीखोजी र अनुसन्धान प्रारम्भ भइसकेको थियो, माधवी विलाप गरिरहेकी थिईन् ।

लक्ष्मी कसरी प्रसन्न हुन्छिन् ?

Tuesday, July 25, 2017

विचार नै तपाईंको जीवनको नियति

मनुष्य के हो ? यस प्रश्नका अनेक उत्तरहरू आउन सक्छन् । एउटा उत्तर हुनसक्छ - मानिस वास्तवमा विचारहरूको सङ्ग्रह हो । विचार मानसिक प्रक्रिया हो । जसरी माकुराले आफ्नो शरीरभित्रबाट तन्तुहरू निकालेर जालो बुनिरहन्छ र अन्त्यमा आफूले बुनेको जालोभित्र आफैं जेलिन्छ, त्यसरी नै मानिसले पनि आफूभित्र हरदम अनेकानेक मानसिक विचारहरूको जालो तुनिरहेको हुन्छ र त्यसै जालोभित्र आफैं कैद हुने गर्दछ । मान्छेले सद्विचारको जालो बुन्यो भने ऊ सद्विचारको जालोले आबद्ध हुन्छ तर उसले दुर्भावना र दुर्विचारहरूको जालो बुन्दै गयो भने ऊ स्वतः दुर्विचारहरूको फन्दामा पर्ने गर्दछ ।

मानिसले कस्तो विचार ग्रहण गर्ने यस विषयमा मानिस स्वतन्त्र र बन्धनरहित छ । उसले चाहेमा ऊ सद्विचारहरूमा रमण गर्न सक्दछ र नचाहेमा दुर्विचारहरूलाई अँगाल्न सक्दछ । तर एकपटकमात्र मनुष्य दुर्विचारहरूको जालोमा फस्यो भने उसले आफ्नो विचार स्वतन्त्रतालाई क्रमशः गुमाउँदै जान्छ । कुनै व्यक्ति दुर्विचारको भावनामा अभ्यस्त भयो भने ऊ दुर्विचारहरूको प्रवाहमा सहजरूपले बग्न थाल्दछ र त्यसपछि दुर्विचार त्यागेर पुनः सद्विचारहरूमा रमण गर्न उसलाई अति कठिन हुन्छ ।
अभ्यस्त दुर्विचारले जीर्ण रोग जसरी नै मानिसलाई क्रमशः विनाशको बाटोतर्फ धकेल्दै जान्छ । जसरी जीर्ण रोग असाध्य र दु:साध्य हुन्छ, त्यसैगरी अभ्यस्त दुर्विचार पनि असाध्य र दु:साध्य हुन्छ । मानिसको शरीरमा जब रोगले जरो गाड्दै गहिराइसम्म अड्डा जमाउँछ, त्यसले मनुष्यलाई बल–वीर्यहीन बनाउँछ, पाचनक्रिया गड्बड गर्दछ, शरीरमा शुद्ध रगतको निर्माण हुन सक्दैन, हिंड्डुल गर्ने शक्ति क्षीण भएर जान्छ । यस्तो अवस्था देखेपछि हामी उक्त रोग असाध्य भएको ठान्दछौं, धामी, झाँक्री, ज्योतिषी, वैद्य र डाक्टर जहाँ धाए पनि उसले निराश भएर फर्कनु पर्दछ । तर रोग लागे पनि त्यसले मनुष्यको शरीरमा क्षीणता ल्याएन, ऊ बल–वीर्यले हीन भएन भने भन्ने गरिन्छ - रोग दु:साध्य त हो, तर औषधिसेवन गर्नाले र पथ्य ठीक राख्नाले कालान्तरमा रोगी रोगमुक्त हुनसक्दछ ।

दुर्विचारको असाध्य रोगी सद्विचारको नामसमेत सुन्न चाहँदैन । उसका लागि सारा जगत् दुर्विचारहरूको अड्डा हो । सद्विचार मृगमरीचिका तुल्य हुन्छ । उसलाई विश्वास हुँदैन - संसारमा वस्तुत: सद्विचारको समेत अस्तित्व हुन्छ । त्यसैले ऊ निरन्तर दुर्विचारहरूमा नै रमण गरिरहेको हुन्छ, विष्टामा रहेको किरो झैं त्यसैमा उसलाई रस प्राप्त भइरहन्छ । ऊ त्यसबाट बाहिरिन चाहँदैन । यसरी दुर्विचारको असाध्य रोगले रोगीलाई चुर्लुम्म डुबाउने गर्छ ।

दुर्विचारको दु:साध्य रोग पथ्य भोजन गर्नाले, सत्सङ्गबाट तथा सद्ग्रन्थहरूको स्वाध्याय गर्ने र त्यसलाई निरन्तर व्यवहारमा उतार्ने प्रयास गर्नाले सुसाध्य हुनसक्दछ । सत्सङ्गको अर्थ हो – राम्रो सङ्गति, भगवद्भावको अभ्यास र सद्विचारको अनुसरण । असत्सङ्ग अर्थात् नराम्रो सङ्गति, भोगासक्तहरूको सङ्गति र सद्विचारहरूको त्याग । दुर्विचार साङ्क्रामक रोग हो । दुर्विचारमा अभ्यस्त मनुष्य जहाँ जान्छ, आफ्नो दुर्विचारका कीटाणुहरूलाई फैलाइरहेको हुन्छ अर्थात् ऊ निरन्तर समाजमा दुर्विचारको वीजारोपण गर्ने गर्दछ । उसको शरीर दु:सङ्गतिको पुतला जस्तो हुन्छ । एउटा व्यक्तिले सामान्यतया आफुसँग जे छ, समाजले उसबाट त्यही पाउने हो, त्यसैले दुर्विचारले ग्रस्त मानिसले उसँग जे छ त्यही लुटाउँछ र समाजलाई दूषित पार्दछ । अपरिपक्व विचार भएकाहरू उपर दुर्विचारका कीटाणुहरूको असर अतिशीघ्र हुन्छ । परिपक्व विचार भएका मनुष्य उपर दुर्विचारका कीटाणुहरूले असर गर्दैन ।

सद्विचारको जीवन स्वर्गको नन्दनवनसमान सुखद र रमणीय हुन्छ । सद्विचारको अभ्यासी मनुष्य जहाँ जान्छ, समाजमा स्वस्थ जीवनको जीवनी शक्ति लिएर जान्छ र मानिसहरूलाई सद्विचारले प्रवृत्त गर्दछ । बाटो बिराएकाहरूको मार्गप्रदर्शक बन्दछ । सद्विचारद्वारा नै सभ्यता र संस्कृतिको उन्मेष हुन्छ । जुन समाजमा सद्विचारको साधना चल्दछ, त्यो समाज शक्तिशाली बन्दछ र उसबाट प्रवाहित प्रेरणाहरूले महापुरुषको जन्म हुन्छ ।
असद्विचारको अवलम्बनले व्यक्ति र समाजलाई अध:पतनतर्फ लिएर जान्छ । सद्विचार र असद्विचारको कसी बाह्य जगत् हो । मनुष्यले सोचोस् कि बाह्य जगत्को बारेमा उसले कसरी चिन्तन गर्दछ, सत् या असत् ? संसार नै दर्पण हो । संसारको विषयमा आफ्नो विचार नै आफ्नो स्वरूप हो । मनुष्यले जे सोच्दछ, त्यही नै उसको जीवन हो ।

फूलको आँखामा फूलै संसार भने जसरी नै संसाररूपी दर्पणलाई असत् दृष्टिले हेर्दा मनुष्यले असत् नै हेर्दछ । पाप हेर्दा पापमयी वृत्ति हुन्छ । पुण्य हेर्दा पुण्यमयी वृत्ति हुन्छ । त्यसैले – ‘यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी ।’ पुण्य देख्ने व्यक्ति पुण्यफलको भागी बन्दछ, पाप देख्ने व्यक्ति पापफलको भागी बन्दछ । अर्को शब्दमा भन्न सकिन्छ - पुण्य देख्ने व्यक्ति पुण्यात्मा बन्दछ, पाप देख्ने व्यक्ति पापात्मा । एकपटक स्वामी रामतीर्थका समीपमा कलेजका दुई छात्रहरू गए । एउटा छात्रले भन्यो - स्वामीजी ! उसले मलाई भन्यो कि म मरिसकेपछि बिरालोको जन्म लिन्छु । अर्को छात्रले भन्यो - स्वामीजी ! उसले मलाई भन्यो कि मेरो मृत्युपछि म कुकुर्नीको पेटबाट जन्म लिन्छु । तपाईं नै भनिदिनुस् कि के हुन्छ ? स्वामीजीले उत्तर दिनुभयो - जसले अरूलाई कुकुर्नीको पेटबाट जन्म लिन्छ भन्दछ, ऊ स्वयम् कुकुर्नीको पेटबाट जन्मन्छ र जसले अरूलाई बिरालोको पेटबाट जन्म लिन्छ भन्दछ, ऊ  बिरालोको बच्चा बन्दछ ।

साँचो हो - मन नै जगत् हो । मन राम्रो त जगत् नै राम्रो र मन नराम्रो त जगत् नै नराम्रो । अत: स्वामी रामतीर्थले भनेका छन् - हो, सुधारको आवश्यकता छ, तर अरूलाई सुधार गर्नका लागि होइन, स्वयम् आफूलाई सुधार गर्नका निमित्त । वास्तवमा मनुष्य आफ्नो शत्रु आफैं बन्दछ र आफ्नो मित्र पनि आफैं बन्दछ । जो आफूलाई ठीक राख्ने चेष्टामा लीन रहन्छ, ऊ आफ्नो मित्र आफैं हुन्छ र जसले यसको उपेक्षा गर्दछ, ऊ आफ्नो शत्रु आफैं हो ।

Thursday, May 11, 2017

सुझबुझ र चेतनाको प्रतिफल

एक पटक एउटा देशका सुरक्षाकर्मीले कुनै शत्रु राष्ट्रको गुप्तचरलाई समाते। शरीर र ऊसित भएका सरसामान निरीक्षण गर्दा त्यस गुप्तचरसँग त्यसो त त्यस्तो आपत्तिजनक कुनै सामाग्री भेटिएन, बरु बाहिरै मगमग वासना आइरहेको स्वादिष्ट झैं लाग्ने एउटा मिठाइको बट्टा प्राप्त भयो ।

स्वादिष्ट व्यञ्जन देखेपछि सिपाहीहरूको मुखमा पानी आयो । सिपाहीहरू त्यस बट्टामा भएका मिठाइ बाँडेर खाने विचार गर्दै थिए, एउटा सिपाहीले सुझायो - 'यो त हाम्रो शत्रु राष्ट्रको जासुस हो, मिठाइमा विष मिसाएको हुनसक्छ।' त्यस सुझावलाई सबैले स्वीकार गरे । तीमध्ये एउटाले आफ्नो मिठाइ खाइहाल्ने लालसालाई नियन्त्रण गर्न सकेन । तुरुन्त उसले आफ्नो सुझाव अघि सार्यो - ' विष मिसाएको छ, छैन यसैलाई खान दिए तुरुन्त थाहा पाइहालिन्छ नि !' उसको समयोचित निर्णयलाई सबैले सहमति जनाए र त्यस गुप्तचरलाई मिठाइ खुवाएर परीक्षण गर्ने विचार गरे । उनीहरूले त्यस गुप्तचरलाई एउटा मिठाइको टुक्रो दिंदै खान बाध्य तुल्याए । उसले ती सिपाहीकै अगाडि त्यो मिठाइको टुक्रो मिठो मान्दै खायो ।

उसले मिठाइ आनाकानी नगरी खाएको देखेर ती सिपाहीले झटपट त्यो डिब्बाको मिठाइ खाए । मिठाइ खाइसकेर डकार्दै ती सिपाहीको हाकिमले 'ल यसलाई बाँधेर थानामा लिएर जाऊँ' भन्यो । गुप्तचरका दुबै हात पछाडि लगेर बाँधे र थानातर्फ लिएर गए । केहीबेरपछि त्यस जासूसलाई रिंगटा लाग्न थाल्यो, छिनछिनमा आलस्यले हाइ हाइ गर्न थाल्यो । त्य जासुसलाई नियाल्दै गरेको एउटा सिपाहीले के भयो भनी सोद्धा गुप्तचरले भन्यो 'सम्भवतः अघि खाएको मिठाइमा मन्दविष मिसाइएको थियो। खाएको केही समयपछि मात्र त्यो विष शरीरमा घुल्छ र मान्छेको मृत्यु हुन्छ । शायद मेरो समय समाप्त भयो, म मर्छु होला।' गुप्तचरका कुरा सुनेपछि सबै जनाको होस गुम्यो । ती सबैले आफ्नो जीवनसमाप्ति हुनलागेको भयावह त्रासको कल्पना गरे । उनीहरूले आफ्नो कर्तव्य र दायित्वलाई बिर्सिए । अघि मिठाइ खान तँछाडमछाड गरे झैं अब को पहिले चिकित्सककहाँ पुग्ने भनेर हत्तारिन थाले । गुप्तचर हिंड्दाहिंड्दै बाटोमा लम्पसार पर्यो, त्यसपछि त ती सिपाहीको होसहवास सबै हरायो । त्यस गुप्तचरलाई त्यस्तै अवस्थामा छाडेर डाक्टरको खोजीमा तुरुन्त सहरतर्फ कुदे ।

सिपाहीहरू टाढा पुगेको अनुमान गर्दै गुप्तचर जुरुक्क उठ्यो र आफु मुक्त हुन प्रयोग गरेको तात्कालिक उपाय सार्थक भएकोमा मनमनै खुसी हुँदै आफ्नो नयाँ गन्तव्य पहिल्याउँदै बाटो लाग्यो ।

Wednesday, March 22, 2017

सिकन्दरलाई साधुको शिक्षा

सिकन्दर महान् कैयों युद्धमा विजयी भएका थिए । उनी विश्व विजयी हुन चाहन्थे । धेरै देश जितिसकेपछि सिकन्दरले आफ्ना सेनापतिलाई आदेश दिए - "अब सुनको चरो तर्फ अघि बढ ।"

त्यसबेला दक्षिण पूर्व एसियालाई संसारले 'सुनको चरो' भनेर चिन्दथ्यो। सिकन्दरको आदेश पाउनासाथ सेनापतिले नक्सा हेरेर दक्षिण पूर्व एसियातर्फ कदम अघि बढाए । विशाल हिमालय काटेर सिकन्दरका सेनाले दक्षिण पूर्व एसियामा पाइला हाले । उनीहरू सिन्धु नदीका किनारसम्म पुगेको एक स्थानमा त्यसबेला भारतवर्षमा पौरसहरूको राज्य थियो। उनका सेनासित सिकन्दरका सेनाको घमासान युद्ध भयो। सिकन्दरका सेनाले पौरसको सेनालाई पराजित गरे । राजा पौरसलाई समेत सिकन्दरले बन्दी बनाए। दक्षिण पूर्व एसियामा सिकन्दरको यो नै पहिलो विजय थियो । सुनको चरोमाथि विजय पाएपछि सिकन्दरमा खुसीको सीमा थिएन ।

युद्ध सकिएपछि सैनिकहरू आफ्ना शिविरमा आराम गरिरहेका थिए । सिकन्दर भने आफूले विजय प्राप्त गरेका देशको सहर र गाउँ हेर्न घोडा चढेर निस्के । विजयको उन्मादले फुलेर हिंडेका सिकन्दरले विलौना गरेर रोइरहेका महिला र बालबालिकाहरू देखेर सिकन्दरलाई दया लागेन उल्टै उनी गौरव गरिरहेका थिए । सिकन्दरले आफ्नो घोडालाई वनको बाटो तर्फ मोडे । उनी केही अघि बढेका मात्र थिए । उनले आगोको मुस्लो देखे । उनी त्यतैतिर अघि बढे । सिन्धु नदीका किनारमा केही नाङ्गा मानिसहरू आगोमा चामल, घिउ, तिल र जौ मुछेर हातमा लिइरहेका थिए । सिकन्दर एउटा रुखका फेदमा उभिएर चुपचाप हेर्न थाले । जाडोको समय थियो । चिसो सिरेटो चलिरहेको थियो । त्यस्तो बेला त्यहाँका मानिसहरू नाङ्गै थिए । लाज ढाक्ने एउटा लगौंटीबाहेक शरीरमा केही थिएन । शरीरमा खरानी दलेका थिए सिकन्दरलाई उनीहरूको निर्धनताप्रति दया लाग्यो । ती नाङ्गा मानिसको भलाइका लागि केही उपकार गर्ने सिकन्दरले निश्चय गरे । मध्यरातका बेला थियो । सिकन्दरले आफ्नो शिविरमा फर्केर सेनापतिलाई आदेश दिए - "केही न्याना कपडा र कम्मलको व्यवस्था मिलाउ । मलाई तुरुन्तै त्यसको खाँचो परेको छ ।" न्याना कपडा र कम्मलहरूको थाक लाग्यो। न्याना कपडा र कम्मलहरू आफ्नै घोडामा लादेर सिकन्दर त्यही ठाउँमा गए । चरु होम चलिरहेको थियो । यज्ञमा आहुतिको मन्त्रोच्चारणले वायुमण्डल नै गुञ्जायमान थियो ।

सिकन्दर घोडा लिएर उनीहरूका नजिकै गए तर उनीहरूको ध्यान सिकन्दरतिर गएन । सिकन्दरले उनीहरूलाई घचघच्याएर बोलाए तर कसैले पनि उनीतिर ध्यान दिएनन् । त्यो देखेर सिकन्दरलाई झोंक चल्यो । त्यहाँ भएमध्येका एकजना बूढा भएतिर उनी गए । सिकन्दरले आफू उपेक्षित भएको महसुस गरे । त्यसपछि ती नाङ्गा बूढालाई घचघच्याएर सिकन्दरले भने - "सुन त, म सिकन्दर महान हुँ । " शरीरमा खरानी दलेका जटाधारी बृद्ध बाबाले शान्त र मधुर स्वरमा भने - भन त नवयुवक तिमीलाई म के दिउँ, तिमीलाई के चाहिएको छ ?" उनका प्रश्नले सिकन्दर अकमक्क परे । सिकन्दरले फेरि भने - "म तिमीबाट केही चाहन्न । म सिकन्दर महान् हुँ । यस्तो जाडोमा नाङ्गो शरीर देखेर न्याना कपडा र कम्मल ल्याइदिएको छु ।" ती नाङ्गा साधुले सिकन्दरलाई नियालेर हेरे । अनि भने - "तिमी त्यही सिकन्दर हो जो देशहरू लुट्दै, मान्छे मार्दै विजय गरें भन्दै हिंड्छौ ?" साधुले अट्टाहास गर्दै भने - "नव युवक, कुनै पनि लुटेरा वा हत्यारा दानी र विजयी हुन सक्दैन ।"

साधुले सिकन्दरका आँखामा आँखा जुधाए । सिकन्दर निला काला भए । सिकन्दरले केही जवाफ दिन सकेनन् । उनी शब्द विहीन स्तब्ध बनेर उभिरहे । बूढा साधुले भने - "मेरा बच्चा, तिमी साँच्चै विश्वविजयी बन्न चाहन्छौ भने पहिले आफ्नो प्रेमबाट देशबासीको मन जित । तिमीले हामीलाई त केही दिनु पर्दैन, हाम्रो चिन्ता नलेऊ । हामी साधु सन्त हौं । हामीसित जुन कुरा बचेको छ । त्यो पनि त्याग गर्न चाहन्छौ । अब भन तिमीलाई के दिउँ ? सिकन्दरलाई आफ्ना कानप्रति नै अविश्वास भयो । यस्तो त उनले न कहिले देखेका थिए न सुनेकै थिए। उनी उदास भए । साधुलाई अभिवादन गरेर सिकन्दर आफ्नो घोडामा राति नै शिविरमा फर्किए । भोलिपल्ट बिहान सिकन्दर चराचुरूङ्गीको मधुर स्वर सुनिरहेका थिए । त्यसैबेला उनले निश्चय गरे अब अघि बढ्नु उपयुक्त छैन। सिकन्दरले बन्दक बनाएर राखेका राजा पौरसलाई मुक्त गरेर अरू भागलाई आक्रमण गर्ने, जित्ने सोच त्यागे । उनी आफ्नो देश युनान तर्फ फर्किए ।

   - लक्ष्मी गुरागाई
युवामञ्च साउन, २०६७

Thursday, March 16, 2017

जहाँ इच्छा, त्यहाँ उपाय

श्रावस्तीमा दुर्भिक्ष (अनिकाल) ले गर्दा ठूलो हाहाकार मच्चिएको थियो । धेरै मान्छेहरू भोकमरीले पीडित थिए । बुद्धले आफ्ना शिष्यहरूलाई बोलाई सोध्नु भयो- 'यी भोकले पीडित मान्छेहरूलाई खाना खुवाउने जिम्मेबारी लिन को अघि सर्छौं ?"

त्यस समूहमा एकजना भक्त सेठ रत्नाकर पनि थिए, बुद्धको सामु टाउको निहुराउँदै उनले भने - 'भगवन् ! यस विशाल नगरमा असङ्ख्य मान्छेहरू भोकले ग्रस्त छन् । यत्तिका धेरै मानिसहरूलाई खाना दिने सम्पत्ति नै मसँग कहाँ छ र ? म एक्लै यति ठूलो कार्य आँट्नै सक्दिन।'

तिनै भक्तमध्ये अर्का भक्त जयसेनले विन्ति गरे - 'तथागतको वचन पालन गर्न पुग्ने भए म आफ्नो मुटुको रगत दिनसम्म तयार छु, तर अपशोच ! मेरो घरमा अन्नभने छैन।'

त्यस्तै अर्का भक्त धर्मपाल त्यस भेकका एकजना ठूला जमिनदार थिए, उनले लामो निश्वास लिँदै अघि सरे - 'कस्तो दुर्भाग्यको कुरो हो, भन्ते! मेरा ती अति उत्तम खेतहरू पनि सुख्खा छन् । यत्तिबेला म सरकारलाई कर तिर्नसमेत असमर्थ भएको छु। दरिद्रताले मेरो घरैमा निवास गर्नलागेको अवस्था छ ।'

यसरी त्यहाँ बुद्धका प्रवचन सुन्न र दर्शन गर्न आएका सबै शिष्यले एकपछि अर्को गर्दै आआफ्ना दुःखव्यथा र पीडा पोख्दै विवशता प्रकट गर्न थाले । कसैसँग पनि बुद्धको त्यस प्रश्नको जवाफ थिएन । करुणाले भरिपूर्ण बुद्धका आँखाहरू त्यस सभाकक्षमा उपस्थित भद्रभलादमी र भोक र अनिकालले ग्रस्त स्रावस्ती नगरलाई नियालिरहेका थिए ।

त्यत्तिकैमा त्यसै नगरको एक छेउमा बसोबास गर्ने र सहरका अन्य नागरिकहरूकहाँ सेवा गरी जीविका चलाउने एकजना नागरिक अनाथपिण्डककी छोरी, भिक्षुणी सुप्रियाले गहभरी आँसु लिई, बुद्धलाई प्रणाम गरी हात जोर्दै अति विनम्र भावले भनिन्- 'म सुप्रिया, भगवानको शासनअन्तर्गतकी एउटी भिक्षुणी, तथागतको यस आज्ञापालन गर्न तैयार छु। भोकले ग्रस्त, यी पीडितजन मेरा आफ्ना सन्तति हुन् । आजबाट उनीहरूलाई खाना खुवाउनु मेरो काम हुनेछ।'

उपस्थित विशाल सभागम आश्चर्यचकित भए र सबैले एकै मुखमा सोधे - 'तपाईं स्वयंअाफू एकजना भिक्षुणी हो, आफैंले मागेर जीविका चलाउनु परेको छ, के हिम्मतले तपाईंले यत्ति ठूलो अभिभारा लिने आँट गर्नुभएको हो, तपाईंसँग केकति सम्पत्ति छ र ? ''

सुप्रियाले पुनः बुद्धलाई प्रणाम गरी भन्नथालिन् - 'मसँग सम्पत्तिको नाममा भिक्षा माग्न प्रयोग गर्ने यही एउटा पात्रमात्र छ। त्यस्तै यस नगरकी एउटी निर्धन, साधारण र तपाईंहरूमध्ये सबैभन्दा कम शक्ति भएकी एउटी नारी हुँ। त्यसकारण म तपाईंहरूको सहृदयता र सहयोगको आशा गर्छु। तपाईंहरूले मलाई अवश्यमेव सहयोग पुर्याउनु हुनेछ, त्यसबाट शाश्ता बुद्धको आज्ञालाई कार्यान्वयन गर्न म समर्थ हुनेछु। मेरो सम्पत्ति र अन्नको भण्डार तपाईंहरूकै घरघरमा छरिएका छन्। तपाईंहरूको दयाले गर्दा यो पात्र जहिले पनि पूर्ण र भरी हुनेछ। त्यसैले भिक्षाटनकै माध्यमबाट म यस भूमि (सहर) लाई बचाउने छु र खान नपाई तड्पिरहेका मान्छेहरूको भोक शान्त पार्नेछु।'

माथिको प्रेरक कथाले मानिसमा नैराश्यता होइन, इच्छाशक्तिको खाँचो छ, भन्ने सन्देश प्रदान गर्दछ । जसले परिवेश र योग्यता वा क्षमतामा अभावै अभाव देख्दछ, त्यसले कहिल्यै उन्नति र प्रगति गर्न सक्दैन । धन हुनेले दान गर्न चाँहदैन, परोपकार र परहीतका लागि एउटा कन्चो खर्च गर्न डराउँछ, केवल जोगाउन र वचत गर्नमात्रै चिन्तित हुन्छ, त्यसको सुखसम्मृद्धि र सम्पत्ति उसले स्वयंले पनि भोग गर्न पाउँदैन । तपार्इंले समाजमा देख्नु भएकै होला, एक छाक पनि मिठो नखार्इ वा एकसरो राम्रो लुगासमेत नलगार्इ जीवन धान्ने व्यक्तिको बुढेसकाल साँच्चै दुःखमय भएर बितेको हुन्छ । लोभ र तिर्सनामात्र उसको जीवनवरिपरि मँडारिर्इ रहेको हुन्छ । उसले थुपारेको सम्पत्ति उसैका सन्तति र घरपरिवारभित्रका व्यक्तिले फजुलमा उडाएर सिद्ध्याएको उदाहरण कति भेटिन्छ कत्ति ! तर उदार मानसिकता भएका व्यक्तिले कहिल्यै दुःख पाएको देखिंदैन । उसमा लागू हुन्छ - चर्चित उखान 'जहाँ इच्छा, त्यहाँ उपाय' । यसै प्रसङ्गमा अर्को एउटा नयाँ पुस्ताको वास्तविक कथालार्इ पनि जोड्न सकिन्छ । जुलिओ इग्लेसिसले बाल्यावस्थामा नै एउटा सपना तुनेका थिए - 'संसारको सर्वश्रेष्ठ फुटवल खेलाडी बन्ने र विश्वकै सर्वश्रेष्ठ गोल्डमेडल आफ्नो हातमा लिने ।'

इग्लोसिस सानै हुँदा खेलकुदमा निकै रत्तिन्थे । सानै उमेरदेखि फुटबलमा रुचि राख्ने भएकाले उनी रातदिन फुटबल खेल्थे । रातदिन भनेको राती र दिउँसो भए झैं सजिलै भन्ने होइन, यसको अर्थ हो - कडा मिहिनेत र सङ्घर्ष । सङ्घर्ष भन्ने चिजै सजिलो हुँदैन, सङ्घर्ष असजिलो र कष्टप्रद हुन्छ । समयको क्रमसँगै उनी हुर्कंदै गए । उनको लगनशीलता र परिश्रमले किशोरअवस्था पार गर्नासाथ करिब २० वर्षको उमेरमा नै आफ्नो राष्ट्र स्पेनको गोलकिपर बने उनी । तर उनको लक्ष त्यतिमात्र थिएन, उनको सपना थियो - संसारकै ठूलो र महान् फूटबल खेलाडि बन्ने । उनको मिहिनेतले रङ जमाउँदै गरेको समय थियो, उनी चर्चित र प्रतिष्ठित बन्नै लागेका थिए, तर दुर्भाग्य, एकदिन उनी आफ्नो कारमा बसेर सायंकालीन भ्रमणमा निस्केका थिए, त्यसै वेला एउटा ठूलो दुर्घटना भयो । त्यस दुर्घटनामा इग्लोसिस गम्भीर घाइते भए, जसबाट उनी जीवन र मरणको दोसाँधमा पुगे । उनको विश्वप्रसिद्ध फुटबल खेलाडी बन्ने सपना भताभुङ्ग भयो, उनको उद्देश्य चकनाचुर भएर तुहियो । त्यसपछि फुटबल खेल्नु त परै जाओस्, उनी मर्छन् कि बाँच्छन् भन्ने कुरामा नै चिकित्सकहरू चिन्तित देखिन्थे । जसैतसै उनी बाँचे, तर उनको सम्पूर्ण शरीर पक्षाघात (प्यारालाइसिस) ले ग्रस्त भयो । फुटबल खेल्ने उनको सोख पूरा हुने सम्भावना छँदै थिएन, उनी हिंडडुल गर्न र दिसापिसाब गर्न पनि समर्थ थिएनन् । सुरुमा जीवनको यो र्दुदशा देखेर उनी दुःखित हुनु स्वाभाविकै थियो । उनलार्इ डिप्रेसन पनि भयो, आफ्नो जिन्दगीप्रति उनलार्इ घृणा लाग्न थालेको थियो । कति पटक त उनले अत्महत्याको प्रयास पनि गरे । तर उनको मनले उनैलार्इ सम्झायो, मर्नुभन्दा बौलाउनु बेस भनेर । अन्ततः आफ्नो मनलार्इ आफैं सम्हाल्नु पर्छ भन्ने ठानेर उनले आफ्ना दुःख र विरहका व्यथालार्इ गुनगुनाउन थाले । जब उनी एक्लै हुन्थे, गीत गुनगुनाउँदै आफ्ना निरसिला र कष्टदायक दिनहरू बिताउने गर्दथे ।

समय बित्दै गयो । उनको अशक्तता र विरहका ६ वर्ष बिते । यस अवधिमा उनी पहिलेभन्दा अलि तङ्ग्रिए । जसोतसो सामान्य हिंडडुल गर्न र शौचालयसम्म जानसक्ने भए । विरहव्यथा गुनगुनाउँदै गर्दा उनको बोलीमा पनि निखार आउन थाल्यो र उनी आफ्ना पीडाका ती गीतहरू अरुलार्इ पनि सुनाउन थाले । उनको स्वर र शब्द सबैका लागि प्रियकर बन्यो । उनले गाउँदा सबैले मन पराउँथे । उनले बाद्यवादन र कलाको जानकारी पनि लिए । उनले आफ्ना गीतमा मिठास थप्न गिटारको प्रयोग गर्न थाले । गिटारमा उनको हात क्रमशः राम्ररी बस्यो । उनी प्रसिद्ध हुँदै गए । केही समयपछि उनले अखबारमा एउटा विज्ञापन देखे, जसमा साङ्गीतिक प्रतिस्पर्द्धा (म्युजिक कम्पिटिसन) मा भाग लिन नयाँ गायकहरूलार्इ मौका दिने विषय उल्लेख गरिएको थियो ।

इग्लोसिसले प्रतियोगितामा भाग लिए, उनको गायनकलाको सर्वत्र चर्चा भयो, धेरैले मन पराए । कुनै समयमा फुटबलको गोल्डकप समातेर विश्वप्रसिद्ध बन्ने अभिलाषा राखेका इग्लोसिस त्यस बाटोमा हिंड्न नसक्ने भए, तर उनी गायनका क्षेत्रमा यत्ति चर्चित भए कि एक दिन उनको साङ्गीतिक पहिचान विश्वका प्रसिद्ध दसजना गायकहरूमा हुन थाल्यो ।


त्यसैले 'बरु चरेस खाँदा सुध्रिने मौका पाइन्छ, तर हरेस खानु हुँदैन, जहाँ इच्छा त्यहाँ उपाय' भनिएको हो ।


स्रोत : बुद्धकालीन प्रेरक कथा 'धर्मकीर्ति' र विश्वप्रसिद्ध प्रेरक कथा

Wednesday, March 15, 2017

सङ्गत गुनाको फल

एकपटक अपरिचित गाउँमा पुगेका एक जना सज्जनलाई देखेर एउटा घरमा पालिएको सुगाले भनेछ- 'गाउँले हो ! नयाँ मान्छे आयो लुटलुट ।'

सज्जन त्यहाँबाट भागेर एउटा आश्रममा पुगेछन् । त्यहाँ पनि त्यस्तै एउटा सुगा पालिएको रहेछ । उसले भनेछ- 'आउनुहोस् महाशय ! तपाईंलाई स्वागत छ, भन्नुहोस् के सेवा गरौं ।'

सज्जनले आश्चर्य मान्दै आश्रमका महन्तलाई सोधेछन्- 'महाशय ! एउटै प्रजातिका प्राणीमा यी विपरीत गुण कसरी ? यसको रहस्य जान्न सक्छु ?' महन्तले भनेछन्- 'यी दुई सुगा एउटै प्रजातिका मात्र होइनन्, एउटै आमाका सन्तान हुन् तर सानैदेखि एउटालाई डाकुहरूले लगेर पालेका थिए भने अर्कोर्चाहिँ आश्रममा पालिएको थियो । डाकुहरूले पालेकाले त्यही भन्यो, जुन उसले सानैदेखि सुन्दै आएको थियो । आश्रममा पालिएकोले पनि त्यही भन्यो, जुन उसले सानैदेखि सुन्दै आएको थियो ।'

सार हो, जहाँ पनि सङ्गतको फल यस्तै हुन्छ । जस्ताको सङ्गत गरिन्छ, त्यस्तै बन्न वाध्य भइन्छ । यसमा आनाकानी गरिएमा व्यवहार नै चल्दैन । उखान नै छ- सङ्गत गुनाको फल ।

सङ्गतले कालोलाई सेतो बनाउन सक्छ । सेतोलाई कालो बनाइदिन पनि सक्छ । प्रकाशको सङ्गत पाउँदा निस्पट्ट अँध्यारो पनि उज्यालो बन्न पुग्छ । दुर्दिनको सङ्गतले दिनलाई पनि अँध्यारो बनाइदिन्छ । सज्जनको सङ्गतमा पर्दा दुर्जन पनि सज्जन बन्न पुग्छ । दुर्जनको सङ्गतमा परे सज्जनले पनि दुर्जनजस्तै बन्न पर्छ ।

अर्को प्रसङ्ग, एकपटक सज्जन र दुर्जन चौतारामा आराम गर्न बसेछन् । दुर्जनले पीपलको रूखलाई देखाएर सोधेछ- 'यो के को रूख हो ?' सज्जनले उत्तर दिएछन्- 'पीपलको ।' दुर्जनले भनेछ- 'होइन पलासको ।' यसमा उनीहरूबीच ठूलै विवाद परेछ । अन्त्यमा दुर्जनले कसेर दुई मुक्का दिएछ । मूर्खदेखि दैव डराउँछ ! बिचरा सज्जन 'ठीकै हो भाइ ! तिमीले भनेको यो पलासकै रूख हो' भनेर हिँडेछन् ।

बुद्धको सङ्गत पाउँदा अङ्गुलीमाल पनि प्रबुद्ध बनेका थिए । कंसको सङ्गतले अक्रूरलाई पनि क्रूर बनाएको थियो । दुर्योधनको सङ्गतले भीष्मलाई पनि दूषित बनाएको थियो राम, कृष्णको सङ्गतले शवरी र कुविजाहरू प्रशोधित हुन पुगेका थिए । आगोको सङ्गतले पानीलाई पनि आगोजस्तै तातो बनाइदिन्छ । पानीको सङ्गतमा आगोले पनि पानीजस्तै चिसो बन्न पुग्छ । एउटै कीरो फूलको सङ्गत पाए देवताको शिरमा चढ्दछ । फोहोरको सङ्गतमा परे नालीमा सड्छ ।

प्रकृतिको नियम नै यस्तै छ । सकेसम्म सबै अरूलाई आफू अनुकूल बनाउन खोज्दछन् नसके आफू अरूको अनुकूल बन्न पुग्दछन् । तपाईं शक्तिशाली हुनुहुन्छ भने आˆनो सङ्गतमा आउने सबैलाई आफैँ अनुकूल बनाइदिनुहुन्छ । होइन कमजोर हुनुहुन्छ भने जसको सङ्गतमा हुनुहुन्छ त्यही अनुकूल बन्नुपर्छ । संसारमा अनादिकालदेखि चल्दै आएको यो नियम अनन्तकालसम्म पनि चलि नै रहन्छ । चाहे मानिसको होस्, चाहे पशुपक्षी वा वनस्पति हरेकको अन्तर सङ्घर्षमा जो विजयी हुन्छ उसैको सत्ता स्थायी हुन्छ । पराजित हुनेले कि आफूलाई समाप्त गर्न पर्छ कि विजयी हुनेले भन्ने गरेका मूलधारमा समाहित हुनुपर्छ । हामीले देखेका छौं, हिजो स्याउ फल्ने स्थानमा आज सुन्तला फल्न थालेका छन् । सुन्तला फल्ने स्थान भोगटेले लिएका छन् । आखिर किन ? कहाँ गए तत्तत् स्थानका स्याउ र सुन्तला ? यसको उत्तर यही हो, उनीहरूलाई विस्थापित गर्ने तिनै सुन्तला र भोगटेमा समाहित भइसके, जसरी समुद्रमा मिसिएपछि नदीहरूको अवस्था हुने गर्दछ ।

तपाईं कता जाने ? तल जाने कि माथि ? तपाईंकै सङ्गतमा भर पर्छ । तपाईंले चाहनु भयो भने आफूलाई बदल्न त सक्नुहोला तर सङ्गतको प्रभावलाई बदल्न भने सक्नुहुन्न । एकपटक भेँडालाई खेद्दै आएकी गर्भिणी सिंहले भेँडाकै बथानमा बच्चा जन्माइछ । आˆनो बथानमा जन्मेकाले उसलाई भेँडाहरूले नै हुर्काएछन् । भेँडाको बथानमा हुर्केकोले ऊ आफूलाई पनि भेँडा नै ठान्दो रहेछ र भेँडाको जस्तै व्यवहार गर्दो रहेछ । यत्तिकैमा एकदिन सिंहले भेँडाको बथानमा आक्रमण गरेछ तर त्यतिबेला सिंहको बच्चो पनि भेँडासँगै भाग्दो रहेछ । त्यो देखेर सिंहले आश्चर्य मान्दै भनेछ- 'ओ भाइ ! तिमी त हाम्रै जातिका हौ । फेरि किन भागिरहेका छौ ?' उसले उत्तर दिएछ- 'कसले भन्छ मलाई तपाईंको प्रजातिको भनेर ? म त भेँडाको प्रजातिको हुँ बुझ्नुभो ?' बिचरा सिंह हेरेको हेर्यै भएछ । यो पनि सङ्गतकै फल हो ।

कमल रिजाल
युवामञ्च साउन, २०६८

Wednesday, November 23, 2016

पतनको मार्ग अहङ्कार

आत्म परिमार्जन गरेर मोक्षको मार्गमा बढेका पथिकहरू सधैं अहंकारको खतराबाट सावधान रहनुपर्छ। अहंकारले सामान्यलाई भन्दा असाधारण मानिसलाई बढी हानि पुर्याउँछ। महान् मानिसको अहंकार अशोभनीय मात्र नभएर पतनको कारक पनि हुन्छ। यहाँसम्म कि सत्यवादिता एवं अहिंसा व्रत पालन गर्ने मानिसमा पनि अहंकार जन्मन सक्छ। यसबाट जन्मने अहं व्यक्ति एवं समाजका लागि सांसारिक सफलताबाट जन्मने अहंभन्दा खतरनाक हुन्छ।

अहंकार जन्मनुको कारक दुर्बलता मानिन्छ। मानिस आफूमा भएको कमजोरी लुकाउने प्रयासमा साधना गर्न थाल्छ। जब साधनाबाट सिद्धि प्राप्त हुन्छ तब मानिसमा अहंकारको जन्म हुन्छ। यस विषयमा महाभारतमा एउटा कथा छ, कुनै एक तपस्वीलाई तपस्याका दौरान सिद्धि प्राप्त भयो। भयो के भने, एकदिन तपस्वी रूखमुनि बसेर तपस्या गरिरहेको थियो। रूखको हाँगाबाट एउटा चराले तपस्वीको टाउकामा विष्टा गरिदियो। टाउकामा विष्टा खसेको थाहा पाएर रिसाएको तपस्वीले चरोलाई हेर्दा चरो भस्म भयो। त्यो देखेर तपस्वीको मनमा अहं पैदा भयो। आफूमा सिद्धि प्राप्त भएको कुरा बुझेर ऊ तपस्या छाडेर भिक्षा माग्न हिँड्यो। भिक्षा माग्ने क्रममा एकजना गृहस्थकहाँ पुगेको तपस्वी भिक्षामा विलम्ब भएपछि रिसायो। उसले डरलाग्दो आँखा पारेर भिक्षा दिन आएकी गृहिणीलाई हेर्यो। उसको हेराइले गृहिणीमा कुनै असर पुर्याएन। गृहिणीले उल्टै उसलाई छक्क परेर भनी, के हेरेको त्यसरी ? म रूखको चरो त होइन। गृहिणीले आफ्नो सबै कुरा थाहा पाएको देखेर उसले गृहिणीमा आफूमा भन्दा बढी सिद्धि भएको थाहा पायो। ऊ नतमस्तक भयो। यसपछि गृहिणीबाट उपदेश लिएर तपस्वी गृहिणीले बताएको स्थानमा ज्ञान प्राप्त गर्न हिँड्यो। सफलताबाट प्राप्त हुने अहंकार कति कमजोर हुँदो रहेछ भन्ने कुरा यही प्रसङ्गबाट बुझ्न सकिन्छ।

मानिसले आफ्नो दुर्बलताका सम्बन्धमा जानकारी राख्नुपर्छ तर यसबाट भयभीत हुनु हुँदैन। दुर्बलताबाट डराएर यसलाई लुकाउन अहंको सहारा लिनाले साधकलाई हानि पुर्याउँछ। दुर्बलता हटाउन आफ्नो दुर्बल पक्ष स्वीकार गर्नुपर्छ। विवेकद्वारा अहंलाई नियन्त्रण गरेर दुर्बलताबाट माथि उठ्ने प्रयास गर्नुपर्छ। अहंले कहिल्यै दुर्बलतालाई प्रकट हुन दिँदैन। प्रकट नभएको कुरालाई नाश गर्न सकिँदैन। दुर्बलता जति लुकाइन्छ त्यति नै वृद्धि हुन्छ। यस्तो बेलामा आत्मशुद्धिको मार्गमा निस्किएका साधकले होसियारीपूर्वक काम गर्नुपर्छ। आन्तरिक युद्धलाई राम्रोसँग नियालेर आत्मालाई विवेकले सहारा दिँदै दुर्बलता एवं अहंकारलाई निस्तेज पार्नुपर्छ।

कुनै पनि व्यक्ति त्यतिबेला अहंको दास बन्छ जतिबेला ऊ व्यक्तिगत फाइदाका बारेमा सोच्छ। स्वार्थी व्यक्ति संदेहको स्थितिमा हुन्छ। एकातिर उसको चेतनाले सही-गलत के हो भनेर जानकारी दिइरहेको हुन्छ भने अर्कातिर स्वार्थी इच्छाले गलत बाटोतर्फ हिँडाइरहेको हुन्छ। यस्तोमा मानिस दुईथरी भावनामा पिसिन पुग्छ। यस्तो अवस्थाबाट पार पाउन आफ्नो निन्दा एवं प्रशंसाबाट बच्नुपर्छ। अन्यथा अहंकार जन्मन्छ। अहंकार साधकको मार्गमा तेर्सिने घोर दुस्मन हो। यसबाट बच्न प्रयास गर्नुपर्छ। प्रयासद्वारा अहंकार हटाइएपछि मानिस शुद्ध एवं बुद्ध हुन्छ।

मानिस कमजोर देखिन्छ तर छैन। हरेक मानिसमा असाधारण क्षमता छ। क्षमताको सही पहिचान गरेर अघि बढ्ने हो भने मानिसले गर्न नसक्ने कुरा केही छैन। उन्नतिको उच्च बिन्दुमा पुगेर संसार नियाल्ने हक एवं सामथ्र्य प्रकृतिले हरेक मानिसलाई प्रदान गरेको हुन्छ। यसकारण मानिस कर्मद्वारा सहजै उच्च पदमा पुग्न सक्छ। यद्यपि मानिसले जस्तोसुकै उच्च पदमा पुगे पनि नम्रता त्याग्नु हुँदैन र आत्मप्रशंसा गर्नु हुँदैन। महाभारतकै एक प्रसङ्गमा दानवीर राजा ययातिले अहंकारवश आफूले गरेका शुभकार्यको वर्णन गर्दा उनी स्वर्गबाट पतन भए भनिएको छ। अहंकारले उनको सारा पुण्य नाश भयो। अहंकार नै अनर्थको बीज हो। अहंकारबाट बचे देवत्त्व प्राप्त हुन्छ भने त्यसलाई अँगाले शुभकर्म समूल विनाश हुन्छ। त्यसैले पनि ज्ञानको मार्गमा लागेका मानिसहरू कहिल्यै अहंकार गर्दैनन्।