Thursday, May 11, 2017

सुझबुझ र चेतनाको प्रतिफल

एक पटक एउटा देशका सुरक्षाकर्मीले कुनै शत्रु राष्ट्रको गुप्तचरलाई समाते। शरीर र ऊसित भएका सरसामान निरीक्षण गर्दा त्यस गुप्तचरसँग त्यसो त त्यस्तो आपत्तिजनक कुनै सामाग्री भेटिएन, बरु बाहिरै मगमग वासना आइरहेको स्वादिष्ट झैं लाग्ने एउटा मिठाइको बट्टा प्राप्त भयो ।

स्वादिष्ट व्यञ्जन देखेपछि सिपाहीहरूको मुखमा पानी आयो । सिपाहीहरू त्यस बट्टामा भएका मिठाइ बाँडेर खाने विचार गर्दै थिए, एउटा सिपाहीले सुझायो - 'यो त हाम्रो शत्रु राष्ट्रको जासुस हो, मिठाइमा विष मिसाएको हुनसक्छ।' त्यस सुझावलाई सबैले स्वीकार गरे । तीमध्ये एउटाले आफ्नो मिठाइ खाइहाल्ने लालसालाई नियन्त्रण गर्न सकेन । तुरुन्त उसले आफ्नो सुझाव अघि सार्यो - ' विष मिसाएको छ, छैन यसैलाई खान दिए तुरुन्त थाहा पाइहालिन्छ नि !' उसको समयोचित निर्णयलाई सबैले सहमति जनाए र त्यस गुप्तचरलाई मिठाइ खुवाएर परीक्षण गर्ने विचार गरे । उनीहरूले त्यस गुप्तचरलाई एउटा मिठाइको टुक्रो दिंदै खान बाध्य तुल्याए । उसले ती सिपाहीकै अगाडि त्यो मिठाइको टुक्रो मिठो मान्दै खायो ।

उसले मिठाइ आनाकानी नगरी खाएको देखेर ती सिपाहीले झटपट त्यो डिब्बाको मिठाइ खाए । मिठाइ खाइसकेर डकार्दै ती सिपाहीको हाकिमले 'ल यसलाई बाँधेर थानामा लिएर जाऊँ' भन्यो । गुप्तचरका दुबै हात पछाडि लगेर बाँधे र थानातर्फ लिएर गए । केहीबेरपछि त्यस जासूसलाई रिंगटा लाग्न थाल्यो, छिनछिनमा आलस्यले हाइ हाइ गर्न थाल्यो । त्य जासुसलाई नियाल्दै गरेको एउटा सिपाहीले के भयो भनी सोद्धा गुप्तचरले भन्यो 'सम्भवतः अघि खाएको मिठाइमा मन्दविष मिसाइएको थियो। खाएको केही समयपछि मात्र त्यो विष शरीरमा घुल्छ र मान्छेको मृत्यु हुन्छ । शायद मेरो समय समाप्त भयो, म मर्छु होला।' गुप्तचरका कुरा सुनेपछि सबै जनाको होस गुम्यो । ती सबैले आफ्नो जीवनसमाप्ति हुनलागेको भयावह त्रासको कल्पना गरे । उनीहरूले आफ्नो कर्तव्य र दायित्वलाई बिर्सिए । अघि मिठाइ खान तँछाडमछाड गरे झैं अब को पहिले चिकित्सककहाँ पुग्ने भनेर हत्तारिन थाले । गुप्तचर हिंड्दाहिंड्दै बाटोमा लम्पसार पर्यो, त्यसपछि त ती सिपाहीको होसहवास सबै हरायो । त्यस गुप्तचरलाई त्यस्तै अवस्थामा छाडेर डाक्टरको खोजीमा तुरुन्त सहरतर्फ कुदे ।

सिपाहीहरू टाढा पुगेको अनुमान गर्दै गुप्तचर जुरुक्क उठ्यो र आफु मुक्त हुन प्रयोग गरेको तात्कालिक उपाय सार्थक भएकोमा मनमनै खुसी हुँदै आफ्नो नयाँ गन्तव्य पहिल्याउँदै बाटो लाग्यो ।

No comments:

Post a Comment