Saturday, May 27, 2017

साप्ताहिक राशिफल (२०७४ ज्येष्ठ १४ - २०)

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– 
१५ गते : गणतन्त्र दिवस, सगरमाथा विजय दिवस, अग्निवास(होमादि), 
१६ गते : रुद्राभिषेक(रुद्रीपूजा), 
१७ गते : कुमार षष्ठी, चण्डिकाभगवती यात्रा (भक्तपुर), विश्व धूमपानरहित दिवस, सिथिनख (नेवारी पर्व), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), अक्षरारम्भ, कलशचक्र, 
१८ गते : कुमार यात्रा, साहित्यकार गोपालप्रसाद रिमाल स्मृति दिवस, रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, 
१९ गते : अष्टमी व्रत, गोरखकाली पूजा, वायु अष्टमी, श्री ५ वीरेन्द्र स्मृति दिवस, शुभविवाह, अग्निवास(होमादि), कलशचक्र, 
२० गते : शुभविवाह, ब्रतबन्ध (उपनयन), रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र

साप्ताहिक राशिफल
(वि.सं. २०७४ ज्येष्ठ १४ गतेदेखि वि.सं. २०७४ ज्येष्ठ २० गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
पराक्रम र उत्साहमा बृद्धि हुने सप्ताह छ । सुरुमा तेस्रो भावमा रहेको चन्द्रमाले उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । सोमबारपछि चौथौ भावमा पुग्ने चन्द्रमाका कारण केही नकारात्मक परिणाम आउन सक्छन्, सचेत हुनुपर्छ । घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन । परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन, मिहिनेत र परिश्रम व्यर्थै खेर जान सक्छ । बुधबारपछि बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ । साताको अन्त्यमा सहयोगी हातहरू पछि हट्न सक्छन् । गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ । सवारी साधनबाटसमेत हानि पुग्नसक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
धनधान्य र सुखसम्मृद्धि बृद्धिका लागि गरिएका प्रयास सफल हुने साता छ । प्रारम्भमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । सोमबारपछि व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । तर बुधबारपछि अनुकूल समय रहने छैन । परिवारमा मतभेद हुनेछ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । प्रतिकूल परिस्थितिले पछ्याउने छ । सानातिना कामको झमेला आउनसक्छ । गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । पुनः साताको अन्त्यमा समय उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन अध्यापन सफल रहेको छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
आफ्नै राशिमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले यस साताको अधिकतम समय घुमघाम, मनोरञ्जन र रामरमाइलोमा समय यापन हुनसक्छ । प्रारम्भमा पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था हुनसक्छ । सोमबारपछि परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । उक्त अवसरमा तपार्इंको प्रत्यक्ष संलग्नता र भूमिका रहने देखिन्छ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । बुधबारपछि मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । तर साताको अन्त्यमा चौथो भावको चन्द्रमाले गर्दा आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला । गरेका कामधन्दा र मिहिनेतबाट लाभ हुने सम्भावना छैन । रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
आर्थिक सङ्कट, विवाद वा मुद्दामामिलाका साथमा समय बिताउनु पर्ने छ । साताको प्रारम्भमा बाह्रौं भावमा रहेको चन्द्रमाले गर्दा समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । मनमा विरक्तिको भाव बहन सक्छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन । सोमबारपछि आफ्नै घरमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ, यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । बुधबारपछि आर्थिक क्षेत्र सबल रहने छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । साताको अन्त्यमा जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपार्इंले भने जसरी नै काम सम्पन्न हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
मिश्रित प्रभाव भएको साता छ । साताको प्रारम्भमा राज्यस्थानमा रहेको चन्द्रमा छ, त्यसैले सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सोमबारपछि दुईदिन आर्थिक पक्ष कमजोर रहने छ, यस अवधिमा सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुनसक्छ । लामो दूरीको आकस्मिक यात्राको सम्भावना देखिन्छ, सोचेजस्तो लाभ मिल्न सक्दैन । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । मनमा निराशा र विरक्तिभाव जाग्नेछ । बुधबारपछि नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । साताको अन्त्यमा पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
कर्मप्रति लगनशील बन्न सक्दा यो साता उत्तम परिणाम प्राप्त हुने लक्षण छ ।  प्रारम्भमा हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । सोमबारपछि भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । बुधबारपछि त्यति अनुकूल समय छैन, कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । यात्रा घातक बन्नसक्छ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शङ्काले मन व्याकुल हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुँदैन । साताको अन्त्यमा आफ्नै घरमा चन्द्रमा आउनाले मन प्रफुल्ल रहने छ । दानपुण्यका लागि असल छ । परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ, त्यसैले मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ । चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
सुरुमा भाग्यभावमा रहेको चन्द्रमाले सकारात्मक साता छ भन्दा अत्युक्ति हुँदैन । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । सोमबारपछि प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । यो समय विशेष महत्वको समय हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । बुधबारपछि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । साताको अन्त्य अनुकूल रहँदैन, बन्दव्यापार, श्रममूलक काम, कृषि तथा पशुपालनका क्षेत्रमा सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, आकस्मिक रूपमा अतिथिको आवाभगत गर्नुपर्ने हुनसक्छ । दैनिक कामकाजमा खर्च बढ्ने छ । झर्कोलाग्दो यात्राको योग छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
सवारीसाधन हाँक्दा, बाटो काट्दा वा हातहतियार चलाउँदा सचेत हुनुपर्छ । साताको प्रारम्भमा नै अष्टमस्थ चन्द्रमा रहेकाले सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने समय छ । स्वास्थ्यमा पनि समस्या देखिन सक्छ । सोमबारदेखि उताको समय अनुकूल नै रहने छ । सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । बुधबारपछि आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । साताको अन्त्यमा इष्टमित्रले प्रशंसा गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
प्रेमप्रसङ्ग र दाम्पत्यसम्बन्ध सकारात्मक रहने साता छ । साताको प्रारम्भमा समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । सोमबारपछि दुई दिन चोटपटक र दुर्घटनाको सम्भावना हुनेछ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । बुधबारपछि पुनः राम्रो समय रहने छ, परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । साताको अन्त्यमा व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने समय हो । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
छैटौं र आठौं भावमा चन्द्रमाको भ्रमण हुने भएकाले मिश्रित प्रभाव भएको साता छ । प्रारम्भमा काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । सोमबारपछि हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बुधबारपछि साताको अन्त्यसम्म सवारीसाधन र हातहतियारसँग जिस्कनु घातक बन्नसक्छ । त्यस समयमा खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ, त्यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापबाट समेत हानि पुग्ने सम्भावना छ । तर शनिबार धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाउने सम्भावना समेत छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
मिश्रित प्रभाव भएको समय भएकाले जे गरे पनि आफ्नै बुद्धि खियाएर अघि बढेमा उन्नति गराउने समय देखिन्छ । साताको प्रारम्भमा सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । सोमबारपछि सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय होइन । आर्थिक सङ्कटको योग छ । बुधबारपछि कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरुले राम्रो आर्थिक लाभ गर्नेछन् । प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । साताको अन्त्यमा ढिलो गरी कार्यसम्पादन हुने समय छ । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । लेनदेनमा विवाद हुनेछ । व्यवहारिक हानी हुनेछ होस राख्नोस् । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
सुरुमा चौथो भावमा चन्द्रमा भएकाले घरायसी समस्यामा रुमल्लिएर समय व्यतीत हुने सम्भावना देखिन्छ । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । आइतबार र सोमबार धैर्यले काम लिने समय छ । त्यसपछि सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । बुधबारपछि छैटौं भावमा चन्द्रमा रहनाले स्वास्थ्यमा अचानक गडबडी आउने देखिन्छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । आमा वा दिदीको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । साताको अन्त्यमा प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ ।  

No comments:

Post a Comment