Thursday, May 25, 2017

बुद्धवाणि

भगवान बुद्धले संसारलाई जीवनको चार आर्यसत्य दिनुभएको छ । भगवान बुद्धको यो उपदेश सर्वकालका लागि उपयोगी सिद्ध भएको छ । यो मार्ग शुरु भएको २५ सय वर्षभन्दा बढी भइसक्यो । तर उहाँले बताउनुभएको मार्ग त्यो समय पनि सटीक थियो, आज पनि छ र जबसम्म मानव समुदाय रहन्छ तबसम्म रहनेछ । उहाँले मानवको स्वभाव र चेतनाको कुरा गर्नुभएको छ । श्रद्धामा होइन विज्ञानमा आधारित भएर ।

उहाँले एउटा जीवन-विज्ञान दिनुभयो । दर्शनशास्त्रको मात्र कुरा होइन रोग र मनोचिकित्साको कुरा गर्नुभयो । कसैमा आश्रित हुने कुरा होइन बरू आफैमा जागरण र होशमा महत्व दिनुभयो । इशारा गर्नुभयो र मार्ग आफैंले खोज्नुभयो । उहाँको पूरै जोड यसमा थियो कि मनुष्यको पीडा कसरी हटोस्? । त्यसको रूपान्तरण कसरी निकाल्ने ? र ऊ आफैंले आनन्दरूपी स्वभावलाई चिन्न सकोस् । त्यसैका लागि भगवान बुद्धले चार आर्यसत्यको घोषणा गर्नुभयो ।

१) दुःख छ, मानिस दुःखी छ ।
२) मानिसको दुःख उसको दुःखी हुनाको कारण हो । दुःख अकारण त हुँदैन ।
३) दुःखको निदान छ, दुःखको कारणलाई हटाउन सकिन्छ । दुःख हटाउने साधनहरू छन् । त्यो नै आनन्द पाउने साधन हो ।
४) दुःख निवारणको अवस्था छ । एउटा यस्तो अवस्था छ जब दुःख रहन सक्दैन । दुःखबाट मुक्त हुने पूरै सम्भावना छ ।

जीवनमा दुःख छ
भगवान बुद्धले भन्नुभयो जीवनमा दुःख छ । जीवन नै दुःख हो त्यसकारण कि मानिसहरु दुःखमा परे र उसले दुःख देख्न सकेन । बुद्धले भन्नु भएको छ जन्म दुःख हो । जवानी दुःख हो । मित्रता दुःख हो । प्रेम दुःख हो । रोग दुःख हो । सम्बन्ध दुःख हो । असफलता त दुःख हो तर सफलता पनि दुःख हो । लाग्दछ कि बुद्ध महादुःखवादी हो । यसरी पनि भन्न सकिन्छ जीवन आनन्द हो । आनन्दको उपाय छ । आनन्द प्राप्त गर्न सकिन्छ । आनन्दको एउटा स्थिति छ । यो पूर्णताको स्थिति हो ।

यो दुःख निवारणको स्थिति हो । तर प्रश्न उठ्दछ बुद्धले नकारात्मक मात्रै किन सोच्नुभयो ? कारण सफा छ । दुःखको बारेमा त सबैलाई थाहा छ । आनन्द कसलाई थाहा छ र ! जसलाई साक्षात्कार नै गरेको छैन, जसलाई जानेकै छैन, कुनै परिचय नभएको कुरालाई उठाउन कसरी सम्भव छ र ! शुरूवात त अनुभवको आधार बनाएर गर्न सकिन्छ । जीवन दुःख हो , यो त जीवनको तथ्य हो । यसलाई कसले इन्कार गर्न सक्छ र ! दुःखबाट जो पनि मुक्त हुन चाहन्छ । बुद्धले जीवनलाई निन्दा गर्नुभएको छैन । यत्तिनै भत्रुभएको छ जीवनको ढङ्ग छ, त्यो दुःख हो । जीवनमा सबै दुःखको रोगले ग्रस्त छन् । उहाँले रोगलाई चिनाइदिनुभयो । फेरि उहाँ रोगको कारण बुझाउनुहुन्छ ।

रोगबाट छुटकारा दिलाउनलाई औषधि पनि बताउनुहुन्छ र रोगबाट मुक्त भएकाहरूको स्थितिका बारेमा पनि बताउनुहुन्छ । उहाँले यी सब करूणाका कारण भनिरहनुभएको छ । जीवन दुःखको घर बनिरहेको छ, आफ्नो जीवन पद्धतिका कारण । उहाँले त जीवनको यथार्थ कुरा भनिरहनुभएको छ ता कि त्यस काँडाले विझोस् फेरि त्यसलाई टाढा भगाउने उपाय गरोस् र जसबाट महासुख प्राप्त होस्, आनन्द प्राप्त होस् ।

दुःखको कारण छ
भगवान बुद्ध आनन्दको कुरा गर्नुहुन्न । उहाँ भन्नुहुन्छ कि दुःख उत्पन्न गर्ने कुराहरूलाई छोडिदेऊ । आनन्द त आफसेआफ हुन्छ । किनकी आनन्द त मानिसको स्वभाव हो । आनन्द त छ, तर त्यसलाई लिने थोरै हो । दुःख भएन भने त स्वतः आनन्द हुन्छ । मानिसहरु सोच्दछन् कि जब आनन्द नै छ भने त्यसलाई प्राप्त गर्ने कोशिश गर्नु पर्दछ । तर दुःख नहटाई आनन्द प्राप्त गर्न सकिन्न । आनन्दको खोजमा ऊ दुःख भुल्दछ । दुःखको बाटोमा जान थाल्दछ र आनन्दको कामना गर्न थाल्दछ ।

रोगको कारण भइरह्यो भने त स्वास्थ्यको कामनाको कुनै परिणाम हुन्न । अतः बुद्ध भन्नुहुन्छ कि स्वास्थ्य पाउने हो भने बिरामीको कारण पत्ता लगाऊ र त्यसलाई हटाऊ अनिमात्रै स्वस्थ्य रहन सकिन्छ । बुद्धको उपदेशको सबैभन्दा ठूलो कुरो यो हो कि उहाँले कुनै सिधा कारण बताउनु भएन । इशारा गर्नुभयो र महत्वपूर्ण कुरा भन्नुभयो- “अप्प दीपोभाव ”। आफ्नो दीयो स्वयम् बन । उहाँले भन्नुभयो- “ आकाशे च पदं नत्थि, समणो नत्थि बाहरे ” । आकाशमा पथ हुँदैन र जो बाहिरतिर दौडन्छ उसले ज्ञान प्राप्त गर्न सक्दैन । त्यसैले त बुद्धको मार्गमा ध्यानमा विशेष जोड दिइएको छ र होशतिर सबैभन्दा बढी ध्यान दिइन्छ । ध्यानमा जति निर्विचारको स्थिति आउँछ त्यतिनै आनन्द स्पष्ट हुन थाल्नेछ । विस्तारै-विस्तारै यो स्पष्ट हुनेछ कि सुख, आनन्द, संसारमा खोजेर प्राप्त गर्न सकिन्न । ध्यानबाट घण्टा-आधा घण्टामा प्रकाशको सानो-सानो किरणले जीवनदृष्टिमा आरम्भ गरिदिनेछ । दुःखको कारणमा दृष्टि पर्‍यो त उपचार प्रारम्भ भयो ।

दोषयुक्त मन
भगवान बुद्धले भन्नुभएको छ यदि कोही दोषयुक्त मनबाट बोल्दछ अथवा कर्म गर्दछ भने दुःखले उसको अनुसरण यसरी नै गर्नेछ कि जस्तो गाडालाई तान्ने बैलको खुट्टाको । यदि मनमा कसैलाई दुःख दिने भाव उठ्दछ भने त बीज झरिरहेको छ । बीज ठूलो भएर बृक्ष बन्नेछ र त्यसमा फल लागेपछि त उसले भोग्नु नै पर्नेछ । प्रायः जब दुःख आउँदछ त्यस पछि मानिसहरू सोच्दछन् कि कोही अरू उसको लागि दुःख उत्पन्न गरिरहेका छन् – पत्नी, पति, छोरा, पिता, मित्र, समाज आदि ।

तर बुद्ध भत्रुहुन्छ कि दुःखको कारण व्यक्तिको मनमा हुन्छ । बाहिर खोज्न गयौं भने गल्ती हुन्छ । उहाँ भन्नु हुन्छ यदि कसैले गाली गर्दछ भने त्यसलाई स्वीकार नगर । दोष उसको हो क्रोध गर्‍यो भने हामीले आफैलाई दण्ड दिन्छौं । जब हामी कुनै चिजलाई भिन्न लिन्छौं तब नै त्यो सक्रिय हुन्छ । अरूबाट नलेऊ, भित्र जानै नदेऊ त दुःखको कुनै कारण हुनेछैन । सबै कुरा मनको हो । त्यसको व्याख्या गरिएको छ । सबै त्यसैमा निर्भर हुन्छ ।
त्यसकारण बुद्ध भन्नु हुन्छ जति हामी द्वेषीको या बैर बैरीको गर्दछौं त्यसभन्दा धेरै खराबी गलत मार्गमा लागेको चित्तले गर्दछ । उहाँ भन्नु हुन्छ दुश्मनसँग डराउने जरूरत छैन, चित्तसँग डराउनु आवश्यक छ किनकी गलत दिशामा गएको चित्तले नै हानी गर्दछ । ठीक दीशामा जाने चित्त त मित्र हुन्छ । अतः चित्तबाट साबधान हुनु आवश्यक छ । गलत मार्गमा लैजाने चित्तले व्यक्तिलाई सबैतिर भट्काउँदछ । आफैंलाई भित्रि खोजको साधन बन्न दिँदैन, त्यसले आफैंलाई एक्लो बन्न दिँदैन । चित्त यदि भीडबाट हट्यो भने, आफैंमा केन्द्रित भइदियो भने त दुःखको कारणनै समाप्त भइहाल्छ ।

सुख-दुःख ब्याख्यामा निर्भर
सुख र दुःख हेर्नमा निर्भरनै दृष्टिमा निर्भर हो । यो सबै आ-आफ्नो व्याख्या हो । त्यही कुरा कसैलाई सुख हुन सक्दछ त कसैलाई दुःख हुन सक्दछ । त्यही कुरामा कोही निरपेक्ष रहन सक्दछ, न दुःख अनुभव गरोस् न सुख । यो पनि हुन सक्दछ कि जुन आज सुख लागिरहेको छ भोलि त्यही दुःख हुनेछ । त्यसको बिपरीत पनि हुन सक्दछ । यदि जीवनको ठीक-ठीक निरीक्षण भयो भने निश्चय नै ज्ञात भइहाल्छ कि जीवनमा हामी जे पनि अनुभव गर्छौ, दुःख अथवा सुख सबै हाम्रा व्याख्याहरू हुन् । व्याख्या बदलिदियो भने अर्कै हुन्छ । व्याख्या आफ्नो हो, हरेक व्यक्ति त्यसलाई बदल्नमा स्वतन्त्र छ । कसैको कुनै वन्धन छैन ।

भगवान बुद्धले धम्मपदमा भन्नु भएको छ- “सुसुखं वत । जीवाम वेरिनेसु स्वेदिनो । वेरिनेसु मनुस्सेसु विहराम अबेरिनो ।” अर्थात बैरीहरूका बीच अबैरी भएर ओहो ! हामी सुखपूर्वक जीवन विताइरहेका छौं । बैरी मानिसहरू बीच अबैरी भएर हामीहरू विहार गर्छौ । यो कुरा बुद्धले एउटा विशेष अवसरका समयमा भन्नुभयो । यसका पछाडि सूत्रको जन्मको कथा छ । शाक्य र कोलि राजाहरूबीच रोहिणी नामको नदीको पानीलाई रोकेर दुबैजना जनपदबासी आफ्ना खेतहरूको सिँचाइ गर्थे । एकपटक जेठ महीनामा वालीहरू सुकेको देखेर दुबै जनपदबासी पहिले आफ्नो खेतलाई सिञ्चन गर्न चाहन्थे । अतः दुबैको नोकर बीच झगडा भयो । यो झगडाको खबर दुबैको मालिकलाई भयो । तब दुबैजना सेना लिएर युद्ध गर्न आए । भगवान बुद्ध रोहिणी नदीको तटमा ध्यान गर्दै हुनुहुन्थ्यो । जब बुद्धले यो कुरा थाहा पाउनुभयो उहाँ युद्धमा तत्पर दुबै सेनाको बीचमा आउनुभयो ।
भगवान बुद्धलाई देखेर शाक्य र कोलिहरूले हतियार फालेर बन्दना गरे । भगवान बुद्धले दुबै राजालाई भन्नुभयो कि के कुराको झगडा हो? राजाहरूले भने कारण हामीलाई थाहा छैन । भगवानले सोध्नुभयो फेरि कारण कसले जान्दछ? सायद सेनापतिहरूलाई थाहा होला । सेनापतिहरूले उपसेनापतिहरूलाई इशारा गरे । उपसेनापतिहरूले सैनिकहरू तिर इशारा गरे । हुँदाहुँदा कुरा आखिर नोकरहरूकहाँ सम्मै पुग्यो । नोकरहरूले भने भगवान ! पानीको कारण । बुद्धले भन्नुभयो पानी त सदियौंदेखि बगिरहेको छ । पानीको कारण हुनै सक्दैन । नोकरहरूले भने पहिले कस्ले उपयोग गर्ने भन्ने कुरामा । बुद्धले भन्नु भयो पहिलो कि कारण पानीको कारण होइन । बुद्ध हाँस्नु भयो शाक्य र कोलिहरूको प्रधानहरूसँग सोध्नुभयो पानीको के मूल्य र मानिसको के मूल्य हो ? उनीहरूले भने पानीको त नाममात्र मूल्य छ र मानिस अमूल्य छ । बुद्धले भन्नुभयो फेरि सोच नाम मात्रको मूल्यका लागि अमूल्यलाई मेटाउन हिँड्यौ । असारका लागि सारलाई गुमाउँछौ ?
दृष्टि बदलियो भने त सबै बदलिन्छ । व्याख्या बदलियो भने त सबै बदलिन्छ ।

सुख-दुःख स्वयंको
साधारणतया धारणा यो हुन्छ कि अरूले दुःख दिइरहेको छ । यसको यो अर्थ हुन्छ कि अरूले नै सुख दिन्छ । बुद्धको जीवनको एउटा घटना छ । बुद्धलाई कसैले गाली गर्‍यो । बुद्धले भन्नुभयो तिम्रो कुरा पूरा भैसक्यो भने म जान्छु है त? । त्यो व्यक्तिले भन्यो कुरा होइन म त गाली गरिरहेछु । बुद्धले भन्नुभयो मेरो लागि त यो कुरो नै हो । तिम्रो लागि गाली होला । यदि तिमी दशवर्ष पहिले आएको भए यो मेरो लागि गाली हुन्थ्यो । अब म अर्काका भूलका लागि आफूलाई दण्ड दिन चाहन्न, दुख पाउन चाहन्न । गाली गरिरहेछौ त तिमी नै जान, म बीचमा आउँदिन । त्यो व्यक्ति फर्क्यो तर रातभरी सुत्न सकेन । ऊ बिहानै माफी माग्न आयो । बुद्धले भन्नु भयो जुन मैले लिएकै छैन त्यसका लागि मैले कसरी क्षमा गर्ने ? तिमी जान, तिम्रो काम जान । दुःखी हुन चाहन्छौ भने त यो घटना पर्याप्त छ तर यदि यसमा पनि खुशि हुन चाह्यौं भने , दुःखी नहुन चाह्यौं भने त कोही अरूले बाधा गर्न सक्दैन । सीधा अर्थ छ कि अरूले न त दुःख दिन सक्दछ न नै सुख । हामी आफैं आफ्नो मालिक बन्यौं भने त कुनै अरूले दुःख दिनै सक्दैन । यसरी अरूको हातमा साँचो दियौं भने, आफ्नो स्वीच अरूलाई दबाउन दियौं भने तब नै अरूले दुःख दिन सक्दछ ।

अर्कै गाउँको एकजना पहलमान गाउँमा आयो । पहलमानी युद्ध भयो । त्यो पहलमान हार्‍यो । सबैजना ऊ देखि हाँस्न थाले, सबैजनाले जोड-जोडले हाँसेर ताली बजाउन थाले तर त्यो पहलमान पनि जोड-जोडसँग हाँस्न थाल्यो । दर्शकहरू हाँस्न छोडिसके तर त्यो पहलमान हाँसि नै रहेको थियो । त्यो पहलमानले भन्यो म पनि हेरिरहेको थिएँ, ठूलो पहलमान बनेर घुमिरहेको थिएँ, खूब भयो चारैतिर चित । ऊ त पहलमान नै थियो तर त्यो भन्दा ठूलो उसको फकीरीपन थियो । मस्ती थियो । ऊ अरूका कारण सुखी-दुःखी बनेनन्, नोकर बनेनन् ।

सुखको आशाबाट दुःख
दुःख तब आउँछ जब सुखको आशा गरिन्छ । सुखको आशा पनि आफ्नो नजिकैबाट हुन्छ । पतिबाट हुन्छ, पत्नीबाट हुन्छ, छोराबाट हुन्छ । यदि कुनै स्त्रीले नहेरी जान्छ भने त दुःख हुँदैन तर पत्नीले नहेरी जान्छ भने दुःख हुन्छ । यदि कसैको छोराले आफूलाई सम्मान दिँदैन भने दुःख हुँदैन तर आफ्नो छोराले सम्मान गर्दैन भने दुःख हुन्छ । पत्नीले दुःख दिन्छिन् । पतिले दुःख दिन्छ । मित्रले दुःख दिन्छ अर्थात जो निकट छ उसैले दुःख दिन्छ किनकी जो नजिक हुन्छ उसैबाट सुख प्राप्ति हुन्छ । प्राप्ति त हुँदैन आभास हुन्छ । जसबाट सुखको आशा गरिन्छ उसैबाट दुःख प्राप्ति हुन्छ ।

दुःख अपेक्षाबाट प्राप्त हुन्छ । जति ठूलो सुखको उपेक्षा हुन्छ, त्यतिनै टुट्दछ । अपरिचितबाट उपेक्षा हुँदैन त्यसकारण दुःख पनि हुँदैन, दुःख त परिचितहरूबाटै प्राप्त हुन्छ । यदि उपेक्षा छोड्यौं भने, सुखको आशा गरेनौं भने दुःख हुनै सक्दैन । न बाहिरबाट सुख आउँछ, न त बाहिरबाटनै दुःख आउँछ । दुःख सुखको उपेक्षाको नै परिणाम हो । लाओत्सेले भन्नु भएको छ “मैले कहिल्यै सम्मान चाहिन त मेरो कसरी अपमान हुन सक्दछ ।”
दुःखबाट छुटकारा पाउनका लागि बुद्धले उपेक्षा एउटा कारगर उपाय भनेका छन् । उपेक्षाको अर्थ हो, न दुःख प्राप्त हुन्छ न सुख प्राप्त हुन्छ । कुनै उपेक्षा नराख्नुको अर्थ उपेक्षा हो । उपेक्षामा जिउनेहरूलाई न कुनै चीज दुःख दिन सक्छ न सुख । यो त साक्षीभावले जिउँछ ऊ त दुईटैलाई समदृष्टिले देख्दछ ।

दुःख दिएनौं भने स्वतः सुख
दुःख मानिसको मूल स्वभाव होइन अतः त्यस्तो घट्न घट्यो भने कठिनाइ हुन्छ, राम्रो लाग्दैन । यो कुनै एक व्यक्तिसँग हुँदैन सबै ब्यक्तिसँग हुन्छ । त्यसैकारण सबै धर्ममा भनिएको छ कि यस्तो कुनै व्यबहार अरूलाई नगर जो स्वयम् अरूद्वारा आफूले अपेक्षा नगरेको होस् । सीधा अर्थ यो हो कि यस्तो कुनै कार्य नगर जसबाट अरुलाई दुःख होस् । विश्वका सबै प्राणी सुखसँग रहन चाहन्छन् तर साधारण मानिस आफ्नो लागि अलग्गै नियम बनाउँदछ र अरूका लागि अलग्गै । ऊ चाहन्छ कि सारा संसारलाई दुःख भए पनि म सुख चाहन्छु । अरूलाई दुःख दिन्छ आफ्नो सुखका लागि । प्रकृतिको नियम छ जे दिइन्छ त्यही फर्किन्छ । अस्तित्वमा कुनै सीमा छैन, सबै एक-अर्कासँग आधारित छ, जोडिएको छ तर गहिरो दृष्टि नहुनाका कारण सबै अलग-अलग लाग्दछ । जो कसैलाई दुःख दिन्छ दुःख उसैकहाँ फर्केर आउँदछ । जो तिमी आफ्ना लागि चाहन्छौ त्योभन्दा बाहेक अरूका लागि नगर ।

तर मानिसको स्वभाव अलग्गै किसिमको छ । ऊ आफ्नो नजिकको व्यक्ति छोरा-छोरी या अरूप्रति अत्याचार पनि यसका लागि गर्दछ ताकि यसबाट उनीहरूलाई राम्रो होस् । आकाँक्षाहरूले अरूको पनि आफ्नो पनि जीवन सुखी हुँदैन बरू दुःखी बनाइन्छ सुखको छाप लगाएर । हिँसा यति गहन छ कि अरूलाई सुख दिने नाममा पनि सताउन सक्दछ । कसैलाई दुःख दिन सक्दछ । त्यसैले भगवान बुद्धले भन्नुभएको छ :- “अतानं उपमं कत्वा न हन्नेय न घातये” अर्थात आफ्नो समान नै सबैलाई ठानेर नपिट अथवा नपिट्ने प्रेरणा देऊ । उहाँले भन्नु भएको छ यदि अरूलाई दुःख दिइएन भने आफ्नो जीवनमा फूल फुल्न शुरू हुन थाल्दछ किनकी जीवन यस्तो हो कि अरूलाई दुःख दिइँदैन भने आफैं नै सुख भएर आउँछ ।

दुःख भोगाइले सुखको आभास
भगवान बुद्धले भन्नु भएको छ जसले वाल्यावस्थामा व्रम्हचर्यको पालन गर्दैैन र युवावस्थामा धन कमाउँदैन उसले बृद्धावस्थामा चिन्ता मात्रै प्राप्त गर्दछ । एकदम अनौठो कुरो छ कि बुद्धले भन्नु भएकोछ धन कमाऊ अर्थात महत्वाकाँक्षी बन । पद होस्, धन एकत्रीत गर ।

एक यहुदी रबाईसँग एक गरीब व्यक्तिले आएर भन्यो कि म एकदम दुःखी छु , मलाई मर्ने आशिर्वाद दिनुस् । उसले भन्यो कि मेरो जीवन नर्क भइसक्यो । म नर्कमा जिइरहेको छु । एउटा सानो छाप्रोमा बसेको छु । वर्षामा छाप्रोमा पानी तपतप चुहिरहन्छ । म संग मेरी पत्नी, दुईटा बच्चा, मेरो सासु-ससुरा पनि बस्नुहुन्छ । त्यहीँ मेरो बुबाआमा पनि बस्नुहुन्छ । हिँड्ने पनि ठाउँ हुँदैन । त्यसमाथि चिडचिड र क्रोधको कुरो हुन्छ सधैं । नयाँ ठाउँ बनाउने पनि सामर्थ्य छैन । नरक छ नरक ! त्यसैले मर्ने आज्ञा दिनुस् । बूढो रबाईले भन्नु भयो तिमीलाई रोक्दिन, केवल सातदिन मात्रै पर्ख । ऊ सँग सोध्यो तिमीसँग कतिवटा बस्तुभाउ छ? उसले भन्यो ६ वटा बोका, एउटा गाई, एउटा बाच्छो र एउटा कुकुर पनि छ । रबाईले भन्यो यसो गर कि यी सबै जनावरहरूलाई छाप्रोमा तिमीहरूसँगै राख । त्यो व्यक्तिले भन्यो कि हामी त त्यसै मरिरहेका छौं यिनीहरूलाई राख्यौं भने त उभिने ठाउँ पनि हुँदैन । रबाईले भन्यो केवल सात दिनको त कुरा हो नि । अनि तिमी मर । यत्ति त मान । सारा जिन्दगीमा तिमीले मेरो कुरा मान्यौ अब मर्ने बेलामा यसलाई पनि नटाल । त्यो व्यक्तिले भन्यो कि यसरी त सातदिन पनि बाँचिन्न । त्यो बूढोले भन्यो कि मर्न नै चाहन्छौ भने मरिनेछ भनेर किन चिन्ता गर्ने ?।

घर पुगेर उसले सबै कुरा भन्यो । सबैले बिरोध गरे । उनीहरू पनि रबाईकहाँ गए । रबाईले भन्यो कि हो मैले नै भनेको हो, उसलाई यो गर्न देऊ । त्यसताका जब रबाई भन्दछ त गर्नुपर्ने हुन्छ । सबै जन्तुहरूलाई भित्रै राखियो । सातदिन महिनौंको वर्षौको नरक बन्यो । सातदिन पछि त्यो व्यक्ति रबाईकहाँ आयो । रबाइले भन्यो अब मर्नुभन्दा पहिले ती जन्तुहरू सबैलाई छाप्रोबाट निकाल । रबाईले दुई-तीनदिन प्रतिक्षा गर्‍यो । त्यो व्यक्ति फर्केर नआएकोले रबाईनै उसकहाँ गयो । के हो? के छ तिम्रो बिचार? मर्ने होइन त? उसले भन्यो छाप्रो त्यही हो । अब यत्ति धेरै ठाउँ देखिन्छ, यस्तो आनन्द कहिल्यै देखेकोे थिइन । सबैमा प्रेमभाव बढिरहेको छ । अब को मर्छ र ! सबै तिम्रै कृपा रहेछ । दुःख सघन भयो , फेरि अनुभव भयो सुखको, जस्तो स्थितिमा छ त्यस्तै स्थितिमा । यहाँ दुःखले पनि दीशा दियो, सुखको अनुभव गरायो । जीवनमा दुःख पनि जरूरी छ, सुखको आभासको लागि ।

दुःखको निवारण छ
भगवान बुद्ध जेतवनमा बस्नुभएको थियो । उहाँसँग पाँचशय भिक्षुहरू पनि बसिरहेका थिए । उनीहरू आंशसालामा बसेर रात्रिमा कुरा गरिरहेका थिए । उनीहरूको कुरा साधारण व्यक्तिको जस्तो थियो । बुद्धले मौन भएर त्यो सबै सुनिरहेका थिए । उनीहरू कुराकानीमा यत्ति तल्लिन थिए कि बुद्धलाई नै भुले । कोही भनिरहेका थिए फलानो गाउँको बाटो कति राम्रो, फलानो बाटो कति नराम्रो । फलानो बाटोमा छायाँदार बृक्ष छ, स्वच्छ सरोवर पनि छ । फलानो बाटो कस्तो बिग्रेको छ त्यसलाई भगवानले नै बचाओस् । कोही भनिरहेका थिए फलानो राजा पनि अदभुत र त्यहाँको सेठ पनि अदभुत र दानी । फलानो राजा कत्ति कञ्जूस त्यहाँको सेठ पनि कत्ति कञ्जूस त्यहाँ त भुलेर पनि कोही नजाओस् । यस्ता प्रकारका थुप्रै कुराहरू भइरहेका थिए । बुद्धले यो सबै सुन्नुभयो । चौंकिनु भयो, हाँस्नु भयो ।

भिक्षुहरूलाई नजिक बोलाउनुभयो । उहाँले भन्नु भयो भिक्षु भएर पनि बाहिरि मार्गको कुरा गरिरहेछौ । समय कम छ तर गर्ने काम धेरै छन् । बाह्यमार्गमा जन्मौं-जन्मौं भट्किरहेछौ, अझै थाकेनौ?अन्तर्मार्गबाट सोच । सौन्दर्य त अन्तर्मार्गमा छ । शरण पनि खोज्ने भए त्यहाँ खोज किनकी दुःख निवारणको त्यही मार्ग हो । उहाँले भन्नुभयो भिक्षुहरू-“ मग्गानुट्ठगिको सेट्टो ” अर्थात यदि श्रेष्ठमार्गको कुरा गर्ने हो भने आर्य अष्टाङ्गिकमार्गको कुरा गर । यो तिमीहरूकुन मार्गको कुरा गरिरहेछौ ? तब उहाँले “गाथा” भन्नुभयो । अनि “उर” भन्नुभयो अर्थात भित्र आउने थुप्रै मार्ग मध्ये आठअङ्गको मार्ग श्रेष्ठ छ ।

भगवान बुद्धले दुःख निरोधका आठ सूत्रहरू दिनुभयो ।
पहिलो सूत्र ( सम्यक दृष्टि ) :- अर्थात जस्तो छ त्यस्तै हेर्नु, आफ्ना धारणहरूद्वारा हेर्ने होइन । आँखा निर्दोष होस् जस्तो ऐना खालि होस् । यदि ऐनामा धुलो लागेको छ भने, अथवा कुनै रङ्ग लागेको छ भने अथवा केही पोतिएको छ भने त जुन कुरा सत्य हो त्यो ऐनामा देखिँदैन । सम्यक दृष्टिको अर्थ हो सबै दृष्टिहरूबाट निष्पक्ष ।

दोस्रो सूत्र ( सम्यक सङ्कल्प ) :- यसको अर्थ हो जुन गर्न योग्य छ त्यही गर र त्यसैमा पूरै जीवन लगाइदेऊ । कुनै अहंकारका कारण नगर । त्यही सम्यक सङ्कल्प हो । त्यस्तो सङ्कल्प जुन बोधद्वारा होस् । जीवनको प्रौढताद्वारा होस् । क्षणिक उत्साह, मानिसहरूले के भन्लान् यस भावनाद्वारा नहोस् । जसमा बाहिरी उत्साह नहोस्, आन्तरिक उत्साह होस् ।

तेस्रो सूत्र ( सम्यक वाणी ) :- जस्तो छ त्यस्तै गर । आफ्नै मिलाएर, बदलेर होइन । यस्तो होइन कि भित्र केही छ बाहिर केही । वाणीमा हृदयको सही अवस्था प्रकट होस् । जुन बोल्नु छ त्यही-त्यही बोल । धेरै नबोल जुन विना पनि चल्दछ, जति आवश्यक छ त्यति बोल । धेरै बोल्नाले धेरै समस्या उब्जाउँछ, जीवन व्यर्थको जालमा फस्न पुग्दछ ।

चौंथो सूत्र ( सम्यक कर्मा ) :- अर्थात त्यही गर जो हृदयले गर्नलाई भन्छ । यस्तो गर्ने होइन कि कसैले गर भन्छ । त्यही गर जुन गर्न योग्य लागोस् । व्यर्थ काम होइन, त्यही काम गर जसले जीवनमा सार मिलोस् । व्यस्त रहनु, केही न केही गरिरहनु जरूरी छैन । त्यही गर जुन जरूरी छ ।

पाँचौं सूत्र ( सम्यक आजीव ) :- आजीवको अर्थ आजीविकासँग छ । रोटी त कमाउने हो तर आजीविका सम्यक हुनुपर्दछ । विध्वंसात्मक नभएर सृजनात्मक हुनुपर्दछ र जीवनलाई परमात्मातर्फ लिएर जाने हुनुपर्दछ । बुद्ध भन्नुहुन्छ आफूलाई जिउनुका लागि अरू कसैको जीवन नष्ट गर्नु अनुचित हो । आजीविका यस्तो हुनुपर्दछ जसबाट कसैको अहित नहोस् । यदि कोही अरूलाई अहित गर्दछ भने त उसले आफ्नै अहितको बीउ रोप्दछ ।
छैठौं सूत्र ( सम्यक व्यायाम ) :- यहाँ व्यायामको अर्थ श्रमबाट सम्यक श्रम न त आलस्य न त अति कर्मठता हो, जहाँ कहिल्यै दौड रोकिन्न । दुइटैको बीचको मार्ग हो सम्यक मार्ग । सम्यक व्यायाम जहाँ जीवनको उर्जा सन्तुलित होस् ।

सातौं सूत्र ( सम्यक स्मृति ) र आठौं सूत्र ( सम्यक समाधि ) :- सम्यक स्मृति त्यो हो जसद्वारा ज्ञानलाई हेर्ने मानसिक योग्यता प्राप्त गर्ने कोशिश गर्नु । अर्थात मन बन्द होस् र होश बाँकी रहोस् । “जागृत भएर आनन्दित हुनु” त्यसैलाई बुद्धले सम्यक समाधि भत्रुभएको छ । अन्तिम दुई चरण सबभन्दा महत्वपूर्ण छन् । सातौं सूत्र सम्यक स्मृति परिधिमा र आठौं सूत्र सम्यक समाधि केन्द्रमा । परिधिमा होश होस् र अनि केन्द्रमा पनि होशको ज्योति बल्यो भने त्यो नै सम्यक समाधि ।

दुःख निरोधको अवस्था
जब यो निश्चय भयो कि जीवन छ भने त दुःख अवश्यम्भावी छ । फेरि कारणमा विचार गर्‍यौ र कारण हटाउनका लागि अष्टाङ्गिक मार्गको अनुसरण गरेर सातौ-आठौं सूत्रसम्म पुग्यौं भने त निदान भयो, उपाय भयो, मेटियो तब चौंथो आर्यसत्य सुखको अवस्था आयो । यसलाई निर्वाणको अवस्था महासुखको अवस्था जे पनि भत्र सकिन्छ । यो अवस्थामा आइसकेपछि मानिसको सबै तृष्णा समाप्त हुन्छ त फेरि उसले फर्केर जन्म लिएर यस संसारमा आउने कुनै कारण बाँकी रहँदैन । जसै-जसै दुःख समाप्त हुँदै जान्छ संसारको यात्राको समाप्ति तिर दोहोरिँदै जान्छ । फेरि व्यक्तिको जीवनको आखिरि यात्रा हुन्छ । एकपटक दुःख निरोधको अवस्था या महासुख उपलब्ध भएपछि शरीर छोडिसकेपछि ऊ कहिल्यै फर्केर जीवनमा आउँदैन । ज्योतिमा ज्योति मिलिदिन्छ । अर्को शब्दमा त्यही त निर्वाण हो । फेरि त्यही नै त मोक्ष हो । जब ज्योतिमा ज्योति बिलुप्त हुन्छ त शूक्ष्म शरीरमा समाहित इच्छाहरू, तृष्णाहरू, अहङ्कारहरू, अस्मिता आदि जुन पुनर्जन्म लिने कारण बन्दछ ती नै रहँदैनन् भने त्यो आत्मा भौतिक शरीर समाप्त भइसकेपछि आवागमनबाट मुक्त भइजान्छ । आध्यात्ममा यो महासुखभन्दा बढी जीवनको अन्य कुनै उपलब्धि छ भनेर मानिएको छैन । यी चार आर्यसत्यको माध्यमबाट बुद्धले व्यक्तिलाई चरमसीमासम्म पुग्ने दीव्य दृष्टिको मार्ग देखाइदिनुभएको छ ।

अप्प दीपो भव
भगवान बुद्धले आफ्नो उपदेश मान्न कसैलाई पनि बाध्य पार्नुभएको छैन । आफैं अनुभव गरेर जान्नका लागि भन्नुभएको छ । जीवनको सत्य भन्नुभयो, रोगको उपचार दिनुभयो जसलाई लिएर लाटोले बोल्न सकेजस्तै अनेकौं व्यक्तिहरू दुःखबाट मुक्त भए । महासुखको अवस्था प्राप्त गरे । उहाँले बताउनुभएको मार्गलाई बुझौं, हृदयङ्गम गरौं । यो मार्गमा गयौं भने बुद्धले जस्तै जो कोहीले पनि त्यो स्थिति प्राप्त गर्न सक्दछ । बुद्धलाई महामानव, भगवान, अलौकिक शक्तिले युक्त भनेर आफूलाई असमर्थ मान्यौं भने त आफूलाई धोका दिएर हामी मानिसको गरिमालाई नै कम गरिरहेका हुन्छौं जसलाई बुद्धले जीवनलाई सार्थक बनाउनका लागि “अप्प दीपो भव” को उपदेश दिनु भएर शिखरमा पुर्‍याउनुभएको छ । यो जन्म त अनन्त जन्महरू मध्ये अगाडिको अध्याय हो । यात्रा यदि चालू रहोस्, कदम बढिरहोस् दिशा यदि सही सङ्कल्प र होश बढाउनुतिर छ । हरेक मानिसले आफ्नो भित्र लुकेको दीब्यतालाई चिन्ने र सही दिशामा जानु छ । भगवान बुद्धले त मानव मात्रको कल्याणका लागि जीवनको सत्य उद्घाटित गर्नुभएको हो ।

No comments:

Post a Comment