भगवान् महादेवका जेठा छोरा कुमार कार्तिकेयको जन्मदिन मानिने ज्येष्ठ महिनाको शुक्ल पक्ष (बछलाथ्व) को षष्ठी तिथिलाई नेवार समुदायमा 'सिठी नख:' पर्व मनाउने चलन छ । यस दिन नेवारहरूले क्षेत्रपाल कुमारको पूजा अर्चना गरी, मुगी, मास र केराउको रोटी वा बारा चढाई र प्रसादका रूपमा खाएर यो चाड मनाउने गर्दछन् । नेवारी भाषामा सिठी शब्दको अर्थ किनारा वा अन्तिम भन्ने हुन्छ, अतः यो चाड नेवारी संस्कृतिअनुसार वर्षको अन्तिम चाड हो l यस दिन घर, इनार, धारा, ढल आदि सफा सुगर गर्ने चलन पनि रहेको छ ।
पुराणमा कार्तिकेय कुमारको शिखिवाहन भन्ने अर्को नाम पनि भेटिन्छ, सम्भवतः यही नामको अपभ्रंश भएर सिठी नाउ रहन गएको हुनुपर्छ । नेवारहरूको नयाँ वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन सुरु हुने भएकाले सिठी नखःदेखि म्हपूजा (नववर्षका दिन गरिने पूजा) का बीचमा अर्को कुनै चाडपर्व नमनाउने प्रचलन छ । त्यसैले कुलपूजा (देवाली) गर्ने नेवारहरूले सिठी नखःभित्र कुलपूजा गरिसक्नु पर्ने बाध्यता छ । सामान्यतया वैशाख शुक्ल (तछलाथ्व) तृतीयादेखि ज्येष्ठ शुक्ल (बछलाथ्व) षष्ठीभित्र कुलपूजा गर्नका लागि उपयोगी हुन्छ भन्ने मान्यता अनुरूप उक्त समयमा उपयुक्त साइत र तिथिमिति तय गरी कुल र पितृको पूजाआराधना अर्थात् देवाली पूजा सम्पन्न गरिसक्नु पर्ने नियम छ । यसरी कुलपूजा गर्दा विशेष गरी बिहीबारको दिन परेमा उपयुक्त मान्ने नियम पनि छ । यसरी ऐच्छिक रूपमा दिन निर्धारण गरिने अर्थात् निश्चित तिथि नभएको हुँदा कुनै कारणवश देवाली मनाउन नपाएका नेवारहरूले यसै दिन कुल देवताको पुजा गर्ने गर्दछन् l जुन समुदाय भए पनि कृषिजीवनमा मनाइने उत्सव र पर्वहरू समाजमा चाडबाडका रूपमा स्थापित भएका हुन्छन्, त्यसैले यसै दिन बाजागाजाका लागि प्रसिद्ध ज्यापू समुदायले आफ्ना वाद्ययन्त्रहरू थन्क्याउने र खेतीपाती र रोपाइँको तैयारीमा लाग्ने गर्दछन् भन्ने मान्यता पनि छ ।
सिठी नखःको भोलिपल्ट बछलाथ्व सप्तमीका दिन काठमाडौँको जैसीदेवल टोलमा रहेको कुमार मन्दिरमा रहेको रक्त वर्ण, एक मुखे, दुई हाते, धनुषधारी, मयुर वाहनमा आरुढ भएका काठको कुमार भव्य उत्सवका साथमा खटजात्रा गर्ने चलन पनि छ । यस अघि बछलाथ्व तृतीयाका दिनमा नै उक्त कुमारजीको मूर्तिलाई मन्दिर अगाडिको डबलीमा महास्नान गराउने र षष्ठीका दिन होम सहित, कुनै नवजात शिशुको जन्मपछि हुने सम्पूर्ण कर्मकाण्ड नामकरण, उपनयन, चुडाकर्मादि संस्कारहरू गरिदिने प्रचलन पनि छ l सप्तमीका दिन उक्त मूर्तिको जात्रा गर्ने गरिन्छ र यो जात्रामा खासगरी जैसीदेवलमा बसोबास गर्ने ज्यापूहरूको सहभागिता रहने गरेको देखिन्छ, साथै उक्त बाजा बजाउन भने बलम्बुवासी ज्यापूहरू आउने गर्दछन् । कार्तिकेय कुमार (सिठी द्यौ) बलम्बुवासीको बच्चा हो भन्ने मान्यतानुरूप बलम्बुवासीहरूले त्यसरी बाजा बजाउन आउनु पर्ने चलन रहेको मानिन्छ ।
No comments:
Post a Comment