Saturday, May 27, 2017

रमजान पर्व र रोजा व्रत


इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड हो- रमजान । रमजान महिना मुसलमानका लागि शुभलाभको महिना हो । रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ । एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा (उपवास) बस्नुपर्ने हुन्छ । मुसलमानहरूको पाँच महत्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् । घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरूले आ-आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने दिउँसो सबै मानिसले दतिवन गरी मुख धुनु पर्छ । दिनभर केही पनि खान नहुने भएकाले ठूला मानिसहरूले सजिलै रोजा पूरा गरे पनि उमेर नपुगेकाले धेरै कठिनाइ भोग्नु पर्ने हुन्छ । जसले जति कठिनाइ महसुस गर्छ, त्यसले त्यति सवाव (धर्म) पाउँछ भनेर ठूला मानिसहरूले बालबालिकालाई रोजा बस्न प्रेरित गर्छन् । शरीर र मन दुवै शुद्ध रहनु पर्ने रोजामा महिलाहरूको महिनावारी सुरू भएमा त्यो महिलाको रोजा हुँदैन र महिनावारी रोकिएपछि पुनः रोजा बस्नु पर्ने हुन्छ । रोजाको समयमा श्रीमान् र श्रीमतीबीच शारीरिक सम्पर्क गर्न हुँदैन । मुसलमानहरूले रोजा अवधिभर नियमित नमाज पढछन् भने रातीको नमाजपछि कतिपय मस्जिदमा तरावी नमाज पढ्ने गर्छन् । तरावी नमाज मुसलमानहरूको विशेष प्रार्थना हो । यो दुई किसिमको हुन्छ- तरावी र खत्तम तरावी । यी दुवै नमाज २० रिकातको हुन्छ, जसमा इस्लामी ग्रन्थ कुरानको अक्षरसः पढनुपर्छ । खत्तम तरावी कुरानका पूरै हरफहरू कण्ठस्थ पारेर पढ्नु पर्छ । तरावी कुरान कण्ठस्थ भएका मौलाना वा हाफिज दुवैले पढाउन पाउँछन् । आर्थिक रूपमा सम्पन्न मुसलमानले रोजाको समयमा गरिब, दीनदुखीहरूलाई दान गर्नु पर्छ । दान धार्मिक नियमानुसार गर्नु पर्ने हुन्छ, यसमा कसैले कम, कसैले बढी भने हुँदैन । रोजाको समयमा मुसलमानहरूले आफ्नो सम्पतिको अढाइ प्रतिशत जकात (कर) निकाल्नु पर्छ । यस अतिरिक्त रोजाको अवधि पूरा गरिसकेपछि "इद" को नमाज पढ्नुभन्दा पहिले जनही एक किलो ७ सय ५० ग्राम गहुँको दाम निकाल्नुपर्छ, जसलाई फित्तरा भनिन्छ । यो नियम संसारभरीका मुसलमानमा लागू हुन्छ । यसरी निकालिएको रकम गरीब दीनदुःखीहरूलाई बाँड्नुका साथै फित्तरा र जकात मुसलमानहरूको पाठशाला (मदरशा) सञ्चालनमा प्रयोग गरिन्छ । तीस दिनको रोजा पूरा गरेपछि पुरूषहरू इदगाहमा र महिलाहरू एकान्त ठाउँमा गएर सामूहिकरूपमा नमाज पढ्ने गर्छन् र अन्त्यमा एक आपसमा अँगालो मारेर इदमुवारक भन्दै बधाई साटासाट गर्छन् । नमाजको समयमा शरीरसँगै लुगाफाटो पनि शुद्ध राख्नु पर्ने कडा धार्मिक नियम छ । नेपालमा लगभग १० लाख रहेका मुसलमान राजधानी, पहाडी जिल्ला गोरखा र तराईका विभिन्न जिल्लामा छरिएर बसेका छन् ।

रमजान इस्लामी क्यालेन्डरको नवौं महिनाको नाम हो । इस्लाम धर्मको प्रमुख आधारमध्ये तेस्रो अनिवार्य उपासना 'रोजा' अर्थात् उपवास हो । यो रोजा के हो त ? जुन पाठलाई नमाजले प्रतिदिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पूरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ । रमजान लागेपछि बिहान सूर्योदयभन्दा पहिलादेखि बेलुकासम्म खानपिन बन्द हुन्छ  । 'सेहरी' खाइरहेको बेला एक्कासि अजानको आवाज सुनिएमा हामी तुरुन्त खान छोड्छौं । त्यसपछि जति मीठो खाना भए पनि, जति खाने इच्छा भए  पनि हामी साँझसम्म कदापि खाँदैनौं । मान्छेले देख्ने गरी नखाने मात्र नभई लुकेर वा कसैले नदेख्ने गरी एक थोपा पानी वा एक दाना अन्न पनि खानु हाम्रा निम्ति उचित हुँदैन । अनि यस्तो प्रतिबन्ध एक निश्चित समयसम्म मात्र हुन्छ । मग्रिबको अजान हुनासाथ हामी इफ्तार गछौर्ं । अनि रातभरि निसंकोच जे इच्छा लाग्छ खान्छौं । विचार गरौं यो के गरेको हो ? यस कामको पछाडि अल्लाहको डरको हात छ । उनी सर्वव्यापी र सर्वज्ञाता हुन् भन्ने उपवासकमा पूर्ण विश्वास छ, आखिरतको जीवन र अल्लाहको अदालतमा विश्वास छ, कुरआनका आदेशहरू र सन्देष्टाको पूर्ण आज्ञापालन, कर्तव्यको पूर्ण अनुभूति, धैर्य र संकटहरूसित संघर्षको अभ्यास र अल्लाहलाई प्रसन्न गराउनका निम्ति मनको इच्छालाई रोक्ने र वशमा गराउने शक्ति लुकिरहेको छ । प्रत्येक वर्ष पूरा तीस दिन राखिएका ती रोजाहरूले हामीलाई प्रशिक्षित गर्न र हामीमा पूरा र पक्का मुसलमान बन्ने गुण उत्पन्न गर्न रमजानको महिना आउने गर्छ । साथै यी गुणले हामीलाई उपासनाको योग्य बनाउँछ जुन एउटा मुसलमानले आफ्नो जीवनमा हरेक समय गर्नुपर्छ । रमजान वास्तवमै आत्माशुद्धिको एक विशेष प्रतीक हो । अर्कोतर्फ अल्लाहले सम्पूर्ण मुसलमानहरूका निम्ति बेग्लाबेग्लै नभई सबैका निम्ति सामूहिक रूपमा, एकैचोटि, एकैसाथ एउटै विशेष महिनामा रोजालाई अनिवार्य घोषित गरेका छन् । इस्लामी समाजमा पूरा एक महिना पवित्रताको महिना हुन्छ । सम्पूर्ण वातावरणमा इमान छाएको हुन्छ । सम्पूर्ण समाजलाई ईशभय तथा नैतिक पवित्रता र आचरणको सोन्दर्यले ढाकेका हुन्छ । फलस्वरूप यस्तो वातावरणमा नराम्रो काम हुँदै हुँदैन । बरु असल काम मात्र हुन्छ । असल मानिसहरू असल काममा एक अर्कालाई सहयोग गर्छन् र खराब मानिसहरू खराब काम र उनीहरूले अल्लाहको बाटोमा धन खर्च गर्छन् । त्यसबेला सम्पूर्ण मुसलमानहरू समान अवस्थामा हुन्छन् । समान अवस्थामा हुँदा सबैले एकै जमात वा समुदायमा भएको अनुभव गर्छन् । यो उनीहरूबीच बन्धुत्व, सहानुभूति तथा पारस्परिक सुसम्बन्ध कायम गर्ने एउटा प्रभावकारी उपाय हो । रमजानको महिनाले हामीलाई भोक्का व्यक्तिहरूको भोक कस्तो हुन्छ भन्ने कुराको अनुभव समेत दिलाउँछ । यी सबै कार्यबाट हामीलाई लाभैलाभ हुन्छ । हामीलाई भोकै राख्दा अल्लाहलाई कुनै लाभ हुँदैन । उनले त हाम्रो भलो होस् भनेर रमजानका रोजा हाम्रो लागि अनिवार्य गरेका हुन् । कुनै उचित कारणबिना नै कसैले रोजा राख्दैन भने उसले आफैमाथि अत्याचार गरेको हो । रमजानमा खुल्लमखुल्ला कसैले खान्छ वा पिउँछ भने त्योभन्दा धेरै लाजमर्दो कुरा अरू के हुन सक्छ ? यसो गर्नेहरूलाई इस्लामको आदेशसँग कुनै सरोकार छैन । उनीहरूले जसलाई अल्लाह भनी मान्छन् तिनको आज्ञाको खुल्लम खुल्ला उलंघन गरी आफ्नो उद्दण्डता प्रदर्शन गर्दछन् । तसर्थ आफ्नो सम्प्रदायलाई चटक्क त्याग्न सक्ने, आफ्नो सृष्टिकर्तासित विद्रोह गर्न सक्ने मानिसहरूबाट बफादरी, सदाचार र विश्वसनीयता तथा कर्तव्यपरायणताको आशा गर्न सकिँदैन । रमजान महिनामा प्रत्येक बालिक -व्यशक) मानिस, सन्तुलन ठीक भएको सम्पूर्ण पुरुष, महिलाहरू माथि रोजा अनिवार्य ठहर्‍याइको छ । यसै गरी रात्री 'ईशा' को नमाजपछि २० रकआत एक विशेष नमाज जसलाई तराबीह भनिन्छ त्यो पनि अनिवार्य रूपमा पढ्नुपर्छ । रमजान महिनाका इस्लामिक कानुन र विधिहरूमध्ये एक यो पनि हो कि जस कसैले  पनि जानी-जानी रोजा तोड्छ उसले ठूलो पापको भागीदार हुनुपर्छ र पछि त्यसको 'कजा' पूर्ण कार्यन्वयन गर्नुपर्छ, यसो नगरे ऊ पापी ठहरिन्छ । बिहान सूर्योदयभन्दा करिब एक-डेढ घन्टा अगावैबाट खान-पिउन बन्द गरिदिनुपर्छ यो कार्य सूर्योस्तसम्म रहन्छ । यस अवधिभर कुनै पनि वस्तु, धूवाँ, खान पिउन, शारीरिक सम्पर्क बर्जित छन् । त्यसैगरी झैझगडा, फाल्तु बहस पनि प्रतिबन्धित छन् । रोजा नाम हो उपासना र उपवासको रोजाका सुरुका १० रात अति नै महत्त्वपूर्ण छन् । यी १० रातहरूलाई 'रकमत' विशेष कृपाको रात भनी उल्लेख गरिएको छ । बीचमा १० रातहरूलाई 'मग्फिरत' विशेष माफीका रात भनी उल्लेख गरिएको छ । यी बीस -२०) दिनमा ठूलाभन्दा पाप कार्य गर्नेलाई पनि अल्लाहले माफ गरिदिन्छन् भन्ने कुरा ग्रन्थ र इस्लामिक किताबहरूमा पर्याप्त आधारका साथ वर्णन गरिएका छन् । त्यसैगरी अन्तिमका १० रातहरू पनि अति नै महत्त्वपूर्ण छन् । ती रातहरूको बारेमा भनिएको छ कि यी दस दिनमा धेरैभन्दा धेरै मानव जातिलाई नर्कबाट मुक्ति प्राप्त हुन्छ । अल्लाहले क्षमा गरिदिन्छन् र स्वर्गमा प्रवेश गराइन्छ । तसर्थ सम्पूर्ण मुस्लिम समुदायले रोजालाई अत्यन्तै महत्त्व दिनु उनीहरूको मौलिक हक हो । रोजाको समाप्तिसँगै अल्लाहले इदउल फित्रको रूपमा खुसी प्रदान गरेका छन् । रमजानको अन्तिम दस रातमा अन्तिम सन्देष्टा हजरत मुहम्मद विशेष ध्यान 'एतकाफ' मा बस्नुहुन्थ्यो र इद-उल फित्रको चन्द्रमा देखिनेबित्तिकै बाहिरिनुहुन्थ्यो । ईदको प्रारम्भसँगै रोजाको समापन हुन्छ ।

No comments:

Post a Comment