Sunday, May 21, 2017

अचला वा अपरा एकादशी

युधिष्ठिरले भन्नुभयो - हे भगवन् ! ज्येष्ठ कृष्णपक्षको एकादशीको के नाम हो तथा त्यसको माहात्म्य के छ, कृपा गरी आज्ञा गर्नुहवस् ! भगवान् श्रीकृष्णले आज्ञा गर्नुभयो - हे राजन् ! यो एकादशी अचला तथा अपरा दुई नामबाट प्रसिद्ध छ । पुराणअनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा/अचला एकादशी हो । यस एकादशीको व्रत सम्पादान गर्नाले व्यक्तिले अपार धनसम्पदा, सुखसम्मृद्धि र भोगविलास प्राप्त गर्न सक्दछ। त्यसबाहेक जुन मनुष्यले यस व्रतलाई नियमपूर्वक पालना गर्दछ, त्यसले संसारमा ख्याति र सम्मानसमेत प्राप्त गर्दछ । यस एकादशीका दिन भगवान् विष्णुको त्रिविक्रम अवतारको पूजा गर्ने प्रचलन छ ।

अपरा एकादशीको व्रतको प्रभावले ब्रह्महत्या, भूतयोनि, परनिन्दा आदिबाट उत्पन्न भएका सबै किसिमका पापहरू नष्ट हुन्छन् । यस व्रतको पालनाबाट परस्त्रीगमन, झूठो बकपत्र, असत्यवादन, नक्कली विद्याध्ययन वा प्रमाणपत्र निर्माण, नक्कली भविष्यवाणी तथा नक्कली वैद्य वा डाक्टर भई जीविकोपार्जन गर्ने प्रत्येक मानिसले सिर्जना गरेका यावत् पापहरू नष्ट हुन्छन् । जुन मनुष्य क्षत्रिय भईकन पनि कायर भई युद्धभूमिबाट भाग्छन्, तिनले सामान्यतया नरक जानुपर्दछ, तर तिनले पनि जीवनमा एकपल्ट अपरा एकादशीको व्रत लिन पाए भने स्वर्ग पुग्ने अवसर पाउँदछन् । जुन शिष्यले आफूलाई शिक्षा प्रदान गर्ने गुरूसित द्रोह गर्दछन् र गुरुनिन्दाजस्तो निकृष्ट कर्म गर्दछन्, तिनले पनि यस एकादशीको व्रत लिएमा उक्त दोषबाट निवृत्त हुने अवसर प्राप्त गर्दछन् । तीनवटा कार्तिक पूर्णिमाको शुभ अवसर पारेर लगातार पुष्कर तीर्थमा स्नान गर्नाले वा गङ्गा नदीको किनारमा पितृहरूलाई पिण्डदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यो फल अपरा एकादशीको व्रत गर्नाले सजिलै प्राप्त गर्न सकिन्छ । मकर सङ्क्रान्तिका दिन गङ्गा र यमुनाको सङ्गमस्थल प्रयागराजको स्नान गर्नाले, शिवरात्रिको व्रत गर्नाले, सिंह राशिको बृहस्पतिमा गोमती नदीको स्नान गर्नाले, कुम्भ राशिमा बृहस्पति भएको बेला केदारनाथ/बद्रीनाथको यात्रा र दर्शन गर्नाले, सूर्यग्रहणमा कुरुक्षेत्रको स्नान गर्नाले, स्वर्णदान गर्नाले अथवा अर्द्धप्रसूता गोदान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यही फल अपरा एकादशीको व्रतबाट प्राप्त हुन्छ । यो व्रत पापरूपी वृक्षलाई काट्ने बन्चरो हो भने पनि हुन्छ । पापरूपी इन्धनलाई बाल्ने अग्नि, अज्ञानरूपी अन्धकारलाई मेटाउने सूर्य र कुकृत्यरूपी मृगलाई मार्ने सिंह भनेकै अपरा एकादशी हो । मनुष्यले जीवनभरि पापकर्म र परपीडा हुने कृत्य गर्नु हुँदैन, तर कथं-कदाचित जानीजानी वा नजानी भूलचुकमा झुक्किएर गरेका अनेकानेक पापकर्मको निवृत्ति गर्न ज्येष्ठ महिनाको कृष्णपक्षमा पर्ने एकादशी (अपरा/अचला) को व्रतको पालना गर्नुपर्दछ । अपरा एकादशीको व्रत सम्पादन गर्ने तथा त्यस दिन भगवान् त्रिविक्रम (वामन) को पूजन गर्नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोकमा पुग्दछ ।

अपरा एकादशीको व्रतकथा
अपरा वा अचला एकादशीको प्रचलित कथा यस्तो छ :– प्राचीन कालमा महीध्वज नाम गरेका एक जना धर्मात्मा राजा थिए। तिनको कान्छो भाइ वज्रध्वज असाध्यै क्रूर, अधर्मी तथा अन्यायी थियो । ऊ आफ्ना दाजुसित द्वेषबुद्धि राख्दथ्यो । त्यस पापीले एक दिन रातको समयमा दाजु महीध्वजको हत्या गरी मृत शरीरलाई जङ्गलमा पुर्याई एउटा पीपलको फेदमा गाडिदियो । अकाल मृत्यु भएका कारण राजाले प्रेतयोनिमा प्रवेश गर्नुपर्यो । त्यसपछि प्रेतात्माका रूपमा राजा महीध्वज त्यसै पीपलको रुखमा बस्नथाले र किसिम किसिमका उत्पात गर्न थाले । एक दिन त्यसै वनको बाटो भई यात्रामा निस्किएका धौम्य ऋषि त्यही पीपलको बोट भएको ठाउँमा आइपुगे । साँझको समय थियो, त्यस प्रेतले ओकानेक उत्पात मच्चाउँदै ऋषि धौम्यलाई ध्यानाकृष्ट गर्यो । आफूमा भएको योगबलका कारण ऋषिले  त्यस प्रेतलाई देखे र प्रेतको अतीतलाई पहिचान गरे र साथै आफ्नो तपोबलले प्रेतले उत्पात मच्चाएको पृष्ठभूमि एवं कारणसमेत थाहा पाए। ॠषिले प्रसन्नचित्त भई त्यस प्रेतलाई पीपलको रुखबाट बाहिर निकाले र परलोकगमन गर्न अलौकिक विद्याको उपदेश गरे। दयालु ॠषिले राजाको प्रेतयोनिबाट मुक्ति दिलाउन स्वयं आफुले अपरा/अचला एकादशीको व्रत सम्पादन गरे र राजाको अधोगति हटाउन त्यस एकादशीको पुण्य प्रेतलाई सुम्पिदिए । यसरी ऋषिले लिएको अपरा एकादशीको पुण्य प्राप्त गरेपछि राजाले प्रेतयोनिबाट छुटकारा पाए । त्यसपछि राजा महीध्वजले ॠषिलाई साधुवाद व्यक्त गर्दै दिव्य देह धारण गरी पुष्पक विमानमा बसेर वैकुण्ठलोक प्रस्थान गरे । यसरी समस्त पापराशिलाई नष्ट बनाउन समर्थ यस एकादशीको व्रतकथालाई पढने तथा सुन्ने दुबै थरीले सबै पापबाट मुक्त भई अन्त्यकालमा वैकुण्ठलोक पुग्दछन् भन्ने मान्यता पनि छ ।

No comments:

Post a Comment