Showing posts with label अनुष्ठान : व्रत र उपासना. Show all posts
Showing posts with label अनुष्ठान : व्रत र उपासना. Show all posts

Tuesday, June 26, 2018

किन र कसरी लिने पूर्णिमाको व्रत

चान्द्र महिनाका आधारमा एक महिनामा कृष्णपक्ष र शुक्लपक्ष गरी दुईवटा पक्ष हुन्छन्, तीमध्ये शुक्लपक्षको अन्तिम दिन पूर्णिमा हो । अङ्ग्रेजीमा पूर्णिमालाई Full Moon (पूर्णचन्द्र) भन्ने गरिन्छ ।  सनातन परम्परामा औंसी (अमावस्या) र पूर्णिमा दुबै तिथिलाई महत्त्वपूर्ण दिन मान्ने गरिन्छ । अन्धकारपूर्ण रात्री हुने भएकाले अमावस्या (औंसी) पितृहरूको रात र उज्यालो रात हुने भएकाले पूर्णिमा देवताहरूको रात मान्ने प्रचलन पनि छ । चन्द्रमाका १६ वटै कलाहरू प्रकाशित भएर रातलाई दिनको उज्यालोजस्तै झलमल्ल बनाउने भएकाले पूर्णिमा चन्द्रमाको सबैभन्दा प्रियतम तिथि हो । यस दिन चन्द्रमाले आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ ।

चन्द्रमालाई वैदिक कालदेखि नै मनको कारक ग्रह मान्ने गरिन्छ । प्रकृतिका हरेक क्रियाकलाप र परिवर्तनको मानवजीवनसँग प्रत्यक्ष सम्बन्ध हुने गर्दछ, त्यसैले पूर्णिमाको रात्रीकालमा जस्तोसुकै कठोर हृदय पनि पुलकित र रोमाञ्चित हुन पुग्दछ । वैदिक परम्परामा पूर्णिमाका दिन पर्व मानेर कुनै न कुनै धार्मिक कृत्य सम्पादन गर्ने शास्त्रीय विधान समेत उल्लेख भएको पाइन्छ । अतः हाम्रो सनातनदेखि चलेको सामाजिक र सांस्कृतिक जनजीवनमा पूर्णिमाको ठूलो महत्त्व छ । पूर्णिमाका दिन सम्पादन गरिने तलका विधिविधान र यज्ञव्रतादिले पनि यस तिथिको महत्ता र वैशिष्ट्य उजागर गरेको देखिन्छ :-

१ - यो दिन माता लक्ष्मीको कृपा र आशीर्वाद प्राप्त गर्ने विशेष दिन हो । यो तिथि लक्ष्मी माताको प्रिय तिथि भएकाले यस दिन उनको आराधना गर्नाले उपासकले यस सांसारिक जीवनमा कुनै किसिमको दुःख र दारिद्र्य झेल्नु पर्दैन, उसका जीवनमा कुनै पनि भौतिक सुखसम्पदाको अभाव रहँदैन ।

२ - शास्त्रमा उल्लेखभए अनुसार प्रत्येक पूर्णिमाका दिन बिहान करिब १० बजे (१० घटिका भुक्त भएपछि) पीपलको रुखमा माता लक्ष्मीको निवास हुन्छ । जुन मनुष्यले यस दिन बिहानै उठी नित्यकर्मबाट निवृत्त भई कुनै गुलियो नैवेद्य अर्पण गरी मह वा चिनी मिसाएको गुलियो जलले अर्घ्य दिई धूपबाती गरी माता लक्ष्मीको नामोच्चारका साथमा पूजाआजा गरेर आफ्ना निवासमा सधैं माता लक्ष्मीको बास होस् भनी प्रार्थना गर्दछ, उसले सदैव लक्ष्मीको कृपा प्राप्त गर्दछ भन्ने भनाइ छ ।

३ - प्रत्येक महिनाको पूर्णिमा तिथिका दिन १२५० ग्राम (सवा किलो) नटुक्रिएका सग्ला चामल लिएर कुनै शिवालयमा गई अञ्जुलीमा बोक्न सक्नेजति चामल झिकेर शिवलिङ्गमा चढाउने र बाँकी चामल पुजारी वा ब्राह्मणलाई भेटीका साथमा दान गर्ने विधान छ । यस उपायलाई प्रत्येक पूर्णिमा, हरेक सोमबार वा श्रावण महिनाको प्रत्येक दिन गर्नाले भगवान् शिवको कृपा प्राप्त गर्न सकिन्छ । घरपरिवारमा देखिएका समस्त आर्थिक सङ्कटहरू नष्ट हुन्छन् र कार्यक्षेत्रमा सफलता प्राप्त हुन्छ ।

४ - पूर्णिमाका दिन शिवलिङ्गमा मह, काँचो दूध, बेलपत्र, शमीको पात र फल चढाउनाले भगवान् शिवको कृपापात्र बन्न सकिन्छ । त्यस्तै पूर्णिमाका दिन चनौटोमा घसेर बनाइएको श्रीखण्ड चन्दन र केशरी मिसाएर भगवान् शङ्करलाई चढाउँदा घरबाट कलह र अशान्ति हट्दछ ।

५ - प्रत्येक पूर्णिमाका दिन बिहान घरको मूल दैलोमा आँपको तोरण टाँग्ने र बेसारले ॐकार लेख्ने चलन पनि छ । यसो गरेमा घरभित्र शुभ शकूनहरूको प्रवेश हुन्छ भन्ने विश्वास गरिन्छ ।

६ - दीर्घकालसम्म दाम्पत्य र प्रेमजीवन सफल होस् भनी पूर्णिमाको व्रत सम्पादन गर्न सकिन्छ । तर पूर्णिमा र अमावस्याका दिन शारीरिक सम्बन्ध (मैथुन) गर्नु हुँदैन ।

७ - प्रत्येक पूर्णिमाका दिन साँझमा चन्द्रमा उदाएपछि साबुदानाको खिर पकाएर, त्यसमा मिस्री मिसाई माता लक्ष्मीलाई भोग लगाउने र त्यसलाई प्रसादका रूपमा घरपरिवारमा र छरछिमेकमा वितरण गर्दा धनागमको मार्ग खुल्ने विश्वास गरिन्छ ।

८ - पूर्णिमाका दिन कुनै प्रकारको तामसी वस्तुको उपभोग गर्नु हुँदैन । यस दिन जुवाजन्य क्रियाकलाप, मादक पदार्थ, रिसराग आदिबाट टाढा रहनु पर्दछ । बृद्धबृद्धा र स्त्रीहरूसँग वादविवाद गर्नु वा अपशब्द बोल्नु हुँदैन ।

पूर्णिमा व्रत विधि (Purnima Vrat Vidhi in Nepali)
पूर्णिमाका दिन कुलदेवताको प्रसन्नताका निमित्त व्रत लिनु पर्दछ, तर धेरजसो चन्द्रमाको प्रसन्नताका निमित्त पूर्णिमाका दिन व्रत लिने चलन पाइन्छ । चन्द्रमालाई बुद्धि, सुगन्ध, आन्तरिक रोग, मानसिक पीडा, महिला, निद्रा, खुसी, तरल पदार्थ, औंलो ज्वरो, आमा, मातृशक्ति, मोती, नुन, मस्तिष्क, छोटो समय (मुहूर्त वा ४८ मिनेटको समयावधि), दही, प्रेम, तपस्या र साधनारत व्यक्ति, रात्रीकालको अनुमान, मीठो र गुलियो भोजन, अनुहारको आभा, राम्रो फलको आशा, माछा र अन्य जलचर प्राणी, नयाँ र रेडिमेड कपडा आदिको प्रतीकका रूपमा लिइन्छ । सोमबार, कर्कट राशि, रोहिणी, हस्ता र श्रवण नक्षत्रको स्वामी चन्द्रमा हो । यस ग्रहलाई सौम्य ग्रहका रूपमा लिइन्छ, त्यसैले चन्द्रमाको प्राकृतिक फलअनुसार व्यक्तिले राज्य र पदाधिकार प्राप्त गर्दछ । चन्द्रमाको समयमा सज्जनहरुको सङ्गत हुन्छ, मन मनोरञ्जनमुखी हुन्छ, भावुकता र प्रेमको उदय हुन्छ, घरायसी खुसी र सुखसयलका लागि प्रयास गरिन्छन्, शत्रुमाथि विजय हुन्छ र मोटर, गाडी वाहनादिको प्रबन्ध हुन्छ । कुण्डलीमा चन्द्रमाको महादशाको समय वा मङ्गला योगिनीको दशावधि छ भने जसले पनि चन्द्रमाको उपासना र आराधना गर्नु राम्रो हुन्छ । त्यस्तै मनोविकार, डिप्रेसन, अस्थिरता जस्ता समस्या भएका व्यक्तिका लागि पूर्णिमाको व्रतबाट विशेष लाभ हुन्छ । घरमा आर्थिक तनाव छ, दाम्पत्य कलह छ वा बालबालिकामा मौसमी रोगव्याधिको प्रकोप छ भने पनि पूर्णिमाको व्रत लिएमा राम्रो हुन्छ । भविष्य पुराणमा पूर्णिमा व्रत लिंदा पालना गर्नु पर्ने विधिका बारेमा उल्लेख गरिएको छ, जुन यस प्रकार छ :-

१) प्रातः ब्रह्ममूहुर्तमा उठेर शौचादिबाट निवृत्त भई नजिकैको कुनै पवित्र नदी, ताल वा पोखरीमा गई स्नान गरी नित्य सन्ध्यावन्दनादि गर्नु पर्दछ । नदी वा पोखरीमा गई स्नान गर्ने अवस्था नभएमा घरकै धारामा गङ्गाजल वा गहुँतमिश्रित शुद्धजलले स्नान गर्नुपर्दछ ।

२) सन्ध्योपासनापछि पुरुष व्रतालुले आफ्ना पितृहरूलाई तर्पण गर्नु उचित हुन्छ ।

३) त्यसपछि पूजाकोठामा प्रवेश गरी इष्टदेवताको पूजाआजा गरी भगवान् भोलेशङ्करको विशेष पूजा गर्नु पर्दछ ।
४) त्यसपछि दिनभरि निराहार वा केवल फलाहारमात्र गरी समय बिताउनु पर्दछ ।

५) बेलुका प्रदोष काल (ठूलो साँझ परेपछि अर्थात् साँझबत्ती बाल्ने वेला) मा घरबाहिर तुलसीको मठमा पूर्व फर्किएर चन्द्रमालाई पाद्यअर्घ्यादि षोडशोपचार पद्धतिले पूजाआजा गर्नुपर्छ । पूजाका लागि दही, सेतो अक्षता, सेतो फूल, सेतो नैवेद्य (बाबर वा बतासा), श्रीखण्ड चन्दन आदि सेता पूजासामाग्री जम्मा गर्नु राम्रो हुन्छ । त्यसपछि मठको फेदमा गोबरको कुण्ड बनाई चन्द्रमालाई दही, दुबो, तिल, शुद्धजल मिसाएर अर्घ्य दिनु पर्दछ । अर्घ्य दिएपछि धेरैवटा प्वाल भएको कुनै वस्तुको सहयोग लिई (उदाहरणका लागि चालनीको प्वालबाट वा बाबर पकाएर बाबरको प्वालबाट) चन्द्रमाको दर्शन गर्नुपर्छ ।

६) त्यसपछि सम्भव भएसम्म एकमाला वा कम्तीमा १० पटक चन्द्रगायत्री मन्त्रको जाप गर्नु पर्दछ ।

७) पूजनोपरान्त चलनअनुसार रातै फूलअक्षताको प्रयोग गरी मान्यजन, चेलीबेटीलाई टीकाटालो गरेर प्रसाद र दक्षिणा वितरण गरी आशीर्वाद ग्रहण गर्नुपर्दछ ।

८) पूजापछि सम्भव भएसम्म तल दानसामाग्रीमा उल्लेख भएका सामाग्री जुटाएर दक्षिणाका साथमा ब्राह्मण वा गरीबगुरुबालाई दान दिएर व्रत समापन गर्नु पर्दछ ।

९) त्यसपछि सात्विक भोजन ग्रहण गर्न सकिन्छ । तर भोजन अवधिभरि मौन रहेर भोजन गर्नु अनिवार्य मानिएको छ ।

चन्द्रमाको आराधना गर्दा सम्झनु पर्ने कुराहरू :- 
१) मुख्यदेवता - त्रिपुरारि भगवान् शङ्कर॥

२) पूजा गर्दा प्रयोग गरिने मन्त्रहरू :-

३) अर्घ्य दिने मन्त्र – क्षीरोदार्णवसम्भूत अत्रिगोत्रसमुद्भव । गृहाणार्घ्यं शशांकेदं रोहिण्या सहितो मम ॥

४) चन्द्रमाको दानसामाग्री – घिउ, सेतो कपडा, सुन, मोती, शङ्ख, दही, चाँदी, श्रीखण्ड, कपूर, चामल, जनै, सेतो चामर, सेतो साँढे॥

५) चन्द्रमालाई प्रसन्न तुल्याउन दैनिक पाठ गर्ने स्तोत्रहरू :-

Monday, November 6, 2017

मङ्गल चौथी

खर्वं स्थूलतनुं गजेन्द्रवदनं लम्बोदरं सुन्दरं
प्रस्यन्दन्मदगन्धलुब्धमधुपव्यालोलगण्डस्थलम् ।
दन्ताघातविदारितारिरुधिरैः सिन्दूरशोभाकरं
वन्दे शैलसुतासुतं गणपतिं सिद्धिप्रदं कामदम् ।

(जो होचो र मोटो शरीर भएको हुनुहुन्छ, जसको गजराजको जस्तै अनुहार र लामो भुँडी छ, जो सुन्दर देखिनुहुन्छ तथा मदको सुगन्धले लोभिएका भँमराले चाट्नाले जसको गण्डस्थल चञ्चल हुँदैछ, दाँतको चोटले विदीर्ण भएका शत्रुगणको रक्तद्वारा सिन्दूर झैं शोभा धारण गर्नुहुने, कामनाका दाता एवं सिद्धि प्रदान गर्नुहुने पार्वतीपुत्र गणेशको म वन्दना गर्दछु । )

रक्तो रक्ताङ्गरागांशुककुसुमयुतस्तुन्दिलश्चन्द्रमौलि-
र्नेत्रैर्युक्तास्त्रिभिर्वा मनकरचरणौ बीजपूरान्तवासः ।
हस्ताग्राक्लृप्तपाशाङ्कुशरदवरदो नागवक्त्रो हि भूषो
देवः पद्मासनो वो भवतु नतसुरो भूतये विघ्नराजः ।

(जो रक्तवर्णको शरीरयुक्त हुनुहुन्छ, जसले रातै रङ्गका अङ्गराग, वस्त्र र पुष्पहार धारण गर्नुहुन्छ, जो लम्बोदर हुनुहुन्छ, जसको मस्तकमा चन्द्रमुकुट छ, जसका तीनवटा आँखा छन् र हातखुट्टा ससाना छन्, जसको सूँडको अग्रभागमा पाश, अङ्कुश, दन्त तथा वरद मुद्रा सुशोभित छन्, जसको मुखमण्डल हात्तीजस्तो छ एवं सर्पमय आभूषण धारण गर्नुभएको छ, ती कमलको फूलको आसनमा विराजमान, समस्त देवगणका आराध्य विघ्नराज भगवान् गणपति हजुरहरूका निमित्त सदैव कल्याणकारी हुनुहवस् ।)

हाम्रो संस्कृतिमा भगवान् गणेशलाई मङ्गलकारक देवताका रूपमा पुज्ने परम्परा छ । वैदिक वाङ्मय र पौराणिक साहित्यका साथै दर्शन र संस्कृतिमा यत्रतत्र गणेशको चर्चा भएको भेटिन्छ । भगवान् गणपति मङ्गलकारी शुभफलप्रदाता र अमोघ लाभदाता देवता मानिनु हुन्छ । उहाँको पूजाबाट भक्तजनका समस्त सङ्कट र कष्टहरू समाप्त हुन पुग्छन् भन्ने विश्वास गरिन्छ । भगवान् गणेश चतुर्थी तिथिका दिन प्रकट हुनु भएको भन्ने शास्त्रीय मान्यता छ । गणेश जी प्रकट भएको दिन मङ्गलबार र चतुर्थी तिथिको संयोग थियो, त्यसैले यस्तो संयोगलाई भगवान् गणेशको पूजाआराधना र प्रसन्नताका निम्ति अतीव महत्त्वपूर्ण तिथिका रूपमा लिइने गरेको हो । मङ्गल चौथी (Mangal chaturthi) लाई 'मङ्गलचतुर्थी' र 'अङ्गारकी चतुर्थी' पनि भन्ने गरिन्छ । ज्योतिषशास्त्रमा मङ्गलबारको प्रतीकात्मक सम्बन्ध मङ्गल ग्रहसँग रहेको देखिन्छ । त्यसैले मङ्गलबारलाई भगवान् गणेशको प्रियतम दिन मानेर हप्तैपिच्छे श्रीगणेशको उपासना गरी श्रद्धाभक्तिका साथ व्रत लिने परम्परा पनि छ । मङ्गल ग्रहको उत्पत्ति पृथ्वीको गर्भबाट भएको हो भनी विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । पृथ्वीको पुत्रका रूपमा मङ्गल ग्रहलाई मानिने भएकाले यसलाई भौम पनि भन्ने गरिन्छ । मङ्गलबार र मङ्गलग्रहका अधिदेवता भगवान् गणेश हुनुहुन्छ । त्यसैले भगवान् गणेशको जन्मतिथि चतुर्थी तिथि मङ्गलबारका दिन पर्दा यो दिन अझ महत्त्वको दिन हुन गएको हो । भगवान् गणेशको उत्पत्ति र मङ्गल ग्रहको उत्पत्तिसित जोडिएको चतुर्थी तिथिका बारेमा भिन्नभिन्न पुराण र ग्रन्थहरूमा बेग्लाबेग्लै कथाप्रसङ्ग र क्षेपकहरू भेटिन्छन् । कतिले मङ्गल चौथीलाई भगवान् गणेशकै जन्मदिन र कतिपयले मङ्गल ग्रहको उत्पत्ति भएको प्रसङ्गसित जोडेको पाइन्छ । कथाका अन्तरविषयमा भिन्नता देखिएपनि तिनले यस दिनको महत्तालाई नै उपस्थापन गरिएको प्रसङ्गमा भने समानता पाइन्छ । यस बारेमा प्राप्त बेग्लाबेग्लै कथावृत्तान्तको सारांश निम्नानुसार छ -

भगवान् गणेशको जन्मप्रसङ्ग

गणेशपुराणको उपासनाखण्डमा भगवान् गणेशको जन्मवृत्तान्त छ । गणेश उत्पत्तिसम्बन्धी धेरै कथानकहरूमध्ये माता पार्वतीले स्नानागारमा पस्नुअघि मयलबाट एउटा मानवाकृति बनाई त्यसमा प्राण भरेर द्वारपालेका रूपमा स्थापना गरेको बालक नै पछि गणेशका नामले प्रख्यात भएको कथा प्रसङ्ग बहुप्रचलित छ । यस वृत्तान्तमा बताइएबमोजिम गणेशको जन्म भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएको हो । प्रत्येक वर्ष यस दिनलाई 'गणेश चौथी' भनेर मान्ने गरेको पाइन्छ । सामान्यतया नेपाली परम्परामा यो पर्व तीजको भोलिपल्ट र ऋषिपञ्चमीको अघिल्लो दिन पर्ने गर्दछ । भगवान् गणेशको जन्म भएको उक्त दिन मङ्गलबार नै थियो भन्ने विश्वास गरिन्छ, त्यसैले चतुर्थी र मङ्गलबारको संयोग भएको दिनको महत्ता बढेको हो भन्ने विश्वास छ ।

मङ्गल ग्रहको जन्मप्रसङ्ग

पौराणिक ग्रन्थमा मङ्गल ग्रहलाई पृथ्वीको छोराका रूपमा लिएको पाइन्छ । कथाबमोजिम भारद्वाज मुनि र पृथ्वीका पुत्र मङ्गलको जन्म चतुर्थी तिथिमा नै भएको थियो भने उनले सिद्धि प्राप्त गरेको दिन पनि चतुर्थी तिथि नै थियो । मङ्गल ग्रहको जन्मपछि उनले आँफुले ज्ञान, सिद्धि र प्रतिष्ठा प्राप्त गर्न कठिन तपस्या गरे । उनको उक्त प्रयासबाट भगवान् गणेश प्रसन्न हुनुभयो र मङ्गल ग्रहले गणेशजीबाट वरदान पाए । यसरी मङ्गल ग्रहले गणेशजीको दर्शन पाएको र वरदान प्राप्त गरेको दिन माघ कृष्ण पक्षमा पर्ने चतुर्थी तिथि थियो । त्यस दिन ग्रह एवं नक्षत्र जसका अंश हुन्, ती गजानन गणेशको वरदानबाट मुनिकुमार मङ्गललाई मङ्गल ग्रहका रूपमा आकाशमण्डलमा विशिष्ट स्थान प्राप्त भयो । भगवान् गणेशले मङ्गल ग्रहलाई आशीर्वाद र वर दिंदा अभिव्यक्त गरेका वचन यस्ता थिए - 'मङ्गलबार र चतुर्थीको संयोग भएको दिन जसले श्रद्धाभक्तिपूर्वक मेरो (गणेशको) भक्ति गरी व्रत लिन्छ, उसका समस्त कष्ट एवं विघ्न समाप्त हुनेछन् र उनको महत्त्व अझ बढ्ने छ ।'

भगवान् शिवबाट गणेशजीलाई प्राप्त वरदानको सन्दर्भ

एउटा अर्को कथासन्दर्भअनुसार भगवान शङ्करले गणपतिसित प्रसन्न भई प्रत्येक मङ्गल चतुर्थीका दिन (Mangal Chaturthi) चन्द्रमा 'मेरो शिरबाट सरेर तिम्रो शिरमा सुशोभायमान हुनेछन्' भनी वर प्रदान गर्नु भएको थियो । त्यसैले मङ्गलचौथी वा अङ्गारकी चतुर्थी परेको विशिष्ट दिनमा श्रीगणेशको उपासना र व्रत सम्पादन गर्नाले व्यक्तिमा जानी/नजानी जन्मजन्मान्तरदेखि सञ्चित हुन पुगेका कायिक, वाचिक र मानसिक यी तीनै किसिमका पापको नाश हुनुका साथै त्यसबाट प्राप्त हुने तापको समेत हरण हुने गर्दछ । मङ्गल चतुर्थीका दिन जसले श्रद्धाभक्तियुक्त भई नियमनिष्ठापूर्वक श्रीगणेशको पूजा गर्दछ तिनले मनोवाञ्छित फल प्राप्त गर्दछन्, साथै सन्तान नहुने दम्पत्तिले सविधि गणेशजीको उपासना गर्दा सन्ततिलाभ गर्दछन् भन्ने आशीर्वाद भगवान् शिवबाट प्राप्त भएको कथाको सन्दर्भ पनि मङ्गलचौथीकै महात्म्य उल्लेख गर्दा बताउने गरिन्छ । यहाँ उल्लेखित विभिन्न सन्दर्भले समेत मङ्गल चौथीको वैशिष्ट्यलाई उजिल्याएको देखिन्छ । त्यसैले भगवान् श्रीगणेशका भक्तहरू प्रत्येक चतुर्थीका दिन अति श्रद्धाका साथ व्रत लिने गर्दछन् । कतिपय भक्तहरूले महिनै पिच्छे शुक्लपक्षको र कतिले कृष्णपक्षको चतुर्थीका दिनलाई बढी महत्त्व दिने गरेको पाइन्छ । कृष्णपक्षको चन्द्रोदयरहित चतुर्थीलाई पापनाशक चतुर्थी र शुक्लपक्षको चन्द्रोदययुक्त चतुर्थीलाई संकष्टी चतुर्थी भनिन्छ । धर्मग्रन्थहरूमा चतुर्थीका दिन विधिवत् व्रत गर्नाले मङ्गलमूर्ति श्रीगणेश तत्काल प्रसन्न हुनुहुन्छ र यस दिन मङ्गलबार परेको बेला विधिवत् व्रत सम्पादन गर्नाले वर्षभरिका चतुर्थीको व्रतको सम्पूर्ण पुण्य प्राप्त हुन्छ भनेर बताइएको छ ।

मङ्गल चौथी भगवान् गणेशको आराधना गर्ने पवित्र दिन हो । यस दिन प्रात:कालमा स्नानादिबाट निवृत्त भई पवित्र वस्त्र धारण गरेर भगवान् श्री गणपति सहित भगवान् शिव र माता पार्वतीको पूजा गर्ने चलन छ । त्यस दिन भगवान् गणेशको प्रसन्नताका निम्ति यस दिन दिनभरि भजन कीर्तन गर्ने र श्रीगणेश स्तोत्र वा गणेश अथर्वशीर्षको पाठ समेत गर्ने गरिन्छ । साँझमा चन्द्रमा झुल्किएपछि मुसा वाहनमा सवार भएका, हातमा परशु(बन्चरो) र पाश(पासो) धारण गरेका श्रीगणपतिको मूर्तिलाई प्राणप्रतिष्ठा गरिन्छ् । प्राणप्रतिष्ठा गर्दा ब्राह्मणद्वारा मन्त्रोच्चारण पूर्वक गराउने चलन पनि छ, तर आफैंले जौ, तिल, कुश, अक्षता, चोखो पानी आदिको मिश्रणबाट तिलानी बनाई मानसिक रूपले सङ्कल्प गरी त्यस तिलानीमा रहेको कुसको टुक्रो र अक्षता हातमा लिई भगवान् श्री गणेशको मन्त्र उच्चारण गर्दै अक्षता र कुशको टुक्रो मूर्तिमाथि राखेर गणेशको आध्यात्मिक उपस्थिति आँफुले स्थापना गरेको मूर्तिमा रहोस् भन्ने कामना गर्नुपर्छ । भगवान् श्रीगणपतिको प्राणप्रतिष्ठा गरेपछि फूल, अक्षता, चन्दन, अबिर(रोली), कुमकुम, दुबो, माला आदिद्वारा विविध सामग्री त्यस मूर्तिमा चढाएर पूजा गर्नुपर्दछ । मङ्गल चौथीका दिन श्रीगणेशको पूजासँगै चन्द्रमा र मङ्गल ग्रहको पूजा गर्दा अति शुभफल प्राप्त हुने र मङ्गलदायी हुने विश्वास गरिन्छ । त्यसैले मङ्गल चौथीको व्रत लिने व्यक्तिले त्यस दिन भगवान् गणपतिको पूजा गरेपछि चन्द्रमा र मङ्गल ग्रहको समेत पूजा गरी अर्घ्य दिनुपर्छ । श्रीगणेशलाई लड्डुको भोग लगाउनु पर्दछ, अनि सपरिवार श्रीगणेशको आरती गरी प्रसाद वितरण गर्नुपर्दछ र मङ्गल चौथीको व्रत समापन हुन्छ ।

किन लिने मङ्गलबारको व्रत ?

सामान्यतया मङ्गलवारको व्रत सम्मान, बल, पुरुषार्थ र साहस बृद्धि गर्नका निमित्त लिने गरिन्छ । यस दिन व्रत सम्पादन गर्नाले व्रतालुले सुखसमृ्द्धि प्राप्त गर्ने गर्दछ । यस व्रतको प्रभावले उपासकले राजकीय पद समेत प्राप्त गर्दछ । सम्मान र सन्तानप्राप्तिका लागि पनि मङ्गलवारको व्रत लिने चलन छ । यस व्रतको व्रतकथा र महात्म्यमात्र श्रवण गर्नाले पनि समस्त मङ्गल कामनाहरू पूर्ण हुने गर्दछन् । त्यस्तै यस व्रतको सम्पादनबाट समस्त पापहरूबाट व्यक्तिले मुक्ति प्राप्त गर्दछ । त्यस्तै जसको जन्मकुण्डलीमा मङ्गल ग्रहले विविध अशुभ फल प्रदान गरिरहेको छ, उसको कुण्डलीजन्य दोष निवारणका लागि पनि मङ्गलबारको व्रत लिने चलन छ ।

ककसले लिनुहुन्छ मङ्गलबारको व्रत ?

ज्योतिष शास्त्रअनुसार मङ्गलवारको व्रत ती व्यक्तिहरूले लिनु पर्दछ जसको कुण्डलीमा मङ्गलग्रह नीच, बक्री, शत्रुगृहस्थ वा अनिष्टकारक भएर बसेको छ । यस व्रतलाई मङ्गल ग्रहको शान्ति होस् भन्ने उद्देश्यले लिने गरिन्छ । त्यस्तै कुण्डलीमा मङ्गल ग्रह जेजस्तो भए पनि जुन व्यक्तिको उग्र स्वभाव छ, हिंसात्मक क्रियाकलापमा संलग्न छ, रिसाहा छ वा दाम्पत्य विवादले परिवार अस्तव्यस्त छ,  तिनको मानसिक क्रियाकलापलाई शान्त तुल्याउन पनि यस व्रतलाई सम्पादन गर्ने गरिन्छ । सामान्यतया किशोरहरूले यस व्रतलाई सम्पादन गरे भने तिनले बल र बुद्धि प्राप्त गर्दछन् भने किशोरी र युवतीले यस व्रतलाई लिएमा तिनले असल दाम्पत्य जीवन प्राप्त गर्ने विश्वास गरिन्छ । सन्तानेच्छु दम्पतिले यो व्रत लिएमा असल सन्ततिको प्राप्ति हुनाका साथै सन्ततिका विविध रोग र कमजोरी नष्ट भई तिनको बौद्धिक र शारीरिक विकासमा टेवा पुग्छ । यस व्रतको सम्पादनबाट व्यावसायिक क्षेत्रमा समेत सफलता प्राप्त हुन्छ भन्ने विश्वास लिने गरिन्छ । 

मङ्गलवारको व्रतको महत्त्व

शास्त्रमा प्रत्येक व्रतको बेग्लाबेग्लै महत्त्व र फलका बारेमा उल्लेख गरिएको पाइन्छ । व्रत लिनाले आराध्य देवी/देवताहरूलाई प्रसन्न तुल्याउन सफल भइन्छ र सुखशान्ति प्राप्ति हुन्छ । अन्य व्रतजस्तै मङ्गलबारको व्रत लिनाले पनि धनधान्य, सुखद दाम्पत्यजीवन, असाध्य र कष्टप्रद रोगहरूबाट मुक्ति प्राप्त हुन्छ । वास्तवमा यो व्रत यस मोहरूपी संसारबाट मुक्तिप्राप्त गराउने सरल उपाय हो भन्दा फरक पर्दैन । कुनै व्यक्तिको जन्मकुण्डलीमा मङ्गल ग्रह लग्नमा छ वा लग्नेश भएर उपस्थित भएको छ भने तिनले यस व्रतलाई विनाकारण पनि लिनसक्छन् । त्यसबाहेक यदि कुनै व्यक्तिको कुण्डलीमा मङ्गल ग्रह जन्मलग्नमा अवस्थित भएर पीडित अवस्थामा छ भने उसले अनिवार्य रूपमा यस व्रतको सम्पादन गर्नुपर्दछ । जसको कुण्डलीमा मङ्गलको महादशा, अन्तर्दशा वा प्रत्यन्तर दशा चल्दैछ वा गोचर कुण्डलीमा मङ्गल ग्रह अनिष्टकारी रूपमा छ भने पनि तिनले यस व्रतको सम्पादन गर्नु अनिवार्य छ । यस दिन भगवान् गणेशको र भगवान् हनुमानको उपासना गर्ने गरिन्छ । खास गरी भारतमा पुरूष जातकले मङ्गलबारका दिन हनुमान जीको र स्त्रीजातकले गणेश जीको आराधना गर्ने प्रचलन रहेको देखिन्छ ।

मङ्गलवार व्रतको व्रतविधि

मङ्गलवारका दिन सात्विक विचार ग्रहण गर्नु पर्दछ । व्रत सम्पादन गर्ने दिन आफैंले वा विद्वान् ब्राह्मणका मुखबाट कथा श्रवण गर्नुपर्दछ । सकेसम्म रात्रीकालमा भोजनादि ग्रहण गर्नु हुँदैन । दिवासमयमा पनि एकपटकमात्र भोजन वा फल ग्रहण गर्नुपर्दछ । नुन व्रतको अवधि अर्थात् चौबीस घण्टासम्म खानु चलाउनु हुँदैन । यस व्रतलाई पूर्णता प्रदान गर्न २१ को सङ्ख्याको ठूलो महत्त्व छ । त्यसैले यो व्रत लिन थालेपछि कम्तीमा २१ हप्ता २१ महिना वा २१ वर्ष लिने भनी प्रतिज्ञा गर्नु पर्दछ । बीचमा कुनै कारणले जुठो, सुतक वा महिनावारीजस्ता विघ्न हुनसक्ने भएकाले परिपूर्णताका निमित्त २१ वटा व्रतको सङ्कल्प गरे पनि जम्मा २८ हप्तासम्म व्रत लिनु पर्दछ भन्ने नियम छ । भरिसक्य व्रत थालेपछि समाप्तिपर्यन्त पूरा नियमनिष्ठाका साथ पूर्ण गर्नु पर्दछ, तर बीचमा जुठो, सूतक वा महिनाबारीका कारण व्रतमा नैसर्गिक बाधा उत्पन्न भएमा ठाडो व्रत (पूजा नगर्ने तर उपवास गर्ने) लिनु पर्दछ । पूजासामाग्री र नैवेद्यादि ठीक पार्दा सम्भव भएसम्म रातो रङ्ग र गुलियो पदार्थको जोहो गर्नु पर्दछ । व्रत लिनेभन्दा अघिल्लै दिनदेखि मानसिक रूपमा आफूलाई सात्विक तुल्याउनु पर्दछ र लसुन, प्याज, माछा, मासु, मदिरा आदि अखाद्य पदार्थको सेवन गर्नु हुँदैन । व्रत लिने दिन सूर्योदयभन्दा पहिले नै उठेर स्नानशौचादि नित्य कर्म सम्पादन गर्नु पर्दछ । घर लिपपोत गरी वा शुद्ध गङ्गाजलले चोख्याई व्रतालुले रातो रङ्गका वस्त्राभूषण लगाएर बस्नुपर्दछ । घरको उत्तरपूर्वको कुना वा ईशान कोणको दिशामा कुनै एकान्त स्थानमा दियो, कलश र गणेशको स्थापना गरी गणेशजी वा हनुमानजीको मूर्ति वा चित्रसमेत राखी पूजा गर्नुपर्दछ । दियो र आरती गर्दा २१ सुते बातीको प्रयोग गर्नु पर्दछ । ब्राह्मणका सहयोगबाट वा आफैं षोडशोपचार पद्धति आह्वान, आसन, पाद्य, अर्घ्य, आचमनीय, स्नान, पुनराचमनीय, चन्दन, अक्षता, फलफूल, नैवेद्य, वस्त्रालङ्कार, यज्ञोपवित, भेटी, प्रदक्षिणा आदि विविध उपचारद्वारा पूजा गर्नु पर्दछ । जुटेसम्म प्रत्येक वस्तु २१/२१ को सङ्ख्यामा जुटाउनु पर्छ । पूजा गर्दा गणेशजी, हनुमानजी वा मङ्गल ग्रहका २१ वटा नामको उच्चारण गर्नुपर्दछ । मङ्गल ग्रहका २१ वटा नामहरू यस प्रकार छन् :-

१. मङ्गल, २. भूमिपुत्र, ३. ऋणहर्ता, ४. धनप्रदः, ५. स्थिरासन, ६. महाकाय, ७. सर्वकामार्थसाधक, ८. लोहित, ९. लोहिताज्ञ, १०. सामगानकृपाकर , ११. धरात्मज, १२. कुज, १३. भौम, १४. भूमिज, १५. भूमिनन्दन, १६. अङ्गारक, १७. यम, १८. सर्वरोगहारक, १९. वृष्टिकर्ता, २०. पापहर्ता, २१. सर्वकामफलप्रदः ।


अर्घ्य दिने मन्त्र :-

भूमिपुत्रो महातेजः कुमारो रक्तवस्त्रक: । गृहाणार्घ्यं मया दत्तमृणशान्तिं प्रयच्छ हे ।


मङ्गलवारको व्रत उद्यापन

मङ्गलवारको २१ हप्ता २१ महिना वा २१ वर्षको व्रत समापन गर्दा गणेश जी, हनुमान जी, वा मङ्गल ग्रहको विधवत् पूजा गरी २१ जोडी ब्राह्मण/ब्राह्मणी वा आठ वर्षमुनिका २१ जना कुमार केटाहरू भेला पारी तिनलाई रातो रङ्गका यथाशक्ति वस्त्रादि दान गरी, यथाशक्ति गुलियो पदार्थ पेटभरि खान दिई, यथाशक्ति दक्षिणा समेत दिई समापन गर्नु पर्दछ । दक्षिणामा पनि २१ पैसा, २१ रुपैयाँ वा अन्त्यमा २१ अङ्क आउने सङ्ख्या राख्नु राम्रो मानिन्छ ।

Sunday, July 30, 2017

रोगबाट मुक्ति पाउने महिना : श्रावण

पूर्वीय दर्शन र विज्ञान दुबैले स्वीकार गरेको तथ्य हो - सृष्टि र मानव शरीर पञ्चतत्त्वको सम्मिश्रणबाट निर्माण भएको हो। ती पञ्चतत्त्व हुन् - अग्नि, पृथ्वी, वायु, आकाश र जल। विधिवत् रूपमा सृष्टिको सञ्चालन हुन र मानव शरीरको सञ्चालनका निमित्त यी पञ्चतत्त्वको सन्तुलनको आवश्यकता पर्दछ। यी तत्त्वहरूको सन्तुलनबाट जसरी सृष्टिलाई प्रसन्न तुल्याउन सकिन्छ, ठीक त्यसरी नै एउटा मनुष्यले प्रसन्नता र सुस्वास्थ्य/निरोगिता प्राप्त गर्न पनि यिनको खाँचो हुन्छ र यिनै तत्त्व असन्तुलित हुँदा जसरी सामुद्रिक ज्वारभाटा र अन्य प्राकृतिक आपदा उपस्थित हुन्छन्, त्यस्तै मनुष्य पनि रोगग्रस्त, चिड़चिड़ापन, दुखहरूबाट पीड़ित र कान्तिहीन हुनपुग्छ। अतः यीमध्ये कुनै एउटाको मात्र न्यूनता वा आधिक्यता हुनु नकारात्मक हुन्छ।

यी पाँचैवटा तत्त्वहरू मूलत: ग्रह, नक्षत्र आदिबाट नियन्त्रित रहने गर्दछन्। अतः यदि हामीले सरल भाषामा जान्न चाह्यौं भने ग्रहले नै हाम्रो शरीरलाई सञ्चालन गर्ने गर्दछन् भन्ने बुझ्दा हुन्छ। अनि रोग पनि शरीर सञ्चालनको खराब तर महत्त्वपूर्ण अङ्ग हो।

पूर्वीय ज्योतिष विज्ञानले प्रमाणित गरेको सिद्धान्त के हो भने प्रत्येक वर्षमा एक पटक आउने श्रावण महीनामा बाबा भोलेनाथलाई प्रसन्न तुल्याउन सकियो भने व्यक्तिले यी पञ्चतत्व र ग्रहहरूका असन्तुलनसँगै रोगको निवारण पनि गर्न सकिन्छ। त्यसैले पर्यावरणीय सन्तुलन र शारीरिक सन्तुलनका साथै रोग निवारण गर्न श्रावण महिनामा भगवान् भोलेनाथ शिवशङ्करको आराधना गर्नु पर्दछ। तपाईंले तल लेखिएमध्येका कुनै उपाय अवलम्बन गरेर शिवपूजन गर्न सक्नुहुन्छ।

·    कुनै योग्य र दक्ष ज्योतिषीलाई आफ्नो कुण्डली विश्लेषण गर्न लगाई रोगको कारक ग्रह कुन हो भन्ने पत्ता लगाउनु पर्दछ र त्यसपछि त्यस ग्रहसम्बद्ध वार वा नक्षत्र जुन दिन पर्दछ, त्यस दिन त्यस ग्रहसँग सम्बन्धित तुलादान गरी शिव रुद्राभिषेक र महामृत्युञ्जय मन्त्रको जप गर्दा रोग, शोक र भयबाट मुक्त भइन्छ।
·        श्रावण महिनामा प्रत्येक मङ्गलवारका दिन शिव पूजा गर्नाले (विशेषतः रुद्राभिषेक र महामृत्युञ्जय मन्त्रको जप) गर्नाले रोगबाट छिट्टो मुक्त हुन सकिन्छ। यसरी शिवार्चन गर्दा करबीरको फूल शिवप्रतिमामा अर्पित गर्नुपर्दछ।

·        कुनै पनि रोगबाट पूर्णत: मुक्ति प्राप्त गर्नका निम्ति श्रावण महिनाको पहिलो सोमवारबाट नै प्रारम्भ गरी प्रत्येक सोमवारका दिन शिवालयमा गई कपूरयुक्त जलद्वारा अभिषेक गर्नुपर्दछ। त्यसरी शिवलिङ्गमा जलाभिषेक गर्दा महामृत्युञ्जय मन्त्रको निरन्तर रूपमा जप गर्नु आवश्यक छ।
महामृत्युञ्जय मन्त्र :-
ॐ ह्रौं जुं स: ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्द्धनम्,
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॐ स: जुं ह्रौं ॐ॥

यस मन्त्रलाई केवल श्रावण महिनामा मात्र होइन, त्यसपछि पनि पूरा वर्षभरि जप्नु आवश्यक छ। अवश्यमेव स्वास्थ्यलाभ हुनेछ।

·        साउन महिनामा प्रत्येक बिहीबारका दिन भगवान् शिवको विशेष पूजा गर्नाले आयु बढ्छ।

·        रोगबाट मुक्तिको अर्को एउटा उपाय पनि छ। त्यो हो यस महिनामा पर्ने मङ्गलबार वा शनिबारको कुनै दिन महामृत्युञ्जय मन्त्रको जप गर्दै मौरीको शुद्ध महले स्नान गर्ने।

·        साउन महिनाको सोमबार वा शुक्रबारमध्ये शिववास र हवन जुरेको कुनै एक दिन कुशोदक जलद्वारा शिवार्चन र रुद्राभिषेक गर्दा असाध्य रोग शान्त हुन्छ।

·        श्रावण महिनामा पर्ने नागपञ्चमीका दिन लघुरुद्राभिषेक र नागको पूजा गरेमा मात्र पनि तपाईंले रोग, शोक, भय, कालसर्पको दुष्प्रभाव र कीराफट्याङ्ग्रा तथा सर्पको भय आदिबाट मुक्ति प्राप्त गर्नु हुनेछ।

·        साउन महिनाको पञ्चमी तिथि, बुधबार वा आइतबारमध्ये शिववास र हवन जुरेको कुनै एक दिन काँचो दूधले शिवार्चन र रुद्रीपूजा गर्नाले सुगर रोग (मधुमेह)को शान्ति हुन्छ।

·        भगवान् शिवको मृत्यञ्जय मन्त्रको १०,००० (दसहजार)को सङ्ख्यामा सङ्कल्प पूर्वक जप गर्दै घिउको धाराद्वारा शिवलिङ्गको अभिषेक गर्दा मधुमेह (डाइबिटीज) रोगबाट मुक्ति पाइन्छ।

·        महाकाल शनि मृत्युञ्जय स्तोत्र र रुद्रीपूजा गरी गाईको शुद्ध घिउले शिवजीलाई अभिषेक गर्नाले स्वास्थ्यसम्बद्ध कुनै बाधा हुँदैनन्।

·        श्रावण महिनाको कुनै सोमबारका दिन जुन मनुष्यले हरियो दुबोले भगवान् शिवको पूजा र आराधना गर्दछ, उसले दीर्घायुष्य प्राप्त गर्दछ।

·        तपाईं लामो समयदेखि बिरामी हुनुहुन्छ वा रोगको पत्तो नलागेर दिक्क हुनुहुन्छ भने कुनै गङ्गागामिनी नदीको पानी ल्याएर पञ्चमुखी शिवलिङ्गमा चढाउनुहवस्, तपाईंको रोगको निदान हुने छ र सुस्वस्थ हुनुहुनेछ।

·        टाइफाइड, मलेरिया वा यस्तै कुनै ज्वरोको प्रकोपबाट तपाईं पीडि़त हुने गर्नुहुन्छ भने यस महिनामा पर्ने शनिबार वा प्रदोषका दिन भगवान् शिवलाई जलाभिषेक गर्नुहवस्, तपाईंले तुरुन्त लाभ पाउनुहुनेछ।

·       अल्पसन्तति, गर्भस्राव, सन्तानहीनता, बाँझोपनको समस्या वा नपुंसकता छ भने त्यस्ता व्यक्तिले दम्पतिसहित विधिविधान पूर्वक श्रावण महिनाको प्रत्येक सोमबारका दिन व्रत लिई एवं रुद्री र अग्नि जुर्ने कुनै शुक्रबारका दिन घृतधारासहित कुनै शिवालयमा लघुरुद्राभिषेक कर्म सम्पादन गर्नुहोस् र कर्मको समापनमा कम्तीमा २१ जना ब्राह्मणलाई घृतपायस (घिउ र खिर)को भोजनद्वारा तृप्त तुल्याउनु हवस्। तपाईं पूर्ण पुरुषत्व वा पूर्ण स्त्रीत्व प्राप्त गर्नु हुनेछ। केही समयपछि तपाईंको घरआँगनमा केटाकेटीको बालक्रीडा र बालसुलभ चञ्चलताको सौभाग्य प्राप्ति हुनेछ।

जय शम्भो कैलाशपति !!!

Wednesday, July 26, 2017

ग्रहण लागे पनि पूर्णिमाकै दिन रक्षाबन्धन समुचित

आगामी २०७४ साल श्रावण २३ गते, जनै पूर्णिमाका दिन खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ, ग्रहणका कारण उक्त दिन गरिने धार्मिक कृत्यादि सबै कर्म नाग पञ्चमीका दिन गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय विवादास्पद र शास्त्रविपरीत रहेको देखिन्छ । जनै पूर्णिमाका दिन सम्पादन गरिने कृत्यहरू चार कसिमका हुन्छन् – श्रावणी स्नान, ऋषितर्पणी, नूतन यज्ञोपवीत धारण र रक्षाबन्धन  ।

सनातन धर्ममा जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । दुईवटा शिखा भएको एकजोर जनैको एउटा शिखामा रहेका तीनवटा डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकका रूपमा लिइन्छ । यस दिन सनातन धर्मावलम्बी तागाधारी (जनै लगाउने) हरू बिहान सबेरै उठी नजिकैको तीर्थस्थल, नदी, तलाउ वा सरोबरमा गई पद्धतिमा उल्लिखित विधानको प्रयोग गरी स्नानादि सम्पादन गर्दछन्, यसरी स्नान गर्ने प्रक्रियालाई श्रावणी स्नान भनिन्छ । त्यसपछि सप्तर्षिहरूको पूजाआजा र तर्पणादि, रक्षाविधानको अभिमन्त्रण अनि जनै मन्त्रने काम हुन्छ । अन्त्यमा नयाँ जनै फेर्ने र नारीमा रक्षासूत्र (डोरो) बाँध्ने काम हुन्छ । रक्षाबन्धन बाँध्दा पहाडे समुदायमा विशेष गरी ब्राह्मणद्वारा नारीमा डोरो बाँध्न लगाउने चलन छ भने तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइका हातमा रक्षासूत्र (राखी) बाँधेर मनाउने परम्परा छ ।

नेपाल सरकार, संस्कृति मन्त्रालय अन्तर्गत पञ्चाङ्ग निर्णायक समितिले तिथि, मिति र चाडपर्व निर्णय गरी पात्रो प्रकाशन गर्दै आएको छ । यसै समितिले निर्णय गरी निर्धारण गरेको चाडपर्व, मुहूर्त र साइतलाई आम नेपाली (खासगरी पहाडी मूलका नेपालीहरू, दार्जिलिङ, सिक्किम र पूर्वोत्तर भारतमा बसोबास गर्नेसमेत) ले व्यवहारिक रूपमा अनुसरण गर्ने गर्दछन् । तर नेपालकै तराईमा बस्ने मधेशी मूलका अधिकांश नेपालीहरूले यस पात्रोका आधारमा होइन, मिथिला पञ्चाङ्ग (दरभङ्गा, विहारबाट प्रकाशित) र विश्वनाथ पञ्चाङ्ग (वाराणसी, उत्तरप्रदेशबाट प्रकाशित) पात्रोको निर्णयलाई कार्यान्वयन गर्ने गर्दछन् । पात्रो जहाँबाट प्रकाशित भए पनि तिनले निर्देशन गर्ने विषयहरूको मूल स्रोत संस्कृत भाषामा प्रकाशित धर्मशास्त्रका आधिकारिक ग्रन्थहरू नै हुने गर्दछन् ।

श्रावण शुक्ल पक्षको पूर्णिमाका दिन यदाकदा चन्द्र ग्रहण परिरहन्छ । यसभन्दा अघि वि.सं. १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि यसै दिन चन्द्र ग्रहण परेको थियो । यति धेरै शुभकर्म सम्पादन गर्ने दिन ग्रहण लाग्यो भने ग्रहणको सूतकका कारण ती कर्म सम्पादन गर्न मिल्छ वा मिल्दैन भन्ने खुल्दुली हुनु स्वाभाविक हो । अतः ती जिज्ञासाहरूलाई शास्त्रसम्मत ढंगले साथै नेपाल र भारतबाट प्रकाशन हुने सबै पञ्चाङ्गहरूमा एकरूपता आउने गरी निर्णय गर्नु र जनसमक्ष ल्याउनु पञ्चाङ्ग निर्णायक समितिको काम हो । उक्त समितिले गरेको निर्णयमा दोधारेपन र व्यवहारिक रूपमा फरक पर्नु हुँदैन । तर यस पटक यो समस्या देखा परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो प्रकाशन गर्दा नै धर्मसिन्धुको 'ग्रहणसङ्क्रान्तियोगश्चोपाकर्म सम्बन्धिन्यहोरात्रे भविष्यन्मध्यरात्रादूर्ध्वं चेति यामाष्टके विद्यमानः श्रवण नक्षत्र पूर्णिमादितिथ्यस्पृष्टोप्युपाकर्मदूषकः' भन्ने सूत्रको हवाला दिई 'श्रावण शुक्ल पूर्णिमाको दिन ग्रहण वा सङ्क्रान्ति परेमा श्रावण शुक्ल पूर्णिमामा गरिने स्वाध्यायोपाकर्म, ऋषितर्पणी, श्रावणी र रक्षाबन्धन श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीमा गर्नुपर्छ भन्ने निर्णयसिन्धु, धर्मसिन्धु, कालमाधव आदि धर्मशास्त्रका ग्रन्थहरूमा स्पष्ट उल्लेख भएकोले यस वर्ष श्रावण शुक्ल पूर्णिमामा गरिने उक्त कृत्यहरू नागपञ्चमीका दिन गर्नुपर्ने देखिन्छ । जनै पूर्णिमामा गरिने अन्य जात्रा, उत्सव र परम्परागत कृत्यहरू भने पूर्णिमाकै दिन गर्नुपर्ने हुन्छ ।' भनी निर्देशन गरेको देखिन्छ । तर यो निर्णय र यसलाई पुष्टि गर्न उल्लेख भएका धर्मग्रन्थहरूको हवाला सही छैन ।

सबभन्दा पहले जनैपूर्णिमाका दिन गरिने कृत्यहरूका बारेमा बुझौं :–

उपाकर्म वा स्वाध्यायोपाकर्म
उपाकर्म अथवा स्वाध्यायोपाकर्म गृह्यसूत्रमा विधान गरिएको कृत्य हो – यो कृत्य वेद पढाउने गुरु र तिनीसित वेद पढ्ने शिष्य मिलेर गर्ने कृत्य हो । उपाकर्मको समय (काल) निर्णयका निमित्त धेरै विकल्पहरू शास्त्रमा उल्लेख भएको देखिन्छ । खासगरी वेदका भिन्नभिन्न शाखाअनुसार त्यस्तो विभेद देखिएको हो ।
जस्तै :-
अथातोध्यायोपाकर्म,औषधीनां प्रादुर्भावे श्रवणेन श्रावण्यां पौर्णमास्यां श्रावणस्य पञ्चमीं हस्तेन वा (पारस्कर गृह्यसूत्र) ।
उपाकर्मको यसै पद्धतिलाई अनुसरण गरी हिजोआज श्रावणी स्नान, ऋषितर्पणी, जनै अभिमन्त्रणा गर्ने र नयाँ जनै फेर्ने काम सम्पादन हुन्छ ।

रक्षाबन्धन
रक्षाबन्धन पुराणमा विधान गरिएको छुट्टै कृत्य हो । यो उपाकर्म होइन र त्यसको अङ्ग पनि होइन । उपाकर्मका अधिकारी तागाधारी मात्र हुन् भने रक्षाबन्धन सबैका लागि हो ।

जनै पूर्णिमाका दिन ग्रहण परेमा के गर्ने भन्ने विषयमा शास्त्रमा चर्चा भएका प्रसङ्गहरू पनि अवलोकन गरौं :–

उपाकर्मका निमित्त 
सङ्क्रान्ति ग्रहणं वापि पौर्णमास्यां यदा भवेत् । उपाकृतिस्तु पञ्चम्यां कार्या वाजसनेयिभिः । (सत्कर्मरत्नाकरः)
पूर्णिमाका दिन ग्रहण वा सङ्क्रान्ति परेको अवस्थामा उपाकृति (उपाकर्म) वाजसनेयीहरूले पञ्चमीका दिन गर्नुपर्दछ ।

अर्धरात्रादधस्ताच्चेत्सङ्क्रान्तिग्रहणं तदा । उपाकर्म न कुर्वीत परतश्चेन्न दोषभाक् ।। (कात्यायनको मत, निर्णयसिन्धु) । 
अर्थात् अर्धरात्रीपूर्व नै सङ्क्रान्ति वा ग्रहण परेको छ भने उपाकर्म गर्नु हुँदैन, तर अर्धरात्रीपछि ग्रहण वा सङ्क्रान्ति भए दोष लाग्दैन ।

रक्षाबन्धनका निमित्त :–
इदं रक्षाबन्धनं नियतकालत्वाद् भद्रावर्ज्यग्रहणदिनेऽपि कार्यं होलिकावत्, ग्रहसङ्क्रान्त्यादौ रक्षानिषेधाभावात् (निर्णयसिन्धु) । 
अर्थात् रक्षाबन्धन निश्चित समयमा हुने भएकाले होली पर्व मनाएसरह भद्रा परेको समबाहेक ग्रहणका दिनमा पनि गर्नु उपयुक्त हुन्छ । ग्रहण र सङ्क्रान्ति आदिमा रक्षाबन्धन कर्म वर्जित छैन ।

रक्षाबन्धनमस्यामेव पूर्णिमायां भद्रारहितायां त्रिमुहुूर्तादधिकोदयव्यापिन्यामपराह्ने प्रदोषे वा कार्यम्.... इदं ग्रहणसङ्क्रान्तिदिनेऽपि कर्तव्यम् (धर्मसिन्धु) ।
अर्थात्  रक्षाबन्धन यसै भद्राको समय नपरेको र उदयपछि तीन मुहूर्तभन्दा बढी उदयव्यापिनी पूर्णिमा (श्रावणको) कै दिन अपराह्न वा प्रदोष कालमा गर्नुपर्दछ, यस दिन ग्रहण वा सङ्क्रान्ति परे पनि गर्नै पर्दछ ।

माथिका प्रमाणको अध्ययनपछि हामीले बुझ्यौं - उपाकर्म र रक्षाबन्धन दुई बेग्लाबेग्लै कृत्य हुन् । यी एकअर्कामा अन्योन्याश्रित छैनन्, त्यसैले दुबै स्वतन्त्र कृत्य हुन् । निर्णयसिन्धु र धर्मसिन्धु दुबै ग्रन्थले रक्षाबन्धनका लागि छुट्टै विशेष व्यवस्था गरेको छ, जुन माथि उल्लेख भइसकेको छ । भारतका पञ्चाङ्ग र पात्रोहरूमा माथिका सबै विषयलाई समेटेर ऋषितर्पणीका लागि पञ्चमी र रक्षाबन्धनका लागि पूर्णिमा नै तोकेको देखिन्छ, तर नेपालका पात्रोहरूमा यस विषयमा परम्पराको मात्र अनुसरण गरी, शास्त्रको विमर्श र अध्ययन नै नगरी हचुवाका भरमा पञ्चमीका दिन दुबै कर्म सम्पादन गर्न निर्देशन गरेको देखिन्छ, जुन ठिक होइन ।

त्यसैले यस पटकको जनै पूर्णिमामा गरिने कर्महरूमध्ये श्रावणी, ऋषितर्पणी र जनै लगाउने काम नागपञ्चमीका दिन (२०७४ साल श्रावण १३ गते शुक्रबार) एवं रक्षाबन्धन (डोरो बाँध्ने वा राखी बाँध्ने काम) पूर्णिमाकै दिन (२०७४ साल श्रावण २३ गते, सोमबार) गर्नु शास्त्रसम्मत हुन आउँछ ।

Sunday, July 23, 2017

श्रावण महिना र सोमबार

'आचार परमो धर्म' मनुस्मृतिको यो भनाइअनुसार परम्परादेखि चलिआएको सदाचार सत्कार्य नै धर्म हो । हाम्रा पूर्वजहरुले यथा-यथा-समयमा गर्नुपर्ने उपयुक्त सत्कार्यहरुको निर्देशन गरेका छन् ।  सोहीअनुसार स्नान, दान, ध्यान, जप, तप, व्रत, उपवाससहितको पूजा, यज्ञ, यज्ञादि गरिन्छ । ऋतु, अयन, तिथि, बार र पर्वहरुमा गरिने सत्कार्यहरुको आआफ्नै ढंगको नियम शास्त्रहरुमा व्यवस्था गरिएको छ ।

श्रावण महिना भगवान शिवको प्रिय महिना हो । सक्नेले श्रावण महिनै भर नसक्नेले प्रत्येक सोमबार भगवान शिवको व्रत लिनु, शिव मन्दिरमा गएर भगवानलाई यथोचित पूजा आराधनासहित जल चढाउनु, एक छाकमात्र सात्विक भोजन गर्नु, यस्तो गर्नाले चतुर्वर्ग सिद्धि (धर्म, अर्थ, काम, मोक्ष) प्राप्त हुन्छ ।

श्रावण महिनाभरि झरीबादल र प्रकृतिमा हरियाली वृद्धि हुनेहुँदा प्रकृतिसंग तादात्म्य राख्न हरियो पहिरन र हरियै चुरा, पोते प्रयोग गर्ने, प्रेम र सद्भावनाको प्रतीक मेहेन्दी प्रयोग गर्ने प्रचलन पनि उल्लेख्य रहेको छ । शिवोपासनाको क्रममा व्रत गरिने हुँदा सात्विक भोजनभित्र त्याज्य मानिएकोले माछा, मासु, लसुन, प्याज नखाने प्रचलन पनि छ ।

'सोमबारे व्रतम् कार्यम् श्रावणे वै यथा विधि' भन्ने शास्त्रीय भनाइमा उल्लेखभएअनुसार श्रावणको सोमबार सबेरै विधिपूर्वक स्नान गरी शुद्ध वस्त्र धारणा गरी अनुकुल मिल्ने शिवमन्दिरमा पुगी पुण्य नदीहरुबाट ल्याइएको शुद्ध जल चढाई उपलब्ध भएसम्मका उपचार विधिअनुसार शिवको पूजा गर्ने मान्यता छ । यसरी श्रावण महिनाको सोमबारका दिन व्रत लिर्इ मनोकाङ्क्षा पूर्ण होस् भन्ने चाहना हुनेहरूले श्रावण महिनाभरि भगवान् शिवको श्रद्धापूर्वक भक्तिभाव प्रकट गर्नु, विभिन्न पुराण र धर्मग्रन्थमा उल्लेख भएका शिवप्रसङ्गको महिमा गाउनु, कथा प्रवचन सुन्नु, सात्विक व्यवहार गर्नु, ब्रह्मचर्यको पालना गर्नु र बेलुका केवल एक छाकमात्र शुद्ध भोजन गर्नु अनिवार्य मानिएको पाइन्छ । 

श्रावण १ गते सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन प्रारम्भ हुन्छ । चन्द्रमानअनुसार आषाढ शुक्ल एकादशीदेखि चर्तुमास व्रत आरम्भ हुने हुँदा श्रावण महिनाको महत्व आध्यात्मिक दृष्टिले पनि उत्तम कोटीमा रहेको मानिन्छ । चन्द्रमानअनुसार श्रावण कृष्ण प्रतिपदादेखि श्रावणशुक्ल पूर्णिमासम्म, सूर्यमानअनुसार श्रावण १ गतेदेखि मासान्तसम्म श्रावणी उत्सवको महिमा रहेको छ ।

पौराणिक युगमा देवता र दानव मिली समुद्र मन्थन गर्दा वासुकी नागको नेती प्रयोग गरिएको थियो । मन्थन कार्यमा नागको शरीरमा आघात परेकोले नागको मुखबाट हलाहल नामक विष उत्पन्न भई संसार दग्ध गर्न थाल्यो । देवताहरुको अनुरोधमा भगवान महादेवले विषपान गरी घाँटीमा अड्काउनु भयो । विषको प्रभावले घाँटी जल्यो र निलो भयो । शिवजीलाई निलकण्ठ भनियो । विषको औडाहा शान्त पार्न हिमालयमा पुगी त्रिशुलको प्रहारले जल उत्पन्न गराई, विशाल जलकुण्ड रचना गराई त्यही जलमा आफ्नो शरीर डुबाइरहनुभयो । त्यस ठाउँलाई आजभोलि गोसाइकुण्ड भनिन्छ । विषको डाहालाई शान्त पार्ने उद्देश्यले पनि भक्तजनहरु श्रावण महिनाभर शिवजीलाई जलार्पण गर्ने, रुद्राभिषेक गर्ने कार्य गर्दछन् ।

हाम्रो जस्तो कृषिप्रधान मुलुकमा असार साउन महिना 'मानो खाई मुरी उब्जाउने' भावनाले पनि महत्वपूर्ण छ । श्रावणमा प्रायः घरघरमा रुद्री, चण्डीपाठ गर्ने, शिवजीलाई जलधारा लगाई स्नान गराउने, कृष्णजीलाई झोलुङ्गोमा राखी झुलनोत्सव गराउने गरिन्छ । श्रावण महिनाभर भारतको विभिन्न स्थानमा रहेको द्वादश ज्योतिर्लिंगहरुमा नजिकैको पूण्य नदीको जल लगेर चढाउने उत्सव गरिन्छ । श्रावण शिवजीको प्रिय महिना भएकोले श्रावण भरि सम्पूर्ण शिवालयहरुमा शिवभक्तहरुको घुइचो लाग्ने गर्दछ । सोमबार शिवको बार भएकोले पनि श्रावणको सोमबार  शिवालयमा मेला लाग्ने गरेको हो । यस्तो मेला धरान लगायत श्रीपशुतिनाथ काठमाडौं, हलेसी महादेव खोटाङ, मधुगंगा सिन्धुली, देवघाटमा लाग्ने गर्दछ । श्रावणको सोमबार ब्रत बस्दै शिवजीलाई जल चढाए राम्रो श्रीमान् पाइने, श्रीमानसहित परिवारमा सुख समृद्धि हुने र मनोकामना पुरा हुने विश्वास गरिन्छ । बाबाधाममा बोलबमको सामुहिक स्वर उच्चारण गर्दै विशेष प्रकारबाट तीर्थयात्रा गर्ने गरिन्छ । बोल बमको नाराले सुख पाउँछन् साराले भन्ने भावनाले भारतको झारखण्डस्थित वैद्यनाथ बाबाधाम पुग्न अनुकुल नपर्नेहरु नजिकैको पुण्यनदीको जल लगेर कुनैपनि शिवालयस्थित शिवलिङ्गमा चढाउने मेलामा सम्मिलित हुन्छन् । हाम्रो नेपालमा पशुपतिनाथसहित चतुषष्ठी शिवलिङ्गहरुमा र पूर्वी नेपाल धरानस्थित पिण्डेश्वर धाममा यसबेला प्रशस्त भक्तजनहरु पुग्छन् ।

यसैगरी बाराको काँसघाटस्थित बाबाधाम, परासीको पर्रोहीस्थित बाबाधाम, सिन्धुली हत्पते लङ्गुरखोलास्थित मधुगंगा बाबाधाम, कास्की बैदाम केदारेश्वर बोलबमधाममा, पर्सा रामभुमरीको दुग्धेश्वरनाथ महादेव मन्दिर चुरे पहाड अादिमा  पनि श्रावणभर मेला लाग्दछ । त्यस्तै प्रसिद्ध तीर्थस्थलहरू देवघाटधाम, म्याग्दी गलेश्वरधाम, बाल्मीकि आश्रम आदि त्रिवेणीधाम, बराहक्षेत्र चतराधाम, जनकपुरधाम, हलेसी महादेव, गोसाइँकुण्ड, दूधकुण्ड, पाँचपोखरी, मुक्तिक्षेत्रजस्ता तीर्थहरुमा पनि श्रावणभर भक्तजनहरूको भीडभाड देख्न पाइन्छ । हुन त त्यस्ता प्रसिद्ध तीर्थ क्षेत्रमा सधैंभरी मेलाजस्तै यात्रीहरु आउँछन् तथापि श्रावण महिनामा विशेषगरी शिवलिङ्गमा जलार्पण गर्नाले अक्षयपुण्य प्राप्त हुन्छ भन्ने भनाइ विभिन्न पौराणिक ग्रन्थहरुमा उल्लेख भएको हुँदा भक्तजनहरूको घुइँचो भएको हो ।

हाम्रो सुनसरी जिल्लामा पनि श्रावणभर विशेषगरी सोमबारको दिनमा प्राचीन हरिद्वार चतराधाम सप्तकोसी बाट जल ल्याई खालीखुट्टाले करिब २० किलोमीटर पैदल यात्रा पूरा गरी विजयपुर, धरानस्थित अमृतपिण्ड भगवान् पिण्डेश्वरमा जलार्पण गर्ने गरिन्छ । सनातन धर्मअन्तर्गत विभिन्न धार्मिक ग्रन्थ र पुराणहरूमा उल्लिखित प्रसङ्गमा देव र दानवका बीचमा सन्धि भर्इ समुद्र मन्थन भएको कथा उल्लेख छ । समुद्र मन्थनबाट प्राप्त भएको अमृत देवताहरूलार्इ वितरण गरिएको थियो । अमृत बोकेको भाँडोमा अन्तिममा छोक्रा बाँकी रह्यो । त्यसरी शेष थिगरलार्इ जम्मा पारी देवताहरूले गोलो पिण्डको निर्माण गरे । उक्त पिण्ड हिमालय पर्वतको रुद्राक्षारण्य वनमा रहेको सुरम्य स्थान विजयपुर डाँडामा ल्यार्इ स्थापना गरियो । त्यसै अमृतपिण्डमा देवाधिदेव श्री महादेवले निवास गर्नुभयो । त्यसैले अमृतको पिण्डमा शिवको प्राणत्व रहेकाले पिण्डेश्वरमा रहेको शिवलिङ्ग अमृतको अंशवाट स्थापित भएको हो भन्ने मान्यता छ । त्यसैले पनि पिण्डेश्वर महादेवको मन्दिरमा गर्इ पवित्र श्रावण महिनामा जलाभिषेक गर्दा अास्थावान् भक्तजनले अमृतको प्रभाव प्रत्यक्ष प्राप्त गरी सुखसम्मृद्धिमा बृद्धि गर्नुका साथै सुस्वास्थ्य लाभ गर्न सक्ने जनविश्वास रहिअाएको छ । श्रावणमा भारत बिहारको देवघर स्थित बैद्यनाथ मन्दिरमा मात्र बोलबम मेला जाने परम्पराको अन्त्य गर्दै २०४२ सालदेखि श्रीपिण्डेश्वरमा जल चढाउन बोलबम मेलाको सुरुवात गरिएको हो । यति बेला नेपालका धेरै शिवालयहरूमा बोलबम मेला लाग्ने गरेको देखिए पनि सर्व प्रथम पिण्डेश्वर महादेवको मन्दिरबाट बोलबम मेलाको सुरुवात गरिएको हो ।

त्यस्तै इटहरीबाट पाँच किलोमीटर पूर्वमा रहेको किरातेश्वर शिव मन्दिरमा समेत नजिकै रहेको बृद्धगंगाको मुक्तिघाटबाट जल बोकेर ल्याई जलार्पण गरिन्छ । अहिले इटहरीस्थित मुक्तिघाटमा बुढी गंगाको तटमा सर्वेश्वर शिवालयको प्रतिष्ठा गरिएको हुँदा कतिपय भक्तजन सर्वेश्वर शिवजीको जलाभिषेक गर्ने गर्दछन्। त्यस्तै मोरंग जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने सुन्दर नगरी लेटांग बजारमा अवस्थित शिवालयमा नजिकैको चिसांग खोलाबाट जल भरी चढाउने कार्य पनि श्रावणको सोमबारका दिन सम्पन्न गर्ने चलन छ । त्यसैगरी सुनसरी जिल्लाके सदरमुकाम इनरुवाबाट ५ किलोमीटर दक्षिणमा रहेको रामनगर भुटाहामा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरमा नजिकै रहेको स्वर्णसरित् (सुनसरी) नदीबाट जल ल्याई अभिषेक गर्ने चलन पनि छ । यसरी सोमबारको व्रत गरी आफूलाई पायक पर्ने शिवालयमा जलार्पण गर्नेहरुको संख्या प्रशस्त रहेको छ । परापूर्वदेखि नै श्रावण सोमबारको व्रतको नियम थियो तथापि वर्तमानमा यसले व्यापकता पाउँदै आएको छ । जनमानसमा श्रावणी सोमबारको व्रतले आध्यात्मिक भावनाको बृद्धिमा योगदान पुर्याएको छ ।

Saturday, July 22, 2017

औंसीको रात : गर्नुपर्ने काम .........

पञ्चाङ्ग भन्नाले तिथि, नक्षत्र, बार, योग र करणको समुच्चय हो । यो ज्योतिषीय कालगणनाको अाधारभूत अङ्ग हो र ज्योतिषमा सूर्य एवं चन्द्रमालार्इ मुख्य देवताका रूपमा स्थापना गरिएको छ । वास्तवमा यी दुबै खगोलीय पिण्ड प्रत्यक्ष देवता पनि हुन् । दिवाकालमा सूर्य र रात्रीकालमा चन्द्रमाको उपस्थितिमा यावत् सांसारिक कर्महरू सम्पादन हुन्छन् । त्यसैले हाम्रा मनमस्तिष्क र कर्मका साक्षी यी दुबै ग्रहपिण्डहरू नै हुन् भन्दा अत्युक्ति हुँदैन । पञ्चाङ्गबमोजिम प्रत्येक महिनाका ३० वटा दिनलार्इ चन्द्रकलाका अाधारमा १५/१५ दिनका दुर्इवटा पक्षमा विभाजन गरिएको हुन्छ - शुक्ल पक्ष र कृष्ण पक्ष । शुक्ल पक्षको अन्तिम दिनलार्इ पूर्णिमा र कृष्ण पक्षको अन्तिम दिनलार्इ अमावस्या तिथि भन्ने गरिन्छ । तिथि भनेको सूर्य र चन्द्रमाको दूरीको लेखाजोखा हो । सूर्य र चन्द्रमाको प्रत्येक १२ डिग्रीको दूरीलार्इ एउटा तिथिको समय मानिन्छ, जस्तै ० देखि १२ डिग्रीसम्म प्रतिपदा, २४ डिग्रीसम्म द्वितीया, त्यसरी नै तृतीया, चतुर्थी अादि तिथिको समय निर्धारण हुन्छ । पृथ्वीमा बसेर सूर्य र चन्द्रमाको परिभ्रमण पथको अवलोकन गर्दा सूर्य र चन्द्रमाको १८० डिग्रीको दूरीमा पूर्णचन्द्र अर्थात् पूर्णिमा तिथिको समाप्तिकाल हुन्छ र सूर्य र चन्द्रमाको रेखा एकै ठाउँमा अाइपुगेको बेला अमावस्या तिथिको समाप्तिकाल हुन्छ ।  त्यसैले अन्य तिथिका तुलनामा सनातन हिन्दू धर्ममा अाैंसी र पूर्णिमाको विशिष्ट स्थान छ ।

अन्य तिथिहरूमा देवताहरूको उपासना गर्ने गरिन्छ, तर अाैंसीमा पितृहरूको उपासना हुने गर्दछ । शास्त्रले यस तिथिका देवता पितृदेवलार्इ मानेको छ, अतः सनातन संस्कारमा यस दिन अाअाफ्ना पितृहरूको प्रसन्नताका निमित्त श्राद्ध, दान, ब्राह्मणभोजन अादि गर्ने प्रचलन छ । त्यस बाहेक अाफूले गर्ने एकोद्दिष्ट (मृतपितृको छिन्ने तिथिमा गरिने) श्राद्धमा कुनै कारणले विघ्न भएमा वा मृतपितृको तिथिमा निश्चितता नभएमा त्यसै महिनाको अाैंसी वा त्यसपछि अाउने कुनै अाैंसीका  दिन विधिवत श्राद्धादि सम्पन्न गर्ने विधान पनि छ । त्यसैले अमावस्यामा प्रत्येक व्यक्तिले अाअाफ्ना पितृहरूको सम्झना गर्ने गर्दछन् र श्रद्धाभाव व्यक्त गर्दै श्राद्ध, तर्पण र दानादि गर्ने गर्दछन् । पितृहरूको सम्झना गरिने भएकाले यस दिनलार्इ निशि बार्ने दिन भनिएको हो । निशि निशा शब्दको अपभ्रंश रूप हो । निशा शब्दको अर्थ रातको समय हुन्छ । त्यसैले पितृअधिकार पाएका व्यक्तिले अाैंसीका दिन बेलुकाको छाक बार्ने भएकाले यस दिनलार्इ निशि बार्ने भनिएको हो । अपराह्न काल पितृपूजा वा श्राद्धको समय हो । त्यसैले जुन दिन अपराह्नकालमा अाैंसी तिथि पर्दछ, त्यस दिन बेलुका नियमित खानपान नगरी हविष्यान्न (चोखो खान्की) खार्इ निशि बार्ने काम हुन्छ । समग्रमा पितृहरूको तृप्तिका निमित्त अाैंसी तिथिको अत्यधिक महत्त्व छ ।

ज्योतिषशास्त्रको सिद्धान्तअनुसार एउटा साैर वर्षमा उत्तरायण र शुक्ल पक्षमा देवात्माहरू तथा दक्षिणायन र कृष्ण पक्षमा दुष्टात्माहरू सक्रिय हुन्छन् । देवात्मा निष्क्रिय भएको समयमा दुष्टात्मा र दानवी प्रवृत्ति हाबी हुने गर्दछ । दुष्टात्मा र दानवी प्रवृत्ति भएको वेलामा मानव जीवन र मनमा पनि अशुभ भावना, कुबुद्धि र अलच्छिन सल्बलाउन थाल्दछ । त्यसैले प्रेरणा, अात्मबल, उत्साह र ऊर्जा प्राप्त होस् भन्ने उद्देश्यले कृष्णपक्ष र दक्षिणायनका समयमा व्यक्तिविशेषको मनमस्तिष्क धर्ममार्गमा मोड्नका निमित्त शुभकर्ममा जोड दिइएको हो । अाैंसी कृष्णपक्षको सबैभन्दा धेरै प्रभाव रहने दिन हो, अतः अाैंसीका दिन सकेसम्म सात्विक भाव ग्रहण गरी चोखोनीतो र शुद्धाचरण गर्न अनिवार्य मानिएको हो ।

दुष्टात्मा सक्रिय हुने विशेष दिन भएकाले अमा‍वस्याका दिन भूतप्रेत, पितृ, पिशाच, निशाचर, जीवजन्तु र दैत्यहरू अत्यधिक सक्रिय र उन्मुक्त रहने गर्दछन् भन्ने मान्यता पनि छ । यस दिनको प्रकृतिपक्ष मानव हीतविपरीत हुने भएकाले व्यक्तिले अाफैं सावधान हुनु पर्दछ भन्ने ठानिन्छ । टुनामुना, जादु, धामी, झाँक्री अादिको साधनाकाे समय पनि अाैंसी वा पूर्णिमा नै हुने गर्दछ । प्रेतको शारीरिक संरचनामा २५ प्रतिशत फिजिकल एटम र ७५ प्रतिशत ईथरिक एटम हुन्छ, त्यस्तै पितृहरूको शारीरिक संरचनामा २५ प्रतिशत ईथरिक एटम र ७५ प्रतिशत एस्ट्रल एटम हुन्छ । ईथरिक एटमको सघनता भएको वेला प्रेतको र एस्ट्रल एटम सघन  भएको अवसरमा पितृको फोटो (छायाचित्र) खिच्न सकिन्छ भन्ने मान्यतासमेत छ ।

अाैंसीका दिन चन्द्रमा देखिंदैन । मनको कारक मान्ने गरिएकाले व्यक्तिको मनमस्तिष्कमा चन्द्रमाको प्रत्यक्ष प्रभाव हुन्छ । त्यसैले जुन व्यक्ति भावुक हुन्छ, तिनमा तिथिको उतारचढाव र सूर्य तथा चन्द्रमाको गतिस्थितिको अनुभूति छिटो हुन्छ । मानसिक रोगीमा देखिने उतारचढावमा यो प्रभाव अत्यधिक रहेको देखिन्छ । त्यसैले गाउँघरमा 'अाैंसी पूर्णे लागेछ' भनी उखानको प्रयोग नै गर्ने चलन पनि छ । भावनाका दृष्टिकोणले किशोर अवस्थाको उमेरमा जोसुकै बढी संवेदनशील हुन्छन् । त्यस्तै पुरुषका तुलनामा स्त्रीहरू बढी भावुक र संवेदनशील हुन्छन् । जुन वेला चन्द्रमाका कलाहरू घट्दै र क्षीण हुँदै गएका हुन्छन्, मनोसंवेगमा त्यसको प्रभाव बढ्दै जान्छ र  अाैंसी तथा अासपासको समयमा हाम्रो मनमस्तिष्क र शरीरमा बढी हलचल हुने गर्दछ ।

माैसम विज्ञानमा पनि सूर्य र चन्द्रमा मिलन र दूरीको प्रत्यक्ष प्रभाव हुन्छ । सामान्यतया अाैंसी र पूर्णिमाका दिन समुद्रमा ज्वारभाटा अाउँछ । एकाएक समुद्रको सतह माथि उक्लिन्छ । वायुले समुद्रको जलको शोषण र दोहन शीघ्रगतिमा गर्नसक्ने वातावरण बन्छ । त्यस्तै सूर्य र चन्द्रमाको कोणीय सम्बन्ध बनेका दिनहरू अर्थात् दुबै पक्षका अष्टमीका दिन पनि सानो ज्वारभाटाको उत्पत्ति हुन्छ । त्यसैले अाैंसी वा पूर्णिमाका अासपासमा वर्षा र बादलको सङ्केत गर्ने प्रचलन छ ।


अाैंसीका दिन के के गर्नु हुँदैन :- 

१) अमावस्याको दिन पितृको प्रसन्नताका लागि छुट्याइएको दिन हो । त्यसैले यस दिन तिहारको लक्ष्मीपूजा बाहेक कुनै किसिमको माङ्गलिक कर्म गर्नु हुँदैन ।

२) यस दिन दाम्पत्यसुख र पारिवारिक सम्मृद्धिका लागि गरिने उपवास, दान, धर्म र परोपकारी काम गर्ने प्रचलन छ, त्यसैले यस दिन नाचगान, पार्टी, उत्सव, डेटिङ, भ्रमण, रमाइलो वा मैथुन गर्नुहुँदैन । यस दिन मैथुन गरेमा पति वा पत्नीमा मानसिक रोगको उच्च सम्भावना हुन्छ । त्यसैले अाैंसी वा यसको अासपासमा ठहरिएको गर्भबाट स्वस्थ शिशु जन्मने सम्भावना हुँदैन, त्यस्तै अाैंसी र यसको अघिल्लो दिन वा पछिल्लो दिन जन्मिएको जातकलार्इ ज्योतिषशास्त्रले राम्रो मान्दैन ।

३) यस दिन तामसी वस्तुको प्रयोग वा सेवन गर्नु हुँदैन, त्यस्तै जाँडरक्सी अादि नसालु चिजबिजको संसर्गमा रहुनु हुँदैन । यी वस्तुको सेवन गरेमा तत्काल हुने दुष्परिणामबाहेक भविष्य दीर्घरोगी बनाउने र परिवारसुखबाट वञ्चित बनाउने खतरा हुन्छ ।

४) अमावस्याको वैज्ञानिक पक्षलार्इ नै विचार गर्ने हो भने अाैंसीका दिनमात्र होइन कृष्ण पक्षको चतुर्दशी र शुक्लपक्षको प्रतिपदाका दिन पनि मन, वचन र शरीरले पवित्र र शुद्ध हुने प्रयास गर्नु वाञ्छनीय मानिन्छ ।

अाैंसीका दिन गर्नै पर्ने कामहरू :-

१) यस दिनको दानको ठूलो महिमा छ, योग्य व्यक्तिलार्इ गरेको दानले इहलोकमा सुखसम्मृद्धि दिनुका साथै पितृलोकमा रहेका अाफ्ना मृतपितृहरू प्रसन्न हुने गर्दछन् ।

२) अाैंसीका दिन गार्इको दुधमा खिर पकाएर गरिबगुरुबा र दिनदुःखीलार्इ दान गर्नाले पारिवारिक सुखशान्ति, दाम्पत्य कलहको अन्त्य र धनसम्पत्तिको अभिबृद्धि हुन्छ ।

३)  अमावस्याको दिन पिण्डदान र तर्पण गर्नाले पितृहरू सन्तुष्ट रहन्छन् र कुलदेवता प्रसन्न हुनुका साथै वंश र सन्ततिको सर्वतोमुखी बृद्धि हुन्छ ।

५) यस दिन वस्त्र (कपडा) दान गर्नाले शान्ति र सन्तुष्टि प्राप्त हुन्छ ।

६) अाैंसीका दिन ब्राह्मण भोजन गराउनाले सुख प्राप्त हुन्छ ।

७) यस दिन पवित्र नदीमा स्नान गर्नाले सम्पूर्ण पापहरू नष्ट हुनुका साथै शरीरमा रहेका रोगादिमा न्यूनीकरण हुन्छ । शरीर निरोगी हुन्छ ।

८) अाैंसीका दिन बेलुका सन्ध्याकालमा चारकुने दियोमा बत्ती बालेर घरको मूल दैलो अगाडिको बाटोमा राखिदिनाले लक्ष्मी प्रसन्न हुन्छिन्, पितृहरूको अाशीर्वाद प्राप्त हुन्छ र कुलदेवता सन्तुष्ट हुन्छन् । परिणामतः मनुष्यको भाग्यबल बढ्दै जान्छ र सुखसम्मृद्धि र धनवैभवको बृद्धि हुन्छ ।