Sunday, July 30, 2017

रोगबाट मुक्ति पाउने महिना : श्रावण

पूर्वीय दर्शन र विज्ञान दुबैले स्वीकार गरेको तथ्य हो - सृष्टि र मानव शरीर पञ्चतत्त्वको सम्मिश्रणबाट निर्माण भएको हो। ती पञ्चतत्त्व हुन् - अग्नि, पृथ्वी, वायु, आकाश र जल। विधिवत् रूपमा सृष्टिको सञ्चालन हुन र मानव शरीरको सञ्चालनका निमित्त यी पञ्चतत्त्वको सन्तुलनको आवश्यकता पर्दछ। यी तत्त्वहरूको सन्तुलनबाट जसरी सृष्टिलाई प्रसन्न तुल्याउन सकिन्छ, ठीक त्यसरी नै एउटा मनुष्यले प्रसन्नता र सुस्वास्थ्य/निरोगिता प्राप्त गर्न पनि यिनको खाँचो हुन्छ र यिनै तत्त्व असन्तुलित हुँदा जसरी सामुद्रिक ज्वारभाटा र अन्य प्राकृतिक आपदा उपस्थित हुन्छन्, त्यस्तै मनुष्य पनि रोगग्रस्त, चिड़चिड़ापन, दुखहरूबाट पीड़ित र कान्तिहीन हुनपुग्छ। अतः यीमध्ये कुनै एउटाको मात्र न्यूनता वा आधिक्यता हुनु नकारात्मक हुन्छ।

यी पाँचैवटा तत्त्वहरू मूलत: ग्रह, नक्षत्र आदिबाट नियन्त्रित रहने गर्दछन्। अतः यदि हामीले सरल भाषामा जान्न चाह्यौं भने ग्रहले नै हाम्रो शरीरलाई सञ्चालन गर्ने गर्दछन् भन्ने बुझ्दा हुन्छ। अनि रोग पनि शरीर सञ्चालनको खराब तर महत्त्वपूर्ण अङ्ग हो।

पूर्वीय ज्योतिष विज्ञानले प्रमाणित गरेको सिद्धान्त के हो भने प्रत्येक वर्षमा एक पटक आउने श्रावण महीनामा बाबा भोलेनाथलाई प्रसन्न तुल्याउन सकियो भने व्यक्तिले यी पञ्चतत्व र ग्रहहरूका असन्तुलनसँगै रोगको निवारण पनि गर्न सकिन्छ। त्यसैले पर्यावरणीय सन्तुलन र शारीरिक सन्तुलनका साथै रोग निवारण गर्न श्रावण महिनामा भगवान् भोलेनाथ शिवशङ्करको आराधना गर्नु पर्दछ। तपाईंले तल लेखिएमध्येका कुनै उपाय अवलम्बन गरेर शिवपूजन गर्न सक्नुहुन्छ।

·    कुनै योग्य र दक्ष ज्योतिषीलाई आफ्नो कुण्डली विश्लेषण गर्न लगाई रोगको कारक ग्रह कुन हो भन्ने पत्ता लगाउनु पर्दछ र त्यसपछि त्यस ग्रहसम्बद्ध वार वा नक्षत्र जुन दिन पर्दछ, त्यस दिन त्यस ग्रहसँग सम्बन्धित तुलादान गरी शिव रुद्राभिषेक र महामृत्युञ्जय मन्त्रको जप गर्दा रोग, शोक र भयबाट मुक्त भइन्छ।
·        श्रावण महिनामा प्रत्येक मङ्गलवारका दिन शिव पूजा गर्नाले (विशेषतः रुद्राभिषेक र महामृत्युञ्जय मन्त्रको जप) गर्नाले रोगबाट छिट्टो मुक्त हुन सकिन्छ। यसरी शिवार्चन गर्दा करबीरको फूल शिवप्रतिमामा अर्पित गर्नुपर्दछ।

·        कुनै पनि रोगबाट पूर्णत: मुक्ति प्राप्त गर्नका निम्ति श्रावण महिनाको पहिलो सोमवारबाट नै प्रारम्भ गरी प्रत्येक सोमवारका दिन शिवालयमा गई कपूरयुक्त जलद्वारा अभिषेक गर्नुपर्दछ। त्यसरी शिवलिङ्गमा जलाभिषेक गर्दा महामृत्युञ्जय मन्त्रको निरन्तर रूपमा जप गर्नु आवश्यक छ।
महामृत्युञ्जय मन्त्र :-
ॐ ह्रौं जुं स: ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्द्धनम्,
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॐ स: जुं ह्रौं ॐ॥

यस मन्त्रलाई केवल श्रावण महिनामा मात्र होइन, त्यसपछि पनि पूरा वर्षभरि जप्नु आवश्यक छ। अवश्यमेव स्वास्थ्यलाभ हुनेछ।

·        साउन महिनामा प्रत्येक बिहीबारका दिन भगवान् शिवको विशेष पूजा गर्नाले आयु बढ्छ।

·        रोगबाट मुक्तिको अर्को एउटा उपाय पनि छ। त्यो हो यस महिनामा पर्ने मङ्गलबार वा शनिबारको कुनै दिन महामृत्युञ्जय मन्त्रको जप गर्दै मौरीको शुद्ध महले स्नान गर्ने।

·        साउन महिनाको सोमबार वा शुक्रबारमध्ये शिववास र हवन जुरेको कुनै एक दिन कुशोदक जलद्वारा शिवार्चन र रुद्राभिषेक गर्दा असाध्य रोग शान्त हुन्छ।

·        श्रावण महिनामा पर्ने नागपञ्चमीका दिन लघुरुद्राभिषेक र नागको पूजा गरेमा मात्र पनि तपाईंले रोग, शोक, भय, कालसर्पको दुष्प्रभाव र कीराफट्याङ्ग्रा तथा सर्पको भय आदिबाट मुक्ति प्राप्त गर्नु हुनेछ।

·        साउन महिनाको पञ्चमी तिथि, बुधबार वा आइतबारमध्ये शिववास र हवन जुरेको कुनै एक दिन काँचो दूधले शिवार्चन र रुद्रीपूजा गर्नाले सुगर रोग (मधुमेह)को शान्ति हुन्छ।

·        भगवान् शिवको मृत्यञ्जय मन्त्रको १०,००० (दसहजार)को सङ्ख्यामा सङ्कल्प पूर्वक जप गर्दै घिउको धाराद्वारा शिवलिङ्गको अभिषेक गर्दा मधुमेह (डाइबिटीज) रोगबाट मुक्ति पाइन्छ।

·        महाकाल शनि मृत्युञ्जय स्तोत्र र रुद्रीपूजा गरी गाईको शुद्ध घिउले शिवजीलाई अभिषेक गर्नाले स्वास्थ्यसम्बद्ध कुनै बाधा हुँदैनन्।

·        श्रावण महिनाको कुनै सोमबारका दिन जुन मनुष्यले हरियो दुबोले भगवान् शिवको पूजा र आराधना गर्दछ, उसले दीर्घायुष्य प्राप्त गर्दछ।

·        तपाईं लामो समयदेखि बिरामी हुनुहुन्छ वा रोगको पत्तो नलागेर दिक्क हुनुहुन्छ भने कुनै गङ्गागामिनी नदीको पानी ल्याएर पञ्चमुखी शिवलिङ्गमा चढाउनुहवस्, तपाईंको रोगको निदान हुने छ र सुस्वस्थ हुनुहुनेछ।

·        टाइफाइड, मलेरिया वा यस्तै कुनै ज्वरोको प्रकोपबाट तपाईं पीडि़त हुने गर्नुहुन्छ भने यस महिनामा पर्ने शनिबार वा प्रदोषका दिन भगवान् शिवलाई जलाभिषेक गर्नुहवस्, तपाईंले तुरुन्त लाभ पाउनुहुनेछ।

·       अल्पसन्तति, गर्भस्राव, सन्तानहीनता, बाँझोपनको समस्या वा नपुंसकता छ भने त्यस्ता व्यक्तिले दम्पतिसहित विधिविधान पूर्वक श्रावण महिनाको प्रत्येक सोमबारका दिन व्रत लिई एवं रुद्री र अग्नि जुर्ने कुनै शुक्रबारका दिन घृतधारासहित कुनै शिवालयमा लघुरुद्राभिषेक कर्म सम्पादन गर्नुहोस् र कर्मको समापनमा कम्तीमा २१ जना ब्राह्मणलाई घृतपायस (घिउ र खिर)को भोजनद्वारा तृप्त तुल्याउनु हवस्। तपाईं पूर्ण पुरुषत्व वा पूर्ण स्त्रीत्व प्राप्त गर्नु हुनेछ। केही समयपछि तपाईंको घरआँगनमा केटाकेटीको बालक्रीडा र बालसुलभ चञ्चलताको सौभाग्य प्राप्ति हुनेछ।

जय शम्भो कैलाशपति !!!

No comments:

Post a Comment