Tuesday, July 18, 2017

तपाईं स्मार्त कि वैष्णव ?

प्राचीनकालमा देवता, नाग, किन्नर, असुर, गन्धर्व, भिल्ल, वराह, दानव, राक्षस, यक्ष, किरात, वानर, कूर्म, कमठ, कोल, यातुधान, पिशाच, बेताल, चारण आदि विभिन्न मानव जातिले पृथ्वीमा बसोबास गर्दथे । देवता र असुर (राक्षस वा दैत्य) को एकआपसमा मेलमिलाप थिएन । विभिन्न निउँमा यी दुई समूहको लडाइँ र झैझगडा भइरहन्थ्यो । विभिन्न पुराण र इतिहासमा यी दुईका बीचको कलह र युद्धका बारेमा विभिन्न आख्यानमा वर्णन गरिएको पाइन्छ । यसरी देवता र असुरका बीचमा भइरहने झैझगडा र कलहका कारण मानवसमूहको दुई बेग्लाबेग्लै धारमा विभाजन भयो । सुरुमा देवगुरु बृहस्पति र दैत्यगुरु शुक्राचार्यका बीचमा युद्ध भयो, त्यसपछि गुरु वशिष्ठ र विश्वामित्रका बीचमा पनि युद्ध भयो । यसरी कलह र द्वेषभावका कारण समाजको विभाजन हुँदै गयो । वर्षाैंवर्षसम्म चलेको यस्तो झगडाका कारण सुरुमा सुर र असुर नामका दुईवटा वर्गको विभाजन भयो र तिनै दुई वर्गका धर्म र संस्कृतिमा पनि विभाजन र फरक देखिन थाल्यो । यही सुर र असुरको धर्म नै कालान्तरमा वैष्णव र शैव मतका रूपमा प्रचलनमा आएको विश्वास गरिन्छ । त्यतिबेलै पनि वेदमा वर्णित एकेश्वरवादको मान्यतालाई अनुसरण गर्ने मध्यमार्गी सम्प्रदाय पनि प्रचलनमा थियो । यस सम्प्रदायको नेतृत्व ब्रह्मा र उनका मानसपुत्रहरूले गरेका थिए । त्यसबाहेक त्यति वेला पनि अनीश्वरवादी (चार्वाकप्रभृति) सम्प्रदाय विद्यमान रहेको पाइन्छ ।

शैव र वैष्णवका माझमा को ठूलो र कुन चाहिं सत्य हो भन्ने विषयमा लामो समयसम्म शास्त्रार्थ र विवाद कायमै रह्यो । त्यसैबीच शाक्त धर्मको उत्पत्ति भयो, जसले यी दुवै सम्प्रदायका बीचमा समन्वयको सेतु स्थापना गर्ने प्रयत्न गर्यो । यसबाहेक शैव र वैष्णवलाई समन्वय गर्ने प्रयास अत्रि ऋषिका पुत्र दत्तात्रेयले पनि गरेका थिए । दत्तात्रेयलाई ब्रह्मा, विष्णु र शिवको संयुक्त अवतार मान्नुको तात्पर्य पनि यही नै हो । पछि पुराण र स्मृतिग्रन्थका आधारमा जीवनयापन गर्ने गृहस्थीहरूको छुट्टै सम्प्रदाय निर्माण भयो जसलाई स्मार्त सम्प्रदाय भन्न थालियो । यसरी वेद र पुराणमा उल्लिखित परम्पराको अनुसरणका साथमा सनातन धर्ममा पाँचवटा मुख्यमुख्य सम्प्रदायहरू स्थापित हुनपुगे - १) वैष्णव, २) शैव, ३) शाक्त, ४) स्मार्त र ५) वैदिक । यहाँ वैष्णव भन्नाले विष्णुलाई मुख्य देवता र परमेश्वर मान्ने, शैव भन्नाले शिवलाई मुख्य देवता र परमेश्वर मान्ने, आद्याशक्ति भगवतीलाई मुख्य देवी र परमेश्वरी मान्ने शाक्त सम्प्रदाय, परमेश्वरका विभिन्न रूपलाई समान रूपले मान्दै स्मृतिग्रन्थ र पुराण निर्देशित कर्म गर्ने स्मार्त र ब्रह्मलाई निराकार मान्दै वेदलाई मुख्य धर्मग्रन्थ मान्ने वैदिक सम्प्रदाय भन्ने बुझिन्छ । हुन त सबै सम्प्रदायको मुख्य धर्म ग्रन्थ वेद नै हो, यद्यपि सनातन धर्मअन्तर्गत स्मृतिग्रन्थका मान्यताहरूको विरोध गर्ने केही सम्प्रदाय पनि अहिले प्रचलनमा रहेको देखिन्छ, जस्तै ब्रह्मसमाज, आर्य समाज आदि । ब्रह्म (परमेश्वर) को मार्गभन्दा पृथक् धर्म र सम्प्रदायलाई अवैदिक भन्ने गरिन्छ । 


वैष्णव धर्म र यसका सम्प्रदाय :
विष्णुलाई मुख्य देवता र उनको पूजा, उपासना, नामसङ्कीर्तनमा जोड दिने सम्प्रदायलाई वैष्णव धर्म भन्ने गरिन्छ । यसअन्तर्गत पनि विभिन्न मतमतान्तर र विभेद छ । प्रचलनमा रहेका केही वैष्णव सम्प्रदायहरूमा श्री (रामानुजी), बैरागी, दास, रामानन्द, वल्लभ, निम्बार्क, माध्व, राधावल्लभ, सखी, गौड़ीय आदि पर्दछन् । वैष्णवका मूलदेवता विष्णु वा विष्णुको कुनै एउटा अवतारविशेष हुन्छ । यसको मूलरूप आदित्य वा सूर्यदेवको आराधनामा प्राप्त हुन्छ । हुन त भगवान् विष्णुको वर्णन पनि वेद र वैदिक साहित्यमा भएको पाइन्छ, त्यस्तै अधिकांश पुराणहरूमा पनि विष्णुलाई पुराणपुरुषोत्तम भनी उल्लेख गरी उत्तिकै महत्व दिइएको पाइन्छ । तर यी वैष्णव सम्प्रदायहरूमा विशिष्टाद्वैत, द्वैताद्वैत आदि विभिन्न दार्शनिक मतद्वारा विष्णुलाई हरतरहले विशिष्ट देवताका रूपमा स्थापना गरी पुज्ने गरिन्छ ।


शैव धर्म र यसका सम्प्रदाय :
यस चराचर जगतका सृष्टि, स्थिति र लयका प्रमुख देवताका रूपमा शिवलाई मान्ने धर्मविशेषलाई शैव मत भन्ने गरिन्छ । यस मतअन्तर्गत शाक्त, नाथ, दसनामी, नाग आदि सम्प्रदाय रहेको देखिन्छ । महाभारतमा माहेश्वर मत (शैव धर्म) का मुख्य चारवटा सम्प्रदायको उल्लेख गरिएको पाइन्छ । ती हुन् :- शैव, पाशुपत, कालदमन र कापालिक । ऋग्वेद र अन्य वैदिक संहितामा वर्णन गरिएका रुद्र देवता नै शैव मतका मूल देवता हुन् । वेदमा वर्णन गरिएको रुद्रदेवको आराधना र उपासना गर्नु नै यस मतको मुख्य ध्येय हो । एकादश रुद्रहरूमध्ये शिव, शङ्कर, भोलेनाथ, महादेव आदि यस मतमा आराध्य मानिएका रूपहरू हुन् । तिनै रुद्रदेवताकी पत्नीको नाम पार्वती हो । उनी हिमालय पर्वतकी सुपुत्री हुन् । यिनलाई नै जगन्माता दुर्गाका रूपमा उपासना गरिएको हो भनी शैव मतानुयायीले भन्ने गरेको पाइन्छ । रुद्रदेवताको निवासस्थल हिमालय पर्वतको कैलाश पर्वत हो भन्ने विश्वास गरिन्छ ।

शाक्त धर्म :
यस ब्रह्माण्डको सृष्टि, स्थिति र पालन पुरुषतत्त्वको नियन्त्रणमा होइन, प्रकृति तत्त्वको निर्देशनमा हुन्छ भन्ने विश्वास शाक्त धर्ममा हुन्छ । आद्याशक्ति जगन्माता भगवती यस धर्मकी प्रमुख उपास्या देवी हुन् । जगतको सुसञ्चालनका लागि माता भगवतीले नै आफ्नो मायाद्वारा सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता रुद्रको उत्पत्ति गरेकी हुन् । माता दुर्गाको मायाका वशीभूत भई यिनले तोकिएको जिम्मेबारी वहन गर्दछन् भन्ने मान्यता शाक्त धर्ममा पाइन्छ । माता दुर्गालाई शक्ति पनि भनिन्छ । वेद, उपनिषद् र गीतामा शक्तिलाई नै प्रकृतिका रूपमा व्याख्या गरिएको छ । तिनै दुर्गाले सात्विक भावमा सरस्वती, राजसी भावमा लक्ष्मी र तामसी भावमा पार्वतीको रूप धारण गरी क्रमशः ब्रह्मा, विष्णु र शिवकी सहचरी, सहधर्मिणी भई उपस्थिति जनाउने गर्दछिन् । जीवनजगतका प्रत्येक आमाहरूमा प्रकृतिको अंश हुन्छ, हरेक सृजनशीलतामा रहेको शक्ति नै प्रकृति हो । प्रकृतिमा जन्म दिने, पालन गर्ने र संहार गर्ने शक्ति विद्यमान छ ।

कतिपयले शाक्त सम्प्रदायलाई शैव सम्प्रदायको एउटा शाखाका रूपमा पनि व्याख्या गरेको पाइन्छ । शाक्तहरूको मुख्य मान्यता हो - ब्रह्माण्डको सर्वोच्च शक्ति स्त्रैण हो, त्यसैले देवी दुर्गालाई नै सर्वेश्वरी मानिन्छ । सिन्धु नदीको सभ्यतामा मातृशक्तिको उपासना र पूजाका प्रशस्त प्रमाणहरू भेटिएको छ । समाज विज्ञानले मातृसत्ता र मातृउपासनाको परम्परालाई पृथ्वीको सर्वप्राचीन परम्परा मानेको छ । लगभग २००० वर्षअघि भारतवर्ष, कम्बोडिया, इन्डोनेसियाको जावा, बोर्निया र मलेसियामा समेत यस धर्मको प्रचलन रहेको देखिन्छ ।

स्मार्त धर्म :
वेदलाई श्रुति र पुराणादि अन्य धर्मग्रन्थलाई स्मृति भन्ने गरिन्छ । सुरुमा वैदिक समाज थियो । समाजलाई व्यवस्थापन गर्न उपनिषद्, पुराण, स्मृतिग्रन्थहरू, नीतिशास्त्र आदिको रचना भयो । यी ग्रन्थमा जीवनका विविध आयामलाई व्यवस्थापन गर्न तथा दैनन्दिनीमा प्रयुक्त हुने आचारविचारको नियमहरूको व्यवस्था गरियो । अहिलेको सभ्य र समुन्नत समाजको निर्माणमा यी ग्रन्थको उल्लेख्य भूमिका रहेको देखिन्छ । ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास गरी चार वटा आश्रम, ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र गरी चार वटा वर्णव्यवस्था, कर्मकाण्ड आदि स्मृतिग्रन्थको देन हो । जुन ज्ञानलाई परम्पराका माध्यमबाट ग्रहण गरियो अर्थात् स्मृतिपरम्परालाई अवलम्बन गरियो, त्यो स्मार्त धर्म हो । यस धर्म र सम्प्रदायको सम्बन्ध आदि शङ्कराचार्यसँग रहेको विश्वास गरिन्छ । शङ्कराचार्यले प्रतिपादन गरेको पञ्चदेवोपासनाको पद्धति स्मार्त धर्मको आराधना र उपासनाको क्षेत्र हो । वेद र समस्त पुराण र स्मृतिग्रन्थहरू यस सम्प्रदायका आधार हुन् । सारांशमा भन्ने हो भने जसले शिव, शक्ति, विष्णु, सूर्य र गणेशसहित पञ्चदेवको समान ढंगले उपासना गर्दछन्, तिनीहरू नै स्मार्त हुन् । एउटै मात्र देवताको उपासनामा जोड दिने एकनिष्ठ उपासकबाहेक सबै गृहस्थीहरू स्मार्त हुन् भन्दा फरक पर्दैन ।

वैदिक सम्प्रदाय :
हुन त सनातन धर्ममा प्रचलित प्रत्येक सम्प्रदाय र मतको मूल ग्रन्थ वेद नै हो । तर वेदद्वारा निर्देशित पद्धतिभन्दा बाहेक पुराण र स्मृतिग्रन्थको मान्यतालाई अस्वीकार गर्ने केही मत र सम्प्रदाय पनि सनातन हिन्दु धर्मअन्तर्गत प्रचलनमा रहेको देखिन्छ । यस मतमा निराकार ईश्वरको उपासना हुन्छ र पुराणादिले प्रस्तुत गरेको बहुईश्वरवाद र अवतारवादको खण्डन गरेको पाइन्छ । ब्रह्म र ईश्वर एउटै मात्र छ भन्ने मतलाई मूल मान्यता राख्नु वैदिक सम्प्रदायको वैशिष्ट्य हो । कबीरपन्थी र दादु जस्ता अन्य कतिपय मतमा एकेश्वरवादलाई महत्त्व दिइन्छ ।

No comments:

Post a Comment