सर्वबुद्धं नमस्यामि, धर्मञ्च जिन भाषितं
संघञ्च शील सम्पन्न, रत्नत्रयं नमस्तुते।
(सकल बुद्धलाई नमस्कार, बुद्धद्वारा अभिव्यक्त भएका धर्म ज्ञानलाई नमस्कार, शीलले सम्पन्न हुनु भएका बुद्धको पुद्गल संघलाई पनि नमस्कार। यी तीनवटा रत्नहरुलाई म सधैं शिरोपर गर्दछु।)
पञ्चदान शुरुवात कहिले भएको हो ?
पञ्चदान प्रारम्भ भएको प्रसङ्ग कोट्याउँदै जाँदा एउटा आख्यान भेटिन्छ। दीपावती नगरका सर्वानन्द राजा र धर्मावती रानीले शुद्ध चित्तले युक्त भई आफ्ना राजदरबारभित्र नै दानशाला बनाई श्री दीपङ्कर बुद्ध र प्रमुख ८० हजार भिक्षुसङ्घलाई प्रतिदिन पञ्चदान दिई दान प्रदान गरेका थिए। उनीहरूले कुनै एउटा वर्षको श्रावण शुक्ल अष्टमीबाट सुरु गरी अर्को वर्षको आषाढ पूर्णिमासम्म पञ्चदान दिएर दान कार्य सुसम्पन्न गरेका थिए। राजा सर्वानन्दको त्याग चित्तको प्रशंसा गर्दै दीपङ्कर बुद्धले दानगाथा आज्ञा गर्नुका साथै र आशीर्वाद प्रदान गरेका थिए। यसरी सर्वप्रथम पञ्चदानको सुरुवात भएको थियो। श्री दीपङ्कर बुद्धको पालादेखि नै पञ्चदानको निरन्तरता चल्दै आएको कुरा बताइन्छ। यो पञ्चदान कार्यक्रम काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र सीमित छैन, यो ठिमी, कीर्तिपुर आदि स्थानहरुका साथै राष्ट्रभरि छरिएका बौद्धहरुले दानशाला बनाई सञ्चालन गर्दै आइरहेको देखिन्छ। तर ललितपुरको पञ्चदानलाई विशिष्ट मानिन्छ। ललितपुरको यल पञ्चदानमा छुट्टै विशेष प्रकारको बौद्ध गाथा र बौद्ध श्लोक वर्णन भएको त देखिंदैन, तर त्यहाँको सामाजिकता फरक छ। पञ्चदान कार्य सफल तुल्याउन तलका विशेष तत्त्वहरु समावेश हुनु अत्यावश्यक मानिन्छ -
१) श्रद्धा २) आर्थिक क्षमता ३) त्याग भावना ४) अन्य व्यक्तिहरुको सहभागिता ५) सहनशीलता ६) उचित व्यवस्था ७) उचित प्रबन्ध ८) औपचारिकता। यसबाहेक विघ्नबाधाहरू र अड्चनअप्ठ्याराको सामना गर्न चनाखो पनि हुनुपर्छ। विशेषतः पाँच किसिमका दानलाई पञ्चदान भन्ने गरिन्छ। १) पूजा २) भोजन ३) पान ४) औषधी ५) दिनहुँ प्रयोग हुने आवश्यक सरसामानहरू
पूजाअन्तर्गत पुष्प, धूप, दीप, गन्ध, रस, भोजनअन्तर्गत धान, गहुँ, भोजन, क्वाँटी, केराउ, मासु, पिंडालु, कर्कलो, मुला, भुटेको गहुँको पीठो, रोटी र विभिन्न किसिमका खाद्यसामाग्री, पानअन्तर्गत सक्खरको सर्बत, फलफूल, पञ्चामृत आदि, औषधीअन्तर्गत हर्रो, अमला, नून, तेल आदि र दिनहुँ प्रयोग गरिने सरसामानमा सियो, धागो, डोरी, कुचो, सेतो कपडा, काषय वस्त्र, आसन, खरी, दतिवन आदि पर्दछन्।
पञ्चदान ग्रहण गर्न योग्य व्यक्तिहरू
सामान्यतया बज्राचार्य, शाक्यभिक्षुहरूको सर्वसङ्घलाई पञ्चदान दिने प्रचलन छ। प्रव्रज्यासम्बर अभिषेक प्राप्त नगरेका व्यक्तिहरूले पञ्चदान ग्रहण गर्न पाउँदैनन्। विशेष गरी बज्राचार्य, शाक्यभिक्षु, श्रामणेर आदि वर्गका ससाना उमेरका बालकहरुले पनि प्रव्रज्या ग्रहण गर्छन्। यसरी प्रव्रज्या ग्रहण गर्ने कार्यलाई 'बरे छुइगु' भन्ने गरिन्छ। यिनीहरूले चार दिनसम्म प्रव्रज्या भावमा बसी पिण्डाचरण गर्नुपर्छ र दशशील पालन गर्नुपर्छ। चारदिन पछि गृहस्थाश्रममा फर्कनु अघि पुनः त्रिरत्न (बुद्ध, धर्म र सङ्घलाई) श्रद्धाभावले वन्दना र पूजा गरी आफ्ना आचार्यसँग गृहस्थारम्भ सुरु गर्न याचना गर्नुपर्छ। पञ्चशील पालन गरी गृहस्थ जीवन यापनको लागि बारबार याचना गरिसकेपछि मात्र गृहस्थारम्भ गराइन्छ। त्यसपछि गृहजीवन बिताएर पनि बुद्धको धर्मोपदेश आदि प्रचारप्रसार गर्ने र आचार्याभिषेकको याचना गर्न पाइन्छ। आचार्याभिषेक प्रदान गर्ने प्रचलन अद्यापि आआफ्नो विहारमा सम्पन्न हुन्छ। यसरी आचार्याभिषेक प्राप्त गर्ने व्यक्तिले मात्र बौद्ध कर्मकाण्ड पूजाआजा, बौद्ध संस्कृति संस्कारको आरक्षण र संरक्षण गराउने दायित्व प्राप्त हुन्छ। वज्राचार्य गुरुजुहरू पनि पञ्चशील पालन गरी आफ्ना उपासक र उपासिकाहरूको गृहस्थ जीवनमा आइपरेका कठिनाइ, दुःख, दौर्मनस्य, पीर, मर्का आदिबाट मुक्त गराउन हरसम्भव प्रयत्नरत हुन्छन्। आफ्ना जजमानहरुलाई आइपर्ने विभिन्न भय, उपद्रव, आपद विपदहरु हटेर जावस् भनी मैत्री चित्त राख्ने गर्दछन्। यस्तो मैत्री भावनाको उद्गार व्यक्त गरिरहने वज्राचार्यहरु आआफ्ना कुलानुसारको दीक्षा पञ्चाभिषेक प्राप्त गरी सकेपछि, उनीहरु पूर्वसेवा पूजामा लाग्छन्। यस पूजा र ध्यान एवं योग भावनाबाट सिद्धि प्राप्त गरी सर्व प्रकारेण जगतो हिताय कार्यमा लाग्छन्। यस्ता व्यक्तित्वलाई पूजा आजामा आचार्य गुरुको रुपमा बुद्धको रुपमा मान्यता दिई आएको पञ्चदानमा पनि सर्वप्रथम पञ्चबुद्धको रुपमा पञ्चदान दिने कार्य गरिन्छ।
पञ्चदानको शुभारम्भ कसरी गरिन्छ ?
पञ्चदानको प्रारम्भमा सर्वप्रथम गुरुमण्डल पूजा गरिन्छ। त्यसपछि शुभ मुर्हूतको साइतमा स्वयम्भू भगवानको प्रतिमा अगाडि उभिएर दानपत्र पढ्ने गरिन्छ। अनि प्रमुख व्यवस्थापक (काजी)ले दानशालाको दैलो उघारिदिन्छन्। दैलो उघार्नासाथ उनले सबभन्दा पहिले जसलाई छुन पुग्छन्, त्यस व्यक्तिको खुट्टाको बुढी औंला समाती राख्नु पर्छ, छोड्नु हुन्न। त्यसपछि त्यस व्यक्तिलाई सम्मान गरी ढोकाभित्र भित्र्याइन्छ। उसलाई पुष्पादिले पूजा गरी मूलाचार्यको आसनमा राखिन्छ। त्यसपछि एकजना उपाध्याय, एकजना कर्माचार्य र दुईजना थ्याः गुरुजु समेत गरी जम्मा पाँचजनालाई पञ्चबुद्धको पञ्चरङ्गी वस्त्र पहिराइन्छ। पादार्घ्य र रत्नमुकुट वा उद्यां टोपी लगाउने काम हुन्छ। पञ्चोपचार पूजा अनुसार ती पाँच व्यक्तित्वहरुलाई नै पूजा गरिन्छ। मूलाचार्य गुरुलाई घर, खेत, चन्द्र सूर्य, आत्मा, जिम्बु, पेटी, चुल्या, कंगन, बेतालि आदि सबै आवश्यक वस्तुहरु दान प्रदान गरिन्छन्। यति दान कार्यको आरम्भपछि अगाडि बसिरहेका बज्राचार्य शाक्यभिक्षुहरुलाई दानशालाबाट दान दिने कार्यको निरन्तरता चलिरहन्छ। मूलाचार्य गूरुलाई बाजागाजा बजाई छत्र, ध्वजापताका आदिबाट सम्मान गरी पदयात्रा गर्दै उहाँको गृहस्थाश्रमसम्म पुगेर आशीर्वाद लिई फर्कने चलन छ। यसरी पञ्चदानको कार्य बेलुकीको दोस्रो प्रहरसम्म चलिरहन्छ। यस दान कार्यमा अन्य श्रद्धालु भक्तजनहरु आएर पनि दानशालाको छेउछाउमा बसी स्वेच्छापूर्वक दान दिने गर्दछन्। यसमा कसैलाई कुनै प्रकारको रोकटोक हुँदैन। दोस्रो प्रहरको अन्त्यमा फुबरे (अन्तिम भिक्षु) सुकुन्दा बत्ति बालेर दानशालामा भिक्षाचरण गर्न आउँछन्। उनलाई दान दिएपछि दानशालाको ढोका बन्द गरिन्छ। भित्र पञ्चोपचार पूजा गरी सम्बन्धित सबैले क्षीर प्रसाद ग्रहण गरेपछि पञ्चदान कार्य सम्पन्न भएको मानिन्छ।
नप्रणश्यन्ति कर्माणि, कल्पकोटि शतैरपि। सामाग्री प्राप्य कालञ्च, फलन्ति खलुदिहिनाम्॥
(आफूले गरेको कर्म सयौं कल्पकोटि नै बितेर गएपनि नाश हुँदैन। समयकाल आएपछि कर्मको फल अवश्य भोग्नै पर्ने हुन्छ। अर्थात् राम्रो काम गरे राम्रै फल प्राप्त हुन्छ नराम्रो काम गरे नराम्रै फल प्राप्त हुन्छ।)
दानं ददन्तु सद्धाय, सीलं रक्खन्तु सब्बदा। भावना भिरता होन्तु, गच्छतु देवता गता॥
(श्रद्धापूर्वक दान दिइनु पर्छ, शीलको आरक्षा गरिनु पर्छ। असल कार्यमा भावनामा प्रसन्न भइरहनु पर्छ। धर्म श्रवणार्थ आउनु भएका देवताहरु अब फर्कनु भएपनि हुन्छ।)
दानञ्च धम्मचरिय च ञातकानञ्च सङ्गहो। अनवज्जनि कम्मानि एतं मंगलमुत्तमम्॥
(दान दिनु धर्माचरण गर्नु, नाता कुटुम्बहरुको सम्मान गर्नु, निर्दोष काम गर्न पनि उत्तम मंगल हो।)
दानं विभूषणं लोके, दानं दुर्गति निवारणम्। दानं स्वर्गस्य सोपानं दानं शान्तिकरं शुभम्॥
(दानद्वारा लोकमा आभूषणयुक्त व्यक्तित्व पाउँछ, दानद्वारा नै दुर्गति निवारण हुन्छ, दानद्वारा नै स्वर्गमा पाइने जस्तो सुखभोग पाइन्छ। दानद्वारा नै यो लोकमा शान्ति ल्याउन सकिन्छ।)
उपर्युक्त बुद्धवचनलाई शिरोपर गरी सबैले पालना गर्न सकून् र यसको प्रभावले सबैलाई मङ्गल भइरहोस्।
No comments:
Post a Comment