हिन्दु धार्मिक ग्रन्थहरुमा श्रावण महिनालाई आराध्यदेव शिवको पूजा उपासना गर्न सर्वोत्तम महिनाको रुपमा परिभाषित गरिएको छ। यद्यपि शिवरात्रिको महिमा पनि उत्तिकै महत्वका साथ गरिएको भएतापनि श्रावण महिनामा गरिएको शिव अनुष्ठानले सजिलै शिवजीलाई प्रसन्न गराउन सकिने हुनाले भक्तजनहरुले चाहना गरेको फल यथाशीघ्र प्राप्त हुने उल्लेख गरिएको छ। यही मान्यतालाई आत्मसात् गर्दै सनातन हिन्दू धर्माबलम्बीहरु शिवालयमा बेलपत्र,गाईको दुध लगायतका उपचार सामाग्रीहरू चढाएर पूजाअर्चना गर्ने तथा यस महिनामा पर्ने सोमबारका दिन व्रत लिने गर्दछन्। त्यस बाहेक साउने सङ्क्रान्ति, गुँलाधर्म, खिर खाने दिन (साउन १५ गते), जनै पूर्णिमा, नागपञ्चमी आदि पर्व समेत श्रावण महिनामा नै पर्दछन्।
नाग पञ्चमीको विशेषता
प्रत्येक वर्ष चान्द्र गणना अनुसार श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन नागपञ्चमी पर्व नेपाल र संसारका अन्य भूभागका समस्त हिन्दू धर्मावलम्बीहरूले धुमधामका साथ मनाउने गर्दछन्। यस दिन नागको पूजा आजा गर्दै घरघरमा नागको चित्र टाँस्ने चलन छ। जीवजन्तुलाई समेत देवताका रूपमा पूजाआजा गर्ने हाम्रो सभ्यतामा नागलाई पनि विशेष महत्व दिइएको पाइन्छ। त्यसैले विभिन्न धार्मिक ग्रन्थहरुका विभिन्न आख्यानमा समेत नागको चर्चा गरिएको पाइन्छ। वर्षा गराउने देवताका रूपमा लिइने नागको जहाँजहाँ बास हुन्छ, त्यस ठाउँमा अन्नबाली सप्रन्छ र धनसम्पदा भरिपूर्ण हुन्छ भन्ने जनविश्वास छ। नेपालमा नागपञ्चमीका दिन बिहानैदेखि विभिन्न नागका मन्दिरलगायत राजधानी काठमाण्डौंका नागपोखरी, सिद्धपोखरी, नागदह तथा टौदहमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। यस दिनमा नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि शुभ मानिन्छ । नाग पञ्चमीका दिन नागको चित्रमा दुध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबरले घरको ढोका माथि टाँस्ने गरिन्छ । यसै पञ्चमीका दिनदेखि वषर्यामको समाप्ति हुने र हिउँद यामको सुरुवात हुने जनविश्वास समेत रहेको पाइन्छ । अष्टकुली नाग अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन ।
नाग पञ्चमीमा व्रतको विधि
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ । यस व्रतमा मध्याह्नको समयसम्म निर्जल व्रत बसेर दिनको मध्यबिन्दुमा नाग देवताको पूजाका लागि खीर(प्रसाद) पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मंदिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रुपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ । व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन नै, र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरुको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित अन्य नियमको विधिवत पालनासमेत गर्नुपर्दछ ।
मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा
नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ़्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्नु राम्रो हुन्छ :-
विष्णुलोके च ये सर्पाः अनंताद्याः महाबलाः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥१॥
ब्रह्मलोके च ये सर्पाः वासुकिप्रमुखाश्शुभाः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥२॥
इन्द्रलोके च ये सर्पास्तक्षकाद्याः महाबलाः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥३॥
कैलासलोके ये सर्पाः कार्कोटकबलादयः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥४॥
पाताललोके ये सर्पा आदिशेषादयो वराः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥५॥
द्वीपान्तरे च ये सर्पाः काळिन्दीनिलयस्तथा ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥६॥
सर्वताग्रेषु ये सर्पाश्शिलासंधिषु संस्थिताः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥७॥
ग्रामे वा यदि वारण्ये ये च सर्पा गृहेषु वा ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥८॥
सत्यलोकेषु ये सर्पा: वासुकिना च रक्षिता ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥९॥
काद्रवेयाश्च ये सर्पा: मातृभक्तिपराः सदा ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥१०॥
सर्वग्रामेषु ये सर्पा: वसन्ति विलसंस्थिताः ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥११॥
समुद्रतीरे ये सर्पाः ये सर्पाः जलवासिन: ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥१२॥
रसातलेषु ये सर्पा: कालियाद्याः महाबला: ॥
नमोस्तु तेभ्यस्सुप्रीताः पन्नगास्सन्तु मे सदा ॥१३॥
नागमन्त्र पाठ गर्न असम्भव भए 'ॐ कुरुकुल्ये हुँ फट स्वाहा' मन्त्रको ९००० पटक जाप गर्नु पर्दछ ।
नागगायत्रीको मन्त्र (ॐ नवकुलाय विद्महे विषदन्ताय धीमहि तन्नो सर्पः प्रचोदयात्) को समेत एक माला (१०८ पटक) जप गर्नुपर्दछ । यो नागगायत्री मन्त्रलाई तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् । नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रियकर हुन्छ । त्यसैले नागको पूजाका क्रममा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै नागको पूजा गर्दा सेतो कमलको प्रयोग गर्ने विधानसमेत छ । नागपञ्चमीका दिन यसरी विधिविधानले नागको पूजा गर्दा धनधान्य र सुखसम्मृद्धि प्राप्त हुन्छ र अन्य दैविक, भौतिक र प्राकृतिक आपतविपत र अनिष्टहरू नाश हुनुका साथै 'कालसर्प योग'को दोषको शान्ति पनि हुन्छ भन्ने ज्योतिषीय मान्यता समेत छ।
कालसर्प योगको ठगी धन्दा
कालसर्प योगको शान्तिका निमित्त उपयुक्त महिना श्रावण नै हो र दिन पनि सर्वाधिक उपयुक्त नाग पञ्चमी नै हो । काल सर्प दोष निवारणका विविध उपायहरू बताइएको पाइन्छ। कतिपय अवस्थामा आफूलाई धुरन्धर ज्योतिषी भनेर ठगी धन्दामा संलग्न भएकाहरूले ज्योतिष र गणितको आधारभूत पक्षको ज्ञानलाई प्रयोग नै नगरी 'कालसर्प योग छ' भन्ने गरेको र स्वस्तिशान्तिको माध्यम बनाई ठगी गरेको, कतिले कर्मकाण्डको आधार मानिने शिववास र अग्निवास नजुरेको दिनमा पनि कालसर्प योग शान्तिकर्म गरेको पनि भेटिन्छ। ती सबैको उद्देश्य कर्मकाण्डका माध्यमबाट तपाईंलाई ठग्ने माध्यम मात्र हो। यस्तै कर्मकाण्डमा देखिएको विकृत तुल्याउने पण्डाहरूका कारण नेपालमा पण्डितहरूको आचार संहिता निर्माण भएको तीतो यथार्थ हामीसामु छर्लङ्ग छ। त्यसैले पहिले आफ्नो कालसर्प योग के कस्तो हो त्यसको सही निवारण गरी योग्य, विद्वान् एवं अनुभवी गुरु वा पुरोहितको परामर्शबमोजिम शान्तिकर्म सम्पादन गर्नुहोस्। सक्नुहुन्छ भने विधिविधानपूर्वक घरैमा शान्ति गर्नुहोस्। त्यसो गर्नुभएमा मात्र फेरि त्यस किसिमको शान्तिकर्मको आवश्यकता हुँदैन। तर सामूहिक कर्ममा सहभागी हुनुभएको छ भने त्यो शान्तिकर्म निर्विकल्प र अन्तिम हुनसक्दैन। त्यस्तो पूजामा वर्षैपिच्छे सहभागी हुँदा राम्रो हुन्छ। सामान्यतया कालसर्प योगको अनिष्ट परिणामको धेरैजसो विषयहरू दाम्पत्य जीवनसँग गाँसिएको हुन्छ र दुई दम्पतीमध्ये एउटाको कुण्डलीमा कालसर्प योग छ र कालसर्प योग नभएको पति वा पत्नीको कुण्डलीमा बुधादित्य, गजकेसरी, चतुष्केन्द्री र विविध राजयोगहरू हुँदा त्यसको अनिष्ट प्रभाव नहुने भनेर आधिकारिक विद्वान् र ग्रन्थहरू माझमा चर्चा भएको समेत छ। त्यसैले यसको पूर्ण शान्ति विवाहपछि गरे अझ बढी सार्थकता देखिने कुरामा दुई मत नहोला। त्यसैले कालसर्प योग हुने जातकहरूले सदाचारी र सात्विक जीवननिर्वाह गर्दै निम्न उपायहरूलाई आफ्नो दैनिकीमा समावेश गर्नुभएमा यस योगको तनाव र अशुभ/अनिष्ट पक्षबाट मुक्ति प्राप्त गर्नुहुनेछ।
कुण्डली बनाएको छैन र जन्ममिति आदि स्पष्ट विवरण छैन अनि हजुरले सपनामा सर्प देख्नुहुन्छ वा प्रत्येक समय तनाव र असमंजसपूर्ण अवस्थामा रहनुहुन्छ भने हुनसक्छ तपाईँको कुंडलीमा समेत कालसर्पको प्रभाव छ। ज्योतिषशास्त्र-अनुसार जुन व्यक्तिको कुंडलीमा कालसर्प योग हुने गर्दछ, त्यसले जीवनभरि कतिपय कष्ट र कठिनाइ ब्यहोर्नु पर्दछ। उसले कतिचोटि त यतिसम्म तनाव अनुभव गर्दछ कि उसको मस्तिष्कमा आत्महत्यासम्मका विचार उद्भव हुन थाल्छ। यस योगको शांति गर्न सकिन्छ। साह्रै थोरै व्यक्तिहरू यस योगबाट जोगिएका हुन्छन्। यो योग अधिकतम व्यक्तिको कुंडलीमा कुनै न कुनै रूपमा अवस्थित हुन्छ। त्यसैले जन्मकुण्डलीको निर्माण नभएका तर सर्पको बाधा भइरहने वा सपनामा किराफट्याङ्ग्रा तथा सर्पादि सरिसृप जीव देख्ने व्यक्तिले वा दाम्पत्य जीवनमा कलह, बिछोड र असन्तुष्टि हुने दम्पतिले नागपञ्चमीको दिन वा श्रावण महिनाको कुनै उपयुक्त दिनमा तल लेखिएका उपायहरू मध्ये कुनै उपाय अवलम्बन गरी यस योगको समग्र निवारण सक्दछन् :-
१ - त्रिपिण्डी श्राद्ध : पितृहरु असन्तुष्ट हुँदा कालासर्प योग हुने विश्वास गर्ने चलन पनि छ, अतः नजिकको तीर्थस्थल (विष्णुपादुका, गोकर्ण, गया आदि तीर्थस्थल)मा गई विधिविधान पूर्वक त्रिपिण्डी श्राद्ध गर्नुपर्छ, त्रिपिण्डी श्राद्धलाई एकोपार्वण श्राद्ध पनि भानिन्छ। मातापिता हुनेले आफैंले श्राद्ध गर्नु हुंदैन। यो कर्म गर्दा आफूलाई श्राद्धधिकार नहुंदा घरका श्राद्धाधिकारप्राप्त सदस्यहरू मार्फत सम्पन्न गर्न लगाउनु पर्छ। सामान्यतया यो श्राद्ध कृष्ण पक्षको औंसी वा एकादशीमा सम्पादन गर्ने विधान छ।
२ - मृत्युञ्जय जाप : कम्तीमा २१००० पटक महामृत्युञ्जय मन्त्रको जाप आफैं गर्ने वा ब्राह्मणद्वारा गराउने।
३ - नागपूजा : नागपञ्चमीको दिन माथि बताइएबमोजिम विधिवत् नागको पूजा गरी धातुनिर्मित नागको प्रतिमा बनाई ब्राह्मणलाई दान गरी, शिवालयमा चढाएर वा नदीमा प्रवाहित गरे कालसर्प योग निवारण यन्त्र धारण गरेपछि मात्र यो योग शान्त हुन्छ।
४ - यदि कुंडलीमा कालसर्प दोष छ भने पीपलको बोटको एक वर्षभित्र २८००० पटक परिक्रमा गर्नुपर्दछ।
५ - शिवलिंगमा कुनै धातुको नाग बनाई विधिपूर्वक पूजनप्रतिष्ठा गरी ब्रह्ममुहूर्तमा चढ़ाउनुपर्छ। चांदीका नाग-नागिनी बनाएर नदीमा बगाउनुपर्छ।
६ - शिव उपासना लघु रुद्रीको अनुष्ठान गर्नुपर्छ।
७ - बुधवार वा शनिवारका दिन भिखारीलाई कंबल, कालोदाल, मूंग आदि दान गर्नुपर्छ।
८ - एउटा तरबूजालाई प्रत्येक शनिबार पानीको स्रोतछेउमा बेस्सरी पछार्नु पर्दछ।
९ - शनिवारका दिन कुकुरलाई खाद्यसामाग्री अर्पण गर्नुपर्दछ।
१० - नवनाग स्तोत्रको विधिविधानपूर्वक पाठ गर्नुपर्दछ।
उपसंहार
कालसर्प योग ज्योतिषका आधिकारिक ग्रन्थहरूमा उल्लेख भएको योग होइन, यसको प्रभाव गोचरमा आउने साढेसाती र अढैया शनिको दशा जत्तिको पनि हुँदैन । यो भारतका अनर्गल प्रचार गर्ने मिडियामार्फत कमाउधन्दामा लागेका ज्योतिषीहरूले सुरु गरेको योग हो । सं. २०४५ अघि यस योगका बारेमा कसैलाई पनि थाहा थिएन । तर यस योगको व्याख्या गर्नेहरूको मतमा कालसर्पयोगको घेराभित्र रहेका शुभाशुभ ग्रहहरूका फलमा छाया पारिदिने हुनाले कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि उल्लेख गर्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन, अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्ततिसुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन-अध्यापनको क्षेत्रमा कमजोरी आदि यस योगका सामान्य लक्षण हुन् भनिन्छ । तर यस्तो परिस्थिति ज्योतिषका अन्य योगबाट पनि सिर्जना हुनसक्छ । अतः सबै कालसर्प योग खराब हुँदैनन्, यस योगको स्वस्तिशान्ति गर्ने र मान्यता दिनेहरूकै शब्दमा पनि २५ प्रतिशत कालसर्प योग असाध्यै राम्रा मानिन्छन्, त्यसैले विज्ञ ज्यौतिषीको सल्लाह प्राप्त गरी आवश्यक छ भनेमात्र यसको विधिवत् शान्ति गर्नु पर्दछ। कालसर्प योगको शान्ति प्रक्रियाका क्रममा आफ्नो दैनिकीमा अपनाउने सरल उपायहरू यस प्रकार छन् -
१. प्रत्येक वर्ष महाशिवरात्रि, नागपंचमी, ग्रहण आदि विशिष्ट दिनमा शिवालयमा काँचो दूधले अभिषेक गर्नुहोस्। सकिन्छ र सामर्थ्य हुनेले यी विशेष दिनमा सेतो तिलको पीठो वा कुनै इच्छानुकूलको धातुबाट निर्माण गरिएको नाग र नगिनीको प्रतिमा अर्पण गर्दा पनि हुन्छ।
२. तल लेखिएको नवनागको स्तोत्र कण्ठ बनाएर दिनैपिच्छे बिहानबेलुकै वा बिहानमात्र नुवाइधुवाइ र शुद्ध भई दिनको ९ पटक पाठ गर्नुहोस् :-
अनन्तं वासुकीं शेषं पद्मनाभं च कम्बलम्।
शङ्खपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा।
एतानि नवनामानि नागानां च महात्मनाम्।
सायंकालेपठेन्नित्यं प्रातः काले विशेषतः॥
३. प्रत्येक नागपञ्चमीका दिन मध्याह्नकालसम्म पानी पनि नखाई व्रत सम्पादन गर्नुहोस् र मध्याह्नकालमा नागको प्रतिमा वा फोटोमा काँचो गाईको काँचो दूध र सुगन्धित फूल र चन्दनअक्षताले पूजा गरी गरिबगुरुबा वा ब्राह्मणलाई भोजन, दक्षिणा र सीधा गरी भोजन गर्नुहोस्।
४. तल लेखिएको विषहरण मन्त्र वा सर्प गायत्री मन्त्रमध्ये एउटा मन्त्रलाई प्रत्येक दिन १०८ पटक (एकमाला) जाप गर्नुहोस् :-
नाग गायत्री मन्त्र :- ॐ नवकुलाय विद्महे विषदन्ताय धिमही तन्नो सर्प प्रचोदयात्।
सर्पविषहरण मन्त्र :- ॐ कुरुकुल्ये हुं फट् स्वाहा
No comments:
Post a Comment