नेपाल र भारतको मिथिलाञ्चल क्षेत्र (जनकपुर अञ्चल र अासपासको भूभाग) मा विवाहित महिलाहरूले प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्थीका दिनदेखि करिव पन्ध्रदिनसम्म परम्परागत मधुश्रावणी व्रत लिने गर्दछन् । मैथिली भाषा, संस्कृति, परम्परा र संस्कारसँग जोडिएको उक्त पर्व नवविवाहिता महिलाका लागि मूलतः विशिष्ट र महत्त्वपूर्ण रहिआएको छ। अवधिका हिसाबले पूरै एउटा पक्षसम्म अर्थात् १५ दिनको लामो अवधिसम्म अनुष्ठान गरिने यो पर्व मिथिला परम्पराको सबैभन्दा लामो पर्व हो भन्दा फरक पर्दैन । यो विवाहित महिलाहरूको पर्व हो र खास गरी यो पर्व भर्खरै विवाह भएकी नवविवाहिता बधूले मनाउनु अनिवार्य मान्ने गरिन्छ अनि यस पर्वको अनुष्ठान सामान्यतया माइत घरमा नै हुने गर्दछ । यस पर्वमा गौरी, महादेव र विषहरा (नाग) को पूजा गर्ने गरिन्छ । सनातन धर्मावलम्बीहरूले भगवती गौरीलाई अटल सौभाग्य प्रदान गर्ने देवीका रूपमा उपासना र पूजा गर्ने गर्दछन् । मिथिलाञ्चल बाहिर नेपालका अन्य क्षेत्र पनि माता गौरी (पार्वती) लाई नै केन्द्रीय वृत्तमा राखी स्वस्थानी, तीज र गौरा पर्व पनि मनाउने प्रचलन देखिन्छ ।
मधुश्रावणी पर्वको वैशिष्ट्य
मधुश्रावणी पर्व मिथिला क्षेत्रको विशिष्ट पर्व हो, जसमा शिव, पार्वती, नागदेवता र शिवपरिवारको विशेष प्रकारले पूजा गर्ने चलन छ । भगवान् महादेव शिवलाई त्रिभुवननाथ भन्ने गरिन्छ । महादेव आशुतोष र मनोवाञ्छित फल प्रदान गर्ने देवताका रूपमा पूजित छन् । मधुश्रावणी पूजामा तन्त्रको प्रभावसमेत रहेको देखिन्छ । तान्त्रिक दृष्टिले शिवा सहित शिवको उपासना महत्त्वपूर्ण मानिन्छ । तन्त्रशास्त्रलाई शिवद्वारा प्रणीत विद्या नै मान्ने गरिन्छ । गौरीलाई शिवकी शक्ति तथा जगन्माताका रूपमा स्वीकार गरिएको छ । प्रत्येक सधवा महिलाले गौरपूजन गर्दा शिवसहित गौर्यै नम: जस्ता मन्त्र उच्चारण गर्ने गर्दछन् । भगवती गौरीलाई सौभाग्य प्रदायिनी देवीसमेत मानिएको छ । मिथिला क्षेत्रको अरिपनचित्र तान्त्रिक प्रविधिको प्रतीक हो । त्यस्तै यस पर्वमा पूजाका क्रममा अनेक प्रकारका मन्त्रहरू प्रयोग गर्ने विधान पनि छ । यस पर्वमा विशेषरूपमा नागदेवताको पनि पूजा हुन्छ । मिथिलामा नागलाई विषहराको स्वरूपमा विशेष विधिपूर्वक पूजा गरिएको पाइन्छ । विषहरालाई महादेवका सन्ततिसरह मानिएकोले यसको पूजनबाट एकातिर सर्पको भय नरहने तथा अर्कोतिर भगवान् महादेव पनि प्रसन्न हुनुहुने विश्वास रहेको छ । मिथिलामा कतिपय परिवारमा विषहरालाई कुलदेवताको स्थानमा राखेर पूजा गर्ने चलन पनि छ ।
यस पर्व अन्तर्गत वाचन गरिने कथाहरूमा सृष्टितत्त्व, पृथ्वीको जन्म आदिका वर्णन हुनुका साथै जीवन, प्रारब्ध, कर्मफलको भोग, पुनर्जन्म इत्यादि गम्भीर विषयहरूलाई लोककथाका माध्यमले व्यक्त गर्ने चलन छ । अतः यस पर्वमा दार्शनिक वैशिष्ट्य पनि देख्न पाइन्छ । सामाजिक दृष्टिले पनि यस पर्वको उत्तिकै महत्त्व छ । यसका कथाहरूमा महादेवको पारिवारिक जीवनसम्बद्ध विषयवस्तु, विवाह, गौरी–महादेवको दाम्पत्य जीवन विषयक प्रसङ्गका साथै अन्य अनेक विषयहरू जस्तै समाज र परिवारमा ईर्ष्या, द्वेष, सेवा, सहिष्णुता, सहयोग, समर्पण, काम–वासना, मनोरञ्जन, दाम्पत्य–प्रेम, पारिवारिक कर्तव्यबोध इत्यादिको वर्णन गरिएको पाइन्छ । मिथिलाको परम्परागत समाजमा कन्यादान गर्दा कन्याको उमेर प्राय: किशोरावस्था हुने एवं त्यस उमेरकी बालिका पारिवारिक र सामाजिक विधि–व्यवस्था इत्यादि विषयमा निपुण नरहने हुनाले समाज वा परिवारकी प्रौढ महिलाद्वारा कथाका माध्यमले यस्ता गम्भीर र अत्यावश्यक कुराहरूबारे ज्ञान र प्रेरणा प्रदान गरिनु अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यो पर्वमा महिलावर्गको मात्र सहभागिता रहने हुनाले नवयौवना बालिकालाई जीवनोपयोगी शिक्षा उपयोगी तरिकाले दिइने गरेको पाइन्छ, जसबाट ऊ मानसिक र शारीरिकरूपले समेत गृहस्थ जीवन यापनका लागि तयार हुन सकोस् । सामान्यतया चौध दिनसम्म मनाइने यो मधुश्रावणी पर्वमा लोकभाकामा विभिन्न गीतहरू गाउने चलन छ । शुभ अवसरमा गीत गाउनु मिथिलाको विशिष्ट परम्परा हो । यस्ता गीतहरूमा भक्तिभाव, विनती, ईश्वरप्रति समर्पण आदिका साथै सामाजिक, पारिवारिक र दाम्पत्य प्रेम विषयक भावहरू पनि समेटिएका हुन्छन् । अतः यो पर्वले मनोरञ्जनात्मक पक्षलाई समेत समेटेको छ ।
मधुश्रावणी पर्वको व्रत प्रक्रिया
यस पर्वको प्रारम्भ श्रावण कृष्ण चतुर्थीका दिनदेखि नै हुने गर्दछ, भोलिपल्टदेखि लगातार पन्ध्रदिनसम्म गरिने पूजाआजाको पूर्वाङ्ग कर्मका रूपमा अधिकतम तैयारी र जोरजम्मा गर्ने दिन नै यही दिन हो । उक्त दिन नववधूले नुहाइधुवाइ गरी नङकेश काटी चोखोनीतो गर्न थाल्नुपर्छ । यसलाई नहाएखाए भनिन्छ । यसैदिन अपराह्न थरिथरिका फूलहरूको सङ्कलन गर्ने काम हुन्छ, जसलाई फूललोढब भनिन्छ । यसरी चयन गरिएका फूल र बेलपत्रादि भोलिपल्ट पूजाका क्रममा चढाइने गरिन्छ । मिथिलामा माता गौरी र जगत्पिता महादेवलाई बासी फूल र बेलपत्र चढाउने परम्परा छ । यसै दिन बेलुका पक्वान्नद्वारा गौरीनैवेद्य तैयार गरिन्छ । उक्त समयमा बेसारको प्रयोग गरी लिङ्गाकारको आकृति बनाई पानको पातमाथि स्थापना गरिन्छ, जसलाई माता गौरीको प्रतीक मानिन्छ, यसलाई गौर भन्ने गरिन्छ । गौर निर्माण गर्ने क्रममा छरछिमेकमा रहेका सधवा महिलाहरूलाई निम्तो गरिन्छ । यसरी निम्तो पठाउने क्रमलाई हूकार (मिथिलामा प्रचलित आमन्त्रणको एक प्रकार, जसमा भोजन गराउनुपर्दैन) भन्ने गरिन्छ । गौरीनैवेद्य र गौर बनाउने काम नववधूको माइत र घर (पतिगृह) दुवै ठाउँमा हुने गर्दछ र पर्वको मुख्य अनुष्ठान माइतमा हुने भएकाले पतिगृहमा बनाइएको गौर र गौरीनैवेद्य पूजाका दिन पूजास्थल पुर्याउने चलन छ । त्यसबाहेक व्रतालुका लागि आवश्यक नयाँ वस्त्र, श्रृङ्गारका सामाग्री लगायत अन्नादि पनि पतिगृहबाट नै लिइजाने वा पठाउने नियम छ ।
मुख्यपर्वको पूर्वसन्ध्यामा चतुर्थीका दिन गोसाउनिक गीत, गौरी गीत, नचारी, महेशवाणी, कोबरगीत आदि गीत गाउने चलन पनि देखिन्छ । त्यसबाहेक गौरी र महादेव (शिव–पार्वती) विषयक पूजा, अर्चना र कथावाचन हुने भएकोले शिव–पार्वतीका पारिवारिक परिवेश सम्बन्धी आख्यानहरूको चर्चा पनि हुन्छ । यसै अवसरमा कतिपय स्थानमा मनोरञ्जनात्मक शैलीमा अश्लील भाव र मुद्रा प्रदर्शन गरी हस्यौली र ख्यालठट्टा गर्ने गरेको दृश्य पनि देख्न पाइन्छ ।
मुख्य पर्व श्रावण कृष्ण पञ्चमीका दिनबाट सुरु हुन्छ । उक्त दिन व्रतालु महिलाले स्नानादि गरी नववस्त्र धारण गरी कुलदेवतालाई प्रणाम गरी पूजास्थलमा मिथिला संस्कृतिअनुरूप रेखाचित्र (अरिपन) कोरी तैयार गरिएको आसनमा बस्नुपर्दछ । त्यसपछि नित्य पूजा गर्न काठको एउटा नयाँ पिर्काको स्थापना गरिन्छ, पिर्कामाथि पन्ध्र स्थानमा नागको आकृति लेखिन्छ । उक्त आकृति कोर्न कुसुमको फूलका साथै दश प्रकारका फूल पिसेर बनाइएको लेप एवं चन्दन, मेहन्दी, सिन्दूर र गाजललाई बेग्लाबेग्लै पिसेर लेप बनाइएको हुन्छ । पिर्का माथिको प्रत्येक नाग आकृतिलाई आसन, पाद्य, अर्घ्य, सुपारी र भेटी राखी पालैसँग पूजा गरिन्छ । यस्तै विशेष प्रकारका अरिपनहरूमाथि पूजाका विशेष वस्तुहरू राखिएका हुन्छन् । यसमा कलशका साथै एक सय आठ स्थानमा नागको आकृति लेखिएका मएनका पात आदि राख्ने चलन छ । यसपछि गौरीपूजनबाट पूजाको प्रारम्भ हुन्छ, सर्वप्रथम हात्तीमाथि बसेका भगवान् महादेव (गौर) को पूजा हुन्छ । त्यसपछि पञ्चोपचार वा षोडशोपचार पद्धतिले आसन, पाद्य, अर्घ्य, चन्दन, अक्षता, पुष्प धूपदीप ताम्बूल, पुगी फल, दूर्वादल, बेलपत्र, नैवेद्य इत्यादिद्वारा विशेष विधिविधानसहित स्वामीपुत्रसहित गौरीको पूजा गरिन्छ । गौरीपूजनका क्रममा पुष्प चढाउँदा दुवै हातका औंलाले विशेष प्रकारको मुद्रा बनाएर तर्जनी औंलाले मात्र समाती समर्पण गर्ने परम्परा छ । अन्त्यमा यसरी नै विधिविधानको पालना गरी शान्तिकलश, सूर्य, चन्द्र, नवग्रह, नागदम्पती, शतानुजसहित बैरसी, चनाइ, कुसुमावती, पिङ्गला, लीली, शतभगिनीसहित गोसाउनी, षष्ठीदेवी आदिको पूजासमेत गरिन्छ । यो क्रम टुङ्गिएपछि व्रतालु महिलाले साडीको आँचल (खोइँछ) मा विशेष किसिमले बनाइएको बिनी पोको पारिन्छ र बिनी नामक ५ वटा मन्त्रको तीन आवृत्ति पाठ गर्ने नियम छ । यसपछि कथावाचन गरिन्छ । कथापछि बाचोबीनी नामक मन्त्र एकपटक सुनाएर, उक्त बीनीको पोको खोली पूजास्थलमा यथावत् राखेपछि पूजाको समाप्ति हुन्छ ।
पूजापछि व्रतालु महिलाले कुलदेवतालाई प्रणाम गरी मान्यजनहरूलाई ढोगी आशीर्वचन प्राप्त गर्दछन् । पूजा गर्दा पन्ध्र ठाउँमा राखिएका नैवेद्य र पक्वान्न पन्ध्रजना सधवा महिलालाई वितरण गरिन्छ, जसलाई करोतरी भन्ने गरिन्छ । यसपछि पूजाका अवधिमा लगाएका लुगाफाटा फुकालेर अर्को लुगा लगाउने चलन छ । व्रतालुले सूर्यास्त हुनुअघि नै एक छाक अलिनो सात्विक भोजन खाने नियम छ । मधुश्रावणी पर्वको पूर्ण अवधिभरि व्रतालु महिलाले शुद्ध अन्नको भोजन गर्नुपर्दछ, जसमा भोजन पूर्णत: निरामिष हुनुका साथै उसिना चामल, मसुरो, कोदो, घिरौंला, चिचिन्डो, लसुन, प्याज, तेल, बेसार, साग आदिको प्रयोग वर्जित छ ।
मधुश्रावणी पर्वको अवधिभरि दिनको मुख्य पूजा समाप्त भएपछि भोजनादिबाट निवृत्त भएर अपराह्नमा सखी–सहेलीका साथमा व्रतालु पुष्पचयनका लागि जाने गर्दछिन् । पुनः साँझपख व्रतालुले सङ्क्षिप्त रूपमा स्नानादि गरी पवित्र भई पूजा गर्दा लगाउने लुगा लगाएर पूजास्थानमा दियो बाल्ने नियम छ । हाँडिभित्र विशेष किसिमले राखिएको उक्त दियोलाई पातिल भन्ने गरिन्छ । दीप प्रज्वलनपछि पुनः खोइँछमा बिनी बाँधेर विनीका ५ वटा मन्त्रको तीन आवृत्ति र बाचोविनी नामक मन्त्र एक पटक सुन्ने नियम छ । सामान्यतया मधुश्रावणी पर्व अनुष्ठान गर्ने क्रममा यसरी मन्त्र तथा कथाहरू सुनाउन एकजना विज्ञ महिलाको व्यवस्था गरिएको हुन्छ । साँझपख साँझ गीत, कोबर गीत आदि गाइने गरिन्छ । एवं रीतले मधुश्रावणी पर्व समाप्तिपर्यन्त पूजाआजा गरी मनाइने चलन छ । पूजन कार्यमा प्रयोग भएका फूलपाती (निर्माल्य) को विसर्जन अन्त्यमा गरिन्छ ।
श्रावण शुक्लपक्षको तृतीया तिथिका दिन मधुश्रावणी पर्वको समाप्ति हुन्छ । यस दिनलाई तीज पनि भनिन्छ । यसभन्दा एक दिनपूर्व अर्थात् श्रावण शुक्ल द्वितीयाका दिन व्रतालु महिलाले पुन: नहाएखाए गर्दछन् तथा यस दिन बेलुका पुन: पतिगृह र माइति दुबै ठाउँमा गौरीनैवेद्य पकाइन्छ । व्रतालुले पतिगृहबाट पठाइएको अन्न ग्रहण र वस्त्र धारण गर्नुपर्ने नियम छ । यसका लागि गौर, गौरीनैवेद्यका साथै अन्न, वस्त्र, श्रृङ्गारका सामाग्री, तामा, थाल, धान, धनिया, दूबो, पू (पक्वान्नविशेष) पतिगृहबाट पूजास्थलमा पठाउने चलन छ । यसबाहेक पतिगृहबाट कन्याको माइती घरका महिलाहरूका निमित्त वस्त्र, कन्याकी आमा तथा टेमीविधि गर्दा टेमीदिने र आँखा छोप्नेका लागिसमेत वस्त्र पठाइनुका साथै पूजा अवधिभरि कथा सुनाउनेका लागि समेत वस्त्र, भेटी आदि पठाउनु पर्दछ । यसका साथै फलफूल, मिष्ठान्न, पक्वान्न, दही आदिको भार पठाइन्छ ।
भोलिपल्ट तीजका दिन पूजास्थानलाई सफा गरी पुन: अरिपन (मिथिला संस्कृति अनुसारको रेखाचित्र) लेखिन्छ । यसदिन गौरीपूजन गर्ने क्रममा एक जनाले सोहागमथब भन्ने विधि सम्पादन गर्दछन्, जसमा एउटा तामा (काठको गोलाकार भाँडाविशेष) मा धान, धनियाँ, दूबो, जल हालेर बेलवृक्षको हाँगाले बनेको मदानीद्वारा मन्थन गरिन्छ । यस दिनको विशेष विधि भनेको टेमी हो । यसमा आरतकपात (कागजको गोलाकार विशेषका टुक्रा), पानको पात, टेमी (दीपमा बालिने बत्ती) आदिको आवश्यकता हुन्छ । यस विधिमा व्रतालु महिलाका दुवै घुँडा, दुवै खुट्टा र देब्रे हातको माथिल्लो भागमा बलिरहेको टेमीद्वारा स्पर्श गराइने गरिन्छ । यसरी टेमीले स्पर्श गराउँदा आरतकपात र पानको पातको बीच भागमा प्वाल पारिएको हुन्छ । यस बेला कन्याका आँखाहरू आरतकपात, पानको पात र पू (पक्वान्न विशेष) ले छोप्ने चलन छ । टेमीस्पर्श गराइएका स्थानमा चन्दन लगाउने गरिन्छ । यो क्रम सिद्धिएपछि व्रतालुले कुलदेवता र मान्यजनलाई प्रणाम गरी आशीर्वचन ग्रहण गर्दछन् । यसपछि पूजाको आरम्भको दिनमा जसरी नै करोतरि पूजन गरी पन्ध्रजना सधवाहरूलाई खुवाउने गरिन्छ । यसदिन पनि व्रतालु महिलाले अलिनो भोजन गर्नु पर्दछ तथा सूर्यास्त भएपछि खानु हुँदैन ।
नव विवाहिता कन्याले विवाह भएको पहिलो श्रावण महिनामा यस व्रतको विधिविधानसहित अनुष्ठान गर्नु अनिवार्य मानिन्छ । यस पछिका वर्षहरूमा सधवा रहुन्जेल प्रत्येक वर्ष मधुश्रावणी पर्वको अवधिभरि फकरा नामक मन्त्रविशेषका साथ गौरपूजन गरी शुक्ल तृतीयाको तीजका दिनमात्र व्रत गरे हुन्छ । मधुश्रावणी पर्व मिथिला क्षेत्रको विशिष्ट पर्व भए तापनि यो पर्व मैथिल ब्राह्मण, मैथिल कर्ण, कायस्थ, मैथिल वैश्य र मैथिल सोनार जातिहरूमा मात्र मनाइने गरिएको पाइन्छ । तिनमा पनि जाति, स्थान अनुसार विधिगत र पूजनगत विविधता पाइन्छ । जस्तै ब्राह्मण परिवारमा पूजाको पूर्ण अवधिभरि पतिगृहबाट पठाइएको अन्नादि ग्रहण गर्ने, पूजास्थानमा मएनका चारओटा पातहरूमाथि क्रमश: श्रीखण्ड चन्दनले एक सय र पिठारले एउटा नागको आकृति लेख्ने, त्यस्तै दोस्रो पातमाथि एक सय पिठारले तथा एउटा चन्दनले, यसरी नै तेस्रो मएनको पातमाथि सिन्दूरले एक सय र गाजलले एउटा तथा चौथो पातमाथि गाजलले एक सय र सिन्दूरले एउटा गरी नागनागिनका आकृतिहरू बनाइने, टेमीविधिका दिन दुलहाले कन्याको आँखा छोप्ने आदि हुने गर्दछ भने कायस्थमा अन्तिम दिन नै पतिगृहको अन्न खाए हुने, मएनको एउटा मात्र पातमाथि एक सय आठओटा नागको आकृति लेखिने, टेमीविधिका दिन पतिको कुनै पनि विधि नहुने आदि फरक देखिन्छ ।
No comments:
Post a Comment