Saturday, July 29, 2017

साप्ताहिक राशिफल

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :– 

१५ गते : रविसप्तमी व्रत, साउनको पन्ध्र खीर खाने दिन, गोस्वामी तुलसी दास जयन्ती, द्विपुष्कर योग बिहान १०।१४ बजेसम्म, मुहूर्तहरू : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, कलशचक्र, 
१६ गते : अष्टमी व्रत, गोरखकाली पूजा, यँलपञ्चदान (बौद्ध नेवारहरूको पर्व), मुहूर्तहरू : अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, दीक्षाग्रहण, कलशचक्र, 
१७ गते : मुहूर्तहरू : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, 
१८ गते : मुहूर्तहरू : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, कलशचक्र, 
१९ गते : पुत्रदा एकादशी व्रत, मुहूर्तहरू : कलशचक्र, 
२० गते : बहिद्यबोय (नेवारी पर्व), सहिद शुक्रराज शास्त्रीको जन्मदिन, मुहूर्तहरू : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पुराणश्रवण, कलशचक्र, 
२१ गते : शनि प्रदोष व्रत, मुहूर्तहरू : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र

साप्ताहिक राशिफल

(वि.सं. २०७४ श्रावण १५ गतेदेखि वि.सं. २०७४ श्रावण २१ गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

यो साता तपाईंको राशिबाट सातौं, आठौं र नवौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले साताको प्रारम्भमा आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । मङ्गलबारपछि अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । बोलेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नातेदारले अपमानित तुल्याउन सक्छन् । बिहीबारपछि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

यो साता तपाईंको राशिबाट छैटौं, सातौं र आठौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले सुरुमा पाचनप्रणाली र नसासम्बद्ध रोगले दुःख दिन सक्छ । दृष्टिशक्तिमा कमी आउन सक्छ । व्यवहारिक समस्याले अवरोध हुने सम्भावना छ । सोमबार बेलुका मन आनन्दका लागि आकर्षित बन्नेछ । मङ्गलबारपछि प्रेमसम्बन्धमा सुधार आउने छ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत बढोत्तरी हुनेछ । अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ । राम्रो समाचार सुन्न पाउनु हुनेछ । साताको अन्त्यमा स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं सावधान रहनु होला । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, कुनै पनि नयाँ काम नथाल्नु होला । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

यो साता तपाईंको राशिबाट पाँचौं, छैटौं र सातौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले साता सुरु हुँदा घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो लाभ हुने छ । मङ्गलबारपछि प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । साताको समाप्तिमा दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

यो साता तपाईंको राशिबाट चौथो, पाँचौं र छैटौं घरमा चन्द्रमाले भ्रमण गर्ने भएकाले सुरुमा घरायसी समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । मङ्गलबारपछि कल्पना र भावुकतामा रमाउँदा रमाउँदै समय गएको पत्तो पाउनुहुन्न । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु राम्रो हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । अन्तिममा भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

यो साता तपाईंको राशिबाट तेस्रो, चौथो र पाँचौं घरमा चन्द्रमाले भ्रमण गर्नेछ, साताको प्रारम्भमा नै विगतमा गरेका कामको लेखाजोखा गर्न मन लाग्नेछ । मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । मङ्गलबारपछि घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । बिहीबारपछि अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

यो साता तपाईंको राशिबाट दोस्रो, तेस्रो र चौथो घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । साताको मध्यभागमा कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ धैर्य गर्नुपर्छ । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । आर्थिक लगानी हुनेछ । बिहीबारपछि घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

यो साता तपाईंको राशिमा रहेको चन्द्रमाका साथमा प्रारम्भ भएको छ । काम गर्न जाँगर चल्नेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । आम्दानीमा कमी हुने छैन । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । समयलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने छ । मङ्गलबार दोस्रो भावमा रहेको चन्द्रमाका कारण उत्साहवर्द्धक समय हुनेछ । कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । बिहीबारपछि सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

यो साता तपाईंको राशिबाट बाह्रौं, पहिलो र दोस्रो घरमा चन्द्रमाले भ्रमण गर्नेछ, त्यसैले सुरुमा बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । दुई दिनपछि सकारात्मक समय सुरु हुनेछ, कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यवहारिक रूपमा फाइदा पुग्नेछ । साताको अन्त्यमा सम्पति प्राप्त गर्ने सम्भावना छ । पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले लाभ प्राप्त हुने सम्भावना छ । व्यस्त समयचर्या कायम हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

राज्यस्थानमा रहेको चन्द्रमाका साथमा साता प्रारम्भ भएको छ, त्यसैले विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । तर दुई दिनपछि भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । साताको अन्त्यमा क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सुरुमा कर्मक्षेत्रमा रहेको चन्द्रमाका कारण मातापिताको आशीर्वचन र सल्लाह प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मङ्गलबारपछि भेटघाट र मनोरञ्जनमा समय व्यतीत हुनेछ । समाजमा बुद्धिको प्रशंसा हुनेछ । घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ । तर साताको अन्त्य राम्रो छैन, खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

भाग्यस्थानमा रहेको चन्द्रमाले गर्दा इष्टमित्रको सरसहयोग र प्रशंसा प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवन सामान्य रहने छ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । खानपानमा खर्च गर्न मन हौसिन्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । त्यस्तै साताको अन्त्यमा साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । यतिबेलाको समय विगतका कमीकमजोरी सम्झने समय होइन । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

नकारात्मक समय छ, पाचन प्रणालीमा आएको खराबीले तपाईंलाई निराश तुल्याउन सक्छ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ । बाटो काट्दा वा हतियार चलाउँदा सचेत हुनुपर्छ, तर मङ्गलबारपछि हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । साताको अन्त्यमा विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन ।

No comments:

Post a Comment