Sunday, July 23, 2017

श्रावण महिना र सोमबार

'आचार परमो धर्म' मनुस्मृतिको यो भनाइअनुसार परम्परादेखि चलिआएको सदाचार सत्कार्य नै धर्म हो । हाम्रा पूर्वजहरुले यथा-यथा-समयमा गर्नुपर्ने उपयुक्त सत्कार्यहरुको निर्देशन गरेका छन् ।  सोहीअनुसार स्नान, दान, ध्यान, जप, तप, व्रत, उपवाससहितको पूजा, यज्ञ, यज्ञादि गरिन्छ । ऋतु, अयन, तिथि, बार र पर्वहरुमा गरिने सत्कार्यहरुको आआफ्नै ढंगको नियम शास्त्रहरुमा व्यवस्था गरिएको छ ।

श्रावण महिना भगवान शिवको प्रिय महिना हो । सक्नेले श्रावण महिनै भर नसक्नेले प्रत्येक सोमबार भगवान शिवको व्रत लिनु, शिव मन्दिरमा गएर भगवानलाई यथोचित पूजा आराधनासहित जल चढाउनु, एक छाकमात्र सात्विक भोजन गर्नु, यस्तो गर्नाले चतुर्वर्ग सिद्धि (धर्म, अर्थ, काम, मोक्ष) प्राप्त हुन्छ ।

श्रावण महिनाभरि झरीबादल र प्रकृतिमा हरियाली वृद्धि हुनेहुँदा प्रकृतिसंग तादात्म्य राख्न हरियो पहिरन र हरियै चुरा, पोते प्रयोग गर्ने, प्रेम र सद्भावनाको प्रतीक मेहेन्दी प्रयोग गर्ने प्रचलन पनि उल्लेख्य रहेको छ । शिवोपासनाको क्रममा व्रत गरिने हुँदा सात्विक भोजनभित्र त्याज्य मानिएकोले माछा, मासु, लसुन, प्याज नखाने प्रचलन पनि छ ।

'सोमबारे व्रतम् कार्यम् श्रावणे वै यथा विधि' भन्ने शास्त्रीय भनाइमा उल्लेखभएअनुसार श्रावणको सोमबार सबेरै विधिपूर्वक स्नान गरी शुद्ध वस्त्र धारणा गरी अनुकुल मिल्ने शिवमन्दिरमा पुगी पुण्य नदीहरुबाट ल्याइएको शुद्ध जल चढाई उपलब्ध भएसम्मका उपचार विधिअनुसार शिवको पूजा गर्ने मान्यता छ । यसरी श्रावण महिनाको सोमबारका दिन व्रत लिर्इ मनोकाङ्क्षा पूर्ण होस् भन्ने चाहना हुनेहरूले श्रावण महिनाभरि भगवान् शिवको श्रद्धापूर्वक भक्तिभाव प्रकट गर्नु, विभिन्न पुराण र धर्मग्रन्थमा उल्लेख भएका शिवप्रसङ्गको महिमा गाउनु, कथा प्रवचन सुन्नु, सात्विक व्यवहार गर्नु, ब्रह्मचर्यको पालना गर्नु र बेलुका केवल एक छाकमात्र शुद्ध भोजन गर्नु अनिवार्य मानिएको पाइन्छ । 

श्रावण १ गते सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन प्रारम्भ हुन्छ । चन्द्रमानअनुसार आषाढ शुक्ल एकादशीदेखि चर्तुमास व्रत आरम्भ हुने हुँदा श्रावण महिनाको महत्व आध्यात्मिक दृष्टिले पनि उत्तम कोटीमा रहेको मानिन्छ । चन्द्रमानअनुसार श्रावण कृष्ण प्रतिपदादेखि श्रावणशुक्ल पूर्णिमासम्म, सूर्यमानअनुसार श्रावण १ गतेदेखि मासान्तसम्म श्रावणी उत्सवको महिमा रहेको छ ।

पौराणिक युगमा देवता र दानव मिली समुद्र मन्थन गर्दा वासुकी नागको नेती प्रयोग गरिएको थियो । मन्थन कार्यमा नागको शरीरमा आघात परेकोले नागको मुखबाट हलाहल नामक विष उत्पन्न भई संसार दग्ध गर्न थाल्यो । देवताहरुको अनुरोधमा भगवान महादेवले विषपान गरी घाँटीमा अड्काउनु भयो । विषको प्रभावले घाँटी जल्यो र निलो भयो । शिवजीलाई निलकण्ठ भनियो । विषको औडाहा शान्त पार्न हिमालयमा पुगी त्रिशुलको प्रहारले जल उत्पन्न गराई, विशाल जलकुण्ड रचना गराई त्यही जलमा आफ्नो शरीर डुबाइरहनुभयो । त्यस ठाउँलाई आजभोलि गोसाइकुण्ड भनिन्छ । विषको डाहालाई शान्त पार्ने उद्देश्यले पनि भक्तजनहरु श्रावण महिनाभर शिवजीलाई जलार्पण गर्ने, रुद्राभिषेक गर्ने कार्य गर्दछन् ।

हाम्रो जस्तो कृषिप्रधान मुलुकमा असार साउन महिना 'मानो खाई मुरी उब्जाउने' भावनाले पनि महत्वपूर्ण छ । श्रावणमा प्रायः घरघरमा रुद्री, चण्डीपाठ गर्ने, शिवजीलाई जलधारा लगाई स्नान गराउने, कृष्णजीलाई झोलुङ्गोमा राखी झुलनोत्सव गराउने गरिन्छ । श्रावण महिनाभर भारतको विभिन्न स्थानमा रहेको द्वादश ज्योतिर्लिंगहरुमा नजिकैको पूण्य नदीको जल लगेर चढाउने उत्सव गरिन्छ । श्रावण शिवजीको प्रिय महिना भएकोले श्रावण भरि सम्पूर्ण शिवालयहरुमा शिवभक्तहरुको घुइचो लाग्ने गर्दछ । सोमबार शिवको बार भएकोले पनि श्रावणको सोमबार  शिवालयमा मेला लाग्ने गरेको हो । यस्तो मेला धरान लगायत श्रीपशुतिनाथ काठमाडौं, हलेसी महादेव खोटाङ, मधुगंगा सिन्धुली, देवघाटमा लाग्ने गर्दछ । श्रावणको सोमबार ब्रत बस्दै शिवजीलाई जल चढाए राम्रो श्रीमान् पाइने, श्रीमानसहित परिवारमा सुख समृद्धि हुने र मनोकामना पुरा हुने विश्वास गरिन्छ । बाबाधाममा बोलबमको सामुहिक स्वर उच्चारण गर्दै विशेष प्रकारबाट तीर्थयात्रा गर्ने गरिन्छ । बोल बमको नाराले सुख पाउँछन् साराले भन्ने भावनाले भारतको झारखण्डस्थित वैद्यनाथ बाबाधाम पुग्न अनुकुल नपर्नेहरु नजिकैको पुण्यनदीको जल लगेर कुनैपनि शिवालयस्थित शिवलिङ्गमा चढाउने मेलामा सम्मिलित हुन्छन् । हाम्रो नेपालमा पशुपतिनाथसहित चतुषष्ठी शिवलिङ्गहरुमा र पूर्वी नेपाल धरानस्थित पिण्डेश्वर धाममा यसबेला प्रशस्त भक्तजनहरु पुग्छन् ।

यसैगरी बाराको काँसघाटस्थित बाबाधाम, परासीको पर्रोहीस्थित बाबाधाम, सिन्धुली हत्पते लङ्गुरखोलास्थित मधुगंगा बाबाधाम, कास्की बैदाम केदारेश्वर बोलबमधाममा, पर्सा रामभुमरीको दुग्धेश्वरनाथ महादेव मन्दिर चुरे पहाड अादिमा  पनि श्रावणभर मेला लाग्दछ । त्यस्तै प्रसिद्ध तीर्थस्थलहरू देवघाटधाम, म्याग्दी गलेश्वरधाम, बाल्मीकि आश्रम आदि त्रिवेणीधाम, बराहक्षेत्र चतराधाम, जनकपुरधाम, हलेसी महादेव, गोसाइँकुण्ड, दूधकुण्ड, पाँचपोखरी, मुक्तिक्षेत्रजस्ता तीर्थहरुमा पनि श्रावणभर भक्तजनहरूको भीडभाड देख्न पाइन्छ । हुन त त्यस्ता प्रसिद्ध तीर्थ क्षेत्रमा सधैंभरी मेलाजस्तै यात्रीहरु आउँछन् तथापि श्रावण महिनामा विशेषगरी शिवलिङ्गमा जलार्पण गर्नाले अक्षयपुण्य प्राप्त हुन्छ भन्ने भनाइ विभिन्न पौराणिक ग्रन्थहरुमा उल्लेख भएको हुँदा भक्तजनहरूको घुइँचो भएको हो ।

हाम्रो सुनसरी जिल्लामा पनि श्रावणभर विशेषगरी सोमबारको दिनमा प्राचीन हरिद्वार चतराधाम सप्तकोसी बाट जल ल्याई खालीखुट्टाले करिब २० किलोमीटर पैदल यात्रा पूरा गरी विजयपुर, धरानस्थित अमृतपिण्ड भगवान् पिण्डेश्वरमा जलार्पण गर्ने गरिन्छ । सनातन धर्मअन्तर्गत विभिन्न धार्मिक ग्रन्थ र पुराणहरूमा उल्लिखित प्रसङ्गमा देव र दानवका बीचमा सन्धि भर्इ समुद्र मन्थन भएको कथा उल्लेख छ । समुद्र मन्थनबाट प्राप्त भएको अमृत देवताहरूलार्इ वितरण गरिएको थियो । अमृत बोकेको भाँडोमा अन्तिममा छोक्रा बाँकी रह्यो । त्यसरी शेष थिगरलार्इ जम्मा पारी देवताहरूले गोलो पिण्डको निर्माण गरे । उक्त पिण्ड हिमालय पर्वतको रुद्राक्षारण्य वनमा रहेको सुरम्य स्थान विजयपुर डाँडामा ल्यार्इ स्थापना गरियो । त्यसै अमृतपिण्डमा देवाधिदेव श्री महादेवले निवास गर्नुभयो । त्यसैले अमृतको पिण्डमा शिवको प्राणत्व रहेकाले पिण्डेश्वरमा रहेको शिवलिङ्ग अमृतको अंशवाट स्थापित भएको हो भन्ने मान्यता छ । त्यसैले पनि पिण्डेश्वर महादेवको मन्दिरमा गर्इ पवित्र श्रावण महिनामा जलाभिषेक गर्दा अास्थावान् भक्तजनले अमृतको प्रभाव प्रत्यक्ष प्राप्त गरी सुखसम्मृद्धिमा बृद्धि गर्नुका साथै सुस्वास्थ्य लाभ गर्न सक्ने जनविश्वास रहिअाएको छ । श्रावणमा भारत बिहारको देवघर स्थित बैद्यनाथ मन्दिरमा मात्र बोलबम मेला जाने परम्पराको अन्त्य गर्दै २०४२ सालदेखि श्रीपिण्डेश्वरमा जल चढाउन बोलबम मेलाको सुरुवात गरिएको हो । यति बेला नेपालका धेरै शिवालयहरूमा बोलबम मेला लाग्ने गरेको देखिए पनि सर्व प्रथम पिण्डेश्वर महादेवको मन्दिरबाट बोलबम मेलाको सुरुवात गरिएको हो ।

त्यस्तै इटहरीबाट पाँच किलोमीटर पूर्वमा रहेको किरातेश्वर शिव मन्दिरमा समेत नजिकै रहेको बृद्धगंगाको मुक्तिघाटबाट जल बोकेर ल्याई जलार्पण गरिन्छ । अहिले इटहरीस्थित मुक्तिघाटमा बुढी गंगाको तटमा सर्वेश्वर शिवालयको प्रतिष्ठा गरिएको हुँदा कतिपय भक्तजन सर्वेश्वर शिवजीको जलाभिषेक गर्ने गर्दछन्। त्यस्तै मोरंग जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने सुन्दर नगरी लेटांग बजारमा अवस्थित शिवालयमा नजिकैको चिसांग खोलाबाट जल भरी चढाउने कार्य पनि श्रावणको सोमबारका दिन सम्पन्न गर्ने चलन छ । त्यसैगरी सुनसरी जिल्लाके सदरमुकाम इनरुवाबाट ५ किलोमीटर दक्षिणमा रहेको रामनगर भुटाहामा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरमा नजिकै रहेको स्वर्णसरित् (सुनसरी) नदीबाट जल ल्याई अभिषेक गर्ने चलन पनि छ । यसरी सोमबारको व्रत गरी आफूलाई पायक पर्ने शिवालयमा जलार्पण गर्नेहरुको संख्या प्रशस्त रहेको छ । परापूर्वदेखि नै श्रावण सोमबारको व्रतको नियम थियो तथापि वर्तमानमा यसले व्यापकता पाउँदै आएको छ । जनमानसमा श्रावणी सोमबारको व्रतले आध्यात्मिक भावनाको बृद्धिमा योगदान पुर्याएको छ ।

No comments:

Post a Comment