Saturday, July 15, 2017

श्रावण महिनाका सात वैशिष्ट्य

नेपाली पात्रो वा पञ्चाङ्ग अनुसार वैशाखबाट सुरु हुने प्रत्येक नववर्षको चाैथो महिनालार्इ साउन वा श्रावण भन्ने गरिन्छ । यो ग्रेगरियन क्यालेण्डरको जुलार्इ महिनाको मध्यभागदेखि अगस्ट महिनाको मध्यभागसम्म पर्ने गर्दछ । यो महिना दक्षिण एसियामा मध्य वर्षा याम वा ऋतुमा पर्दछ । त्यसैले यस महिनामा पर्ने अविरल पानीको रिमझिम र हरित वातावरणको राैनकको छुट्टै महत्त्व छ । पूर्वीय दर्शनमा अाधारित समयचक्रको विभाजनअनुसार वर्षा ऋतुको प्रथम महिना हो - श्रावण । अाशुतोष भगवान् शिव यस महिनाका विशिष्ट अाराध्य देवता हुन् । नेपाली जनजीवनमा पूर्ण उत्साहका साथमा यस महिनाभरि विभिन्न धार्मिक, सामाजिक र सांस्कृतिक उत्सवादि सम्पन्न हुने गर्दछन् । महिलाहरूले मात्र होइन, पुरुष र महिला दुबै थरी यस महिनाभरि मदिरा, मांसादिको सेवन गर्दैनन् । पूर्ण ब्रह्मचर्यमा रही शाकाहारी र सादगीपूर्ण जीवनशैली निर्वाह गर्नु यस महिनाको अर्को विशेषता हो । यस अालेखमा नेपाली संस्कृतिमा श्रावण महिनामा सम्पन्न हुने माैलिक व्रत, पर्व र रीतिरिवाजका बारेमा चर्चा गरिएकाे छ ।

१) साउने सङ्क्रान्ति
यस महिनाको सुरुमा नेपालका प्रायः सबै धर्मावलम्बी र जनजातिले साझा पर्व साउने सङ्क्रान्ति मनाउने गर्दछन् । पहाडमा माछामासुको व्यवस्था गरी मिठोमसिनो तुल्यार्इ घरपरिवारका सबै सदस्य र नरनाता जम्मा भर्इ रमाइलो गरी यो पर्व मनाउने पुरानो चलन छ । कृषिप्रधान देशमा 'मानो खाई मुरी उब्जाउने' भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन चलेको हो । तर हिजोअाज शिवभक्तिको महिना श्रावण हो भन्ने प्रचारप्रसार बढेकाले तरार्इका पहाडी मूलका बासिन्दासमेतले साउने सङ्क्रान्तिका दिन मांसाहार गर्न छाडेका छन्, बरु खीर पकाएर खानामा मिठास खोज्ने प्रचलन बढ्दै गएको देखिन्छ ।

साउने सँग्रातीका दिन मिठोमसिनो खानुका अतिरिक्त चर्मरोगका देवता (राक्षस?) मानिने कण्डारकको पूजा र लुतो फाल्ने काम पनि सम्पन्न गर्ने प्रचलन छ ।  फलफूल र नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास गरिन्छ।  कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पतिहरु बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ ।

साउने संक्रान्ति किराँती समुदायकाबीच 'सिसेक्पा तङ्नाम'को नामले मनाउने गरिन्छ। किराँतीहरूले आफ्नो इष्ट देवको सम्मानमा साउने सङ्क्रान्तिका दिन नयाँ पाकेका फलफूलहरू चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रही आएको छ।  पश्चिम कर्णालीको हुम्ला जुम्लातिरका आइडी जातिहरूले साउने सङ्क्रान्ति पर्वलाई बलिरहेको अगुल्टोलाई दक्षिणतिर फ्याँकेर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधहरू सबै हट जाऊ, दुर्भाग्यको प्रतिक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरू भित्र आऊ, अनिकाल जा सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुरालार्इ धपाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् । पूर्वका किरात लिम्बू, खम्बू, तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही 'लुतो' फाल्ने चाडको रूपमा मात्र मान्दैनन् । किराँत समुदायमा 'कण्डारक' नामक राक्षसको चर्चा गरिंदैन, बरू यसभन्दा भिन्न प्रसङ्गमा 'माङहाङ' नामक एक पुर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवी प्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक कहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ । यसर्थ यो चाडलाई किरात समुदायमा प्रकृतिको पूजा, पूर्खाको सम्झना-सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ। उक्त समुदायमा साउने सङ्क्रान्तिका दिन बिहानै खेतबारी वा नजिकको वन-जङ्गलतिर गई पर्व मनाउनका लागि आवश्यक अन्न, फल, फूल, र पात (च्योङ) हरू सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलनसमेत रहेको छ । बेलुका सबै परिवार मिलेर उज्यालैमा अाफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खाना खाएर रमाइलो गर्छन् । मिठोमसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्काइन्छ । थाल, झ्याम्टा, नाङ्लो र ढोलहरू बजाइन्छ ।  प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा-युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै खराब तत्त्वलाई घरभित्रबाट बाहिरतिर धपाएर निकाल्ने गर्छन् । यसरी खराब वस्तु र तत्त्वलार्इ खेदाउने बहानामा उनीहरूले कुनै भूतप्रेत वा भौतिक शत्रु, चोर, डाका आदिलाई खेदाएका हुँदैनन्, उनीहरू अाफ्नै मातृभाषामा भट्याइरहेका हुन्छन् - 'सङ्क्रान्ति जाऊ, मङ्ग्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ' । यसरी 'अनिकाल वा दुःख र पीडा'लाई पर्वको रूपमा मनाउँदै त्यसलार्इ धपाएर सहकालको अाकाङ्क्षा राखी रमाउने गर्छन् । यसैगरी उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक-सांस्कृतिक विकृति/विसंगति र सिङ्गो राष्ट्रमा व्याप्त राजनैतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द र भावहरू पनि उक्त अवसरमा प्रकट गर्ने गर्दछन् । मगरहरूले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान् पर्वको रूपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई 'हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ' भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई 'वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ' भनी मनाउने गर्दछन् । अथात् माघे सङ्क्रान्ति मरिन्छ कि? भनेर मनाउने हो भने साउने सङ्क्रान्ति लौ बाँचियो? भनेर मनाउने हो । थकाली आदिवासी जनजातिको परम्परागत धर्म-सङ्गठन मुखियाप्रणाली हो। यो सामाजिक संस्थाले पनि साउने सङ्क्रान्तिको दिनमा एक दिन त्यो समुदायलाई चाड मान्ने र जुवातास खेल्नसमेत छुट दिने गरेको छ । तर अरु दिनमा पनि जुवातास खेलिएमा त्यही संस्थाले नै दण्ड वा जरिवाना गर्ने चलनसमेत रहेको छ।  त्यसैगरी, तमु-गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने सङ्क्रान्ति मनाउने गर्दछन्। पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको सिर्जात वा असारे पूजा र धङधङे मेलाको समापन गर्न विशेष चाडको रूपमा यो दिन मनाउने गर्दछन्।

२) दान र परोपकारको महिना गुँला (श्रावण) र गुँला धर्म
गुँला धर्म प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र प्रतिपदासम्मको एक महिनाभरि परम्परागत रूपमा विभिन्न बाजागाजाहरूसहित स्वयम्भूको परिक्रमा गर्दै बौद्ध धर्मावलम्बीहरूले मनाउने एक विशेष पर्व हो । काठमाडौंस्थित स्वयम्भूमा एक महिनासम्म हरेक दिन बिहानदेखि श्रद्धालु भक्तजनहरूको चहलपहल रहने गर्दछ । गुँला महिनाभरी नै विभिन्न टोल वा समुदायबाट बिहानैदेखि आएका युवायुवतीहरू, बुढापाकाहरू आफ्नो परम्पराअनुसार धिमे बाजा बजाउँदै, लयमा लय मिलाएर ज्ञानमाला गाउँदै स्वयम्भू महाचैत्यको परिक्रमासहित विभिन्न विहारको दर्शन गरी घर फर्कने गर्छन् । यो अवधिमा रिसराग र वैमनस्य नराखी एक अर्कामा प्रेमभावपूर्ण सद्भाव राख्नुपर्छ भन्ने मान्यता रहिआएको छ । यसै अवधिमा यँल पञ्चदान भन्ने दान गर्ने विशिष्ट समय पनि पर्दछ । गुँला महिनाभरी वर्षा र गर्मीको महिना भएकोले हिलोमैलो आदिले रोग लाग्ने तथा बाढी पहिरोले धनजनको क्षति हुनसक्ने भएकोले यस्तो प्राकृतिक प्रकोपबाट बच्न र बचाउन धार्मिक अभ्यास गर्ने महिनाको रूपमा गुँला धर्म सुरु भएको मान्यता छ ।


३) झुला वा झुलनोत्सव
नेपालको तरार्इ क्षेत्रमा विशेषतः भगवान् विष्णुको कृष्णावतारको चरित्र र लीलाको चर्चा श्रावण महिनामा नै हुने गर्दछ । राधा र कृष्णको प्रेम र प्रणयलीलालार्इ स्मरण गरी यो महिनाभरि राधा र कृष्णको प्रतिमा वा मूर्ति झोलुङ्गो (कोक्रो) मा राखी विशेष पूजा र अाराधना गर्ने प्रचलन छ । तरार्इ भेगमा भारतीय मूलका तरार्इवासी महिलाले यस महिनाको शुक्लपक्षको तृतीया तिथिदेखि एक महिनासम्म भगवान् शिवको विशेष पूजाअाजा गर्दछन् । यो प्रसङ्ग नेपाली मूलका महिलाले मनाउने तीजसँग मिल्दोजुल्दो छ । वर्षायाममा पर्ने श्रावण महिनामा निरन्तर झरी परिरहनु यसको प्राकृतिक नियम हो । यसरी लगातार वर्षा भइरहँदा वनजङ्गल र पाखापखेरामा भएका बोटबिरुवाहरूमा चैत्रवैशाखमा टुसाएका पहेंलो रङका नयाँ पालुवाहरू विकसित भर्इ हरियो रङमा परिवर्तित हुन पुग्दछन् । हरियो रङ्ग नवनिर्माणको रङ्ग हो । प्रकृतिमा घुलेको त्यो हरियो रङ्ग र अाममानिसको परिवर्तनको अाकाङ्क्षाले सामञ्जस्य प्राप्त गरेको अनुभूति यस समयमा हुने गर्दछ । यसरी प्रकृतिसँग प्रत्यक्ष तादात्म्यता राख्न यस महिनामा विशेषतः महिलाहरूले हरियो लुगा, सारी, चुरा, पोते र मेहेन्दीमा सजिएर अाफ्नो जीवनमा पनि प्रकृतिको सुषमा भित्र्याउने प्रयास गर्ने गर्दछन् । वर्षभरिका मनका विकारहरूलार्इ प्रकृतिले फ्यालेर नवजीवन प्राप्त गरे झैं प्रेम र प्रणयको भावनालार्इ पुनः नवीकरण गर्ने महिना हो - श्रावण । त्यसैले पनि साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाएको हुनुपर्दछ । यस अवधिमा महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको भक्तिअाराधना गरी व्रत लिएमा र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाएमा दीर्घकालसम्म दाम्पत्यसुखको अानन्द लिन पाइने र अायुबृद्धि भर्इ पतिको जीवनरक्षा हुने विश्वास पनि गरिन्छ । तर यो चलन तरार्इ क्षेत्रमा मात्र सीमित छ, पहाडी मूलका आदिवासी समुदायमा यसको प्रचारप्रसार अझ हुन सकेको छैन । अाम जनमानसमा यस समयमा जब प्रकृतिले चारै दिशामा हरियो तन्ना अाेछ्याए झैं अनुभूति हुन्छ, प्रकृतिको यो अद्भूत र विचित्र छटा देखेर मन पुलकित भर्इ नाच्न थाल्दछ । वनवाटिकामा चराचुरुङ्गीले प्रणयका गीत गाउन थाल्दछन् र अाफूभित्र रहेको उमङ्ग र याैवनलार्इ उजागर गर्ने गर्दछन् । त्यसैको अनुकरण गरी भारतभरि र नेपालको तरार्इ क्षेत्रमा गाउँगाउँमा पिङ हालिन्छ, स्त्रीहरू समूहसमूहमा उपस्थित भर्इ अाफ्ना मनका सुसेलीहरू लोक गीत र अाख्यानका माध्यमबाट अाेकल्न थाल्दछन् । पिङमा मच्चिंदै गाउँदै गरेका महिलाको झुण्डलार्इ नियाल्दा यस अवसरमा साँच्चै प्रकृति र जीवनको तादात्म्यतालार्इ नजिकैबाट अनुभूति गर्न सकिन्छ । यो सांस्कृतिक महोत्सव पहाडी बाहुन/क्षेत्री मूलका नेपाली महिलाले लिने हरितालिका तीजको व्रतका दिन अर्थात् भाद्र शुक्ल तृतीया र हस्ता नक्षत्रका अवसरमा सम्पन्न हुन्छ । समापनमा गाैरीशङ्करको पूजाअाराधना गर्ने विधान छ । वनवाटिकामा लगातार एक महिनासम्म पिङमा मँच्चिंदै सम्पन्न गरिने यो सामाजिक/सांस्कृतिक पर्व शिवलार्इ पतिका रूपमा प्राप्त गर्न पिता हिमालय पर्वतको महलबाट भागी झाडीमा लुकी तपस्या गर्ने पार्वतीको जीवनगाथाबाट प्रभावित भएको मान्न सकिन्छ ।

४) मधुश्रावणी पर्व
नेपाल र भारतको मिथिलाञ्चल क्षेत्र (जनकपुर अञ्चल र अासपासको भूभाग) मा विवाहित महिलाहरूले प्रत्येक वर्ष श्रावण कृष्ण पञ्चमीको दिनदेखि पन्ध्रदिनसम्म परम्परागत मधुश्रावणी व्रत लिने गर्दछन् । मैथिली भाषा, संस्कृति, परम्परा र संस्कारसँग जोडिएको उक्त पर्व नवविवाहिता महिलाका लागि मूलतः विशिष्ट र महत्त्वपूर्ण रहिआएको छ। उक्त व्रतमा संलग्न महिलाले गौरीपूजा, कलशपूजा, विषहराको पूजा, बैरसीकरजा, चनाइ नाग पूजा, कुसमावती पूजा, पिङ्गला पूजा, लिली नागपूजा, शतमगिनिसहित गोसाउनी, नाग पूजा र साठिक पूजा गर्ने गर्छन् । व्रत बस्ने महिलाले यो व्रत लिँदा निष्ठापूर्वक नित्यकर्म गरी पूजा सामग्रीसहित पूजामा बसेका बेला तीनदिनसम्म अनिवार्य रूपमा मौनापञ्चमी, बिहुला र मनसा, मङ्गला-गौरीको पृथ्वीजन्म सती, दन्त्यकथामा आधारित महादेवको पारिवारिक कथा, गंगाको कथा, गौरी तपस्याको कथा, गौरी विवाह र जन्तीको कथा, मैनाको मोहको कथा, भगवान कार्त्तिक जन्मको कथा, सन्ध्याको विवाह र लिलीको जन्मको कथा, पतिव्रता सुकन्याको कथा, बाल-वसन्तको कथा, गोसाउनीको कथा, राजा श्रीपुरको कथा श्रवण गरी पूजा अर्चना गर्ने परम्परा छ ।

५) नागपञ्चमी
प्रत्येक वर्षको श्रावण शुक्ल पञ्चमी तिथिलार्इ नागपञ्चमीका रूपमा मनाउने प्रचलन हिन्दू र बाैद्ध परम्परामा सनातनदेखि नै चलिअाएको हो । हाम्रो संस्कृतिमा अादिमकाल देखि नै पशुपन्छी र जलचर/थलचर सबै प्राणिलार्इ देवताका रूपमा पुज्ने प्रचलन रही अाएको छ । यस दिन नेपाली समाजका प्रत्येक घरको मूल ढोकामा गोबरले नागको चित्र टाँस्ने गरिन्छ । त्यसरी टाँसिएको चित्रलार्इ शुद्ध जल, काँचो दुध र घिउले स्नान गरी गहुँ, दुबो, धानको लावा, दही र चाैलानी (चामल पखालेको पानी) ले पूजा गरिन्छ । यस दिन कपासको सर्प बनाएर पुजा गर्ने चलन पनि छ । त्यस्तै घरवरिपरि कतै सर्पको प्वाल देखिएमा त्यहाँ दुध, दुबो, गहुँ र चौलानी राखिदिने र पूजासमेत गर्ने गरिन्छ । यस दिन अरु सबै नाग र सर्पलगायात कालो रंगको नागको विशेष पूजा गरिने परम्परा पनि विद्यमान छ ।

नागको पूजा गर्नाले सर्पको भय बाट मुक्ति पाइने विश्वास गरिन्छ । नाग मन्त्रको उच्चारण मात्र गर्दा पनि मानिसले सर्पको टोकाइ सहनु पर्दैन भन्ने अामविश्वास रहेको र सर्पहरू घरवरपर आउँदैनन भन्ने मान्यता रही अाएको छ । श्रावण महिना गर्मी र वर्षातको महिना हो । यस अवधिमा गर्मी र पानीबाट जोगिन सर्पहरू अाफ्नो वासस्थान त्यागी बाहिर निस्कने गर्दछन् । हिंडडुल गर्दा र घरवरपर बाहिरभित्र गर्दा सर्पको डर हुन्छ । सर्पको भय हुने भएकाले नागपञ्चमीमा यसको पूजा गरी शान्त तुल्याउने प्रयास गरिएको प्रसङ्गबाट यस पर्वलार्इ मनाउन थालिएको हुनुपर्दछ । पाैराणिक कथनअनुसार भगवान् श्री कृष्णले श्रावण शुक्ल पञ्चमीका दिन अाततायी कालीय नागमाथि विजय प्राप्त गरेर त्यस नागलाई शान्त गरेको हुँदा प्रत्येक वर्ष यो पर्व मनाइएको हो । उपत्यकामा अर्को एउटा किंवदन्ती पनि प्रचलित छ - उपत्यकामा पहिले एउटा दह थियो । त्यस दहको पानी बाहिर निकालेर मानिसले बसोबास गर्न योग्य तुल्याएपछि यो स्थान नगरका रूपमा विकसित भयो । मानिसले तलाउको पानी बगाएपछि त्यहाँका नागहरू रिसाए र उनीहरूलार्इ शान्त बनाउन उपत्यकामा ठाउँ ठाउँमा नागथान बनाइयो अनि पूजा गर्न थालियो । नागलाइ वर्षाको स्रोत मानिन्छ । नाग रिसाएमा पानी नपर्ने र पानी नपरे खेतीपाती हुन नसक्ने भन्ने जनधारणा रहीअाएकाले पनि नागको पूजा आवश्यक मानिन्छ । नागको पूजा गर्ने प्रचलन जसरी सुरु भएको भए पनि सर्प वातावरणको एउटा अभिन्न अङ्ग हो, प्रकृतिमा सर्पको छुट्टै स्थान छ, त्यसैले परम्परा र संस्कृतिको संरक्षण गर्दै वर्षमा एक पटक सर्पको पूजा हुनु सान्दर्भिक ठहरिन्छ ।

६) जनै पूर्णिमा र रक्षाबन्धन
प्रत्येक वर्षको श्रावण शुक्ल पक्षको पूर्णिमाका दिन नेपालका तागाधारी अथवा जनै लगाउने समुदायले ज्ञानको धागोका रूपमा नयाँ जनै फेर्ने चलन रहेको छ । अघिल्लो दिनदेखि नै चोखोनितो भई एकछाक भोजन गरी यस दिन बिहानै नदी, तीर्थस्थल वा तलाउमा गई महासङ्कल्पको उच्चारण गर्दै गार्इको गोबर, गहुँत, खरानी, माटो अादि शरीरमा दलेर स्नान गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) धारण गर्ने भएकाले यस दिनलाई जनै पूर्णिमा भनिएको हो । जनैमा रहने दुईवटा शिखाका छवटा धागो (डोरा) मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । कतिपय समुदायमा जनै पूर्णिमाका दिन ज्वाँइले ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि विद्यमान छ । त्यस्तै यस दिन ब्राम्हण तथा गुरुपुरोहितबाट अाफ्नो हातको नारीमा मन्त्रोच्चारणपूर्वक धागोलाई रक्षाबन्धनका रुपमा बाँध्न लगाउने चलनसमेत छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका र वामन अवतार विष्णुले राजाबलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोकमा कब्जा गरी देवताहरूलार्इ यथास्थानमा बहाली गरेको धार्मिक किंवदन्तीसँग यस पर्वको सम्बन्ध रहेको देखिन्छ । जनैपूर्णिमाका दिन बाँधिएको रक्षाबन्धनको धागो फुकालेर तिहारको गाईतिहारका दिन गाईलाई माला उनेर लगाईदिएमा पुण्यप्राप्ति हुन्छ भन्ने मान्यतासमेत रहेको पाइन्छ । यस दिन रक्षाबन्धन बाँधिदिने व्यक्तिको अभाव खट्किएमा कतिपय आफैं गुरुपुरोहितको घर वा मन्दिरमा गई नारीमा रक्षासूत्र बाँध्न लगाउँछन् ।

कश्यप, अत्रि, वशिष्ठ, भारद्वाज, गौतम, जमदग्नि र विश्वामित्रलार्इ सनातन संस्कृतिले सप्तर्षिको मान्यता प्रदान गरेको छ । यी सप्तर्षि र अरुन्धतीसमेतलार्इ तर्पण दिने दिनका रुपमा पनि यस पूर्णिमालार्इ मनाउने गरिन्छ । ऋषिहरूको अाराधना र तर्पण गरिने हुनाले यस पूर्णिमाको अर्को नाम ऋषितर्पणी पूर्णिमा हो । त्यस्तै नेपालकै तरार्इ क्षेत्रलगायत भारतमा यस दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायुष्य, सफलता, समुज्ज्वल भविष्य र उन्नतिप्रगतिको कामना गर्दै 'राखी' बाँध्ने चलन पनि  छ । जनै पूर्णिमाका दिन समग्र भारत र नेपालको तरार्इ क्षेत्रका घरघरका दिदी वा बहिनीले अाफ्नो सर्वतोभावेन हितैषी र स्नेहको प्रतीक मानेर दाजुभाइका नारीमा राखी बाँधिदिने गर्दछन् । उता काठमाडौ उपत्यकाका बाैद्धधर्मावलम्बी नेवार समुदायमा यस पर्वलाई 'गुँपुन्ही' भन्ने गरिन्छ । यस दिन ललितपुरको बुंगमतिको मच्छिन्द्रबहाल लगायत उपत्यकाका मठ मन्दिरहरूमा पुग्ने र दीप प्रज्ज्वलन (मतया) गर्ने संस्कृति छ । खासगरी नेवार समुदाय र अन्य समुदायमा पनि जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर टुसा उम्रने गरी चार दिन भिजाएर राखिन्छ र यस पूर्णिमाका दिन पकाएर झोल बनार्इ खाने गरिन्छ । गेडागुडीको एक किसिमको पोषिलो झोलिलो तरकारीको एउटा परिकारको नाम नै नेवारी भाषामा क्वाँटी हो । सिद्धार्थगौतमले यसै दिन काम शक्तिमाथि विजय प्राप्त गरेको भनी बौद्ध धर्मावलम्बीहरू गुम्बाहरुमा पुगी बुद्धको पुजासमेत गर्ने गर्दछन् । जनै पूर्णिमाका दिन काठमाडौको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गासागर तथा धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका तीर्थस्थलमा मेला लाग्ने गर्दछ ।

७) श्रावण महिना र सोमबार
श्रावण महिना भगवान शिवको प्रिय महिना हो । सक्नेले श्रावण महिनैभरि र नसक्नेले प्रत्येक सोमबार भगवान् शिवको व्रत लिनु, शिव मन्दिरमा गएर भगवानलाई यथोचित पूजा आराधनासहित जल चढाउनु पर्छ भन्ने मान्यता छ । पौराणिक युगमा देवता र दानव मिली समुद्र मन्थन गर्दा वासुकी नागलार्इ नेती (मोही पार्दा प्रयोग गरिने डोरी) का रूपमा प्रयोग गरिएको थियो । मन्थन कार्यमा नागको शरीरमा आघात परेकोले नागको मुखबाट हलाहल नामक विष उत्पन्न भई संसार दग्ध गर्न थाल्यो । देवताहरुको अनुरोधमा भगवान् महादेवले विषपान गरी घाँटीमा अड्याउनु भयो । विषको प्रभावले घाँटी जल्यो र नीलो भयो । त्यसपछि शिवजीको नाम नै नीलकण्ठ रहन गयो । विषको औडाहा शान्त पार्न महादेव शीतल ठाउँको खोजी गर्दै हिमालय पर्वततर्फ जानुभयो । त्यसपछि हिमालयमा पुगी त्रिशुलको प्रहार गरी जल उत्पन्न गराई, विशाल जलकुण्डको निर्माण गरी त्यसै जलकुण्डमा डुबुल्की मारी आफ्नो शरीर डुबाएर बस्नु भयो भन्ने पाैराणिक मान्यता छ । त्यसरी पानीभित्र शिवजी बस्नुभएको ठाउँलाई अहिले गोसाइकुण्ड भन्ने गरिन्छ र यो हिजोअाज नेपालको वागमती अञ्चलको रसुवा जिल्लामा पर्दछ । जनकल्याण र लोकरक्षाका लागि हलाहल विष धारण गरेका शिवजीको विषको डाहालाई शान्त पार्ने उद्देश्यले भक्तजनले श्रावण महिनाभर शिवजीलाई जलार्पण गर्ने, रुद्राभिषेक गर्ने कार्य गरेका हुन् भन्ने मान्यता छ ।

'सोमबारे व्रतम् कार्यम् श्रावणे वै यथा विधि' भन्ने शास्त्रीय भनाइमा उल्लेखभएअनुसार श्रावणको सोमबार सबेरै विधिपूर्वक स्नान गरी शुद्ध वस्त्र धारण गरी अनुकूल मिल्ने शिवमन्दिरमा पुगी पुण्य नदीहरुबाट ल्याइएको शुद्ध जल चढाई उपलब्ध भएसम्मका उपचार विधिअनुसार शिवको पूजा गर्ने गरिन्छ । यसरी श्रावण महिनाको सोमबारका दिन व्रत लिर्इ मनोकाङ्क्षा पूर्ण होस् भन्ने चाहना हुनेहरूले श्रावण महिनाभरि भगवान् शिवको श्रद्धापूर्वक भक्तिभाव प्रकट गर्नु, विभिन्न पुराण र धर्मग्रन्थमा उल्लेख भएका शिवप्रसङ्गको महिमा गाउनु, कथा प्रवचन सुन्नु, सात्विक व्यवहार गर्नु, ब्रह्मचर्यको पालना गर्नु र बेलुका केवल एक छाकमात्र शुद्ध भोजन गर्नु अनिवार्य मानिएको पाइन्छ । बैदिक सनातन धर्मावलम्वीहरुले नित्य कर्मकै रुपमा विधिविधानपूर्वक साउन महिनामा पर्ने सोमवारको व्रत गर्नुपर्दछ ।

No comments:

Post a Comment