Thursday, July 20, 2017

एकादशी : पौराणिक दृष्टि र मान्यता

- मधुसूदन भट्टराई
उप– प्रा.
विश्वविद्यालय विद्यापिठ
बेलझुण्डी दाङ्ग
विषयप्रवेश :
हिन्दूधर्मालम्वीहरुका लागि पूर्वीय वाङ्मय मेरुदण्ड हो । वैदिककालदेखि निरन्तर सृजित भएका शास्त्रहरु हाम्रो समाजका नीतिनियम हुन् । जसलाई आज सनातन परम्परा भनिन्छ । पूर्वीय शास्त्रमा धर्मका मात्र कुरा छैनन् । प्राचीन कालमा हाम्रो समाजमा नीतिनियम थिएन । यदि थिए त तिनै शास्त्र र तिनले व्यक्त गरेका आचरणहरु । जसलाई आजको एक्कासौं शताव्दीका जनसमुदायले केवल धर्मका रुपमा मात्र बुझ्ने गर्दछन् । पूर्वीय वाङ्मयमा ज्ञान, विज्ञान, कला, ज्योतिष, व्याकरण, दर्शन, जस्ता विविध पक्षको विवेचना भएको छ । आजका सम्पूर्ण शास्त्रकोउपजीव्य ग्रन्थ भनेका वेद, उपनिषद्, सूक्त पुराण, रामायण महाभारत आदि हुन् । वेदवाट पुराणसम्म आइपुग्दा सृष्टि रहस्यदेखि जीवन र जगतलाई आवश्यक हुने सबैपक्षको विवेचना भएको पाइन्छ । वेदलाई अपौरुषेय मानिन्छ । पुराण निर्माणको श्रेय वेदव्यासमा अन्तनिर्हित छ । पुराणले मानव जीवनका सबै पक्षको सृष्टि गरेको छ । पुराणमा प्रतिपादित भएका विषयहरु निश्चित नियममा आवद्ध छन् । पुराणमा लेखिएका सबै आवश्यक पक्षहरु सूर्यमान र चन्द्रमानमा आधारित छन् । सूर्य र चन्द्रलाई आधार मानेर तिथि, नक्षत्र, योग आदिको निर्माण गरिएको छ । ज्योतिष शास्त्र अनुसार तिथिलाई पाँच किसिमले वर्गीकरण गरिएको पाइन्छ । नन्दा, जया, भद्रा, रिक्ता र पूर्णा । समष्टि तिथिका संख्या १५ पाइन्छन्। यिनका आ– आफ्ना महिमा छन् । पुराणमा वर्णन भएका देवीदेवताका उद्देश्यलाई हेर्दा सबै तिथिको आफ्नो ठाउंमा महत्वपूर्ण भूमिका र वैशिष्ट्य रहेको छ । तिथिमा जेष्ठ एकादशीलाई मानिन्छ । एकादशी वर्षमा चौविस पर्दछन् । प्रारम्भमा आषाढ शुक्लपक्षको एकादशी पर्दछ । जसलाई हरिशयनी एकादशी पनि भनिन्छ । यो एकादशी वाञ्छित फल प्राप्त गर्न र पापादि कर्मको नाश गर्नको लागि महत्वपूर्ण मानिन्छ । यसैलाई आधार बनाएर एकादशीको महत्व र वास्तविकतालाई निम्न रुपमा स्पष्ट पार्ने प्रयास गरिएको छ ।

पौराणिक आधार :
वेद अपौरुषेय ग्रन्थ हो । वेदको कठिनतालाई व्याख्या गर्न पुराण जन्मियो । पुराण मानवजीवनका आवश्यक पक्षको विवेचना गर्न सृजना भयो । पुराणमा वेदका सम्पूर्ण ऋचाहरुको अर्थ र मानव जीवनका सभ्यता, संस्कृति, रीति , स्थिति र नीतिनियमको निर्माण भएको छ । आजको मानवसमुदायको जीवनशैलीको खोज र अनुसन्धान गर्न पुराणकै सहयोग लिनुपर्छ । मानव जीवन तिथि मिति र कालमा परिवेष्टित छ । हुँनत पुराण अतिरिक्त अन्य व्याकरण, दर्शन, साहित्य, कला, दर्शन जस्ता शास्त्र पनिदेखिन्छन् । ती सबैको आधार पुराण नै हो । तिथिको वैशिष्ठ्यताको पहिचान गर्दा धर्मशास्त्र , ज्योतिष आदि ग्रन्थमा आफ्नै ढाँचा पाइन्छ परन्तु सवै शास्त्रको वास्तविक आधार भनेको पुराण नै हो किनकि एकादशी तिथिको महिमा र यथार्थलाई पहिल्याउन खोज्दा वेद नभएर पुराणकै सहयोग लिनपर्ने हुन्छ । अतः एकादशी महिमाको आधार पुराणमै अन्तनिर्हित रहेको पाइन्छ ।

एकादशी कथा :
सत्ययुगको प्रसङ्ग हो । मत्स्यपुराणमा अर्जुनले एकादशीका विषयमा प्रश्न गर्छन् र प्रत्युत्तरमा कृष्णले प्राचीन इतिहासको कथा उल्लेख गर्दछन् । एउटा ‘मुर’ नाम गरेको दैत्य थियो । उसले निरन्तर देवताहरुलाई भय र त्राश दिएर आतङ्कित बनाइरहन्थ्यो । उसले स्वर्गाधिपति इन्द्रलाई पदच्यूत गरेर स्वर्गंवाट निकालिदियो र स्वर्गमा अर्को इन्द्र वनायो । साथै सूर्य, वसु, ब्रह्मा, वायु र अग्नि पनि नयाँ वनायो । यस्तोपरिस्थितिमा प्रतापी मुर नामक दैत्यवाट सवै देवता पराजित भए । सबै देवता र इन्द्र शंकर समीप गए र निवेदन गरे । शंकरले इन्द्रसंग पृथ्वीका सम्पूर्ण प्राणीको पालनकर्ता गरुडध्वज जगन्नाथ हुनुहुन्छ उही गएर सम्पूर्ण समस्या वताऊ भनी निर्देश गरे । इन्द्रसहित सबै देवताहरु विष्णुसमीप गए । विष्णु त्यस वखत सुतिरहेका थिए । विष्णु जलमा सुतेका थिए । जलमा सुतेका जगन्नाथ इन्द्रसहितका देवताहरुले लामो समय सम्म स्तुती गरे । स्तुती पछि विष्णुले इन्द्रसंग त्यस्तो डरलाग्दो दैत्य को हो ? जसले देवताहरुलाई पराजित गर्यो । विष्णुको प्रश्नको जवाफमा इन्द्रले भने – ब्रह्माको वंशवाट उत्पन्न ‘तालजङ्घ’ नाम गरेको दैत्य थियो यसको मुर नाम गरेको पुत्र छ त्यो चन्द्रवती नाम गरेको नगरमा वस्दछ । त्यही नगरबाट सबैलाई पराजय गरी आफ्नो आधिपत्य वनाएको छ । अथवा पृथ्वी, अग्नि, वायु, ईश, चन्द्रमा आदि सबैलाई आफ्नो अनुकूल बनाएको छ । यस्तो कुरा सुनेपछि विष्णु क्रोधित भए र इन्द्रसंग भने – त्यो मुर नाम गरेको दैत्यलाई मैले मार्दछु । सबै इन्द्रादि देवता सहित विष्णु चन्द्रवती नाम गरेको नगरमा गए । इन्द्रादि देवता र दैत्यहरुको भीषण युद्ध भयो । देवताहरु पराजित भएर भाग्न थाले । देवताह्र भागेपछि मुर नाम गरेको सेनासंग विष्णुले लामो समयसम्म युद्ध गर्नु भयो परन्तु सबै दैत्य सेनालाई पराजित गर्न सकेनन् अन्तमा त्यहाबाट विष्णु भागे । मुरनामक दैत्य पछिपछि विष्णु अगिअगि हुंदै भाग्न थाले । भनिन्छ अस्त्र शस्त्र र वाहुयुद्ध गर्दा हजार वर्ष व्यतित भयो । विष्णुले मुरलाई पराजित गर्न सकेनन् । थाकेका विष्णु वाहिमती नाम गरेको वदरिकाश्रमको सुन्दर गुफामा प्रवेश गरी सुते । मुर नामक दैत्य पनि विष्णुको खोजी गर्दै त्यही स्थानमा पुग्यो । त्यहा पुगेर सुतेका विष्णुलाई देखेर नुर नामको दैत्यले विष्णुलाई मार्ने विचार गर्यो । दैत्यको योजनालाई विचार गरेर विष्णुले शास्त्रास्त्रले सुसञ्जित एक कन्याको उत्पत्ति गरे । ती कन्या र मुर नामक दैत्यको युद्ध भयो । अन्तमा थकित दैत्य कन्याद्धारा मारियो । दैत्य मरिसकेपछि विष्णु जागे । अगाडि कन्या उपस्थित भएको देखे र प्रश्न गरे । यो देवतालाई दुःख दिने दैत्यलाई कसले मार्यो र स्वयं मलाई पनि कसले रक्षा गर्यो भने । प्रत्युत्तरमा कन्याले मैले मारेकी हुँ भनिन् । तपाई सुतेको देखेपछि दानव मार्न उधत थियो परन्तु तपाईकै अंशको रुपमा मैलेजन्म लिएर यसलाई मारेकी हुँ भनिन । सबै देवगण र कन्याले विष्णुको स्तुती गरे । विष्णु स्तुती र उक्त कार्यवाट प्रसन्न भएर कन्यालाई वर माग भने । कन्याले एकचित वा जितेन्द्रियको रुपमा रहेर एकादशीका दिन मेरो व्रतोपवास गरोस भन्ने वर मागिन । विष्णुले उक्त वर कन्यालाई दिए र कन्याको नाम पनि एकादशी नै भयो । विष्णु भन्दछन्– जसले दशमी दिन शुद्ध रुप रही एकादशी तिथिमा श्रद्धा र भक्तिपूर्वक उपवास गर्दछ त्यसले धर्म, अर्थ र मोक्ष फल प्राप्त गर्दछ यसमा कुनै सन्देह छैन भने । जसले तिम्रो र मेरो श्रद्धापूर्वक भक्ति गर्ला त्यो संधै हाम्रो समीपमा रहला भनी विष्णुले भने । यसैदिन पराशक्ति उत्पन्न भएको कारणले तिम्रो नाम एकादशी भयो भनी विष्णुले भने । एकादशीकोव्रत गरेर जसले हाम्रो पूजा गर्ला उसले अविनाशी पद प्राप्त गर्र्ला भनेर स्वयं विष्णुले एकादशी महिमा वताए । विष्णुले तृतीया, अष्टमी , नवमी र चतुर्दशी तिथि आफूलाई प्रिय भएको कुरा पनि बताए । एकादशी तिथिलाई अतीव प्रिय भएको र वाञ्छित फल प्राप्त गर्न सकिने कुरा विष्णुले व्यक्त गरेका छन् ।

एकादशीका प्रकार :
एकादशी मूलत: दुइ प्रकारका छन् । एउटा शुद्धा अर्को विद्धा । वेधका आधारमा पनि एकादशीलाई दुई किसिमले वर्गीकरण गरेको पाइन्छ । अरुणोदयवेध र दशमीको योगवाट अरुणोदयवेध । यी नै प्रमुख भेद हुन्, ग्रन्थभेदले गर्दा अन्य भेद पनि पाइन्छन् । परन्तु ती सबै शुद्धा र विद्धामा नै आधारित छन् ।

पौराणिक मत र भिन्नता :
 एकादशी व्रतको निर्णय विभिन्न पुराणले गरेका छन् सबै पुराणको एउटै मत पाइदैन । प्रत्येकमा भिन्न– भिन्न मत पाइन्छ उपलव्ध सामग्री अनुसारको भिन्नता निम्न रहेको छ ।
(क) भविष्यपुराण :– अरुणोदयकालमा यदि दशमी छ भने त्यो विद्धा एकादशी हुन्छ । यसमा व्रत गरेमा पाप हु्रन्छ । अरुणोदयकाल दशमीयुक्त छ भने वैष्णवले व्रत गर्नु हुंदैन । एकादशीको अर्को दिन अथवा द्वादशी तिथिमा कला मात्र पनि एकादशी छैन भने गृहस्थीले व्रत गर्न मिल्दछ ।
(ख) व्रह्मवैवर्तपुराण :– अरुणोदयकाललाई चार भागमा विभाजन गरिएको छ । वेध, अतिवेध, महावेधर, तुरीयवेध यिनी वेधमा व्रत गरेमा दोष हुन्छ ।
(ग) स्कन्दपुराण :– शुक्ल र कृष्णपक्षका एकादशी समान छन् । यिनलाई समानरुपमा मान्नेलाई वैष्णव भनिन्छ । हर्ष र विपत्ति दुवैमा व्रत गर्नुपर्दछ । द्वादशी तिथिको प्रातः कालमा एकादशी छ भने पनि वैष्णवहरुले व्रत वस्नुपर्दछ ।
(घ) मदनरत्न :– लक्षणले रहित स्मार्तहरुको एकादशी हुन्छ । वैष्णव एकादशीको विद्धाका चार भेद छन् – मात्राधिका, द्वादशीमात्राधिका, उभयाधिका र अनुभयाधिका ।
(ङ) वायुपुराण :– उपवासको समयमा दूध, दही, फल खान मिल्दछ ।

व्रतको अधिकारी
आठवर्षदेखि असी वर्षको उमेरसम्म उपवास बस्न मिल्दछ । कर्म नचलेको वा जनैधारण नगरेकोलाई भने वञ्चित गरिएको छ । तर जनैको संस्कार नभएका समुदायका लागि भने आठ वर्षदेखि गर्न मिल्दछ । जो कोहीले पनि व्रत गर्ने समयमा यो मन्त्र उच्चारण गर्न आवश्यक छ – “एकादश्यां निराहारो भूत्वाहमपरेडनि । भोक्ष्यामि पुण्डरीकाक्ष गतिभंव ममाच्युतु ।।” व्रतालुले दशमीका दिन एक छाक मात्र खानु पर्छ, मासु खान हुंदैन । मैथुनमा संलग्न हुनु हुंदैन । एकादशीका दिन यदि पितृ श्राद्ध छ भने पिण्ड सुंधेर व्रत वस्त सकिन्छ । जुन कुरा वराहपुराणमा उल्लेख गरिएको छ ।

व्रत समाप्ति :
एकादशीको उपवास समाप्त भएपछि वा द्वादशीका दिन स्नानादि कार्य सकेर विष्णुको विधि विधानुसार पूजा गर्नुपर्दछ । सकेमा पारायण (पाठ) गर्नुपर्दछ । संभव नभएमा कात्यायन ऋषिले वताए अनुसारको यो मन्त्र पढ्नु पर्दछ – “अज्ञानतिमिरान्धस्य व्रतेनानेन केशव । प्रसीद सुमुखोनाथ ज्ञानदृष्टि भव ।।” विष्णुकोपूजा गरेपछि व्राहाण भोजन गराई अन्नार्जन गर्न सकिन्छ ।

फल :
जुन मानिसले एकादशीका दिन भक्तिपूर्वक भगवान् विष्णुको स्मरणमा जितेन्द्रिय भएर उपवास (व्रत) गर्छ उसको कोटीगतकल्प सम्म विष्णुलोकमा स्थान पाउँछ भनी एकादशीलाई आर्शीवाद दिएका छन् । एकादशीका दिन व्रत वसेर यदि रात्रिमा भोजन गर्छ भने त्यसले धर्म, धन र मोक्ष प्राप्त गर्दछ । एकादशीको र विष्णुको जो भक्त छ ऊ तीनै लोकमा प्रसिद्ध हुनेछ र हाम्रो निकटमा सदावास गर्ने छ भनी विष्णु स्वयंले भनेका छन् किन भने एकादशी अथवा ‘मुर’ नामक दैत्यको मृत्यु भएको दिन पराशक्ति उत्पन्न भएको दिन हो त्यसैले यो एकादशी अरु एकादशीका तुलनामा विशेष रहेको छ । जसलाई हरिशयनी एकादशी भनिन्छ । जुन असार महिनाको शुक्लपक्षमा पर्दछ । ‘मुर’ नामक दैत्यलाई मारेको दिन एकादशी तिथि नाम राखेका थिए । त्यसैले विष्णुले नै उत्तम तिथि एकादशीलाई वताएका छन् । विष्णुले भनेका छन् “जसले एकादशीका दिन व्रत वसेर मलाई पूजा गर्ला ऊ सम्पूर्ण पापबाट मुक्त भएर अविनाशी पद प्राप्त गर्ने छ । ” विष्णुका लागि तृतीया, अष्टमी, नवमी, चतुर्दशी प्रिय छन् । विशेष एकादशी तिथी अतिव प्रिय रहेको छ त्यसैले सम्पूर्ण तीर्थ, दान र व्रत भन्दा एकादशी अधिक पुण्यदायक छ यसलाई स्वयं विष्णुले सत्य हो भनेका छन् । यस दिन व्रत गरेमा शत्रु नाश हुने , सम्पूर्ण विघ्न हट्ने र सिद्धि प्राप्त हुने कुरा पुराणमा उल्लेख छ । विष्णुको धर्म, गीताको अर्थ र एकादशीको व्रत अतीव पुण्यदायक हुन भनी मत्स्यपुराणमा उल्लेख गरिएको छ ।

निष्कर्ष :
वेद र पुराणादि ग्रन्थले सम्पूर्ण जगत र प्राणीको सृष्टिक्रमादि रहस्यलाई उल्लेख गरेका छन् । सृष्टिप्रक्रियावाट सम्पूर्ण जगत क्रियाशील वन्दै आएको हो । यसैवाट विभिन्न शास्त्रहरु जन्मे । आफ्ना– आफ्ना अनुकूलका व्याख्या विश्लेषण हुँदै आए । कतै कल्पनाको आधिक्यता भयो र सत्य पक्ष लुक्यो । कतै सत्यको आधिक्यता भयो र कल्पनाको अंशसम्म भेटिएन । सत्यका प्रशंसक र अनुयायीहरु भक्तिभाव देखाउंदै गए र सत्यलाई आफूमै केन्द्रीत गरे । कल्पनाका प्रशंसकहरुले कल्पनाको व्याख्या विश्लेषण र दार्शनिकता प्रकट गर्दै आए । यसरी पूर्वीय शास्त्र परम्परा जटिल वन्दै गयो र निर्विवाद वन्न सकेन । विभिन्न आलोचकहरु जन्मे । आलोचकहरुले कठिन वाटोलाई छोडेर सरल बाटो अवलम्वन गर्दै आए । जसरी व्याख्या विश्लेषण गरेतापनि पूर्वीय शास्त्रका नीति नियमहरु सामाजिकस्तरमा जरो गाडेर बस्यो । यी सबै सृष्टिक्रमदेखि आजसम्म सत्यताकै परिधिभित्र रहंदै आएको छ । पूर्वीय शास्त्रले काल, तिथि, मिति , ग्रहको निर्धारण गर्यो । तिनी सबैका उत्पत्ति र महिमागान गर्यो । मानवलाई सोही अनुकूल आचरण गर्न निर्देश गर्यो त्यसकै उदाहरण स्वरुप एकादशी तिथिको महिमा रहेको छ । युग परिवर्तनशील छ समय एकनाशले व्यतित भइरहेको छ । युगलाई पौराणिक आधारमा विभाजन गरिएको छ त्यो नै सत्य हो । त्यसैले प्रकृति भनिन्छ, प्रकृति अविजेय छ प्रकृतिको रुपमा एकादशी तिथि सिर्जित छ यसमा वर्णित कुरा पुराणसंग सम्वन्धित छन् जसरी सूर्य र सूर्यवाट उत्पन्न हुने ताप मानवका लागि सत्य हो भने एकादशी र विष्णु पनि सत्य नै हो भन्ने तथ्य वेद र पुराणले उल्लेख गरेका छन् ।



सन्दर्भ ग्रन्थ :
१.श्रीमद्भागवत महापुराण – वेदव्यासप्रणीत– द्वितीय खण्ड– प्र.गीताप्रेस गोरखपुर सं.२०५७
२. श्रीवराहपुराण– वेदव्यासप्रणीत प्र.गीताप्रेस गोरखपुर सं. २०६५
३. महाभारत(शान्ति पर्व) – वेदव्यासप्रणीत प्र.गीताप्रेस गोरखपुर स. २०५५
श्रीमद्वाल्मीकीय रामायण – वाल्मीकिप्रणीत प्र.गीताप्रेस गोरखपुर सं.२०५८
५. काशीखण्ड(स्कन्दपुराण) – व्यासप्रणीत प्र. सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसी, २०४९ वैक्रमाब्द, १९१४ तमे शकाब्द
६. पुराण विमर्श – आचार्य वलदेव उपाध्याय – प्र.चौखम्वा विद्याभवन वाराणसी र सं. १९८७
७.अनुसन्धानप्रकाश – प्रा.हरिप्रसादशर्मा आचार्य:, प्रा. स्थानेश्वरगौतम:, प्र.म.सं.वि. वि.सं.२०४२

८. व्रतार्क – महेशदत्त त्रिपाठी

No comments:

Post a Comment