Saturday, July 22, 2017

औंसीको रात : गर्नुपर्ने काम .........

पञ्चाङ्ग भन्नाले तिथि, नक्षत्र, बार, योग र करणको समुच्चय हो । यो ज्योतिषीय कालगणनाको अाधारभूत अङ्ग हो र ज्योतिषमा सूर्य एवं चन्द्रमालार्इ मुख्य देवताका रूपमा स्थापना गरिएको छ । वास्तवमा यी दुबै खगोलीय पिण्ड प्रत्यक्ष देवता पनि हुन् । दिवाकालमा सूर्य र रात्रीकालमा चन्द्रमाको उपस्थितिमा यावत् सांसारिक कर्महरू सम्पादन हुन्छन् । त्यसैले हाम्रा मनमस्तिष्क र कर्मका साक्षी यी दुबै ग्रहपिण्डहरू नै हुन् भन्दा अत्युक्ति हुँदैन । पञ्चाङ्गबमोजिम प्रत्येक महिनाका ३० वटा दिनलार्इ चन्द्रकलाका अाधारमा १५/१५ दिनका दुर्इवटा पक्षमा विभाजन गरिएको हुन्छ - शुक्ल पक्ष र कृष्ण पक्ष । शुक्ल पक्षको अन्तिम दिनलार्इ पूर्णिमा र कृष्ण पक्षको अन्तिम दिनलार्इ अमावस्या तिथि भन्ने गरिन्छ । तिथि भनेको सूर्य र चन्द्रमाको दूरीको लेखाजोखा हो । सूर्य र चन्द्रमाको प्रत्येक १२ डिग्रीको दूरीलार्इ एउटा तिथिको समय मानिन्छ, जस्तै ० देखि १२ डिग्रीसम्म प्रतिपदा, २४ डिग्रीसम्म द्वितीया, त्यसरी नै तृतीया, चतुर्थी अादि तिथिको समय निर्धारण हुन्छ । पृथ्वीमा बसेर सूर्य र चन्द्रमाको परिभ्रमण पथको अवलोकन गर्दा सूर्य र चन्द्रमाको १८० डिग्रीको दूरीमा पूर्णचन्द्र अर्थात् पूर्णिमा तिथिको समाप्तिकाल हुन्छ र सूर्य र चन्द्रमाको रेखा एकै ठाउँमा अाइपुगेको बेला अमावस्या तिथिको समाप्तिकाल हुन्छ ।  त्यसैले अन्य तिथिका तुलनामा सनातन हिन्दू धर्ममा अाैंसी र पूर्णिमाको विशिष्ट स्थान छ ।

अन्य तिथिहरूमा देवताहरूको उपासना गर्ने गरिन्छ, तर अाैंसीमा पितृहरूको उपासना हुने गर्दछ । शास्त्रले यस तिथिका देवता पितृदेवलार्इ मानेको छ, अतः सनातन संस्कारमा यस दिन अाअाफ्ना पितृहरूको प्रसन्नताका निमित्त श्राद्ध, दान, ब्राह्मणभोजन अादि गर्ने प्रचलन छ । त्यस बाहेक अाफूले गर्ने एकोद्दिष्ट (मृतपितृको छिन्ने तिथिमा गरिने) श्राद्धमा कुनै कारणले विघ्न भएमा वा मृतपितृको तिथिमा निश्चितता नभएमा त्यसै महिनाको अाैंसी वा त्यसपछि अाउने कुनै अाैंसीका  दिन विधिवत श्राद्धादि सम्पन्न गर्ने विधान पनि छ । त्यसैले अमावस्यामा प्रत्येक व्यक्तिले अाअाफ्ना पितृहरूको सम्झना गर्ने गर्दछन् र श्रद्धाभाव व्यक्त गर्दै श्राद्ध, तर्पण र दानादि गर्ने गर्दछन् । पितृहरूको सम्झना गरिने भएकाले यस दिनलार्इ निशि बार्ने दिन भनिएको हो । निशि निशा शब्दको अपभ्रंश रूप हो । निशा शब्दको अर्थ रातको समय हुन्छ । त्यसैले पितृअधिकार पाएका व्यक्तिले अाैंसीका दिन बेलुकाको छाक बार्ने भएकाले यस दिनलार्इ निशि बार्ने भनिएको हो । अपराह्न काल पितृपूजा वा श्राद्धको समय हो । त्यसैले जुन दिन अपराह्नकालमा अाैंसी तिथि पर्दछ, त्यस दिन बेलुका नियमित खानपान नगरी हविष्यान्न (चोखो खान्की) खार्इ निशि बार्ने काम हुन्छ । समग्रमा पितृहरूको तृप्तिका निमित्त अाैंसी तिथिको अत्यधिक महत्त्व छ ।

ज्योतिषशास्त्रको सिद्धान्तअनुसार एउटा साैर वर्षमा उत्तरायण र शुक्ल पक्षमा देवात्माहरू तथा दक्षिणायन र कृष्ण पक्षमा दुष्टात्माहरू सक्रिय हुन्छन् । देवात्मा निष्क्रिय भएको समयमा दुष्टात्मा र दानवी प्रवृत्ति हाबी हुने गर्दछ । दुष्टात्मा र दानवी प्रवृत्ति भएको वेलामा मानव जीवन र मनमा पनि अशुभ भावना, कुबुद्धि र अलच्छिन सल्बलाउन थाल्दछ । त्यसैले प्रेरणा, अात्मबल, उत्साह र ऊर्जा प्राप्त होस् भन्ने उद्देश्यले कृष्णपक्ष र दक्षिणायनका समयमा व्यक्तिविशेषको मनमस्तिष्क धर्ममार्गमा मोड्नका निमित्त शुभकर्ममा जोड दिइएको हो । अाैंसी कृष्णपक्षको सबैभन्दा धेरै प्रभाव रहने दिन हो, अतः अाैंसीका दिन सकेसम्म सात्विक भाव ग्रहण गरी चोखोनीतो र शुद्धाचरण गर्न अनिवार्य मानिएको हो ।

दुष्टात्मा सक्रिय हुने विशेष दिन भएकाले अमा‍वस्याका दिन भूतप्रेत, पितृ, पिशाच, निशाचर, जीवजन्तु र दैत्यहरू अत्यधिक सक्रिय र उन्मुक्त रहने गर्दछन् भन्ने मान्यता पनि छ । यस दिनको प्रकृतिपक्ष मानव हीतविपरीत हुने भएकाले व्यक्तिले अाफैं सावधान हुनु पर्दछ भन्ने ठानिन्छ । टुनामुना, जादु, धामी, झाँक्री अादिको साधनाकाे समय पनि अाैंसी वा पूर्णिमा नै हुने गर्दछ । प्रेतको शारीरिक संरचनामा २५ प्रतिशत फिजिकल एटम र ७५ प्रतिशत ईथरिक एटम हुन्छ, त्यस्तै पितृहरूको शारीरिक संरचनामा २५ प्रतिशत ईथरिक एटम र ७५ प्रतिशत एस्ट्रल एटम हुन्छ । ईथरिक एटमको सघनता भएको वेला प्रेतको र एस्ट्रल एटम सघन  भएको अवसरमा पितृको फोटो (छायाचित्र) खिच्न सकिन्छ भन्ने मान्यतासमेत छ ।

अाैंसीका दिन चन्द्रमा देखिंदैन । मनको कारक मान्ने गरिएकाले व्यक्तिको मनमस्तिष्कमा चन्द्रमाको प्रत्यक्ष प्रभाव हुन्छ । त्यसैले जुन व्यक्ति भावुक हुन्छ, तिनमा तिथिको उतारचढाव र सूर्य तथा चन्द्रमाको गतिस्थितिको अनुभूति छिटो हुन्छ । मानसिक रोगीमा देखिने उतारचढावमा यो प्रभाव अत्यधिक रहेको देखिन्छ । त्यसैले गाउँघरमा 'अाैंसी पूर्णे लागेछ' भनी उखानको प्रयोग नै गर्ने चलन पनि छ । भावनाका दृष्टिकोणले किशोर अवस्थाको उमेरमा जोसुकै बढी संवेदनशील हुन्छन् । त्यस्तै पुरुषका तुलनामा स्त्रीहरू बढी भावुक र संवेदनशील हुन्छन् । जुन वेला चन्द्रमाका कलाहरू घट्दै र क्षीण हुँदै गएका हुन्छन्, मनोसंवेगमा त्यसको प्रभाव बढ्दै जान्छ र  अाैंसी तथा अासपासको समयमा हाम्रो मनमस्तिष्क र शरीरमा बढी हलचल हुने गर्दछ ।

माैसम विज्ञानमा पनि सूर्य र चन्द्रमा मिलन र दूरीको प्रत्यक्ष प्रभाव हुन्छ । सामान्यतया अाैंसी र पूर्णिमाका दिन समुद्रमा ज्वारभाटा अाउँछ । एकाएक समुद्रको सतह माथि उक्लिन्छ । वायुले समुद्रको जलको शोषण र दोहन शीघ्रगतिमा गर्नसक्ने वातावरण बन्छ । त्यस्तै सूर्य र चन्द्रमाको कोणीय सम्बन्ध बनेका दिनहरू अर्थात् दुबै पक्षका अष्टमीका दिन पनि सानो ज्वारभाटाको उत्पत्ति हुन्छ । त्यसैले अाैंसी वा पूर्णिमाका अासपासमा वर्षा र बादलको सङ्केत गर्ने प्रचलन छ ।


अाैंसीका दिन के के गर्नु हुँदैन :- 

१) अमावस्याको दिन पितृको प्रसन्नताका लागि छुट्याइएको दिन हो । त्यसैले यस दिन तिहारको लक्ष्मीपूजा बाहेक कुनै किसिमको माङ्गलिक कर्म गर्नु हुँदैन ।

२) यस दिन दाम्पत्यसुख र पारिवारिक सम्मृद्धिका लागि गरिने उपवास, दान, धर्म र परोपकारी काम गर्ने प्रचलन छ, त्यसैले यस दिन नाचगान, पार्टी, उत्सव, डेटिङ, भ्रमण, रमाइलो वा मैथुन गर्नुहुँदैन । यस दिन मैथुन गरेमा पति वा पत्नीमा मानसिक रोगको उच्च सम्भावना हुन्छ । त्यसैले अाैंसी वा यसको अासपासमा ठहरिएको गर्भबाट स्वस्थ शिशु जन्मने सम्भावना हुँदैन, त्यस्तै अाैंसी र यसको अघिल्लो दिन वा पछिल्लो दिन जन्मिएको जातकलार्इ ज्योतिषशास्त्रले राम्रो मान्दैन ।

३) यस दिन तामसी वस्तुको प्रयोग वा सेवन गर्नु हुँदैन, त्यस्तै जाँडरक्सी अादि नसालु चिजबिजको संसर्गमा रहुनु हुँदैन । यी वस्तुको सेवन गरेमा तत्काल हुने दुष्परिणामबाहेक भविष्य दीर्घरोगी बनाउने र परिवारसुखबाट वञ्चित बनाउने खतरा हुन्छ ।

४) अमावस्याको वैज्ञानिक पक्षलार्इ नै विचार गर्ने हो भने अाैंसीका दिनमात्र होइन कृष्ण पक्षको चतुर्दशी र शुक्लपक्षको प्रतिपदाका दिन पनि मन, वचन र शरीरले पवित्र र शुद्ध हुने प्रयास गर्नु वाञ्छनीय मानिन्छ ।

अाैंसीका दिन गर्नै पर्ने कामहरू :-

१) यस दिनको दानको ठूलो महिमा छ, योग्य व्यक्तिलार्इ गरेको दानले इहलोकमा सुखसम्मृद्धि दिनुका साथै पितृलोकमा रहेका अाफ्ना मृतपितृहरू प्रसन्न हुने गर्दछन् ।

२) अाैंसीका दिन गार्इको दुधमा खिर पकाएर गरिबगुरुबा र दिनदुःखीलार्इ दान गर्नाले पारिवारिक सुखशान्ति, दाम्पत्य कलहको अन्त्य र धनसम्पत्तिको अभिबृद्धि हुन्छ ।

३)  अमावस्याको दिन पिण्डदान र तर्पण गर्नाले पितृहरू सन्तुष्ट रहन्छन् र कुलदेवता प्रसन्न हुनुका साथै वंश र सन्ततिको सर्वतोमुखी बृद्धि हुन्छ ।

५) यस दिन वस्त्र (कपडा) दान गर्नाले शान्ति र सन्तुष्टि प्राप्त हुन्छ ।

६) अाैंसीका दिन ब्राह्मण भोजन गराउनाले सुख प्राप्त हुन्छ ।

७) यस दिन पवित्र नदीमा स्नान गर्नाले सम्पूर्ण पापहरू नष्ट हुनुका साथै शरीरमा रहेका रोगादिमा न्यूनीकरण हुन्छ । शरीर निरोगी हुन्छ ।

८) अाैंसीका दिन बेलुका सन्ध्याकालमा चारकुने दियोमा बत्ती बालेर घरको मूल दैलो अगाडिको बाटोमा राखिदिनाले लक्ष्मी प्रसन्न हुन्छिन्, पितृहरूको अाशीर्वाद प्राप्त हुन्छ र कुलदेवता सन्तुष्ट हुन्छन् । परिणामतः मनुष्यको भाग्यबल बढ्दै जान्छ र सुखसम्मृद्धि र धनवैभवको बृद्धि हुन्छ ।

No comments:

Post a Comment