Monday, July 24, 2017

अपरेशन : कालसर्प योगको

पछिल्लो समयमा कालसर्प योगको चर्चापरिचर्चा खुब राम्रोसित भएको पाइन्छ । कालसर्प योग भएका जातकहरूको जीवनचर्यामा केही साझा विशेषताहरू पनि प्राप्त भएको देखिन्छ, जसका कारण अाम मानिसहरू ए कालसर्प योगका कारण जीवन तनावग्रस्त पो भइहाल्छ कि भनी छिट्टै प्रभावित पनि भइहाल्छन् । कालसर्प योग भएका भनिएका जातकहरूमा देखिने साझा विशेषताहरू निम्नानुसार छन् भनी कतिपय ज्योतिषीले भनेको सुन्न पाइन्छ, जस्तै : -

१-     घरमा मानसिक असन्तुष्टि, चिडचिडेपना र कलहको वातावरण हुनु । 
२- धनागम र दैनिकी सञ्चालनका लागि व्यस्त जीवनचर्या कायम हुनु, कडा मिहिनेत र परिश्रम गरी धनार्जन गर्नुपर्ने र अाएको धन दैनिकी र व्यवहारिक समस्यामा तुरुन्त खर्च भइहाल्ने परिस्थिति सिर्जना भइरहनु ।
३-     परिवारका सदस्यहरू बढी महत्त्वाकाङ्क्षी हुनु, साैखिन जीवनचर्या कायम हुनु, एकै ठाउँमा भेला भएको बेला पनि काल्पनिक वा असम्भव कुराहरूमा तर्कवितर्क गरी रहनु, तर टाढा जाँदा वा दूरी बढ्दा एकअर्काप्रति प्रेमभाव प्रदर्शन गर्ने वा खोजीनीति गरी रहने । परिवारका सदस्यको उचित समयमा उचित काम वा उन्नतिप्रगति हुन नसक्नु (जस्तै विवाह, व्यवसायिक जीवन वा अन्य पेसा, रोजगारी, पठनपाठन अादिमा योग्यता, क्षमता वा वातावरण हुँदाहुँदै अाकस्मिक रूपमा बाधाविघ्न अाइलाग्नु)
४-     सबै व्यवहार ठिकठाक हुँदाहुँदै पनि अाकस्मिक र चिताउँदै नचिताएका कुनै अवाञ्छित घटना घट्नु र त्यस घटनाको जिम्मेबारीबोध अाफूलार्इ हुनु ।
५-     पेसा, व्यवसाय, नोकरी वा बन्दव्यापारमा अचानक मन्दी अाउनु ।
६-    हुनै लागेका काम बन्न नसक्नु, कडा मिहिनेत र परिश्रमका साथमा काम सम्पन्न भए पनि विना अवरोध काम हुन नसक्नु । त्यसरी काम सम्पन्न गर्दा यस्ता बाधाविघ्न उपस्थित हुन पुग्छन् जुन कुरो उसले सम्झिएको पनि हुँदैन ।
७-     घरपरिवारका सदस्य एकअापसमा विना उद्देश्य झगडामात्र गर्दछन्, वंश वा विशेष गरी छोरो नजन्मनु, वा उसको उन्नतिप्रगति अनेकानेक बाधाअवरोध सिर्जना हुनु ।
८-     घरमा सुखको अनुभूति नहुनु, शून्यताको महसुस हुनु, परिवारका कुनै न कुनै सदस्यलार्इ कुनै न कुनै रोगको प्रकोप रही रहनु, गाइवस्तु वा पशुपन्छी अचानक मर्नु, रुखविरुवा अचानक सुक्नु ।
९-     अाफ्नो क्षमता वा योग्यताबमोजिमको काम नपाउनु, अाफूभन्दा कम योग्यताको नजिकैको कुनै नातेदारले विनामिहिनेत र परिश्रम निकै धनार्जन गर्नु वा उन्नतिप्रगति हुनु, तर अाफ्नो नभएकाले चिन्ताग्रस्त रहनु ।
१०- प्रेमप्रसङ्गमा विफल हुनु, वैवाहिक जीवनमा किचलो अाइरहनु, सन्तानहरू अस्वस्थ भइरहनु ।

माथिका विवरणलार्इ मनन गर्ने हो भने तपार्इंको कालसर्प योग भए पनि वा नभए पनि अामजीवनमा जीवनसङ्घर्षको प्रारम्भिक कालमा सबैले भोग्ने पीडा हो भन्दा फरक पर्दैन । तर यिनै विषयवस्तुलार्इ फलादेशको अाधार बनार्इ कतिपय ज्योतिषी र धर्मगुरुले कालसर्प योगलाई राम्रो कमाइ खाने भाँडो बनाएको पनि देखिन्छ । कुण्डलीमा भएका शुभ वा अशुभ योगहरूको ज्ञान नभएका वा ज्ञान भए पनि तिनको वास्ता नगरी केवल कालसर्प योगको मात्र चर्चा गरी कसरी जातकबाट अलि बढी धन वा रकमकलम हात पार्ने भन्ने ध्याउन्नमा हुन्छन्, ज्योतिषी र पण्डितहरू । त्यसैले कालसर्प योग यी प्रसङ्ग वा विषयको कारक योग होइन । बरु कालसर्प योग हुने जातकहरूमा केही छुट्टै विशेषता पाउन सकिन्छ, ती हुन् :-

१-    कालसर्प योग भएका जातकका अाममानिसको भन्दा फरक र छुट्टै प्रतिभा हुन्छ । 
२-  यस योगको मानिस निरन्तर मिहिनेत र परिश्रम गरी सामाजिक वर्चस्व स्थापना गर्न लागिपर्दछ।
३-  बाल्यावस्थामा उच्च प्रतिभा हुन्छ, तर किशोरावस्थादेखि नै उसको लगाव अध्ययनमा मात्र सीमित नभर्इ सामाजिकता र रचनात्मकतातर्फ अाकर्षित हुने हुँदा अध्ययनको स्तरमा गिरावट अाउन सक्छ ।
४-  यस योगमा जन्म लिने जातकमा उत्ताउलोपन हुँदैन, तर अाफ्नोपन र भावुकता हुन्छ ।
५-  धनसम्पत्तिको हकमा मध्यम वर्गको सामाजिक जीवन धान्नसक्ने सम्पत्ति र योग्यता हासिल गर्दछ ।
६-  प्रायः पुत्रसन्तानप्रतिको मोह हुँदैन । तर पतिपत्नी दुबै कालसर्प योग वा राहुको अधिकारभित्रका रहेछन् भने राम्रो अार्थिक हैसियत बनाउन सफल भएका पनि देखिन्छन् र छोरो पनि हुन्छ ।
७-  स्वावलम्बी र दक्ष हुने भएकाले यिनीहरू जेजस्तो कर्ममा पनि उपयुक्त हुन्छन्।
८- घरपरिवारको पारम्परिक कर्तव्य र सुखसुविधा जुटाउने सजगता देखिन्छ, तर विवाह वा सम्बन्धका लागि निर्धारित अनुशासनलार्इ पालना गर्दैनन् ।
९-  परिस्थितिअनुरूप अाफ्नो कार्यक्षेत्र र स्थान फेरिरहन्छन् । यिनीहरू अस्थिर मतिका भएकाले कार्यक्षेत्रलार्इ महत्त्व दिए असफल पनि हुँदैनन् ।

१०- प्रेमजीवनमा निष्ठावान् हुन्छन् । चोरबुद्धि र चतुर्याइँको कमी हुन्छ । सामाजिक स्थान उच्च बनाउने प्रयत्न पनि गर्दछन् र अन्त्यसम्ममा सफल पनि हुन्छन् । त्यसैले कतिपय सन्तमहन्त, राजनेता र सामाजिक अभियन्ताको कुण्डलीमा कालसर्प योग भएको देखिन्छ ।


के हो त काल सर्प योग?
जसरी कुनै व्यक्तिको आफ्नो नाम अरुको जस्तै राम्रै हुन्छ भन्ने हुँदैन, जस्तै हाम्रै समुदायमा रावण, दुर्योधन, यमराज आदि शास्त्र र समाजमा खल चरित्र मानिएका नाम जस्तै नाम भएका मानिसहरू पनि छन्, त्यस्तै कालसर्प केवल एउटा योगको नाममात्र हो अर्थात् योगलाई परिचय गराउने शब्द हो। राहु ग्रहको पर्यायवाची शब्द सर्प र केतु ग्रहको पर्यायवाची शब्द यमराज (काल) हो । ती दुई आकाशमा भौतिक पिण्ड नभएका छायाजस्ता धब्बा मात्र हुन्। त्यस्तो छाया हामीले पृथ्वीबाट देख्नसकिने ठूला ग्रहपिण्डहरू सूर्य र चन्द्रमाको परिभ्रमणपथको मिलनबिन्दुबाट उत्पन्न हुन्छ। साना र ठूला दुईवटा वृत्तलाई एकै ठाउँमा खप्टँदा जसरी दुईवटा वृत्तका परिधीय रेखा (धर्सा) मिलन हुने दुईवटा बिन्दु भेटिन्छन्। त्यस्तै यी राहु र केतु नामका बिन्दु पनि आकाशका दुईवटा विपरीत ठाउँमा हुन्छन् र यी दुईवटा छाया ग्रहको उपस्थिति ६ वटा राशिको फरकमा अर्थात् १८० डिग्रीको दूरीमा हुन्छ। कालसर्प योगको सिर्जना यिनै राहु र केतु बिन्दुका माझमा सूर्य, चन्द्रमा, मङ्गल, बुध, बृहस्पति, शुक्र र शनि ग्रहहरू भएको अवस्थामा हुन्छ। राहु र केतुको घेरा बाहिर एउटासम्म ग्रह परेको अवस्था छ भने त्यसलाई 'आंशिक कालसर्प योग' मान्ने चलन छ। कालसर्प योगले सबैलाई र सबै स्थितिमा अशुभ प्रभाव वा अनिष्ट फलमात्र प्रदान गर्ने गर्दैन।

त्यसैले कालसर्पको हचुवाका भरमा निर्क्याैल गरी असफलता, निराशा, अवरोध वा विघ्नको कारक कालसर्प योग नै हो भनी ठोकुवा गरी शान्तिप्रक्रियामा संलग्न गराउनु राम्रो होइन । वास्तवमा कालसर्प योग शास्त्रमा पहिले देखि नै चर्चा गरिएको योग होइन । खासगरी रेडियो, टिभीमा ज्योतिषीय चर्चापरिचर्चाका कार्यक्रम सञ्चालन हुन थालेपछि यस योगका बारेमा ज्योतिषी र आमजनताको चासो बढेको देखिन्छ । यस योगको सिर्जना राहु र केतु ग्रहको अवस्थितिका आधारमा हुने गर्छ र यसको शान्तिप्रक्रिया एवं फलादेशमा राहु र केतुलाई नै विशेष महत्त्व दिने गरिन्छ । यस आलेखमा नजिकिंदै गरेको नागपञ्चमी पर्व र सामूहिक वा व्यक्तिगत रूपमा आयोजना गरिने कालसर्प योगको शान्तिकर्मलाई ध्यानमा राखी यस योगको सैद्धान्तिक पक्ष र आम व्यवहारमा देखिएका केही महत्त्वपूर्ण पाटोलाई उजागर गर्ने प्रयास गरिएको छ ।

जसरी मन्दिरमा भोग र अस्पतालमा रोगको महत्व हुन्छ, त्यसरी नै ज्योतिषमा योगको महत्व हुन्छ । ज्योतिषमा राम्रा र नराम्रा गरी ४०३५ वटा योग हरू छन् त्यसमध्ये ६३ प्रतिशत राम्रा योग हुन्छन् भने ३७ प्रतिशत नराम्रा योग हुन्छन् । ती मध्ये एउटा योगको नाम हो, कालसर्प योग । कालसर्प योग समग्रमा नराम्रो हुँदैन, यस योगका जातकहरू महापुरुषदेखि सर्वसाधारण जीवन यापन गर्ने मनुष्य बन्न वा हुन सक्दछन्

कालसर्प योगको गणितीय पक्ष
सामान्य अर्थमा कालको अर्थ मृत्यु हो । शास्त्रमा सर्पलाई कालको पर्यायका रूपमा लिइएको पाइन्छ । काल स्वयं उत्पन्न भएको र यसलाई कसैले सृष्टि नगरेको पनि बताइन्छ । आदि, मध्य, अन्त्य र विनाशबाट रहित मानिन्छ काललाई । मनुष्यलगायत सम्पूर्ण चराचर प्राणिको मृत्यु कालका अधीनमा छ । काल सधैं गतिशील रहन्छ । यो कहिल्यै कसैका लागि पर्खँदैन । यसैले प्राणिलाई मृत्युका सम्मुख पुर्याउँछ । सर्पलाई पनि कालकै अङ्ग मानिएको छ । कालसर्प योग सम्भवतः समयको आन्तरिक गतिसँग जोडिएको त्यस्तो परिस्थिति हो, जसले व्यक्तिविशेषलाई मानसिक रूपले संवेदनशील बनाउँदछ र जीवनमा कतिपय ऊहापोहसँग ऊ गाँसिन पुग्छ । हामीले व्यवहारमा मान्दै आएका नवग्रहहरूमध्ये आकाशमा हेर्दा निश्चित खगोलीय पिण्ड नभएका दुईवटा ग्रह छन् । ती वास्तवमा ग्रह नै होइनन् । ती चन्द्रमा र सूर्यको परिभ्रमण पथमा काटिएका दुईवटा विन्दु हुन् । चन्द्रमा र सूर्यको परिभ्रमण पथको मिलनविन्दुमा दुईवटा छायाका धब्बा देखिन्छन् । ती छायाहरू एकआपसमा १८० डिग्रीको दूरीमा हुने गर्दछन् । त्यसैले पूर्वीय दर्शनमा आधारित ज्योतिषशास्त्रले राहु र केतुलाई छायाग्रह भन्ने गरेको पाइन्छ, जबकि अङ्ग्रेजीमा यिनलाई नोड (Node) भन्ने गरिन्छ । नक्षत्रविज्ञानका अनुसार राहुको नक्षत्र भरणी र केतुको नक्षत्र अश्लेषा मानिदैं आएको छ भने नक्षत्रपतिको गणना गर्दा भरणीको देवता यमराज वा काल र अश्लेषाको देवता सर्प मानिएको छ । त्यसैले नक्षत्रका अधिदेवताका नाममा राहुलाई काल र केतुलाई सर्पका रूपमा उल्लेख गरेर राहु र केतुको संयुक्त नामका रूपमा यी दुईलाई काल र सर्प वा कालसर्प पनि भन्ने गरेको पाइन्छ । पूर्वीय ज्योतिषशास्त्रमा राहु र केतुको प्रभावमा जन्मलिने जातकलाई दुःखी, क्रूर, निर्धन र परान्नमा आश्रित हुन्छन् भनी बताइएको छ । सामान्यतया अश्विनी, आर्द्रा, मघा, स्वाती, मूल र शतभिषा नक्षत्रमा जन्मिएका जातकको जन्मकालको महादशा केतु वा राहु ग्रहको अधीनमा हुने गर्दछ । त्यस्तै केन्द्रवर्ती राहु वा केतु अथवा आठौं घरमा रहेको राहु र केतुलाई पनि अनिष्ट नै मान्ने चलन छ । यस सन्दर्भमा एउटा श्लोक उदाहरणीय छ
विषयाः क्रूराः निःस्वान्नित्यं दुःखार्तिदाः सुदीनाश्च ।
परभक्षपाननिरताः सर्पप्रभवाः भवन्ति नराः
अर्थात् सर्पयोगमा जन्म लिने व्यक्ति कुटिल, क्रूर, निर्धन, दीनदुःखी र परान्नमा निर्भर हुने गर्दछन् ।

योगका रूपमा कालसर्प योगको चर्चा ज्योतिषका आधिकारिक ग्रन्थहरूमा कतै पनि भेटिंदैन । हाम्रा गाउँघरका कहलिएका बुढापुराना ज्योतिषीहरूले यस योगको कुरा निकाल्दैन थिए । पुस्तक र पत्रपत्रिकाको प्रकाशनको बाढी आएपछि र रेडियो टेलिभीजनमा कार्यक्रम प्रसारण हुन थालेपछि यस योगको सिर्जना भएको भन्दा अत्युक्ति हुँदैन । हुन त राहु र केतुको फलप्रकरणका बारेका पुराना ग्रन्थमा पनि उल्लेख नभएको होइन, जस्तै राहुको आकार मुख र केतुको आकार पुच्छरका रूपमा विभाजित सर्पको जस्तो छ भनी कसैकसैले भनेका छन् भन्ने बराहमिहिरको लेखन विशेष स्मरणीय छ :­ मुखपुच्छविभक्ताङ्गं भुजङ्गमाकारमुपदिशन्त्यन्ये

त्यसैले कालसर्प योग भन्ने नाम नै किटान नगरे पनि प्रकारान्तरबाट बराहमिहिर, परासर, गर्ग आदिले राहु र केतुका विविध स्वरूप र फलप्रकरणका बारेमा चर्चा गरेको पाइन्छ । सारावली, मानसागरी, जातकतत्त्व, भृगुसूत्र लगायतका ज्योतिषीय ग्रन्थहरूमा कालसर्प योगको चर्चा त छैन तर राहु र केतुका विशेषता र फलादेशका बारेमा पर्याप्त चर्चा परिचर्चाहरू भएका छन् । हिजोआज कालसर्प योगको फल बताउने क्रममा मुख्यतः राहु ग्रहले पार्ने प्रभावको चर्चा गर्ने गर्दछन् । त्यसैले कालसर्प योग ज्योतिषशास्त्रको आधिकारिक योग होइन, यो राहु ग्रहले जन्मकुण्डलीमा प्राप्त गरेको विशेष बल मात्र हो । अतः कालसर्प योगको डर देखाउने र डर मान्ने दुबै पक्ष ढुक्क भए हुन्छ, यस योगका कारणले मात्र मानवले छुट्टै हण्डरठक्कर खाएर भौंतारिनु पर्दैन । हो, तपाईंको कुण्डलीमा अरु शुभकारक योगको कमी छ वा अशुभ योग बलवान् छन् भने तपाईंले केही गर्न सक्नुहुन्न, अझ कालसर्प योगको प्रभावसमेत छ भने तपाईंले डराउनु जायज नै हुनेछ ।

वैज्ञानिक विचार
आकाशमा राहु र केतुको कुनै पनि भौतिक पिण्ड नभएका कारणले ज्योतिषशास्त्रले यी दुबै ग्रहलाई छायाग्रह मान्ने गरेको छ । वैज्ञानिक मतमा खगोलीय वृत्तमा जुन ठाउँमा सूर्य र चन्द्रमाको परिभ्रमणपथको काल्पनिक रेखाको मिलन हुन्छ, त्यस बिन्दुविशेषलाई राहु र केतु नाम दिइएको हो । अङ्ग्रेजी भाषामा Node नाम भएका यी राहु र केतु बिन्दुहरू जहिल्यै पनि १८० डिग्रीको दूरीमा रहन्छन् । सूर्यादि सातवटा ग्रहको भ्रमणपथ प्रायशः घडीको सूइको विपरीत दिशा (Anti-clockwise) मा हुने गर्दछ, तर यी घडीको सुइ जसरी (Clockwise) घुम्ने गर्दछन् । सूर्यादि ग्रहहरू आआफ्ना भ्रमणपथमा भिन्नभिन्न गतिले भ्रमण गर्ने हुनाले पृथ्वीमा बसेर अवलोकन गर्नेहरूले सूर्यलगायतका सातवटा ग्रहहरू (राहु र केतुबाहेक) लाई एउटै अर्द्धवृत्तमा वा १८०˚ भित्र देख्ने परिस्थिति सिर्जना हुनुलाई दुर्लभ नै मानिन्छ । अझ छायाग्रहका रूपमा मानिएका दुई विन्दुहरू राहु र केतुको बीचमा माथि उल्लेखित सातै ग्रहहरू एकत्रित हुनु त झनै दुर्लभ हुन्छ । यही राहु र केतुको बीचमा सबै ग्रहहरू रहेको देखिने दुर्लभ परिस्थिति ­विशेषलाई नै वास्तवमा कालसर्प योग भन्ने गरिन्छ ।

तपाईंको चिनामा सबै ग्रहलाई तपाईंको जन्मसमय, जन्मस्थान र त्यस समयको ग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्द्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्द्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु(छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो । अर्को शब्दमा जब तपाइको चिनामा भएका सबै ग्रहहरू राहु र केतु को बीचमा हुन्छन् अनि निर्माण हुन्छ - काल सर्प योग । मूलत: राहु-केतु भौतिक ग्रह नभएर आध्यात्मिक ग्रह हुन् । अत: यी दुबै ग्रहका सम्बन्धमा विशेष अध्ययन गर्नु नितान्त आवश्यक छ । वास्तवमा राहु र केतु दुबै ग्रहको हाम्रो कर्मगत फलसँग अति गहिरो सम्बन्ध छ । यी ग्रह जीवनका सूक्ष्मतम बिन्दुसँग असाध्यै नजिक छन् । यी दुबैको सोझो सम्बन्ध हाम्रो चेतनासित छ । त्यसैले राहु र केतु यी दुईवटै ग्रह आफ्नो प्रभाव देखाउन शीघ्रता गर्दछन् ।

भलै आफ्नो पद, गरिमा र व्यक्तित्व विकासका लागि कडा मिहिनेत, सङ्घर्ष र तपस्या गर्नु परेको होस्, तर सबै कालसर्प योग भएका मानिस असफल र निराश नै हुनु परेको छैन, उनीहरूले जेजसरी भए पनि आफूलाई वरिष्ठ तुल्याएरै छाडेको देखिन्छ । यहाँ कालसर्प योग परेका भनी मानिएका त्यस्ता केही व्यक्तित्वहरूको नामावली र कालसर्प योगको नाम लेखिएको छ, जसले आफ्नो जीवनलाई सार्थक र प्रेरणादायी बनाउने सफलता आर्जन गरेका छन् । कालसर्पयोग परेका ती चर्चित व्यक्तित्वहरू :-
        गौतमबुद्ध (आंशिक, पृष्ठोदय, धर्मप्रवर्तक)
        पृथ्वीनारायण शाह (आंशिक, मुखोदय, आधुनिक नेपालका प्रथम राजा)
        राजा प्रताप मल्ल (आंशिक, मुखोदय, कान्तिपुरका राजा)
        राजमाता योगमती (आंशिक, मुखोदय, ललितपुरकी शासक, राजमाता)
        बहादुर शाह (आंशिक, मुखोदय, नेपालका नायब, राजकुमार)
        चन्द्र शम्सेर (आंशिक, मुखोदय, नेपालका प्रधानमन्त्री)
        फत्येजङ्ग शाह (आंशिक, मुखोदय, नेपालका चौतरिया)
        पुष्पकमल दाहाल 'प्रचण्ड' (आंशिकमुखोदयनेपालका प्रधानमन्त्री)
        महात्मा गान्धी (आंशिक, पृष्ठोदय, भारतीय राष्ट्रपिता)
        डा. शङ्करदयाल शर्मा (आंशिक, मुखोदय, भारतीय राष्ट्रपति)
        अब्राहम लिङ्कन (पूर्ण, मुखोदय, अमेरीकी राष्ट्रपति)
        मुसोलिनी (पूर्ण, मुखोदय, इटालीका राष्ट्रपति)
        जवाहरलाल नेहरू (पूर्ण, पृष्ठोदय, भारतीय प्रधानमन्त्री)
        अटलबिहारी बाजपेयी (आंशिक, पृष्ठोदय, भारतीय प्रधानमन्त्री)
        राजीव गान्धी (आंशिक, पृष्ठोदय, भारतीय प्रधानमन्त्री)
        पी. वी. नरसिंह राव (आंशिक, मुखोदय, भारतीय प्रधानमन्त्री)
        टी. एन. शेषन (आंशिक, मुखोदय, भारतीय निर्वाचन आयुक्त)
        शत्रुघन सिन्हा (आंशिक, पृष्ठोदय, भारतीय सिने कलाकार)
        अनील कपुर (पूर्ण, पृष्ठोदय, भारतीय सिने कलाकार)
        मार्भन आटापट्टु (आंशिक, मुखोदय, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी(श्रीलङ्काली))
        लारा दत्ता (पूर्ण, मुखोदय, विख्यात विश्वसुन्दरी)

त्यसैले कालसर्प योग छ भनेर ङिस्रिक्क परेर निराश हुने काम छैन, कर्मप्रति इमान्दार भई लगनशील भएमा कालसर्प योग परेका मानिसहरूले पनि नाम, दाम, प्रतिष्ठा र इज्जत कमाएको देखिन्छ ।

कालसर्पयोगका आधारभूत पक्षहरू
राहु र केतुको बीचमा सबै ग्रहहरू फँसेर कालसर्प योगको सिर्जना हुन्छ । गणितीय विश्लेषण गर्ने हो भने संसारभरिका १२ भागका १ भाग मानिसहरू स्वतः कालसर्प योगमा जन्म लिन पुग्दछन् । तपाईंले कुनै वर्षको पात्रोको अध्ययन गर्नुभयो भने चाल पाउनु हुनेछ, वर्षभरिको कुनै न कुनै निश्चित अवधिभरि कालसर्प योगको सिर्जना हुन्छ । तर अहिले कर्मकाण्डी ज्योतिषीहरूले राहु र केतुको घेरामा सूर्यादि सातवटामध्ये छ वटा ग्रह रहेको र एउटासम्म ग्रह बाहिर बसेको अवस्थालाई समेत कालसर्प योग हो भनी व्याख्या गर्ने गरेको पाइन्छ । त्यसरी बनेको कालसर्प योगलाई आंशिक कालसर्प योग भन्ने गरिन्छ । अझ लग्नमा राहु वा केतु रहेको परिस्थितिलाई पनि कालसर्प योगकै अवस्था हो भनी शान्तिकर्म गराएको प्रसङ्ग पनि यदाकदा सुन्न र देख्न पाइन्छ । आठौं भावमा रहेको राहु वा केतुलाई पनि कालसर्प योगको प्रभाव हुने वर्णन गरेको पनि देखिन्छ । यी सबै कालसर्प योगको सम्भाव्यता अध्ययन गर्ने हो भने लगभग ४३ प्रतिशत मानिस कालसर्प योगको चपेटामा परेको देखिन्छ । त्यसो हुँदा कालसर्प योगका जातकले जान्नु र बुझ्नु पर्यो, मजस्तै योग भएका मानिस संसारमा ४३ प्रतिशत छन्, तिनको जे गति मेरो पनि त्यही गति त्यसैले मैलेमात्र किन दुःख पाउने ? अतः वास्तवमा कालसर्पयोगलाई ग्रहभ्रमणका क्रममा हुने एउटा गतिपरक योगका रूपमा लिई सोको समसामयिक विश्लेषण गरी उपचार गर्नु उचित हुन्छ ।

सामान्यतया देहायका अवस्थालाई मात्र कालसर्पयोग मान्नुपर्ने हुन्छ :-
सबै ग्रहहरू राहु र केतुको बीचमा एकापट्टिमात्र रहेको वा परेको हुनु पर्दछ । यसबारेमा भनिएको पनि छ ­-
अग्रे राहुरधः केतुः सर्वे मध्यगता ग्रहाः । योगोयं कालसर्पाख्यो शीघ्रं तं तु विनाशयेत् ॥
अथवा
अग्रे राहुः पृष्ठे केतुरन्तरस्थाः नवग्रहाः । कालसर्पो भवेद्योगो वंशनाशो भवेद् ध्रुवम् ॥

यदि सबै ग्रहहरू वा केही ग्रहहरू राहु वा केतुका साथमा रहेको भएमा पनि अंशात्मक रूपमा राहु र केतुको बीचमा सबै ग्रहहरू परेकै हुनुपर्दछ, सँगै बस्नासाथ सबै राहु र केतुको बीचमा छन् भन्ने हुँदैन ।
राहुबाट आठौंमा शनि परेमा पनि कालसर्पयोगको फल लागू हुन्छ ।
चन्द्रमाबाट आठौं राहु वा केतु परेमा पनि यस्तै फल प्राप्त हुन्छ ।
कुण्डलीमा राहु बलवान् छ, जस्तै लग्नमा, सातौं भावमा वा आठौं भावमा अरु कुनै ग्रहसँग युति बनाएर बसेको छ भने कालसर्प योगको फल लागू हुन्छ । कुण्डलीको कुनै भावमा राहु वा एक्लै उपस्थित छ भने त्यो निर्बल बन्न जान्छ, तर कुनै ग्रहसँग युति बनाएर संयुक्त रूपमा बसेको अवस्थामा छ भने राहु बलियो हुनपुग्छ र जुन ग्रहसँग टाँसिएको छ, त्यसको नैसर्गिक शुभ वा अशुभ फललाई उल्टो बनाएर प्रदान गर्दछ ।

कालसर्पयोगको फलका बारेमा चर्चा गर्दा, कुनै एउटा ग्रह राहु वा केतुको घेरा बाहिर परे पनि त्यसलाई आंशिक कालसर्पयोग भनेर व्याख्या गर्ने गरेको पाइन्छ । तर वास्तवमा त्यस्तो बाहिर परेको ग्रह बक्री अवस्थामा छैन र तपाईंको लग्नको मालिकको मित्र, अधिमित्र वा समभाव जनाउने ग्रह छ भने त्यस कालसर्प योगको नकारात्मक फल प्राप्त हुँदैन । यस किसिमको योग बनाएर बाहिर परेको ग्रहलाई पाश्चात्य ज्योतिषीहरू उपचारक वा बचाउने ग्रह (Saving Planet) भन्ने गर्दछन् ।

राहु र केतुको गति सदैव उल्टो देखिने हुनाले लग्नमा राहु भएको अवस्थामा सातौंमा केतु हुन्छ । यस अवस्थामा अन्य सबै ग्रह १२, ११, १०, ९ र ८ औं घरमा हुने परिस्थितिलाई वास्तविक कालसर्पयोग भनिन्छ र राहुको बाटोमा सबै ग्रह रहने हुनाले यही स्थितिलाई नै मुखोदय वा ग्रस्त कालसर्पयोग पनि भन्ने गरिन्छ । माथि बताइएको स्थितिमा सबै ग्रह दृश्यभागमा रहने हुनाले यसैलाई उदित गोलार्द्ध कालसर्पयोग पनि भन्ने प्रचलन छ । यसको ठीक विपरीत परिस्थितिलाई पृष्ठोदय कालसर्प योग, अस्तगत कालसर्प योग वा अनुदित गोलार्द्ध कालसर्प योग भन्ने गरिन्छ ।

कालसर्पयोगको गणना वा फलादेश गर्दा आधुनिक समयको अनुसन्धानबाट अस्तित्वमा आएका युरेनस, नेप्च्युन र प्लुटोलाई लिइएको हुँदैन ।

कालसर्प योगको प्रभाव
मुख्यत: जन्मकुण्डलीमा राहु र केतु नाम गरेका यी दुबै ग्रहको उपस्थितिका आधारमा आंशिक रूपमा जातकको आन्तरिक स्वभाव र रूचिको जानकारी लिन सकिन्छ । यी दुबै ग्रहको स्पष्ट व्याख्याबाट व्यक्तिले आफ्नो जीवनमा भविष्यमा आइपर्ने कठिनाइको पूर्वानुमान गरेर ती कष्टहरूबाट आफूलाई सुरक्षित राख्न सक्दछ । तर यी दुबै ग्रहको प्रभावका कारण जातक अन्तर्मुखी, मनोलोकमा विचरण गर्ने र अध्यात्मवादी बन्ने गरेको पनि देख्न पाइन्छ । केतु शब्दले ध्वजा अर्थ पनि प्रदान गर्दछ । तर यहाँ ध्वजा भनेको पताका वा झण्डा होइन, केतुलाई ध्वजा भन्नुको अर्थ हो - केतु परमात्माको शक्तिको मूर्त रूप हो । अतः केतुको प्रभाव र चेतनाबाट जातकले यस सृष्टिमा व्याप्त सर्वशक्तिमान्, सर्वव्यापी शक्तिको अनुभव गर्न सक्दछ । तपाईं कुण्डलीमा कालसर्प योग छ भन्ने बितिक्कै यसको चपेटामा फँसी हाल्नुहुन्न, तर तपाईंको कुण्डलीमा अन्य ग्रह बलवान् छैनन् र शुभकारक योगको कमी छ भने तपाईं अल्पायु, निर्धन र असफल हुने सम्भावना हुन्छ । यस्तो परिस्थितिमा तपाईंले जति सङ्घर्ष गरे पनि अनेकौं हण्डरठक्कर र निराशा हात पार्नुहुन्छ र पटकपटक मृत्युतुल्य कष्ट पनि व्यहोर्नु हुन्छ । अन्य योगको अभावमा वा कमजोरीले मात्र यस योगले प्राणिलाई किसिमकिसिमले दुःख र पीडा प्रदान गर्दछ, अनेकखाले कष्ट र तनाव भोग्नुपर्छ । त्यसैले कालसर्प योग आफैंमा गलत योग होइन, यो ज्योतिषशास्त्रको प्रामाणिक योग होइन, यसको उदय कर्मकाण्डीय मनोवृत्तिमा भएको हो र यो योग कुण्डलीका सामान्य सकारात्मक पक्ष र शुभ योगका कारण स्वतः नष्ट हुन्छ ।

तपाईंको जन्मकुण्डलीमा कालसर्प योग छ भनेर ठोकुवा गर्ने ज्योतिषीलाई मेरो कुण्डली यी शुभकारक स्थिति पनि छन् कि छैनन् भनेर प्रतिप्रश्न गर्नुस्, यदि तपाईंको कुण्डलीमा तीमध्ये कुनै एउटा मात्र कुरो रहेछ भने निश्चिन्त हुनुहोस् तपाईंको कालसर्प योगले तपाईंलाई उन्नति, प्रगति र व्यक्तित्व विकासमा कुनै किसिमको बाधा पुर्याउने छैन ।

सबै ग्रह सप्तमस्थानदेखि प्रथमस्थानसम्म रही शुभफलदायक छत्रयोग छ कि छैन ?
सबै ग्रह प्रथमस्थानदेखि सप्तमस्थानसम्म रही शुभफलदायक नौका योग छ कि छैन ?
सबै ग्रह चतुर्थस्थानदेखि दशमस्थानसम्म रही शुभफलदायक कुट योग छ कि छैन ?
सबै ग्रह दशमस्थानदेखि चतुर्थस्थानसम्म रही शुभफलदायक सर्प योग छ कि छैन ?
राहु ग्रह जन्मकुण्डलीको तेस्रो, छैटौं, दशम वा एघारौं भावमा उपस्थित छ कि छैन ?
राहु ग्रह बसेको राशि मिथुन, कन्या, मकर वा कुम्भ हो कि होइन ?
राहु र केतु ग्रह जन्मकुण्डलीको जुन भावमा बसेका भए पनि सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र वा शनि मध्ये कुनै ग्रह बसेको भन्दा भिन्न राशिमा बसेका छन् कि छैनन् ?
तपाईंको जन्मकुण्डलीमा सूर्य र बुध, चन्द्रमा र मङ्गल, चन्द्रमा र बृहस्पति ग्रहको युति (एउटै राशिको बसाइ) छ कि छैन?
आंशिक कालसर्प योग छ भने उक्त कालसर्प योगमा राहु र केतुको घेराभन्दा बाहिर बसेको ग्रह मार्गी र बलवान् छ कि छैन? र उक्त ग्रह लग्नको स्वामीको मित्र वा कारक हो कि होइन ?

माथिका प्रश्नमध्ये कुनै एउटामात्र प्रश्नको सकारात्मक हो वा छ भन्ने उत्तर आयो भने बुझ्नुस् तपाईंको कुण्डलीमा रहेको कालसर्प योगले केही पनि लछारपाटो लगाउँदैन । त्यस्तो अवस्थामा कर्ममा विश्वास गरी अघि बढ्नुस्, पक्का पनि विजयश्री तपाईंको पोल्टामा पर्नेछ ।

आमजीवनमा दाम्पत्यसुखको सकारात्मक र नकारात्मक प्रभावमा मङ्गल ग्रहसँगसँगै राहुको भूमिका पनि प्रबल भएको देखिन्छ । आन्तरिक मनोवृत्तिमा केतु ग्रहको अधिकार हुन्छ, त्यसैले लग्नमा राहु भएको कुण्डलीको सातौं भावमा केतु ग्रह बसेको हुन्छ । केतु ग्रह जुन भावमा बस्दछ, मानिसको मनोवृत्ति त्यसै कर्मप्रति लिप्त हुन्छ, जस्तै लग्नमा केतु बसेका व्यक्तिको मनोवृत्ति व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको महत्त्वाकाङ्क्षामा केन्द्रित हुन्छ । त्यस्तै दोस्रो भावको केतुले धनसङ्ग्रहप्रति, तेस्रोभावमा भए सामाजिक प्रतिष्ठा, चौथो भावको गृहसुखमा, पाँचौं भावको केतुले उच्च अध्ययनतर्फ मानिसलाई केन्द्रित बनाउँछ । त्यसरी नै सातौं भावको केतुले यौन क्रियाकलाप र प्रणयप्रसङ्गमा केन्द्रित बनाउँछ । त्यसैले पनि दाम्पत्यप्रसङ्गमा राहुको विशेष भूमिका हुन्छ । कालसर्प योगमा राहुको कारकत्व रहने भएकाले यस योगमा जन्मिने जातकमा दाम्पत्य जीवनसम्बद्ध छुट्टै वैशिष्ट्य देखिने गर्दछ ।त्यसबाहेक दाम्पत्यजीवन यौनमा मात्र आधारित सम्बन्ध होइन, समुन्नत, सम्मृद्ध र दीर्घजीवी सन्तानको आकाङ्क्षा प्रत्येक दम्पतीले राखेका हुन्छन् । केतु ग्रह सन्ततिसुखको कारक ग्रह मानिन्छ । तपाईंका सन्ततिको व्यक्तित्व विकास, सुस्वास्थ्य, दीर्घायु र सम्मृद्धिका लागि केतु ग्रह बलवान् हुनु आवश्यक मानिन्छ । त्यसैले कालसर्प योग भएका जातकको सन्ततिसुख खासगरी पुत्र सन्तानको अभाव भएको देखिन्छ । अतः तपाईंको कुण्डलीमा रहेको कालसर्प योगले कतै दाम्पत्य जीवनमा कठिनाइ उत्पन्न गर्छ कि वा सन्तानबाधा त गर्दैन भन्ने चिन्ता हुनु स्वाभाविक नै हो । त्यसैले तपाईंको जन्मकुण्डलीमा कालसर्प योग छ भने आफ्नो पति वा पत्नीको कुण्डलीमा पनि निम्न लक्षणहरू खोज्नुस्, यदि ती लक्षण छन् भने पनि त्यस कालसर्प योगले तपाईंको दाम्पत्य जीवन र सन्ततिपक्षमा कुनै नकारात्मक स्थिति सिर्जना गर्न सक्दैन ।

पति वा पत्नी मूल संज्ञक नक्षत्र (अश्विनी, अश्लेषा, मघा, ज्येष्ठा, मूल र रेवती नक्षत्र) र भरिणी नक्षत्रमा जन्म भएको छ भने
पति वा पत्नीको जन्मकुण्डलीमा स्पष्ट कालसर्प योग (आंशिक वा पूर्ण) छ भने
पति वा पत्नीको कुण्डलीमा राहु ग्रह केन्द्रवर्ती भएर बसेको छ भने वा राहु ग्रह आठौं भावमा बसेको छ भने
पति वा पत्नीको कुण्डलीको लग्न मिथुन, कन्या, मकर वा कुम्भ छ भने
पति वा पत्नीको सर्य योनि वा सर्प वर्ग छ भने


कालसर्प योगका किसिम
वास्तविक कालसर्प योग के हो ? र यसको मान्यता के कसरी प्रारम्भ भएको भन्ने विषयमा माथि नै चर्चा भइसकेको छ । कालसर्प योगको नाम दिए पनि वा राहुको विशेष अधिकार माने पनि यसका केही पक्षलाई मनन गर्नै पर्ने हुन्छ । त्यसैले अहिलेका आधुनिक भनौंदा ज्योतिषीहरूको विवेचनालाई उल्लेख गर्नु वाञ्छनीय नै मान्नु पर्दछ । सारांशमा राहु र केतुको घेरा बाहिर एउटासम्म ग्रह भएको अवस्थामा पनि व्यक्तिलाई व्यवहारमा आंशिक असर पर्न जाने पक्षलाई मध्यनजर राखी पूर्ण कालसर्पयोग र आंशिक कालसर्पयोग भनेर वर्गीकरण गर्ने जनधारणा रही आएको छ । यस आधारमा पूर्ण र आंशिक कालसर्पयोगका विविध भेद भनेर ३४५६ किसिमका कालसर्पयोगको अवधारणा आधुनिक ज्योतिषीहरूले अघि सारेका छन् । यस मान्यताअनुसार १२ भावगत र १२ राशिबाट १४४, उदित र अनुदित भेदले २८८ र ती हरेकमा एक­एक भावमा एक­एक ग्रह राहु र केतुको घेराबाहिर पर्दा बन्ने आंशिक योगको भेदसहित गणना गर्दा ३४५६ प्रकारका हुने देखिन्छ तर पनि निम्नलिखित १२ योगलाई विशेष महत्त्वपूर्ण मानिन्छ । ती हुन् :-

१) अनन्त - बाल्यावस्थामा चोटपटक, स्वास्थ्यकष्ट र दुःखद पारिवारिक स्थिति, तर युवा र प्रौढावस्थामा देशदेशान्तरको यात्रा, बेमेल वा अन्तर्जातीय विवाह
२) कुलिक - दुःखद आर्थिक स्थिति, वाक्युद्ध
३) वासुकी - उच्च आर्थिक र सामाजिक उन्नति
४) शंखपाल - प्रभावशाली व्यक्तित्व तर निराश दिनचर्या
५) पद्म - तेज दिमाग र धनलाभ तर सन्तानपीडा
६) महापद्म - तीक्ष्ण तार्किक र दिमागी क्षमता, धन, मान र प्रतिष्ठावृद्धि तर यदाकदा स्वास्थ्यबाधा
७) तक्षक - देशपरदेशको यात्रा र व्यापारमा वृद्धि, तर वैवाहिक कष्ट र दुर्घटना
८) कर्कोटक - स्थान परिवर्तन योग तर जेल र अङ्गभङ्गको पनि भय
९) शंखचूड - भाग्यवृद्धि तर धर्मनाश र आकस्मिक वैराग्ययोग
१०) घातक - कर्मवृद्धि र पदप्रतिष्ठा प्राप्ति तर पितृनाश
११) विषधर - सामाजिक सम्मान र धनवृद्धि तर पुत्रबाधा
१२) शेषनाग - दुःखद बाल्यावस्था, धनक्षय, जेलबन्धन र अङ्गभङ्गको भय, तर स्थाननाश एवं देशपरदेशको यात्रा


यसरी संलग्न विवरण हेर्दा सामान्यतया ३, , , १०, ११ औं स्थानमा राहु बसेर बनाएको कालसर्पयोगको फल सुखद र सकारात्मक हुने गरेको पाइएको छ । यी समस्त कालसर्प योगहरू मध्ये कर्कोटक, विषधर, घातक र शंखचूड सबैभन्दा बढी दुष्प्रभावी हुन्छन् । बाँकी कालसर्प योग त्यति हानिकारक हुँदैनन् । यी कालसर्प योग हुने जातकले राहु ग्रह अथवा नागको विशेष पूजापाठ, स्वस्तिशान्ति गराउनाले नकारात्मक पक्षबाट जोगिन सकिन्छ । माथि उल्लेख गरिए झैं कालसर्प योगको दोष नलाग्ने अवस्था नभएको खण्डमा यसको दोषले जसलाई आक्रान्त तुल्याएको हुन्छ, त्यो व्यक्ति प्रायशः अन्यौलमय परिस्थितिमा रहने गर्दछ, निर्णय क्षमतामा कमी आउँछ, अनि कुनै पनि काम पनि सही तरिकाले गर्न सक्दैन, सधैंजसो भयग्रस्त रहन्छ वा उद्दण्ड क्रियाकलापमा सक्रिय हुन्छ । यी बाह्रै किसिमका कालसर्प योगको सङ्क्षिप्त परिचय यस प्रकार छ :-


राहु लग्नमा र केतु सप्तमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा अनन्त नामक कालसर्प योगको रचना हुन्छ । यस कालसर्प योगको प्रभावले जातक धनवान्, बलवान्, बुद्विमान् र अध्यात्मवेत्ता हुने गर्दछ, साथै अतीव दृढ़ निश्चयी र साहसीसमेत हुन्छ । त्यस जातकले आफ्नो पुरुषार्थमा राम्रो सफलता प्राप्त गर्दछ । युवावस्थामा देशविदेशको भ्रमण गरी धन, मान र प्रतिष्ठा बृद्धि गर्दछ । तर त्यस व्यक्तिको पति वा पत्नीको स्वास्थ्यमा प्रायशः प्रतिकूलता देखिन्छ । उसको वैवाहिक जीवन पनि प्राय: कष्टप्रद हुन्छ । प्रौढावस्था सुरु हुनलाग्दा उसको सन्तान विशेषतः पुत्रसन्ततिसित सम्बन्ध अनुकुल हुँदैन । मानसिक अशान्ति र अस्थिरताको प्रवृत्तिले ग्रसित हुन्छ । दुष्टबुद्धि, मिथ्याभाषी र लम्पट हुन्छ । षडयन्त्रमा फँसिरहन्छ । अड्डाअदालतका कारण प्रशस्त हानि ब्यहोर्नु पर्ने हुन्छ । आफ्नो कार्यक्षमता बमोजिम वाञ्छित सफलता प्राप्ति हुँदैन । आफूले गरेको परिश्रमको फल पनि पराइले प्राप्त गर्दछन् । धर्म र ईश्वरप्रतिको विश्वास क्रमश: हटदै जान्छ । आफूलाई समाजमा स्थापित तुल्याउन असाध्यै मिहिनेत गर्नुपर्छ । बाल्यावस्था सन्तोषजनक हुँदैन । स्वास्थ्यसम्बद्ध विविध समस्या त ब्यहोर्नु नै पर्छ साथै उसको पारिवारिक स्थिति पनि दु:खद रहने गर्दछ ।

उपाय
प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप वा भगवान शिवमा श्रद्धाभक्ति र ॐ नम: शिवाय मन्त्रको प्रतिदिन जाप वा नागपञ्चमीका दिन प्रतिवर्ष व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागलाई दूध चढाउने वा राहु ग्रहको विशेष यन्त्र घरमा स्थापना गरेर त्यसका सामु बसी प्रतिदिन सर्प गायत्री मन्त्रको १०८ पटक जाप गर्ने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने । सूर्योदयपछि तामाको कुनै एउटा पात्रमा गहुँ र सक्खर(गुड़)मिश्रित अन्न झुसी हुनेगरी भरेर कम्तीमा सातवटा शनिबार बग्दो पानीको प्रवाहमा बिसर्जन गर्नुपर्दछ । अन्तिम शनिबारका दिन रुद्राभिषेक गरी उक्त भाँडो र कालो राडी(कम्बल) ब्राह्मण वा दीनदुःखीलाई दान गर्नुपर्दछ । प्रतिदिन एक माला ॐ नम: शिवाय यस मन्त्रको स्वयं आफैले वा ब्राह्मणद्वारा जप गर्नुपर्दछ । अथवा तामाको पत्रमा लेखिएको नाग यन्त्र वा राहु ग्रहको विशेष यन्त्र घरमा स्थापित गरी त्यसको नियमित पूजन गर्नुपर्दछ ।


राहु दोस्रो स्थानमा र केतु अष्टमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा कुलिक नामक कालसर्प योगको रचना हुन्छ । यस भावमा बसेर राहुले सदैव जातकलाई दहीचिउरे स्वभावको बनाइदिन्छ । अत्यधिक आत्मविश्वासका कारण अनेक प्रकारका मानसिक असन्तोष र तनावको सामना गर्नुपर्ने हुन्छ । आफ्ना प्रियजनको विरहव्यथा भोग्नुपर्छ । केतु आठौं भावमा रहेका कारण कतिपय जातक पायल्सका रोगी हुने गर्दछन् । तर आठौं घरको केतु मेष, वृष, मिथुन, कन्या र वृश्चिक राशीमा अवस्थित छ भने जातकसँग धनको कमी हुँदैन । यस्ता व्यक्तिले पुस्तान्तरबाट प्राप्त पुर्ख्यौली सम्पत्ति उपभोग गर्न पाउँछन् । जातकलाई प्रारम्भिक शिक्षादीक्षामा कठिनाइ हुन्छ । आँखा र मुखसित सम्गद्ध रोगले सताउँछ । जीवन र परिवार धान्न लिएको ऋणले गर्दा आर्थिक अवस्था दयनीय हुन पुग्छ । अन्य शुभयोगका बलले राम्रै सामाजिक र आर्थिक स्थिति भइहाले पनि ऊ मानसिक रूपले तनावग्रस्त रहने गर्छ । त्यो तनावको प्रभाव उसको व्यक्त्गित नातागोता माता-पिता, पत्नी, पुत्रादिमा स्पष्टत: देखिन्छ । उसले आफन्तलाई त्याग्न पनि सक्छ । दु:खद आर्थिक स्थिति त हुन्छ नै, उसले झगडा र मुद्दामामिला पनि खेप्नु पर्छ ।

उपाय
चाँदीको दाना बनाएर सेतो धागोमा बाँधेर हरहमेशा घाँटीमा धारण गर्नुपर्दछ । केसरीको तिलक लगाउने गर्दा पनि यस्ता जातकलाई शुभ नै हुन्छ । २१ वटा आइतबारसम्म कुनै गङ्गागामिनी ठूलो नदीमा आफ्नो श्रद्धानुसार काठका कोइला प्रवाहित गर्नुपर्दछ । भगवान श्रीकृष्णको पूजाआजा गर्ने वा राहु र केतुको मन्त्रलाई प्रतिदिन पाठ गर्ने तथा दुबै ग्रहको दानादि गर्ने वा आफ्नो लग्न-अनुकूल हुने गरी रत्न धारण गर्ने वा प्रतिवर्ष नागपञ्चमीका दिन व्रत गर्ने र पूजा लगाउने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


राहु तेस्रो स्थानमा र केतु नवमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा वासुकी नामक कालसर्प योगको रचना हुन्छ । यस्तो अवस्थामा जातकसँग धनदौलथ र वैभवको कुनै कमी हुँदैन । उसका अनुकूलमा सुख हुन्छ तथा मित्रशक्तिबाट पनि यथेष्ट सहयोग प्राप्त हुन्छ । पितासित अत्यन्त सुमधुर सम्बन्ध हुन्छ र पिताको आज्ञाकारी पुत्रका रूपमा उदाहरणीय हुन्छ । यस्ता व्यक्तिले धर्म र अध्यात्मका माध्यमले धनार्जन गर्दछन्, प्रसिद्धि प्राप्त गर्दछन् र देशदेशान्तरमा समेत यश प्राप्त गर्दछन् । तर यस्तो जातकको आफूभन्दा कान्छो भाइ जीवित रहँदैन वा जीवितै रहे पनि ती दुईको एकआपसमा ठूलो शत्रुता हुन्छ । आफ्ना परिवारजन र खासगरी भाइबहिनीसित सम्बद्ध समस्याले सताउने देखिन्छ । नजिकैका साथीभाइ र नातागोताले विश्वासघात गर्दछन् । साहस, धैर्य र पराक्रममा कमी आउनाले जीवन नैराश्यपूर्ण देखिन्छ । वैदेशिक यात्राको प्रबल योग हुन्छ, तर प्रवासमा अनेकानेक कष्ट ब्यहोर्नु पर्छ । कानुनी कागजात वा लेखापढीमा ध्यान नदिनाले हानि ब्यहोर्नु पर्छ । यी अनिष्टता देखिए पनि उसको आर्थिक र सामाजिक स्थिति उन्नत हुन्छ ।

उपाय
चामल, दाल र चना एउटा पात्रमा राखी कम्तीमा सातवटा बुधबार कुनै गङ्गागामिनी ठूलो नदीमा प्रवाहित गर्नुपर्दछ । घरको मुख्य द्वारमा भित्रबाहिर दुबैतिर स्वस्तिक वा गणेशजीको प्रतिमा टाँस्नुपर्छ । ७२ वटा बुधबारसम्म प्रत्येक बुधबारका दिन काला खाद्यपदार्थ र वस्तुहरू श्रद्धानुसार कालै वस्त्रमा बाँधेर राहुको मन्त्र जप गर्दै गरीब वा ब्राह्मणलाई दान गर्नुपर्छ । दान लिन कसैले नमानेमा त्यस पोकोलाई कुनै गङ्गागामिनी ठूलो नदीमा बगाइदिनु पर्छ । राहु, केतु र सङ्कटाको दशा वा अन्तर्दशामा महामृत्युञ्जय मन्त्रको नियमित जाप गर्नुपर्छ वा ब्राह्मणद्वारा गराउनु पर्छ । नागपञ्चमीका दिन प्रतिवर्ष व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागलाई दूध चढाउने वा मृत पितृहरूको यथोचित तीर्थश्राद्ध सम्पन्न गर्ने वा ११ दाना जटासहितका नरिवल शनिवारका दिन वा नागपञ्चमीका दिन कुनै गङ्गागामिनी ठूलो नदीमा बगाइदिने वा चराचुरुङ्गीलाई प्रतिदिन चारो दिने वा कुनै गङ्गागामिनी ठूलो नदीमा ११२५ ग्राम गँहु वा जौ बगाउने । राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


राहु चौथो स्थानमा र केतु दशमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा शङ्खपाल नामक कालसर्प योगको रचना हुन्छ । जातकको व्यक्त्तित्व प्रभावशाली हुन्छ, तर उसको दिनचर्या भने नैराश्यपूर्ण हुन्छ । आमाको ममता तथा स्नेहप्राप्तिमा कठिनाइ उत्पन्न हुन्छ । आमा जीवित नै रहेको अवस्थामा आमाका माध्यमबाट हानि ब्यहोर्नु पर्छ । उसले शिक्षाग्रहण गर्ने प्रसङ्गमा पनि प्रशस्त झमेला खेप्नु पर्छ । चलअचल सम्पत्तिबारेमा पनि कष्ट भोग्नुपर्छ । वाहन दुर्घटनाका प्रशस्त सम्भावनाहरू हुन्छन । जग्गाजमिनमा पनि किचोला भइरहन्छ । सामाजिक सेवाका प्रसङ्गमा विना कारण अपयशको भागी बन्नु पर्छ । कुनै कार्यारम्भ गर्नु अघि नै उसलाई अनावश्यक भ्रम र शङ्काले ग्रस्त बनाउँछ । अत: जातकको जीवन घोर निराशापूर्ण र सङ्घर्षमय भएर बित्छ । यस्तो कालसर्प योग हुने जातकले राहु उच्चगृहको र शुभराशीको भए समस्त सुखभोग गर्न सक्दछ एवं जातकको कुण्डलीमा शुक्र अनुकूल भएमा विवाहपछि कारोबार र धनधान्यमा वृद्धि प्राप्त हुन्छ । साथै यदि चन्द्रमा लग्नमा भए आर्थिक तनावको सामना गर्नुपर्दैन । यो योग हुने व्यक्तिले ४८ वर्षको उमेरमा बृहस्पतिग्रहको उत्तम फल प्राप्त गर्दछ । यद्यपि सफलताका निम्ति उसले विघ्नको सामना गर्नु पर्दछ । उता केतु दसौं घरमा मेष, वृष, कन्या र वृश्चिक राशिमा हुँदासमेत उत्तम फल प्राप्त हुन्छ एवं उसलाई शत्रुले प्रयत्न गरेर पनि हानि पुर्याउन सक्दैनन् । यस्ता व्यक्तिले राजनीतिमा उतारचढ़ाव हुँदाहुँदै राम्रो सफलता प्राप्त गर्दछन् । अनि यस्ता व्यक्तिले आफ्ना साथीभाईबाट नचाँहदा नचाँहदै पनि सहयोग प्राप्त गर्दछन् ।

उपाय
प्रत्येक आइतबार पहेंलो कपड़ामा गहूँ बाँधेर खाँचोको अनुभव भएका व्यक्तिलाई दान दिनुपर्दछ । आइतबारका दिन ४०० ग्राम धनिया कुनै गङ्गागामिनी ठूलो नदीमा प्रवाहित गर्नुपर्दछ । शिवलिङ्गको अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा चाँदीको सर्प बनाएर शिवजीलाई चढाउने वा राहु ग्रहको मन्त्र प्रतिदिन पाठ गर्ने वा धातुबाट निर्मित १०८ वटा राहुयन्त्र नागपञ्चमीका दिन कुनै गङ्गागामिनी ठूलो नदीमा बगाउने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


राहु पाँचौ घरमा र केतु एघारौं घरमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा पद्म नामक कालसर्प योगको रचना हुन्छ । जातकको दिमाग तेजिलो हुन्छ । तर उसले उच्चस्तरीय शिक्षा ग्रहण गर्न सक्दैन । प्रशस्त धनसम्पत्ति कमाउने योग पनि हुन्छ, यद्यपि त्यो धन शत्रुमार्फत नष्ट हुन्छ । सन्तानसुखमा पूर्णरूपमा बाधा हुन्छ, कि त सन्तान हुँदैनन वा पुत्रसन्तानको अभाव हुन्छ, अथवा भएका सन्तति रोगी, अपाङ्ग र बेकामे हुन्छन् । बुढ्यौली एकाकी र निरस भएर बित्छ । यस्ता व्यक्तिहरूलाई पाचनप्रणालीसम्बद्ध रोगको सम्भावना हुन्छ । पञ्चम भावको राहु तथा एघारौं भावको केतुले जातकलाई अध्यात्मपट्टि प्रेरित गर्दछ । उत्तम परिवार भएको, आर्थिक स्थिति मजबूत भएको तथा उत्तम गुण एवं भोगबाट युक्त हुन्छ । केतुले एघारौं घरमा सम्पूर्ण सिद्धि तथा सफलता प्राप्त गराउँदछ तर यस योगमा सन्तान पक्षमा थोरै कमजोरी रहन सक्दछ । साथै जातक आफ्ना दाजुभाइहरूका निम्ति प्रियकर नहुन सक्छ । २१ वा ४२ वर्षको उमेरमा जातकको पितालाई कष्टको सम्भावना रहन्छ । यिनीहरू सफल राजनितिज्ञ बन्नसक्छन् । यस्ता व्यक्तिहरूलाई उतारचढ़ाव त भैरहन्छ तर सफलता र राम्रो यश प्राप्त हुन्छ । धेरै जसो ठूला राजनितिज्ञहरूमा यो कालसर्प योग भएको देखिन्छ । पञ्चमभावलाई पूर्वजन्मसँग सम्बन्धित भाव पनि मान्ने गरेको पाइन्छ ।

उपाय
राती सुत्ने बेलामा सिरानेमुनि पाँचवटा मूला राखेर बिहानै भगवान् शिवको मन्दिरमा अर्पण गर्नुपर्दछ । सन्तान सुखको कामना हुनेले मूल दैलोको ठेलोलाई चाँदीको पत्रले मोड्नुपर्दछ । कुनै शुभ मुहूर्तमा एउटा आँखा भएको नरिवल आफ्नो शिरदेखि पैतालासम्म सातपल्ट आरती गरे झैं घुमाएर सातवटा बुधवारसम्म गङ्गा वा जमुना नदीमा अथवा गङ्गागामिनी नदीमा प्रवाहित गर्नुपर्दछ । ४० दिनसम्म पंक्षीलाई जौका दानाको चारो खुवाउनु पर्दछ । भगवान श्रीकृष्णको पूजाआजा गर्ने वा आफूभन्दा पाका उमेरका व्यक्तिलाई सम्मान र आदर भाव राख्ने वा ज्ञानप्राप्ति गर्ने सिलसिलामा आफूभन्दा कान्छै भएपनि उसबाट श्रद्धाभक्तिपूर्वक करबद्ध भई ग्रहण गनुपर्छ वा घरमा मुजुरको प्वाँख राख्ने वा प्रतिदिन सर्पसूक्तको जाप गर्ने । राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


राहु छैठौं घरमा र केतु बाह्रौं घरमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा महापद्म नामक कालसर्प योगको रचना हुन्छ । छैटौं स्थानको राहुले धेरै सहयोग गर्दछ र राम्रो फल प्रदान गर्दछ, यहाँसम्म कि मृत्युको मुखबाट पनि खोसेर ल्याउने काम राहुले गर्दछ । सम्पत्ति, वाहन, दीर्घायु, सर्वत्र विजय, साहस, बहादुरी आदि गुण राहुको प्रभावबाट प्राप्त हुन्छ । यस योगका जातक धर्म र अध्यामसँग जोडिएका हुन्छन् । बौद्धिक क्षमता तीब्र हुन्छ । सबै प्रकारको प्रतिस्पर्धामा राम्रो सफलता पाउँदछन् तथा दान, पुण्य र अरुको मदद गर्न आफ्नो सबै धनसम्पत्ति लुटिएको पनि थाहा पाउँदैनन् । तर जातक प्राय: रोग र ऋणबाट ग्रस्त हुन्छ । दुर्व्यसनी हुन्छ । आँखाको बिमारीले पनि सताउँछ । चारित्रिक दोष पनि देखिन्छ । माता वा मावलीपक्षमा कष्ट हुन्छ । व्यवसायमा हानि हुन्छ । यद्यपि उसले सबै समस्याहरू झेल्दै धन, मान र प्रतिष्ठा त कमाउँछ तर खराब स्वास्थ्य सहितको बुढ्यौलीले उनलाई जीवनलाई निराशामय बनाइदिन्छ । आफू कहिल्यै स्वस्थ रहन सक्दैन । अनेक किसिमका रोगले सताउँछ । जुवा, तास, सट्टापट्टा वा चिट्ठाको दुर्व्यसनले यस्ता व्यक्तिलाई बर्बाद तुल्याउन सक्छ ।

उपाय
यस्तो कालसर्पयोग हुने जातकका लागि गणेशजीको उपासना सर्वमङ्गलकारी मानिन्छ । शुक्ल पक्षको पहिलो शनिबारबाट थालनी गरी कम्तीमा १८ पटक शनिबारको व्रत लिनु पर्दछ । कालो वस्त्र धारण गरेर १८ माला राहु ग्रहको बीजमन्त्रको जाप गर्नुपर्दछ । तदनन्तर एउटा भाँडोमा दूर्वा र कुश मिश्रित पानी पिपलको जरामा चढाउनु पर्छ । गुलियो खाद्यपदार्थ जस्तै गुलियो सातु, रोटी, कुराउनी, भुजाको लड्डु, तिल र सक्खरको लड्डु आदिले हवन गर्नुपर्छ र यिनै सामाग्री जुटाएर गरिबगुरुबा वा ब्राह्मणलाई दान गर्नुपर्छ । घिउको दियो बालेर पिपलको रुखको फेदमा रातको समयमा राखिदिनु पर्छ । अन्य उपायहरूमा श्रीकृष्णको पूजाआजा गर्ने वा लगातार १६ वटा औंसीमा नजिकको तीर्थस्थलमा आफ्ना मृत पितृको मोक्षार्थ यथोचित श्राद्ध सम्पन्न गर्ने, १६ वटा पुर्याउन नसक्ने परिस्थिति भएमा एक पटक सोह्रश्राद्धको अवसर पारी बद्रीनाथधाममा श्राद्ध गरिदिने वा नागपञ्चमीका दिन प्रतिवर्ष व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागलाई दूध चढाउने वा शिवलिङ्गका अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा कुनै गङ्गागामिनी ठूलो नदीमा ११२५ ग्राम गँहु वा जौ बगाउने वा घरको मूल दैलोमा विधिपूर्वक प्राणप्रतिष्ठा गर्न लगाई स्वस्तिक यन्त्र झुन्ड्याउने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने । मङ्गलवार एवं शनिवारका दिन रामायणको सुन्दरकाण्डको १०८ पल्ट श्रद्धापूर्वक पाठ गर्ने ।


केतु लग्नमा र राहु सप्तमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा तक्षक नामक कालसर्प योगको रचना हुन्छ । यस योगमा जन्मने जातकका लागि लामो र टाढाको यात्रा प्राय: कष्टप्रद हुन्छ । साझेदार भई गरेको व्यापार व्यवसायमा हानि ब्यहोर्नु पर्छ । विश्वासी र भरपर्दो साथीले पनि एकाएक शत्रुवत् व्यवहार गर्न थाल्छ । उसको प्रगतिको मार्ग अवरुद्ध हुनपुग्छ । यद्यपि उसले सबै समस्याहरू झेल्दै यात्रा, व्यापार र व्यवसाय बढाउँछ तर जातकको वैवाहिक जीवन समस्यामूलक हुन्छ र उसमा वैराग्यका भावनाहरू सञ्चरण हुन थाल्छन् । जातकले उच्च सरकारी पदमा बसी काम गर्ने अवसर पनि प्राप्त गर्दछ । सुखी, परिश्रमी र धनी हुन्छ । पितालाई आदर, सम्मान र प्रेम गर्दछ साथै सहयोगी पनि हुन्छ । धनधान्य र सुखसम्पत्तिको कुनै कमी हुँदैन । यति हुँदाहुँदै जातकले आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने प्रवृत्ति सिर्जना हुन्छ । यस्ता मानिसले सङ्गत गुनाको फल पाउने भएकाले खराब र व्यभिचारीको सङ्गतमा फँसेमा यस कालसर्प योगका जातकको जीवन नराम्ररी बिग्रने सम्भावना हुन्छ । यदि जातकले खासगरी सामाजिक र परोपकारी काममा चित्त लगाएमा यी कुलक्षणहरू नदेखिन सक्छन् ।

उपाय
सातवटा आइतबारसम्म प्रत्येक आइतबार ११ वटा नरिवल कुनै गङ्गागामिनी ठूलो नदीमा प्रवाहित गर्नुपर्दछ । दिनहुँ हनुमान् चालिसाको ११ पल्ट पाठ गर्नुपर्दछ र हरेक शनिवारका दिन रातो कपडामा आठ मुट्ठी भिजेका चना तथा ११ वटा केरा अगाडि राखेर हनुमान चालिसाको १०८ पल्ट पाठ गर्नुपर्दछ र ती केरा बाँदरलाई खुवाउनुपर्छ र प्रत्येक मङ्गलवारका दिन हनुमान् मन्दिरमा बुनियाको लड्डूको भोग लगाएर हनुमानको प्रतिमामा चमेलीको तेल दलिदिनु पर्दछ । राहु ग्रहको विशेष यन्त्र घरमा स्थापना गरेर उक्त यन्त्रको सामुमा बसी प्रतिदिन सर्प गायत्री मन्त्रको १०८ पटक जाप गर्ने वा ११२५ ग्राम जौ वा धातुबाट निर्मित १०८ वटा राहुयन्त्र नागपञ्चमीका दिन कुनै गङ्गागामिनी ठूलो नदीमा बगाउने वा शिवलिङ्गका अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


केतु दोस्रो भावमा र राहु अष्टम भावमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए कर्कोटक नामक कालसर्प योगको निर्माण हुन्छ । यस योगमा जन्म लिने जातक उदारमना, समाजसेवी र धनवान् हुन्छ । तर वाणीमा संयमता हुँदैन । शिक्षामा समस्या आउँछ । परिवारमा कलह हुन्छ । सधैं निन्दाको पात्र बन्नुपर्छ । भाग्यले साथ दिदैन । नोकरी वा व्यवसायमा स्थिरता हुँदैन । घटुवा र असफलता भइरहन्छ । पैतृक सम्पत्ति र कुलको इज्जतमा पनि हानि पुग्छ । साथीहरूबाट छलप्रपञ्च र जालसाजी हुन्छ । अकस्मात् शस्त्रप्रहार वा विषपानद्वारा मृत्यु पनि हुनसक्छ । उसले दुर्गमस्थानमा बसाइँ सर्नुपर्ने वा सरुवा भई जानुपर्ने हुन्छ । राज्यपक्षबाट अनावश्यक दु:ख पाउने र बन्धनको स्थिति आउँछ । चोटपटकबाट अङ्गभङ्गको भय पनि हुन्छ ।

उपाय
चाँदीको चारकुने टुक्रो बनाएर हरहमेशा आफ्नो गोजीमा राख्नुपर्छ । शुभ मुहूर्तमा कुनै गङ्गागामिनी ठूलो नदीमा मुसुरोको दाल सातपल्ट प्रवाहित गर्नुपर्छ र त्यसपछि लगातार पाँचवटा मङ्गलबारका दिन हनुमानको प्रतिमामा चमेलीको तेल घसिदिनु पर्छ,हनुमानलाई बुनियाको लड्डू अर्पण गरेर प्रसाद वितरण गर्नुपर्छ । अन्तिम मङ्गलबार गुलिया खाद्यपदार्थहरू र मिठाई सवा किलोको परिमाणमा हनुमानलाई अर्पण गरेर प्रसादका रूपमा वितरण गर्नुपर्छ । ४१ दिनसम्म जौका दानालाई चाराका रूपमा पन्छीलाई खुवाउनु पर्छ र प्रत्येक शनिवारका दिन कमिलालाई चाराका रूपमा सक्खर मिश्रित सातु वितरण गर्नुपर्छ । असली रुद्राक्षको माला बनाएर धारण गर्ने वा शिवलिङ्गका अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा राहु र केतुसँग सम्बन्धित दानादि सङ्कलन गरी ब्राह्मणलाई दान गर्ने वा गरिबगुरुवालाई प्रदान गर्ने वा धातुबाट निर्मित १०८ वटा राहुयन्त्र नागपञ्चमीका दिन कुनै गङ्गागामिनी ठूलो नदीमा बगाउने वा राहु ग्रहको विशेष यन्त्र घरमा स्थापना गरेर उक्त यन्त्रसामु बसी प्रतिदिन सर्प गायत्री मन्त्रको १०८ पटक जाप गर्ने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


केतु तेस्रो भावमा र राहु नवम भावमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए शङ्खचूड नामक कालसर्प योगको निर्माण हुन्छ । जातकले भाग्यको साथ पाउँदैन । पितृवियोग सहनु पर्छ वा पिताको सान्निध्य पाउन सकिंदैन । राज्यपक्षबाट अनावश्यक दु:ख पाउने स्थिति हुन्छ । अति परिश्रम गरी सुख सुविधा त जसैतसै जुटछ तर त्यसको भोग गर्न पाउँदैन । पिता, परिवारका बृद्ध सदस्य र राज्यपक्षसित मतभेद हुनाले उसले विविध समस्या र तनावले घेरिएर बस्नुपर्छ र वैराग्यका भावनाहरू सञ्चरण हुन थाल्छन् । हुन त यस योगमा जन्मिने जातक दिर्घायु, साहसी, यशस्वी र धनधान्यले परिपूर्ण हुन्छ । दाम्पत्य सुख अनुकूल रहन्छ । सर्वत्र विजय र सम्मान प्राप्त हुन्छ । तर यस जातकको चित्त सधैं अस्थिर रहन्छ ।

उपाय
राहु र केतुका बीज मन्त्रहरूको जाप गर्नुपर्छ । महामृत्युञ्जय कवचको नित्य पाठ गर्नुपर्छ । प्रत्येक दिन शिवलिङ्गमा बेलपत्र अर्पित गर्नुपर्छ । चाँदी वा अष्टधातुको नागाकृति औंठी बनाएर ज्योतिषीको सल्लाहबमोजिम हातको औंलामा धारण गर्नुपर्छ । घरको मूल दैलोमा विधिपूर्वक प्राणप्रतिष्ठा गर्न लगाई स्वस्तिक यन्त्र झुन्ड्याउने वा राहु ग्रहको विशेष यन्त्र घरमा स्थापना गरेर उक्त यन्त्रको सामुमा बसी प्रतिदिन सर्प गायत्री मन्त्रको १०८ पटक जाप गर्ने वा नागपञ्चमीका दिन प्रतिवर्ष व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागलाई दूध चढाउने वा शिवलिङ्गका अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा १०८ वटा कोइलाका टुक्रा नागपञ्चमीका दिन कुनै गङ्गागामिनी ठूलो नदीमा बगाउने वा विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने ।


केतु चतुर्थ स्थानमा र राहु दशम स्थानमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए घातक नामक कालसर्प योगको निर्माण हुन्छ । जातकले व्यापार व्यवसायमा अकल्पनीय क्षति ब्यहोर्नु पर्छ । हेर्दा व्यापार व्यवसायबाट सफलता र लाभको स्थिति त देखिन्छ तर प्रत्यक्षत: घाटा नै हुन्छ । पितृवियोग सहनु पर्छ वा पिताको सान्निध्य प्राप्त हुन सक्दैन । धर्म र ईश्वरप्रतिको विश्वास क्रमश: हट्दै जान्छ । वैराग्यको भावना सञ्चरण हुन थाल्छ । पदप्रतिष्ठा र कर्मवृद्धिका लागि उसले प्रशस्त सङ्घर्ष गर्छ र प्रयासअनुरूप लाभसमेत पाउँछ, तर बुढ्यौलीसँगै वैराग्यपूर्ण जीवन बाँच्नु पर्ने हुन्छ । यदि शनि अनुकूल स्थानमा बसेको छ भने यस योगमा जन्म लिने व्यक्ति परिश्रमी, धनसञ्चयी तथा सुखी हुने गर्दछन् । शनिको अनुकुलतामा उपचार र प्रयोग गर्न जानेमा यो राजयोग सरहको योग हो । यस्तो अवसरमा जन्म लिने जातकले मनोवाञ्छित सफलताहरू प्राप्त गर्नुका साथै राजनीतिमा समेत सफलता प्राप्त गर्न सक्दछ । तर जातकले प्रायशः आफ्नो जन्मभूमिभन्दा टाढा रहँदा मात्र राम्रो उन्नति गर्न सक्छ । माताको स्वास्थ्य प्रतिकूल रहन्छ । सबै ऐश्वर्य हुँदाहुँदै पनि जातकले आँफू स्वयंले भने सुख प्राप्त सक्दैन ।

उपाय
प्रत्येक मङ्गलबारको व्रत गर्नुपर्छ र १०८ पल्ट हनुमान चालिसाको पाठ गर्नुपर्छ अथवा दिनैपिच्छे हनुमान चालिसाको पाठ गर्नुपर्छ तथा प्रत्येक मङ्गलबारको व्रत लिनुपर्छ र हनुमानलाई चमेलीको तेल अर्पण गर्नुपर्छ । बुनियाको लड्डूको भोग लगाउनु पर्छ । अर्को उपायमा एक वर्षसम्म गणपति अथर्वशीर्षको दिनहुँ पाठ गर्नुपर्छ । शनिवारका दिन व्रत लिँदा पनि हुन्छ र लहसुनियां(वैदूर्यमणि), फलाम, तिल, सप्तधान्य, तेल, कालो वस्त्र, सुकेको नरिवल आदिलाई दानका रूपमा गरिबगुरुबालाई वा खाँचो हुने ब्राह्मणलाई प्रदान गर्नु पर्छ । मङ्गलवारका दिन बाँदरलाई केरा खुवाउनु पर्छ र कुनै गङ्गागामिनी ठूलो नदीमा मुसुरोको दाल ७०० ग्रामका दरले प्रत्येक शनिबार सात पल्ट प्रवाहित गर्नुपर्छ । भगवान शिवको प्रतिमा घरैमा स्थापना गरी वा चित्र बनाई श्रद्धाभक्तिपूर्वक महामृत्युञ्जय वा ॐ नम: शिवाय मन्त्रको प्रतिदिन जाप वा धातु वा माटाका १०८ वटा सर्प बनाएर नागपञ्चमीका दिन विधिपूर्वक कुनै गङ्गागामिनी ठूलो नदीमा बगाउने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।


केतु पञ्चम स्थानमा र राहु एघारौं भावमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए विषधर नामक कालसर्प योगको निर्माण हुन्छ । यस योगमा उत्पन्न जातकको ज्येष्ठ सन्तानलाई कष्ट हुन्छ । जातकले आफ्ना दाजुभाइसित झगडा गर्छ । आर्थिक रूपमा प्रशस्त हानि ब्यहोर्नु पर्छ । आँखाको समस्या वा अनिद्रा, हृदयरोग र गुदासम्बन्धी रोगले ग्रस्त हुनपुग्छ । सन्ततिको अभाव वा सन्ततिसुखको बाधाले उसको जीवनलाई निराश बनाउँछ । उसले सामाजिक सम्मान र मानप्रतिष्ठा तथा धनवैभव कमाउँछ । तर यस योगमा आफुले गरेका दुष्कर्मको प्रतिफल यसै जीवनमा भोग्न बाध्य हुनुपर्छ । दुष्कर्मको परिणाम भोग्नुपर्ने भएकाले कमाएको सुखसम्मृद्धि र मानप्रतिष्ठा स्वतः गुम्नसक्ने खतरा पनि हुन्छ । जीवनको अन्त्य रहस्यमय ढङ्गले हुन्छ । तर शनिश्चर अनुकुल स्थानमा रहेमा यस योगमा उत्पन्न जातकले २४ वर्षको उमेरपछि सफलता प्राप्त गर्दछ । त्यसपछिको आर्थिक स्थिति पनि राम्रो हुन्छ । एघारौं भावमा राहुले सदैव अनुकूल फल प्रदान गर्दछ । उचित तथा अनुचित दुइटै तरिका अपनाएर धनको प्राप्ति हुन्छ । दाम्पत्य सुख अनुकूल हुन्छ । सन्तान सुखको कुनै कमी हुँदैन ।

उपाय
घिउको दियो बालेर दुर्गा कवच र सिद्धकुञ्जिका स्तोत्रको पाठ गर्नुपर्छ । देवदारू(लेकाली सल्लो)को बोक्रो, सरस्युँ तथा काँचो फलाम - यी तीन चिजलाई पानीमा उमालेर त्यस पानीलाई मनतातो बनाई ४१ दिनसम्म प्रत्येक दिन स्नान गर्नुपर्छ । कम्तीमा सोह्रवटा सोमवारसम्म प्रत्येक सोमबार भगवान शङ्करलाई ॐ हर हर महादेव भन्दै दहीले अभिषेक गर्नुपर्छ । राहु ग्रहको विशेष यन्त्र घरमा स्थापना गरेर उक्त यन्त्रको सामुमा बसी प्रतिदिन सर्प गायत्री मन्त्रको १०८ पटक जाप गर्ने वा राहु र केतुको मन्त्रलाई प्रतिदिन पाठ गर्ने तथा दुबै ग्रहको दानादि गर्ने वा राहु र केतुसँग सम्बन्धित दानादि सङ्कलन गरी ब्राह्मणलाई दान गर्ने वा गरिबगुरुवालाई प्रदान गर्ने वा धातु वा माटाका १०८ वटा सर्प बनाएर नागपञ्चमीका दिन विधिपूर्वक कुनै गङ्गागामिनी ठूलो नदीमा सेलाउने वा लगातार ११ वटा शनिबार पिपल र शिवलिङ्गमा जल चढाउने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।



केतु छैठौं भावमा र राहु बाह्रौं घरमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए शेषनाग नामक कालसर्प योगको निर्माण हुन्छ । जातकलाई सधैं अपरिचित शत्रुको डर भइरहन्छ । विनाकारण झैझमेला वा मुद्दामामिलामा फँस्नु पर्छ । नोकरी वा व्यवसायमा स्थिरता हुँदैन । घटुवा र असफलता भइरहन्छ । उसले जन्मभूमिभन्दा टाढा वा दुर्गमस्थानमा बसाइँ सर्नुपर्ने वा घरजम गरी बस्नु पर्ने हुन्छ । राज्यपक्षबाट अनावश्यक दु:ख पाउने र बन्धनको स्थिति पनि आउँछ । त्यस्तै चोटपटकबाट अङ्गभङ्गको भय पनि हुन्छ । सन्तति निरोगी, बलिया र दीर्घायु नै हुन्छन् तर ससुराली पक्षको खटपटले दाम्पत्य जीवनमा असर पर्न सक्छ र दाम्पत्य जीवनमा थोरै पनि सुखको अनुभूति हुन पाउँदैन । मावलीको साथ सहयोग प्राप्त हुँदैन । शनिको अनुकूलतामा उसले कडा परिश्रमपछि आफ्नो मिहिनेत र सुझबुझका बलमा मात्र सफलता हासिल गर्दछ । तर जातकले आफ्नो आचरणलाई संयमित राख्नु अत्यावश्यक छ नत्र अपयशको भागी हुनुपर्छ । यद्यपि मृत्युपछि उसले ठूलो प्रसिद्धि प्राप्त गर्छ ।

उपाय
कम्तीमा एघार हप्ता प्रत्येक बिहीबार कालो र सेतो तिल बराबर मिसाई कुनै गङ्गागामिनी ठूलो नदीको जलप्रवाहमा सेलाउनु पर्छ । भगवान् विष्णुको मन्दिरमा एक दर्जनको सङ्ख्यामा केरा चढाउनु पर्छ । कुनै शुभ मुहूर्तमा ॐ नमो भगवते वासुदेवाय मन्त्रको ११ माला जाप गरेर भगवान् विष्णुको प्रतिमा वा विग्रहमा गाईको दूधले अभिषेक गर्नुपर्छ । १२ को सङ्ख्यासँग मिल्दो परिमाणमा सुन, चाँदी वा पित्तलबाट निर्मित शेषनागको प्रतिमालाई विधिवत् प्रतिष्ठा गरी विष्णु भगवानको मन्दिरमा अर्पण गर्नुपर्छ । आजीवन वा राहु ग्रहको महादशा कालमा प्रत्येक वर्ष श्रीमद्भागवत महापुराण अन्तर्गतको नारायण कवचको १०८ आवृत्ति पाठ गर्नु वा गराउनु पर्छ । बिहीबारका दिन भगवान् नारयणको प्रतिमामा पहेंला रङका खाद्यान्न र चिजबीज अर्पण गर्नुपर्छ । यस अतिरिक्त आफ्नो लग्न-अनुकूल हुने गरी रत्न धारण गर्ने वा राहु ग्रहको विशेष यन्त्र घरमा स्थापना गरेर उक्त यन्त्रको सामुमा बसी प्रतिदिन सर्प गायत्री मन्त्रको १०८ पटक जाप गर्ने वा प्रत्येक पञ्चमीका दिन व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागपञ्चमीमा नागलाई दूध चढाउने वा प्रतिवर्ष अक्षय तृतीयामा नरायणबली गर्ने वा राहु र केतुको मन्त्रलाई प्रतिदिन पाठ गर्ने तथा दुबै ग्रहको दानादि गर्ने । राहु र केतुसँग सम्बन्धित दानादि सङ्कलन गरी ब्राह्मणलाई दान गर्ने वा गरिबगुरुवालाई प्रदान गर्ने वा राहु ग्रहको विशेष शान्तिकर्म वा कालसर्प योगको वैदिक विधिविधानसहित शान्ति कर्म सम्पादन गर्ने ।

लग्नबमोजिम कालसर्प योगको फल

मेष र वृश्चिक लग्न
यी दुई लग्नको मालिक मङ्गल ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले कार्यक्षेत्रमा सन्तुष्टि प्राप्त गर्दैन । उसको व्यवसायिक क्षेत्र चौपट हुन्छ । नोकरी र व्यवसाय आदिमा अनेक किसिमका आरोहअवरोह भैरहन्छन् । उत्तरोत्तर सङ्घर्ष व्यहोर्नु पर्ने भएकाले व्यक्तिको आत्मविश्वास क्षीण हुँदै जान्छ । उसले जीवनभरि गाँसबास जुटाउन नै लागी पर्नु पर्ने हुन्छ । असन्तुष्टि र तनावको स्वतः सृष्टि हुन्छ । समग्रमा व्यक्ति अशान्त र निराश हुने गर्दछ । उसको अनुहारमा हरहमेशा निराशा मात्र देखा पर्दछ । यस्ता व्यक्तिले आफ्ना चारैतिर अन्धकारै अन्धकार मात्र देख्दछन् ।

वृष र तुला लग्न
यी दुई लग्नको मालिक शुक्र ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातक रोजगारीका क्षेत्रमा प्रायशः चिन्तित हुने गर्दछन् । आफूँसँग भएको वृत्ति गुम्ने हो कि भन्ने चिन्ता उसको मुख्य विषय हुने गर्दछ । यस्ता जातकलाई म आफैं सक्षम छु र मेरा लक्ष्यमा पुग्न म समर्थ छु भन्ने कुरामा पटक्कै आत्मविश्वास हुँदैन । लक्ष्यको नजिकै पुगेर पनि उसले कतिपय पटक कार्यक्षेत्र फेर्न सक्छ । यसै कारणले अशान्त र तनावग्रस्त भई ऊ पुनः नयाँ काम थाल्ने निधो गर्न पुग्छ । कार्यक्षेत्रको अस्थिरताका कारण ऊ आत्मघाती हुन बेर लगाउँदैन ।

मिथुन र कन्या लग्न
यी दुई लग्नको मालिक बुध ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले आफ्नो कार्यक्षेत्रमा उच्च सफलता हासिल गर्ने सपना भने अवश्य देख्दछ तर उसले सफलता कहिल्यै पनि प्राप्त गर्न सक्दैन । अझ यस्ता व्यक्तिले स्टिल, फर्निचर वा मेसेनरी उद्योगधन्दा गरेको छ भने त तनावग्रस्त जिन्दगी त गुजार्नु पर्छ नै उसलाई गाँसबासको खर्च जुटाउन पनि धौधौ हुन्छ । त्यस्तै ऊ खरिदबिक्री, कमिसन वा दलालीको क्षेत्रमा संलग्न छ भने पटकपटक मिहिनेत गरेर कमाएको रकम घाटा परेर एकै पटकमा गुमाउनु पर्ने हुन्छ । यस योगमा जन्म लिने जातकहरू कागत, कपडा, अन्नपात, किराना, गृहोपयोगी सामाग्री, होटल व्यवसाय आदिका व्यापारिक क्षेत्रमा प्रायशः सफल भएका देखिन्छन् । आँफूभन्दा ज्येष्ठ र वरिष्ठहरूसँग टक्करको स्थिति भैरहन्छ, उनीहरूसँग रिसराग बढ्ने र झगडा हुने परिस्थिति पनि उत्पन्न हुन्छ । फलतः ज्येष्ठ र वरिष्ठहरूको श्राप र चित्त दुःखाइले समेत उसले अनेक किसिमका क्षति र कष्ट व्यहोर्नु पर्छ ।

कर्कट लग्न
यस लग्नको मालिक चन्द्रमा ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकको स्थिरतामा कमी देखिन्छ । उसले नोकरी वा व्यवसाय दुबै क्षेत्रमा सफलता हासिल गर्न सक्दैन र जीविकोपार्जनका लागी कठिनाइ उत्पन्न हुने गर्छ । एकै पटक धेरै वटा काममा हात हाल्ने बानी हुन्छ र तिनलाई व्यवस्थित ढंगले परिणाममुखी तुल्याउन सक्दैन । अन्ततः ऊ सबै क्षेत्रमा असफल हुन्छ । यस योगमा जन्मने जातकहरू चिकित्सक, वकिल, ज्योतिषी, शिक्षक तथा कलाकार जस्ता स्वतन्त्र कार्यक्षेत्रमा विशेषज्ञ भएर सफल हुने गर्दछन् । यिनीहरू शारीरिक रूपले अस्वस्थ र परिवारसँग असन्तुष्ट हुने गर्दछन् । चतुर्याइँ, चलाकी र चङ्खपनले अवसरमुखी भई यिनीहरूले आफ्नो आवरण फेर्ने गर्दछन् । यस्ता जातकले चौतर्फी उन्नति त गर्दछन् तर त्यसलाई स्थिर तुल्याउन दानपुण्य गर्नु अनिवार्य छ ।

सिंह लग्न
यस लग्नको मालिक सूर्य ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले आफ्नो आजीविका र परिवारको भरणपोषणमा सदैव चिन्तित हुनुपर्दछ । उसको व्यवसायमा पटक पटक तीव्र उन्नति त हुन्छ तर एकै पटकको मन्दीले उसको सम्पूर्ण आम्दानी चकनाचुर हुन पुग्छ । उसको पुँजीगत सम्पत्ति सुस्त गतिमा वृद्धि भएको त देखिन्छ तर एउटै झट्कामा सर्वस्व नाश हुन्छ । यस लग्नमा जन्म लिने जातक अर्काको अधीनमा रहन चाहँदैन, तर परिस्थितिवश विवश भएर उसले पराधीनता स्वीकार गर्नु पर्छ । परिवारजनलाई एउटै सूत्रमा बाँधेर राख्नु यिनीहरूको विशेषता हो ।

धनु र मीन लग्न
यी दुई लग्नको मालिक बृहस्पति ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले पराधीनमा रहेर गर्नुपर्ने काम नोकरी आदिमा सफलता प्राप्त गर्न सक्दैन । विपरीत लिङ्गीको सहयोगले स्वतन्त्र कार्यक्षेत्रमा भने ऊ सफल हुन्छ । उसको जीवनसाथीसितको सम्बन्ध त्यति राम्रो हुँदैन । उसले दलाली, कमिसन एजेन्सी, कन्सलटेन्सी एवं राजनीति आदि क्षेत्रमा मान र यश प्राप्त गर्दछ । प्रसिद्धि त प्राप्त हुन्छ तर उसको अन्तर्मुखी स्वभावका कारण धनको अभावको अनुभूति भने भइरहन्छ । कमाएको धन पनि उपयोग गर्न पाउँदैन । पारिवारिक जीवन असाध्यै सङ्घर्षमय हुन्छ । छातीमाथि गह्रुङ्गो भारी बोकेर हाँसेर हिंड्नु पर्ने अवस्थामा गुज्रान गर्नुपर्छ । ऊ परोपकार गर्न तल्लीन हुन्छ तर यसो गर्दा पनि अपयश र कष्ट व्यहोर्नु पर्छ ।

मकर र कुम्भ लग्न
यी दुई लग्नको मालिक शनिश्चर ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले परदेशमा गुज्रान गर्नुपर्छ । उसले आफ्नो थातथलो छाडेर अन्यत्र बसाइ सर्दा मात्र सफलता आर्जन गर्न सक्दछ । ऊ स्त्रीपुत्रादिबाट सन्तुष्ट र तृप्त हुँदैन । उसले पैतृक सम्पत्तिलाई समेत सदुपयोग गर्न सक्दैन । हुन त यस योगमा जन्मिने जातकले आफूलाई आवश्यक धन आफैं आर्जन गर्दछन् तर त्यस धनबाट न त ऊ आँफू सन्तुष्ट हुन्छ, न स्त्रीपुत्रादि, परिवारजन नै । खनिज पदार्थ, पेट्रोलियम, एसिड, कोइला, औषधी, रासायनिक पदार्थ आदिको कारोबारमा व्यापार गरी वा त्यस क्षेत्रमा नोकरी गरी यस योगमा उत्पन्न हुने व्यक्तिले राम्रो सफलता हासिल गर्न सक्छन् । तर यदाकदा देखिने आर्थिक सङ्कटले कमाएको सारा सम्पत्ति एकै चोटि स्वाहा हुने गर्दछ । सेयरको कारोबार, सट्टापट्टा, चिठ्ठा आदिबाट पनि उसलाई लाभ हुन्छ ।[५]

समग्र उपाय
यदि हजुरले सपनामा सर्प देख्नुहुन्छ वा प्रत्येक समय तनाव र असमंजसपूर्ण अवस्थामा रहनुहुन्छ भने हुनसक्छ तपाईँको कुण्डलीमा समेत कालसर्पको प्रभाव छ । ज्योतिषशास्त्र-अनुसार जुन व्यक्तिको कुण्डलीमा कालसर्प योग हुने गर्दछ, त्यसले जीवनभरि कतिपय कष्ट र कठिनाइ ब्यहोर्नु पर्दछ । उसले कतिचोटि त यतिसम्म तनाव अनुभव गर्दछ कि उसको मस्तिष्कमा आत्महत्यासम्मका विचार उद्भव हुन थाल्छ । यो योग अधिकतम व्यक्तिको कुण्डलीमा कुनै न कुनै रूपमा अवस्थित हुन्छ ।

जन्मकुण्डलीको निर्माण नभएका तर सर्पको बाधा भइरहने वा सपनामा किराफट्याङ्ग्रा तथा सर्पादि सरिसृप जीव देख्ने व्यक्तिले वा दाम्पत्य जीवनमा कलह, बिछोड र असन्तुष्टि हुने दम्पतिले नागपञ्चमीका दिन निम्न कर्म सम्पन्न गरी यस योगको समग्र निवारण यसरी गर्न सक्दछन् :-

१ - त्रिपिण्डी श्राद्ध : पितृहरू असन्तुष्ट हुँदा यो योग हुने गर्छ, अतः नजिकको तीर्थस्थल (विष्णुपादुका, गोकर्ण, गया)मा गई विधिविधान पूर्वक त्रिपिण्डी श्राद्ध गर्ने, तर मातापिता हुनेले यो कर्म घरका श्राद्धाधिकारप्राप्त सदस्यहरूबाट मात्र सम्पन्न गर्नसक्नु हुनेछ ।

२ - मृत्युञ्जय जाप : कम्तीमा २१००० पटक महामृत्युञ्जय मन्त्रको जाप आफैं गर्ने वा ब्राह्मणद्वारा गराउने ।

३ - नागपूजा : नागपञ्चमीको दिन विधिवत् नागको पूजा गरी धातुनिर्मित नागको प्रतिमा बनाई ब्राह्मणलाई दान गर्नु पर्दछ । त्यस्तै दान नगर्दा उक्त प्रतिमा नजिकैको शिवालयमा चढाउनु पर्छ वा कुनै गङ्गागामिनी नदीमा प्रवाहित गरी राहु ग्रहको रत्न वा यन्त्र धारण गर्नु पर्दछ ।

४ - पीपलको बोटको एक वर्षभित्र २८००० पटक परिक्रमा गरेमा पनि कालसर्प योगको दुष्प्रभाव भोग्नुपर्दैन ।

५ - कुनै धातुको नाग बनाई विधिपूर्वक पूजनप्रतिष्ठा गरी ब्रह्ममुहूर्तमा शिवलिङ्गमा चढाउनुपर्छ वा चाँदीका नाग-नागिनी बनाएर नदीमा बगाउनुपर्छ ।

६ - वर्षमा एकपल्ट घरैमा वा नजिकै रहेको कुनै शिवालयमा शिवजीको विशेष उपासना वा लघु रुद्रीको अनुष्ठान गर्नुपर्छ ।

७ - बुधवार वा शनिवारका दिन भिखारीलाई कम्बल, कालोदाल, मुँगा आदि दान गर्नुपर्छ ।

८ - एउटा तरबूजालाई प्रत्येक शनिबार पानीको स्रोतछेउमा बेस्सरी पछार्नु पर्दछ ।

९ - शनिवारका दिन कुकुरलाई खाद्यसामाग्री अर्पण गर्नुपर्दछ ।

१० - नवनाग स्तोत्रको विधिविधानपूर्वक पाठ गर्नुपर्दछ ।

सामूहिक शान्तिकर्म कालसर्प योगको निवारणको समग्र उपाय होइन

कालसर्प योगको व्यवसायिकता र ठगी
गणितीय आधारमा संसारको समस्त जनसङ्ख्याको करिब ४३ प्रतिशत जनसंख्यामा कालसर्प योग रहने सम्भावना हुन्छ। यो योग नयाँ होइन, उहिल्यै पनि यस्तो गणीतीय योगको सिर्जना हुन्थ्यो, हिजोआज पनि हुन्छ र भविष्यमा पनि यत्तिकै मानिसहरूमा सम्भव हुन्छ। तर अहिले यसका प्रभावका बारेमा व्यापारिक र व्यवसायिक दृष्टिकोणले विवेचना गरी भिन्नमिन्न धारणा र शान्तिविधि उल्लेख भएका लेखरचना र पुस्तकहरू प्रशस्त पाइन्छ र विगत १०/१५ वर्षयता यसको चर्चा परिचर्चा र स्वस्तिशान्तिका प्रोपोगण्डा खुब हुँदै आएको छ। धर्मभीरु, सङ्घर्ष गर्न डराउने र सोझा एवं सरल व्यक्तिहरू कालसर्प योगको शान्तिका नाममा दिनदहाडे ठगिएका छन्। अब नागपञ्चमी आउन लागेको छ, तपाईंहरूले पनि हिजोआज टीवी, एफ्एम् र अख़बारहरूमा यस योगलाई जरैदेखि उखेलेर फ्याल्ने प्रचारहरू प्रसारण/प्रकाशन भएको देख्नुभएकै होला। ठाउँठाउँमा कालसर्प योग शान्ति कर्मका निम्ति बुकिङ्ग हुन सुरु भइसकेको छ। तर विधिपूर्वक गर्ने नगर्ने सम्बन्धमा शङ्का चाँहि रहिरहन्छ। त्यसैले प्रचार र हल्लाका भरमा गरिएका अवैध शान्तिकर्म गर्नासाथ तपाईंका सबै अवरुद्ध मार्गहरू खुल्लान् भन्ने ग्यारेन्टी हुनसक्दैन र तपाईंले जीवनपथमा लाभ प्राप्त गरिहाल्न पनि थाल्नु हुन्न। त्यसैले यस्ता ठगीका धन्दाहरूमा कसैले पनि फँस्नु हुँदैन।


खासमा हामीभित्र पलाएको स्वार्थीपना, धनलोलुपता, व्यक्तिवादिता, अमानवीय क्रियाकलाप, ढोङ्गीपन, आहारविहार र खानपानमा हुने अनियन्त्रण, चारित्रिक स्खलन, व्यभिचार आदिले चिनामा भएका अशुभ, अनिष्ट र खराब योगहरू सक्रिय हुने गर्दछन् । तपाईं साँच्चै कालसर्प योगको दुष्प्रभावबाट मुक्त हुन चाहनुहुन्छ भने आजैबाट यी समस्त विकृतिलाई त्याग्नुस् र चलिरहेको पवित्र महिना श्रावणमा भगवान् भोलेशङ्करको श्रद्धाभक्तिपूर्वक साँचो मनले प्रत्येक वर्ष आराधना गर्नुस्। तपाईंको कालसर्प योगका सकारात्मक फलहरू मात्र प्राप्त हुन्छन्, अनि तपाईंको कल्याण हुनेछ।

हिजोआज गुरुपुरोहित र ज्योतिषीहरूले खेतीका रूपमा सामूहिक कालसर्प योगको आयोजना गरेक प्रचारप्रसार र दृश्यावली देख्न, सुन्न र हेर्न पाइन्छ । सामूहिक कर्ममा तपाईंको सहभागिता हुँदा मानसिक शान्ति त हुनसक्ला तर विचार गर्नुस् त । कुनै पनि वैदिक कर्ममा तपाईंको नाम, थर, गोत्र, प्रवर आदिको नाम स्पष्टसँग उच्चारण गरिन्छ, सङ्कल्प, विनियोग आदि स्थानमा पानी समाउँने र छाड्ने तथा पाद्य,अर्घ्य, आचमन, नैवेद्य, पूजासामाग्री आदि समर्पण गरी विधि पुर्याउनु पर्दछ । सामूहिकको नाममा सामेल भएको भीडले यी काम विधि नछाडी पूरा गर्नु कति सम्भव हुन्छ ? पक्का पनि पूर्ण हुँदैन । कथंकदाचित् तपाईं बाठो भएर सम्पन्न गरिहाल्नुभयो भने पनि त्यहाँ सबै सहभागीले कर्म पूरा गर्नु असम्भव छ । त्यसैले सामूहिक रूपमा गरिएको कुनै पनि कर्मले कर्मपूर्ण हुँदैन । सामूहिक शान्तिको आयोजना त प्रोपोगन्डा र शीघ्र धनार्जन गर्ने आयोजकको उपाय मात्र बन्न सक्छ, तपाईंको कुनै पनि शान्तिकर्म गराउने माध्यम बन्न सक्दैन । त्यसैले सामूहिक शान्तिकर्ममा सहभागी हुनुभन्दा माथिको उपायमा उल्लेख गरिएको ससाना उपाय बढी फलदायी हुने हुन्छ । पहिलो कुरा त तपाईंको कालसर्प योग शास्त्रले मान्यता दिएको योगमा पर्दै पर्दैन, अर्को कुरा कालसर्प योगकै कारण आफ्नो उन्नतिप्रगतिमा बाधा भएको ठान्नुहुन्छ भने व्यक्तिगत तवरमा छुट्टै शान्तिकर्मको आयोजना गर्नु बेस हुन्छ । त्यसैले सामूहिक शान्तिविधि कालसर्प योगको निवारणको समग्र उपाय होइन ।

उपसंहार
कालसर्पयोगको घेराभित्र रहेका शुभाशुभ ग्रहहरूका फलमा छाया पारिदिने हुनाले कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि उल्लेख गर्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन । अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्ततिसुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन-अध्यापनको क्षेत्रमा कमजोरी आदि यस योगका सामान्य लक्षण हुन् । मूलतः कालसर्प योग शास्त्रमा उल्लिखित योग होइन, हिजोआजका अधिकतर ज्योतिषीले कालसर्प योगको अस्तित्वलाई स्वीकार गरे पनि केही सैद्धान्तिक ज्योतिषीहरू यस योगलाई योग मान्न तैयार छैनन् । योगका रूपमा स्वीकार गर्ने कतिपय ज्योतिषीले पनि कर्मकाण्डीय प्रलोभनका कारणमात्र कालसर्प योगलाई महत्त्व दिने गरेको पाइएको छ । जे भए पनि सबै कालसर्प योग खराब हुँदैनन्, कुण्डलीमा रहेका अन्य ग्रहको शुभ र अशुभ स्थितिका आधारमा कालसर्प योग खराब वा असल हुने गर्दछन् ।  माथि उल्लिखित नामावलीलाई नै केलाउने हो भने पनि कालसर्प योगलाई खराबै योग हो भनेर विवेचना गर्नु युक्तिसङ्गत हुँदैन । कुनैकुनै कालसर्प योग असाध्यै राम्रा मानिन्छन्, त्यसैले विज्ञ ज्योतिषीको सल्लाह प्राप्त गरी यसको शान्ति गर्ने कि नगर्ने निश्चित गर्नुपर्दछ । कालसर्प योग मान्नेहरूकै भनाइलाई मान्ने हो भने कालसर्प योगको शान्तिकर्म गर्नाले राहु र केतु यी दुई छायाग्रहको घेरामा बसेर पूर्ण प्रभाव देखाउन नसकेका ग्रहहरूको पूर्ण प्रभाव गराउने वातावरण तैयार गर्नु हो । यदि चन्द्र र शनिले विषयोग बनाएको कालसर्प योग छ भने त्यसको शान्तिकर्म गर्दा विषयोगलाई पनि सक्रिय तुल्याइदिन्छ । अब स्वयं फैसला गर्नुहोस् निष्क्रिय विषयोग सक्रिय भयो भने त पक्का पनि राम्रो हुन सक्दैन । त्यसैले राहु र केतुको घेराभित्र रहेका सूर्यादि सातवटा ग्रहको अवस्थिति र युति कुनै पक्षबाट पनि राम्रा छैनन् भने कालसर्प योगको शान्तिकर्म गरेको भन्दा नगरेको बेस हुन्छ । स्मरण रहोस् शुभ योगको समेत समुचित उपचारबाटमात्र शुभ्यफाप्य हुन्छ !



No comments:

Post a Comment