Sunday, July 30, 2017

मानव कल्याणको पर्व 'गुँ–ला धर्म'

प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध धर्मालम्वीहरूले मनाउने पर्व हो 'गुँ–ला धर्म' । यो पर्व एक महिना लामो हुन्छ । नेवारी भाषामा 'गुँ' को अर्थ 'नौ(९)' र 'ला' को अर्थ 'महिना' भन्ने बुझिन्छ । चान्द्रवर्षको गणनाबमोजिम प्रत्येक महिनाको शुक्लपक्षबाट महिनाको सुरुवात हुने नेवारी परम्परा छ र कार्तिक शुक्लपक्षको प्रतिपदा म्हपूजाका दिन नयाँवर्षको पहिलो महिना प्रारम्भ हुन्छ । यस आधारमा नवौं महिना सामान्यतया श्रावण र भाद्रमा पर्दछ । उक्त अवसरमा काठमाडौंस्थित स्वयम्भूमा एक महिनासम्म मेला लाग्ने गर्दछ । यो पर्वका क्रममा हरेक दिन बिहानैदेखि बौद्ध गुम्बा र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको चहलपहल हुने गर्दछ । खासगरी काठमाण्डौ उपत्यकामा विभिन्न परम्परागत बाजागाजाका साथमा स्वयम्भूको परिक्रमा गरेर शान्तिका अग्रदूत गौतमबुद्धको पूजा आराधना हुने गर्दछ र भक्तजनहरूले शान्तिको कामना गर्ने गर्दछन् । सो अवधिमा बुद्ध धर्मका अनुयायीहरू मात्र होइन, हिन्दु धर्मावलम्बीहरू पनि बौद्ध पीठमा गएर पूजाअर्चना गर्ने गर्दछन् । हिन्दू पद्धतिमा पनि दक्षिण भारतमा वैशाखबाट गन्दा नवौं महिनामा आउने महिनालार्इ धनुर्मास भनी व्रत, यज्ञ र उत्सवका रूपमा मनाउने प्रचलन छ । तर यो परम्परा उत्तर भारत र नेपालमा बसोबास गर्ने श्रीवैष्णव सम्प्रदायमा दीक्षित अनुयायीहरूले अनुसरण गरेको देखिन्छ । यहाँ धनुर्मास भनेर पौष महिनालार्इ लिइएको हो । मुस्लिम धर्ममा पनि उनहरूको गणनामा आउने नवौं महिनामा पवित्र मानिने रमजान पर्व पर्दछ र उक्त अवधिमा मुस्लिमहरू रोजा व्रत गर्ने गर्दछन् । यसरी धनुर्मास, रमजान र गुँ–ला प्रतीकात्मक सन्दर्भमा समान पर्व हुन् भन्दा अत्युक्ति हुँदैन ।

साउन र भदौ महिना बरसातको ऋतु भएकाले अत्यधिक पानी पर्ने र बढी गर्मी हुने महिना हुन् । किंवदन्तीनुसार परापूर्व कालमा यी महिनामा रोगव्याधिको प्रकोप बढ्न गई प्राणीहरू मर्ने गरेकाले उक्त एक महिनासम्म प्राणीको कल्याण गर्ने जिम्मा भगवान् बुद्धले लिनुभएको थियो । यसरी भगवान् बुद्धले जिम्मा लिएपछि प्राणीहरूको स्वास्थ्यमा सुधार भयो र मृत्युदर घट्न थाल्यो । भगवान् गौतम बुद्धको आश्रय प्राप्त गरेपछि सर्वसाधारणमा हर्ष र उमङ्गको वातावरण सिर्जना भयो । यसै खुसियालीमा भगवान् बुद्धप्रति कृतज्ञता ज्ञापन गर्न र सर्वसाधारणमा सधैं सुखसम्मृद्धि र माङ्गल्यको कामना गर्दै प्रत्येक वर्ष एक महिनासम्म गुँ–ला पर्व मनाउन थालिएको हो । यस क्रममा वर्षभरि मरेका प्राणिहरूको आत्मशान्ति र उद्धारका लागि संहभेदी राँगाको संह फुक्दै पूजा गर्ने र स्वयम्भूको परिक्रमा गर्ने चलन रहेको छ । त्यस्तै बुद्धको स्तुपा र मन्दिरमा दियो बालेर सुख र शान्तिको कामना गर्नुका साथै टोलटोलबाट न्यौलीबाजा, पञ्चेबाजा, कोंचाखे, नगराजस्ता बाजाहरू बजाउँदै स्वयम्भूमा केटाकेटी युवायुवती एवं बृद्धबृद्धाको घुइँचो लाग्ने गर्दछ । सो अवधिमा भक्तजनहरू माछा, मासु, जाँड, रक्सी आदि तामसी भोजन त्याग गरी एक छाक मात्र खाई व्रत लिने गर्दछन् । महिनाभरि रिस, राग, वैमनस्य त्याग गरी एक अर्कामा प्रेमभावपूर्ण सद्भाव राख्नुपर्छ भन्ने मान्यता छ । प्रतीकात्मक ढंगले विश्लेषण गर्ने हो भने असार र साउनको दिन श्रम र परिश्रम गरी अन्न उब्जाउने समय हो । खेतमा धान रोपिसकेपछि केही समयका लागि खासै कामको चाप हुँदैन । काम नहुने समयमा धेरै जसो मानिसहरू खासगरी नयाँ पुस्ताका युवायुवती कुलतमा फँस्ने सम्भावना हुन्छ । चेतनाको कमीले गर्दा युवाहरू मनोरञ्जनमा समय बिताउन थाल्दछन् । त्यसैले यस अवधिमा जुवा तास खेल्ने र जाँडरक्सी खाने क्रम बढ्न थाल्दछ । यसले समाजमा विकृति ल्याउँछ । त्यसैले यस्तो कुलतमा फँसेर समाजमा विकृति आउनु हुँदैन भन्ने मनसायले यो पर्व मनाउने चलन चलेको हो भनी अड्कल काट्न सकिन्छ । बेकामे काममा अलमलिन नदिन परोपकारी, सामाजिक र धार्मिक कृत्यमा सहभागी तुल्याउन सक्दा सबैको भलो हुने त छँदैछ, उता युवापुस्ता कुलतमा फँसेनन् भने तिनले जीवनोपयोगी काम गर्न सक्छन् भनेर परम्परादेखि गुँ–लाधर्म पर्व मनाउन थालिएको हुनुपर्छ ।


यो पर्वमा कुनै धर्म जातीय विभेद हुँदैन । यो धार्मिक कार्यमा विशेषगरी बौद्ध धर्मावलम्वीहरूको अधिकतम सहभागिता हुन्छ । यो पर्व शाक्य, बज्राचार्य, मानन्धर, महर्जन, तुलाधार आदि बौद्ध धर्मावलम्वीहरूले मनाउने गर्दछन् । विशेष गरी काठमाडौं उपत्यका, काभ्रे र दोलखामा बसोबास गर्नेहरूले मनाउने यो पर्व अहिले नेवारहरूको बसोबास हुने देशविदेशका विभिन्न स्थानमा पनि मनाउन थालिएको देखिन्छ । काठमाडौं उपत्यकाको स्वयम्भूमा यो पर्व सुरु भएको पहिलो दिनदेखि महिनाभरि नै विभिन्न टोल वा समुदायबाट आएका बौद्ध धर्मालम्वीहरूले आफ्नो परम्परा अनुसार धिमे बाजा बजाएर स्वयम्भू चैत्यको परिक्रमा गरी महाचैत्य र बिहारको दर्शन गरी घर फर्कने गर्छन् । महिनाभरि उनीहरूले बौद्ध विहार तथा बहीमा बसेर बुद्ध पूजा, नामसङ्गति, पञ्चरक्षा जस्ता बौद्ध स्तोत्रको पाठ गर्ने चलन पनि छ । पूजापाठ सकेपछि भन्टे(भिक्षु) र आनी(गुरुमा)हरूले बुद्धशिक्षा सम्बन्धी धर्मदेशना गर्नुहुन्छ । यस गुँ–लापर्वमा बौद्ध धर्मावलम्बीहरूले वर्षभरि मृत्यु भएका आफन्तहरूको नाममा स्वयम्भूमा १०८ बत्ती बाल्ने र उनीहरूका नाममा सिङ फुकेर देवीदेवताका मन्दिरको परिक्रमा गर्ने गर्दछन् । यसो गरेमा मृतकहरूले सुखवती भुवनमा बास बस्न पाउँछन् भन्ने जनविश्वास छ । गुँ–ला महिनाभरि बौद्ध धर्मालम्वीहरूले द्यथायेगु भनेर काला माटाका ससाना चैत्यहरू बनाउने र पूजा गर्ने प्रचलन छ । कोही महिनाभरि व्रत बसी स्वयम्भू विहार आदि स्थानहरूमा गई भगवान बुद्धको पूजाआजा र दर्शन गर्दछन् । भाद्र प्रतिपदाको दिन वा गुँ–ला धर्म पर्वको अन्तिम दिन ती चैत्यहरू नदीमा बगाएर समापन गर्ने प्रचलन छ र आआफ्नो चलन अनुसार भोजभतेर गरी रमाइलो गर्ने चलन छ । गुँ–ला महिनाभरि भगवान् बुद्धको नाममा बत्ति बाल्ने पूजाआजा गर्नेहरूको भीडले स्वयम्भूमा यो पर्व हेर्ने दर्शनार्थीको घुइँचो उल्लेखनीय रहने गर्दछ ।

No comments:

Post a Comment