Showing posts with label स्थान परिचय. Show all posts
Showing posts with label स्थान परिचय. Show all posts

Friday, November 3, 2017

वराह क्षेत्र

वराह क्षेत्र कोसी अञ्चलको सुनसरी जिल्लामा रहेको प्राचीन र महत्त्वपूर्ण तीर्थस्थल हो । मनोरम र रमणीय दृश्यद्वारा सुशोभित पवित्र तीर्थस्थल वराह क्षेत्रमा गणेश वराह‚ गुरु वराह‚ सूर्य वराह‚ कोका वराह‚ इन्द्र वराहका मन्दिर तथा लक्ष्मीको मन्दिर लगायत जम्मा ९ वटा मन्दिर र धर्मशालाहरू रहेका छन् । कोका नदीको सङ्गममा श्राद्ध गर्दा पितृहरूको उद्धार हुनुका साथै श्राद्धकर्ताको सांसारिक जीवन सुखमय भई मोक्ष प्राप्त हुने तथा उसका अघिपछिका कुल र वंशजको समेत मुक्ति प्राप्त हुने प्रसङ्ग वराह पुराणमा उल्लेख गरिएको छ । कोसी नदीको शास्त्रीय नाम कौशिकी हो र गङ्गामा गएर मिसिने नदीहरूमध्ये हिमालयदेखिकै जलराशि समेटेर समाहित हुने अन्तिम नदीका रूपमा यस नदीलार्इ लिइन्छ, त्यसैले आफ्ना मृत आफन्तको अस्थिसञ्चय गरी यहाँ जलप्रवाहित गरेगराएमा मृतकले मोक्ष प्राप्त गर्ने जनविश्वास रही आएको छ । त्यसैले यस ठाउँमा अस्थि विसर्जन गर्ने तथा श्राद्ध गर्ने गरिन्छ । महाभारत, विभिन्न पुराणहरू र संस्कृत काव्यमा वराहक्षेत्रको मुक्तकण्ठले महिमा गायन गरिएको छ र सप्तकोसीमा कोकाहा नदीको सङ्गम भएको यो देवस्थलमा परापूर्वदेखि श्रद्धाभक्ति र पूजाआजा हुँदै आएको छ । कौशिक गोत्रका राजर्षि विश्वामित्रको तपोभूमि मानिएको यस ठाउँमा बहने कौशिकी नदी विश्वामित्रकै बहिनी भएको धार्मिक आख्यान छ । भगवान् विष्णुको दशावतारमध्ये तेस्रो अवतारका रूपमा वराह (शूकर) को अवतारलाई लिइन्छ । वराहक्षेत्रमा प्रत्येक वर्षको कार्तिक शुक्ल पक्षमा पर्ने ठूली एकादशीदेखि पूर्णिमासम्म र पौष कृष्ण प्रतिपदा, पौषे औंसी, माघेसङ्क्रान्ति आदिमा मेला लाग्ने गर्दछ । जहिले पनि तीर्थयात्री र दर्शनार्थीको आकर्षणका रूपमा रहेको यस तीर्थमा सङ्क्रान्ति, एकादशी, औंसी, पूर्णिमा र अन्य धार्मिक महत्त्वका दिनहरूमा यात्रुहरूको घुइँचो लाग्ने गर्दछ । यहाँ नेपाल, भारत, भूटान र अन्य ठाउँबाट पनि तीर्थाटनमा श्रद्धालुहरू आउने गर्दछन् ।

वराहक्षेत्रमा उत्तरबाट दक्षिणतर्फ कोसी नदीको वहाव रहेको छ । यस ठाउँको पूर्वतर्फ डाँडामा पवित्र तीर्थस्थल विष्णुपादुका र हालको उदयपुर जिल्लामा पर्ने पश्चिमको डाँडामा चौदण्डीकोट भन्ने ठाउँ रहेको छ । चौदण्डीकोटमा शाहवंशभन्दा पहिले नेपालमा शासन गर्ने सेनवंशी राजाहरूको ऐतिहासिक गढी रहेको छ । वराह क्षेत्र जाने तीर्थयात्रीले पूर्वपश्चिम राजमार्गको रामधुनी भासि (झुम्का) मा ओर्लिएर उत्तरतर्फ करिब २२ किलोमिटर यात्रा गरी जानुपर्ने हुन्छ । पूर्वपश्चिम राजमार्गको इटहरी र झुम्काबाट अथवा कोसी राजमार्गको धरानबाट वराहक्षेत्र जाने सवारी साधनहरू उपलब्ध हुन्छन् । यहाँ बस्न ठूलाठूला होटल र लज नभए पनि धर्मशालाको राम्रो व्यवस्था छ ।

Sunday, July 16, 2017

पिण्डेश्वर बाबाधाम

नेपालको प्रदेश नं. एकको मुख्य सहर धरानको उत्तरपूर्वी कुनामा एउटा सानो डाँडा देखिन्छ । उक्त डाँडो प्राकृतिक दृष्टिले मनोरम त छँदैछ, धार्मिक र सांस्कृतिक दृष्टिले उक्त डाँडाको ठूलो महत्त्व छ । त्यसै डाँडाको नाम विजयपुर हो र यस स्ठानमा मध्यकालमा सेन राजाहरूको किल्ला र राजधानी थियो भन्ने ऐतिहासिक मान्यता पनि छ । हाल किरात र हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनेको छ - विजयपुर । आजभन्दा करिब चार सय वर्षअघि यस स्थानमा सेनवंशी राजाहरूको प्रशासनिक केन्द्र थियो, यस्ता प्रशासनिक केन्द्रहरू विजयपुर लगायत उदयपुरको चौदण्डी र उदयपुर गढी, सिन्धुलीको सिन्धुली गढी, मकवानपुरको चिसापानी र मकवानपुर गढी, पाल्पा आदि स्थानमा पनि थिए । विजयपुर गढीको प्रशासनिक एकाइले कोशीपूर्वको हालको नेपाल र दार्जिलिङ्ग तथा सिक्किममा समेत शासन गर्ने गर्दथ्यो । विजयपुर डाँडामा पिण्डेश्वर महादेवको मन्दिर, नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको पूर्वकै प्राचीन महाविद्यालय 'पिण्डेश्वर क्याम्पस', दन्तकाली भगवतीको मन्दिर, किरातहरूका आस्था बुढासुब्बा, पञ्चकन्या भगवतीको मन्दिर र भताभुङ्गे राजाको दरबार आदि विभिन्न धार्मिक र ऐतिहासिक महत्त्वका मठमन्दिर र स्थानहरू रहेका छन् ।

धरान उप महानगर पालिका वडा नं. १४ मा पर्ने पिण्डेश्वरको स्थापना मध्यकालतिर भएको हो । आजभन्दा ६–७ सय वर्ष अगाडितिर विजयपूर राज्यको स्थापनाका साथसाथै यो मन्दिर पनि निर्माण गरिएको हुन सक्दछ । तर यस मन्दिरको वर्तमानको स्वरुप भने जीर्णोद्धार र पुनर्निर्माणका क्रममा धेरै पछि मात्र बनेको हो । यहाँको सबैभन्दा पुरानो मूर्ति अष्टभूजाको मानिएको छ जुन मूर्ति चोरी भएपछि यहाँ  केही पछि निर्मित अर्के अष्टभूजाको मूर्ति राखिएको छ । विजयपुर डाँडाको दक्षिणी खुट्किलामा अवस्थित पिण्डेश्वर मन्दिर क्षेत्रमा पिण्डेश्वर क्याम्पस पनि रहेको छ। यस स्थानबाट धरानको दक्षिणी र पूर्वी भागको दृश्यावलोकन गर्न सकिन्छ । मध्यकाल तिर किल्लाका रुपमा रहेको पिण्डेश्वर कालान्तरमा पूर्वकै ठूलो मठका रुपमा विकास भएको हो । रुद्राक्षारण्य महात्म्यअनुसार महाभारतकालमा पनि यस ठाउँको उपस्थिति रहेको थियो । पाण्डवहरूले आफ्नो वनवासको अवधि समापन हुने वेलामा गुप्तवासको तैयारी गर्दै गर्दा आआफ्ना परिचायक चिह्नहरू कवच, कुण्डल, अस्त्रशस्त्रादि लुकाउन पिण्डेश्वर महादेवको आराधना गरेका थिए । त्यस्तै यहाँबाट करिब २० किलोमिटर दक्षिणपश्चिममा रहेको रामधुनिमा त्रेता युगमा ऋषि विश्वामित्रका साथमा राम र लक्ष्मणसमेत आएको जनश्रुति प्रचलित रहेको देखिन्छ । अतः विजयपुर र वरपरको क्षेत्रको इतिहास र पुराण दुबै पाटोमा महत्त्व रहेको प्रमाणित हुन्छ ।

पिण्डेश्वर सनातन धर्मीहरूको महत्त्वपूर्ण तीर्थस्थल हो । स्कन्दपुराणको हिमवत्खण्ड र रुद्राक्षारण्य महात्म्यमा चर्चा भएअनुसार देवता र दानवले समुद्रमन्थन गरी निकालेको अमृत र विषमध्ये अमृतलाई छानेपछि बाँकी रहेको छोक्रा पिण्ड बनाई स्थापना गरेको ठाउँ हो - पिण्डेश्वर । रुद्राक्षारण्य महात्म्यमा बताइए अनुसार अमृत मन्थनका लागि देवता र दानवहरूले जडीबुटी सङ्कलन गरी समुद्रमा हालेर समुद्र मन्थन गरेको, अमृतभन्दा पहिले हलाहल विष निस्किएको, महाशिवले त्यस विषलाई लोक कल्याणका खातिर आफैंले खानु भएको र पछि अमृत उत्पन्न भएको कुरा उल्लेख भएको छ । अमृत प्राप्त गर्ने देवताहरूले महाशिवकै कृपाबाट अमृत प्राप्त भएकोले मन्थनका अवशेष जडीबुटीका छोक्राहरु निचोरेर डल्लो पिण्डाकार बनाई स्थापना गरेका हुन् । उक्त पिण्ड सुरुमा महाशिवका चरणस्पर्शबाट सुनको बनेको थियो । उक्त स्वर्णलिङ्ग यस स्थानमा अर्थात् विजयपुरमा स्थापना गरेको र यही लिङ्ग पिण्डेश्वरको नामले प्रख्यात भएको मानिन्छ । यस मन्दिरको मध्यभागमा प्राकृतिक शिवलिङ्गको प्रस्तरको मूर्ति रहेको छ भने मन्दिर परिसरमा गणेश र अष्टभुजा लगायतका देवीदेवताका मन्दिरहरू रहेका छन् । त्यस्तै यहाँ सरस्वती कुण्ड, गादिगणेश, बाघम्बर र चिताम्बरका मन्दिरहरू तथा अन्य थुप्रै देवीदेवताका मठमन्दिरहरू पनि छन् ।

केहीवर्षअघि श्रावण महिनामा भगवान् शिवजीको उपासना र दर्शन गर्न भारतको बोलबम बाबाधाम अर्थात् झारखण्ड प्रान्तमा पर्ने वैद्यनाथ धाम जाने चलन थियो । अद्यापि त्यसरी बाबाधाम पुग्ने चलन हराइसकेको छैन, तर पथिक कवि लक्ष्मीप्रसाद आचार्यको पहलमा बाबाधामका शिवजी र पिण्डेश्वरका शिवजी तथा सुल्तानगन्जमा बहने गङ्गा र प्राचीन हरिद्वार चतराधाममा बहने सप्तकोशीमा प्रतीकात्मक रूपमा फरक नरहेको भनी सम्वत् २०४२ देखि यसै मन्दिरमा श्रावण महिनामा पर्ने सोमबारका दिन मेला लगाउने चलन सुरु भयो । त्यसपछि यसको प्रचारप्रसार अझ चुलिन गएको देखिन्छ । अतः यहाँ श्रावण महिनामा विशेष भीडभाड र घुइँचो हुने गर्दछ ।

श्रावणको सोमबारका दिन जल चढाउने भक्तहरू एक दिनअघि नै सुनसरी जिल्लाको उत्तरपश्चिममा पर्ने प्राचीन हरिद्वार चतराधाम पुगी त्यहाँ बहने पतीतपावनी सप्तकौशिकी नदीबाट पवित्र जल बोकेर रातभरि करिब २० किलोमिटरको पैदल यात्रा गरी सोमबारका दिन पिण्डेश्वर बाबाधाममा ल्याई अभिषेक गर्ने गर्दछन् । यस अवसरमा नेपालको तराई क्षेत्र र भारतका विभिन्न स्थान तथा अन्य मुलुुकहरूबाट समेत ठूलो सङ्ख्यामा तीर्थयात्रीहरू आउने गर्दछन् । यस धाममा मेला लाग्ने अन्य अवसरहरूमा साउने सँग्राती, पौषे औंसी, माघे सँग्राती, बाला चतुर्दशी, शिवरात्री, सोह्रश्राद्ध र तीज पर्व विशेष हुन् ।

यस धामको अर्को विशेषता हो, यहाँ रहेको अखण्ड ज्योति । यो यस मन्दिरको अष्टभुजा मन्दिरभित्र रहेको निरन्तर बलिरहने दियोको ज्योति हो । यो अखण्ड ज्योति निभेमा यहाँबाट २० किलोमिटर टाढा रहेको रामधुनिबाट आगो ल्याई सल्काउनु पर्ने र रामधुनीको आगो निभेमा पिण्डेश्वरबाट नै लगी सल्काउने परम्परा रहेको छ भन्ने जनश्रुति सुन्न पाइन्छ । उक्त बत्तीका बारेमा कैयौं किंवदन्तीहरू प्रचलनमा रहेका छन् । कसैले भन्छन् - सत्ययुगमा देवता र दानवहरूले थरिथरिका जडीबुटी समुद्रमा हालेर मन्थन गरेपछि अमृत उत्पन्न भएको थियो । उक्त अमृत देवताहरूले पान गरिसकेपछि जुन छोक्रा बाँकी रहेको थियो, त्यही छोक्राबाट देवताहरुले पिण्डेश्वर लिङ्गको स्थापना गरे । यसरी शिवजीको प्रतिष्ठा गरी पूजा गर्दा बालिएको दियो नै यो बत्ती हो र तदनन्तर अद्यापि यो अखण्ड रूपमा बलिरहेको छ । त्यस्तै कतिपयको भनाइमा पाण्डवहरूले गुप्तवास यसै रुद्राक्षारण्य क्षेत्रमा बिताएका थिए, उनीहरूले नै गुप्तवास बस्दा द्वापरयुगमा बालेको बत्ती हो, यो । अर्को एउटा आहान बमोजिम भगवान् रामचन्द्रले त्रेतायुगमा यहाँबाट १२/१५ माइल तल पर्ने चारकोसे झाडीमा अवस्थित रामधुनीबाट आगो ल्याई यस बत्तीलाई बालेका थिए । आगो ल्याउँदा रामचन्द्रले हात्तीमा चढाएर ल्याएका थिए र हात्तीको प्रत्येक पाइलामा एकएक वटा बोका बली दिएका थिए । त्यसैले यदि कुनै प्रकारले यो बत्ती निभिहाल्यो भने त्यही रीतले बली चढाउँदै रामधुनीबाट आगो ल्याउनु पर्छ । तर उल्लेखनीय के छ भने पिण्डेश्वरको माहात्म्य उल्लेख भएका ग्रन्थहरूमा यस बत्तीका विषयमा कुनै कुरा लेखिएको पाइँदैन ।

पिण्डेश्वर मन्दिर पुग्न तीर्थयात्रीले सबैभन्दा पहिले धरान पुग्नुपर्ने हुन्छ । धरानको मुख्य वसस्टप भानुचोकबाट पैदल यात्रा गरी पुरानो बजार र तुर्के हुँदै करिब साढे दुई किलोमिटर पैदल यात्रा गरी पिण्डेश्वर मन्दिर पुग्न सकिन्छ । यहाँ जान सार्वजनिक यातायातको व्यवस्था त छैन, तर टेम्पो, ट्याक्सी भाडामा लिई जुनसुकै समयमा पनि पिण्डेश्वर पुग्न सकिन्छ । मन्दिर परिसरमा र यहाँबाट एक किलोमिटर टाढा पर्ने दन्तकालीमा यात्रुहरूका लागि सामान्य धर्मशाला पनि बनाइएको छ, तर सुविधासम्पन्न बसाइ खोज्नेहरूले डाँडाको काखमा रहेको धरान बजार नै झर्नुपर्ने हुन्छ ।